२०. सधैँ अरूको ईर्ष्या गर्ने प्रवृत्तिमाथिको चिन्तन

लु शिन, चीन

मेरी छिमेकी साओयु र म सहकर्मीका साथै मिल्ने साथी पनि हौँ। सन् २०१३ मा, हामी दुवैले एकैसाथ परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार्‍यौँ, र म धेरै खुसी थिएँ। परमेश्‍वरलाई पाएपछि, हामी भेलामा सँगै सहभागी हुन थाल्यौँ। समय बित्दै जाँदा, साओयुसँग परमेश्‍वरका वचन बुझ्ने क्षमता रहेको र सत्यताबारे उनको सङ्गति ज्योतिर्मय हुने गरेको मैले देखेँ। साओयुले परमेश्‍वरका वचनबारे आफ्नो बुझाइ सङ्गति गर्दा हरेक पटक अगुवाहरूले अनुमोदन जनाउँदै टाउको हल्लाउनुहुन्थ्यो, अनि मलाई नरमाइलो लाग्न थाल्यो। अगुवाहरूले साओयुको साँच्चै सराहना गरेको जस्तो देखिन्थ्यो, त्यसैले मलाई आफूले अझ बढी मिहिनेत गर्नुपर्छ र साओयुभन्दा पछि पर्नुहुँदैन भन्ने लाग्यो। त्यसैले हरेक भेलाअघि, म घरमै परमेश्‍वरका वचनमाथि मनन गर्थेँ, तर भेलाको समयमा, मेरो सङ्गतिमा साओयुको जस्तो ज्योति हुँदैनथ्यो। मलाई सङ्कटको आभास हुन थाल्यो। पछि, हामी दुवैले समूह अगुवाको कर्तव्य सम्हाल्यौँ, र मैले के देखेँ भने मभन्दा साओयु धेरै समूहहरूको जिम्मेवारीमा थिइन्। भेलाको समयमा, अगुवाहरूले प्रायः साओयुलाई पहिले सङ्गति गर्न लगाउनुहुन्थ्यो, र म मनमनै सोच्थेँ, “अगुवाहरूले उनलाई साँच्चै महत्त्व दिएजस्तो छ, उहाँहरूले सधैँ साओयुलाई प्राथमिकता दिनुहुन्छ। हामी दुवैले परमेश्‍वरको आखिरी दिनहरूको काम एकै समयमा स्वीकारेका हौँ, अनि मभन्दा धेरै समूहको जिम्मेवारी किन उनलाई दिइयो? के उनी साँच्चै मभन्दा राम्रो छिन् त? के उनको आस्था मेरोभन्दा बलियो छ?” मलाई साह्रै रिस उठ्यो, म चिन्ताग्रस्त भएँ, र मलाई अनौठो गरी केही गुमाएको जस्तो महसुस भयो। विगतमा, म आफूले नबुझेका जुनसुकै कुरा साओयुसँग छलफल गर्थेँ, तर अब म उनीकहाँ जान छाडेँ। उनलाई बारम्बार प्रश्नहरू सोध्दा म उनीभन्दा कमसल देखिन्छु भन्ने मलाई लाग्यो। कहिलेकाहीँ साओयुलाई देख्दा म तर्किएर हिँड्थेँ, र हामी पहिलेको जस्तो नजिक भएनौँ। पछि, मण्डलीमा अगुवाहरूको चुनाव भयो, र साओयु र म दुवै उम्मेदवार थियौँ। मलाई लाग्यो, क्षमता र सत्यताको पछ्याइको हिसाबले साओयु अगुवा बन्न निकै उपयुक्त छिन्। तर फेरि मैले सोचेँ, “हामी दुवैले एकैसाथ परमेश्‍वरमा विश्‍वास गर्न र कर्तव्य निर्वाह गर्न सुरु गरेका हौँ। म अझै समूह अगुवा मात्र हुँदा उनीचाहिँ अगुवा बनिन् भने, अरूले मलाई कसरी हेर्लान्? के उनीहरूले म उनीभन्दा कमसल छु भनेर सोच्दैनन् र?” उनलाई अगुवाका रूपमा निर्वाचित हुनबाट कसरी रोक्ने भनेर मैले सोच्न थालेँ। अरूले उनलाई भोट दिन्छन् कि दिँदैनन् भन्ने कुरा मेरो नियन्त्रणमा थिएन, तर कम्तीमा मैले उनलाई भोट नदिने निर्णय त गर्न सक्थेँ। त्यसैले मैले अर्कै व्यक्तिलाई भोट दिएँ। तर अन्तमा, साओयु नै अगुवामा निर्वाचित भइन्। मलाई केही रिस उठ्यो, र त्यो रात, म ओछ्यानमा कोल्टे फेरिरहेँ, निदाउनै सकिनँ। मैले सोचेँ, “साओयु र मैले परमेश्‍वरमा विश्‍वास गरेको समयावधि बराबर छ, तर अहिले उनी अगुवा छिन्, अनि म चाहिँ केवल समूह अगुवा मात्र छु। के यसले मलाई उनीभन्दा कमसल देखाउँदैन र?” मलाई साह्रै नरमाइलो लाग्यो।

एक पटक, म अगुवासँग उहाँको घरमा चुनावबारे कुराकानी गर्दै थिएँ। अगुवाले मेरो ईर्ष्या याद गर्नुभयो र मलाई सोध्नुभयो, “साओयु अगुवा निर्वाचित भएको देख्दा तपाईँलाई कस्तो लाग्यो? के तपाईँलाई उनको ईर्ष्या लाग्यो?” यो सुन्दा, मेरो अनुहार रातो भयो, र मैले अप्ठ्यारो मान्दै टाउको हल्लाएँ र भनेँ, “हामी यति मिल्ने साथी छौँ; मलाई कसरी उनको ईर्ष्या लाग्न सक्छ र?” घर फर्कँदा बाटामा, मैले अगुवाले भन्नुभएको कुरा सोचिरहेँ। अगुवाले म साओयुप्रति ईर्ष्या गर्छु भन्नुभएकाले, ममा यो समस्या पक्कै होला। घरनजिकै पुग्दा, मैले छिमेकीका कुकुरहरूलाई खाना दिइँदै गरेको देखेँ। दुईवटा कुकुरले खाइरहँदा, अर्को अर्स्योङ नाम गरेको कुकुरचाहिँ छेउमा उभिएर हेरिमात्र रहेको थियो। मैले छिमेकीलाई सोधेँ, “तपाईँले अर्स्योङलाई चाहिँ किन खान नदिनुभएको?” छिमेकीले भने, “यो कुकुर आज्ञाकारी छ, यसलाई खान नदिए पनि यो चुपचाप पर्खिन्छ, यसले झगडा गर्दैन वा खोस्दैन।” छिमेकीको कुरा सुन्दा, मलाई अगुवाले औँल्याउनुभएको कुरा याद आयो, र मेरो हृदयमा ठूलो पीडाबोध भयो। मैले सोचेँ, “कुकुरले समेत झगडा वा प्रतिस्पर्धा गर्दैन, तर म चाहिँ सधैँ साओयुसँग प्रतिस्पर्धा गरिरहन्छु। यसले त मलाई कुकुरभन्दा पनि गएगुज्रेको बनाउँछ।” म घर गएँ र परमेश्‍वरसामु घुँडा टेकेर प्रार्थना गरेँ, “हे परमेश्‍वर, साओयु अगुवा निर्वाचित भएको देख्दा मलाई नरमाइलो लाग्यो। अगुवाले म उनको ईर्ष्या गर्छु भन्नुभयो, तर मैले यो कुरा महसुस गर्न सकिनँ। कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् ताकि मैले आफ्ना समस्याहरू चिन्न सकूँ।”

एक दिन, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “अहिले, तिमीहरू सबैले पूर्णकालीन रूपमा कर्तव्य निर्वाह गर्छौ। तिमीहरूलाई परिवार, विवाह, वा सम्पत्तिले बाधा दिने वा बाँध्‍ने गर्दैन। तिमीहरू ती कुराहरूबाट पहिले नै बाहिर निस्किसकेका छौ। तापनि, तिमीहरूको दिमाग भर्ने धारणाहरू, कल्पनाहरू, ज्ञान, र व्यक्तिगत अभिप्राय र चाहनाहरू पूराको पूरा जस्ताको तस्तै छन्। त्यसैले, प्रतिष्ठा, हैसियत, वा चम्कने अवसर समावेश हुने कुनै पनि कुराको हकमा—उदाहरणका लागि, जब तिमीहरूले परमेश्‍वरको घरले विभिन्न किसिमका प्रतिभाशाली व्यक्तिहरूलाई संवर्धन गर्ने योजना बनाउँदैछ भनी सुन्छौ—तब तिमीहरूमध्ये हरेक जना चाहनाले सकसक गर्न थाल्छौ, र नाम कमाउन र चर्चाको केन्द्रमा आउन चाहन्छौ। तिमीहरू सबै जना प्रतिष्ठा र हैसियतका लागि प्रतिस्पर्धा गर्न चाहन्छौ। तिमीहरूलाई यो व्यवहारमा संलग्न हुन लाज लाग्छ, तर तिमीहरू त्यसो नगरी बस्न आफूलाई रोक्न सक्दैनौ। चुनिएका र चर्चाको केन्द्रमा आउने मानिसहरूलाई देख्दा तिमीहरूलाई डाहा लाग्छ, घृणा लाग्छ, र तिमीहरू गुनासो गर्छौ, अनि यो अन्यायपूर्ण छ भन्ने सोच्छौ: ‘म किन अलग देखिन सक्दिनँ? अरू मानिसहरू किन सधैँ चर्चाको केन्द्रमा हुन्छन्? मेरो पालो कहिल्यै किन आउँदैन?’ तिमीहरूलाई हृदयमा रिस उठ्छ, र तिमीहरूले त्यसलाई दबाउने प्रयास गरे पनि, तिमीहरू सक्दैनौ। तिमीहरू परमेश्‍वरलाई प्रार्थना गर्छौ र तिमीहरूको स्थिति केही समयका लागि सुध्रन सक्छ, तर जब तिमीहरूले यस्तो प्रकारको परिस्थिति फेरि सामना गर्छौ, तब तिमीहरूले अझै पनि यसलाई विजय गर्न सक्दैनौ। के यो सानो कदको प्रकटीकरण होइन र? जब तिमीहरू यस्ता स्थितिहरूमा फस्छौ, तब के तिमीहरू शैतानको पासोमा परेका हुँदैनौ र? शैतानी भ्रष्ट प्रकृतिले मानिसहरूलाई यसरी नै बाँध्छ। … तैँले ख्याति, प्राप्ति, र हैसियतका लागि जति धेरै प्रतिस्पर्धा गर्छस्, तेरो हृदय त्यति नै अन्धकारमय हुनेछ। तैँले तिनका लागि जति धेरै प्रतिस्पर्धा गर्छस्, अरूप्रतिको तेरो डाहा र घृणा त्यति नै बढ्दै जानेछ। तँ तिनका लागि झन् धेरै लड्न चाहनेछस्, र जब तैँले ती कुरा प्राप्त गर्न सक्दैनस्, तब तँलाई त्यति नै धेरै घृणा महसुस हुनेछ। तँलाई जति धेरै घृणा महसुस हुन्छ, तँ भित्री रूपमा त्यति नै अन्धकारमय हुनेछस्, तेरो कर्तव्य निर्वाह त्यति नै खराब हुँदै जानेछ, र तेरो कर्तव्य निर्वाह जति खराब हुन्छ, तँलाई परमेश्‍वरको घरले त्यति नै कम प्रयोग गर्न सक्छ। यो एक-आपसमा जोडिएको दुष्चक्र हो। यदि तँ आफ्नो कर्तव्य कहिल्यै राम्ररी पूरा गर्दैनस् भने, तँलाई बिस्तारै हटाइनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। यो खण्ड पढिसकेपछि, मलाई परमेश्‍वरले सिधै मेरो स्थितिका बारेमा कुरा गरिरहनुभएको छ जस्तो लाग्यो। जब-जब आफूलाई अरूभन्दा विशेष देखाउन सकिने कुराहरू आउँथे, तब-तब म प्रतिस्पर्धा गर्न र मानिसहरूको हृदयमा स्थान बनाउन चाहन्थेँ। मैले कसरी साओयु र मैले सँगसँगै परमेश्‍वरमा विश्‍वास गर्न र सँगै भेलामा सहभागी हुन सुरु गरेका थियौँ, तर जब उनले मभन्दा राम्रोसँग परमेश्‍वरका वचन बुझेको र धेरै समूहका भेलाहरूको जिम्मेवारी लिएको देखेँ, तब अगुवाहरूले मलाईभन्दा उनलाई बढी महत्त्व दिनुभएको महसुस गरेँ, र म दुःखी भएँ अनि उनको ईर्ष्या गर्न थालेँ भन्ने कुरा सम्झेँ। विगतमा, म सधैँ साओयुसँग कामकुराहरूबारे छलफल गर्थेँ, तर जब उनी हरेक कुरामा मभन्दा राम्रो भएको देखेँ, तब म रिसाएँ, र उनलाई उप्रान्त हेर्न चाहिनँ। हामी पहिलेको जस्तो नजिक थिएनौँ। मण्डली अगुवाको चुनाव आउँदा, साओयु धेरै कुरामा मभन्दा राम्रो छिन् र अगुवाको पदका लागि निकै उपयुक्त छिन् भन्ने मलाई राम्ररी थाहा हुँदाहुँदै पनि, मलाई उनी अगुवा निर्वाचित भइन् र म चाहिँ समूह अगुवा मात्र रहिरहेँ भने, म उनीभन्दा कमसल देखिनेछु भन्ने पीर पर्‍यो, र त्यसैले मैले जानाजानी उनलाई भोट दिइनँ। पछि, जब साओयु अगुवा निर्वाचित भएको देखेँ, तब म असन्तुष्ट भएँ। म आफूलाई साओयुसँग तुलना गरिरहन्थेँ, र उनी मभन्दा राम्रो भएको देख्दा, मलाई ईर्ष्या लाग्थ्यो र रिस उठ्थ्यो। मेरो दिमाग उनलाई कसरी उछिन्न सकिन्छ भन्ने सोचले भरिएको थियो, तर उछिन्न नसक्दा, म निराश भएँ, कर्तव्य निर्वाह गर्ने मेरो जाँगर हरायो, र यसले मेरो जीवन प्रवेशमा नोक्सान पुग्यो। त्यक्षण, मैले के महसुस गरेँ भने मेरो कष्टको कारण मेरो अत्यधिक ईर्ष्या थियो। ब्रदर-सिस्टरहरूले एकअर्काका सबल र दुर्बल पक्षहरूलाई परिपूर्ति गर्दै, सँगै मिलेर राम्रोसँग कर्तव्य निर्वाह गर्न मद्दत गर्नुपर्छ, अभिमान र हैसियतका लागि ईर्ष्या गर्ने र अरूलाई पाखा लगाउने गर्नु हुँदैन। यसो गर्नुले परमेश्‍वरलाई हामीप्रति घृणा गर्ने मात्र बनाउँछ। मैले आफ्ना चाहनाहरू त्याग्न र अरूको ध्यान नखिची चुपचाप आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सिक्नुपर्थ्यो। पछि, जब मलाई आफ्नो कर्तव्यबारे केही कुरा बुझ्न गाह्रो हुन्थ्यो, म आफैँ अग्रसर भएर साओयुलाई सोध्थेँ, र हामी त्यसलाई समाधान गर्न सँगै परमेश्‍वरका वचन सङ्गति गर्थ्यौं। मलाई धेरै हल्का महसुस भयो।

सन् २०१६ को एक दिन, अगुवाहरूले साओयुलाई कर्तव्य निर्वाह गर्न अर्को ठाउँमा पठाउने योजना बनाएको बताउँदै मलाई उनको मूल्याङ्कन लेख्न भन्नुभयो। पत्तै नपाई मेरो ईर्ष्या फेरि जाग्यो, र मैले मनमनै सोचेँ, “परमेश्‍वरलाई पाएदेखि, साओयु समूह अगुवाबाट मण्डली अगुवामा पदोन्नति भएकी छिन्, र अब उनलाई कर्तव्य निर्वाह गर्न अर्को ठाउँमा पठाइँदै छ, र उनले झन् धेरै मण्डलीहरूको जिम्मेवारी पाउनेछिन्। तर म चाहिँ अझै यहीँ अड्किएकी छु, अझै पनि समूह अगुवा मात्र छु। ब्रदर-सिस्टरहरूले मेरो बारेमा के सोच्लान्? के उनीहरूले म साओयुभन्दा कमसल छु, र साओयु र मबीचको खाडल धेरै ठूलो छ भन्नेछन्? यसरी हुँदैन! म उनलाई जान दिन सक्दिनँ, मैले साओयुका केही कमजोरीहरूबारे लेख्नुपर्छ ताकि अगुवाहरूले उनी त्यति सारो राम्रो छैनन् भन्ने देखून्; त्यसो भएमा, उनको पदोन्नति हुनेछैन।” यसका कारण म कयौँ दिनसम्म पिरोलिएँ र बेचैन भएँ। म सोच्दै गएँ, “मैले मूल्याङ्कन कसरी लेख्नुपर्छ त? साओयुका आफ्नै भ्रष्टता र कमजोरीहरू छन्, तर कोही पनि पूर्ण हुँदैन, र हरेक मानिसमा खोट र कमजोरीहरू हुन्छन्। यो रातारात परिवर्तन हुनु असम्भव छ। यदि मैले उनका अवगुणहरूबारे मात्र लेखेँ भने, त्यो अरूलाई अन्यायपूर्ण व्यवहार गरेको ठहरिनेछ। के यसो गर्दा मैले दुष्टता गरिरहेको हुनेछैन र? तर यदि मैले वस्तुनिष्ठ र सच्चा तरिकाले लेखेँ, र साओयुको पदोन्नति भयो भने, मलाई नरमाइलो लाग्नेछ।” मेरो यस दुविधामा, मैले आफ्नो मूल्याङ्कन बारम्बार लेख्दै र मेटाउँदै गरेँ। अन्तमा, के लेख्ने, के नलेख्ने भयो, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! मलाई थाहा छ तपाईँले यस क्षण मलाई छानबिन गरिरहनुभएको छ। यदि मैले यो मूल्याङ्कन आफ्नै अभिप्रायअनुसार लेखेँ र साओयुलाई अन्यत्र गएर कर्तव्य निर्वाह गर्नबाट रोकेँ भने, मैले साँच्चै दुष्टता गरेको हुनेछु। कृपया मलाई मेरो भ्रष्ट स्वभावविरुद्ध विद्रोह गर्न मद्दत गर्नुहोस् ताकि म सच्चा कुरा लेख्न सकूँ र इमानदार व्यक्ति बन्न सकूँ।” प्रार्थना गरिसकेपछि, मैले मूल्याङ्कन सच्चा तरिकाले लेखेँ। तर साओयु जाने कुरा सोच्दा, मलाई नरमाइलो लाग्यो, मेरो हृदयमा ढुङ्गाले थिचेजस्तो भयो। त्यस समयमा, म कहिलेकाहीँ साओयुले कसरी कर्तव्य निर्वाह गरिरहेकी छिन् भनेर सोध्थेँ, र उनको स्थिति खराब छ वा उनले आफ्नो कर्तव्य राम्ररी निर्वाह गरिरहेकी छैनन् भन्ने सुन्न पाउँछु कि भन्ने आशा गर्थेँ। तर हरेक पटक खबर सुन्दा, उनको स्थिति निकै राम्रो हुन्थ्यो, र म अलि निराश हुन्थेँ। एक दिन, म साओयुको घर गएँ, र मैले मनमनै सोचेँ, “साओयुलाई अन्यत्र गएर कर्तव्य निर्वाह गर्दा कष्ट सहनुपर्छ भन्ने थाहा छैन। यदि मैले उनलाई यसबारे बताएँ भने, सायद उनी जान चाहनेछैनन् होली।” त्यसैले मैले साओयुलाई भनेँ, “अन्यत्र गएर कर्तव्य निर्वाह गर्नु घरमा भएजस्तो हुँदैन। के तपाईँ साँच्चै त्यस्तो दुःखकष्ट सहन सक्नुहुन्छ? मसँग तपाईँको जस्तो दृढता छैन।” मेरो कुरा सुनेपछि, साओयुलाई कुनै असर परेन, र मैले भनेको कुराको प्रकृति र यसले ल्याउने परिणामहरूबारे म बेखबर थिएँ। एक दिन, कामबाट घर फर्केपछि, अचानक मेरो कुकुरले मलाई टोक्यो। यो अस्वाभाविक थियो। घरको कुकुरले आफ्नै मालिकलाई कहिले टोक्छ र? मलाई के महसुस भयो भने यो कुनै संयोगको घटना होइन, र पक्कै मैले केही गलत गरेकाले मलाई ताडना दिइएको हुनुपर्छ। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! सबै कुरा तपाईँको हातमा छ। मेरो कुकुरले मलाई टोक्यो, र यो तपाईँको अनुमतिमा भएको हो। कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् ताकि मैले आफ्नो गल्ती महसुस गर्न सकूँ। म पश्चात्ताप गर्न तत्पर छु।”

पछि, मैले संयोगवश परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ: “मानवताको कमी हुनु भनेको के हो? यसको अर्थ नैतिकता समेत नहुनु हो। नैतिकताको कमी हुनु भनेको के हो? त्यस बहिनीको जीवन अवस्था राम्रो छ र उसको परिवार समृद्ध छ, अनि यी मानिसहरूको मनोवृत्ति कस्तो हुन्छ? के यो बस डाहा गर्ने, त्यसपछि राम्रो कामना गरेर अघि बढ्ने खालको हुन्छ? (हुँदैन।) त्यसोभए, तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? डाहा, रिस, द्वेष, र हृदयमा गुनासाहरू पाल्नु: ‘के ऊ यति धेरै पैसा राख्न लायक छे? मसँग किन त्यति धेरै पैसा छैन? परमेश्‍वरले किन उसलाई आशिष् दिन्छन् तर मलाई दिँदैनन्?’ त्यो बहिनी धनी र समृद्ध छे, त्यसकारण तिनीहरूले सराहना वा शुभकामनाको एउटा शब्द पनि नबोली मनमा डाहा र घृणा अनुभूति गर्छन्। यसले सबैभन्दा आधारभूत नैतिकता समेत पूर्ण रूपमा नभएको सङ्केत गर्छ। … तिनीहरू अरूको भलाइ सोच्दैनन्; कसैले राम्रो गरिरहेको वा तिनीहरूभन्दा राम्रो भएको देख्दा, तिनीहरू डाहा र घृणाले भरिन्छन्। परमेश्‍वरमाथिको अरू कसैको आस्था जति नै दह्रिलो भए पनि, यदि त्यो व्यक्ति तिनीहरूभन्दा असल छ भने, तिनीहरू त्यो कुरा पटक्‍कै मान्दैनन्। तिनीहरूमा पूर्ण रूपमा मानवताको कमी हुन्छ, र तिनीहरू आशिष् वा आत्मोन्नतिको एउटा शब्द समेत बोल्न असमर्थ हुन्छन्। तिनीहरू किन त्यस्ता शब्दहरू बोल्न सक्दैनन्? किनभने तिनीहरूको मानवता अत्यन्तै दुष्ट हुन्छ! तिनीहरूले बोल्न नचाहने, वा तिनीहरूसँग सही शब्दहरूको कमी हुने होइन; बरु, तिनीहरूको हृदय डाहा, घृणा, र आक्रोशले भरिएको हुन्छ, जसले तिनीहरूलाई आशिष्‌का शब्दहरू बोल्न असम्भव बनाउँछ। त्यसोभए, के तिनीहरूको हृदय त्यस्ता भ्रष्ट कुराहरूले भरिएको छ भन्ने तथ्यले तिनीहरूको मानवता दुर्भावपूर्ण छ भन्‍ने कुराको सङ्केत गर्न सक्छ? (सक्छ।) सक्छ। तिनीहरूले त्यस्ता भ्रष्ट स्वभावहरू प्रकट गर्ने हुनाले, अरूलाई यो कुरा खुट्ट्याउन सजिलो हुन्छ, र अरूले तिनीहरूको भ्रष्ट सारलाई छर्लङ्ग देख्‍न सक्छन्(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२४))। परमेश्‍वरका वचन पढिसकेपछि, मलाई साह्रै नमिठो भयो। परमेश्‍वर खुलासा गर्नुहुन्छ, मानिसहरू आफूभन्दा उत्तम देखिने व्यक्तिहरूको ईर्ष्या र रिस गर्छन्, र यसले नीच र दुर्भावपूर्ण मानवतालाई झल्काउँछ, अनि परमेश्‍वरले त्यस्ता मानिसहरूलाई मन पराउनुहुन्न। म ठ्याक्कै परमेश्‍वरले कुरा गरिरहेको जस्तै व्यक्ति थिएँ। परमेश्‍वरलाई पाएपछि, साओयुलाई मभन्दा धेरै समूहको जिम्मेवारीमा देख्दा मलाई ईर्ष्या लाग्यो, र उनी अगुवा बन्न उपयुक्त रहेको मलाई थाहा हुँदाहुँदै पनि, उनी निर्वाचित भइन् भने म उनीभन्दा कमसल देखिनेछु भन्ने डरले मैले जानाजानी उनलाई भोट दिइनँ। जब अगुवाहरूले मलाई साओयुको मूल्याङ्कन लेख्न भन्नुभयो, मलाई उनी अन्यत्र गएर कर्तव्य निर्वाह गर्न थालिन् भने हामीबीचको खाडल झन् बढ्नेछ भन्ने पिर लाग्यो, त्यसैले म उनका सबल पक्षहरूबारे लेख्न चाहन्नथेँ। अन्तमा मैले सच्चा तरिकाले नै लेखे तापनि भित्री रूपमा म अझै पनि उनको भलो भएको चाहन्नथेँ, र मैले उनको स्थिति खराब छ वा उनले आफ्नो कर्तव्य राम्ररी गरिरहेकी छैनन् भन्ने सुन्न पाउने आशा गर्थेँ, र उनको कर्तव्य निर्वाह गर्ने उत्प्रेरणालाई घटाउने प्रयासमा मैले जानाजानी उनको अगाडि नकरात्मक कुराहरू समेत गरेँ। त्यसो हुँदा, उनले अन्यत्र गएर कर्तव्य निर्वाह गर्न सक्नेथिइनन्, र हामीबीचको खाडल त्यति ठूलो हुने थिएन। मैले जति धेरै चिन्तन गरेँ, त्यति धेरै म कति भयानक रहेछु भन्ने कुरा महसुस गरेँ। अरूले मलाई उच्च ठानून् भन्नका लागि मात्रै मैले कपटी चालहरू प्रयोग गरेँ, जुन साँच्चै स्वार्थी, नीच र दुर्भावपूर्ण थियो। ममा अलिकति पनि मानवता थिएन! साओयुले अन्यत्र गएर कर्तव्य निर्वाह गर्दा उनको जीवन वृद्धिमा फाइदा पुग्नेथियो, र यसले मण्डलीको कामलाई पनि फाइदा पुर्‍याउनेथियो। यो कुरा परमेश्‍वरका अभिप्रायहरूसँग मेल खान्थ्यो, तर आफ्नो प्रतिष्ठा र हैसियतका लागि, मैले कामकुराहरू बिगार्ने प्रयास गरेँ, उनलाई प्रोत्साहन दिनु त कता हो कता, उल्टै जानीबुझी नकरात्मक कुराहरू पनि भनेँ। मैले जे गरिरहेकी थिएँ त्यो मण्डलीको काममा अवरोध, बाधा र रोकावट गर्नु थियो। यसबारे मैले जति धेरै सोचेँ, त्यति नै मलाई धेरै पछुतो र नरमाइलो लाग्यो। मैले थ्री किङडम्सको झाउ युलाई सम्झेँ, उनी कसरी सङ्कीर्ण सोचका थिए र झुग लियाङको ईर्ष्या गर्थे, झुगसँग प्रतिस्पर्धा र आफूलाई तुलना गर्थे, र अन्तमा, उनले झुगलाई उछिन्न सकेनन् र क्रोधले गर्दा मृत्युको मुखमा पुगे। यदि मैले आफूलाई साओयुसँग तुलना गरिरहेँ भने, म दुखी हुने मात्र थिइनँ, मण्डलीको काममा बाधा पुर्‍याउँदै शैतानको नोकरका रूपमा काम गर्नेथिएँ। यो महसुस गरेर, मैले परमेश्‍वरसामु घुँडा टेकेर प्रार्थना गरेँ, “हे परमेश्‍वर, म कति गहिरो रूपमा भ्रष्ट छु भन्ने मैले देखेको छु। मेरो ईर्ष्या अत्यधिक छ। साओयुले मभन्दा राम्रो गरेको म किन देख्न सक्दिनँ? म साँच्चै आफैँलाई घृणा गर्छु! मेरो भ्रष्ट प्रकृतिलाई श्राप दिनुहोस् र मलाई आफैँबारे गहिरो बुझाइतर्फ डोर्‍याउनुहोस्।”

पछि, मैले परमेश्‍वरका केही वचन पढेँ: “यस्तो फोहोरी भूमिमा जन्मिएको मानिस समाजद्वारा गम्भीर रूपमा दूषित पारिएको छ, ऊ सामन्ती नैतिकताहरूबाट प्रभावित बनेको छ, र उसले ‘उच्‍च शिक्षालयहरूको’ शिक्षा प्राप्त गरेको छ। पश्चगामी सोच, भ्रष्‍ट नैतिकता, पतित जीवनदृष्टि, संसारसँग व्यवहार गर्ने घृणित दर्शन, पूर्णतया मूल्यहीन अस्तित्व, साथै नीच चलनहरू र दैनिक जीवन—यी सबै कुराहरू मानिसको हृदयमा गम्भीर रूपमा घुसपैठ गर्दै आएका छन्, र तिनले उसको विवेकलाई गम्भीर रूपमा क्षति पुर्‍याउँदै र आक्रमण गर्दै आएको छ। फलस्वरूप, मानिस परमेश्‍वरबाट अझ धेरै टाढिन्छ, र अझ धेरै उहाँको विरोधी बनेको छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वभावमा अपरिवर्तित रहनु भनेको परमेश्‍वरसँग शत्रुतामा हुनु हो)। “निर्दयी मानवजाति! गुप्त योजना र षड्यन्त्र, एक-अर्काबाट खोस्ने र हडप्ने, ख्याति र प्राप्तिका लागि लुछाचुँडी गर्ने, पारस्परिक हत्या गर्ने—यी सबै कहिले अन्त्य हुनेछन्? परमेश्‍वरले हजारौँ वचनहरू बोल्‍नुभएको भए तापनि कोही पनि आफ्नो चेतनामा आएका छैनन्। मानिसहरू आफ्ना परिवार, छोराछोरीहरूको खातिर, आफ्नो जीविकोपार्जन, भविष्य, प्रत्याशाहरू, हैसियत, दम्भ, र रुपैयाँपैसाको निम्ति, खानेकुरा, लुगाफाटो, र शरीरको निम्ति काम गर्छन्। तर के साँच्‍चिकै परमेश्‍वरको खातिर कामहरू गर्ने कोही छन्? परमेश्‍वरको खातिर काम गर्नेहरूमध्ये पनि परमेश्‍वरलाई चिन्ने थोरै छन्। आफ्नै स्वार्थअनुसार काम नगर्ने मानिसहरू कति छन्? कति जनाले आफ्नो ओहदा सुरक्षित राख्‍न अरूलाई थिचोमिचो गर्दैनन् वा बहिष्‍कार गर्दैनन्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुष्टलाई निश्‍चय नै दण्ड दिइनेछ)। परमेश्‍वरका वचन पढिसकेपछि, मैले के महसुस गरेँ भने साओयुप्रतिको मेरो ईर्ष्या प्रतिष्ठा र हैसियतप्रतिको मेरो अत्यधिक फिक्रीले उब्जाएको थियो, म “अरूभन्दा माथि उठ्ने र उत्कृष्ट बन्ने,” “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ,” र “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ” जस्ता शैतानी विषहरूअनुसार जिइरहेकी थिएँ र यी विचारहरूले मलाई मेरो विवेक र समझ गुमाउन बाध्य पारे। मैले जे गरे पनि, म सधैँ अरूले मेरो प्रशंसा गरून् भन्ने चाहन्थेँ, र उनीहरूको हृदयमा स्थान बनाउन खोज्थेँ। मैले बाल्यकालदेखि नै मभन्दा राम्रो गर्ने अरूलाई देख्दा मलाई सधैँ नरमाइलो लाग्थ्यो भन्ने कुरा सम्झेँ। यदि स्कुलमा कसैले मभन्दा राम्रो गर्‍यो भने, म रिसाउँथेँ, र यदि कसैको जीवनस्तर राम्रो भयो भने, मलाई ईर्ष्या लाग्थ्यो। मेरो फुपूकी छोरीले स्कुलमा मभन्दा राम्रो गरेकी थिइन् र उनको पारिवारिक अवस्था मेरो भन्दा राम्रो थियो, त्यसैले मलाई उनको ईर्ष्या लाग्थ्यो। जब उनको परिवारले टिभी किन्यो, म ईर्ष्या र रिसले गर्दा टीभी हेर्न गइनँ। परमेश्‍वरलाई पाएपछि पनि, म शैतानका यी विषहरूअनुसार जिइरहेँ। जब मैले साओयुले मलाई हरेक कुरामा उछिनेको देखेँ, तब मलाई उनको ईर्ष्या लाग्यो र निरन्तर आफूलाई उनीसँग तुलना गरेँ, र जब म उनीसरह हुन सकिनँ, तब मलाई दुःखी महसुस भयो। यो सबै शैतानको भ्रष्टता र हानिका कारण भएको थियो। मैले ख्याति र प्राप्तिलाई आफ्नो पछ्याइ बनाएँ, यहाँसम्म कि मेरा सबै भावना यिनै कुराहरूद्वारा नियन्त्रित हुन पुगे। आफ्नो प्रतिष्ठा र हैसियतका लागि, मैले अरूलाई आक्रमण गरेँ र पाखा लगाएँ, मण्डलीको कामलाई बेवास्ता गरेँ, र साँच्चै स्वार्थी र दुर्भावपूर्ण बनेँ। साओयु र म मिल्ने साथी, अनि एकअर्कासँग सबै कुरा साटासाट गर्ने भए पनि, मैले आफूलाई अझै पनि उनको पिठ्युँ पछाडि उनलाई क्षति पुर्‍याउन सक्ने, र आफ्ना लक्ष्य हासिल गर्न नीच तरिकाहरू प्रयोग गर्न चाहने पाएँ। यदि म यी शैतानी विषहरूअनुसार जिइरहेँ भने, ममा मानव रूप झन्-झन् हराउँदै जानेथियो र अन्ततः म परमेश्‍वरद्वारा तिरस्कृत भई हटाइनेथिएँ। मलाई खुलासा गर्न यो परिस्थिति प्रयोग गर्नुभएकोमा, र आफ्ना वचनको प्रकाशमार्फत मलाई आफ्नो भ्रष्टता चिन्न दिनुभएकोमा, अनि मलाई पश्चात्ताप गर्ने र परिवर्तन हुने मौका दिनुभएकोमा म परमेश्‍वरलाई धन्यवाद दिन्छु। यो परमेश्‍वरको प्रेम हो।

पछि, मैले परमेश्‍वरका वचनमा अभ्यास र प्रवेशको मार्ग खोजेँ। मैले परमेश्‍वरका वचनका दुईवटा खण्ड पढेँ: “कर्तव्य निर्वाह गर्ने सबैका हकमा, तिनीहरूको सत्यताको बुझाइ जतिसुकै गहन वा सतही भए पनि, सत्यता वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल अभ्यास भनेको हरेक मोडमा परमेश्‍वरको घरका हितहरूका बारेमा सोच्नु, आफ्ना स्वार्थी चाहनाहरू, व्यक्तिगत नियत, मनसाय, इज्जत, र हैसियतलाई त्याग्नु, र परमेश्‍वरको घरका हितहरूलाई पहिलो स्थानमा राख्नु हो—तिनीहरूले गर्नुपर्ने न्यूनतम कुरा यही हो। यदि कर्तव्य निर्वाह गर्ने व्यक्तिले यति पनि गर्न सक्दैन भने, उसले आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ भनेर कसरी भन्न सकिन्छ र? त्यो त आफ्नो कर्तव्य निर्वाह गरेको नै भएन। तैँले सर्वप्रथम परमेश्‍वरको घरको हितबारे सोच्नुपर्छ, परमेश्‍वरका अभिप्रायको ख्याल गर्नुपर्छ, साथै मण्डलीको कामको बारेमा सोच्नुपर्छ। यी कुराहरूलाई नै सबैभन्दा सुरुमा र पहिलो प्राथमिकतामा राख्; त्यसपछि मात्र तैँले तेरो हैसियतको स्थिरता वा अरूले तँलाई कसरी लिन्छन् सोबारे सोच्न सक्छस्। यसलाई दुई चरणमा विभाजन गर, अलिकति सम्झौता गर—के तिमीहरूलाई यसले कामकुरा अलि सजिलो बनाउँछ जस्तो लाग्दैन? यदि तैँले केही समय यसरी अभ्यास गरिस् भने, तँलाई परमेश्‍वरलाई सन्तुष्ट पार्नु गाह्रो कुरा होइन भन्‍ने महसुस हुन थाल्नेछ। यसबाहेक, यदि तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्छस्; आफ्ना दायित्व र कर्तव्य पूरा गर्न सक्छस्; आफ्ना स्वार्थी चाहना, नियत, र मनसायहरूलाई पन्छाउन सक्छस्; परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्न सक्छस्; र परमेश्‍वरको घरका हितहरू, मण्डलीको काम, र तैँले पूरा गर्नुपर्ने कर्तव्यलाई पहिलो स्थानमा राख्न सक्छस् भने, केही समय यसरी अनुभव गरेपछि, तँलाई यसरी आफूलाई आचरणमा ढाल्नु राम्रो हो, मानिसहरू इमानदार र स्पष्ट तरिकाले जिउनुपर्छ, र तिनीहरूले कायर, फोहोरी, नीच अस्तित्व जिउनु हुँदैन, बरु तिनीहरू सोझो र न्यायवान् हुनुपर्छ भन्‍ने महसुस हुनेछ। तँलाई यो एउटा व्यक्तिले जिउनुपर्ने स्वरूप हो भन्‍ने महसुस हुनेछ। तेरा आफ्नै स्वार्थहरू सन्तुष्ट पार्ने तेरो चाहना क्रमिक रूपमा कम हुँदै जानेछ। … मैले अब तिमीहरूलाई एउटा सरल शैली बताइसकेको छु: यस तरिकाले अभ्यास गर्दै सुरु गर, र तिमीहरूले केही समयसम्म यसो गरेपछि, थाहै नभई तिमीहरूभित्रको स्थिति परिवर्तन हुनेछ। तैँले परमेश्‍वरमा विश्‍वास गर्न अति नै चासो पनि नराख्ने र त्यसप्रति वितृष्णा पनि राख्ने मिश्रित अवस्था बदलिएर परमेश्‍वरमा विश्‍वास गर्नु र इमानदार व्यक्ति हुनु राम्रो कुरा हो भनी महसुस गर्ने स्थितिमा, र तैँले एक इमानदार व्यक्ति हुन चासो राख्‍ने र त्यसरी जिउनुमा अर्थ र भरणपोषण छ भनी महसुस गर्ने स्थितिमा परिणत हुनेछ। तँलाई हृदयभित्र स्थिरता, शान्ति र सन्तुष्टि महसुस हुनेछ। तेरो स्थिति ठीक त्यस्तै बन्‍नेछ। यो आफ्ना अभिप्राय, रुचि र स्वार्थी चाहनाहरू त्याग्दा आउने परिणाम हो। यो प्रतिफल हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। “यदि परमेश्‍वरले तँलाई मूर्ख बनाउनुभयो भने, तेरो मूर्खतामा अर्थ हुन्छ; यदि उहाँले तँलाई बुद्धिमानी बनाउनुभयो भने, तेरो बुद्धिमत्तामा अर्थ हुन्छ। परमेश्‍वरले तँलाई जस्तोसुकै दक्षता दिनुभए पनि, तँ जेमा सिपालु भए पनि, तेरो आइक्यू जतिसुकै उच्च भए पनि, परमेश्‍वरले त्यसो बनाउनुमा उहाँको उद्देश्य थियो। यी सबै कुरा परमेश्‍वरद्वारा पूर्वनियोजित थिए। तैँले आफ्नो जीवनमा खेल्ने भूमिका र तैँले निर्वाह गर्न सक्ने कर्तव्य पनि परमेश्‍वरद्वारा धेरै अघिदेखि नै पूर्वनियोजित गरिएको थियो। कतिपय मानिसले अरूसँग आफूसँग नभएका सबल पक्षहरू छन् भन्‍ने देख्छन् र आक्रोशित महसुस गर्छन्। तिनीहरू अझ धेरै सिकेर, अझ धेरै देखेर, र अझ धेरै लगनशील भएर कामहरू परिवर्तन गर्न चाहन्छन्। तर तिनीहरू जतिसुकै लगनशील भए पनि, तिनीहरूले हासिल गर्न सक्ने कुराको एउटा सीमा हुन्छ, र तिनीहरू वरदान र दक्षता भएकाहरूलाई उछिन्‍न सक्दैनन्। तैँले जतिसुकै मेहनत लगाए पनि, त्यो व्यर्थ हुन्छ। परमेश्‍वरले तँ जे हुन पूर्वनियोजित गर्नुभयो, तँ त्यही होस्। उहाँ सबैलाई फरक-फरक वरदान र दक्षताहरू दिनुहुन्छ, र यसलाई परिवर्तन गर्न कसैले केही गर्न सक्दैन। तँ जेमा सिपालु छस्, तैँले त्यहीँ नै अझ धेरै मेहनत लगाउनुपर्छ। तँ जुन कर्तव्यका लागि उपयुक्त छस्, तैँले त्यही कर्तव्य निर्वाह गर्नुपर्छ। आफू सिपालु नभएका कुराहरूमा आफूलाई जबरजस्ती लगाउने प्रयास नगर् र अरूको डाहा नगर्। सबैको आ-आफ्नै कार्य हुन्छ। तँ सबै कुरा राम्ररी गर्न सक्छस्, वा तँ सिद्ध र अरूभन्दा असल छस् भन्‍ने नसोच्। सधैँ अरूलाई प्रतिस्थापन गर्ने र आफूलाई प्रदर्शनमा राख्ने चाहना नराख्। यो एक भ्रष्ट स्वभाव हो। यस्ता मानिस हुन्छन्, जो आफूले केही पनि राम्रोसँग गर्न नसक्ने, र आफूसँग कुनै दक्षता नै नभएको सोच्छन्। यदि त्यसो हो भने, तँ केवल व्यावहारिक तरिकाले सुन्‍ने र समर्पित हुने व्यक्ति हुनुपर्छ। आफूले गर्न सक्ने कुराहरू राम्ररी कार्यान्वयन गर्, र त्यसमा आफ्नो सक्दो प्रयास लगा। त्यही नै पर्याप्त छ। परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। परमेश्‍वरका वचन पढिसकेपछि, मैले अभ्यासको मार्ग फेला पारेँ। जेसुकै भए पनि, मैले आफ्ना व्यक्तिगत हितहरूलाई पन्छाउनैपर्छ, र पहिले मण्डलीको कामलाई कसरी सुरक्षित गर्ने र परमेश्‍वरलाई कसरी सन्तुष्ट पार्ने भनेर सोच्नैपर्छ। अरूले मलाई कसरी हेर्छन् भन्ने कुराको वास्ता नगरी, मैले चुपचाप आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ। मेरो कर्तव्यमा, मैले सत्यता पछ्याउनुपर्छ र आफ्नो स्वभावमा रूपान्तरण खोज्नुपर्छ। यो नै परमेश्‍वरका अभिप्रायहरूसँग मेल खाने कुरा हो। यदि म प्रतिष्ठा र हैसियत पछ्याउँछु, र यदि म अरूको ईर्ष्या गर्छु, उनीहरूसँग प्रतिस्पर्धा गर्छु, वा कपटी तरिकाहरू प्रयोग गर्छु, र नीच तथा घृणित कामहरू गर्छु भने, म परमेश्‍वरले मलाई घृणा गर्ने कारण मात्र बन्नेछु। मैले के पनि बुझेँ भने परमेश्‍वरको घरमा, कर्तव्यहरू उच्च वा निम्न हैसियत, वा ठूला वा साना पदद्वारा विभाजित हुँदैनन्, र हरेकले केवल आ-आफ्नो कार्य सम्पादन गरिरहेका हुन्छन्। यदि कसैको कर्तव्य अतिथिसत्कार गर्नु हो भने, उसले अतिथिसत्कार गर्ने कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ, र यदि कोही अगुवा बन्न सक्छ भने, उसले अगुवाको कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ। हामीले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, हामीले सत्यता पछ्याउनैपर्छ। परमेश्‍वरले व्यक्तिको आफ्नो कर्तव्यप्रतिको मनोवृत्ति, अनि उसले सत्यता पछ्याइरहेको छ कि छैन र उसको भ्रष्ट स्वभाव परिवर्तन भइरहेको छ कि छैन भनेर हेर्नुहुन्छ। परमेश्‍वरले कसैको हैसियत उच्च छ वा ऊसँग धेरै योग्यता छ भन्दैमा उसलाई अनुमोदन गर्नुहुन्न। यो परमेश्‍वरको धार्मिकता हो। साओयुले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, उनका आफ्नै जिम्मेवारीहरू थिए, र मेरो आफ्नै कर्तव्य थियो, र मैले आफूलाई उनीसँग तुलना गर्नमा मात्र केन्द्रित भएर आफ्नो कर्तव्यलाई चाहिँ उपेक्षा गर्नुहुँदैनथ्यो। अरूले मलाई आदर गरे पनि, त्यसको मतलब मसँग सत्यता छ वा मेरो स्वभाव परिवर्तन भएको छ भन्ने हुँदैन। मेरो कद र क्षमता समूह अगुवाको कर्तव्यका लागि उपयुक्त छ, त्यसैले मैले यथार्थपरक ढङ्गले समूह अगुवाको कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ। जब ब्रदर-सिस्टरहरूलाई समस्या वा कठिनाइहरू पर्छन्, म उनीहरूसँग सङ्गति गर्न र समस्याहरू समाधान गर्न परमेश्‍वरमा भर पर्नेछु, र मैले गर्नुपर्ने कर्तव्य पूरा गर्नेछु।

पछि, विभिन्‍न कारणले गर्दा, साओयु अन्यत्र कर्तव्य निर्वाह गर्न गइनन्। विगतमा भए, म यसमा खुसी हुन्थेँ, तर अहिले म यसलाई सही तरिकाले हेर्न सक्षम थिएँ, र त्यसैले मैले साओयुसँग आफ्नो स्थिति र मैले प्रकट गरेको भ्रष्टताबारे खुलेर सङ्गति गरेँ। साओयुले पनि यस विषयमा आफ्नो अनुभवात्मक बुझाइ मसँग सङ्गति गरिन्। विगतमा, म ईर्ष्याले दृष्टिहीन भएकी थिएँ, र साओयुले सङ्गति गर्दा मैले कहिल्यै ध्यान दिएर सुनिनँ, म उनले केवल आफूलाई देखाइरहेकी छिन् भन्ने ठान्थेँ। त्यो दिन, जब मैले ध्यान दिएर उनले आफ्ना अनुभवहरू सङ्गति गरेको सुनेँ, तब म आफूलाई एकदमै लाभान्वित भएको पाएँ, र मलाई हृदयमा ठूलो चैन र छुटकाराको महसुस पनि भयो। आफूमा आएको यो थोरै परिवर्तन देख्दा, मेरो हृदय परमेश्‍वरप्रति कृतज्ञताले भरिएको छ।

अघिल्लो: १९. मैले देखेँ कि मेरा शब्दहरूका पछाडि सधैँ अशुद्धताहरू हुन्थे

अर्को: २२. मलाई एउटा यहूदाले धोका दिएपछि

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्