३१. एउटी प्रधानाध्यापिकाको छनौट

झाङ चिङ, चीन

म एउटा साधारण परिवारमा जन्मिएकी थिएँ, र मेरा आमाबुबा दुवै किसान हुनुहुन्थ्यो। मेरो परिवार गरिब भएकाले, अरूले हामीलाई भेदभाव गर्थे र हेप्थे, त्यसैले ममा सानैदेखि हीनताबोध थियो। मेरा आमाबुबा म भविष्यमा सफल हुन सकूँ, र मैले उहाँहरूले जस्तै जमिनको सानो टुक्रामा खेती गरेर जीवन बिताउन नपरोस् भनेर प्रायः कडा मेहनत गरी पढ्न सिकाउनुहुन्थ्यो। मैले जीवनमा केही गरेर देखाउने, विशिष्ट बन्ने र उत्कृष्ट जीवन जिउने सङ्कल्प गरेँ।

जुन २०१२ मा, स्नातक गरेपछि म शिक्षिका बनेँ, तर मेरो कडा प्रतिस्पर्धात्मक मनोभावले गर्दा म आफ्नो जीवनको अवस्थाप्रति असन्तुष्ट थिएँ। एउटा मिटिङको दौरान, मैले प्रधानाध्यापक लिउ मञ्चमा उभिएर वाक्पटुतापूर्वक बोलिरहनुभएको देखेँ। मैले पछाडि फर्केर हेरेँ, र धेरै शिक्षकले प्रधानाध्यापक लिउलाई ईर्ष्या र प्रशंसाको नजरले हेरिरहेको देखेँ। मैले सोचेँ, “मञ्चमा बोल्ने व्यक्ति म भइदिएको भए झन् कति राम्रो हुन्थ्यो! तर अहिले, म केवल एक साधारण शिक्षिका, धेरैमध्ये एक हुँ, त्यसैले मैले कडा मेहनत गर्नुपर्छ र शिक्षणमा बढी जोड मेहनत लगाउनुपर्छ। त्यसो गरेमा, ढिलो-चाँडो, म पनि आफ्नो प्रधानाध्यापिकाको स्थान लिनेछु।” त्यसपछिका दिनहरूमा, मैले अथक रूपमा काम गरेँ, यहाँसम्म कि पाठ योजनाहरू बनाउन र शिक्षण सामग्रीहरूको अध्ययन गर्न आफ्नो विश्रामको समय पनि प्रयोग गरेँ, र यदि मेरो कक्षाका कुनै विद्यार्थीलाई पाठ बुझ्न गाह्रो हुन्थ्यो भने, म आफ्नो खाजा खाने समय त्याग्थेँ र उनीहरूले नबुझुन्जेल राति अबेरसम्म बसेर ट्युसन पढाउँथेँ। म दिनरात नभनी चौबिसौ घण्टा काम गरिरहेकी हुन्थेँ, र म हरेक दिन यति थकित हुन्थेँ कि मेरो ढाड र कम्मर दुख्थ्यो। घर पुग्दा म लखतरान हुन्थेँ, र सिधै ओछ्यानमा ढल्थेँ। म साँच्चै काम छोडेर आराम गर्न चाहन्थेँ, तर जब म प्रधानाध्यापक लिउ मञ्चमा वाक्पटुतापूर्वक बोलिरहनुभएको र शिक्षकहरूले ईर्ष्या र प्रशंसाको नजरले हेरिरहेको सम्झन्थेँ, म आफैँलाई हौस्याउँदै सोच्थेँ, “म पछि अझ राम्रो जीवन जिउन र अरूको प्रशंसा पाउनका लागि अहिले कष्ट भोग्दै छु। यो सारा कष्ट सार्थक हुनेछ!” त्यसैले म अध्ययन गर्न “शैक्षिक मनोविज्ञान” को पुस्तक समात्थेँ। मेरा प्रयासहरूमार्फत, मेरा शिक्षण नतिजा उत्कृष्टमध्ये एक भए। केवल तीन वर्षको अन्तरालमा, म साधारण शिक्षिकाबाट शिक्षण अनुसन्धान समूहको प्रमुख, प्राविधिक निर्देशक, उप-प्रधानाध्यापिका हुँदै अन्ततः प्रधानाध्यापिका बनेँ। म असाध्यै खुसी थिएँ! म तीस वर्ष पनि पुगेकी थिइनँ, तैपनि म नेतृत्वको पदमा पुगिसकेकी थिएँ। केही समयसम्म, शिक्षक र अभिभावकहरू मलाई ठूलो सम्मान गर्थे, नातेदार, छिमेकी र सहपाठीहरू सबैले मलाई ईर्ष्या र प्रशंसाको नजरले हेर्थे, र मेरा आमाबुबाले मेरो कारणले शिर ठाडो पार्नुहुन्थ्यो। मलाई साँच्चै गर्व महसुस हुन्थ्यो, र मेरो अभिमान अत्यन्तै सन्तुष्ट भएको थियो। पदोन्नतिसँगै मेरो तलब पनि बढ्यो, त्यससँगै मेरो भौतिक सम्पत्तिमा सुधार आयो, र मैले बाल्यकालमा पहुँच बाहिर रहेका धेरै विलासी वस्तु किनेँ। मैले अन्ततः मेरो बाल्यकालको इच्छा पूरा गरेको थिएँ र सम्मानजनक जीवन जिउँदै थिएँ। मलाई मेरा सबै प्रयास र कडा परिश्रमले फल दिएको महसुस भयो।

यद्यपि, पछि गएर, जीवन मैले कल्पना गरेजस्तो अद्भुत भएन। प्रधानाध्यापिका बनेपछि, मैले प्रतिष्ठा र प्रशंसा पाएको जस्तो देखिए पनि, यो पदले मलाई निरन्तर दुःख र थकान पनि दियो। प्रधानाध्यापिकाका रूपमा, व्यापारिक भ्रमण र सामाजिक जमघटहरू सामान्य भए, र मभन्दा वरिष्ठ अधिकारीहरूको सम्मान पाउन र आफ्नो पद कायम राख्न, मैले बिस्तारै रक्सी पिउन र अरूको चापलुसी गर्न सिकेँ। एकपटक, शिक्षा ब्युरोका एकजना अगुवाले मलाई भने, “प्रधानाध्यापिका शाओलाई हेर्नुस् त, उहाँलाई आफ्ना फाइदाहरू प्रयोग गरेर झन् ठूला लाभहरू कसरी लिने भन्ने थाहा छ। जवानी एउटा सम्पत्ति हो, तर तपाईँलाई यसको भरपुर प्रयोग गर्न त आउँछ? महिलाहरूले अघि बढ्न र लामो समय टिक्न आफ्ना फाइदाहरू प्रयोग गर्नुपर्छ।” मलाई प्रधानाध्यापिका शाओ सरकारी अधिकारीहरूको रखेल बनेर शिक्षा ब्युरोमा शिक्षा समूहको प्रमुखको पदमा पुग्न सफल भएकी थिइन् भन्ने थाहा थियो। मलाई उनीहरूको तरिका देखेर घृणा लाग्थ्यो। जब म ती रात्रिभोजहरूका बारेमा सोच्थेँ, जहाँ मैले रक्सी पिउनुपर्थ्यो र मभन्दा वरिष्ठ अधिकारीहरूको फोहोर कुरा सुन्नुपर्थ्यो, मलाई एकदमै वाक्क लाग्थ्यो र धेरैपटक भाग्न मन लाग्थ्यो, तर प्रधानाध्यापिकाको पदका खातिर, म लाचार भई उनीहरूको कुरा मान्न बाध्य हुन्थेँ। विद्यालयका अध्यक्ष पनि मलाई प्रायः सामाजिक जमघटहरूमा लैजानुहुन्थ्यो, र मलाई शिक्षा क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूसँग परिचय गराउनुहुन्थ्यो, जुन देखाउनका लागि पेसागत आदानप्रदानका लागि हुन्थ्यो, तर वास्तवमा यो मलाई उनीहरूको रखेल बनाउन र मेरो शरीर बेच्न लगाउनका लागि हुन्थ्यो। मलाई एकदमै घिन लाग्थ्यो। हरेक पटक उनीहरूले मलाई सम्पर्क गर्दा, म उनीहरूलाई टार्थेँ। तर म उनीहरूले चाहेअनुसार नचलेकी हुनाले, अध्यक्ष मसँग एकदमै असन्तुष्ट हुनुहुन्थ्यो, र कहिलेकाहीँ काममा मलाई निशाना बनाउनुहुन्थ्यो। मेरा कार्य-विवरणहरू धेरै राम्ररी बनाइएका भए पनि, र मेरा व्यावसायिक योजनाहरू सुव्यवस्थित भए पनि, उहाँहरू सधैँ खोट देखाउन खोज्नुहुन्थ्यो, जसले मलाई निः शब्द बनाउँथ्यो। एकपटक, संयोगवश मैले एकजना मभन्दा वरिष्ठ अधिकारीको फोन मेरा तस्बिरहरूले भरिएको देखेँ, र मलाई अचानक एक अवर्णनीय डरले घेर्‍यो, र मैले सोचेँ, “के म उनीहरूको अर्को सिकार बन्न जाँदैछु?” म आतङ्कित भएँ। म हरेक दिन असाध्यै थकित महसुस गर्थेँ, सबै सामाजिक जमघट र व्यापारिक भ्रमणले गर्दा लखतरान पर्थेँ, र म सधैँ तनावमा हुन्थेँ, मभन्दा वरिष्ठ अधिकारीहरूले मेरो फाइदा उठाउलान् कि भन्ने चिन्ता लागिरहन्थ्यो। मलाई हरेक दिन पातलो बरफमा हिँडेजस्तो लाग्थ्यो, र मलाई यति पीडा हुन्थ्यो, मानौँ म तरबारको धारमा हिँडिरहेकी छु। मलाई कतै आफूले आफूभन्दा वरिष्ठ अधिकारीहरूको माग पूरा गर्न पर्याप्त मेहनत गरिरहेकी छैन कि, र कतै मेरो प्रधानाध्यापिकाको पद खतरामा पर्ने हो कि भन्ने डर लाग्थ्यो। त्यसैले वरिष्ठ अधिकारीहरूले कुनै खोट नभेटून् भनी सुनिश्चित गर्न मैले मेरो कामलाई उत्कृष्ट बनाउन अझ कडा मेहनत गरेँ। यो हासिल गर्न, म दिनरात काम गर्थेँ, कहिलेकाहीँ त दिनभरि एक गिलास पानी पिउने समयसमेत हुँदैनथ्यो। मलाई प्रायः रिँगटा लाग्थ्यो र थकान महसुस हुन्थ्यो, र समय बित्दै जाँदा, मेरो घाँटी सुक्खा हुन र चिलाउन थाल्यो, र कहिलेकाहीँ मलाई यति नराम्रो खोकी लाग्थ्यो कि खोक्दा रगत आउँथ्यो। त्यसो हुँदा पनि, मेरो ध्यान अझै पनि कसरी आफ्नो प्रधानाध्यापिकाको कायम राख्ने भन्नेमै केन्द्रित थियो। एकपछि अर्को दिन, एकपछि अर्को वर्ष, मभित्रको दबाब हरेक दिन बढ्दै गयो, र केही समयसम्म, म अनिद्राबाट पीडित भएँ। मलाई आफू डिप्रेसनको नजिक पुगेजस्तो महसुस भयो। मेरी सासूले मलाई यस्तो अवस्थामा देख्नुभयो, र मलाई प्रधानाध्यापिकाको पदबाट राजीनामा दिएर अर्को जागिर खोज्ने सल्लाह दिनुभयो। उहाँले मलाई सुसमाचार पनि प्रचार गर्नुभयो, र उहाँले मलाई पढ्नका लागि परमेश्‍वरका वचनको एक खण्ड भेट्टाउनुभयो। परमेश्‍वर भन्‍नुहुन्छ: “मानिसको भाग्य परमेश्‍वरका हातहरूद्वारा नियन्त्रित हुन्छ। तैँले आफैलाई नियन्त्रण गर्न सक्दैनस्: मानिस सधैँ आफ्नै खातिर भागदौड गर्ने र व्यस्त रहने भए पनि, उसले आफूलाई नियन्त्रण गर्न सक्दैन। यदि तैँले आफ्नै भविष्य जान्न सक्थिस् भने, यदि तैँले आफ्नै भविष्य नियन्त्रण गर्न सक्थिस् भने, के तँ अझै सृजित प्राणी नै कहलिनेथिइस् र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। जब मैले “भाग्य” भन्ने शब्द पढेँ, मैले आफ्नै बारेमा सोचेँ: मैले आफ्नो जीवनसाथीका रूपमा रोमान्स र भावना बुझ्ने व्यक्तिको तिर्सना गरेकी थिएँ, तर मसँग विवाह बन्धनमा बाँधिएको व्यक्ति लचकता वा रोमान्सका विचारहरू नबुझ्ने, कल्पनाशीलता र सिर्जनशीलता नभएको व्यक्ति थियो। बाल्यकालदेखि नै, मैले सधैँ आफ्ना प्रयासहरूमार्फत अरूको प्रशंसा पाउन चाहेकी थिएँ, र यसले खुसी ल्याउँछ भन्ने विश्वास गरेकी थिएँ। तर, प्रधानाध्यापिका बनेपछि, मैले आफू खुसी हुनु त कता हो कता, पहिलेभन्दा झन् दुःखी छु भन्ने थाहा थिएँ। एउटा बिन्दुमा त म डिप्रेसनमा पनि परेँ। त्यतिबेला नै मैले व्यक्तिको भाग्य उसको नियन्त्रणमा हुँदैन भन्ने महसुस गरेँ।

पछि, मैले परमेश्‍वरका वचनको अर्को खण्ड पढेँ: “सर्वशक्तिमान्‌ले यी गहन कष्ट भोगेका मानिसहरूमाथि कृपा गर्नुहुन्छ; साथसाथै, बिलकुलै चेतना नभएका यी मानिसहरूप्रति उहाँ वितृष्ण महसुस गर्नुहुन्छ, किनकि मानिसहरूबाट उत्तर प्राप्त गर्नुअघि उहाँले निकै लामो समय पर्खनुपर्छ। उहाँ खोज्न चाहनुहुन्छ, तेरो हृदय र तेरो आत्मा खोज्न चाहनुहुन्छ, र तेरा लागि पानी र खाना ल्याउन चाहनुहुन्छ, ताकि तँ ब्युँझेस् र तैँले उप्रान्त तिर्खाउने र भोकाउने नगरेस्। जब तँ थाक्छस् र जब तैँले यस संसारको केही उजाडता महसुस गर्छस्, तब हराएको महसुस नगर्, नरो। सर्वशक्तिमान्‌ परमेश्‍वर, रखवालाले जुनसुकै बखत पनि तेरो आगमनलाई अङ्गाल्नुहुनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सर्वशक्तिमान्‌को सुस्केरा)। परमेश्‍वरका वचनको यो खण्ड पढेपछि, म धेरै भावुक भएँ। मलाई परमेश्‍वर मानिसहरूलाई कति राम्ररी बुझ्नुहुन्छ भन्ने लाग्यो र म मानवजातिप्रतिको उहाँको प्रेम देख्न सक्थेँ। मैले प्रधानाध्यापिका बन्नका लागि कसरी दिनरात काम गरेँ, र प्रधानाध्यापिका बनेपछि, आफूभन्दा वरिष्ठ अधिकारीहरूको चापलुसी र जीहजुरी गर्ने प्रयास गरिरहँदा, म कसरी प्रायः कामका लागि यात्रा गर्थेँ र सामाजिक जमघटहरूमा जान्थेँ भन्ने कुरा सम्झिएँ। म हरेक दिन ठूलो मानसिक दबाबमा थिएँ। मैले मनको बह पोख्ने कोही भेट्टाइनँ, न त आफ्नो अशान्त आत्माका लागि कुनै सुरक्षित आश्रय नै पाएँ। मैले मेरी आमासँग कुरा गरेँ, र उहाँले मलाई सल्लाह दिनुभयो, “तैँले कडा मेहनत गर्नुपर्छ र वरिष्ठ अधिकारीहरूको अगाडि कामकुरा सम्हाल्न जान्नुपर्छ। यदि तैँले जागिर गुमाइस् भने, छिमेकीहरूले हामीलाई हेहेयको नजरले हेर्नेछन्।” मैले मेरो श्रीमान्‌लाई भनेँ, र उहाँले मलाई यति मात्र सल्लाह दिँदै भन्नभयो, “केही समयपछि सबै कुरा ठीक हुनेछ।” तर समय बित्दै जाँदा, मैले आफूलाई टुट्ने अवस्थाको कगारमा पाएँ। मेरा भावनाहरू कसले बुझ्न सक्थ्यो र? परमेश्‍वरका वचनहरूमार्फत नै मैले के महसुस गरेँ भने, परमेश्‍वर मात्र मानिसहरूलाई साँच्चै बुझ्नुहुन्छ, र उहाँ मेरो असह्य पीडा महसुस गर्न सक्नुहुन्छ, किनकि उहाँले मलाई नरुन वा हराएको महसुस नगर्न, र उहाँले मेरो पुनरागमनलाई अङ्गाल्नुहुनेछ भनेर भन्नुभयो। मलाई परमेश्‍वर मात्र मेरो हृदय साँच्चै चिन्नुहुन्छ, र म उहाँसँग सबै कुरा बाँड्न सक्छु भन्ने महसुस भयो, र मेरो आत्माले ठूलो आराम पायो। म सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामको खोजीनिती गर्न चाहन्थेँ, तर जब मैले काममा म कति व्यस्त छु भन्नेबारे सोचेँ, मलाई आफूसँग कहिले समय होला भन्ने लाग्यो। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गर्ने र आफ्ना विचारहरू व्यक्त गर्ने प्रयास गरेँ, “हे परमेश्‍वर! म यस्तो जीवन जिउन चाहन्नँ, यो एकदमै थकाइलाग्दो छ। कृपया मेरा लागि एउटा बाटो खोलिदिनुहोस्!” त्यही बेला, मेरी दिदीले मलाई फोन गर्नुभयो र मलाई एउटा किन्डरगार्टेनमा काम गर्न भन्नुभयो। यो पूरै जिल्लाको एकमात्र सरकारी किन्डरगार्टेन थियो, र त्यहाँ जिल्लाकै सबैभन्दा राम्रा शैक्षिक सुविधाहरू र शिक्षण अवस्थाहरू थिए। म जान चाहन्थेँ, तर मैले प्रधानाध्यापिकाको पद पाउनका लागि धेरै त्याग गरेकी थिएँ, त्यसैले मलाई अब ती सबै छोड्न गाह्रो हुनेछ जस्तो लाग्यो। तर मेरा वरिष्ठ अधिकारीको मसँगको अनुचित व्यवहार सम्झँदा, मलाई घिन लाग्यो। त्यसैले मैले यो किन्डरगार्टेनमा जाने विचार गरेँ, र सोचेँ, सायद मेरा प्रयासहरूले गर्दा, मेरा नयाँ वरिष्ठ अधिकारीहरूले अन्ततः मलाई किन्डरगार्टेनको प्रधानाध्यापिकामा बढुवा गर्नेछन्, र त्यसपछि मैले मेरो हैसियत पुनः प्राप्त गर्नेछु। यसरी, म परमेश्‍वरको कामको खोजीनिती पनि गर्न सक्थेँ र मानिसहरूको सम्मान पनि कमाउन सक्थेँ। मैले एक तीरले दुई शिकार गर्नेथिएँ!

जुलाई २०१९ मा, मैले प्रधानाध्यापिकाको पदबाट राजीनामा दिएँ र किन्डरगार्टेनमा काम गर्न थालेँ। तर, बाल्यकाल शिक्षामा काम गर्नु मैले सोचेजस्तो सरल र सजिलो थिएन, र मैले प्रायः आधारभूत शिक्षण सीपसम्बन्धी विभिन्न तालिम लिनुपर्थ्यो र प्रतिस्पर्धाहरूमा भाग लिनुपर्थ्यो, त्यसैले म हरेक दिन व्यस्त हुन्थेँ। खासगरी, वरिष्ठ अधिकारीहरूले उत्कृष्ट शिक्षकहरूप्रति देखाएको अनुमोदनको भाव देख्दा, मलाई ईर्ष्या लाग्थ्यो, र म अन्जानमै अरूको सम्मान पाउने पछ्याइमा लागेँ। मैले पियानो सिक्न, नृत्य अभ्यास गर्न र विभिन्न कार्यक्रम व्यवस्थित गर्न एकोहोरो भएर लाग्न थालेँ, जसले गर्दा मसँग खाली समय नै हुँदैनथ्यो, र सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामको खोजी गर्ने मेरो अभिप्राय मेरो अत्यधिक व्यस्त कार्यतालिकाले गर्दा पछाडि धकेलियो। पछि, कडा परिश्रममार्फत, मैले किन्डरगार्टेनमा छिट्टै आफूलाई स्थापित गरेँ, र मेरा वरिष्ठ अधिकारीहरूले मलाई धेरै महत्त्व दिनुभयो। तर उच्च महत्त्व पाउनुले मलाई व्यथित पनि बनायो। कहिलेकाहीँ मेरा वरिष्ठ अधिकारीहरूले मलाई उहाँहरूका लागि केही बहसका भाषण र प्रस्तुतीका स्क्रिप्टहरू लेख्न भन्नुहुन्थ्यो, तर दिनमा मैले विद्यार्थीहरूलाई पढाउनुपर्ने हुनाले, मस्यौदाहरू हतारमा तयार गर्न मैले राति ओभरटाइम काम गर्नुपर्थ्यो। मलाई हरेक दिन समयको असाध्यै चाप हुन्थ्यो। मैले मेरा वरिपरिका सहकर्मीहरूलाई पनि बाहिर हाँस्ने तर पिठ्युँ पछाडि छुरा लुकाउने गरेको देखेँ, किनकि उनीहरू हैसियतका लागि तीव्र प्रतिस्पर्धा गर्थे। यस्तो अवस्थामा फस्दा, मलाई आफू फेरि आफ्नो पुरानै जीवनमा फर्किएजस्तो लाग्यो। मेरो शरीर निरन्तर थकानको अवस्थामा रहन्थ्यो र धेरै दबाबमा थियो, र मलाई हरेक दिन टाउको फुट्लाजस्तो हुन्थ्यो। मलाई स्तनमा पनि सियोले घोचेजस्तो तीक्ष्ण पीडा महसुस हुन्थ्यो। म एकदमै लाचार महसुस गर्थेँ, र मेरो मन खाली थियो। अक्टोबरको एक दिन, विद्यालयले स्वास्थ्य परीक्षणको आयोजना गर्‍यो। जब डाक्टरले मेरो जाँच गरे, उनले गम्भीर मुद्रामा भने, “तपाईँको स्तनमा धेरै समस्या छन्।” मैले सोधेँ, “के यो क्यान्सर हो?” डाक्टरले भने, “अहिले नै पक्का भन्न सकिँदैन, तर तपाईँले जतिसक्दो चाँडो निडल बायोप्सी गराउनुपर्छ, किनकि रोग छिटो पत्ता लागे उपचार पनि छिटो हुन्छ।” मलाई संसार नै अँध्यारो भएजस्तो लाग्यो, र मैले आफैँलाई सोधेँ, “के यो साँच्चै क्यान्सर हुन सक्छ?” एक अवर्णनीय लाचारीपन मभित्र उर्लेर आयो, र म भुइँमा ढलेँ। त्यसपछि, म निदानका लागि प्रान्तीय अस्पताल गएँ। डाक्टरले भने, यो स्तनको हाइपरप्लेसिया, सिस्ट र धेरै गाँठागुठी हो। उनीहरूले मलाई नियमित निगरानी गर्न र हरेक तीन देखि छ महिनामा जँचाउन सल्लाह दिए, तर उनीहरूले भने, यदि गाँठागुठीहरू बढे भने, सायद शल्यक्रिया गर्नुपर्ने हुन सक्छ। रिपोर्टले अहिले गाँठागुठीहरू तेस्रो चरणमा रहेको देखायो। डाक्टरले भने, यदि ती चौथो चरणमा पुगे भने, त्यो क्यान्सर बन्न सक्छ। त्यसबारे जति सोच्थेँ, त्यति नै डराउँथेँ। मजस्तो भर्खर तीस पुगेको व्यक्तिलाई कसरी यस्तो गम्भीर रोग लाग्न सक्छ भनेर म बुझ्नै सकिरहेकी थिइनँ। मलाई आकाशै खस्न लागेजस्तो महसुस भयो। आफूलाई घिस्याउँदै घर पुर्‍याउँदै गर्दा मेरो शरीर भारी भएको थियो, मैले ढोका बन्द गरेँ र ओछ्यानमा पल्टिएँ। मेरा गालाबाट आँसु बगिरहेको थियो, र म आफैँलाई सोधिरहेँ, “विगतका केही वर्षदेखि म केका लागि यति कडा परिश्रम गरिरहेकी छु? के मैले अरूको प्रशंसा पाउनकै लागि मेरो स्वास्थ्य बलि चढाएकी हुँ? अरूको प्रशंसाले मलाई वास्तवमा के दिएको छ? मानिसहरूको प्रशंसा पाउँदा पनि म किन अझै यस्तो पीडामा जिइरहेकी छु? म कसरी अर्थपूर्ण र मूल्यवान् जीवन जिउन सक्छु?”

एक दिन, आफ्नो पीडा र अन्योलमा, ब्रदर-सिस्टरहरू मलाई एउटा भेलामा निम्तो दिन आए, र मैले मण्डली जीवनमा भाग लिन थालेँ। मैले ब्रदर-सिस्टरहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको मलजल र आपूर्तिका बीच सत्यता पछ्याइरहेको र स्वभाव परिवर्तनको खोजी गरिरहेको देखेँ, र मैले उनीहरूले ख्याति वा प्राप्तिका लागि प्रतिस्पर्धा नगरी, वा एकअर्काविरुद्ध षड्यन्त्र नगरी एकअर्कालाई प्रेम र समर्थन गरेको देखेँ। यो मैले मेरो काम र सामाजिक जमघटहरूमा देखेको कुराभन्दा बिल्कुलै फरक थियो। म परमेश्‍वरका वचनहरूप्रति आकर्षित भएँ, र मैले सक्रिय रूपमा भेलाहरूमा भाग लिन र मण्डली जीवन जिउन थालेँ। आफ्नो एउटा आत्मिक भक्तिको समयमा, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “वास्तवमा, मानिसका आकाङ्क्षाहरू जतिसुकै भव्य भए पनि, मानिसका चाहनाहरू जतिसुकै यथार्थवादी भए पनि वा ती जतिसुकै उचित भए पनि, मानिसले हासिल गर्न चाहेका सबै कुरा, मानिसले खोजेका सबै कुरा दुई शब्दसँग अटुट रूपमा जोडिएको हुन्छ। यी दुई शब्द हरेक व्यक्तिलाई उसको जीवनभरि महत्त्वपूर्ण हुन्छन्, र ती शैतानले मानिसमा हालिदिन चाहेका कुरा हुन्। यी दुई शब्द के हुन्? ती ‘ख्याति’ र ‘प्राप्ति’ हुन्। शैतान एउटा एकदमै नरम विधि, मानिसहरूका धारणाहरूसँग एकदमै मिल्ने विधि, र धेरै आक्रामक नभएको विधि प्रयोग गर्छ, जसले गर्दा मानिसहरू अनजानमै यसका बाँच्ने साधन र नियमहरू स्वीकार गर्छन्, जीवनका लक्ष्य र जीवनका दिशाहरू विकास गर्छन्, र जीवनका आकाङ्क्षाहरू राख्छन्। मानिसहरूले आफ्ना जीवनका आकाङ्क्षाहरूको वर्णन जतिसुकै सानदार तरिकाले गर्न सक्ने भए पनि, यी आकाङ्क्षाहरू सधैँ ख्याति र प्राप्तिको वरिपरि घुम्छन्। कुनै महान् वा प्रसिद्ध व्यक्तिले—वा, वास्तवमा, कुनै पनि व्यक्तिले—आफ्नो जीवनभरि पछ्याउने सबै कुरा केवल यी दुई शब्दसँग सम्बन्धित हुन्छन्: ‘ख्याति’ र ‘प्राप्ति।’ मानिसहरू सोच्छन्, तिनीहरूसँग ख्याति र प्राप्ति भएपछि, तिनीहरूसँग उच्च हैसियत र ठूलो धन उपभोग गर्ने, र जीवनको आनन्द लिने पूँजी हुन्छ। तिनीहरू सोच्छन्, तिनीहरूसँग ख्याति र प्राप्ति भएपछि, तिनीहरूसँग सुखचैन खोज्ने र देहको बेलगाम मोजमज्जामा संलग्न हुने पूँजी हुन्छ। तिनीहरूले चाहना गर्ने यस ख्याति र प्राप्तिका खातिर, मानिसहरू खुसीसाथ र अनजानमा आफ्नो शरीर, हृदय, र आफ्ना सम्भावना र भवितव्यलगायत आफूसँग भएका सबै कुरा शैतानलाई सुम्पिदिन्छन्। तिनीहरू निसङ्कोच, अलिकति पनि शङ्काविना, र आफूसँग पहिले भएका सबै कुरा फिर्ता माग्नेबारे कहिल्यै नजानी यसो गर्छन्। के मानिसहरूले यसरी आफूलाई शैतानलाई सुम्पेपछि र त्यसप्रति बफादार बनेपछि आफूमाथि कुनै नियन्त्रण राख्न सक्छन्? निश्चित रूपमा सक्दैनन्। तिनीहरू पूरै र पूर्ण रूपमा शैतानद्वारा नियन्त्रित हुन्छन्। तिनीहरू पूरै र सम्पूर्ण रूपमा यस दलदलमा डुबेका हुन्छन्, र आफूलाई मुक्त गर्न असमर्थ हुन्छन्। कुनै व्यक्ति ख्याति र प्राप्तिमा फसेपछि, उसले उप्रान्त उज्यालो, न्यायवान्, वा सुन्दर र असल कुराहरू खोज्दैन। किनभने ख्याति र प्राप्तिको प्रलोभन मानिसहरूका लागि अत्यन्तै ठूलो हुन्छ, र यी कुराहरू मानिसहरूले आफ्नो जीवनभरि र अनन्तकालसम्म पनि अनन्त रूपमा पछ्याउन सक्ने कुरा हुन्। के यो वास्तविक अवस्था होइन र?(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। “शैतानले मानिसहरूका विचारहरू नियन्त्रण गर्नका लागि ख्याति र प्राप्ति प्रयोग गर्छ, तिनीहरूलाई यी दुई कुराबाहेक अरू केही नसोच्ने बनाउँछ, र तिनीहरूलाई ख्याति र प्राप्तिका लागि सङ्घर्ष गर्न, ख्याति र प्राप्तिका लागि कष्ट भोग्न, ख्याति र प्राप्तिका लागि अपमान सहन र गह्रौँ बोझहरू बोक्न, ख्याति र प्राप्तिका लागि आफूसँग भएका सबै कुराको बलिदान गर्न, अनि ख्याति र प्राप्तिका लागि हरेक फैसला वा निर्णय गर्न लगाउँछ। यसरी, शैतानले मानिसहरूलाई अदृश्य साङ्लाहरू लगाइदिन्छ, र, तिनीहरूमा यी साङ्ला हुँदा, त्यसबाट उम्किन तिनीहरूसँग न त क्षमता हुन्छ न त साहस नै। अनजानमै, तिनीहरू यी साङ्लाहरू बोकेर, ठूलो कठिनाइका साथ एक-एक पाइला गर्दै अगाडि बढ्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्‍वरबाट टाढिन्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, शैतानको ख्याति र प्राप्तिमाझ एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ। अहिले शैतानका कार्यहरूलाई हेर्दा, के यसका कपटी मनसायहरू अत्यन्तै घृणापूर्ण छैनन् र? सायद आज तिमीहरू अझै पनि शैतानका कपटी मनसायहरू छर्लङ्ग देख्‍न सक्दैनौ किनभने तिमीहरूलाई ख्याति र प्राप्तिविना जीवनको कुनै अर्थ हुँदैन, र मानिसहरूले अबउसो अगाडिको बाटो देख्‍न सक्नेछैनन्, उप्रान्त आफ्ना लक्ष्यहरू देख्‍न सक्नेछैनन्, र तिनीहरूको भविष्य अँध्यारो, मधुरो र मलिन बन्नेछ भन्‍ने लाग्छ। तर, बिस्तारै, एक दिन तिमीहरू सबैले ख्याति र प्राप्ति मानिसलाई शैतानले लगाइदिने विशाल साङ्लाहरू हुन् भनी पहिचान गर्नेछौ। जब त्यो दिन आउँछ, तैँले शैतानको नियन्त्रणलाई पूर्ण रूपमा प्रतिरोध गर्नेछस् र शैतानले तँमाथि ल्याइदिएका साङ्लाहरूलाई पूर्ण रूपमा प्रतिरोध गर्नेछस्। जब तँ शैतानले तँमा हालिदिएका यी सबै कुराहरूबाट आफूलाई मुक्त गर्न चाहन्छस्, तब तैँले शैतानसँगको तेरो सम्‍बन्धलाई पूर्ण रूपमा तोड्नेछस् र शैतानले तँमाथि ल्याएका सबै कुरालाई साँचो रूपमा घृणा गर्नेछस्। त्यसपछि मात्र तँसँग परमेश्‍वरका निम्ति साँचो प्रेम र तृष्णा हुनेछ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। परमेश्‍वरका वचनहरूको खुलासामार्फत, मैले शैतानका दुर्भावपूर्ण मनसायहरू बुझेँ। शैतान मानिसहरूलाई ख्याति र प्राप्तिको पछ्याइको भुमरीमा चरणबद्ध रूपमा फसाउन ख्याति र प्राप्तिलाई चाराका रूपमा प्रयोग गर्छ, र मानिसहरूले यी कुराहरूका लागि दुःख र सङ्घर्ष गर्दा, तिनीहरू दुष्ट, छली र कपटी बन्छन्, सामान्य मानिसको रूप गुमाउँछन् र अन्ततः पतनको खाडलमा खस्छन्। मैले आत्मचिन्तन गरेँ, र मैले सानैदेखि मलाई “अरूभन्दा विशिष्ट र उत्कृष्ट बन,” र “पुर्खाको नाम राख” जस्ता विचारहरू र “मानिस उँभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ” जस्ता अन्य शैतानी विषहरूले दीक्षित गरिएको रहेछ भन्ने महसुस गरेँ। मलाई मानिसले जिउँदो छँदा ख्याति र प्राप्ति पछ्याउनुपर्छ, र हैसियत हासिल गरेर र विशिष्ट बनेर मात्रै मानिसले मूल्यवान् र मर्यादित जीवन जिउन सक्छ भन्ने विश्वास थियो। मैले यी शैतानी विषहरूलाई अन्तर्दृष्टिपूर्ण भनाइका रूपमा लिएँ, र तिनलाई मेरो जीवनको लक्ष्य मानेँ। जब मैले प्रधानाध्यापिका लिउले मञ्चमा वाक्पटुतापूर्वक बोलिरहनुभएको र अरूको प्रशंसा पाइरहनुभएको देखेँ, मलाई त्यो प्रभावशाली लाग्यो र म पनि प्रधानाध्यापिका लिउ जस्तै बन्न चाहेँ। यो लक्ष्यका लागि, मैले बिहानदेखि बेलुकासम्म काम गरेँ, दिनरात शिक्षण सामग्रीहरू अध्ययन गरेँ, र विद्यार्थीहरूलाई ट्युसन पढाउन मेरो आरामको समयलाई बलि चढाएँ। मेरो शरीर थकित भए पनि र मैले आराम गर्न चाहे पनि, प्रधानाध्यापिकाको पद पाउने र ख्याति र प्राप्ति हासिल गर्ने विचारले मलाई अघि बढाइरह्यो, त्यसैले म दाँत किटेर डटिरहेँ। अन्ततः, आफ्नो कडा परिश्रममार्फत, मैले प्रधानाध्यापिकाको पद पाएँ, र अरूद्वारा प्रशंसा गरिनुको सन्तुष्टि चाखेँ। तर बिस्तारै म यस्तो तरिकाले जिउन थालेँ जसमा मानिसको रूपको पूर्णतः कमी थियो। आफ्नो प्रधानाध्यापिकाको पद जोगाउन, मैले मेरा वरिष्ठ अधिकारीहरूका विचारलाई नै प्रश्रय दिएँ, उनीहरूको चापलुसी र जीहजुरी गरेँ, र झन्-झन् कपटी र छली बन्दै गएँ। पछि, किन्डरगार्टेनमा प्रवेश गरेपछि, मैले आफूभन्दा उत्कृष्ट सहकर्मीहरूले वरिष्ठ अधिकारीहरूको प्रशंसा पाएको देखेँ, त्यसैले मलाई फेरि ईर्ष्या लाग्यो। मैले आतुर भएर पियानो, नृत्य र गुझङ अभ्यास गर्न थालेँ, र मैले सधैँ हरेक सार्वजनिक पाठ र उच्च-गुणस्तरको पाठका लागि अनुसन्धानमा ठूलो प्रयास लगाएँ, किनकि म भीडबाट अलग देखिन र आफू वरिपरिका मानिसहरूको प्रशंसा पाउन चाहन्थेँ। म ख्याति र प्राप्तिका लागि दिनरात खटिएँ, र मानव आचरणका आधारभूत आवश्यकताहरूलाई बेवास्ता गरेँ, किनकि म शैतानका बाँच्ने सिद्धान्तहरूअनुसार चलेँ र कपटी र छली बनेँ। म ख्याति, प्राप्ति र हैसियतले पूर्ण रूपमा अन्धी भएकी थिएँ, किनकि यी कुराहरूले मेरा विचारहरूलाई नियन्त्रण गरेर मलाई तिनका लागि मूल्य चुकाउनमा खुसी बनाएका थिए। मैले ख्याति, प्राप्ति र हैसियतलाई अरू कुनै पनि कुराभन्दा महत्त्वपूर्ण ठानेँ, र मलाई परमेश्‍वरको आखिरी दिनहरूको कामबारे थाहा भए पनि, मैले खोजीनिती गर्ने प्रयास गरिनँ। म साँच्चै अज्ञानी र मूर्ख थिएँ! मैले मेरो भाइलाई सम्झिएँ, जसले हाई स्कुलको प्रधानाध्यापक पदका लागि चुनाव लडेको थियो, र उसले चुनावका लागि भाषण तयार गर्न कति अनिँदो रातहरू बिताएको थियो। उसले आफ्ना दिनहरू वरिष्ठ अधिकारीहरूलाई के उपहार दिने भनेर योजना बनाउन दिमाग खियाउँदै बितायो, र रात्रिभोज तथा सामाजिक जमघटहरूमा, ऊ सधैँ उनीहरूको चापलुसी गर्ने नयाँ तरिकाहरू सोच्ने प्रयास गरिरहन्थ्यो। जब उसले अन्य उम्मेदवारहरूले वरिष्ठ अधिकारीहरूलाई लाखौँको उपहार दिइरहेको देख्यो, ऊ एकदमै लाचार भयो, किनकि उसलाई आफ्ना उपहारहरूले वरिष्ठ अधिकारीहरूलाई प्रभावित पार्न नसक्ने र उसले प्रधानाध्यापक बन्ने मौका गुमाउने डर थियो, त्यसैले ऊ पीडा र लाचारीको स्थितिमा जिइरहेको थियो। मैले मेरो माथिल्लो वरिष्ठ अधिकारीलाई पनि सम्झिएँ, जसलाई बारम्बारको रात्रिभोज र रक्सी सेवनका कारण पछि गम्भीर मधुमेह भयो। अन्त्यमा, उसले हरेक दिन इन्सुलिनको सुई लगाएर आफ्नो रगतमा चिनीको मात्रा नियन्त्रण गर्नुपर्‍यो, र उसलाई प्रायः छाती पोल्ने र असह्य पेट दुख्ने समस्या पनि हुन्थ्यो…। यी साफ उदाहरणहरूले मलाई स्पष्ट रूपमा के देखाए भने, ख्याति, प्राप्ति र हैसियत वास्तवमै शैतानले मानिसहरूलाई भ्रष्ट बनाउने र हानि गर्ने माध्यमहरू हुन्, र यी शैतानले मानिसहरूका लागि थापेका पासोहरू हुन्, जसले मानिसहरूलाई आतुर भएर जीवनभर ख्याति, प्राप्ति र हैसियतको पछि लाग्न लोभ्याउँछ। यदि म यो गलत मार्गमा लागिरहेँ भने, अन्ततः मैले मुक्ति पाउने मौका गुमाउनेथिएँ र अनन्त विनाशमा जानेथिएँ। यो कुरा बुझेपछि, मैले ठीकसँग परमेश्‍वरमा विश्वास गर्ने, उहाँका वचनहरू खाने र पिउने, र जीवनको सही मार्गमा हिँड्ने सङ्कल्प गरेँ।

सन् २०२२ मा, गम्भीर महामारीका कारण, म बाहिर जान सकिनँ, त्यसैले म परमेश्‍वरका वचनहरू खाँदै र पिउँदै र आफैँलाई सत्यताले सुसज्जित गर्दै घरमै बसेँ, र मैले मेरो हृदयमा धेरै सहज र सन्तुष्टि महसुस गरेँ। पत्तै नपाइ, मेरो निद्रा सामान्य भयो, र मेरो स्तनको पीडा पनि कम भयो। म परमेश्‍वरप्रति धेरै कृतज्ञ भएँ। महामारीका रोकटोकहरू हटेपछि, म विद्यालयमा काम गर्न फर्किएँ, तर म अब उच्च पदमा पुग्न चाहन्नथेँ, र एक साधारण शिक्षिका मात्र हुन चाहन्थेँ। त्यसपछि धेरै समय नबित्दै एक दिन, जिल्ला शिक्षा ब्युरोले किन्डरगार्टेनको व्यवसाय निर्देशक पदका लागि प्रतिस्पर्धा आयोजना गर्‍यो। मेरो वरिष्ठ अधिकारीले मलाई बिस्तारै भन्नुभयो, “एकछिनमा, तपाईँ प्रतिस्पर्धा गर्न जानुहुनेछ। तपाईँको कार्य क्षमता हेर्दा, यो पद तपाईँकै लागि हो।” यो सुन्दा, म भाग लिन उत्सुक भएँ, र सोचेँ, यदि म साँच्चै प्रतिस्पर्धामा सफल भएँ भने, मैले अरूको प्रशंसा पाउनेछु र पहिले जस्तै ख्याति र प्राप्ति दुवैको आनन्द लिनेछु। “किन नगर्ने त?” मैले मनमनै सोचेँ। तर त्यसपछि मलाई मण्डलीले मलाई धेरै समूहको भेलाको रेखदेख गर्ने जिम्मा दिएको छ भन्ने याद आयो, त्यसैले यदि म निर्देशक बनेँ भने, मसँग भेला हुन र आफ्नो कर्तव्य निर्वाह गर्न कसरी समय हुन्छ? त्यही बेला, मलाई प्रभु येशूले भन्नुभएको कुरा याद आयो: “यदि मानिसले सारा संसार पाएर आफ्नै प्राण गुमायो भने, उसलाई के फाइदा हुन्छ? अथवा आफ्नो प्राणको साटो मानिसले के दिन सक्छ?(मत्ती १६:२६)। यो धर्मशास्त्र मनन गर्दा, मैले केही सुझबुझ पाएँ। मानिसहरू यस संसारमा आउँछन्, र उनीहरू आफ्ना दिनहरू निरन्तर व्यस्त भएर, ख्याति र प्राप्तिका लागि प्रतिस्पर्धा गरेर बिताउँछन्। उनीहरूसँग उच्च हैसियत भए पनि, उनीहरूले प्रशस्त सम्पत्ति कमाए पनि, र सारा संसार नै उनीहरूकै भए पनि, अन्त्यमा थकानले गर्दा उनीहरूलाई शरीरभरि रोगहरू लाग्छ, र उनीहरूले अन्ततः आफ्नो ज्यान गुमाउँछन्। के त्यो सबै व्यर्थ होइन र? साधारण शिक्षिकादेखि प्रधानाध्यापिका बन्ने मेरो यात्रालाई फर्केर हेर्दा, नामका लागि त म शिक्षकहरूको नेता थिएँ, तर जब म वास्तवमा त्यो नेतृत्वको पदमा बसेँ, कुराहरू मैले कल्पना गरेजस्तो उत्तम थिएनन्। मेरो तलब बढे पनि र मानिसहरूले मलाई उच्च नजरले हेरे पनि, म आफ्ना दिनहरू असाध्यै थकानमा बिताउँथेँ, स्वास्थ्य समस्याहरूबाट पीडित थिएँ, र मानसिक रूपमा डिप्रेसनको नजिक पुगेकी थिएँ। यो पैसा र हैसियतले मेरो कष्टलाई अलिकति पनि कम गर्न सकेन। बरु, तिनले मलाई झन्-झन् रित्तो र लाचार महसुस गराए। मैले मेरी सहकर्मी, सुश्री लियाङलाई सम्झिएँ, जो हरतरिकाले उत्कृष्ट थिइन्, र जो अन्ततः शिक्षण तथा अनुसन्धान समूहको प्रमुख बनिन्। तर स्वास्थ्य परीक्षणको क्रममा, उनमा थाइराइडमा चौथो चरणको गाँठो भेटियो, जुन घातक भएको शङ्का गरियो। उनले बाँकी जीवन औषधिको भरमा उपचार गर्नुपर्‍यो र समय-समयमा निडल बायोप्सी गराउन अस्पताल पनि जानुपर्थ्यो। त्यसपछि मैले मेरी मिल्ने साथी, सुश्री डुलाई सम्झिएँ, जो जवान र सुन्दरी थिइन्। उनी विद्यालयका हरेक प्रदर्शन र गतिविधिमा नभई नहुने थिइन्, र उनी वरिष्ठ अधिकारीहरूको प्रिय पनि थिइन्। उनी असीमित जस्तो देखिने महिमाको आनन्द लिन्थिन्। तर पछि, उनलाई चरम ल्युकेमिया भयो र उनी गम्भीर अवस्थामा पुगिन्। मैले यसबारे जति सोचेँ, मलाई ख्याति र प्राप्ति त्यति नै व्यर्थ लाग्यो, र कुनै व्यक्तिले जतिसुकै ख्याति, प्राप्ति र हैसियत कमाए पनि, यदि उसले अन्ततः आफ्नो स्वास्थ्य गुमाउँछ भने, त्यो सबै ख्याति, धन र प्राप्तिहरू काम नलाग्ने हुन्छन् भन्ने लाग्यो। मैले मनमनै सोचेँ, “यदि मैले निर्देशकको पदका लागि प्रतिस्पर्धा गरेँ र फेरि माथिल्लो पदमा उक्लिएँ भने, के यसले मलाई केवल ख्याति, प्राप्ति र हैसियत पछ्याउने बाटोमा अझ अगाडि लैजाँदैन र? पद जतिसुकै उच्च किन नहोस् वा मेरो जतिसुकै खोजी किन नगरियोस्, म केवल विनाशतिर लैजाने फर्कन नमिल्ने मार्गमा हिँडिरहेकी हुनेछु।” मनमा यो कुरा राखेर, मैले प्रतिस्पर्धाबाट हात झिक्ने निर्णय गरेँ। त्यो क्षण, मैले ठूलो राहत महसुस गरेँ र मेरो हृदय उज्यालो भयो, मानौँ म लामो समयदेखि बाँधिएको बन्धनबाट मुक्त भएकी छु, र मैले साँच्चै तनावमुक्त र स्वतन्त्र महसुस गरेँ।

पछि, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “तैँले आफ्‍नो जीवन कसरी जिउनुपर्छ? तैँले कसरी परमेश्‍वरलाई प्रेम गर्नुपर्छ, र यो प्रेम प्रयोग गरेर उहाँका अभिप्रायहरू पूरा गर्नुपर्छ? तेरो जीवनमा योभन्दा ठूलो विषय छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा, तँसँग यस किसिमको सङ्कल्प र दृढता हुनैपर्छ, र तँ कायर, दुर्बल व्यक्ति बन्‍नु हुँदैन। तैँले अर्थपूर्ण जीवन र अर्थपूर्ण सत्यताहरूको अनुभव गर्न सिक्‍नैपर्छ, र आफूलाई त्यसरी झाराटारूवा व्यवहार गर्नु हुँदैन। तैँले थाहै नपाई, तेरो जीवन बितेर जानेछ; त्यसपछि के तैँले अझै पनि परमेश्‍वरलाई प्रेम गर्ने यस्तो अवसर पाउनेछस्? के मानिसले आफू मरेपछि परमेश्‍वरलाई प्रेम गर्न सक्छ? तँसँग पनि पत्रुसको जस्तै सङ्कल्प र विवेक हुनुपर्छ; तैँले अर्थपूर्ण जीवन जिउनैपर्छ, र आफैसँग खेलबाड गर्नु हुँदैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। परमेश्‍वरका वचनहरूबाट, मैले मानवजातिप्रतिको उहाँको आशा महसुस गरेँ। मैले आफू पहिले कसरी ख्याति, प्राप्ति र हैसियतका लागि जिएकी थिएँ भन्ने कुरा सम्झिएँ। म अब त्यस्तो जीवन जिउन चाहन्नथेँ। आखिरी दिनहरूमा, परमेश्‍वरका यी धेरै वचनमध्ये सबै मानवजातिको आवश्यकताका लागि हुन्। परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गरेर मात्र मानिसहरूले साँचो मानव रूपमा जिउन सक्छन्। मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्नु भनेको परमेश्‍वरले मलाई उच्च पार्नुभएको हो, र आफ्नो कर्तव्य निर्वाह गर्नु मेरो मिसन र जिम्मेवारी हो। मैले परमेश्‍वरका मागहरूअनुसार आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ, निष्ठापूर्वक सत्यता पछ्याउनुपर्छ र केही मानव रूपमा जिउनुपर्छ, र परमेश्‍वरको कुरा सुन्ने र उहाँप्रति समर्पित हुने व्यक्ति बन्नुपर्छ।

मार्च २०२३ मा, म मण्डली अगुवा चुनिएँ। अगुवा हुनु निकै व्यस्तताको काम भएकाले र म अझै शिक्षिकाको रूपमा काम गरिरहेकी हुनाले, मलाई सधैँ दिनको समय अपुग भएजस्तो लाग्थ्यो। त्यसैले मैले शिक्षिकाको जागिरबाट राजीनामा दिने सोच बनाएँ, तर फेरि मैले आफूले राजीनामा दिएमा मेरा नातेदार र छिमेकीहरूले मेरो बारेमा के सोच्लान् भन्नेबारे सोचेँ? के उनीहरूले मलाई यस्तो राम्रो जागिर छोडेकोमा मूर्ख भन्लान्? सायद उनीहरूले मेरो पिठ्युँ पछाडि कुरा काट्लान् वा मलाई गिज्याउलान्! के म केवल मानिसहरूको फुर्सदको गफमा हाँसोको पात्र बन्नेछैन र? म यसबारे जति सोच्थेँ, म त्यति नै व्यथित हुन्थेँ, र केही समयसम्म, मलाई के गर्ने भन्ने थाहा भएन। पछि, मैले परमेश्‍वरका वचनको एउटा खण्ड भेट्टाएँ, र मलाई उज्यालो महसुस भयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “यदि कसैको सामाजिक हैसियत एकदमै कम छ, उसको परिवार निकै गरिब छ, र उसको शैक्षिक स्तर कम छ, तैपनि ऊ व्यावहारिक रूपमा परमेश्‍वरमा विश्‍वास गर्छ, अनि सत्यता र सकारात्मक कुराहरूलाई प्रेम गर्छ भने, परमेश्‍वरका नजरमा उसको मूल्य उच्च हुन्छ कि न्यून, के त्यो कुलीन हुन्छ कि नीच? ऊ मूल्यवान् हुन्छ। त्यसलाई यस दृष्टिकोणबाट हेर्दा, कुनै व्यक्तिको मूल्य—उच्च वा न्यून, कुलीन वा नीच—केमा निर्भर हुन्छ? यो कुरा परमेश्‍वरले तँलाई कसरी हेर्नुहुन्छ, त्यसमा निर्भर हुन्छ। यदि परमेश्‍वर तँलाई सत्यता पछ्याउने व्यक्तिका रूपमा हेर्नुहुन्छ भने, तेरो मूल्य छ र तँ मूल्यवान् होस्—तँ मूल्यवान्‌ पात्र होस्। यदि परमेश्‍वरले तँ सत्यता पछ्याउँदैनस् र निष्कपट रूपमा उहाँप्रति आफूलाई समर्पित गर्दैनस् भन्ने देख्नुहुन्छ भने, तँ बेकार होस् र मूल्यवान्‌ होइनस्—तँ नीच पात्र होस्। तँ चाहे जति नै उच्च शिक्षित भए पनि वा समाजमा तेरो हैसियत चाहे जति नै उच्च भए पनि, यदि तँ सत्यता पछ्याउँदैनस् वा सत्यता बुझ्दैनस् भने, तेरो मूल्य कहिल्यै उच्च हुन सक्दैन; धेरै मानिसहरूले तँलाई साथ दिए पनि, उच्च पारे पनि, र पुजे पनि, तँ काम नलाग्ने वस्तु नै होस्। त्यसोभए, किन परमेश्‍वर मानिसहरूलाई यसरी हेर्नुहुन्छ? यस्तो ‘कुलीन’ व्यक्ति, समाजमा यति उच्च ओहोदा भएको, यति धेरै मानिसले उच्च पार्ने र मान गर्ने, प्रतिष्ठासमेत यति उच्च भएको व्यक्तिलाई परमेश्‍वरले किन नीच देख्नुहुन्छ? किन परमेश्‍वरले मानिसहरूलाई हेर्ने तरिका मानिसहरूले अरूलाई हेर्ने दृष्टिकोणभन्दा पूर्णतया भिन्न छ? के परमेश्‍वर आफूलाई जानाजान मानिसहरूविरुद्ध राख्दै हुनुहुन्छ? बिलकुलै होइन। किनभने, परमेश्‍वर सत्यता हुनुहुन्छ, परमेश्‍वर धार्मिकता हुनुहुन्छ, जबकि मानिस भ्रष्ट छ र उसमा सत्यता वा धार्मिकता छैन, र परमेश्‍वर मानिसलाई आफ्नो मानकअनुसार मापन गर्नुहुन्छ, अनि मापन गर्ने उहाँको मानक सत्यता हो। त्यसो भन्दा अलि अमूर्त लाग्ला, त्यसैले यसलाई अर्को तरिकाले भन्नुपर्दा, परमेश्‍वरको मापन गर्ने मानक उहाँप्रतिको व्यक्तिको मनोवृत्ति, सत्यताप्रतिको उसको मनोवृत्ति, र सकारात्मक कुराहरूप्रतिको उसको मनोवृत्तिमा आधारित हुन्छ—यो अब अमूर्त छैन(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग एक))। परमेश्‍वरका वचनहरू पढेपछि, मैले महसुस के गरेँ भने, आज परमेश्‍वरसामु आउन र सृजित प्राणीको कर्तव्य निर्वाह गर्न सक्नु नै सबैभन्दा ठूलो आशिष्‌ हो। परमेश्‍वर संसारमा मानिसको हैसियत वा पद कति उच्च छ, वा कति मानिसहरूले उसलाई सम्मान वा आदर गर्छन् भन्ने आधारमा मानिसको मूल्याङ्कन गर्नुहुन्न। परमेश्‍वर त मानिस उहाँसामु आउन, उहाँको आवाज सुन्न, र उहाँको मुक्ति स्वीकार गर्न सक्छ कि सक्दैन, र मानिसले आफ्नो आस्थामा सत्यता पछ्याउन र सकारात्मक कुराहरूलाई प्रेम गर्न सक्छ कि सक्दैन भनेर हेर्नुहुन्छ। यदि कोही परमेश्‍वरसामु आउन र उहाँका मागहरूअनुसार कार्य गर्न सक्छ भने, त्यो व्यक्ति परमेश्‍वरको नजरमा बहुमूल्य हुन्छ। परमेश्‍वर त्यस्ता मानिसहरूलाई अनमोल ठान्नुहुन्छ। यसको विपरीत, यदि कुनै व्यक्तिको उच्च सामाजिक हैसियत र ठूलो शक्ति छ, तर ऊ परमेश्‍वरसामु आउँदैन वा उहाँको मुक्ति स्वीकार गर्दैन भने, त्यस्तो व्यक्ति परमेश्‍वरका लागि घृणित हुन्छ, किनकि उसले जिउने कुराहरू केवल दुष्ट र नकारात्मक हुन्छन्। यो महसुस गरेपछि, मैले ठूलो स्वतन्त्रता पाएको अनुभव गरेँ। परमेश्‍वरका लागि आफूलाई तनमनले समर्पित गर्न सक्नु ठूलो आशिष्‌ हो। परमेश्‍वरका वचनहरूमा आधारित भएर मानिस र कामकुराहरूलाई हेर्न, आफूलाई आचरणमा ढाल्न र कार्य गर्नका लागि परमेश्‍वरको घरमा सत्यता पछ्याउने मार्गमा हिँडेर मात्र यस्तो पछ्याइ अर्थपूर्ण र मूल्यवान् हुन सक्छ। त्यसैले मैले कुनै थप हिचकिचाहटबिनै वरिष्ठ अधिकारीलाई राजीनामा बुझाएँ। केही समयपछि, मेरो राजीनामा स्वीकृत भयो, र मैले आफूलाई मण्डलीका कर्तव्यहरूमा पूर्णकालीन रूपमा समर्पित गरेँ। मलाई ख्याति, प्राप्ति र हैसियतको बन्धनबाट उद्धार गर्नुभएकोमा, र मलाई जीवनको सही दिशा फेला पार्न मद्दत गर्नुभएकोमा म परमेश्‍वरलाई धन्यवाद दिन्छु!

अघिल्लो: ३०. मैले कसरी हड्डीको क्यान्सरको सामना गरेँ

अर्को: ३२. मैले आफ्ना अपराधलाई कसरी लिनुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्