६०. के कमजोर क्षमताका साथ मुक्ति पाउन असम्भव छ?
सन् २०१८ मा, म मण्डलीमा ग्राफिक्सको काम गर्दै थिएँ, तर आफ्नो कमजोर क्षमताका कारण, मैले यो कर्तव्य राम्ररी निर्वाह गर्न सकिनँ, त्यसैले मलाई नयाँ काममा खटाइयो। पछि, म पटकथा लेखनमा सहभागी भएँ, अनि २०२१ को अन्त्यमा, मेरो कमजोर क्षमता र सतही जीवन अनुभवका कारण मलाई फेरि नयाँ काममा खटाइयो। आफ्नो लागि नयाँ कर्तव्यको प्रबन्ध गरिने प्रतीक्षामा रहँदा, मैले आफू वरपरका दुई जना सिस्टरले एकपछि अर्को गर्दै कर्तव्यहरू लिएको देखेँ। एक जना मण्डली अगुवा निर्वाचित भइन्, र अर्कीलाई नयाँ विश्वासीहरूलाई मलजल गर्ने काममा खटाइयो, अनि कुनै भूमिका नपाउने म मात्रै थिएँ। ती सिस्टरहरू आ-आफ्नो कर्तव्यमा व्यस्त भएको देख्दा, मलाई केही चिन्ता लाग्यो। मलाई लाग्थ्यो, ग्राफिक्स र पटकथा लेखनका कामहरूमा मलाई रुचि थियो र म तिनमा राम्रै थिएँ, तर अब मेरो कमजोर क्षमताका कारण मलाई नयाँ काममा खटाइएकाले, अब म कुन कर्तव्य निर्वाह गर्न सक्थेँ र? नयाँ विश्वासीहरूलाई मलजल गर्ने? मैले सत्यता बुझेकी थिइनँ। सुसमाचार प्रचार गर्ने? मलाई बोल्न अप्ठ्यारो लाग्थ्यो र मानिसहरूसँग कुराकानी गर्न सिपालु थिइनँ। अगुवाहरूले मेरो कमजोर क्षमता देखेर मेरा लागि कुन कर्तव्य प्रबन्ध गर्ने भनेर थाहा नपाउनुभएको होला। परमेश्वरको काम अन्त्य हुन लाग्दै गर्दा, म कुनै कर्तव्य निर्वाह गर्न वा कुनै असल कार्यहरू तयार गर्न सक्दिनथेँ, त्यसैले मैले कसरी मुक्ति पाउन सक्थेँ र? म जति यसबारे सोच्थेँ, त्यति नै बेचैन हुन्थेँ।
पछि, करिब एक महिनापछि, अगुवाहरूले अन्ततः मेरा लागि एउटा कर्तव्यको प्रबन्ध गर्नुभयो, र मलाई मण्डली सफा गर्ने काममा खटाउनुभयो। म यसपटक पक्कै पनि आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न कडा मिहिनेत गर्नेछु भन्ने सोच्दै म एकदमै खुसी भएँ। तर व्यवहारमा, मैले आफू कहिल्यै सिद्धान्तहरू बुझ्न सक्दिनँ भन्ने पाएँ। मैले सफाइसम्बन्धी एउटा कागजात धेरै पटक दोहोर्याएर हेरेँ तर अझै पनि त्यसलाई कसरी मूल्याङ्कन र वर्गीकरण गर्ने भन्ने थाहा पाइनँ। एकपटक, अगुवाहरूले हामीलाई विश्लेषण गर्न एउटा सफाइसम्बन्धी कागजात दिनुभयो, अनि सबैले पढेपछि एक-एक गर्दै आ-आफ्नो राय राखे, तर मैले कागजातमा भएका सबै जानकारी सम्झन पनि सकिनँ, राय दिनु त परको कुरा। मलाई लाचार र नकारात्मक महसुस भयो, र मैले सोचेँ, “मेरो क्षमता किन यति कमजोर छ? म यो कर्तव्य पनि लामो समयसम्म निर्वाह गर्न सक्दिनँ जस्तो देखिन्छ।” थाहा नपाइकन नै, म अलिक दिक्दार भएँ। पछि, निरन्तरको तालिममार्फत, मैले अन्ततः केही प्रगति गरेँ। त्यतिबेला, हाम्रो टोलीमा लामो समयदेखि कर्तव्य निर्वाह गर्दै आएका केही सिस्टरलाई अन्य कर्तव्यहरूमा खटाइयो, र भर्खरै तालिम सुरु गरेका ब्रदर-सिस्टरहरू कामसँग अझै अपरिचित थिए, त्यसैले मलाई अस्थायी रूपमा टोली अगुवा चुनियो। मलाई धेरै दबाब महसुस भयो, र मलाई आफूले यो काम राम्ररी गरिनँ भने, यसले कामका नतिजामा असर गर्नेछ र मलाई फेरि नयाँ काममा खटाइनेछ, अनि म सार्वजनिक रूपमै कमजोर क्षमता भएको मानिनेछु, र जुनसुकै बेला हटाइन सक्छु भन्ने डर लाग्यो। काम राम्ररी गर्न, म बिहानदेखि बेलुकासम्म सफाइसम्बन्धी कागजातहरू व्यवस्थित गर्न र ब्रदर-सिस्टरहरूका प्रश्नहरूको जवाफ दिन खटिएँ। मैले लगनशीलताका साथ सहकार्य गरे पनि, सबै कुरा एकैचोटि सम्हाल्न सकिनँ। यसबाहेक, मैले समस्याहरूको सारांश ननिकाली काम गर्नमा मात्र ध्यान केन्द्रित गरेँ, न त मैले सबैलाई सिद्धान्तहरू सिक्न नै अगुवाइ गरेँ, जसले गर्दा केही कागजात गलत रूपमा वर्गीकृत भए, र यसले सफाइको काममा ढिलाइ गरायो। त्यसको केही समय नबित्दै, मलाई बर्खास्त गरियो। म अझै पनि मण्डलीमा सफाइको काम गरिरहेकी भए पनि, मलाई धेरै दुःख लाग्यो, र मैले सोचेँ, “मेरो क्षमता यति कमजोर छ कि म केही पनि राम्ररी गर्न सक्दिनँ। मैले साँच्चै मुक्ति पाउनेछैन! म जुनसुकै बेला हटाइन सक्छु।” म आफैलाई परिभाषित गर्ने स्थितिमा जिएँ, र हरेक दिन नित्यचर्य तरिकाले कर्तव्य निर्वाह गरेँ। मेरा सहकर्मी सिस्टरहरूले आफ्नो काममा कठिनाइहरू भोगिरहेको देख्दा, मैले मद्दत गर्न चाहिनँ, र मैले सोचेँ, “मेरो कमजोर क्षमताले म कुन समस्या छर्लङ्ग देख्न सक्छु र? यदि मैले केही गलत भनेँ भने, के यसले मेरो क्षमता कमजोर छ भन्ने कुरालाई नै थप पुष्टि गर्दैन र?” मैले परमेश्वरले किन अरूलाई यति राम्रो क्षमता दिनुभयो, जबकि मेरो चाहिँ यति कमजोर छ भनी गुनासोसमेत गरेँ। त्यस समयमा, ब्रदर-सिस्टरहरूले मलाई जीवन प्रवेशमा ध्यान दिन र समय हुँदा अनुभवात्मक गवाही लेखहरू लेख्न सम्झाए, तर मैले सोचेँ, “जीवन प्रवेश राम्रो क्षमता भएका मानिसहरूले मात्र हासिल गर्न सक्ने कुरा हो। मेरो कमजोर क्षमताका साथ, मैले केही परिश्रम गर्नुबाहेक अरू के गर्न सक्छु र? छोडिदिउँ। परमेश्वरले नै मेरो क्षमता कमजोर छ भनी नियोजित गर्नुभएकाले, म केवल समर्पित हुन्छु र मण्डलीमा थोरै परिश्रम गर्छु।” मैले आफैमा केही हदसम्म आशा मारेँ। पछि, मैले मेरो स्थिति गलत रहेछ भन्ने महसुस गरेँ, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म हटाइने बिन्दुसम्म पुग्न चाहन्नँ। म पनि जीवन प्रवेशमा ध्यान दिन र सत्यता पछ्याउन चाहन्छु, तर मेरो कमजोर क्षमताले गर्दा, मलाई सत्यता कसरी खोज्ने भन्ने पनि थाहा छैन। हे परमेश्वर, कृपया मलाई यो स्थिति सच्याउन अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस्।”
एक दिन, आफ्ना समस्याहरूबारे विचार गरिरहँदा, मलाई अचानक एउटा भजनको पङ्क्ति याद आयो, “मेरो क्षमता कमजोर भए पनि, मसँग इमानदार हृदय छ।” र मलाई परमेश्वरले यो पङ्क्तिबारे विस्तृत रूपमा सङ्गति गर्नुभएको थियो भन्ने याद आयो, त्यसैले मैले तुरुन्तै परमेश्वरको वचनको यो खण्ड भेट्टाएँ र पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “यस गीतको अर्को हरफले यसो भन्छ, ‘मेरो क्षमता कमजोर भए पनि, मसँग इमानदार हृदय छ।’ यी वचनहरू निकै सच्चा सुनिन्छन्, र तिनमा परमेश्वरले मानिसबाट गर्ने एउटा माग छ। के माग? के हो भने, कमजोर क्षमता हुनु ठूलो कुरा होइन, तर उनीहरूमा इमानदार हृदय हुनैपर्छ र उनीहरूमा त्यो छ भने, उनीहरूले परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्छन्। तेरो परिस्थिति वा पृष्ठभूमि जस्तोसुकै भए पनि, तँ इमानदार व्यक्ति हुनुपर्छ, इमानदारीसाथ बोल्नुपर्छ, इमानदारीसाथ व्यवहार गर्नुपर्छ, तेरो सम्पूर्ण मनमस्तिष्कले आफ्नो कर्तव्य पूरा गर्न सक्नुपर्छ, तँ आफ्नो कर्तव्यप्रति अर्पित हुनुपर्छ, तैँले छट्टु व्यवहार गर्नु हुँदैन, तँ धूर्त वा छली व्यक्ति हुनु हुँदैन, झुट बोल्नु वा धोका दिनु हुँदैन, र घुमाएर कुरा गर्नुहुँदैन। तँ त्यस्तो व्यक्ति बन्नुपर्छ, जसले सत्यताअनुसार कार्य गर्छ, र जो सत्यतालाई पछ्याउँछ। धेरै मानिस आफ्नो क्षमता कमजोर भएको र आफूले कहिल्यै आफ्नो कर्तव्य राम्ररी वा मानकअनुरूप निर्वाह नगरेको सोच्छन्। तिनीहरू आफ्नो हृदय र शक्ति आफूले गर्ने कुरामा लगाउँछन्, तर कहिल्यै सिद्धान्त बुझ्न सक्दैनन् र अझै पनि त्यत्ति राम्रा परिणामहरू प्राप्त गर्न सक्दैनन्। अन्ततः तिनीहरूले केवल आफ्नो क्षमता एकदमै कमजोर भएको गुनासो गर्न सक्छन् अनि तिनीहरू नकारात्मक हुन्छन्। त्यसोभए, के कमजोर क्षमता भएको व्यक्तिका लागि अघि बढ्ने मार्ग नै छैन त? कमजोर क्षमता हुनु कुनै घातक रोग होइन र परमेश्वरले कमजोर क्षमता भएका मानिसहरूलाई म मुक्ति नै दिन्नँ भनेर कहिल्यै भन्नुभएन। परमेश्वरले पहिले उहाँलाई इमानदार तर अज्ञानी व्यक्तिहरूका लागि दुःख लाग्छ भनेर भन्नुभयो। अज्ञानी हुनुको अर्थ के हो? अज्ञानता धेरै अवस्थामा कमजोर क्षमताका कारण हुन्छ। यस्ता मानिसहरू कमजोर क्षमताका हुन्छन्, र तिनीहरूमा सत्यताबारे सतही बुझाइ हुन्छ; यो विशिष्ट वा पर्याप्त व्यावहारिक हुँदैन, र प्रायः सतही स्तर वा शाब्दिक बुझाइ, धर्मसिद्धान्त र प्रावधानहरूको बुझाइमा रहन्छ। त्यसैले तिनीहरूले धेरै समस्या प्रस्ट रूपमा देख्न सक्दैनन् र आफ्नो कर्तव्य निर्वाह गर्दा कहिल्यै सिद्धान्तहरू बोध गर्न, वा आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्दैनन्। त्यसोभए, के परमेश्वरले कमजोर क्षमता भएका मानिसहरू चाहनुहुन्न? (चाहनुहुन्छ।) परमेश्वरले मानिसलाई कुन मार्ग वा दिशा देखाउनुहुन्छ? (इमानदार व्यक्ति बन्ने।)” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरू पढिसकेपछि, मैले के बुझेँ भने, कमजोर क्षमता हुनु कुनै घातक रोग होइन, र मुख्य कुरा भनेको सत्यतालाई प्रेम गर्ने इमानदार हृदय हुनु हो। त्यस्ता मानिसहरूले आफ्नो क्षमताका समस्याहरूका कारण कर्तव्यमा धेरै राम्रा नतिजा हासिल गर्न नसक्लान्, तर उनीहरूको हृदय परमेश्वरतर्फ फर्केको हुन्छ, र उनीहरू आफ्नो कर्तव्यमा सक्दो गर्न कुनै कसर बाँकी राख्दैनन्। यसरी, परमेश्वर सन्तुष्ट हुनुहुनेछ। मैले मेरो क्षमता कमजोर भए पनि, मण्डलीले मलाई कर्तव्य गर्ने मौकाबाट वञ्चित नगरेको, बरु मेरो क्षमताका आधारमा मलाई उपयुक्त कर्तव्यमा खटाएकोबारे सोचेँ। म परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनुपर्थ्यो, र इमानदार हृदयका साथ परमेश्वरबाट आएको यस कर्तव्यलाई लिनुपर्थ्यो, र मेरो सामर्थ्यले भ्याएसम्म सक्दो गर्नुपर्थ्यो। तर म सकारात्मक दृष्टिकोणबाट प्रवेश गरिनँ, किनकि जब मैले अगुवाहरूले तुरुन्तै मेरा लागि कर्तव्यको प्रबन्ध नगर्नुभएको देखेँ, मलाई लाग्यो, मेरो क्षमता यति कमजोर भएकाले अगुवाहरूलाई मेरा लागि कुन कर्तव्य प्रबन्ध गर्ने भनेर थाहा नभएको हो। फलस्वरूप, मैले मेरा दिनहरू नकारात्मकता र गलत बुझाइमा डुबेर, अनि मेरो भविष्य र नियतिबारे चिन्ता गरेर बिताएँ। मेरो कार्य सामर्थ्यको कमीले गर्दा मैले टोली अगुवाको कर्तव्य निर्वाह गर्न सकिनँ, र अगुवाहरूले मलाई नयाँ काममा खटाउनु पूर्ण रूपमा मण्डलीको कामको हितका लागि थियो, तर मलाई परमेश्वरले मलाई प्रकट गर्न यो प्रयोग गर्दै हुनुहुन्छ भन्ने लाग्यो, त्यसैले मैले आफैमा आशा मारेँ। मेरा सहकर्मी सिस्टरहरूले नबुझेका समस्याहरू भोगेको देख्दा, म संलग्न हुन अनिच्छुक भएँ। ब्रदर-सिस्टरहरूले मलाई अनुभवात्मक गवाही लेखहरू लेख्ने तालिम लिन भन्दा, म सहकार्य गर्न पनि अनिच्छुक भएँ। मलाई लाग्यो, मेरो क्षमताले गर्दा, मैले जतिसुकै प्रयास लगाए पनि, म भविष्यमा हटाइने पात्र नै हुनेछु, त्यसैले म सत्यता पछ्याउन अनिच्छुक भएँ र मण्डलीमा थोरै शारीरिक परिश्रम लगाउनमै सन्तुष्ट भएँ। मेरो व्यवहार इमानदार व्यक्तिको रूपभन्दा धेरै टाढा थियो। यो महसुस गरेर, मैले परमेश्वरलाई गलत बुझेको र उहाँबारे गुनासो गरेकोमा पछुतो मानेँ र म यो गलत स्थितिबाट बाहिर निस्कन चाहेँ।
एक दिन, मैले कमजोर क्षमताका कारण हुने बारम्बारको नकारात्मकता कसरी समाधान गर्ने भन्ने शीर्षकको एउटा अनुभवात्मक गवाही भिडिओ हेरेँ, र त्यसमा उद्धृत गरिएको परमेश्वरका वचनको एउटा खण्ड मेरा लागि धेरै सहयोगी भयो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मैले तिमीहरू पिछडिएका छौ वा कम क्षमताका छौ भने पनि—यी सब तथ्य हुन्। तर, मैले यसो भन्नुले म तिमीहरूलाई त्याग्न चाहन्छु, मैले तिमीहरूमाथिको आशा गुमाएको छु र तिमीहरूलाई बचाउन अझ कम अनिच्छुक छु भन्ने प्रमाणित गर्दैन। आज म तिमीहरूको लागि मुक्तिको काम गर्न आएको हुँ, जसको अर्थ यो हो कि मैले गर्ने काम भनेको मुक्तिको कामको निरन्तरता हो। प्रत्येक व्यक्तिसित सिद्ध बन्ने मौका हुन्छ: यति हो तँ इच्छुक हुनुपर्छ, यति हो तैँले खोजी गर्नुपर्छ, अन्त्यमा तँ यो नतिजा प्राप्त गर्न सक्षम हुनेछस् र तिमीहरूमध्ये एक जना पनि त्यागिनेछैनौ। यदि तँ कमजोर क्षमताको छस् भने, तँसित मेरा मागहरू तेरो कमजोर योग्यताअनुरूप हुनेछ; यदि तँ उच्च क्षमताको छस् भने तँसित मेरा मागहरू तेरो उच्च क्षमताअनुरूप हुनेछ; यदि तँ अनजान र अशिक्षित छस् भने, तँप्रतिका मेरा मागहरू यसअनुरूप हुनेछन्; यदि तँ साक्षर छस् भने, तँसित मेरा मागहरू तँ साक्षर छस् भन्ने तथ्यअनुरूप हुनेछन्; यदि तँ बुढेसकालमा छस् भने, तँसँग मेरा मागहरू तेरो उमेरअनुरूप हुनेछन्; यदि तँ अतिथिसत्कारको कर्तव्य पूरा गर्न सक्षम छस् भने, तँप्रति मेरा मागहरू यही बमोजिम हुनेछन्; यदि तँ अतिथिसत्कारको कर्तव्य पूरा गर्न सक्दिनँ, निश्चित प्रकारका कामहरू मात्र गर्न सक्छु भन्छस् भने, चाहे त्यो सुसमाचार प्रचार गर्ने होस् वा मण्डलीको रेखदेख गर्ने होस्, वा अन्य सामान्य कुराहरूमा सहभागी हुने होस्, मैले तँलाई सिद्ध पार्ने काम तैँले गर्ने कामअनुसार हुनेछ। बफादार हुनु, अन्त्यसम्म समर्पित हुनु र परमेश्वरप्रति सर्वोच्च प्रेम प्राप्त गर्न खोज्नु—यी तैँले पूरा गर्नैपर्ने कुरा हुन्, केवल यी तीन कुरा, र यी सबैभन्दा राम्रा अभ्यासहरू हुन्। अन्त्यमा, मानिसहरूले यी तीन कुरा हासिल गर्नु आवश्यक हुन्छ, र ती प्राप्त गर्न सक्नेहरूलाई सिद्ध पारिनेछ। तर सबैभन्दा मुख्य कुरा, तैँले साँच्चै खोजी गर्नुपर्दछ, तँ सक्रिय रूपमा अगाडि र माथितिर बढ्नुपर्छ र त्यस विषयमा निष्क्रिय हुनुहुँदैन। मैले भनेको छु, प्रत्येक व्यक्तिसँग सिद्ध पारिने मौका हुन्छ र प्रत्येक व्यक्ति सिद्ध हुनका लागि सक्षम हुन्छ, र यो सत्य हो, तर तँ उँभो लाग्न प्रयास गर्दैनस्। यी तीन मापदण्ड पुरा नगर्नेहरूलाई अझै पनि अन्त्यमा हटाइनेछ। सबैले यो गतिलाई पछ्याउन सकून् भन्ने म चाहन्छु, म सबैले पवित्र आत्माको काम र अन्तर्दृष्टि प्राप्त गरोस् र अन्त्यसम्म समर्पित हुन सकोस् भन्ने चाहन्छु, किनकि तिमीहरू प्रत्येकले गर्नुपर्ने कर्तव्य यही हो। जब तिमीहरू सबैले आफ्नो कर्तव्य पूरा गर्छौ तब तिमीहरू सबै सिद्ध बनाइएका हुनेछौ, तिमीहरूका गवाही पनि धेरै शानदार हुन्छ। गवाही हुनेहरू सबै शैतानमाथि विजय बनेका र परमेश्वरका प्रतिज्ञा प्राप्त गरेका हुन्छन् अनि तिनीहरू ती व्यक्तिहरू हुन् जो त्यस सुन्दर गन्तव्यमा बस्नको लागि रहिरहनेछन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। परमेश्वरका वचनहरू धेरै स्पष्ट थिए। सबैसँग मुक्ति पाउने मौका हुन्छ, र कुनै व्यक्तिले निष्कपटतासाथ पछ्याउञ्जेल, परमेश्वरले उसको क्षमता कमजोर भएकै कारण मात्र उसलाई त्याग्नुहुन्न वा हटाउनुहुन्न। परमेश्वर हरेक व्यक्तिसँग उसको क्षमता र कदअनुसार माग गर्नुहुन्छ। राम्रो क्षमता र कार्य सामर्थ्य भएकाहरू अगुवा वा सुपरिवेक्षक बन्न सक्छन्, र फलस्वरूप, उनीहरूका लागि परमेश्वरका मागहरू उच्च हुन्छन्, जबकि कमजोर क्षमता भएकाहरूका लागि उनीहरूको सामर्थ्यअनुसार माग गरिन्छ। तर मैले मेरा धारणा र कल्पनाहरूलाई नै समातिराखेँ, र परमेश्वर कमजोर क्षमता भएका मानिसहरूलाई मुक्ति दिनुहुन्न भन्ने सोचेँ। आफूलाई बारम्बार नयाँ काममा खटाइएको देख्दा, मलाई लाग्यो, परमेश्वर मलाई प्रकट गर्दै हुनुहुन्छ र मेरो कर्तव्य निर्वाह गर्ने अधिकार खोस्न खोज्दै हुनुहुन्छ, अनि यसलाई मलाई हटाउने मौकाका रूपमा प्रयोग गर्दै हुनुहुन्छ। यो परमेश्वरप्रतिको गलत बुझाइ थियो, र यो मेरा धारणा र कल्पनाहरू पनि थिए। वास्तवमा, परमेश्वरको घरले मेरो कमजोर क्षमताकै कारण मात्र मलाई कर्तव्य निर्वाह गर्नबाट रोकेको थिएन, बरु मलाई नयाँ काममा खटाएर मेरो क्षमताको दायराभित्रका कर्तव्यहरू निर्वाह गर्ने मौका दिइरहेको थियो। वास्तवमा, जबसम्म म निष्कपटरूपमा पछ्याउँछु, माथितिर लागिपर्न इच्छुक हुन्छु, मेरो अहिलेको भूमिकामा बफादारीसाथ कर्तव्य निर्वाह गर्छु, र मेरो सामर्थ्यले भ्याएसम्म सक्दो गर्छु, तबसम्म म परमेश्वरका अभिप्रायहरू पूरा गर्न सक्छु। तर, मैले ध्यान दिनुपर्ने कामहरूमा ध्यान दिइनँ, र परमेश्वरको हृदयलाई रत्तिभर ख्याल गरिनँ। मैले मेरा दिनहरू मेरो भविष्य र गन्तव्यबारे सोचेर बिताएँ, र म आफ्नो कर्तव्यमा उपयोगी भइरहेकी थिइनँ। यदि मेरो क्षमता राम्रो भएको भए पनि, मैले अझै पनि परमेश्वरको अनुमोदन पाउने थिइनँ, र अन्ततः हटाइने थिएँ। परमेश्वरको अभिप्राय बुझेपछि मेरो हृदयमा स्पष्टता आयो, र मैले सोचेँ, “अबदेखि मैले परमेश्वरलाई गलत बुझ्नु हुँदैन र उहाँबारे गुनासो गर्नु हुँदैन। मैले आफ्नो क्षमतालाई सही रूपमा हेर्नुपर्छ र आफ्नो कर्तव्यमा बफादार हुनुपर्छ। यदि कुनै दिन मेरो कमजोर क्षमताका कारण मलाई फेरि नयाँ काममा खटाइयो भने पनि, मैले यसलाई सही रूपमा सामना गर्नुपर्छ र परमेश्वरलाई गलत बुझ्नु वा उहाँदेखि सतर्क रहनु हुँदैन।”
पछि, मेरो एउटा आत्मिक भक्तिको दौरान, मैले परमेश्वरका वचनका दुईवटा खण्ड भेट्टाएँ, जसले मलाई कमजोर क्षमताका कारण हुने मेरो निरन्तरको नकारात्मकताको मूल कारणबारे केही बुझाइ दिए। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मानिसहरू सबैले आशिष्, पुरस्कार, र मुकुटहरू पाउनका लागि परमेश्वरमा विश्वास गर्छन्। के हरेक व्यक्तिको हृदयमा यही अभिप्राय हुँदैन र? वास्तवमा, हरेक व्यक्तिमा हुन्छ। यो तथ्य हो। मानिसहरूले यसबारे प्रायः कुरा नगरे पनि, र आशिष् प्राप्त गर्ने आफ्नो अभिप्राय र चाहनालाई ढाकछोप गरे पनि, मानिसहरूको हृदयको गहिराइमा रहेको यो चाहना, यो अभिप्राय र मनसाय कहिल्यै डगमगाएको छैन। मानिसहरूले जति धेरै आत्मिक सिद्धान्त बुझेका भए पनि, तिनीहरूसँग जे अनुभवात्मक ज्ञान भए पनि, तिनीहरूले जे कर्तव्य निर्वाह गर्न सक्ने भए पनि, जति धेरै कष्ट भोगे पनि, वा जति धेरै मूल्य चुकाए पनि, तिनीहरूले आशिष् प्राप्त गर्ने अभिप्राय कहिल्यै त्याग्दैनन् जुन तिनीहरूको हृदयको गहिराइमा लुकेको हुन्छ, र तिनीहरू सधैँ चुपचाप यसको सेवामा परिश्रम र दौडधुप गर्छन्। के मानिसहरूको हृदयको गहिराइमा गाडिएको कुरा यही हुँदैन र? आशिष् प्राप्त गर्ने यो अभिप्राय नहुने हो भने, तिमीहरूले कस्तो महसुस गर्नेथियौ? तिमीहरूले कस्तो मनोवृत्तिले आफ्नो कर्तव्य निर्वाह गर्नेथियौ र परमेश्वरलाई पछ्याउनेथियौ। यदि मानिसहरूको हृदयमा लुकेको आशिष् प्राप्त गर्ने यो अभिप्रायलाई पूर्ण रूपमा उन्मूलन गरियो भने तिनीहरूको के हालत हुनेथियो? यो सम्भव छ कि धेरै मानिसहरू नकारात्मक बन्नेथिए, र कतिपय आफ्नो कर्तव्यमा अप्रेरित हुनेथिए, र परमेश्वरमाथि विश्वासमा तिनीहरूको रुचि हराउनेथियो। तिनीहरूले आफ्नो आत्मा गुमाएजस्तो देखिनेथियो, र तिनीहरूको हृदय खोसिएजस्तो देखिनेथियो। त्यसैले म भन्छु कि आशिष् प्राप्त गर्ने अभिप्राय मानिसहरूको हृदयको गहिराइमा लुकेर रहने कुरा हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। “गैरविश्वासीहरूमाझ एउटा भनाइ छ: ‘सित्तैमा केही पनि पाइँदैन।’ ख्रीष्टविरोधीहरूले पनि यस्तो तर्क राख्छन्, र सोच्छन्, ‘यदि मैले तपाईँका लागि काम गरेँ भने, बद्लामा तपाईँ मलाई के दिनुहुन्छ? म केकस्ता फाइदाहरू प्राप्त गर्न सक्छु?’ यस प्रकृतिलाई कसरी सारांशीकरण गर्नुपर्छ? यो त नाफाद्वारा प्रेरित हुनु, अरू सबै कुराभन्दा पहिले नाफालाई राख्नु, अनि स्वार्थी र घृणित हुनु हो। ख्रीष्टविरोधीहरूको प्रकृति सार यही हो। तिनीहरू नाफा र आशिष् प्राप्त गर्ने उद्देश्यले मात्रै परमेश्वरमा विश्वास गर्छन्। तिनीहरूले केही कष्ट भोगे पनि वा केही मूल्य चुकाए पनि, त्यो सबै परमेश्वरसँग सौदा गर्नका लागि हो। आशिष् र इनाम प्राप्त गर्ने तिनीहरूको अभिप्राय र इच्छा अत्यन्तै ठूलो हुन्छ, र तिनीहरू यस कुरामा कसिएर लागिरहन्छन्। तिनीहरू परमेश्वरले व्यक्त गरेका धेरै सत्यतामध्ये कुनैलाई पनि स्वीकार गर्दैनन्, तिनीहरू हृदयमा सधैँ के सोच्छन् भने परमेश्वरमा विश्वास गर्नु भनेको आशिष् र राम्रो गन्तव्य प्राप्त गर्नु हो, यो सर्वोच्च सिद्धान्त हो, र यसलाई कुनै कुराले उछिन्न सक्दैन। तिनीहरू के सोच्छन् भने मानिसहरूले आशिष् प्राप्त गर्नका लागि होइन भने परमेश्वरमा विश्वास गर्नु हुँदैन, र त्यो आशिष्का लागि होइन भने, परमेश्वरमा विश्वास गर्नुको कुनै अर्थ वा मूल्य हुँदैन, त्यसले यसको अर्थ र मूल्य गुमाउनेछ। के ख्रीष्टविरोधीहरूमा यी विचारहरू अरू कसैले हालिदिएको हुन्छ? के ती अरूको शिक्षा वा प्रभावबाट आएका हुन्छन्? होइन, ती कुरा ख्रीष्टविरोधीहरूको अन्तर्निहित प्रकृति सारद्वारा निर्धारित हुन्छन्, जुन कुरालाई कसैले पनि परिवर्तन गर्न सक्दैन। आज देहधारी परमेश्वरले यति धेरै वचनहरू बोल्नुभएको भए पनि, ख्रीष्टविरोधीहरू तीमध्ये कुनै पनि वचन स्वीकार गर्दैनन्, बरु तिनको विरोध र निन्दा गर्छन्। सत्यताप्रति तिनीहरूलाई वितृष्णा हुने र सत्यतालाई घृणा गर्ने तिनीहरूको प्रकृति कहिल्यै परिवर्तन हुँदैन। यदि तिनीहरू परिवर्तन हुन सक्दैनन् भने, यसले केलाई जनाउँछ? यसले तिनीहरूको प्रकृति दुष्ट छ भन्ने कुरालाई जनाउँछ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई))। परमेश्वर ख्रीष्टविरोधीहरू नाफाद्वारा मात्र प्रेरित हुन्छन् भनी खुलासा गर्नुहुन्छ। उनीहरूले गर्ने हरेक काम स्वार्थमा आधारित हुन्छ। उनीहरूले केही बलिदान गरेजस्तो र आफूलाई समर्पित गरेजस्तो देखिए पनि, त्यो केवल परमेश्वरका आशिष् र इनामहरूसँग साट्नका लागि मात्र हुन्छ, र यदि उनीहरूले आशिष् पाउँदैनन् भने, उनीहरू नकारात्मक र प्रतिरोधी बन्छन्, र परमेश्वरसँग तर्कसमेत गर्छन् र उहाँको विरुद्धमा जथाभावी बोल्छन्। ख्रीष्टविरोधीहरूले गर्ने हरेक काम आशिष् र लाभहरू पाउनका लागि हुन्छ। के म पनि ठ्याक्कै ख्रीष्टविरोधी जस्तै व्यवहार गरिरहेकी थिइनँ र? मैले आशिष् र लाभहरू पाउनका लागि मात्र परमेश्वरमा विश्वास गरेकी थिएँ। जब मैले भर्खरै परमेश्वरमा विश्वास गर्न थालेकी थिएँ, म आशिष् पाउनका लागि कामकुरा गर्न धेरै उत्साही थिएँ, मैले आफ्नो पसल बन्द गरेँ र परिवारलाई छोडेँ, र मैले मण्डलीले मेरा लागि प्रबन्ध गरेको कुनै पनि कर्तव्यलाई कहिल्यै अस्वीकार गरिनँ। किनभने मलाई आफू जति धेरै कर्तव्य गर्छु, त्यति नै धेरै असल कार्यहरू तयार गर्छु, र भविष्यमा मेरो मुक्ति पाउने मौका त्यति नै उच्च हुन्छ भन्ने लाग्थ्यो। तर पछि, मेरो कमजोर क्षमताका कारण, मलाई बारम्बार नयाँ काममा खटाइयो, र म कुनै पनि कर्तव्य राम्ररी निर्वाह गर्न वा असल कार्यहरू तयार गर्न सक्दिनँ, मैले भविष्यमा आशिष् नपाउन सक्छु भन्ने सोच्दै म चिन्ता गर्न थालेँ, त्यसैले म नकारात्मक भएँ, ढिलासुस्ती गरेँ, र आफूमा आशा मारेँ। मैले के देखेँ भने, मेरो परमेश्वरमाथिको विश्वास केवल उहाँसँग लेनदेन गर्ने प्रयास मात्र थियो। म साँच्चै स्वार्थी र घृणास्पद थिएँ! मलाई भर्खरै नयाँ काममा खटाइएको थियो, र मलाई आफ्ना कर्तव्यहरू निर्वाह गर्ने मौकाबाट वञ्चित गरिएको थिएन, तर मलाई आशिष् नपाउन सक्छु भन्ने चिन्ता लाग्यो, त्यसैले म नकारात्मक भएँ र गुनासो गर्न थालेँ। यदि कुनै दिन परमेश्वरले साँच्चै मलाई आशिष् दिनुहुन्न भनेर भन्नुभएको भए, म पक्कै पनि उहाँको विरुद्धमा जथाभावी बोल्ने थिएँ। मैले पावललाई सम्झेँ। उनको काम र समर्पण आशिष् र मुकुट पाउनका लागि मात्र थियो। उनले परमेश्वरको अभिप्रायलाई बेवास्ता गरे र स्वभावमा परिवर्तन पछ्याएनन्, र अन्ततः, उनले खुलेआम परमेश्वरको विरुद्धमा जथाभावी बोले र इनाम र मुकुट माग गरे, जसले परमेश्वरको स्वभावलाई चिढ्यायो र फलस्वरूप दण्ड निम्त्यायो। म पावलकै मार्ग पछ्याइरहेकी थिएँ, र यदि मैले सत्यता पछ्याउनमा ध्यान केन्द्रित गरिनँ र आशिष् खोज्ने मेरा अशुद्ध अभिप्रायहरू समाधान गरिनँ भने, कुरा म बर्खास्त हुने वा मलाई नयाँ काममा खटाइनेमा मात्र सीमित हुनेथिएन, बरु मैले अन्ततः पावलजस्तै परमेश्वरको प्रतिरोध गर्नेथिएँ, र म हटाइनेथिएँ। मैले यो गलत मार्गमा हिँडिरहन चाहिनँ, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, र म पश्चात्ताप गर्न इच्छुक भएँ।
पछि, मैले परमेश्वरको वचनको एउटा खण्ड पढेँ: “म प्रत्येक व्यक्तिको गन्तव्य निजको उमेर, वरिष्ठता, वा कष्टको परिमाणका आधारमा निर्धारित गर्दिनँ, ऊ कति दयनीय छ भन्ने कुराका आधारमा त झनै गर्दिनँ, बरु ऊसँग सत्यता छ कि छैन भन्ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्वरको इच्छालाई नपछ्याउने सबैले विना कुनै अपवाद दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नैपर्छ। यो कुनै व्यक्तिले परिवर्तन गर्न नसक्ने कुरा हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्)। परमेश्वरका वचनहरू पढिसकेपछि, मैले के महसुस गरेँ भने, परमेश्वर कुनै व्यक्तिले मुक्ति पाउन सक्छ कि सक्दैन भन्ने कुरा उसको क्षमताद्वारा मापन गर्नुहुन्न, बरु उसले उहाँलाई पछ्याउने क्रममा सत्यता पछ्याउनमा ध्यान दिन्छ कि दिँदैन, उसका विभिन्न भ्रामक विचार र दृष्टिकोणहरू तथा भ्रष्ट स्वभावहरू समाधान गर्छ कि गर्दैन, र ऊ परमेश्वरसँग मिल्ने बन्छ कि बन्दैन भन्ने कुराद्वारा मापन गर्नुहुन्छ। व्यक्तिको क्षमता जतिसुकै राम्रो भए पनि, यदि उसले सत्यता पछ्याउँदैन वा आफ्नो स्वभाव परिवर्तन गर्दैन भने, ऊ अन्ततः हटाइनेछ। केही मानिसको क्षमता कमजोर भए पनि, उनीहरूसँग इमानदार हृदय हुञ्जेल र उनीहरू सबै कुरामा सत्यता सिद्धान्तअनुसार अभ्यास गर्न इच्छुक होऊञ्जेल, परमेश्वरले उनीहरूलाई अनुमोदन गर्नुहुनेछ। चाहे कसैको क्षमता राम्रो होस् वा कमजोर, सबै मानिसले सत्यता पछ्याउनु र आफ्नो स्वभाव परिवर्तन गर्नमा केन्द्रित हुनु आवश्यक छ। बाह्य अवस्थाहरू, प्रयास र समर्पणले व्यक्तिको परिणाम र गन्तव्य निर्धारण गर्न सक्दैनन्। मुख्य कुरा भनेको व्यक्तिले परमेश्वरको मार्ग पछ्याउन र उहाँका वचनहरूको वास्तविकता जिउन सक्छ कि सक्दैन भन्ने हो। मैले परमेश्वरको धर्मी स्वभाव बुझेकी थिइनँ। मेरो कमजोर क्षमताका कारण मलाई केही पटक नयाँ काममा खटाइएको देख्दा, मलाई लाग्यो, मैले जति नै कडा प्रयास गरे पनि, मेरो कमजोर क्षमताले गर्दा, ती सबै व्यर्थ हुनेछन्, र म अन्ततः हटाइनेछु। त्यसैले, म नकारात्मक र सतर्क भएँ, र मैले आफ्नो कुण्ठा आफ्नो कर्तव्यमा समेत पोखेँ। मैले सत्यता पछ्याइनँ र आशिष् मात्र खोजेँ, र मेरो भ्रष्ट स्वभाव रत्तिभर पनि परिवर्तन भएन। म मेरो कर्तव्यमा भएको सामान्य हेरफेरमा समेत समर्पित हुन सकिनँ, त्यसैले म कसरी मुक्ति पाउने कुरा गर्न सक्थेँ र? यदि यस्तै चलिरहन्थ्यो भने, परमेश्वरले मलाई हटाउन चाहनुभएको हुनेथिएन, बरु मेरा धारणा र कल्पनाहरू, साथै मेरो आशिष् पाउने महत्त्वाकाङ्क्षा र चाहनाले नै मलाई विनाश र हटाइने अवस्थातिर डोर्याउथ्यो। मैले आफ्नो विश्वासमा परमेश्वरका वचनहरूअनुसार मामिलाहरूलाई नहेर्दा त्यसले वास्तवमै मानिसलाई बर्बाद पार्छ भन्ने देखेँ।
एक दिन, मैले परमेश्वरको वचनको एउटा खण्ड पढेँ, जसले मेरो हृदयमा कुराहरू अझ स्पष्ट पारिदियो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “परमेश्वरले किन सबै किसिमका क्षमताका मानिसहरू पूर्वनिर्धारित गर्नुहुन्छ? परमेश्वरले किन मानिसहरूलाई सिद्ध क्षमता दिनुहुन्न? हामीले यस सम्बन्धमा परमेश्वरका अभिप्रायहरू के-के हुन् र मानिसहरूले त्यसलाई कसरी सही रूपमा लिनुपर्छ भन्ने सम्बन्धी कति वटा पक्षहरूबारे सङ्गति गरेका छौँ? तिनको सारांश निकालौँ। पहिलो पक्ष भनेको त्यो परमेश्वरबाट आएको भनी स्विकार्नु हो। यो मानिसहरूले राख्नुपर्ने सबैभन्दा आधारभूत विचार र दृष्टिकोण हो। दोस्रो पक्ष भनेको आफ्नो क्षमता के हो भनी चिन्नु र मूल्याङ्कन गर्नु, साथै आफ्नो क्षमता र सक्षमताका आधारमा व्यवहार गर्नु र आफ्नो कर्तव्य पूरा गर्नु हो। आफ्नो क्षमता र सक्षमताभन्दा बाहिरका कुराहरू गर्ने कोसिस नगर्। तैँले जे गर्न सक्छस्, त्यो इमानदारीपूर्वक र व्यावहारिक तरिकाले राम्रोसँग गर्। तैँले जे गर्न सक्दैनस्, त्यसमा जबरजस्ती नगर्। तेस्रो पक्ष के हो? (हामीले सधैँ आफ्नो क्षमता बदल्ने इच्छा गर्नु हुँदैन। चाहे हाम्रो क्षमता औसत होस, कमजोर होस्, वा हुँदै नहोस्, हामीले त्यसलाई सही रूपमा लिनैपर्छ। हामीले सधैँ आफ्नो क्षमता राम्रो छ भनी परमेश्वरसामु प्रमाणित गर्ने इच्छा गर्नु हुँदैन। यो अनुचित कुरा हो।) ठीक भनिस्। आफ्नो क्षमतालाई सही रूपमा लिने गर्। गुनासो नगर्। परमेश्वरले तँलाई जति दिनुभएको छ, उहाँले तँबाट त्यति मात्र माग गर्नुहुनेछ। परमेश्वरले तँलाई जे दिनुभएको छैन, परमेश्वरले तँबाट त्यो कुरा माग गर्नुहुन्न। उदाहरणका लागि, यदि परमेश्वरले तँलाई औसत क्षमता वा कमजोर क्षमता दिनुभएको छ भने, उहाँले तँ अगुवा, टोली प्रमुख, वा सुपरिवेक्षक हुनुपर्ने माग तँबाट गर्नुहुन्न। तर, यदि परमेश्वरले तँलाई वाक्पटुता, आफ्नो कुरा व्यक्त गर्ने क्षमता, वा कुनै निश्चित वरदान दिनुभएको छ, र तैँले यो वरदानसँग सम्बन्धित काम गर्नुपर्ने माग गर्नुहुन्छ भने, तैँले त्यो काम राम्ररी गर्नुपर्छ। परमेश्वरले तँमाथि राख्नुभएका सर्तहरू पूरा गर्न असफल नहो। तैँले परमेश्वरले प्रदान गर्नुभएका कामकुरालाई खेर फाल्नु हुँदैन, तिनलाई पूर्ण रूपमा उपयोग गर्नुपर्छ र राम्रोसँग लागु गर्नुपर्छ, तिनलाई सकारात्मक कुरामा लागु गर्नुपर्छ र मानवजातिलाई फाइदा हुने मूल्यवान् कार्य नतिजाहरू निकाल्नुपर्छ। त्यसो गरे गजब हुनेथियो, होइन र? (हो।) यसबाहेक, तैँले थाहा पाउनैपर्छ कि परमेश्वरले राम्रा अभिप्रायले नै मानिसहरूलाई विभिन्न क्षमताहरू दिनुहुन्छ। परमेश्वरले तँलाई मुक्ति दिन चाहनुहुने भएकाले नै उहाँले तँलाई अत्यन्तै राम्रो क्षमता दिनुभएको छैन। यसमा परमेश्वरको रगत-पसिना छ। परमेश्वरले तँलाई औसत वा कमजोर क्षमता दिनु भनेको तेरा लागि सुरक्षा हो। यदि मानिसहरूमा अत्यधिक राम्रो वा असाधारण क्षमता हुँदो हो त, तिनीहरूलाई संसार र शैतानको पछि लाग्न सजिलो हुनेथियो, र तिनीहरू सजिलै परमेश्वरमा विश्वास गर्न आउने थिएनन्। संसारका विभिन्न उद्योग र क्षेत्रमा भएका उत्कृष्ट व्यक्तिहरूलाई हेर्—तिनीहरू कस्ता किसिमका मानिस हुन्? तिनीहरू सबै धूर्त योजनाकार, देहधारी दियाबलस हुन्। यदि तैँले तिनीहरूलाई परमेश्वरमा विश्वास गर्न आग्रह गरिस् भने, तिनीहरू सोच्छन्, ‘परमेश्वरमा विश्वास गरेर कहीँ पनि पुगिन्न—असक्षम मानिसहरूले मात्र परमेश्वरमा विश्वास गर्छन्!’ अत्यधिक राम्रो क्षमता, ठूला सामर्थ्य भएका र उन्नत रणनीति जानेका मानिसहरू शैतानद्वारा बन्दी बनाइन्छन्। तिनीहरू पूर्णतया आफ्ना भ्रष्ट स्वभावहरूअनुसार र पूर्ण रूपमा संसारका लागि जिउँछन्। त्यस्ता मानिसहरू सबै देहधारी दियाबलस हुन्। ल भन्, के परमेश्वरले त्यस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्छ? (दिनुहुन्न।) त्यसोभए, के तिमीहरू देहधारी दियाबलस बन्न इच्छुक छौ, कि साधारण व्यक्ति, अर्थात् कमजोर क्षमता भएको तर परमेश्वरको मुक्ति प्राप्त गर्न सक्ने व्यक्ति बन्न इच्छुक छौ? (हामी साधारण मानिस बन्न इच्छुक छौँ।) … यदि तँ यो जीवनमा राम्रो भौतिक जीवनको आनन्द लिन नचाहने, प्रतिष्ठा प्राप्त गर्न नचाहने, यो संसारमा उपस्थितिको आभास नहुने, र सबैका नजरमा तुच्छ ठानिने औसत योग्यता भएको सरल र साधारण व्यक्ति बन्न रोज्छस्, यस प्रकारको व्यक्ति बन्न र परमेश्वरले मानिसहरूलाई दिनुहुने मुक्तिको अवसरलाई प्रिय ठान्न वा प्राप्त गर्न चाहन्छस् भने—यदि यो तेरो रोजाइ हो, यदि तँ मुक्ति प्राप्त गर्ने र यस संसारलाई नपछ्याउने छनौट गर्छस्, र हृदयमा तँ यो संसारको नभई परमेश्वरको हुन चाहन्छस् भने, परमेश्वरले तँलाई दिनुभएको क्षमतालाई तैँले तिरस्कार गर्नु हुँदैन। तेरो क्षमता निकै कमजोर भएको वा परमेश्वरले तँलाई कुनै क्षमता नदिनुभएको भए पनि, तैँले यो तथ्यलाई खुसीका साथ स्विकार्नुपर्छ र, परमेश्वरले तँलाई दिनुभएका विभिन्न क्षमताका अन्तर्निहित अवस्थाहरूमा, तैँले एक सृजित प्राणीको कर्तव्य पूरा गर्नुपर्छ। अर्को पक्ष के हो भने, परमेश्वरले मानिसहरूलाई दिनुहुने क्षमता निकै राम्रो नभई—साधारण मानिसहरूको क्षमता मात्र हुने भए पनि—र सबै पक्षहरूमा उहाँले तिनीहरूलाई दिनुहुने क्षमताहरू औसत वा कमजोर नै भए पनि, मानिसहरूले अभ्यास गर्नुपर्ने सबैभन्दा आधारभूत सत्यताहरू, जुन परमेश्वरले मानिसहरूलाई सिकाउनुहुन्छ, यदि तिनीहरू मन लगाएर ती अभ्यास गर्न इच्छुक छन् भने, ती अझै पनि प्राप्त र हासिल गर्न सकिन्छ। तेरो क्षमता निकै कमजोर भएको, र तेरो बुझ्ने क्षमता, कामकुरा स्विकार्ने क्षमता, मूल्याङ्कन गर्ने क्षमता, र वस्तुहरू पहिचान गर्ने क्षमता निकै कमजोर भए पनि वा हुँदै नभए पनि, यदि तँसित सबैभन्दा आधारभूत मानवता र समझ छ भने, परमेश्वरले तँलाई जिम्मा लगाउनुहुने कार्यहरू पूरा गर्न र राम्ररी सम्पन्न गर्न सकिन्छ। त्यसबाहेक, परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने सबैभन्दा आधारभूत तरिका, जुन परमेश्वरले मानिसहरूबाट माग गर्नुहुन्छ, त्यो तैँले पालना गर्न सक्ने कुरा हो; त्यो तैँले प्राप्त गर्न र हासिल गर्न सक्ने कुरा हो। त्यसकारण, परमेश्वरले कहिल्यै तँलाई राम्रो क्षमता दिने अभिप्राय राख्नुभएको छैन। यदि परमेश्वरले तँलाई राम्रो क्षमता र केही विशेष क्षमताहरू दिनुभएर त्यसले गर्दा तँ संसारमा देहधारी दियाबलस बनेको भए, परमेश्वरले तँलाई मुक्ति दिनुहुनेथिएन। के अब तिमीहरू यस मामलामा परमेश्वरको हृदय बुझ्न सक्छौ? (सक्छौँ।) यदि तिमीहरू परमेश्वरको हृदय बुझ्न सक्छौ भने, त्यो राम्रो कुरा हो; तिमीहरूले यो सत्यता बुझ्नेछौ र आफ्नो क्षमतालाई सही रूपमा लिनेछौ; यस सम्बन्धमा थप कठिनाइहरू हुनेछैनन्। यहाँबाट मानिसहरूले केवल आफूले गर्नैपर्ने काम गर्नुपर्छ। त्यो एउटा मात्र काम भए पनि, त्यसलाई राम्ररी सम्पन्न गर्नमा आफ्नो हृदय र मेहनत लगा अनि परमेश्वरले तँप्रति राख्नुभएका अपेक्षाहरू पूरा गरेरै छोड्” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (७))। परमेश्वरका वचनहरूबाट मैले के देखेँ भने, हरेक व्यक्तिको क्षमता परमेश्वरद्वारा नियोजित हुन्छ। चाहे कसैको क्षमता राम्रो होस् वा कमजोर, ती सबैमा परमेश्वरको असल अभिप्राय हुन्छ। कमजोर क्षमता हुनु पनि व्यक्तिका लागि परमेश्वरको सुरक्षा हो। यो साँच्चै सत्य हो। ममा अहङ्कारी स्वभाव थियो, र आफ्ना कर्तव्यहरूमा केही नतिजा पाउँदा, म आत्म-सन्तुष्ट हुन्थेँ, र म आफूलाई अरूभन्दा राम्रो ठान्थेँ, अनि म अरूलाई हेयको नजरले समेत हेर्थेँ, र अरूले मलाई उच्च ठानून् भन्ने चाहन्थेँ। मेरो प्रकृतिअनुसार, यदि मेरो क्षमता राम्रो भएको भए, म अन्ततः ख्रीष्टविरोधीको मार्गमा हिँड्ने सम्भावना हुन्थ्यो। मेरो क्षमता र कार्य सामर्थ्य मेरा सहकर्मी सिस्टरहरूको जति राम्रो नभए पनि, म अझै पनि सफाइसम्बन्धी सामग्रीहरू व्यवस्थित गर्न सक्थेँ, त्यसैले मैले परमेश्वरका मागहरूअनुसार आफ्नो सक्दो गर्नुपर्थ्यो, सिद्धान्तहरूअनुसार सफाइसम्बन्धी सामग्रीहरू व्यवस्थित गर्नुपर्थ्यो, र परमेश्वरलाई सन्तुष्ट पार्न उहाँले मलाई दिनुभएको कुराको सदुपयोग गर्नुपर्थ्यो।
पछि, मैले अगुवाहरूबाट एउटा पत्र पाएँ, जसमा अर्को क्षेत्रको मण्डलीमा एउटा कर्तव्यका लागि तत्कालै कसैको आवश्यकता परेको, र उहाँहरूले मलाई त्यहाँ पठाउने प्रबन्ध गर्न चाहनुभएको कुरा उल्लेख थियो। पत्र पढ्दा, म खुसी र चिन्तित दुवै भएँ। म खुसी थिएँ किनकि यो कर्तव्य निर्वाह गर्दा मैले अझ बढी तालिम पाउन सक्नेथिएँ र यसले मेरो जीवन प्रवेशमा फाइदा पुर्याउने थियो, तर मलाई चिन्ता लाग्यो, “के म आफ्नो क्षमताअनुसार यो सम्हाल्न सकूँला? यदि मैले सम्हाल्न सकिनँ र अन्ततः मलाई फेरि नयाँ काममा खटाइयो भने के होला?” मैले आफू फेरि आफ्नो भविष्य र गन्तव्यबारे चिन्ता गरिरहेकी छु भन्ने महसुस गरेँ, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, र म आफैविरुद्ध विद्रोह गर्न र उहाँका वचनहरूअनुसार कुराहरूलाई हेर्न इच्छुक भएँ। मैले परमेश्वरको वचनको एउटा खण्ड पढेँ: “जब मानिसहरूले आफ्नो क्षमतालाई विवेकपूर्ण रूपमा लिन र त्यसपछि आफ्नो पदलाई सही रूपमा चिन्न सक्छन्, परमेश्वरले चाहनुभएझैँ सृजित प्राणीका रूपमा व्यावहारिक तरिकाले व्यवहार गर्छन्, आफ्नो अन्तर्निहित क्षमताका आधारमा आफूले गर्नुपर्ने काम उचित रूपमा पूरा गर्छन्, साथै आफ्नो बफादारी र सारा मेहनत समर्पित गर्छन्, तब तिनीहरूले परमेश्वरलाई सन्तुष्ट तुल्याउँछन्” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (७))। परमेश्वरका वचनहरू पढिसकेपछि, मैले मेरो हृदयमा स्वतन्त्रता महसुस गरेँ। मैले आफ्नो भविष्यबारे चिन्ता गरिरहन र योजना बनाइरहन मिल्दैनथ्यो। अब उप्रान्त, मैले बफादारीसाथ आफ्ना कर्तव्यहरू निर्वाह गर्नमा मात्र ध्यान केन्द्रित गर्नुपर्थ्यो, र मैले नबुझेका वा कसरी गर्ने भन्ने थाहा नभएका कुराहरूका हकमा, मैले परमेश्वरलाई अझ धेरै प्रार्थना गर्नुपर्थ्यो र ब्रदर-सिस्टरहरूसँग सोधखोज गर्नुपर्थ्यो। यदि कुनै दिन म साँच्चै नै मेरो कमजोर क्षमताका कारण मागहरू पूरा गर्न असमर्थ भएँ र मलाई नयाँ काममा खटाइयो भने, म समर्पित हुन इच्छुक थिएँ। यही कुरा मनमा राखेर, मैले यो कर्तव्य स्वीकार गरेँ।
मेरा कर्तव्यहरूमा अझै पनि धेरै कमजोरी र अभाव भए पनि, र धेरै पक्षमा मैले विचार पुर्याउन नसकेकी भए पनि, म अब मेरो कमजोर क्षमताद्वारा बाँधिएकी छैन, र म मेरा कर्तव्यहरू गर्दा पूर्ण रूपमा सहज महसुस गर्छु। मैले साँच्चै के अनुभव गरेँ भने, परमेश्वरका वचनहरू र सत्यताअनुसार मानिस र कामकुराहरूलाई हेर्दा, अनि आफूलाई आचरणमा ढाल्दा र कार्य गर्दा मात्र मानिसले आजादी र स्वतन्त्रता प्राप्त गर्न सक्छ। मसँग अहिले यो अनुभवको थोरै मात्र अंश छ, र मैले अझै पनि परमेश्वरका वचनहरू धेरै अभ्यास र अनुभव गर्न आवश्यक छ।