१९. मैले देखेँ कि मेरा शब्दहरूका पछाडि सधैँ अशुद्धताहरू हुन्थे
म मण्डलीमा मलजल गर्ने कामको सुपरिवेक्षण गर्थेँ। तीन महिनाभन्दा बढी समय बितिसक्दा पनि, मलजल गर्ने व्यक्तिहरूको संवर्धन गर्ने काम अझै सुस्त गतिमा अघि बढिरहेको थियो। मेरो सहकर्मी ब्रदर वाङ लेइले मलाई प्रायजसो यस विषयमा खोजी र चिन्तन गर्न सम्झाउँथे, तर हरेक पटक तिनले त्यसो भन्दा, म आफ्नो हृदयमा केही प्रतिरोध महसुस गर्थेँ, र सोच्थेँ कि म अल्छी भएको छैनँ, र मलजल गर्ने व्यक्तिहरूका समस्याहरू समाधान गर्न मैले कडा मिहिनेत गरिरहेको छु। म अचम्म मान्थेँ, “तिनीहरूको प्रगति किन सधैँ यति सुस्त भएको होला? यसको कारण के हुन सक्छ, मलाई थाहा छैन। मलाई लाग्छ, तिनीहरूको क्षमता कमजोर भएर, र तिनीहरूका भ्रष्ट स्वभावहरू अति गम्भीर भएर यस्तो भएको हो।” त्यसैले हरेक पटक ब्रदर वाङ लेइले मलाई कामको सारांश निकाल्न सम्झाउँदा, मेरो मनोवृत्ति यस्तै हुन्थ्यो। मलाई मैले धेरै काम गरिसकेकोले मैले चिन्तन गर्नु आवश्यक छैन भन्ने लाग्थ्यो। तर त्यसपछि मैले सोचेँ, “यति लामो समय बितिसक्दा पनि, मानिसहरूलाई संवर्धन गर्ने कामबाट अझै कुनै नतिजा आइरहेको छैन, र मलजल गर्ने व्यक्तिहरूको प्रगति अझै सुस्त छ। अगुवा र सुपरिवेक्षकहरूले पक्कै पनि यो हेरिरहेका छन्, र यदि मैले निश्चित समस्याहरूको सारांश निकाल्न सकिनँ भने, तिनीहरूले मेरो बारेमा के सोच्नेछन्? के तिनीहरूले म पूर्ण रूपमा संवेदनहीन छु, म आफ्नो कर्तव्यमा प्रभावहीन छु र म आत्मचिन्तन समेत गर्दिनँ भन्ने सोच्नेछन्? तर मलाई मेरा समस्याहरू के हुन् भनेर वास्तवमै थाहा छैन। म अग्रसर भएर समस्याहरूबारे कुरा गर्न र आफूले कठिनाइहरूको सामना गर्दै आएको र अघि बढ्ने मार्ग खोज्न चाहेको भनेर भन्न सक्थेँ। यसरी, अगुवाहरूले मेरो काटछाँट त गर्नेछैनन् नै, उल्टै मलाई इमानदार ठान्नेछन्, र मेरो काममा समस्याहरू आउँदा, म तिनलाई लुकाउँदिनँ बरु अग्रसर भएर सहायता खोज्छु, र तिनीहरूले म सत्यता खोजी गर्ने व्यक्ति हुँ भन्ने सोच्नेछन्।” यस्तो सोच्दा मलाई निकै खुसी लाग्यो, र मैले मेरा समस्याहरू समाधान गर्ने अचुक उपाय फेला पारेँ जस्तो लाग्यो। त्यसैले मैले कामको रिपोर्टमा मेरा कठिनाइहरू लेखेँ र अन्त्यमा यो कुरा विशेष रूपमा थपेँ, “म निरन्तर खोजी गर्नेछु; मलाई आशा छ, यदि तपाईँले कुनै समस्या भेट्टाउनुभयो भने मलाई बताउनुहुनेछ र औँल्याउनुहुनेछ।” रिपोर्ट बुझाएपछि, म दङ्ग परेँ।
एक दिन, वाङ लेइले भने, “मलजल गर्ने व्यक्तिहरूको संवर्धन गर्ने तपाईँको काममा किन कुनै नतिजा आएको छैन भनेर अगुवाहरूले पत्र पठाउनुभएको छ।” केही दिनअघि मात्र, मैले मेरो कार्य रिपोर्टमा अगुवाहरूसँग सहायता मागेको थिएँ, र अगुवाहरूले वाङ लेइलाई मेरो अवस्था बुझ्न भनेकाले, सायद तिनीहरूले मलाई समस्याहरू पहिचान गर्न सहायता गर्ने प्रयास गरिरहेका होलान् भनेर मैले सोचेँ। तर पछि, मैले सोचेँ, “मेरो अवस्था बुझ्न अगुवाहरूले यसो गरिरहेका छन्। के तिनीहरूले मेरो कर्तव्यमा साँच्चै समस्याहरू छन् भन्ने ठानेर मेरो छानबिन गर्न थालेका हुन्? मैले यति लामो समयदेखि कुनै नतिजाविना कर्तव्य निर्वाह गर्दै आएको छु; तिनीहरूले के पत्ता लगाउनेछन् भनेर कसलाई के थाहा! यदि तिनीहरूले ममा धेरै समस्याहरू भएको वा मेरो कर्तव्यमा केही गम्भीर मुद्दाहरू भएको पाए भने, के तिनीहरूले मलाई काटछाँट गर्नेछन्? के तिनीहरूले मेरो क्षमता कमजोर छ र म वास्तविक काम गर्न सक्दिनँ भन्ने सोचेर मलाई बर्खास्त गर्नेछन्? त्यो त अति नै लाजमर्दो हुनेछ!” मनमा यस्ता विचारहरू आउँदा, ममा त्रासको लहर चल्यो, “कुरा यहाँसम्म पुग्ला भनेर मैले सोचेकै थिइनँ। के यो आफ्नै चिहान खन्नुजस्तो भएन र? यसमा मैले के गर्नुपर्छ?” मैले जे गरे पनि, म शान्त हुनै सकिनँ। राती, वाङ लेइले किबोर्डमा टक-टक थिचेको सुन्दा, मैले सोचेँ, “तिनले मेरा कतिवटा समस्याबारे रिपोर्ट गरिरहेका होलान्? अगुवाहरूले मेरो बारेमा के सोच्नेछन्?” मलाई केही बेचैनी भयो, र मैले काममा ध्यान केन्द्रित गर्नै सकिनँ। त्यसैले मैले परमेश्वरसामु आएर प्रार्थना गरेँ, “हे परमेश्वर, म यो अवस्थाले मेरो स्थितिलाई नराम्ररी असर गरेको पाउँछु, र यहाँ मैले सिक्नुपर्ने पाठ के हो मलाई थाहा छैन। कृपया मलाई यस विषयमा सत्यता खोजी गर्न र मेरो भ्रष्ट स्वभाव जान्न मार्गदर्शन गर्नुहोस्।”
भोलिपल्ट बिहान, नास्ता गरेपछि, मैले परमेश्वरका वचनहरू पढ्न थालेँ र आफ्नो स्थितिबारे चिन्तन गरेँ। मैले परमेश्वरका वचनहरू पढेँ: “यदि परमेश्वरको घरले तँलाई सुपरिवेक्षण, अवलोकन, र बुझ्ने प्रयास गर्नुलाई तैँले स्विकार्न सक्छस् भने, त्यो गजबको कुरा हो। यसले तँलाई आफ्नो कर्तव्य पूरा गर्नमा, मानक पूरा गर्ने गरी कर्तव्य पूरा गर्न र परमेश्वरका अभिप्रायहरू पुरा गर्न सक्षम हुनमा मदत गर्छ। यसबाट तँलाई फाइदा र सहयोग पुग्छ, यसमा कुनै पनि घाटा छैन। तैँले एक पटक यो सिद्धान्त बुझिसकेपछि, अगुवा, कामदार, र परमेश्वरका चुनिएका मानिसहरूको सुपरिवेक्षणप्रति तँमा प्रतिरोध वा सावधानीको भावना हटिसकेको हुनुपर्ने होइन र? कहिलेकाहीँ कसैले तँलाई बुझ्ने प्रयास गर्दा, अवलोकन गर्दा, र तेरो कामलाई सुपरिवेक्षण गर्दा पनि, यो तैँले मनमा लिनुपर्ने कुरा होइन। म किन यसो भन्दै छु? किनभने अहिलेका तेरा कामहरू, तैँले निभाउने कर्तव्य, र तैँले गर्ने कुनै पनि काम कुनै एक व्यक्तिको निजी मामला वा व्यक्तिगत जागिर होइन; ती परमेश्वरको घरको कामसँग सम्बन्धित हुन्छन् र परमेश्वरको कामको एउटा पाटोसँग जोडिएका हुन्छन्। त्यसकारण, जब कसैले तँसँग खुला हृदयले कुरा गर्ने र यस दौरान तेरो अवस्था कस्तो छ भनेर पत्ता लगाउने कोसिस गर्दै तँलाई थोरै सुपरिवेक्षण गर्छ वा नियालेर हेर्छ, वा तँलाई गहिराइमा बुझ्ने प्रयास गर्छ, अनि कहिलेकाहीँ तिनीहरूको मनोवृत्ति केही कठोर भएको बेला तिनीहरूले तँलाई अलि काटछाँट गर्छन्, अनुशासनमा राख्छन्, र हप्काउँछन्, तब यो सबै परमेश्वरको घरको कामप्रतिको तिनीहरूको कर्तव्यनिष्ठ र जिम्मेवार मनोवृत्तिकै कारणले गर्दा हो। तैँले कुनै नकारात्मक विचारहरू बोक्नु हुँदैन, र नकारात्मक भावनाले प्रतिक्रिया दिनु हुँदैन” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (७))। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने जब परमेश्वरको घरले कामको सुपरिवेक्षण र छानबिन गर्छ, यो मानिसहरूलाई विचलनहरू सच्याउन र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न मद्दत गर्नका लागि हो, र मैले कुनै पनि प्रतिरोध वा सतर्कताको भावना राख्नु हुँदैन, किनकि यो परमेश्वरका अभिप्रायहरूअनुरूप छैन। मैले सोचेँ, यस अवधिमा म हरेक दिन आफ्नो कर्तव्यमा व्यस्त भइरहेको भए पनि, र भेलाहरूमा ब्रदर-सिस्टरहरूसँग प्रायजसो सङ्गति गरिरहेको भए पनि, अन्त्यमा, मैले कुनै राम्रो नतिजा हासिल गरेको थिइनँ। मेरो काममा पक्कै पनि धेरै समस्याहरू थिए जुन मलाई थाहा थिएन, र यदि मैले समयमै यी कुराहरू पहिचान र समाधान गरिनँ भने, तिनले काममा ढिलाइ गरिरहने थिए। जब अगुवाहरूले मेरो कर्तव्यमा रहेका समस्याहरूबारे ब्रदर-सिस्टरहरूसँग सोधपुछ गरे, यो मलाई ती समस्याका कारणहरू पत्ता लगाउन मद्दत गर्नका लागि थियो, र यो मेरो काम र जीवन प्रवेश दुवैका लागि फाइदाजनक हुने थियो। मैले इज्जत जाने डरले प्रतिरोध र सतर्कताको स्थितिमा जिउनु हुँदैनथ्यो, वा आफ्ना समस्याहरू आफैँले उठाएकोमा पछुताउनु पनि हुँदैनथ्यो। मैले मेरा ब्रदर-सिस्टरहरूको सुपरिवेक्षण स्वीकार गर्नुपर्थ्यो, र तिनीहरूले जुनसुकै समस्या औँल्याए पनि, मसँग इमानदार हृदय र सत्यता स्वीकार गर्ने मनोवृत्ति हुनुपर्थ्यो। यो नै परमेश्वरका अभिप्रायहरू अनुरूप हुन्छ। यस्तो सोच्दा, मैले केही छुटकारा महसुस गरेँ।
त्यसपछि, मैले निरन्तर खोजी गरेँ, र आफैँलाई सोधेँ, “म मेरो कर्तव्यमा किन कुनै नतिजा आइरहेको छैन भन्ने कारण स्पष्ट रूपमा पत्ता लगाउन चाहन्थेँ, तर अगुवाहरूले वास्तवमै मेरो कामको छानबिन गर्दा, म किन यति संवेदनशील भएँ र मेरो मन किन अनियन्त्रित भयो?” चिन्तन गरेपछि, मैले म वास्तवमै छली भएको रहेछु भन्ने महसुस गरेँ। मैले परमेश्वरका वचनहरू पढेँ: “शैतानद्वारा भ्रष्ट तुल्याइएकाले, सारा मानवजाति शैतानी स्वभावमा जिउँछन्। शैतानले जस्तै, मानिसहरूले पनि हरेक पक्षमा आफ्नो भेष बदल्ने र आफूलाई राम्रो देखाउने गर्छन्, र सबै मामलामा छल र खेलमा भर पर्छन्। तिनीहरूले छल र खेलको सहारा नलिने कुनै कुरा हुँदैन। कतिपय मानिसहरूले त किनमेलजस्ता आम क्रियाकलापहरूमा समेत छली खेल खेल्छन्। उदाहरणका लागि, तिनीहरूले सबैभन्दा फेसनको लुगा किनेका हुन सक्छन्, तर—तिनीहरूलाई त्यो साह्रै मन परे पनि—दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूको कुरा काट्लान् र तिनीहरूलाई सतही भन्लान् भन्ने डरले मण्डलीमा त्यो लगाउने आँट गर्दैनन्। त्यसकारण तिनीहरू बस त्यो लुगा अरूले नदेख्ने गरी लगाउँछन्। यो कस्तो खालको व्यवहार हो? यो छली र ठगी स्वभावको प्रकटीकरण हो। किन कसैले फेसनमा रहेको लुगा किन्ने, तर आफ्ना दाजुभाइ-दिदीबहिनीहरूको अगाडि लगाउने आँट नगर्ने गर्छ? उसलाई हृदयमा, फेसनमा भएका कुराहरू मन पर्छ, र ऊ गैरविश्वासीहरूले जस्तै संसारका प्रचलनहरू पछ्याउँछ। उसलाई दाजुभाइ-दिदीबहिनीहरूले उसलाई छर्लङ्ग देख्लान्, ऊ कति सतही छन्, र ऊ सम्माननीय र सीधा व्यक्ति होइन भनेर बुझ्लान् भन्ने डर हुन्छ। ऊ हृदयमा, फेसनमा रहेका कुराहरूनै पछ्याउँछ र ती कुराहरू त्याग्न उसलाई गाह्रो हुन्छ, त्यसकारण उसले घरमा मात्रै त्यस्तो लुगा लगाउँछ र दाजुभाइ-दिदीबहिनीहरूले उसलाई देख्लान् भनेर डराउँछ। यदि उसलाई मनपर्ने कुराहरू पूर्ति हुन सक्दैनन् भने, किन उसले ती कुरा त्याग्न सक्दैन? के उसलाई शैतानी स्वभावले नियन्त्रण गरिरहेको छैन र? उसले शब्द र धर्मसिद्धान्तहरू निरन्तर बोलिरहेको हुन्छ, र ऊ सत्यता बुझ्नेजस्तो देखिन्छ, तैपनि उसले सत्यता अभ्यास भने गर्नै सक्दैन यो शैतानी स्वभावअनुसार जिउने व्यक्ति हो। यदि कुनै व्यक्ति बोलीवचन र व्यवहारमा सधैँ कपटी हुन्छ भने, यदि उसले अरूलाई आफ्नो वास्तविकता देख्न दिँदैन भने, र यदि उसले अरूसामु सधैँ भक्त व्यक्तिको छवि प्रस्तुत गर्छ भने, त्यस्तो व्यक्ति र फरिसीका बीचमा के भिन्नता हुन्छ? ऊ वेश्याको जीवन जिउन चाहन्छ, तर सतीत्वको छवि पनि निर्माण गरिरहेको हुन्छ। उसले झिलिमिली लुगा सार्वजनिक रूपमा लगाउन सक्दैन भन्ने उसलाई राम्ररी थाहा थियो, तैपनि किन उसले त्यो किन्यो त? के त्यो पैसाको नाश भएन र? यो त उसलाई त्यस्तो कुरा मनपर्ने हुनाले र उसको मन त्यस्तै लुगामा बसेको हुनाले, उसलाई त्यो किन्नुपर्छ भन्ने लागेको हो। तर किनिसकेपछि, बाहिर जाँदा उसले त्यो लगाउन सक्दैन। केही वर्ष बितेपछि, उसलाई त्यो किनेकोमा पछुतो हुन्छ, र अचानक यस्तो महसुस हुन्छ: ‘मैले त्यस्तो काम गर्नेगरी कसरी त्यति मूर्ख र घृणास्पद भएँ?’ उसलाई आफैले गरेको कामप्रति आफैलाई समेत घृणा जाग्छ। तर उसले आफ्नो व्यवहार नियन्त्रण गर्न सक्दैन, किनभने उसले आफूलाई मनपर्ने र आफूले पछ्याउने कुराहरू त्याग्न सक्दैन। त्यसकारण, उसले आफूलाई सन्तुष्ट पार्न दुईजिब्रे युक्ति र जालझेल प्रयोग गर्छ। यदि उसले यस्तो सानो मामलामा समेत छली स्वभाव प्रकट गर्छ भने, के ठूलो कुरामा उसले सत्यता अभ्यास गर्न सक्ला त? यो असम्भव हुनेछ। प्रस्टै छ, छली हुनु उसको प्रकृति हो, र छलीपन नै उसको मुख्य कमजोरी हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने, जब मानिसहरू छली स्वभावमा जिउँछन्, तिनीहरूले आफ्ना बोली र व्यवहारमा परमेश्वरको छानबिन स्वीकार गर्न सक्दैनन्, बरु, तिनीहरू अरूका अगाडि एउटा तरिकाले र पछाडि अर्को तरिकाले व्यवहार गर्छन्। तिनीहरू आफ्नो भेष बदल्न निरन्तर युक्तिहरू प्रयोग गर्छन्, जसले गर्दा अरूलाई सत्यता देख्न गाह्रो हुन्छ। साँचो अर्थमा छली व्यक्ति हुनु भनेको यही हो। मैले पहिलेको कुरा सम्झेँ, जब म कामको रिपोर्ट गर्दै थिएँ। मलाई साँच्चै मानिसहरूको संवर्धन गर्ने कुरामा ममा कुनै समस्या छ भन्ने लाग्दैनथ्यो, र मलाई मैले धेरै काम गरेको छु भन्ने लाग्थ्यो, र मेरो सहकर्मी ब्रदरले मेरा विचलनहरूको सारांश निकाल्न सम्झाउँदा पनि, मैले आत्मचिन्तन गर्ने सोचिनँ। तर नतिजाहरू खराब छन् भन्ने तथ्य पहिले नै प्रस्ट देखिन्थ्यो, त्यसैले यदि मैले यसका कारणहरू पत्ता लगाउन सकिनँ भने, अगुवा र सुपरिवेक्षकले मेरो बारेमा के सोच्नेछन्? आफ्नो इज्जत जोगाउन, मैले जानाजान मलाई कठिनाइहरू आइपरेका छन् र म समाधान खोज्न चाहन्छु भनेर भनेँ। यद्यपि म आफूले भनेका कुरामा निष्कपट जस्तो देखिन्थेँ, मानौँ ममा कामप्रति बोझको ठूलो भावना थियो, तर वास्तवमा, ममा समस्या समाधान गर्न सत्यता खोजी गर्ने कुनै अभिप्राय थिएन, र म अरूलाई देखाउनका लागि मात्र बाहिरी आवरण ओढिरहेको थिएँ, ताकि अगुवाहरूले मलाई खोजी गर्ने ठूलो इच्छा भएको र इमानदार व्यक्तिको रूपमा हेरून्। तर जब अगुवाहरूले मेरो कर्तव्यमा रहेका विचलन र समस्याहरूको साँच्चिकै छानबिन गरे, तब म प्रकट भएँ। मलाई ममा गम्भीर समस्याहरू खुलासा हुनेछन्, र अगुवाहरूले मेरो क्षमता कमजोर छ, ममा कार्य सामर्थ्यको कमी छ भन्ने सोच्नेछन्, वा तिनीहरूले मलाई बर्खास्त समेत गर्नेछन् भन्ने डर लाग्यो, त्यसैले म प्रतिरोधको भावनामा जिएँ, र मैले समस्याहरूमा मार्गदर्शन खोजेकोमा पछुताएँ, यहाँसम्म कि समस्याहरू रिपोर्ट गर्नु भनेको आफ्नै चिहान खन्नु हो भन्ने सोचेँ। समस्याहरूबारे मैले गरेको खोजी तिनलाई समाधान गर्नका लागि नभई, अगुवाहरूका हृदयमा मेरो हैसियत र छवि कायम राख्नका लागि थियो भनेर मैले देखेँ। के म अरूलाई झुक्याउने र छल गर्ने प्रयास मात्र गरिरहेको थिइनँ र? परमेश्वरले खुलासा गर्नुभएको कुरा साँच्चिकै यही थियो—दोहोरो चरित्र हुनु, र वेश्याको जीवन जिउन चाहनु, तर आफ्नो कुमारत्वको स्मारक पनि बनाइयोस् भन्ने चाहनु। मैले पहिलेका फरिसीहरूबारे सोचेँ। यद्यपि तिनीहरू निकै भक्तिपरायण देखिन्थे, र मसीहको आगमनको चाहना गरेजस्तो देखिन्थे, तर जब प्रभु येशू वास्तवमै काम गर्न आउनुभयो, उहाँले जतिसुकै आश्चर्यकर्महरू गर्नुभएको वा जतिसुकै सत्यताहरू व्यक्त गर्नुभएको भए पनि, तिनीहरूले तीमध्ये कुनै पनि स्वीकार गरेनन्। तिनीहरूले आफ्नो हैसियत र रोजीरोटी जोगाउन प्रभु येशूको प्रतिरोध गर्ने र उहाँलाई दोषी ठहराउने कामसमेत गरे। तिनीहरू परमेश्वरको आगमनको चाहनामा भक्तिपरायण देखिएका थिए, तर वास्तवमा, तिनीहरू मानिसहरूलाई बहकाउने प्रयास मात्र गरिरहेका थिए, र तिनीहरू पाखण्डी बाहेक केही थिएनन्। मेरो व्यवहार फरिसीहरूको भन्दा कसरी फरक थियो र?
एक बिहान मेरो उपासनाको समयमा, मैले परमेश्वरका वचनहरूको एउटा वाक्य सम्झेँ: “तिनीहरू आफ्ना गोप्य उद्देश्यहरू पूरा गर्नका निम्ति एउटा काम गर्दा अर्को काम गरेको नाटक गर्छन्।” मलाई यो मेरो स्थितिसँग नजिकबाट मेल खान्छ जस्तो लाग्यो, त्यसैले मैले पढ्नका लागि परमेश्वरका वचनहरूको यो खण्ड भेट्टाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “दुष्टताको मूल विशेषता के हो? त्यो के हो भने तिनीहरूका शब्दहरू अत्यन्तै मिठा सुनिन्छन्, साथै बाहिरबाट हेर्दा सबथोक सही देखिन्छन्। कुनै समस्या देखिँदैन, र हरेक कोणबाट कामकुराहरू निकै राम्रा देखिन्छन्। जब तिनीहरू केही गर्छन्, तँ तिनीहरूले कुनै विशेष माध्यमहरू प्रयोग गरेको देख्दैनस्, अनि बाहिरबाट हेर्दा कमजोरी वा खोटको कुनै सङ्केत हुँदैन, तैपनि तिनीहरू आफ्नो लक्ष्य हासिल गर्छन्। तिनीहरू अत्यन्तै गोप्य तरिकाले कामकुरा गर्छन्। ख्रीष्टविरोधीहरूले यसरी नै मानिसहरूलाई भ्रममा पार्छन्। यस्ता मानिस र मामलाहरू खुट्ट्याउन सबैभन्दा गाह्रो हुन्छ। कतिपय मानिस प्रायः सही कुराहरू भन्छन्, कर्णप्रिय बहानाहरू बनाउँछन्, अनि मानिसहरूको आँखामा छारो हाल्न मानव स्नेहअनुरूपका निश्चित धर्मसिद्धान्त, भनाइ, वा कार्यहरू प्रयोग गर्छन्। तिनीहरू आफ्ना गोप्य उद्देश्यहरू पूरा गर्नका निम्ति एउटा काम गर्दा अर्को काम गरेको नाटक गर्छन्। यो दुष्टता हो, तर धेरैजसो मानिस यी व्यवहारहरूलाई छलीपन ठान्छन्। मानिसहरूले दुष्टतालाई सीमित मात्रामा बुझेका र विश्लेषण गरेका हुन्छन्। वास्तवमा, छलीपनलाई भन्दा दुष्टतालाई खुट्ट्याउन धेरै गाह्रो हुन्छ किनकि त्यो बढी गोप्य हुन्छ, अनि त्यसका विधि र कार्यहरू बढी परिष्कृत हुन्छन्। यदि कुनै व्यक्तिमा छली स्वभाव छ भने, सामान्यतया अरूले ऊसँग कुरा गरेको दुई-तीन दिनमै उसको छलीपन पत्ता लगाउन सक्छन्, वा तिनीहरूले त्यस व्यक्तिका कार्य र शब्दहरूमा उसको छली स्वभावको प्रकटीकरण देख्न सक्छन्। तर, मानौँ त्यो व्यक्ति दुष्ट छ: यो केही दिनमै खुट्ट्याउन सकिँदैन, किनकि छोटो अवधिमा कुनै ठूला घटना वा विशेष परिस्थिति नआई, उसले बोलेको सुनेर मात्र कुनै पनि कुरा खुट्ट्याउन सजिलो हुँदैन। ऊ सधैँ सही कुराहरू भन्ने र गर्ने गर्छ, अनि एकपछि अर्को सही धर्मसिद्धान्त प्रस्तुत गर्छ। ऊसँग केही दिन अन्तरक्रिया गरेपछि, तँलाई यो व्यक्ति निकै राम्रो छ, उसले कामकुरा त्याग्न र आफूलाई समर्पित गर्न सक्छ, उसमा आत्मिक बुझाइ छ, परमेश्वरलाई प्रेम गर्ने हृदय छ, र उसको कार्यशैलीमा विवेक र समझ दुवै छ भन्ने लाग्ला। तर उसले केही मामला सम्हालेपछि, तैँले उसका बोली र व्यवहारमा अति धेरै कुरा, अति धेरै शैतानी अभिप्रायहरू मिसिएका रहेछन् भन्ने देख्छस्। तँलाई यो व्यक्ति इमानदार नभई छली हो—दुष्ट कुरा हो भन्ने महसुस हुन्छ। ऊ बारम्बार सत्यतासँग मिल्दो र मानव स्नेहसहितका सही शब्द र मिठा वाक्यांशहरू प्रयोग गरेर मानिसहरूसँग अन्तरक्रिया गर्छ। एकातिर, ऊ आफूलाई स्थापित गर्छ, र अर्कोतिर, अरूलाई भ्रममा पारेर मानिसहरूमाझ प्रतिष्ठा र हैसियत प्राप्त गर्छ। यस्ता व्यक्तिहरू अत्यन्तै भ्रामक हुन्छन्, अनि तिनीहरूले शक्ति र हैसियत प्राप्त गरेपछि धेरै मानिसलाई भ्रममा पार्न र हानि पुऱ्याउन सक्छन्। दुष्ट स्वभावका मानिसहरू अत्यन्तै खतरनाक हुन्छन्। के तिमीहरूका वरपर त्यस्ता कुनै मानिसहरू छन्? के तिमीहरू आफै त्यस्ता छौ? (हजुर।) त्यसोभए त्यो कति गम्भीर हो? कुनै सत्यता सिद्धान्तविना बोल्नु र कार्य गर्नु, कार्य गर्न पूर्णतया आफ्नो दुष्ट प्रकृतिमा भर पर्नु, अरूले तँलाई छर्लङ्गै बुझ्न वा चिन्न नसकून्, र तेरो मानवता र हैसियतलाई सम्मान र प्रशंसाले हेरून् भनेर सधैँ अरूलाई भ्रममा पार्ने चाह राख्नु र खोल ओडेर जिउनु—यो दुष्टता हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु पाँच: तिनीहरूले मानिसहरूलाई भ्रममा पार्छन्, लोभ्याउँछन्, धम्काउँछन् र नियन्त्रण गर्छन्)। परमेश्वरले खुलासा गर्नुहुन्छ कि दुष्ट स्वभाव भएका मानिसहरू अत्यन्तै गोप्य तरिकाले बोल्छन् र काम गर्छन्। तिनीहरूले सही कुरा बोलेको जस्तो देखिन्छ, र तिनीहरूका कामहरू त्रुटिरहित देखिन्छन्, तर यो सबैका पछाडि, तिनीहरूले दुष्ट अभिप्रायहरू लुकाएका हुन्छन् र तिनीहरू निरन्तर आफ्नो ख्याति र हैसियतमा केन्द्रित हुन्छन्। अरूको प्रशंसा पाउन, तिनीहरूले चापलुसीपूर्ण शब्दहरू र सही कार्यहरू प्रयोग गरेर मानिसहरूलाई भ्रममा पार्छन्, अरूको मनमा आफ्नो राम्रो छवि स्थापित गर्छन्, साथै अरूलाई आफ्ना दुर्भावनापूर्ण अभिप्रायहरू पत्ता लगाउनबाट रोक्छन्। यो साँच्चै दुष्टता हो! गहिरो चिन्तन गर्दा, के मैले ठीक यस्तै व्यवहार गरिरहेको थिइनँ र? म स्पष्ट रूपमा मेरा समस्याहरू समाधान गर्न सत्यता खोजिरहेको थिइनँ, तर म धेरै विनम्र छु र ममा खोजी गर्ने ठूलो चाहना छ जस्तो व्यवहार गर्थेँ; यसमा मेरो उद्देश्य मेरा समस्याहरू ढाकछोप गर्नु मात्र थिएन, अरूको मनमा सत्यता पछ्याउने व्यक्तिको रूपमा आफ्नो राम्रो छवि स्थापित गर्नु पनि थियो। मानिसहरूलाई संवर्धन गर्ने कामले कुनै नतिजा दिइरहेको छैन, मलजल गर्ने व्यक्तिहरूले धेरै प्रगति गरेका छैनन्, र यी कुराहरू सबैले देख्ने गरी छर्लङ्ग छन् भन्ने कुरा मलाई थाहा थियो। यदि मैले ममा रहेका समस्याहरूको सारांश निकालिनँ र तीबारे चिन्तन गरिनँ भने, सबैले मेरो बारेमा के सोच्नेछन्? के तिनीहरूले मेरो कर्तव्यमा कुनै नतिजा नआउँदा पनि मैले आत्मचिन्तन गरिनँ भन्नेछन्? के तिनीहरूले म सत्यता पछ्याउँदिनँ र म पूर्ण रूपमा संवेदनहीन छु भन्ने सोच्नेछन्? यस्तो अवस्थामा, म आफैँ अग्रसर भएर बोल्नु बेस हुन्छ। यसो गर्दा, कामले कुनै नतिजा नदिएको कारण तिनीहरूमा मेरो बारेमा नकारात्मक छाप पर्नेछैन, र सायद तिनीहरूले मलाई इमानदार व्यक्ति समेत ठान्नेछन्। मेरो बोलीमा मेरा आफ्नै षड्यन्त्रकारी मनसायहरू गाँसिएका थिए। मैले सत्यताको देखावटी खोजीलाई प्रयोग गरेर अगुवाहरूको हृदयमा आफ्नो राम्रो छवि स्थापित गर्ने प्रयास गरेको थिएँ। मैले मेरो प्रकृति साँच्चै दुष्ट रहेछ भन्ने देखेँ। परमेश्वरले भन्नुभएको जस्तै: “कतिपय मानिस प्रायः सही कुराहरू भन्छन्, कर्णप्रिय बहानाहरू बनाउँछन्, अनि मानिसहरूको आँखामा छारो हाल्न मानव स्नेहअनुरूपका निश्चित धर्मसिद्धान्त, भनाइ, वा कार्यहरू प्रयोग गर्छन्। तिनीहरू आफ्ना गोप्य उद्देश्यहरू पूरा गर्नका निम्ति एउटा काम गर्दा अर्को काम गरेको नाटक गर्छन्। यो दुष्टता हो।” वास्तवमा, मैले केही समयदेखि मेरो कर्तव्यमा कुनै नतिजा प्राप्त गरेको थिइनँ, त्यसैले यो समाधान गर्न मैले आत्मचिन्तन गर्नु र सत्यता खोजी गर्नु आवश्यक थियो। यो मण्डलीको काम र मेरो आफ्नै जीवन प्रवेश दुवैका लागि फाइदाजनक हुने थियो। तर म मेरो काममा आएका बाधाहरूबारे चिन्तित वा व्याकुल थिइनँ, बरु मेरो मन इज्जत गुमाउनबाट कसरी बच्ने भन्ने विचारहरूले भरिएको थियो, र मण्डलीको काम र सत्यताको खोजीसँग सम्बन्धित मामलाहरूमा समेत, म बेइमानीपूर्वक व्यवहार गरिरहेको र छली भइरहेको थिएँ। यसले गर्दा परमेश्वरले साँच्चिकै मलाई तिरस्कार गर्नुभएको थियो।
पछि, जब म कामबाट फुर्सद पाउँथेँ, म आफ्नो स्थितिबारे चिन्तन गरिहाल्थेँ। आफूलाई आचरणमा ढाल्दा, व्यक्तिले सबै कुरामा परमेश्वरको छानबिन स्वीकार गर्नुपर्छ, र उसका सबै गतिविधि र कार्यहरू परमेश्वरसामु ल्याइनुपर्छ भनेर उहाँले सङ्गति गर्नुभएको मलाई याद आयो। त्यसैले म यस सम्बन्धमा परमेश्वरका वचनहरू खोज्न हतारिएँ। मैले परमेश्वरका वचनहरू पढेँ: “परमेश्वरको विश्वासी हुनु भनेको तैँले गर्ने सबै कुरा उहाँको सामु ल्याउनु र उहाँको जाँचको अधीनमा राख्नु हो। … आज, परमेश्वरको छानबिन स्वीकार गर्न नसक्नेहरू सबैले उहाँको स्वीकृति प्राप्त गर्न सक्दैनन्, र देहधारी परमेश्वरलाई नचिन्नेहरू सिद्ध पारिन सक्दैनन्। तैँले गर्ने सबै कामहरूलाई हेर्, र त्यो परमेश्वरको सामु ल्याउन सकिन्छ कि सकिँदैन सो हेर्। यदि तैँले गरेका सबै कुराहरू परमेश्वरको अगि ल्याउन सकिँदैन भने त्यसले तँ दुष्कर्म गर्ने व्यक्ति होस् भन्ने देखाउँछ। के दुष्कर्मीहरूलाई सिद्ध बनाउन सकिन्छ? तैँले गर्ने सबै कुरा, प्रत्येक कार्य, प्रत्येक अभिप्राय, र प्रत्येक प्रतिक्रिया परमेश्वरसामु ल्याइनुपर्छ। यसको अर्थ तेरो दैनिक आत्मिक जीवन—प्रार्थना गर्नु, परमेश्वरको नजिक आउनु, परमेश्वरका वचनहरू खानु-पिउनु, तेरा ब्रदर-सिस्टरहरूसित सङ्गति गर्नु र मण्डली जीवन जिउनुदेखि—अरूसँगको सहकार्यमा गरिएको तेरो सेवासम्म, सबै कुरालाई परमेश्वरको छानबिनका निम्ति उहाँसामु ल्याइनुपर्छ। यो यस्तो अभ्यास हो जसले तँलाई जीवनमा वृद्धि हासिल गर्न मद्दत गर्दछ। परमेश्वरको जाँच स्वीकार्ने प्रक्रिया शुद्धीकरणको प्रक्रिया हो। तँ जति धेरै परमेश्वरको जाँचलाई स्वीकार गर्न सक्छस्, त्यति नै बढी तँ शुद्ध हुन्छस् र त्यति धेरै तँ परमेश्वरका अभिप्रायहरू अनुसारको हुन्छस्, तँ अनैतिक कार्यमा आकर्षित हुनेछैनस्, र तेरो हृदय उहाँको उपस्थितिमा रहनेछ। तैँले उहाँको जाँचलाई जति धेरै स्वीकार गर्छस्, शैतानको अपमान र देहको विरुद्धमा विद्रोह गर्ने तेरो क्षमता त्यति नै बढी हुन्छ। यसैले परमेश्वरको जाँचलाई स्वीकार गर्नु भनेको मानिसहरूले अनुसरण गर्नुपर्ने अभ्यास हो। चाहे तैँले जेसुकै गरे पनि, तैँले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसित सङ्गति गर्दा समेत आफ्ना कार्यहरू परमेश्वरको सामु ल्याउन र उहाँको जाँच खोज्न र स्वयम् परमेश्वरप्रति समर्पित हुन सक्छस्; यसले तैँले अभ्यास गर्ने कुरालाई अझै सटीक बनाउँछ। तैँले गर्ने सबै कुराहरू परमेश्वरको सामु ल्याइस् र परमेश्वरको जाँचलाई स्वीकार गरिस् भने मात्र तँ त्यो व्यक्ति हुन सक्छस्, जो परमेश्वरको उपस्थितिमा जिउँछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरले उहाँका अभिप्रायअनुसार हुनेहरूलाई सिद्ध बनाउनुहुन्छ)। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने यदि कुनै व्यक्तिले सबै कुरामा परमेश्वरको छानबिन स्वीकार गर्छ, उसका कार्य र गतिविधिहरूमा कुनै लुकाउने काम वा झूट छैन, र उसले यी कुराहरू परमेश्वरसामु ल्याउन सक्छ भने, त्यो व्यक्ति ज्योतिमा जिउँछ, र ऊ साँच्चै इमानदार व्यक्ति हो, र त्यस्ता मानिसहरूले परमेश्वरको अनुमोदन पाउन सक्छन्। तर यदि कुनै व्यक्तिले परमेश्वरको छानबिन स्वीकार गर्न सक्दैन, तर यसको सट्टा निरन्तर छल र जालझेलमा लाग्छ भने, परमेश्वरका नजरमा त्यस्ता मानिसहरू साँच्चै दुष्ट र तिरस्कार्य हुन्छन्। मैले परमेश्वरका वचनहरूबाट एउटा अभ्यासको मार्ग पनि फेला पारेँ। मानिसहरूको संवर्धन गर्ने काम लामो समयदेखि नतिजाविहीन भइसकेको थियो, र यसले मलजलको कामको प्रगतिलाई असर गर्न थालिसकेको थियो। यदि मैले धोका दिन र कुराहरू लुकाउन जारी राखेँ भने, यी समस्याहरू समाधान हुने थिएनन्, मलजल गर्ने व्यक्तिहरूले आफ्नो कर्तव्यमा कुनै प्रगति गर्ने थिएनन्, साथै तिनीहरूले नयाँ विश्वासीहरूलाई राम्ररी मलजल गर्न र तिनीहरूलाई साँचो मार्गमा छिट्टै जग बसाल्न सक्षम बनाउन सक्ने थिएनन्, अनि यसले मलजलको काममा अझ ठूलो नोक्सानी निम्त्याउने थियो। अगुवाहरूले मलाई आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न मद्दत गर्नका लागि मेरो काममा भएका समस्या र विचलनहरूको छानबिन गरिरहेका थिए। तिनीहरूले जुनसुकै समस्याहरू औँल्याए पनि, मैले आफ्नो अभिमान वा हैसियतलाई ख्याल गर्नु हुँदैनथ्यो, र मैले परमेश्वरको छानबिन स्वीकार गर्नुपर्थ्यो र इमानदार व्यक्ति बन्नुपर्थ्यो। मैले आफ्नो काममा रहेका समस्याहरूका सम्बन्धमा गम्भीरतापूर्वक आत्मचिन्तन गर्नुपर्थ्यो, मेरा विचलनहरू तुरुन्तै सच्याउनुपर्थ्यो, र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्थ्यो।
केही दिनपछि, मैले अगुवाबाट एउटा पत्र पाएँ, र म अझै अलिक आत्तिएको थिएँ, किनकि अगुवाले मेरो कर्तव्यमा गम्भीर समस्याहरू पत्ता लगाएकी हुन सक्छिन्, र उनले मलाई काटछाँट गर्नेछिन् भनेर म चिन्तित थिएँ। मैले मौन रूपमा परमेश्वरलाई प्रार्थना गरेँ, र भनेँ कि अगुवाले जस्तोसुकै समस्याहरू औँल्याए पनि, म अबदेखि आफ्नो अभिमानलाई ख्याल गर्दिनँ, र म अब उप्रान्त प्रतिरोधी हुँदिनँ वा लुकाउने काममा लाग्दिनँ, र मैले स्वीकार गर्नुपर्छ र राम्रोसँग आत्मचिन्तन गर्नुपर्छ। उक्त पत्र खोल्दा, मैले अगुवाले मेरो कर्तव्यमा साँच्चै समस्याहरू औँल्याएको देखेँ, तर उनले मलाई काटछाँट गरिनन्। बरु, उनले मेरो कर्तव्यमा खराब नतिजाहरू आउनुको कारणबारे चिन्तन गर्न आफ्नै अनुभवको सहारा लिएर मलाई मार्गदर्शन गरिन्। अगुवाको सङ्गति पढेपछि, मैले मेरो हालको स्थिति र समस्याहरूबारे केही बुझाइ प्राप्त गरेँ। मैले म सधैँ भ्रष्ट स्वभावमा जिइरहेको रहेछु, र मेरो काममा खराब नतिजाहरूको सामना गर्नुपर्दा, मैले आत्मचिन्तन गरिनँ बरु बहाना बनाइरहेँ भन्ने देखेँ। मैले त ब्रदर-सिस्टरहरूसँग समाधानका उपायबारे सङ्गति गर्दै आफूलाई हरेक दिन व्यस्त राखेको छु, र मैले आफ्नो तर्फबाट सक्दो प्रयास गरिसकेको छु भन्ने सोचेको थिएँ त्यसकारण, मलाई तिनीहरूको प्रगति नहुनु मेरो समस्या होइन, बरु तिनीहरूको कमजोर क्षमताका कारणले हो भन्ने लाग्थ्यो। कामले राम्रा नतिजाहरू दिइरहेको थिएन, तर आफ्नै समस्याहरूबारे चिन्तन गर्नुको साटो, मैले जिम्मेवारी पन्छाइरहेँ। म साँच्चै विद्रोही र हठी भएको थिएँ! साथै, चिन्तन गरेपछि, मैले के महसुस गरेँ भने यस अवधिमा मानिसहरूको संवर्धन गर्ने मेरो काममा साँच्चै विचलनहरू थिए। म हरेक दिन काम गर्न पाउँदा र फुर्सदमा बस्नु नपर्दा सन्तुष्ट हुन्थेँ, तर नतिजा दिने तरिकाले कसरी आफ्नो कर्तव्य निर्वाह गर्ने भनेर मैले कहिल्यै गम्भीरतापूर्वक खोजी गरिनँ। मलजल गर्ने व्यक्तिहरूलाई संवर्धन गर्दा, मैले तिनीहरूका वास्तविक समस्याहरूका आधारमा सारांश निकालिनँ र कुराकानी गरिनँ, बरु यसको सट्टा मैले सिकाइमा सोचविचारविहीन र यान्त्रिक तरिका मात्र अपनाएँ। परिणामस्वरूप, महिनौँको संवर्धनपछि पनि कुनै नतिजा आएन। मेरो काममा यति धेरै समस्या र विचलनहरू देख्दा, मैले तिनलाई चाँडो सच्याउनुपर्छ भन्ने मलाई थाहा थियो। मैले सत्यता खोजी गर्ने ढोँग गरेको बारेमा चिन्तन गर्दा, मलाई साँच्चै लज्जित र लज्जास्पद महसुस भयो! यदि मसँग साँच्चै सत्यता स्वीकार गर्ने र खोजी गर्ने हृदय भएको भए, यी समस्याहरू चाँडै पत्ता लाग्न र समाधान हुन सक्थे, र यसले ब्रदर-सिस्टरहरू, र मण्डलीको कामलाई फाइदा पुर्याउन सक्थ्यो। अघि बढ्दै जाँदा, म आडम्बर र अभिमानलाई पन्छाउन, सबै मामिलामा सत्यता अझ बढी खोजी गर्न, र यथार्थपरक भई आफ्नो कर्तव्य निर्वाह गर्न इच्छुक छु! परमेश्वरलाई धन्यवाद!