३५. चलाखी र धुर्त्याइँले कर्तव्य ठिकसित पूरा गर्नबाट रोक्छ
सन् २०२० मा, अगुवाहरूले मलाई कला र डिजाइनको क्षेत्रको कामको जिम्मेवारी लिन भन्नुभयो। सुरु-सुरुमा, अगुवाहरूले मेरो कामको प्रगति अनुगमन गरिरहेको, र मेरो कामको अवस्थाबारे बुझिरहेको मैले देखेँ। अगुवाहरूले मेरो काममा त्रुटिहरू फेला पारेर मलाई काटछाँट वा बर्खास्त गर्नुहुन्छ कि भनी मलाई चिन्ता लाग्थ्यो। त्यसैले, चित्रहरू कसरी बनाउने भनी सिक्न र आफ्नो व्यावसायिक स्तर सुधार्न मैले अतिरिक्त समय काम गरेँ। मैले सबै टोलीको अध्ययनमा कस्तो प्रगति भइरहेको छ र तिनीहरूले चित्रहरू बनाउने काममा के-कस्तो गरिरहेका छन् भनी बारम्बार बुझ्ने काम पनि गरेँ। विचलनहरू देखिए, म तुरुन्तै मेरा ब्रदर-सिस्टरहरूलाई मदत र मार्गदर्शन गर्थेँ। सन् २०२१ सम्ममा, सुसमाचारको काम झन्-झन् व्यस्त हुँदै गयो, र मलाई कामका सबै विभिन्न पक्षका बारेमा थाहा भइसकेको थियो, त्यसैले अगुवाहरूले मलाई सुरुमा जस्तो नजिकबाट अनुगमन गर्नुभएन। सुरु-सुरुमा म कसैले मेरो कामको अनुगमन र निगरानी गरिरहेको होस् वा नहोस्, मैले आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ, चलाख र धूर्त वा झाराटारुवा बन्न हुँदैन भनेर आफूलाई प्रायः सम्झाउँथेँ। तर, केही समयपछि, मैले गर्नुपर्ने कामहरू धेरै रहेको देखेँ, अनि हरेक काममा समस्याहरू आउँदा, ती सबैलाई समाधान गर्न समय र प्रयास चाहिन्थ्यो। मलाई अलि थकित महसुस हुन थाल्यो। मैले मनमनै सोचेँ, “अहिले, अगुवाहरूले मेरो कामलाई त्यति नजिकबाट निगरानी र अनुगमन गरिहनुभएको छैन। मैले काम राम्ररी गरेँ भने पनि धेरैले याद गर्दैनन्। राम्ररी गरिनँ भने पनि कसैले हप्काउँदैन। मैले आफूलाई धेरै थकाउनु हुँदैन। आखिर, मैले अलिकति अल्छी गरेँ भने पनि कसैले थाहा पाउँदैन। यति धेरै कष्ट किन भोग्नुपर्यो र?” त्यसपछि, म कामको अनुगमन गर्ने कुरामा निकै लापरवाह भएँ। हप्तामा एक पटक सोधपुछ गर्ने म, हरेक दुई वा तीन हप्तामा एक पटक मात्र सोधपुछ गर्न थालेँ। पछि, मैले एउटा टोलीले आफ्नो व्यावसायिक अध्ययनमा राम्रा नतिजाहरू प्राप्त नगरिरहेको पत्ता लगाएँ। कहिलेकाहीँ, निर्धारित अध्ययनको दिशा र सारांशित विचलनहरूले धेरैको आवश्यकता पूरा गर्दैनथ्यो, र केही समयसम्म अध्ययन गरेर पनि, कसैले कुनै स्पष्ट प्रगति देखाएनन्। तर, म त्यो समस्या समाधान गर्न समय खर्चन चाहन्नथेँ। मैले त्यो समस्या टोली अगुवामाथि पन्छाइदिएँ र त्यसलाई अनुगमन गरी समाधान गर्न आग्रह गरेँ। टोली अगुवाले यसो भन्लिन् भनेर मैले सोचेकी थिइनँ, “हालसालै, तपाईँले व्यावसायिक अध्ययन कस्तो चलिरहेको छ भनेर सायदै सोध्नुभएको छ। मैले पनि बोझ लिएकी छैन। त्यसैले गर्दा टोलीको अध्ययनले राम्रा नतिजाहरू ल्याएको छैन र ब्रदर-सिस्टरहरूले धेरै प्रगति गरेका छैनन्।” मैले मनमनै आफ्नो बचाउ गरेँ, “के मैले अहिले यसलाई अनुगमन गरिरहेकी छैन र? यदि तिम्रो टोलीले अध्ययनबाट राम्रा नतिजाहरू प्राप्त गर्दैन भने, यो त मुख्य रूपमा टोली अगुवाका रूपमा तिम्रो जिम्मेवारी हो।” मैले सहजै भनेँ, “त्यसोभए यसलाई सुधारौँ र सँगै प्रवेश गरौँ,” अनि झारा टार्ने तरिकाले त्यसलाई गरिदिएँ। पछि, मैले काममा एकपछि अर्को समस्याहरू पत्ता लगाएँ र कामको सारांश निकाल्ने योजना बनाउन चाहेँ। तर फेरि मैले सोचेँ, “कामको सारांश निकाल्न ब्रदर-सिस्टरहरूले आफ्नो व्यावसायिक काममा सामना गरेका कठिनाइ र विचलनहरू बुझ्नुपर्छ। सुधारका लागि दिशा र मार्ग पत्ता लगाउन पनि सोचविचार गर्नुपर्छ। यो त एकदमै दिमाग थकाउने काम हो। बरु मैले सारांश ननिकालेकै राम्रो। जे भए पनि, कसैले यी कुराबारे सोध्दैन र मैले सारांश निकालेँ भने पनि कसैले थाहा पाउँदैन।” यसरी, मैले यसलाई अझै केही समय टारिदिएँ। मेरा ब्रदर-सिस्टरहरूले चित्रहरू बनाउँदा आएका समस्याहरूमा कुनै सुधार नभएको मैले हेरिरहेँ। मेरो हृदयमा केही आत्मग्लानि भयो। मैले समस्याहरू पत्ता लगाइसकेकी थिएँ तर झन्झट नचाहेकीले तिनलाई समाधान गरिरहेकी थिइनँ। यो त झारा टार्नु र वास्तविक काम नगर्नु थियो! मलाई यो अवधिभरि आफ्नो स्थिति गलत रहेको महसुस गरेँ, र पढ्नका लागि परमेश्वरका केही सान्दर्भिक वचनहरू खोजेँ।
सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “आफ्नो कर्तव्य निर्वाह गर्दा झाराटारुवा हुनु एक प्रमुख वर्जित कुरा हो। यदि तँ आफ्नो कर्तव्य पूरा गर्दा सधैँ झाराटारुवा हुन्छस् भने, तैँले आफ्नो कर्तव्य मानकअनुरूप पूरा गर्न असम्भव छ। यदि तँ भक्तिका साथ आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्छस् भने, तैँले सबैभन्दा पहिले झाराटारुवा हुने आफ्नो समस्यालाई सुल्झाउनुपर्छ। तैँले यस अवस्थाका प्रकटीकरणहरू देख्नेबित्तिकै त्यसलाई सच्याउन कदम चाल्नुपर्छ। यदि तँ अन्योलमा परेको छस्, कहिल्यै समस्याहरू देख्न सक्दैनस्, सधैँ प्रक्रिया मात्र पूरा गर्छस्, र झाराटारुवा शैलीमा काम गर्छस् भने, तैँले राम्रोसँग आफ्नो कर्तव्य निर्वाह गर्न सम्भव हुनेछैन। त्यसकारण, तैँले आफ्नो हृदयलाई आफ्नो कर्तव्यमा लगाउनैपर्छ। मानिसहरूले मुस्किलले आफ्नो कर्तव्य निर्वाह गर्ने अवसर पाउँछन्! जब परमेश्वरले तिनीहरूलाई यो मौका दिनुहुन्छ, तर पनि तिनीहरूले यसलाई बुझ्दैनन् भने, तिनीहरूले त्यो अवसर गुमाउँछन्—अनि पछि यदि तिनीहरूले त्यस्तो अवसर पाउन चाहे भने पनि, यो फेरि तिनीहरूकहाँ नआउन सक्छ। परमेश्वरको कामले कसैलाई पनि पर्खँदैन, न त व्यक्तिले गर्नुपर्ने कर्तव्यले नै पर्खन्छ। … हाल कर्तव्य निर्वाह गर्ने धेरै अवसरहरू छैनन्, त्यसैले तैँले सकेसम्म तिनलाई समात्नुपर्छ। कुनै कर्तव्य आइपर्दा नै तैँले वास्तविक प्रयास गर्नुपर्छ; त्यतिबेला नै तैँले आफूलाई अर्पण गर्नुपर्छ र परमेश्वरप्रति आफूलाई समर्पित गर्नुपर्छ र त्यतिबेला नै तैँले मूल्य चुकाउनु आवश्यक हुन्छ। कुनै पनि कुरा लुकाएर राख्ने, कुनै षड्यन्त्र पालेर राख्ने, कुनै छुट दिने, वा आफूलाई उम्कने बाटो छोड्ने काम नगर्। यदि तैँले कुनै छुट दिइस्, चालबाजी गरिस्, वा धूर्त भइस् र ढिलासुस्ती गरिस् भने, तैँले पक्कै पनि खराब काम गर्नेछस्। मानौँ तैँले भन्छस्, ‘मैले धूर्त्याइँ गरेको र ढिलासुस्ती गरेको कसैले देखेन। क्या गजब भो!’ यो कस्तो सोचाइ हो? के तँलाई तैँले मानिसहरूको आँखामा, र परमेश्वरको आँखामा पनि, छारो हालेको छु भन्ने लाग्छ? तर, खास तथ्यमा, के तैँले के गरेको छस् भन्ने कुरा परमेश्वरलाई थाहा हुन्छ? थाहा हुन्छ। वास्तवमा, तँसँग केही समय अन्तरक्रिया गर्ने जो कोहीले पनि तेरो भ्रष्टता र कुरूपताको बारेमा थाहा पाउनेछ; कुरा यति मात्रै हो कि तिनीहरूले सोझै नभन्न सक्छन्: तिनीहरूले हृदयमा तेरो मूल्याङ्कन गर्नेछन्। धेरै मानिसहरू यस्ता थिए जसलाई प्रकट गरी हटाइयो किनभने धेरैजसो मानिसहरूले तिनीहरूको सार छर्लङ्गै देख्न सक्थे र त्यसैले तिनीहरू को हुन् भन्ने कुरा खुलासा गरे र तिनीहरूलाई मण्डलीबाट निकाल्न लगाए। त्यसैले, मानिसहरूले सत्यता पछ्याए पनि नपछ्याए पनि, तिनीहरूले आफ्नो क्षमताले भ्याएसम्म आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ; तिनीहरू आफ्नो विवेकद्वारा डोऱ्याइनुपर्छ र तिनीहरूले केही वास्तविक कामकुरा गर्नुपर्छ। तँमा कमजोरीहरू हुन सक्छन्, तर यदि तँ आफ्नो कर्तव्य निर्वाह गर्नमा प्रभावकारी हुन सक्छस् भने, तँलाई हटाइनेछैन। यदि तँ सधैँ आफू ठीक छु, मलाई पक्कै पनि हटाइनेछैन भनी सोच्छस् भने, यदि तैँले कहिल्यै चिन्तन गर्दैनस् वा आफूलाई चिन्ने प्रयास गर्दैनस्, र तैँले अझै पनि आफ्ना उचित कामहरूलाई बेवास्ता गर्छस् र सधैँ झारा टार्छस् भने, जब परमेश्वरका चुनिएका मानिसहरूले साँच्चै तँप्रति सहनशीलता गुमाउँछन्, तब तिनीहरूले तँ को होस् भन्ने कुरा खुलासा गर्नेछन्, अनि तँलाई हटाइनेछ। त्यसपछि, पछुताउन धेरै ढिलो भइसकेको हुनेछ, किनभने सबैले तँलाई छर्लङ्गै देखिसकेका हुनेछन्, र तैँले आफ्नो सबै इज्जत र निष्ठा गुमाइसकेको हुनेछस्। यदि कसैले तँलाई विश्वास गर्दैन भने, के परमेश्वरले तँलाई विश्वास गर्नुहुन्छ। परमेश्वरले मानिसको सबैभन्दा भित्री हृदयको छानबिन गर्नुहुन्छ: उहाँले यस्तो व्यक्तिलाई कदापि विश्वास गर्नुहुनेछैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ)। परमेश्वरले भन्नुभएको कुरा ठ्याक्कै मेरो स्थिति थियो। मैले आफ्नो कर्तव्यलाई ठ्याक्कै यसरी नै व्यवहार गरेकी थिएँ। कसैले हेरिरहेको बेला, मैले धेरै प्रयास गर्थेँ, तर कसैले निरीक्षण नगर्दा, म चलाख र धूर्त बन्थेँ, र झारा टार्ने तरिकाले काम गर्थेँ। मैले त्यो समयलाई सम्झेँ जब अगुवाहरूले मेरो कामलाई बारम्बार अनुगमन गर्नुहुन्थ्यो। त्यतिबेला, मैले वास्तविक काम गरिनँ भने अगुवाहरूले थाहा पाउनुहुनेछ र मलाई बर्खास्त गर्नुहुनेछ भन्ने डर थियो। फलस्वरूप, म आफ्नो कर्तव्य पूरा गर्नमा अलि सक्रिय थिएँ। मैले विभिन्न टोलीको कामलाई बारम्बार अनुगमन गर्थेँ र ब्रदर-सिस्टरहरूले बनाएका चित्रहरूको इफेक्ट सुधार्न उनीहरूलाई प्रायः मार्गदर्शन र मदत गर्थेँ। तर, जब अगुवाहरूले मेरो कामलाई नियमित रूपमा अनुगमन गर्न छाड्नुभयो, मैले झारा टार्ने तरिकाले काम गर्न थालेँ। मैले थोरै अल्छी गरेँ भने पनि कसैले थाहा पाउँदैन, अनि मेरो इज्जत र प्रतिष्ठामा कुनै हानि हुनेछैन भनी सोचेँ। त्यसैले, मैले कामको अनुगमन वा निगरानी गर्ने कुरामा ध्यान दिइनँ, र वास्तविक समस्याहरू समाधान गर्नमा केन्द्रित भइनँ। यसले गर्दा, मेरा ब्रदर-सिस्टरहरू आफ्नो कर्तव्य निर्वाहमा लापरवाह र सुस्त भए, र समस्याहरू निरन्तर देखा परिरहे। टोली अगुवाले मलाई समस्याहरू मैले कामका बारेमा नसोध्नुसँग सम्बन्धित छ भनेर सम्झाइन्, तर मैले आत्मचिन्तन नगरेकी मात्र हैन, उल्टै त्यो समस्या उनीमाथि नै पन्छाइदिएँ, र उनले आफ्नो कर्तव्य झारा टार्ने तरिकाले निर्वाह गरिरहेकी छिन् भनी गुनासो गरेँ। ममा साँच्चै समझको कमी थियो! म आफ्नो कर्तव्य पूरा गर्दा चलाख र धूर्त भएँ। मैले जहाँ सक्थेँ त्यहाँ प्रयास बचाउँथेँ, र जब सक्थेँ तब अल्छी गर्थेँ। मैले मण्डलीको कामलाई गभीर कुराका रूपमा लिइनँ। केही समयका लागि मैले अगुवाहरूको आँखामा छारो हाले तापनि, परमेश्वरले सबै कुराको छानबिन गर्नुहुन्छ, र मैले उहाँलाई छल्न सक्दिनथेँ। यदि मैले यस्तै झारा टार्ने तरिकाले काम गरिरहेँ भने, मैले आफ्नो निष्ठा र मर्यादालाई खेर फाल्ने मात्र होइन, ढिलो-चाँडो वास्तविक काम नगरेको कारण म प्रकट भई बर्खास्त हुनेथिएँ। यस क्षणमा, मैले बल्ल आफ्नो कर्तव्य झारा टार्ने तरिकाले पूरा गर्नुका परिणामहरूको गम्भीरता महसुस गरेँ।
पछि, मैले परमेश्वरका थप वचनहरू पढेँ: “‘आफ्नो कर्तव्य पालना गर्नु’ भनेको के हो? यसको अर्थ मानिसहरूले जस्तोसुकै कठिनाइहरू सामना गरे पनि, आफ्नो काम नत्याग्नु, भगुवा नहुनु, वा आफ्नो जिम्मेवारीबाट पछि नहट्नु भन्ने हो। तिनीहरूले आफूले सक्ने जति सबै गर्छन्। आफ्नो कर्तव्य पालना गर्नु भनेको यही हो। उदाहरणको लागि, मानौँ, तेरो लागि केही काम गर्ने बन्दोबस्त मिलाइएको छ अनि तँलाई रेखदेख गर्ने, सुपरिवेक्षण गर्ने वा गर्-गर् भन्ने कोही छैन। तैँले आफ्नो कर्तव्य पालना गर्नु भनेको कस्तो हुनेथियो? (परमेश्वरको सूक्ष्म जाँचलाई स्वीकार गर्नु र उहाँको उपस्थितिमा जिउनु।) परमेश्वरको सूक्ष्म जाँचलाई स्वीकार गर्नु पहिलो कदम हो; यो यसको एउटा भाग हो। अर्को भाग भनेको आफ्नो सारा मन र मस्तिष्कले आफ्नो कर्तव्य निभाउनु हो। आफ्नो सारा मन मस्तिष्कले कर्तव्य निभाउन सक्षम हुनको निम्ति तैँले के गर्नुपर्छ? तैँले सत्यतालाई स्वीकार गरेर अभ्यास गर्नुपर्छ; अर्थात् तैँले परमेश्वरका जुनसुकै मागहरूलाई स्वीकार गर्नुपर्छ र तिनमा समर्पित हुनुपर्छ; तैँले आफ्नो कर्तव्यलाई आफ्नै व्यक्तिगत मामिलाहरू सम्हाले झैँ गरी सम्हाल्नुपर्छ, र त्यसको लागि तँलाई कसैको निगरानी, परिवेक्षण, तैँले सही तरिकामा कर्तव्य गरिरहेको छस् कि छैनस् भनेर जाँच, प्रोत्साहन, निरीक्षण वा काटछाँटको समेत खाँचो हुनु हुँदैन। तैँले मनमा यस्तो सोचेको हुनुपर्छ, ‘यो कर्तव्य पूरा गर्ने मेरो जिम्मेवारी हो। यो मेरो भाग हो, र यो काम गर्न मलाई दिइएको हुनाले, र मलाई सिद्धान्तहरू बताइएको र मैले ती बुझेको हुनाले, म एकोहोरो भएर लागिरहनेछु। यसलाई राम्ररी पूरा गर्न म आफूले सकेजति गर्नेछु।’ तँ यो कर्तव्य निभाउन दृढ रहनुपर्छ, र कुनै व्यक्ति, घटना वा कुराको बन्धनमा पर्नुहुन्न। आफ्नो सारा मन र मस्तिष्कसहित आफ्नो कर्तव्य पालना गर्नु भनेको यही हो र मानिसहरूमा हुनुपर्ने स्वरूप यही हो। त्यसो भए, आफ्नो कर्तव्य सारा मन र मस्तिष्कसहित पालना गर्नको लागि मानिसहरू के कुराले सुसज्जित हुनुपर्छ? सर्वप्रथम, तिनीहरूमा सृष्टि गरिएको प्राणीहरूमा हुनुपर्ने विवेक हुनुपर्छ। न्यूनतम कुरा त्यही हो। त्यसबाहेक, ऊ अर्पित पनि हुनैपर्छ। एक मानवको रूपमा, परमेश्वरको आज्ञा स्वीकार गर्नका निम्ति व्यक्ति अर्पित हुनैपर्छ। व्यक्ति परमेश्वरप्रति मात्र पूर्ण रूपमा अर्पित हुनैपर्छ, र ऊ आधा मनको हुनु हुँदैन, वा जिम्मेवारी उठाउन असफल हुनु हुँदैन; आफ्नै रुचिहरू वा मनस्थितिको आधारमा कार्य गर्नु गलत हो—यो अर्पित हुनु होइन। अर्पित हुनुको अर्थ के हो त? यसको अर्थ यही हो कि तैँले आफ्ना कर्तव्यहरू निर्वाह गर्छस् र आफ्नो मनस्थिति, वातावरण, वा अरू मानिस, घटना र कामकुराहरूद्वारा प्रभावित र बाध्य हुँदैनस्। तैँले मनमनै यस्तो सोच्नैपर्छ, ‘मैले यो आज्ञा परमेश्वरबाट स्वीकार गरेको छु; उहाँले मलाई यो दिनुभएको हो। मैले गर्नुपर्ने यही नै हो, त्यसकारण, म यसलाई मेरो आफ्नै मामिलाहरू गरे झैँ गरी, राम्रा परिणामहरू ल्याउने जुनसुकै तरिकाद्वारा र परमेश्वरलाई सन्तुष्ट पार्ने कुरालाई महत्त्व दिँदै गर्नेछु।’ जब तँ यस्तो अवस्थामा हुन्छस्, तेरो विवेक नियन्त्रणमा हुने मात्र होइन, तर तँभित्र अर्पण पनि हुन्छ। यदि तँ दक्ष बन्ने र परिणामहरू प्राप्त गर्ने आकाङ्क्षा गर्दैनस्, त्यो कार्य सम्पन्न गर्दा नै सन्तुष्ट हुन्छस्, अनि त्यसमा आफ्नो पूरै प्रयास लगाउनु नै पर्याप्त हुन्छ भनी विचार गर्छस् भने, त्यो मानिसहरूको विवेकको मापदण्ड पूरा गर्नु मात्र हो, र त्यसलाई अर्पण मान्न सकिँदैन। परमेश्वरप्रति अर्पित हुनु भनेको विवेकको मानकभन्दा उच्च आवश्यक मानक हो। यो आफ्नो पूरै प्रयत्न लगाउने कुरा मात्र होइन; त्यसमा तैँले आफ्नो सम्पूर्ण हृदय पनि लगाउनुपर्छ। तैँले आफ्नो हृदयमा सधैँ आफ्नो कर्तव्यलाई आफूले गर्नुपर्ने कामको रूपमा लिनुपर्छ, त्यस कामको लागि बोझ लिनुपर्छ, यदि तैँले सानो गल्ती गरिस् वा तँ लापरवाह स्थितिमा भइस् भने तैँले केही गाली सहनुपर्छ, र तैँले आफूलाई यसरी आचरणमा ढाल्नु हुँदैन भनी महसुस गर्नुपर्छ किनकि यसले तँलाई परमेश्वरप्रति अत्यन्तै ऋणी बनाउँछ। जुन मानिसहरूमा साँच्चै विवेक र समझ हुन्छ, उनीहरूले कसैले निगरानी वा सुपरिवेक्षण गरिरहेको भए वा नभए पनि आफ्नो कर्तव्य आफूले गर्नुपर्ने कामजस्तै ठानेर निर्वाह गर्छन्। परमेश्वर उनीहरूसँग खुसी हुनु भए पनि वा नहुनु भए पनि र परमेश्वरले उनीहरूसँग जस्तोसुकै व्यवहार गर्नुभए पनि, आफ्ना कर्तव्यहरू राम्ररी गर्न अनि परमेश्वरले उनीहरूलाई सुम्पनुभएको आज्ञा पूरा गर्न उनीहरूले सधैँ आफैसँग कठोर मापदण्डहरू राख्छन्। यसलाई अर्पण भनिन्छ। के यो विवेकको मापदण्डभन्दा पनि उच्च मापदण्ड होइन र? विवेकको मापदण्डअनुसार व्यवहार गर्दा, मानिसहरू प्राय बाहिरी कुराहरूद्वारा प्रभावित हुन्छन्, वा आफ्नो कर्तव्यमा आफ्नो सबै प्रयास लगाउनु मात्रै पनि पर्याप्त हुन्छ भन्ठान्छन्; शुद्धताको स्तर त्यति उच्च हुँदैन। तर, अर्पणबारे र अर्पणका साथ आफ्नो कर्तव्य पालना गर्न सक्नेबारे कुरा गर्दा, शुद्धताको स्तर उच्च हुन्छ। यो प्रयास लगाउनु मात्रै होइन; यसको लागि तैँले आफ्नो कर्तव्यमा आफ्नो सारा हृदय, मन र शरीर, लगाउनु आवश्यक हुन्छ। तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न कहिलेकाहीँ थोरै शारीरिक कठिनाइ सहनैपर्छ। तैँले मूल्य चुकाउनैपर्छ र आफ्नो सम्पूर्ण ध्यान आफ्नो कर्तव्य निर्वाह गर्नमा केन्द्रित गर्नुपर्छ। तैँले जुनसुकै परिस्थितिको सामना गरे पनि त्यसले तेरो कर्तव्यमा असर पार्नेछैन वा तेरो कर्तव्य निर्वाहनमा ढिलासुस्ती निम्त्याउने छैन र तैँले परमेश्वरलाई सन्तुष्ट बनाउन सक्नेछस्। यसो गर्न तैँले मूल्य चुकाउन सक्नैपर्छ। तैँले आफ्नो दैहिक परिवार, व्यक्तिगत मामिला र स्वार्थ त्याग्नैपर्छ। तैँले आफ्नो घमण्ड, अभिमान, भावना, भौतिक सुख अनि तेरो युवा अवस्थाका उत्कृष्ट वर्षहरू, तेरो विवाह, तेरो भविष्य र तेरो नियतिजस्ता कुराहरूसमेत सबै छोड्नुपर्छ र त्याग्नुपर्छ, र तैँले स्वेच्छाले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। त्यसपछि, तैँले अर्पण हासिल गरेको हुनेछस् र यसरी जिएर तँसँग मानव स्वरूप हुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूमा मनन गर्दा, मलाई एकदमै लाज लाग्यो। पहिले, मैले सधैँ आफ्नो कर्तव्य निर्वाह गर्दा कष्ट भोग्न र मूल्य चुकाउन सक्छु भनी सोचेकी थिएँ। अब, वातावरणले मलाई प्रकट गरेको थियो, र मैले बल्ल विगतमा देखाएको मेरो बफादारी सबै भ्रम थियो भनी देखेँ। त्यो त केवल कसैले मलाई अनुगमन गरिरहेको र मेरो कामको निगरानी गरिरहेकाले मात्रै थियो, अनि मैले आफ्नो कर्तव्य ठिकसित पूरा गरिनँ भने मलाई काटछाँट गरिनेछ वा बर्खास्तसमेत गरिनेछ भन्ने डरले गर्दा, मैले आफूलाई बचाउनका लागि मात्रै मन नलागी-नलागी अलिकति बफादारी देखाएकी थिएँ। कसैले मेरो कामको जाँच वा अनुगमन नगर्ने बित्तिकै, मैले झाराटारुवा, चलाखी र धुर्त्याइँ गर्न थालेँ। जो आफ्नो कर्तव्यप्रति साँच्चै बफादार हुन्छन्, उनीहरूले आफ्नो कर्तव्यलाई आफ्नै जिम्मेवारीका रूपमा लिन्छन्, र आफ्नो कर्तव्य पूरा गर्दा परमेश्वरको छानबिन स्वीकार गर्न सक्षम हुन्छन्। वरपरको वातावरण जसरी परिवर्तन भए पनि, वा उनीहरूको कामको निगरानी वा अनुगमन गरिरहने मानिसहरू भए पनि वा नभए पनि, उनीहरूले सधैँ तनमन लगाएर कामलाई राम्ररी गर्न सक्छन्। अगुवाहरूले अहिले मेरो कामलाई बारम्बार अनुगमन नगरे पनि, यो वातावरण मेरा लागि एउटा परीक्षा थियो। मैले झारा टार्ने काम गरिरहन मिल्दैनथ्यो। मैले परमेश्वरको छानबिन स्वीकार गर्नैपर्छ, आफ्नै जिम्मेवारीहरू पूरा गर्नैपर्छ, र यो कामलाई साँच्चै काँधमा बोक्नैपर्छ। मैले सबै टोलीमा रहेका केही समस्याहरू, अनि ब्रदर-सिस्टरहरूले स्पष्ट प्रगति नगरिरहेको कुरालाई सम्झेँ। मैले सबैलाई विचलनहरू सारसंक्षेप गर्न र अभ्यासका राम्रा मार्गहरूबारे छलफल गर्न तुरुन्तै व्यवस्था मिलाउनुपर्थ्यो। यसरी, मेरा ब्रदर-सिस्टरहरूको व्यावसायिक स्तर बढ्ने थियो, र तब मात्र उनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा राम्रा नतिजाहरू प्राप्त गर्नेथिए। पछि, मैले टोली अगुवाहरूको वास्तविक कठिनाइहरू बुझ्न सकेँ र आफूले देखेका समस्याहरूको सारांश निकालेँ। मैले केही अनुभवी ब्रदर-सिस्टरलाई पनि सारांशहरूमा सहभागी भई समस्या समाधानका मार्गहरूबारे छलफल गर्न बोलाएँ। सबैले यसरी सारांश निकाल्नु उत्कृष्ट रहेको र यसबाट धेरै कुरा प्राप्त गरेको बताए। पछि, मैले हरेक टोलीको कामको बेलैमा अनुगमन गरी ताजा अवस्थाबारे अवगत भइरहेँ। विचलनहरू फेला पर्दा, मैले तिनलाई समयमै सुधार गरेँ। कामका नतिजाहरू पहिलेभन्दा सुधार भए।
सुरुमा मैले आफ्नो कर्तव्यप्रतिको मेरो मनोवृत्ति केही हदसम्म बदलिएको छ भनी सोचेँ, तर मेरो भ्रष्ट स्वभावको जरा अत्यन्तै गहिरो भएकाले, केही समयपछि, म फेरि झारा टार्ने स्थितिमा जिउन थालेँ। सन् २०२१ को सेप्टेम्बरमा, मण्डलीले मलाई मलजल गर्ने कामको सुपरिवेक्षकमा नियुक्त गर्यो। त्यतिबेला, मैले यो कर्तव्य राम्ररी पूरा गर्नेछु भनी अठोट गरेँ, त्यसैले मैले कामको विवरणहरूबारे परिचित रहन र बुझ्न, अनि सान्दर्भिक सिद्धान्तहरू सिक्न मेहनत गरेँ। म प्रायः धेरै ढिलो सुत्थेँ। मैले यस कामको जिम्मेवारी पहिले कहिल्यै नलिएकीले, केही दिनसम्म आफूलाई परिचित गराएपछि पनि मैले बुझ्न नसकेका केही कार्यहरू अझै थिए। मैले धेरै दबाब महसुस गरेँ। मलाई चिन्ता लाग्यो, यदि अगुवा कामबारे बुझ्न आउनुभयो भने मैले कुनै जवाफ दिन सक्नेछैन। उहाँले मेरो बारेमा के सोच्नुहोला? के उहाँले म यो काम राम्ररी गर्न समर्थ छैन भनी सोच्नुहोला? यो सोचेपछि, मैले कामसँग आफूलाई परिचित गराउन र सिद्धान्तहरूद्वारा आफूलाई सुसज्जित पार्न अझै मेहनत गरेँ। जब अगुवा कामबारे बुझ्न आउनुभयो, उहाँलाई मैले यो काम भर्खरै मात्र सम्हालेकी छु भन्ने थाहा थियो, त्यसैले उहाँले मलाई कामका विभिन्न पक्षसँग जतिसक्दो चाँडो परिचित हुन मात्र आग्रह गर्नुभयो, र मलाई अलिकति पनि हप्काउनुभएन। मेरो हृदयबाट ठूलो ढुङ्गा हटेझैँ लाग्यो, मैले ठूलो राहत महसुस गरेँ। मैले सोचेँ, अगुवाले मसँग खासै उच्च मागहरू राख्नुभएको छैन, त्यसैले कामसँग आफूलाई परिचित गराउनेबारे म त्यति चिन्तित हुनु आवश्यक छैन। म त्यो समयमा धेरै थाकेकी थिएँ, र अब म केही आराम गर्न सक्ने भएँ। पछि, मलाई हरेक टोलीको काम बुझ्न उत्सुकता भएन, र सिद्धान्तहरूद्वारा आफूलाई सुसज्जित पार्नमा ध्यान दिइनँ। मैले सोचेँ, काममा सहभागी हुँदा बिस्तारै सिक्न र अध्ययन गर्न सक्छु र त्यतिले नै पुग्छ। फुर्सद हुँदा, म भजनहरू सुन्थेँ, र आफूलाई आराम दिन केही मनोरञ्जनात्मक सांसारिक छोटा भिडियोहरू पनि खोज्थेँ। पछि, अगुवाले एकपछि अर्को गरी मेरो जिम्मेवारीका धेरै टोली अगुवाले वास्तविक काम नगरिरहेका, र यसले यो मण्डलीको काममा ढिलाइ गरिरहेको थाहा पाउनुभयो। अचम्म, मलाई यी समस्याहरूबारे थाहै थिएन। त्यो अवधिमा कामका नतिजाहरू राम्रा थिएनन्, तर समस्याहरू कहाँबाट उत्पन्न भइरहेका छन् भनी मैले होसियारीसाथ विचार गरेकी थिइनँ, र अन्य ब्रदर-सिस्टरहरूसँग खोजीनीति गरेकी थिइनँ। यसले गर्दा समस्याहरू लामो समयसम्म समाधान भएनन्।
केही समयपछि, मेरो काम हेरफेर गरियो किनभने सुरुदेखि अन्त्यसम्म मैले कहिल्यै सुपरिवेक्षकको गर्न समर्थ भइनँ। त्यतिबेला, मेरो हृदय खोक्रो भएको जस्तो लाग्यो। म चिन्तित र बेचैन भएँ। अगुवाले मलाई मैले यो काम गर्न नसकेकीले मात्र बर्खास्त भएकी भने पनि, मेरो हृदयमा मलाई थाहा थियो कि विगतका केही महिनामा, म आफ्नो कर्तव्य पूरा गर्दा झाराटारुवा भएकी थिएँ, र मुस्किलले कुनै वास्तविक काम गरेकी थिएँ। म निश्चित रूपमा बर्खास्त हुन लायक थिएँ। जब मैले यस्तो सोचेँ, तब मेरो हृदयमा एक प्रकारको अवर्णनीय पीडा महसुस भयो। मैले परमेश्वरका यी वचनहरू पढेँ: “तैँले परमेश्वरका आज्ञाहरूलाई कसरी व्यवहार गर्नुपर्छ भन्ने कुरा अत्यन्तै महत्त्वपूर्ण छ। यो एकदमै गम्भीर कुरा हो! यदि परमेश्वरले तँलाई सुम्पनुभएको कुरा तँ पूरा गर्न सक्दैनस् भने, तँ उहाँको उपस्थितिमा जिउन लायक छैनस् र तैँले आफ्नो दण्ड स्विकार्नुपर्छ। परमेश्वरले सुम्पनुभएका आज्ञाहरू मानिसहरूले पूरा गर्नु पूर्ण रूपमा स्वाभाविक र न्यायोचित हो। यो मानिसको सर्वोच्च जिम्मेवारी हो, र यो उसको जीवनजत्तिकै नै महत्त्वपूर्ण छ। यदि तैँले परमेश्वरका आज्ञाहरूलाई हल्का रूपमा लिन्छस् भने, यो परमेश्वरलाई दिइएको सबैभन्दा गम्भीर धोका हो। त्यसो गरेर, तँ यहूदाभन्दा पनि बढी निन्दनीय हुन्छस्, र तँ श्रापित हुनुपर्छ। मानिसहरूले परमेश्वरका आज्ञाहरूलाई कसरी व्यवहार गर्ने भन्नेबारेमा स्पष्ट बुझाइ प्राप्त गर्नैपर्छ र, कम्तीमा पनि, तिनीहरूले यो बुझ्नुपर्छ: परमेश्वरले मानिसहरूलाई आज्ञाहरू सुम्पनु भनेको उहाँले मानिसलाई उच्च पार्नुभएको हो, र यो उहाँले मानिसलाई देखाउने एक प्रकारको विशेष अनुग्रह हो, यो सबैभन्दा महिमामयी कुरा हो, र अरू सबै कुरा—आफ्नै जीवन समेत—त्याग्न सकिन्छ—तर परमेश्वरका आज्ञाहरू पूरा गरिनैपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। परमेश्वरका वचनहरूमा मनन गर्दा, परमेश्वरले आमने-सामने बसेर मलाई खुलासा गरिरहनुभएको महसुस भयो। विशेष गरी, जब मैले परमेश्वरले भन्नुभएका यी कुराहरू पढेँ, “तँ उहाँको उपस्थितिमा जिउन लायक छैनस् र तँलाई सजाय दिइनुपर्छ,” “तैँले उहाँलाई सबैभन्दा दर्दनाक तरिकाले धोका दिइरहेको छस्,” र “तँ श्रापित हुनुपर्छ,” यी वचनहरू धारिलो छुरीजस्तै मेरो हृदयमा घोपियो। मलाई अत्यन्तै पीडा भयो, र आत्मग्लानिले भरिएँ। मलाई के महसुस भयो भने मण्डलीले मलाई तालिमको अवसर दिन सुपरिवेक्षकमा नियुक्त गरेको थियो। यो मेरो जिम्मेवारी पनि थियो। मैले परमेश्वरका अभिप्रायहरूप्रति ख्याल देखाउनुपर्थ्यो, आफ्नो सम्पूर्ण शक्ति समर्पित गर्नुपर्थ्यो, र यो कर्तव्य राम्रोसित पूरा गर्न कुनै पनि मूल्य चुकाउनुपर्थ्यो। तर, मैले आफ्नो कर्तव्यलाई विशेष गरी अनादरपूर्ण तरिकाले व्यवहार गरेँ। अगुवा कामबारे बुझ्न आउँदा प्रश्नहरूको जवाफ दिन नसक्ने अवस्था र परिणामस्वरूप काटछाँट वा बर्खास्त हुनबाट बच्नका लागि, मैले विभिन्न कामहरूसँग आफूलाई परिचित गराउन अतिरिक्त होसियारी र प्रयास लगाएँ। तर, पछि, जब मैले अगुवाले धेरै विस्तारमा नसोधेको देखेँ, तब मैले अवस्थाको फाइदा उठाउँदै चलाखी र धुर्त्याइँ गर्न थालेँ। म कामसँग आफूलाई परिचित गराउन उत्सुक थिइनँ; वास्तविक समस्याहरू समाधान गर्नमा त झनै ध्यान दिइनँ। आफ्नो कर्तव्य पूरा गर्दा, म सुस्त र अनिच्छुक, असावधान र हतार नगर्ने थिएँ, र दैहिक सुख-सुविधाहरूमा पूर्ण रूपमा लिप्त थिएँ। मैले सिस्टर लिउ शिनका बारेमा सोचेँ, जो मलजल गर्ने कामको सुपरिवेक्षक पनि थिइन्। पहिले, उनी पनि यस कामका लागि कहिल्यै जिम्मेवार रहेकी थिइनन्। तर, उनले आफ्नो कर्तव्यलाई सधैँ गम्भीर र जिम्मेवारीपूर्ण तरिकाले लिइन्। उनी वास्तविक समस्याहरू बुझ्न र समाधान गर्नमा केन्द्रित भइन्, र दुई महिनापछि केही वास्तविक काम गर्न समर्थ भइन्। तर, मैले यो कर्तव्य तीन महिनादेखि गरिरहेकी थिएँ र अझै पनि कामसँग परिचित थिइनँ। मैले टोली अगुवाहरूले वास्तविक काम नगर्ने र र मलजल गर्ने काममा ढिलाइ गर्ने जस्तो गम्भीर समस्यासमेत पत्तो पाउन सकिनँ। यो मेरो कर्तव्यको घोर लापरवाही थियो! मैले परमेश्वरका यति धेरै वचनहरू खाएकी-पिएकी थिएँ, र उहाँको अनुग्रह पाएकी थिएँ किनभने उहाँले मलाई सुपरिवेक्षक बन्न उचाल्नुभएको थियो। तर, मैले हरेक अवसरको फाइदा उठाउँदै चलाख र धूर्त बनेर वास्तविक काम गर्नबाट पन्छन खोजेँ। परिणामस्वरूप मण्डलीको काममा ढिलाइ र अवरोध हुन पुग्यो। पहिले, म सुपरिवेक्षक रहँदा चलाख, धूर्त र झाराटारुवा बनेकी थिएँ; अहिले पनि म ठ्याक्कै त्यही कुरा गरिरहेकी थिएँ। मैले जति धेरै सोचेँ, त्यति नै मलाई आत्मग्लानि र अपराधबोध भयो। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे प्रिय परमेश्वर, मैले आफ्नो कर्तव्य राम्ररी पूरा गरेकी छैन र मण्डलीको काममा बाधा पुर्याएकी छु। म पछुतोले भरिएकी छु र यसरी बढिरहन चाहन्नँ। हे प्रिय परमेश्वर, तपाईँ मलाई असफलताबाट पाठ सिक्न अगुवाइ गर्नुहोस्। म पश्चात्ताप गर्न इच्छुक छु।”
पछि, मैले यो प्रश्नलाई आफ्नो मनमा बारम्बार खेलाएँ: मैले किन सधैँ अनजानमा परमेश्वरलाई मूर्ख बनाएँ र धोका दिएँ? म कुन स्वभावद्वारा नियन्त्रित भइरहेकी थिएँ? एक पटक, मेरो उपासनाको समयमा, मैले परमेश्वरका यी वचनहरू पढेँ: “यदि तँ आफ्नो कर्तव्यमा निरन्तर रूपले झाराटारुवा हुन्छस् भने, यो कस्तो समस्या हो? यो तेरो मानवतासँग सम्बन्धित समस्या हो। विवेक र मानवता नभएका मानिसहरू मात्र निरन्तर रूपले झाराटारुवा हुन्छन्। के तिमीहरूलाई सधैँ झाराटारुवा हुने मानिसहरू भरपर्दा हुन्छन् जस्तो लाग्छ? (लाग्दैन।) तिनीहरू फिटिक्कै भरपर्दा हुँदैनन्। झाराटारुवा तरिकाले काम गर्ने व्यक्ति गैरजिम्मेवार व्यक्ति हो, र आफ्ना कार्यहरूमा गैरजिम्मेवार हुने व्यक्ति इमान्दार व्यक्ति होइन—त्यो भरोसायोग्य व्यक्ति होइन। उसले जे कर्तव्य निर्वाह गरे पनि, भरोसा गर्न नमिल्ने व्यक्ति झाराटारुवा नै हुन्छ, किनकि उसको चरित्र मानकअनुरूपको हुँदैन, ऊ सत्यतालाई प्रेम गर्दैन, र ऊ निश्चय नै इमान्दार व्यक्ति होइन। के परमेश्वरले भरोसा गर्न नमिल्ने मानिसहरूलाई कुनै पनि कुरा सुम्पन सक्नुहुन्छ? कदापि सक्नुहुन्न। परमेश्वरले मानिसहरूको हृदयको गहिराइ जाँच्नुहुने हुनाले, उहाँले कर्तव्यहरू निभाउन छली मानिसहरू कदापि प्रयोग गर्नुहुन्न; परमेश्वरले इमान्दारहरूलाई मात्र आशिष् दिनुहुन्छ, र उहाँले इमान्दार र सत्यतालाई प्रेम गर्नेहरूमाथि मात्र काम गर्नुहुन्छ। जब जब कुनै छली व्यक्तिले कुनै कर्तव्य निभाउँछ, त्यो मान्छेद्वारा गरिएको बन्दोबस्त हुन्छ, र त्यो मान्छेको गल्ती हुन्छ। झाराटारुवा हुन मन पराउने मानिसहरूमा विवेक र समझ हुँदैन, तिनीहरूको मानवता कमजोर हुन्छ, तिनीहरू भरोसायोग्य हुँदैनन्, र तिनीहरू फिटिक्कै भरपर्दा हुँदैनन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरको व्यवस्थापन योजनाको सबैभन्दा ठूलो हितग्राही मानिस नै हो)। “आफ्नो कर्तव्य पूरा गर्ने क्रममा सबै मानिसहरू खुलासा हुन्छन्—व्यक्तिलाई कर्तव्यमा लगाउनु मात्रै पर्छ, त्यसपछि ऊ इमानदार हो कि छली व्यक्ति हो र ऊ सत्यतालाई प्रेम गर्ने व्यक्ति हो कि होइन भनेर चाँडै प्रकट भइहाल्छ। सत्यतालाई प्रेम गर्नेहरूले निष्कपट रूपमा आफ्नो कर्तव्य पूरा गर्न र परमेश्वरको घरको काममा साथ दिन सक्छन्; सत्यतालाई प्रेम नगर्नेहरूले परमेश्वरको घरको काम अलिकति पनि कायम राख्दैनन्, र तिनीहरू आफ्नो कर्तव्य निर्वाहमा गैरजिम्मेवार हुन्छन्। दृष्टि तीक्ष्ण भएका जोकोहीलाई यो कुरा तुरुन्तै स्पष्ट हुन्छ। आफ्नो कर्तव्य राम्ररी पूरा नगर्ने कोही पनि सत्यतालाई प्रेम गर्ने वा इमानदार व्यक्ति होइन; त्यस्ता सबै मानिसहरू प्रकाश भएर हटाइनेछन्। आफ्नो कर्तव्य राम्ररी पूरा गर्न, मानिसहरूमा जिम्मेवारी र बोझको बोध हुनैपर्छ। यस तरिकाले, काम निश्चय नै उचित रूपमा हुनेछ। यदि व्यक्तिमा बोझ वा जिम्मेवारीबोध हुँदैन भने, उसलाई सबै कुरामा प्रेरित गर्नुपर्छ भने, र यदि ऊ सधैँ झाराटारुवा हुन्छ अनि समस्याहरू आउँदा उसले अरूमाथि दोष थोपर्ने प्रयास गरेर ती समस्याहरू हल हुन ढिलाइ हुन्छ भने, यो केवल चिन्ता मात्र ल्याउने कुरा हो। के त्यसपछि काम अझै पनि राम्ररी गर्न सकिनेछ र? अनि के त्यस्ता व्यक्तिहरूको कर्तव्य निर्वाहले कुनै नतिजा निकाल्न सक्छ र? तिनीहरू आफ्नो निम्ति बन्दोबस्त गरिएको कुनै पनि काम गर्न चाहँदैनन्, र अरूलाई काममा सहयोग चाहिएको देख्दा तिनीहरूले बेवास्ता गर्छन्। तिनीहरूलाई आदेश दिइँदा, तिनीहरूले गर्नैपर्ने हुँदा अनि तिनीहरूसँग कुनै विकल्प नहुँदा मात्रै तिनीहरूले अलिअलि काम गर्छन्। यो कर्तव्य निर्वाह गर्नु होइन—यो त ज्यालादारी काम हो! ज्यालादारले रोजगारदाताको लागि काम गर्छ, दैनिक ज्यालाको लागि दिनभरि काम गर्छ, एक घण्टाको ज्यालाको लागि एक घण्टा काम गर्छ; तिनीहरू ज्याला पर्खिरहेका हुन्छन्। तिनीहरूलाई आफ्नो मालिकले नदेख्ने कुनै काम गर्छु कि, आफूले गरेको कामको इनाम पाउँदिनँ कि भन्ने डर हुन्छ, र तिनीहरू देखाउनका लागि मात्रै काम गर्छन्—जसको अर्थ तिनीहरूमा बफादारिता हुँदैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ)। परमेश्वरका वचनहरूले मेरो हृदय छोए। मैले आफ्नो कर्तव्य निर्वाह गर्दा निरन्तर चलाख र धूर्त बनेकी रहेछु भन्ने बुझेँ। यसको मूल कारण मेरो स्वभाव एकदमै छली हुनु थियो। म ठान्थेँ, जो मानिसहरू आफ्नो शिर झुकाएर मेहनत मात्र गर्न जान्दछन्, र आफ्नो ख्याल कसरी गर्ने भन्ने जान्दैनन्, तिनीहरू धेरै सोझा र धेरै निष्कपट हुन्छन्। अर्कोतर्फ, जो मानिसहरू व्यस्तताको बीचमा पनि अल्छी गर्न सक्छन्, अरूलाई छल गर्न योजना बुन्न र चाल चल्न सक्छन्: तिनीहरू नै वास्तवमा चतुर हुन्छन्। त्यसैले, मैले आफ्नो कर्तव्य यसरी पूरा गरेँ। जब अगुवाहरूले मलाई नजिकबाट निगरानी र अनुगमन गर्नुहुन्थ्यो, म आफ्नो कर्तव्य लगनशीलताका साथ गर्थेँ। तर, कसैले मलाई निगरानी नगरिरहेको पाउने बित्तिकै, म देहमा लिप्त हुन थाल्थेँ र आफूले गर्नुपर्ने काम गर्दिनथेँ। मानिसहरूले हेरिरहेको बेला एउटा कुरा गर्थेँ, र उनीहरू पछाडि फर्किंदा अर्को कुरा गर्थेँ। मैले मेरा सबै ब्रदर-सिस्टरहरूलाई छल गरेँ र उनीहरूलाई ममा ठूलो बोझ छ भनी सोच्न लगाएँ। वास्तवमा, म उनीहरूको पछाडि देहको सुख-सुविधाहरूमा पूर्ण रूपमा लिप्त थिएँ, र त्यति धेरै वास्तविक काम नै गरिरहेकी थिइनँ। म साँच्चै नै पूर्ण रूपमा चिप्ले र छली थिएँ! मैले संसारका मानिसहरूका बारेमा सोचेँ, जो मालिकको अगाडि कष्ट सहन सक्ने र आफ्नो सम्पूर्ण शक्तिले काम गरिरहेको नाटक गर्छन्, तर मालिक नहुने बित्तिकै चलाख र धूर्त बन्छन्। छल गर्न योजना बुन्छन्, र उनीहरूमा कुनै विवेक र मानवता हुँदैन। उनीहरूका लागि, नाफा पहिलो प्राथमिकता हो। मैले आफ्नो कर्तव्यलाई यसरी नै लिएँ। मैले परमेश्वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य कसरी राम्ररी पूरा गर्ने भनेर सोचिनँ; मैले निरन्तर आफ्नै हितहरूको विचार गरेँ। म चलाख र धूर्त थिएँ, र राम्रो देखिनका लागि मात्र काम गर्थेँ, अरूलाई छल गर्थेँ र मूर्ख बनाउँथेँ। महत्त्वपूर्ण कार्यहरूमा, मैले आफ्नो कर्तव्यलाई बेवास्ता गरेँ। फलस्वरूप, मैले मण्डलीको काममा रोकावट र ढिलाइ गराएँ। म आफ्नो कर्तव्य पूरा गरिरहेकी थिइनँ। म त एक ज्यालादारी कामदार, एक श्रमिक भइरहेकी थिएँ। पहिले, मैले मानिसहरूको पछाडि चलाख र धूर्त बन्नुलाई निकै चतुर कुरा सोचेकी थिएँ, तर अब मैले बल्ल छली मानिसहरू चतुर हुँदैनन्, बरु घृणित र मूर्ख हुन्छन् भन्ने देखेँ। आफ्नो कर्तव्य पूरा गर्न छली स्वभावमा भर पर्दा म झन्-झन् चिप्ले मात्र बन्न सक्थेँ। यसले मलाई परमेश्वरको विरुद्ध झन्-झन् विद्रोह गर्ने र उहाँको प्रतिरोध गर्ने, र सामान्य मानवता गुमाउने मात्र बनाउन सक्थ्यो। यसरी जिउँदा, ममा अलिकति पनि निष्ठा वा मर्यादा थिएन। अब, बर्खास्त हुनु मैले आफैले निम्त्याएको कुरा थियो। यदि मैले अझ पनि पश्चात्ताप नगरेकी भए, अन्त्यमा म कुनै पनि कर्तव्य राम्ररी पूरा गर्न र कुनै पनि सत्यता प्राप्त गर्न सक्नेथिइनँ। म केवल परमेश्वरद्वारा प्रकट भई हटाइन मात्रै सक्थेँ
पछि, मैले मेरा समस्याहरूको सम्बन्धमा अभ्यासको मार्ग खोज्न परमेश्वरका वचनहरू खाएँ-पिएँ। मैले परमेश्वरका यी वचनहरू पढेँ: “तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा, तँ वास्तवमा आफूले जे गर्नुपर्ने हो त्यही गरिरहेको हुन्छस्। यदि तैँले यो कार्य परमेश्वरको अघि गर्छस् भने, यदि तैँले आफ्नो कर्तव्य इमानदारिताको मनोवृत्तिसहित हृदयबाटै गर्छस् र तँ परमेश्वरमा समर्पित हुन्छस् भने, के यो मनोवृत्ति धेरै नै सही हुँदैन र? त्यसो भए, तैँले यो मनोवृत्तिलाई कसरी वास्तविक जीवनमा लागू गर्न सक्छस्? तैँले ‘परमेश्वरलाई हृदय र इमानदारिताका साथ आराधना गर्ने’ कार्यलाई तेरो वास्तविकता बनाउनुपर्छ। जब-जब तँ झारा टार्न चाहन्छस्, जब-जब तँ अल्याङटल्याङ गर्न र अल्छी बन्न चाहन्छस्, र जब-जब तेरो ध्यान भङ्ग हुन्छ वा तँ रमाइलो गर्न चाहन्छस्, तैँले यो सोच्नुपर्छ: ‘यस्तो व्यवहार गर्दा, के म अविश्वसनीय भइरहेको छु? के यसले मेरो हृदयलाई कर्तव्य पूरा गर्नमा लगाइरहेको छ? यसो गरेर, के म अर्पित हुन असफल भइरहेको छु? के म परमेश्वरले मलाई सुम्पनुभएको आज्ञा पूरा गर्नमा खरो उत्रन असफल भइरहेको छु?’ तैँले यसरी नै आफ्नो बारेमा मनन गर्नुपर्छ। यदि तैँले तँ आफ्नो कर्तव्यमा सधैँ झाराटारुवा भएको, अर्पित नभएको, र आफूले परमेश्वरलाई चोट पुर्याएको थाहा पाइस् भने, तैँले के गर्नुपर्छ? तैँले यसो भन्नुपर्छ, ‘त्यो समयमा, मलाई केही गलत छ भन्ने लागेको थियो, तर मैले यसलाई समस्याको रूपमा लिइनँ; मैले यसलाई लापरवाहीसाथ ढाकछोप गर्न खोजेँ। अहिले मात्रै मलाई म साँच्चै झाराटारुवा थिएछु, मैले आफ्नो जिम्मेवारी पूरा गरेको रहेनछु भन्ने थाहा भयो। ममा साँच्चै नै विवेक र समझको कमी रहेछ!’ तैँले समस्या पत्ता लगाएको छस् र आफ्नो बारेमा थोरै भए नि थाहा पाएको छस्—त्यसकारण अब, तैँले आफूलाई परिवर्तन गर्नुपर्छ! कर्तव्य निर्वाह गर्नेबारे तेरो मनोवृत्ति गलत थियो। तैँले त्यसलाई अतिरिक्त काम जस्तै व्यवहार गरिस् र देखावटी मेहनत मात्र लगाइस्, र तैँले यसमा आफ्नो मन लगाइनस्। यदि तँ यसरी नै फेरि पनि झाराटारुवा भइस् भने, तैँले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ र आफूलाई अनुशासनमा राख्न र ताडना दिन लगाउनुपर्छ। आफ्नो कर्तव्य निर्वाह गर्दा तँमा यस्तो सङ्कल्प छ भने मात्र तैँले साँचो रूपमा पश्चात्ताप गर्न सक्छस्। तेरो विवेक सफा छ र कर्तव्य निर्वाह गर्नेप्रति तेरो मनोवृत्ति रुपान्तरण भएको छ भने मात्रै तैँले आफूलाई बदलेको हुनेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरका वचनहरू बारम्बार पढेर अनि सत्यता मनन गरेर मात्र पछ्याउने मार्ग प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्दा इमानदार मनोवृत्ति राख्नुपर्छ। केवल इमानदार मानिसहरू मात्र परमेश्वरप्रति बफादार हुन सक्छन् र भरोसाको लायक हुन्छन्। नोआ जस्तै, जसले परमेश्वरको डर मान्ने हृदय र इमानदार हृदयले परमेश्वरको आज्ञालाई पालन गरे। उनले जहाज बनाउँदा धेरै कठिनाइ सामना गरे पनि, र धेरै थकित भए पनि, कहिल्यै आफ्नो हितको ख्याल गरेनन् र आफ्नो लाभ-हानिको हिसाब कहिल्यै गरेनन्। बरु, उनले आफ्नो सम्पूर्ण हृदयले परमेश्वरको आज्ञालाई कसरी जतिसक्दो चाँडो पूरा गर्ने भनेर सोचे। कसैले उनको निगरानी नगरिरहँदा पनि, उनी परमेश्वरको अभिप्रायप्रति ख्याल देखाउन र एक सय बीस वर्षसम्म आफ्नो कर्तव्यमा दृढ रहन समर्थ भए। नोआ साँचो मानवता भएका व्यक्ति थिए। म आफूलाई नोआसँग तुलना गर्न सक्दिनँ, तर परमेश्वरका वचनहरू र नोआको अनुभवबाट, मैले अभ्यासको मार्ग बुझेँ। त्यसपछिदेखि, मैले आफ्नो कर्तव्य इमानदार हृदयले गर्नुपर्थ्यो, र आफ्नो कर्तव्य पूरा गर्दा नियमित रूपमा आफूलाई जाँच्नुपर्थ्यो। जब म आफू झारा टारिरहेकी छु भनी महसुस गर्थेँ, तब मैले परमेश्वरलाई प्रार्थना गर्नुपर्थ्यो र सचेततापूर्वक आफूविरुद्ध विद्रोह गर्नुपर्थ्यो। कसैले मेरो कामको निगरानी वा अनुगमन नगरिरहेको भए पनि, मैले सधैँ परमेश्वरको छानबिन स्वीकार गरी आफ्नो कर्तव्य ठिकसित पूरा गर्नुपर्थ्यो। मैले परमेश्वरलाई प्रार्थना पनि गरेँ, र उहाँसँग मैले फेरि झारा टारेँ वा छल गरेँ भने उहाँले मलाई ताडना दिनुहोस् र अनुशासनमा राख्नुहोस् बिन्ती गरेँ।
पछिल्लो समय, म मण्डलीमा नयाँ सदस्यहरूलाई मलजल गरिरहेकी थिएँ। कहिलेकाहीँ, टोली अगुवा अलि व्यस्त रहन्थिन् र मेरो कामको अनुगमन गर्न सक्दिनथिइन्, र ममा अझै पनि झारा टार्ने इच्छा हुन्थ्यो। मैले सोचेँ, “नयाँ सदस्यहरूलाई मलजल गर्नु थकित कुरा हो। हरेक समस्या केही शब्दमा समाधान हुने कुरा पनि होइन। मैले निकै मूल्य चुकाउनुपर्छ। टोली अगुवाले मेरो कामको अनुगमन गरिरहेकी छैनन्, त्यसैले मैले थोरै अल्छी गरेमा उनले थाहा पाउनेछैनन्। म आराम गर्न केही समय निकाल्छु, र नयाँ सदस्यहरूको समस्या केही दिन ढिलो समाधान भए पनि ठूलो समस्या हुनेछैन।” जब मैले यसरी सोचेँ, मलाई तुरुन्तै यो मनोवृत्ति गलत हो भन्ने महसुस भयो। टोली अगुवाले मेरो कामको अनुगमन नगरिरहँदा पनि परमेश्वरले सबै कुराको छानबिन गर्नुहुन्छ। मैले उप्रान्त चलाख र धूर्त बन्न वा छल गर्न हुँदैनथ्यो। मैले आफ्नो कर्तव्यलाई इमानदार हृदयले व्यवहार गर्नुपर्छ र त्यसमा आफ्नो सम्पूर्ण शक्ति समर्पित गर्नुपर्छ। त्यसैले मैले हतार गरेर नियमित रूपमा भेला हुन नसक्ने नयाँ सदस्यहरूलाई सहयोग र मदत गरेँ। जब केही नयाँ सदस्यहरूले मेरो सन्देशको जवाफ दिँदैनथे, म उनीहरूसँग सम्पर्क गर्न विभिन्न उपाय प्रयोग गर्थेँ। उनीहरूलाई सहयोग र मदत गरेर, बिस्तारै र क्रमिक रूपमा, धेरै नयाँ सदस्य नियमित रूपमा भेलामा फर्किए। मेरो कर्तव्यका नतिजाहरूमा पहिलेभन्दा धेरै सुधार भए, र यसरी अभ्यास गर्दा मैले साँच्चै ढुक्क महसुस गरेँ। अबदेखि, म आफ्नो कर्तव्य पूरा गर्दा बारम्बार आफूलाई जाँच्न, र आफ्नो हृदय र इमानदार मनोवृत्ति प्रयोग गरेर आफ्नो कर्तव्य राम्ररी पूरा गर्न इच्छुक छु। परमेश्वरलाई धन्यवाद!