४५. मैले जिम्मेवारी लिन डराउनेबारे चिन्तन
सन् २०२२ को अप्रिलमा, अगुवाहरूले मलाई मण्डलीमा शुद्धीकरणको काम गर्ने बन्दोबस्त मिलाउनुभयो। मैले यो काम पहिले कहिल्यै गरेकी थिइनँ र फरक-फरक प्रकारका मानिसहरूलाई खुट्ट्याउने सिद्धान्तहरू पनि बुझेकी थिइनँ, त्यसैले म चिन्तित भएँ, “के म यो गर्न सक्छु र? कतै मैले गल्तीले शुद्धीकरण गर्न नहुने व्यक्तिलाई शुद्धीकरण गरेँ भने के गर्ने? के मैले ठूलो दुष्टता गरिरहेकी हुँदिनँ र? यो त गम्भीर अपराध हुनेछ!” तर फेरि मैले सोचेँ कि मैले आफ्नो कर्तव्यलाई पन्छाउन मिल्दैन। यो कर्तव्य निर्वाह गर्ने म एक्लै थिइनँ; अरू सिस्टरहरूले पनि सहकार्य गरिरहेका थिए। यदि मैले केही कुरा बुझिनँ भने उनीहरूबाट सिक्न सक्थेँ, त्यसैले मैले यो कर्तव्य स्वीकार गरेँ। पछि, मैले थाहा पाएँ कि सिस्टर सोङ पिङले यो कर्तव्य धेरै वर्षदेखि निर्वाह गर्दै आएकी रहेछिन्, र उनले फरक-फरक प्रकारका मानिसहरूलाई खुट्ट्याउने सिद्धान्तहरू राम्ररी बुझेकी रहेछिन्। म उनीमाथि धेरै निर्भर भएँ, र म सोच्थेँ “मैले अझै सिद्धान्तहरू बुझेकी छैन र मलाई यो काम गर्न आउँदैन, त्यसैले म सोङ पिङलाई पछ्याउँछु र उनलाई नै डोऱ्याउन दिन्छु।” पछि, मैले विभिन्न प्रकारका मानिसहरूलाई खुट्ट्याउने सिद्धान्तहरूद्वारा आफूलाई सुसज्जित पार्न मेहनत गरेँ, र काममा सक्रिय रूपमा भाग लिएँ, ताकि सिद्धान्तहरू चाँडो बुझेर कामको जिम्मा लिन सकूँ। मैले शुद्धीकरणको काम अरू कामभन्दा फरक छ भन्ने महसुस गरेँ, किनभने थोरै गल्ती पनि गम्भीर हुन्थ्यो र त्यसका लागि मलाई जवाफदेही ठहराइनेथियो, त्यसैले मैले होसियार र सतर्क रहनु नै उत्तम हो भन्ने सोचेँ। शुद्धीकरणसम्बन्धी सामग्रीहरू मिलाउँदा, यदि मैले अलि जटिल कुरा वा चरित्र-निर्धारणका सम्बन्धमा विवाद भएको केही कुरा भेटेँ भने, म तुरुन्तै सोङ पिङलाई सोध्थेँ, र उनले त्यसको समीक्षा गरेपछि मात्र मलाई त्यो सम्हाल्न सहज लाग्थ्यो। मेरो काममा पनि म सोङ पिङमाथि नै भर पर्थेँ। उनले जे भन्थिन् म त्यही गर्थेँ, र सकेसम्म आफैँ अघि सर्दिनथेँ। हामीले यसरी एक वर्षसम्म सहकार्य गर्यौँ।
सन् २०२३ को मे महिनामा, अगुवाहरूले सोङ पिङलाई अर्को कामको सुपरिवेक्षण गर्न खटाउने योजना बनेको छ भनी पत्र पठाउनुभयो। यो खबर सुनेपछि, मैले सोचेँ, “सोङ पिङलाई त सरुवा गरिँदै छ; समूहमा म नै सबैभन्दा लामो समयदेखि यो भूमिकामा रहिआएकी छु, त्यसैले मैले नै अगुवाइ गरेर कामको जिम्मा लिनुपर्नेछ।” यो सोचेर, म चिन्तित नभई रहन सकिनँ, “हुन त यो एक वर्षको तालिममा मैले मानिसहरूलाई खुट्ट्याउने केही सिद्धान्तहरू बुझेकी छु तर जटिल समस्याहरू सामना गर्नुपर्दा, मलाई अझै पनि तिनलाई कसरी सम्हाल्ने भनेर थाहा छैन, र तिनको समीक्षा गर्न मलाई सोङ पिङको मद्दत चाहिन्छ। अझ, यतिन्जेल, चाहे कामको विचलनबारे सारांश तयार पार्ने होस् वा मानिसहरूलाई संवर्धन गर्ने होस्, यी कामहरू मुख्यतया सोङ पिङको जिम्मेवारी थिए, र काममा केही समस्या आउँदा, अगुवाहरूले पनि सोङ पिङसँग नै परामर्श लिनुहुन्थ्यो। यदि सोङ पिङ गइन् भने, मैले यी जिम्मेवारीहरू सम्हाल्न नसकेको खण्डमा के गर्ने? यसमा धेरै मण्डलीहरूको शुद्धीकरणको काम पर्छ; काममा समस्या वा विचलनहरू आएर मण्डलीको शुद्धीकरणको काममा अवरोध र बाधा पुग्यो भने के गर्ने? यदि त्यसो भयो भने म नै प्रत्यक्ष रूपमा जिम्मेवार हुनेछु र मैले नै परिणामहरू भोग्नुपर्नेछ। शुद्धीकरणको काम अरू कामभन्दा फरक छ। यदि मैले कुनै समस्यालाई छर्लङ्गै बुझ्न सकिनँ र ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूलाई मण्डलीमा छोडेँ भने, मैले तिनीहरूको रक्षा गरिरहेकी हुनेछु, र म तिनीहरूको दुष्टताको भागीदार हुनेछु। यदि मैले निष्कासित गर्न नहुने कसैलाई गल्तीले निष्कासित गरेँ, र यसले न्यायमा गम्भीर त्रुटि उत्पन्न गर्यो भने, म यसमा पनि दुष्टता गरिरहेकी हुनेछु। दुवै अवस्था गम्भीर अपराध हुनेछ, र यदि परमेश्वरको घरले मलाई जवाफदेही बनायो भने, कम्तीमा पनि, म बर्खास्त हुन सक्छु, र यदि परिणामहरू गम्भीर छन् भने, म निष्कासित पनि हुन सक्छु।” यी सबै कुरा सोच्दा मेरो मन धेरै भारी भयो, र दबाब निकै ठूलो थियो। तर मैले सोङ पिङलाई जानबाट रोक्न सकिनँ। जब दिनहरू बित्दै गए, र सोङ पिङ जानै लागेकी थिइन्, म झन्-झन् चिन्तित हुन थालेँ, र मैले कर्तव्यमा आफ्नो मनलाई शान्त पार्न सकिनँ। मेरो स्थिति ठीक छैन भन्ने महसुस भएपछि, मैले परमेश्वरलाई प्रार्थना गरेँ, र परमेश्वरलाई मेरा समस्याहरू चिन्न मार्गदर्शन गर्नुहोस् भनी बिन्ती गरेँ।
प्रार्थनापछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “कतिपय मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्दा जिम्मेवारी लिन डराउँछन्। यदि मण्डलीले तिनीहरूलाई कुनै काम गर्न दियो भने, सुरुमा तिनीहरूले यो काम गर्दा जिम्मेवारी लिनुपर्छ कि पर्दैन भनेर विचार गर्छन्, र पर्छ भने, तिनीहरूले त्यो काम स्विकार्दैनन्। कर्तव्य निर्वाह गर्ने तिनीहरूका सर्त यस्ता हुन्छन्: पहिलो, यो फुर्सदिलो काम हुनुपर्छ; दोस्रो, यो व्यस्त हुने वा थकाउने हुनु हुँदैन; र तेस्रो, जे काम गरे पनि, तिनीहरूले कुनै जिम्मेवारी लिनुपर्ने हुनु हुँदैन। तिनीहरूले लिने एउटै मात्र कर्तव्य यही हो। यो कस्तो प्रकारको व्यक्ति हो? के यो चिप्ले र छली व्यक्ति होइन र? तिनीहरूले सानोभन्दा सानो जिम्मेवारी पनि लिन चाहँदैनन्। तिनीहरू रूखबाट पात खस्दा त्यसले तिनीहरूको खप्पर फुटाउँछ भनेर समेत डराउँछन्। यस्तो व्यक्तिले कस्तो कर्तव्यचाहिँ पूरा गर्न सक्छ र? परमेश्वरको घरमा तिनीहरू के काम लाग्छन् र? परमेश्वरको घरको काम शैतानसँग युद्ध गर्ने, साथै राज्यको सुसमाचार फैलाउने हो। कुन कर्तव्यमा जिम्मेवारी हुँदैन र? के तिमीहरू अगुवा बन्दा जिम्मेवारी लिनुपर्छ भनेर सोच्छौ? के तिनीहरूको जिम्मेवारी झन् ठूलो हुँदैन र, अनि तिनीहरूले जिम्मेवारी झनै लिनु पर्दैन र? तैँले सुसमाचार प्रचार गरे पनि, गवाही दिए पनि, भिडियो बनाए पनि, र त्यस्तै अन्य काम गरे पनि, तैँले जुनसुकै काम गरे पनि, त्यो सत्यता सिद्धान्तहरूसँग सम्बन्धित छ भने, यसमा जिम्मेवारी निहित हुन्छ। यदि तेरो कर्तव्य निर्वाह गर्ने शैली सिद्धान्तहीन छ भने, यसले परमेश्वरको घरको काममा असर गर्छ, र यदि तँ जिम्मेवारी लिन डराउँछस् भने, तैँले कुनै पनि कर्तव्य निर्वाह गर्न सक्दैनस्। आफ्नो कर्तव्य निर्वाह गर्दा जिम्मेवारी लिन डराउने किसिमको व्यक्ति कायर हुन्छ, कि उसको स्वभावमा समस्या हुन्छ? तैँले यो भिन्नता छुट्याउन सक्नुपर्छ। वास्तवमा, यो कायरताको समस्या होइन। तिनीहरू धनी बन्ने कुरामा, वा आफ्नै फाइदाका लागि केही गरिरहँदा किन यति आँटिला हुन्छन्? तिनीहरूले यी कुराका लागि जुनसुकै जोखिम लिनेछन्। तर जब तिनीहरूले मण्डलीको लागि, परमेश्वरको घरको लागि काम गर्छन्, तबचाहिँ कुनै जोखिम लिँदैनन्। त्यस्ता मानिसहरू स्वार्थी र घृणास्पद हुन्छन्, र सबैभन्दा कुटिल हुन्छन्। आफ्नो कर्तव्य निर्वाह गर्दा जिम्मेवारी नलिने कुनै पनि व्यक्ति परमेश्वरप्रति रतिभर निष्कपट हुँदैनन्, तिनीहरूको बफादारीको त कुरै नगरौँ। कस्तो व्यक्तिले जिम्मेवारी लिने आँट गर्छ? कस्तो प्रकारको व्यक्तिमा ठूलो बोझ लिने साहस हुन्छ? त्यस्तो व्यक्तिमा, जो परमेश्वरको घरको कामको सबभन्दा निर्णायक क्षणमा अग्रसर हुँदै बहादुरीका साथ अघि बढ्छ, जसले सबैभन्दा महत्त्वपूर्ण र निर्णायक काम देख्दा बहादुरीका साथ गह्रौँ बोझ लिन्छ र कठिनाइ र खतरा सहन डर मान्दैन। त्यो परमेश्वरप्रति बफादार व्यक्ति हो, ख्रीष्टको असल सिपाही हो। के आफ्नो कर्तव्यमा जिम्मेवारी लिन डराउने सबैले सत्यता नबुझेको कारण त्यस्तो भएको हुन्छ? होइन; तिनीहरूको मानवतामै एउटा समस्या छ। तिनीहरूमा इन्साफ वा जिम्मेवारीको कुनै बोध हुँदैन, तिनीहरू स्वार्थी र घृणास्पद मानिस हुन्, तिनीहरू परमेश्वरका सच्चा विश्वासी होइनन्, र तिनीहरूले कत्तिपनि सत्यता स्विकार्दैनन्। यस कारणले गर्दा, तिनीहरूले मुक्ति पाउन सक्दैनन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्वरले जे खुलासा गर्नुभयो त्यो मेरो साँचो स्थिति थियो। जब मैले सोङ पिङलाई सरुवा गरिनेछ र मैले कामको जिम्मेवारी लिनुपर्नेछ भन्ने थाहा पाएँ, मेरो पहिलो सोच यो कामको जिम्मेवारी लिन परमेश्वरमा भर पर्नुपर्छ भन्ने थिएन, बरु भविष्यको काममा विचलन वा समस्याहरू आएमा परमेश्वरको घरले मलाई जवाफदेही बनाउने र निराकरण गर्ने हो कि होइन, र मैले अझै मुक्तिको मौका पाउने हो कि होइन भनी ख्याल गर्नुपर्छ भन्ने थियो। मैले भविष्यको काम कसरी सम्हाल्ने भनेर बिलकुलै ख्याल गरिनँ। केही आइपर्दा आफ्नो हितलाई मात्र ख्याल गर्ने स्वार्थी र घृणित व्यक्तिको नाताले, मैले कसरी आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्थेँ र? म सम्झन्छु कि सुरुमा, जब मलाई यो कर्तव्य अह्राइएको थियो, म गल्ती गर्न र जिम्मेवारी लिन डराएकी थिएँ, र पछि मैले यो कर्तव्य स्वीकार गरे पनि, म अझै जिम्मेवारी लिन डराइरहेकी थिएँ, र म आफ्नो कर्तव्यमा अग्रसर भएर बोझ उठाउन अनिच्छुक थिएँ र सबै कुरामा सोङ पिङमाथि भर पर्थेँ। खुट्ट्याउन र चरित्र-निर्धारण गर्न गाह्रो हुने सामग्रीहरू भेट्दा, र केही कामहरू पूरा गर्नुपर्दा, मैले सोङ पिङलाई नै अघि सरेर अन्तिम निर्णयहरू गर्न दिन्थेँ, र म तल्लो दर्जामा रहन पाउँदा सन्तुष्ट थिएँ। यसरी, यदि कुनै विचलन वा समस्या आएमा, मैले मुख्य जिम्मेवारी लिनुपर्दैनथ्यो वा दुःख भोग्नु र मूल्य चुकाउनु पर्दैनथ्यो, र मलाई दुवैतिरबाट फाइदा हुनेथियो। यो धूर्त, स्वार्थी र घृणित भ्रष्ट स्वभाव लिएर जिउँदा, मैले यो कर्तव्यमा एक वर्ष तालिम लिँदा पनि कुनै उल्लेखनीय प्रगति भएन, र अहिलेसम्म पनि, मैले स्वतन्त्र रूपमा काम गर्न सकिनँ। के मैले आफैँलाई हानि गरिरहेकी थिइनँ र? अब सोङ पिङलाई सरुवा गरिँदै थियो र मैले स्वतन्त्र रूपमा कामको जिम्मेवारी लिनुपर्थ्यो, त्यसैले यो मलाई तालिम लिन परमेश्वरले दिनुभएको अवसर थियो, तर मैले परमेश्वरको अभिप्राय बुझिनँ वा कृतज्ञ हुन जानिनँ। मैले व्यग्र र चिन्तित भएर निरन्तर आफ्नो हितलाई ख्याल गरेँ। के मैले आफैँलाई सास्ती दिइरहेकी थिइनँ र? सत्य कुरा यो हो कि, परमेश्वरको घरको हरेक काममा सत्यता सिद्धान्तहरू समावेश हुन्छन्, र कुनै पनि कर्तव्य पूरा गर्नका लागि सत्यता सिद्धान्तहरूको पालना र जिम्मेवारी बोध आवश्यक पर्छ। परमेश्वरको काम समाप्त हुन लागेको छ, र मण्डलीमा विभिन्न प्रकारका मानिसहरू एक-एक गरी प्रकट भइरहेका छन्। परमेश्वरले हामीलाई सबै प्रकारका शैतानका मानिसहरू खुट्ट्याउन मद्दत गर्नका लागि खुट्ट्याउनेबारे सत्यताहरूको सङ्गति दिँदै आउनुभएको छ, ताकि हामीले परमेश्वरको काममा अवरोध र बाधा दिने विभिन्न दियाबलस र शैतानहरूलाई मण्डलीबाट पखाल्न सकौँ, र परमेश्वरका चुनिएका मानिसहरूलाई सत्यता पछ्याउने एउटा राम्रो वातावरण प्रदान गर्न सकौँ। अब मैले शुद्धीकरणको काम गरिरहेकी हुनाले, मसँग मेरा ब्रदर-सिस्टरहरूलाई सत्यता खोज्न र खुट्ट्याउने क्षमता बढाउन अगुवाइ गर्ने, र दुष्टता गर्ने र मण्डलीको काममा अवरोध र बाधा दिनेहरूलाई मण्डलीबाट पखाल्ने जिम्मेवारी र दायित्व थियो। यदि म जिम्मेवारी लिन डराएँ र आफ्नो कार्य पूरा गर्न असफल भएँ भने, के म काम निकम्मा हुनेछैन र? यस्तो व्यक्तिलाई परमेश्वरले कसरी मुक्ति दिन सक्नुहुन्थ्यो र? यी कुराहरू सोचेर, मैले महसुस गरेँ कि म अब यो गलत स्थितिमा जिउन मिल्दैन, नत्र यसले भविष्यमा आफ्ना कर्तव्यहरू पूरा गर्ने मेरो क्षमतालाई असर गर्नेछ।
पछि, मैले परमेश्वरका केही वचनहरू पढेँ: “वास्तविकतामा, मानिसले पूरा गर्ने आफ्नो कर्तव्य भनेको मानिसभित्र अन्तर्निहित रहेका सबै कुराहरूको उपलब्धि हो, भन्नुको अर्थ, जुन कुरा मानिसको लागि सम्भव छ। त्यसपछि उसको कर्तव्य पूरा हुन्छ। आफ्नो सेवाको अवधिमा देखिने मानिसका त्रुटिहरू प्रगतिशील अनुभव र न्यायबाट भएर जानु पर्ने प्रक्रियामार्फत विस्तारै घटाइन्छन्; तिनले मानिसको कर्तव्यलाई बाधा दिँदैन वा प्रभाव पार्दैनन्। आफ्नो सेवामा त्रुटिहरू हुन सक्छन् भन्ने डरले सेवा गर्न वा हार मानेर पछि हट्ने मानिसहरू नै सबैभन्दा कायरहरू हुन्। यदि मानिसहरूले सेवाको अवधिमा व्यक्त गर्नुपर्ने कुरालाई व्यक्त गर्न सक्दैनन् वा तिनीहरूको लागि सम्भव भएका कुराहरूलाई अन्तर्निहित रूपमा तिनीहरूले उपलब्धि गर्न सक्दैनन्, र यसको सट्टामा झारा मात्रै टार्छन् भने, तिनीहरूले सृजित प्राणीमा हुनुपर्ने कार्यगत प्रकार्यलाई गुमाएका हुन्छन्। त्यस्ता मानिसहरू ‘मध्यम-स्तरीय’ भनेर चिनिन्छन्; तिनीहरू कार्य नलाग्ने रद्दी हुन्। त्यस्ता मानिसहरूलाई कसरी उचित रूपमा सृजित प्राणीहरू भन्न सकिन्छ? के तिनीहरू भ्रष्ट प्राणीहरू होइनन् र, जो बाहिर चम्कन्छन् तर भित्र कुहिएका हुन्छन्? … मानिसको कर्तव्य र उसले आशिष्हरू पाउँछ कि दुर्भाग्य भोग्छ भन्ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। कर्तव्य भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र उसले यो कार्य क्षतिपूर्ति नखोजी, र सर्तहरू वा कारणहरू बिनै गर्नुपर्छ। यसलाई मात्रै उसले आफ्नो कर्तव्य पूरा गर्नु भनिन्छ। आशिष्हरू प्राप्त गर्नुले न्यायको अनुभव गरिसकेपछि सिद्ध पारिँदा व्यक्तिले प्राप्त गर्ने आशिष्हरूलाई जनाउँछ। दुर्भाग्य भोग्नुले सजाय र न्याय भोगिसकेपछि पनि व्यक्तिको स्वभाव परिवर्तन नहुँदा—अर्थात्, तिनीहरू सिद्ध नपारिँदा उसले पाउने दण्डलाई जनाउँछ। तर चाहे तिनीहरूले आशिष्हरू पाऊन् वा दुर्भाग्य भोगून्, सृजित प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो कर्तव्य पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम कार्य यही हो। तैँले आशिष्हरू प्राप्त गर्नका लागि मात्रै आफ्नो कर्तव्य निर्वाह गर्नु हुँदैन, र तैँले दुर्भाग्य भोग्नुपर्ने डरले आफ्नो कर्तव्य निर्वाह गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले पूरा गर्ने आफ्नो कर्तव्य भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो कर्तव्य पूरा गर्न असक्षम छ भने, यो उसको विद्रोह हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारी परमेश्वरको सेवकाइ र मानिसको कर्तव्य बीचको भिन्नता)। परमेश्वरका वचनहरू निकै प्रस्ट छन्: आशिष्हरू पाउनु वा दुर्भाग्य भोग्नुसँग आफ्नो कर्तव्य पूरा गर्नुको कुनै सम्बन्ध छैन। सृष्टिकर्ताको सामु आफ्नो कर्तव्य पूरा गर्न सक्नु सृजित प्राणीलाई स्वर्गले दिएको काम र जिम्मेवारी हो, र यसमा कुनै सर्त वा इनामहरू समावेश हुनु हुँदैन। मानिसहरूप्रति परमेश्वरका मागहरू उच्च छैनन्। उहाँले हामीलाई आफ्नो हृदय र मेहनत समर्पित गर्न र आफूले गर्न सक्ने कुराहरू पूरा गर्न मात्र भन्नुहुन्छ। हाम्रा कर्तव्यहरूका क्रममा उत्पन्न हुन सक्ने कुनै पनि विचलन, कमजोरी, वा त्रुटिहरूको कुरा गर्नुपर्दा, यो अत्यन्तै सामान्य हो। सत्यताविना, हामी कामकुरालाई प्रस्ट रूपमा देख्न सक्दैनौँ, र हामी भ्रष्ट स्वभावहरूले भरिएका हुन्छौँ, प्रायः शैतानको स्वभावअनुसार काम गर्छौँ, त्यसैले हाम्रा कर्तव्यहरूमा विचलन र गल्तीहरू हुनु अनिवार्य छ। तर यदि हामी सत्यता पछ्याउँछौँ, र हाम्रा भ्रष्ट स्वभावहरू समाधान गर्न हाम्रा कर्तव्यहरूको क्रममा निरन्तर सत्यता सिद्धान्तहरू खोज्छौँ भने, हामी विचलन र अपराधहरूलाई बिस्तारै घटाउन सक्छौँ, र हाम्रा कर्तव्यहरूमा हाम्रो कार्यसम्पादन झन्-झन् राम्रो हुँदै जानेछ। परमेश्वरको घरले कहिल्यै स-साना गल्ती वा अपराधहरूलाई समातेर मानिसहरूलाई निराकरण गर्दैन, बरु पश्चात्तापका लागि अधिकतम अवसरहरू प्रदान गर्दछ। जसले निरन्तर दुष्टता गर्छन् र जानाजानी मण्डलीको काममा अवरोध र बाधा दिन्छन् तिनीहरूलाई मात्र मण्डलीबाट पखालिनेछ र हटाइनेछ। वास्तवमा, मसँग मण्डली शुद्धीकरणको कामको यस क्षेत्रमा सबैभन्दा गहन अनुभव थियो। मैले परमेश्वरको घरद्वारा निष्कासित गरिएका ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूका बारेमा सोचेँ; तिनीहरूमध्ये कोही पनि सत्यता सिद्धान्तहरू नबुझेकाले वा आफ्नो कर्तव्य पूरा गर्दा देखा परेका स-साना विचलन वा समस्याहरूका कारणले हटाइएका थिएनन्। बरु, तिनीहरूले निरन्तर दुष्टता गरेका, व्यक्तिगत लाभ, प्रतिष्ठा, वा हैसियतका लागि जानाजानी सिद्धान्तहरू उल्लङ्घन गरेका, परमेश्वरको घरको कामलाई गम्भीर रूपमा अवरोध र नष्ट गरेका, सत्यता स्वीकार गर्न नमानेका, र पश्चात्ताप नगरेका हुनाले तिनीहरूलाई निष्कासित गरियो। यो परमेश्वरको धर्मी र पवित्र सारद्वारा निर्धारण गरिएको थियो। मैले अति धेरै तथ्यहरू देखेकी थिएँ तर मलाई अझै पनि परमेश्वरको धर्मी स्वभाव थाहा थिएन, म परमेश्वरको घर गैरविश्वासी संसार जस्तै भएको कल्पना गर्थेँ, र कुनै पनि सानो समस्याको जिम्मेवारी मेरै काँधमा आइपर्नेछ जसले गर्दा मलाई प्रकट गरिनेछ र हटाइनेछ भन्ने सोच्थेँ। के यो परमेश्वरविरुद्धको ईशनिन्दा थिएन र?
यसपछि, मैले कुराहरूबारे सोचेँ र खोजी गरेँ, “म किन आफ्नो कर्तव्यमा सधैँ आफ्नो हितलाई ख्याल गर्छु र जिम्मेवारी लिन डराउँछु? मलाई कस्तो प्रकारको शैतानी स्वभावले नियन्त्रण गरिरहेको छ?” मेरो खोजीमा, मैले परमेश्वरका थप वचनहरू पढेँ: “मानिसहरूले परमेश्वरको काम अनुभव गर्नु र सत्यता बुझ्नुभन्दा पहिले, भित्रैबाट नियन्त्रण लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तँ किन आफ्नै हैसियतको सुरक्षा गर्छस्? तँ किन आफ्ना भावनाहरूद्वारा यति प्रभावित छस्? तँ किन ती अधर्मी र दुष्ट कुराहरू मन पराउँछस्? तैँले त्यस्ता कुराहरू मन पराउनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? त किन ती कुराहरू मन पराउँछस् र स्वीकार गर्छस्? अहिलेसम्ममा, तिमीहरू सबै यो कुरा बुझ्न पुगेका छौ: मुख्य कारण के हो भने, मानिसभित्र शैतानका विषहरू छन्। त्यसो भए, शैतानका विषहरू के हुन्? तिनलाई कसरी व्यक्त गर्न सकिन्छ? उदाहरणको लागि, यदि तैँले ‘मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?’ भनेर सोधिस् भने, सबैले जवाफ दिनेछन्, ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।’ यही एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनेको छ। मानिसहरूले जेसुकैको खोजी गर्ने भए पनि, तिनीहरू वास्तवमा आफ्नै लागि त्यसो गर्छन्—अनि त्यसकारण तिनीहरू सबै आफ्नै लागि जिउँछन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। यी वचनहरू पहिले नै भ्रष्ट मानवजातिको प्रकृति भइसकेका छन्, र यी वचनहरू भ्रष्ट मानवजातिको शैतानी प्रकृतिको साँचो चित्रण हुन्। यो शैतानी प्रकृति पूर्ण रूपमा भ्रष्ट मानवजातिको अस्तित्वको जग बनिसकेको छ। भ्रष्ट मानवजाति कैयौँ हजार वर्षदेखि अहिलेको वर्तमान समयसम्म शैतानको यो विषअनुसार जिएको छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने)। परमेश्वरका वचनहरूलाई ख्याल गर्दा, मैले “अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ,” र “थुतुनो निकाल्नेलाई नै पहिले प्रहार गरिन्छ” भन्ने जस्ता शैतानी विषहरूले मेरो हृदयमा गहिरो जरा गाडेका छन् भन्ने महसुस गरेँ। म यी शैतानी विषहरूद्वारा जिउँथेँ, र मेरो प्रकृति अत्यन्तै स्वार्थी, घृणित, धूर्त र छली थियो। म सधैँ पहिले आफ्नो हित सोच्थेँ, आफूलाई फाइदा हुने काम मात्र गर्थेँ, र मलाई फाइदा नहुने वा मलाई जिम्मेवारी बोकाउन सक्ने कुनै पनि काम गर्दिनथेँ। जस्तै जब मैले पहिलो पटक शुद्धीकरणको काम सम्हालेँ, मैले सिद्धान्तहरू नबुझेकाले विचलनहरू आउँलान् र जिम्मेवारी बोक्नुपर्ला भन्ने डरले मैले कुनै बोझ लिन मानिनँ, अधीनस्थका रूपमा स्वेच्छाले सोङ पिङलाई पछ्याइरहेँ, र कुनै समस्या वा विचलन आएमा, मैले मुख्य जिम्मेवारी बहन गर्नु पर्दैन भन्ने सोचेँ। अब सोङ पिङलाई सरुवा गर्न लागिएको थियो, त्यसैले म यति लामो समयदेखि यो भूमिकामा रहेकाले मैले अग्रसर भएर यो बोझ बहन गर्नुपर्थ्यो, तर म काममा कुनै पनि विचलनका लागि जवाफदेही बनाइनेछ भन्ने डरले बोझ सम्हाल्न अनिच्छुक थिएँ, र मिश्रित दमनकारी भावनाहरूमा फसिरहेँ। म यी शैतानी विषहरूद्वारा जिएँ, र मैले निरन्तर परमेश्वरलाई झुक्याउन खोजेँ। बाहिरबाट हेर्दा, म चलाख देखिन्थेँ, र निरन्तर आफ्नो हितको रक्षा गर्थेँ, तर वास्तवमा, म साँच्चै मूर्ख थिएँ, किनभने मैले सत्यता प्राप्त गर्ने धेरै अवसरहरू गुमाएकी थिएँ, र मेरो जीवन प्रवेशमा ठूलो हानि भएको थियो। यसका बारेमा सोच्दा, के आज मैले परमेश्वरमा विश्वास गर्नु र उहाँलाई पछ्याउनु सत्यता प्राप्त गर्ने र परमेश्वरद्वारा मुक्ति पाउने आशाका लागि थिएन र? तर मेरो कर्तव्यमा, म मेरो स्वार्थी, घृणित, धूर्त र छली शैतानी प्रकृतिद्वारा जिउँथेँ, कहिल्यै सत्यता खोज्दिनथेँ वा अभ्यास गर्दिनथेँ, र म परमेश्वरसँग एउटै मन र हृदयको थिइनँ। यसरी मैले कसरी सत्यता प्राप्त गर्न र परमेश्वरद्वारा मुक्ति पाउन सक्थेँ र? त्यसबेलादेखि, म अब यी शैतानी विषहरूद्वारा जिउन सकिनँ। मैले सत्यता खोज्नुपर्थ्यो, परमेश्वरको अभिप्राय खोज्नुपर्थ्यो, र उहाँका मागहरूअनुसार आफ्नो कर्तव्य पूरा गर्नुपर्थ्यो।
पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “इमानदार व्यक्तिका प्रकटीकरणहरू के-के हुन्? पहिलो, परमेश्वरका वचनहरूप्रति कुनै शङ्का नहुनु। यो इमानदार व्यक्तिको एउटा प्रकटीकरण हो। यसबाहेक, सबैभन्दा महत्त्वपूर्ण प्रकटीकरण भनेको सबै कुरामा सत्यता खोजी र अभ्यास गर्नु हो—यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। तँ आफू इमानदार छु भन्छस्, तर सधैँ परमेश्वरका वचनहरूलाई आफ्नो दिमागको पछाडिको भागमा धकेलेर राख्छस् र जे मन लाग्यो त्यही गर्छस्। के त्यो इमानदार व्यक्तिको प्रकटीकरण हो त? तँ भन्छस्, ‘मेरो क्षमता कम भए पनि मसँग इमानदार हृदय छ।’ तापनि जब तँमाथि कुनै कर्तव्य आइलाग्छ, तँ कष्ट भोग्नुपर्ला वा आफूले त्यो काम राम्रोसँग गरिएन भने, त्यसको जिम्मेवारी लिनुपर्ला भनी डराउँछस्, त्यसकारण तँ आफ्नो कर्तव्यबाट तर्किन बहानाहरू बनाउँछस् वा त्यो गर्न अरू कसैलाई सिफारिस गर्छस्। के यो इमानदार व्यक्तिको प्रकटीकरण हो र? स्पष्ट रूपमा, त्यो होइन। त्यसो भए, इमानदार व्यक्तिले कस्तो व्यवहार गर्नुपर्छ? तिनीहरू परमेश्वरका बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ, आफूले निभाउनुपर्ने कर्तव्यमा अर्पित हुनुपर्छ, र परमेश्वरका अभिप्रायहरू पूरा गर्न लागिपर्नुपर्छ। यसले आफूलाई केही तरिकामा प्रकट गर्छ। एउटा तरिका हो, आफ्ना देहगत हितहरूलाई विचार नगरी आफ्नो कर्तव्य इमानदार हृदयले स्वीकार गर्नु, यसबारे आधा मनको नहुनु र आफ्नो फाइदाको लागि षड्यन्त्र नगर्नु। ती इमानदारीका प्रकटीकरणहरू हुन्। अर्को तरिका भनेको आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नमा आफ्नो सारा हृदय र बल लगाउनु, परमेश्वरको घरले सुम्पेका कामहरू उचित रूपमा गर्नु, र परमेश्वरलाई सन्तुष्ट पार्नको लागि आफ्नो कर्तव्यमा आफ्नो हृदय र प्रेम लगाउनु हो। इमानदार व्यक्तिसँग आफ्नो कर्तव्य निर्वाह गर्दा हुनुपर्ने प्रकटीकरणहरू यिनै हुन्। यदि के गर्नुपर्छ भनेर तैँले बुझ्छस् र तँलाई थाहा छ तर तैँले गर्दैनस् भने, तैँले आफ्नो कर्तव्यमा आफ्नो सारा हृदय र बल लगाइरहेको छैनस्। बरु तँ धूर्त होस् र सुस्त हुँदै छस्। के यसरी आफ्ना कर्तव्य निर्वाह गर्ने मानिसहरू इमानदार हुन् त? अवश्य होइनन्। परमेश्वर यस्ता धूर्त र छली मानिसहरूलाई प्रयोग गर्नुहुन्न; तिनीहरूलाई हटाउनैपर्छ। परमेश्वरले इमानदार मानिसहरूलाई मात्र कर्तव्य निभाउन प्रयोग गर्नुहुन्छ। बफादार श्रमिकहरूसमेत इमानदार हुनैपर्छ। निरन्तर झाराटारुवा, धूर्त र सुस्त हुने सबै मानिसहरू छली हुन्, र तिनीहरू सबै पिशाच हुन्। तिनीहरूमध्ये कसैले पनि परमेश्वरमा साँचो विश्वास गर्दैन, र तिनीहरू सबैलाई हटाइनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरू पढेपछि, मैले उहाँका आवश्यकताहरू बुझेँ। परमेश्वरले हामीले उहाँलाई र हाम्रा कर्तव्यहरूलाई इमानदार हृदयले व्यवहार गरौँ, व्यक्तिगत हितहरूलाई ख्याल नगरी वा आफ्ना लागि षड्यन्त्र नगरी हामीले गर्न सक्ने सबै कुरा गरौँ भन्ने आशा गर्नुहुन्छ। यसरी, परमेश्वर सन्तुष्ट हुनुहुनेछ। मैले सोचेँ कि म यो कर्तव्य निर्वाह गर्ने एक्लो व्यक्ति होइन, किनकि मसँग सहकार्य गर्न नयाँ सिस्टरहरू र अगुवाहरू पनि हुनुहुन्थ्यो, र यदि मैले उहाँहरूसँग धेरै छलफल गरेँ र आफ्नै मार्गमा जिद्दी नगरी सिद्धान्तहरू खोजेँ भने, म समस्या र विचलनहरूबाट पनि बच्न सक्थेँ। यो थाहा पाएपछि, मेरो मनमा कुनै चिन्ता रहेन र म कामको जिम्मा लिन र आफ्ना जिम्मेवारीहरू पूरा गर्न इच्छुक भएँ। सोङ पिङ गएपछि, मैले नयाँ सिस्टरहरूलाई संवर्धन गर्न पहल गरेँ, र सामग्रीहरू मिलाउँदा, मैले अस्पष्ट विषयहरूबारे सिस्टरहरूसँग छलफल गरेँ, जसले मलाई चीजहरूलाई अझ सही रूपमा हेर्न र केही विचलन र समस्याहरूबाट बच्न मद्दत गर्यो। केही समयपछि, माथिल्लो तहका अगुवाहरूले मण्डलीमा कुनै झूटा अगुवा वा ख्रीष्टविरोधीहरू छन् कि छैनन् भनी अनुसन्धान गर्न अनुरोध गर्दै एउटा पत्र पठाउनुभयो, र हामीलाई यो काम कार्यान्वयन गर्न हरेक मण्डलीलाई पत्र लेख्न भन्नुभयो। म अलि घबराएँ, र यदि मैले पत्रमा स्पष्ट रूपमा कुराहरू व्यक्त गरिनँ र सिद्धान्तहरू सङ्गति गरिनँ, ब्रदर-सिस्टरहरूलाई बहकाएँ, र मण्डलीको काममा अवरोध र बाधा निम्त्याएँ भने, मलाई पक्कै पनि जवाफदेही बनाइनेछ भनेर चिन्तित भएँ। के त्यसपछि तिनीहरूले मलाई बर्खास्त गर्नेछन्? यस क्षणमा, मैले म फेरि आफ्नै हितहरूका बारेमा सोचिरहेकी रहेछु भन्ने महसुस गरेँ, त्यसैले मैले आफैँविरुद्ध विद्रोह गर्न र आफ्नो भ्रष्ट स्वभावद्वारा नजिउन परमेश्वरलाई प्रार्थना गरेँ। त्यसपछि, मैले नयाँ सिस्टरहरूसँग कुराकानी गरेँ, कार्यान्वयन गर्नुपर्ने कामका विभिन्न पक्षहरू टिपोट गरेँ, र त्यसपछि मैले पत्र लेख्न थालेँ। यो सिध्याएपछि, हामीले अगुवाहरूका सुझावका आधारमा यसलाई संशोधन गर्यौँ र सिद्ध पार्यौँ, र त्यसपछि हामीले उक्त पत्र पठायौँ। यस अवधिमा, मैले मण्डलीको यो कामको कार्यान्वयनको अवस्थालाई निरन्तर पछ्याएँ, र कुनै समस्या वा विचलनहरू फेला पार्नेबित्तिकै ब्रदर-सिस्टरहरूसँग कुराकानी गरेँ, र अन्ततः व्यावहारिक काम नगर्ने केही झूटा अगुवाहरू र निरन्तर दुष्टता गर्ने र मण्डलीको काममा अवरोध र बाधा दिने केही व्यक्तिहरू पहिचान गरेँ, र हामीले तिनीहरूलाई समायोजन र निराकरण गर्यौँ।
यो कुरा अनुभव गरेपछि, परमेश्वरले बन्दोबस्त गर्नुभएको वातावरण कति राम्रो छ भनी मैले थाहा पाएँ। यो वातावरणविना, मैले आफ्ना समस्याहरू पटक्कै थाहा पाएकी हुने थिइनँ, र म अझै पनि आफ्नो स्वार्थी र घृणित शैतानी स्वभावद्वारा जिइरहेकी हुनेथिएँ, र एक अधीनस्थ व्यक्ति हुनमै सन्तुष्ट हुनेथिएँ र मैले कुनै वास्तविक प्रगति गरिरहेकी हुँदिनथेँ। मेरो कर्तव्यप्रतिको मेरो मनोवृत्ति अहिले केही हदसम्म परिवर्तन भएको छ, र यो सबै परमेश्वरका वचनहरूको परिणाम हो।