३२. मैले आफ्ना अपराधलाई कसरी लिनुपर्छ
सन् २०२० मा, मैले ख्याति र हैसियत पछ्याउँदै आफ्नो कर्तव्य निर्वाह गरेँ, अरूलाई आक्रमण र बहिष्कार गरेँ, जसले मण्डलीको काममा अवरोध र बाधा पुर्यायो, र मलाई बर्खास्त गरियो। आफूले निष्कासित हुन सकिने गरी त्यति ठूलो दुष्टता गरेकी, र आफूसँग मुक्ति पाउने कुनै आशा नरहेको भन्ने सोच्दै, म अत्यन्तै नकारात्मक भएँ। पछि, अगुवाहरूले मैले केही चिन्तन गरेकी छु अनि मैले आफ्नो व्यवहार र आफू हिँडिरहेको मार्ग बुझेकी छु भन्ने देखे, त्यसैले उनीहरूले मलाई फेरि कर्तव्य निर्वाह गर्ने बन्दोबस्त गरिदिए। म धेरै छक्क परेँ। परमेश्वरको घरले मलाई अझै पनि कर्तव्य निर्वाह गर्ने मौका दिइरहेको देखेर, मेरा आँखामा आँसु भरिए, र मेरो हृदय परमेश्वरप्रतिको कृतज्ञताले भरियो। मैले हृदयमा नै सङ्कल्प गरेँ, “मैले आफ्ना विगतका अपराधहरूको भरपाई गर्न आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नैपर्छ, र मैले पहिलेझैँ ख्याति र हैसियत पछ्याउन अनि गलत मार्गमा हिँड्न मिल्दैन।”
पछि, मलाई दुईवटा मण्डलीमा सुसमाचारको कामको जिम्मेवारी दिइयो। सुरुमा, मैले सुसमाचार प्रचार गर्ने सिद्धान्तहरू बुझेकी थिइनँ, र काममा धेरै समस्या तथा कठिनाइ आइपरे, जसलाई समाधान गर्ने तरिका मलाई थाहा थिएन, त्यसैले मैले हृदयमा परमेश्वरलाई प्रार्थना गरेँ, र समय पाउनेबित्तिकै, म कामकुराहरूमाथि विचार गर्न र सिद्धान्तहरू खोज्न मेहनत लगाउँथेँ। भेलाहरूको दौरान, म ब्रदर-सिस्टरहरूले सुसमाचार प्रचारका आफ्ना अनुभव र प्राप्तिहरू बाँडेको सुन्थेँ। अरूले आफ्नो कर्तव्य निर्वाह गर्दा परमेश्वरको मार्गदर्शन पाउन सक्छन्, तर म फरक छु, किनकि म गम्भीर अपराध गरेकी व्यक्ति हुँ भन्ने सोच्दै मलाई ईर्ष्या लाग्थ्यो। मलाई लाग्थ्यो, परमेश्वरले मलाई अझै पश्चात्ताप गर्ने मौका दिइरहनुभएकाले, मैले अरूभन्दा कडा परिश्रम गर्नुपर्छ, र थप गल्ती गर्न मिल्दैन। म हरेक दिन मण्डलीहरूबीच आवतजावत गरिरहन्थेँ, र रिँगटा लाग्दा पनि, म आराम नगरी निरन्तर आफ्नो कर्तव्यमा लागिरहन्थेँ, र सोच्थेँ, “जबसम्म म आफ्नो कर्तव्यमा अझ बढी मेहनत लगाउँछु र दुष्टता गर्दिनँ वा अवरोध पुर्याउँदिनँ, म मेरा विगतका अपराधहरूको भरपाई गर्न सक्छु र मसित अझै पनि मुक्ति पाउने मौका हुन्छ।” केही समयपछि, मैले जिम्मेवारी लिएको सुसमाचारको काममा केही नतिजा देखिन थाले, र नयाँ विश्वासीहरू सामान्य रूपमा भेलाहरूमा उपस्थित हुन सके। यस अवधिमा सुसमाचार प्रचारमा भएका मेरा प्राप्तिहरूबारे मैले कुरा गर्दा, सुपरिवेक्षक मेरो सङ्गतिमा सहमति जनाउनुहुन्थ्यो, र म धेरै खुसी हुन्थेँ, र सोच्थेँ, “मैले आफ्नो कर्तव्यमा कडा परिश्रम गरेकी छु र ब्रदर-सिस्टरहरूको मान्यता पाएकी छु, अनि भेलाहरूमा हुने सङ्गतिमा अन्तर्दृष्टि पाएकी छु, र पवित्र आत्माको मार्गदर्शन पनि महसुस गर्न सक्छु। जबसम्म म मेरो वर्तमान स्थिति कायम राख्छु, लगनशीलताका साथ आफ्नो कर्तव्य अझ राम्ररी निर्वाह गर्छु, अवरोध वा बाधाहरू खडा गर्दिनँ, र थप असल कार्यहरू तयार गर्छु, तब सायद अन्ततः, परमेश्वरले मेरा विगतका अपराधहरूमा ध्यान दिनुहुनेछैन।” पछि, अगुवाहरूले मलाई थप मण्डलीहरूमा सुसमाचारको कामको जिम्मेवारी दिने बन्दोबस्त गरे, र मलाई तीमध्ये केही मण्डली आफ्नो घरबाट धेरै टाढा छन् भन्ने थाहा भयो। मैले आफ्नो स्वास्थ्य कमजोर छ, र यसरी निरन्तर लागिरहँदा यसले मलाई पक्कै पनि लखतरान पार्नेछ भन्नेबारे सोचेँ, त्यसैले मैले अगुवाहरूलाई आफ्नो अवस्थाबारे बताउने विचार गरेँ। तर फेरि मैले सोचेँ, “यदि मैले मेरो कर्तव्य अस्वीकार गरेँ भने, परमेश्वरले मलाई कसरी हेर्नुहुनेछ?” त्यसैले मैले केही पनि भनिनँ। त्यसपछि, कामसँग अझ चाँडो परिचित हुनका लागि, म बिहानदेखि बेलुकासम्म खटेँ, र सञ्चो नहुँदा पनि, म जबरजस्ती काममा लागिरहेँ, र कहिलेकाहीँ सिस्टरहरूलाई मलाई उनीहरूको साइकलमा चढाएर भेलामा लैजान लगाउँथेँ। म प्रायः अबेरसम्म जागा रहने गरेकीले, मेरो स्वास्थ्य अझ बिग्रँदै गयो। मलाई शरीरभरि कमजोरी महसुस हुन्थ्यो, हात-खुट्टा लल्याक-लुलुक हुन्थे, र म अडेस लागेर मात्र आफूलाई जबरजस्ती भेलाहरूमा उपस्थित गराउन सक्थेँ। सत्य कुरा के थियो भने, म धेरै कमजोरी महसुस गर्थेँ र घर गएर स्वास्थ्यलाभ गर्न चाहन्थेँ, तर मण्डलीको काममा मानिसहरूको सहकार्य आवश्यक देखेर, म मनमनै “यदि म स्वास्थ्यलाभका लागि घर गएँ र यो निर्णायक घडीमा आफ्ना कर्तव्य छाडेँ भने, परमेश्वरले मलाई कसरी हेर्नुहुनेछ? के मेरो भविष्य अझै पनि राम्रो होला? के अझै पनि मैले मुक्ति पाउने सम्भावना रहला?” भन्ने सोचेर फिक्री गर्थेँ। त्यसैले परिस्थिति जतिसुकै गाह्रो भए पनि, म आफ्नो कर्तव्यमा निरन्तर लागिरहेँ। पछि, उपचार गराएपछि, मेरो अवस्थामा बिस्तारै सुधार आयो।
केही महिनापछि, म सुसमाचारको कामको सुपरिवेक्षक चुनिएँ। जब मैले यस कर्तव्यको सामना गरेँ, मलाई आफ्नो खराब स्वास्थ्यका कारण म यो कामका लागि योग्य नहुने हो कि भन्ने चिन्ता लाग्यो, तर फेरि मैले सोचेँ, “यदि मैले बिरामी हुँदा पनि आफ्ना कर्तव्य राम्ररी निर्वाह गर्न सकेँ भने, सायद परमेश्वरले मेरा विगतका अपराधहरू क्षमा गर्नुहुनेछ, र त्यसपछि मसित मुक्ति पाउने मौका हुनेछ।” मनमा यस्तो विचार लिएर, म यो कर्तव्य सम्हाल्न इच्छुक भएँ। एक पटक, अगुवाहरूले मलाई एउटा भेलामा उपस्थित हुन सूचित गरे, तर भेला हुनुभन्दा अघिल्लो दिउँसो, मेरो अवस्था अचानक बिग्रियो। मेरो पेट असाध्यै दुख्न थाल्यो, शरीरभरि कमजोरी महसुस भयो, र टाउको पनि दुख्यो, र म मुस्किलले मात्र चल्मलाउन सक्थेँ। डाक्टरले मलाई भने, मैले सलाइन पानी चढाउनुपर्छ र ओछ्यानमा आराम गर्नुपर्छ। त्यतिखेर, मेरा भावनाहरू छरपस्ट भएका थिए, र मैले सोचेँ, “मेरो रोग किन फेरि बल्झियो? अहिले मेरा कर्तव्यमा धेरै चाप छ। मसँग काम गर्ने सिस्टरहरू हरेक दिन सुसमाचार प्रचार गर्न व्यस्त हुन्छन्, तर यस्तो निर्णायक समयमा, म आफ्नो कर्तव्य निर्वाह गर्न असमर्थ छु। के परमेश्वरले मलाई प्रकट गर्न र हटाउन यो परिवेश प्रयोग गरिरहनुभएको हो? यदि मैले साँच्चै आफ्नो कर्तव्य निर्वाह गर्न सकिनँ भने, मेरो भविष्य के होला?” यसबारे सोच्दा मात्र पनि म धेरै व्याकुल हुन्थेँ, मानौँ म परमेश्वरद्वारा त्यागिएकी थिएँ। सलाइन पानीका कारण, म लट्ठ भएँ र त्यसपछि त्यो रात म गहिरो निद्रामा परेँ। भोलिपल्ट बिहान, जब म हृदयमा यो कुराबारे घोत्लिँदै थिएँ, मैले अचानक परमेश्वरका वचन सम्झिएँ: “यो तीतो शोधनको समयमा नै मानिस सबैभन्दा सजिलोसँग शैतानको प्रभावमा पर्न सक्छ, त्यसैले त्यस्तो शोधनको अवधिमा तैँले परमेश्वरलाई कसरी प्रेम गर्नुपर्छ? तैँले आफ्नो हृदय परमेश्वरसामु राख्दै र तेरो अन्तिम समय उहाँमा समर्पण गर्दै आफ्नो इच्छालाई पुकार्नुपर्छ। परमेश्वरले तँलाई जसरी शोधन गर्नुभए पनि तैँले परमेश्वरका अभिप्रायहरू पूरा गर्नका लागि सत्यताको अभ्यास गर्न सक्नुपर्दछ र परमेश्वरलाई खोज्ने र बातचित गर्ने काम तँ आफैले गर्नुपर्छ। यस्ता समयमा, तँ जति धेरै निष्क्रिय बन्छस्, त्यति नै धेरै नकारात्मक बन्नेछस् र त्यति नै सहजै पछि हट्नेछस्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ)। परमेश्वरका वचनबाट, मैले के बुझेँ भने मानिस जति बढी शोधनहरूको पीडामा हुन्छ, उसले उति नै बढी सत्यता र परमेश्वरको अभिप्राय खोज्नुपर्छ। मैले उप्रान्त आफ्नो भविष्य र गन्तव्यको ख्याल गर्न मिल्दैनथ्यो, र परमेश्वरलाई अझ बढी प्रार्थना गर्नुपर्थ्यो, र मेरा लागि राम्रो भविष्य वा गन्तव्य भए पनि वा नभए पनि, म आफ्नो हृदय परमेश्वरसामु राख्न इच्छुक थिएँ, र परमेश्वरले जसरी काम गर्नुभए पनि, म समर्पित हुन इच्छुक थिएँ। मलाई लाग्यो, परमेश्वरले म उठ्ने र अघि बढ्ने प्रतीक्षा गर्दै मलाई हेरिरहनुभएको छ। मेरो हृदय बिस्तारै शान्त भयो, र मैले अझ चैन महसुस गरेँ, र म यस्तो परिवेशमा सत्यता खोज्न इच्छुक भएँ।
एक दिन, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ र आफ्नो स्थितिबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “पावललाई आफ्नो सार वा भ्रष्टताको बारेमा थाहा थिएन, झन् तिनलाई आफ्नो विद्रोहीपनबारे थाहा हुने त कुरै नगरौँ। ख्रीष्टप्रतिको तिनको घृणित अवज्ञालाई तिनले कहिल्यै उल्लेख गरेनन्, न त तिनले अत्यन्तै अफसोस नै गरेका थिए। तिनले छोटो स्पष्टीकरण मात्रै दिए र तिनी आफ्नो हृदयको अन्तस्करणमा परमेश्वरप्रति पूर्ण रूपमा अर्पित भएनन्। तिनी दमस्कसको बाटोमा लडेको भए तापनि, तिनले आफैभित्रको गहिराइमा हेरेनन्। तिनी निरन्तर काम गरिरहनमै सन्तुष्ट थिए, र तिनले आफैलाई चिन्नु र आफ्नो पुरानो स्वभाव परिवर्तन गर्नुलाई सबैभन्दा महत्त्वपूर्ण मामिलाको रूपमा लिएनन्। तिनी सत्यता बोल्नुमा, आफ्नो विवेकको मलमको रूपमा अरूको लागि आवश्यक पोषण प्रदान गर्नुमा, र आफ्नो विगतको पापहरूको लागि आफैलाई सान्त्वना दिन र आफैलाई क्षमा दिन येशूका चेलाहरूलाई त्यसउप्रान्त नसताउनुमा नै सन्तुष्ट थिए। तिनले पछ्याएको लक्ष्य भविष्यको मुकुट र सङ्क्रमणकालीन कार्यभन्दा अरू केही थिएन, उनले पछ्याएको लक्ष्य प्रशस्त अनुग्रह प्राप्त गर्नु थियो। तिनले पर्याप्त सत्यतापछ्याएनन्, न त पहिले आफूले नबुझेको सत्यतामा अझै गहन प्रगति गर्न नै पछ्याए। त्यसकारण तिनको आफ्नो बारेको ज्ञानलाई नकली भनेर भन्न सकिन्छ, र तिनले सजाय वा न्यायलाई स्वीकार गरेनन्। तिनले काम गर्न सके भन्दैमा तिनलाई आफ्नो प्रकृति वा सारको ज्ञान थियो भन्ने हुँदैन; तिनको ध्यान भनेको बाहिरी अभ्यासहरूमा मात्रै केन्द्रित थियो। यसअलावा, तिनी जेको लागि मरिमेट्थे त्यो परिवर्तन होइन, ज्ञान थियो। तिनको काम पूर्ण रूपमा दमस्कसको बाटोमा येशू देखा पर्नुभएको घटनाको परिणाम थियो। यो तिनले सुरुदेखि नै गर्ने भनी अठोट गरेको कुरा थिएन, न त तिनले आफ्नो पुरानो स्वभावको काटछाँट स्वीकार गरिसकेपछि गरिएको कार्य नै थियो। तिनले जसरी काम गरेको भए तापनि, तिनको पुरानो स्वभाव परिवर्तन भएन, र त्यसकारण तिनको कार्यले तिनले विगतमा गरेका पापहरूको प्रायश्चित गरेन, त्यो समयका निश्चित मण्डलीहरूमाझ कही निश्चित भूमिका मात्रै निर्वाह गर्यो। यस्तो व्यक्ति जसको पुरानो स्वभाव परिवर्तन भएन—भन्नुको अर्थ, जसले मुक्ति प्राप्त गरेन र जसमा सत्यताको झन् धेरै कमी थियो—तिनी प्रभु येशूले स्वीकार गर्नुभएकाहरूमध्ये एक बन्न सक्दैनथे। … तिनले सधैँ यस्तो विश्वास गरे: ‘म काम गर्न सक्षम छु; म धेरैजसो मानिसहरूभन्दा उत्तम छु; मैले प्रभुको बोझलाई जति विचार पुर्याउनु सक्छु त्यति कसैले पनि सक्दैन, र मैले जत्तिको गहन रूपमा कसैले पनि पश्चात्ताप गर्दैन, किनभने महान् ज्योति ममाथि चम्किएको छ, र मैले महान् ज्योति देखेको छु, र त्यसकारण मेरो पश्चात्ताप अरू कसैको भन्दा गहन छ।’ त्यो बेला, उनले आफ्नो हृदयमा यही सोचे। आफ्नो कामको अन्त्यतिर, पावलले भने: ‘मैले लडाइ लडेको छु, मैले मेरो दौड सिध्याएको छु, र मेरो लागि धार्मिकताको मुकुट राखिएको छ।’ तिनको लडाइ, काम, र यात्रा पूर्ण रूपमा धार्मिकताको मुकुटकै खातिर थियो, र तिनी सक्रिय रूपमा अघि बढेनन्। आफ्नो काममा तिनी झारातिरुवा नरहेको भए तापनि, तिनले आफ्ना गल्तीहरूको पूर्ति गर्न, आफ्नो विवेकका ग्लानिहरूको भरपाई गर्न मात्रै काम गरेका थिए भनेर भन्न सकिन्छ। तिनले आफूले तृष्णा गरेको धार्मिकताको मुकुटलाई चाँडोभन्दा चाँडो प्राप्त गर्न सकूँ भनेर सक्दो चाँडो आफ्नो काम सिध्याउने, दौड पूरा गर्ने, र लडाइ लड्ने आशा मात्रै गरेका थिए। तिनले आफ्ना अनुभवहरू र साँचो ज्ञानमार्फत प्रभु येशूलाई भेट्ने चाहना गर्नुको सट्टा आफ्नो कामले कमाएका इनामहरू प्रभु येशूलाई भेट्नेबित्तिकै प्राप्त गर्न सकूँ भनेर जतिसक्दो चाँडो आफ्नो काम समाप्त गर्ने तृष्णा गरे। तिनले आफैलाई सान्त्वना दिन र भविष्यको मुकुट पाउनको लागि आफ्नो कामको प्रयोग गरे। तिनले सत्यता वा परमेश्वरलाई होइन, मुकुटलाई मात्रै खोजे। त्यस्तो खोजी कसरी मापदण्डको स्तरमा पुग्न सक्छ? तिनको उत्प्रेरणा, तिनको कार्य, तिनले चुकाएको मूल्य, र तिनका सबै प्रयासहरू—ती सबै नै तिनका सुन्दर कल्पनाहरूले व्याप्त थिए, र तिनले पूर्ण रूपमा आफ्नै चाहनाहरूअनुसार काम गरे। तिनको सम्पूर्ण काममा, तिनले चुकाएको मूल्यभित्र तत्परताको थोरै अंश पनि थिएन; तिनी लेनदेन गर्ने कार्यमा मात्रै संलग्न भएका थिए। आफ्नो कर्तव्य पूरा गर्नको लागि मात्रै तिनले स्वेच्छाले प्रयासहरू गरेका थिएनन्, बरु लेनदेनको उद्देश्य हासिल गर्नको लागि मात्रै स्वेच्छाले ती प्रयास गरेका थिए। के त्यस्ता प्रयासहरूको कुनै मूल्य छ र? तिनका अशुद्ध प्रयासहरूलाई कसले तारिफ गर्छ र? त्यस्ता प्रयासहरूप्रति कसैसँग कुनै चासो छ र? तिनको काम भविष्यका सपनाहरूले भरिएको थियो, सुन्दर योजनाले भरिएको थियो, तर त्यसमा मानव स्वभावलाई परिवर्तन गर्ने कुनै मार्ग समावेश थिएन। तिनका धेरैजसो उपकारहरू बहाना मात्रै थिए; तिनको कार्यले जीवन प्रदान गरेन, त्यो त देखावटी शिष्टाचार मात्रै थियो; त्यो लेनदेन गर्ने कार्य मात्रै थियो। त्यस्तो कार्यले मानिसलाई कसरी आफ्नो मूल कर्तव्य पुनर्प्राप्त गर्ने मार्गमा डोर्याउन सक्छ?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सफलता वा असफलता व्यक्तिले हिँड्ने मार्गमा निर्भर हुन्छ)। परमेश्वरले पावलसँग प्रभु येशूलाई सताएको र उहाँका चेलाहरूलाई पक्राउ गराएको विगतका आफ्ना दुष्ट कार्यहरूबारे कुनै वास्तविक बुझाइ नभएको, अनि उनले परमेश्वरको प्रतिरोध गर्ने आफ्नो सार साँचो रूपमा नबुझेको कुरा खुलासा गर्नुभयो। उनी आफू गलत भएको र भविष्यमा परमेश्वरको प्रतिरोध गर्न त्यस्ता कामहरू नगर्ने कुरा थाहा पाउनुमै सन्तुष्ट थिए। त्यसपछि उनले त्याग, समर्पण, र कडा परिश्रमका बाह्य कार्यहरूद्वारा आफ्ना पापहरूको प्रायश्चित गर्ने प्रयास गरे। अन्तमा, उनले आफ्ना लागि धार्मिकताको मुकुट साँचिएको छ भन्नेसमेत दाबी गरे। मैले के महसुस गरेँ भने, पावलका त्याग र समर्पणका कार्यहरू सृजित प्राणीको कर्तव्य निर्वाह गर्नु रहेनछन्, न त ती साँचो पश्चात्ताप नै रहेछन्, बरु आफ्ना पापहरूको प्रायश्चित गर्न र धार्मिकताको मुकुट साट्न आफ्नो काम प्रयोग गर्ने प्रयास मात्र रहेछन्। यो पाखण्ड थियो, र यो परमेश्वरलाई छल गर्ने र उहाँसँग मोलतोल गर्ने प्रयास थियो। मैले आफ्ना विगतका कर्तव्यहरूबारे चिन्तन गरेँ, जब मैले प्रतिष्ठा र हैसियत पछ्याएर, मण्डलीको काममा अवरोध र बाधा पुर्याएकी थिएँ र अपराध गरेकी थिएँ, तर मैले गहन रूपमा चिन्तन गरिनँ वा आफ्ना अपराधहरू चिनिनँ, न त यसका कारण प्रायः परमेश्वर वा मेरा ब्रदर-सिस्टरहरूप्रति ऋणी नै महसुस गरेँ। मैले मण्डलीको काममा पुगेको क्षति, र मेरा ब्रदर-सिस्टरहरूमा परेको असर मात्र देखेँ। मैले आफूले परमेश्वरको प्रतिरोध गरेको र यसरी नै चलिरहेमा उहाँको दण्ड सामना गर्नुपर्ने महसुस गरेँ, र म भयभीत भएँ। त्यसैले फेरि आफ्ना कर्तव्यहरू सम्हाल्दा, मैले कडा परिश्रम गरेँ र आफूलाई समर्पित गरेँ, र मण्डलीले मेरा लागि बन्दोबस्त गरेको जुनसुकै कर्तव्य स्वीकार गरेँ र त्यसमा समर्पित भएँ। बिरामी भएर मुस्किलले उभिन सक्ने अवस्थामा पनि, म आफ्ना कर्तव्यहरूमा निरन्तर लागिरहेँ। मेरा सबै त्याग एक दिन तिनलाई परमेश्वरको क्षमा र इनामहरूसँग साट्न सकूँला भन्ने व्यर्थको आशा राखी, मेरा पापहरूको प्रायश्चित गर्नका लागि थिए। मैले आफ्ना त्याग, समर्पण, र कडा परिश्रम निष्कपट नभएको, र ती सृजित प्राणीको कर्तव्य निर्वाह त झन् हुँदै नभएको महसुस गरेँ। पावलजस्तै, मेरा यी कार्यहरू पापहरूको प्रायश्चित गर्न र मेरा विगतका अपराधहरूको क्षतिपूर्ति गर्नका लागि थिए, र ती अन्ततः अनुकूल परिणाम र गन्तव्य खोज्नका लागि थिए। मैले परमेश्वरको अनुग्रह र आशिष्हरू, अनि राम्रो परिणाम र गन्तव्य साट्ने व्यर्थको आशामा बाहिरी त्याग, समर्पण, र कडा परिश्रम प्रयोग गरेँ, जसले गर्दा परमेश्वरसँगको मेरो सम्बन्ध सरासर स्वार्थको सम्बन्ध बन्यो। मैले आफ्ना विगतका अवरोध र बाधाहरूले मलाई झन्डै निष्कासित हुने अवस्थामा पुर्याएको कुराबारे चिन्तन गरेँ, किनकि परमेश्वरमा विश्वास गरेदेखि नै, मैले ख्याति, प्राप्ति र हैसियत पछ्याएकी थिएँ। मैले मेरी सहकर्मी सिस्टर श्याओयु मभन्दा सिपालु रहेको देखेँ, जसले मलाई ओझेलमा परेको र मेरो आभामण्डल खोसिएको जस्तो महसुस गरायो, र यसले ममा उनीप्रति ईर्ष्या, इन्कार र फैसला गर्ने भावनाहरू उब्जायो। मलाई श्याओयु भर्खरै अगुवा नियुक्त भएको र कामसँग पटक्कै परिचित नभएको कुरा थाहा थियो, त्यसैले जब माथिल्ला अगुवा वर्गले हामीलाई काममा रहेका समस्याहरू जाँच गर्न भेलाहरूमा उपस्थित हुनु भनी सूचित गरे, तब श्याओयुले त्यस दौरान केही भन्न सकिनन् भने आफैलाई लज्जित पार्नेछिन्, अगुवाहरूले उनी पनि त्यति कुशल रहिनछिन् भनी देख्ननेछन्, र यसले उनालाई चर्चाको केन्द्रमा आउनबाट रोक्नेछ भन्ने सोच्दै मैले जानाजान उनको उपस्थित सुनिश्चित गरेँ। श्याओयुले मेरा काममा रहेका समस्याहरू औँल्याउँदा, मलाई मेरो इज्जत गुमेजस्तो लाग्यो, तर आत्मचिन्तन गर्नुको साटो, मैले उनको भ्रष्टतालाई समातेर सर्वत्र फैलाएँ, र उनलाई एक्ल्याउन अरूलाई उकासेँ। पछि, मैले सुरक्षासम्बन्धी जोखिमहरूको सामना गर्नुपर्यो र घरमै बसेर मात्र आफ्ना कर्तव्यहरू निर्वाह गर्न सकेँ। श्याओयु हरेक दिन कामका लागि बाहिर गइरहँदा, र ब्रदर-सिस्टरहरू उनीसँग सङ्गति गर्न इच्छुक भइरहँदा, मलाई उनले मेरो चर्चा खोसेकी छिन् भनी अझ तीव्र रूपमा महसुस भयो, त्यसैले मेरो ईर्ष्या, साथै उनीप्रतिको मेरो पूर्वाग्रह बढ्यो। जब मण्डलीको वार्षिक निर्वाचन आयो, मैले श्याओयुका समस्याहरूलाई समातेर ठूलो बनाएँ, र उनी निर्वाचनमा भाग लिन अनुपयुक्त रहेको दाबी गरेँ। यसरी, मैले कसैले पनि मेरो हैसियतलाई खतरामा पार्नेछैन भनी सुनिश्चित गर्ने आशा गरेकी थिएँ। मैले निर्वाचन प्रक्रियामा अवरोध पुर्याएँ र श्याओयुलाई ठूलो हानि गरेँ। यी कार्यहरूले मेरो दुर्भावपूर्ण स्वभाव प्रकट गरे, र म ख्रीष्टविरोधीको मार्गमा छु भन्ने कुरा प्रमाणित गरे। मैले परमेश्वरको विरोध गर्ने मेरो शैतानी प्रकृतिलाई चिन्न यी कुराहरूमाथि चिन्तन गरिनँ, न त मैले पश्चात्ताप गरेँ वा परिवर्तन भएँ, बरु यसको साटो, मैले राम्रो गन्तव्यसँग साटफेर गर्ने आशामा बाहिरी कष्ट भोगाइ र समर्पणमार्फत आफ्ना अपराधहरूको प्रायश्चित गर्ने प्रयास गरेँ। म गुपचुप परमेश्वरसँग मोलतोल गर्ने प्रयास गर्दै थिएँ, र सारमा, यो परमेश्वरलाई छल गर्ने प्रयास थियो। यस बाटोमा लागिरहँदा मैले आफ्ना पापहरूको प्रायश्चित गर्न पाउनेथिइनँ, बरु केवल दुष्ट कार्यहरू थुपार्नेथिएँ, र अन्ततः परमेश्वरको प्रतिरोध गरेका कारण म उहाँद्वारा दण्डित हुनेथिएँ। मैले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गर्दा हिँडेको मार्गलाई फर्केर हेर्दा, मलाई अचानक मेरो वर्षौँदेखिको पछ्याइ एकदमै बेतुके रहेछ भन्ने महसुस भयो, र त्यस क्षण, मलाई आफैप्रति घिन र घृणा जाग्यो। मलाई आफ्नो टाउकोमा बेसरी हिर्काउन मन लाग्यो। मैले किन बेलैमा सत्यता नपछ्याएकी होला!
पछि, मैले परमेश्वरका थप वचनहरू पढेँ, र मैले आफ्नो प्रकृति सारबारे केही बुझाइ प्राप्त गरेँ। परमेश्वर भन्नुहुन्छ: “आजभोलि, धेरैजसो मानिसहरू यस्तै प्रकारको अवस्थामा छन्: आशिष्हरू प्राप्त गर्नको लागि, मैले आफूलाई परमेश्वरमा समर्पित गर्नुपर्दछ र उहाँको निम्ति मूल्य चुकाउनुपर्छ। आशिष्हरू प्राप्त गर्नका लागि, मैले परमेश्वरका लागि सबै कुरा त्याग्नैपर्छ; मैले उहाँले मलाई सुम्पनुभएको काम पूरा गर्नुपर्छ र मैले मेरो कर्तव्य राम्रोसँग निर्वाह गर्नुपर्छ। यस्तो स्थिति आशिष्हरू पाउने अभिप्रायको प्रभुत्वमा हुन्छ, जुन परमेश्वरबाट इनाम र मुकुट प्राप्त गर्ने उद्देश्यले आफूलाई पूर्णतया उहाँमा अर्पण गर्नुको एउटा उदाहरण हो। त्यस्ता मानिसहरूको हृदयमा सत्यता हुँदैन, र यो निश्चित छ कि उनीहरूको बुझाइमा केही वचन र धर्मसिद्धान्त मात्र हुन्छ, जसलाई उनीहरूले जहाँ गए पनि देखाउँदै हिँड्छन्। उनीहरूको मार्ग पावलको मार्ग हो। त्यस्ता मानिसहरूको विश्वास भनेको निरन्तर परिश्रम गर्ने कार्य हो, र तिनीहरूले आफ्नो हृदयको गहिराइमा के सोचेका हुन्छन् भने, उनीहरूले जति धेरै परिश्रम गर्छन् त्यसले परमेश्वरप्रतिको उनीहरूको बफादारितालाई त्यतिकै प्रमाणित गर्छ; उनीहरूले जति धेरै परिश्रम गर्छन्, उहाँ त्यति नै धेरै निश्चित रूपमा सन्तुष्ट हुनुहुनेछ; र उनीहरूले जति धेरै परिश्रम गर्छन्, उनीहरू त्यति नै बढी परमेश्वरबाट मुकुट प्राप्त गर्ने योग्यका हुनेछन्, र उनीहरूले पाउने आशिष्हरू त्यति नै ठूला हुनेछन्। उनीहरूलाई के लाग्छ भने, यदि उनीहरूले कष्ट भोग्न, प्रचार गर्न र ख्रीष्टको लागि ज्यान दिन सके भने, यदि उनीहरूले आफ्नै जीवन बलिदान दिन सके भने, र यदि परमेश्वरले आफूलाई सुम्पनुभएका सबै जिम्मेवारीहरू उनीहरूले पूरा गर्न सके भने, उनीहरू परमेश्वरद्वारा सबैभन्दा बढी आशिषित हुने मानिसहरूमध्येमा पर्नेछन्, र उनीहरूले मुकुटहरू पाउने निश्चित हुनेछ। पावलले ठ्याक्कै यही कल्पना गरेका थिए र यही कुरा पछ्याएका थिए। तिनले हिँडेको मार्ग ठीक यही थियो, र यस्तै विचारहरूको मार्गदर्शनमा तिनले परमेश्वरको सेवा गर्ने काम गरे। के त्यस्ता विचार र उद्देश्यहरू शैतानी स्वभावबाट उत्पन्न हुँदैनन् र? यो त पृथ्वीमा हुँदा आफू ज्ञानको पछि लाग्नुपर्छ, र त्यो प्राप्त गरेपछि भीडबाट माथि उठ्न, अधिकृतहरू बन्न र प्रतिष्ठा पाउन सकिन्छ भन्ने कुरामा विश्वास गर्ने सांसारिक मानिसहरू जस्तै हो। उनीहरूलाई के लाग्छ भने, प्रतिष्ठा प्राप्त गरेपछि उनीहरूले आफ्नो महत्त्वाकाङ्क्षा पूरा गर्न र आफ्ना व्यवसायहरू र पारिवारिक अभ्यासलाई समृद्धिको एक निश्चित तहसम्म ल्याउन सक्छन्। के सबै गैरविश्वासीहरू यही मार्गमा हिँड्दैनन् र? यो शैतानी स्वभावको प्रभुत्वमा परेका मानिसहरू आफ्नो विश्वासमा पावलजस्तो मात्र हुन सक्छन्। उनीहरू सोच्छन्: ‘मैले आफैलाई परमेश्वरप्रति समर्पित गर्न सबै कुरा त्याग्नैपर्छ। म परमेश्वरसामु अर्पित हुनैपर्छ र आखिरमा, मैले अवश्य नै ठूला इनाम र ठूला मुकुट पाउनेछु।’ सांसारिक थोकहरूको पछि लाग्ने सांसारिक मानिसहरूको मनोवृत्ति पनि यस्तै हुन्छ। उनीहरू कुनै पनि हालतमा फरक हुँदैनन्, र उनीहरू उस्तै प्रकृतिको अधीनमा हुन्छन्। जब संसारमा मानिसहरूसित यस प्रकारको शैतानी स्वभाव हुन्छ, तब उनीहरूले ज्ञान, शिक्षा प्राप्त गर्न खोज्छन्, प्रतिष्ठा, र भीडभन्दा अलग हुन खोज्छन्। उनीहरूले परमेश्वरमा विश्वास गरे भने, ठूला मुकुट र ठूला आशिष्हरू पाउने कोसिस गर्नेछन्। परमेश्वरमा विश्वास गरेपछि, यदि मानिसहरूले सत्यताको खोजी गर्दैनन् भने, निश्चय नै उनीहरूले यही मार्ग लिनेछन्। यो अपरिवर्तनीय तथ्य हो, र यो प्राकृतिक नियम हो। सत्यता नपछ्याउने मानिसहरूले हिँड्ने मार्ग पत्रुसको भन्दा बिलकुलै विपरीत मार्ग हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने)। मैले परमेश्वरले खुलासा गरेअनुसारको मेरो स्थिति देखेँ। मैले आशिष्का खातिर आफ्नो कर्तव्य निर्वाह गर्न सबै कुरा त्यागेकी थिएँ, आशिष् पाउन कष्ट भोगेकी र मूल्य चुकाएकी थिएँ, बिरामी हुँदा पनि कर्तव्यमा लागेकी थिएँ, र आशिष्का खातिर आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न आफूले सक्दो गरेकी थिएँ। मैले आशिष्का खातिर विशेष गरी आज्ञाकारी र अनुपालनकारी व्यवहार गरेँ। मैले गरेका सबै काम आशिष् पाउने चाहनाद्वारा निर्देशित थिए। जब मैले आफ्नो कर्तव्यमा मण्डलीको काममा बाधा पुर्याएँ, तब मलाई आफूले दागहरू छाडेकी छु र परमेश्वरसामु अपराधहरू गरेकी छु भन्ने विश्वास भयो, र मलाई आफूले गल्ती नसच्याएमा परमेश्वरको दण्डको सामना गर्नुपर्नेछ भन्ने लाग्यो। त्यसैले, मैले आफ्नो कर्तव्यलाई बेवास्ता गर्ने आँट गरिनँ। कर्तव्य निर्वाह गरेको बेला मलाई रिँगटा लाग्दा, म औषधि खाँदै कर्तव्य निर्वाह गर्थेँ, र यो परमेश्वरप्रतिको बफादारी हो भन्ने सोच्थेँ। जब मैले कर्तव्यमा केही नतिजा, र परमेश्वरको मार्गदर्शन देखेँ, मलाई आशिष्हरू पहुँचमै छन् भन्ने लाग्यो, त्यसैले कर्तव्यप्रतिको मेरो उत्साह अझ तीव्र भयो, र म प्रायः बिरामी हुँदा पनि गुनासो नगरी काम गर्थेँ। यो कष्ट मेरो पुँजी बन्यो, र मलाई आफूले यति दिइसकेपछि, परमेश्वरले मलाई अनुमोदन गर्नुपर्छ र अनुग्रह दिनुपर्छ भन्ने लाग्थ्यो। तर पछि, जब मेरो रोग बिग्रियो, म दिक्दार भएँ र गुनासो गर्न थालेँ, र सोचेँ, “आफ्नो कर्तव्य निर्वाह गर्न चाहँदा म किन यति बिरामी हुन्छु? यदि म आफ्नो कर्तव्य निर्वाह गर्न सक्दिनँ भने, कसरी मुक्ति पाउन सक्छु?” मलाई मेरा विगतका अपराधहरू परमेश्वर र मेरो बीचको गहिरो खाडलजस्तो महसुस हुन्थ्यो, जसले मलाई मेरो मुक्ति पाउने मौका निकै कम रहेको महसुस गराउँथ्यो, र मलाई गल्तीहरू सच्याउन अझ बढी काम गरेँ भने मात्रै म त्यो खाडल पुर्न सक्छु, र फेरि एक पटक परमेश्वरको कृपा प्राप्त गर्न र मुक्ति पाउन सक्छु भन्ने लाग्थ्यो। त्यस क्षण, मैले आफूले सत्यता पटक्कै नबुझेको, र आफूमा परमेश्वरबारे कुनै साँचो बुझाइ नै नभएको महसुस गरेँ। मैले कर्तव्य निर्वाह गर्दा जति धेरै दुःख भोगिन्छ, उति नै धेरै परमेश्वरलाई सन्तुष्ट पार्न सकिन्छ भन्ने गलत विश्वास गरेकी थिएँ, त्यसैले मेरो शरीर सहन सक्ने क्षमताभन्दा बाहिर हुँदा पनि, मैले आराम गरिनँ, र बिरामी हुँदा काम गरेँ भने, परमेश्वरले मेरो कष्ट देख्नुहुनेछ र मलाई अनुमोदन गरी आशिष् दिनुहुनेछ भन्ने सोचेँ। सत्य कुरा के हो भने, मानिसहरूप्रति परमेश्वरका मागहरू उच्च छैनन्। उहाँ मानिसहरूलाई आफ्नो सामर्थ्यअनुसार कर्तव्य निर्वाह गर्न मात्र भन्नुहुन्छ। तैपनि, यस्तो लाग्थ्यो, मेरा विचारहरू धमिलिएका छन्, र मैले आफ्नो शरीरको सहन सक्ने क्षमताभन्दा बाहिर गएर लखतरान नहोउन्जेल आफ्ना धारणा र कल्पनाअनुसार निरन्तर अभ्यास गरिरहेँ, र मैले मेरो सुरक्षा नगर्नुभएकोमा परमेश्वरविरुद्ध अझै पनि गुनासो गरेँ, र सारा दोष परमेश्वरमाथि थोपरेँ। म साँच्चै असमझदार भइरहेकी थिएँ र निराधार आरोपहरू लगाइरहेकी थिएँ! मैले आफूले सामना गरेको रोग परमेश्वरले मलाई हटाउने तरिका नभएको, बरु मेरा गलत अभिप्राय र गलत मार्गको प्रतिबिम्ब भएको कुरा पनि महसुस गरेँ। परमेश्वर मेरो भ्रष्टता र कमीकमजोरी प्रकट गर्न यो परिवेश प्रयोग गरिरहनुभएको थियो, र मलाई आफूलाई चिन्न र आत्मचिन्तन गर्न दिइरहनुभएको थियो। परमेश्वरले मलाई मुक्ति दिँदै हुनुहुन्थ्यो। तर मैले परमेश्वरको अभिप्राय खोजिनँ र यसको साटो उहाँलाई गलत बुझेँ र उहाँविरुद्ध गुनासो गरेँ। ममा साँच्चै विवेक र समझको कमी थियो। मैले हृदयमा गहिरो पछुतो महसुस गरेँ र प्रार्थनामा परमेश्वरलाई पुकारेँ, “हे परमेश्वर, यो गएको वर्षभरि, तपाईँले मलाई स्वच्छ पार्न र मुक्ति दिन परिस्थितिहरूको बन्दोबस्त गरिरहनुभएको छ, तैपनि मैले तपाईँको अभिप्राय पटक्कै खोजेकी छैनँ। बरु, मैले सधैँ आशिष्हरू पछ्याएँ र तपाईँलाई गलतसमेत बुझेँ। म साह्रै स्वार्थी र नीच रहँदै आएकी छु, र म तपाईँप्रति अत्यन्तै ऋणी छु। म पश्चात्ताप गर्न र परिवर्तन हुन इच्छुक छु।”
पछि, मैले परमेश्वरका वचनको एउटा भजन सुनेँ, जुन मेरा लागि निकै सहयोगी थियो।
सफलता वा असफलता मानिसको पछ्याइमा भर पर्छ
१ सृजित प्राणीका रूपमा, मानिसले सृष्टिकर्तालाई जान्न र सृजित प्राणीको कर्तव्य पूरा गर्न खोज्नुपर्छ, र सबैभन्दा महत्त्वपूर्ण रूपमा, अरू कुनै छनौटहरू बिलकुलै नगरी परमेश्वरलाई प्रेम गर्न खोज्नुपर्छ, किनभने परमेश्वर मानिसको प्रेमको योग्य हुनुहुन्छ। परमेश्वरप्रतिको प्रेमको पछि लाग्नेहरूले कुनै पनि व्यक्तिगत लाभ वा व्यक्तिगत आशाहरू पछ्याउनु हुँदैन; पछ्याउने सबैभन्दा सही तरिका यही हो। यदि तैँले सत्यता नै पछ्याउँछस् भने, यदि तैँले सत्यता नै अभ्यास गर्छस् भने, र यदि तैँले आफ्नो स्वभावमा परिवर्तन हासिल गर्छस् भने, तँ हिँड्ने मार्ग सही छ।
२ यदि तँ देहका आशिष्हरू पछ्याउँछस्, र तेरा आफ्नै धारणाहरूको सत्यता अभ्यास गर्छस् भने, र यदि तेरो स्वभावमा बिलकुलै परिवर्तन आएको छैन, र देहमा हुनुभएका परमेश्वरप्रति तँ पटक्कै समर्पित छैनस्, र तँ अझै अस्पष्टतामै जिउँछस् भने, तैँले जे पछ्याउँछस् त्यसले तँलाई अवश्य नै नरकमा लैजानेछ, किनभने तैँले हिँड्ने मार्ग असफलताको मार्ग हो। तँलाई सिद्ध पारिनेछ कि हटाइनेछ भन्ने कुरा तेरो आफ्नै पछ्याइमा निर्भर हुन्छ, भन्नुको अर्थ के पनि हो भने, सफलता वा असफलता व्यक्ति हिँड्ने मार्गमै निर्भर हुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सफलता वा असफलता व्यक्तिले हिँड्ने मार्गमा निर्भर हुन्छ
मैले त्यो भजन पटक-पटक सुनेँ, र मेरो हृदय झनै उज्यालो भयो। मैले के महसुस गरेँ भने, परमेश्वर मानिसले कति काम गर्छ वा उसको बाहिरी कष्ट कति छ भन्ने कुरालाई ख्याल गर्नुहुन्न, बरु मानिसले परमेश्वरलाई प्रेम गर्न र सन्तुष्ट पार्न खोज्छ कि खोज्दैन, र उसले सत्यता सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य निर्वाह गर्छ कि गर्दैन, र उसको भ्रष्ट स्वभाव परिवर्तन भएको छ कि छैन भन्ने कुरा हेर्नुहुन्छ। ठीक पत्रुसजस्तै, उनले सत्यता पछ्याए र अन्ततः परमेश्वरलाई अधिकतम प्रेम गर्ने र मृत्युसम्मै उहाँको आज्ञापालन गर्ने बिन्दुमा पुगे, र यसरी सृजित प्राणीको उचित रूप जिए। परमेश्वर यसैलाई अनुमोदन गर्नुहुन्छ। तर यदि कसैले निरन्तर आशिष् पछ्याउँछ, र आफ्नो कर्तव्यमा सत्यता नखोजीकनै वा सिद्धान्तअनुसार काम नगरीकनै केवल परमेश्वरका लागि काम गर्न र कष्ट भोग्नमा केन्द्रित हुन्छ, र अझै पनि परमेश्वरसँग माग राख्न र उहाँसँग मोलतोल गर्न सक्छ, र उसको भ्रष्ट स्वभावमा कुनै परिवर्तन हुँदैन भने, यो असफलताको बाटो हो। मैले के पनि बुझेँ भने, आज परमेश्वरको काम मानवजातिको विवेक र समझ पुनःस्थापना गर्नु हो, ताकि मानिसहरूले परमेश्वरका वचन सुन्न, उहाँको आज्ञापालन गर्न, र उहाँको आराधना गर्न सकून्। यो नै सृजित प्राणीको उचित रूप हो। यो कुरा बुझेपछि, मैले राहत महसुस गरेँ, र आफ्नो मार्गका आगामी कदमहरू कसरी चाल्नुपर्छ भन्ने बुझेँ। पछि, मेरो कर्तव्यको दौरान, मैले कुनै पनि कुराको सामना गर्दा सचेत भई आत्मचिन्तन गरेँ, ममा कस्ता गलत दृष्टिकोणहरू छन् र मैले कस्ता भ्रष्ट स्वभावहरू प्रकट गरेकी छु भन्ने कुराको ख्याल गरेँ, र मेरा सहकर्मी सिस्टरहरूसँग आफ्नो स्थितिबारे खुलेर कुरा गरेँ, र अभ्यास गर्न र प्रवेश गर्न परमेश्वरका वचन खोजेँ। यस अभ्यासमार्फत, मैले आफ्ना भ्रष्ट स्वभावहरूबारे केही बुझाइ प्राप्त गरेँ, र मेरो कामका नतिजामा सुधार आए।
पछि, म सधैँ कसरी आफ्ना अपराधहरूद्वारा बाँधिएकी थिएँ भनी मैले आफैलाई सोधेँ, र मैले यस मामिलालाई कसरी सम्हाल्नुपर्छ भनी सोचेँ। एक दिन, मैले परमेश्वरका वचनको एउटा खण्ड फेला पारेँ र अभ्यासको मार्ग भेट्टाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “ठूला वा साना, केही अपराध वा अन्य यस्तै कुराहरू गर्ने मानिसहरू अवश्यै एकदमै धेरै हुन्छन्, तर नैतिक सीमाबाहिर जाने गम्भीर अपराधहरू गर्ने मानिसहरू अत्यन्तै थोरै हुन सक्छन्। यहाँ हामी अरू विभिन्न अन्य प्रकारका अपराधहरू गरेका मानिसहरूबारे कुरा गर्नेछैनौँ, हामी बस गम्भीर अपराधहरू गरेका, र नैतिकता र सदाचारको सीमाबाहिर जाने अपराधहरू गरेका मानिसहरूबारे कुरा गर्नेछौँ। जहाँसम्म गम्भीर अपराधहरू गरेका मानिसहरूको कुरा छ—र म यहाँ नैतिक सीमाभन्दा बाहिर जाने अपराधहरूबारे कुरा गरिरहेको छु—यसमा परमेश्वरको स्वभाव चिढ्याउने र उहाँको प्रशासनिक आदेशहरू उल्लङ्घन गर्ने कार्य समावेश हुँदैन। कुरो बुझ्यौ? परमेश्वरको स्वभाव चिढ्याउने, र उहाँको सार, वा उहाँको पहिचान र हैसियतमा ठेस पुर्याउने अपराधहरूबारे मैले कुरा गरिरहेको छैनँ, र मैले परमेश्वरविरुद्ध ईश्वरनिन्दा गर्ने किसिमका अपराधहरूबारे पनि कुरा गरिरहेको छैनँ। यहाँ, म नैतिक सीमाबाहिर जाने अपराधहरूबारे कुरा गरिरहेको छु। यस्ता अपराधहरू गर्ने मानिसहरूले निराशाको संवेग कसरी समाधान गर्न सक्छन् भन्नेबारेमा पनि केही बताउनु छ। त्यस्ता मानिसहरूले लिन सक्ने दुई वटा मार्ग हुन्छन्, र यो सरल कुरा हो। पहिलो, यदि तँलाई आफूले गरेका कुराहरू हृदयदेखि त्याग्न सक्छु भन्ने लाग्छ भने, वा तँसँग अर्को व्यक्तिसँग माफी माग्ने मौका छ र ऊसँग मिलाप गर्न सक्छस् भने, तैँले त्यो व्यक्तिसँग मिलाप गरेर माफी माग्न सक्छस्, अनि तेरो आत्मामा शान्ति र सहजताको अनुभूति फर्केर आउनेछ; यदि तँसँग त्यस्तो मौका छैन भने, यदि त्यो सम्भव छैन भने, यदि तँ आफ्नो समस्याबारे अन्तस्करणदेखि नै जान्न सक्षम भइस् भने, यदि तैँले गरेको कुरा कति गम्भीर छ भन्ने तँलाई साँच्चै महसुस भयो र तँलाई साँचो अफसोस महसुस भयो भने, तँ त्यो अपराध स्विकार्न र पश्चात्ताप गर्न परमेश्वरअघि आउनुपर्छ। जब-जब तैँले आफूले गरेको कुराबारे सोच्छस् र जब-जब तैँले दोषी महसुस गर्छस्, तब-तब र ठीक त्यही बेला तँ पापस्वीकार र पश्चात्ताप गर्न परमेश्वरअघि आउनुपर्छ, र परमेश्वरको माफी र क्षमादान प्राप्त गर्नको लागि तैँले आफ्नो इमानदारिता र साँचो भावनाहरू उहाँकहाँ ल्याउनुपर्छ। अनि, परमेश्वरमार्फत तैँले कसरी माफी र क्षमादान पाउन सक्छस्? यो कुरा तेरो हृदयमा निर्भर हुन्छ। यदि तैँले इमानदारीपूर्वक पश्चात्ताप गर्छस्, साँच्चिकै आफ्नो गल्ती र समस्या पहिचान गर्छस्, आफूले गरेको कुरा—चाहे त्यो अपराध होस् वा पाप—पहिचान गर्छस्, साँचो स्वीकारको मनोवृत्ति अपनाउँछस्, आफूले गरेको कुराप्रति साँच्चै घिन मान्छस्, र साँच्चिकै आफूलाई परिवर्तन गर्छस्, र तैँले फेरि त्यस्तो गलत काम गर्दैनस् भने, अन्ततः त्यस्तो दिन आउनेछ, जब तैँले परमेश्वरको माफी र क्षमादान प्राप्त गर्नेछस्, अर्थात् त्यसउप्रान्त परमेश्वरले तैँले पहिले गरेका अज्ञानी, मूर्ख, र फोहोरी कुराहरूको आधारमा तेरो परिणाम निर्धारण गर्नुहुनेछैन। तँ यो स्तरमा पुगेपछि, परमेश्वरले त्यो मामिला पूर्ण रूपमा बिर्सिदिनुहुनेछ; अनि तँ अरू सामान्य मानिसहरूजस्तै हुनेछस्, र तिनीहरूसँग तेरो कुनै भिन्नता हुनेछैन। तर यसको आधार के हो भने, तँ दाऊदजस्तै इमानदार हुनुपर्छ र तँमा पश्चात्तापको साँचो मनोवृत्ति हुनुपर्छ। दाऊदले आफूले गरेका अपराधहरूप्रति कति धेरै आँसु झार्यो? अनगिन्ती आँसु। ऊ कति पटक रोयो? अनगिन्ती पटक। उसले झारेको आँसुलाई यी शब्दहरूद्वारा व्याख्या गर्न सकिन्छ: ‘हरेक रात म आँसुको सागरमा सुत्छु।’ तेरो अपराध कति गम्भीर छ, मलाई थाहा छैन। यदि यो साँच्चिकै गम्भीर छ भने, सायद तँ तेरो ओछ्यान आँसुको आहाल बनुञ्जेल रुनुपर्छ होला—तैँले परमेश्वरको पापक्षमा प्राप्त गर्न सक्नुभन्दा पहिले तैँले त्यो स्तरसम्मको पापस्वीकार र पश्चात्ताप गर्नुपर्छ होला। यदि तैँले यसो गरिनस् भने, सायद परमेश्वरको नजरमा तेरो अपराध पापको रूपमै रहनेछ, र तँ त्यो पापबाट मुक्त हुनेछैनस्। त्यसपछि तँ समस्यामा हुनेछस् र यसबारेमा थप कुरा गर्नुको कुनै औचित्य हुनेछैन। त्यसकारण, परमेश्वरको माफी र क्षमादान प्राप्त गर्ने कार्यको पहिलो चरण भनेकै तँ इमानदार हुनुपर्छ र तैँले साँचो रूपमा पापस्वीकार र पश्चात्ताप गर्न व्यावहारिक कार्य गर्नुपर्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। परमेश्वरका वचनबाट मैले के बुझेँ भने, मेरा अपराधहरू सम्हाल्दा, म सबैभन्दा पहिले परमेश्वरको अगाडि आउनुपर्छ, उहाँसामु स्वीकार गर्नुपर्छ, र आत्मचिन्तन गर्नुपर्छ। त्यसपछि आफैलाई साँचो रूपमा बुझ्न र घृणा गर्नका लागि मेरा अपराधहरूसम्बन्धी सत्यता खोज्नुपर्छ, र यसरी साँच्चै पश्चात्ताप गर्न सक्षम हुनुपर्छ। ठ्याक्कै दाऊदजस्तै, जो अपराध गरेपछि आफ्नो कार्यप्रति साँचो रूपमा पछुतो मान्न, परमेश्वरसामु पश्चात्ताप गर्न र फेरि कहिल्यै त्यसो नगर्न सक्थे। पश्चात्तापको यो निष्कपट हृदय कति बहुमूल्य थियो! म अब उप्रान्त आफ्ना अपराधहरूबाट उम्कन मिल्दैनथ्यो। मैले परमेश्वरसामु आफ्ना पापहरू स्वीकार गर्नुपर्थ्यो र पश्चात्ताप गर्नुपर्थ्यो, र भविष्यमा म त्यस्ता कार्यहरू गर्नेछैनँ भनी सुनिश्चित गर्नुपर्थ्यो। पछि, जब मैले आफ्नो कर्तव्यमा आफूले ख्याति र हैसियत पछ्याइरहेको पाएँ, मैले परमेश्वरलाई प्रार्थना गरेँ, र मलाई सराप्न र दण्ड दिन बिन्ती गरेँ, ताकि मैले अब उप्रान्त आफ्ना भ्रष्ट स्वभावहरूअनुसार कार्य नगरूँ। यस अभ्यासमार्फत, आफ्नो देहविरुद्ध विद्रोह गर्ने मेरो सङ्कल्प अझ बलियो भयो। विगतमा, अरूले मलाई कसरी हेर्छन् भन्ने कुरामा म धेरै चासो राख्थेँ, र म सधैँ अरूको हृदयमा आफ्नो छवि जोगाउन चाहन्थेँ। तर अहिले म सचेत भई खुल्छु र आफ्नो भ्रष्टता खुलासा गर्छु, र यस अभ्यासमार्फत, म हृदयमा चैन र शान्त महसुस गर्छु। आफ्ना कर्तव्यमा समस्याहरू सामना गर्दा, म अहिले सचेत भई परमेश्वरका वचन र सिद्धान्तहरू खोज्न सक्षम भएकी छु, म आफ्ना विगतका अपराधहरूद्वारा बाँधिन छाडेकी छु, र हृदयमा अधिक स्वतन्त्र महसुस गर्छु।
यो रोगले मेरा भ्रामक दृष्टिकोणहरू प्रकट गर्यो, र यसले मलाई आफ्नो आस्थामा मैले हिँडेको गलत मार्ग देखायो। यदि यी परिस्थितिहरू नभएका भए, मैले आत्म-सचेतना प्राप्त गर्नेथिइनँ र यही मार्गमा लागिरहनेथिएँ, र अन्ततः केही हासिल नगरी हटाइने थिएँ। अब उप्रान्त, म परमेश्वरका वचनअनुसार अभ्यास गर्न, र परमेश्वरको हृदयलाई सन्तुष्ट पार्न र उहाँको प्रेम चुक्ता गर्न एउटा सृजित प्राणीको कर्तव्य राम्ररी निर्वाह गर्न इच्छुक छु।