३०. मैले कसरी हड्डीको क्यान्सरको सामना गरेँ
सन् २०१९ को अक्टोबरको एक दिन, मेरो खुट्टा असाध्यै दुख्यो, अनि दुखाइ कम गर्ने औषधीले समेत काम गरिरहेको थिएन। मैले एक जना सिस्टरलाई सम्झिएँ जसको खुट्टा दुखेको र अस्पतालमा उपचार गरेपछि निको भएको थियो। मैले सोचेँ, “यो सायद त्यस्तो गम्भीर केही होइन होला। जे भए पनि, मैले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेकी छु, र मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्दै आएकी छु। त्यतिबेला, मैले मेरो स्थिर जागिर र विवाह त्यागेकी थिएँ। मैले ठूलो रातो अजिङ्गरको सतावट अनि संसारको खिल्ली र अपजस पनि भोगेकी छु। तर म सधैँ आफ्नो आस्था र कर्तव्यहरूमा दृढ रहँदै आएकी छु। मैले यति ठूलो मूल्य चुकाएकी छु, त्यसैले म साँच्चै बिरामी परेँ भने पनि, परमेश्वरले मलाई सुरक्षा दिनुहुनेछ र निको पार्नुहुनेछ भन्ने मलाई विश्वास छ।” म लङ्गडाउँदै हिँड्नुपरे पनि, मैले आफ्नो कर्तव्य निर्वाह गर्न छाडिनँ।
सन् २०२० को जुन महिनामा, मेरो देब्रे खुट्टा झन्-झन् खराब हुँदै गयो, र म सामान्य रूपमा हिँड्न नसक्ने भएँ। चेकजाँचका लागि अस्पताल गएपछि, डाक्टरले मेरो खुट्टाको एक्सरे हेर्नुभयो र मलाई भन्नुभयो, “तपाईँलाई क्यान्सर भएको छ, र तपाईँको खुट्टाको दुखाइ ट्युमरको कारणले भएको हो। तपाईँ अस्पताल भर्ना हुनुपर्छ, र अहिलेको लागि तपाईँले हिँडडुल गर्न मिल्दैन।” डाक्टरले मलाई क्यान्सर भएको छ भनेको सुन्दा, मेरो शरीरको सबै शक्ति हरायो, र मेरा आँखाबाट आँसु थामिनै सकेन। म धेरै डराएँ, र सोचेँ, “यो कसरी क्यान्सर हुन सक्छ? अहिले परमेश्वरको काम अन्तिम चरणमा छ। ब्रदर-सिस्टरहरू सबैले सक्रिय रूपमा आ-आफ्नो कर्तव्य निर्वाह गरिरहनुभएको छ, तर अब मलाई क्यान्सर भएकाले, के यसको अर्थ मैले आफ्नो कर्तव्य निर्वाह गर्न सक्नेछैन भन्ने हो? के यसको मतलब मैले मुक्ति पाउने र राज्यमा प्रवेश गर्ने कुरामा मेरो कुनै हिस्सा छैन भन्ने हुनेछैन र?” मैले मेरी आमालाई सम्झिएँ जसलाई ठूलो आन्द्राको क्यान्सर भएको थियो। भर्खरै शल्यक्रिया गरेर उहाँको ट्युमर हटाइएको थियो र केमोथेरापी पनि गर्नुभएको थिएन, र धेरै वर्ष बित्दा पनि उहाँको क्यान्सर बल्झिएको थिएन। मण्डलीका केही ब्रदर-सिस्टरहरू पनि क्यान्सर भएर निको हुनुभएको थियो। मलाई के लाग्यो भने परमेश्वरलाई पाएदेखि नै मैले निरन्तर आफ्नो कर्तव्य निर्वाह गर्दै आएकी हुनाले, उहाँले मलाई सुरक्षा दिनुहुनेछ। त्यसपछि मैले अस्पतालमा विभिन्न परीक्षणहरू गराएँ। निदान गर्दा हड्डीको क्यान्सर भएको पत्ता लाग्यो, र ट्युमर ८ सेन्टिमिटरसम्म बढिसकेको रहेछ। डाक्टरले यदि समयमै उपचार गरिएन भने, मेरो देब्रे खुट्टा काट्नुपर्ने हुन सक्छ भन्नुभयो। उहाँहरूले मेरो फोक्सोमा पनि एउटा दाग भेट्टाउनुभयो। क्यान्सरका कोशिकाहरू त्यहाँ फैलिएका छन् कि छैनन् भन्नेमा उहाँहरू निश्चित हुनुहुन्नथियो, तर यदि फैलिएका भए, शल्यक्रिया गर्नु आवश्यक हुनेथिएन, किनभने म सायद तीन महिना मात्र बाँच्नेथिएँ। यो निदान सुनेर, म फेरि चिन्तित नभई बस्न सकिनँ, र मैले मनमनै सोचेँ, “यदि क्यान्सरका कोशिकाहरू मेरो फोक्सोमा फैलिएका छन् भने, के म मर्नेछैन र?” त्यो रात, म ओछ्यानमा कोल्टे फेर्दै रहेँ, मलाई निद्रै लागेन। मैले आफ्ना कर्तव्यहरू पूरा गर्नका लागि कसरी सबै कुरा त्यागेकी थिएँ भन्ने बारेमा सोचेँ। यी वर्षहरूमा, मैले धेरै मेहनत गरेकी थिएँ र धेरै दौडधूप गरेकी थिएँ, तर अहिले मैले परमेश्वरका आशिष्हरू नपाएकी मात्र होइन, उल्टै मलाई क्यान्सर भएको थियो। मलाई परमेश्वरले मेरो सुरक्षा नगर्नुभएको जस्तो लाग्यो। मैले जति यसबारे सोचेँ, त्यति नै मेरो हृदय भारी भयो। पछि, म परमेश्वरका वचन पढ्नका लागि आफ्नो हृदयलाई शान्त पार्नै सकिनँ, र मेरा दिनहरू निरन्तर चिन्तामा बिताएँ। म परमेश्वरको सामु आएँ र प्रार्थना गरेँ, “हे परमेश्वर, मलाई मेरा क्यान्सरका कोशिकाहरू फैलिनेछन्, र म मर्नेछु भन्ने कुराले चिन्तित छु, र म आफूलाई दुःख र छटपटीमा डुबेको पाउँछु। कृपया मलाई यस परिस्थितिमा पाठ सिक्न मार्गदर्शन गर्नुहोस्।” मेरो खोजाइको क्रममा, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “सर्वशक्तिमान् परमेश्वर, यावत् थोकका शिरले, सिंहासनबाट आफ्नो राजकीय शक्ति चलाउनुहुन्छ। उहाँले ब्रह्माण्ड र यावत् थोकमाथि शासन गर्नुहुन्छ, र सारा पृथ्वीमा हामीलाई मार्गदर्शन गर्दै हुनुहुन्छ। हर समय उहाँको नजिक होऊ, र चुपचाप उहाँसामु आऊ, एक पल पनि कहिल्यै नगुमाऊ—सिक्नका लागि सधैँ पाठहरू हुन्छन्। वरपरको वातावरण, साथसाथै मानिस, घटना, र कामकुराहरू, उहाँको सिंहासनको अनुमतिद्वारा अस्तित्वमा छन्। तिमीहरूको हृदयमा कदापि गुनासोहरू पैदा हुन नदेओ, नत्र परमेश्वरले तिमीहरूमाथि आफ्नो अनुग्रह प्रदान गर्नुहुनेछैन। तँमाथि बिमारी आइपर्दा, त्यो परमेश्वरको प्रेम हो, र त्योभित्र निश्चय नै उहाँका असल अभिप्रायहरू समावेश हुन्छन्। तेरो देहले अलिकति कष्ट भोग्नुपर्ने भए तापनि, शैतानबाट कुनै विचारहरू नस्विकार्। रोगका बीचमा परमेश्वरको प्रशंसा गर् र तेरो प्रशंसाका बीचमा परमेश्वरको आनन्द लिई। रोग सामना गर्दा निराश नबन्, बारम्बार खोजी गर् अनि हरेस नखा, अनि परमेश्वरले तँलाई ज्योति र अन्तर्दृष्टि दिनुहुनेछ। अय्यूबको आस्था कस्तो थियो? सर्वशक्तिमान् परमेश्वर सर्व-शक्तिशाली वैद्य हुनुहुन्छ! बिमारीमा बास गर्नु भनेको बिरामी हुनु हो, तर आत्मामा बास गर्नु भनेको स्वस्थ हुनु हो। तँसँग अझै पनि एक सास बाँकी रहेसम्म, परमेश्वरले तँलाई मर्न दिनुहुनेछैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ६)। परमेश्वरले ब्रह्माण्ड र यावत् थोकलाई नियन्त्रण गर्नुहुन्छ, त्यसैले के मेरो जीवन उहाँको हातमा छैन र? मलाई क्यान्सर हुनु परमेश्वरको अनुमतिद्वारा भएको थियो, र त्यहाँ मैले सिक्नुपर्ने एउटा पाठ थियो। मैले एक जना सिस्टरको अनुभव सम्झिएँ। उहाँलाई अन्तिम चरणको मलाशयको क्यान्सर थियो, र डाक्टरहरू सबैले उहाँको रोग निको नहुने खालको छ भनेका थिए। तर उहाँले निरन्तर परमेश्वरलाई प्रार्थना गरिरहनुभयो, परमेश्वरको वचन खानु-पिउनुभयो, अनि आस्थाको बलमा यो परिस्थितिलाई पार गर्नुभयो। अन्त्यमा, उहाँको रोग चमत्कारिक रूपमा निको भयो। मैले मानिसको जीवन र मृत्यु डाक्टरहरूले निर्धारण गर्ने होइन, यो त परमेश्वरको हातमा हुन्छ भन्ने देखेँ। मलाई यो क्यान्सर भएको भए पनि, यदि परमेश्वरले मलाई जीवित राख्न चाहनुभयो भने, क्यान्सरका कोशिकाहरू फैलिए पनि म मर्नेथिइनँ। तर यदि मेरो समय आएको थियो भने, कसैले पनि मलाई बचाउन सक्नेथिएन। यी सबै कुरा परमेश्वरद्वारा नै पूर्वनिर्धारित थिए। मैले आफूलाई परमेश्वरमा सुम्पनुपर्थ्यो, र रिपोर्ट आउन्जेल पर्खँदा, मैले परमेश्वरका वचन अझ बढी खानु-पिउनुपर्थ्यो अनि उहाँको नजिक हुनुपर्थ्यो। मैले वास्तवमै परमेश्वरमा भर पर्नुपर्थ्यो र उहाँका वचनहरू अनुभव गर्नुपर्थ्यो। अय्यूबले जस्तै, परमेश्वरले जसरी काम गर्नुभएको भए पनि, मैले परमेश्वरको डर मान्ने हृदय कायम राख्नुपर्थ्यो र उहाँप्रति समर्पित हुनुपर्थ्यो। यही नै परमेश्वरको अभिप्रायअनुरूपको काम हो। परमेश्वरका वचनले मेरो हृदयलाई शान्त पारे, र म उप्रान्त धेरै निराश भइनँ।
पन्ध्र दिनपछि, डाक्टरले क्यान्सरका कोशिकाहरू फैलिएका छैनन्, र शल्यक्रिया गर्न सकिन्छ भनेर भन्नुभयो। म साँच्चै भावविह्वल भएँ, र मैले परमेश्वरलाई धन्यवाद नदिई बस्नै सकिनँ। डाक्टरले मेरो नितम्बको हड्डीमा भएको ट्युमर निकै ठूलो छ र शल्यक्रिया धेरै जोखिमपूर्ण छ भन्नुभए पनि, मलाई अब डर लागेन। परमेश्वरको सुरक्षाले गर्दा, शल्यक्रिया अत्यन्त सफल भयो। दश दिनपछि, म निको हुनका लागि पुनर्स्थापना अस्पतालमा गएँ। मेरो नितम्बको हड्डीको दुखाइ र खुट्टाको लाटोपनका कारण, म ह्विलचेयरमा एक घण्टाभन्दा बढी बस्न सक्दिनथेँ, र मैले हरेक दिन धेरै दुखाइ कम गर्ने औषधीहरू खानुपर्थ्यो। म ओछ्यानमा कोल्टे फेर्न पनि सक्दिनथेँ, र राति दुखाइले गर्दा म बारम्बार ब्युँझिरहन्थेँ। मैले मनमनै सोचेँ, “यी कष्टकर दिनहरू कहिले सकिएलान्? म प्रार्थना गरिरहेकी छु अनि परमेश्वरको वचन खाने-पिउने गरिरहेकी छु, तैपनि परमेश्वरले किन मेरो दुखाइ कम गर्नुभएको छैन? अलिकति मात्र राहत भएको भए पनि राम्रो हुन्थ्यो र मलाई यति धेरै कष्ट त हुनेथिएन! हड्डीको दुखाइले गर्दा मलाई बाँच्नुभन्दा मर्नु नै बेस होला जस्तो गराउँछ। बरु म मर्न पाए यो कष्टबाट मुक्त हुन्थेँ होला।” तर फेरि मैले सोचेँ, “के म परमेश्वरसँग तर्कवितर्क गरिरहेकी छैन र?” मेरो पीडामा, म परमेश्वरको सामु आएँ र प्रार्थना गरेँ, “हे परमेश्वर, म धेरै कमजोर र दिक्दार महसुस गर्दै छु, र मेरो शरीरको दुखाइ सहन नसक्ने खालको छ। कृपया मलाई अबउप्रान्त गुनासो गर्न वा मेरा बोलीद्वारा पाप गर्नबाट जोगाउनुहोस्, र कृपया मलाई यस परिस्थितिमा मेरो गवाहीमा दृढ रहन सक्षम बनाउनुहोस्।” त्यस क्षण, मैले फेरि अय्यूबको अनुभव सम्झिएँ, र मैले पढ्नको लागि परमेश्वरका वचनको एउटा खण्ड भेट्टाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “परमेश्वरको अनुमति प्राप्त गरिसकेपछि, शैतान दगुरेर अय्यूबको अघि गयो, र तिनको छालामा कष्ट दिनका लागि आफ्नो हात बढायो र यसले गर्दा तिनको शरीरभरि खटिरा निस्क्यो, अनि अय्यूबले आफ्नो छालामा पीडा अनुभूति गरे। अय्यूबले यहोवा परमेश्वरको अद्भुतता र पवित्रताको प्रशंसा गरे, जसले शैतानको धृष्टतामा झनै उद्दण्डता ल्यायो। मानिसलाई चोट पुर्याउँदा शैतानलाई आनन्द महसुस भयो, यसैले यसले आफ्नो हात तन्कायो र अय्यूबको शरीरलाई प्रहार गर्यो, जसले गर्दा तिनको शरीरका खटिरा पाके। अय्यूबले तुरुन्तै आफ्नो शरीरमा अतुलनीय दुखाइ र पीडा महसुस गरे, र आफ्नो हातले शिरदेखि पाउसम्म सुमसुम्याउन बाध्य भए, मानौँ देहको पीडाद्वारा तिनको आत्मामा पुगेको चोटलाई यसले नै कम गर्छ। तिनलाई लाग्यो कि परमेश्वर तिनको छेवैमा रही तिनलाई हेर्दै हुनुहुन्छ, अनि तिनले आफैलाई सक्दो बलियो बनाउने कोसिस गरे। तिनले फेरि भुइँमा घुँडा टेके, र भने: ‘तपाईंले मानिसको हृदयभित्र हेर्नुहुन्छ, तपाईं उसको दुःख देख्नुहुन्छ; किन उसको कमजोरीले तपाईंलाई चिन्तित बनाउँछ? यहोवा परमेश्वरको नाउँको प्रशंसा होस्।’ शैतानले अय्यूबको असह्य पीडा त देख्यो, तर अय्यूबले यहोवा परमेश्वरको नाउँलाई त्यागेको देखेन। यसैले तिनका अङ्गहरू टुक्राटुक्रा पार्ने उत्कट इच्छा गर्दै त्यसले अय्यूबका हाडहरूमा कष्ट पुर्याउनका लागि झट्टै आफ्नो हात फैलायो। तुरुन्तै, अय्यूबले अभूतपूर्व यातना महसुस गरे; मानौँ तिनका हाडहरूबाट मासु च्यातेर निकालिएको छ, मानौँ तिनका हाडहरू टुक्राटुक्रा पारी काटिएका छन्। यो कष्टदायी यातनाले गर्दा तिनले मर्नु नै राम्रो हुन्छ भनी सोचे…। पीडा सहने तिनको क्षमता सीमामा पुगिसकेको थियो…। तिनी चिच्याउन चाहन्थे, तिनी पीडा कम गर्ने प्रयासमा आफ्नो शरीरको छाला च्यात्न चाहन्थे—तैपनि तिनले आफ्नो चिच्याहट रोके, अनि आफ्नो शरीरको छाला च्यातेनन्, किनकि शैतानले तिनको कमजोरी देखोस् भन्ने तिनले चाहेनन्। त्यसैले अय्यूबले फेरि एकपटक घुँडा टेके, तर यसपटक तिनले यहोवा परमेश्वरको उपस्थिति महसुस गरेनन्। तिनलाई थाहा थियो, यहोवा परमेश्वर सधैँ तिनको अघि, तिनको पछाडि र तिनको दुवैपट्टि रहनुहुन्थ्यो। तर तिनको पीडाको घडीमा, परमेश्वरले एकपटक पनि हेर्नुभएन; उहाँले आफ्नो अनुहार छोप्नुभयो र लुक्नुभयो, किनकि उहाँले मानिसको सृष्टि गर्नुको अर्थ मानिसमाथि दुःख ल्याउनु थिएन। यस समयमा, अय्यूब रुँदैथिए र यो शारीरिक पीडा सहने सक्दो प्रयास गर्दैथिए, तैपनि तिनले अझै पनि परमेश्वरलाई धन्यवाद दिनबाट आफूलाई रोक्न सकेनन्: ‘मानिस पहिलो प्रहारमा ढल्छ, ऊ कमजोर र शक्तिहीन छ, ऊ जवान र अज्ञानी छ—तपाईं किन उसको त्यति धेरै वास्ता गर्नु र कोमल हुन चाहनुहुन्छ? तपाईंले मलाई प्रहार गर्नुभयो, तैपनि त्यसो गर्दा तपाईंलाई दुःख लाग्छ। मानिसको मोल कति छ र तपाईं त्यसको वास्ता र फिक्री गर्नुहुन्छ?’ अय्यूबका प्रार्थनाहरू परमेश्वरको कानमा पुगे, तर परमेश्वर मौन रहनुभयो, कुनै आवाजविना हेरी मात्र बस्नुभयो …” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २)। परमेश्वरका वचन पढेपछि, मेरा आँखाबाट आँसु आए। मैले शैतानले अय्यूबलाई कसरी हानि पुर्यायो भन्ने सबै तरिका देखेँ। अय्यूबका खटिराहरू पाकेका थिए, र उनको शरीर र हाडको दुखाइले उनलाई बाँच्नुभन्दा मर्नु नै बेस हो भन्ने महसुस गराएको थियो, तर उनले आफ्नो क्रन्दनलाई रोके र परमेश्वरसामु प्रार्थना गर्न घुँडा टेके, अनि उनले एउटै गुनासो नगरी अत्यधिक पीडा सहे, र अझै पनि परमेश्वरको पवित्र नामको प्रशंसा गरे। अन्त्यमा, उनी आफ्नो गवाहीमा दृढ रहे, र शैतानलाई लज्जित पारे। आफूलाई अय्यूबसँग दाँज्दा, मलाई साँच्चै लाज लाग्यो, र मेरो कद कति दयनीय रूपमा सानो रहेछ भन्ने मैले देखेँ। मैले परमेश्वरको सामु म परमेश्वरप्रति समर्पित हुनेछु र उहाँका जाँचहरू स्वीकार गर्नेछु भनेकी थिएँ, तर जब मेरो शरीरको दुखाइ हटेर गएन, तब म परमेश्वरसँग तर्कवितर्क गर्न थालेँ, उहाँलाई मेरो शारीरिक कष्ट कम गरिदिन आग्रह गर्न थालेँ, र म त आफ्नो मृत्युलाई प्रयोग गरेर परमेश्वरलाई बाध्य पार्न समेत चाहन्थेँ। म साँच्चै असमझदार थिएँ! म अय्यूबको उदाहरण पछ्याउन र परमेश्वरका लागि आफ्नो गवाहीमा दृढ रहन चाहन्थेँ, र मेरो हड्डीको दुखाइ वा शरीरको असहजता जस्तोसुकै भए पनि, मैले गुनासो गर्नु हुँदैनथ्यो! यद्यपि शरीरको दुखाइले मलाई धेरै असहज पारिरहेको थियो, तर मलाई परमेश्वरका वचनबाट पोषण मिलिरहेको थियो, र म हरेक दिन मेरा ब्रदर-सिस्टरहरूका अनुभवात्मक गवाहीहरू पढ्थेँ, जीवन प्रवेशसम्बन्धी प्रवचन र सङ्गतिहरू सुन्थेँ, अनि मेरो हृदयले कम तिक्तता महसुस गर्न थाल्थ्यो।
त्यसको केही समयपछिको एक दिउँसो, मेरो घाउबाट अचानक धेरै पिप र रगत बग्न थाल्यो, र डाक्टरले एक्सरे गरेपछि, उहाँहरूले मेरो तिघ्रामा भएको सपोर्ट फ्रेम फुस्किएको र त्यसलाई फेरि राख्नुपर्ने कुरा पत्ता लगाउनुभयो। शल्यक्रियापछि, मलाई उच्च ज्वरो आयो जुन घट्दै घट्दैनथ्यो, र म मृत्युको सङ्घारमा थिएँ। डाक्टरले मेरो घाउमा गम्भीर सङ्क्रमण भएको छ, मेरो ज्यान जोखिममा छ, र सपोर्ट फ्रेम निकाल्नुपर्छ, अनि मैले हप्ताको दुईदेखि तीनपटक घाउ सफा गर्ने शल्यक्रिया गर्नुपर्छ भन्नुभयो। हरेक पटक एमआरआई गर्दा, मैले करिब चालीस मिनेटसम्म पल्टेर रहनुपर्थ्यो, र मेरो पुठ्ठा असाध्यै दुख्थ्यो, मानौँ त्यसलाई कुनै तिखो वस्तुले घोचिरहेको छ। त्यो क्षणमा, म पूर्ण रूपमा टुटिसकेकी थिएँ, र सोचेँ, “म यति बिरामी छु, निको हुने र फेरि हिँड्ने कुरा त परै जाओस्, म कुनै पनि बेला मर्न सक्छु। कतै परमेश्वरले मलाई दण्ड दिइरहनुभएको त होइन? के परमेश्वरले मैले गरेका त्यागहरू र मैले कसरी आफूलाई समर्पित गरेकी छु भन्ने कुरा याद राख्नुहुन्न र? मैले कुनै योगदान नदिएकी हुँला, तर मैले दुःखकष्ट त सहेकी छु। यसरी बाँच्नुभन्दा त मर्नु नै बेस हुनेथ्यो। तर मृत्यु खोज्नु परमेश्वरको अभिप्रायअनुरूप छैन। तर म यो निरन्तरको दुखाइ अब सहन सक्दै सक्दिनँ। परमेश्वरले मेरो दुखाइ अलिकति मात्र कम गरिदिनुभए हुन्थ्यो। किन परमेश्वरले ममाथि कृपा देखाउनुहुन्न र मेरो रोग निको पार्नुहुन्न?” पछि, मलाई म फेरि पनि परमेश्वरसँग तर्कवितर्क गरिरहेकी र उहाँको विरोध गरिरहेकी छु भन्ने महसुस भयो, र मलाई अत्यन्त ग्लानिबोध भयो। मैले रुँदै परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मेरो रोग अचानक बिग्रिएको छ, र म मेरा दिनहरू कष्टमा बिताइरहेकी छु। यस परिस्थितिमा मैले खोज्नुपर्ने सत्यताहरू छन् भन्ने मलाई थाहा छ, तर म अझै पनि तपाईँसँग तर्कवितर्क नगरी बस्नै सक्दिनँ। म साँच्चै विद्रोही छु! हे परमेश्वर, कृपया मलाई मेरा समस्याहरू जान्नका लागि अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस्।” प्रार्थना गरेपछि, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “धेरै मानिसहरू ममा केवल यस कारणले विश्वास गर्छन् कि म उनीहरूलाई निको पारिदिऊँ। धेरैले ममा मैले तिनीहरूको शरीरबाट अशुद्ध आत्माहरू निकाल्न मेरो आफ्नो शक्ति प्रयोग गरूँ भनेर मात्र विश्वास गर्छन्, अनि धेरैले ममा तिनीहरूले मबाट शान्ति र आनन्द प्राप्त गर्न सकून् भनेर मात्र विश्वास गर्छन्। मबाट अझ धेरै भौतिक सम्पत्ति माग गर्नलाई मात्र धेरैले ममा विश्वास गर्छन्। यस जीवनलाई शान्तिमा बिताउन र आउने संसारमा सुरक्षित र सकुशल हुनलाई मात्रै धेरैले ममा विश्वास गर्छन्। नरकको कष्टहरूबाट बच्न र स्वर्गका आशिष्हरू प्राप्त गर्नलाई धेरैले ममा विश्वास गर्छन्। धेरैले अस्थायी सहजताका निम्ति मात्र ममा विश्वास गर्छन्, तैपनि आउने संसारको कुनै पनि कुरा प्राप्त गर्न खोज्दैनन्। जब म मेरो क्रोध मानिसहरूलाई प्रदान गर्छु र कुनै समय तिनीहरूसँग भएका सबै आनन्द र शान्ति खोस्छु, तब तिनीहरू सशङ्कित हुन्छन्। जब म मानिसहरूलाई नरकको कष्ट प्रदान गरेर स्वर्गको आशिष् फिर्ता लिन्छु, तब तिनीहरू क्रोधित हुन्छन्। जब मानिसहरू आफूलाई निको पारिदिन भनी मलाई बिन्ती गर्छन् र म तिनीहरूलाई ध्यान दिन्नँ र तिनीहरूप्रति घृणा महसुस गर्छु, तब तिनीहरू मबाट टाढा जान्छन् र बरु दुष्ट औषधि र टुनामुनाको मार्ग खोज्नतिर लाग्छन्। जब म मानिसहरूले मबाट माग गरेका सबैथोक खोस्छु, तिनीहरू सबैजना कुनै नामनिसानविनै गायब हुन्छन्। त्यसैले त म भन्छु, मैले प्रदान गर्ने अनुग्रह अत्यन्तै प्रशस्त भएको हुनाले र प्राप्त गर्नका लागि प्रशस्त लाभहरू भएकाले नै मानिसहरूले ममा विश्वास गर्ने गर्छन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विश्वासको बारेमा तँलाई के थाहा छ?)। परमेश्वरको हरेक वचनले मेरो हृदय छेड्यो। मेरो स्थिति र व्यवहार ठ्याक्कै त्यस्तै थियो जस्तो परमेश्वरले खुलासा गर्नुभएको थियो। मैले मेरो आस्थामा परमेश्वरलाई परमेश्वरको रूपमा व्यवहार गरिरहेकी थिइनँ, मैले त केवल परमेश्वरलाई एक डाक्टरको रूपमा, जसबाट मैले अनुग्रह र आशिषको माग गर्न सक्छु, त्यस्तो व्यक्तिको रूपमा व्यवहार गरिरहेकी थिएँ। परमेश्वरमाथिको मेरो आस्थामा आफ्ना कर्तव्यहरू निर्वाह गर्न सबै कुरा त्याग्न सक्नु भनेको केवल परमेश्वरबाट अनुग्रह र आशिष् प्राप्त गर्नका लागि मात्र थियो। म सोच्थेँ, जबसम्म म लगनशीलताका साथ आफ्नो कर्तव्य निर्वाह गर्छु, कष्ट भोग्छु, र मूल्य चुकाउँछु, तब म बिरामी परेँ भने पनि, परमेश्वरले मलाई सुरक्षा दिनुहुनेछ र निको पार्नुहुनेछ। म ठान्थेँ, जब महाविपत्ति आउँछ, म बाँच्नेछु र परमेश्वरद्वारा मुक्ति पाउनेछु, अनि उहाँको राज्यमा प्रवेश गर्नेछु। त्यसैले, मेरो परिवार मेरो बाटोमा तगारो बन्दा, मैले ठूलो रातो अजिङ्गरको सतावट भोग्दा, र मेरा कर्तव्यहरूमा मैले जतिसुकै दुःख पाए पनि, म परमेश्वरको पछि नै लागेँ। विशेष गरी जब मैले मेरी आमा क्यान्सरबाट निको हुनुभएको देखेँ, तब मलाई परमेश्वरले मेरो रोग पनि निको पार्नुहुनेछ भन्ने लाग्यो। यसले मलाई मेरा कर्तव्यहरूमा अझ सक्रिय बनायो। तर जब मैले उपचारको क्रममा कष्ट भोगेँ, जब मेरो अवस्था बिग्रन थाल्यो, र जब मैले मृत्युको सामना गर्नुपर्यो, तब म परमेश्वरसँग तर्कवितर्क गर्न र गुनासो गर्न थालेँ। मैले परमेश्वरले मेरा वर्षौँदेखिका त्याग र समर्पणलाई हेर्नुपर्छ र मलाई निको पार्नुपर्छ, अनि मलाई मेरो यो पीडाबाट छुटकारा दिनुपर्छ भनी माग गरेँ। म मेरा त्याग र समर्पणलाई प्रयोग गरेर परमेश्वरसँग सम्झौता गर्ने प्रयास गरिरहेकी थिएँ, र म परमेश्वरसँग मोलमोलाइ गर्ने कोसिस गरिरहेकी थिएँ। मैले परमेश्वरलाई मलाई निको पार्न सक्ने डाक्टर र सबै समस्या समाधान गर्ने साधन जस्तै ठानेकी थिएँ। म परमेश्वरप्रति माग र अनुरोधहरूले भरिएकी थिएँ। ममा कुनचाहिँ तरिकाले विवेक, समझ, वा परमेश्वरको डर मान्ने हृदय थियो र? यदि मैले मेरो भ्रष्ट स्वभाव समाधान गर्न सत्यता खोजिनँ भने, म पक्कै पनि परमेश्वरद्वारा घृणित हुनेथिएँ र हटाइनेथिएँ। मैले मेरो यो मनोवृत्ति बदल्नैपर्थ्यो।
पछि, मैले परमेश्वरका थप वचनहरू पढेँ: “मानिसहरूले परमेश्वरसँग सधैँ माग गर्नु कस्तो समस्या हो? अनि तिनीहरूले परमेश्वरबारे सधैँ धारणा राख्नु कस्तो समस्या हो? मानिसको प्रकृतिमा के छ? मैले के पत्ता लगाएको छु भने, चाहे मानिसहरूलाई जेसुकै आइपरोस्, वा तिनीहरू जे कुरासँग जुधिरहेका होऊन्, तिनीहरू सधैँ आफ्नो हितको रक्षा गर्छन् र आफ्नै देहको चिन्ता गर्छन्, अनि सधैँ आफूलाई फाइदा हुने कारण वा बहानाहरू खोज्छन्। तिनीहरू अलिकति पनि सत्यता खोज्दैनन् वा सत्यता स्वीकार गर्दैनन्, र तिनीहरूले गर्ने सबै कुरा आफ्नै देहलाई सही साबित गर्नु र आफ्नै भविष्यका खातिर योजना बनाउनु मात्रै हुन्छ। तिनीहरू सधैँ परमेश्वरबाट अनुग्रह माग्छन्, आफूले पाउन सक्ने जति फाइदाहरू पाउन चाहन्छन्। किन मानिसहरू परमेश्वरसँग यति धेरै माग गर्छन्? यसले मानिसहरूको प्रकृति नै लोभी हुन्छ, र परमेश्वरको सामु, तिनीहरूको बिलकुलै समझ हुँदैन भनी प्रमाणित गर्छ। मानिसहरूले जे-जति गर्छन्—चाहे प्रार्थना गर्दा होस् वा सङ्गति गर्दा होस् वा प्रवचन दिँदा होस्—तिनीहरूले सोच्ने कुरा, र तिनीहरूले पछ्याउने र चाहना गर्ने कुरा, सधैँ परमेश्वरबाट केही प्राप्त गर्न सकिन्छ कि भन्ने आशामा उहाँबाट कुराहरू माग्नु र याचना गर्नुमै सीमित हुन्छ। कतिपय मानिसहरूले ‘यो मानव प्रकृतिमा निर्भर हुन्छ’ भन्छन्, जुन सही हो। यसका साथै, मानिसहरूले परमेश्वरसँग धेरै मागहरू राख्नु र धेरै अत्यधिक चाहनाहरू राख्नुले मानिसहरू पूर्ण रूपमा विवेक र समझविहीन छन् भनी प्रमाणित गर्छ। तिनीहरू सबै आफ्नै लागि चीजहरूको माग र अनुरोध गरिरहेका हुन्छन्, वा आफूलाई सत्य साबित गर्ने र बहानाहरू बनाउने प्रयास गरिरहेका हुन्छन्—तिनीहरू यो सबै आफ्नै लागि गर्छन्। धेरै कुरामा के देख्न सकिन्छ भने मानिसहरूले गर्ने कुरा पूर्णतया समझहीन हुन्छ, जसले ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’ भन्ने शैतानी तर्क मानिसको प्रकृति बनिसकेको छ भन्ने कुरालाई पूर्ण रूपमा प्रमाणित गर्छ। मानिसहरूले परमेश्वरसँग अति धेरै माग गर्नुले कुन समस्यालाई चित्रण गर्दछ? यसले के चित्रण गर्दछ भने, शैतानले मानिसहरूलाई एक निश्चित हदसम्म भ्रष्ट बनाएको छ, र तिनीहरूले परमेश्वरमा विश्वास गर्दा उहाँलाई परमेश्वरको रूपमा बिलकुलै व्यवहार गर्दैनन्। केही मानिस भन्छन्, ‘यदि हामीले परमेश्वरलाई परमेश्वरका रूपमा व्यवहार नगरेका भए, हामी किन उहाँमा अझै विश्वास गर्ने थियौँ र? यदि हामीले उहाँलाई परमेश्वरका रूपमा व्यवहार नगरेका भए, के हामीले उहाँलाई अहिलेसम्म पछ्याइरहन सक्थ्यौँ र? के हामीले यो सारा कष्ट सहन सक्थ्यौँ?’ यसो हेर्दा, तँ परमेश्वरमा विश्वास गर्छस् र उहाँलाई पछ्याउन सक्षम छस्, तैपनि उहाँप्रतिको तेरो मनोवृत्तिमा, र धेरै कुरालाई हेर्ने तेरो दृष्टिकोणमा, तैँले परमेश्वरलाई बिलकुलै सृष्टिकर्ताका रूपमा व्यवहार गर्दैनस्। यदि तँ परमेश्वरलाई परमेश्वरका रूपमा व्यवहार गर्छस्, उहाँलाई सृष्टिकर्ताका रूपमा व्यवहार गर्छस् भने, तँ सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो स्थानमा उभिनुपर्छ, र तैँले परमेश्वरसँग कुनै मागहरू गर्नु वा कुनै अत्यधिक इच्छाहरू राख्नु असम्भव हुनेछ। बरु तँ हृदयबाटै साँचो समर्पण गर्न सक्षम हुनेछस्, अनि परमेश्वरको मापदण्डअनुसार उहाँमा विश्वास गर्न र उहाँका सबै काममा समर्पित हुन पूर्ण सक्षम हुनेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसहरूले परमेश्वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्)। जब मैले परमेश्वरका वचनले खुलासा गरेका कुराहरू पढेँ, मैले बिरामी परेपछि गरेको आफ्नै व्यवहारबारे सोचेँ। मेरो स्थिति ठ्याक्कै परमेश्वरले वर्णन गर्नुभएको जस्तै थियो। मैले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेकी थिएँ, तर मैले अनुग्रह र इनामका लागि आफ्ना कर्तव्यहरू निर्वाह गर्न विवाह, परिवार र जागिर त्यागेकी थिएँ। मैले कर्तव्य निर्वाह गर्नु, कष्ट भोग्नु र मूल्य चुकाउनु पनि मेरो आफ्नै मुक्ति र स्वर्गको राज्यमा प्रवेश गर्नका लागि थियो। जब मेरो खुट्टा दुख्न सुरु भयो, तब मैले परमेश्वरले मलाई सुरक्षा दिनुहुनेछ र मेरो रोग निको पार्नुहुनेछ भन्ने आशामा आफ्ना कर्तव्यहरूमा लागिरहन सक्दो प्रयास गरेँ। जब म असह्य पीडाले छटपटिएँ, तब मैले परमेश्वरलाई मेरो पीडा कम गरिदिन आग्रह गरेँ। अनि जब मेरो अवस्था बिग्रियो र मैले पटक-पटक मृत्युको सामना गरेँ, तब मैले परमेश्वरसँग एउटापछि अर्को माग गरिरहेकी, उहाँलाई मेरो कमजोरी विचार गरिदिन र मेरो पीडा हटाइदिन भनिरहेकी पाएँ। जब परमेश्वरले मेरो इच्छाअनुसार गर्नुभएन, तब मैले परमेश्वरसँग गुनासो र तर्कवितर्क गरेँ। मैले आफूलाई परमेश्वरको विरोध गरिरहेको स्थितिमा पाएँ, मलाई परमेश्वरका वचन खान-पिउन वा प्रार्थना गर्न मन लागेन। मेरो तथाकथित बफादारी, त्याग र समर्पण सबै मेरो आफ्नै लागि, परमेश्वरको अनुग्रह र आशिष् प्राप्त गर्न, महाविपत्तिमा बाँच्न अनि मुक्ति पाएर स्वर्गको राज्यमा प्रवेश गर्नका लागि थिए। म परमेश्वरसँग सम्झौता गर्ने प्रयास गरिरहेकी थिएँ, र परमेश्वरलाई धोका दिने अनि उहाँको फाइदा उठाउने कोसिस गरिरहेकी थिएँ! मैले अनुग्रहको युगका पावललाई सम्झिएँ। उनले युरोपका धेरै भागमा प्रभु येशूको सुसमाचार प्रसार गर्न त्याग र आफूलाई समर्पित गरे पनि, अन्त्यमा, उनले यसो भने, “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले आस्था कायम राखेको छु: अबदेखि मेरा लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। पावलको समर्पण र त्याग आशिष् र मुकुट प्राप्त गर्ने उद्देश्यका लागि थियो, र उनी आफ्नो कर्तव्य निर्वाह गर्न एउटा सृजित प्राणीको स्थानमा खडा थिएनन्। बरु, उनी पूर्ण रूपमा परमेश्वरका मागहरूको ठीक विपरीत परमेश्वरसँग सम्झौता गर्ने प्रयास गरिरहेका थिए। पावल परमेश्वरको प्रतिरोध गर्ने बाटोमा हिँडे, र अन्त्यमा, उनलाई परमेश्वरले दण्ड दिनुभयो। मैले के पछ्याउने भन्ने बारेको मेरो दृष्टिकोण र परमेश्वरमा विश्वास गर्दा म हिँडिरहेको बाटो पावलको जस्तै थिएन र? परमेश्वर धर्मी र पवित्र हुनुहुन्छ, र मैले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेकी भए तापनि, आशिष् खोज्ने मेरो अभिप्राय बदलिएको थिएन। ममा परमेश्वरप्रति कुनै इमानदारी वा प्रेम थिएन, र मेरो स्वभाव रत्तिभर बदलिएको थिएन। म कुनचाहिँ तरिकाले आशिष् पाउन वा परमेश्वरको राज्यमा प्रवेश गर्न योग्य थिएँ र? सबै कुरा त्याग्नुले मलाई पुँजी दिँदैन, र आफ्नो कर्तव्य निर्वाह गर्न कष्ट भोग्नु र आफूलाई समर्पित गर्नु भनेको मैले परमेश्वरसँग सम्झौता गर्ने प्रयास गर्न सक्ने सर्त होइन। यी त एउटा सृजित प्राणीको रूपमा मैले गर्नुपर्ने कुराहरू मात्र हुन्। यदि मैले आशिष् खोज्ने मेरो अभिप्राय त्यागिनँ, इमानदारीपूर्वक सत्यता पछ्याइनँ, र मेरो जीवन स्वभावमा रूपान्तरण हासिल गर्न अनि परमेश्वरप्रति साँचो समर्पणतामा केन्द्रित भइनँ भने, चाहे मैले जतिसुकै त्याग र आफूलाई समर्पित गरूँ, यहाँसम्म कि आफूलाई लखतरान नै किन नपारूँ, मैले परमेश्वरको अनुमोदन पाउन सक्नेथिइनँ, र अन्त्यमा, म केवल परमेश्वरद्वारा घृणित र दण्डित हुनेथिएँ।
त्यस उप्रान्त, मेरो घाउले जतिसुकै पीडा दिए पनि, म समर्पित हुन र यो परिस्थितिलाई अनुभव गर्न परमेश्वरमा भर पर्न तत्पर भएँ। रोग फेरि बल्झिँदा, म भित्रभित्रै प्रार्थना गर्थेँ, र पहिले जस्तो परमेश्वरसँग अनुचित मागहरू गर्दिनथेँ। बरु, म मेरो देहविरुद्ध विद्रोह गर्थेँ र परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन्थेँ। मैले आफ्नो धेरैजसो समय परमेश्वरलाई प्रार्थना गर्न, उहाँका वचनहरू खान-पिउन, भजनहरू सिक्न र अनुभवात्मक गवाहीका भिडियोहरू हेर्नमा केन्द्रित गरेँ। एक महिनापछि, मेरो शरीर बिस्तारै निको भयो। मलाई डिस्चार्ज गर्दा, डाक्टरले केमोथेरापीको कुरा समेत गर्नुभएन। उहाँले मलाई हरेक तीन महिनामा चेकजाँचका लागि आउनुपर्छ मात्र भन्नुभयो।
एक दिन उपासनाको समयमा, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “के तिमीहरूलाई पत्रुसले भनेको कुरा याद छ? (‘यदि परमेश्वरले मानिसहरूलाई खेलौनाजस्तै प्रयोग गरिरहनुभएको थियो भने पनि, मानिसहरूसँग के नै गुनासो छ र?’) यो समर्पणसम्बन्धी कुरा हो। यदि तैँले यस तरिकाले कामकुरा अनुभव गरिस् भने, तैँले बिस्तारै सत्यताबारे जान्नेछस् र स्वतः नतिजा पाउनेछस्। पहिलो कुरा, तँमा परमेश्वर र सत्यताप्रति समर्पणको मनोवृत्ति हुन आवश्यक हुन्छ। परमेश्वरले तँतिर कस्तो नजर लगाइरहनुभएको छ, तँप्रति उहाँको मनोवृत्ति र सोरको भाव कस्तो छ, उहाँ तँप्रति वितृष्ण हुनुहुन्छ कि हुनुहुन्न, र उहाँले तँलाई खुलासा गर्नुहुनेछ कि गर्नुहुनेछैन भन्नेबारे चिन्ता नगर्। सुरुमा तेरा आफ्नै कठिनाइ र समस्याहरू समाधान गर्। के साधारण मानिसहरूले पत्रुसले भनेको कुरा सजिलै प्राप्त गर्न सक्छन्? (अहँ, सजिलै त सक्दैनन्।) उनले कस्ता अनुभवहरू गरे र उनीसँग कस्ता वास्तविकताहरू थिए जसले उनलाई त्यसो भन्ने तुल्यायो? (उनलाई पूर्ण विश्वास थियो कि परमेश्वरले मानिसलाई जस्तो व्यवहार गर्नुभए पनि, त्यसको उद्देश्य मानिसलाई मुक्ति दिन हो र त्यो प्रेमबाहेक केही पनि होइन। त्यसैले उनी समर्पित हुन खुसी थिए।) पत्रुसले ‘यदि परमेश्वरले मानिसहरूलाई खेलौनाजस्तै प्रयोग गरिरहनुभएको थियो भने पनि,’ र ‘परमेश्वरले मानिसलाई जस्तो व्यवहार गर्नुभए पनि’ भने। तैँले आफूलाई सृजित प्राणी, परमेश्वरको अनुयायी, र परमेश्वरको घरको सदस्यको रूपमा लिइरहेको छस्। त्यसोभए, के ती दुईबीच कुनै भिन्नता छ? हो, छ। एउटा असमानता छ! एउटा खेलौना र एउटा मानवजातिबीचको असमानता के हो? खेलौना त केही पनि होइन—यो मूल्यविहीन, दयनीय चिज हो। यसलाई खेलौना भन् या पशु भन्—यो त्यस्तै प्रकारको चिज हो। तर व्यक्ति? व्यक्तिसँग सोच र मस्तिष्क हुन्छ; ऊ बोल्न र कामकुरा गर्न सक्षम हुन्छ, र उसले सामान्य मानव गतिविधिहरू गर्न सक्छ। खेलौनाको तुलनामा, के मानवको मूल्य र हैसियतमा कुनै भिन्नता हुन्छ? … यदि तँलाई मानवको रूपमा लिइन्छ भने, तैँले कस्तो व्यवहार माग गर्नेथिस्? तँलाई सम्मान गरियोस्, तँसँग परामर्श लिइयोस्, तेरा भावनाहरूलाई ख्याल गरियोस्, तँलाई पर्याप्त ठाउँ र स्वतन्त्रता दिइयोस्, र तेरो इज्जत र प्रतिष्ठाबारे विचार गरियोस् भन्ने माग गर्थिस्। मानवजातिलाई त्यसरी नै व्यवहार गरिन्छ। तर खेलौनाहरूलाई कस्तो व्यवहार गरिन्छ? (ती केही पनि होइनन्। तिनलाई लात्ताले हान्न मिल्छ।) (तपाईंले तिनलाई जतिखेर चाहनुभयो त्यतिखेर प्रयोग गर्न सक्नुहुन्छ, र नचाहेको बेलामा बेवास्ता गर्न सक्नुहुन्छ।) त्यसो भन्दा उचित हुन्छ। तिमीहरू खेलौनालाई व्यवहार गर्नेबारे यसो भन्छौ भने, मानवजातिलाई खेलौनाझैँ व्यवहार गर्नुलाई कसरी व्याख्या गर्छौ? (आफूलाई आवश्यकता पर्दा तिनीहरूलाई प्रयोग गरिन्छ र आवश्यकता नपर्दा तिनीहरूलाई बेवास्ता गरिन्छ।) तैँले तिनलाई सम्मानरहित व्यवहार गर्छस्, र तिनीहरूको अधिकारको रक्षा गर्नुपर्ने आवश्यकता हुँदैन। तँ तिनीहरूलाई कुनै पनि अधिकार, वा स्वायत्तता, वा छनोट गर्ने अधिकार दिँदैनस्। कामकुरामा तिनीहरूसँग परामर्श लिने, वा तिनीहरूको सम्मानलाई ख्याल गर्न, वा त्यस्तो केही गर्न आवश्यकता नै हुँदैन। तँलाई राम्रो अनुभूति हुँदा तैँले तिनीहरूलाई राम्रो व्यवहार गर्न सक्छस्, तर राम्रो अनुभूति नहुँदा तैँले तिनीहरूलाई लात्ताले हिर्काउन सक्छस्। खेलौनाप्रति राखिने मनोवृत्ति यही हो। यदि परमेश्वरले मानिसहरूलाई खेलौनाजस्तै व्यवहार गर्नुभयो भने, तिनीहरूलाई कस्तो महसुस हुन्थ्यो होला? के तिनीहरूलाई अझै पनि परमेश्वर प्रेमिलो हुनुहुन्छ भन्ने महसुस हुन्थ्यो होला त? (हुन्थेन।) तर पत्रुसले परमेश्वरलाई प्रशंसा गर्न सके। उनीसँग कस्ता सत्यता वास्तविकताहरू थिए जसले उनलाई मरुञ्जेल परमेश्वरप्रति समर्पण हासिल गर्ने तुल्याए? वास्तवमा परमेश्वरले मानिसलाई खेलौनाजस्तै व्यवहार गर्नुहुन्थेन। तर जब पत्रुसको बुझाइ यो स्तरमा पुग्यो, तब उनले सोचे: ‘यदि परमेश्वरले मलाई त्यसरी व्यवहार गर्ने हो भने पनि म त्यसमा समर्पित हुनैपर्छ। यदि परमेश्वरले मलाई खेलौनाजस्तो व्यवहार गर्नुभयो भने, म कसरी तयार र इच्छुक नहुन सक्छु र?’ पत्रुसले यो तत्परता र इच्छा हासिल गरे। ‘तयार र इच्छुक’ हुनुले के जनाउँछ? (आफूलाई परमेश्वरका योजनाबद्ध कार्यहरूको कृपामा राख्नु र तिनमा पूर्ण रूपले समर्पित हुनु।) समर्पणको सत्यता त्यही हो। के तँलाई शैतानको हातमा सुम्पिनु नै खेलौनालाई व्यवहार गर्ने तरिका हुन्थेन र? नचाहिएको बेलामा तँलाई हटाइनेथ्यो, र शैतानकहाँ सुम्पिनेथ्यो ताकि त्यसले तेरो परीक्षा लिन र तँलाई मूर्ख बनाउन सकोस्। पत्रुसको मनोवृत्ति कस्तो थियो? के उनीसँग कुनै गुनासाहरू थिए? के उनले परमेश्वरलाई गुनासो गरे? के उनले परमेश्वरलाई सरापे? के उनी शैतानतर्फ फर्के? (अहँ।) यसलाई समर्पण भनिन्छ। उनले कुनै गुनासाहरू गरेनन्, उनले कुनै पनि नकारात्मकता वा प्रतिरोध देखाएनन्। के उनको भ्रष्ट स्वभाव समाधान भएन र? यो पूर्ण रूपले परमेश्वरसित मिलेको थियो। यो उनले परमेश्वरलाई विश्वासघात गर्ने वा नगर्ने मामला थिएन। यो त यस्तो मामला थियो: ‘परमेश्वरले मलाई जहाँ राख्नुभए पनि, मेरो हृदयमा परमेश्वर हुनुहुनेछ; परमेश्वरले मलाई जहाँ राख्नुभए पनि, म उहाँकै हुनेछु। उहाँले मलाई खरानी पार्नुभए पनि, म अझै उहाँकै हुनेछु। मैले कहिल्यै शैतानको सहारा खोज्नेछैन।’ उनी समर्पणको यो स्तरमा पुग्न सक्षम भए। यसो भन्न सजिलो छ, तर गर्न गाह्रो छ। तैँले यो सबै पूर्ण र प्रस्ट रूपमा देख्नुअघि तँ निश्चित समयका लागि सत्यताले सुसज्जित हुनुपर्छ, त्यसपछि सत्यता अभ्यास गर्न ज्यादै सजिलो हुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरप्रति समर्पित हुनु सत्यता प्राप्त गर्ने आधारभूत पाठ हो)। मैले परमेश्वरका यी वचनहरूबारे सोचिरहेँ, र बल्ल मैले परमेश्वरले किन पत्रुसको अनुभवलाई हामीले पछ्याउनुपर्ने उदाहरणको रूपमा प्रयोग गर्नुभयो भन्ने कुरा बुझेँ। पत्रुसले भनेका थिए, “यदि परमेश्वरले मानिसहरूलाई खेलौनाजस्तै प्रयोग गरिरहनुभएको थियो भने पनि, मानिसहरूसँग के नै गुनासो छ र?” पत्रुस परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्षम थिए, र परीक्षा र शोधनको समयमा पनि, उनले परमेश्वरको न्याय र सजायमा आनन्द लिन सके, र उनमा परमेश्वरको डर मान्ने हृदय थियो। पत्रुसले भनेका थिए, यदि परमेश्वरले उनलाई खेलौनाजस्तै व्यवहार गर्नुभयो भने पनि, उनले कुनै गुनासो गर्नेछैनन्। पत्रुस आफ्नो सही स्थानमा खडा भए, उनमा परमेश्वरसँग सम्झौता गर्ने वा उहाँसँग माग गर्ने कुनै चाहना थिएन, र उनी केवल समर्पित भए, र परमेश्वरले जे गर्नुभए पनि, उनले परमेश्वरलाई सबै कुरा योजनाबद्ध गर्न दिए। अन्त्यमा, पत्रुसलाई परमेश्वरले सिद्ध पार्नुभयो। मैले आफू बिरामी पर्दा म आफ्नो सही स्थानमा खडा नभएको, र मेरो देहको लागि शान्ति मात्र खोजेको कुरा सम्झेँ। जब परमेश्वरले मेरा मागहरू पूरा गर्नुभएन, मेरो शरीरले कष्ट भोग्यो, र आशिष् पाउने मेरो चाहना चकनाचुर भयो, तब मैले परमेश्वरसँग तर्कवितर्क र प्रतिस्पर्धा गर्ने प्रयास गरेँ, र मैले सबै कुरा अन्त्य गर्ने बारेमा समेत सोचेँ। पत्रुसको तुलनामा, ममा कुनचाहिँ तरिकाले मानवता वा समझ थियो र? म परमेश्वरको सामु जिउन पूर्ण रूपमा अयोग्य थिएँ! मानिसहरू परमेश्वरद्वारा सृष्टि गरिएका हुन्, र परमेश्वरले मसँग जे गर्नुहुन्छ त्यो उचित छ। परमेश्वरका कार्यहरू पछाडिका अभिप्रायहरू मेरो बुझाइभन्दा बाहिर छन्। मानवीय दृष्टिकोणबाट, अनुग्रह र शारीरिक शान्ति राम्रा कुराहरू जस्तो देखिन्छन्। तर वास्तविकतामा, व्यक्तिको भ्रष्ट स्वभाव समाधान गर्न अझ बढी न्याय, सजाय, कष्ट र शोधनको आवश्यकता पर्छ। जसरी यो रोग ममाथि आइपर्दा, मेरा धारणाहरूसँग मेल नखाए तापनि, यो खासमा मेरो जीवनका लागि लाभदायक थियो, र मेरो भ्रष्ट स्वभाव समाधान गर्न यो अझ बढी लाभदायक थियो। यो ममाथि परमेश्वरको विशेष आशिष् थियो। त्यस क्षण, मैले मेरो हृदयमा पछ्याउनुपर्ने एउटा लक्ष्य भेट्टाएको पाएँ। म पत्रुसको उदाहरण पछ्याउन चाहन्थेँ, र क्यान्सर जसरी विकास भए पनि वा म मर्ने भए पनि, म एउटा सृजित प्राणीको रूपमा आफ्नो सही स्थानमा खडा हुन र परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन तत्पर थिएँ।
पछि, मेरो शरीर बिस्तारै निको हुन थाल्यो, र मैले बैसाखी प्रयोग गर्न थालेँ र एउटा खुट्टाले हिँड्न सिकेँ। तीन महिनापछि, म अस्पतालमा चेकजाँचका लागि गएँ, र डाक्टरले म धेरै राम्रोसँग निको भएकी छु, र क्यान्सर नबल्झिएकाले, मलाई केमोथेरापीको आवश्यकता पर्दैन भन्नुभयो। सन् २०२३ को मार्चमा, म फलो-अप अपोइन्टमेन्टको लागि मेरो गृहनगर फर्किएँ। परीक्षणको नतिजा देखेर डाक्टर छक्क पर्नुभयो, र उहाँले भन्नुभयो, “यस प्रकारको हड्डीको क्यान्सरमा, ९९% बिरामीहरूलाई केमोथेरापी चाहिन्छ, तर तपाईँलाई केमोथेरापी वा रेडियोथेरापी नचाहिएको मात्र होइन, क्यान्सर बल्झिएको पनि छैन। यो साँच्चै एउटा चमत्कार हो!” डाक्टरले यसो भनेको सुन्दा, मैले मेरो हृदयमा मौन रूपमा परमेश्वरलाई धन्यवाद दिएँ र प्रशंसा गरेँ। पछि, मैले मण्डलीमा मेरा कर्तव्यहरू फेरि सुरु गरेँ। लामो समयसम्म बस्दा मेरो खुट्टा अझै पनि लाटो हुने, र मेरो पुट्ठाको हड्डी दुख्ने त हुन्थ्यो, तर म यसको कारणले उप्रान्त बन्धनमा पर्न वा परमेश्वरसँग माग गर्न छाडेँ। बरु, म धेरै कृतज्ञ भएँ र मैले मेरा कर्तव्यहरू निर्वाह गर्ने मौका पाएकोमा त्यसको कदर गरेँ। जब मैले आशिष् खोज्ने अभिप्राय त्यागेँ, समर्पित भएँ, र मेरा कर्तव्यहरू निर्वाह गरेँ, मैले मेरो हृदयमा ठूलो चैन महसुस गरेँ।