६. एउटी थ्री-सेल्फ मण्डलीकी शिक्षिकाको निर्णय
सन् १९८७ मा, मैले मेरी आमासँगै प्रभु येशूमा विश्वास गर्न सुरु गरेँ। चाँडै नै म कोयरमा सामेल भएँ, र काममा जति नै व्यस्त भए पनि, म निरन्तर भेलाहरूमा सहभागी भइरहें। डिकनले मैले कति राम्रोसँग खोजी गरिरहेकी छु भन्ने देख्नुभयो र मलाई सन्डे स्कुलमा पढाउनका लागि संवर्धन गर्नुभयो, अनि त्यसपछि मैले प्रभुको निम्ति आफूलाई समर्पित गरेँ र अझ कडा परिश्रम गर्न थालेँ। सन् १९९५ सम्ममा, मैले भेलामा आउने विश्वासीहरूको सङ्ख्या बिस्तारै घट्दै गइरहेको देखेँ। मेरा सहकर्मीहरूबीच डाहा र कलह पनि हुन्थ्यो, अनि प्रवचनहरू बासी र मामूली हुन थालेका थिए। मलाई चिन्ता लाग्यो र म कोयरका मेरा सिस्टरहरूसँग अरू मण्डलीहरूमा खोजी गर्न गएँ। एक जना एल्डरले भन्नुभयो, “प्रभु चाँडै फर्कँदै हुनुहुन्छ, हामी सतर्क भएर पर्खनुपर्छ।” अर्को मण्डलीका एक जना पाष्टरले पनि भन्नुभयो, “प्रभु चाँडै आउँदै हुनुहुन्छ, आफूलाई रित्याऊ र आफ्नो भाँडो तयार गर, अनि प्रभुसँग पाप स्वीकार र पश्चात्ताप गर।” उहाँहरूको जवाफले मलाई निराश बनायो। मैले मण्डलीहरू उजाड भएको, प्रचारकहरूसँग प्रचार गर्ने केही कुरा नभएको र विश्वासीहरूको विश्वास सेलाएको देखेँ, त्यसैले म ईश्वरशास्त्र पढ्न गएँ, मेरो योजनाचाहिँ अन्ततः फर्केर आउने र बगाललाई गोठालो गर्ने अनि मण्डलीलाई पुनर्जीवित गर्ने थियो। तीन वर्षपछि, मैले मेरो ईश्वरशास्त्रको अध्ययन पूरा गरेँ, म मण्डलीमा फर्कें, र मण्डलीलाई पुनर्जीवित गर्ने महत्त्वाकाङ्क्षा र उत्सुकताले भरिएर शिक्षिका बनेँ। मैले जताततै प्रचार गर्न सुरु गरेँ। एकपटक, एक जना पाष्टरले मलाई ठूलो मण्डलीमा प्रचार गर्न निमन्त्रणा दिनुभयो, र सेवामा एक हजारभन्दा बढी मानिसहरू उपस्थित थिए। छेउको भवनमा, सीसीटीभी जडान गरिएको थियो, जसले गर्दा सबैले पर्दामा मेरो प्रवचन हेर्न सक्थे। मलाई असाध्यै खुसी लाग्यो। ब्रदर-सिस्टरहरूले मलाई न्यानोपनका साथ शिक्षिका झाओ भनेर बोलाउँथे, र तिनीहरू आफ्ना प्रश्नहरू लिएर मेरो वरिपरि झुम्मिन्थे। मेरो हृदय खुसीले भरिन्थ्यो, र म सोच्थेँ, “शिक्षिका हुनु भनेको एउटा साधारण ब्रदर वा सिस्टर हुनुभन्दा फरक रहेछ। मण्डलीले मलाई तलब मात्र दिँदैन, तर म जहाँ गए पनि मानिसहरूले मलाई आदर गर्छन् र मुस्कानका साथ स्वागत गर्छन्। प्रचार गर्न बाहिर जाँदा, मण्डलीले मेरो यात्रा खर्च पनि बेहोर्छ। पाष्टर बन्नुभन्दा अगाडि नै मैले यस्तो राम्रो व्यवहार पाइरहेकी छु, त्यसैले यदि म पाष्टर बनेँ र मैले ठूला मण्डलीहरूमा प्रचार गरेँ भने त, ब्रदर-सिस्टरहरूले मलाई अझ बढी आदर गर्नेछन् र पुज्नेछन्।” धेरै समय नबित्दै, म स्थानीय थ्री-सेल्फ प्याट्रियोटिक मुभमेन्ट कमिटीको उपाध्यक्ष चुनिएँ, र मैले मनमनै सोचेँ, “मेरो खोजी अझ राम्रो छ, र मेरो प्रचार पनि त्यस्तै छ जस्तो देखिन्छ। यदि मैले भविष्यमा पाष्टरको रूपमा अभिषेक पाएँ भने, मेरो व्यवस्थापनको क्षेत्र विस्तार हुनेछ, र अझ धेरै मानिसहरूले मलाई चिन्नेछन्, अनि म जहाँ गए पनि, म सम्मानित र प्रशंसित हुनेछु, र सबैले मलाई प्रख्यात पाष्टर झाओ भनेर चिन्नेछन्।” तर केही समयपछि, मैले ईश्वरशास्त्रको कक्षामा सिकेका धेरैजसो सैद्धान्तिक ज्ञान सिकाएँ, र हरेक प्रवचन उही पुराना सुख्खा र निरस विषयहरूको पुनरावृत्ति मात्र बन्न पुग्यो। मैले विभिन्न सामग्री र पुस्तकहरू जताततै खोज्न र तिनलाई जोडजाड गरेर प्रवचन तयार गर्न थालेँ, यहाँसम्म कि ईश्वरशास्त्रका मेरा पुराना नोटहरू पनि पल्टाएँ, तर त्यसले कुनै काम गरेन। मैले मण्डली झन्-झन् उजाड हुँदै गइरहेको, मेरा प्रवचनहरू सुन्न आउने मानिसहरू कम हुँदै गएको देखेँ, र भेलामा आउनेहरू पनि कुर्सीमा ढल्किएर निदाउने गरेको मैले देखेँ। म निकै अन्योलमा परेँ र मैले मनमनै सोचेँ, “मण्डलीलाई पुनर्जीवित गर्न र ब्रदर-सिस्टरहरूलाई सहायता गर्न मैले प्रभुको निम्ति सक्रिय रूपमा काम गरिरहेकी छु, तर मण्डली किन झन् उजाड भएको छ?”
सेप्टेम्बर १९९९ मा, म बुबालाई भेट्न अर्को ठाउँमा गएँ। मेरी बहिनीले मलाई सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको सुसमाचार सुनाउन एउटी सिस्टरलाई ल्याइन्। मलाई ती सिस्टर साधारण विश्वासी हुन् र तिनले मभन्दा कम बाइबल बुझेकी छिन् जस्तो लाग्यो, अनि तिनी भ्रममा परेकी छिन् जस्तो लाग्यो, त्यसैले मैले तिनको कुरा सुनिनँ। पछि, मैले चिनेको एक जना प्रचारकले प्रभुको निम्ति काम गर्ने १२० जना मानिसहरूलाई सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्न डोऱ्याएछन्, र एउटा गाउँको भेला केन्द्रका झन्डै १०० जना मानिसहरूले पनि सर्वशक्तिमान् परमेश्वरलाई स्वीकार गरेछन्। यी खबरहरूले मलाई साँच्चै चकित पारिदियो, र मैले सोचेँ, “यदि एक जना व्यक्ति अन्योलमा परेको छ र उसले साँचो मार्ग बुझ्दैन भने, ऊ भ्रममा पर्न सक्छ, तर गम्भीरतापूर्वक खोजी गर्ने यति धैरे मानिसहरूले सर्वशक्तिमान् परमेश्वरलाई स्वीकार गरेका छन्—के तिनीहरू साँच्चै सबै भ्रममा परेका हुन सक्छन् र? त्यो त हुनै सक्दैन! मैले चिनेको प्रचारक बाइबलमा पोख्त र विवेकपूर्ण हुनुहुन्छ, तर उहाँले, अनि अरू धेरै सहकर्मीहरूले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्नुभएको छ। कतै उहाँहरूले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्नु सही त होइन?” म अन्योलमा परेँ, त्यसैले म प्रायः प्रभुसँग प्रार्थना गर्थें, “हे प्रभु, किन यति धेरै मानिसहरू सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्न लागेका छन्? यी असल भेडाहरू र अगुवाहरू सबै आफ्नो खोजीमा निकै लगनशील छन् र बाइबलमा पोख्त छन्, त्यसोभए कसरी तिनीहरू सबै सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्नतिर लाग्न सके? हाम्रो मण्डली यति सारो उजाड हुँदै गइरहेको बेला सर्वशक्तिमान् परमेश्वरको मण्डलीचाहिँ किन फस्टाउँदै छ? कतै तपाईं साँच्चै फर्कनुभएको त होइन? हे प्रभु, म धेरै अन्योलमा परेकी छु। कृपया मलाई मार्गदर्शन गर्नुहोस्।” अप्रिल २००० मा, म मेरी बहिनीको घरमा गएँ, अनि तिनले फेरि एकपटक मलाई सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको सुसमाचार सुनाइन्। तिनले परमेश्वरको कामका तीन चरणहरूका बारेमा सङ्गति गरिन्: व्यवस्थाको युग, अनुग्रहको युग र राज्यको युग, जुन सबै काम एउटै परमेश्वरले गर्नुहुन्छ। व्यवस्थाको युगमा, परमेश्वरलाई यहोवा भनिन्थ्यो, र उहाँले व्यवस्थाहरू जारी गर्नुभयो र मानिसहरूलाई तिनीहरूको जीवनमा मार्गदर्शन गर्नुभयो; अनुग्रहको युगमा, परमेश्वरलाई येशू भनियो, जसले छुटकाराको काम गर्नुभयो; राज्यको युगमा, परमेश्वरको काम भनेको मानिसहरूलाई पूर्ण रूपमा शुद्ध पार्न र मानिसको पापको जडलाई समाधान गर्न आफ्ना वचनहरू व्यक्त गर्नु हो, र परमेश्वरलाई सर्वशक्तिमान् परमेश्वर भनिन्छ। परमेश्वरले हरेक युगमा फरक-फरक काम गर्नुभएको छ, र हरेक पटक फरक नाममा काम गर्नुभएको छ। कामको हरेक चरणले आफ्नो प्रभाव हासिल गरेपछि, परमेश्वरले कामको अर्को चरण सुरु गर्नुहुन्छ, जसमा हरेक चरणले अघिल्लो चरणलाई पछ्याउँछ र यो अझ गहिरो हुँदै जान्छ, किनकि हरेक भाग अर्को भागसँग जोडिन्छ, र अन्ततः उहाँले सम्पूर्ण युगलाई अन्त्य गर्नुहुन्छ र मानिसहरूलाई एउटा सुन्दर गन्तव्यमा डोऱ्याउनुहुन्छ। त्यतिबेला, मैले कामको पहिलो दुई चरणलाई स्वीकार गर्न सक्थेँ, किनभने यी कुराहरू सबै बाइबलमा अभिलेख गरिएका थिए, तर म राज्यको युगको कामको यो तेस्रो चरणलाई चाहिँ जे गरे पनि स्वीकार गर्न सक्दिनथेँ। मलाई बाइबलभन्दा बाहिरको कुनै पनि कुरा परमेश्वरको काम होइन भन्ने लाग्थ्यो। त्यसपछि मेरी बहिनीले मसँग सङ्गति गरिन्, “बाइबल परमेश्वरको कामको पहिलो दुई चरणको अभिलेख हो। सुरुमा परमेश्वरको काम आयो, त्यसपछि मानिसहरूले गरेको अभिलेख आयो। जब बाइबल सङ्कलन गरियो, तब आखिरी दिनहरूमा हुने परमेश्वरको काम भएकै थिएन, त्यसैले यो कसरी पहिल्यै बाइबलमा अभिलेख हुन सक्थ्यो र?” यो कुरा मलाई केही हदसम्म तर्कसङ्गत लाग्यो। मेरी बहिनीले मसँग अरू धेरै सङ्गति गरिन्, र तिनले भनेका कुराहरू बाइबलसँग मेल खान्थे र निकै राम्रो सुनिन्थे, तर म अझै पनि गलत निर्णय गर्नदेखि डराउँथेँ, त्यसैले म यसलाई स्वीकार गर्न अनिच्छुक थिएँ। मेरी बहिनीले मलाई न्याय परमेश्वरको घरबाटै सुरु हुन्छ शीर्षकको एउटा पुस्तक दिइन् र तिनले मलाई परमेश्वरका वचनका केही अध्यायहरू पनि खोजेर पढेर सुनाइन्। मैले मनमनै सोचेँ, मेरी बहिनीले सर्वशक्तिमान् परमेश्वरलाई स्वीकार गरेदेखि नै, तिनले मभन्दा राम्रोसँग बाइबल बुझेकी छिन् र तिनीसँग यति ठूलो विश्वास छ। तिनले परमेश्वरले देहधारणको रहस्य प्रकट गर्नुभएको र सानो चर्मपत्रको मुट्ठो खोल्नुभएको बारेमा, अनि परमेश्वरले मानिसहरूलाई शुद्ध पार्न कसरी काम गर्नुहुन्छ भन्ने बारेमा सङ्गति गरिन्। तिनले बाँडेका कुराहरू ताजगीपूर्ण र अन्तर्दृष्टिपूर्ण थिए, र मैले प्रभुमा विश्वास गरेको यतिका वर्षहरूमा ती कुराहरू कहिल्यै सुनेकी थिइनँ। एक वर्षमै तिनको यति धेरै विकास होला भनेर मैले कहिल्यै अपेक्षा गरेकी थिइनँ। ईश्वरशास्त्र अध्ययन गरेर पनि म तिनीजत्तिको ज्ञानी थिइनँ। मेरी बहिनीले मलाई यी सबै कुराको बुझाइ तिनले सर्वशक्तिमान् परमेश्वरका वचनहरूबाट प्राप्त गरेकी हुन् भनेर भनिन्। मलाई अचम्म लाग्यो, “कतै सर्वशक्तिमान् परमेश्वर साँच्चै प्रभु येशूको पुनरागमन पो हुनुहुन्छ कि?” विगतमा, मेरी आमाले मलाई पटक-पटक खोजी र अनुसन्धान गर्न, अनि परमेश्वरको मुक्ति प्राप्त गर्ने जीवनमा एकपटक आउने मौका नगुमाउन आग्रह गर्नुभएको थियो। यो सोचेर, मैले खोजी र अनुसन्धान गर्ने निर्णय गरेँ।
त्यसपछि, मैले सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेँ। त्यहाँ भनिएको एउटा भाग यस्तो छ: “सत्यता स्वीकार गर्न सक्नेहरूका निम्ति येशूको पुनरागमन ठूलो मुक्ति हो, तर सत्यता स्वीकार गर्न नसक्नेहरूका निम्ति यो दोषी ठहराइनुको चिन्ह हो। तिमीहरूले आफ्नै मार्ग चुन्नुपर्छ र पवित्र आत्माको निन्दा र सत्यतालाई इन्कार गर्नु हुँदैन। तिमीहरू अज्ञानी र अहङ्कारी व्यक्ति हुनु हुँदैन, बरु पवित्र आत्माको मार्गदर्शनप्रति समर्पित हुने, सत्यताका लागि तिर्खाउने र त्यसको खोजी गर्ने व्यक्ति हुनु पर्छ; तिमीहरू यसरी मात्र लाभान्वित हुनेछौ। म तिमीहरूलाई परमेश्वरप्रतिको विश्वासको मार्ग निकै होसियारीपूर्वक हिँड्न सल्लाह दिन्छु। मनमानी रूपमा निचोडमा नपुग; त्योभन्दा बढी, परमेश्वरमाथिको विश्वासमा बेफिक्र र लापरवाह नबन। तिमीहरूले परमेश्वरमा विश्वास गर्नेहरूमा कम्तीमा पनि विनम्र र परमेश्वरको डर मान्ने हृदय हुनैपर्छ भन्ने कुरा जान्नुपर्छ। सत्यता सुनेर पनि यसलाई अवहेलना गर्नेहरू मूर्ख र अज्ञानी हुन्। सत्यता सुनेर पनि लापरवाह रूपमा निचोडमा पुग्ने वा यसलाइ दोषी ठहराउनेहरू अहङ्कारी मानिस हुन्। येशूमा विश्वास गर्ने कोही पनि अरूलाई सराप्न वा दोषी ठहराउन योग्य हुँदैन। तिमीहरू सबै नै समझ भएका र सत्यता स्विकार्ने व्यक्ति हुनुपर्छ। सायद, सत्यताको मार्ग सुनेर र जीवनको वचन पढेर, तँ यी १०,००० वचनहरूमध्ये एउटा मात्र तेरो दृष्टिकोण र बाइबलअनुरूप छ भनेर विश्वास गर्छस् भने, तैँले त्यो एक भागमा निरन्तर खोजी गरिरहनुपर्छ। अझै पनि म तँलाई विनम्र हुन, धेरै आत्मविश्वासी नहुन र आफैलाई अति उच्च नपार्न सल्लाह दिन्छु। तैँले आफूमा भएको परमेश्वरको अलिकति डर मान्ने हृदयद्वारा ठूलो ज्योति प्राप्त गर्नेछस्। यदि तैँले यी वचनहरूलाई सावधानीपूर्वक जाँच्छस् र पटकपटक चिन्तन गर्छस् भने, ती सत्यता हुन् वा होइनन्, र ती जीवन हुन् वा होइनन् भनी तैँले बुझ्नेछस्। सायद केही मानिसहरूले केही वाक्यहरू मात्र पढेर, ‘यो पवित्र आत्माको केही अन्तर्दृष्टिबाहेक अरू केही पनि होइन’ वा ‘यिनी मानिसहरूलाई भ्रममा पार्न आउने झूटा ख्रीष्ट हुन्’ भनी यी वचनहरूको अन्धाधुन्ध निन्दा गर्नेछन्। यसो भन्नेहरू अज्ञानताद्वारा अन्धा भएका छन्। तैँले परमेश्वरको काम र बुद्धिबारे अत्यन्त थोरै बुझ्छस्, र म तँलाई फेरि शून्यबाट सुरु गर्न सल्लाह दिन्छु! आखिरी दिनहरूमा झुटा ख्रीष्टहरूको देखापराइको कारण परमेश्वरले व्यक्त गरेका वचनहरूलाई तिमीहरूले अन्धाधुन्ध रूपमा निन्दा गर्नु हुँदैन र तिमीहरू आफू भ्रमित हुने डरले गर्दा पवित्र आत्माविरुद्ध निन्दा गर्ने व्यक्ति हुनै हुँदैन। के त्यो एकदमै दुःखलाग्दो कुरा हुँदैनथ्यो र? धेरै परीक्षण गरेपछि पनि, यदि तैँले यी वचनहरू सत्यता होइनन्, बाटो होइनन् र परमेश्वरको अभिव्यक्ति होइनन् भनी विश्वास गर्छस् भने, तँलाई अन्तमा दण्ड दिइनेछ र तँ आशिष्रहित हुनेछस्। यदि तैँले यति स्पष्ट र खुल्ला रूपमा बताइएको सत्यता स्वीकार गर्न सक्दैनस् भने, के तँ परमेश्वरको मुक्तिको निम्ति अयोग्य छैनस् र? के तँ परमेश्वरको सिंहासनसामु फर्कनलाई पर्याप्त आशिष् नपाएको व्यक्ति होइनस् र? यसबारे विचार गर्! दुस्साहसी र अविवेकी नबन् र परमेश्वरप्रतिको विश्वासलाई खेलको रूपमा नली। तेरो गन्तव्यको खातिर, तेरो भविष्यको आशाको खातिर, तेरो जीवनको खातिर विचार गर् र आफैसँग खेलवाड नगर्। के तैँले यी वचनहरू स्वीकार गर्न सक्छस्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्नुभएको हुनेछ)। यो खण्ड पढिसकेपछि, “१०,००० मध्ये एउटा” भन्ने शब्दहरूले मलाई तुरुन्तै प्रभाव पारिहाल्यो। जबसम्म यी वचनहरूले अन्योलता समाधान गर्न र मेरो जीवनलाई फाइदा पुर्याउन सक्छन्, तबसम्म मैले यो मौका गुमाउनु हुँदैनथियो। भोलिपल्ट बिहान, मैले मेरी बहिनीलाई भनेँ, “तिमीले सङ्गति गरेका कुरामध्ये करिब ६० वा ७० प्रतिशत कुरा म स्वीकार गर्न सक्छु। तिमीले बताएका धेरै कुराहरू मैले पहिले कहिल्यै सुनेकी थिइनँ, र यो पुस्तकका वचनहरू शक्तिशाली छन्। यो साँच्चै परमेश्वरको काम हो कि होइन भनेर मैले गम्भीरतापूर्वक अनुसन्धान गर्नुपर्छ।” परमेश्वरलाई धन्यवाद! केही समयको अनुसन्धानपछि, सर्वशक्तिमान् परमेश्वर नै वास्तवमा प्रभु येशूको पुनरागमन हुनुहुन्छ भन्ने कुरामा म विश्वस्त भएँ। मैले लामो समयदेखि पर्खिरहेको प्रभु येशू कसरी फर्कनुभएको छ भन्ने सोच्दा, म असाध्यै उत्साहित र भावविह्वल भएँ। तैपनि मेरो खुसीको बीचमा, म हिचकिचाएँ पनि। मण्डलीले पूर्वीय ज्योतिलाई कडा रूपमा विरोध गर्छ। त्यसैले यदि मैले यसलाई स्वीकार गरेँ भने, तिनीहरूले थाहा पाएपछि मलाई इन्कार गरेर मण्डलीबाट निष्कासित गर्नेछन् कि भन्ने कुराले मलाई सताउन थाल्यो। मेरो पदबिना, ब्रदर-सिस्टरहरूले मेरो बारेमा के सोच्नेछन्? तर त्यसपछि मैले सोचेँ, “पूर्वीय ज्योति नै साँचो मार्ग हो। सर्वशक्तिमान् परमेश्वर नै वास्तवमा प्रभु येशू हुनुहुन्छ, जसका लागि म यतिका वर्षदेखि तड्पिरहेकी थिएँ। यो चरण आखिरी दिनहरूमा युगको अन्त्य गर्ने परमेश्वरको काम हो, र यदि मैले यसलाई स्वीकार गरिनँ भने, अन्तमा म आत्मा, प्राण र शरीरमा नाश हुनेछु, र मैले मुक्ति पाउने मौका सधैँका लागि गुमाउनेछु। तर शिक्षिकाको पद पाउनका लागि मैले ठूलो मूल्य चुकाएकी छु। ईश्वरशास्त्र स्कुलमा पढ्नका लागि, मैले राम्रो सरकारी जागिर छोडेँ र मेरो परिवारलाई त्यागेँ, अनि मैले बाइबल अध्ययन गर्न धेरै मेहनत गरेँ। म चीन ख्रीष्टियन काउन्सिल र थ्री-सेल्फ प्याट्रियोटिक मुभमेन्ट अर्थात् टीएसपीएमको उपाध्यक्ष भइसकेकी छु, र चाँडै नै म पाष्टर बन्न सक्छु। त्यतिबेला, अझ धेरै ब्रदर-सिस्टरहरूले मलाई आदर गर्नेछन् र श्रद्धा गर्नेछन्, र मैले मेरो पदले ल्याउने सबै फाइदाहरूको आनन्द लिन पाउनेछु। यदि मैले अहिले नै मण्डली छोडेँ भने, मसँग केही पनि हुनेछैन।” तर त्यसपछि फेरि मैले सोचेँ, “मलाई परमेश्वर नयाँ काम गर्न आउनुभएको छ भन्ने थाहा भइसक्यो, र यदि मलाई परमेश्वरको कामको बारेमा थाहा भएर पनि मैले यसलाई स्वीकार गरिनँ भने, के म छुट्नेछैन र? के यतिका वर्षसम्मको प्रभुमाथिको मेरो विश्वास व्यर्थ हुनेछैन र? यदि मैले साँचो मार्ग त्यागेँ भने, मलाई प्रभुले त्याग्नुहुनेछ, तर यदि मैले मेरो पद त्यागेँ भने, यसको अर्थ ब्रदर-सिस्टरहरूले मलाई इन्कार गर्नेछन् र मण्डलीबाट निष्कासित गर्नेछन्।” मैले जति नै गहिरिएर सोचे पनि, मैले शिक्षिकाको रूपमा रहेको मेरो पदलाई त्याग्नै सकिनँ। मैले मनमनै सोचेँ, “प्रभु येशूको काम दुई हजार वर्षसम्म चल्यो, त्यसैले यो चरणमा परमेश्वरको काम तुरुन्तै सकिँदैन होला, होइन र? म दुई वर्षसम्म पाष्टरको रूपमा सेवा गर्नेछु—मैले यी सबै वर्षको कडा परिश्रमलाई खेर जान दिनु हुँदैन। त्यसपछि म सर्वशक्तिमान् परमेश्वरकहाँ फर्कनेछु।” अन्तमा, मैले मेरो मूल मण्डलीमा प्रचार गरिरहने र साथसाथै सर्वशक्तिमान् परमेश्वरको मण्डलीका भेलाहरूमा पनि सहभागी हुने निर्णय गरेँ, त्यसरी, मैले दुवैतिरको फाइदा लिन सक्छु भन्ने मलाई लाग्यो।
यसपछि, म सर्वशक्तिमान् परमेश्वरको मण्डलीका भेलाहरूमा सहभागी हुन थालेँ। ब्रदर-सिस्टरहरूले परमेश्वरको वचनमा गरेको सङ्गतिमा प्रकाश छ भन्ने कुरा म सुन्न सक्थेँ, र तिनीहरूले सङ्गति गरेका अनुभवात्मक बुझाइहरू निकै व्यावहारिक थिए। तिनीहरूले परमेश्वरका वचनहरूका आधारमा आफ्ना भ्रष्ट स्वभावहरूलाई विचार गर्थे र बुझ्थे, र तिनीहरूले परमेश्वरका वचनहरूबाट अभ्यासका मार्गहरू भेटाउँथे। सबैजनाले खुला र स्वतन्त्र रूपमा सङ्गति गर्थे, र मलाई भेलाहरू निकै पोषणयुक्त लाग्थ्यो। तर मलाई अलि अप्ठ्यारो पनि महसुस हुन्थ्यो, किनभने मेरो मूल मण्डलीमा, म मञ्चबाट प्रचार गर्ने व्यक्ति थिएँ र अरूले तल बसेर सुन्थे, तर सर्वशक्तिमान् परमेश्वरको मण्डलीमा, म एक साधारण अनुयायी मात्र थिएँ, र यहाँ, मलाई मेरा वास्तविक अनुभवहरूका बारेमा अलिकति सङ्गति गर्न पनि गाह्रो लाग्थ्यो, र म अरूको सङ्गति मात्र सुन्न सक्थेँ। मलाई मेरो हृदयमा केही गुमाएको जस्तो महसुस भयो, र मैले मनमनै सोचेँ, “मैले मूल मण्डली छोडेपछि, कसले मलाई वास्ता गर्छ र? म बरु अर्को दुई वर्ष त्यहीँ बस्छु!” त्यसैले, मैले एकान्तमा सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढ्दै मेरो मूल मण्डलीमा प्रचार गरिरहेँ। एकपटक, मैले प्रचार गरिसकेपछि, एउटी सिस्टरले मकहाँ आएर सोधिन्, “शिक्षिका झाओ, तपाईंको प्रवचन किन यति सारो सुख्खा थियो? यो सुन्दा आनन्द आउने खालको पटक्कै थिएन।” मलाई लाजले तुरुन्तै मेरो अनुहार रातो भएको महसुस भयो र मैले अप्ठ्यारो मान्दै मुस्कुराउन मात्र सकेँ। त्यो समयमा, मलाई निकै हैरानीको महसुस भयो। हरेक पटक मैले प्रवचन तयार गर्दा, मैले पहिले नै प्रचार गरिसकेका कुराहरूलाई नै दोहोर्याइरहेको पाउँथेँ, जसमा कुनै नयाँ प्रकाश वा अन्तर्दृष्टि हुँदैनथियो। पछि, मैले सर्वशक्तिमान् परमेश्वरका वचनहरू वास्तवमै व्यावहारिक र ताजा भएको पाएँ, किनकि तिनले बाइबलका रहस्यहरू प्रकट गर्थे, र अभ्यासको सन्दर्भमा सत्यताहरू प्रदान गर्थे, जस्तै परमेश्वरको सामु आफ्नो हृदयलाई कसरी शान्त पार्ने र कसरी प्रार्थना गर्ने। तिनले पछ्याउनका लागि स्पष्ट मार्गहरू प्रदान गर्थे। एउटा प्रवचनको दौरान, मैले सर्वशक्तिमान् परमेश्वरका वचनहरू समावेश गरेँ, अनि ब्रदर-सिस्टरहरू जाँगरिला भए र तिनीहरूको निद्रा हरायो। भेलापछि, ब्रदर-सिस्टरहरू मेरो वरिपरि झुम्मिए। कसैले भने, “शिक्षिका झाओ, आजको तपाईंको प्रवचन साह्रै राम्रो थियो।” अरू कतिले भने, “तपाईंको ईश्वरशास्त्रको अध्ययन खेर गएनछ, तपाईंले साँच्चै हामीले भन्दा धेरै बुझ्नुभएको रहेछ।” एउटी सिस्टरले त यसो पनि भनिन्, “शिक्षिका झाओ, के तपाईं अर्को पटक पनि आएर हाम्रो लागि प्रचार गर्न सक्नुहुन्छ?” म भित्रभित्रै असाध्यै खुसी थिएँ, र मैले सोचेँ, “यदि मैले यसरी नै प्रचार गरिरहेँ भने, ब्रदर-सिस्टरहरूले मलाई हेप्नेछैनन्।” तर मलाई असजिलो महसुस भयो, र मैले सोचेँ, “मलाई मण्डलीमा पवित्र आत्माको काम अब छैन, र मसँग प्रचार गर्नको लागि केही पनि बाँकी छैन भन्ने कुरा पक्का थाहा छ। त्यसैले मैले मेरो प्रवचनमा सर्वशक्तिमान् परमेश्वरका वचनहरू समावेश गरेँ, जसले गर्दा सबैले ती मेरा आफ्नै बुझाइ हुन् भनेर गल्तीले विश्वास गरे। के त्यो ठीक थियो र?” मैले जति यसको बारेमा सोचेँ, मलाई त्यति नै असजिलो महसुस भयो, त्यसैले मैले मेरी बहिनीलाई फोन गरेँ। मेरी बहिनीले मलाई कडा स्वरमा भनिन्, “के तँलाई थाहा छ तैँले प्रवचन चोरी मात्र गरिरहेकी छेस्? यो परमेश्वरको स्वभावलाई चिढ्याउने कार्य हो! सम्पूर्ण धार्मिक समुदायमा पवित्र आत्माको काम बन्द भएको धेरै भइसक्यो। तिनीहरूसँग प्रचार गर्नका लागि केही पनि छैन। यदि तैँले सर्वशक्तिमान् परमेश्वरलाई स्वीकार गरिनस् भने, कसरी पवित्र आत्माको काम हुन सक्छ? तँसँग प्रचार गर्नका लागि कसरी केही हुन सक्छ र? यदि तैँले सर्वशक्तिमान् परमेश्वरका वचनहरू मण्डलीमा ल्याएर ती आफ्नै हुन् जस्तो गरी प्रस्तुत गर्छेस्, र सबैलाई तेरो उपासना गर्न लगाउँछेस् भने, के तैँले मानिसहरूलाई भ्रममा पारिरहेकी र तिनीहरूलाई नयाँ काम स्वीकार गर्नबाट बाधा दिइरहेकी हुँदैनस् र? दिदी, तैँले पाप स्वीकार गरेर पश्चात्ताप गर्नैपर्छ!” त्यसपछि तिनले मलाई सोधिन्, “के तँलाई बप्तिस्मा दिने यूहन्ना कसरी झ्यालखानामा परेका थिए भन्ने थाहा छ? त्यो समयमा, जब प्रभु येशू आउनुभयो र उहाँले मानिसहरूलाई बप्तिस्मा दिनुभयो, तब यूहन्नाले पनि अर्को ठाउँमा मानिसहरूलाई बप्तिस्मा दिइरहेका थिए। जब प्रभु येशू आउनुभयो, तब यूहन्नाले सबैलाई उहाँकहाँ डोऱ्याउनुपर्थ्यो, तर त्यसको सट्टा उनले मानिसहरूलाई आफूलाई पछ्याउन लगाए। यसमा, उनले परमेश्वरको कामलाई अवरोध र बाधा दिइरहेका थिए, र अन्तमा, यूहन्ना झ्यालखानामा परे र उनले आफ्नो ज्यान गुमाए। आज, सर्वशक्तिमान् परमेश्वर आउनुभएको छ र उहाँले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ। तैँले परमेश्वरमा विश्वास गर्ने हरेकलाई उहाँका वचनहरू खान र पिउन अनि उहाँकहाँ फर्कनका लागि सर्वशक्तिमान् परमेश्वरको सामु डोऱ्याउनुपर्छ—एउटा समझ भएको व्यक्तिले गर्नुपर्ने काम यही हो। तर तैँले सर्वशक्तिमान् परमेश्वरलाई स्वीकार गर्न नमानेकी मात्र गरेकी छैनस्, तर तैँले आफ्नो प्रचारका लागि उहाँका वचनहरू पनि चोरिरहेकी छेस्, जसले गर्दा अरूले तैँले प्रचार गरेका प्रवचनहरू उच्च छन् भन्ने देख्छन्, र सबैले तेरो प्रशंसा गर्छन् र तँलाई पछ्याउँछन्। यो मानिसहरूलाई भ्रममा पार्नु हो। तैँले मानिसहरूलाई सर्वशक्तिमान् परमेश्वरकहाँ फर्कनबाट रोकिरहेकी छेस्, र तैँले आफ्नो प्रचारका लागि सर्वशक्तिमान् परमेश्वरका वचनहरू चोरेर आफ्नै प्रतिष्ठा बनाइरहेकी छेस्, र परमेश्वरका चुनिएका मानिसहरूलाई आफ्नै हातमा नियन्त्रण गरिरहेकी छेस्। यो परमेश्वरको विरोधमा गरिएको गम्भीर कार्य हो, र यो फरिसीहरूले गरेको कामभन्दा फरक छैन। यदि तैँले पश्चात्ताप गरिनस् भने, तँलाई परमेश्वरले श्राप दिनुहुनेछ र दण्ड दिनुहुनेछ!” मेरी बहिनीका यी शब्दहरू सुनेर, म चिन्तित र भयभीत भएँ। त्यो क्षणदेखि, मैले मेरा प्रवचनहरूमा सर्वशक्तिमान् परमेश्वरका वचनहरू अबउप्रान्त समावेश गर्ने आँट गरिनँ।
त्यसपछि, थ्री-सेल्फ मण्डलीले, सीसीपीसँग मिलेर, सर्वशक्तिमान् परमेश्वरको मण्डलीमाथिको सतावटलाई तीव्र बनायो। त्यतिबेला, मैले न त थ्री-सेल्फ मण्डली छोडेकी थिएँ, न त म सर्वशक्तिमान् परमेश्वरको मण्डलीको मण्डली जीवनमा सहभागी नै भएकी थिएँ। ती दिनहरूमा, हरेक प्रवचनपछि मलाई रित्तिएको महसुस हुन्थ्यो र मेरो हृदय अन्धकारले भरिन्थ्यो, र मैले गरेका कुनै पनि काममा म कुनै जाँगर चलाउन सक्दिनथेँ। मैले सर्वशक्तिमान् परमेश्वरको मण्डलीका भेलाहरूको बारेमा सोचेँ, जहाँ ब्रदर-सिस्टरहरू स्वतन्त्र रूपमा बोल्थे र सङ्गतिद्वारा कुनै पनि कठिनाइहरूको समाधान भेटाउँथे, र मलाई त्यो छुटकाराको भावनामा कति आनन्द आउँथ्यो भन्ने याद आयो। मैले कसरी थ्री-सेल्फ मण्डलीले सरकारसँग साँठगाँठ गरेर सर्वशक्तिमान् परमेश्वरको मण्डलीलाई सतावट दियो, र कसरी थ्री-सेल्फ मण्डली बृहत बेबिलोन सहर हो भन्ने बारेमा सोचेँ। म दुष्ट काम गर्न र परमेश्वरको विरोध गर्न थ्री-सेल्फ मण्डलीसँग सामेल हुन चाहन्नथेँ, र त्यहाँ बसिरहँदा म तिनीहरूका साथमा नरकमा नाश हुने मात्र थिएँ। तर यदि मैले थ्री-सेल्फ मण्डली छोडेँ भने, म अब पाष्टर बन्न सक्दिनथेँ। यो सोचाइले मलाई धेरै द्विविधा र पीडा महसुस गरायो। मैले प्रभुमा विश्वास गर्नका लागि कसरी सरकारी जागिर छोडेकी थिएँ र सानो बच्चालाई घरमा छोडेकी थिएँ भन्ने बारेमा सोचेँ। यदि मैले थ्री-सेल्फ मण्डली छोडेँ भने, ती सबै त्याग र खर्चहरू खेर जानेछन् जस्तो मलाई लाग्यो। म पाष्टर बन्न मात्र असफल हुने थिइनँ, तर मैले मेरा ब्रदर-सिस्टरहरूको समर्थन पनि गुमाउनेथिएँ। जब मैले त्यो कुरा सोचेँ, तब मलाई मेरो हृदयमा वर्णन गर्न नसकिने कष्ट र पीडा महसुस भयो। मैले यो पनि सोचेँ, “थ्री-सेल्फ मण्डलीले सर्वशक्तिमान् परमेश्वरको मण्डलीका सुसमाचार प्रचारकहरू विरुद्ध उजुरी गर्छ, तर यदि म यसमा संलग्न भइनँ भने, मैले परमेश्वरको विरोध गरिरहेकी हुनेछैन। साथै, म थ्री-सेल्फ मण्डलीमा लामो समय बस्ने योजनामा छैन, म केवल दुई वर्षसम्म पाष्टर हुनुको प्रतिष्ठाको आनन्द लिन र त्यसपछि छोड्न चाहन्छु। त्यसरी, परमेश्वरले मलाई दोष लगाउनुहुनेछैन।” मैले मेरा विचारहरू मेरी बहिनीलाई सुनाएँ। तिनले भनिन्, “तँ खासमा किन परमेश्वरमा विश्वास गर्छेस्? तेरो पदले तँलाई बचाउँछ, कि परमेश्वरले तँलाई बचाउनुहुन्छ?” मेरी आमाले पनि भन्नुभयो, “यो परमेश्वरले मानवजातिलाई मुक्ति दिने अन्तिम पटक हो। आउने विपत्तिहरू मानिसको शरीरका लागि असह्य हुनेछन्, र यी विपत्तिहरू शरीरमाथि मात्र होइन, तर आत्मामाथि पनि लक्षित हुनेछन्।” मेरी आमा र बहिनीले मसँग बारम्बार सङ्गति गर्नुभयो, र यसले मलाई निकै व्याकुल बनायो। यो साँचो मार्ग हो र यो परमेश्वरको कामको अन्तिम चरण हो, अनि मैले तुरुन्तै मण्डली छोड्नुपर्छ भन्ने कुरा मलाई राम्ररी थाहा थियो, तर यदि मैले छोडेँ भने, मैले मेरो पद गुमाउनेथिएँ र कसैले पनि मलाई प्रशंसा गर्नेथिएनन् वा मलाई हेर्नेथिएनन्। मैले पाष्टर बन्ने मेरो मौका पनि गुमाउनेथिएँ। हरेक वर्ष क्रिसमस, इस्टर, वा थ्यांक्सगिभिङमा, सबैले मलाई प्रचार गर्न र उत्सव सञ्चालन गर्न सधैँ सिफारिस गर्थे, र म मेरा ब्रदर-सिस्टरहरूको प्रशंसाको आनन्द लिन्थेँ, जसले मलाई साँच्चै खुसी बनाउँथ्यो। तर यदि मैले कामको यो नयाँ चरणलाई स्वीकार गरेँ र मण्डली छोडेँ भने, मसँग कुनै पद हुनेछैन। यदि त्यस्तो भयो भने, के मैले अझै त्यस्ता अवसरहरूको आनन्द लिन पाउनेछु? के मेरा ब्रदर-सिस्टरहरूले अझै मलाई प्रशंसा गर्नेछन्? एकातिर साँचो मार्ग थियो, र अर्कोतिर मेरो पद थियो। मलाई धेरै द्विविधा महसुस भयो।
एक दिन, मेरी आमाले मलाई चिन्तित हुँदै सोध्नुभयो, “प्रभु नयाँ काम गर्न आउनुभएको छ भन्ने तँलाई थाहा छ, तैपनि तैँले किन आफ्नो मण्डली छोडेकी छैनस्?” मैले मेरी आमालाई भनेँ, “म पाष्टर बन्न चाहन्छु!” मेरी आमाले इमानदारीपूर्वक मसँग सङ्गति गर्नुभयो, र भन्नुभयो, “प्रभु येशूले भन्नुभयो: ‘मलाई प्रभु, प्रभु भन्ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्छालाई पछ्याउँछ जो स्वर्गमा हुनुहुन्छ। त्यस दिन मलाई धेरैले यसो भन्नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ’ (मत्ती ७:२१-२३)। ‘साँघुरो प्रवेश-द्वारबाट भित्र पस: किनकि प्रवेश द्वार जति चौडा हुन्छ र बाटो जति फराकिलो हुन्छ, त्यसले विनाशमा पुर्याउँछ र त्यहाँ जाने धेरै हुन्छन्: किनकि साँघुरो प्रवेश द्वार र साँघुरो बाटोले जीवनमा डोर्याउँछ र कमैले मात्रै त्यो पत्ता लगाउँछन्’ (मत्ती ७:१३-१४)। तँ प्रभुको नाम मात्र पुकार्छेस् तर परमेश्वरको नयाँ कामलाई स्वीकार गर्दिनस्। प्रभुले यो दुष्कर्मीहरूको व्यवहार हो जो स्वर्गको राज्यमा प्रवेश गर्न सक्दैनन् भनेर भन्नुहुन्छ, र पाष्टर बन्दैमा तैँले मुक्ति पाउने हुँदैन।” मेरी बहिनीले पनि मसँग सङ्गति गरिन्, र भनिन्, “तँसँग प्रचार गर्नलाई केही छैन भन्ने कुरा स्पष्ट छ, तैपनि आफ्नो पदका लागि, तँ मण्डलीमा प्रचार गर्छेस् र मानिसहरूलाई भ्रममा पार्छेस्। के तँ ती पाखण्डी फरिसीहरूजस्तै होइनस् र?” तिनले मलाई सर्वशक्तिमान् परमेश्वरका वचनहरूबाट एउटा खण्ड पनि पढेर सुनाइन्: “भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू छन्, तैपनि उनीहरूमध्ये एक जनाले पनि परमेश्वरको कामको उद्देश्य बुझ्दैन। उनीहरूमध्ये एक जना पनि परमेश्वरलाई चिन्न सक्षम छैन, उनीहरूमध्ये कोही पनि परमेश्वरका अभिप्रायअनुसारको हुन त झनै सक्दैन। उनीहरू सबै ‘परमेश्वर’ लाई भाषण दिन उचाइमा उभिएका व्यर्थ, नीच मानिसहरू हुन्। उनीहरू परमेश्वरको ध्वजा बोके तापनि जानाजानी परमेश्वरको प्रतिरोध गर्ने मानिस हुन्, जसले मान्छेको मासु खाँदै र रगत पिउँदै गर्दा परमेश्वरमा विश्वास गरेको बिल्ला भिर्छन्। त्यस्ता सबै मानिस मान्छेको प्राण निल्ने दुष्ट दियाबलसहरू हुन्, मानिसहरू सही मार्गमा हिँड्ने कार्यलाई जानीजानी बाधा दिने पिशाचका प्रमुख हुन्, र मानिसहरूको परमेश्वरको खोजीमा अवरोध गर्ने अड्चनहरू हुन्। उनीहरू ‘स्वस्थ शारीरिक सुगठन’ भएका जस्तो देखिन सक्छन् तर उनीहरू मानिसहरूलाई परमेश्वरको प्रतिरोध गर्न अगुवाइ गर्ने ख्रीष्टविरोधीहरूबाहेक केही होइनन् भन्ने कुरा उनीहरूका अनुयायीहरूले कसरी थाहा पाउन सक्छन्? उनीहरू मानव प्राण निल्न प्रतिबद्ध जीवित दियाबलस हुन् भन्ने कुरा तिनीहरूका अनुयायीहरूले कसरी थाहा पाउन सक्छन्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई नचिन्ने सबै मानिस परमेश्वरको प्रतिरोध गर्ने मानिस हुन्)। परमेश्वरका वचनहरू पढिसकेपछि, मेरी बहिनीले भनिन्, “तैँले मण्डलीमा शिक्षिकाको पदले ल्याउने फाइदाहरूको आनन्द मात्र लिइरहेकी छेस्, र यो परमेश्वरको विरोध गर्नु हो! विश्वासीहरूले परमेश्वरलाई चढाएको भेटी तिमीहरूजस्ता शिक्षक र पाष्टरहरूको तलब तिर्न प्रयोग गरिन्छ, तर वास्तवमा, त्यो पैसा परमेश्वरलाई चढाइएको हो, र कसैलाई पनि त्यसको आनन्द लिने अधिकार छैन। यो पैसाको आनन्द लिनु भनेको भेटी चोर्नु बराबर हो! तँलाई प्रभु फर्कनुभएको छ भन्ने थाहा छ, तैपनि तँ शिक्षिकाको रूपमा आफ्नो पद र जीविकामा टाँसिएर बसेकी छेस् र अरूलाई भ्रममा पार्न मण्डलीमा प्रचार गरिरहन्छेस्। के तँ मानिसको मासु खाने र रगत पिउने ती फरिसीहरूजस्तै होइनस् र?” मेरी आमाले पनि भन्नुभयो, “विगतमा, मैले ‘मानिसको मासु खाने र रगत पिउने’ भन्नुको अर्थ के हो बुझेकी थिइनँ, तर अहिले मैले के बुझेँ भने, मण्डलीमा तलब लिने जो कोहीले पनि परमेश्वरको भेटीको आनन्द लिइरहेको हुन्छ र भेटी चोरिरहेको हुन्छ। भेटी भनेको ब्रदर-सिस्टरहरूले आफ्नो गास काटेर परमेश्वरलाई चढाएको कुरा हो, तर तिमी पाष्टर र शिक्षकहरूले त्यसको आनन्द लिन्छौ। तिमीहरूले विश्वासीहरूको मासु खाइरहेका छौ र रगत पिइरहेका छौ। के तिमीहरूले परमेश्वरको सामु यसको लेखा दिन सक्छौ?” मेरी आमा र बहिनीको कुरा सुनेर, मलाई असाध्यै नराम्रो लाग्यो। विशेष गरी जब मैले परमेश्वरका यी वचनहरू सुनेँ: “मान्छेको मासु खाँदै र रगत पिउँदै गर्दा,” मलाई साँच्चै व्याकुल महसुस भयो। मैले आनन्द लिएको तलबमा ब्रदर-सिस्टरहरूले परमेश्वरलाई चढाएको भेटी समावेश छ भन्ने साँचो थिएन र? म साँच्चै “मानिसको मासु खाइरहेकी र रगत पिइरहेकी” थिएँ! मेरी बहिनीले भन्दै गइन्, “प्रभु येशूले फरिसीहरूलाई हप्काउँदै भन्नुभयो: ‘शास्त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्कार छ! किनभने एक जनालाई आफ्नो मतमा ल्याउनको लागि तिमीहरू समुद्र र भूमि चहार्छौ, अनि ऊ मतमा आएपछि उसलाई तिमीहरूभन्दा दुई गुणा बढी नरकको बालक बनाउँछौ’ (मत्ती २३:१५)। त्यस समयमा, फरिसीहरू मसीह आउनुहुनेछ भनेर तड्पिएर पर्खिरहेका थिए। तर जब मसीह—प्रभु येशू—आउनुभयो, तब प्रभु येशूले बोलेका वचनहरूमा अख्तियार र शक्ति छ भन्ने जान्दाजान्दै पनि, आफ्नो पद र जीविका जोगाउनका लागि, तिनीहरूले उहाँलाई इन्कार मात्र गरेनन्, तर उहाँको विरोध गरे र उहाँलाई दोषी ठहराए, र उहाँलाई स्वीकार गर्नबाट विश्वासीहरूलाई रोके। त्यसपछि तिनीहरूले प्रभु येशूलाई क्रूसमा टाँगे र परमेश्वरको श्राप र दण्ड पाए। बाइबलले भन्छ: ‘यसकारण यहोवाले एकै दिनमा इस्राएलबाट शिर र पुच्छर, हाँगा र नर्कट काटिदिनुहुनेछ। प्राचीन र आदरका योग्य, उनी शिर हुन्; र झूट सिकाउने अगमवक्ता पुच्छर हुन्। किनकि यी मानिसहरूका अगुवाहरूले तिनीहरूलाई गल्ती गर्ने तुल्याउँछन्; र तिनीहरूद्वारा अगुवाइ गरिएकाहरू नष्ट हुनेछन्’ (यशैया ९:१४-१६)। शिर को हो? यसले ती पाष्टर र एल्डरहरूलाई जनाउँछ जसले साँचो मार्ग थाहा पाएर पनि स्वीकार गर्दैनन्। त्यसोभए किन शिर र पुच्छर काटिन्छन्? किनभने तिनीहरूले साँचो मार्ग स्पष्ट रूपमा थाहा पाएर पनि यसलाई स्वीकार गर्दैनन्, किनकि तिनीहरूले आफ्नो पद र जीविका त्याग्न सक्दैनन्, र तिनीहरूले परमेश्वरको कामको विरोध गर्छन् र यसलाई दोषी ठहराउँछन्, अनि विश्वासीहरूलाई साँचो मार्ग स्वीकार गर्नबाट बाधा दिन्छन्। शिक्षिकाको रूपमा रहेको तेरो वर्तमान पदले तँलाई उल्लू नबनाओस्। तँलाई प्रभु आउनुभएको छ भन्ने थाहा छ, तैपनि तैँले आफ्नो मूल मण्डली छोडेकी छैनस्। यसको सट्टा, तँ दुई डुङ्गामा खुट्टा राखेर उभिन खोज्दै छेस्, र आफ्नो पदमा टाँसिएर बस्दै, मानिसहरूलाई भ्रममा पार्न त्यो मण्डलीमा प्रचार गर्दै छेस्, र अरूले तँलाई गरेको उपासना र आदरको आनन्द लिइरहेकी छेस्। के तँ अरूलाई साँचो मार्ग स्वीकार गर्नबाट बाधा दिने अनन्त पापी बनेकी छैनस् र? यदि तँ आफ्नो पदमा टाँसिएर बसिरहिस् र तैँले परमेश्वरको नयाँ कामलाई पछ्याइनस् भने, अन्तमा, तँलाई परमेश्वरले काटेर फ्याँक्नुहुनेछ। आखिर, हामी किन प्रभुमा विश्वास गर्छौं? के यो प्रभु हामीलाई बचाउन आउनुहुनेछ भनेर पर्खनका लागि मात्र होइन र? यदि हामी पाष्टरको पदका लागि मात्र प्रभुमा विश्वास गर्छौं भने, त्यसको एउटै मात्र परिणाम हुन्छ, त्यो हो नरकमा जानु र दण्ड भोग्नु! के तँलाई बाइबलमा अभिलेख गरिएको पत्रुस र मत्तीको बारेमा याद छ? जब प्रभु येशूले पत्रुसलाई बोलाउनुभयो, तब पत्रुसले तुरुन्तै आफ्नो माछा मार्ने जाल छोडे र प्रभुलाई पछ्याए। मत्ती कर उठाउने व्यक्ति थिए, उनले महसुल उठाउने ठाउँमा कर उठाउँथे, र जब उनले प्रभु येशूको बोलावट सुने, तब उनले तुरुन्तै आफ्नो काम छोडे र उहाँलाई पछ्याए। अब आफैलाई हेर्, तँ हिचकिचाउँदै छेस् र एउटा वा अर्को कुरा छोड्नै सकेकी छैनस्। प्रभु येशूले भन्नुभयो: ‘तिमीहरूमध्ये जसले ऊसँग भएको सबै कुरा त्याग्दैन, ऊ मेरो चेला हुन सक्दैन’ (लूका १४:३३)। हितोपदेश १४:१२ र १६:२५ दुवैले हामीलाई के सम्झाउँछन् भने, ‘एउटा बाटो छ जुन मानिसले हेर्दा सही देखिन्छ, तर त्यो मृत्युका बाटोहरूमा पुगेर टुङ्गिन्छ।’ त्यसैले, जब परमेश्वर नयाँ काम गर्न आउनुहुन्छ, तब हामीले उहाँका पाइलाहरू पछ्याउनुपर्छ, किनकि जसले आखिरी दिनहरूको परमेश्वरको कामलाई स्वीकार गर्दैनन् र यसको सट्टा आफ्नो पद र जीविका जोगाउन मानिसहरूलाई परमेश्वरकहाँ फर्कनबाट रोक्छन्, तिनीहरूलाई परमेश्वरले दोषी ठहराउनुहुनेछ र दण्ड दिनुहुनेछ। यसको बारेमा सोच्!” मेरी आमा र बहिनीको कुरा सुनेर, म साँच्चै भावविह्वल भएँ र अलिकति डराएँ पनि, र मैले सोचेँ, “फरिसीहरू बाइबलमा पोख्त थिए, मण्डलीमा प्रचार गर्थे, र बाहिरबाट हेर्दा भक्त देखिन्थे, तर सारमा, तिनीहरूले यो सब आफ्नो पद र जीविकाका लागि अनि अरूबाट प्रशंसित र सम्मानित हुनका लागि गर्थे। यो प्रभुको साँचो सेवा थिएन। तिनीहरूले आफ्नो पद र जीविकाका लागि प्रभु येशूको विरोध गरे र उहाँलाई दोषी ठहराए, र विश्वासीहरूलाई प्रभुको सुसमाचार स्वीकार गर्नबाट बाधा दिए। तिनीहरूले परमेश्वरको सेवा गरे तर उहाँको विरोध गरे, र तिनीहरूलाई प्रभु येशूले दोषी ठहराउनुभयो र श्राप दिनुभयो।” मैले मेरो मूल मण्डलीको प्रचारकलाई सम्झेँ, जसले बगालको रक्षा गर्ने बहानामा मण्डलीलाई सिलबन्दी गरे र विश्वासीहरूलाई साँचो मार्ग अनुसन्धान गर्नबाट रोके, र राज्यको सुसमाचार प्रचार गर्नेहरूलाई औंल्याउँदै यसो भने, “अबदेखि, सुसमाचार प्रचार गर्न हाम्रो मण्डलीमा नआउनू। यदि तिमीहरू फर्कियौ भने, म पुलिस बोलाउनेछु र तिमीहरू सबैलाई पक्रन लगाउनेछु!” साथै, थ्री-सेल्फ प्याट्रियोटिक कमिटीको अध्यक्षले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्नेहरूलाई पक्रन संयुक्त मोर्चा कार्य विभागसँग सहकार्य गर्छन्, र जब तिनीहरूले मानिसहरूले सुसमाचार प्रचार गरेको भेट्टाउँछन्, तब तिनीहरूले पुलिस बोलाउँछन्। फेरि आफैलाई हेर्दा, मलाई प्रभु फर्कनुभएको छ भन्ने स्पष्ट थाहा थियो, तर हैसियतका आशिष्हरूको आनन्द लिन र प्रशंसित हुनका लागि, मैले मण्डली छोड्न अस्वीकार गरेँ, र मेरा प्रवचनहरूका लागि सर्वशक्तिमान् परमेश्वरका वचनहरू चोरेँ, आफैलाई उच्च पारेँ, आफैलाई निर्माण गरेँ, र मानिसहरूलाई मेरो आदर र उपासना गर्न लगाएँ। के म फरिसीहरूको बाटोमा हिँडिरहेकी थिइनँ र? प्रभु येशूले फरिसीहरूलाई सात धिक्कार घोषणा गर्नुभएको थियो। यदि मैले मण्डली छोडिनँ भने, मैले जानीजानी अझ ठूलो पाप गरिरहेकी हुनेथिएँ, र मेरो परिणाम पनि फरिसीहरूको जस्तै हुनेथियो!
एक दिन, मैले सर्वशक्तिमान् परमेश्वरका वचनहरूबाट एउटा खण्ड पढेँ जसले मलाई गहिरो रूपमा प्रभाव पार्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “यदि अहिले मैले तिमीहरूको अगाडि केही पैसा राखेँ र तिमीहरूलाई छनौट गर्ने स्वतन्त्रता दिएँ भने—र मैले तिमीहरूको छनौटका लागि तिमीहरूलाई दोषी ठहराइनँ भने—तिमीहरूमध्ये धेरैजसोले पैसा छनौट गरेर सत्यतालाई त्याग्नेथियौ। तिमीहरूमध्ये अलिक राम्रा व्यक्तिहरू पैसा त्यागेर मन नलागी-नलागी सत्यता छनौट गर्छौ, जबकि दोधारेहरूले एउटा हातले पैसा पक्रन्छन् र अर्को हातले सत्यता समात्छन्। के तिमीहरूको साँचो रूप त्यसपछि आफै प्रस्ट हुनेथिएन र? तिमीहरूले सत्यता र तिमीहरू बफादार भएको कुनै कुराको बीचमा छनौट गर्दा, तिमीहरू सबैले यही शैलीमा छनौट गर्नेथियौ र तिमीहरूको मनोवृत्ति उस्तै रहनेथियो। होइन र? के तिमीहरूमध्ये धेरै जना सही र गलतको बीचमा घरी यता र घरी उता गरी हल्लेका व्यक्तिहरू होइनौ र? सकारात्मक र नकारात्मक, कालो र सेतो बीचका सबै सङ्घर्षहरूमा—परिवार र परमेश्वर, छोराछोरी र परमेश्वर, सद्भाव र फाटो, समृद्धि र गरिबी, हैसियत र साधारणपन, समर्थन पाउनु र इन्कारिनु र यस्तै अन्य कुराहरूबीचमा—तिमीहरू आफूले गरेका छनौटका बारेमा अवश्य नै अनजान छैनौ! सद्भावपूर्ण परिवार र टुक्रिएको परिवारबीच, तिमीहरूले पहिलोलाई नै छनौट गर्यौ र तिमीहरूले हिचकिचाहटविना त्यस्तो गर्यौ; धन र कर्तव्यको बीचमा, तिमीहरूले फेरि पहिलोलाई छनौट गर्यौ, यहाँसम्म कि किनारामा फर्किने दृढता समेत राखेनौ; विलासिता र गरिबीको बीचमा, तिमीहरूले पहिलोलाई छनौट गर्यौ; आफ्ना छोराछोरी, श्रीमती, श्रीमान् वा मबीचमा छनौट गर्दा, तिमीहरूले पहिलोलाई छनौट गर्यौ; र धारणाहरू र सत्यताको बीचमा, तिमीहरूले अझै पनि पहिलोलाई नै छनौट गर्यौ। तिमीहरूका हरप्रकारका दुष्ट कार्यहरू सामना गर्दा, मैले तिमीहरूमाथिको विश्वास साँच्चै गुमाएको छु। म त चकित नै परेको छु। तिमीहरूको हृदय अप्रत्याशित रूपमा कोमल हुन निकै असक्षम छ। मैले वर्षौँ खर्चेको रगत-पसिनाले अनपेक्षित रूपमा मलाई तिमीहरूको परित्याग र विवशताभन्दा अरू केही दिएन, तर तिमीहरूका लागि मेरा आशाहरू बित्ने प्रत्येक दिनसँगै बढ्दै जान्छन्, किनकि मेरो दिन पूर्ण रूपमा सबैको अगाडि उदाङ्गो भएको छ। तैपनि तिमीहरू अहिले अँध्यारो र दुष्ट कुराहरू पछ्याइरहेका छौ र तीमाथिको आफ्नो पकडलाई खुकुलो गर्न अस्वीकार गर्छौ। त्यसो भए, तिमीहरूको परिणाम के हुनेछ? के तिमीहरूले कहिल्यै यसबारे ध्यानपूर्वक विचार गरेका छौ? यदि तिमीहरूलाई फेरि छनौट गर्न भनियो भने, तिमीहरूको मनोवृत्ति के हुनेथियो? के यो अझै पनि पहिलो नै हुनेथियो? के तिमीहरू अझै पनि बदलामा मलाई निराशा र पीडादायी शोक दिनेछौ? के तिमीहरूको मुटुमा अझै पनि न्यानोपनको एउटा टुक्रा मात्रै बाँकी रहनेछ? के तिमीहरू अझै पनि मेरो हृदयलाई सान्त्वना दिन के गर्नुपर्छ भन्नेबारे अनभिज्ञ हुनेछौ? यो समयमा तिमीहरू केलाई छनौट गर्छौ? तिमीहरू मेरा वचनहरूप्रति समर्पित हुन्छौ कि वितृष्ण हुन्छौ? मेरो दिन तिमीहरूकै आँखाअगाडि राखिएको छ र तिमीहरूले सामना गर्ने कुरा नयाँ जीवन र एक नयाँ सुरुवाती विन्दु हो। तर, मैले तिमीहरूलाई के भन्नैपर्छ भने, यो सुरुवाती विन्दु विगतको जस्तै नयाँ कामको आरम्भ होइन, बरु पुरानो कामको समापन हो। अर्थात्, अन्तिम कार्य यही नै हो। मलाई यस सुरुवाती विन्दुबारे के असामान्य छ भन्ने कुरा तिमीहरू सबैले बुझ्न सक्छौ भन्ने लाग्छ। तर, एक दिन चाँडै तिमीहरूले यस सुरुवाती विन्दुको साँचो अर्थ बुझ्नेछौ, त्यसकारण हामी एकसाथ त्यसभन्दा अघि बढौँ र आउने समापनलाई स्वागत गरौँ। तर, मलाई तिमीहरूको के कुराबारे निरन्तर चिन्ता लाग्छ भने, अन्याय र न्यायको सामना गर्दा, तिमीहरू सधैँ अघिल्लोलाई छनौट गर्छौ। तथापि, त्यो सबै तिमीहरूको अतीतमा छ। म तिमीहरूको अतीतको सबै कुरा बिर्सने आशा गर्दछु, यद्यपि यो गर्न धेरै कठिन छ। तैपनि, मसँग यसो गर्ने निकै राम्रो तरिका छ: भविष्यले अतीतलाई प्रतिस्थापन गरोस्, र तिमीहरूको अतीतको छायालाई हटाएर आजको तिमीहरूको साँचो रूप अगाडि आउन देओस्। यसरी, मैले तिमीहरूलाई फेरि पनि छनौट गर्न कष्ट दिनैपर्छ: तिमीहरू ठ्याक्कै कोप्रति बफादार छौ?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तँ ठ्याक्कै कोप्रति बफादार छस्?)। परमेश्वरका वचनहरूले मेरो हृदयलाई छोए, र मलाई परमेश्वरले मसँग आमने-सामने भएर सोधिरहनुभएको छ जस्तो महसुस भयो, जसले गर्दा म निशब्द भएँ। म पछुतो र दोषीपनले भरिएँ, र म नरोइ बस्नै सकिनँ। सर्वशक्तिमान् परमेश्वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ, र मैले परमेश्वरको काम स्वीकार गरेर मूल मण्डली छोड्नुपर्छ भन्ने मलाई थाहा थियो। तर मलाई यदि म त्यहाँबाट निष्कासित भएँ भने, म पाष्टर बन्न सक्दिनँ भन्ने मलाई डर लागेको थियो, त्यसैले म दुई डुङ्गामा खुट्टा राखेर उभिएकी थिएँ, र मैले दुई वर्षसम्म पाष्टर भएपछि छोड्ने योजना बनाएकी थिएँ। मण्डलीमा प्रचार गर्नका लागि केही बाँकी नभएकाले, मलाई मेरो पद गुम्ने चिन्ता थियो, त्यसैले सबैको समर्थन र प्रशंसा पाउने आशामा मैले प्रचार गर्नका लागि सर्वशक्तिमान् परमेश्वरका वचनहरू चोरेँ, किनकि म सबैको समर्थन र प्रशंसा पाउन चाहन्थेँ। मैले थ्री-सेल्फ मण्डलीले सरकारसँग मिलेर परमेश्वरको विरोध गरेको, र सर्वशक्तिमान् परमेश्वरको मण्डलीका सुसमाचार सम्बन्धी कामदारहरूलाई पक्रिरहेको देखेँ। मैले चाँडै छोड्नुपर्छ भन्ने मलाई थाहा थियो, तर मेरो पद जोगाउनका लागि म मेरो मूल मण्डलीमा बसिरहेँ। हरेक पटक, मैले सत्यताको सट्टा मेरो हैसियत रोजेँ। धेरै वर्षदेखि, मेरो बफादारी मेरो हैसियत र मानिसहरूको प्रशंसाप्रति पो रहेछ भन्ने मैले देखेँ। मेरो परिवारले मसँग पटक-पटक सङ्गति गर्यो, तर मैले मेरो हैसियतका लागि जिद्दी गर्दै परमेश्वरको विरोध गरेँ। मैले साँच्चै परमेश्वरमा विश्वास गरेकी थिइनँ, बरु म त हैसियत र पदका फाइदाहरूको आनन्द मात्र खोज्ने व्यक्ति थिएँ। म एक पक्का पाखण्डी फरिसी थिएँ। मैले जे गरेकी थिएँ, त्यसले साँच्चै परमेश्वरको हृदय दुखाएको थियो। मैले मेरो मूल मण्डली छोड्ने र सर्वशक्तिमान् परमेश्वरको मण्डलीका ब्रदर-सिस्टरहरूसँग मिलेर सुसमाचार प्रचार गर्ने अभ्यास गर्ने निर्णय गरेँ। केही दिनपछि, मेरो मूल मण्डलीका सुपरभाइजरहरू र सहकर्मीहरू मलाई खोज्दै आए र तिनीहरूले भने, “शिक्षिका झाओ, मण्डलीले तपाईंलाई धेरै वर्षदेखि संवर्धन गरेको छ र तपाईंलाई ईश्वरशास्त्रको अध्ययनमा सहयोग गरेको छ। तपाईं छिटो उठ्नुपर्छ र तपाईंले प्रभुका लागि काम गर्नुपर्छ। तपाईंले तपाईंका लागि प्रभुको प्रेम र ब्रदर-सिस्टरहरूको भरोसालाई निराश पार्नुहुँदैन!” तिनीहरूको कुरा सुनेपछि, मैले सोचेँ, “मैले सर्वशक्तिमान् परमेश्वरले व्यक्त गर्नुभएका वचनहरू पढेकी छु, र सर्वशक्तिमान् परमेश्वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ, र उहाँले आखिरी दिनहरूमा मानवजातिलाई न्याय गर्ने र शुद्ध पार्ने काम गर्न सत्यता व्यक्त गर्नुभएको छ भन्ने कुरामा म निश्चित छु। मण्डलीमा अब पवित्र आत्माको काम छैन। म पाष्टर नै बने पनि, पवित्र आत्माको काम र सम्भारविना, यसको कुनै मूल्य वा अर्थ हुँदैन। म मण्डलीमा बस्न सक्दिनँ, किनकि अझै बसिरहँदा यसले मेरो विनाश निम्त्याउनेछ, र फरिसीहरूजस्तै, म पनि परमेश्वरद्वारा दोषी ठहरिनेछु। मैले परमेश्वरका पाइलाहरू पछ्याउनुपर्छ, र परमेश्वरको देखापराइका लागि तड्पिरहेका अझ धेरै मानिसहरूलाई परमेश्वरको आखिरी दिनहरूको सुसमाचार प्रचार गर्नुपर्छ।” त्यो क्षणमा, म पूर्ण रूपमा अटल भएँ र मैले तिनीहरूलाई अस्वीकार गरेँ।
त्यसपछि, मैले सर्वशक्तिमान् परमेश्वरको मण्डलीमा सुसमाचार प्रचार गर्ने मेरो कर्तव्य गर्न सुरु गरेँ। पछि, मैले एक जना पाष्टरको बारेमा सुनेँ जसले वचन देहमा देखा पर्नुहुन्छ पढेका थिए र सर्वशक्तिमान् परमेश्वरका वचनहरू परमेश्वरद्वारा व्यक्त गरिएका हुन् र सर्वशक्तिमान् परमेश्वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भनेर स्वीकार गरेका थिए, तर उनले आफ्नो पाष्टरको पद त्याग्न नसकेकाले यसलाई स्वीकार गरेनन्, र यसरी उनले मुक्ति पाउने मौका गुमाए। मलाई हैसियतको पछि लाग्दा यसले परमेश्वरको विरोध गर्ने र आफैलाई विनाश गर्ने बाटोतिर मात्र डोऱ्याउँछ भन्ने कुरा अझ स्पष्ट भयो। यदि परमेश्वरले मेरो परिवार र ब्रदर-सिस्टरहरूलाई चलाएर मसँग पटक-पटक सङ्गति गर्न नलगाउनुभएको भए, म पनि त्यही पाष्टरजस्तै हुनेथिएँ, जसले साँचो मार्ग थाहा पाएर पनि स्वीकार गरेन, र अन्ततः, फरिसीहरूजस्तै म पनि मेरो आत्मा, प्राण र शरीरमा दण्डित हुनेथिएँ। अहिले, मैले पाष्टर बन्ने मौका गुमाएकी भए पनि, मैले अनन्त जीवनको बाटो पाएकी छु र परमेश्वरको आखिरी दिनहरूको मुक्ति प्राप्त गरेकी छु, जुन कुरालाई कुनै पनि उच्च पदसँग साट्न सकिँदैन। मेरो हृदयमा, म सर्वशक्तिमान् परमेश्वरबाट पाएको मुक्तिको अनुग्रहका लागि अझ बढी कृतज्ञ छु।