५९. बोझ लिन नचाहनुको पछाडिको कारण के हो
सन् २०२२ को सेप्टेम्बरमा, मैले नयाँ सदस्यहरूलाई मलजल गर्न सिस्टर ली मिङसँग सहकार्य गरेँ। मैले भर्खरै मात्र यो कर्तव्यमा तालिम लिन सुरु गरेकी थिएँ, र ली मिङले लामो समयदेखि नयाँ सदस्यहरूलाई मलजल गर्दै आएकीले, म उनीमाथि निकै निर्भर भएँ। मानिसहरूलाई संवर्धन गर्ने अनि नयाँ सदस्यहरूका विभिन्न कठिनाइ र समस्याहरू समाधान गर्नेजस्ता अधिकांश कामहरू उनैले सम्हाल्थिन्। कहिलेकाहीँ ली मिङले मसँग मानिसहरूलाई संवर्धन गर्ने विषयमा छलफल गर्दा, म उनको कुरा टारिदिन्थेँ, र मुख्य जिम्मेवारी उनैले लिएकी हुनाले, यति नै पर्याप्त छ भन्ने सोच्थेँ, र मैले आफूले जिम्मेवारी लिएका नयाँ सदस्यहरूलाई मलजल गरे मात्र पुग्छ भन्ने ठान्थेँ। आफ्नो फुर्सदको समयमा, म ब्रदर-सिस्टरहरूका अनुभवात्मक गवाहीहरू पढ्न र भजनहरू सुन्न पाउँथेँ, र मलाई यसरी आफ्नो कर्तव्य पूरा गर्नु राम्रै हो जस्तो लाग्थ्यो।
पछि, कामको आवश्यकताले गर्दा, ली मिङलाई आफ्नो कर्तव्य पूरा गर्न अर्को मण्डलीमा सारियो, र मैले अचानक ठूलो दबाब महसुस गरेँ, अनि सोचेँ, “के म एक्लैले यति धेरै नयाँ सदस्यहरूलाई मलजल गर्न सक्छु र? यति अचानकको सूचनामा उनीहरूलाई मलजल गर्न मद्दत गर्ने व्यक्ति कहाँ खोज्ने? यदि मैले नयाँ व्यक्ति खोजेर संवर्धन गर्नुपर्यो भने, त्यसमा कति समय र शक्ति लाग्ला? म त पहिल्यै नयाँ सदस्यहरूलाई मलजल गर्नमै व्यस्त छु, र अब मैले एकजना नयाँ व्यक्तिलाई संवर्धन गर्नुपर्नेछ। के यसले मलाई झनै व्यस्त बनाउँदैन र? मैले आफ्नो लागि फुर्सदको समय कसरी निकाल्ने?” मलाई हृदयमा केही प्रतिरोध महसुस भयो, र अगुवाले मेरो कामको बोझ हल्का गर्न छिट्टै कसैलाई मसँग सहकार्य गर्न मिलाइदिए हुन्थ्यो भन्ने मात्र म चाहन्थेँ। तर एकजना उपयुक्त मलजल गर्ने व्यक्ति भेट्टाउन समय लाग्ने भयो। जानुअघि, ली मिङले एउटी सिस्टरसँग क्षमता र बुझ्ने क्षमता राम्रो भएको, तर उनी जवान र अस्थिर भएको कुरा बताइन्, र उनलाई अझ बढी संवर्धन गर्न मलाई प्रोत्साहन दिइन्। मैले मुखले त हुन्छ भनेँ, तर भित्रभित्रै, मैले अन्यायमा परेको र उकुसमुकुस भएको महसुस गरेँ, अनि सोचेँ, “यो सिस्टरलाई संवर्धन गर्नु सजिलो काम होइन। यसमा कति धेरै मेहनत लाग्ला?” त्यसपछिका केही दिनहरूमा, म आफ्नो कर्तव्यमा निकै निष्क्रिय थिएँ, र जब नयाँ सदस्यहरूलाई समस्या वा कठिनाइहरू आइपर्थ्यो, तब मलाई ती समाधान गर्न कुनै उत्साह लाग्दैनथ्यो। म झारा टार्ने हिसाबले मात्र नयाँ सदस्यहरूसँग भेलामा सहभागी भएँ, र यसले कुनै परिणाम दिएन। एक दिन, मेरो इलेक्ट्रिक बाइक बाटोको बीचमै बिग्रियो, त्यसैले मैले त्यसलाई घचेट्दै लानुपर्यो, र घर पुग्न मलाई एक घण्टाभन्दा बढी लाग्यो। म यति थकित भएँ कि, मेरो शरीरको कुनै भाग चल्न सकेन, र म पूर्ण रूपमा गलेकी थिएँ। मैले यो अवस्थाको सामना गर्नु संयोग होइन भन्ने कुरा थाहा पाएँ, त्यसैले मैले आत्मचिन्तन गरेँ र परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, जबदेखि मैले ली मिङलाई सारिँदै छ भन्ने थाहा पाएँ, तबदेखि मैले प्रतिरोध महसुस गरेकी छु र भित्रभित्रै गुनासो गरेकी छु। म आफ्नो अवस्था गलत छ भन्ने स्वीकार्छु, र म आत्मचिन्तन गर्न र तपाईंको सामु पश्चात्ताप गर्न तयार छु। तपाईंको अभिप्राय बुझ्न मलाई मार्गदर्शन गर्नुहोस्।”
प्रार्थनापछि, मैले परमेश्वरका वचनहरूको एउटा पङ्क्ति सम्झेँ: “परमेश्वरको आज्ञाप्रति तँसँग जति बढी बोझ हुन्छ, उहाँद्वारा सिद्ध पारिन तँलाई त्यति नै सजिलो हुनेछ।” मैले तुरुन्तै त्यो खण्ड खोजेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “परमेश्वरका वचनहरू खानु र पिउनु, प्रार्थना गर्नु र तालिम लिनु, परमेश्वरको बोझ स्वीकार गर्नु, अनि उहाँले तँलाई सुम्पनुहुने कार्यभारहरू स्वीकार गर्नु—यो सबै तँसित अगाडि बढ्ने मार्ग होस् भनेर हो। परमेश्वरको आज्ञाप्रति तँसँग जति बढी बोझ हुन्छ, उहाँद्वारा सिद्ध पारिन तँलाई त्यति नै सजिलो हुनेछ। कतिपय त आह्वान गर्दा समेत परमेश्वरको सेवामा अरूसित सहकार्य गर्न अनिच्छुक हुन्छन्; यिनीहरू अल्छी मानिस हुन् जो आरामको लालसा गर्छन्। तँलाई जति बढी अरूसँग सहकार्य गरेर सेवा गर्न भनिन्छ, तैँले त्यति नै बढी अनुभवहरू हासिल गर्नेछस्। बोझ र अनुभवहरू बढी भएकाले तैँले सिद्ध हुने बढी अवसरहरू पाउनेछस्। त्यसकारण, यदि तैँले सच्चाइका साथ परमेश्वरको सेवा गर्न सकिस् भने, तैँले परमेश्वरको बोझलाई ख्याल गर्नेछस्; तैँले परमेश्वरद्वारा सिद्ध पारिने अझ धेरै अवसरहरू पाउनेछस्। हाल त्यस्ता मानिसहरूको समूहलाई सिद्ध पारिँदै छ। तँलाई जति बढी पवित्र आत्माले छुनुहुन्छ, तैँले त्यति नै बढी समय परमेश्वरको बोझप्रति सचेत हुन अर्पित गर्नेछस्, तँलाई त्यति नै बढी परमेश्वरद्वारा सिद्ध तुल्याइनेछ—तबसम्म सिद्ध तुल्याइनेछ जबसम्म तँ अन्ततः परमेश्वरले प्रयोग गर्नुहुने व्यक्ति हुँदैनस्। हाल, केही व्यक्तिहरू यस्ता छन् जसले मण्डलीको निम्ति कुनै बोझहरू बोक्दैनन्। यी मानिसहरू सुस्त र लापरवाह छन् अनि यिनीहरूले केवल आफ्नै देहको मात्र वास्ता गर्छन्। त्यस्ता मानिसहरू अत्यन्तै स्वार्थी हुन्छन् र तिनीहरू अन्धा पनि हुन्छन्। यदि तैँले यो कुरा स्पष्टसित देख्न सक्दैनस् भने, कुनै पनि बोझ बोक्नेछैनस्। तैँले जति बढी परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्छस्, त्यति नै बढी बोझ उहाँले तँलाई सुम्पिनुहुनेछ। स्वार्थीहरू त्यस्ता कुराहरूको कष्ट भोग्न अनिच्छुक हुन्छन्; तिनीहरू मूल्य चुकाउन अनिच्छुक हुन्छन् र परिणामस्वरूप, तिनीहरूले परमेश्वरद्वारा सिद्ध तुल्याइने अवसरहरू गुमाउनेछन्। के तिनीहरूले आफैलाई हानि पुऱ्याइरहेका छैनन् र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्धता हासिल गर्न परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर)। परमेश्वरका वचनहरूमा चिन्तन गरेपछि, मैले के बुझेँ भने परमेश्वरको आज्ञाप्रति व्यक्तिमा बोझको भावना छ कि छैन भन्ने कुराले उसलाई सिद्ध पार्न सकिन्छ वा सकिँदैन भन्ने कुरामा प्रत्यक्ष असर पार्छ। जब कसैले बोझको भावना लिएर आफ्नो कर्तव्य पूरा गर्छ र सत्यता पछ्याउँछ, अनि परमेश्वरको अभिप्रायलाई ध्यानमा राख्छ, तब पवित्र आत्माले त्यस व्यक्तिलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुनेछ, जसले गर्दा उसले आफ्नो कर्तव्यको दौरान सत्यता बुझ्न र जीवन प्रवेशमा वृद्धि हासिल गर्न सक्छ। यसको विपरीत, जसले सत्यता पछ्याउँदैनन्, जो धेरै अल्छी छन् र जिम्मेवारी लिन अनिच्छुक हुन्छन् अनि जसले परमेश्वरको अभिप्रायलाई ध्यानमा राख्दैनन्, उनीहरूले पवित्र आत्माको काम पाउन असम्भव हुन्छ र अन्ततः केही पनि पाउनेछैनन्। आफ्नो अवस्थाबारे चिन्तन गर्दा, परमेश्वरले खुलासा गर्नुभएको जस्तै म साँच्चै अल्छी र आराम खोज्ने व्यक्ति रहेछु भन्ने देखेँ। जब कामको बोझ बढ्यो र मैले शारीरिक रूपमा कष्ट भोग्नुपर्यो, तब मैले प्रतिरोध महसुस गरेँ र म सहकार्य गर्न अनिच्छुक भएँ। आफ्नो कर्तव्यप्रतिको यस्तो मनोवृत्तिले गर्दा, मैले निश्चय नै सत्यता प्राप्त गर्न सक्ने थिइनँ वा म सिद्ध पारिन सक्ने थिइनँ। यो सोच्दा, म केही हदसम्म दुःखी भएँ, र परमेश्वरको श्रमसाध्य अभिप्राय बुझेँ। अब ली मिङलाई सारिएको हुनाले, मलजलको काम मेरो काँधमा आएको थियो, तर परमेश्वरले मलाई कठिन अवस्थामा पारिरहनुभएको थिएन, बरु, उहाँले मलाई तालिम दिइरहनुभएको थियो। नयाँ सदस्यहरूलाई मलजल गर्ने काम गर्दा होस् वा अरूलाई संवर्धन गर्ने काम गर्दा होस्, जब मैले समस्या र कठिनाइहरूको सामना गरेँ, तब मसँग भर पर्न सक्ने कोही पनि व्यक्ति थिएन, जसले मलाई परमेश्वरमा भर पर्न र सत्यता पछ्याउन, अनि समस्याहरू समाधान गर्न सत्यता प्रयोग गर्न सिक्न झनै प्रोत्साहन दियो। यो परमेश्वरको अनुग्रह थियो! तैपनि मैले आफ्नो देहको ख्याल गरेँ, म कठिनाइ र थकानदेखि डराएकी थिएँ, र जिम्मेवारीहरू लिन अनिच्छुक भएकी थिएँ। मैले परमेश्वरले मलाई सिद्ध पार्ने र सत्यता प्राप्त गर्न मद्दत गर्ने मौकालाई पन्छाएकी थिएँ। मलाई साँच्चै आफ्नो भलो केमा छ भन्ने थाहा थिएन!
त्यसपछि मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ: “सत्यताको पछि नलाग्ने सबैले जिम्मेवारी नलिने मनस्थितिले आफ्नो कर्तव्य पूरा गर्छन्। ‘कसैले अगुवाइ गऱ्यो भने, म पछ्याउँछु; उसले जहाँ डोऱ्याउँछ, म त्यहीँ जान्छु। उसले मलाई जे गर्न लगाउँछ म त्यही गर्नेछु। जहाँसम्म जिम्मेवारी र चासो लिने, वा कुनै कुरा गर्न अझै धेरै समस्या झेल्ने, आफ्नो सारा हृदय र शक्तिले केही गर्ने कुरा छ—म त्यो गर्न चाहन्नँ।’ यी मानिसहरू मूल्य चुकाउन अनिच्छुक हुन्छन्। तिनीहरू खटिन मात्रै इच्छुक हुन्छन्, जिम्मेवारी लिन इच्छुक हुँदैनन्। व्यक्तिले साँचो रूपमा आफ्नो कर्तव्य पूरा गर्ने मनोवृत्ति यो होइन। व्यक्तिले आफ्नो कर्तव्य निर्वाहमा आफ्नो हृदय लगाउन सिक्नैपर्छ, र विवेक भएको व्यक्तिले यो कुरा गर्न सक्छ। यदि व्यक्तिले आफ्नो कर्तव्य निर्वाह गर्नमा कहिल्यै हृदय लगाउँदैन भने, त्यसको अर्थ उसमा विवेक छैन, र विवेकविनाका मानिसहरूले सत्यता प्राप्त गर्न सक्दैनन्। … आफ्नो हृदयलाई आफ्नो कर्तव्यमा लगाउन र जिम्मेवारी उठाउन सक्ने बन्न तैँले कष्ट सहनु र मूल्य चुकाउनु आवश्यक हुन्छ—यी कुराहरूबारे कुरा गर्नु मात्र पर्याप्त हुँदैन। यदि तँ आफ्नो हृदय कर्तव्यमा लगाउँदैनस्, बरु सधैँ परिश्रम गर्न चाहन्छस् भने, तेरो कर्तव्य निश्चित रूपले राम्रोसँग गरिएको हुँदैन। तैँले केवल झारा टारिरहेको हुन्छस्, त्योभन्दा बढी केही होइन, र तैँले आफ्नो कर्तव्य राम्ररी गरिस् कि गरिनस् त्यो जान्नेछैनस्। यदि तैँले आफ्नो हृदय त्यसमा लगाइस् भने तैँले बिस्तारै सत्य बुझ्न थाल्नेछस्; यदि तैँले आफ्नो हृदय त्यसमा लगाइनस् भने तैँले सत्यता बुझ्नेछैनस्। जब तँ आफ्नो हृदयलाई कर्तव्य निर्वाह गर्नमा र सत्यता पछ्याउनमा लगाउँछस्, तब तँ बिस्तारै परमेश्वरका अभिप्रायहरू बुझ्न सक्ने, आफ्नो भ्रष्टता र कमीकमजोरीहरू थाहा पाउने, र आफ्ना सबै विविध स्थितिहरू सम्हाल्न सक्ने हुनेछस्। जब तैँले परिश्रम गर्न मात्रै ध्यान दिन्छस्, र आत्मचिन्तन गर्नमा हृदय लगाउँदैनस्, तब तैँले आफ्नो हृदयको साँचो स्थिति अनि फरक फरक वातावरणहरूमा तँमा हुने विभिन्न प्रतिक्रिया र भ्रष्टताका प्रकटीकरणहरू पत्ता लगाउन सक्नेछैनस्। यदि समस्याहरू हल नभई थाँती नै रहँदा परिणाम के हुन्छ भन्ने कुरा तँलाई थाहा छैन भने, तँ ठूलो समस्यामा छस्। … यदि तैँले हृदयमा प्रायः मनन गर्ने कुरा तेरो कर्तव्यसित सम्बन्धित कामकुराहरू वा सत्यतासँग सम्बन्धित कामकुराहरू होइनन्, र बरु तँ बाहिरी कुराहरूमा अल्झिन्छस्, र तँ देहका कामकुराहरूमा डुबेर जिउँछस् भने, के तैँले सत्यता बुझ्न सक्नेछस् र? के तँ आफ्नो कर्तव्य राम्ररी पूरा गर्न र परमेश्वरसामु जिउन सक्छस् र? अवश्यै सक्दैनस्। त्यस्तो व्यक्तिले मुक्ति प्राप्त गर्न सक्दैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार व्यक्ति भएर मात्र वास्तविक मानव रूपमा जिउन सकिन्छ)। मैले के देखेँ भने, आफ्नो कर्तव्यमा मूल्य चुकाउन नचाहने, सधैं देहमा आराम र सहजता पछ्याउने, र आफ्नो काममा पूर्ण रूपमा गैरजिम्मेवार हुने मानिसहरूले सत्यता प्राप्त गर्न सक्दैनन्, र परमेश्वरले उनीहरूलाई अनुमोदन गर्नुहुन्न भनी उहाँले खुलासा गर्नुहुन्छ। मैले पहिलो पटक नयाँ सदस्यहरूलाई मलजल गर्न सुरु गर्दाको समयलाई चिन्तन गर्दा, म आफ्नो सहकर्मी सिस्टरमाथि धेरै भर पर्थेँ, उनीसँग नयाँ सदस्यहरूलाई मलजल गर्ने धेरै अनुभव भएकोले, उनीहरूका कठिनाइहरू समाधान गर्न उनलाई सङ्गति गर्न दिनु नै ठीक हुन्छ भनेर सोच्थेँ। म यी कुराहरूबारे पटक्कै वास्ता वा सोधखोज नगरी, पूर्ण रूपमा बाहिरको मान्छे जस्तो बनेँ। आफ्नो कर्तव्य पूरा गर्दा, म केवल दुःख र थकानबाट जोगिन चाहन्थेँ, र म आफूलाई मन पर्ने कामहरू गर्न समय चोर्थेँ। तापनि, मैले आफूसँग आफ्नो कर्तव्यप्रति बोझको भावना नभएको कहिल्यै महसुस गरिनँ। जब मैले ली मिङलाई सारिँदै छ भन्ने थाहा पाएँ, तब मैले आफ्नो सहाराको खम्बा गुमाएझैँ महसुस गरेँ, र जब मैले अब सबै काम म एकलैको काँधमा आउनेछ भन्ने सोचेँ, तब म विचलित भएँ। मैले आफ्नो आरामको बारेमा सोच्न थालेँ, म सधैं सजिला कामहरू रोज्न चाहन्थेँ, र जब कुराहरू मेरो चाहनाअनुसार हुँदैनथे, तब म नकारात्मक र निष्क्रिय बन्थेँ, संवर्धन गर्नुपर्नेहरूलाई बेवास्ता गर्थेँ र नयाँ सदस्यहरूलाई मलजल गर्ने काममा झारा टार्ने गर्थेँ। म परमेश्वरलाई सन्तुष्ट पार्न र उहाँको अभिप्रायलाई ख्याल गर्न चाहन्छु भनी भन्ने गर्थेँ, तर जब साँच्चै दुःख भोग्ने र मूल्य चुकाउने कुरा आउँथ्यो, तब म पछि हट्थेँ र अलिकति पनि प्रयास गर्न चाहन्नथेँ। मसँग कुन तरिकाले परमेश्वरको अभिप्रायलाई ख्याल गर्ने हृदय थियो र? यो सोच्दा, मलाई साह्रै दोषी महसुस भयो। त्यसपछि, मैले नयाँ सदस्यहरूका कठिनाइ र समस्याहरू बुझ्न अग्रसरता लिएँ र उनीहरूलाई मद्दत गर्न सङ्गति गरेँ। मैले अरूलाई संवर्धन गर्न पनि अझ बढी समय निकालेँ। मैले धेरै चिन्ता गर्नुपर्ने र धेरै दुःख भोग्नुपर्ने भए तापनि, मैले हृदयमा शान्ति र सहजता महसुस गरेँ।
एक महिनापछि, मलाई नयाँ सदस्यहरूलाई मलजल गर्ने कामका लागि अर्को मण्डलीमा सारियो। मैले अगुवाहरूबाट सिस्टर याङ छिङको कार्य सामर्थ्य कमजोर भएको र उनी टोली अगुवाको भूमिकाका लागि योग्य नभएको कुरा सुनेँ, र उनीहरूले मलाई त्यो भूमिका दिन चाहन्थे। मैले धेरै दबाब महसुस गरेँ, र सोचेँ, “टोली अगुवा हुनु भनेको नयाँ सदस्यहरूलाई मलजल गर्नु मात्र होइन, तर काममा भएका विचलनहरूको सारांश निकाल्नु र मलजल गर्ने व्यक्तिहरूका समस्याहरू समाधान गर्न सङ्गति गर्नु पनि हो। के मैले साँच्चै यो सबै काम सम्हाल्न सक्छु र? यो त धेरै चिन्ता लिनुपर्ने काम जस्तो देखिन्छ!” मैले तुरुन्तै त्यो भूमिका अस्वीकार गर्ने प्रयास गरेँ र भनेँ, “याङ छिङले धेरै वर्षदेखि मलजलको काम गर्दै आएकी छिन् र केही सिद्धान्तहरू बोध गरेकी छिन्। किन उनलाई अहिलेका लागि टोली अगुवाको रूपमा राख्न निरन्तरता नदिने? म उनलाई सहयोग गर्न सक्छु, र यदि यो तरिकाले काम भएन भने, हामी उनलाई पछि अर्को जिम्मेवारी दिन सक्छौँ।” अगुवाहरूले म टोली अगुवा बन्न अनिच्छुक भएको देखे, त्यसैले उनीहरूले मलाई कर गरेनन्, र म राहतको सास नफेरी बस्न सकिनँ।
पछि, मैले के थाहा पाएँ भने याङ छिङको स्वभाव अहङ्कारी छ, र उनी आफ्नो कर्तव्य पूरा गर्दा अनुभवमा भर पर्थिन् र उनले प्रावधानहरू पालन गर्थिन्। जब मैले उनीसँग सङ्गति गर्ने र उनलाई सुधार्ने प्रयास गर्थेँ, तब उनले त्यो स्वीकार गर्न सक्थिनन्, र उनी पहिलेकै तरिकाले काम गरिरहन्थिन्। मैले मनमनै सोचेँ, “याङ छिङको कार्य सामर्थ्य कमजोर हुनुका साथै, सङ्गति गरिएका सिद्धान्तहरू पनि उनले बुझ्न सक्दिनन्, र उनको क्षमता साह्रै कमजोर छ। यदि यस्तै चलिरह्यो भने, यसले काममा ढिलाइ गराउनेछ। उनी साँच्चै टोली अगुवाको भूमिकाका लागि उपयुक्त छैनन्।” तर त्यसपछि मैले सोचेँ, “यदि हामीले उनलाई बर्खास्त गर्यौँ भने, कसले अगुवाइ लिन्छ र? टोलीका अरू ब्रदर-सिस्टरहरूले भर्खरै तालिम लिन सुरु गरेका छन् र उनीहरूले अझै सिद्धान्तहरू बोध गरेका छैनन्। ममा पनि धेरै कमीकमजोरीहरू भए तापनि, मैले केही समयदेखि नयाँ सदस्यहरूलाई मलजल गर्दै आएकी छु र केही सिद्धान्तहरू बुझ्न थालेकी छु, त्यसैले म नै बढी उपयुक्त विकल्प हुनेछु।” तर टोली अगुवा हुँदा धेरै दबाब हुन्छ, मैले सबै कुरा व्यवस्थापन गर्नुपर्छ, र सबै चिन्ताले आफैलाई गलाउनुपर्छ भन्ने सोच्नेबित्तिकै, मैले त्यो विचारलाई तुरुन्तै मनबाट हटाएँ, र यसको सट्टा मैले सोचेँ, “याङ छिङसँग अझ बढी सङ्गति गर्दा र काममा उनलाई मद्दत गर्दा कसो होला? त्यसो गर्दा ठीक हुनुपर्ने हो।” यसरी, मैले याङ छिङका समस्याहरू देखेँ तर तिनका बारेमा रिपोर्ट गरिनँ। ठीक त्यही बेला, मण्डलीका एकजना ब्रदरको कार दुर्घटना भयो र उनको हात भाँचियो। मैले उनी आफ्नो कर्तव्यमा निरन्तर धूर्त हुने गरेको र झारा टार्ने गरेको कुरा सुनेँ, र बर्खास्त गरिएपछि पनि, उनले आफूलाई चिनेनन् र पश्चात्ताप गरेनन् वा उनी परिवर्तन भएनन्। अहिले उनको हात भाँचिएको थियो, र उनले चाहेर पनि आफ्नो कर्तव्य पूरा गर्न सक्दैनथियो। यो घटनाले मलाई साँच्चै नै झड्का दियो। मैले के देखेँ भने, आफ्नो कर्तव्यको दौरान, यदि मानिसहरू धूर्त हुन्छन्, तिनीहरूले झारा टार्छन्, तिनीहरू आफ्नो उचित काममा लापरवाह हुन्छन्, र तिनीहरूले कहिल्यै पश्चात्ताप गर्दैनन् भने, उनीहरूले आफ्नो कर्तव्य पूरा गर्ने मौका गुमाए पछि, पश्चात्ताप गर्न धेरै ढिलो भइसकेको हुन्छ। मैले ती ब्रदरको अनुभव मेरो लागि एउटा सम्झना र चेतावनी हो भन्ने महसुस गरेँ, र मैले परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झेँ: “यदि तँ झारा टार्ने तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्छस्, र त्यसलाई अनादरपूर्ण मनोवृत्तिले सम्हाल्छस् भने, त्यसको नतिजा के हुनेछ? तैँले आफूले राम्ररी निर्वाह गर्न सक्ने कर्तव्यमा समेत राम्रो गर्न सक्नेछैनस्—तेरो कार्यप्रदर्शन मानकअनुरूप हुनेछैन, र तेरो कर्तव्यप्रतिको तेरो मनोवृत्तिसँग परमेश्वर निकै असन्तुष्ट हुनुहुनेछ। यदि तँ परमेश्वरलाई प्रार्थना गर्न, सत्यता खोज्न, र त्यसमा आफ्नो सम्पूर्ण हृदय र मन लगाउन सक्छस् भने, यदि तँ यसरी सहकार्य गर्न सक्छस् भने, परमेश्वरले तेरा लागि सबै कुरा पहिले नै तयार गर्नुहुनेछ, ताकि तैँले मामिलाहरू सम्हाल्दा सबै कुरा ठिकठाक मिलोस् र त्यसले राम्रा परिणामहरू फलाओस्। तैँले धेरै ऊर्जा खर्च गर्नु आवश्यक पर्नेछैन; जब तँ सहकार्य गर्न सक्दो प्रयास गर्छस्, तब परमेश्वर तेरा लागि सबै कुरा प्रबन्ध गर्नुहुन्छ। यदि तँ धूर्त छस् र सुस्ताउँछस् भने, यदि तँ आफ्नो कर्तव्य राम्ररी पूरा गर्दैनस् र सधैँ गलत मार्गमा जान्छस् भने, परमेश्वरले तँमा काम गर्नुहुनेछैन; तैँले यो अवसर गुमाउनेछस्, र परमेश्वरले यसो भन्नुहुनेछ, ‘तँलाई प्रयोग गर्ने कुनै उपाय छैन। जा, पाखा लाग्। तँलाई छली हुन र सुस्ताउन मन पर्छ, होइन त? तँलाई अल्छे हुन, र आराममा लिप्त हुन मन पर्छ, होइन त? ठिकै छ, अब सधैँभरी आराममा लिप्त हो!’ परमेश्वरले यो अनुग्रह र अवसर अर्को कुनै व्यक्तिलाई दिनुहुनेछ। तिमीहरू के भन्छौ: यो हानि हो कि लाभ हो? (हानि।) यो ठूलो हानि हो!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले परमेश्वरको धर्मी स्वभावले मानिसको उल्लङ्घनलाई सहँदैन भन्ने महसुस गरेँ। मानिसहरूलाई आफ्नो कर्तव्य पूरा गर्ने मौका दिनु परमेश्वरको अनुग्रह हो। परमेश्वरको अभिप्राय के हो भने, हामीले आफ्नो कर्तव्यमा सत्यता पछ्याऔँ र सिद्धान्तहरू अनुसार काम गरौँ, हामी परमेश्वरमा समर्पित हुन र उहाँप्रति बफादार हुन सकौँ, र हामीले आफ्नो कर्तव्यलाई मानकअनुरूप पूरा गरौँ। तर यदि मैले यस्ता अवसरहरूलाई कदर गरिनँ, र आफ्नो पूरा प्रयास नलगाई, आफ्नो कर्तव्यलाई हल्का रूपमा लिएँ, धूर्त र झारा टार्ने तरिकाले कर्तव्य पूरा गरेँ भने, मलाई परमेश्वरले तिरस्कार गरिदिनुहुनेछ र पन्छ्याउनुहुनेछु, अनि बेवास्ता गर्नुहुनेछ। सुरुमा, अगुवाहरूले मलाई टोली अगुवा बनाउन चाहे, तर म दुःख र कठिन परिश्रमदेखि डराएँ, त्यसैले मैले त्यो कर्तव्य अस्वीकार गरेँ। तर अहिले जब याङ छिङ टोली अगुवाको लागि उपयुक्त छैनन् भन्ने निश्चित भइसकेको थियो, तब उनलाई राखिरहँदा मलजलको काममा ढिलाइ हुने थियो, त्यसैले मैले तुरुन्तै उनका समस्याहरू रिपोर्ट गर्नुपर्थ्यो। तर मलाई के डर थियो भने यदि उनलाई बर्खास्त गरियो र मैले टोली अगुवाको भूमिका लिएँ भने, मैले अझ धेरै चिन्ताहरू लिनुपर्नेछ, त्यसैले मेरो देहको आरामको लागि, याङ छिङका समस्याहरू देखेर पनि, मैले ती रिपोर्ट गरिनँ, यहाँसम्म कि उनलाई मण्डलीको काममा बाधा पुऱ्याउन र हानि गर्न दिइरहेँ। तब मैले आफ्नो कर्तव्यमा धूर्त हुनु र झारा टार्नुको परिणाम कति गम्भीर रहेछ भन्ने महसुस गरेँ, र यदि मैले अझै पनि पश्चात्ताप गरिनँ भने, म पनि त्यही ब्रदर जस्तै हुनेछु, र मैले आफ्नो कर्तव्य पूरा गर्ने मौका साँच्चै नै गुमाउन सक्छु। मैले पश्चात्ताप गर्न र आफ्ना समस्याहरू समाधान गर्न सत्यता पछ्याउन तयार हुँदै तुरुन्तै परमेश्वरलाई प्रार्थना गरेँ।
मेरो खोजीको क्रममा, मैले परमेश्वरका केही वचनहरू पढेँ: “तँ व्यक्ति होस्, त्यसैले तैँले व्यक्तिका जिम्मेवारीहरू के-के हुन् भनेर विचार गर्नुपर्छ। गैरविश्वासीहरूले सबैभन्दा बढी मूल्यवान् ठान्ने जिम्मेवारीहरू, जस्तै कर्तव्यनिष्ठ सन्तान बन्नु, आमाबुवाको भरणपोषण गर्नु र आफ्नो परिवारको नाम राख्नु आदिबारे त भनिरहनु पर्दैन। यी सबै खोक्रा कुरा हुन् र यिनमा वास्तविक अर्थ छैन। व्यक्तिले पूरा गर्नुपर्ने न्यूनतम जिम्मेवारी के हो? तैँले अब कसरी आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्छस्, त्यो नै सबैभन्दा व्यावहारिक कुरा हो। झारा टार्नमा नै सन्तुष्ट हुनु आफ्नो जिम्मेवारी पूरा गर्नु होइन, अनि शब्द र धर्मसिद्धान्तहरू मात्र बोल्नु पनि आफ्नो जिम्मेवारी पूरा गर्नु होइन। सत्यता अभ्यास गर्नु र सिद्धान्तअनुसार कामकुरा गर्नु मात्र आफ्नो जिम्मेवारी पूरा गर्नु हो। जब तेरो सत्यता अभ्यास प्रभावकारी, र मानिसहरूका लागि लाभदायी बनेको हुन्छ, तब मात्र तैँले आफ्नो जिम्मेवारी साँच्चै पूरा गरेको हुनेछस्। तैँले जुनसुकै कर्तव्य पूरा गरिरहेको भए पनि, तँ यावत् थोकमा सत्यता सिद्धान्तअनुसार व्यवहार गर्नमा लागिरहिस् भने मात्र तैँले साँच्चिकै आफ्नो जिम्मेवारी पूरा गरेको हुनेछस्। मानव कार्यशैलीअनुसार अल्याङमल्याङ गर्नु भनेको झाराटारुवा हुनु हो; सत्यता सिद्धान्तहरूमा कायम रहनु मात्र सही तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्नु र आफ्नो जिम्मेवारी पूरा गर्नु हो। अनि जब तैँले आफ्नो जिम्मेवारी पूरा गर्छस्, के यो बफादारीको प्रकटीकरण हुँदैन र? यो आफ्नो कर्तव्य बफादारीसाथ निर्वाह गर्नुको प्रकटीकरण हो। तँमा यो जिम्मेवारी बोध, यो सङ्कल्प र चाहना, अनि आफ्नो कर्तव्यका सम्बन्धमा बफादारीको यो प्रकटीकरण छ भने मात्र, परमेश्वरले तँलाई कृपा र अनुमोदनको दृष्टिले हेर्नुहुनेछ। यदि तँमा जिम्मेवारीको यो बोधसमेत छैन भने, परमेश्वरले तँलाई कामचोर र लन्ठकका रूपमा व्यवहार गर्नुहुनेछ, र तँलाई घृणा गर्नुहुनेछ। … यसरी, यदि तँ परमेश्वरले तँलाई निगाह देखाउनुहोओस् भन्ने चाहन्छस् भने, तैँले कम्तीमा पनि आफूलाई अरू मानिसका दृष्टिमा भरोसायोग्य बनाउनुपर्छ। यदि तँ अरूले तँलाई भरोसा गरून्, निगाह देखाऊन्, आदर गरून् भन्ने चाहन्छस् भने, कम्तीमा पनि तँ मर्यादित, जिम्मेवारी बोध भएको, वचनको पक्का, र भरोसायोग्य हुनैपर्छ। त्यसबाहेक, तँ परमेश्वरसामु लगनशील, जिम्मेवार, र बफादार हुनैपर्छ—त्यसपछि तैँले परमेश्वरले तँबाट गर्नुहुने जरुरी मागहरू पूरा गरेको हुनेछस्। त्यसपछि, तँलाई परमेश्वरको अनुमोदन प्राप्त हुने आशा हुनेछ, हुनेछैन र?” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (८))। परमेश्वरका वचनहरू पढेपछि, मेरो हृदयमा गहिरो गरी घोच्यो र म बेचैन भएँ। मैले के महसुस गरेँ भने म आफ्नो कर्तव्यमा धूर्त र गैरजिम्मेवार भएकी छु, जसले मलाई पूर्ण रूपमा अविश्वसनीय बनाएको छ। याङ छिङ आफ्नो कमजोर क्षमताको कारण टोली अगुवाको भूमिकाका लागि उपयुक्त थिइनन् भन्ने मलाई थाहा थियो, र त्यो समयमा टोलीमा अगुवा पदका लागि अरू कुनै उपयुक्त उम्मेदवारहरू पनि थिएनन्, तर म अझै पनि मण्डलीको कामको रक्षा गर्न बोझ उठाउन अनिच्छुक थिएँ। ममा साँच्चै अलिकति पनि जिम्मेवारीको भावना थिएन! सोचेँ, कसरी केही आमाबाबुले आफ्ना छोराछोरीलाई वयस्क नहुञ्जेल हुर्काउँछन्, तर जब छोराछोरी हुर्कन्छन्, तब उनीहरूले आफ्नो आनन्द र सुखको मात्र वास्ता गर्छन्, आफ्ना आमाबाबु बिरामी पर्दा वा बुढेसकालमा हेरचाह चाहिने बेलामा उनीहरूलाई बेवास्ता गर्छन्। यस्ता मानिसहरूमा विवेक र मानवताको कमी हुन्छ। मैले परमेश्वरका वचनहरूद्वारा पाइने उहाँको यति धेरै मलजल र भरणपोषणको आनन्द लिएकी थिएँ, तर जब मलजलको कामलाई मानिसहरूको सहकार्यको खाँचो पर्यो, तब म स्वार्थी र घृणास्पद भएँ र मैले आफ्नो देहको आरामको मात्र वास्ता गरेँ, अनि मण्डलीको कामलाई पटक्कै विचार गरिनँ। ममा साँच्चै कुनै मानवता थिएन! मैले आफैलाई घृणा गर्न थालेँ र आफ्ना कार्यहरूप्रति शर्म महसुस गरेँ, तर अझ बढी, मैले पछुतो र दोषी महसुस गरेँ, र म अब उप्रान्त स्वार्थी र घृणास्पद रूपमा जिउन अनिच्छुक भएँ।
त्यसपछि, मैले सोचेँ, “जब देहले दुःख भोग्नुपर्ने कर्तव्यको कुरा आउँछ, तब म किन प्रतिरोध महसुस गर्छु र सहकार्य गर्न अनिच्छुक हुन्छु? यो समस्याको जड के हो?” एक दिन, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “मानिसहरूले परमेश्वरको काम अनुभव गर्नु र सत्यता बुझ्नुभन्दा पहिले, भित्रैबाट नियन्त्रण लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तँ किन आफ्नै हैसियतको सुरक्षा गर्छस्? तँ किन आफ्ना भावनाहरूद्वारा यति प्रभावित छस्? तँ किन ती अधर्मी र दुष्ट कुराहरू मन पराउँछस्? तैँले त्यस्ता कुराहरू मन पराउनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? त किन ती कुराहरू मन पराउँछस् र स्वीकार गर्छस्? अहिलेसम्ममा, तिमीहरू सबै यो कुरा बुझ्न पुगेका छौ: मुख्य कारण के हो भने, मानिसभित्र शैतानका विषहरू छन्। त्यसो भए, शैतानका विषहरू के हुन्? तिनलाई कसरी व्यक्त गर्न सकिन्छ? उदाहरणको लागि, यदि तैँले ‘मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?’ भनेर सोधिस् भने, सबैले जवाफ दिनेछन्, ‘अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ।’ यही एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनेको छ। मानिसहरूले जेसुकैको खोजी गर्ने भए पनि, तिनीहरू वास्तवमा आफ्नै लागि त्यसो गर्छन्—अनि त्यसकारण तिनीहरू सबै आफ्नै लागि जिउँछन्। ‘अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। यी वचनहरू पहिले नै भ्रष्ट मानवजातिको प्रकृति भइसकेका छन्, र यी वचनहरू भ्रष्ट मानवजातिको शैतानी प्रकृतिको साँचो चित्रण हुन्। यो शैतानी प्रकृति पूर्ण रूपमा भ्रष्ट मानवजातिको अस्तित्वको जग बनिसकेको छ। भ्रष्ट मानवजाति कैयौँ हजार वर्षदेखि अहिलेको वर्तमान समयसम्म शैतानको यो विषअनुसार जिएको छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने)। परमेश्वरका वचनहरूमा चिन्तन गरेपछि, मैले के बुझेँ भने शैतानले मानिसहरूलाई विष दिन विद्यालयको शिक्षा, सामाजिक प्रभावहरू, साथै प्रसिद्ध र महान् व्यक्तिहरूका विचार र कथनहरू प्रयोग गर्छ, र मानिसहरूमा विभिन्न शैतानी विष र दर्शनहरू हालिदिन्छ, जस्तै “अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ,” र “जीवन छोटो छ, त्यसैले बल हुँदा नै यसको आनन्द लिनुपर्छ।” मानिसहरू यी कुराहरूअनुसार जिउँछन्, तिनीहरूले देहको आनन्दलाई आफ्नो लक्ष्य र पछ्याइको दिशा मान्छन्, र उनीहरू खान, लाउन र देहको आनन्द र दुष्ट प्रवृत्तिहरू पछ्याउन थाल्छन्, जसले तिनीहरूलाई सामान्य मानवताको विवेक र समझविहीन बनाएर, झन्-झन् पतित जीवनतर्फ डोऱ्याउँछ। मैले आफू ठ्याक्कै यस्तै भएको, विशेष गरी शारीरिक आराममा लिप्त भएको व्यक्ति हुँ भन्ने महसुस गरेँ। परमेश्वरमा विश्वास गर्नुअघि, म काममा आराम खोज्थेँ र दुःख र थकानबाट जोगिन्थेँ। मैले धेरै वा थोरै जति कमाए पनि, त्यसले फरक पार्दैनथियो; खान र पिउन पर्याप्त भए पुग्थ्यो। जब मैले मेरो वरपरका मानिसहरूले राम्रो जीवन जिउनका लागि दुःख भोगिरहेको, सङ्घर्ष गरिरहेको, र आफूलाई थकाइरहेको देख्थेँ, तब म उनीहरूलाई मूर्ख ठान्थेँ, र जीवन केही छोटो दशकको मात्र हुन्छ, त्यसैले किन आफ्नो लागि अवस्था कठिन बनाउने भन्ने ठान्थेँ। अहिले, परमेश्वरको घरमा आफ्नो कर्तव्य पूरा गर्दा पनि, म अझै पनि सांसारिक दृष्टिकोण राख्थेँ, सधैं शारीरिक आरामको चाहना गर्थेँ र दुःख भोग्न वा आफूलाई थकाउन चाहन्नथेँ। कहिलेकाहीँ, केही दिनसम्म कर्तव्यमा व्यस्त भएर र मानसिक रूपमा तनावग्रस्त महसुस गरेपछि, म सधैं शारीरिक रूपमा आराम गर्ने र आफूलाई नथकाउने अवसरहरू खोज्न चाहन्थेँ। जब बोझ उठाउने, दुःख भोग्ने, र मूल्य चुकाउने समय आउँथ्यो, म सधैं पछि हट्न वा त्यो काम अरू कसैमाथि थोपर्न चाहन्थेँ। साँच्चै विवेक र समझ भएका मानिसहरूले आफ्नो कर्तव्यमा परमेश्वरको प्रेम कसरी चुकाउने भनेर विचार गर्छन्, आफ्नो सम्पूर्ण शक्तिले सक्दो प्रयास गर्छन् र आफ्नो कर्तव्यमा राम्रा परिणामहरू हासिल गर्छन्, तर म, एक स्वार्थी र घृणास्पद व्यक्तिले, केवल आफ्नो शारीरिक हितको बारेमा विचार गर्थेँ, र आफ्नो कर्तव्यमा आफ्नो पूरा प्रयास दिन अनिच्छुक भई, धूर्त बन्थेँ र झारा टार्ने गर्थेँ। मेरो शरीर आराममा भए पनि र मैले धेरै दुःख नभोगे पनि, मैले सत्यता प्राप्त गर्ने धेरै अवसरहरू गुमाएँ। मैले बारम्बार आफ्नो कर्तव्यलाई पन्छाएँ र अस्वीकार गरेँ अनि परमेश्वरविरुद्ध विद्रोह गरेँ, र यदि यो क्रम जारी रह्यो भने, अन्ततः म परमेश्वरद्वारा तिरस्कार गरिनेथिएँ र हटाइनेथिएँ। यो मृत्युतर्फ लैजाने बाटो थियो! यस क्षणमा, मैले हितोपदेशको पुस्तकमा भनिएको “मूर्खहरूको उन्नतिले तिनीहरूलाई नष्ट गर्नेछ” कुराको अर्थ साँच्चै बोध गरेँ। मेरो हृदयमा लामो समयसम्म डर बसिरह्यो। यदि मैले ती ब्रदरको कार दुर्घटनाको बारेमा नसुनेको भए, मैले आत्मचिन्तन गर्ने थिइनँ, र मैले आफ्नो आरामको पछ्याइको गम्भीर परिणामहरू महसुस गर्ने थिइनँ, पश्चात्ताप गर्न वा परिवर्तन हुन सक्ने त परको कुरा भयो। मैले मनमनै परमेश्वरलाई धन्यवाद दिएँ।
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ, जसले मलाई अभ्यासको मार्ग प्रदान गर्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “इमानदार व्यक्तिका प्रकटीकरणहरू के-के हुन्? पहिलो, परमेश्वरका वचनहरूप्रति कुनै शङ्का नहुनु। यो इमानदार व्यक्तिको एउटा प्रकटीकरण हो। यसबाहेक, सबैभन्दा महत्त्वपूर्ण प्रकटीकरण भनेको सबै कुरामा सत्यता खोजी र अभ्यास गर्नु हो—यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। तँ आफू इमानदार छु भन्छस्, तर परमेश्वरका वचनहरूबारे कहिल्यै सोच्दैनस् र जे मन लाग्यो त्यही गर्छस्। के त्यो इमानदार व्यक्तिको प्रकटीकरण हो त? तँ भन्छस्, ‘मेरो क्षमता कम भए पनि मसँग इमानदार हृदय छ।’ तापनि जब तँमाथि कुनै कर्तव्य आइलाग्छ, तँ कष्ट भोग्नुपर्ला वा आफूले त्यो काम राम्रोसँग गरिएन भने, त्यसको जिम्मेवारी लिनुपर्ला भनी डराउँछस्, त्यसकारण तँ आफ्नो कर्तव्यबाट तर्किन बहानाहरू बनाउँछस् वा त्यो गर्न अरू कसैलाई सिफारिस गर्छस्। के यो इमानदार व्यक्तिको प्रकटीकरण हो र? स्पष्ट रूपमा, त्यो होइन। त्यसो भए, इमानदार व्यक्तिले कस्तो व्यवहार गर्नुपर्छ? तिनीहरू परमेश्वरका बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ, आफूले निभाउनुपर्ने कर्तव्यमा अर्पित हुनुपर्छ, र परमेश्वरका अभिप्रायहरू पूरा गर्न लागिपर्नुपर्छ। यसले आफूलाई केही तरिकामा प्रकट गर्छ। एउटा तरिका हो, आफ्ना देहगत हितहरूलाई विचार नगरी आफ्नो कर्तव्य इमानदार हृदयले स्वीकार गर्नु, यसबारे आधा मनको नहुनु र आफ्नो फाइदाको लागि षड्यन्त्र नगर्नु। ती इमानदारीका प्रकटीकरणहरू हुन्। अर्को तरिका भनेको आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नमा आफ्नो सारा हृदय र बल लगाउनु, परमेश्वरको घरले सुम्पेका कामहरू उचित रूपमा गर्नु, र परमेश्वरलाई सन्तुष्ट पार्नको लागि आफ्नो कर्तव्यमा आफ्नो हृदय र प्रेम लगाउनु हो। इमानदार व्यक्तिसँग आफ्नो कर्तव्य निर्वाह गर्दा हुनुपर्ने प्रकटीकरणहरू यिनै हुन्। यदि के गर्नुपर्छ भनेर तैँले बुझ्छस् र तँलाई थाहा छ तर तैँले गर्दैनस् भने, तैँले आफ्नो कर्तव्यमा आफ्नो सारा हृदय र बल लगाइरहेको छैनस्। बरु तँ धूर्त छस् र लटरपटर गरिरहेको छस्। के यसरी आफ्ना कर्तव्य निर्वाह गर्ने मानिसहरू इमानदार हुन् त? अवश्य होइनन्। परमेश्वर यस्ता धूर्त र छली मानिसहरूलाई प्रयोग गर्नुहुन्न; तिनीहरूलाई हटाउनैपर्छ। परमेश्वरले इमानदार मानिसहरूलाई मात्र कर्तव्य निर्वाह गर्न प्रयोग गर्नुहुन्छ। बफादार श्रमिकहरूसमेत इमानदार हुनैपर्छ। निरन्तर झाराटारुवा, धूर्त हुने र लटरपटर गर्ने सबै मानिसहरू छली हुन्, र तिनीहरू सबै पिशाच हुन्। तिनीहरूमध्ये कसैले पनि परमेश्वरमा साँचो विश्वास गर्दैन, र तिनीहरू सबैलाई हटाइनेछ। कतिपय मानिस सोच्छन्, ‘इमानदार व्यक्ति बन्नु सजिलो छ, साँच्चै सजिलो छ। यो त सत्य बोल्नु र झूट नबोल्नु मात्रै हो।’ यो विचार तिमीहरूलाई कस्तो लाग्छ? के इमानदार व्यक्ति बन्नुको दायरा यति सीमित छ? निश्चित रूपमा छैन। तैँले आफ्नो हृदयलाई प्रकट गर्नुपर्छ र त्यो परमेश्वरलाई दिनुपर्छ। इमानदार व्यक्तिमा यस्तै मनोवृत्ति हुनुपर्छ। त्यसैले त इमानदार हृदय अत्यन्तै बहुमूल्य हुन्छ। यसले के सङ्केत गर्छ? के सङ्केत गर्छ भने, इमानदार हृदयले तेरो व्यवहारलाई नियन्त्रण र तेरो स्थितिलाई परिवर्तन गर्न सक्छ। यसले तँलाई सही निर्णय गर्न, र परमेश्वरमा समर्पित भएर उहाँको अनुमोदन प्राप्त गर्न अगुवाइ गर्न सक्छ। यस्तो हृदय साँच्चै मूल्यवान् हुन्छ। यदि तँसँग यस्तो इमानदार हृदय छ भने, तँ जिउनुपर्ने स्थिति त्यही हो, तैँले त्यसरी नै व्यवहार गर्नुपर्छ र त्यसरी नै आफूलाई समर्पित गर्नुपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने परमेश्वरले इमानदार मानिसहरू र आफ्नो कर्तव्यप्रति बोझ र जिम्मेवारीको भावना राख्नेहरूलाई मन पराउनुहुन्छ। यस्ता मानिसहरूको क्षमता कम हुन सक्छ, तर उनीहरूको हृदय परमेश्वरको घरतर्फ निर्देशित हुन सक्छ। उनीहरूले आफ्नो हितका लागि योजना नबनाई आफ्नो कर्तव्यमा आफ्नो सम्पूर्ण हृदय र शक्ति लगाउँछन्। परमेश्वरले यस्ता मानिसहरूलाई अनुमोदन गर्नुहुन्छ। म परमेश्वरका वचनहरू अनुसार अभ्यास गर्न इच्छुक भएँ। टोली अगुवा हुँदा काममा केही कठिनाइहरू आइपर्ने भए तापनि, परमेश्वरले मानिसहरूलाई उनीहरूले बोक्न नसक्ने गह्रौं भारी बोकाउनुहुन्न। मैले परमेश्वरको अभिप्रायलाई ध्यानमा राख्नुपर्थ्यो, मण्डलीको कामलाई प्राथमिकता दिनुपर्थ्यो, र आफूले गर्न सक्ने कामका लागि सक्दो प्रयास गर्नुपर्थ्यो, धूर्त वा झारा टार्ने नगरी, तर आफ्नो कर्तव्यमा परमेश्वरप्रति समर्पणताको हृदय लिएर यसो गर्नुपर्थ्यो। मैले नोआले जहाज बनाएको कुरा सोचेँ। त्यस समयमा, उद्योग अविकसित थियो, र यातायात सीमित थियो, र नोआ कुनै पेशेवर जहाज निर्माता थिएनन्। त्यस्तो विशाल जहाज बनाउने काम नोआका लागि धेरै गाह्रो काम थियो, तर जब नोआले परमेश्वरको आज्ञा पाए, तब तिनी पछि हटेनन्, र तिनले आफ्नो शारीरिक हितका लागि विचार वा योजना गरेनन्। परमेश्वरको आज्ञा आउनेबित्तिकै, उनले तुरुन्तै बिना ढिलाइ काम गर्न थाले। नोआले आफ्नो हृदयलाई परमेश्वरको हृदयसँग मिलाए र परमेश्वरको बोझलाई आफ्नो बोझ बनाए। परमेश्वरको आज्ञाप्रति उनीसँग सरल र समर्पित हृदय थियो, र यो सबैभन्दा बहुमूल्य कुरा हो र परमेश्वरले यसैलाई अनुमोदन गर्नुहुन्छ। ब्रदर-सिस्टरहरूलाई उनीहरूको मलजलको काम राम्रोसँग गर्न हौसला दिनका लागि अगुवाहरूले मलाई टोली अगुवा बन्न भनेका थिए, र यसका लागि मैले अलि बढी दुःख भोग्नु र अलि बढी मूल्य चुकाउनु मात्र आवश्यक थियो, तर ममा आज्ञापालनको कुनै मनोवृत्ति थिएन। कर्तव्यप्रतिको मेरो मनोवृत्ति नोआको भन्दा आकाश-पातालको फरक थियो! नोआको सरलता, इमानदारी, र समर्पणतासँग आफूलाई तुलना गर्दा, मैले धेरै लज्जित र दोषी महसुस गरेँ। अहिले मलजलको काममा बाधा पुगेको हुनाले, मैले परमेश्वरको अभिप्रायलाई ध्यानमा राख्नुपर्छ, यसलाई काँधमा लिन अग्रसरता देखाउनुपर्छ, र कुनै पछुतो नराखी, मैले जे गर्नुपर्छ र गर्न सक्छु त्यो पूरा गर्न सक्दो प्रयास गर्नुपर्छ। त्यसैले मैले इमानदारीपूर्वक याङ छिङका समस्याहरू रिपोर्ट गरेँ; फलस्वरूप, अगुवाहरूले उनलाई बर्खास्त गरे, र म टोली अगुवा बनेँ।
सुरुमा, जब मैले टोली अगुवाको रूपमा तालिम लिएँ, तब ममा धेरै क्षेत्रमा कमीकमजोरी थियो र समाधान गर्नुपर्ने धेरै समस्याहरू थिए, र म प्रायजसो अतिरिक्त समय काम गर्थेँ। समय बित्दै जाँदा, ममा केही नकारात्मक भावनाहरू आउन थाले, टोली अगुवा हुँदा धेरै चिन्ताहरू लिनुपर्छ, र मेरो पहिलेको कर्तव्य धेरै सजिलो थियो भन्ने महसुस भयो। जब मैले यसरी सोचेँ, तब मैले फेरि आफ्नो देहलाई ख्याल गर्न थालेकी रहेछु भनेर महसुस गरेँ, त्यसैले मैले आफ्नो हृदयमा परमेश्वरलाई प्रार्थना गरेँ, र म आफ्नो देहविरुद्ध विद्रोह गर्न तयार भएँ। मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “आज, जो-कसैले मेरो इच्छालाई पछ्याउन सक्छन्, जो-कसैले मेरा बोझहरूलाई उचित ध्यान दिन सक्छन्, र जो-कसैले साँचो हृदय र इमानदारिताको साथ आफ्नो सम्पूर्णता मलाई दिन सक्छन् तिनीहरूलाई म प्रेम गर्छु। म तिनीहरूलाई निरन्तर रूपमा अन्तर्दृष्टि दिनेछु, र तिनीहरूलाई मबाट फुत्केर टाढा हुन दिनेछैन। म प्रायजसो भन्ने गर्छु, ‘तिमीहरूमध्ये मेरो लागि इमानदारीपूर्वक समर्पित हुनेहरूलाई म अवश्य नै धेरै आशिष् दिनेछु।’ ‘आशिष्’ ले केलाई जनाउँछ? के तँलाई थाहा छ? पवित्र आत्माको वर्तमान कार्यको प्रसङ्गमा, यसले मैले तिमीहरूलाई दिने बोझहरूलाई जनाउँछ। मण्डलीको लागि बोझ बोक्न सक्ने, र मेरो खातिर आफूलाई इमानदारितापूर्वक अर्पण गर्न सक्नेहरू सबैका लागि, तिनीहरूका बोझ र तिनीहरूको तत्परता दुवै मबाट आउने आशिष् हुन्। यसको साथै, मैले तिनीहरूलाई दिने प्रकाशहरू पनि मबाट तिनीहरूले पाउने आशिष् नै हुन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ८२)। परमेश्वरका वचनहरूमा चिन्तन गरेपछि, मैले परमेश्वरको अभिप्राय बुझेँ। टोली अगुवा बनेपछि, मैले धेरै मानिस, घटना र कामकुराहरूसँग अन्तरक्रिया गरेँ। जबजब मैले कुनै समस्या वा कठिनाइको सामना गर्थेँ, तब-तब मैले त्यसलाई समाधान गर्न परमेश्वरमा भर पर्न र सत्यता पछ्याउन सिक्नुपर्थ्यो। यो मेरो जीवन वृद्धिका लागि बढी लाभदायक थियो, र यो परमेश्वरको अनुग्रह थियो! यो सोच्दा, मैले प्रोत्साहित र कटिबद्ध महसुस गरेँ। त्यसपछि, मैले सक्रिय रूपमा कामको निगरानी गरेँ, र जबजब मैले ब्रदर-सिस्टरहरू खराब अवस्थामा भएको भेट्थेँ, तब-तब म समाधानमा पुग्न सत्यतामा सङ्गति गर्थेँ। मैले काममा आएका समस्याहरूको सम्बन्धमा सत्यताका सिद्धान्तहरू पनि खोजेँ। यसरी अभ्यास गर्दा, मैले के महसुस गरेँ भने मेरो जीवन प्रवेशमा होस् वा मेरो कर्तव्यमा होस्, मैले केही प्रगति गरिरहेकी छु। ब्रदर-सिस्टरहरूसँगको हरेक कुराकानीपछि, उनीहरूले केही कुरा प्राप्त गर्यौँ भनेर भन्थे, र मलाई धेरै खुसी लाग्थ्यो। मैले के देखेँ भने, सक्रिय रूपमा जिम्मेवारीहरू लिन तयार हुँदा, आफूलाई मात्र फाइदा पुग्ने होइन, तर मैले अरूलाई पनि मद्दत गर्न सकिरहेको हुन्छु। मैले के महसुस गरेँ भने देहको लागि नबाँच्दा र आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न प्रयास गर्दा यसले मलाई सहजता र शान्तिको अनुभूति दिन्छ।