१००. आशिष् पाउने चाहना चकनाचुर भएपछि
सन् २०११ मा, मैले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ, र त्यसको दुई वर्ष नबित्दै, बिमारका कारण मेरो श्रीमान्को मृत्यु भयो। मेरो बच्चा सानो थियो र पारिवारको आर्थिक अवस्था सङ्गर्षपूर्ण थियो, तैपनि म आफ्नो कर्तव्यमा निरन्तर लागिरहेँ। पछि, म मण्डली अगुवाको रूपमा चुनिएँ, अनि मैले सोचेँ, “अगुवाको कर्तव्य निर्वाह गर्न पाउनु भनेको परमेश्वरद्वारा उच्च पारिनु हो, आफ्नो कर्तव्य निर्वाह गरेर मात्र मैले धेरै असल कार्यहरू तयार गर्न सक्छु, अनि यसो गरेर मात्र मैले परमेश्वरको अनुमोदन पाउनेछु र उहाँको राज्यमा प्रवेश गर्नेछु।” त्यसैले, मैले मेरो बच्चा सासु-ससुराको जिम्मा लगाएँ र आफ्नो सबै समय कर्तव्यमा अर्पित गरेँ। म आफ्नो कर्तव्यमा आफूलाई समर्पित गर्न उत्साहित थिएँ, र मण्डलीले मलाई जे काम गर्न प्रबन्ध गरे पनि, मैले कहिल्यै इन्कार गरिनँ। घामपानी केही नभनी, म आफ्नो कर्तव्यमा लागिरहेँ। केही समयपछि, मैले जिम्मा लिएको कामको केही नतिजा देखिन थाल्यो। पछि, म प्रचारकका रूपमा चुनिएँ, र मेरो जिम्मेवारीको दायरा झन्-झन् ठूलो बन्दै गयो, म आत्म-सन्तुष्टिले भरिएँ, किनकि मैले सोचेँ कि म दुःख सहन, मूल्य चुकाउन, त्याग गर्न र आफूलाई समर्पित गर्न सक्छु, अनि मेरो कर्तव्यबाट केही नतिजाहरू पनि आइरहेका छन्, र मलाई परमेश्वरले पक्कै आशिष् दिनुहुनेछ भन्ने विश्वास थियो। मनमा यही कुरा लिएर, म आफ्नो कर्तव्यमा झन् बढी उत्प्रेरित भएँ। पछि, कहिलेकाहीँ मेरो पेटमा मन्द दुखाइ हुन्थ्यो, तर मैले त्यसप्रति त्यति वास्ता गरिनँ र निरन्तर कर्तव्य निर्वाह गरिरहेँ।
एक बिहान, नास्ता खाएपछि म साइकल चढेर भेला स्थलतर्फ जाँदै थिएँ, र भर्याङ उक्लँदा मेरो पेटमा दुखाइको लहर चल्यो, तर मैले सहेँ र भेला सिध्याएँ। त्यसपछि म जाँच गराउन अस्पताल गएँ, र डाक्टरले गम्भीर स्वरमा मलाई भने, “तपाईँलाई पेटमा रक्तस्राव सहितको इरोसिभ ग्यास्ट्राइटिस भएको छ, र यसलाई समयमै उपचार गर्नुपर्छ। यदि राम्रोसँग उपचार गरिएन भने, पेटको क्यान्सर हुने जोखिम हुन्छ।” डाक्टरको कुरा सुनेर म अलि त्रसित भएँ, समयमै उपचार भएन र साँच्चै पेटको क्यान्सर भएर म मरेँ भने, मैले परमेश्वरको मुक्ति गुमाउनेछु अनि मेरा सबै प्रयास र समर्पण व्यर्थ हुनेछन् भनी मलाई चिन्ता लाग्यो। मलाई भित्रभित्रै अलि कमजोर महसुस भयो, तर तब मैले परमेश्वरका वचनहरू सम्झेँ: “तँमाथि बिमारी आइपर्दा, त्यो परमेश्वरको प्रेम हो, र त्योभित्र निश्चय नै उहाँका असल अभिप्रायहरू समावेश हुन्छन्। तेरो देहले अलिकति कष्ट भोग्नुपर्ने भए तापनि, शैतानबाट कुनै विचारहरू नस्विकार्। रोगका बीचमा परमेश्वरको प्रशंसा गर् र तेरो प्रशंसाका बीचमा परमेश्वरको आनन्द लिई। रोग सामना गर्दा निराश नबन्, बारम्बार खोजी गर् अनि हरेस नखा, अनि परमेश्वरले तँलाई ज्योति र अन्तर्दृष्टि दिनुहुनेछ। अय्यूबको आस्था कस्तो थियो? सर्वशक्तिमान् परमेश्वर सर्व-शक्तिशाली वैद्य हुनुहुन्छ! बिमारीमा बास गर्नु भनेको बिरामी हुनु हो, तर आत्मामा बास गर्नु भनेको स्वस्थ हुनु हो। तँसँग अझै पनि एक सास बाँकी रहेसम्म, परमेश्वरले तँलाई मर्न दिनुहुनेछैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ६)। परमेश्वरका वचनहरू मनन गर्दा, मैले आशाको झिल्को देखेझैँ लाग्यो, र मैले यो बिमारमा परमेश्वरको अभिप्राय छ भन्ने महसुस गरेँ। मैले गुनासो गर्नु हुँदैनथ्यो। मैले पहिले समर्पित हुनुपर्थ्यो र परमेश्वरमा आस्था राख्नुपर्थ्यो, अनि मेरो फोक्सोमा सास हुन्जेल परमेश्वरले मलाई मर्न दिनुहुन्न भन्ने विश्वास गर्नुपर्थ्यो। मैले विगत केही वर्षमा मैले आफ्नो कर्तव्यमा कसरी सधैँ त्याग गरेँ र आफूलाई समर्पित गरेँ भन्नेबारे सोचेँ; जब मेरो बच्चा सानै थियो र परिवारलाई कठिनाइहरू आइपर्थ्यो, मेरो श्रीमान्को मृत्यु हुँदासमेत, मैले कर्तव्य छोडिनँ, त्यसैले मलाई मैले आफ्नो कर्तव्यमा गरेका मेहनत र समर्पणलाई परमेश्वरले ख्याल गर्नुहुनेछ, र उहाँले मलाई सुरक्षा दिनुहुनेछ अनि मेरो रोग निको पार्नुहुनेछ भन्ने विश्वास थियो।
पछि, मैले अस्पताल गएर केही परम्परागत चिनियाँ औषधी र सलाइन पानी लिएँ, र मैले सामान्य रूपमा कर्तव्य निर्वाह गरिरहेँ। यद्यपि, मेरो पेट अझै अक्सर दुख्थ्यो, र मलाई अपच हुन्थ्यो, त्यसैले म जाउलो मात्र खान सक्थेँ, र कहिलेकाहीँ मलाई अमिलो पानी आउथ्यो। केही समय औषधी खाएपछि, मेरो अवस्थामा सुधार हुनुको सट्टा त्यो झन् बिग्रियो। खाएपछि मलाई अपच हुन्थ्यो, र सधैँ घाँटीमा खाना अड्किएजस्तो महसुस हुन्थ्यो अनि अक्सर वाकवाकी लाग्थ्यो। राति सुत्दा पनि पेटमा पोलेको जस्तो दुखाइ महसुस हुन्थ्यो। बिमारको सास्ती सामना गर्नुपर्दा, मलाई भित्री रूपमा निकै कमजोर महसुस भयो, र मैले सोचेँ, “मैले मेरो सारा समय आफ्नो कर्तव्यमा समर्पित गरेकी छु, म हरेक दिन व्यस्त हुन्छु, र बिरामी हुँदा पनि म आफ्नो कर्तव्यलाई बेवास्ता गर्दिनँ, तैपनि मेरा मेहनत र समर्पणको बाबजुद परमेश्वरले किन मलाई सुरक्षा दिनुभएन र मेरो रोग निको पार्नुभएन?” म परमेश्वरप्रति गलत बुझाइ र गुनासो बोकेर जिएँ, र मैले धेरै नकारात्मक महसुस गरेँ। मलाई केही गर्न पनि जाँगर चलेन, र मलाई परमेश्वरका वचनहरू खान वा पिउन, वा परमेश्वरको नजिक हुन पनि मन लागेन। मैले कर्तव्यको बोझ महसुस गर्न पनि छोडेँ, जसले गर्दा सबै काममा असर पर्यो। मलाई अतिथि सत्कार गर्ने सिस्टरले मेरो खराब स्थिति देखिन् र मलाई उनीसँगै बसेर परमेश्वरका वचनहरूको पाठ सुन्न बोलाइन्। परमेश्वर भन्नुहुन्छ: “परमेश्वरले मानिसलाई सकारात्मक र नकारात्मक दुवै पक्षमा सिद्ध तुल्याउन सक्नुहुन्छ। यो कुरा तैँले परमेश्वरद्वारा सिद्ध भएको अनुभव गर्न सक्छस् कि सक्दैनस् अनि तैँले परमेश्वरद्वारा आफूलाई सिद्ध तुल्याउन खोज्छस् कि खोज्दैनस् भन्ने कुरामा निर्भर हुन्छ। यदि तैँले साँच्चै परमेश्वरद्वारा आफूलाई सिद्ध तुल्याउन खोज्छस् भने, नकारात्मकताले तेरो हानि गर्न सक्दैन, बरु त्यसले तँमा ती कुराहरू ल्याउन सक्छ, जुन अझ बढी वास्तविक छन्, र तँमा जुन कुराको कमी छ त्यो कुरा जान्न, तेरो वास्तविक अवस्थालाई बुझ्न, अनि मानिससँग केही छैन, र मानिस केही पनि होइन भन्ने कुरा बुझ्न तँलाई अझ बढी सक्षम बनाउँछ; यदि तैँले परीक्षाहरूको अनुभव गर्दैनस् भने, तँमा ज्ञान नै हुँदैन, र तैँले जहिले पनि आफूलाई अरूभन्दा माथि र सबैभन्दा उत्तम भएको महसुस गर्नेछस्। यी सबै कुराहरूबाट तैँले पहिले आएका सबै कुरा परमेश्वरद्वारा गरिएका अनि परमेश्वरद्वारा संरक्षित थिए भनी बुझ्नेछस्। परीक्षाहरूमा प्रवेश गर्दा तँ प्रेम वा विश्वासरहित अवस्थामा हुन्छस्, तँमा प्रार्थनाको कमी हुन्छ अनि तँ भजन गाउन असमर्थ हुन्छस्, र यसैबीच तैँले महसुसै नगरी आफैलाई चिन्न थालिसकेको हुन्छस्। परमेश्वरसित मानिसलाई सिद्ध तुल्याउने तरिकाहरू धेरै छन्। मानिसको भ्रष्ट स्वभावको काटछाँट गर्न उहाँले हरप्रकारका वातावरणहरू प्रयोग गर्नुहुन्छ र मानिसलाई उदाङ्गो पार्न विभिन्न कुराहरू प्रयोग गर्नुहुन्छ; एउटा सन्दर्भमा, उहाँले मानिसलाई काटछाँट गर्नुहुन्छ, अर्कोमा उहाँले मानिसलाई उदाङ्गो पार्नुहुन्छ, अनि अर्कोमा उहाँले मानिसको हृदयको गहिराइमा भएका ‘रहस्य’ खोतलेर देखाउँदै मानिसलाई प्रकट गर्नुहुन्छ, र मानिसलाई उसका धेरै वटा अवस्थाहरू प्रकट गर्दै उसको प्रकृति देखाउनुहुन्छ। परमेश्वर व्यावहारिक हुनुहुन्छ भनी मानिसले जानोस् भनी परमेश्वरले धेरै तरिकाहरूद्वारा—प्रकाशद्वारा, मानिसलाई काटछाँट गरेर मानिसको शोधन गरेर अनि सजाय दिएर—मानिसलाई सिद्ध तुल्याउनुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ)। सुन्दै र मनन गर्दै जाँदा, म गहिरो रूपमा ओतप्रोत भएँ। परमेश्वरका वचनहरूले सिधै मेरो स्थितिलाई प्रतिविम्बित गर्थे। जब म बिरामी थिइनँ, म आफ्नो कर्तव्यमा उत्सुक र सक्रिय थिएँ, तर अहिले म बिरामी हुँदा र मेरो अवस्थामा केही समयदेखि सुधार नआउँदा, मैले आस्था र कर्तव्यप्रति बोझको बोध गुमाएकी थिएँ। मैले प्रार्थना गर्ने प्रेरणा पनि गुमाएकी थिएँ। विगतमा, मैले म परमेश्वरलाई धेरै प्रेम गर्छु, र आफ्नो परिवारलाई पन्छाएर कर्तव्य निर्वाह गर्न सक्ने भएकोले, म सत्यता पछ्याउने र अभ्यास गर्ने व्यक्ति हुँ भन्ने सोचेकी थिएँ। तर अहिले मैले देखेँ कि मेरो कद निकै सानो रहेछ, र ममा परमेश्वरप्रतिको साँचो विश्वास र प्रेमको कमी रहेछ। परमेश्वरले यो रोगलाई प्रयोग गरेर मलाई शोधन र प्रकट गरिरहनुभएको थियो, ताकि मलाई मेरो भ्रष्टता र कमीकमजोरीहरू चिन्न मद्दत मिलोस्, अनि उहाँप्रतिको मेरो सच्चाइ र समर्पण सिद्ध बनोस्। मैले अब उप्रान्त परमेश्वरलाई गलत बुझ्न वा नकारात्मक हुन मिल्दैनथ्यो, र म मेरो रोग परमेश्वरलाई सुम्पेर आफ्नो हृदयलाई कर्तव्यमा लगाउन तयार भएँ। यो थाहा पाएपछि, मेरो स्थितिमा केही सुधार आयो।
सन् २०१४ को अन्त्यतिर आइपुग्दा, मेरो पेटको रोग झन् गम्भीर बनेको थियो, र थोरै खाँदा पनि पेट फुल्थ्यो, अनि मलाई लगातार दुखाइको लहर चलिरहन्थ्यो। म भित्रभित्रै धेरै कमजोर महसुस गर्थेँ, र यदि यो रोग लम्बियो, बिग्रिएर पेटको क्यान्सर भयो र म मरेँ भने के होला भनी चिन्ता गर्थेँ। यदि म मरेँ र मैले परमेश्वरको मुक्ति प्राप्त गर्न सकिनँ भने, मेरा सबै मेहनत र समर्पण व्यर्थ हुनेछैनन् र? मैले सधैँ दुःख सहँदै र मूल्य चुकाउँदै आफ्नो कर्तव्य निर्वाह गरेकी थिएँ, बिरामी हुँदा पनि आफ्नो कर्तव्य निर्वाह गरेकी थिएँ। त्यसोभए मैले किन परमेश्वरको आशिष् र सुरक्षा देखिनँ? म अन्धकारमा जिउँथेँ र कर्तव्य निर्वाह गर्न चाहन्नथेँ, त्यसैले मैले माथिल्लो अगुवालाई म उपचारका लागि घर जान चाहेको बताएँ। अगुवाले मसँग परमेश्वरको अभिप्रायबारे सङ्गति गर्नुभयो, र मैले कर्तव्य निर्वाह गर्ने क्रममा मेरो रोगको उपचार गर्नुपर्छ र शरीरको ख्याल राख्नुपर्छ भनी सुझाव दिनुभयो। मैले सोचेँ कि मेरो रोग त्यति गम्भीर पनि छैन जसले मलाई आफ्नो कर्तव्यको सानो अंश पूरा गर्नबाट पनि रोक्न सकोस्, र अर्कोतिर, म मण्डली अगुवा भएकोले, मेरो काम सुम्पिनका लागि तत्काल उपयुक्त व्यक्ति भेट्टाउन गाह्रो थियो। यदि मैले आफ्नो कर्तव्य त्यागेँ भने, ममा साँच्चै विवेकको कमी छ भन्ने देखिन्थ्यो, तर यदि म कर्तव्यमा लागिरहेँ भने, म रोगको बन्धनमा पर्नेथिएँ। मेरो पीडामा, मैले परमेश्वरलाई पुकारेँ, “हे परमेश्वर, यो रोगको अनुभव कसरी गर्ने मलाई थाहा छैन, कृपया मलाई यस अवस्थामा पाठ सिक्न र तपाईँको अभिप्राय बुझ्न मार्गदर्शन गर्नुहोस्।” त्यो साँझ, मैले ब्रदर-सिस्टरहरूसँग मेरो स्थितिबारे कुरा गरेँ। ब्रदर-सिस्टरहरूले मलाई परमेश्वरका वचनहरू पढेर सुनाए, र दुईवटा खण्डले मलाई साँच्चै ओतप्रोत गरायो। परमेश्वर भन्नुहुन्छ: “धेरै मानिसहरू ममा केवल यस कारणले विश्वास गर्छन् कि म उनीहरूलाई निको पारिदिऊँ। धेरैले ममा मैले तिनीहरूको शरीरबाट अशुद्ध आत्माहरू निकाल्न मेरो आफ्नो शक्ति प्रयोग गरूँ भनेर मात्र विश्वास गर्छन्, अनि धेरैले ममा तिनीहरूले मबाट शान्ति र आनन्द प्राप्त गर्न सकून् भनेर मात्र विश्वास गर्छन्। मबाट अझ धेरै भौतिक सम्पत्ति माग गर्नलाई मात्र धेरैले ममा विश्वास गर्छन्। यस जीवनलाई शान्तिमा बिताउन र आउने संसारमा सुरक्षित र सकुशल हुनलाई मात्रै धेरैले ममा विश्वास गर्छन्। नरकको कष्टहरूबाट बच्न र स्वर्गका आशिष्हरू प्राप्त गर्नलाई धेरैले ममा विश्वास गर्छन्। धेरैले अस्थायी सहजताका निम्ति मात्र ममा विश्वास गर्छन्, तैपनि आउने संसारको कुनै पनि कुरा प्राप्त गर्न खोज्दैनन्। जब म मेरो क्रोध मानिसहरूलाई प्रदान गर्छु र कुनै समय तिनीहरूसँग भएका सबै आनन्द र शान्ति खोस्छु, तब तिनीहरू सशङ्कित हुन्छन्। जब म मानिसहरूलाई नरकको कष्ट प्रदान गरेर स्वर्गको आशिष् फिर्ता लिन्छु, तब तिनीहरू क्रोधित हुन्छन्। जब मानिसहरू आफूलाई निको पारिदिन भनी मलाई बिन्ती गर्छन् र म तिनीहरूलाई ध्यान दिन्नँ र तिनीहरूप्रति घृणा महसुस गर्छु, तब तिनीहरू मबाट टाढा जान्छन् र बरु दुष्ट औषधि र टुनामुनाको मार्ग खोज्नतिर लाग्छन्। जब म मानिसहरूले मबाट माग गरेका सबैथोक खोस्छु, तिनीहरू सबैजना कुनै नामनिसानविनै गायब हुन्छन्। त्यसैले त म भन्छु, मैले प्रदान गर्ने अनुग्रह अत्यन्तै प्रशस्त भएको हुनाले र प्राप्त गर्नका लागि प्रशस्त लाभहरू भएकाले नै मानिसहरूले ममा विश्वास गर्ने गर्छन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विश्वासको बारेमा तँलाई के थाहा छ?)। “परमेश्वरसँगको मानिसको सम्बन्ध नाङ्गो स्वार्थको सम्बन्ध मात्रै हो। यो आशिष् पाउने र दिनेबीचको सम्बन्ध हो। स्पष्ट रूपमा भन्नुपर्दा, यो एक कर्मचारी र एक रोजगारदाताबीचको सम्बन्ध हो। कर्मचारीले केवल रोजगारदाताले प्रदान गर्ने पुरस्कारहरू पाउनका लागि कडा परिश्रम गर्छ। स्वार्थमा आधारित यस प्रकारको सम्बन्धमा कुनै आत्मीय स्नेह हुँदैन, केवल लेनदेन हुन्छ। त्यहाँ प्रेम गर्नु वा प्रेम गरिनु हुँदैन, केवल दान र कृपा हुन्छ। त्यहाँ कुनै समझदारी हुँदैन, केवल विवश दमित आक्रोश र छल हुन्छ। त्यहाँ कुनै घनिष्ठता हुँदैन, केवल पार गर्न नसकिने खाडल हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ)। परमेश्वरका वचनहरू पढेपछि, एउटी सिस्टरले मसँग धेरै सङ्गति गरिन्। उनले मलाई मेरो रोग हटाइदिन भनी सधैँ परमेश्वरलाई माग गर्नु अविवेकी व्यवहार हो भनेर सम्झाइन्। परमेश्वरका वचनहरू पढेर र उहाँको सङ्गति सुनेर, मलाई अचानक छर्लङ्ग भयो। मैले महसुस गरेँ कि म आशिष् पाउनका लागि मात्र परमेश्वरमा विश्वास गर्दी रहेछु। सुरुमा, म मेरो परिवार र बच्चालाई पन्छाएर आफ्नो कर्तव्य निर्वाह गर्न सक्थेँ, तर यो सबै परमेश्वरको सुरक्षा र आशिष् पाउनका लागि, अनि परमेश्वरको मुक्ति पाउन र स्वर्गको राज्यमा प्रवेश गर्न सकूँ भन्नका लागि मात्र रहेछ। रोगको सामना गर्नुपर्दा, परमेश्वरले मेरो कर्तव्यमा मैले गरेको मेहनत र समर्पणलाई ख्याल गर्नुहुनेछ र मेरो रोग निको पार्नुहुनेछ भनी मैले आशा गरेकी थिएँ, तर जब समय बित्दै गयो र मेरो अवस्था सुध्रिनुको साटो झन् बिग्रियो, तब म नकारात्मक भएँ र मैले गुनासो गरेँ, अनि मलाई किन निको पार्नुहुन्न भनी परमेश्वरलाई प्रश्न गरेँ। जब मेरो अवस्था गम्भीर बन्यो, मैले आफ्नो लागि उम्कने बाटो समेत सोच्न थालेँ, र म निको हुनका लागि कर्तव्य छोडेर घर जान चाहन्थेँ। मैले महसुस गरेँ कि आफ्ना कर्तव्यमा परमेश्वरका लागि आफूलाई समर्पित गर्ने मेरा लक्ष्यहरू सही थिएनन्, र मैले दुःख र समर्पणमार्फत परमेश्वरको आशिष् पाउन चाहेकी रहेछु, अनि आफ्ना लक्ष्यहरू हासिल गर्न नसकेपछि, मैले परमेश्वरबाट तर्किने विचार गरेछु। म कुन हिसाबले आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिएँ? म कुन हिसाबले परमेश्वरप्रति बफादार वा समर्पित थिएँ? म प्रस्ट रूपमा परमेश्वरलाई प्रयोग गरिरहेकी र उहाँसँग सौदाबाजी गर्न खोजिरहेकी थिएँ। मैले परमेश्वरलाई परमेश्वरको रूपमा व्यवहार गरिनँ; बरु, मैले उहाँलाई एउटा अक्षय भण्डार र बहुउद्देश्यीय औजारजस्तै व्यवहार गरेँ। म साँच्चै स्वार्थी र घृणास्पद थिएँ! त्यसपछि मैले बुझेँ कि यो रोगको सामना गर्नुमा साँच्चै परमेश्वरको अभिप्राय रहेछ, र यसले मेरा गलत दृष्टिकोण, मनसाय र चाहनाहरू प्रकट गरिरहेको रहेछ। यदि यस्तो नहुँदो हो त, म अझै पनि सोच्नेथिएँ कि मैले कर्तव्य निर्वाह गर्नका लागि आफ्नो परिवार र करियर त्यागेँ, र मैले परमेश्वरप्रति ठूलो प्रेम देखाइरहेकी छु। सत्य कुरा त यो थियो कि, म परमेश्वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिइनँ, म त अशुद्ध अभिप्राय र लेनदेनको मनसायले यसो गरिरहेकी थिएँ। यदि मैले यही दृष्टिकोण लिएर परमेश्वरमा विश्वास गर्न र कर्तव्य निर्वाह गर्न जारी राखेकी भए, अन्तमा म परमेश्वरद्वारा तिरस्कृत हुनेथिएँ!
मेरो खोजाइमा, मैले मलाई परमेश्वरको सर्वशक्तिमान्ता र सार्वभौमिकता थाहा रहेनछ भन्ने पनि देखेँ। बिमारीको सामना गर्दा, म निरन्तर मेरो अवस्था बिग्रिने हो कि र म मर्ने पो हुँ कि भनेर चिन्ता गर्थेँ। मेरो विश्वास अत्यन्तै झिनो थियो। परमेश्वर भन्नुहुन्छ: “मानिसका सबै कुरा परमेश्वरद्वारा नियन्त्रित हुन्छ, र मानिस बाँच्छ कि मर्छ भन्ने कुराको निर्णय परमेश्वरले गर्नुहुन्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २)। “सर्वशक्तिमान्को नजरमा, पूरै मानवजातिको कसलाई चाहिँ वास्ता गरिएको छैन र? सर्वशक्तिमान्को पूर्वनिर्धारित प्रबन्धमाझ कोचाहिँ जिउँदैन र? के मानिसको जीवन र मृत्यु उसको आफ्नै रोजाइमा हुन्छ र? के मानिसले आफ्नो भवितव्य आफैले नियन्त्रण गर्न सक्छ र? धेरै मानिसहरूले चिच्याएर मृत्युलाई बोलाउँछन्, तर यो तिनीहरूबाट धेरै टाढा हुन्छ; धेरै मानिसहरू जीवनमा बलिया रहेका व्यक्तिहरूजस्तो बन्न चाहन्छन् र मृत्युदेखि डराउँछन्, तर तिनीहरूलाई थाहै नभई तिनीहरूको मृत्युको दिन नजिक आउँछ र तिनीहरूलाई मृत्य-कुण्डमा धकेल्छ; धेरै मानिसहरूले आकाशमा हेर्छन् र गहिरो सुस्केरा हाल्छन्; धेरै मानिसहरूले ठूलो रोदन निकाल्छन्, बिलौनामा सुँक्कसुँक्क गर्छन्; धेरै मानिसहरू परीक्षाहरूको बीचमै ढल्छन्; अनि धेरै मानिसहरू परीक्षाहरूको बीच कब्जामा पर्छन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय ११)। परमेश्वरका वचनहरूले मलाई बुझाए कि परमेश्वरले नै सबथोक नियन्त्रण गर्नुहुन्छ र सबथोकमाथि सार्वभौमिकता राख्नुहुन्छ, अनि मानिसको जीवन र मरण उहाँकै हातमा छ। मेरो रोग निको हुनु वा नहुनु पनि परमेश्वरकै हातमा छ। यस समयमा, म लगातार रोगले बाँधिएकी थिएँ, र मेरो अवस्था बिग्रिएर क्यान्सर हुने हो कि र मेरो ज्यान जाने हो कि भन्ने डरले, मैले स्वास्थ्यमा ध्यान दिनका लागि कर्तव्य छोड्ने विचार गरेँ। मैले परमेश्वर नै सबथोकमाथि सार्वभौम हुनुहुन्छ भनेर मौखिक दाबी गरेँ, तर वास्तविक जीवनमा, ममा परमेश्वरमाथि साँच्चिकै विश्वास थिएन। कठिनाइहरूको सामना गर्दा, मैले परमेश्वरमा भर परिनँ वा उहाँतर्फ हेरिनँ, बरु म चिन्ता र व्याकुलतामा जिउँदै आफ्नो लागि निकासको उपाय सोचिरहेँ। मैले म निको हुनु वा नहुनु परमेश्वरको हातमा छ भनेर विश्वास गरिनँ, बरु आफैले उपचार खोज्दा र निको हुनमा ध्यान दिँदा मात्र मेरो रोग निको हुन्छ भन्ने सोचेँ। के यो अविश्वासीको दृष्टिकोण थिएन र? मेरो श्रीमान् बिरामी हुँदा, मैले उनलाई उपचारका लागि चारैतिर लगेँ, र डाक्टरहरूले उनको उपचार हुने अवस्था नरहेको बताए। साथीभाइ र परिवारले मलाई व्यर्थको प्रयास नगर्न सल्लाह दिए, तर पनि मैले नियतिलाई स्विकार्न मानिनँ। उनको रोगको उपचार गर्नका लागि, मैले हाम्रो सबै बचत सिध्याएँ र ऋणसमेत काढेँ। मैले उनको हेरचाहमा आफूलाई समर्पित गरेकी र म उनको साथमै बसेकी भए पनि, अन्तमा, मैले उनको जीवन बचाउन सकिनँ। यसबाट, मैले महसुस गरेँ कि जीवन र मरण परमेश्वरद्वारा पूर्वनियोजित हुन्छ। मानिसहरूले आफ्नो भाग्यलाई नियन्त्रण गर्न सक्दैनन्, न त तिनीहरूले अरूको नियति नै बदल्न सक्छन्। वास्तवमा, चाहे मैले मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गरूँ वा घर जाऊँ, म अझै पनि सामान्य रूपमा चिकित्सा सेवा खोज्न र आफ्नो शरीरको ख्याल राख्न सक्थेँ, तर मेरो रोग निको हुने वा बिग्रिने कुरा परमेश्वरद्वारा निर्धारण गरिन्थ्यो। व्यक्तिको आयु पनि परमेश्वरले नै तय गर्नुहुन्छ, र यदि मेरो समय आएको थियो भने, मैले स्वास्थ्यलाभ गर्नका लागि कर्तव्य छोडेर घरमै बसे पनि, मेरो अवस्था बिग्रिने नै थियो, र मेरो समय आएपछि म मर्ने नै थिएँ, तर यदि मेरो समय आएको थिएन, र मेरो मिसन पूरा भएको थिएन भने, परमेश्वरले मलाई चाँडै मर्न दिनुहुनेथिएन। मैले देखेँ कि मैले परमेश्वरको सर्वशक्तिमान्ता र सार्वभौमिकता थाहा पाएकी रहेनछु, र मैले मेरो रोग बिग्रिने हो कि वा म मर्ने पो हो कि भन्ने चिन्ता लिएर, आफ्ना दिनहरू चिन्ता र व्यग्रतामा कटाएकी रहेछु। म त साँच्चै मूर्ख र अज्ञानी थिएछु! वास्तवमा, यी चिन्ताहरू अनावश्यक थिए र यिनले केही पनि बदल्न सक्दैनथे। मैले गर्न सक्ने एउटै मात्र कुरा भनेको सबै थोक परमेश्वरलाई सुम्पनु र आफूलाई उहाँको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित गर्नु थियो। साथसाथै, म चिकित्सा उपचार खोज्न, सामान्य रूपमा स्वास्थ्य लाभ गर्न, र सकेसम्म राम्रोसँग आफ्नो कर्तव्य निर्वाह गर्न सक्थेँ। म कति लामो समय बाँच्छु वा मेरो रोग निको हुन्छ कि हुँदैन भन्ने कुराको पर्वाह नगरी, मैले परमेश्वरका योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूप्रति समर्पित हुनुपर्थ्यो।
पछि, मैले परमेश्वरका अझ धेरै वचनहरू पढेँ: “मानिसको कर्तव्य र उसले आशिष्हरू पाउँछ कि दुर्भाग्य भोग्छ भन्ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। कर्तव्य भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र उसले यो कार्य क्षतिपूर्ति नखोजी, र सर्तहरू वा बहानाहरू बिनै गर्नुपर्छ। यसलाई मात्रै उसले आफ्नो कर्तव्य पूरा गर्नु भनिन्छ। आशिष्हरू प्राप्त गर्नुले न्यायको अनुभव गरिसकेपछि सिद्ध पारिँदा व्यक्तिले प्राप्त गर्ने आशिष्हरूलाई जनाउँछ। दुर्भाग्य भोग्नुले सजाय र न्याय भोगिसकेपछि पनि व्यक्तिको स्वभाव परिवर्तन नहुँदा—अर्थात्, तिनीहरू सिद्ध नपारिँदा उसले पाउने दण्डलाई जनाउँछ। तर चाहे तिनीहरूले आशिष्हरू पाऊन् वा दुर्भाग्य भोगून्, सृजित प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो कर्तव्य पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम कार्य यही हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारी परमेश्वरको सेवकाइ र मानिसको कर्तव्य बीचको भिन्नता)। परमेश्वरका वचनहरूबाट, मैले महसुस गरेँ कि म एउटा सृजित प्राणी हुँ, र आफ्नो कर्तव्य निर्वाह गर्नु पूर्ण रूपमा स्वभाविक र न्यायोचित हो, त्यसैले मैले परमेश्वरसँग सौदाबाजी गर्ने वा उहाँबाट इनाम माग्ने प्रयास गर्नु हुँदैन। भविष्यमा परमेश्वरले मलाई जस्तोसुकै व्यवहार गर्नुभए पनि, चाहे मैले आशिष् पाऊँ वा दुर्भाग्य भोगूँ, मैले उचित तरिकाले सृजित प्राणीको स्थानमा खडा हुनुपर्छ, परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुनुपर्छ, र आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। व्यक्तिलाई अन्ततः परमेश्वरले मुक्ति दिन सक्नु वा नसक्नु उसले परमेश्वरको न्याय र शुद्धिकरण स्वीकार गर्न सक्छ कि सक्दैन, र आफ्नो भ्रष्ट स्वभाव त्यागेर परमेश्वरसँग मिल्दो बन्न सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर हुन्छ। कडा परिश्रम, दुःख वा बलिदानमार्फत कसैले परमेश्वरको आशिष् कमाउने होइन। जबदेखि मैले परमेश्वरलाई पाएँ, म केवल बाहिरी उत्साह र व्यस्ततामै सन्तुष्ट थिएँ, र म सत्यता पछ्याइरहेकी वा मेरो जीवन प्रवेशमा ध्यान दिइरहेकी थिइनँ, र मैले विरलै परमेश्वरका वचनहरूमार्फत आत्मचिन्तन गरेकी र आफूलाई चिनेकी थिएँ। केही त्याग र समर्पण गरेपछि, म परमेश्वरको आशिष् पाउन हकदार छु भन्ने मलाई विश्वास थियो। जब आशिष् पाउने मेरा आशाहरू चकनाचुर भए, तब मैले परमेश्वरलाई गलत बुझ्न र उहाँबारे गुनासो गर्न थालेँ, यहाँसम्म कि मलाई मेरा अघिल्ला त्यागहरूबारे पछुतो भयो, र म आफ्नो कर्तव्य निर्वाह गर्न अनिच्छुक भएँ। परमेश्वर पवित्र र धर्मी हुनुहुन्छ, जबकि मजस्तो स्वार्थी र घृणास्पद व्यक्ति, जो सधैँ आशिष् खोज्थ्यो र परमेश्वरसँग सौदाबाजी गर्ने प्रयास गर्थ्यो, परमेश्वरलाई प्रयोग गर्थ्यो र धोका दिन्थ्यो, तैपनि आशिष् पाउन र स्वर्गको राज्यमा प्रवेश गर्न चाहन्थ्यो, ऊ केवल भ्रमित थियो! मैले सत्यता पछ्याइनँ, र वर्षौंसम्म परमेश्वरमा विश्वास गरेपछि पनि, कामकुराबारे मेरो दृष्टिकोण र जीवन स्वभाव बद्लिएको थिएन। यदि मैले धेरै दुःख पाएँ वा दौडधुप गरेर दिनहरू बिताएँ भने पनि, म परमेश्वरको प्रतिरोध गर्ने व्यक्ति नै रहिरहनेथिएँ, र अन्ततः, म हटाइने र दण्डित हुनेथिएँ। म एउटा सृजित प्राणी हुँ, र मैले परमेश्वरप्रति आफूलाई समर्पित गर्नु स्वभाविक र सही कुरा हो। मलाई परमेश्वरसँग आशिष् माग्ने कुनै अधिकार छैन। यसको सट्टा, मैले परमेश्वरका योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूप्रति समर्पित हुनुपर्छ र आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नुपर्छ, अनि मेरो परिणाम र गन्तव्य के हुन्छ, त्यो प्रबन्ध गर्ने काम परमेश्वरको हो। यो महसुस भएपछि, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, यदि यो रोग नहुँदो हो भने, मैले मेरो विश्वासमा आशिष् खोज्ने आफ्नो अशुद्ध अभिप्राय थाहा पाउने थिइनँ। म आशिष् खोज्ने मेरो अभिप्राय त्याग्न तयार छु, र चाहे म निको होऊँ वा नहोऊँ, जबसम्म मेरो फोक्सोमा सास रहन्छ, म तपाईँप्रति समर्पित हुनेछु र आफ्नो कर्तव्य निर्वाह गर्नेछु। यदि कुनै दिन यो रोग धेरै गम्भीर बन्यो र म मरेँ भने पनि, म गुनासो गर्नेछैन, र म तपाईँको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुनेछु।”
एकदिन मेरो उपासनाको समयमा, मैले परमेश्वरका वचनहरूमा यसो भनेको पढेँ: “कहिलेकाहीँ परमेश्वरले तेरा लागि केही परिस्थिति खडा गर्नुहुनेछ, तेरा वरपरका मानिसहरूमार्फत तेरो काटछाँट गर्नुहुनेछ र तँलाई कष्ट भोगाउनुहुनेछ, तँलाई पाठहरू सिकाउनुहुनेछ र तँलाई सत्यता बुझ्ने अनि विभिन्न कुराहरूको वास्तविकता देख्ने मौका दिनुहुनेछ। तेरो देहलाई कष्ट भोगाएर, परमेश्वरले अहिले यही काम गर्दै हुनुहुन्छ, ताकि तैँले आफ्नो पाठ सिक्न, आफ्नो भ्रष्ट स्वभाव समाधान गर्न र आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्। पावलले बारम्बार उसको देहमा एउटा काँडा छ भन्थ्यो। त्यो के काँडा थियो? त्यो एउटा रोग थियो, र ऊ त्यसबाट उम्कन सक्दैनथ्यो। उसलाई त्यो के रोग हो भनेर राम्ररी थाहा थियो, त्यो उसको स्वभाव र उसको प्रकृतिप्रति लक्षित थियो। यदि उसमा त्यो काँडा अल्झेको थिएन भने, यदि उसलाई त्यो रोगले पछ्याएको थिएन भने, उसले जुनसुकै स्थान र समयमा उसको आफ्नै राज्य खडा गर्न सक्थ्यो, तर उसको रोगले गर्दा उसमा त्यो शक्ति थिएन। त्यसकारण, बढीजसो समय रोगले मानिसहरूको लागि एकप्रकारको ‘सुरक्षा कवच’ को काम गर्छ। यदि तँ बिरामी नभएर शक्तिले भरिपूर्ण छस् भने, तैँले कुनै दुष्ट काम र कुनै प्रकारको समस्या निम्त्याउन सक्छस्। मानिसहरू अत्यन्तै अहङ्कारी र मनमौजी हुँदा तिनीहरूले सजिलै आफ्नो समझ गुमाउन सक्छन्। तिनीहरूले दुष्ट काम गरिसकेपछि पश्चात्ताप त गर्नेछन्, तर त्यतिन्जेल तिनीहरू त्यसबारे केही गर्नै नसक्ने भइसक्नेछन्। त्यसले गर्दा थोरै रोग हुनु राम्रो कुरा हो, अर्थात यो मानिसहरूको लागि सुरक्षा हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरमा विश्वास गर्ने क्रममा, सत्यता प्राप्त गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो)। परमेश्वरका वचनहरू मनन गर्दा, म परमेश्वरप्रति कृतज्ञताले भरिएँ। यदि ममाथि यो रोग नआइलागेको भए, आफ्नो विश्वासमा आशिष् खोज्ने मेरो दूषित अभिप्राय प्रकट हुनेथिएन, र मैले मेरो कडा परिश्रमलाई परमेश्वरसँग सौदाबाजी गर्ने पुँजीको रूपमा निरन्तर प्रयोग गरिरहनेथिएँ। जब मैले धेरै जिम्मेवारी लिन्थेँ र धेरै दुःख सहन्थेँ, म त्यति नै अहङ्कारी बन्नेथिएँ, र मसँग परमेश्वरको अनुमोदन र आशिष् कमाउने पुँजी छ भन्ने विश्वास गर्नेथिएँ। यदि केलाई पछ्याउने भन्नेबारे मेरा गलत दृष्टिकोणहरू प्रकट गर्न यो रोग नआइलागेको भए, मैले परमेश्वरमाथिको विश्वासमा मेरो दूषित अभिप्राय थाहा पाउने थिइनँ, र म गलत मार्गमा हिँडिरहनेथिएँ, ठ्याक्कै पावलजस्तै, जसले परमेश्वरबाट धार्मिकताको मुकुट मागेको थियो, उहाँको प्रतिरोध गरेको थियो, र जो अन्ततः परमेश्वरद्वारा हटाइयो र दण्डित भयो। फर्केर हेर्दा, ममाथि आइपरेको रोग वास्तवमै मलाई ढाक्ने एक प्रकारको सुरक्षा छाताजस्तै थियो। यो मलाई सुरक्षा दिने परमेश्वरको तरिका थियो, र मैले शारीरिक रूपमा कष्ट भोगे पनि यसले मेरो पछ्याइपछाडिको गलत दृष्टिकोणलाई सच्याइदियो। यी कुराहरू आरामदायी वातावरणमा प्राप्त गर्न सकिँदैनथ्यो। परमेश्वरले मलाई रोगको अनुभव गराएको मलाई अप्ठ्यारोमा पार्नका लागि थिएन, बरु, उहाँको अभिप्राय त मलाई रूपान्तरण गर्नु, मलाई सत्यता खोज्न अनि उक्त रोगमार्फत आत्मचिन्तन गर्न र आफूलाई चिन्न, र यसरी उहाँसामु पश्चात्ताप गर्न सक्षम बनाउनु थियो। मेरो रोगमार्फत, मैले परमेश्वरको श्रमसाध्य अभिप्राय थाहा पाएँ, र परमेश्वरले मानिसहरूमा जे गर्नुहुन्छ त्यो सधैँ मुक्ति र प्रेमको लागि हुन्छ भन्ने थाहा पाएँ। म परमेश्वरप्रति साँच्चै कृतज्ञ थिएँ!
यसपछि, मैले मेरो हृदयलाई आफ्नो कर्तव्यमा लगाएँ। कहिलेकाहीँ मैले “स्वस्थ शरीर हुनु कति राम्रो हुन्थ्यो होला, मेरो रोग कहिले निको हुन्छ होला” भनेर सोच्ने भए पनि, मैले म अझै पनि परमेश्वरसँग मागहरू राखिरहेकी छु र समर्पित भइरहेकी छैन भनेर तुरुन्तै महसुस गरिहाल्थे, त्यसैले म परमेश्वरलाई मौन प्रार्थना गर्थेँ, “हे परमेश्वर, यो रोग मसँग जतिसुकै लामो समयसम्म रहे पनि, मेरो रोगमा सुधार नआए पनि, म तपाईँका योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूप्रति समर्पित हुन तयार छु, र जबसम्म मेरो फोक्सोमा सास रहन्छ, म मेरो कर्तव्य पालना गरिरहनेछु।” प्रार्थनामार्फत मेरो हृदय धेरै शान्त भयो। मैले पहिले कसरी रोगमा रुमलिएर मण्डलीको काममा ढिलाइ गरेकी थिएँ, र पनि परमेश्वरले मलाई कर्तव्यमार्फत पश्चात्ताप गर्ने अवसर दिनुभयो भन्नेबारे चिन्तन गर्दा, म कर्तव्यप्रतिको मेरो पुरानो मनोवृत्ति बदल्न र परमेश्वरलाई तिर्नुपर्ने ऋण पूर्ति गर्न तयार भएँ। पछि, मैले मसँग सहकार्य गर्ने सिस्टरसँग मिलेर काममा भएका विचलन र समस्याहरूको सारांश निकालेँ, कार्यान्वयन गर्नुपर्ने कामहरू एक-एक गरी अभिलेखन गरेँ, तिनलाई कार्यान्वयन गर्न ब्रदर-सिस्टरहरूसँग सङ्गति गरेँ, र वास्तवमै ब्रदर-सिस्टरहरूले कर्तव्यमा सामना गर्नुपरेका समस्याहरू समाधान गरेँ। केही समयपछि, मण्डलीको काममा सबै क्षेत्रमा केही सुधार आयो, र ब्रदर-सिस्टरहरू पनि कर्तव्यमा सक्रिय भए। मलाई पनि ठूलो हौसला मिल्यो र म अब रोगले पहिले जति बाँधिएकी थिइनँ। एकदिन, मैले संयोगवश मेरो पेटको समस्या निको पार्न सक्ने एउटा उपचार भेट्टाएँ, र केही पटक औषधी खाएपछि, मेरो पेट दुख्न छोड्यो, र मेरो शरीर बिस्तारै निको भयो। मैले मेरो अन्तरहृदयबाटै परमेश्वरलाई धन्यवाद र प्रशंसा चढाएँ, र परमेश्वर कति बुद्धिमान् र सर्वशक्तिमान् हुनुहुन्छ भनेर मैले देखेँ। परमेश्वरले गर्ने हरेक काम मलाई परिवर्तन गर्न र शुद्ध पार्नका लागि हो!
यो रोगको अनुभव गर्दा, मैले शारीरिक कष्ट भोग्नुपरेको भए पनि, मैले परमेश्वरमा विश्वास गर्नेबारे मेरा गलत दृष्टिकोणहरू सच्याएँ, र मेरो विश्वासमा भएका अशुद्धताहरू केही हदसम्म शुद्ध भए। मैले यो पनि बुझेँ कि एउटा सृजित प्राणीले आफ्नो कर्तव्य निर्वाह गर्नु पूर्ण रूपमा स्वभाविक र न्यायोचित हो, र चाहे उसलाई आशिष् प्राप्त होस् वा कष्ट आइपरोस्, उसले परमेश्वरका योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूप्रति समर्पित हुनुपर्छ र आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। मैले प्राप्त गरेका यी बुझाइ र परिवर्तनहरू सबै परमेश्वरका वचनहरूको न्याय र सजायमार्फत हासिल भएका नतिजा हुन्।