५१. मैले आफ्नो अन्योल किन लुकाएँ
सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “इमानदारी भनेको तिमीहरूको हृदय परमेश्वरलाई दिनु, कुनै पनि कुरामा परमेश्वरप्रति झूटो नहुनु, सबै कुरामा उहाँसँग खुलस्त हुनु, तथ्यहरू कहिल्यै नलुकाउनु, आफूभन्दा माथिकालाई छल गर्ने र आफूभन्दा तलकाबाट कुराहरू लुकाउने प्रयास कहिल्यै नगर्नु, र परमेश्वरको चापलुसी गर्ने फगत प्रयासका कामकुरा नगर्नु हो। छोटकरीमा भन्दा, इमानदार हुनु भनेको आफ्नो बोली-व्यवहारमा विशुद्ध हुनु हो, र परमेश्वर वा मानिस कसैलाई पनि छल नगर्नु हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तीन अर्तीहरू)। “गैरविश्वासीहरूमाझ, यदि तैँले इमानदार व्यक्ति बनेर सत्य कुरा बताउने कोसिस गरिस् भने, तँलाई बदनाम, आलोचना, र अस्वीकार गरिनेछ। त्यसकारण, तँ सांसारिक प्रचलनहरू पछ्याउँछस्, र शैतानी दर्शनहरूअनुसार जिउँछस्; तँ झूट बोल्न झन्झन् सिपालु, र झन्झन् छली बन्दै जान्छस्। तैँले आफ्ना उद्देश्यहरू हासिल गर्न धूर्त माध्यमहरू प्रयोग पनि गर्छस् र यसरी आफ्नो सुरक्षा गर्छस्। तँ शैतानको संसारमा झन्झन् सम्पन्न हुँदै जान्छस्, र फलस्वरूप, तँ पापको दलदलमा झन्झन् फस्दै जान्छस् र तैँले आफूलाई उम्काउन नै सक्दैनस्। परमेश्वरको घरमा, कामकुराहरू ठीक विपरीत हुन्छन्। तँ झूट बोल्न र छल गर्न जति सिपालु हुन्छस्, परमेश्वरका चुनिएका मानिसहरू तँप्रति त्यति नै वितृष्ण हुनेछन् र तिनीहरूले तँलाई अस्वीकार गर्नेछन्। यदि तैँले पश्चात्ताप गर्न इन्कार गरिस् र अझै पनि शैतानी दर्शनहरू र तर्कहरूलाई पक्रिरहिस्, र तैँले भेष बदल्न र ढोँग गर्न षड्यन्त्र र जालझेल साथै परिष्कृत रणनीतिहरू पनि प्रयोग गरिरहिस् भने, तँलाई प्रकाश गरिने र हटाइने सम्भावना धेरै हुन्छ। यस्तो किन हुन्छ भने परमेश्वरले छली मानिसहरूलाई तिरस्कार गर्नुहुन्छ। इमानदार मानिसहरू मात्रै परमेश्वरको घरमा फस्टाउन सक्छन्, र छली मानिसहरू सबैलाई अन्त्यमा अस्वीकार गरिनेछ र हटाइनेछ। यो कुरा परमेश्वरले धेरै पहिले पूर्वनियोजन गर्नुभएको छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। परमेश्वरका वचनबाट म के देख्छु भने, परमेश्वर इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ। इमानदार मानिसहरू सरल र खुला रूपमा बोल्छन्, र परमेश्वर तथा अरूप्रति निष्कपट हुन्छन्। तिनीहरूले आफ्नो हृदयमा जे छ, त्यो कुनै छोपछाप वा छलविना भन्छन्। यस्ता मानिसहरू तिनै हुन् जसलाई परमेश्वर मुक्ति दिन चाहनुहुन्छ। छली मानिसहरूका विचारहरू एकदमै जटिल हुन्छन्। तिनीहरूको बोली र व्यवहारमा कुनै पारदर्शिता हुँदैन। केही कुरा नबुझ्दा तिनीहरू सोध्दा पनि सोध्दैनन् र खोजी पनि गर्दैनन्। बरु, तिनीहरू निरन्तर आफूलाई ढाकछोप गर्छन् र भेष बदल्छन्। यस्ता मानिसहरूको स्वभाव छली हुन्छ र तिनीहरूले सजिलै मुक्ति पाउँदैनन्। फर्केर सोच्दा, आफ्नो इज्जत र हैसियत जोगाउन म प्रायः भेष बदल्ने गर्थेँ। म छली स्वभावमा जिइरहेकी थिएँ। आफ्ना कर्तव्यहरूमा आफूले नबुझ्ने वा समाधान गर्न नसक्ने समस्या वा कठिनाइहरू आइपर्दा, म खोजी गर्नका लागि खुल्दिनथेँ। म अन्धकार, नकारात्मकता र पीडामा जिएकी मात्र होइन, म आफ्ना कर्तव्यहरूमा निष्प्रभावी पनि भएकी थिएँ। पछि, परमेश्वरका वचन पढेर, मैले इमानदार व्यक्ति हुनुको महत्त्व बुझेँ, र मैले सचेत भई इमानदार व्यक्ति बन्ने अभ्यास गर्न थालेँ।
यो जुन २०२० को कुरा हो, र म मण्डलीमा भिडियो बनाउने काम गरिरहेकी थिएँ। सुरुमा, मलाई आफूले भर्खरै अभ्यास गर्न थालेकी हुनाले, काममा केही कुरा नबुझ्दा मैले अग्रसर भएर सोध्नुपर्छ र ब्रदर-सिस्टरहरूबाट सिक्नुपर्छ भन्ने लाग्थ्यो। म मेरा कुनै पनि स्थितिहरूबारे खुला रूपमा सङ्गति पनि गर्थेँ, र सबैले धैर्यपूर्वक सङ्गति गर्दै मलाई मद्दत गर्थे। केही समयपछि, ब्रदर-सिस्टरहरू सबैले ममा चाँडो सुधार आइरहेको बताए। एक पटक कामको समीक्षा गर्दा, सुपरिवेक्षकले म जवानै भए पनि मेरो क्षमता निकै राम्रो छ, म काममा छिट्टै सिकिरहेकी छु र म संवर्धन गरिने पात्र हुँ भनेर भन्नुभयो। उहाँले मलाई अझ बढी मद्दत गर्न र मार्गदर्शन दिन अरूलाई निर्देशन पनि दिनुभयो, ताकि यसरी मेरो प्रगति अझ छिटो हुन सकोस्। सुपरिवेक्षकले मलाई यति धेरै महत्त्व दिनुभएको देख्दा मलाई निकै खुसी लाग्यो, तर मलाई केही दबाब पनि महसुस भयो, “सुपरिवेक्षकले मबाट ठूलो आशा राख्नुभएको छ, त्यसैले अबदेखि मैले कडा मेहनत गर्नुपर्छ, कामकुराहरू छिट्टै सिक्न प्रयत्न गर्नुपर्छ र आफै भिडियोहरू बनाउन सक्षम हुनुपर्छ। मैले पहिले जस्तो धेरै समस्या खुलासा गर्नु हुँदैन, नत्र ब्रदर-सिस्टरहरूले पक्कै पनि म असक्षम छु भन्ठान्नेछन् र सुपरिवेक्षकले मलाई उप्रान्त संवर्धन गरिने पात्रका रूपमा हेर्ने छैनन्।” त्यसपछि, भिडियो बनाउँदा नबुझेका समस्याहरू आइपर्दा, म सोध्न हिचकिचाउन थालेँ। म सोच्थेँ, “यदि मैले प्रश्नहरू सोधिरहेँ भने, के ब्रदर-सिस्टरले यतिका महिना अभ्यास गरिसक्दा पनि मसँग अझै यति धेरै प्रश्न किन छन् भनेर अचम्म मान्ने छैनन् र? यदि सुपरिवेक्षकले थाहा पाउनुभयो भने के उहाँले मलाई हेयको नजरले हेर्नुहुनेछ? के यसले अरूको नजरमा मेरो राम्रो क्षमता छ भन्ने छविलाई बिगार्नेछैन र? जेसुकै होस्, म अब अरू केही सोध्ने छैन, म आफ्नै अनुसन्धान गर्नेछु। यसरी, मेरो थोरै कमीकमजोरी मात्र खुलासा हुनेछ।” त्यसैले मैले अध्ययन गर्ने ट्युटोरियलहरू आफैँ खोज्न थालेँ र समस्याहरू समाधान गर्न विभिन्न विधि अपनाएँ। नतिजास्वरूप, भिडियो निर्माणमा मेरो प्रगति सुस्त भयो। एक पटक, एक जना सिस्टरले भिडियो बनाउने मेरो कामको गति अलि सुस्त भएको देखिन्, र मलाई कुनै कठिनाइ भइरहेको छ कि भनेर सोधिन्। साँचो कुरा त के थियो भने, मलाई कठिनाइ भइरहेको छ भनेर म साँच्चै भन्न चाहन्थेँ, ताकि मैले तुरुन्तै समाधान भेट्टाउन सकूँ, धेरै समय बचाउन सकूँ, र लामो बाटो अपनाउन नपरोस्। तर फेरि मैले सोचेँ, “मैले यो समस्याबारे पहिले पनि सोधिसकेकी छु। यदि मैले फेरि सोधेँ भने, ती सिस्टरले के सोच्लिन्? के उनले ममा क्षमताको कमी रहेछ र म पहिले सिकाएका कुराहरू सम्झन नसक्ने रहेछु भनी ठान्लिन्? के उनले म संवर्धन गर्न योग्य रहेनछु भनी सोच्लिन्? जेसुकै होस्, सुपरिवेक्षकले मेरो क्षमता राम्रो छ र म चाँडो सिक्ने मान्छे हुँ भन्नुभएको छ, र उहाँमा मेरो राम्रो छाप छ, त्यसैले ममा कति अपर्याप्तता छ भन्ने कुरा उहाँलाई देख्न दिनु हुँदैन।” त्यसैले, मैले ती सिस्टरलाई भनेँ, “अहिलेका लागि कुनै समस्या छैन, यति मात्र हो कि, मैले यस प्रकारको प्रविधि पहिले धेरै चलाएकी छैनँ। यदि मैले यसमा अझ केही पटक अभ्यास गरेँ भने, म यसको मेसो पाउनेछु।” मेरो कुरा सुनेपछि उनले यसबारे अरू केही सोधिनन्। यसरी नै, मलाई के गर्ने भनी थाहा नभएका केही क्षेत्र अझै थिए, तर मैले ब्रदर-सिस्टरहरूलाई सोध्नुको साटो आफैँ अध्ययन गर्न र ट्युटोरियलहरू खोज्न रुचाएँ। नतिजास्वरूप, भिडियो निर्माणमा मेरो प्रगति सुस्त भयो र मैले धेरै राम्रा नतिजाहरू पाइरहेकी थिइनँ।
पछि, एउटी सिस्टरले ठाडै भनिन्, “सुरुमा, मलाई तपाईँ खुला र निष्कपट हुनुहुन्छ जस्तो लागेको थियो। आफूलाई कुनै समस्या पर्दा तपाईँ खुलेर कुरा गर्नुहुन्थ्यो र प्रश्नहरू सोध्नुहुन्थ्यो। अहिले के परिवर्तन भयो? हामी तपाईँको हृदय देख्न सक्दैनौँ र हामीलाई तपाईँ के सोच्दै हुनुहुन्छ भन्ने थाहा हुँदैन। हामीले तपाईँको निर्माणको प्रगति सुस्त भएको देखिरहेका छौँ, तर हामीलाई तपाईँ कहाँ अड्किनुभएको छ वा तपाईँलाई कसरी मद्दत गर्ने भन्ने थाहा हुँदैन। के तपाईँले यी स्थितिहरूबारे चिन्तन गर्नुभएको छ?” ती सिस्टरका शब्दहरू परमेश्वरको अनुमतिद्वारा नै आएका हुन्, र ती मेरो लागि आत्मचिन्तन गर्ने एउटा चेतावनी हुन् भन्ने कुरा मलाई राम्ररी थाहा थियो, तर म आफ्नो साँचो स्थितिबारे खुलेर बताएँ भने, सबैले मलाई छर्लङ्ग देख्नेछन् भनेर डराएकी थिएँ, त्यसैले मैले निरन्तर मुकुण्डो लगाइराखेँ। यो परिस्थिति दुई वा तीन महिनासम्म चल्यो, र मेरो स्थिति झन्झन् खराब हुँदै गयो भने मेरा कर्तव्यहरू पनि निष्प्रभावी बन्दै गए, र अन्तमा, मलाई बर्खास्त गरियो। यो खबर सुन्नेबित्तिकै, मलाई धेरै पीडा र सकस भयो। मलाई लाग्यो, म कति मूर्ख रहेछु। मैले अरूले मेरा कमीहरू कहिल्यै नदेखून् भनेर पूरै कोसिसका साथ आफ्नो भेष बदलेकी थिएँ, तर मैले के पाएकी थिएँ त? म मेरा ब्रदर-सिस्टरहरूबाट टाढिएकी थिएँ र तिनीहरू मलाई छर्लङ्ग देख्न सक्दैनथे। अनि मैले आफ्ना कर्तव्यहरूमा कुनै प्रगति गरिनँ र अन्तमा मलाई बर्खास्त समेत गरियो। मैले यसबारे जति धेरै सोचेँ, मलाई आफूले गरेका कामप्रति त्यति नै पछुतो लाग्यो, र म आँसु नझारी बस्न सकिनँ। मैले आफैलाई सोधेँ, “मैले नबुझेका वा गर्न नजानेका धेरै कुरा थिए भन्ने स्पष्ट छ, तैपनि मैले किन सक्रिय भएर अरूसँग खोजिनँ र सिकिनँ? मेरो स्थिति ठिक छैन भन्ने स्पष्ट थियो, तैपनि म किन खुल्न इच्छुक भइनँ?” आफ्नो खोजीको क्रममा, मैले परमेश्वरका वचनको एउटा खण्ड भेट्टाएँ: “मानिसहरू अन्तर्निहित रूपमै सृजित प्राणी हुन्। के सृजित प्राणीहरूले सर्वशक्तिमान्ता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सिद्धता र निष्खोटता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सबै कुरामा निपुणता प्राप्त गर्न, सबै कुरा बुझ्न, सबै कुरा स्पष्ट रूपमा देख्न, र सबै कुराका लागि सक्षम हुन सक्छन्? तिनीहरूले सक्दैनन्। तैपनि, मानिसहरूभित्र एउटा भ्रष्ट स्वभाव हुन्छ र एउटा घातक कमजोरी हुन्छ: तिनीहरूलाई आफूले कुनै सीप वा पेसा सिक्नेबित्तिकै आफू सक्षम छु, आफू हैसियत र महत्त्व भएको मानिस हुँ, र आफू पेसेवार हुँ भन्ने लाग्छ। तिनीहरूको वास्तविक सामर्थ्य जस्तो भए पनि, तिनीहरू सबै आफूलाई महत्त्वपूर्ण वा असाधारण व्यक्तिको भेषमा प्रस्तुत गर्न चाहन्छन्, केही हदसम्म प्रसिद्ध व्यक्ति बन्न, र अरूलाई आफू एउटै पनि खोट नभएको सिद्ध र दोषरहित रहेको सोच्न लगाउन चाहन्छन्; तिनीहरू अरूको नजरमा भव्य र प्रभावशाली छविसहितको, कुनै पनि कुरा गर्ने क्षमता भएको, र आफूले गर्न नसक्ने केही पनि नभएको, कुनै सक्षम, शक्तिशाली, असाधारण, वा प्रसिद्ध र महान् व्यक्ति देखिन चाहन्छन्। तिनीहरू आफूले अरूको सहायता खोजेमा, आफू असक्षम र हीन देखिने, र मानिसहरूले तिनीहरूलाई तुच्छ ठान्ने सोच्छन्। यसकारण, तिनीहरू सधैँ नाटक गर्न चाहन्छन्। कतिपय मानिसहरूलाई कुनै काम गर्न लगाइँदा, उनीहरू आफू त्यो गर्न जान्ने भनेर भन्छन्, तर वास्तवमा तिनीहरूले त्यो जानेका हुँदैनन्। पछि, गुप्त रूपमा उनीहरू त्यसबारे खोजी गर्छन् र त्यो कसरी गर्ने भनी सिक्ने कोसिस गर्छन्, तर केही दिनसम्म अध्ययन गरेपछि पनि तिनीहरूले अझै त्यसलाई कसरी गर्ने भनेर बुझ्दैनन्। तिनीहरूले त्यो कसरी गर्दै छन् भनी सोधिँदा, तिनीहरू भन्छन्, ‘चाँडै भइहाल्छ!’ तर हृदयमा, तिनीहरूले यस्तो सोचिरहेका हुन्छन्, ‘म अहिलेसम्म त्यसो गर्नबाट टाढै छु, मैले केही बुझेको छैन, के गर्ने मलाई थाहा छैन! मैले मेरो भित्री कुरा फुत्काउनु हुँदैन, मैले मुखौटा ओढ्न जारी राख्नुपर्छ, मैले मानिसहरूलाई मेरा कमीकमजोरी र अज्ञानता देखाउनु हुँदैन, मैले तिनीहरूलाई मलाई हेप्न दिनु हुँदैन!’ यो कस्तो समस्या हो? यो जसरी भए पनि आफ्नो इज्जत बचाउने प्रयास गर्दै नारकीय जीवन जिउनुसरह हो। यो कस्तो किसिमको स्वभाव हो? त्यस्ता मानिसहरूको अहङ्कारको कुनै सीमा हुँदैन, तिनीहरूले सबै समझ गुमाइसकेका हुन्छन्। तिनीहरू साधारण मानिस बन्न चाहँदैनन्, तिनीहरू मामुली, सामान्य मानिस बन्न चाहँदैनन्, बरु महामानव, असाधारण व्यक्ति, वा सक्षम मानिस बन्न चाहन्छन्। यो निकै ठूलो समस्या हो! सामान्य मानवताभित्रका कमजोरीहरू, कमीहरू, अज्ञानता, मूर्खता, र समझको कमीको सम्बन्धमा भन्दा, तिनीहरूले ती सबै कुरा पोको पार्छन्, र अरू मानिसहरूलाई त्यो देख्न दिँदैनन्—तिनीहरू आफ्नो भेष बदलिरहन्छन्। कतिपय मानिस कुनै पनि कुरा स्पष्ट रूपमा देख्न सक्दैनन्, तैपनि तिनीहरू आफ्नो हृदयमा बुझ्ने दाबी गर्छन्। आफ्ना विचारहरू व्यक्त गर्न भनिँदा, तिनीहरू केही भन्न सक्दैनन्, तर अरूले आफ्ना विचारहरू व्यक्त गर्दा तिनीहरू भन्छन्, ‘मैले पनि भन्न चाहेको कुरा यही थियो, मैले मौका मात्रै पाइनँ।’ तिनीहरू आफ्नो भेष बदलिरहन्छन् र देखावटी गरिरहन्छन्। मलाई भन, के यस्ता मानिसहरू सधैँ कुहिरोमा जिइरहेका हुँदैनन् र? के तिनीहरू सपना देखिरहेका छैनन् र? तिनीहरू आफूलाई चिन्दैनन्, तिनीहरू आफू को हुन् भन्ने जान्दैनन्, र तिनीहरू सामान्य मानवता जिउन जान्दैनन्। तिनीहरूले मानिसहरूले गर्नुपर्ने काम व्यावहारिक तरिकाले कहिल्यै गरेका छैनन्, न त तिनीहरू कहिल्यै सामान्य व्यक्तिजस्तो जिएका नै छन्। तिनीहरू सधैँ कुहिरोमा, अलमल्ल तरिकाले जिउँछन्; तिनीहरू व्यावहारिक तरिकाले कामकुरा गर्दैनन्, तर सधैँ आफ्ना कल्पनाहरूअनुसार जिउँछन्। यसले समस्या निम्त्याउँछ। तिनीहरू आफूलाई आचरणमा ढाल्न जान्दैनन्, र तिनीहरूले रोजेको जीवन मार्ग गलत छ। यदि तैँले यसो गरिस् भने, तैँले परमेश्वरमा जसरी विश्वास गरे पनि तैँले सत्यता बुझ्नेछैनस्, न त सत्यता प्राप्त गर्न नै सक्नेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरमाथिको विश्वासको सही मार्गमा प्रवेश गर्नका लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू)। परमेश्वरका वचन मनन गर्दा, मलाई आफू ठ्याक्कै परमेश्वरले खुलासा गरेको स्थितिमा छु भन्ने लाग्यो। म सधैँ श्रेष्ठ हुन चाहन्थेँ, मानौँ म कुनै महामानव हुँ, त्यसैले आफ्नो भ्रष्टता प्रकट हुँदा वा आफूले नबुझेका समस्याहरू आइपर्दा म सधैँ भेष बदल्ने गर्थेँ। यस्ता मानिसहरूलाई सत्यता प्राप्त गर्न गाह्रो हुन्छ। मैले भिडियो बनाउन सुरु गरेको सुरुवाती समयबारे चिन्तन गर्दा, मैले केही पनि बुझेकी थिइनँ र मलाई कुनै दबाब महसुस हुँदैनथियो, त्यसैले समस्या र कठिनाइहरू सामना गर्दा म अरूसँग खोजी गर्न र सिक्न इच्छुक हुन्थेँ। यसरी अभ्यास गरेर, मलाई आफूले धेरै कुरा प्राप्त गरेको र छिटो प्रगति गरेको महसुस हुन्थ्यो। तर पछि, जब मैले सुपरिवेक्षकले मेरो क्षमता राम्रो छ र म संवर्धन गरिने सम्भावना बोकेको एक प्रतिभाशाली व्यक्ति हुँ भनेर भनेको सुनेँ, तब अन्जानमै मैले आफूलाई मण्डलीभित्र संवर्धन गरिने मुख्य व्यक्तिहरूमाझ राखेँ। मलाई लाग्यो, सुपरिवेक्षकको मप्रति राम्रो धारणा छ र उहाँ मलाई महत्त्व दिनुहुन्छ, त्यसैले मैले आफ्नो छविको सुरक्षा गर्नुपर्छ र धेरै कमीकमजोरी खुलासा गर्नु हुँदैन, नत्र मानिसहरूले मलाई छर्लङ्ग देख्नेछन् र मलाई हेयको नजरले हेर्नेछन् भन्ठानेँ। मैले सधैँ अरूको नजरमा आफ्नो हैसियत र छविलाई जतनसाथ जोगाएँ, र भिडियो निर्माणमा मैले समाधान गर्न नजान्ने समस्या र कठिनाइहरू आउँदा पनि, मलाई सोध्ने आँट आउँदैनथियो, किनकि मलाई आफ्ना कमीकमजोरीहरू खुलासा हुँदा अरूले मलाई उप्रान्त उच्च सम्मान गर्नेछैनन् वा महत्त्व दिनेछैनन् भन्ने डर थियो। मेरो ख्याति, प्राप्ति र हैसियतको चाहना निकै प्रबल थियो! म भेषमा बदल्ने स्थितिमा जिएँ, जसको नतिजास्वरूप कयौँ महिनासम्म भिडियो निर्माणमा मैले कुनै प्रगति गरिनँ, र अन्ततः मैले भिडियो बनाउने अवसर गुमाएँ। म कति मूर्ख थिएँ! मैले भिडियो बनाउने अभ्यास गर्न थालेको सुरुवाती समयबारे फर्केर सोच्दा, अभाव र कमीकमजोरीहरू हुनु सामान्य कुरा थियो, र अझ, म एक्लैले कार्यहरू सम्हाल्न असम्भव थियो, त्यसैले मैले मेरा ब्रदर-सिस्टरहरूसँग अझ बढी सोध्नुपर्थ्यो, अझ बढी सहकार्य गर्नुपर्थ्यो र उनीहरूबाट सिक्नुपर्थ्यो। त्यसो गरेर मात्र म निरन्तर प्रगति गर्न सक्थेँ। यदि मैले आफ्नो घमण्डलाई पन्छाएर मेरा ब्रदर-सिस्टरहरूसँग सक्रिय रूपमा खोजी गर्न र सिक्न सकेकी भए, म मेरा कर्तव्यहरूमा निरन्तर निष्प्रभावी भएको कारणले बर्खास्त हुनेथिइनँ। यो कुरा बुझेपछि, मैले यो बर्खास्तगी पूर्ण रूपमा परमेश्वरको धार्मिकताको कारणले भएको हो भन्ने महसुस गरेँ।
त्यसपछि, मैले विचार गरेँ, “म किन सधैँ भेष बदल्छु?” पछि, मैले परमेश्वरका वचनको एउटा खण्ड भेट्टाएँ जसले मलाई मेरो स्थितिलाई अझ स्पष्ट रूपमा देख्न मद्दत गर्यो। परमेश्वर भन्नुहुन्छ: “जब कसैलाई दाजुभाइ-दिदीबहिनीहरूले अगुवा बन्न चयन गर्छन्, वा उसलाई कुनै एक निश्चित काम गर्न वा एक निश्चित कर्तव्य निर्वाह गर्नका लागि परमेश्वरको घरद्वारा प्रवर्धन गरिन्छ, तब यसको अर्थ उसको विशेष हैसियत वा पद छ, वा उसले बुझेका सत्यताहरू अन्य मानिसहरूले बुझेका सत्यताभन्दा गहिरो र धेरै छन् भन्ने होइन—उसले आफूलाई परमेश्वरमा समर्पित गर्न सक्छ, र उहाँलाई धोका दिनेछैन भन्ने त झनै होइन। निश्चय नै, यसको अर्थ उसले परमेश्वरलाई चिन्छ, र ऊ परमेश्वरको डर मान्ने व्यक्ति हो भन्ने पनि होइन। वास्तवमा, उसले यीमध्ये कुनै पनि कुरा हासिल गरेको हुँदैन। प्रवर्धन र संवर्धन त सिधा अर्थको प्रवर्धन र संवर्धन मात्रै हो, र यो उसलाई परमेश्वरले पूर्वनियोजन गर्नुभएको र योग्य ठान्नुभएको बराबर होइन। उसको प्रवर्धन र संवर्धनको अर्थ उसलाई प्रवर्धन गरिएको छ, र ऊ संवर्धन हुने प्रतीक्षामा छ भन्ने मात्र हो। अनि यो संवर्धनको अन्तिम परिणाम यो व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन, र सत्यता पछ्याउने मार्ग छनौट गर्न सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर हुन्छ। तसर्थ, जब मण्डलीमा कसैलाई अगुवा हुनका निम्ति प्रवर्धन र संवर्धन गरिन्छ, उसलाई केवल सिधा अर्थमा प्रवर्धन र संवर्धन गरिएको हुन्छ; यसको अर्थ अगुवाका रूपमा ऊ पहिलेदेखि नै मानकअनुरूप र दक्ष छ, ऊ पहिल्यै अगुवाइको काम गर्न सक्षम छ, र उसले वास्तविक काम गर्न सक्छ भन्ने होइन—कुरा त्यस्तो होइन। धेरैजसो मानिसहरूले यी कुराहरूलाई छर्लङ्ग देख्न सक्दैनन्, र तिनीहरू बढुवा गरिएकाहरूलाई आफ्नै कल्पनाहरूका आधारमा सम्मान गर्छन्। यो गल्ती हो। ती प्रवर्धन गरिएकाहरूले परमेश्वरमा जति नै वर्ष विश्वास गरेका भए पनि, के तिनीहरूसँग साँच्चै नै सत्यता वास्तविकता हुन्छ? हुन्छ नै भन्ने हुँदैन। के तिनीहरू परमेश्वरको घरको कामका प्रबन्धहरू लागू गर्न सक्षम हुन्छन्? हुन्छन् नै भन्ने हुँदैन। के तिनीहरूसँग जिम्मेवारी बोध हुन्छ? के तिनीहरू बफादार हुन्छन्? के तिनीहरू समर्पित हुन सक्छन्? कुनै समस्याको सामना गर्नुपर्दा, के तिनीहरूले सत्यताको खोजी गर्न सक्छन्? यो सब अज्ञात हुन्छ। के यी मानिसहरूमा परमेश्वरको डर मान्ने हृदय हुन्छ? अनि, परमेश्वरको डर मान्ने उनीहरूको हृदय कति ठूलो हुन्छ? के तिनीहरू कामकुरा गर्दा आफ्नै इच्छा नपछ्याउन सक्षम हुन्छन्? के तिनीहरू परमेश्वरको खोजी गर्न सक्षम हुन्छन्? तिनीहरूले अगुवाइको काम गरिरहेका बेला के तिनीहरू परमेश्वरका अभिप्रायहरू खोज्न बारम्बार परमेश्वरसामु आउन सक्छन्? के तिनीहरूले मानिसहरूलाई सत्यता वास्तविकतामा डोर्याउन सक्छन्? तिनीहरू निश्चय नै त्यस्ता कुराहरू गर्न असक्षम हुन्छन्। तिनीहरूले तालिम प्राप्त गरेका हुँदैनन् र पर्याप्त अनुभवहरू पाएका हुँदैनन्, त्यसकारण तिनीहरू यी कामकुरा गर्न असक्षम हुन्छन्। यही कारणले गर्दा कसैलाई बढुवा र संवर्धन गर्नुको अर्थ उसले पहिल्यै सत्यता बुझेको छ भन्ने होइन, न त यसको अर्थ ऊ पहिलेबाटै मानकअनुरूप आफ्नो कर्तव्य पूरा गर्न सक्षम छ भन्ने नै हुन्छ। त्यसोभए, कसैलाई प्रवर्द्धन र संवर्धन गर्नुको उद्देश्य र महत्त्व के हो त? यही कि यो व्यक्तिलाई, एउटा व्यक्तिगत रूपमा प्रवर्द्धन गरिन्छ ताकि उसले अभ्यास गरोस्, र उसले विशेष रूपमा मलजल र तालिम प्राप्त गरोस्, यसरी ऊ सत्यता सिद्धान्तहरू, अनि विभिन्न कामकुरा गर्ने र विभिन्न समस्याहरू समाधान गर्ने सिद्धान्त, उपाय, र विधिहरू बुझ्न, साथसाथै उसले सामना गर्ने विभिन्न प्रकारका वातावरण र मानिसहरूलाई परमेश्वरका अभिप्रायहरूअनुसार, र परमेश्वरको घरका हितहरूको सुरक्षा गर्ने तरिकाले कसरी सम्हाल्ने र व्यवहार गर्ने भनी बुझ्न सक्षम होओस्” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (५))। पहिले, मैले सधैँ के सोचेकी थिएँ भने, म मण्डलीमा पदोन्नति पाएकी र संवर्धन गरिएकी व्यक्ति भएकीले, म पक्कै पनि अरूभन्दा उत्तम र बढी सक्षम छु, र मैले सबै कुरा राम्रोसँग गर्नुपर्छ र धेरै गल्ती गर्नु हुँदैन, ताकि मैले आफू अरूभन्दा फरक छु भनेर देखाउन सकूँ। विशेष गरी जब मैले आफू वरपरका ब्रदर-सिस्टरहरूलाई देखेँ जो आफ्ना सीप र कार्यहरूमा पोख्त थिए, र तिनीहरूले बनाएका भिडियोहरू उच्च गुणस्तरका थिए र प्रभावकारी ढङ्गले निर्माण गरिएका थिए, तब मलाई धेरै दबाब महसुस भयो, र म सधैँ तिनीहरूको स्तरमा पुग्न वा तिनीहरूलाई उछिन्न लागिपरेँ ताकि मसँग राम्रो क्षमता छ र म संवर्धन गरिन योग्य छु भनेर देखाउन सकूँ। त्यसैले जब मैले आफूले नबुझेका समस्याहरूको सामना गरेँ, तब मैले आफूलाई ढाकछोप गर्ने र भेष बदल्ने गरिरहेँ, किनकि मलाई ब्रदर-सिस्टरहरूले मेरा कमीकमजोरीहरू देख्लान्, र मैले “राम्रो क्षमता” भएको मेरो छविलाई कायम राख्न नसकूँला भन्ने डर थियो। वास्तवमा, सुपरिवेक्षकले मलाई भिडियो बनाउने जिम्मा दिनुको कारण ममा भिडियो निर्माणमा केही सबल पक्ष हुनु मात्र थियो। यसको मतलब म अरूभन्दा उत्तम थिएँ, वा म कामका लागि आवश्यक सीपहरूमा पोख्त भइसकेकी थिएँ भन्ने थिएन। तर म मेरा कमीकमजोरीहरूको सामना गर्न सक्दिनथेँ र मैले आफैलाई उच्च स्थानमा राखेँ। यो पदोन्नति र संवर्धन गरिने कुराप्रतिको मेरो गलतफहमी थियो, र साथै मसँग आत्म-सचेतनाको कमी भएको सङ्केत पनि थियो। अब मैले बुझेँ, पदोन्नति हुनु भनेको पूँजी होइन, न त यसले म कर्तव्य सम्हाल्न सक्षम छु भन्ने प्रमाणित गर्छ, र मलाई यो भ्रामक दृष्टिकोणका आधारमा निरन्तर भेष बदल्न सक्दिनँ भन्ने थाहा थियो। यदि म केही गर्न सक्थेँ भने, मैले गर्न सक्छु भन्नुपर्थ्यो। यदि म सक्दिनथेँ भने, मैले सक्दिनँ भन्नुपर्थ्यो। म ब्रदर-सिस्टरहरूसँग खुलस्त हुनुपर्थ्यो र मैले इमानदार व्यक्ति हुने अभ्यास गर्नुपर्थ्यो। यसो गर्नु नै परमेश्वरका अभिप्रायसँग मिल्ने कुरा हो। त्यसपछि, मैले मेरा ब्रदर-सिस्टरहरूसँग विगत केही महिनादेखिको मेरो स्थितिबारे खुलेर कुरा गरेँ, र कुरा गरिसकेपछि, मैले साँच्चै राहत र स्वतन्त्र महसुस गरेँ।
पछि, अगुवाले मलाई डिजाइनको काम गर्ने प्रबन्ध मिलाउनुभयो। सुरुमा, मैले डिजाइनको कामको सिद्धान्तहरू बोध गर्न सकिनँ, र मैले बनाएका तस्बिरहरूमा धेरै समस्याहरू थिए। म डिजाइनको काममा आफूले सामना गरिरहेका समस्या र कठिनाइहरू अघि सार्न, अनि सबैसँग मिलेर समाधान खोज्न चाहन्थेँ। त्यही बेला, एक जना सिस्टरले मैले पहिले मण्डलीमा भिडियो बनाउने काम गरेकी थिएँ, मसँग राम्रो मानसिक क्षमता छ, र म छिट्टै सिक्ने व्यक्ति हुँ भनेर सबैलाई भनिन्, र उनले त्यसो भनेपछि, अरू ब्रदर-सिस्टरहरू सबैले मलाई हेरे। उनका शब्दहरूले यति सानो उमेरको व्यक्तिले भिडियो बनाउन सक्नु प्रभावशाली कुरा हो भन्ने सङ्केत गर्थे। मलाई आफ्नो अनुहार रातोपिरो भएको महसुस भयो, किनकि भिडियो निर्माणमा खासै प्रगति नगरेको कारण मलाई पहिले बर्खास्त गरिएको थियो भन्ने कुरा मलाई मात्र थाहा थियो। तर अहिले सबैले म भिडियो बनाउन सक्छु र ममा सम्भावना छ भन्ने ठाने, र तिनीहरू मबारे उच्च विचार राख्न थाले। अन्जानमै, मेरो स्वभाव फेरि प्रकट हुन थाल्यो, किनकि मैले सोचेँ, “मैले सोध्न चाहेका प्रश्नहरू तिनीहरूका लागि सायद सामान्य होलान्, यदि मैले ती कुराहरू उठाएँ भने के तिनीहरूले मलाई हेयको नजरले हेर्लान्? सायद मैले आफैँ पत्ता लगाउनुपर्छ।” यो कुरा मनमा राखेर, मैले कुनै प्रश्न सोधिनँ। पछि, मलाई धेरै पछुतो लाग्यो, र मैले सोचेँ, “मैले किन फेरि आफूलाई ढाकछोप गरेँ र भेष बदलेँ? यसको पछाडिको वास्तविक कारण के थियो?” आफ्नो खोजीमा, मैले परमेश्वरका वचन पढेँ: “कतिपय मानिस सधैँ आफ्नो साँचो रूप ढाकछोप गर्ने प्रयास गर्छन्, सधैँ आफूलाई चोख्याउँछन्, अरूले तिनीहरूलाई उच्च मानून्, र तिनीहरूका दोष वा कमजोरीहरू देख्न नसकून् भनी सधैँ भेष बदल्छन्, र सधैँ आफ्नो सबैभन्दा राम्रो पक्ष अरूसामु प्रस्तुत गर्ने चाहना राख्छन्—त्यो कस्तो प्रकारको स्वभाव हो? त्यो अहङ्कार, आडम्बर, पाखण्ड हो, यो शैतानको स्वभाव हो, यो एक प्रकारको दुष्टता हो। यो त शैतानी शासनका सदस्यहरूले गोप्य रूपमा जति नै लडाइँ, झगडा, वा काटमार गरे पनि कसैलाई पनि तिनीहरूको रिपोर्ट वा पर्दाफास गर्न नदिइने कुरा जस्तै हो। तिनीहरू मानिसहरूले तिनीहरूको पैशाचिक रूप देख्लान् भनेर डराउँछन्, र त्यसलाई ढाकछोप गर्न आफूले सकेजति सबै गर्छन्। जनसमुदायअघि तिनीहरू आफूलाई सेतो पोत्न आफूले सक्नेजति सबै गर्दै, तिनीहरू मानिसहरूलाई धेरै प्रेम गर्छन्, तिनीहरू धेरै महान्, महिमित र अचूक छन् भन्छन्। यो शैतानको प्रकृति हो। शैतानको प्रकृतिको सबैभन्दा विशिष्ट विशेषता छल र धोखा हो। अनि यो छल र धोखाको उद्देश्य के हो? मानिसहरूका आँखा छल्नु, तिनीहरूलाई यसको सार र यसको साँचो रूप देख्नबाट रोक्नु, र त्यसो गरेर सधैँभरि शासन गर्ने उद्देश्य प्राप्त गर्नु हो। साधारण मानिसहरूमा शक्ति र हैसियत नहोला, तर तिनीहरू पनि अरूले तिनीहरूलाई राम्रो नजरले हेरून् भन्ने चाहन्छन्, र मानिसहरूले तिनीहरूलाई उच्च नजरले हेरून्, र मनमा तिनीहरूलाई उच्च हैसियतमा राखून् भन्ने चाहन्छन्। यो भ्रष्ट स्वभाव हो, र यदि मानिसहरूले सत्यतालाई बुझ्दैनन् भने, यसलाई चिन्न सक्दैनन्। … गल्ती गर्नु वा भेष बदल्नु: यीमध्ये कुन चाहिँ भ्रष्ट स्वभावहरूसँग सम्बन्धित छ? भेष बदल्नु भनेको भ्रष्ट स्वभावहरूसित सम्बन्धित कुरा हो, यसमा अहङ्कारी स्वभाव, दुष्टता र छलीपन सामेल छन्; र परमेश्वरले यसलाई अत्यन्तै तुच्छ ठान्नुहुन्छ। वास्तवमा, जब तैँले आफ्नो भेष बदल्छस्, तब के भइरहेको छ भनेर सबैले बुझ्छन्, तर तँ अरूले देख्दैनन् भन्ने सोच्छस्, र इज्जत बचाउन र तैँले केही पनि गलत गरेको छैनस् भनेर सबैलाई सोच्ने बनाउन तैँले तर्क गर्ने र आफूलाई सही साबित गर्ने सक्दो प्रयास गर्छस्। के यो मूर्खता होइन र? अरूले यसलाई कसरी मूल्याङ्कन गर्छन्? तिनीहरूले के अनुभूति गर्छन्? घिन र घृणा। यदि गल्ती गरिसकेपछि, तैँले यसलाई सही तरिकाले लिन सक्छस्, र अरू सबैलाई यसबारे कुराकानी र टीकाटिप्पणी गर्न, यसलाई खुट्ट्याउन दिन सक्छस्, र तैँले यसलाई चिरफार गर्न र अरूले देख्नेगरी उदाङ्गो पार्न सक्छस् भने, तेरो बारेमा सबैको राय के हुनेछ? तिनीहरूले पक्कै पनि तँ इमानदार व्यक्ति होस् भन्नेछन्, किनकि तेरो हृदय परमेश्वरका लागि खुला छ, साथै तेरा कार्य र व्यवहारमार्फत, तिनीहरूले तेरो हृदय छर्लङ्ग देख्न सक्छन्। तर यदि तैँले भेष बदल्ने र सबैलाई धोका दिने कोसिस गरिस् भने, तिनीहरूले तँलाई कम आँक्नेछन्, अनि तँ मूर्ख र निर्बुद्धि व्यक्ति होस् भनेर भन्नेछन्। यदि तैँले नाटकबाजी गर्ने वा आफूलाई सही ठहराउने कोसिस गरिनस् भने, यदि तैँले आफ्नो गल्ती स्विकार्न सकिस् भने, सबैले तँ इमानदार र बुद्धिमान् छस् भन्नेछन्। अनि कुन कुराले तँलाई बुद्धिमान् बनाउँछ? सबैले गल्ती गर्छन्। सबैमा कमीकमजोरी र खोटहरू हुन्छन्। अनि सबैमा उस्तै भ्रष्ट स्वभावहरू हुन्छन्। आफूलाई अरूभन्दा कुलीन, सिद्ध, र दयालु नठान्; त्यसरी सोच्नु अत्यन्तै समझविहीन हुनु हो! जब तैँले मानिसहरूका भ्रष्ट स्वभावहरू र तिनीहरूको भ्रष्ट सारको साँचो मुहार स्पष्ट रूपमा देख्न सक्छस्, र तैँले आफ्नै गल्तीहरू ढाकछोप गर्न खोज्दैनस्, अरू मानिसहरूका गल्तीहरूलाई तिनीहरूको विरुद्धमा प्रयोग गर्दैनस्, र दुवैलाई सही तरिकाले लिन सक्छस्, तब मात्रै तैँले कामकुरालाई गहिराइमा देख्नेछस् र मूर्खतापूर्ण कामहरू गर्नेछैनस्, र तँ एक बुद्धिमान् व्यक्ति बन्नेछस्। जो समझविहीन छन् ती सबै बुद्धिमान् मानिस होइनन्, तिनीहरू मूर्ख मानिस हुन्। जब-जब तिनीहरूले गल्ती गर्छन् वा केही असङ्गत काम गर्छन् र तिनीहरूलाई काटछाँट गरिन्छ, तब तिनीहरू त्यसमा अल्झिन्छन्, र सधैँ आफूलाई सही साबित गर्न र आफ्नो बचाउ गर्न खोज्छन्, र पर्दापछाडि लुकिछिपी हिँड्छन्। यो देख्दा पनि घिन लाग्छ। वास्तवमा, तिनीहरूले जे गरिरहेका हुन्छन् त्यो अरू मानिसहरूले तुरुन्तै स्पष्ट रूपमा देख्छन्, तैपनि तिनीहरू अझै खुलेआम नाटक देखाउँछन्। अरूका नजरमा, यो जोकरको काम जस्तो देखिन्छ। के यो मूर्खता होइन र? यो साँच्चै मूर्खता हो। मूर्ख मानिसहरूको कुनै बुद्धि हुँदैन। तिनीहरूले जति धेरै प्रवचन सुने पनि, तिनीहरूले अझै पनि सत्यता बुझ्दैनन् वा कुनै कुराको वास्तविकतालाई देख्दैनन्। तिनीहरू आफ्नो अहम् कहिल्यै छोड्दैनन्, आफू अरू कोहीभन्दा फरक र कुलीन छु भन्ने सोच्छन्; यो अहङ्कार र आत्मधर्मीपन हो, यो मूर्खता हो। मूर्ख मानिसहरूमा आत्मिक बुझाइ हुँदैन, हुन्छ त? तँ जुन मामलाहरूमा मूर्ख र निर्बुद्धि छस् तँसित तिनै मामलाहरूको आत्मिक बुझाइ हुँदैन, र तैँले सजिलैसँग सत्यतालाई बुझ्न सक्दैनस्। कुराको वास्तविकता यही हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। परमेश्वरका वचनबाट मैले के बुझेँ भने, मैले अनजानमै आफूलाई निरन्तर ढाकछोप गर्नु र भेष बदल्नुको मुख्य कारण मेरो ख्याति, प्राप्ति र हैसियतको चाहना धेरै प्रबल हुनु थियो, र मेरो स्वभाव साँच्चै अहङ्कारी हुनु थियो। म जहाँ गए पनि वा जहाँ कर्तव्य निर्वाह गरे पनि, म सधैँ आफूलाई स्थापित गर्न र अरूले मेरो बारेमा राम्रो सोचून् र मप्रति राम्रो धारणा राखून् भन्ने चाहन्थेँ, त्यसैले म आफ्ना कमीहरू ढाकछोप गर्न र मानिसहरूको हृदयमा राम्रो छवि कायम राख्न विभिन्न युक्ति प्रयोग गर्थेँ। मैले भिडियो बनाउँदाको समयलाई फर्केर सोच्दा, मैले भेष बदलेको र म खोजी गर्न इच्छुक नभएको कारणले नै मैले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गरेकी थिइनँ र अन्ततः म बर्खास्त हुन पुगेँ। यस पटक, जब मैले कसैले मसँग राम्रो क्षमता र सम्भावना छ, र ऊ मलाई उच्च ठान्छ भनेको सुनेँ, तब मैले आफैलाई उच्च स्थानमा राख्नबाट रोक्न सकिनँ र मैले फेरि एक पटक भेष बदल्न चाहेँ। यदि म यसरी नै अघि बढिरहेँ भने, मैले अझै पनि आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न वा कुनै प्रगति गर्न सक्नेथिइनँ। यसबारे सोच्दा, म साँच्चै धेरै कुरा बुझ्दिनथेँ र धेरै क्षेत्रमा मेरो निकै कमी थियो, तर पनि अरूले मेरो बारेमा उच्च विचार राखून् अनि ब्रदर-सिस्टरहरूको हृदयमा मेरो हैसियत र छवि कायम रहोस् भनेर मैले मुकुण्डो लगाएँ। म साँच्चै कति पाखण्डी र छली थिएँ! म एक सृजित प्राणी मात्र हुँ, त्यसैले म आफ्नो ठाउँमा बस्नुपर्छ र आफ्नो उचित स्थानमा खडा हुनुपर्छ, र मेरो सीपको स्तर जस्तोसुकै भए पनि वा ममा जे कुराको अभाव भए पनि, म यसबारे खुला हुनुपर्छ, आफ्ना कमीकमजोरीहरूको परिपूर्ति गर्न ब्रदर-सिस्टरहरूको मद्दत खोज्नुपर्छ, र तिनीहरूसँग सामञ्जस्यपूर्ण सहकार्य गर्नुपर्छ। ममा हुनुपर्ने समझ यही हो, र मैले सक्रिय भएर आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नुपर्ने र मण्डलीको कामको सुरक्षा गर्नुपर्ने तरिका पनि यही नै हो। तर मलाई स्पष्ट रूपमै थाहा नहुँदा र म केही गर्न नसक्दा पनि म जानेजस्तै गरी व्यवहार गर्थेँ। म कति अहङ्कारी, लज्जास्पद र पाखण्डी थिएँ, र ममा कुनै आत्म-सचेतना थिएन! मैले यहूदी धर्मका फरिसीहरूलाई सम्झेँ। तिनीहरू भक्त देखिन्थे, दोबाटोमा उभिएर प्रार्थना समेत गर्थे, तर तिनीहरू अरूको नजरमा देखिन, मानिसहरूलाई भ्रममा पार्न र तिनीहरूको हृदयलाई पासोमा पार्न त्यसो गर्थे। तिनीहरू परमेश्वरमा विश्वास त गर्थे तर उहाँको प्रतिरोध गर्थे र तिनीहरू परमेश्वरद्वारा दोषी ठहरिए र श्रापित भए। म पनि उस्तै थिएँ, र फरिसीहरूकै मार्गमा हिँडिरहेकी थिएँ। यदि मैले पश्चाताप गरिनँ र परिवर्तन भइनँ भने, म ठूलो खतरामा पर्नेथिएँ, र ढिलो वा चाँडो, म पनि परमेश्वरद्वारा प्रकट गरिनेथिएँ र हटाइनेथिएँ। यो महसुस गरेपछि, म अलि डराएँ, र म छिट्टै आफ्नो स्थिति सच्याउन चाहन्थेँ र यसरी नै अघि बढ्न चाहन्नथेँ।
आफ्नो आत्मिक भक्तिको समयमा, मैले परमेश्वरका वचनको अर्को खण्ड पढेँ: “तैँले जस्तोसुकै समस्याहरूको सामना गरे पनि, तिनलाई समाधान गर्न तैँले सत्यताको खोजी गर्नैपर्छ, तैँले कदापि छद्मभेष धारण गर्नु वा अरूको सामु झूटो स्वरूप प्रस्तुत गर्नु हुँदैन। चाहे त्यो तेरा कमीहरू होऊन्, तेरा अपर्याप्तताहरू होऊन्, तेरा त्रुटिहरू होऊन्, वा तेरा भ्रष्ट स्वभावहरू नै किन नहोऊन्, तैँले यी सबै कुराहरूका बारेमा खुलेर सङ्गति गर्नैपर्छ। तिनलाई ढाकछोप नगर्। आफूलाई कसरी खोल्ने भनी सिक्नु जीवन प्रवेशतर्फको पहिलो कदम हो, र यो पहिलो तगारो हो, जसलाई पार गर्न सबैभन्दा कठिन हुन्छ। तैँले यो तगारो पार गरेपछि, सत्यतामा प्रवेश गर्न सजिलो हुनेछ। जब तैँले यो कदम चाल्छस्, तब यसले के सङ्केत गर्नेछ? यसले के सङ्केत गर्नेछ भने, तँ आफ्नो हृदय खोलिरहेको छस्, र तेरा हरेक पक्षलाई—चाहे त्यो असल होस् वा खराब, सकारात्मक होस् वा नकारात्मक—अरू मानिसहरू र परमेश्वरले देख्ने गरी उदाङ्गो पारिरहेको र खोलिरहेको छस्, परमेश्वरबाट कुनै कुरा लुकाइरहेको वा ढाकछोप गरिरहेको, परमेश्वरप्रति कुनै छद्मभेष, छल, वा कपट प्रयोग गरिरहेको छैनस्, र त्यसरी नै अरू मानिसहरूसँग पनि स्पष्ट भइरहेको छस्। यसरी, तँ ज्योतिमा जिउनेछस्; परमेश्वरले तेरो छानबिन त गर्नुहुन्छ नै, तेरा कार्यहरूमा सिद्धान्त र पारदर्शिता छ भनी अरू मानिसहरूले पनि देख्नेछन्। तैँले आफ्नो प्रतिष्ठा, छवि, र हैसियतको रक्षा गर्न कुनै पनि विधिहरू प्रयोग गर्नु आवश्यक छैन, न त तैँले आफ्ना गल्तीहरूलाई कुनै किसिमले लुकाउनु वा ढाकछोप गर्नु नै आवश्यक छ। तँ यी व्यर्थका प्रयासहरूमा संलग्न हुनु आवश्यक छैन। यदि तँ यी कुराहरू त्याग्न सक्छस् भने, तेरो जीवन निकै तनावरहित, बन्धन र पीडाबाट मुक्त बन्नेछ, र तँ पूर्ण रूपमा ज्योतिमा जिउनेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनले मलाई अभ्यासको मार्ग देखाए, त्यो के हो भने, जब म नबुझेका वा गर्न नसक्ने कुराहरू सामना गर्छु, तब म तुरुन्तै बोल्नुपर्छ, र परमेश्वर वा अरू मानिसहरूबाट केही पनि लुकाउनु हुँदैन, बरु खुला र इमानदार हुनुपर्छ। यसरी, म लखतरान पर्नेछैन र मलाई पवित्र आत्माको काम प्राप्त गर्न सजिलो हुनेछ। परमेश्वर इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ, र समस्या वा कमीहरू हुनु डराउनुपर्ने कुरा होइन। मुख्य कुरा भनेको सही रूपमा हाम्रा कमीकमजोरी र अपर्याप्तताहरूको सामना गर्नु हो, र सरल, खुला भई सक्रिय रूपमा खोजी गर्नु हो। यो नै इमानदार मनोवृत्ति हो, र यसले परमेश्वरलाई प्रसन्न तुल्याउँछ। यो कुरा मनमा राखेर, मैले परमेश्वरलाई प्रार्थना गरेँ, र उहाँलाई मेरो गलत स्थितिबाट बाहिर निस्कन र सरल अनि खुला रहेको इमानदार व्यक्ति बन्न मलाई मार्गदर्शन गर्नुहोस् भनी बिन्ती गरेँ। पछि, मैले तस्बिरहरू बनाउँदा सामना गरेका समस्या र कठिनाइहरूका बारेमा कुरा गरेँ, र ब्रदर-सिस्टरहरूसँग खोजी गरेँ। सबैको कुराकानीमार्फत, मैले एउटा मार्ग पाएँ र के गर्ने भन्ने थाहा पाएँ, र मेरो हृदय धेरै स्वतन्त्र र हलुका भयो।
यस अनुभवबाट मैले के बुझेँ, भने आफ्नो प्रतिष्ठा र हैसियतका लागि भेष बदल्दा त्यसले पीडा मात्र ल्याउँछ। यसले गर्दा मेरा कर्तव्यहरूमा केही उपलब्धि हासिल नहुने र जीवनमा कुनै प्रगति नहुने मात्र होइन, यसले मलाई मेरा ब्रदर-सिस्टरहरूबाट टाढा पनि लैजान्छ। यसमा मेरा लागि कुनै फाइदा छैन। एउटा सृजित प्राणीको स्थानमा खडा भएर र अरूसँग खुला अनि इमानदार भएर, आफ्नो मनको कुरा बोलेर र भेष नबदली वा छली नभईकन मात्र म चैन र स्वतन्त्रतामा जिउन सक्छु।