२४. आफूलाई उचाल्ने र देखावटी गर्नेबारे चिन्तन

एडा, इटाली

अप्रिल २०२३ मा, मैले फेरि अभिनेत्रीका रूपमा आफ्नो कर्तव्य सम्हालेँ। म मुख्यतया अनुभवात्मक गवाही भिडियोहरूको सुटिङमा संलग्न थिएँ, र म परमेश्‍वरको अनुग्रहप्रति साँच्चै खुसी र कृतज्ञ थिएँ। तर मेरो हृदयमा केही चिन्ता पनि थिए, र म सोच्ने गर्थेँ, “मैले एक वर्षभन्दा बढी समयदेखि अभिनेत्रीको कर्तव्य निर्वाह गरेकी छैनँ, र मलाई म आफ्नो हालको अवस्थामा यो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छु कि सक्दिनँ भन्ने पक्का छैन।” म एकदमै चिन्तित थिएँ र कैयौँ दिनसम्म राम्ररी सुत्न सकिनँ। अप्रत्याशित रूपमा, मैले बयान गर्न लागेको पहिलो अनुभवात्मक गवाही लेखकी मुख्य पात्रको स्थिति मेरो जस्तै थियो, र त्यसमा भएका परमेश्‍वरको वचनका अंशहरूले मलाई गहन रूपमा प्रभावित गरे। परमेश्‍वरका वचनहरू मनन गर्दा र त्यस मुख्य पात्रको मानसिकतासँग आफ्नो मानसिकता तुलना गर्दा, त्यसले साँच्चै मेरो मन छोयो। ती सिस्टरले परमेश्‍वरमा भर परेर पाठ सिकेपछि, मुक्त भएको महसुस गरिन्, र मैले पनि अगाडि बढ्ने मार्ग पाएको महसुस गरेँ। थाहै समेत नपाई, मलाई कम निराशा र चिन्ता महसुस भयो र मैले चाँडै सुटिङ पूरा गरेँ। म परमेश्‍वरको मार्गदर्शनका लागि एकदमै आभारी थिएँ, मैले बिस्तारै आत्मविश्वास प्राप्त गरेँ, र त्यसपछिका सुटिङहरूमा म त्यति घबराइनँ। त्यसको लगत्तै, मैले थप दुईवटा भिडियो खिचेँ, र मैले के बुझेँ भने जबसम्म मेरा अभिप्रायहरू सही हुन्छन् र म आफ्नो कर्तव्यमा समर्पित हुन्छु, तबसम्म परमेश्‍वरले अन्तर्दृष्टि र मार्गदर्शन प्रदान गर्नुहुनेछ। तर मैले यस्तो नसोची सक्दै सकिनँ “मैले यति छिट्टै तीनवटा अनुभवात्मक गवाही भिडियो खिचिसकेकी छु, तसर्थ म निकै सक्षम छु जस्तो देखिन्छ।”

केही ब्रदर-सिस्टरले मलाई पहिले केही चलचित्र, नाटक, एकल प्रस्तुति, र सामूहिक गायनहरूमा सहभागी भएकी देखेका थिए, र उनीहरू मलाई एक अनुभवी अभिनेत्री ठान्थे, त्यसैले उनीहरूले मलाई अभिनयका बारेमा प्रश्नहरू सोध्न थाले, जसले गर्दा मलाई आफैदेखि निकै खुसी लाग्यो। मलाई आफूमा धेरै कमजोरी छन् भन्ने थाहा थियो, तर अरूलाई मजस्ती “अनुभवी अभिनेत्री” समेत कहिलेकाहीँ कठिनाइमा जिउँछिन् भन्ने थाहा थिएन। उदाहरणका लागि, आफ्नो पहिलो अनुभवात्मक गवाही लेख बयान गर्दा म घबराएकी र चिन्तित थिएँ। तर मैले हामी पहिलोचोटि भेट्दै छौँ, मैले सबैमा परेको मेरो राम्रो छापलाई बर्बाद गर्नु हुँदैन भन्ने सोचेँ। त्यसैले मैले आफ्ना कमजोरीहरू उल्लेख नगर्ने निर्णय गरेँ। म हाउभाउका साथ जोसिलो रूपमा नरोकी बोल्न थालेँ। जब मैले विशेष गरी ठूलो स्तरको सामूहिक गायन, राज्यको स्तुतिगान राज्य संसारमा ओर्लिन्छको छायाङ्कनबारे कुरा गर्न थालेँ, तब मैले गर्वसाथ भनेँ, “गायक दलका लागि सबै कलाकार होसियारीपूर्वक छनोट गरिएका थिए, र उनीहरूले महिनौँको प्रचण्ड गर्मी र कठ्याङ्ग्रिँदो जाडोमा कडा तालिम लिएका थिए।” यो सुनेपछि सबै ब्रदर-सिस्टर प्रशंसाले भरिए। मैले धाक पनि लगाएँ, “तीन सयभन्दा बढी कलाकारहरूमध्ये, म सबैभन्दा जेठी थिएँ!” मैले आफूप्रति ब्रदर-सिस्टरहरूको प्रशंसाको हेराइको स्वाद र आनन्द लिइरहेकी पाएँ। एकपटक, सुटिङका क्रममा एक जना कलाकारलाई कठिनाइ भइरहेको थियो, र उनले मलाई आफ्नो प्रस्तुति निर्देशन गर्न मद्दत मागे। मैले मनमनै सोचेँ, “म उनीहरूलाई प्रभाव पार्न अलिकति केही गरेर देखाउनेछु। आखिर, म उनीहरूलाई मलाई तुच्छ ठान्न लगाउन सक्दिनँ।” त्यसपछि मैले एउटा दृश्य सोचेँ, र मेरा संवेगहरू सबै बाहिर निस्कन थाले। उनीहरू सबैले मलाई प्रशंसाको नजरले हेरे र भने, “तपाईँलाई साँच्चै कसरी अभिनय गर्ने भनेर थाहा छ! अद्भुत!” मैले यो परमेश्‍वरको मार्गदर्शन हो भने तापनि, भित्रभित्रै मैले आफू अरूभन्दा उत्तम र बढी अनुभवी छु भन्ने सोच्दै आफूमाथि गर्व नगरी सक्दै सकिनँ। अर्को अवसरमा, निर्देशकले सिस्टर टेरीलाई अनुभवात्मक गवाही लेख कसरी बयान गर्ने भनेर सिकाउँदै थिइन् र मलाई सहयोग गर्न आग्रह गरिन्। मैले मनमनै सोचेँ, “मैले केही समस्या पत्ता लगाउनुपर्छ ताकि उनीहरूले मसँग दिने केही छ भनेर देखून्।” ती सिस्टरले बोल्न सिध्याउनेबित्तिकै, यहाँसम्म कि निर्देशकले केही भन्न नपाउँदै, मैले तुरुन्तै आफ्नो आलोचना राखेँ। ती सिस्टरले सहमतिमा टाउको हल्लाएको देखेर, मैले आफूलाई समस्या पहिचान गर्न सक्षम महसुस गरेँ। तर साँचो कुरा के थियो भने, म ती सिस्टरलाई भन्न चाहन्थेँ, पहिले ममा पनि धेरै कमजोरी थिए, र निर्देशकले नै मलाई पात्रका संवेग र स्थितिहरू अलि-अलि गर्दै विश्लेषण गर्न र बुझ्न बारम्बार मद्दत गरे, ताकि मैले अन्तत: यी कुराहरू सही तरिकाले व्यक्त गर्न सकूँ। तर फेरि मैले सोचेँ, “उनीहरू पहिल्यै नै मलाई सम्मान गर्छन्, त्यसैले यदि मैले त्यसो भनेँ, र उनीहरूले ममा यति धेरै कमजोरी छन् भनेर थाहा पाए भने, मलाई के सोच्लान्? छोडिदेऊँ। केही नभन्नु नै बेस।” अर्की सिस्टर पनि थिइन् जसको म्यान्डरिन भाषा स्तरीय थिएन, र मैले उनलाई सुधार्ने प्रयास गरेँ। मैले मनमनै सोचेँ, “यदि उनले छिट्टै सुधार गर्न सकिन् भने, के त्यसले म राम्रो प्रशिक्षक हुँ भनेर देखाउनेछैन र?” त्यसैले मैले अवसरको ख्याल नगरी उनलाई लगातार सुधारेँ, जसले गर्दा ती सिस्टरलाई बाँधिएको महसुस भयो र उनी मेरो अगाडि बोल्न डराइन्। कहिलेकाहीँ, म आफूबारे सचेत हुन्थेँ, र सोच्थेँ, “के म यहाँ देखावटी गरिरहेकी छु? के यो अलि अनुचित हो?” तर फेरि म सोच्थेँ, “मैले जे भनिरहेकी छु त्यो साँचो हो, त्यसैले यो ठिकै हुनुपर्छ, होइन र?” र त्यसैले, म बस झारा टार्थेँ। तर मैले लगातार आडम्बर र देखावटी गर्दै गर्दा, परमेश्‍वरले मलाई प्रकट गर्न परिस्थितिहरू मिलाउनुभयो।

एकपटक, मैले एउटा अनुभवात्मक गवाही लेख पाएँ जुन निकै लामो थियो, र त्यसमा धेरै संवाद थिए। तर सुटिङको तालिका तीव्र रूपमा अगाडि बढाइएकाले मसँग तयारी गर्ने कम समय मात्र थियो। मैले मनमनै सोचेँ, “म संवाद बोल्नमा निकै राम्रो छु, त्यसैले जबसम्म म कथालाई जीवन्त रूपमा बयान गर्छु, तबसम्म त्यो उत्कृष्ट हुनेछ र मानिसहरूले मलाई अझ धेरै सम्मानको नजरले हेर्नेछन्। यसबाहेक, मैले खिचेका पछिल्ला केही भिडियो निकै सहज रूपमा सम्पन्न भए, त्यसैले तयारी गर्ने धेरै समय नहुनु कुनै समस्या नहुनुपर्ने हो।” त्यसैले मैले आफ्ना संवादहरू कण्ठ गरेँ र बोल्न अलि अभ्यास गरेँ, त्यसपछि मैले ब्रदर-सिस्टरहरूसँग मैले एक दिन मात्रै रिहर्सल गरेँ र सुटिङ गर्न तयार भएँ। खासमा, म पूर्ण रूपमा तयार थिइनँ, र म निर्देशकलाई सुटिङ थप दुई दिन पछि सार्ने सुझाव दिन चाहन्थेँ, तर मलाई मानिसहरूले, के उनी अनुभवी भएर पनि यति लामो समय लगाउँदै छिन? भनेर भन्लान् भन्ने डर थियो। अनि अरूले मलाई तुच्छ ठान्नेछन् भनेर म डराएँ, म हतार-हतार सेटमा गएँ। सुटिङ सकिएपछि, संशोधन गर्नुपर्ने धेरे क्षेत्र थिए। साथै, मुख्य पात्रले भ्रष्ट स्वभाव प्रकट गरेको चित्रण गर्दा, मेरो प्रस्तुति जरुरतभन्दा अलि बढी भयो, जसले गर्दा उनी नकारात्मक पात्रजस्तो देखिइन्। म त जिल्ल परेँ र मेरो मन भारी भयो। मैले सोचेँ, “कसरी यस्तो गम्भीर समस्या उत्पन्न भयो? यदि यसलाई सच्याउन सकिएन भने, हामीले फेरि सुटिङ गर्नुपर्नेछ, र यसले सुटिङ तालिकामा ढिलाइ गर्नेछ। के मैले अवरोध र बाधा पुऱ्याएकी हुने छैनँ र?” म डराएँ र तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मैले ठूलो गल्ती गरेकी छु। कृपया मलाई ताडना दिनुहोस्। म पश्चात्ताप गर्न र संशोधन गर्न सक्दो प्रयास गर्न इच्छुक छु।” त्यसपछि मैले सबैसँग भिडियोलाई पाँचपटक समीक्षा र संशोधन गरेपछि त्यो समस्या अन्ततः समाधान सच्याइयो। त्यसपछि, आफैलाई सोध्दै चिन्तन गरेँ, “यस्तो गम्भीर समस्या मलाई किन पर्न आयो? ठ्याक्कै के ले यस्तो गरायो?” मैले परमेश्‍वरलाई आफूलाई चिन्न अन्तर्दृष्टि र मार्गदर्शन माग्दै प्रार्थना गरेँ।

मैले आफ्नो आत्मिक भक्तिभावको दौरान, परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने, आफ्नो सान देखाउने, मानिसहरूले आफूलाई उच्‍च ठानून् र आराधना गरून् भन्‍ने प्रयास गर्ने—भ्रष्ट मानवजाति यी कुराहरू गर्न सक्षम छ। जब मानिसहरू आफ्नो शैतानी प्रकृतिले शासित हुन्छन् तिनीहरूले यसरी स्वतः प्रतिक्रिया दिन्छन्, र यो सबै भ्रष्ट मानवजातिको निम्ति सामान्य हो। मानिसहरूले सामान्यतया कसरी आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन्? तिनीहरूले अरूलाई आफूलाई उच्च ठान्‍न र आफ्नो आराधना गर्न लगाउने उद्देश्य कसरी हासिल गर्छन्? तिनीहरूले कति धेरै काम गरेका छन्, तिनीहरूले कति कष्ट भोगेका छन्, तिनीहरूले आफैँलाई कति समर्पित गरेका छन्, र तिनीहरूले कति मूल्य चुकाएका छन् भनेर तिनीहरूले गवाही दिन्छन्। तिनीहरू अरूका हृदयमा अझ उच्च, स्थिर र अझ सुरक्षित स्थान प्राप्त गर्न, र त्यसरी अझ धेरै मानिसहरूलाई तिनीहरूको कदर गर्ने, उच्च ठान्ने, ईर्ष्या गर्ने, र आराधना गर्ने, आदरभावले हेर्ने र पछि लाग्ने तुल्याउनका लागि आफ्ना पुँजीबारे कुरा गरेर आफूलाई उच्च पार्छन्। यो लक्ष्य प्राप्त गर्न मानिसहरूले हेर्दाखेरि परमेश्‍वरको गवाही दिएजस्तो देखिने, तर आधारभूत रूपमा आफैँलाई उच्‍च पार्ने र आफैबारे गवाही दिने धेरै कुराहरू गर्छन्। के यसरी व्यवहार गर्दा तिनीहरूसँग समझ हुन्छ त? तिनीहरू चेतनाको दायराबाहिर छन् र तिनीहरूमा शरम छैन। तिनीहरू तिनीहरूले परमेश्‍वरका निम्ति के गरेका छन् र उहाँको निम्ति कति कष्ट भोगेका छन् भन्‍ने कुराको कुनै शरमविना गवाही दिन्छन्। तिनीहरूले आफूमा भएका वरदान, प्रतिभाहरू, अनुभव, विशेष सीपहरू, संसारसँग व्यवहार गर्ने तिनीहरूका चतुर तौरतरिकाहरू, मानिसहरूसँग खेल्नको निम्ति तिनीहरूले प्रयोग गर्ने माध्यमहरू, आदि इत्यादिको तडकभडक पनि देखाउँछन्। आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने तिनीहरूको तरिकाहरूमध्ये एक भनेको तडकभडक देखाउनु र अरूलाई होच्याउनु हो। तिनीहरूले मानिसहरूबाट आफ्ना कमजोरी, कमीहरू र अपर्याप्तताहरू लुकाउँदै भेष पनि बदल्छन् र नाटकीय स्वरूप देखाउँछन्, र मानिसहरूलाई आफ्नो चमक मात्र देखाउँछन्। तिनीहरूले नकारात्मक अनुभव गरेको कुरा अरू मानिसहरूलाई बताउने हिम्मत पनि गर्दैनन्, र तिनीहरूसँग खुल्‍ने र सङ्गति गर्ने हिम्मतको अभाव हुन्छ। तिनीहरूले गल्ती गर्दा त्यसलाई लुकाउने र छोप्‍ने अधिकतम प्रयास गर्छन्। तिनीहरूले आफ्नो कर्तव्य निभाउने दौरानमा मण्डलीको काममा पुर्‍याएको हानिलाई कहिले पनि उल्लेख गर्दैनन्। तर तिनीहरूले गरेको सानो योगदान वा प्राप्त गरेको केही साना सफलताहरू देखाउन छिटा हुन्छन्। तिनीहरू कति सक्षम छन्, तिनीहरूको क्षमता कति उच्च छ, तिनीहरू कति असाधारण छन् र तिनीहरू सामान्य मानिसहरूभन्दा कति वरिष्ठ छन् भन्‍ने कुरा सारा संसारलाई थाहा दिन व्याकुल हुन्छन्। के यी तिनीहरूले आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने तरिकाहरू होइनन् र? के आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने कार्य विवेक र समझ भएको व्यक्तिले गर्ने कार्य हो? होइन। त्यसो भए, मानिसहरूले यसो गर्दा प्रायः कस्तो स्वभाव प्रकट हुन्छ त? अहङ्कार। यो यसरी प्रकट हुने एक मुख्य स्वभाव हो, त्यसपछि छलीपन आउँछ जसमा अरू मानिसहरूलाई आफूलाई उच्‍च सम्मान गर्ने तुल्याउनको निम्ति सम्भव भएसम्मका सबै कुरा गर्ने कुरा सामेल हुन्छ। तिनीहरूका शब्दहरू पूर्ण रूपमा निर्विवाद हुन्छन् र तिनमा अभिप्रेरणा र कपट-योजनाहरू प्रस्ट रूपले समावेश हुन्छन्, तिनीहरू आफूलाई प्रदर्शन गरिरहेका हुन्छन्, तैपनि तिनीहरू यो तथ्य लुकाउन चाहन्छन्। तिनीहरूले जे भन्छन् त्यसको परिणाम भनेको मानिसहरूलाई तिनीहरू अरूभन्दा असल छन्, तिनीहरूको बराबर कोही पनि छैन र सबै जना तिनीहरूभन्दा निकृष्ट छन् भन्‍ने अनुभव गराउनु हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चार: तिनीहरू आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन्)। परमेश्‍वर मानिसहरूले आफूलाई उचाल्नु र प्रदर्शन गर्नु पछाडिको अभिप्राय र उद्देश्य भनेको अरूद्वारा प्रशंसित र पूजित हुनु, र मानिसहरूको हृदयमा स्थान पाउनु हो भनेर खुलासा गर्नुहुन्छ। मेरो हालको व्यवहार परमेश्‍वरले वर्णन गरेको कुरासँग ठ्याक्कै मेल खान्थ्यो। मैले आफ्नो कर्तव्यमा परमेश्‍वरलाई उचालिनँ र उहाँको गवाही दिइनँ, बरु अरूको प्रशंसा पाउन निरन्तर देखावटी गरेँ। जब म सबैसँग सङ्गति गर्थेँ, तब प्रायः आफूलाई “अनुभवी अभिनेत्री” ठान्दै, आफूलाई उचाल्थेँ, पहिलेका सुटिङहरूमा मैले कसरी कठिनाइहरू पार गर्ने तरिकाहरू फेला पारेकी र अभ्यासका क्रममा कठिनाइहरू सहेकी थिएँ, मैले कतिवटा कामहरू छायाङ्कन गरी थिएँ, र ती कति प्रभावकारी भएका थिए इत्यादि कुराहरूबारे धाक लगाउँथेँ। जब म विशेष गरी ठूलो स्तरको गायक दलको प्रस्तुति, राज्यको स्तुतिगान राज्य संसारमा ओर्लिन्छको छायाङ्कनबारे बोल्थेँ, तब म आफू सबैभन्दा जेठी भएको तथ्यलाई ठूलो जोड दिन्थेँ, किनभने मैले आफूलाई स्थापित गर्ने, प्रशंसित हुने, र मानिसहरूको हृदयमा स्थान बनाउने लक्ष्य राखेकी थिएँ। मैले अरू कलाकारहरूलाई छायाङ्कनका क्रममा सङ्घर्ष गरिरहेका देख्दा, उनीहरूलाई साँचो संवेगहरू व्यक्त गर्न मार्गदर्शन गर्नका लागि पात्रहरूको स्थिति विश्लेषण गर्न मद्दत गरिनँ, बरु, मैले आफ्नो अभिनय सीप उनीहरूको भन्दा राम्रो छ भनेर देखावटी मात्र गरेँ। अरूसँग अन्तरक्रिया गर्दा, म सधैँ आफ्नो सकारात्मक प्रवेशबारे कुरा गर्थेँ, किनभने मैले आफूले प्रकट गरेको भ्रष्टताबारे अत्यन्तै धेरै बोलेँ भने अरूले मलाई तुच्छ ठान्नेछन् भन्ने मलाई डर थियो। त्यसैले म आफ्नो नकारात्मकता र भ्रष्टतालाई केही शब्दहरूमै सरसर्ती बताएर टारिदिन्थेँ। वास्तवमा, मैले चीन छोडेपछि मात्र आफ्नो कर्तव्यमा अभिनेत्रीका रूपमा तालिम लिन थालेकी थिएँ। मैले छायाङ्कन सुरु गर्दा, धेरै कठिनाइ सामना गरेँ र ती कसरी समाधान गर्ने भनेर मलाई थाहा थिएन। म प्रायः पात्रका संवेगहरू बोध गर्न सक्दिनथेँ, र म कि त बढाइचढाइ गरेर कि त अपर्याप्त रूपमा अभिन गर्थेँ, वा भावनाहरू व्यक्त गर्न असफल हुन्थेँ। मेरो हृदय एकदमै धेरै पीडामा थियो, र म अनगिन्ती पटक रोएँ। ठ्याक्कै यसपटक अनुभवात्मक गवाही भिडियो छायाङ्कन गर्दाजस्तै। मैले लामो समयदेखि छायाङ्कन गरेकी थिइनँ, र जब मैले पहिलो अनुभवात्मक गवाही लेख पाएँ, तब म यति घबराएँ कि कैयौँ रात सुत्नै सकिनँ, अनि चिन्ता र निराशाको स्थितिमा जिएँ। प्रार्थना गरेर र परमेश्‍वरका वचनहरू पढेर मात्र मैले बिस्तारै यसलाई समाधान गरेँ। तर अरूको हृदयमा बसेको मेरो राम्रो छवि गुमाउनेछु भन्ने डरले मैले जानाजानी यो कुरा लुकाएँ र यसलाई उल्लेख गर्नबाट टाढा बसेँ। बरु, मैले आफ्नो राम्रो पक्षको मात्र देखावटी गरेँ, जसले गर्दा ब्रदर-सिस्टरहरूले मेरो प्रशंसा गरे। म यसो गरेर परमेश्‍वरको गवाही दिइरहेकी थिइनँ, बरु आफ्नै महिमा गरिरहेकी थिएँ र आफ्नै शिरपछाडि प्रभामण्डल राखिरहेकी थिएँ। मैले आफूभित्र घृणास्पद अभिप्रायहरू राखेर, मानिसहरूको हृदयमा स्थान चाहँदै मैले देखावटी गरेँ र आफूलाई उचालेँ। म साँच्चै निर्लज्ज थिएँ!

त्यसपछि मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “केही मानिसहरूले विशेष गरी पावलकै मूर्तिपूजा गर्छन्। तिनीहरू बाहिर गएर भाषण दिन र काम गर्न मन पराउँछन्, भेलाहरू आयोजना गर्न र प्रचार गर्न मन पराउँछन्, अनि तिनीहरू मानिसहरूले तिनीहरूलाई सुनेको, तिनीहरूको मूर्तिपूजा गरेको, र तिनीहरूको वरिपरि घुमेको मन पराउँछन्। तिनीहरू अन्य व्यक्तिहरूको हृदयमा आफ्नो स्थान बनाउन चाहन्छन् र तिनीहरू आफूले प्रस्तुत गर्ने छविलाई अरूले ध्यान दिएको मन पराउँछन्। अब यी प्रकटीकरणहरूबाट तिनीहरूको प्रकृति चिरफार गरौँ। तिनीहरूको प्रकृति के हो? यदि तिनीहरू साँच्चै यी प्रकटीकरणहरू देखाउँछन् भने, तिनीहरू अहङ्कारी र अभिमानी छन्, तिनीहरूले परमेश्‍वरको आराधना पटक्कै गर्दैनन्, र तिनीहरूले उच्च हैसियत पछ्याउँछन् र अरूमाथि अख्तियार जमाउन, तिनीहरूलाई स्वामित्वमा लिन र तिनीहरूको हृदयमा आफ्नो स्थान बनाउन चाहन्छन् भन्‍ने कुरा देखाउन यो नै पर्याप्त छ। यो शैतानको प्रतिनिधिमूलक प्रतिरूप हो। तिनीहरूको प्रकृतिका सहजै देख्न सकिने पक्षहरू भनेका के हुन् भने, तिनीहरू अहङ्कारी र अभिमानी हुन्छन्, तिनीहरूले परमेश्‍वरको आराधना गर्दैनन्, र तिनीहरू अरूलाई आफ्नो आराधना गराउने प्रयास गर्छन्। त्यस्ता प्रकटीकरणहरूले तिनीहरूको प्रकृतिका बारेमा एकदमै स्पष्ट दृष्टिकोण प्रदान गर्न सक्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। परमेश्‍वरका वचनहरूको खुलासामार्फत, मैले के बुझेँ भने मैले अहङ्कारी प्रकृतिद्वारा प्रेरित भएर निरन्तर देखावटी गर्ने र आफूलाई उचाल्ने गरेकी रहेछु, जुन प्रकृतिले मानिसहरूको हृदयमा परमेश्‍वरको स्थान हडप्न खोज्यो। यसो गर्नुको अर्थ म परमेश्‍वरको प्रतिरोध गर्ने पावलको मार्गमा हिँडिरहेकी थिएँ। मैले चीन छोडेदेखि कसरी अभिनेत्रीका रूपमा आफ्नो कर्तव्य निर्वाह गरिरहेकी छु भनेर चिन्तन गरेँ। केही भिडियो खिचेपछि र आफ्नो कर्तव्यमा केही परिणाम प्राप्त गरेपछि, मैले यी कुराहरूलाई आफ्नो पूँजीका रूपमा लिएँ, र म प्रायः अरूको अगाडि देखावटी गर्थेँ, निर्लज्ज रूपमा आफूलाई प्रदर्शन गर्थेँ। मैले म पावलको मार्गमा पहिल्यै हिँडिरहेकी छु भनेर बुझेँ। विगतमा, मैले कसैले आफ्ना उपलब्धिहरूको देखावटी गर्नु र अरूद्वारा प्रशंसित हुनु सामान्य कुरा हो भन्ने सोचेकी थिएँ तर परमेश्‍वरका वचनहरूका आधारमा, मैले यसले अहङ्कारी प्रकृति र मानिसहरूको हृदयमा स्थान ओगट्ने अनि प्रशंसित र सम्मानित हुने चाहनालाई देखाउँछ भनेर बुझेँ। पावल आफ्नो स्वभावमा विशेष रूपले अहङ्कारी थिए, र परमेश्‍वरले उनलाई प्रतिभाहरू दिनुभए तापनि, उनले आफ्नो काममा कहिल्यै प्रभु येशूलाई उचालेनन् वा उहाँको गवाही दिएनन्, बरु, उनले मानिसहरूलाई आफ्नो प्रशंसा र पूजा गराउन उनीहरूको मन जित्ने लक्ष्य राख्दै आफूलाई उचाले र देखावटी गरे। अन्तमा, उनले अहङ्कारी भई ख्रीष्ट बन्न र मानिसहरूको हृदयमा परमेश्‍वरको स्थान लिन खोजे, उनी परमेश्‍वरको प्रतिरोधमा ख्रीष्टविरोधीको मार्गमा हिँडे, र उनले परमेश्‍वरको दण्ड भोगे। वास्तवमा, परमेश्‍वरको घरमा कर्तव्य निर्वाह गर्नुलाई परमेश्‍वरको मार्गदर्शनबाट अलग गर्न सकिँदैन। हाम्रो कर्तव्य निर्वाह भनेको केवल आफ्नो जिम्मेवारी र दायित्वहरू पूरा गर्नु हो, र हामीले कुनै पनि व्यक्तिगत अभिप्राय वा चाहनाहरू नराखी परमेश्‍वरको गवाही दिनुपर्छ र उहाँको महिमा गर्नुपर्छ। तैपनि, म आफ्नो अहङ्कारी प्रकृतिद्वारा प्रेरित भएर, आफ्नो स्थानबारे अनजान बनेँ, र आफूले केही भिडियो छायाङ्कन गरेकीले र केही अनुभव प्राप्त गरेकीले, म देखावटी र आडम्बर गर्न यी कुराहरूलाई पूँजीका रूपमा प्रयोग गर्न सक्छु, र परमेश्‍वरको महिमा चोर्न सक्छु भन्ने सोचेँ। यसमा, म परमेश्‍वरको प्रतिरोध गर्ने मार्गमा हिँडिरहेकी थिएँ। ममा कुन हिसाबले चाहिँ परमेश्‍वरको डर मान्ने हृदय थियो र?

पछि, मैले परमेश्‍वरका वचनहरूले यसो भन्छन् भन्ने पढेँ: “तैँले परमेश्‍वरको काम नबुझ्ने भएकाले, उहाँबारे धारणा राख्नेछस्, र तँसँग परमेश्‍वरको डर मान्ने हृदय हुनेछैन। तेरो बोल्ने लबज परिवर्तन हुनेछ, तेरो स्वभाव अहङ्कारी हुनेछ, र अन्त्यमा तँ बिस्तारै आफूलाई उचाल्न र आफ्नो गवाही दिन थाल्नेछस्। यो मानिसको पतन हुने प्रक्रिया हो, र यो पूर्णतया उसले सत्यता नपछ्याएकाले गर्दा आएको हुन्छ। ख्रीष्टविरोधीको मार्गमा हिँड्ने सबैले आफूलाई उचाल्छन् र आफ्नै गवाही दिन्छन्, आफूलाई बढावा दिन्छन्, हरेक मोडमा आफूलाई प्रदर्शन गर्छन् र परमेश्‍वरलाई बिलकुलै वास्ता गर्दैनन्। के तिमीहरूले मैले भनिरहेका यी कुरा अनुभव गरेका छौ? धेरै मानिस निरन्तर आफ्नो गवाही दिँदै, आफूले यो र त्यो कष्ट कसरी भोग्छु, कसरी काम गर्छु, परमेश्‍वरले आफूलाई कसरी मूल्यवान् ठान्नुहुन्छ, यस्ता केही काम सुम्पनुहुन्छ र आफू कस्तो छु भन्दै कुरा गर्छन्, बोल्दा जानाजानी खास लबजहरू प्रयोग गर्छन्, र अन्त्यमा तिनीहरूलाई केही मानिसले परमेश्‍वर ठान्न नथालेसम्म केही निश्चित आनीबानीमा प्रभाव पार्छन्। यो हदमा पुग्नेहरूलाई पवित्र आत्माले धेरै पहिले नै त्यागिसक्नुभएको छ, अनि तिनीहरूलाई हटाउने र निष्कासन गर्ने नगरिए पनि, बरु सेवा गर्न दिइए पनि, तिनीहरूको भाग्य सुनिश्चित गरिएको हुन्छ, र तिनीहरूले आफ्नो दण्ड कुरिरहेका हुन्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसहरूले परमेश्‍वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्)। परमेश्‍वरका वचनहरू पढ्नाले मलाई के बुझायो भने जब मानिसहरूको हृदयमा परमेश्‍वरका लागि स्थानको कमी हुन्छ र उनीहरू निरन्तर देखवाटी गर्छन् र आफूलाई उचाल्छन्, तब उनीहरू पतनको मार्गमा हुन्छन्, यसलाई परमेश्‍वर घृणा गर्नुहुन्छ, र यसले अन्ततः दण्डमा मात्र पुऱ्याउन सक्छ। आफ्नो व्यवहारबारे मनन गर्दा, म डरले भरिएँ। मैले यो अनुभवात्मक गवाही भिडियो छायाङ्कन गर्दा गरेको यो ठूलो गल्ती यस दौरान आफ्नो कर्तव्यमा रहेको मेरा अनुचित अभिप्रायहरूबाट उत्पन्न भएको थियो। मेरो अहङ्कार र अभिमानले मलाई देखावटी गर्न उत्सुक बनायो, र म सधैँ मानिसहरूलाई मेरो प्रशंसा गर्न लगाउन कसरी उत्कृष्ट हुने भन्नेबारे सोचिरहेकी हुन्थेँ, जसले गर्दा मैले सिद्धान्तहरूलाई एकातिर पन्छाएँ। मेरो हृदयमा अब परमेश्‍वरको लागि कुनै स्थान थिएन। म निरन्तर अरूको प्रशंसा पाउन देखावटी गरिरहेकी थिएँ, जसले मेरो अभिमान सन्तुष्ट पारेझैँ देखिन्थ्यो, तर वास्तवमा, मेरो हृदय परमेश्‍वरबाट झन्-झन् टाढा हुँदै गइरहेको थियो, र मैले अब उहाँको मार्गदर्शन महसुस गर्न छोडेँ। मेरो कर्तव्य निर्णय गल्तीहरूले भरियो, जसले गर्दा काममा ढिलाइ भयो। यदि मैले यस्तै गरिरहेकी भए, निस्सन्देह मलाई परमेश्‍वरले घृणा गर्नुहुनेथ्यो र हटाउनुहुनेथ्यो। यस गल्तीमार्फत्, म प्रकट भएँ र समयमै यस मार्गमा गइरहन रोकिएँ। यो परमेश्‍वरको प्रेम र मलाई मुक्ति दिने उहाँको तरिका थियो। मैले फेरि कहिल्यै देखावटी नगर्ने सङ्कल्प गरेँ।

मैले आफ्नो आत्मिक भक्तिको समयमा, परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “परमेश्‍वर साधारण व्यक्तिका रूपमा देह बन्‍नुहुन्छ, जसको अर्थ परमेश्‍वर आफूलाई यावत् थोकभन्दा माथि रहेको उच्च छवि, पहिचान, र पदबाट झार्दै पूर्ण रूपमा साधारण व्यक्ति बन्नका लागि विनम्र तुल्याउनुहुन्छ। जब उहाँ साधारण व्यक्ति बन्‍नुहुन्छ, तब उहाँले विशिष्ट र समृद्ध परिवारमा जन्मने छनोट गर्नुहुन्न; उहाँको जन्मको पृष्ठभूमि अत्यन्तै सामान्य हुन्छ, र जीर्ण समेत हुन्छ। यदि हामीले यो मामलालाई साधारण व्यक्ति, विवेक, समझ, र मानवता भएको व्यक्तिको परिप्रेक्ष्यबाट हेर्‍यौँ भने, परमेश्‍वरले गर्नुहुने सबै कुरा मानिसहरूको अर्चना र प्रेम योग्य हुन्छन्। मानिसहरूले यसलाई कसरी लिनुपर्छ? (अर्चनाका साथ।) परमेश्‍वरलाई पछ्याउने साधारण र सामान्य व्यक्तिले परमेश्‍वरले आफूलाई उच्च हैसियतबाट असाधारण रूपमा एउटा सामान्य व्यक्तिमा विनम्र तुल्याउनुभएको तथ्यका लागि परमेश्‍वरको प्रेमिलो स्वभावको प्रशंसा गर्नुपर्छ—परमेश्‍वरको नम्रता र गुप्तता अत्यन्तै प्रेमिलो छ! यो कुरा कुनै पनि भ्रष्ट व्यक्तिले हासिल गर्न सक्दैन, न त दियाबलस र शैतानहरूले नै हासिल गर्न सक्छन्। … परमेश्‍वर स्वयम् देह बन्‍नुहुन्छ र मानवजातिको गलतफहमी, साथै तिनीहरूको गिल्ला, बदनामी, र ईश्‍वरनिन्दा सहनुहुन्छ। उहाँले आफूलाई विनम्र तुल्याउनुहुन्छ र उहाँ साधारण व्यक्ति, कुनै उच्च स्वरूप नभएको, कुनै विशेष प्रतिभा नभएको र पक्कै पनि कुनै गहन ज्ञान वा विद्वत्ता नभएको व्यक्ति बन्‍नुहुन्छ—कुन उद्देश्यका लागि? उहाँले छनौट गर्नुभएको र मुक्ति दिने अभिप्राय राख्‍नुभएका मानिसहरूकहाँ यो पहिचान र मानव स्वरूपका साथ जानु हो जुन तिनीहरूका लागि सबैभन्दा पहुँचयोग्य हुन्छ। के परमेश्‍वरले गर्नुहुने यो सबै कुरा उहाँले चुकाउनुभएको मूल्यमा समावेश हुँदैन र? (हुन्छ।) के अरू कसैले यसो गर्न सक्छ? कसैले पनि सक्दैन(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग तीन))। परमेश्‍वरका वचनहरूले मलाई पूर्ण रूपमा लज्जित बनाए। परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ, उहाँसँग अख्तियार र शक्ति छ, र उहाँ सबै कुरामाथि सार्वभौम हुनुहुन्छ, तैपनि उहाँ भ्रष्ट मानवजातिलाई मुक्ति दिन देह बन्नुभयो, आफूलाई साधारण व्यक्तिका रूपमा विनम्र तुल्याउनुभयो, मानवजातिमाझ जिउनुभयो, र भ्रष्ट मानवजातिको विद्रोह र अवज्ञालाई चुपचाप सहनुभयो। परमेश्‍वर उहाँले मानिसका लागि कति धेरै मूल्य चुकाउनुभएको छ भनेर कहिल्यै आडम्बर र घमण्ड गर्नुहुन्न, बरु, नम्र भई मानिसहरूमाझ गुप्तमा रहेर मानवजातिलाई मुक्ति दिन सत्यताहरू व्यक्त गर्नुहुन्छ। यो कुनै पनि भ्रष्ट मानवले कहिल्यै हासिल गर्न नसक्ने कुरा हो। मैले परमेश्‍वरको पवित्र, सुन्दर र असल सार देखेँ, र उहाँको स्वभावमा अहङ्कारको नामोनिसान छैन। म शैतानद्वारा गहन रूपमा भ्रष्ट बनाइएकी थिएँ, र जब मेरा कर्तव्यहरूले केही परिणाम हासिल गरे, तब मैले आफ्नो तुच्छता देखिनँ, म अहङ्कारी र अभिमानी बनेँ र मैले देखावटी गरेँ। वास्तवमा, मेरो क्षमता औसत थियो, म बुढी थिएँ, मेरो जीवन प्रवेश कमजोर थियो, र ममा कुनै प्रतिभा वा सीपहरू थिएनन्, त्यसैले मैले कहिल्यै अभिनेत्री बन्ने सपना देखेकी थिइनँ। परमेश्‍वरले मलाई मण्डलीभित्र अभिनेत्रीका रूपमा तालिम लिने र परमेश्‍वरको गवाही दिने भिडियोहरू छायाङ्कन गर्ने मौका दिएर उचाल्नुभएको थियो, र यसले मजस्तो असक्षम व्यक्तिलाई केही उपयोगी बनाएको थियो। तैपनि म परमेश्‍वरको प्रेमको ऋण चुकाउन र उहाँको गवाही दिन असफल भएकी थिएँ, बरु, मैले आफूलाई विशेष र पूँजी भएकी व्यक्ति ठानेँ। केही भिडियो बनाएपछि, मेरो हिँड्ने र बोल्ने तरिकासमेत बदलियो, मैले आफूलाई उल्लेखनीय ठानेँ, र मैले अरूको प्रशंसा पाउनका लागि देखावटी गर्न र आफूलाई उचाल्न आफूले सकेसम्म हरेक मौका छोपेँ। म साँच्चै नीच, घृणास्पद, र पूर्ण रूपमा मानवताविहीन थिएँ। म पूर्ण रूपमा निर्लज्ज भएकी थिएँ! मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म निरन्तर देखावटी गर्छु र आफूलाई उचाल्छु, र म साँच्चै समझहीन भएकी छु। अब म आफू साँच्चै कति कमजोर र दयनीय छु भन्ने देख्छु, र मैले अब तपाईँविना केही पनि गर्न सक्दिनँ भनेर बुझेकी छु। परमेश्‍वर, कृपया मलाई मेरो भ्रष्ट स्वभाव फाल्न मार्गदर्शन गर्नुहोस्।”

पछि, मैले परमेश्‍वरका वचनहरूका दुइटा खण्ड पढेँ: “परमेश्‍वरको गवाही दिँदा, तैँले मुख्य रूपमा परमेश्‍वरले कसरी मानिसहरूलाई न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ, र मानिसहरूलाई शोधन गर्न र तिनीहरूका स्वभावहरू परिवर्तन गर्न उहाँले के-कस्ता परीक्षाहरू प्रयोग गर्नुहुन्छ भन्‍नेबारेमा नै कुरा गर्नुपर्छ। तिमीहरूले तिमीहरूका अनुभवमा कति भ्रष्टता प्रकट गरेका छौ, तिमीहरूले कति धेरै कष्ट सहेका छौ, परमेश्‍वरको प्रतिरोध गर्न तिमीहरूले कति धेरै कुराहरू गरेका छौ, अन्त्यमा तिमीहरू परमेश्‍वरद्वारा कसरी विजय गरियौ, तिमीहरूले परमेश्‍वरको कामको कति वास्तविक ज्ञान प्राप्त गरेका छौ, र तिमीहरूले परमेश्‍वरको प्रेम चुकाउन कसरी उहाँको गवाही दिनुपर्दछ भन्‍ने बारेमा कुरा गर्नुपर्छ। तिमीहरूले यी शब्दहरूमा ठोसता प्रदान गर्नुपर्छ, जबकि सरल तरिकाले बोल्नुपर्छ। रित्ता सिद्धान्तहरूका बारेमा कुरा नगर। व्यावहारिक तरिकाले बोल; हृदयबाट बोल। तिमीहरूले विभिन्‍न कुराहरूको अनुभव गर्नुपर्ने यसरी नै हो। आडम्बर देखाउने प्रयासमा गहन लाग्ने, रित्ता सिद्धान्तहरू तयार नपार; त्यसो गर्दा तिमीहरू अत्यन्त अहङ्कारी र समझहीन देखिन्छौ। तिमीहरूले आफ्नो असली अनुभवबाट वास्तविक कुराहरूका बारेमा बताउनुपर्छ, र अझ बढी हृदयबाट बोल्नुपर्छ; यो अरूका लागि अत्यन्तै फाइदाजनक हुन्छ, र तिनीहरूका लागि सबैभन्दा उपयुक्त देखिन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ)। “त्यसोभए, कसरी कार्य गर्नुचाहिँ आफूलाई उच्च नपार्नु र आफूबारे गवाही नदिनु हो? यदि तैँले कुनै मामलाको सम्बन्धमा रवाफ देखाउँछस् र आफूबारे गवाही दिन्छस् भने, तैँले केही मानिसहरूलाई तँलाई राम्रो ठान्‍न र तेरो आराधना गर्न लगाउने परिणाम प्राप्त गर्नेछस्। तर यदि तैँले त्यही मामलाका सम्बन्धमा आफूलाई उदाङ्गो पार्छस् र आफ्नो आत्मज्ञान बाँड्छस् भने, यसको प्रकृति फरक हुन्छ। के यो साँचो होइन र? आफूलाई उदाङ्गो पार्नु र आफ्नो आत्मज्ञान साझा गर्नु भनेको सामान्य मानवतामा हुनुपर्ने कुरा हो। यो एउटा सकारात्मक कुरा हो। यदि तँ आफूलाई साँच्चिकै जान्दछस् र आफ्नो स्थितिबारे ठिक किसिमले, साँचो रूपमा र प्रस्टताका साथ बोल्छस् भने; यदि तैँले पूर्णतया परमेश्‍वरका वचनहरूमा आधारित ज्ञान साझा गर्छस् भने; यदि तेरो कुरा सुन्‍नेहरूलाई त्यसबाट शिक्षा र लाभ मिल्छ भने; अनि यदि तँ परमेश्‍वरको कामको गवाही दिन्छस् र उहाँलाई महिमित तुल्याउँछस् भने, त्यो नै परमेश्‍वरबारे गवाही दिनु हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चार: तिनीहरू आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन्)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने परमेश्‍वरको गवाही दिनुमा मुख्यतया उहाँको काम र मानिसहरूमाथि उहाँको न्याय र सजायको प्रभावबारे गवाही दिनु समावेश छ। यसमा आफ्नो कर्तव्यका क्रममा प्रकट भएको भ्रष्टता, व्यक्तिमा के अनुचित अभिप्रायहरू छन् र व्यक्तिले कसरी परमेश्‍वरविरुद्ध विद्रोह गर्छ, अनि व्यक्तिले परमेश्‍वरका वचनहरूको न्याय र सजायमार्फत कसरी आत्मचिन्तन गर्छ र अन्ततः व्यक्तिले कसरी पश्चात्ताप गर्छ र ऊ रूपान्तरित हुन्छ भन्ने कुराहरू खुलासा गर्नु पनि आवश्यक हुन्छ, जसले गर्दा मानिसहरू परमेश्‍वरको स्वभाव बुझ्न र उहाँमा समर्पित हुन सक्षम हुन्छन्। जब म अरूसँग सङ्गति गर्थेँ, तब मैले छायाङ्कनका क्रममा आफूले प्रकट गरेको नकारात्मकता र कमजोरी बताउनु पर्थ्यो ताकि सबैले परमेश्‍वरको मार्गदर्शनविना म केही पनि हासिल गर्न सक्दिनँ, र सबै महिमा परमेश्‍वरलाई दिइनुपर्छ भनेर देखून्। यो परमेश्‍वरको साँचो गवाही हो। त्यसैले, मैले आफूलाई उदाङ्गो पार्न हिम्मत जुटाएँ, र मैले सबैलाई “अनुभवी अभिनेत्री” का रूपमा मेरो अर्को पक्षबारे यसो भन्दै खुलेर कुरा गरेँ, “वास्तवमा, मेरो क्षमता निकै कमजोर छ, र मैले आफू सहभागी भएका धेरै सुटिङमा असफलता र रोकावट अनुभव गरेकी छु, र मैले प्रार्थना गरेर र परमेश्‍वरमा भर परेर मात्र अनुभूति पाएँ। यी प्रस्तुतिहरू हासिल गर्न निर्देशकको व्यापक मार्गदर्शन र लामो समयको रिहर्सल पनि चाहियो। मेरो बढाइचढाइ गरिएको र जरुरतभन्दा बढी अभिनयका कारण पुनःसुटिङ गर्नुपऱ्यो, र अन्य कुराहरूमध्ये, कहिलेकाहीँ म आफ्नो कमजोर स्थितिले गर्दा सही चित्रण गर्न असफल भएँ।” मैले यी कुराहरूबारे खुलेर कुरा गरेपछि, स्थिर र चिन्तामुक्त महसुस गरेँ, मैले अब आफूलाई उच्च ठान्न छोडेँ, र आफ्ना ब्रदर-सिस्टरहरूसँगको मेरो सम्बन्ध अझ घनिष्ठ भयो। विशेष गरी यस सुटिङको दौरान जब मैले यति ठूलो गल्ती गरेँ, अलि-अलि गरेर संशोधन गर्न मेरा ब्रदर-सिस्टरहरूले गरेको धैर्यशील मद्दतले गर्दा नै यो भिडियो पूरा गर्न सम्भव भयो। मैले के बुझेँ भने प्रत्येक भिडियो परमेश्‍वरको मार्गदर्शनमा ब्रदर-सिस्टरहरूबीचको सद्भावपूर्ण सहकार्यको परिणाम थियो, र मैले योगदान गरेको कुरा एउटा सानो अंश मात्र थियो। मलाई आफू पूर्णरूपमा तुच्छ लाग्यो। त्यसपछि, अर्को अनुभवात्मक गवाही भिडियो छायाङ्कन गर्नुअघि, मैले परमेश्‍वरलाई प्रार्थना गरेर उहाँको मार्गदर्शन मागेँ। मैले मेरी सहकर्मी सिस्टर, लिन जिएलाई पनि आफ्नो भ्रष्टताबारे खुलेर बताएँ, र यदि मैले फेरि कहिले घमण्डपूर्वक बोलेँ वा देखावटी गरेँ भने मलाई सुपरिवेक्षण गर्न र सम्झाउन आग्रह गरेँ। निर्देशकसँग मिलेर, मैले आफ्ना समस्याहरू सारांशीकरण पनि गरेँ, अनि बारम्बार अभ्यास र सुधारका लागि आफ्ना सामान्य समस्याहरूलाई एक-एक गरी सूचीबद्ध गरेँ। यसरी आफ्नो कर्तव्य निर्वाह गर्दा, मलाई निकै धेरै चिन्तामुक्त महसुस भयो।

पछि, मैले एउटा चलचित्रको महत्त्वपूर्ण दृश्यमा भाग लिएँ। यो भूमिका मैले पहिले खेलेका भूमिकाहरूभन्दा एकदमै फरक थियो। मैले सोचेँ, यदि मैले यो भूमिका राम्ररी खेल्न सकेकी भए, मैले आफ्नो अभिनयमा ठूलो सफलता पाउनेथिएँ, र ब्रदर-सिस्टरहरूले निश्चय नै मेरो प्रशंसा गर्नेथिए। यो सोच आएपछि, मैले म फेरि देखावटी गर्न खोजिरहेकी छु भनेर बुझेँ। मैले तुरुन्तै प्रार्थना गरेर परमेश्‍वरलाई मेरा अनुचित अभिप्रायहरूविरुद्ध विद्रोह गर्न मार्गदर्शन मागेँ, र मेरो हृदय बिस्तारै शान्त भयो। जब मैले फेरि त्यस पटकथाबारे चिन्तन गरेँ, तब मैले मसँग यस क्षेत्रमा अनुभवको कमी छ र म आफ्नो भूमिका राम्ररी बोध गर्न सक्दिनँ भनेर बुझेँ, त्यसैले मैले मेरा ब्रदर-सिस्टरहरूलाई मद्दत माग्दै मेसेज पठाएँ, “म सङ्घर्ष गरिरहेकी छु र मलाई मद्दतको आवश्यकता छ। म यस भूमिकालाई साकार पार्नबाट धेरै टाढा छु र सही स्थिति भेट्टाउन सक्दिनँ। कृपया मलाई मद्दत गर्नुहोस्।” मेसेज पठाउनेबित्तिकै, मलाई एकदमै हल्का महसुस भयो। पछि, मेरा ब्रदर-सिस्टरहरूले मलाई धैर्यपूर्वक मार्गदर्शन र मद्दत गरे, जसले मलाई केही मार्ग र दिशाहरू दियो।

अब ममा देखावटी गर्ने आफ्नो भ्रष्ट स्वभावबारे केही बुझाइ छ। मैले के बुझेकी छु भने परमेश्‍वरले मलाई आफ्नो कर्तव्य निर्वाह गर्न दिएको अवसर मैले देखावटी गर्नका लागि होइन, बरु आफ्नो कर्तव्यका क्रममा आफ्नो भ्रष्ट स्वभाव चिन्न र समाधान गर्न, अनि लगनशील भई सत्यता र जीवन प्रवेश पछ्याउन लगाउनका लागि हो। यी प्राप्ति र बुझाइहरू सबै परमेश्‍वरका वचनहरूको मार्गदर्शनको परिणाम थिए। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: २३. आफ्नो कर्तव्यमा मैले किन कठिनाइहरूको सामना गर्न सकिनँ

अर्को: २५. जिम्मेवारी स्विकारेर राजीनामा दिएपछिको चिन्तन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्