९९. आफ्नो कर्तव्य निर्वाह गर्दा जिम्मेवारी लिन डराउनु स्वार्थीपन हो
फेब्रुअरी २०२३ मा, म जिल्ला अगुवाका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्दै थिएँ। एक दिन, मैले माथिल्लो अगुवाबाट एउटा पत्र प्राप्त गरेँ, जसमा सिन्चेङ मण्डलीले चिनियाँ कम्युनिस्ट पार्टीको दमनको सामना गरिरहेको, अनि परमेश्वरका वचनका पुस्तकहरू सुरक्षित राखिएका धेरै घरहरूबाट प्रहरीले पुस्तकहरू जफत गरेको कुरा उल्लेख गरिएको थियो। पुस्तकहरू सुरक्षित राखिएका अन्य दुईवटा घरहरू अझै पनि खतरामा थिए, त्यसैले पुस्तकहरूलाई तत्कालै सार्नुपर्ने थियो, र हामीलाई छिट्टै नयाँ सुरक्षित घरहरू खोज्न भनिएको थियो। त्यसपछि, मैले मेरो निगरानीमा रहेका मण्डलीहरूलाई सुरक्षित घरहरू उपलब्ध गराउन भन्दै तुरुन्त पत्र लेखेँ। पत्र पठाइसकेपछि, मैले अचानक सोचेँ, “यदि मेरो बन्दोबस्त गलत भयो र पुस्तकहरू सार्दा ब्रदर-सिस्टरहरू पक्राउ परे भने, के त्यसको जिम्मेवारी मैले लिनुपर्ने हुँदैन र? परमेश्वरका वचनका यी पुस्तकहरू परमेश्वरको भेटी प्रयोग गरेर छापिएका हुन्, अनि यदि सार्दाखेरि प्रहरीले ती पुस्तकहरू जफत गर्यो भने, परिणाम गम्भीर हुनेछ। त्यसका लागि मलाई बर्खास्त पनि गर्न सकिन्छ।” मैले मा शिआयो कसरी अगुवाको हैसियतका फाइदाहरूमा लिप्त भएकी थिइन् भनेर सोचेँ। उनी सधैँ आफूले चाहेजस्तै गर्थिन्, र सधैँ अन्तिम निर्णय आफ्नै होस् भन्ने चाहन्थिन्, जसले गर्दा भेटीमा ठूलो नोक्सान भयो। यसपछि, उनी जिम्मेवारीबाट समेत पन्छिइन् र पटक्कै पश्चात्ताप गरिनन्, र अन्तमा, उनलाई निष्कासित गरियो। परमेश्वरका वचनका पुस्तकहरू सुरक्षित राख्नु ठूलो कुरा हो। मेरो वरिपरि धेरै ब्रदर-सिस्टरहरू जोखिममा थिए, त्यसैले सुरक्षित घर भेट्टाउन गाह्रो हुने थियो। मैले सोचेँ, “केही गरी केही घटना घट्यो भने नि? के मा शिआयो जस्तै म पनि हटाइनेछु? तर पत्र त पठाइसकियो, अब के गर्ने? यदि मैले अगुवालाई सुरक्षित घरहरू छैनन् भनेको भए, कुरा त्यहीँ सकिने थियो। जे होस्, मैले लेखिसकेँ, त्यसैले अब जे हुन्छ हुन दिनुपर्ला।” केही दिनपछि, मण्डलीका अगुवाहरूले आफूहरूले कुनै उपयुक्त घर नभेट्टाएको भन्दै पत्र पठाए। तर सत्य कुरा के हो भने, मलाई यस्ता तीनवटा मण्डली थाहा थियो जहाँ परिस्थिति त्यति डरलाग्दो थिएन, अनि हामी सतर्क भयौँ भने, पुस्तकहरूलाई अस्थायी रूपमा राख्न केही घरहरू भेट्टाउन सक्ने थियौँ। तर म यसको जिम्मेवारी लिन चाहन्नथेँ, त्यसैले मैले माथिल्लो अगुवालाई यस्तो लेखेँ, “यहाँको अवस्था राम्रो छैन, र धेरै घरहरू पनि असुरक्षित छन्; अन्य मण्डलीहरूमा गएर सुरक्षित घर खोज्दा नै राम्रो हुन्थ्यो।”
केही दिनपछि, माथिल्लो अगुवाले के भन्दै पत्र पठाइन् भने हामीले यस्तो महत्त्वपूर्ण समयमा परमेश्वरको घरको हितको सुरक्षा गरिरहेका छैनौँ, र अन्य मण्डलीहरूले पनि सुरक्षित घर खोज्न कठिनाइ भएको भए तापनि, उनीहरूले परमेश्वरलाई प्रार्थना गरे, वास्तविक रूपमा सहकार्य गरे, र केही घरहरू भेट्टाउन सफल भए। उनीहरूले परमेश्वरको मार्गदर्शन देखेका थिए। पत्र पढेपछि, मलाई लाज र ग्लानि दुवै महसुस भयो, र मैले सोचेँ, “हामी एउटै कर्तव्य निर्वाह गर्दैछौँ, तर अरूले कठिनाइ पर्दाखेरि परमेश्वरमा भर परेर काम सम्हाल्न सक्छन्, तर म कठिनाइ आउँदा भाग्छु र आफ्नो टाउको खोलभित्र लुकाएको कछुवा जस्तै बन्छु। म साँच्चै उनीहरूको बराबरी हुनै सक्दिनँ!” त्यसैले, म परमेश्वरको सामु आएँ र प्रार्थना गरेँ, “हे परमेश्वर, तपाईंका वचनका पुस्तकहरू सार्ने यस्तो महत्त्वपूर्ण कुरामा, मैले परमेश्वरको घरको हितलाई पटक्कै ध्यान दिएकी छैनँ, र सुरक्षित घर खोज्न मैले सक्रिय रूपमा सहकार्य गरेकी छैनँ। म केवल यस्तो व्यक्ति हुँ जसले केही गडबड हुँदा सहयोग गर्न कष्ट उठाउँदैन। यदि अगुवाले मलाई काँटछाँट नगरेकी र चेतावनी नदिएकी भए, म आत्मचिन्तन गर्ने थिइनँ। म कत्ति संवेदनहीन रहेछु!”
पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ जसले मलाई अन्तमा आफ्नो बारेमा केही बुझ्न मदत गर्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “कतिपय मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्दा जिम्मेवारी लिन डराउँछन्। यदि मण्डलीले तिनीहरूलाई कुनै काम गर्न दियो भने, सुरुमा तिनीहरूले यो काम गर्दा जिम्मेवारी लिनुपर्छ कि पर्दैन भनेर विचार गर्छन्, र पर्छ भने, तिनीहरूले त्यो काम स्विकार्दैनन्। कर्तव्य निर्वाह गर्ने तिनीहरूका सर्त यस्ता हुन्छन्: पहिलो, यो फुर्सदिलो काम हुनुपर्छ; दोस्रो, यो व्यस्त हुने वा थकाउने हुनु हुँदैन; र तेस्रो, जे काम गरे पनि, तिनीहरूले कुनै जिम्मेवारी लिनुपर्ने हुनु हुँदैन। तिनीहरूले लिने एउटै मात्र कर्तव्य यही हो। यो कस्तो प्रकारको व्यक्ति हो? के यो चिप्ले र छली व्यक्ति होइन र? तिनीहरूले सानोभन्दा सानो जिम्मेवारी पनि लिन चाहँदैनन्। तिनीहरू रूखबाट पात खस्दा त्यसले तिनीहरूको खप्पर फुटाउँछ भनेर समेत डराउँछन्। यस्तो व्यक्तिले कस्तो कर्तव्यचाहिँ पूरा गर्न सक्छ र? परमेश्वरको घरमा तिनीहरू के काम लाग्छन् र? परमेश्वरको घरको काम शैतानसँग युद्ध गर्ने, साथै राज्यको सुसमाचार फैलाउने हो। कुन कर्तव्यमा जिम्मेवारी हुँदैन र? के तिमीहरू अगुवा बन्दा जिम्मेवारी लिनुपर्छ भनेर सोच्छौ? के तिनीहरूको जिम्मेवारी झन् ठूलो हुँदैन र, अनि तिनीहरूले जिम्मेवारी झनै लिनु पर्दैन र? तैँले सुसमाचार प्रचार गरे पनि, गवाही दिए पनि, भिडियो बनाए पनि, र त्यस्तै अन्य काम गरे पनि, तैँले जुनसुकै काम गरे पनि, त्यो सत्यता सिद्धान्तहरूसँग सम्बन्धित छ भने, यसमा जिम्मेवारी निहित हुन्छ। यदि तेरो कर्तव्य निर्वाह गर्ने शैली सिद्धान्तहीन छ भने, यसले परमेश्वरको घरको काममा असर गर्छ, र यदि तँ जिम्मेवारी लिन डराउँछस् भने, तैँले कुनै पनि कर्तव्य निर्वाह गर्न सक्दैनस्। आफ्नो कर्तव्य निर्वाह गर्दा जिम्मेवारी लिन डराउने किसिमको व्यक्ति कायर हुन्छ, कि उसको स्वभावमा समस्या हुन्छ? तैँले यो भिन्नता छुट्याउन सक्नुपर्छ। वास्तवमा, यो कायरताको समस्या होइन। तिनीहरू धनी बन्ने कुरामा, वा आफ्नै फाइदाका लागि केही गरिरहँदा किन यति आँटिला हुन्छन्? तिनीहरूले यी कुराका लागि जुनसुकै जोखिम लिनेछन्। तर जब तिनीहरूले मण्डलीको लागि, परमेश्वरको घरको लागि काम गर्छन्, तबचाहिँ कुनै जोखिम लिँदैनन्। त्यस्ता मानिसहरू स्वार्थी र घृणास्पद हुन्छन्, र सबैभन्दा कुटिल हुन्छन्। आफ्नो कर्तव्य निर्वाह गर्दा जिम्मेवारी नलिने कुनै पनि व्यक्ति परमेश्वरप्रति रतिभर निष्कपट हुँदैनन्, तिनीहरूको बफादारीको त कुरै नगरौँ। कस्तो व्यक्तिले जिम्मेवारी लिने आँट गर्छ? कस्तो प्रकारको व्यक्तिमा ठूलो बोझ लिने साहस हुन्छ? त्यस्तो व्यक्तिमा, जो परमेश्वरको घरको कामको सबभन्दा निर्णायक क्षणमा अग्रसर हुँदै बहादुरीका साथ अघि बढ्छ, जसले सबैभन्दा महत्त्वपूर्ण र निर्णायक काम देख्दा बहादुरीका साथ गह्रौँ बोझ लिन्छ र कठिनाइ र खतरा सहन डर मान्दैन। त्यो परमेश्वरप्रति बफादार व्यक्ति हो, ख्रीष्टको असल सिपाही हो। के आफ्नो कर्तव्यमा जिम्मेवारी लिन डराउने सबैले सत्यता नबुझेको कारण त्यस्तो भएको हुन्छ? होइन; तिनीहरूको मानवतामै एउटा समस्या छ। तिनीहरूमा इन्साफ वा जिम्मेवारीको कुनै बोध हुँदैन, तिनीहरू स्वार्थी र घृणास्पद मानिस हुन्, तिनीहरू परमेश्वरका सच्चा विश्वासी होइनन्, र तिनीहरूले कत्तिपनि सत्यता स्विकार्दैनन्। यो एउटै कारणले गर्दा, तिनीहरूले मुक्ति पाउन सक्दैनन्। परमेश्वरका विश्वासीहरूले सत्यता प्राप्त गर्न ठूलो मूल्य चुकाउनुपर्छ, र यो अभ्यास गर्दा तिनीहरूले धेरै बाधाहरू सामना गर्नेछन्। तिनीहरूले त्याग गर्नुपर्छ, आफ्ना देहगत हितहरू पन्छाउनुपर्छ, र केही कष्टहरू भोग्नुपर्छ। त्यसपछि मात्रै तिनीहरूले सत्यता अभ्यास गर्न सक्नेछन्। त्यसो भए, के जिम्मेवारी लिन डराउने यस किसिमको व्यक्तिले सत्यता अभ्यास गर्न सक्छ? सत्यता अभ्यास गर्न निश्चय नै सक्दैन, त्यो प्राप्त गर्ने त कुरै छाडौँ। तिनीहरू सत्यता अभ्यास गर्न, र आफ्ना हितहरूमा हानि खेप्न डराउँछन्; तिनीहरू अपमान, मानहानि र आलोचनादेखि डराउँछन्, र तिनीहरू सत्यता अभ्यास गर्ने आँट गर्दैनन्। फलस्वरूप, तिनीहरू सत्यता प्राप्त गर्न पनि सक्दैनन्, र परमेश्वरमा विश्वास गरेको जति वर्ष भए पनि, तिनीहरूले उहाँको मुक्ति प्राप्त गर्न सक्दैनन्। परमेश्वरको घरमा कर्तव्य निर्वाह गर्न सक्ने मानिसहरू मण्डलीको कामका सम्बन्धमा बोझको बोध भएको, जिम्मेवारी लिने, सत्यता सिद्धान्तहरूमा अडिग रहन सक्ने, र कष्ट भोग्न र मूल्य चुकाउन सक्ने हुनुपर्छ। यदि व्यक्तिमा यी क्षेत्रहरूको कमी छ भने, ऊ कर्तव्य निर्वाह गर्नका लागि अयोग्य हुन्छ, र उसले कर्तव्य निर्वाह गर्नका लागि चाहिने सर्तहरू पूरा गर्दैन। धेरै मानिसहरू कर्तव्य निर्वाह गर्दा आउने जिम्मेवारी लिन डराउँछन्। तिनीहरूको डर मुख्य गरी तीन तरिकाले प्रकट हुन्छ। पहिलो, तिनीहरूले त्यस्ता कर्तव्यहरू मात्र रोज्छन् जसमा जिम्मेवारी लिनु पर्दैन। यदि मण्डली अगुवाले तिनीहरूले निर्वाह गर्नुपर्ने कर्तव्यको बन्दोबस्त गर्यो भने, सुरुमा तिनीहरूले यसको लागि जिम्मेवारी लिनुपर्छ कि पर्दैन भनेर सोध्छन्: जिम्मेवारी लिनुपर्छ भने, तिनीहरू यसलाई स्विकार्दैनन्। यदि यसको लागि तिनीहरूले जिम्मेवारी लिनुपर्दैन, तिनीहरू जिम्मेवार हुनुपर्दैन भने, तिनीहरूले यसलाई इच्छा नलागीनलागी स्वीकार गर्छन्, तर अझै पनि तिनीहरूले काम थकाइलाग्दो छ कि छैन वा त्यसमा चिन्ता लिनुपर्छ कि पर्दैन भनेर ख्याल गर्छन्। तिनीहरूले मन नलागी-नलागी त्यो स्वीकार गरे पनि, तिनीहरूमा त्यो कर्तव्य राम्ररी निर्वाह गर्ने अभिप्राय हुँदैन, बरु तिनीहरू अझै पनि झाराटारुवा हुन चाहन्छन्, ‘फुर्सत होस्, परिश्रम गर्नु नपरोस्, र शारीरिक कष्ट गर्नु नपरोस्’ भन्ने कुरालाई आफ्नो सिद्धान्तका रूपमा लिन्छन्। दोस्रो कुरा के हो भने जब तिनीहरूलाई कठिनाइ आइपर्छ वा तिनीहरूले समस्या सामना गर्छन्, तब तिनीहरूको पहिलो प्रतिक्रिया भनेको आफूलाई निस्फिक्री राख्ने प्रयासस्वरूप अगुवालाई यसको रिपोर्ट गर्नु र अगुवालाई नै यो सम्हाल्न र समाधान गर्न लगाउनु हो। तिनीहरू अगुवाले यो समस्या कतिको राम्ररी सम्हाल्छन् भन्नेबारे वास्ता गर्दैनन् र यसमा दिमाग लगाउँदैनन्—जबसम्म तिनीहरू आफैले जिम्मेवारी लिनु पर्दैन, तबसम्म तिनीहरूको लागि सबै कुरा ठीक हुन्छ। के त्यसरी कर्तव्य पूरा गरेर तिनीहरू परमेश्वरप्रति बफादार भइरहेका हुन्छन्? यसलाई जिम्मेवारी अरूमा थोपर्नु, कर्तव्यच्युत हुनु, र धूर्त हुनु भनिन्छ। यो सबै गफ मात्र हो; तिनीहरूले कुनै वास्तविक काम गरेका हुँदैनन्। तिनीहरूले मनमनै भन्छन्, ‘यदि यो काम मैले सम्हाल्नु मेरो जिम्मेवारी हो, र यदि मैले गल्ती गरेँ भने के हुन्छ? दोषीबारे अनुसन्धान गर्दा, के तिनीहरूले मलाई नै तह लगाउनेछैनन् र? के यसको जिम्मेवारी सुरुमा मेरै काँधमा आउँदैन र?’ तिनीहरूले यही कुराको बारेमा चिन्ता गर्छन्। तर के परमेश्वरले सबै कुराको छानबिन गर्नुहुन्छ भन्ने तँलाई विश्वास लाग्छ? सबैले गल्ती गर्छन्। यदि सही अभिप्राय भएको व्यक्तिमा अनुभवको कमी छ र उसले यस्तो कुरा पहिले कहिल्यै सम्हालेको छैन, तर उसले सक्दो प्रयास गरेको छ भने, यो कुरा परमेश्वरले देख्नुहुन्छ। तैँले परमेश्वरले सबै कुरा र मानिसको हृदय छानबीन गर्नुहुन्छ भनेर विश्वास गर्नैपर्छ। यदि व्यक्तिले यो कुरासमेत विश्वास गर्दैन भने, के ऊ अविश्वासी होइन र?” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्वरले मेरो स्थितिलाई ठ्याक्कै खुलासा गर्नुभयो, र मैले निकै पीडा महसुस गरेँ र मेरो मुटु छेडिएझैँ भयो। सिन्चेङ मण्डली चिनियाँ कम्युनिस्ट पार्टीबाट पक्राउको सामना गरिरहेको थियो र तत्कालै दुईवटा सुरक्षित घर खोज्नुपर्ने थियो। विवेक भएको जोकोहीले पनि परमेश्वरको घरको हितलाई ध्यान दिनेथियो, र कठिनाइ भए पनि, उनीहरू परमेश्वरमा भर पर्नेथिए, र पुस्तकहरूलाई सही समयमा सुरक्षित ठाउँमा सार्न कुनै कसर बाँकी राख्नेथिएनन्। तर मैले पहिला आफ्नो हितलाई ध्यान दिएँ, अनि पुस्तक स्थानान्तरण गर्दा केही गडबड होला, मलाई जिम्मेवार ठहराइएला र अपराध गरेको देखिएला, अनि मेरा अपराधहरू बढ्दै गए भने, मैले मुक्ति पाउने मौका गुमाउनेछु भनेर म सधैँ चिन्तित थिएँ। आफूलाई रक्षा गर्न, मैले सधैँ उम्किने बाटो खोजिरहेँ, र आफ्नो कर्तव्य पन्छाउन बहाना बनाइरहेँ। म ठ्याक्कै परमेश्वरले खुलासा गर्नुभएको त्यो चिप्ले र छली व्यक्ति थिएँ। म कुनै पनि जिम्मेवारी लिन पूरै अनिच्छुक थिएँ, र मसँग कुनै विवेक वा समझ थिएन! यस क्षण, परमेश्वरका वचनका पुस्तकहरू प्रहरीद्वारा जफत गरिने निरन्तरको खतरामा थिए, तर मैले यसलाई पटक्कै वास्ता गरिनँ, र केवल आफ्नो हितका बारेमा मात्र सोचेँ। कुन रूपमा मसँग अलिकति पनि मानवता थियो र? म कति स्वार्थी र घृणास्पद थिएँ!
पछि, मैले चिन्तन गर्न थालेँ, “म किन सधैँ जिम्मेवारी लिन डराउँछु? कस्तो खालको भ्रष्ट स्वभावले यस्तो भइरहेको छ?” मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “मानिसहरूले परमेश्वरको काम अनुभव गर्नु र सत्यता बुझ्नुभन्दा पहिले, भित्रैबाट नियन्त्रण लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तँ किन आफ्नै हैसियतको सुरक्षा गर्छस्? तँ किन आफ्ना भावनाहरूद्वारा यति प्रभावित छस्? तँ किन ती अधर्मी र दुष्ट कुराहरू मन पराउँछस्? तैँले त्यस्ता कुराहरू मन पराउनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? त किन ती कुराहरू मन पराउँछस् र स्वीकार गर्छस्? अहिलेसम्ममा, तिमीहरू सबै यो कुरा बुझ्न पुगेका छौ: मुख्य कारण के हो भने, मानिसभित्र शैतानका विषहरू छन्। त्यसो भए, शैतानका विषहरू के हुन्? तिनलाई कसरी व्यक्त गर्न सकिन्छ? उदाहरणको लागि, यदि तैँले ‘मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?’ भनेर सोधिस् भने, सबैले जवाफ दिनेछन्, ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।’ यही एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनेको छ। मानिसहरूले जेसुकैको खोजी गर्ने भए पनि, तिनीहरू वास्तवमा आफ्नै लागि त्यसो गर्छन्—अनि त्यसकारण तिनीहरू सबै आफ्नै लागि जिउँछन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। यी वचनहरू पहिले नै भ्रष्ट मानवजातिको प्रकृति भइसकेका छन्, र यी वचनहरू भ्रष्ट मानवजातिको शैतानी प्रकृतिको साँचो चित्रण हुन्। यो शैतानी प्रकृति पूर्ण रूपमा भ्रष्ट मानवजातिको अस्तित्वको जग बनिसकेको छ। भ्रष्ट मानवजाति कैयौँ हजार वर्षदेखि अहिलेको वर्तमान समयसम्म शैतानको यो विषअनुसार जिएको छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने)। परमेश्वरका वचनहरू पढिसकेपछि, मैले के बुझेँ भने जब म परिस्थितिको सामना गर्थेँ, तब म सधैँ जिम्मेवारी लिन डराउँथेँ र पहिले आफ्नो हितलाई विचार गर्थेँ, किनभने म “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” भन्ने शैतानी विषअनुसार जिउँथेँ, र यी कुराहरू मेरो प्रकृति बनिसकेका थिए। विगतमा, अरूसँग अन्तरक्रिया गर्दा वा कामकुराहरू सम्हाल्दा, म पहिले कुनै कुराले मलाई फाइदा पुर्याउँछ कि पुर्याउँदैन वा मैले जिम्मेवारी लिनुपर्ने हुन्छ कि हुँदैन भनेर विचार गर्थेँ। मेरो कर्तव्यमा पनि, म उस्तै थिएँ। जब अगुवाले मलाई पुस्तकहरू सार्नका लागि ठाउँ खोज्ने काम तोकिन्, तब म चिन्ताले भरिएकी थिएँ, मैले हरेक कुरालाई बारम्बार सोचेँ, मलाई के डर थियो भने मैले ठाउँ भेट्टाएँ र यदि सार्ने क्रममा केही गडबड भयो, वा पुस्तकहरू प्रहरीद्वारा जफत भयो भने, मैले जिम्मेवारी लिनुपर्ने हुन्छ। यदि यसले ठूलो नोक्सान गरायो भने, मलाई बर्खास्त पनि गर्न सकिन्छ। आफूमाथि कुनै पनि हानि आउन नदिन, मैले यो जिम्मेवारी पन्छाउनका लागि कतै पनि उपयुक्त ठाउँ भेट्टाउन सकिनँ भनेर बहाना बनाएँ। मलाई राम्रोसँग थाहा थियो, सिन्चेङ मण्डलीको अवस्था भयानक थियो, यहुदाहरूले उनीहरूमाथि घात गरेका थिए, र पुस्तकहरू सुरक्षित राखिएका घरहरूमा प्रहरीले कुनै पनि समय छापा मार्न सक्थ्यो। मलाई यो पनि थाहा थियो यो गम्भीर घडीमा, परमेश्वरका वचनका पुस्तकहरूको सुरक्षा गर्नु अगुवाका रूपमा मेरो जिम्मेवारी थियो, र परमेश्वरको घरको हितको रक्षा गर्न मैले सक्दो प्रयास गर्नुपर्ने थियो। तर मैले आफ्ना हितलाई मात्र विचार गरेँ, जिम्मेवारी लिन डराएँ, र मेरो कर्तव्यबाट पन्छिएँ। म कति धेरै स्वार्थी र मानवताहीन रहेछु! यो महसुस गरेर, मलाई आफू निकै ऋणी भएको बोध भयो र आफैलाई थप्पड हान्न मन लाग्यो।
पछि, मैले परमेश्वरका थप वचनहरू पढेँ: “कतिपय मानिसहरू परमेश्वरको घरले मानिसहरूलाई निष्पक्ष व्यवहार गर्छ भनेर विश्वास नै गर्दैनन्। तिनीहरू यस घरमा परमेश्वरले शासन गर्नुहुन्छ र यहाँ सत्यताले शासन गर्छ भन्ने विश्वास गर्दैनन्। तिनीहरू विश्वास गर्छन् कि कुनै व्यक्तिले चाहे जे कर्तव्य निर्वाह गरे पनि, यदि त्यहाँ केही समस्या पैदा भयो भने, परमेश्वरको घरले त्यस व्यक्तिलाई तुरुन्तै सम्हाल्नेछ, उसको कर्तव्य निर्वाह गर्ने योग्यता खोस्नेछ, उसलाई बाहिर पठाउनेछ, वा मण्डलीबाट निकाल्ने पनि गर्नेछ। के साँच्चै त्यस्तै हुन्छ त? पक्कै पनि हुँदैन। परमेश्वरको घरले हरेक व्यक्तिलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्छ। परमेश्वरले हरेक व्यक्तिलाई गर्ने व्यवहारमा उहाँ धर्मी हुनुहुन्छ। उहाँ व्यक्तिले एकपटक कस्तो व्यवहार गऱ्यो भन्ने कुरालाई मात्र हेर्नुहुन्न; उहाँले व्यक्तिको प्रकृति सार, उसको अभिप्राय, र उसको मनोवृत्तिलाई हेर्नुहुन्छ। विशेषगरी, उहाँले कुनै व्यक्तिले गल्ती गर्दा आत्म-चिन्तन गर्न सक्छ कि सक्दैन, ऊ पश्चात्तापी हुन्छ-हुँदैन, अनि उसले उहाँका वचनहरूका आधारमा समस्याको सार छर्लङ्ग बुझ्न सक्छ कि सक्दैन, र यसरी सत्यता बुझ्न, आफूलाई घृणा गर्न, अनि साँच्चै पश्चात्ताप गर्न सक्छ कि सक्दैन भनी हेर्नुहुन्छ। यदि कसैसित सही मनोवृत्ति छैन, अनि ऊ व्यक्तिगत अभिप्रायहरूले पूरै दूषित छ, यदि ऊ धूर्त षड्यन्त्रहरूले भरिएको छ र उसले भ्रष्ट स्वभावहरू मात्र प्रकट गर्छ, अनि, यदि समस्या पैदा हुँदा, उसले ढोँग, कुतर्क, आफूलाई सही साबित गर्ने काम समेत गर्छ, र जिद्दीपूर्वक आफ्ना गल्तीहरू स्विकार्न मान्दैन भने, त्यस्तो व्यक्तिले मुक्ति पाउन सक्दैन। उसले सत्यता बिलकुलै स्विकार्दैन, र ऊ सच्चा मानिस होइन; ऊ पूर्ण रूपमा प्रकाश भएको हुन्छ। जसले अलिकति पनि सत्यता स्विकार्दैनन् तिनीहरू सारमा अविश्वासी हुन् अनि तिनीहरूलाई हटाउन मात्र सकिन्छ। … मलाई भन, यदि कुनै व्यक्तिले गल्ती गरेको छ, तर ऊ साँचो बुझाइमा पुग्छ र पश्चात्ताप गर्न इच्छुक छ भने, के परमेश्वरको घरले उसलाई मौका दिँदैन र? परमेश्वरको छ हजार वर्षे व्यवस्थापन योजना समाप्त हुन लागेको बेला, निर्वाह गरिनुपर्ने कर्तव्यहरू धेरै छन्। तर यदि तँमा कुनै विवेक वा समझ छैन, र तँ आफ्नो उचित कार्यलाई ध्यान दिँदैनस् भने, यदि तैँले कर्तव्य निर्वाह गर्ने अवसर प्राप्त गरेको छस् तर यसलाई कदर गर्न जान्दैनस्, थोरै पनि सत्यता पछ्याउँदैनस्, र सबैभन्दा उपयुक्त समय त्यसै खेर फाल्छस् भने, तँलाई प्रकाश गरिनेछ। यदि तँ आफ्नो कर्तव्य निर्वाह गर्नमा निरन्तर झाराटारुवा भइरहन्छस्, र काटछाँटको सामना गर्दा तँ पटक्कै समर्पित हुँदैनस् भने, के परमेश्वरको घरले अझै पनि तँलाई कर्तव्य निर्वाह गर्न प्रयोग गर्न सक्छ? परमेश्वरको घरमा, शैतानले होइन सत्यताले शासन गर्छ, र सबै कुरामा परमेश्वरले नै अन्तिम निर्णय गर्नुहुन्छ। मानिसलाई मुक्ति दिने काम उहाँले नै गर्दै हुनुहुन्छ, र उहाँ नै सबै थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ। तैँले कुन सही र कुन गलत भनेर विश्लेषण गर्न आवश्यक छैन; तैँले सुन्ने र समर्पित हुने मात्रै गर्नुपर्छ। काटछाँट गराइको सामना गर्दा, तैँले सत्यता स्वीकार गर्नुपर्छ र आफ्ना गल्तीहरू सच्याउनुपर्छ। यदि तैँले त्यसो गरिस् भने, परमेश्वरको घरले कर्तव्य निर्वाह गर्ने तेरो योग्यता खोस्ने छैन। यदि तँ सधैँ आफूलाई हटाइएला भनेर डराउँछस्, सधैँ आफूलाई सही साबित गर्न खोज्छस्, सधैँ कुतर्क प्रयोग गरेर आफ्नो बचाउ गर्छस् भने, त्यो समस्या हो। तैँले अलिकति पनि सत्यता स्विकार्दैनस्, र तँ पूर्ण रूपमा असमझदार छस् भनेर अरूले देख्नेछन्। यसले समस्या निम्त्याउँछ, र मण्डलीले तँलाई तह लगाउनुपर्ने हुन्छ। तँ आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यता पटक्कै स्वीकार गर्दैनस् र सधैँ प्रकाश हुने र हटाइने डर मान्छस्। तेरो यो डर मानव आशयले दूषित हुन्छ; यही डरभित्र भ्रष्ट शैतानी स्वभावहरू, साथै शङ्का, सतर्कता, र गलतफहमी हुन्छन्। यीमध्ये कुनै पनि मनोवृत्ति व्यक्तिमा हुनुहुँदैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूको खुलासाबाट, मैले के देखेँ भने केही मानिसहरूलाई परमेश्वरको घरले मानिसहरूसँग निष्पक्ष व्यवहार गर्न सक्छ भन्ने विश्वास नै लाग्दैन। उनीहरू परमेश्वरले उहाँको घरमा शासन गर्नुहुन्छ, र त्यहाँ सत्यताको शासन हुन्छ भन्ने विश्वास गर्दैनन्। उनीहरू सोच्छन्, यदि कुनै व्यक्तिले आफ्नो कर्तव्यमा गल्ती गर्यो भने, परमेश्वरको घरले उनीहरूलाई दण्ड दिनेछ, उनीहरूको कर्तव्य निर्वाह गर्ने अधिकार खोस्नेछ, र उनीहरूलाई निकाल्ने वा निष्कासितसमेत गर्नेछ। वास्तवमा, परमेश्वरको घरले हरेक व्यक्तिलाई सिद्धान्तहरूअनुसार, सन्दर्भका आधारमा, र कामकुरा गर्दा व्यक्तिको अभिप्राय र उनीहरूको कर्तव्यप्रतिको मनोवृतिका आधारमा व्यवहार गर्छ। यदि कुनै व्यक्तिले निरन्तर झाराटारुवा तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्छ, कामकुरामा सिद्धान्तहरू खोज्दैन, सधैँ आफ्नो भ्रष्ट स्वभावमा भर परेर कर्तव्य निर्वाह गर्छ, परमेश्वरको घरको कामलाई अनादरपूर्वक र जिम्मेवारीविना व्यवहार गर्छ, अनि परमेश्वरको घरको काममा नोक्सान पुर्याउँछ भने, त्यस्ता मानिसहरूको काँटछाँट मात्र गरिनुहुँदैन, तर जवाफदेही पनि बनाइनुपर्छ, अनि यदि उनीहरूले यो स्वीकार गर्दैनन् र उल्टै तर्क, प्रतिरोध र पश्चात्ताप गर्न पूर्ण रूपमा अस्वीकार गरिरहन्छन् भने, परमेश्वरको घरले उनीहरूलाई सोहीअनुसार व्यवहार गर्नेछ, उनीहरूलाई बर्खास्त गर्नेछ वा निकाल्ने समेत गर्नेछ। तर, केही मानिस, जब आफ्नो कर्तव्यमा समस्याहरू सामना गर्छन्, तब उनीहरू सत्यता खोज्न सक्छन्, र केही कुरा नबुझ्दा अरूसँग सल्लाह लिन सक्छन् र कामहरू राम्रोसँग गर्ने प्रयत्न गर्न सक्छन्। यद्यपि उनीहरूको सहकार्यको दौरान समस्या वा विचलनहरू उत्पन्न हुन सक्छन्, वा उनीहरूले मण्डलीको काममा केही नोक्सान पुर्याउन सक्छन्, तर पछि उनीहरू पछुतो र ग्लानि महसुस गर्छन्, र साँचो रूपमा पश्चात्ताप गर्छन्। त्यस्ता मानिसहरूलाई अझै पनि परमेश्वरको घरद्वारा आफ्नो कर्तव्य निर्वाह गर्ने अवसर दिइनेछ र त्यत्तिकै हटाइनेछैन। परमेश्वरको घरले हरेक व्यक्तिलाई सत्यता सिद्धान्तहरूका आधारमा सम्हाल्छ। मा शिआयो जस्तै, अगुवाका रूपमा रहेको समयमा, उनी हैसियतका फाइदाहरूमा लिप्त भइन्, सधैँ आफूले चाहेजस्तै गरी कर्तव्य निर्वाह गरिन्, सत्यता खोजिनन्, र भेटीमा नोक्सान पुर्याइन्। ब्रदर-सिस्टरहरूले बारम्बार सम्झाउँदा पनि उनले स्वीकार गरिनन् र जिम्मेवारीबाट पन्छिइन्, अनि जिद्दी भएर ख्रीष्टविरोधीको मार्गमा हिँडिन्। परमेश्वरको घरले, सिद्धान्तहरूअनुसार, उनलाई मण्डलीबाट निष्कासित गर्यो, र यो पूर्ण रूपमा परमेश्वरको धार्मिकता थियो, र उनीप्रति रत्तिभर पनि अन्याय थिएन। मण्डलीले उनलाई एक पटकको अपराधको कारणले होइन, बारम्बारको व्यवहारका आधारमा निष्कासित गरेको थियो। मैले पनि विगतमा अपराधहरू गरेकी थिएँ, तर पछि, मैले आत्मचिन्तन गरेर आफूलाई चिनेकी थिएँ र पश्चात्ताप गर्न इच्छुक भएकी थिएँ, त्यसैले परमेश्वरको घरले मलाई अझै पनि मेरो कर्तव्य निर्वाह गर्ने अवसर दियो। मैले परमेश्वरको घरले सधैँ सिद्धान्तहरूअनुसार काम गर्छ भन्ने देखेँ। तर म सतर्कता र गलत बुझाइको स्थितिमा जिइरहेकी थिएँ, परमेश्वरले उहाँको घरमा शासन गर्नुहुन्छ, र त्यहाँ सत्यताको शासन हुन्छ भनेर विश्वास गरिरहेकी थिइनँ। मलाई लाग्थ्यो, मेरा कर्तव्यहरूमा गल्ती हुँदा मलाई बर्खास्त गरिनेछ वा हटाइनेछ, मानौँ परमेश्वरले मानिसहरूलाई हटाउनकै लागि मात्र प्रकट गर्नुहुन्छ। के यो परमेश्वरको निन्दा थिएन र? यदि मेरो यो स्थिति सुधार भएन भने, ढिलो वा चाँडो, म परमेश्वरद्वारा तिरस्कृत हुनेछु र हटाइनेछु।
त्यसपछि, मैले मेरा समस्याहरू सम्बोधन गर्न अभ्यासको मार्ग खोजेँ। मैले परमेश्वरका केही वचनहरू पढेँ: “कर्तव्य निर्वाह गर्ने सबैका हकमा, तिनीहरूको सत्यताको बुझाइ जतिसुकै गहन वा सतही भए पनि, सत्यता वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल अभ्यास भनेको हरेक मोडमा परमेश्वरको घरका हितहरूका बारेमा सोच्नु, आफ्ना स्वार्थी चाहनाहरू, व्यक्तिगत नियत, मनसाय, इज्जत, र हैसियतलाई त्याग्नु, र परमेश्वरको घरका हितहरूलाई पहिलो स्थानमा राख्नु हो—तिनीहरूले गर्नुपर्ने न्यूनतम कुरा यही हो। यदि कर्तव्य निर्वाह गर्ने व्यक्तिले यति पनि गर्न सक्दैन भने, उसले आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ भनेर कसरी भन्न सकिन्छ र? त्यो त आफ्नो कर्तव्य निर्वाह गरेको नै भएन। तैँले सर्वप्रथम परमेश्वरको घरको हितबारे सोच्नुपर्छ, परमेश्वरका अभिप्रायको ख्याल गर्नुपर्छ, साथै मण्डलीको कामको बारेमा सोच्नुपर्छ। यी कुराहरूलाई नै सबैभन्दा सुरुमा र पहिलो प्राथमिकतामा राख्; त्यसपछि मात्र तैँले तेरो हैसियतको स्थिरता वा अरूले तँलाई कसरी लिन्छन् सोबारे सोच्न सक्छस्। यसलाई दुई चरणमा विभाजन गर, अलिकति सम्झौता गर—के तिमीहरूलाई यसले कामकुरा अलि सजिलो बनाउँछ जस्तो लाग्दैन? यदि तैँले केही समय यसरी अभ्यास गरिस् भने, तँलाई परमेश्वरलाई सन्तुष्ट पार्नु गाह्रो कुरा होइन भन्ने महसुस हुन थाल्नेछ। यसबाहेक, यदि तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्छस्; आफ्ना दायित्व र कर्तव्य पूरा गर्न सक्छस्; आफ्ना स्वार्थी चाहना, नियत, र मनसायहरूलाई पन्छाउन सक्छस्; परमेश्वरका अभिप्रायहरूको ख्याल गर्न सक्छस्; र परमेश्वरको घरका हितहरू, मण्डलीको काम, र तैँले पूरा गर्नुपर्ने कर्तव्यलाई पहिलो स्थानमा राख्न सक्छस् भने, केही समय यसरी अनुभव गरेपछि, तँलाई यसरी आफूलाई आचरणमा ढाल्नु राम्रो हो, मानिसहरू इमानदार र स्पष्ट तरिकाले जिउनुपर्छ, र तिनीहरूले कायर, फोहोरी, नीच अस्तित्व जिउनु हुँदैन, बरु तिनीहरू सोझो र न्यायवान् हुनुपर्छ भन्ने महसुस हुनेछ। तँलाई यो एउटा व्यक्तिले जिउनुपर्ने स्वरूप हो भन्ने महसुस हुनेछ। तेरा आफ्नै स्वार्थहरू सन्तुष्ट पार्ने तेरो चाहना क्रमिक रूपमा कम हुँदै जानेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचनहरू धेरै स्पष्ट छन्। मेरो कर्तव्यमा, मैले परमेश्वरको घरको हितलाई विचार गर्नुपर्छ र मेरा आफ्नै स्वार्थी चाहना र हितहरूलाई पन्छाउनुपर्छ। जब परमेश्वरको घरको हित मेरो आफ्नै हितसँग बाझिन्छ, तब मैले पहिला परमेश्वरको घरको हितको रक्षा गर्नुपर्छ। मैले आफैसँग एउटा सङ्कल्प गरेँ, “अबदेखि, परमेश्वरको घरको कामसँग सम्बन्धित कुनै पनि कुरामा, त्यो जतिसुकै गाह्रो भए पनि, म परमेश्वरमा भर पर्नेछु, सक्रिय रूपमा यो काम सम्हाल्नेछु, र परमेश्वरको घरको हितको रक्षा गर्न सक्दो प्रयास गर्नेछु।”
एक महिनापछि, माथिल्लो अगुवाले चार जना ब्रदर बस्नका लागि दुईवटा सुरक्षित घर खोज्न भन्दै हामीलाई अर्को पत्र पठाइन्। तीमध्ये दुई जना ब्रदर जोखिममा थिए, र अर्का एक जना ब्रदरको पक्राउ रेकर्ड थियो र खोजीको सूचीमा थिए। थप सुरक्षित घरहरू खोज्नुपर्ने सोचले मेरा चिन्ताहरू फेरि सतहमा ल्याइदियो, “मेरो सुपरिवेक्षणमा रहेका मण्डलीहरूको अवस्था राम्रो छैन, र सुरक्षित घर भेट्टाउन सजिलो छैन। यदि हामीले खोजेको घर सुरक्षित भएन र ब्रदरहरू हामीसँग हुँदाहुँदै पक्राउ परे भने, के अगुवाले मलाई जिम्मेवारी ठहर्याउने थिइनन् र? के मैले उनलाई यहाँ कतै पनि ठाउँ भेट्टाउन सकिएन, बरु अन्य मण्डलीहरूमा कतै खोज्नु भनेर भनिदिऊँ?” जब मैले यसरी सोचेँ, मलाई म फेरि आफ्नै हितका बारेमा विचार गरिरहेकी छु भन्ने महसुस भयो, त्यसैले मैले तुरुन्त परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, परिस्थिति भयानक छ र धेरै कठिनाइहरू भए तापनि, म मेरा गलत अभिप्रायहरू त्याग्न र सुरक्षित घरहरू खोज्न तयार छु। कृपया मलाई मार्गदर्शन गर्नुहोस्।” प्रार्थना गरेपछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झेँ: “तैँले सर्वप्रथम परमेश्वरको घरको हितबारे सोच्नुपर्छ, परमेश्वरका अभिप्रायको ख्याल गर्नुपर्छ, साथै मण्डलीको कामको बारेमा सोच्नुपर्छ। यी कुराहरूलाई नै सबैभन्दा सुरुमा र पहिलो प्राथमिकतामा राख्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। मैले मेरा आफ्नै हितहरू त्याग्नुपर्ने र परमेश्वरको घरको हितलाई प्राथमिकता दिनुपर्ने थियो। मैले के देखेँ भने ती ब्रदरहरू बसिरहेका ठाउँ धेरै खतरनाक थिए र उनीहरू कुनै पनि क्षण पक्राउ पर्न सक्थे, र यदि मैले जिम्मेवारी लिनुपर्ला भन्ने डरले आफैलाई सुरक्षित राखेकी भए, र यी ब्रदरहरूलाई सुरक्षित राख्न समयमै सुरक्षित घरहरू खोज्ने प्रयास नगरेकी भए, ममा मानवताको पूर्ण अभाव हुने थियो। मैले अघिल्लो पटकको आफूले सधैँ आफ्नै हितको चिन्ता गरी जिम्मेवारी लिन डराएको, र यसले मलाई पछुतो मात्र दिएको कुरा सम्झेँ। मैले यस पटक त्यही गल्ती गर्नुहुँदैनथ्यो। जब मैले वास्तवमै सहकार्य गरेँ, मैले छिट्टै दुईवटा सुरक्षित घर भेट्टाएँ र त्यसपछि ब्रदरहरूलाई त्यहाँ ल्याएँ।
यो खुलासाद्वारा, अन्ततः मैले म कति साह्रै स्वार्थी, घृणास्पद, र मानवताहीन भएकी रहेछु भन्ने देखेँ। मलाई लाग्थ्यो मसँग असल मानवता छ र म मण्डलीको कामको सुरक्षा गर्न सक्छु, तर यो परिस्थिति मार्फत, मेरो भ्रष्टता प्रकट भयो, जसले मलाई आफैलाई बुझ्न र केही परिवर्तनहरू गर्न सक्षम बनायो। यो मेरा लागि परमेश्वरको महान् मुक्ति थियो, र यो यस्तो कुरा थियो जुन मैले आरामदायी वातावरणमा महसुस गर्न सक्ने थिइनँ। परमेश्वरलाई धन्यवाद!