४२. बिजुलीको झड्काले यातना दिइएका दिनहरू

वाङ हुई, चीन

सन् २००४ को जुन महिनाको एक दिन, दिउँसोको करिब साढे एक बजेतिर, म दुई जना सिस्टरसँग दिउँसोको आराम गरिरहेकी थिएँ, त्यही बेला एक दर्जनजति प्रहरी एक्कासि हुर्रिएर भित्र पसे। तिनीहरूले हामीलाई कुनामा टुक्रुक्क बस्न आदेश दिए, र कुनै परिचयपत्र नदेखाइकन घरको खानतलासी गर्न थाले। तिनीहरूले घरको हरेक कुनाको खानतलासी गरे, र अन्त्यमा सीडीहरूको सेट, परमेश्‍वरका वचनका पुस्तकहरू, एउटा मोबाइल फोन, र दुई लाख युआनको भेटीको रसिद फेला पारे। त्यसपछि, प्रहरीले हामीलाई काउन्टीको जनसुरक्षा ब्युरोमा लग्यो। मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गर्दै मलाई विश्वास र शक्ति दिनुहोस्, र मलाई मेरो गवाहीमा दृढ रहन, यहूदा नबन्न, र उहाँलाई धोका नदिन मदत गर्नुहोस् भनी बिन्ती गरेँ। त्यसपछि एउटा प्रहरीले मलाई सोधपुछ गर्दै मेरो नाम र म कहाँ बस्छु भनेर सोध्यो। म एक शब्द पनि बोलिनँ, त्यसैले ऊ झम्टिँदै आयो, मेरो कपाल समात्यो, र मलाई सात-आठ चोटि जोडले चड्कन लगायो। त्यसले दाह्रा किट्दै भन्यो, “तँ मुख बन्द गरेरै बस्न सक्छेस् भन्ने ठान्छेस्, हँ? म तँलाई बोल्ने बनाउँछु!” उसले मलाई यति सारो चड्कन हान्यो कि मेरो टाउको रिंगायो र अनुहार रन्कियो। त्यसपछि अर्को प्रहरीले मलाई नाक भित्तामा धसेर उभिन आदेश दियो, र मैले मेरा पाखुराहरू काँधको उचाइसम्म पखेँटा जस्तो फिँजाएर शरीरचाहिँ भित्ताबाट टाढै राख्नुपर्ने थियो। म एक घण्टाभन्दा बढी समयसम्म यसरी नै उभिएँ, थकानले गर्दा पसिनाले निथ्रुक्क भिजेकी थिएँ, मेरो ढाड भाँचिएलाझैँ गरी दुखेको थियो, र मेरा पाखुराहरू यति सारो दुखेर गह्रौँ भएका थिए कि म मुस्किलले थाम्न सक्थेँ।

त्यो साँझ, प्रहरीले मलाई एउटा गेस्ट हाउसमा लग्यो र मलाई कबुल गराउन त्यही राति मलाई यातना दियो। तिनीहरूले मलाई सिमेन्टको भुइँमा बस्न लगाए, मेरा खुट्टाहरू अगाडि तन्काउन लगाए, हातहरू काँध बराबर अगाडि फैलाउन लगाए, मेरा आँखाहरूले अगाडि हेर्नुपर्थ्यो, र तल हेर्ने पाउँदिनथिएँ। म हातहरू खुम्च्याउन पाउँदिनथिएँ, र मेरो जीउ सीधा राख्नुपर्थ्यो। त्यसपछि तिनीहरूले मलाई मेरो नाम, म बस्ने ठाउँ, र मैले कहिलेदेखि सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्वास गर्न थालेँ भनेर सोधपुछ गरे। म केही पनि बोलिनँ, अनि एउटा प्रहरीले दुई लाख युआन भेटीको रसिद निकालेर मलाई सोध्यो, “यो दुई लाख युआन कहाँ छ? तुरुन्तै बक्! हामीलाई तेराबारे सबै कुरा थाहा छ, र तँ मण्डलीकी अगुवा होस्, त्यसैले साँचो कुरा बक्!” तिनीहरूले यसो भनेको सुनेर, मलाई अलिकति डर लाग्यो, किनभने तिनीहरूले भेटीको रसिद फेला पारेका थिए र म अगुवा हुँ भन्ने तिनीहरूलाई थाहा थियो, तिनीहरूले मलाई सजिलै छोड्नेवाला थिएनन्, र अब तिनीहरूले मलाई कसरी यातना दिने हुन् मलाई थाहा थिएन। ठीक यसै क्षण, मैले परमेश्‍वरका वचनहरू सम्झिएँ: “तँ यो र त्यो कुरासँग डराउनु हुँदैन; तैँले जतिसुकै कठिनाइ र खतरा सामना गरे पनि, तँ कुनै पनि अड्चनमा नपरी, मेरो अगाडि स्थिर रहनुपर्छ, ताकि मेरो इच्छा विनारोकटोक पूरा होओस्। यो तेरो कर्तव्य हो…। नडरा; मेरो आड हुँदा, यस बाटोलाई कसले कहिल्यै छेक्न सक्छ र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १०)। परमेश्‍वरका वचनहरूले मलाई विश्वास दिए। परमेश्‍वर सबै कुरामाथि सार्वभौम हुनुहुन्छ, र प्रहरी जतिसुकै क्रूर भए पनि, तिनीहरू परमेश्‍वरकै हातमा थिए, र मलाई थाहा थियो जबसम्म म परमेश्‍वरतर्फ हेर्छु, उहाँमा भरोसा गर्छु, र उहाँको पक्षमा दृढ भएर खडा हुन्छु, तबसम्म परमेश्‍वरले मलाई शैतानमाथि विजय पाउन अगुवाइ गर्नुहुनेछ। जब मैले यस्तो सोचेँ, तब मलाई त्यति डर लाग्न छाड्यो। लगत्तै, प्रहरीले मण्डलीको पैसा कहाँ छ र माथिल्लो तहका अगुवाहरू को हुन् भन्दै मलाई सोधपुछ गरिरहे। म पूरै समय मौन रहेँ। एउटा प्रहरी रिसले आगो भयो, र मेरो हातको पछाडिपट्टि करेन्ट डन्डा राख्यो र मलाई करेन्ट लगाउन सुरु गर्‍यो, तर करेन्ट लगाइँदा म हलचल गर्न पाउँदिनथिएँ। मेरा हातहरू लगातार काम्न थाले, र म जति धेरै काम्थेँ, उसले मलाई त्यति नै धेरै झड्का दिन्थ्यो। हरेक झड्कासँगै, मेरो पूरै शरीर काम्यो, र म पीडाले चिच्याएँ। त्यसपछि त्यो प्रहरीले मेरा नलीखुट्टाहरूमा कुल्चियो, र करेन्ट डन्डाले मेरो पैतालाभरि करेन्ट लगायो, जसले गर्दा मेरा खुट्टाहरू अनायासै खुम्चिन्थे। त्यो प्रहरीले मलाई सोधपुछ गरिरह्यो, “तुरुन्तै बक्! त्यो दुई लाख युआन कहाँ छ?” म अझै केही बोलिनँ। ऊ रन्कियो, र मेरो चिउँडो, ढाड, र टाउकोको पछाडिपट्टि जथाभाबी करेन्ट लगाउन थाल्यो। उसले मेरो टाउकोपछाडि करेन्ट लगाउँदा, मलाई मेरो टाउकोमा कुनै कडा चिजले बेस्सरी हिर्काएको जस्तो महसुस भयो। त्यो पीडा सहनै नसकिने थियो, र मेरो टाउको रिंगायो। त्यसले मेरो चिउँडोमा करेन्ट लगाउँदा, मेरा दुवै ओठहरू कामे, र मेरा दाँतहरू किटकिटाए। अनायासै आफूलाई जोगाउन म भुइँमा लडेँ। त्यो प्रहरीले रिसले चूर हुँदै मेरो कलर समात्यो र मलाई झड्कारेर थेचार्‍यो। त्यसपछि त्यसले एउटा रिमोट कन्ट्रोल लियो र त्यसले मेरो गालाको दुवैतिर हिर्काउन थाल्यो, दर्जनौँ पटक हिर्कायो। मलाई हिर्काउँदै गर्दा, त्यसले मलाई थुक्दै भन्यो: “हेर्छु तँ कतिन्जेल मुख बन्द गरेर बस्न सक्दी रैछेस्! तँ ढुङ्गाले बनेकी त पक्कै होइनस्!” अन्त्यमा, मलाई हिर्काउँदा-हिर्काउँदा ऊ थाक्यो, र मलाई फेरि पहिलाकै मुद्रामा पाखुराहरू फैलाएर बस्न आदेश दियो। जब मेरो बसाइको आसन उसको चित्त बुझ्दो हुँदैनथ्यो, ऊ करेन्ट डन्डाले मेरो हात र खुट्टामा करेन्ट लगाउँथ्यो, र उसले रिमोट कन्ट्रोल र पत्रिकाहरूले मेरो अनुहारमा हिर्काउँथ्यो। मध्यरातसम्म प्रहरीले मलाई यसरी नै यातना दिइरहे। प्रहरीद्वारा यसरी करेन्ट लगाइएपछि र कुटिएपछि, मैले हृदयमा कमजोरी महसुस गरेँ। मलाई पक्राउ गर्नेबित्तिकै तिनीहरूले मलाई यसरी यातना दिएको देख्दा, अब अर्कोपटक ममाथि अरू कस्ता यातनाहरू प्रयोग गर्न सक्लान् भन्ने मलाई कुनै अन्दाज थिएन। म त्यो सहन सक्छु कि सक्दिनँ भन्ने मलाई थाहा थिएन। त्यसैले मैले सोचेँ, “सायद मैले कुनै महत्त्वहीन कुरा बताइदिएँ भने, म केही पीडाबाट बच्न सक्छु, र मैले यस्तो असह्य पीडा भोग्नुपर्ने छैन।” तर फेरि मैले विचार गरेँ, “यदि मैले बताएँ भने, के म यहूदा बन्नेछैनँ र?” ठीक त्यही बेला, मलाई परमेश्‍वरका वचनहरू याद आए: “सङ्कष्टको समयमा मप्रति अलिकति पनि निष्ठा नदेखाउनेहरूप्रति, अब म कृपालु हुनेछैनँ, किनभने मेरो कृपा यहीँसम्मका लागि मात्रै थियो। साथै, मलाई एक पटक विश्‍वासघात गर्नेहरूलाई म मन पराउँदिनँ र आफ्ना साथीहरूको हितलाई बिक्री गर्नेहरूसँग संलग्न हुन झनै मन पराउँदिनँ। मानिस जोसुकै भए पनि मेरो स्वभाव यही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्)। परमेश्‍वरका वचनहरूले मलाई मार्गदर्शन गरे र मलाई के बुझाए भने परमेश्‍वरको धर्मी स्वभावले कुनै पनि उल्लङ्घन सहँदैन, र परमेश्‍वरले उहाँलाई धोका दिनेहरूलाई घृणा गर्नुहुन्छ। यदि म शारीरिक कष्टबाट बच्नका लागि मात्रै यहूदा बनेर परमेश्‍वरलाई धोका दिन्छु भने, म अनन्तकालका लागि पापी बन्नेछु, र परमेश्‍वरको श्रापको भागीदार हुनेछु। यस्तो कुरा सोचेपछि मैले पीडा सहने निधो गरेँ, र मैले सोचेँ, “प्रहरीले मलाई जतिसुकै यातना दिओस्, शैतानलाई लज्जित पार्न म मेरो गवाहीमा दृढ रहनेछु।”

भोलिपल्ट, प्रहरीले मलाई अर्को होटेलमा लग्यो, र तिनीहरूले मलाई पहिलाजस्तै गरी सिमेन्टको भुइँमा बस्न लगाए। तीस वर्ष जतिको एउटा प्रहरी मकहाँ आयो र मलाई केहीचोटि बेस्सरी चड्कन लगायो, र उसले मेरो पूरा नाम, ठेगाना, र माथिल्लो तहका अगुवाहरू को हुन् भनी खुलाउन मलाई दबाब दिने प्रयास गर्‍यो। उसले परमेश्‍वरको बारेमा ईशनिन्दा गर्ने शब्दहरू पनि बोल्यो। मैले अझै पनि केही नभनिरहेकी देखेर, उसले रिसाउँदै करेन्ट डन्डा समात्यो र मेरो हत्केला, हातको पछाडि, टाउको पछाडि, र चिउँडोमा करेन्ट लगायो। उसले मलाई यति नराम्रोसँग करेन्ट लगायो कि भुइँमा बस्दा म लर्खराएँ। त्यसपछि उसले करेन्ट डन्डा मेरो बाहुलाभित्र घुसार्‍यो र मेरा दुवै पाखुरामा करेन्ट लगायो। मेरा पाखुराहरू अनियन्त्रित भई झट्किए, र पीडाले चिच्याउँदै म भुइँमा ढलेँ। त्यसपछि उसले मेरा नलीखुट्टाहरू कुल्चियो, डन्डा मेरो पाइन्टभित्र घुसार्‍यो, र मेरा खुट्टाहरूमा करेन्ट लगायो। करिब पाँच मिनेटसम्म यसो गरेपछि, म पूर्ण रूपमा शिथिल भई भुइँमा ढलेँ। म पसिनाले निथ्रुक्क भिजेकी थिएँ, र मेरा खुट्टा र हातहरू दुखिरहेका र लाट्टिएका थिए। त्यो पीडा साँच्चै सहनै नसकिने थियो। त्यसपछि त्यो प्रहरीले मेरो कलर समात्यो र मलाई तानेर थेचार्‍यो। उसले आफ्नो छालाको जुत्ता फुकालेर मेरो गालाको दुवैतिर कयौँ पटक हिर्कायो। मलाई हिर्काउँदै गर्दा, उसले मलाई गिज्याउँदै भन्यो, “तँ सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्वास गर्छेस्, होइन त? त्यसोभए तेरो परमेश्‍वरले तँलाई किन बचाइरहेको छैन त?” मलाई यति नराम्रोसँग कुटियो कि मैले तोरीको फूल देखेँ, र मेरा गालाहरू रन्किए। म भुइँमा ढलेँ, र अलिकति पनि हलचल गर्न सकिनँ। मलाई म प्रहरीको क्रूर यातना सहन सक्दिनँ कि भन्ने डर लाग्यो, त्यसैले मैले हृदयमा मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मेरो कद साह्रै सानो छ। कृपया मलाई विश्वास र कष्ट सहने सङ्कल्प दिनुहोस्, ताकि म तपाईँका लागि मेरो गवाहीमा दृढ रहन सकूँ।” ठीक त्यही बेला, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड सम्झिएँ: “यो वा त्यो कुराको डर नमान्, सेनाहरूका सर्वशक्तिमान्‌ परमेश्‍वर अवश्य नै तेरो साथमा हुनुहुनेछ; उहाँ तेरो सहायक शक्ति हुनुहुन्छ, र उहाँ तेरो ढाल हुनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय २६)। परमेश्‍वरका वचनहरूले मलाई विश्वास र शक्ति दिए। परमेश्‍वर सबै कुरामाथि सार्वभौम हुनुहुन्छ र सबै कुरा नियन्त्रण गर्नुहुन्छ, र उहाँ नै मेरो सहारा र आड हुनुहुन्छ। प्रहरीहरू पनि परमेश्‍वरकै हातमा छन्, र त्यसैले म डराउनुपर्ने कुनै कारण थिएन। मैले सङ्कल्प गरेँ कि मैले जतिसुकै कष्ट भोग्नुपरे पनि वा जतिसुकै यातना खप्नुपरे पनि, मेरो गवाहीमा दृढ रहन म परमेश्‍वरमा भरोसा गर्नेछु।

मैले अझै पनि केही नभनिरहेकी देखेर, प्रहरीले ममाथि नरम उपायहरू प्रयोग गर्न थाले। त्यो दिउँसो, करिब ५ बजेतिर, पचास वर्ष जतिको एउटा प्रहरी मकहाँ आयो र शान्त स्वरमा भन्यो, “यति धेरै जिद्दी गर्नुपर्ने कुरा छैन। यदि तैँले आफूलाई थाहा भएको कुरा भनिस् भने, म तँलाई घर जान दिने वाचा गर्छु। तँ परमेश्‍वरमा मात्र विश्वास गर्छेस्, होइन त? यो त्यति ठूलो कुरा होइन। तैँले आफूलाई थाहा भएको कुरा मात्र भनेमा तँ घर गएर आफ्नो जीवन बिताउन सक्छेस्। आफैलाई हेर् त, तेरो विश्वासका लागि यति धेरै कष्ट भोग्नु साँच्चै व्यर्थ छ। ती करेन्ट डन्डाहरूको पीडा कस्तो हुन्छ भन्ने तँलाई राम्ररी थाहा छ। आफ्ना विकल्पहरूबारे राम्ररी विचार गर्!” मैले मनमनै सोचेँ, “म पक्राउ परेदेखि, प्रहरीले मलाई कुटिरहेका छन्, हप्काइरहेका छन्, र करेन्ट लगाइरहेका छन्, तर यो मान्छे मप्रति त्यति कठोर भएन। मलाई यहाँ शैतानका युक्तिहरूले काम गरिरहेको छ जस्तो लाग्यो।” ठीक त्यही बेला, मैले परमेश्‍वरका वचनहरू सम्झिएँ: “मेरा मानिसहरू हर समय शैतानका धूर्त युक्तिहरूप्रति सावधान रहनुपर्छ, मेरा निम्ति मेरो घरको ढोकाको प्रतिरक्षा गर्नुपर्छ … ताकि शैतानको पासोमा पर्न नपरोस्, जुन बेला पछुतो गर्नको लागि धेरै ढिलो भइसकेको हुनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय ३)। परमेश्‍वरका वचनहरूको अन्तर्दृष्टिले मलाई शैतानले निरन्तर षड्यन्त्र गर्छ भन्ने कुरा बुझायो। मलाई कबुल गराएर मेरा ब्रदर-सिस्टरहरूमाथि घात गर्न र परमेश्‍वरलाई धोका दिन लगाउनका लागि प्रहरीले मलाई यातना दिइरहेका थिए, तर अहिले तिनीहरूले आफ्नो मनोवृत्ति बदलेका थिए र मलाई झुक्याउन दयालु भएको नाटक गरिरहेका थिए। तिनीहरू साँच्चै कुटिल र नीच थिए! केही समयपछि, जब उसले म केही नबोलिरहेकी देख्यो, तब अन्ततः उसले आफ्नो असली रूप देखायो र कठोर स्वरमा भन्यो, “तँलाई सर्वशक्तिमान्‌ परमेश्‍वरमाथिको आस्था राख्न राज्यको अनुमति छैन, र अझ, चिनियाँ कम्युनिस्ट पार्टीले यसको विरोध गर्छ। यदि तैँले कबुल गरिनस् भने, तेरा छोराछोरीले कलेज पढ्न, सेनामा भर्ना हुन, चिनियाँ कम्युनिस्ट पार्टीमा प्रवेश गर्न, वा निजामती कर्मचारी बन्न पाउनेछैनन्…। तँ तिनीहरूको बारेमा अलिकति पनि सोच्दिनस्? तेरो कारणले तेरा छोराछोरीको भविष्य बर्बाद हुनेछ। राम्ररी विचार गर्!” जब उसले मेरा छोराछोरीको कुरा निकाल्यो, मलाई मुटु चुँडिएजस्तै पीडा भयो, “यदि मेरा छोराछोरी स्कुल जान पाएनन् वा भविष्यमा राम्रो जागिर पाएनन् भने, के तिनीहरूले मप्रति गुनासो गर्नेछन्?” जति धेरै सोचेँ, मलाई त्यति नै धेरै हैरानी महसुस भयो। मेरो पीडा र हैरानीमा, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड सम्झिएँ: “सर्वशक्तिमान्‌को नजरमा, पूरै मानवजातिको कसलाई चाहिँ वास्ता गरिएको छैन र? सर्वशक्तिमान्‌को पूर्वनिर्धारित प्रबन्धमाझ कोचाहिँ जिउँदैन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय ११)। परमेश्‍वरका वचनहरूले मलाई तुरुन्तै अन्तर्दृष्टि दिए। मेरा छोराछोरीको नियति परमेश्‍वरको हातमा थियो, र तिनीहरूले आफ्नो जीवनमा कस्ता परिस्थितिहरूको सामना गर्नेछन् र कति कष्ट भोग्नेछन् भन्ने कुरा सबै परमेश्‍वरद्वारा पूर्वनिर्धारित थियो। ठूलो रातो अजिङ्गर जतिसुकै उन्मत्त भए पनि, त्यसले मेरा छोराछोरीको भाग्य बदल्न सक्दैनथियो। मैले मेरा छोराछोरी परमेश्‍वरलाई सुम्पनुपर्थ्यो र परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुनुपर्थ्यो। प्रहरीले मलाई धम्की दिन र मेरा ब्रदर-सिस्टरहरूमाथि घात गराउन र परमेश्‍वरलाई धोका दिन लगाउनका लागि मेरा छोराछोरीको भविष्य प्रयोग गर्ने प्रयास गरिरहेका थिए। म तिनीहरूको षड्यन्त्र सफल हुन दिन सक्दिनथेँ। बेलुकी करिब ७ बजेतिर, प्रहरीले मलाई एउटा गाउँपालिकाको प्रहरी चौकीमा लगे, त्यहाँ स्थानीय प्रहरीले मलाई केही फोटो देखाएर पहिचान गर्न भने। मैले मनमनै सोचेँ, “तिमीहरूले मलाई मेरा ब्रदर-सिस्टरहरूमाथि कहिल्यै घात गराउन सक्नेछैनौ!” त्यसैले प्रहरीले मलाई जे सोधे पनि, मैले टाउको मात्र हल्लाएँ र चुपचाप रहेँ। करिब एक दर्जन फोटोहरू निकालेपछि, मेसिनमा अचानक खराबी आयो र अरू फोटोहरू निकाल्न सकेन, र प्रहरीले मलाई होटेलमा फिर्ता लैजानुपर्‍यो। फर्किने क्रममा, चिन थर भएको एक प्रहरी क्याप्टेनले मलाई भेटीको पैसा कहाँ छ भन् भन्दै थप दबाब दियो। मैले थाहा छैन भनेँ, र ऊ रिसले आगो भयो र मेरो निधारमा धेरै चोटि मुक्का हान्यो। उसको मुक्काले मेरो टाउको रनन्न भयो। हामीले हरेक गाउँ पार गर्दा, चिनले मलाई सोधिरह्यो, “तँ यहाँ पहिला आएकी थिइस्?” र मैले “म यहाँ कहिल्यै आएकी छैन” मात्र भनेँ। र मैले “म यहाँ कहिल्यै आएकी छैनँ” मात्र भनेँ। “तँ सायद यहाँ पहिला आएकी थिइस्, होइन त? यहाँ कतिवटा अतिथिसत्कारक घरहरू छन्? यदि तैँले हामीलाई सहयोग गरिस् र कसैलाई पक्रिन मदत गरिस् भने, हामी तँलाई जान दिनेछौँ। यो तँलाई आफ्नो गल्ती सच्याउने मौका हो।” मैले मनमनै सोचेँ, “मैले पक्राउ परेपछि तिमीहरूको क्रूर यातना भोगिसकेकी छु। म मेरा ब्रदर-सिस्टरहरूलाई कहिल्यै घात गर्नेछैन र तिनीहरूलाई पक्राउ पर्न र यो कष्ट भोग्न दिनेछैन।” त्यसैले मैले उसलाई भनेँ, “मैले भुलेँ र यहाँ वरपर के कहाँ छ मलाई केही थाहा छैन। मलाई यहाँ कुनै अतिथि सत्कारक घरहरू छन् कि छैनन् थाहा छैन।” मलाई गाडीमा चक्कर लागिरहेको थियो र बान्ता होला जस्तो भइरहेको थियो। मैले गाडी फोहोर पारिदिन्छु कि भनेर तिनीहरू डराए, त्यसैले तिनीहरूले मलाई फिर्ता लैजानुपर्‍यो। म होटेलमा फर्किंदा रातिको ११ बजिसकेको थियो। त्यसपछि प्रहरीले मलाई पहिलेजस्तै गरी भुइँमा बस्न लगाए। मैले आँखाहरू सिधा अगाडि हेर्नुपर्थ्यो, र तिनीहरूले मलाई सुत्न दिँदैनथे, र पाँच जना प्रहरीले मलाई पालैपालो पहरा दिए। जब मेरा आँखाका ढकनी लत्रिन्थे, तिनीहरूले मलाई करेन्ट डन्डाले करेन्ट लगाउँथे, वा तिनीहरूले मलाई रिमोट कन्ट्रोलले हिर्काउँथे, वा मेरो तालुको कपाल तान्थे। जब मेरा हातहरू तल झर्थे, तिनीहरूले लाइटरले मेरा हत्केला र औँलाहरू पोल्थे। मैले त्यो रात यसरी नै यातनामा बिताएँ।

तेस्रो दिनको बिहान, छ-सात जना प्रहरीले मलाई घेरे, र मेरो ठेगाना, पूरा नाम, र माथिल्लो तहका अगुवाहरू को हुन् भनेर सोधपुछ गरे। म चुपचाप रहेँ। एउटा प्रहरीले मेरो एउटा चप्पल टिप्यो र मेरो कपाल जोडले पछाडि तानेर त्यो चप्पलले मेरो अनुहारमा सात-आठ चोटि हिर्कायो। मलाई हिर्काउँदै गर्दा, उसले भन्यो, “तँ फलामले बनेकी त होइनस्, र आज तँलाई तैँले नबोलेसम्म कुट्नेछौँ।” त्यसपछि उसले अरू प्रहरीहरूलाई भन्यो, “यसलाई अलिकति पनि शिथिल हुन नदेओ!” यति भनेर, ऊ जङ्गिएर गयो। दुई जना प्रहरीले मेरा एक-एकवटा पाखुरा समाते, अनि अर्को प्रहरीले करेन्ट डन्डाले मेरो घाँटीको पछाडि र चिउँडोमा क्रूरतापूर्वक करेन्ट लगायो। हरेक झड्कासँगै, मेरो शरीर अनियन्त्रित भई काम्यो। त्यसपछि प्रहरीले डन्डा मेरो एउटा बाहुलाभित्र घुसार्‍यो र मेरो पाखुरामा करिब दुई मिनेटसम्म करेन्ट लगायो। झड्काले गर्दा मेरो पाखुरा अनियन्त्रित भई हल्लियो, र त्यसपछि उसले मेरो अर्को पाखुरामा करेन्ट लगाउन त्यही तरिका प्रयोग गर्‍यो। यतिखेरसम्म, पसिनाले मेरो कपाल पूरै भिजेको थियो, र पसिना मेरो निधारबाट बगेर मेरा आँखाहरूमा पस्यो। मेरा आँखाहरू पसिनाले भरिएर खोल्नसमेत नसकिने भयो। मैले दाँत किटेर सहनुको विकल्प थिएन। जब तिनीहरूले म अझै नबोल्ने देखे, तब तिनीहरूले मेरा नलीखुट्टाहरू कुल्चिए, र त्यसपछि तिनीहरूले करेन्ट डन्डाले मेरा खुट्टाहरूमा करेन्ट लगाउन थाले। म भुइँमा ढलेँ, मेरो पूरै शरीर शिथिल भयो र चिसो पसिनाले निथ्रुक्क भिज्यो। मसँग प्रतिरोध गर्ने कुनै ताकत थिएन, र म केवल पीडाले चिच्याउन सक्थेँ। मलाई पूरै लखतरान देखेर प्रहरी रोकिए, अनि मलाई सोधे, “अब त बोल्ने होला नि? नत्र, हामी सुरुदेखि फेरि थाल्नेछौँ।” मलाई फेरि करेन्ट लगाइनेछ भनेर अत्यन्तै डर लाग्यो, त्यसैले मेरो ठेगाना, पूरा नाम, र उमेर दिनुबाहेक मसँग कुनै विकल्प भएन। त्यसपछि वु थर भएको एउटा प्रहरीले विजयभावमा भन्यो, “हामीले खोजिरहेको मान्छे तँ नै होस्। किताब ओसारपसार गर्ने एक जनाले पहिल्यै तँमाथि घात गरिसकेको छ, र उसलाई किताबहरू सार्न लगाउने तँ नै थिइस्। तेरो आँट त मान्नैपर्छ, मान्छेहरूलाई परमेश्‍वरमा विश्वास गर्ने बारेका किताबहरू छाप्न लगाउने हिम्मत पनि गरिस्। के तँलाई साँच्चै लाग्छ हामी तँलाई छोड्नेछौँ? म तँलाई एउटा कुरा भन्छु। हामीले तँलाई दुई महिनादेखि निगरानी गरिरहेका थियौँ, र तेरो फोटोहरू खिचेका थियौँ। तर तँ यति जिद्दी छेस् भनेर मैले कहिल्यै सोचेको थिइनँ! तँ आफैले साँच्चिकै दुःख निम्त्याउँदै छेस्!” त्यो प्रहरीको कुरा सुनेपछि, मलाई डरले छोप्यो। तिनीहरूले दुई महिनादेखि मेरो पीछा गरिरहेका थिए भनेर मैले कहिल्यै कल्पना गरेकी थिइनँ। यसको मतलब त्यो अवधिमा म जस-जसको सम्पर्कमा थिएँ तिनीहरू सबैलाई पुलिसले चिनेको थियो, र अरू कुनै ब्रदर-सिस्टरहरू मुछिएका थिए कि थिएनन् मलाई थाहा थिएन। त्यो क्षणमा, मैले मेरा ब्रदर-सिस्टरहरूका लागि मनमनै प्रार्थना गरी परमेश्‍वरलाई तिनीहरूको रक्षा गर्नुहोस् भनी बिन्ती गर्न मात्र सकेँ। त्यसपछि प्रहरी वुले मलाई मेरा ब्रदर-सिस्टरहरू पहिचान गर्न भन्यो। उसले कयौँ सिस्टरहरूको नाम लिँदै मैले तिनीहरूलाई चिन्छु कि भनेर सोध्यो। मैले केवल “म चिन्दिनँ” मात्र भनिरहेँ। ऊ जुरुक्क उठ्यो र मलाई कयौँचोटि थप्पड हान्यो, मलाई हिर्काउँदै र सराप्दै भन्यो, “तँ अझै भन्छेस् तँ तिनीहरूलाई चिन्दिनस्, तर तँ तिनीहरूको अगुवा होस्! यति धेरै जिद्दी नबन्! राम्ररी विचार गर् र इमानदारीसाथ कबुल गर्; नत्र, तँलाई निकै गाह्रो पर्नेछ!” म चुपचाप रहेँ। यही बेला, एउटा प्रहरीले करेन्ट डन्डा मतिर सोझ्याउँदै करायो, “यदि तँ बोलिनस् भने, म तँलाई साँचो पीडा कस्तो हुन्छ चखाउनेछु!” त्यसपछि उसले करेन्ट डन्डा उठायो र मेरो मुखमा करेन्ट लगायो। मलाई यति नराम्रोसँग करेन्ट लाग्यो कि मेरा ओठहरू कामे, मेरो पूरै शरीर हल्लियो, र म अनायासै पछाडि हुत्तिएँ। त्यसपछि उसले मेरो चिउँडोमा धेरैचोटि करेन्ट लगायो। उसले मेरा हातको पछाडिपट्टि पनि करिब दुई मिनेटसम्म करेन्ट लगायो। मेरा हातहरू आफसेआफ पछाडि तानिए, र मेरो शरीर खुम्चियो। त्यसपछि उसले मेरा नलीखुट्टाहरू कुल्चियो र करेन्ट डन्डाले मेरो पैतालामा करेन्ट लगायो। मलाई यति नराम्रोसँग करेन्ट लाग्यो कि मेरा खुट्टाहरू अनियन्त्रित भई फालिन थाले, र म पीडाले चिच्याएँ। मेरो पूरै शरीर चिसो पसिनाले निथ्रुक्क भएको थियो, र मेरो कपाल फेरि पनि भिजेको थियो। म भुइँमा ढलेँ, र व्याकुल हुँदै मेरो हृदयमा परमेश्‍वरलाई पुकारेँ। मैले परमेश्‍वरलाई मलाई यो कष्ट सहन सक्ने इच्छाशक्ति दिनुहोस् भनी बिन्ती गरेँ। त्यसपछि मैले परमेश्‍वरका वचनहरू सम्झिएँ: “परमेश्‍वरले मानिसहरूमा जे गर्नुभए पनि, तिनीहरूमा जे छ त्यसलाई तिनीहरूले थामेर राख्नुपर्छ अनि परमेश्‍वरसामु इमानदार हुनुपर्छ र अन्त्यसम्मै उहाँप्रति समर्पित रहनुपर्छ। यही नै मानवजातिको कर्तव्य हो। मानिसहरूले जे गर्नुपर्छ त्यसलाई कायम राख्‍नुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीले परमेश्‍वरप्रतिको आफ्नो बफादारी कायम राख्नुपर्छ)। परमेश्‍वरका वचनहरूले मलाई फेरि पनि विश्वास र शक्ति दिए, र मैले शैतानसँग अन्त्यसम्म लड्ने सङ्कल्प र साहस प्राप्त गरेँ। मैले दाँत किटेँ र अझै पनि केही भनिनँ। ठीक त्यही बेला, एउटा प्रहरी मेरो पछाडि आयो र मेरो कम्मरमा बेस्सरी लात हान्यो। मेरो कम्मर भाँचिएलाझैँ भयो, र मर्मभेदी पीडा मेरो शरीरभरि फैलियो। त्यसपछि उसले मलाई फेरि उही आसनमा बस्न आदेश दियो। तर विगत केही दिनदेखि तिनीहरूको मागबमोजिम बसिरहेको हुनाले, मेरा पाखुराहरू यति गह्रौँ भएका थिए कि म साँच्चै उचाल्न सक्दिनथेँ। रिसले उन्मत्त हुँदै, त्यो प्रहरीले बौलाहाले झैँ मेरो हतकडी समात्यो र जोड्ले माथितिर झट्कायो। त्यसपछि, उसले अचानक त्यसलाई तल छाडिदियो। उसले यसो गरिरह्यो र असिनपसिन नहुञ्जेल रोकिएन। त्यसपछि, उसले मेरो अनुहारमा कयौँ पटक थप्पड हान्यो र सराप्दै भन्यो, “तँ ढुङ्गाले बनेकी त पक्कै होइनस्। म तँलाई फेरि तह लगाउन आउनेछु।” थप्पडका कारण मेरो अनुहार सुन्निएको र लाट्टिएको थियो, र हतकडीले काटेर मेरा नाडीहरूबाट रगत बग्न थालेको थियो। केही समयपछि, प्रहरीले मलाई पहिलाजस्तै करेन्ट लगाउन थाले, र मलाई यति यातना दिइयो कि मेरो शरीरमा कुनै ताकत बाँकी रहेन। मेरा दुवै पाखुराहरू फुस्किएजस्तै भए, र त्यो पीडा असह्य थियो। त्यो रात, धेरै जना प्रहरीले मलाई पालैपालो पहरा बसेर मेरो निगरानी गरिरहे र मलाई निदाउनै दिएनन्। त्यसपछि तिनीहरूले केही कागज र एउटा कलम ल्याए, र मलाई थाहा भएका अतिथिसत्कारक घरहरूका नाम र ठेगानाहरू लेख्न लगाए। मैले मनमनै सोचेँ, म मेरा ब्रदर-सिस्टरहरूलाई कहिल्यै घात गर्नेछैन, तर म अब तिनीहरूको यातना सहनै सक्दिनँ जस्तो भयो। त्यसैले कलम समातेर मैले लेख्ने नाटक मात्र गरेँ। मैले कबुल गर्न लागेँ भन्ने ठानेर, तिनीहरूले त्यो रात मलाई अरू हिर्काएनन्।

चौथो दिन, मैले केही पनि नलेखेको देखेर प्रहरीले मलाई दुवै हात टाउकोमाथि उठाउन लगाए, र मलाई मेरा पाखुरा टाउकोमा अड्याउन वा खुम्च्याउन दिएनन्। दस मिनेट पनि हात माथि राख्न नपाउँदै मेरा पाखुराहरू दुख्न थाले र आफसेआफ दुईतिर तानिन थाले। हतकडीका अंकुशहरू मेरो मासुभित्र बेस्सरी गडिए। आधा घण्टा नबित्दै, मेरा पाखुराहरू यति सारो दुखे कि मैले साँच्चै थामिराख्न सकिनँ। एउटा प्रहरी रिसले चुर भएर मतिर झम्टिँदै आयो, मेरो हतकडी समात्यो र एक दर्जनभन्दा बढी पटक जोडले तलमाथि झट्कायो। हरेक पटक झट्काउँदा, मेरो शरीरको पूरै भार मेरा नाडीहरूमा पर्थ्यो। मेरा नाडीहरू चक्कुले चिरिरहेजस्तै गरी दुखे। मलाई अब यो सहन सक्दिनँ जस्तो लाग्यो। त्यसैले मैले मेरो हृदयमा परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म यी पिशाचहरूको सास्तीदेखि डराएकी छु, र म यो सहन नसकेर तपाईँलाई धोका दिन्छु कि भनेर डराएकी छु। कृपया मलाई विश्वास र शक्ति दिनुहोस्, र मेरो सुरक्षा गर्नुहोस् ताकि म तपाईँका लागि मेरो गवाहीमा दृढ रहन सकूँ र शैतानलाई अपमानित गर्न सकूँ।” ठीक त्यही बेला, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड सम्झिएँ: “अब्राहामले इसहाकलाई अर्पण गरे—तिमीहरूले के अर्पण गरेका छौ? अय्यूबले सबै थोक अर्पण गरे—तिमीहरूले के अर्पण गरेका छौ? साँचो मार्ग खोज्नका निम्ति एकदमै धेरै मानिसले आफूलाई बलिदान गरेका छन्, आफ्नो जीवन दिएका छन् र रगत बगाएका छन्। के तिमीहरूले त्यो मूल्य चुकाएका छौ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मोआबका सन्तानहरूलाई मुक्ति दिनुको महत्त्व)। अब्राहमले आफ्नो एकमात्र छोरा परमेश्‍वरलाई फिर्ता दिन सकेका थिए, र अयूबले आफ्नो सम्पूर्ण धनसम्पत्ति र छोराछोरी गुमाएका थिए, र उनको शरीरभरि खटिरा आएको थियो, तर उनले परमेश्‍वरको विरुद्धमा गुनासो गरेनन्, र अझै पनि परमेश्‍वरको पवित्र नामको प्रशंसा गर्न सके। इतिहासभरि धेरै सन्तहरूले परमेश्‍वरको सुसमाचारका लागि आफ्नो जीवन बलिदान दिए। तिनीहरू सबैमा परमेश्‍वरप्रति साँचो आस्था थियो र उहाँका लागि सबैथोक अर्पण गर्न सक्थे। तर मैले परमेश्‍वरका लागि के गरेकी थिएँ र? यस्तो परिस्थितिको सामना गर्दा, मैले मेरो हृदयमा डर र त्रास मात्र महसुस गरेँ। विगतका सन्तहरूसँग तुलना गर्दा, म केही पनि थिइनँ। यो विचारले मलाई अत्यन्तै लज्जित तुल्यायो, तर सँगसँगै, मेरो हृदय शक्तिले भरियो, र मैले प्रहरीको यातना सामना गर्ने विश्वास प्राप्त गरेँ। मैले हृदयमा प्रार्थना गरेँ, “हे परमेश्‍वर, आज म आफूलाई तपाईँको हातमा सुम्पन्छु। जतिसुकै कष्ट भोग्नुपरे पनि, म तपाईँका लागि मेरो गवाहीमा दृढ रहनेछु।” त्यसपछि दुई जना प्रहरीले मेरा एक-एकवटा पाखुरा समाते, र अर्को प्रहरीले मेरो घाँटीको पछाडि र चिउँडोमा करेन्ट डन्डाले करेन्ट लगायो। त्यसपछि उसले मेरो पाखुरामा करेन्ट लगाउन डन्डा मेरो बाहुलाभित्र घुसार्‍यो। त्यसपछि तिनीहरूले एक कप पानी लिए र मेरा नलीखुट्टाहरूमा छ्यापे। दुई जना प्रहरीले मेरा नलीखुट्टाहरू कुल्चिए, र त्यसपछि तिनीहरूले करेन्ट डन्डाले मेरा खुट्टाहरूमा करेन्ट लगाए। मेरो पुरै शरीर कामिरहेको थियो र म पीडाले चिच्याइरहेकी थिएँ। अन्त्यमा, मसँग चिच्याउने तागत पनि रहेन, र म भुइँमा ढलेँ। मेरो अनुहार आँसु र पसिनाले भिजेको थियो, मानौँ मलाई भर्खरै पानीबाट बाहिर निकालिएको थियो। त्यसपछि प्रहरी वु मलाई देखेर करायो, “तँ यस क्षेत्रकी मण्डली अगुवा होस्, त्यसैले भन्, त्यो दुई लाख युआन कहाँ छ? तेरा माथिल्लो तहका अगुवाहरू को हुन्? यस क्षेत्रमा कति जना मानिसहरू सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्वास गर्छन्? तैँले तेरा किताबहरू कुन छापाखानामा छपाइस्? आज तैँले मलाई सबै कुरा बताउनेछस्, नत्र तैँले ठुलो पीडा पाउनेछेस्!” तिनीहरूका क्रूर र डरलाग्दा अनुहारहरू हेर्दै, मैले यी पिशाचहरूलाई भित्रैदेखि घृणा गरेँ! तर त्यसपछि मैले मेरो वर्तमान अवस्थाको बारेमा विचार गरेँ। मसँग प्रतिरोध गर्ने कुनै ठाउँ थिएन, र म तिनीहरूलाई मलाई यातना दिन र मेरो विनाश गर्न दिनबाहेक केही गर्न सक्दिनथेँ। यसबारे जति धेरै सोचेँ, मलाई त्यति नै डर लाग्यो, र म तिनीहरूकै हातमा मर्नेछु कि भनेर डराएकी थिएँ। ठीक त्यही बेला, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड सम्झिएँ: “ब्रह्माण्डमा हुने सबै कुरामध्ये, त्यहाँ यस्तो केही छैन जसमा मेरो निर्णय हुँदैन। के त्यस्तो कुनै कुरा छ जुन मेरो हातमा छैन?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय १)। परमेश्‍वरले सबै कुरा नियन्त्रण गर्नुहुन्छ र सबै कुरामाथि सार्वभौम हुनुहुन्छ, र मलाई यातना दिएर मारिनेछ कि छैन भन्ने कुरा परमेश्‍वरकै हातमा थियो। परमेश्‍वरको अनुमतिविना, यी पिशाचहरू जतिसुकै क्रूर भए पनि, तिनीहरूले मलाई केही गर्न सक्दैनथे। मैले परमेश्‍वरमा विश्वास गर्नुपर्थ्यो। पत्रुस कसरी परमेश्‍वरका लागि उँधोमुन्टो क्रसमा टाँगिन सकेका थिए भन्ने बारेमा पनि मैले विचार गरेँ। उनले आफ्नो जीवन परमेश्‍वरलाई निःशर्त सुम्पन सके। उनले मृत्युसम्मै आज्ञापालन गरे र परमेश्‍वरलाई परम प्रेम गरे। पत्रुसको मृत्यु अर्थपूर्ण र मूल्यवान् थियो, र उनले परमेश्‍वरको अनुमोदन पाए। म पत्रुसको उदाहरण पछ्याउन चाहन्थेँ, र मर्नु नै परे पनि, म परमेश्‍वरका लागि मेरो गवाहीमा दृढ रहनेछु।

दिउँसो करिब २ बजेतिर, प्रहरीले फोटोहरूको थाक ल्याए र मलाई एक-एक गरी पहिचान गर्न भने। मैले यीमध्ये कसैलाई पनि चिन्दिनँ मात्र भनिरहेँ। एउटा प्रहरीले एउटा फाइल टिप्यो र त्यसले मेरो अनुहारमा बेस्सरी हिर्कायो। उसले मलाई यति बेस्सरी हिर्कायो कि मैले तोरीको फूल देखेँ र मेरो टाउको भारी भयो। त्यसपछि अर्को प्रहरी मकहाँ आयो र मेरो अनुहारमा यति धेरै पटक हिर्कायो कि मैले गन्ती नै बिर्सिएँ। मलाई हिर्काउँदै गर्दा, उसले दाह्रा किट्दै भन्यो, “म आज तँलाई कुटेरै भए पनि कबुल गराउँछु!” मलाई यति नराम्रोसँग कुटियो कि मेरो मुखको कुनाबाट रगत बगिरहेको थियो, र मेरा ओठहरू सुन्निएका थिए। मेरो टाउको रिंगाइरहेको थियो, र म हलचल नगरी जहाँको त्यहीँ बसेँ। त्यसपछि त्यो प्रहरीले मलाई पहिलाकै आसनमा बस् भन्यो, तर विगत तीन दिनदेखि मैले केही पनि खाएकी र पिएकी थिइनँ, मात्र प्रहरीको यातना पाएकी थिएँ, मेरो शरीरमा अलिकति पनि ताकत बाँकी थिएन। केही बेर हात माथि राखेपछि, मेरा हातहरू लत्रिन थाले। त्यो प्रहरीले एउटा लाइटर ल्यायो र आगोको ज्वाला मेरा औँलाहरूको मुनि राख्यो, र मेरा हातहरू तल झर्नेबित्तिकै, मेरा औँलाहरू पोल्दा मैले मर्मभेदी पीडा महसुस गरेँ। अन्त्यमा मेरा हातहरू डढेर पहेँला भए, र पीडा यति तीव्र थियो कि मसँग औँलाहरूलाई छुने आँट पनि थिएन। त्यसपछि त्यो प्रहरीले मलाई दुवै हातले करेन्ट डन्डा बलियोसँग समात्न भन्यो, र जब-जब मेरा हातहरू लत्रिन्थे, तब तिनीहरूले पावर अन गर्थे र मेरा हत्केलाहरूमा करेन्ट लगाउँथे। तिनीहरूले करिब आधा घण्टामा मलाई चार-पाँच पटक करेन्ट लगाए। पछि, अर्को प्रहरीले करिब एक फिट लामो र औँलाजत्रो मोटो बाँसको छडी ल्यायो र मेरो हातको पछाडि सकेजति बेस्सरी हान्न थाल्यो। मेरा हातहरू सुम्लैसुम्लाले सुन्निएका थिए। मेरा हातको पछाडिपट्टि गहिरा नीला डामहरू बसेका थिए, र त्यहाँबाट रगत रसाउन थाल्यो। त्यसपछि त्यो प्रहरीले मेरो हतकडी समात्यो र जोडजोडले करिब एक दर्जन पटक तलमाथि झट्कायो। हतकडीका अंकुशहरू मेरो मासुभित्र गडिए, र मेरा नाडीहरूबाट रगत बग्न थाल्यो। उसले मेरो अनुहारमा बेस्सरी थप्पड हान्यो र सोध्यो, “के अब त कबुल गर्छेस्? त्यो दुई लाख युआन कहाँ छ?” मैले उसलाई वास्ता गरिनँ। ऊ रिसले आगो भयो र फेरि करेन्ट डन्डा समात्यो, त्यसलाई मेरो बाहुलाभित्र घुसार्‍यो र मेरा पाखुराहरूमा करेन्ट लगायो। दाह्रा किट्दै, उसले भन्यो, “हेर्छु तँ कत्तिको बलियो रैछेस्!” म फेरि भुइँमा ढलेँ, तर उसले मलाई फेरि माथि तान्यो र मेरा नलीखुट्टाहरूमा पानी खन्यायो। त्यसपछि उसले करेन्ट डन्डा मेरो पाइन्टभित्र घुसार्‍यो र मेरा खुट्टाहरूमा करेन्ट लगायो। मलाई यति नराम्रोसँग करेन्ट लाग्यो कि मेरा खुट्टाहरू जथाभाबी फड्कारिए, र मैले हातले खुट्टालाई बचाउने प्रयास नगरी बस्न सकिनँ। रिसले चूर हुँदै, त्यो प्रहरीले मेरा पाखुरा, खुट्टा, र हातको पछाडि बारम्बार करेन्ट लगायो। अन्त्यमा, उसले मेरा नलीखुट्टाहरू कयौँचोटि कुल्चियो। मेरा नलीखुट्टाहरू भाँचिएजस्तै भए, र म पीडाले चिच्याएँ। बल्ल त्यो प्रहरी रोकियो। म भुइँमा ढलेँ, पूर्ण रूपमा शिथिल भएँ। केही प्रहरी वरिपरि जम्मा भएर मलाई घुरेर हेरे। कसैले मलाई औंल्याउँदै गिज्याए, भने अरूहरू आपसमा कानेखुसी गरे। मैले यी पिशाचहरूलाई भित्रैदेखि घृणा गरेँ, तर तिनीहरूले मलाई यातना दिइरहनेछन् भनेर म अत्यन्तै डराएकी थिएँ। मैले मेरो हृदयमा निरन्तर परमेश्‍वरलाई पुकारेँ, र उहाँलाई मेरो सुरक्षा र मार्गदर्शन गर्न बिन्ती गरेँ। त्यो क्षणमा, मैले पहिले गाएको एउटा मण्डली भजन सम्झिएँ, “म परमेश्‍वरको महिमाको दिन देख्‍न चाहन्छु”: “रमेश्‍वरले सुम्पनुभएका कुराहरू मुटुमा हुँदा, म शैतानसामु कहिल्यै घुँडा टेक्नेछैनँ। मेरो शिर छिनिएला र मेरो रगत बग्‍ला, तर परमेश्‍वरका मानिसहरूको मेरुदण्डलाई झुकाउन सकिँदैन। म परमेश्वरका लागि जोरदार गवाही दिनेछु, र दियाबलसहरू अनि शैतानलाई अपमानित गर्नेछु। पीडा र कठिनाइहरू परमेश्‍वरले नै पूर्वनिर्धारित गर्नुभएको हो, म मृत्युसम्‍मै उहाँप्रति बफादार र समर्पित हुने छु। म परमेश्‍वरलाई फेरि कहिल्यै रुवाउने छैन वा कहिल्यै चिन्तित तुल्याउने छैन। म मेरो प्रेम र बफादारी परमेश्‍वरलाई अर्पण गर्ने छु र उहाँलाई महिमित तुल्याउन आफ्नो मिसन पूरा गर्ने छु(थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्)। मैले जति हृदयमा गएँ, त्यति नै बलियो महसुस गरेँ। अब प्रहरीले मलाई जस्तै यातना दिए पनि, म अपाङ्ग भएँ वा मारिएँ भने पनि, म कहिल्यै परमेश्‍वरलाई धोका दिनेछैन, र म परमेश्‍वरका लागि आफ्नो गवाहीमा दृढ रहनेछु।

पाँचौं दिनको रात, प्रहरी वुले फेरि केही कागज र कलम ल्यायो, र उसले मलाई तिनीहरूका प्रश्नहरूको उत्तर कागजमा लेख्न भन्यो। उसले यसो पनि भन्यो, “बिहान हुनुअघि प्रस्टसँग लेख्, नत्र तैँले बाँकी दिनहरू करेन्ट डन्डासँगै बिताउनेछेस्!” पाँच दिनदेखि आराम नपाएकीले, त्यहाँ बसिरहँदा म बारम्बार झुल्न थालेँ। एउटा प्रहरीले मलाई जागा रहन भन्दै उठ्न लगायो, र जब-जब म आँखा बन्द गर्थेँ, तब तिनीहरू मलाई कराउँथे वा करेन्ट डन्डाले कुर्सी ठटाउँथे। म अत्यन्तै तनावमा थिएँ, र हरेक पटक ठटाउँदा म तर्सिन्थेँ। म त्यहाँ हल्लिँदै उभिएँ, र मेरो टाउको पूरै खाली भएजस्तो भएको भयो। म हरेक कुरा दुइटा देख्न थालेँ, मेरो चेतना धमिलो भयो, र प्रहरीका प्रश्नहरू प्रस्टसँग सुन्न सकिनँ, र तिनीहरूले जे सोधे पनि, मैले “हो” मात्र भनेँ। प्रहरीले मलाई फसाउँछन् कि भनेर म साह्रै डराएकी थिएँ, त्यसैले मैले आफ्नो नाकमूनि र बूढीऔँला र चोरऔँलाको बीचमा बेस्सरी चिमोटेँ, र आफूलाई जागा राख्न सकेजति कोसिस गरेँ। सँगसँगै, मैले हृदयमा निरन्तर परमेश्‍वरलाई पुकारिरहेकी थिएँ, “हे परमेश्‍वर! म अब आफूलाई नियन्त्रण गर्न सक्दिनँ। कतै झुक्किएर मेरा ब्रदर-सिस्टरहरूलाई घात गर्छु कि भनेर म साह्रै डराएकी छु। कृपया मेरा लागि बाटो खोलिदिनुहोस्।” केही समयपछि, मलाई पहरा दिइरहेका प्रहरी सबै ढल्किएर निदाएको देखेँ। यो परमेश्‍वरले मेरा लागि बाटो खोलिदिनुभएको हो भन्ने मैले महसुस गरेँ, र मैले भाग्ने निर्णय गरेँ। त्यसैले म बिस्तारै ढोकातिर सर्दै गएँ, र केही बेरमै, म ढोकामा पुगेँ। मैले होसियार भई ढोका खोलेँ र तल ओर्लिएँ, अलिकति आवाजले पनि प्रहरी ब्युँझन्छन् कि भन्ने डर थियो। यसो गर्दा मेरो मुटु घाँटीमै आएजस्तो भयो। बाहिर निस्किएपछि, म गल्लीतिर बेस्मारी कुदेँ। पाँच दिन र पाँच रातसम्म खाना, पानी, वा निद्राविना बसेको, र साथै प्रहरीको क्रूर यातनाको कारण, मेरो शारीरिक शक्ति लगभग सकिएको थियो, र केही कदम कुदेपछि, मेरा खुट्टाहरू गले र झन्डै लडेँ, तर प्रहरीले भेट्टाउलान् भन्ने डरले, मैले आफूलाई जबरजस्ती कुदाइरहेँ। म लडखडाउँदै गएँ, कतिवटा गल्ली वा सडकहरू पार गरेँ मलाई थाहा छैन, अन्ततः म एउटा बन्दै गरेको घरको आँगनमा पुगेँ। त्यो रात, पानी परिरहेको हुनाले, म एउटा कुनामा कबाडीको थुप्रोमा घोप्टो परेँ र आफूलाई घाँसको थुप्रोले छोपेँ। म पानीमा जाडोले कठ्याङ्ग्रिएर कामिरहेकी थिएँ। ठिक त्यही बेला, मेरो पीछा गरिरहेका प्रहरीहरूले यसो भनेर कराएको सुनेँ, “त्यसलाई भेट्टायौँ भने, नमारे पनि त्यसको छाला त काड्छौँ नै!” प्रहरीको चिच्याहटले ममा डर भरियो र के गर्ने मलाई केही थाहा भएन। मैले मेरो हृदयमा परमेश्‍वरलाई पुकारिरहेँ, “हे परमेश्‍वर! म के गरूँ? हे परमेश्‍वर! कृपया मेरो सुरक्षा गर्नुहोस्।” मैले सास रोकेँ र पूर्ण रूपमा हलचल नगरी घोप्टो परेर बसिरहेँ। केही समयपछि, वरपरको वातावरण बिस्तारै शान्त भयो, र मेरो हृदयको तनाव बल्ल कम भयो।

करिब बिहानको २ बजेतिर, मैले वरपर कुनै आवाज नसुनेपछि बाहिर निस्कने आँट गरेँ। केही कठिनाइहरूपछि, मैले एक जना दिदीको घर भेटाएँ। मेरो शरीरभरि घाउचोट देखेर, ती दिदी हतारिँदै मलाई नुहाउन तातो पानी तताउन जानुभयो, र त्यसपछि उहाँले मलाई एक कचौरा अण्डा चाउचाउ उमालेर ल्याई खान दिनुभयो। मलाई थाहा थियो यो सबै परमेश्‍वरको प्रेम हो, र म यति भावुक भएँ कि म भक्कानिएर रोएँ, र मैले रुवाइ रोक्नै सकिनँ। मैले हृदयमा निरन्तर परमेश्‍वरलाई धन्यवाद दिएँ। पछि, ती दिदीले एउटा सानो फलाम काट्ने करौँती किनेर ल्याउनुभयो, र दुई घण्टाभन्दा बढी रेटेपछि, अन्ततः उहाँ मेरो हतकडी काट्न सफल हुनुभयो। हतकडी छिनेपछि, ती दिदीले मेरा नाडीहरू दुवै हातले समात्नुभयो, र माया लागेर रुनुभयो। मेरा नाडीका घाउहरू निको हुन दुई महिनाभन्दा बढी लाग्यो। लगातार पाँच दिनसम्म नसुतेकीले, मलाई माइग्रेन र कान बज्ने समस्या भयो। करेन्ट डन्डाले धेरै पटक करेन्ट लगाइएको कारण, मलाई बिजुलीदेखि साह्रै डर लाग्न थाल्यो। म घरमा कुनै पनि विद्युतीय उपकरणका प्लगहरू छुन डराउँछु, किनकि अलिकति छुँदा पनि मलाई मेरो हातमा करेन्ट बगिरहेको भान हुन्छ।

म पक्राउ परेको यो अवधिमा, मलाई कति पटक करेन्ट लगाइयो भन्ने मैले गन्ती नै बिर्सिएँ, र जब-जब मलाई यातना दिइन्थ्यो, पीडा हुन्थ्यो, वा कमजोर महसुस हुन्थ्यो, म हृदयमा परमेश्‍वरलाई पुकार्थेँ र प्रार्थना गर्थेँ। परमेश्‍वरका वचनहरूले नै मलाई विश्वास र शक्ति दिए। मैले परमेश्‍वरका वचनहरूको अख्तियार देखेँ र मेरा लागि परमेश्‍वरको प्रेम र सुरक्षा अनुभव गरेँ, र परमेश्‍वरप्रतिको मेरो आस्था अझ बलियो भयो। साथै, यी सबै यातनाहरूमार्फत, मैले परमेश्‍वरलाई घृणा गर्ने र परमेश्‍वरको प्रतिरोध गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको दुष्ट सारलाई पनि स्पष्ट रूपमा देखेँ। यो एउटा जिउँदो पिशाच हो जसले मानिसहरूको आत्मा निल्छ र तिनीहरूको शरीरलाई यातना दिन्छ। मैले यसलाई मेरो भित्री हृदयदेखि नै तिरस्कार र यसको विरुद्ध विद्रोह गरेँ, र म परमेश्‍वरलाई अन्त्यसम्मै पछ्याउन पहिलेभन्दा बढी दृढ भएँ!

अघिल्लो: ४१. एउटा सानो कुराले मेरो छलीपन प्रकटित भयो

अर्को: ४३. मैले बल्ल आफू एकदमै स्वार्थी रहेछु भनेर थाहा पाएँ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्