३४. आफूलाई प्रदर्शन गर्नबाट मैले सिकेको कुरा
अक्टोबर २०१६ मा, म प्रचारकको कर्तव्य निर्वाह गरिरहेकी थिएँ। त्यतिबेला, ख्रीष्टविरोधीहरूले ल्याएका बाधा र तोडफोडका कारण, म जिम्मेवार रहेका केही मण्डलीको काम ठप्प भएको थियो। मेरा दुई सहकर्मी सिस्टर र मैले भर्खरै यो कर्तव्य सुरु गरेका थियौँ र हामी यी मण्डलीका मानिसहरूसँग अपरिचित नै थियौँ, अनि म जिम्मेवार रहेको कामको दायरा एकदमै ठूलो भएकाले म अन्योलमा परेँ र मलाई यो सब जिम्मेवारी उठाउन सक्दिनँ भन्ने लाग्यो, त्यसैले मैले पछि हट्न चाहेँ। तर त्यसपछि मैले मनमनै सोचेँ, “मैले परमेश्वरका यति धेरै वचन खाएकी र पिएकी छु, तर सबैभन्दा महत्त्वपूर्ण समयमा, म आफ्नो पद त्याग्न चाहन्छु। के यो लाजको कुरा होइन र?” त्यसैले मैले आफ्नो मानसिकतालाई समायोजित गरेँ अनि मेरा सहकर्मी सिस्टरहरू र मैले एकअर्कालाई साथ दियौँ र सङ्गति गर्यौँ, र परिस्थितिसँग बढी परिचित ब्रदर-सिस्टरहरूलाई मद्दत माग्यौँ। केही समयको सहकार्यपछि, हामीले ख्रीष्टविरोधीहरूको गिरोहलाई तह लगायौँ, र काममा सुधारका सङ्केतहरू देखिन थाले। यस अनुभवबाट गुज्रिएपछि, मैले के देखेँ भने यो साँच्चै म एक्लैले हासिल गर्न सक्ने कुरा थिएन, र यो सब पवित्र आत्माको कामको परिणाम थियो। केही समयपछि नै, मण्डली सिसिपिको उन्मत्त गिरफ्तारी र सतावटको चपेटामा पऱ्यो, र आफ्नो कर्तव्य निर्वाह गरिरहेका ब्रदर-सिस्टरहरू बसिरहेका घरहरू असुरक्षित भए र उनीहरूलाई तत्कालै अन्यत्र सार्नुपर्ने भयो। यो खबर सुन्दा, म त स्तब्ध भएँ, र मलाई अहिले यी मानिसहरूलाई सार्न असम्भव छ भन्ने लाग्यो। आफ्नो कर्तव्य निर्वाह गरिरहेका यति धेरै ब्रदर-सिस्टरहरूलाई अन्यत्र सार्नुपर्ने थियो, तर मैले उनीहरू सबैका लागि एकैचोटि यति धेरै अतिथि-सत्कारक घरहरू सम्भवतः कहाँ पाउन सक्थेँ र? म कठिन परिस्थितिमा थिएँ र के गर्ने भनेर मलाई साँच्चै थाहा थिएन, तर त्यसपछि मैले मनमनै सोचेँ, “यो ब्रदर-सिस्टरहरूको सुरक्षा र मण्डलीका हितहरूसँग सम्बन्धित मामिला हो। उनीहरूलाई नसार्नु कुनै विकल्प नै होइन।” पछि, मैले परमेश्वरका वचनहरू पढेँ: “तैँले सबैथोक परमेश्वरको हातमा छ, र मानिसहरूले केवल सहकार्य मात्र गर्दै छन् भन्ने कुरा विश्वास गर्नैपर्छ। यदि तँ इमानदार छस् भने, परमेश्वरले त्यो देख्नुहुनेछ, र उहाँले हरेक परिस्थितिमा तेरा लागि एउटा मार्ग खोलिदिनुहुनेछ, अनि कुनै पनि कठिनाइ पार गर्न नसकिने हुँदैन—तँमा यही आस्था हुनैपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरमाथिको विश्वासमा सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँका वचनहरू अभ्यास र अनुभव गर्नु हो)। जब मैले यो पढेँ, तब मलाई अँध्यारोमा ज्योतिको किरण देखिरहेकी छु जस्तो लाग्यो, मेरो हृदय तुरुन्तै उज्यालो भयो, र मेरो आस्था झनै बलियो भयो। मैले अतिथि-सत्कारक घरहरू खोज्ने मामिला आफ्ना सहकर्मी सिस्टरहरूसँग छलफल गरेँ। तीन दिनपछि, मण्डलीकी एउटी सिस्टरले मलाई पत्र लेखेर धेरै अतिथि-सत्कारक घरहरू भेटिएका छन्, र ब्रदर-सिस्टरहरूले अझै पनि सक्रिय रूपमा घरहरू उपलब्ध गराइरहेका छन् भनेर बताइन्। म यति धेरै प्रभावित भएँ कि मेरो आँखाबाट आँसु झऱ्यो। यस मण्डलीले एकैचोटि यति धेरै अतिथि-सत्कारक घर उपलब्ध गराउन सक्छ भनेर मैले सोचेकी थिइनँ, र मलाई परमेश्वर हाम्रो साथमा रहेर हामीलाई मार्गदर्शन गरिरहनुभएको छ भन्ने साँच्चै महसुस भयो, र जबसम्म हामी सच्चा रूपमा सहकार्य गर्थ्यौँ, तबसम्म हामीले परमेश्वरका कार्यहरू देख्न सक्नेथ्यौँ। यसपछि, हाम्रो आस्था झनै बलियो भयो, र हामीले अन्यत्र सर्ने काम सहज रूपमा पूरा गर्यौँ। बारम्बार कठिनाइहरू सामना गर्नुपरे तापनि काम सहज रूपमा अघि बढिरहेको देख्दा मलाई एकदमै खुसी लाग्यो। परमेश्वरलाई धन्यवाद दिँदै, मैले आफ्ना योगदानहरूको पनि हिसाब गर्न थालेँ। मैले के विश्वास गरेँ भने यो परिणाम वास्तवमा परमेश्वरको कामद्वारा हासिल गरिएको भए पनि, मेरो प्रयास र सहकार्यविना यो हासिल गर्न सक्दैनथ्यो। मैले परमेश्वरमा धेरै समयदेखि विश्वास नगरेकी भए पनि, यस कामले यस्ता परिणामहरू हासिल गरेको छ भन्ने तथ्यले मसँग केही सत्यता वास्तविकता छन् भन्ने प्रमाणित गर्यो, नत्रभने, यस्तो कठिन काम यति सफलतापूर्वक कसरी पूरा गर्न सकिन्थ्यो र? मैले जति धेरै यसरी सोचेँ, त्यति नै धेरै मैले मेरा योगदानहरू ठूला थिए र म दुर्लभ प्रतिभा हुँ भन्ने सोचेँ, र विशेष गरी अगुवाले हामीलाई आफ्नो कार्य सामर्थ्यका लागि प्रशंसा गर्दा, म आफूसँग सत्यता वास्तविकताहरू छन्, र मण्डलीमा मभन्दा असल कोही छैन भनेर झनै विश्वस्त भएँ। त्यसपछि, म आफ्नो शिर ठाडो पारेर हिँडेँ, र जबजब अवसर मिल्थ्यो, तबतब म आफ्ना अनुभवहरू सुनाउँथेँ र सबैलाई तीबारे विस्तृत रूपमा स्पष्ट बताउँथेँ, र मसँग सत्यता वास्तविकताहरू छन् र आफूले सामना गर्ने कुराहरू कसरी अनुभव गर्ने भनेर मलाई थाहा छ भनी ब्रदर-सिस्टरहरूलाई थाहा दिन चाहन्थेँ।
एक पटक, म धेरै मण्डलीका अगुवाहरूसँग एउटा भेलामा थिएँ, र काम लागू गर्ने क्रममा एक जना अगुवाले असहाय हुँदै भने, तपाईँलाई हाम्रो मण्डलीको अवस्था कस्तो छ भन्ने थाहा छैन, डिकन छनौट गर्नसमेत गाह्रो छ। यो काम साह्रै गाह्रो छ! मैले मनमनै सोचेँ, “तपाईँ तिनलाई कठिनाइ भन्नुहुन्छ? मैले भोगेका चुनौतीहरू तपाईँका भन्दा धेरै ठूला थिए। मैले आफ्ना कठिनाइहरू कसरी पार गरेँ भनेर तपाईँसँग सङ्गति गर्नुपर्छ, ताकि तपाईँले मसँग सत्यता वास्तविकताहरू छन् र मलाई आफूले सामना गर्ने कुराहरू कसरी अनुभव गर्ने भनेर थाहा छ भने देख्न सक्नुहुन्छ।” त्यसैले मैले सुरुमा आफ्नो कर्तव्य लिएर कठिनाइहरू सामना गर्दा, कसरी परमेश्वरलाई हेरेकी थिएँ, परमेश्वरमा भर परेकी थिएँ, र उहाँले मलाई कसरी मार्गदर्शन गर्नुभएको थियो भनेर बताएँ, र मैले सुरुदेखि अन्त्यसम्म सबै कुरा व्याख्या गरेँ, कतै एउटा पनि विवरण छुट्ला कि भन्ने डर थियो। यी सबबारे बताउँदा, मैले ती कठिन समयको दौरान भएको आफ्नो नकारात्मकता र कमजोरीलाई ढाकछोप गरेँ, ब्रदर-सिस्टरहरूले मेरा कमजोरीहरू देखून् भन्ने चाहिनँ। मैले बोलिसकेपछि, सबै सिस्टरले मलाई प्रशंसाको नजरले हेरे, र एउटी सिस्टरले डाह गर्दै भनिन्, “तपाईँलाई त साँच्चै परमेश्वरमा कसरी भर पर्ने र आफूले सामना गर्ने कामकुराहरू कसरी अनुभव गर्ने भनेर थाहा रहेछ। म त आफूलाई यति मूर्ख भएकीमा घृणा मात्र गर्छु—जब म कठिनाइहरू सामना गर्छु, तब मलाई परमेश्वरमा कसरी भर पर्ने वा ती कसरी अनुभव गर्ने भनेर थाहा हुँदैन।” अरू सिस्टरहरूले पनि सहमतिमा टाउको हल्लाए। मलाई साह्रै खुसी लाग्यो, सोचेँ, “म तपाईँहरू सबैभन्दा असल छु। यी कठिनाइहरू पूर्णतया मेरै अगुवाइका कारण पार गर्न सकिए, नत्र म कसरी प्रचारक हुन सक्थेँ र!” तर, मैले शान्त भएको देखावटी गरेँ र ती सिस्टरसँग सङ्गति गरेँ, “परमेश्वर कसैलाई काखा कसैलाई पाखा गर्नुहुन्न, र जबसम्म तपाईँ उहाँलाई खोज्नुहुन्छ, तबसम्म उहाँले तपाईँलाई मार्गदर्शन गर्नुहुनेछ। हामीले अभ्यास नगरी नारा मात्र लगाउनु हुँदैन!” म आफूलाई प्रदर्शन गर्नमा एकदमै केन्द्रित भएकीले र मैले ब्रदर-सिस्टरहरूले सामना गरिरहेका कठिनाइहरूबारे परमेश्वरका अभिप्रायहरू वा अभ्यासको मार्गे सङ्गति नगरेकीले, भेलापछि पनि अझै उनीहरूलाई कसरी अभ्यास गर्ने भनेर थाहा भएन।
त्यस दौरान, मैले हाम्री अतिथि-सत्कारक सिस्टरले प्रायः देखावटी गर्ने, र हामीले परमेश्वरमा धेरै समयदेखि विश्वास गरेका छैनौँ र हामीसँग अनुभवको कमी छ भन्दै कहिलेकाहीँ हामीलाई होच्याउने गरेकी याद गरेँ। एकपटक, उनी एउटा सानो कुरामा हामीसँग साह्रै रिसाइन्। मेरा सहकर्मी सिस्टरहरूले उनीसँग सङ्गति गरे, तर उनीहरूले जति धेरै सङ्गति गरे, उनी त्यति नै बढी रिसाइन्। उनले यसोसमेत भनिन्, “म अब यो कर्तव्य निर्वाह गर्न सक्दिनँ! तपाईँहरूले अरू कसैलाई खोज्नुपर्छ!” पछि, ती अतिथि-सत्कारक सिस्टर आफू त्यस दिन रिसाएकीमा माफी माग्न मकहाँ आइन्। मलाई यही एउटा घटनाको कारणले मात्र उनलाई रिस उठेको थिएन भन्ने लाग्यो, तर के गडबड थियो भनेर मैले त्यति बुझ्न सकिनँ। मैले उनीसँग कुरा गर्दा, अन्ततः के थाहा पाएँ भने उनलाई अतिथि-सत्कार गर्ने कर्तव्यमा खटाइएकाले र समूह अगुवा नबनाइएकाले उनी असन्तुष्ट रहेछिन्। मैले उनी कसरी देखावटी गर्छिन् र हामीलाई कुन तरिकामा होच्याउँछिन् र नियन्त्रण गर्छिन् भनेर औँल्याइदिएँ। मेरा सहकर्मी सिस्टरहरू फर्केर आएपछि, मैले उनीहरूलाई हेरेर मुस्कुराउँदै मैले कसरी ती अतिथि-सत्कारक सिस्टरलाई खुट्ट्याइएकी र खुलासा गरेकी थिएँ भनेर धाक लगाएँ। मैले मेरा सहकर्मी सिस्टरहरूलाई यसो भन्दै पनि हप्काएँ, “के तपाईँहरूले उनीसँग सङ्गति उनले पटक्कै नसुनेकी याद गर्नुभएन? तर पनि तपाईँहरूले उनीसँग सङ्गति गरिरहनुभयो।” उनीहरूले मेरो धेरै प्रशंसा गरे र म साँच्चै मामिलाहरू छर्लङ्ग देख्न सक्छु भनेर भने। मलाई साह्रै खुसी लाग्यो र मैले सत्यता बुझेकी छु र मसँग खुट्ट्याइ छ भन्ने सोचेँ। अर्कोपटक, म लेखन-पठनको कामको सुपरिवेक्षकसँग एउटा भेलामा सहभागी भएँ। मैले मनमनै सोचेँ, “म यी सुपरिवेक्षकलाई राम्ररी चिन्दिनँ, र उनलाई मेरो कार्य सामर्थ्यबारे थाहा छैन। मैले म मानिसहरूलाई कसरी खुट्ट्याउन सक्छु भन्नेबारे कुरा गर्न सक्षम पार्ने एउटा विषय खोज्नुपर्छ, ताकि उनले मलाई मान गरून्।” त्यति नै बेला, उनले मलाई अतिथि-सत्कारक सिस्टरको विषय उठाइन्, त्यसैले मैले यो विषय प्रयोग गरेर भनेँ, “मैले हैसियत पछ्याउने उनको सार धेरै अघि नै छर्लङ्ग देखेकी थिएँ, तर मेरा सहकर्मी सिस्टरहरूले उनीसँग सङ्गति गरिरहे।” सुपरिवेक्षकले सहमतिमा टाउको हल्लाइन्। पछि, जबजब कुनै कुरा आइपर्थ्यो, तबतब सुपरिवेक्षकले सिधै मसँग छलफल गर्थिन्, र मेरा सहकर्मी सिस्टरहरूसँग कुरा गरिसकेपछि पनि, उनी मेरो राय लिन्थिन्। मैले स्वाभाविक रूपमा अगुवाइको भूमिका लिएँ, र धेरैजसो काम मैले नै बन्दोबस्त गरेँ। एकपटक, एउटी सिस्टरले मलाई भनिन्, “तपाईँहरू तीन जना सँगै सहकार्य गर्दा, किन मलाई तपाईँ चाहिँ हाकिम हुनुहुन्छ जस्तो लाग्छ?” यो सुनेर म स्तब्ध भएँ, “उनले कसरी त्यसो भन्न सकेकी? हामी तीन जनाले सहकार्य गर्नुपर्छ, उनले मलाई हामिकभनेर कसरी भन्न सकेकी? हुन सक्छ म अत्यन्तै अहङ्कारी छु र सधैँ देखावटी गर्छु? के परमेश्वरले मलाई सम्झाउन यी सिस्टरलाई प्रयोग गरिरहनुभएको छ?” मलाई अलि डर लाग्यो, तर मैले आत्मचिन्तन गरिनँ, र त्यसपछि, मैले उस्तै व्यवहार गरिरहेँ, जहाँ गएँ त्यहाँ देखावटी गरेँ।
यस स्थितिमा जिउँदा, मलाई परमेश्वरले मबाट आफ्नो मुहार लुकाउनुभएको छ भन्ने लाग्यो। भेलाहरूमा सङ्गतिको दौरान, मलाई खोक्रो महसुस हुन्थ्यो, र म कुनै पनि समस्याहरू खुट्ट्याउन सक्दिनथेँ। मेरो काम पनि गल्तीहरूले भरिएको थियो। माथिल्ला अगुवाहरूले मलाई मैले निरन्तर आफूलाई उचालेकीमा र देखावटी गरेकीमा, मेरा दुई सहकर्मी सिस्टरलाई थपना मात्र बनाएकीमा, र कामका सबै निर्णय आफै लिएकीमा खुलासा गरे। उनीहरूले म ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेकी छु भनेर भने, र मलाई बर्खास्त गरे। आफ्नो कर्तव्य गुमाएपछि, मैले आफूलाई आशाहीन र असाध्यै पीडामा पाएँ। मलाई एकछिन त आफू आकाशबाट धरतीमा खसेजस्तो लाग्यो, र मैले यो स्वीकार गर्नै सकिनँ। मैले त्यसबारे जति सोचे पनि, बोझ र सत्यता वास्तविकताहरू भएकी मजस्तो व्यक्तिलाई किन बर्खास्त गरियो भनेर बुझ्न सकिनँ। मैले मण्डलीको काममा कसरी म सधैँ अग्रपङ्क्तिमा रहेकी थिएँ, तर त्यो कसरी अन्त्य भयो भनेर सोचेँ। मलाई यति साह्रो अन्याय भएको महसुस भयो र रिस उठ्यो कि जसले गर्दा म रातभरि सुत्नै सकिनँ। मैले पीडामा परमेश्वरसामु आई निरन्तर प्रार्थना गरेँ, कुनै पाठ सिक्न सकूँ भनेर परमेश्वरका अभिप्रायहरू बुझ्न उहाँलाई मार्गदर्शन र अन्तर्दृष्टि मागेँ।
एक दिन मैले आफ्नो आत्मिक भक्तिको समयमा, परमेश्वरका वचनहरू पढेँ: “आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने, आफ्नो सान देखाउने, मानिसहरूले आफूलाई उच्च ठानून् र आराधना गरून् भन्ने प्रयास गर्ने—भ्रष्ट मानवजाति यी कुराहरू गर्न सक्षम छ। जब मानिसहरू आफ्नो शैतानी प्रकृतिले शासित हुन्छन् तिनीहरूले यसरी स्वतः प्रतिक्रिया दिन्छन्, र यो सबै भ्रष्ट मानवजातिको निम्ति सामान्य हो। मानिसहरूले सामान्यतया कसरी आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन्? तिनीहरूले अरूलाई आफूलाई उच्च ठान्न र आफ्नो आराधना गर्न लगाउने उद्देश्य कसरी हासिल गर्छन्? तिनीहरूले कति धेरै काम गरेका छन्, तिनीहरूले कति कष्ट भोगेका छन्, तिनीहरूले आफैँलाई कति समर्पित गरेका छन्, र तिनीहरूले कति मूल्य चुकाएका छन् भनेर तिनीहरूले गवाही दिन्छन्। तिनीहरू अरूका हृदयमा अझ उच्च, स्थिर र अझ सुरक्षित स्थान प्राप्त गर्न, र त्यसरी अझ धेरै मानिसहरूलाई तिनीहरूको कदर गर्ने, उच्च ठान्ने, ईर्ष्या गर्ने, र आराधना गर्ने, आदरभावले हेर्ने र पछि लाग्ने तुल्याउनका लागि आफ्ना पुँजीबारे कुरा गरेर आफूलाई उच्च पार्छन्। यो लक्ष्य प्राप्त गर्न मानिसहरूले हेर्दाखेरि परमेश्वरको गवाही दिएजस्तो देखिने, तर आधारभूत रूपमा आफैँलाई उच्च पार्ने र आफैबारे गवाही दिने धेरै कुराहरू गर्छन्। के यसरी व्यवहार गर्दा तिनीहरूसँग समझ हुन्छ त? तिनीहरू चेतनाको दायराबाहिर छन् र तिनीहरूमा शरम छैन। तिनीहरू तिनीहरूले परमेश्वरका निम्ति के गरेका छन् र उहाँको निम्ति कति कष्ट भोगेका छन् भन्ने कुराको कुनै शरमविना गवाही दिन्छन्। तिनीहरूले आफूमा भएका वरदान, प्रतिभाहरू, अनुभव, विशेष सीपहरू, संसारसँग व्यवहार गर्ने तिनीहरूका चतुर तौरतरिकाहरू, मानिसहरूसँग खेल्नको निम्ति तिनीहरूले प्रयोग गर्ने माध्यमहरू, आदि इत्यादिको तडकभडक पनि देखाउँछन्। आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने तिनीहरूको तरिकाहरूमध्ये एक भनेको तडकभडक देखाउनु र अरूलाई होच्याउनु हो। तिनीहरूले मानिसहरूबाट आफ्ना कमजोरी, कमीहरू र अपर्याप्तताहरू लुकाउँदै भेष पनि बदल्छन् र नाटकीय स्वरूप देखाउँछन्, र मानिसहरूलाई आफ्नो चमक मात्र देखाउँछन्। तिनीहरूले नकारात्मक अनुभव गरेको कुरा अरू मानिसहरूलाई बताउने हिम्मत पनि गर्दैनन्, र तिनीहरूसँग खुल्ने र सङ्गति गर्ने हिम्मतको अभाव हुन्छ। तिनीहरूले गल्ती गर्दा त्यसलाई लुकाउने र छोप्ने अधिकतम प्रयास गर्छन्। तिनीहरूले आफ्नो कर्तव्य निभाउने दौरानमा मण्डलीको काममा पुर्याएको हानिलाई कहिले पनि उल्लेख गर्दैनन्। तर तिनीहरूले गरेको सानो योगदान वा प्राप्त गरेको केही साना सफलताहरू देखाउन छिटा हुन्छन्। तिनीहरू कति सक्षम छन्, तिनीहरूको क्षमता कति उच्च छ, तिनीहरू कति असाधारण छन् र तिनीहरू सामान्य मानिसहरूभन्दा कति वरिष्ठ छन् भन्ने कुरा सारा संसारलाई थाहा दिन व्याकुल हुन्छन्। के यी तिनीहरूले आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने तरिकाहरू होइनन् र? के आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने कार्य विवेक र समझ भएको व्यक्तिले गर्ने कार्य हो? होइन। त्यसो भए, मानिसहरूले यसो गर्दा प्रायः कस्तो स्वभाव प्रकट हुन्छ त? अहङ्कार। यो यसरी प्रकट हुने एक मुख्य स्वभाव हो, त्यसपछि छलीपन आउँछ जसमा अरू मानिसहरूलाई आफूलाई उच्च सम्मान गर्ने तुल्याउनको निम्ति सम्भव भएसम्मका सबै कुरा गर्ने कुरा सामेल हुन्छ। तिनीहरूका शब्दहरू पूर्ण रूपमा निर्विवाद हुन्छन् र तिनमा अभिप्रेरणा र कपट-योजनाहरू प्रस्ट रूपले समावेश हुन्छन्, तिनीहरू आफूलाई प्रदर्शन गरिरहेका हुन्छन्, तैपनि तिनीहरू यो तथ्य लुकाउन चाहन्छन्। तिनीहरूले जे भन्छन् त्यसको परिणाम भनेको मानिसहरूलाई तिनीहरू अरूभन्दा असल छन्, तिनीहरूको बराबर कोही पनि छैन र सबै जना तिनीहरूभन्दा निकृष्ट छन् भन्ने अनुभव गराउनु हो। अनि के यो परिणाम गोप्य तरिकाबाट प्राप्त गरिँदैन र? यस्तो तरिकाको पछाडि कस्तो स्वभाव हुन्छ? अनि के त्यहाँ दुष्टताका कुनै तत्त्वहरू हुन्छन्? (छन्।) यो एक प्रकारको दुष्ट स्वभाव हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चार: तिनीहरू आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन्)। परमेश्वरका वचनहरूले मेरो ठ्याक्कै स्थिति खुलासा गरिदिए। मैले आफू मण्डलीका अगुवाहरूसँग भेलाहरूमा सहभागी हुँदा, आफूले उनीहरूमा कठिनाइहरू छन् भन्ने देख्दा, म कसरी समाधानका लागि सङ्गति गर्नुलाई आफूलाई उचाल्ने र देखावटी गर्ने मौकाका रूपमा लिन्थेँ, र आफूले कसरी सत्यता खोजेँ र परमेश्वरलाई प्रार्थना गरेँ भन्ने विवरणहरूलाई अघि सार्ने बुँदा बनाउँथेँ, तर म आफूले कठिनाइहरू सामना गर्दा महसुस गरेको नकारात्मकता र कमजोरी लुकाउँथेँ, ती कुराहरू पटक्कै उल्लेख गर्दिनथेँ भनेर चिन्तन गरेँ। मेरा सहकर्मी सिस्टरहरूलाई मेरो प्रशंसा गर्न लगाउन, अतिथि-सत्कारक सिस्टरलाई खुट्ट्याउने मामिलामा, मैले त्यो मामिला छर्लङ्ग देख्न नसकेको कुरालाई जानाजानी ढाकछोप गरेँ, र मैले त्यसलाई कसरी खुट्ट्याएकी थिएँ भनेर मात्र कुरा गरेँ। मैले यसो गरेँ ताकि मेरा सहकर्मी सिस्टरहरूले म सत्यता बुझ्छु, मामिलाहरू खुट्ट्याउन सक्छु, र म उनीहरूभन्दा असल छु भन्ने सोचून्। लेखन-पठनको कामको सुपरिवेक्षकसँग भेट्दा, म झनै धूर्त भइरहेकी थिएँ, र देखावटी गर्ने अवसरहरू खोजिरहेकी थिएँ। मैले आफूले भनेका कुराहरूमा, जानाजानी मेरा दुई सहकर्मी सिस्टररलाई होच्याएँ, आफूलाई उचाल्न उनीहरू मभन्दा निम्न छन् भन्ने सङ्केत दिएँ। किनभने म मेरा दाजुभाइ दिदीबहिनीहरूको अगाडि आफूलाई प्रदर्शन गरिरहन्थेँ, उनीहरूले समस्याहरू सामना गर्दा परमेश्वरलाई हेर्न वा सत्यता सिद्धान्तहरू खोज्न छोडे, र त्यसको सट्टा उनीहरू सङ्गति र समाधानका लागि ममा भर परे। यसले गर्दा मेरा सहकर्मीहरू थपना मात्र बने। अरूको प्रशंसा पाउन, मैले देखावटी गर्ने कुनै मौका गुमाइनँ, र मेरो हरेक कार्य र शब्द मेरा गुप्त अभिप्रायहरूद्वारा प्रेरित थियो। म साँच्चै घृणास्पद र दुष्ट थिएँ! मानिसको हृदय परमेश्वरको मन्दिर हो, र मानिसहरूले परमेश्वरलाई आराधना गर्नुपर्छ। तर मैले अरूलाई मेरो आराधना गर्न लगाउन खोजेँ। के मैले डाँकुले जस्तो कार्य गरिरहेकी थिइनँ र? मेरा कार्य र कर्महरूअनुसार, म श्रापित र दण्डित हुन योग्य थिएँ! तर परमेश्वरले मलाई मेरा कार्यहरूअनुसार दण्ड दिनुभएन। बरु, उहाँले मलाई पश्चात्ताप गर्ने मौका दिनुभयो। मेरो हृदय पछुतो र दोषी भावनाले भरियो।
पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “जहाँसम्म कामको कुरा छ, काम गर्नु भनेको परमेश्वरका निम्ति यताउति दौडनु, सबै ठाउँमा प्रचार गर्नु, र उहाँको खातिर अर्पित हुनु हो भन्ने मानिसले विश्वास गर्छ। यस्तो विश्वास सही भए पनि यो अत्यन्तै एकतर्फी छ; परमेश्वरले मानिसलाई आग्रह गर्नुभएको कुरा उहाँका निम्ति यताउति दौडधूप गर्नु मात्र होइन; त्योभन्दा बढी, यो काम आत्माभित्रको सेवकाइ र प्रबन्धसित सम्बन्धित छ। … परमेश्वरका निम्ति यताउति दौडनु र सबै ठाउँमा प्रचार गर्नुमा मात्र ध्यान दिनेहरू धेरै छन्, तैपनि तिनीहरूले आफ्नो व्यक्तिगत अनुभवमा ध्यान दिँदैनन् र आत्मिक जीवनमा आफूले गर्नुपर्ने प्रवेशको बारेमा बेवास्ता गर्छन्। यही कुराले नै परमेश्वरको सेवा गर्ने मानिसहरूलाई परमेश्वरको विरोध गर्ने मानिसहरू बनाएको छ। यतिका वर्षसम्म परमेश्वरको सेवा र मानिसहरूको लागि सेवकाइ गर्दै आएका यी मानिसहरूले काम र प्रचार गर्नुलाई प्रवेश गर्नु भन्ने ठानेका छन् र कसैले पनि आफ्नो व्यक्तिगत आत्मिक अनुभवलाई महत्त्वपूर्ण प्रवेश मानेका छैनन्। बरु, पवित्र आत्माको कामबाट प्राप्त हुने अन्तर्ज्ञानलाई तिनीहरूले अरूलाई शिक्षा दिने पुँजीको रूपमा लिएका छन्। प्रचार गर्दा तिनीहरूमा धेरै बोझ हुन्छ र तिनीहरूले पवित्र आत्माको काम प्राप्त गर्छन्, र त्यसमार्फत तिनीहरू पवित्र आत्माको आवाज प्रकट गरिरहेका हुन्छन्। यस क्षणमा, काम गर्ने व्यक्तिहरू पवित्र आत्माको काम आफ्नै व्यक्तिगत आत्मिक अनुभव बनेझैँ आत्मसन्तोषले भरिएका हुन्छन्; तिनीहरूले आफूले बोलिरहेका सबै वचनहरू आफ्नै व्यक्तिगत अस्तित्वको स्वामित्वमा भएको महसुस गर्छन्, तर फेरि पनि तिनीहरूका आफ्नै अनुभव भने तिनीहरूले वर्णन गरेजस्तो स्पष्ट हुँदैन। अझ अर्को कुरा, बोल्नुभन्दा अघि तिनीहरूलाई आफूले के भन्नेछू भन्ने थाहै हुँदैन, तर जब पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुन्छ, तब तिनीहरूका वचनहरू अन्त्यहीन प्रवाहजस्तो गरी बाहिर निस्कन्छन्। तैँले एकपल्ट यसरी प्रचार गरेपछि तँलाई आफ्नो कद वास्तवमा आफूले विश्वास गरेजतिको सानो छैन र पवित्र आत्माले आफूमा धेरैचोटि काम गर्नुभएको छ भन्ने लाग्छ र त्यसपछि तैँले आफूले पहिले नै त्यो कद प्राप्त गरिसकेको छु भन्ने निश्चित गर्छस् र पवित्र आत्माको काम तेरो आफ्नै प्रवेश र तेरो आफ्नै अस्तित्व हो भनी गलत विश्वास गर्छस्। तैँले निरन्तर यस्तो अनुभव गरेपछि आफ्नो प्रवेशप्रति तँ सुस्त बन्छस्, थाहै नपाई आलस्यतामा प्रवेश गर्छस् र आफ्नो व्यक्तिगत प्रवेशलाई महत्त्व दिन छोड्छस्। यसकारणले गर्दा, तँ अरूको लागि सेवकाइ गरिरहेको हुँदा, तैँले आफ्नो कद र पवित्र आत्माको कामको बीचमा स्पष्ट भेद छुट्ट्याउनुपर्छ। यसले तेरो प्रवेशलाई अझ सहज बनाउँछ र तेरो अनुभवमा थप फाइदा गराउँछ। मानिसले पवित्र आत्माको कामलाई आफ्नै व्यक्तिगत अनुभवको रूपमा लिँदा त्यो भ्रष्टताको स्रोत बन्छ। त्यही कारणले गर्दा म भन्छु, तैँले जुनसुकै काम गरे पनि आफ्नो प्रवेशलाई एउटा महत्त्वपूर्ण पाठको रूपमा लिनुपर्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (२))। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने म काम गर्न, प्रचार गर्न सक्षम, ममा केही खुट्टायाइ, र म समस्याहरू समाधान गर्न सक्षम भए तापनि, यी सबै पवित्र आत्माको कामको परिणाम थिए, र यसले मेरो साँचो कदलाई प्रतिनिधित्व गर्दैनथ्यो। मैले आफू सुरुमा प्रचारक बन्दाको समयबारे फर्केर सोचेँ। कैयौँ मण्डलीको काम ठप्प भएको थियो, र त्यतिबेला, मलाई के गर्ने भनेर केही थाहा थिएन। हार्दिक प्रार्थनामार्फत् परमेश्वरलाई पुकार्दा, परमेश्वरले हामीलाई ब्रदर-सिस्टरहरूमार्फत मद्दत गर्नुभयो, र सबैको सहकार्यद्वारा, हामीले सफलतापूर्वक ख्रीष्टविरोधीहरूको गिरोहलाई निकाल्यौँ। पछि, सिसिपिको गिरफ्तारीको कारण, हामीले ब्रदर-सिस्टरहरूलाई अन्यत्र सार्ने प्रबन्ध गर्नुपर्यो। हामी कठिनाइहरूमा जिइरहेका थियौँ, र परमेश्वरका वचनहरूको मार्गदर्शनले नै हामीलाई आस्था दियो, र ब्रदर-सिस्टरहरूले नै सक्रिय रूपमा अतिथि-सत्कारक घरहरू उपलब्ध गराए। यो परमेश्वरले आफ्नै काम जोगाइरहनुभएको थियो। खुट्ट्याउने सन्दर्भमा त ममा झनै धेरै कमी थियो, र पछि, परमेश्वरले यी परिस्थितिहरू मिलाउनुभएर, मलाई कामकुराहरू प्रकट गर्नुभएर, र मलाई आफ्ना वचनहरूमार्फत मार्गदर्शन गर्नुभएर नै म ती अतिथि-सत्कारक सिस्टरलाई खुट्ट्याइन सक्षम भएँ। यी सबै परमेश्वरको कामका परिणामहरू थिए, तर मैले सबै कुराको श्रेय आफैलाई दिएँ र जहाँ गए त्यहाँ देखावटी गरेँ र धाक लगाएँ। मैले साँच्चै नै परमेश्वरमा मप्रति घृणा उत्पन्न गराएँ! अब मैले पवित्र आत्माको काम गुमाएकी थिएँ, म अँध्यारोमा थिएँ, केही पनि स्पष्ट देख्न सक्दिनथेँ, र कामका विभिन्न पक्षहरूको प्रभावकारिता एकदमै खस्केको थियो। मैले समस्याहरू समाधान गर्न पहिलेभन्दा धेरै मेहनत गरिरहेकी भए तापनि, गल्तीहरू गरिरहेकी थिएँ, र काम त्रुटिहरूले भरिएको थियो। मैले यी मण्डलीहरूमा एक वर्षदेखि सुपरिवेक्षण गरिरहेकी र तालिम दिइरहेकी थिएँ, तैपनि मेरो कामको अन्त्य यसरी भयो। मैले आफूसँग सत्यता वास्तविकताहरू छैनन् भन्ने देखेँ। म मूर्ख र अन्धो भएकी थिएँ, र पवित्र आत्माको काम चिन्न असमर्थ थिएँ। मैले गल्तीले पवित्र आत्माको कामका परिणामहरूलाई आफ्नो साँचो कद ठानेकी थिएँ, र आफूसँग सत्यता वास्तविकताहरू छन् भनी सोचेकी थिएँ, र त्यसैले मैले यी कुराहरूलाई अरूको अगाडि देखावटी गर्ने पुँजीका रूपमा प्रयोग गरेँ। म साँच्चै नै लाजसरम नभएकी थिएँ! मैले कामलाई कति धेरै क्षति पुऱ्याएकी छु भन्ने देख्दा, मलाई साह्रै पछुतो र दोषी महसुस भयो, र मैले तुरुन्तै परमेश्वरलाई प्रार्थना गरेँ, “परमेश्वर, मैले थाहै नपाई यति धेरै दुष्टता गरेकी छु। यदि तपाईँको ताडना र अनुशासन ममाथि नआएको भए, म आत्मचिन्तन गर्नेथिइनँ। बर्खास्त हुँदा साँच्चै म बाँचेँ! परमेश्वर, म गहन रूपमा आत्मचिन्तन गर्नेछु र तपाईँसमक्ष पश्चात्ताप गर्नेछु।”
पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “मानवजातिलाई शैतानले भ्रष्ट तुल्याइदेखि, मानिसहरूको प्रकृति बिग्रिन थालेको छ र तिनीहरूले सामान्य मानिसहरूमा हुने समझ बिस्तारै गुमाएका छन्। तिनीहरूले अब मानिसको स्थानमा रहेर मानवजातिले जस्तो व्यवहार गर्दैनन्, बरु तिनीहरू खराब आकाङ्क्षाहरूले भरिएका हुन्छन्; तिनीहरूले मानिसको स्थानलाई उछिनेका छन्, तैपनि तिनीहरू अझै माथि जाने अभिलाषा राख्छन्। यो ‘माथि’ ले केलाई जनाउँछ? तिनीहरू परमेश्वरलाई उछिन्ने, स्वर्गलाई र अरू सबै कुरालाई उछिन्ने इच्छा गर्छन्। मानिसहरूले यस्ता स्वभावहरू प्रकट गर्नुको मूल कारण के हो? समग्रमा भन्दा, मानिसको प्रकृति अति नै अहङ्कारी छ। धेरैजसो मानिसहरूले ‘अहङ्कार’ शब्दको अर्थ बुझ्छन्। यो निन्दात्मक शब्द हो। यदि कसैले अहङ्कार प्रकट गर्छ भने, अरूले ऊ असल व्यक्ति होइन भन्ने सोच्छन्। जब कुनै व्यक्ति अत्यन्तै अहङ्कारी हुन्छ, तब अरूले सधैँ ऊ दुष्ट व्यक्ति हो भन्ने अनुमान गर्छन्। कसैले पनि आफूमाथि यो शब्द प्रयोग गरियोस् भन्ने चाहँदैन। तर, वास्तवमा, हरेक व्यक्ति नै अहङ्कारी हुन्छ, र सारा भ्रष्ट मानवहरूमा यही सार हुन्छ। कतिपय मानिसहरू भन्छन्, ‘म अलिकति पनि अहङ्कारी छैनँ। मैले कहिल्यै पनि प्रधान स्वर्गदूत बन्ने चाहना राखेको छैनँ, न त मैले कहिल्यै परमेश्वरलाई उछिन्ने वा अरू सबैलाई उछिन्ने चाहना नै राखेको छु। म सधैँ नै विशेष रूपमा सुशील र कर्तव्यनिष्ठ व्यक्ति रहिआएको छु।’ यस्तै हुन्छन् भन्ने छैन; यी शब्दहरू गलत छन्। मानिसहरू प्रकृति र सारमा अहङ्कारी बनेपछि, तिनीहरूले बारम्बार परमेश्वरको विरुद्धमा विद्रोह र प्रतिरोध गर्न, उहाँका वचनहरूमा ध्यान नदिन, उहाँबारे धारणाहरू सिर्जना गर्न, उहाँलाई धोका दिने, र तिनीहरूका आफ्नै बढाइ गर्ने र आफ्नै गवाही दिने कुराहरू गर्न सक्छन्। तैँले तँ अहङ्कारी छैनस् भनी भन्छस्, तर मानौँ तँलाई एउटा मण्डली दिइयो र त्यसको अगुवाइ गर्न दिइयो; मानौँ मैले तँलाई काटछाँट गरिनँ, र परमेश्वरको परिवारका कसैले पनि तँलाई आलोचना वा सहयोग गरेनन्: केही समय त्यसको अगुवाइ गरिसकेपछि तैँले मानिसहरूलाई तेरो पाउमा ल्याउनेथिइस् र तँलाई आदर र श्रद्धा गर्ने हदमा पुग्ने गरी तिनीहरूलाई आज्ञापालन गर्न लगाउनेथिइस्। तैँले किन त्यसो गर्नेथिइस्? यो तेरो प्रकृतिद्वारा निर्धारित हुनेथियो; यो प्राकृतिक प्रकटीकरणबाहेक अरू केही हुनेथिएन। तैँले यो कुरा अरूबाट सिक्नुपर्ने कुनै आवश्यकता हुँदैन, न त तिनीहरूले नै तँलाई यो सिकाउनुपर्ने आवश्यकता हुन्छ। तँलाई अरूले यसो गर्न निर्देशन दिनु वा बाध्य पार्नु आवश्यक हुँदैन; यस्तो अवस्था प्राकृतिक रूपमा नै आउँछ। तैँले गर्ने सबै कुराको उद्देश्य मानिसहरूलाई तेरो बढाइ गर्ने, तेरो प्रशंसा गर्ने, तेरो आराधना गर्ने, तेरो आज्ञापालन गर्ने, र सबै कुरामा तेरो कुरा सुन्ने बनाउनु हो। तँलाई अगुवा बन्न दिइएमा त्यसले स्वाभाविक रूपमा यस्तो अवस्था ल्याउँछ, र यसलाई परिवर्तन गर्न सकिँदैन। यस्तो अवस्था कसरी आउँछ? यो कुरा मानिसको अहङ्कारी प्रकृतिद्वारा निर्धारित हुन्छ। अहङ्कार प्रकट हुनु भनेको परमेश्वरविरुद्धको विद्रोह र प्रतिरोध हो। जब मानिसहरू अहङ्कारी, अभिमानी, र आत्म-धर्मी हुन्छन्, तब तिनीहरूले आफ्नै स्वतन्त्र राज्य खडा गर्नेछन् र जसरी मन लाग्यो त्यसरी काम गर्नेछन्। तिनीहरूले अरूलाई पनि आफ्नै हातमा लिनेछन् र आफ्नो अङ्गालोमा तान्नेछन्। मानिसहरूले यस्ता अहङ्कारी कार्यहरू गर्न सक्नुले तिनीहरूको अहङ्कारी प्रकृति शैतानसरह छ; यो प्रधान स्वर्गदूतसरह छ भन्ने प्रमाणित गर्छ। जब तिनीहरूको अहङ्कार र अभिमान एक निश्चित तहमा पुग्छ, तब तिनीहरूको हृदयमा परमेश्वरका लागि कुनै स्थान हुनेछैन, र तिनीहरूले परमेश्वरलाई पाखा लगाउनेछन्। त्यसपछि, तिनीहरूले परमेश्वर बन्ने, र मानिसहरूलाई तिनीहरूको आज्ञापालन गर्न लगाउने इच्छा राख्नेछन्, र तिनीहरू प्रधान स्वर्गदूत जस्तै बन्नेछन्। यदि तँमा त्यस्तो शैतानी अहङ्कारी प्रकृति छ भने, तेरो हृदयमा परमेश्वरका निम्ति कुनै ठाउँ हुनेछैन। तैँले परमेश्वरमा विश्वास गरे पनि, परमेश्वरले तँलाई चिन्नुहुनेछैन, तँलाई दुष्ट व्यक्तिका रूपमा हेर्नुहुनेछ, र तँलाई हटाउनुहुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको अहङ्कारी प्रकृति नै परमेश्वरप्रतिको उसको प्रतिरोधको जड हो)। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने, मानिसहरू शैतानद्वारा भ्रष्ट तुल्याइएपछि, उनीहरूमा शैतानी प्रकृति विकास भयो, र त्यस अहङ्कारले गर्दा उनीहरूको समझ गुम्यो र उनीहरू सृजित प्राणीको स्थानमा रहेर परमेश्वरको आराधना गर्न अनिच्छुक भए। मेरो अहङ्कारी प्रकृतिद्वारा शासित भएर, मलाई अरूको प्रशंसा र सराहना मन पर्थ्यो। मैले केही मण्डलीमा रहेका केही समस्या समाधान गरेपछि, मसँग सत्यता वास्तविकताहरू छन् भनी विश्वास गर्न थालेँ र म अहङ्कारी बनेँ। म आफूले जोसँग अन्तरक्रिया गरिरहेकी भए पनि, सधैँ आफूलाई देखावटी गर्ने र धाक लगाउने अवसरहरू खोज्थेँ। यसले गर्दा मेरा सहकर्मी सिस्टरहरू मलाई प्रशंसा गर्थे, र कुनै समस्याहरू उत्पन्न हुँदा, उनीहरू समाधानका लागि ममाथि भर पर्थे। मलाई उनीहरूको यो स्थिति गलत हो भन्ने थाहा थियो, तर मैले उनीहरूलाई मद्दत गरिनँ वा उनीहरूसँग सङ्गति गरिनँ, त्यसको विपरीत, आफूलाई मान गरिँदा मैले एकदमै आनन्द मानेँ। ब्रदर-सिस्टरहरूले समस्या र कठिनाइहरू सामना गर्दा, मैले ती समाधान गर्न सत्यता खोजिनँ वा सङ्गति गरिनँ, बरु आफ्नो प्रतिभा र क्षमता प्रदर्शन गरेँ, आफ्ना उपलब्धिहरू र राम्रा पक्षहरू मात्र प्रदर्शन गरेँ, जबकि आफ्नो नकारात्मक र कमजोर स्थितिबारे केही पनि बताइनँ। यहाँसम्म कि मैले आफूलाई ब्रदर-सिस्टरहरूको अगाडि उचालेँ, मेरा दुई सहकर्मी सिस्टरलाई होच्याएँ ताकि सबैले म उनीहरूभन्दा असल छु भन्ने सोचून् र मलाई मान गरून्। जब समस्याहरू उत्पन्न हुन्थे, तब उनीहरू अन्तिम निर्णयका लागि मकहाँ आउँथे, र अन्ततः मैले मेरा सहकर्मी सिस्टरहरूलाई थपना मात्र बनाएँ। त्यतिबेला समेत, मलाई डर लागेन। त्यसको विपरीत, मैले यो सब आनन्द लिइरहेकी थिएँ, र ब्रदर-सिस्टरहरूले मलाई मान गर्नु सही हो भन्ने सोचिरहेकी थिएँ, र ती सिस्टरले मलाई सम्झाउँदासमेत, मैले आत्मचिन्तन गरिनँ। म केवल सृजित प्राणी, तुच्छ र महत्त्वहीन व्यक्ति थिएँ, तर मैले आफ्नो पहिचान र हैसियत चिनिनँ। सृजित प्राणीको स्थानमा रहेर परमेश्वरको आराधना गर्नुको सट्टा, मैले आफूलाई देखावटी गरेर मानिसहरूलाई मेरो सामु ल्याउन खोजेँ। म यति अहङ्कारी थिएँ कि मैले आफ्नो समझ गुमाएकी थिएँ! यति ठूलो दुष्टता गरेपछि पनि, म आफ्नो प्रशंसा गर्थेँ। म साँच्चै निर्लज्ज, दुष्ट र घृणास्पद थिएँ! म लुक्नका लागि केवल जमिनमा दूलो खोज्न चाहन्थेँ। मलाई परमेश्वरको सामना गर्न र मेरा ब्रदर-सिस्टरहरूको सामना गर्न असाध्यै लाज लाग्यो। यसबेला, मैले अन्ततः के महसुस गरेँ भने मलाई बर्खास्त गरिँदा म सुरक्षित भएकी थिएँ। यदि मलाई बर्खास्त नगरिएको र मेरा दुष्ट कार्यहरूलाई निरन्तरता दिनबाट नरोकेको भए, म आफ्नो अहङ्कारी स्वभावद्वारा जिइरहने थिएँ र हैसियत पछ्याउने गलत मार्गमा लागिरहने थिएँ, र अन्ततः मैले परमेश्वरको स्वभावलाई चिढ्याउनेथिएँ र म दण्डित हुन नरकमा फालिनेथिएँ। मैले बुझे, यो बर्खासी वास्तवमा एक प्रकारको मुक्ति थियो, र मेरो हृदयमा परमेश्वरप्रति कृतज्ञताले भरिएँ।
पछि, मैले कसरी परमेश्वरलाई उचाल्न र उहाँको गवाही दिन सक्छु भनेर खोजी गरेँ। मैले परमेश्वरका वचनहरू पढेँ: “परमेश्वरको गवाही दिँदा, तैँले मुख्य रूपमा परमेश्वरले कसरी मानिसहरूलाई न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ, र मानिसहरूलाई शोधन गर्न र तिनीहरूका स्वभावहरू परिवर्तन गर्न उहाँले के-कस्ता परीक्षाहरू प्रयोग गर्नुहुन्छ भन्नेबारेमा नै कुरा गर्नुपर्छ। तिमीहरूले तिमीहरूका अनुभवमा कति भ्रष्टता प्रकट गरेका छौ, तिमीहरूले कति धेरै कष्ट सहेका छौ, परमेश्वरको प्रतिरोध गर्न तिमीहरूले कति धेरै कुराहरू गरेका छौ, अन्त्यमा तिमीहरू परमेश्वरद्वारा कसरी विजय गरियौ, तिमीहरूले परमेश्वरको कामको कति वास्तविक ज्ञान प्राप्त गरेका छौ, र तिमीहरूले परमेश्वरको प्रेम चुकाउन कसरी उहाँको गवाही दिनुपर्दछ भन्ने बारेमा कुरा गर्नुपर्छ। तिमीहरूले यी शब्दहरूमा ठोसता प्रदान गर्नुपर्छ, जबकि सरल तरिकाले बोल्नुपर्छ। रित्ता सिद्धान्तहरूका बारेमा कुरा नगर। व्यावहारिक तरिकाले बोल; हृदयबाट बोल। तिमीहरूले विभिन्न कुराहरूको अनुभव गर्नुपर्ने यसरी नै हो। आडम्बर देखाउने प्रयासमा गहन लाग्ने, रित्ता सिद्धान्तहरू तयार नपार; त्यसो गर्दा तिमीहरू अत्यन्त अहङ्कारी र समझहीन देखिन्छौ। तिमीहरूले आफ्नो असली अनुभवबाट वास्तविक कुराहरूका बारेमा बताउनुपर्छ, र अझ बढी हृदयबाट बोल्नुपर्छ; यो अरूका लागि अत्यन्तै फाइदाजनक हुन्छ, र तिनीहरूका लागि सबैभन्दा उपयुक्त देखिन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ)। परमेश्वरका वचनहरूले मलाई मैले परमेश्वरलाई उचाल्न र उहाँको गवाही दिन सक्ने मार्ग औँल्याइदिए, त्यस मार्गमा समस्याहरू सामना गर्दा मैले प्रकट गरेको भ्रष्टता, मैले कसरी परमेश्वरको प्रतिरोध र उहाँविरुद्ध विद्रोह गरेँ, कसरी आफूलाई बुझ्न सत्यता खोजेँ भन्ने कुरा, खुलस्त कुरा गर्ने अनि भ्रष्टता र आफ्नो प्रकृति सार खुलासा गर्ने, अनि परमेश्वरले मलाई शुद्ध पार्न र परिवर्तन गर्न आफ्ना वचनहरू कसरी प्रयोग गर्नुभयो भनेर गवाही दिने कुराहरू समावेश छन्। यसरी सङ्गति गर्दा परमेश्वर उचालिनुहुनेछ र त्यसले उहाँको गवाही दिनेछ। मेरा अनुभवहरूबारे कुरा गर्दा, मैले आफ्नो हृदयमा भएको नकारात्मकता र कमजोरीबारे बोल्नुपर्छ, र परमेश्वरले मलाई कसरी अन्तर्दृष्टि दिनुभयो र मार्गदर्शन गर्नुभयो, मैले आफूबारे के बुझाइ प्राप्त गरेँ र मैले अभ्यासका कस्ता मार्गहरू भेट्टाएँ भन्नेबारे बोल्नुपर्छ। यसले मेरा ब्रदर-सिस्टरहरूलाई के बुझ्न सक्षम पार्नेछ भने परमेश्वरको मार्गदर्शनविना, मानिसले केही पनि हासिल गर्न सक्दैन, र परमेश्वर नै सबैमाथि सार्वभौम हुनुहुन्छ, जसले मानिसहरूलाई परमेश्वरलाई चिन्न सक्षम तुल्याउनुहुन्छ। यसो गर्नाले मात्र साँच्चै परमेश्वरलाई उचाल्नेछ र उहाँको गवाही दिनेछ। मैले आफ्ना अनुभवहरूबारे कसरी कुरा गरेँ भनेर चिन्तन गर्दा, के बुझेँ भने मेरा अभिप्रायहरू अरूलाई मेरो गर्न लगाउन थिए, र मैले जानाजानी आफ्नो नकारात्मक र कमजोर स्थिति ढाकछोप गरिरहेकी थिएँ, र कठिनाइको समयमा मैले कसरी परमेश्वरलाई हेरेँ र उहाँमा भर परेँ, र परमेश्वरले मलाई कसरी मार्गदर्शन गर्नुभयो भन्नेबारे लामो कुरा गरिरहेकी थिएँ। परिणामस्वरूप, मेरा ब्रदर-सिस्टरहरूले मलाई आफूले सामना गरेका कुराहरू कसरी अनुभव गर्ने भनेर थाहा छ भन्ने देखे र मलाई मान गरे, तर उनीहरूले परमेश्वरबारे कुनै ज्ञान प्राप्त गरेनन्। मैले निरन्तर आफूलाई उचालेँ र देखावटी गरेँ, जसले परमेश्वरमा मप्रति घृणा उत्पन्न गरायो! मलाई अत्यन्तै पछुतो लाग्यो र मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, तपाईँको प्रहार र अनुशासनले नै मेरो भावशून्य हृदयलाई जगायो, र अन्ततः मलाई मैले सुरुदेखि नै तपाईँविरुद्ध प्रतिरोध र विद्रोह गरिरहेकी छु भनेर बुझ्न लगायो। यदि भविष्यमा मैले आफ्नो कर्तव्य निर्वाह गर्ने अर्को मौका पाएँ भने, म अवश्य नै आफ्नो गलत पछ्याइ परिवर्तन गर्नेछु, आफ्नो सही स्थानमा खडा हुनेछु, र आज्ञाकारी भई सृजित प्राणीका रूपमा व्यवहार गर्नेछु।”
मे २०२१ मा, अगुवाहरूले मलाई समस्या समाधान गर्न एउटा मण्डलीमा जान खटाए। मण्डलीमा मा ली नामकी दुष्ट व्यक्ति थिइन्, जसले भर्खरै चुनिएकी एक अगुवालाई आक्रमण गरिरहेकी थिइन्, जसले गर्दा ती अगुवा नकारात्मक बनेकी थिइन्। म पुगेपछि, मैले के थाहा पाएँ भने मा लीलाई २०१८ मा एक अगुवालाई आक्रमण गरेको कारण चिन्तनका लागि अलग राखिएको थियो, तर उनी अझै पनि उस्तै थिइन्। मलाई उनी दुष्ट व्यक्ति हुन् भन्ने लाग्यो, तर कुनै गल्ती पो हुन्छ कि भन्ने डर भयो, त्यसैले मैले माथिल्ला अगुवाहरूलाई उनको निरन्तर व्यवहार रिपोर्ट गरेँ। अगुवाहरूले जवाफमा, सिद्धान्तहरूअनुसार सङ्गति गरे: मा ली दुष्ट व्यक्ति थिइन्, र उनीसम्बन्धी सामग्रीहरू व्यवस्थित गरेर उनलाई निकाल्नुपर्छ। त्यसैले, मैले सबैसँग खुट्ट्याइबारे सङ्गति गरेँ र यस दुष्ट व्यक्तिलाई निकालेँ। यसपछि, ब्रदर-सिस्टरहरूको मण्डली जीवन सामान्य अवस्थामा फर्कियो, र मण्डलीको काम सामान्य रूपमा चल्न थाल्यो। एउटा भेलाको दौरान, सिस्टर फाङ सिनले मलाई भनिन्, “तपाईँसँग साँच्चै सत्यता वास्तविकताहरू छन्। तपाईँ आउनेबित्तिकै मा ली दुष्ट व्यक्ति हुन् भनेर खुट्ट्याउन र यो मामिला समयमै समाधान गर्न सक्षम हुनुभयो। यदि तपाईँ नआउनुभएको भए, मैले साँच्चै यो काम गर्न सक्नेथिइनँ।” उनको कुरा सुनेपछि, मैले मनमनै सोचेँ, “यदि म नआएकी भए, उनीहरूले साँच्चै यस दुष्ट व्यक्तिलाई सम्हाल्न सक्नेथिएनन्, र मण्डली जीवन सामान्य अवस्थामा फर्कन सक्नेथिएन।” तर मैले यो सोच्नेबित्तिकै, के बुझेँ भने यो परिणाम पवित्र आत्माको कामले नै ल्याएको हो, तर म आफ्नै प्रशंसा गरिरहेकी छु र परमेश्वरको महिमा चोरिरहेकी छु। म विगतमा यसरी नै असफल भएकी थिएँ, र मैले अब आफूलाई देखावटी गर्ने दिनु हुँदैन। त्यसैले मैले भनेँ, सुरुमा मैले मा लीसँग सम्बन्धित यस मामिलालाई छर्लङ्ग देख्न सकेकी थिइनँ, त्यसैले मैले मार्गदर्शनका लागि माथिल्ला अगुवाहरूलाई पत्र लेखेँ, र अगुवाहरूले सिद्धान्तहरू आधारित सङ्गति गरेपछि मात्र मैले मा ली दुष्ट व्यक्ति हुन् भनेर स्पष्ट रूपमा देख्न सकेकी थिएँ। सङ्गतिपछि, फाङ सिनले बुझिन्, र उनले आफूमा मानिसहरूलाई आदर्श मान्ने प्रवृत्ति छ र आफूले यसलाई परिवर्तन गर्नुपर्छ भनेर बताइन्।
यस अनुभवबाट गुज्रिएपछि, म परमेश्वरप्रति कृतज्ञताले भरिएँ। यदि यो असफलता र ठेस, अनि परमेश्वरका वचनहरूको खुलासा नभएको भए, मलाई आफू रहेको गलत मार्गबारे थाहा हुनेथिएन, न त मैले आफ्नो अहङ्कारी र परमेश्वर-प्रतिरोधी प्रकृतिबारे साँचो बुझाइ नै प्राप्त गर्नेथिएँ। यो अनुभव मेरो जीवन प्रवेशमा बहुमूल्य खजाना बनेको छ, जुन मेरो आस्थाको यात्रामा एउटा मोड हो, र यसले मेरो गलत पछ्याइलाई सच्यायो। त्यससँगै, यसले मलाई परमेश्वरलाई उचाल्ने र उहाँको गवाही दिनेबारे अलि धेरै सत्यता बुझ्न मद्दत गऱ्यो, र मैले यसबारे अभ्यासको मार्ग प्राप्त गरेकी छु।