४४. एउटा खतरनाक वातावरणले मेरो स्वार्थीपन प्रकट गर्‍यो

हान मिङ्ग, चीन

सन् १९९८ मा, मैले सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गरेँ। पछि, म आफ्नो आस्थाका कारण चर्चित भएँ र चिनियाँ कम्युनिष्ट पार्टीको प्रहरी बलको निगरानीको प्रमुख निशाना बनेँ। २०१६ मा, मेरी श्रीमती र म आफ्नो कर्तव्य निर्वाह गर्न घर छोडेर अर्को ठाउँमा घर भाडामा लिएर बस्यौँ। पछि, मेरो गृहनगरका ब्रदर-सिस्टरहरूले प्रहरीले अझै पनि मलाई खोजिरहेको छ, र उनीहरूले मलाई देखेमा रिपोर्ट गर्नका लागि एक जना छिमेकीलाई घुस दिएका छन् भनेर बताए। यसकारण, हामी अन्यत्र आफ्नो कर्तव्य निर्वाह गर्दा निकै होसियार हुन्थ्यौँ, सधैँ सतर्क रहन्थ्यौँ, अनि निगरानीमा परेर पक्राउ परिने हो कि भनेर डराउँथ्यौँ।

सन् २०२३ को पूर्वार्धको एक बिहान, सिस्टर झाङ निङ अचानक मेरो घरमा चिन्तित मुद्रामा आइन् र उनले भनिन्, उनीसँग सहकार्य गर्ने सिस्टर पक्राउ परेकी छिन्, र मण्डलीका अरू केही ब्रदर-सिस्टरहरू पनि पक्राउ परेका छन्। प्रहरी सोधपुछका लागि केही अतिथि सत्कारक निवासहरूमा समेत गएको थियो। उनको र सिस्टर लिउ मिङको जाने ठाउँ कतै थिएन र उनीहरू केही समय मेरो घरमा बस्न चाहन्थे। उनीहरू खेदोमा परेको र घर फर्कन नसक्ने अवस्थाबारे सोचेर, मैले तुरुन्तै हुन्छ भनेँ। तर दुई दिनपछि, मैले उनीहरू दुवैलाई घात गरिएको रहेछ, र प्रहरीले लिउ मिङको फोटो हात पारेको र उनको खोजी गरिरहेको रहेछ भन्ने थाहा पाएँ। यो खबर सुनेर म निकै आत्तिएँ, र मलाई चीन कालो बादलले ढाकिएको, र त्यहाँ कतै पनि सुरक्षित ठाउँ नरहेको जस्तो लाग्यो। मैले आफूलाई चिन्तित हुनबाट रोक्न सकिनँ, र सोचेँ, “मलाई पनि सिसिपिको प्रहरीले खोजिरहेको हुनाले, के अहिले यी दुई सिस्टरहरूलाई मसँगै यहीँ राख्नु धेरै खतरनाक हुँदैन र? विशेष गरी लिउ मिङको कुरा गर्नुपर्दा, प्रहरीसँग उनको फोटो छ र उनी कहाँ छिन् भनेर सक्रिय रूपमा खोजी गरिरहेको छ। उनी मेरो घर आउँदा धेरै निगरानी क्यामेराहरू पार गरेर आएकी छिन्, र यदि प्रहरीले फुटेज जाँच गर्‍यो भने, तिनीहरूले तुरुन्तै उनको गतिविधि पत्ता लगाउनेछन् र मेरो घर फेला पार्नेछन्। त्यसपछि हामी पनि पक्राउ पर्नेछौँ!” मैले आफू धेरै वर्षदेखि उच्च रक्तचाप र मुटुरोगको बिरामी भएको कुरा पनि सम्झेँ, र मैले आफैलाई सोधेँ, “यदि मलाई पक्राउ गरेर यातना दिइयो भने, के मैले त्यो सहन सकुँला त? यदि मैले दुःख सहन सकिनँ र परमेश्‍वरलाई धोका दिएँ भने, के मेरो आस्था व्यर्थ हुनेछैन र? अनि भविष्यमा मैले दण्ड पनि भोग्नुपर्नेछ।” मैले यसबारे जति बढी सोचेँ, म त्यति नै बढी डराएँ, र मलाई आफू ठूलो दबाबमा परेको महसुस भयो। त्यति नै बेला, मेरो मनमा एउटा विचार आयो, “यदि मलाई यो सब यति खतरनाक हुन्छ भन्ने थाहा भएको भए, मैले झाङ निङ र लिउ मिङलाई बस्न दिने थिइनँ। त्यसरी, म कम जोखिममा पर्नेथिएँ। अहिले परिस्थिति यति डरलाग्दो भएकाले, उनीहरू यहाँ जति लामो समय बस्छन्, म त्यति नै बढी खतरामा हुन्छु।” यो विचार आएपछि, हामी कुरा गर्दा, म मेरो घर असुरक्षित भएको सङ्केतहरू दिन्थेँ, मेरो अभिप्राय झाङ निङ र लिउ मिङले अगुवाहरूलाई उनीहरूका लागि सकेसम्म चाँडो अर्को अतिथि सत्कारक निवास खोज्न आग्रह गरून् भन्ने थियो। हरेक पटक मैले यस्तो कुरा गर्दा, उनीहरू दुवै विवश देखिन्थे। पछि, मलाई ग्लानि महसुस हुन्थ्यो, र मैले उनीहरूसँग, विशेषगरी लिउ मिङ्सँग, त्यस्तो व्यवहार गर्नुहुँदैन भन्ने लाग्थ्यो। उनको स्वास्थ्य पहिल्यै कमजोर थियो, र अहिले उनको खोजी गरिँदै थियो। केही समयअघि मात्र उनकी आमा पक्राउ परेकी थिइन्, र उनलाई के भयो भनेर कसैलाई थाहा थिएन, अनि एक पटक, मैले उनी भान्सामा एक्लै रोइरहेको देखेँ। उनीहरू धेरै खतरामा थिए, र मैले उनीहरूलाई निस्केर जान दबाब दिनु हुँदैनथ्यो, तर जब म आफ्नै सुरक्षाबारे सोच्थेँ, म अझै पनि उनीहरू चाँडै गए हुन्थ्यो भन्ने आशा गर्थेँ।

एउटा भेलाको क्रममा, मैले परमेश्‍वरको वचनको एउटा खण्ड पढेँ, र त्यसले ममा गहिरो प्रभाव पार्‍यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “शैतान जतिसुकै ‘अत्यन्तै शक्तिशाली’ भए पनि, यो जतिसुकै दुस्साहसी र महत्त्वाकाङ्क्षी भए पनि, क्षति पुऱ्याउने यसको क्षमता जतिसुकै ठूलो भए पनि, मानिसलाई भ्रष्ट तुल्याउने र प्रलोभनमा पार्ने यसका सक्षमताहरूको दायरा जतिसुकै फराकिलो भए पनि, यसले मानिसलाई धम्काउने युक्ति र जालझेलहरू जतिसुकै चलाख भए पनि, वा यसको अस्तित्वका रूपहरू जतिसुकै विविध भए पनि, यसले कहिल्यै एउटै जीवित प्राणी सृष्टि गर्न, यावत् थोकको अस्तित्वका लागि व्यवस्था वा नियमहरू स्थापित गर्न, वा कुनै पनि सजीव वा निर्जीव वस्तुमाथि शासन गर्न वा सार्वभौमिकता राख्न सकेको छैन। ब्रह्माण्ड र आकाशभित्र, एउटा पनि व्यक्ति वा थोक छैन जुन यसद्वारा अस्तित्वमा ल्याइएको होस् वा यसको कारणले अस्तित्वमा रहेको होस्; यसको सार्वभौमिकता वा शासनअन्तर्गत एउटा पनि व्यक्ति वा थोक छैन। यसको विपरीत, यो परमेश्‍वरको प्रभुत्वअन्तर्गत अस्तित्वमा रहनुपर्ने मात्रै होइन, यसले परमेश्‍वरका सबै आज्ञा र आदेश पनि पालन गर्नैपर्छ। परमेश्‍वरको अनुमतिविना, शैतानले जमिनमा भएको एक थोपा पानी वा बालुवाको एक कणलाई सजिलै छुन समेत सक्दैन; परमेश्‍वरको अनुमतिविना, शैतानले जमिनमा भएका कमिलाहरूलाई समेत छेडछाड गर्न सक्दैन, परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिको त कुरै छोडौँ। परमेश्‍वरको नजरमा, शैतान पहाडका लिलीहरू, हावामा उड्ने चराहरू, समुद्रका माछाहरू, र पृथ्वीका कीराहरूभन्दा तुच्छ छ। यावत् थोकहरूमाझ यसको भूमिका भनेको यावत् थोकहरूको सेवा गर्नु, मानवजातिको सेवा गर्नु, र परमेश्‍वरको काम र उहाँको व्यवस्थापनको योजनाको सेवा गर्नु हो। यसको प्रकृति जतिसुकै दुर्भावपूर्ण भए पनि, र यसको सार जतिसुकै दुष्ट भए पनि, यसले गर्न सक्ने एउटै कुरा भनेको आज्ञाकारी भई आफ्नो कार्य पूरा गर्नु हो: परमेश्‍वरलाई सेवा प्रदान गर्नु—एक प्रतिभारका रूपमा राम्ररी सेवा गर्नु। शैतानको सार र मौलिक स्थान यही हो। जीवन, शक्ति, वा अख्तियारसँग यसको सारको कुनै सम्बन्ध छैन; यो परमेश्‍वरको हातमा भएको एउटा खेलौना मात्रै हो, परमेश्‍वरले सेवाका लागि प्रयोग गर्नुहुने एउटा यन्त्र मात्रै हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १)। परमेश्‍वरका वचनहरूबाट मैले शैतानले परमेश्‍वरको कामका लागि सेवा प्रदान गर्छ, र परमेश्‍वरको अनुमतिविना त्यसले केही गर्न सक्दैन भन्ने देखेँ। ठूलो रातो अजिङ्गर धेरै क्रूर देखिए पनि, त्यो पनि परमेश्‍वरकै हातमा हुन्छ। लिउ मिङ यहाँ आउँदा उनको निगरानी र पिछा गरिएको थियो कि थिएन, र म पक्राउ पर्छु कि पर्दिनँ, यी सबै परमेश्‍वरको नियन्त्रणमा हुने कुरा थिए, र परमेश्‍वरले नै अन्तिम निर्णय गर्नुहुनेथियो। परमेश्‍वरको अनुमतिविना, प्रहरीले हामीलाई फेला पार्नेथिएन। म पक्राउ परिसकेको पनि थिइनँ, तर यति काँतर र डराएको थिएँ, र मैले ती दुई सिस्टरहरूलाई बस्न दिन इन्कार गर्नेबारे समेत सोचेको थिएँ। यसले ममा परमेश्‍वरप्रति साँचो आस्था छँदै छैन भन्ने देखायो। ममाथि केही आइपर्दा, मेरो हृदयमा परमेश्‍वरका लागि कुनै ठाउँ थिएन। म कुन हिसाबले परमेश्‍वरमा साँचो विश्वास गर्ने व्यक्ति थिएँ र? म त लगभग अविश्‍वासी नै थिएँ। मैले धेरै वर्ष परमेश्‍वरमा विश्वास गरेपछि पनि आफ्नो कद अत्यन्तै सानो रहेको देखेँ, र सत्यता नपछ्याएकोमा मैले आफैलाई घृणा गरेँ। ममाथि परिस्थितिहरू आइपर्दा तिनले ममा सत्यता वास्तविकताहरूको कत्ति धेरै कमी रहेछ भन्ने कुरा प्रकट गरे।

पछि, जब हामी एकसाथ भेला भयौँ, मैले परमेश्‍वरका केही वचन पढेँ: “ठूलो रातो अजिङ्गरको राष्ट्रमा, मैले मानवजातिमा अथाह कामको एउटा चरण पूरा गर्दै तिनीहरूलाई हावामा नै बहन लगाएको छु, त्यसपछि धेरै जना बिस्तार-बिस्तार हावाको बहावसँगै अलग हुन्छन्। साँच्चै, यो मैले सफा गर्न लागेको ‘खलो’ हो; मैले उत्कट चाह गरेको कुरा यही हो र यो मेरो योजना पनि हो। किनकि म काममा हुँदा धेरै दियाबलसहरू गुप्‍त रूपमा पसेका छन्, तर म तिनीहरूलाई धपाउन हतारमा छैनँ। बरु, उपयुक्त समयमा म तिनीहरूलाई तितरबितर पार्नेछु। त्यसपछि मात्र, मलाई साँच्चै प्रेम गर्नेहरूलाई मबाट अञ्‍जीरको फल र लिलीको बास्ना प्राप्‍त गर्न दिएर म जीवनको मूल हुनेछु। शैतान बास बस्ने मुलुकमा, धूलोलो भूमिमा कुनै विशुद्ध सुन रहँदैन, त्यहाँ केवल बालुवा मात्र हुन्छ, र त्यसैले, यी परिस्थितिहरूको सामना गरेपछि म यस्तो चरणको काम गर्छु(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सात मेघगर्जन गर्जिन्छन्—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्‍ने अगमवाणी)। परमेश्‍वरका वचनहरूबाट मैले परमेश्‍वरले ठूलो रातो अजिङ्गरलाई सबैलाई जाँच्ने सेवामा प्रयोग गर्न त्यसलाई परमेश्‍वरका चुनिएका मानिसहरूलाई सताउन र पक्राउ गर्न दिनुहुन्छ भन्ने देखेँ। एक हिसाबमा, यो मानिसहरूको एउटा समूहलाई सिद्ध पार्न गरिन्छ, र अर्को हिसाबमा, यसले अविश्‍वासी र काँतर मानिसहरूलाई पनि प्रकट गर्छ। विगतमा, मैले आफू परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्नेछु, र आफू परमेश्‍वरप्रति समर्पित र बफादार हुन इच्छुक छु भनेर बारम्बार भनेको थिएँ। मैले ब्रदर-सिस्टरहरूले एक-अर्कालाई मद्दत र प्रेम गर्नुपर्छ पनि भनेको थिएँ, तर तथ्यहरूले म केवल धर्मसिद्धान्त र नाराहरू फलाकिरहेको थिएँ, जसमा कुनै वास्तविकता थिएन भन्ने कुरा प्रकट गरे। झाङ निङ र लिउ मिङ मेरो घरमा बस्न आएका थिए, र सुरुमा, म उनीहरूलाई राख्न इच्छुक थिएँ। तर केही मानिस पक्राउ परेको देखेपछि, अनि उनीहरू दुवैलाई घात गरिएको छ, र प्रहरी लिउ मिङको पछि लागिरहेको छ भन्ने सुनेपछि, मलाई उनीहरूलाई राख्दा धेरै ठूलो जोखिम हुन्छ, र यदि म पक्राउ परेँ भने, मलाई कडा सजाय हुनेछ भन्ने महसुस भयो। आफ्नै सुरक्षाका खातिर, मैले त्यसउप्रान्त उनीहरूलाई राख्न चाहिनँ। मैले मनमा जे महसुस गरेको थिएँ र मुखले जे भनेको थिएँ, त्यसको अभिप्राय उनीहरूलाई सकेसम्म चाँडो निस्केर जान लगाउने थियो। मैले आफ्नै बारेमा सोचेँ। मलाई पनि ठूलो रातो अजिङ्गरले खोजिरहेको थियो र मेरो घर भएर पनि म फर्कन सक्दिनथेँ, र जब मेरो शरीरलाई पीडा र हृदयलाई सास्ती भइरहेको थियो, मलाई पनि अरूले मद्दत गर्लान् भन्ने आशा थियो। अहिले परमेश्‍वरले मेरा लागि उपयुक्त ठाउँ तयार पारिदिनुभएको थियो, तर जब सिस्टरहरू घर फर्कन नसक्ने अवस्थामा पुगे र उनीहरूको जाने ठाउँ कतै थिएन, मैले उनीहरूको सुरक्षाको वास्ता गरिनँ, र निरन्तर उनीहरूलाई धपाउन चाहिरहेँ। मैले मेरा ब्रदर-सिस्टरहरूप्रति ममा बिलकुलै प्रेम नभएको महसुस गरेँ। झाङ निङ र लिउ मिङले मण्डलीमा महत्त्वपूर्ण कर्तव्यहरू निर्वाह गर्थे, तर यस अति महत्त्वपूर्ण क्षणमा, मैले उनीहरूको सुरक्षा कसरी गर्ने वा मण्डलीको कामको रक्षा कसरी गर्ने भन्ने कुराको ख्याल गरेको थिइनँ। मैले कुन तरिकाले परमेश्‍वरप्रति कुनै बफादारी देखाएँ त? मेरो प्रकृति अत्यन्तै स्वार्थी थियो, र ममा मानवताको कमी थियो! ठूलो रातो अजिङ्गरले परमेश्‍वरको कामका लागि सेवा प्रदान गर्दो रहेछ, र यस्तो परिस्थितिविना, मैले आफ्नो भ्रष्टतालाई चिन्ने रहेनछु भनेर मैले अहिले मात्र थाहा पाएँ। त्यसपछि, मैले यदि कुनै दिन म साँच्चै पक्राउ परेँ भने पनि, म नडगमगाई आफ्नो गवाहीमा दृढ रहनेछु र परमेश्‍वरलाई धोका दिनेछैनँ भनी आफैसँग सङ्कल्प गरेँ। त्यसैले मैले यदि प्रहरी घर खानतलासी गर्न आयो वा कुनै अप्रत्याशित परिस्थिति आइपर्‍यो भने कसरी जवाफ दिने र कसरी भाग्ने भनेर झाङ निङ र लिउ मिङसँग छलफल गरेँ। यसले मेरो डर कम गर्‍यो।

केही समयपछि, झाङ निङ र लिउ मिङ सरेर गए। मेरी बहिनी र ज्वाइँ मलाई होसियार रहनू भनी सम्झाउन मेरो घरमा आए, र उनीहरूले मलाई प्रहरीले खोजिरहेको छ, र साथै प्रहरीले मलाई अगुवा सोचेको छ, र यदि म समातिएँ भने, मलाई निश्चित रूपमा सजाय हुनेछ भनेर भने। मेरो मन भारी भयो, र मैले पक्राउ परेपछि ब्रदर-सिस्टरहरूलाई घात गर्नेहरूले मेरो सनाखत र मलाई घात गरेका त छैनन् भनेर सोचेँ। सुरक्षाका लागि, मैले मेरो घरका महत्त्वपूर्ण चीजहरू सबै लुकाएँ। मैले यदि केही भयो भने, म सहर छोडेर केही समयका लागि लुक्न जानेछु भनी सोचेँ। त्यति नै बेला, लिउ मिङ अचानक फर्केर आइन्। उनी गएको अतिथि सत्कारक निवास निगरानीमा परेकाले उनी त्यहाँ बस्न सकेकी रहेनछिन्। म स्तब्ध भएँ, र सोचेँ, “लिउ मिङलाई खोजिँदै छ, र जताततै क्यामेराहरू छन्। उनी सरेर गएपछि फेरि फर्केर आएकी छिन्, त्यसैले यदि उनको निगरानी भइरहेको छ भने प्रहरीले सजिलै उनको ठेगाना पत्ता लगाउनेछ। सुरुमा त म बस्ने ठाउँ तुलनात्मक रूपमा सुरक्षित थियो, तर यदि प्रहरीले निगरानी फुटेजको सुराक पछ्याउँदै लिउ मिङलाई फेला पार्‍यो भने, के मेरो घर खुलासा हुनेछैन र?” त्यो साँझ, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, लिउ मिङ अचानक फर्केर आएकी छिन्। मलाई यदि उनको निगरानी र पिछा गरिँदै छ भने, म पनि मुछिन सक्छु भन्ने चिन्ता छ, र मलाई पक्राउ पर्छु कि भन्ने डर छ। परमेश्‍वर, कृपया मेरो हृदयको रक्षा गर्नुहोस् र यो वातावरणमा मलाई पाठ सिक्न मार्गदर्शन गर्नुहोस्।” प्रार्थना गरेपछि, म अलि ढुक्क भएँ। म लिउ मिङलाई तत्कालका लागि मेरो घरमा बस्न दिन तयार भएँ।

केही दिनपछि, मैले लिउ मिङकी आमालाई मेरो घरको ठेगाना थाहा रहेछ भन्ने थाहा पाएँ। उनको एक जना विश्वासी नातेदारलाई पनि लिउ मिङ मेरो घरमा बसेकी छिन् भन्ने थाहा रहेछ। मैले सोचेँ, “अहिले कसैमाथि भर पर्न सकिँदैन। यदि यो नातेदारलाई समातियो र उनले लिउ मिङ मेरो घरमा छिन् भनेर खुलाइन् भने, के म झन् बढी खतरामा पर्नेछैन र?” म फेरि तनावमा पर्न थालेँ, र सोचेँ, “लिउ मिङको सुरक्षामा यति ठूलो जोखिम छ, मैले केही दिनअघि उनी जाँदा नै उनी जान लागेकाले फर्केर आउनु हुँदैन भनेर उनलाई सल्लाह दिएको भए, अहिले यी जोखिमहरूबारे चिन्ता लिनुपर्ने थिएन।” यो सोचेर, मैले उनलाई अगुवाहरूलाई पत्र लेखेर सर्नका लागि छिटो अतिथि सत्कारक निवास खोज्न भन्न लगाएँ। तर दिनहरू बित्दै गए, र अझै पनि अगुवाहरू लिउ मिङलाई लिन आउने सङ्केत देखिएन, त्यसैले म चिन्तित हुन थालेँ। लिउ मिङले विवश हुँदै भनिन्, “अहिले पूरै मण्डलीको वातावरण नै एकदमै खराब छ, र तुरुन्तै उपयुक्त अतिथि सत्कारक निवास भेट्टाउन गाह्रो छ।” लिउ मिङको दुःखी अनुहार देखेर, मलाई पछुतो लाग्यो र उनलाई पठाउन मेरो मनले मानेन। पछि, अगुवाहरूले मेरो ठाउँ पनि सुरक्षित छैन भन्ने ठहर गरे, त्यसैले उनीहरूले लिउ मिङलाई अर्को घरमा सारे।

त्यसपछि, मैले चिन्तनमनन गर्न थालेँ, र यी दुई अवसरमा झाङ निङ र लिउ मिङलाई बस्न दिएर मैले के पाठ सिकेँ भनेर आफैलाई सोधेँ। फर्केर हेर्दा, मैले आफूलाई जोगाउन चाहँदा, साथै निरन्तर आफ्नो कर्तव्य पन्छाउन चाहँदा र सिस्टरहरूलाई बस्न दिन अनिच्छुक हुँदा मैले दुवै अवसरमा कायरता प्रकट गरेको थिएँ। त्यसैले मैले यो स्थितिबारे पढ्न परमेश्‍वरका वचनहरू खोजेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “ख्रीष्टविरोधीहरू अत्यन्तै स्वार्थी र घृणित हुन्छन्। परमेश्‍वरमाथि तिनीहरूसँग साँचो विश्‍वास हुँदैन, परमेश्‍वरप्रतिको बफादारी हुने कुरा त परै जाओस्; जब तिनीहरूले कुनै समस्याको सामना गर्छन्, तिनीहरूले केवल आफूलाई बचाउँछन् र आफ्नो सुरक्षा गर्छन्। तिनीहरूका लागि, आफ्नो सुरक्षाभन्दा महत्त्वपूर्ण कुरा अरू केही हुँदैन। तिनीहरू जीवित रहेसम्म र पक्राउ नपरेसम्म पुग्यो, तिनीहरूले मण्डलीको काममा कति हानि पुगेको छ भन्ने कुराको वास्ता गर्दैनन्। यस्ता मानिसहरू अत्यन्तै स्वार्थी हुन्छन्, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरू वा मण्डलीको कामबारे बिल्कुलै सोच्दैनन्, तिनीहरूले आफ्नै सुरक्षाबारे मात्र सोच्छन्। तिनीहरू ख्रीष्टविरोधीहरू हुन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। परमेश्‍वरका वचनहरूको खुलासाबाट, मैले के देखेँ भने, ख्रीष्टविरोधीहरू साँच्चै स्वार्थी र घृणित हुन्छन्। तिनीहरू आफ्नो र आफ्ना हितहरूको रक्षा गर्नमा मात्र चासो राख्छन्, र तिनीहरूलाई मण्डलीको कामको रक्षा गर्नेबारे वा आफ्ना ब्रदर-सिस्टरहरूको सुरक्षाको अलिकति पनि वास्ता हुँदैन। मैले ख्रीष्टविरोधीकै जस्तो व्यवहार गरेको थिएँ, समस्या आएको बेलामा आफ्नै बारेमा मात्र सोच्ने र आफ्ना हितहरूलाई प्राथमिकता दिने गर्थेँ, अनि आफ्ना ब्रदर-सिस्टरहरूको सुरक्षा वा मण्डलीको कामलाई पटक्कै ख्याल गर्दिनथेँ। झाङ निङ र लिउ मिङले लेखन-पठनको कर्तव्य निर्वाह गरिरहेका थिए, जुन मण्डलीका लागि एउटा महत्त्वपूर्ण कार्य हो। अहिले मण्डलीले व्यापक पक्राउको सामना गरिरहेको हुनाले, धेरै अतिथि सत्कारक निवासहरू आश्रय दिन सक्ने अवस्थामा थिएनन्। मैले भाडामा लिएको घर तुलनात्मक रूपमा सुरक्षित थियो, त्यसैले यस्तो अवस्थामा, मैले उनीहरूलाई स्वागत गर्नु आफ्नो नैतिक दायित्व ठान्नुपर्थ्यो ताकि उनीहरूले शान्त वातावरणमा आफ्नो कर्तव्य निर्वाह गर्न सकून्। अझ, लिउ मिङको स्वास्थ्य राम्रो थिएन, उनकी आमा पक्राउ परेकीले उनी धेरै व्यथित थिइन्, र उनी आफै खेदोमा परेकीले, उनको फर्कने घर थिएन, त्यसैले मैले उनलाई भित्र्याएर हेरचाह गर्नुपर्थ्यो ताकि उनले यहाँ घरजस्तै महसुस गर्न सकून् र शान्तिपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्न सकून्। तर, मैले त आफू पक्राउ पर्ने हो कि, यदि पक्राउ परेँ भने म दृढ रहन सक्छु कि सक्दिनँ, र पछि मैले राम्रो गन्तव्य पाउन सक्छु कि सक्दिनँ भन्नेबारे मात्र सोचेँ, तर मैले उनीहरूको परिस्थिति वा भावनाहरूप्रति समानुभूति राखिनँ। आफ्नै सुरक्षाका लागि, मैले अप्रत्यक्ष रूपमा उनीहरूलाई धपाउने कोसिस समेत गरेँ। आफू सुरक्षित भएसम्म त्यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्ने सोचेर म आफ्ना हितहरूको मात्र ख्याल गरिरहेको थिएँ। मैले आफूलाई परमेश्‍वरले खुलासा गर्नुभएका ती ख्रीष्टविरोधीहरू जस्तै स्वार्थी, घृणित, र मानवताहीन देखेँ। मैले मण्डलीका ब्रदर-सिस्टरहरूका बारेमा सोचेँ, जसमध्ये कतिपयले खतरनाक परिस्थितिहरूमा खेदोमा परेका ब्रदर-सिस्टरहरूलाई शरण दिन्छन्। उनीहरू आफ्ना ब्रदर-सिस्टरहरूलाई सरक्षा दिन अलिकति पनि गुनासो नगरी आफै जोखिम उठाउन तयार हुन्छन्। कोही त ठूलो खतराको बाबजुद पनि घटनापछिको परिस्थिति सम्हाल्छन्, आफ्नो व्यक्तिगत सुरक्षाको ख्याल नगरी परमेश्‍वरका वचनका पुस्तकहरू अन्यत्र सार्छन्, अनि कतिपय चाहिँ ब्रदर-सिस्टरहरू पक्राउ र सतावटमा पर्दा उनीहरूलाई जोगाउन अघि सर्छन्। यस्ता मानिसहरूको सूची लामो छ। यी मानिसहरू परमेश्‍वरमा भर परेर आफ्नो देहविरुद्ध विद्रोह गर्न, मण्डलीको कामको रक्षा गर्न, आफ्ना ब्रदर-सिस्टरहरूलाई जोगाउन, र परमेश्‍वरलाई सन्तुष्ट पार्नका लागि आफ्नो बफादारी देखाउन सक्छन्। तिनीहरूका तुलनामा, म साँच्चै धेरै पछि परेको थिएँ। मैले पक्राउ परेपछि मण्डलीको सम्पत्ति र आफ्ना ब्रदर-सिस्टरहरूलाई घात गरेका यहुदाहरूका बारेमा पनि सोचेँ। तिनीहरूको प्रकृति अत्यन्तै स्वार्थी भएकाले, र तिनीहरू मृत्युदेखि डराउने र आफ्नो जीवन बचाउन चाहने भएकाले तिनीहरूले त्यसो गरेका हुन्। जब ठूलो रातो अजिङ्गरले तिनीहरूलाई धम्की दियो, तर्सायो, र यातना दियो, तिनीहरू आफ्नो देहलाई दुःख भोग्न दिन अनिच्छुक थिए र त्यसैले तिनीहरूले ठूलो रातो अजिङ्गरलाई पछ्याएर परमेश्‍वरलाई धोका दिए, उहाँको ईशनिन्दा गरे, र परमेश्‍वरको स्वभावलाई चिढ्याए। म पनि यसरी नै स्वार्थी थिएँ, र यदि मलाई ठूलो रातो अजिङ्गरले पक्राउ गर्थ्यो भने, मैले पनि परमेश्‍वरलाई धोका दिने खतरा हुन्थ्यो! मैले आफ्नो स्थितिलाई समाधान गर्न चाँडो सत्यता खोज्नुपर्थ्यो।

मेरो खोजीमा, मैले आत्मचिन्तन पनि गरेँ, र आफैलाई सोधेँ, “म किन सधैँ पक्राउ पर्नदेखि डराउँछु?” वास्तवमा, यसको कारण के थियो भने, मलाई आफू मरेको खण्डमा, पछि आफ्नो परिणाम वा गन्तव्य राम्रो हुनेछैन भन्ने डर लाग्थ्यो। मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “सर्वशक्तिमान्‌को नजरमा, पूरै मानवजातिको कसलाई चाहिँ वास्ता गरिएको छैन र? सर्वशक्तिमान्‌को पूर्वनिर्धारित प्रबन्धमाझ कोचाहिँ जिउँदैन र? के मानिसको जीवन र मृत्यु उसको आफ्नै रोजाइमा हुन्छ र? के मानिसले आफ्नो भवितव्य आफैले नियन्त्रण गर्न सक्छ र? धेरै मानिसहरूले चिच्याएर मृत्युलाई बोलाउँछन्, तर यो तिनीहरूबाट धेरै टाढा हुन्छ; धेरै मानिसहरू जीवनमा बलिया रहेका व्यक्तिहरूजस्तो बन्न चाहन्छन् र मृत्युदेखि डराउँछन्, तर तिनीहरूलाई थाहै नभई तिनीहरूको मृत्युको दिन नजिक आउँछ र तिनीहरूलाई मृत्य-कुण्डमा धकेल्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय ११)। “प्रभु येशूका ती चेलाहरू कसरी मरे? चेलाहरूमध्ये, कतिलाई ढुङ्गाले हानियो, घोडामा बाँधेर घिस्स्याइएका, उँधोमुन्टो क्रूसमा टाँगिएका, पाँचवटा घोडाले तानेर शरीर चुँडाइएकाहरू पर्थे—तिनीहरूमाथि विभिन्न किसिमको मृत्यु आइपऱ्यो। तिनीहरूको मृत्युको कारण के थियो? के त्यसको कारण तिनीहरू कुनै गलत कार्यमा संलग्न भएपछि कानुनअनुसार तिनीहरूलाई मृत्युदण्ड दिइनु थियो? होइन। तिनीहरूले प्रभुको सुसमाचार प्रसार गरे, तर संसारका मानिसहरूले त्यो स्विकारेनन्, बरु तिनीहरूको निन्दा गरे, तिनीहरूलाई कुटे, र झपारे, अनि तिनीहरूको ज्यान समेत लिए—तिनीहरू त्यसरी नै शहीद भए। … जब हामी यो विषय उल्लेख गर्छौँ, तिमीहरूले आफैलाई तिनीहरूका अवस्थामा राख्छौ, त्यसैले के तिमीहरूको हृदय दुःखी हुन्छ, अनि के तिमीहरू गोप्य पीडा महसुस गर्छौ? तिमीहरू विचार गर्छौ, ‘यी मानिसहरूले परमेश्‍वरको सुसमाचार प्रसार गर्ने आफ्नो कर्तव्य निर्वाह गरे, र तिनीहरूलाई असल मानिस मान्नुपर्छ, त्यसोभए तिनीहरूलाई कसरी त्यस्तो अन्त्य र त्यस्तो परिणाम आइलाग्‍न सक्यो?’ वास्तवमा, तिनीहरूका शरीर यसरी मरेका र बितेका थिए; मानव संसारबाट बिदा हुने तिनीहरूको तरिका यही थियो, तैपनि यसको अर्थ तिनीहरूको परिणाम उस्तै थियो भन्‍ने होइन। तिनीहरूको मृत्यु र बिदा हुने तरिका चाहे जे नै भए पनि, वा त्यो चाहे जसरी भए पनि, परमेश्‍वरले ती जीवनका, ती सृजित प्राणीहरूका अन्तिम परिणाम त्यस्तो होस् भनी निर्धारित गर्नुभएको थिएन। यो तैँले स्पष्ट रूपमा बुझ्नुपर्ने कुरा हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार प्रचार गर्नु सबै विश्‍वासीहरूले पूरा गर्नुपर्ने कर्तव्य हो)। परमेश्‍वरका वचनहरूबाट, मैले हामी प्रत्येकको जीवन र मृत्यु परमेश्‍वरको हातमा छ, र कुनै व्यक्ति कहिले र कसरी मर्छ भन्ने कुरा परमेश्‍वरद्वारा पूर्वनिर्धारित भइसकेको हुन्छ भन्ने देखेँ। व्यक्ति मर्ने तरिकाहरू धेरै छन्, तर यी मृत्युहरूको मूल्य र महत्त्वमा ठूलो भिन्नता हुन्छ, र मानिसका अन्तिम परिणाम र गन्तव्यहरू फरक-फरक हुन्छन्। जस्तै, प्रभु येशू देहधारी परमेश्‍वर हुनुहुन्छ भनी चिनेका प्रभु येशूका चेलाहरू अन्त्यसम्म परमेश्‍वरप्रति बफादार रहन सके, र उनीहरूले उहाँका लागि आफ्नो गवाहीमा दृढ रहन आफ्नो जीवन बलिदान गरे। युगौँदेखि धेरै सन्तहरूले पनि प्रभुको सुसमाचार प्रसार गरेका कारण सहादत प्राप्त गरेका छन्। उनीहरूको मृत्यु मूल्यवान् र अर्थपूर्ण थियो। उनीहरूको शरीर विभिन्न तरिकाले मरे पनि, उनीहरूका प्राण मरेनन्। आखिरी दिनहरूमा, हामी यो नास्तिक देशमा परमेश्‍वरमा विश्वास गर्छौँ र आफ्नो कर्तव्य निर्वाह गर्छौँ, र हामीले अनिवार्य रूपमा सतावट र सङ्कष्टहरूको सामना गर्नेछौँ। हामीले विगतका सन्तहरूको उदाहरणलाई पनि अनुसरण गर्नुपर्छ, र मृत्युसम्मै पनि परमेश्‍वरलाई पछ्याउने दृढता राख्नुपर्छ। तर परमेश्‍वरले योजनाबद्ध गर्नुभएको यो परिस्थितिमा, मैले कसरी भाग्ने र आफूलाई जोगाउने भन्ने बारेमा मात्र सोचेँ। ममा परमेश्‍वरप्रति कुनै आस्था वा बफादारी थिएन, न त मेरा ब्रदर-सिस्टरहरूप्रति कुनै प्रेम नै थियो। मेरो देह जीवित भए पनि, मैले सत्यता अभ्यास गरिनँ र कुनै साँचो गवाही दिइनँ, त्यसैले मैले परमेश्‍वरको अनुमोदन पटक्कै पाइनँ। यदि मैले सत्यता नखोज्ने, पश्चात्ताप नगर्ने, र नबदलिने हो भने, म निश्चित रूपमा हटाइने थिएँ।

पछि, मैले परमेश्‍वरका वचनका दुइटा खण्ड पढेँ र अभ्यासको मार्ग भेट्टाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरको गवाही हुन अनि ठूलो रातो अजिङ्गरलाई लज्जित पार्नको लागि, व्यक्तिसित सिद्धान्त हुनुपर्छ, अनि व्यक्तिले सर्त पूरा गर्नुपर्छ: व्यक्तिले परमेश्‍वरलाई आफ्‍नो हृदयमा प्रेम गर्नुपर्छ र उहाँको वचनमा प्रवेश गर्नुपर्छ। यदि तँ परमेश्‍वरको वचनमा प्रवेश गर्दैनस् भने, शैतानलाई लज्जित तुल्याउन तँसित कुनै तरिका हुनेछैन। तेरो जीवनको वृद्धिद्वारा नै तैँले ठूलो रातो अजिङ्गरको विरुद्धमा विद्रोह गर्छस् र त्यसलाई बेइज्जतीको भारी बोकाउँछस्; ठूलो रातो अजिङ्गरलाई साँच्चै लज्जित पार्नु भनेको यही मात्र हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वर्तमान काम बोध गर्नेहरूले मात्र परमेश्‍वरको सेवा गर्न सक्‍छन्)। “यदि मानिसहरूले सत्यताको अभ्यास गर्ने निर्णय गरे भने, तिनीहरूले आफ्‍ना हितहरू गुमाएका भए पनि, तिनीहरूले परमेश्‍वरको मुक्ति र अनन्त जीवन प्राप्त गरिरहेका हुन्छन्। ती मानिसहरू सबैभन्दा बुद्धिमान मानिसहरू हुन्। यदि मानिसहरूले आफ्ना हितका लागि सत्यतालाई त्याग्छन् भने, तिनीहरूले जीवन र परमेश्‍वरबाट प्राप्त हुने मुक्ति गुमाउँछन्; ती मानिसहरू सबैभन्दा मूर्ख हुन्। व्यक्तिले के रोज्छ—आफ्नो हित कि सत्यता—भन्‍ने कुराले धेरै खुलासा गरिरहेको हुन्छ। सत्यतालाई प्रेम गर्नेहरूले सत्यतालाई छनौट गर्नेछन्; तिनीहरूले परमेश्‍वरप्रति समर्पित हुने, र उहाँलाई पछ्याउने कार्यको छनौट गर्नेछन्। तिनीहरूले सत्यतालाई पछ्याउन आफ्‍नै हितलाई त्याग्न चाहन्छन्। तिनीहरूले जति नै धेरै कष्ट भोग्‍नु परे पनि, तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउने गवाहीमा खरो उत्रिने अठोट गरेका हुन्छन्। सत्यतालाई अभ्यास गर्ने अनि सत्यता वास्तविकतामा प्रवेश गर्ने आधारभूत मार्ग यही हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो स्वभावलाई चिन्‍नु नै यसलाई परिवर्तन गर्ने आधार हो)। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने, गम्भीर परिस्थितिहरूको सामना गर्नुपर्दा, मैले आफ्नो देहविरुद्ध विद्रोह गर्न र आफ्ना व्यक्तिगत हितहरूलाई पन्छाउन जरुरी छ। यसको अर्थ मेरो व्यक्तिगत हित जोखिममा पर्नु वा त्यसमा क्षति पुग्नु भए पनि, मैले मण्डलीको कामलाई कायम राख्नैपर्छ र मेरा ब्रदर-सिस्टरहरूको सुरक्षा गर्नैपर्छ। लिउ मिङ गएलगत्तै, केही ब्रदर-सिस्टरहरू आफ्नो कर्तव्यको आवश्यकताको कारणले अक्सर मेरो घरमा आउँथे। एक जना ब्रदर त पहिले पक्राउ समेत परेका थिए। मैले मनमनै सोचेँ, “प्रहरीहरू प्रायः गाडी चढेर बाटोमा गस्ती गरिरहेका हुन्छन्; प्रहरीले पहिल्यै यो ब्रदरको विवरण पाइसकेको छ, र मेरो घर आउने बाटोमा धेरै निगरानी क्यामेराहरू छन्। यदि प्रहरीले हेरिरहेको छ भने, म ढिलो-चाँडो पक्कै पक्राउ पर्नेछु!” म फेरि अलि डराएँ, र मैले ब्रदर-सिस्टरहरूलाई मेरो घरमा यति बारम्बार नआउन भनूँ कि भनेर सोचेँ। तर फेरि मैले उनीहरू आफ्नो कर्तव्यको आवश्यकताका कारणले यहाँ आउँछन्, र यदि मैले यसो भनेँ भने, त्यसले उनीहरूलाई निश्चित रूपमा बन्धनमा पार्नेछ भन्ने सोचेँ। मैले दुई जना सिस्टरलाई बस्न दिएको मेरो पहिलेको अनुभव सम्झिएँ, र मलाई यसपटक आफूले आफ्नै हितलाई मात्र ख्याल गर्नु हुँदैन भन्ने थाहा थियो। मलाई सबै कुरा परमेश्‍वरको हातमा छ भन्ने विश्वास थियो, र मैले मण्डलीको कामलाई कायम राख्न प्राथमिकता दिनुपर्छ। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, सबै कुरा उहाँलाई सुम्पिदिएँ, र मलाई अब त्यस्तो बन्धनमा परेको महसुस हुन छोड्यो।

यस समयको मेरो अनुभवहरूमाथि चिन्तन गर्दा, मैले मेरो प्रकृति साँच्चै स्वार्थी रहेको, र परमेश्‍वरमाथिको मेरो आस्था अत्यन्तै कमजोर रहेको देखेँ। मैले धेरै वर्षदेखि परमेश्‍वरमा विश्वास गरेको भए पनि, ममा परमेश्‍वरको सर्वशक्तिमान्‌ता र सार्वभौमिकताबारे साँचो बुझाइ थिएन, न त कुनै सत्यता वास्तविकता नै थियो। ब्रदर-सिस्टरहरूलाई बस्न दिएको यो अनुभवले मलाई प्रकट गर्‍यो र यो मेरो लागि परमेश्‍वरको मुक्ति पनि थियो, जसले मलाई मेरा भ्रष्टता र कमीकमजोरीहरू देखायो र मलाई सत्यता पछ्याउन उत्प्रेरित गर्‍यो। म मेरो हृदयको गहिराइबाट परमेश्‍वरलाई धन्यवाद दिन्छु!

अघिल्लो: ४३. मैले बल्ल आफू एकदमै स्वार्थी रहेछु भनेर थाहा पाएँ

अर्को: ४५. मैले जिम्मेवारी लिन डराउनेबारे चिन्तन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्