४६. मेरो अहङ्कारी सत्त्व कसरी परिवर्तन भयो
सन् २०२३ को अगस्टमा, ब्रदर झाङ हाङ र मैले केही मण्डलीहरूको सुसमाचारको कामको सुपरिवेक्षणमा साझेदारी गर्यौँ। सुरुमा, काममा समस्याहरू आउनेबित्तिकै, म झाङ हाङसँग छलफल र सरसल्लाह गर्न पहल गर्थेँ। झाङ हाङसँग पनि आफ्नो कर्तव्यप्रति बोझको भावना थियो, र हाम्रो काममा आएका समस्या र विचलनहरूबारे छलफल गर्न ऊ मकहाँ आउँथ्यो। उसले ती समस्याहरू हल गर्नका लागि मार्ग र समाधानहरू पनि सुझाउँथ्यो, र म उसका सुझावहरूलाई स्विकार्न र अपनाउन सक्थेँ। पछि, मैले झाङ हाङमा समस्याहरू समाधान गर्ने र पत्राचार गर्ने सीपको कमी भएको देखेँ, र मनमनै सोचेँ, “झाङ हाङ आफ्नो कर्तव्यमा नयाँ छ, त्यसैले उसमा सीपको कमी हुनु सामान्य हो। मैले उसका कमजोरीहरूलाई सही तरिकाले हेर्नुपर्छ र धेरै सङ्गति गरेर उसलाई मदत गर्नुपर्छ।” मैले उसलाई उसका पत्रहरू संशोधन गरेर सुधार्न मदत गर्थेँ, र प्रायः हौसला दिन्थेँ।
तर केही समयपछि, मैले झाङ हाङमा पत्राचार गर्ने कुरामा अझै केही समस्याहरू भएको देखेँ, र मैले थाहै नपाई उसलाई हेप्न र तिरस्कार गर्न थालेछु। त्यसमाथि, मैले दिएका समस्याका समाधानहरू र पत्रका जवाफहरू अगुवाहरूले धेरैजसो स्विकार्नुहुन्थ्यो, सुसमाचारको काममा आउने समस्या र विचलनहरू क्रमिक रूपमा सुधार भए, र हाम्रो काममा केही सकारात्मक परिणामहरू आए। यसले गर्दा, म आत्म-प्रशंसाको स्थितिमा जिउन पुगेँ र मैले आफूमा केही कार्य सामर्थ्य छ भन्ने विश्वास गर्न पुगे। बिस्तारै, मैले आफ्नो कर्तव्यमा झाङ हाङका सुझावहरू माग्न वा खोज्नमा ध्यान दिन छोडेँ, किनभने मलाई लाग्थ्यो कि उसलाई सोधेर कुनै राम्रो सल्लाह आउँदैन, र आखिरमा मैले आफ्नै तरिकाले काम गर्ने हो। त्यसपछि, मैले उसलाई फलाना-फलाना समस्याहरू कसरी समाधान गर्ने र फलाना-फलाना पत्रहरू कसरी सम्हाल्ने भनेर निर्देशन दिन थालेँ, र उसले समस्याहरूलाई एकदमै सङ्कुचित दृष्टिकोणले हेर्ने र सतही समाधानहरू मात्र दिने गरेको भन्दै मैले तिरस्कारको भावले उसको आलोचना गरेँ। समय बित्दै जाँदा, झाङ हाङ केही हदसम्म मबाट बाँधियो। मलाई याद छ, एक पटक, मैले झाङ हाङलाई पत्राचार गर्न लगाएँ र त्यो कसरी लेखिनुपर्छ भन्नेबारे मेरो सोचाइ पनि बताएँ। पछि, उसले त्यो पत्र मेरो विचारअनुसार लेखेको रहेनछ भनेर मैले थाहा पाएँ, र मलाई रिस उठ्यो, अनि मैले मनमनै सोचेँ, “मैले तिमीलाई यो समस्या कसरी समाधान गर्ने भनेर पहिल्यै बताएको छु, र मैले प्रस्ताव गरेका विचार र योजनाहरू अभ्यासमार्फत प्रभावकारी साबित भइसकेका छन्। तिमीले लेखेको कुराले त समस्यालाई पटक्कै समाधान गर्दैन नि!” त्यसैले मैले उसलाई आरोप लगाउने भावमा सोधेँ, “तिमीले त्यो मैले भनेजस्तै किन नलेखेको? तिमीले यो जसरी लेखेका छौ यसले समस्याको जडलाई समात्दैन र त्यसलाई समाधान गर्दैन।” झाङ हाङले जवाफ दियो, “मैले तपाईँको सोचाइअनुसारै लेख्न चाहेको थिएँ, तर मैले धेरै पटक कोसिस गर्दा पनि राम्ररी लेख्न सकिनँ, त्यसैले मैले आफ्नो बुझाइका आधारमा लेखेँ।” मैले उसलाई अझै आलोचना गर्न चाहेको थिएँ, तर मलाई अचानक म आवेशमा आएर बोलिरहेको छु भन्ने महसुस भयो, त्यसैले म चुप लागेँ। अर्को पटक, झाङ हाङले आफूले लेखेको एउटा पत्र मलाई थमाइदियो। मैले त्यसमा केही समस्याहरू देखेँ र, थाहै नपाई, मैले फेरि उसलाई तिरस्कार गरेँ। मैले उसलाई हप्काउने पारामा भनेँ, “यहाँ हेर, तिमीले यो समस्यालाई एकदमै सङ्कुचित तरिकाले हेरिरहेका छौ! अनि यो भागमा, तिम्रो सङ्गतिले खास कुरालाई छोएन, र यसले समस्या समाधान गर्दैन!” मैले यति भनेपछि, झाङ हाङले टाउको निहुरायो र एक शब्द पनि बोलेन। झाङ हाङको दुःखी अनुहार देखेर, मलाई थोरै ग्लानि महसुस भयो, “मैले कसरी उसलाई यति धेरै तिरस्कार र आलोचना गर्न सकेको होला? मैले अर्को पटक यस्तो व्यवहार गर्नु हुँदैन।” तर, उस्तै अवस्थाहरू आउँदा, म अझै पनि उसलाई नहेपी बस्न सक्दिनथेँ। अन्ततः झाङ हाङ आफ्नो कर्तव्यमा एकदमै निष्क्रिय भयो, र जबजब उसलाई कठिनाइ वा समस्याहरू आइपर्थ्यो, उसले ती कसरी समाधान गर्ने भनेर पहिले मलाई सोध्थ्यो। उसले आफूलाई कमजोर क्षमता भएको र यो कर्तव्यको लागि अयोग्य भनी सीमित समेत गर्यो, र राजीनामा दिन चाह्यो। झाङ हाङलाई यस्तो स्थितिमा देखेर, मैले नै उसलाई बाँधेको र हानि पुऱ्याएको रहेछु भनेर मैले महसुस गरेँ, र त्यसपछि नै मैले आत्मचिन्तन गर्न सत्यता खोजेँ।
मेरो एउटा उपासनाको समयमा, मैले परमेश्वरका वचनका दुइटा खण्ड भेट्टाएँ: “म त्यस्ता धेरै मानिसहरू देख्छु जो आफूले केही प्रतिभा देखाउँदा घमण्डी बनिहाल्छन्। जब तिनीहरूले केही क्षमताहरू देखाउँछन्, तिनीहरू आफू धेरै प्रभावशाली छु भन्ठान्छन्, अनि यी क्षमताहरूमै भर परिबस्छन्, थप मेहनत गर्दैनन्। अरूले जे भने पनि तिनीहरू सुन्दैनन्, तिनीहरू आफूसँग भएका यी साना कुराहरू सत्यता हुन्, र आफू सर्वोच्च हुँ भन्ठान्छन्। यो कस्तो स्वभाव हो? यो अहङ्कारी स्वभाव हो। तिनीहरूमा समझको अत्यन्तै कमी छ। के व्यक्तिमा अहङ्कारी स्वभाव हुँदा उसले आफ्नो कर्तव्य राम्ररी निभाउन सक्छ? के ऊ परमेश्वरप्रति समर्पित हुन र अन्त्यसम्मै परमेश्वरलाई पछ्याउन सक्छ? यो त झन् कठिन छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो स्वभावलाई चिन्नु नै यसलाई परिवर्तन गर्ने आधार हो)। “आफैलाई चिन्नुको सत्यतामा केही प्रयास लगाउनु नै तिमीहरूका लागि उत्तम हुनेथ्यो। परमेश्वर किन तिमीहरूको सराहना गर्नुहुन्न? किन तिमीहरूको स्वभाव उहाँका लागि घृणास्पद छ? किन तिमीहरूको बोलीले उहाँको घृणा जगाउँछ? तिमीहरू अलिकति बफादारी प्रदर्शन गरेपछि आफ्नै प्रशंसा गाउँछौ; तिमीहरू एउटा सानो योगदान दिएपछि इनामको माग गर्छौ; तिमीहरू थोरै समर्पणता देखाएपछि अरूलाई हेयको नजरले हेर्छौ, र केही मामुली कार्य पूरा गरेपछि परमेश्वरप्रति तिरस्कारपूर्ण बन्छौ। … के तिमीहरूका शब्दहरू र कार्यहरूमा कुनै कुरा प्रशंसा गर्न योग्यको छ? आफ्नो कर्तव्य पूरा गर्ने र नगर्नेहरू; अगुवाई गर्नेहरू र पछ्याउनेहरू; परमेश्वरलाई ग्रहण गर्नेहरू र नगर्नेहरू; दान दिनेहरू र नदिनेहरू; प्रचार गर्नेहरू र वचन प्राप्त गर्नेहरू, र त्यस्तै अरू: त्यस्ता सबै मानिसहरूले आफैलाई प्रशंसा गर्छन्। के तिमीहरूलाई यो हास्यास्पद लाग्दैन? परमेश्वरमा विश्वास गरेको पूर्ण रूपमा राम्ररी जान्दा जान्दै पनि तिमीहरू परमेश्वरसँग मिल्ने हुन सक्दैनौ। तिमीहरू पूर्ण रूपमा योग्यता बिनाका छौ भन्ने राम्रोसँग जान्दा जान्दै पनि तिमीहरू घमण्ड गर्न कायम राख्छौ। के तिमीहरूलाई आत्मनियन्त्रण नै बाँकी नरहने हदसम्म तिमीहरूको समझ पतन भइसक्यो भन्ने लाग्दैन?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्ट अनुरूप नभएकाहरू निश्चय नै परमेश्वरका विरोधीहरू हुन्)। परमेश्वरका वचनहरूले मेरो वास्तविक स्थितिलाई खुलासा गरिदियो। मैले आफूमा समस्याहरूको गहिरो बुझाइ भएको र आफूले स्पष्टताका साथ पत्राचार लेख्ने गरेको ठान्थेँ, र मैले अक्सर अगुवाहरूको अनुमोदन पनि पाउँथेँ, जसका कारण मैले आफूलाई उच्च ठान्थेँ। त्यसैले, जब मैले झाङ हाङका पत्रहरूमा धेरै समस्याहरू देखेँ, मलाई ऊप्रति गहिरो तिरस्कार महसुस भयो। उसले मेरो सोचाइअनुसार पत्रहरू नलेख्दा, मैले कारण सोधिनँ बरु उसलाई आलोचना र गाली गरेँ, र उसलाई मेरो तरिकाले लेख्न कर लगाएँ। मैले उसलाई निरन्तर आलोचना र गाली गरिरहेकाले, ऊ मबाट बाँधियो, आफ्ना रायहरू व्यक्त गर्न डरायो, र आफ्नो कर्तव्यमा निष्क्रिय भयो। उसले आफूलाई यो कर्तव्य पूरा गर्ने क्षमताको कमी भएको भनेर समेत सीमित गर्यो। साँचो कुरा त, झाङ हाङले धेरै वर्षदेखि सुसमाचार प्रचार गर्दै आएको थियो र अनुगमन र मार्गदर्शनको काममा केही अनुभव प्राप्त गरेको थियो, तर ऊ मबाट बाँधिएको कारणले, उसका सबल पक्षहरू प्रयोग भएनन्। मैले देखेँ कि मेरो अहङ्कारले मलाई पूर्णतया समझरहित बनाएको थियो, र मैले अरूलाई बाँध्ने र हानि पुऱ्याउने काम मात्र गरिरहेको थिएँ। म कुन हिसाबले आफ्नो कर्तव्य पूरा गरिरहेको थिएँ र? यो त प्रस्ट रूपले दुष्कर्म थियो! मैले केही वर्षअघिको कुरा सम्झेँ। जब म मण्डली अगुवाको रूपमा आफ्नो कर्तव्य पूरा गरिरहेको थिएँ, र मैले मेरो कामले केही परिणामहरू दिएको देखेँ, तब मैले आफ्ना सहकर्मीहरूलाई हेपेँ, र सधैँ आफूमा राम्रो क्षमता छ र मेरा विचारहरू नै सबैभन्दा सही छन् भन्ने ठान्थेँ। चाहे मानिसहरू छनोट गर्ने वा प्रयोग गर्ने, कामको बन्दोबस्त गर्ने, वा मामिलाहरू मिलाउने जस्तोसुकै मामिला होस्, मलाई सबैले मेरै कुरा सुन्नुपर्छ भन्ने लाग्थ्यो। मैले कसैलाई पनि फरक विचार राख्न दिइनँ, र यदि कसैले आपत्ति जनायो भने, म उनीहरूका विचारहरूलाई सिधै खारेज गरिदिन्थेँ, र कहिलेकाहीँ म अख्तियारको पदमा बसेर उनीहरूलाई गाली र आलोचना गर्थेँ। यसले गर्दा उनीहरू सबैले मबाट बाँधिएको महसुस गर्न थाले। मेरो अहङ्कार, आत्म-धार्मिकता, र मनमानीका कारण, मैले मण्डलीको काममा गम्भीर अवरोध र बाधा पुर्याएँ। मैले म फेरि आफ्नो पुरानै खराब बानीमा फसेको देखेँ, र म केही हदसम्म नकारात्मक भएँ, अनि सोचेँ, “म अब यो कर्तव्य निर्वाह गर्न सक्दिनँ। यदि म यस्तै रहिरहेँ भने, म आफ्नो अहङ्कारी स्वभावअनुसार नै जिइरहनेछु। यसले झाङ हाङलाई हानि पुऱ्याउने मात्र होइन, काममा पनि अवरोध र बाधा ल्याउनेछ।” म नकारात्मकता र गलत बुझाइमा डुबिरहेको थिएँ, र म आफ्नो कर्तव्यमा केही हदसम्म निष्क्रिय भएँ।
पछि, मैले आफ्नो स्थिति गलत छ भनी महसुस गरेँ, त्यसैले मैले विवेकपूर्वक परमेश्वरको अभिप्राय खोजेँ। मैले परमेश्वरका वचनहरूको एउटा खण्डबारे सोचेँ: “परमेश्वर किन यी सबै कुराहरू योजनाबद्ध गर्नुहुन्छ? त्यो तेरो साँचो रूप खुलासा गर्न वा तँलाई प्रकट गर्न र हटाउनका लागि होइन; तँलाई प्रकट गर्नु अन्तिम लक्ष्य होइन। तँलाई सिद्ध पार्नु र मुक्ति दिनुचाहिँ लक्ष्य हो। परमेश्वर तँलाई कसरी सिद्ध पार्नुहुन्छ? अनि उहाँ तँलाई कसरी मुक्ति दिनुहुन्छ? उहाँ तँलाई तेरो आफ्नै भ्रष्ट स्वभावबारे सचेत गराउँदै, र तँलाई तेरो प्रकृति सार, तेरा कमजोरीहरू र तेरो कमी चिनाउँदै सुरुआत गर्नुहुन्छ। यी कुराहरू जानेर र तिनको बुझाइ प्राप्त गरेर मात्र, तँ सत्यता पछ्याउन सक्छस् र तैँले बिस्तारै तेरो भ्रष्ट स्वभाव फाल्न सक्छस्। यो परमेश्वरले तँलाई मौका दिनुभएको हो। यो परमेश्वरको कृपा हो। तैँले यो मौका छोप्न जान्नुपर्छ। तैँले परमेश्वरप्रति प्रतिरोध महसुस गर्नु हुँदैन, उहाँसँग टाउको जुधाउनु, वा उहाँलाई गलत बुझ्नु हुँदैन। विशेष गरी, तैँले परमेश्वरले तेरो वरपर प्रबन्ध गर्नुभएका मानिस, घटना, र कामकुराहरूको सामना गर्दा, ती कुराहरू तैँले चाहना गरे अनुसार छैनन् भनी निरन्तर रूपमा महसुस नगर्; तीबाट निरन्तर उम्कने इच्छा नगर् वा सधैँ परमेश्वरबारे गुनासो गर्ने र उहाँलाई गलत बुझ्ने नगर्। यदि तँ निरन्तर ती कुराहरू गरिरहन्छस् भने, तैँले परमेश्वरको काम अनुभव गरिरहेको हुँदैनस्, र त्यसले तँलाई सत्यता वास्तविकतामा प्रवेश गर्न निकै कठिन बनाउनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि आफ्नो वरपरका मानिस, घटना र कामकुराहरूबाट पाठहरू सिक्नुपर्छ)। परमेश्वरका वचनहरूले मलाई के बुझाए भने, जब परमेश्वरले मानिसहरूलाई प्रकट गर्नुहुन्छ, त्यो उनीहरूलाई हटाउनका लागि होइन, उनीहरूलाई मुक्ति दिनका लागि हो, ताकि उनीहरूले आफ्नो भ्रष्ट स्वभावलाई चिन्न, सत्यता पछ्याउन, र स्वभावगत रूपान्तरण हासिल गर्न सकून्। मैले आफ्नो कद दयनीय रूपमा सानो रहेको, र मलाई प्रकट गरिँदा, मैले आफ्नो भ्रष्ट स्वभावलाई सम्बोधन गर्न सक्रिय रूपमा सत्यता नखोजेको, बरु म नकारात्मक भएको र भाग्ने गरेको देखेँ। यो त सत्यता पछ्याउने व्यक्तिको व्यवहार थिएन! त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म शैतानद्वारा गहिरो रूपमा भ्रष्ट तुल्याइएको छु। जब मेरो कामले नतिजा दिन थाल्छ, म आफूलाई श्रेष्ठ देख्छु, अहङ्कारी र अभिमानी बन्छु, र मेरो सहकर्मी ब्रदरलाई तिरस्कार र आलोचना गर्छु, जसले गर्दा ऊ बाँधिन्छ र उसलाई हानि पुग्छ। हे परमेश्वर, म आफ्नो अहङ्कारी स्वभावद्वारा जिउन चाहन्नँ। कृपया मलाई बचाउनुहोस्, र मलाई मेरो अहङ्कारी र अभिमानी प्रकृतिबारे साँचो बुझाइ प्राप्त गर्न मदत गर्नुहोस्, ताकि मैले आफैलाई घृणा गर्न र स्वभावगत परिवर्तन पछ्याउन सकूँ।”
त्यसपछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ जसले सिधै मेरो स्थितिलाई सम्बोधन गर्थ्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “अहङ्कार नै मानिसका भ्रष्ट स्वभावहरूको मूल कारण हो। मानिसहरू जति धेरै अहङ्कारी हुन्छन्, त्यति नै समझ विहीन हुन्छन्, र तिनीहरू जति धेरै समझ विहीन हुन्छन्, तिनीहरूले परमेश्वरको प्रतिरोध गर्ने त्यति नै धेरै सम्भावना हुन्छ। यो समस्या कति गम्भीर छ? मानिसहरूमा अहङ्कारी स्वभावहरू हुने भएकाले, तिनीहरूले अरू सबैलाई आफूभन्दा तल्लो स्तरको सम्झने मात्र होइन, सबैभन्दा खराब कुरा त, तिनीहरूमा परमेश्वरका लागि कुनै सम्मान पनि हुँदैन, र तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय पटक्कै हुँदैन। मानिसहरूले परमेश्वरमा विश्वास गर्ने र उहाँलाई पछ्याउने भए पनि, तिनीहरूले उहाँलाई परमेश्वरको रूपमा बिलकुलै व्यवहार गर्दैनन्। तिनीहरूले सधैँ तिनीहरूसँग सत्यता छ भन्ने ठान्छन् र आफैलाई अरूभन्दा श्रेष्ठ ठान्छन्। अहङ्कारी स्वभावको सार र जड यही हो, र यो शैतानबाट आउँछ। यसैले, अहङ्कारको समस्यालाई समाधान गरिनुपर्छ। एक जना अरूभन्दा असल छु भन्ने महसुस गर्नु—त्यो तुच्छ कुरा हो। महत्त्वपूर्ण विषय यो हो कि कुनै व्यक्तिको अहङ्कारी स्वभावले उसलाई परमेश्वर, उहाँको सार्वभौमिकता, उहाँको बन्दोबस्तमा समर्पण हुनदेखि रोक्छ; यस्तो व्यक्तिले शक्तिको निम्ति र अरूमाथि नियन्त्रण गर्न सधैँ परमेश्वरसँग प्रतिस्पर्धा गरिरहेको महसुस गर्छ। यस्तो किसिमको व्यक्तिमा परमेश्वरको भय मान्ने हृदय अलिकति पनि हुँदैन, उसले परमेश्वरलाई प्रेम गर्ने वा ऊ उहाँमा समर्पित हुने त कुरै नगरौँ। मानिसहरू जो अहङ्कारी र अभिमानी छन्, विशेष गरी ती जो आफ्नो समझ गुमाउने हदसम्म अहङ्कारी छन्, उहाँप्रतिको आफ्नो विश्वासमा तिनीहरू परमेश्वरमा समर्पित हुन सक्दैनन्, बरु तिनीहरूले आफ्नै बढाइ गर्छन् र आफ्नै निम्ति गवाही दिन्छन्। यस्ता मानिसहरू परमेश्वरलाई सबैभन्दा बढी प्रतिरोध गर्छन्, र तिनीहरूमा परमेश्वरको भय मान्ने हृदय फिटिक्कै हुँदैन। यदि मानिसहरू आफूमा परमेश्वरको भय मान्ने हृदय हुने अवस्थासम्म पुग्ने इच्छा राख्छन् भने, तिनीहरूले पहिले आफ्नो अहङ्कारी स्वभावको समाधान गर्नुपर्छ। जति पूर्ण रूपमा तैँले आफ्नो अहङ्कारी स्वभाव हटाउँछस्, तँमा परमेश्वरको भय मान्ने हृदय त्यति नै बढी हुनेछ, र तब मात्र तैँले उहाँमा समर्पित हुन, सत्य प्राप्त गर्न र उहाँलाई चिन्न सक्छस्। सत्यता प्राप्त गर्नेहरू मात्रै साँचो रूपमा मानव हुन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूको खुलासाले मलाई के बुझायो भने, जब मानिसहरू आफ्नो अहङ्कारी प्रकृतिद्वारा जिउँछन्, परमेश्वरको न्याय र सजायको अनुभव नगरी उनीहरूको स्वभाव परिवर्तन हुँदैन, र कुनै पनि बेला, उनीहरूले दुष्टता गर्नेछन् र परमेश्वरको प्रतिरोध गर्नेछन्। के मैले त्यस्तै व्यवहार गर्दै आएको थिइनँ र? मैले केही समस्याहरू समाधान गर्न सकेको थिएँ, र मेरो लेखन सीप अरूको भन्दा अलि राम्रो थियो, त्यसैले म आफूलाई श्रेष्ठ देख्थेँ, र झाङ हाङलाई हेपिरहन्थेँ। चाहे त्यो समस्या समाधान गर्ने कुरा होस् वा कामको बारेमा छलफल गर्ने, म विरलै झाङ हाङको राय सोध्थेँ, र सोधिहाले पनि, त्यो औपचारिकता मात्र हुन्थ्यो। म सधैँ आफू श्रेष्ठ भएको व्यवहार गर्थेँ र उसलाई आदेश दिन्थेँ। जब मैले झाङ हाङले मेरो सोचाइअनुसार पत्र नलेखेको देखेँ, उसको दृष्टिकोणबाट उसले के व्यक्त गर्न चाहन्छ भनेर विचार गर्ने, वा उसले लेखेको कुरामा प्रयोग गर्न लायक केही छ कि भनेर सोच्ने, वा राम्रो परिणाम हासिल गर्न उसले लेखेको कुरालाई कसरी पूरा गर्ने र सुधार्ने भनेर सोच्ने सट्टामा, मैले उसका विचारहरूलाई सिधै अस्वीकार गरेँ र उसलाई आलोचना र गाली गरेँ, र मैले भनेजस्तै पत्र लेख्न बाध्य पारेँ। मैले आफ्नै विचारहरूलाई मापदण्ड बनाएँ र झाङ हाङलाई उसको आफ्नो विचार राख्न दिइनँ। यसले गर्दा ऊ मबाट बाँधियो, र पत्र लेख्दा, ऊ अति सतर्क भयो, र उसले क्षमताको कमी भएको भनी आफूलाई नै सीमित गर्न थाल्यो र राजीनामा दिन चाह्यो। वास्तवमा, झाङ हाङले पत्र लेख्दा अपनाउने सोचाइ कहिलेकाहीँ मान्य हुन्थ्यो, तर उसले कामकुराहरू आंशिक रूपमा मात्र सङ्गति गर्थ्यो। मैले उसले लेखेको कुरामा थपेर त्यसलाई सुधार गर्नुपर्थ्यो, तर त्यसको सट्टा, मैले उसका विचारहरूलाई सिधै अस्वीकार गरेँ र उसलाई मेरा निर्देशनहरू पालना गर्न बाध्य पारेँ। के मैले मेरा विचारहरूलाई सत्यता जस्तै व्यवहार गरिरहेको थिइनँ र? मैले मेरो प्रकृति कति गहिरो रूपमा अहङ्कारी रहेछ भनेर देखेँ। म “सर्वोच्च शासन गर्ने म मात्र हुँ” र “म मात्र महान् छु” भन्ने जस्ता शैतानी विषहरूद्वारा जिइरहेको थिएँ। चाहे त्यो झाङ हाङ होस् वा मैले पहिले सहकार्य गरेका ब्रदर-सिस्टरहरू, मैले उनीहरूलाई बाँध्ने र हानि पुऱ्याउने काम मात्र गरेको थिएँ, जसले मण्डलीको काममा पनि अवरोध र बाधा पुर्यायो। अब मैले म कति अहङ्कारी र अभिमानी रहेछु, र ममा परमेश्वरको डर मान्ने वा उहाँमा समर्पित हुने हृदय पटक्कै रहेनछ भनेर देखेँ। म परमेश्वरको शत्रुको मार्गमा हिँडिरहेको थिएँ। मैले अनुग्रहको युगको पावलको बारेमा सोचेँ। ऊसँग सुसमाचार प्रचार गर्ने केही वरदान र प्रतिभाहरू थिए, र उसले मानिसहरूलाई विश्वासमा ल्यायो, धेरै मण्डलीहरू स्थापना गर्यो, र धेरै पत्रहरू लेख्यो। उसले यसलाई पुँजीका रूपमा लियो र सबैलाई हेयको नजरले हेर्यो। उसले आफू कुनै प्रेरितभन्दा कम नभएको समेत भन्यो, र उसले अक्सर आफूलाई उचाल्थ्यो र अन्य प्रेरितहरूलाई होच्याउँथ्यो। ऊ यति अहङ्कारी बन्यो कि उसले उसको लागि जिउनु नै ख्रीष्ट भनेर खुलेआम गवाही दियो। यसले परमेश्वरको स्वभावलाई चिढ्यायो, र ऊ परमेश्वरद्वारा श्रापित र दण्डित भयो। के मैले ठ्याक्कै पावलको जस्तै व्यवहार गरेको थिइनँ र? यो बुझाइले म भयभीत भएँ। यदि मैले पश्चात्ताप नगरेको र स्वभाव परिवर्तन नपछ्याएको भए, मेरो परिणाम पावलको जस्तै हुनेथियो, र म परमेश्वरद्वारा तिरस्कृत हुने र हटाइने थिएँ।
पछि, मैले झाङ हाङसामु आफ्नो स्थितिबारे खुलेर कुरा गरेँ र ऊसँग माफी मागेँ, र उसले पनि आफ्नो स्थितिबारे खुलेर कुरा गर्यो। त्यसपश्चात, मैले धैर्यपूर्वक झाङ हाङलाई समस्याहरू कसरी हेर्ने र पत्रहरू कसरी लेख्ने भनेर मार्गदर्शन गरेँ, र कहिलेकाहीँ, जब उसलाई राम्ररी लेख्न गाह्रो हुन्थ्यो, म उसको ड्राफ्टलाई सुधार्न मदत गर्थेँ। यसरी अभ्यास गर्दा, मलाई हृदयमा अझ बढी शान्त र सहज महसुस भयो। थप चिन्तन गर्दा, मैले मेरा वरदान र प्रतिभाहरूलाई पुँजीको रूपमा लिनु नै मेरो अहङ्कारको अर्को कारण रहेछ भनेर थाहा पाएँ। मैले पढेँ कि परमेश्वरका वचनहरूले भन्छन्: “जब परमेश्वरले मानिसलाई सृष्टि गर्नुभयो, तब उहाँले विभिन्न प्रकारका मानिसहरूलाई फरक-फरक सीपहरू दिनुभयो। कतिपय मानिसहरू साहित्यमा राम्रा हुन्छन्, कतिपय मानिसहरू चिकित्सामा राम्रा हुन्छन्, कतिपय मानिसहरू सीपहरूको अध्ययन गर्नमा राम्रा हुन्छन्, कतिपय मानिसहरू वैज्ञानिक अनुसन्धान गर्नमा राम्रा हुन्छन्, र इत्यादि। मानिसहरूका विशेषज्ञताहरू परमेश्वरले दिनुभएको हुन्छ र ती धाक देखाउने कुरा होइनन्। व्यक्तिसँग जस्तोसुकै विशेषज्ञता भए पनि, यसको अर्थ उसले सत्यता बुझ्छ भन्ने हुँदैन, र यसको अर्थ ऊसँग सत्यता वास्तविकता छ भन्ने त निश्चित रूपमा नै हुँदैन। मानिसहरूमा निश्चित विशेषज्ञताहरू हुन्छन्, र यदि तिनीहरूले परमेश्वरमा विश्वास गर्छन् भने, तिनीहरूले यी विशेषज्ञताहरूलाई आफ्नो कर्तव्य पूरा गर्नका लागि प्रयोग गर्नुपर्छ। यो परमेश्वरका लागि स्वीकार्य कुरा हो। निश्चित विशेषज्ञताबारे धाक लगाउनु वा परमेश्वरसँग सौदा गर्न यसको प्रयोग गर्न चाहनु—यो समझको अत्यन्तै कमी हुनु हो। परमेश्वरले त्यस्ता मानिसहरूलाई निगाह गर्नुहुन्न। कतिपय मानिसहरूले निश्चित सीप जानेका हुन्छन्, र त्यसकारण जब तिनीहरू परमेश्वरका घरमा आउँछन्, तब तिनीहरूलाई आफू अरूभन्दा एक तह माथि छु भन्ने लाग्छ, तिनीहरूले विशेष व्यवहारको आनन्द लिन चाहन्छन्, र तिनीहरूलाई आफूसँग जीवनभरिका लागि हातमुख जोड्ने आधार छ भन्ने लाग्छ। तिनीहरू यो सीपलाई एक प्रकारको पुँजी मान्छन्—कस्तो अहङ्कार! त्यसोभए, तैँले यी वरदान र विशेषज्ञताहरूलाई कसरी हेर्नुपर्छ? यदि परमेश्वरका घरमा यी कुराहरू उपयोगी छन् भने, ती तेरो कर्तव्य पूरा गर्ने औजारहरू मात्रै हुन्। सत्यतासँग तिनको कुनै सरोकार हुँदैन” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग तीन))। परमेश्वरका वचनहरूबाट मैले बुझेँ कि हामीसँग जस्तोसुकै प्रतिभा भए पनि, चाहे हामी गायन, नृत्य, लेखन, वा सुसमाचार प्रचार जेसुकैमा राम्रो होऔँ, यी वरदान र प्रतिभाहरू सबै परमेश्वरले दिनुभएको हो। परमेश्वरले हामीलाई यी वरदान र प्रतिभाहरू दिनुहुन्छ ताकि हामी तिनलाई प्रयोग गरेर आफ्ना कर्तव्यहरू राम्ररी पूरा गर्न सकौँ। उदाहरणका लागि, मसँग लेखनसम्बन्धी केही सीपहरू छन्, र मैले मण्डलीको काम राम्ररी गर्नका लागि मेरा सहकर्मी ब्रदर-सिस्टरहरूलाई सहयोग गर्न मेरा सामर्थ्यहरू प्रयोग गर्नुपर्थ्यो। तर मैले परमेश्वरले दिनुभएका यी वरदान र प्रतिभाहरूलाई पुँजीको रूपमा प्रयोग गरेँ। मैले आत्मप्रशंसा गरेको मात्र होइन, झाङ हाङलाई पनि निरन्तर तिरस्कार गरेँ र बन्धनमा पारेँ, र उसलाई मेरा विचारहरू पालना गर्न बाध्य पारेँ। मेरो स्वभाव झन्-झन् अहङ्कारी हुँदै गयो, र ममा मानवता र विवेकको पूरै कमी थियो। यहीबेला मैले महसुस गरेँ कि वरदान र प्रतिभाहरू व्यक्तिलाई आफ्नो कर्तव्य राम्ररी पूरा गर्न मदत गर्ने औजार मात्र हुन्। वरदान र प्रतिभा हुनुको मतलब व्यक्तिले सत्यता बुझ्छ वा स्वभावगत रूपान्तरण हासिल गरेको छ भन्ने होइन, वरदानहरू मात्र भएर सत्यता नपछ्याएमा, उनीहरूले आफ्ना कर्तव्यहरू राम्ररी पूरा गर्न सक्दैनन्, र उनीहरूले अझै पनि दुष्टता गर्नेछन् र परमेश्वरको प्रतिरोध गर्नेछन्। मैले परमेश्वरले दिनुभएका वरदान र प्रतिभाहरूलाई पुँजी ठानेँ, तिनलाई मेरा आफ्नै सीप र क्षमता सोचेँ, तर आफ्नो पहिचान वा पदलाई पटक्कै चिनिनँ। म साँच्चै निर्लज्ज थिएँ र परमेश्वरलाई घिन लगाएको थिएँ!
पछि, एक पटक हामीले मलजल गर्ने काममा केही समस्या र विचलनहरू भेट्टायौँ, र हामीले सङ्गतिमार्फत समाधानहरू प्रदान गर्न एउटा पत्र लेख्नु आवश्यक थियो। झाङ हाङसँग सङ्गति गरेपछि, मैले उसलाई पहिले पत्रको खाका तयार गर्न लगाएँ। जब उसले पत्र लेखिसकेर मलाई देखायो, मैले अझै पनि केही विवरणहरू छुटेको देखेँ, र मैले उसलाई फेरि तिरस्कार गर्न थालेँ। त्यति नै बेला, मैले आफूले फेरि एक पटक अहङ्कारी स्वभाव प्रकट गरिरहेको महसुस गरेँ। मैले परमेश्वरका वचनहरूको एउटा खण्डबारे सोचेँ: “के तिमीहरूलाई कोही सिद्ध छ भन्ने लाग्छ? मानिसहरू जति नै दह्रिला भए पनि, वा जति नै सक्षम र प्रतिभावान् भए पनि, तिनीहरू अझै पनि सिद्ध हुँदैनन्। मानिसहरूले यो कुरालाई पहिचान गर्नैपर्छ, यो तथ्य हो र मानिसहरूमा आफ्नो योग्यता र सामर्थ्य वा अपूर्णताहरूलाई सही तरिकाले व्यवहार गर्न हुनुपर्ने मनोवृत्ति हो; यो मानिसहरूमा हुनुपर्ने तर्कसङ्गतता हो। आफूमा त्यस्तो तर्कसङ्गतता भयो भने, तैँले आफ्ना र अरूका सामर्थ्यहरू र कमजोरीहरूलाई उचित तरिकाले सम्हाल्न सक्छस्, र यसले तँलाई तिनीहरूसँग सद्भावमा रही काम गर्न सक्ने तुल्याउनेछ। यदि तैँले सत्यताको यो पक्ष बुझेको छस् र तँ सत्यता वास्तविकताको यो पक्षमा प्रवेश गर्न सक्छस् भने, दाजुभाइ-दिदीबहिनीहरूको सबल पक्ष प्रयोग गर्दै तिनीहरूसँग सद्भावको साथ मिलेर बस्दै आफूसँग भएको कुनै पनि कमजोरीलाई पूर्ति गर्न सक्छस्। यसरी, तैँले जुनसुकै कर्तव्य निर्वाह गरिरहेको भए पनि वा तैँले जे गरिरहेको भए पनि, तँ सधैँ यसमा अझ उत्तम हुँदै जानेछस् र परमेश्वरको आशिष् पाउनेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूले मलाई अरूसँग सामञ्जस्यपूर्ण सहकार्य हासिल गर्न, मैले हरेक व्यक्तिका सबल र दुर्बल पक्षहरूलाई सही तरिकाले हेर्नुपर्छ भनी बुझ्न मद्दत गरे। अरूका कमी र दुर्बल पक्षहरू देख्दा, मैले उनीहरूलाई तिरस्कार गर्नु वा होच्याउनु हुँदैन, बरु हाम्रा सबल पक्षहरूलाई एकअर्काको पूरक बन्न दिनुपर्छ। हामीले यसरी नै आफ्ना कर्तव्यमा राम्रा नतिजाहरू हासिल गर्न सक्छौँ। परमेश्वरले हरेक व्यक्तिलाई फरक-फरक क्षमता र प्रतिभा दिनुभएको छ। झाङ हाङ पत्रहरू लेख्नमा सिपालु थिएन, त्यसैले मैले उसका कमीहरूलाई सही तरिकाले हेर्नु आवश्यक थियो, र मैले आफ्ना सबल पक्षहरूलाई उसका दुर्बल पक्षहरूसँग तुलना गर्न मिल्दैनथ्यो। साँचो कुरा त, झाङ हाङका आफ्नै सबल पक्षहरू थिए। ऊ धेरै वर्षदेखि सुसमाचारको काम र मलजल गर्ने कामका लागि जिम्मेवार थियो, उसले धेरै अनुभव बटुलेको थियो, र उसले काममा नतिजाहरू निकालेको थियो। यति हुँदाहुँदै पनि, ऊ अहङ्कारी वा आत्म-धर्मी थिएन, र उसले पूर्ण रूपमा नबुझेका समस्याहरूमा अझै पनि मेरो मदत खोज्थ्यो। मैले उसको काममा भएका समस्याहरू औँल्याउँदा, उसले पनि ती स्वीकार्न सक्थ्यो। यी सबल पक्षहरू ममा थिएनन्, र मैले ऊबाट सिक्नुपर्छ। यो कुरा महसुस गरेपछि, मैले झाङ हाङका दुर्बल पक्ष र कमीहरूलाई सही तरिकाले हेर्न सकेँ। त्यसपछि, मैले पत्रलाई संशोधन गरेर सुधारेँ। जब मैले पत्र पठाएँ, मलाई आफ्नो अहङ्कारी स्वभावअनुसार जिउनुको सट्टा आफैँविरुद्ध विद्रोह गरेकोमा साँच्चै राम्रो महसुस भयो, किनकि यसले गर्दा मेरो हृदय शान्ति र आनन्दले भरिन्छ, र यसले अरूलाई बाँध्ने वा हानि पुऱ्याउने काम पनि गर्दैन। मैले हासिल गरेका यी परिवर्तनहरू सबै परमेश्वरका वचनहरूले मलाई मार्गदर्शन गरेको परिणाम हो। परमेश्वरलाई धन्यवाद होस्!