९७. के अतिथि सत्कारको कर्तव्य पूरा गर्ने व्यक्ति तल्लो दर्जाको हुन्छ?
म एउटा दुर्गम पहाडी गाउँमा हुर्किएँ, अनि हाम्रो परिवारको गरिबीका कारण छिमेकीहरूले हामीलाई हेयको नजरले हेर्थे। मेरा आमाबुबाले मलाई अक्सर यसो भनेर सिकाउनुहुन्थ्यो, “व्यक्तिसँग महत्त्वाकाङ्क्षा हुनैपर्छ र ऊ मर्यादासाथ जिउनैपर्छ। अरूलाई आफूलाई हेयको नजरले हेर्न नदिनू। रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ।” यी कुराहरूबाट प्रभावित भएर, मैले अरूको प्रशंसा पाउन स्कुलमा कडा मेहनत गरेँ। हरेक दिन, म मट्टीतेलको बत्तीको उज्यालोमा पढ्दै राति ११ वा १२ बजेसम्म जागा रहन्थेँ। काम गर्न थालेपछि, मैले आफ्नो हाकिमको स्वीकृति र सहकर्मीहरूको सम्मान पाउन अतिरिक्त समय काम गरेँ र कडा रूपमा खटिएँ। मलाई सधैँ नमुना कर्मचारी चुनिन्थ्यो। यी सम्मानहरू पाएपछि, मैले आफ्नो पद र हैसियत बढेको महसुस गरेँ। परमेश्वरलाई भेट्टाएपछि, म आफ्नो पछ्याइमा पनि उत्साही थिएँ, र एक वर्षपछि, म मण्डली अगुवा चुनिएँ। पछि, मलाई प्रचारक र लेखन-पठनको कामको सुपरिवेक्षकमा बढुवा गरियो। परमेश्वरलाई भेट्टाएपछि मैले सधैँ अगुवा वा सुपरिवेक्षकका रूपमा सेवा गरेकाले, म आफूलाई सत्यता पछ्याउने व्यक्ति ठान्थेँ। तर सन् २०२२ को अगस्टको अन्त्यमा, ख्याति र हैसियत पछ्याएको, वास्तविक काम नगरेको, र आफ्नो कर्तव्यमा कुनै नतिजा नल्याएको कारण मलाई बर्खास्त गरियो। घरमा बसेर चिन्तन गर्दाको त्यो समयमा, मैले साह्रै दुःख र पीडा महसुस गरेँ। त्यसैले मैले आफैँसँग सङ्कल्प गरेँ, “अर्को मौका दिइयो भने, म आफ्नो कर्तव्य राम्ररी पूरा गर्नेछु।”
एक महिनापछि, एक साँझ, अगुवाले मलाई भन्नुभयो, “भिडियो बनाउने केही ब्रदर-सिस्टरहरू सुरक्षासम्बन्धी चिन्ताका कारण सर्नुपर्ने भएको छ, र उनीहरूले उपयुक्त अतिथिसत्कारक निवास भेट्टाएका छैनन्। हामी तपाईँ उनीहरूको अतिथिसत्कार गर्नुहोस् भन्ने चाहन्छौँ।” अगुवाले यसो भनेको सुनेर, मैले मनमनै सोचेँ, “मलाई किन अतिथिसत्कारको कर्तव्य निर्वाह गर्न लगाइएको होला? के उनीहरूले बर्खास्त भएपछि मैले आफूलाई चिन्न चिन्तन नगरेको कारण म अतिथिसत्कारको कर्तव्य निर्वाह गरेर सेवा प्रदान गरूँ भन्ने चाहेका हुन्? अतिथिसत्कारको कर्तव्य महत्त्वहीन छैन र? ब्रदर-सिस्टरहरूले थाहा पाए भने मेरो बारेमा के सोच्नेछन्? के उनीहरूले म सत्यता नपछ्याउने हुनाले अतिथिसत्कारको कर्तव्य पूरा गर्दैछु भन्लान्? अतिथिसत्कारको कर्तव्यमा हरेक दिन भाँडाकुँडा चलाउनुपर्छ, अनि यो कडा र थकाइलाग्दो काम हो। मैले राम्ररी गरेँ भने पनि, ब्रदर-सिस्टरहरूले देख्नेछैनन्। यसबाहेक, मण्डलीमा अतिथिसत्कारको कर्तव्य निर्वाह गर्नेहरू प्रायः कम क्षमता भएका वा पाका उमेरका ब्रदर-सिस्टरहरू हुन्छन्। म त्यति जवान नभए पनि, अतिथिसत्कारको कर्तव्य मात्र निर्वाह गर्नुपर्ने अवस्थामा त पुगेकी छैन! यसबाहेक, परमेश्वरलाई भेट्टाएदेखि म सधैँ अगुवा र सुपरिवेक्षक रहँदै आएकी छु; अहिले उनीहरू मलाई किन अतिथिसत्कारको कर्तव्य निर्वाह गर्ने प्रबन्ध मिलाउँदैछन्?” म मनैदेखि समर्पित हुन सकिनँ, त्यसैले मैले केही बहाना बनाएर अस्वीकार गरेँ। अगुवा गइसकेपछि, मैले द्वन्द्वग्रस्त भएँ र पछुतोले भरिएँ। मैले सोचेँ, धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरे तापनि, मेरो कर्तव्यमा अझै पनि कुनै समर्पणता थिएन। म कसरी विश्वासी भएँ? ममा कसरी थोरै पनि विवेक वा समझ थियो र? म घुँडा टेकेर परमेश्वरलाई प्रार्थना गर्न थालेँ, “हे परमेश्वर! आज, अगुवाले मलाई अतिथिसत्कारको कर्तव्य निर्वाह गर्ने बन्दोबस्त मिलाउन खोज्नुभयो, तर म समर्पित हुन सकिनँ र अस्वीकार गर्न बहाना समेत खोजेँ। मलाई मेरो भ्रष्ट स्वभावको कुन पक्षले गर्दा यसो भयो भन्ने थाहा छैन। मलाई आफूलाई चिन्न मद्दत गर्न तपाईँको अन्तर्दृष्टि र मार्गदर्शन माग्छु।” प्रार्थना गरेपछि, मैले कर्तव्यहरू निर्वाह गर्नेबारे परमेश्वरका वचनहरू सम्झेँ, त्यसैले मैले ती खोजेर पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “कर्तव्यहरू परमेश्वरबाट आउँछन्; ती परमेश्वरले मानिसलाई सुम्पनुहुने जिम्मेवारी र आज्ञाहरू हुन्। त्यसो भए, मानिसले यसलाई कसरी बुझ्नुपर्छ? ‘यो मेरो कर्तव्य र परमेश्वरले मलाई दिनुभएको आज्ञा भएकोले, यो मेरो दायित्व र जिम्मेवारी हो। मैले यसलाई मेरो अनिवार्य कर्तव्यको रूपमा स्वीकार गर्नु पूर्ण रूपमा सही हो। मैले यसलाई अस्वीकार वा इन्कार गर्नु हुँदैन; मैले रोज्नु र छनौट गर्नु मिल्दैन। ममाथि जे आइपर्छ त्यो निश्चय नै मैले गर्नुपर्ने कुरा हो। मसँग छनौट गर्ने अधिकार नभएको होइन—तर मैले छनौट गर्नु हुँदैन। सृष्टि गरिएको प्राणीमा हुनुपर्ने समझ यही हो।’ यो समर्पणको मनोवृत्ति हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “तेरो कर्तव्य जेसुकै भए पनि, तिनलाई उच-नीच भनेर नछुट्या। मानौँ तैँले यसो भन्छस्, ‘यो काम परमेश्वरबाट आएको आज्ञा र परमेश्वरको घरको काम भए पनि, यदि मैले यो काम गरेँ भने, मानिसहरूले मलाई तुच्छ नजरले हेर्न सक्छन्। अन्य व्यक्तिहरूले भने आफूलाई अरूभन्दा उच्च देखाउने काम गर्न पाउँछन्। मलाई भने अरूभन्दा माथि देखिन नदिने, बरु पर्दापछाडि मेहनत गर्न लगाउने काम दिइएको छ, यो त अन्याय भो! म यो कर्तव्य निर्वाह गर्दिनँ। मेरो कर्तव्य त्यस्तो हुनुपर्छ जसले मलाई अरूभन्दा माथि देखाउँछ र मलाई मेरो नाम राख्न दिन्छ—र मैले मेरो आफ्नै नाम नराखे पनि वा मलाई माथि नदेखाए पनि, मैले यसबाट लाभ प्राप्त गर्नुपर्छ र शारीरिक रूपमा सहजताको अनुभूति गर्नुपर्छ।’ के यो स्वीकार्य मनोवृत्ति हो त? रोजीछानी गर्नु परमेश्वरबाट आउने कुरालाई स्वीकार गर्नु होइन; यो त तेरा आफ्नै रुचिहरूअनुसार छनौट गर्नु हो। यो तेरो कर्तव्यलाई स्वीकार गर्नु होइन; यो तेरो कर्तव्यलाई इन्कार गर्नु हो, परमेश्वरविरुद्धको तेरो विद्रोहीपनको प्रकटीकरण हो। त्यस्तो छनौट गर्ने कार्यमा तेरा व्यक्तिगत रुचि र चाहनाहरू मिसिएका हुन्छन्। जब तँ तेरो अभिमान र हैसियत, तेरा आफ्नै लाभहरू, र यस्तै अन्य कुरालाई ध्यान दिन्छस्, तब आफ्नो कर्तव्यप्रतिको तेरो मनोवृत्ति समर्पणताको हुँदैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य मानकअनुरूप निर्वाह गर्नु भनेको के हो?)। परमेश्वरका वचनहरूबाट, मैले कर्तव्यहरू मानिसहरूलाई दिइएका परमेश्वरका आज्ञा हुन्, र ती तिनीहरूको जिम्मेवारी हुन्, अनि हामीले कर्तव्यहरूलाई दर्जामा वर्गीकरण गर्नुहुँदैन भनी बुझेँ। यसबाहेक, हामीले आफ्नो अभिमान र हैसियतका खातिर आफ्नो रुचिअनुसार कर्तव्यहरू छान्नुहुँदैन, बरु हामीले स्वीकार र समर्पण गर्नुपर्छ, र तिनलाई हामीले पन्छिन नमिल्ने दायित्वका रूपमा हेर्नुपर्छ। विवेक र समझ भएको व्यक्ति हुनुको अर्थ यही हो, र व्यक्तिले आफ्नो कर्तव्यप्रति राख्नुपर्ने मनोवृत्ति यही हो। परमेश्वरका वचनहरूको खुलासा पढेपछि, मैले आफ्नो कर्तव्यप्रतिको मेरो मनोवृत्ति र दृष्टिकोण गलत रहेछन् भनी महसुस गरेँ। मैले कर्तव्यहरूलाई दर्जामा वर्गीकरण गरेकी थिएँ, र अगुवा वा कामदार हुनुको अर्थ व्यक्तिले सत्यता पछ्याउँछ, र त्यसले उसलाई हैसियत र पद दिन्छ, अनि तिनीहरू जहाँ गए पनि, ब्रदर-सिस्टरहरूले तिनीहरूलाई आदर गर्छन् भनी विश्वास गरेकी थिएँ। त्यस्ता कर्तव्यहरू पूरा गर्नु अझ गौरवशाली देखिन्थ्यो, जबकि मलाई अतिथिसत्कारको कर्तव्य पूरा गर्न कडा परिश्रम मात्र चाहिन्छ, र त्यसले मलाई नाम कमाउने वा कुनै हैसियत वा पद पाउने कुनै मौका दिँदैन, अनि यो कर्तव्य पूरा गर्नेहरूलाई अरूले कहिल्यै आदर गर्दैनन् जस्तो लाग्थ्यो। यही भ्रामक दृष्टिकोणका कारण, जब अगुवाले मलाई अतिसत्कारको कर्तव्य पूरा गर्ने बन्दोबस्त मिलाउनुभयो, मैले अस्वीकार गर्न बहानाहरू खोजेँ। मैले सधैँ मण्डलीको कामका आवश्यकताभन्दा आफ्नो अभिमानलाई ख्याल गरेँ। ममा थोरै पनि मानवता कहाँ थियो र? मेरा कर्तव्यहरूबारे मेरा आफ्नै रोजाइ र मागहरू हुनुहुँदैनथ्यो। अगुवाले मलाई मण्डलीको कामको आवश्यकताका आधारमा अतिसत्कारको कर्तव्य पूरा गर्ने बन्दोबस्त मिलाउनुभएको थियो, र मैले यो बन्दोबस्तलाई स्वीकार र पालन गरेर सुरु गर्नुपर्थ्यो।
पछि, मैले नोआले जहाज बनाएको बारेमा परमेश्वरको सङ्गति पढेँ, र मैले नोआले परमेश्वरको आज्ञाको सामना गर्दा कुनै बहाना नबनाएको, र उनले निःसर्त स्वीकार गरेको र समर्पित भएको देखेँ। उनले सुसमाचार प्रचार गर्दै जहाज बनाए, र १२० वर्षसम्म निरन्तर लागिरहे। मैले आफूलाई नोआसँग तुलना गर्न नसके पनि, मैले नोआको उदाहरण पछ्याउनुपर्छ र समर्पित व्यक्ति बन्नुपर्छ। त्यसपछि, मैले अगुवालाई म अतिथिसत्कारको कर्तव्य पूरा गर्न इच्छुक छु भनी बताएँ, तर त्यस लगत्तै, कोभिड-१९ महामारीका कारण, यो अतिथिसत्कारको कर्तव्य अस्थायी रूपमा स्थगित गरियो। लकडाउन हटेपछिको पहिलो भेलामा, अगुवाले भन्नुभयो, “अब लकडाउन हटेको छ, हामी तपाईँलाई आफ्नो अतिथिसत्कारको कर्तव्य फेरि सुरु गर्ने बन्दोबस्त मिलाउन चाहन्छौँ।” त्यो क्षण मलाई साह्रै अप्ठ्यारो लाग्यो किनभने त्यहाँ उपस्थित दुई डिकनबाहेक, सुसमाचारसम्बन्धी कामदार दुई सिस्टर पनि थिए। मैले यस्तो सोच्दै अगुवाप्रति गुनासो गर्न थालेँ, “तपाईँले यति धेरै ब्रदर-सिस्टरहरूको अगाडि यो कुरा किन भन्नुपर्यो? अब सबैलाई थाहा भयो कि म अतिथिसत्कारको कर्तव्य पूरा गर्दैछु, अब फेरि मैले कसरी मुख देखाउनु?” मैले आफ्नो अनुहार तातो भएको महसुस गरेँ, र मलाई मेरा ब्रदर-सिस्टरहरूले मैले सत्यता नपछ्याएको र यसैकारण अतिथिसत्कारको कर्तव्यमा खटाइएको भनेर मेरो खिल्ली उडाइरहेका छन् जस्तो लाग्यो। पछि भेलामा, ब्रदर-सिस्टरहरूले सुसमाचार कसरी प्रचार गर्ने र धार्मिक धारणाहरू कसरी समाधान गर्ने भनी सक्रिय रूपमा सङ्गति गरे, तर मेरो मनमा केही पनि पसेन, किनभने म केवल तिनीहरूमध्ये कोही अगुवा र कामदारहरू थिए र कोही सुसमाचारसम्बन्धी कामदारहरू थिए जबकि म केवल अतिथिसत्कारको कर्तव्य पूरा गर्दै थिएँ भनी सोचिरहेकी थिएँ। मैले जति धेरै त्यसबारे सोचेँ, मलाई त्यति नै दुःख लाग्यो। त्यो भेलाको दौरान, समय एकदमै बिस्तारै बितेजस्तो लाग्यो, र “अतिथिसत्कारको कर्तव्य पूरा गर्दै” भन्ने शब्दहरू मेरो दिमागमा गुन्जिरहे। भेलापछि, मेरो दिमाग ब्रदर-सिस्टरहरूले मेरो बारेमा के सोच्नेछन् भन्ने विचारहरूले भरियो, र मलाई सबैलाई म अतिथिसत्कारको कर्तव्य पूरा गर्दैछु भन्ने थाहा भएकाले, मैले पूर्ण रूपमा आफ्नो इज्जत र हैसियत गुमाएकी छु भन्ने लाग्यो। त्यसपछिका केही दिन, मलाई केही पनि गर्न जाँगर चलेन, र म जहाँ गए पनि शिर निहुराएर हिँड्थेँ। मलाई मेरा ब्रदर-सिस्टरहरूसँग भेट्न साँच्चै डर लाग्यो, किनभने मलाई उनीहरूले म अतिथिसत्कारको कर्तव्य पूरा गर्दैछु भन्ने थाहा पाउँछन् कि भन्ने डर थियो।
त्यसपछिका दिनहरूमा, मैले विचार गरेँ, “अगुवाले मलाई अतिथिसत्कारको कर्तव्य पूरा गर्ने बन्दोबस्त मिलाउनु स्पष्ट रूपमा मण्डलीको कामका आवश्यकताहरूका कारण थियो, तर म अरूलाई यो कुरा थाहा होला भनेर किन डराइरहेकी छु? मलाई यो अतिथिसत्कारको कर्तव्यमा खटाइँदा म किन समर्पित हुन अनिच्छुक छु? कस्तो प्रकारको भ्रष्ट स्वभावले गर्दा यसो भइरहेको छ?” त्यसपछि, मैले परमेश्वरका वचनहरूको एक खण्ड पढेँ: “ख्रीष्टविरोधीहरूले आफ्नो प्रतिष्ठा र हैसियतलाई अत्यन्तै प्यारो ठान्ने कार्य साधारण मानिसको भन्दा धेरै परको हदसम्म जान्छ र यो तिनीहरूको स्वभाव सारभित्रै रहेको हुन्छ; यो तिनीहरूको अस्थायी रुचि वा तिनीहरूको वातावरणले पारेको क्षणिक प्रभाव होइन—यो तिनीहरूको जीवन र हड्डीभित्र गाडिएको कुरा हो, त्यसैले यो तिनीहरूको सार हो। भन्नुको मतलब ख्रीष्टविरोधीहरूले गर्ने हरेक कुरामा तिनीहरूको पहिलो सोच भनेको तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत हो, योभन्दा अरू केही होइन। ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत नै तिनीहरूको जीवन हो र तिनीहरूले जीवनभर पछ्याउने लक्ष्य हो। आफूले गर्ने सबै कुराहरूमा तिनीहरूको पहिलो सोच यस्तो हुन्छ: ‘मेरो हैसियत के हुनेछ? अनि मेरो प्रतिष्ठा के हुनेछ? के यो काम गर्दा यसले मलाई राम्रो प्रतिष्ठा दिन्छ त? के यसले मानिसहरूको मनमस्तिष्कमा मेरो हैसियत उच्च पार्छ त?’ तिनीहरूले सुरुमा सोच्ने कुरा यही हो, जुन तिनीहरूमा ख्रीष्टविरोधीहरूको स्वभाव र सार छ भन्ने कुराको पर्याप्त प्रमाण हो—र यसैकारण तिनीहरू कुराहरूलाई यसरी विचार गर्छन्। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत केही अतिरिक्त आवश्यकता होइनन्, झन् तिनीहरूका लागि नहुँदा पनि हुने बाह्य कुराहरू हुने त परै जाओस्। ती कुराहरू ख्रीष्टविरोधीहरूको प्रकृतिका अंश हुन्, ती तिनीहरूका हड्डीमै हुन्छन्, रगतमै हुन्छन् र ती तिनीहरूमा जन्मदेखि नै आएका हुन्। ख्रीष्टविरोधीहरू आफूले प्रतिष्ठा र हैसियत धारण गर्ने कि नगर्ने भन्ने कुराप्रति उदासीन रहँदैनन्; यो तिनीहरूको मनोवृत्ति होइन। त्यसो भए तिनीहरूको मनोवृत्ति के हो त? प्रतिष्ठा र हैसियत घनिष्ठ रूपमा तिनीहरूको दैनिक जीवन, दैनिक अवस्था र तिनीहरूले दैनिक रूपमा पछ्याइरहेका कुरासँग जोडिएको हुन्छ। ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जुनसुकै कुरा पछ्याए पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्च हैसियत प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको सार यही हो। तिनीहरूलाई तैँले पहाडको प्राचीन जङ्गलको भित्री भागमा छोडिस् भने पनि तिनीहरूले ख्याति र हैसियतको पछ्याइलाई छोड्न सक्दैनन्। तैँले तिनीहरूलाई जुनसुकै समूहका मानिसमाझ राखे पनि तिनीहरूले ख्याति र हैसियतबारे मात्रै सोच्न सक्छन्। ख्रीष्टविरोधीहरूले परमेश्वरमा विश्वास गर्ने भए पनि, तिनीहरू आफ्नो ख्याति र हैसियतको पछ्याइलाई परमेश्वरमाथिको विश्वास बराबर मान्छन् र यी दुइटा कुरालाई समान स्तरमा राख्छन्। भन्नुको मतलब, परमेश्वरमा विश्वास गर्ने मार्गमा हिँड्दा, तिनीहरूले आफ्नै प्रतिष्ठा र हैसियत पनि पछ्याउँछन्। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूका हृदयमा, परमेश्वरमाथि विश्वास गर्दा सत्यताको पछ्याइ भनेको ख्याति र हैसियतको पछ्याइ हो, अनि ख्याति र हैसियतको पछ्याइ भनेको सत्यताको पछ्याइ पनि हो—ख्याति र हैसियत प्राप्त गर्नु भनेको सत्यता र जीवन प्राप्त गर्नु हो। यदि तिनीहरूलाई आफूले ख्याति, प्राप्ति वा हैसियत प्राप्त गरेको छैन, कसैले पनि आफूलाई आदरभावले हेर्दैन, उच्च सम्मान गर्दैन, वा पछ्याउँदैन भन्ने लाग्यो भने, तिनीहरू उदास हुन्छन्, परमेश्वरमा विश्वास गर्नुको कुनै अर्थ छैन, कुनै मूल्य छैन भन्ने ठान्छन्, र तिनीहरूले मनमनै सोच्छन्, ‘के यसरी परमेश्वरमाथि विश्वास गरेर म असफल भएको हुँ? के मेरो लागि कुनै आशा छैन?’ तिनीहरू प्रायः आफ्ना हृदयमा त्यस्ता कुराहरूको हिसाबकिताब गर्छन्। तिनीहरू आफ्ना लागि परमेश्वरका घरमा कसरी स्थान बनाउन सकिन्छ, मण्डलीमा कसरी उच्च प्रतिष्ठा प्राप्त गर्न सकिन्छ, कसरी मानिसहरूलाई तिनीहरूको कुरा सुन्न लगाउन सकिन्छ, र तिनीहरूले काम गर्दा तिनीहरूको गुणगान गराउन सकिन्छ, आफू जहाँ भए पनि मानिसहरूलाई कसरी तिनीहरूलाई पछ्याउन लगाउन सकिन्छ, र कसरी मण्डलीमा प्रभाव जमाउन सकिन्छ, अनि ख्याति, प्राप्ति, र हैसियत पाउन सकिन्छ भनेर हिसाबकिताब गर्छन्—तिनीहरूले हृदयमा साँच्चै यस्ता कुराहरूमा ध्यान दिन्छन्। त्यस्ता मानिसहरूले पछ्याउने कुरा यिनै हुन्। किन तिनीहरू सधैँ यस्ता कुराहरूलाई महत्त्व दिइरहन्छन् त? परमेश्वरका वचनहरू पढेपछि, उपदेशहरू सुनेपछि, के तिनीहरूले वास्तवमै यी सबै कुराहरू बुझ्दैनन् त? के तिनीहरू वास्तवमै यी सबै कुरा खुट्ट्याउन सक्षम छैनन् त? के परमेश्वरका वचनहरू र सत्यताले तिनीहरूका धारणा, विचार र रायहरूलाई बदल्न सक्दैनन् त? अवस्था बिलकुलै त्यस्तो होइन। तिनीहरूले सत्यतालाई प्रेम नगर्ने हुनाले र हृदयमा तिनीहरूले सत्यताप्रति वितृष्ण मान्ने हुनाले समस्या तिनीहरूमै हुन्छ, फलस्वरूप तिनीहरू सत्यता ग्रहण गर्न सक्दै नसक्ने हुन्छन्—र यो कुरा तिनीहरूको प्रकृति सारले निर्धारित गरेको हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरका वचनहरूबारे मनन गरेर, मैले ख्रीष्टविरोधीहरू साँच्चै ख्याति र हैसियतलाई कदर गर्छन् भनी बुझेँ। तिनीहरूले कुनै पनि समूहमा जे गरे पनि, त्यो सबै मानिसहरूको प्रशंसा र आराधना पाउनका लागि हुन्छ। ख्याति र हैसियत नै तिनीहरूले जीवनभर पछ्याउने लक्ष्यहरू हुन्। आफ्नो पछ्याइबारे चिन्तन गरेर, मैले मेरा दृष्टिकोणहरू ख्रीष्टविरोधीको जस्तै रहेछन् भनी महसुस गरेँ। म पनि ख्याति र हैसियतलाई अरू सबै कुराभन्दा माथि राख्थेँ। बाल्यकालदेखि नै, मेरा आमाबुबाले मलाई मान्छेमा महत्त्वाकाङ्क्षा र मर्यादा हुनुपर्छ, र उसले अरूलाई आफूलाई हेयको नजरले हेर्न दिनु हुँदैन, अनि “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ,” र “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” भनी सिकाउनुभएको थियो। यी शैतानी विषहरूले मेरो हृदयमा गहिरोसँग जरो गाडेका थिए, र म कुनै पनि समूहमा अरूले आदर गर्न सक्नुले नै महिमा ल्याउँछ भन्ने विश्वास गर्थेँ। म स्कुलमा छँदा, शिक्षक र सहपाठीहरूबाट प्रशंसा पाउनका लागि परीक्षामा पहिलो हुने लक्ष्य राख्थेँ। म अक्सर गृहकार्य गर्दै राति अबेरसम्म जागा रहन्थेँ, र हरेक परीक्षापछि, मलाई आफ्नो उपलब्धिका प्रमाणपत्रहरू पाउँदा गर्व महसुस हुन्थ्यो। काम गर्न थालेपछि, मभन्दा वरिष्ठहरूबाट मान्यता र सहकर्मीहरूबाट प्रशंसा पाउनका लागि, म अतिरिक्त समय काम गर्थेँ, काम गर्नका लागि आफ्नो बिदाका दिनहरू समेत प्रयोग गर्थेँ। म कडा परिश्रम गर्न निकै उत्सुक थिएँ। परमेश्वरलाई भेट्टाएपछि, म यी विषहरूअनुसार नै जिइरहेँ, र मैले जुनसुकै कर्तव्य पूरा गरिरहेको भए पनि, मेरो पहिलो विचार मैले ख्याति र हैसियत पाउन सक्छु कि सक्दिनँ, र मैले अरूको सम्मान पाउन सक्छु कि सक्दिनँ भन्ने हुन्थ्यो। मलाई मण्डलीमा अगुवा हुँदा अरूले मलाई आदर गर्नेछन् र मलाई पद र हैसियत दिनेछन्, र म जहाँ गए पनि, मेरो प्रशंसा हुनेछ भन्ने लाग्थ्यो। त्यसैले मैले यो कर्तव्य खुसीसाथ स्वीकार गरेँ, र म सक्रिय रूपमा सहकार्य गर्नका निम्ति कष्ट भोग्न र मूल्य चुकाउन इच्छुक थिएँ। जब मलाई अतिथिसत्कारको कर्तव्य पूरा गर्न खटाइयो, मलाई सिसिपिले इसाईहरूलाई जथाभावी गिरफ्तार गरिरहेको छ, र परिस्थिति अत्यन्तै गम्भीर छ, अनि ब्रदर-सिस्टरहरूलाई आफ्नो कर्तव्य पूरा गर्न सुरक्षित ठाउँको तुरुन्तै आवश्यकता छ भन्ने राम्ररी थाहा थियो। तर मैले केवल आफ्नो अभिमान र हैसियतको ख्याल गरेँ, र अतिथिसत्कारको कर्तव्य पूरा गर्नु तुच्छ काम हो र त्यसले गर्दा अरूले मलाई हेयको दृष्टिले हेर्नेछन् भनी सोचेँ, त्यसैले मैले यसलाई अस्वीकार गर्न बहानाहरू खोजेँ। म ख्याति र हैसियतद्वारा कस्सिएर बाँधिएकी थिएँ, र आफूले गर्ने हर कुरामा, म सधैँ ब्रदर-सिस्टरहरूले मेरो बारेमा के सोच्लान् भनी सोच्थेँ, र म ख्याति र हैसियतलाई सबै कुराभन्दा माथि राख्थेँ। म साँच्चै स्वार्थी र घृणित थिएँ, र मानव कहलिन लायक थिइनँ! मैले आफ्नो बर्खासी र चिन्तनको अवधिबारे फर्केर सोचेँ। त्यस समयमा, म हरेक दिन आफ्नो कर्तव्य पूरा गर्ने आशा गर्थेँ। तर अब जब परमेश्वरले मलाई कर्तव्य पूरा गर्ने मौका दिनुभएको थियो, म छानी-छानी कर्तव्य लिइरहेकी थिएँ र सधैँ आफ्नो अभिमानका खातिर जिइरहेकी थिएँ, आफ्नो कर्तव्यलाई परमेश्वरबाट आएको आज्ञाका रूपमा हेर्न पूर्ण रूपमा असफल भइरहेकी थिएँ। अगुवाले मलाई अतिथिसत्कारको कर्तव्य पूरा गर्ने बन्दोबस्त मिलाउनुभएको हुनाले, मैले यसलाई परमेश्वरबाट आएको हो भनी स्वीकार गर्नुपर्थ्यो र यो कर्तव्य राम्ररी र गम्भीरताका साथ पूरा गर्नुपर्थ्यो ताकि ब्रदर-सिस्टरहरूले आफ्नो कर्तव्य पूरा गर्न सुरक्षित वातावरण पाउन सकून्। मैले पश्चात्तापमा परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, यो कर्तव्य तपाईँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूद्वारा ममाथि आइपरेको हो, तैपनि म आफ्नो अभिमानद्वारा बाँधिएकी छु, र आफूलाई छानीछानी कर्तव्य लिने गर्छु र समर्पित हुन अनिच्छुक हुन्छु। ममा साँच्चै विवेकको कमी छ! हे परमेश्वर, म समर्पित हुन र तपाईँलाई सन्तुष्ट पार्नका निम्ति यो कर्तव्य राम्ररी पूरा गर्न इच्छुक छु।”
चिन्तनमार्फत, मैले अतिथिसत्कारको कर्तव्य पूरा गर्न मेरो अनिच्छा अर्को भ्रामक दृष्टिकोणबाट उत्पन्न भएको रहेछ भनी महसुस गरेँ, अर्थात् म अतिथिसत्कारको कर्तव्यलाई तुच्छ ठान्थेँ, र मलाई ती कम क्षमता भएका पाका ब्रदर-सिस्टरहरूले पूरा गर्छन्, अनि अगुवाइका कर्तव्य पूरा गर्नेहरूलाई मानिसहरूले जहाँ गए पनि आदर गर्छन् र उनीहरू सत्यता पछ्याउने मानिसहरू हुन्, र यी कर्तव्यहरूले व्यक्तिसँग पद र हैसियत छ भनी देखाउँछ भन्ने लाग्थ्यो। मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ: “सत्यताको अघि सबै जना बराबर छन्। प्रवर्द्धन र संवर्धन गरिएका मानिसहरू अरूभन्दा धेरै उत्तम हुँदैनन्। सबैले परमेश्वरको कामलाई लगभग उति नै समय अनुभव गरेका हुन्छन्। प्रवर्द्धन र संवर्द्धन नगरिएका मानिसहरूले पनि आफ्नो कर्तव्य पूरा गर्दा सत्यता पछ्याउनुपर्छ। कसैले पनि अरूलाई सत्यताको खोजी गर्ने अधिकारबाट वञ्चित गर्नु हुँदैन। कतिपय मानिसहरू सत्यताको खोजीमा बढी उत्सुक हुन्छन् र तिनीहरूमा केही क्षमता हुन्छ, त्यसकारण तिनीहरूलाई प्रवर्द्धन र संवर्धन गरिन्छ। यो परमेश्वरको घरको कामका आवश्यकताका कारण गरिन्छ। त्यसोभए, परमेश्वरको घरले मानिसहरूलाई प्रवर्द्धन र प्रयोग गर्ने यस्ता सिद्धान्तहरू किन राखेको हो? किनभने मानिसहरूको क्षमता र चरित्रमा भिन्नता हुन्छ, र हरेक व्यक्तिले फरक मार्ग रोज्छ, जसले गर्दा परमेश्वरप्रतिको मानिसहरूको विश्वासमा फरक-फरक परिणामहरू आउँछन्। सत्यता पछ्याउनेहरूले मुक्ति पाउँछन् र तिनीहरू राज्यका मानिस बन्छन्, जबकि जो सत्यतालाई पटक्कै स्विकार्दैनन् र आफ्नो कर्तव्य पूरा गर्नमा बफादार छैनन्, तिनीहरू हटाइन्छन्। मानिसहरूले सत्यता पछ्याउँछन् कि पछ्याउँदैनन्, र तिनीहरू आफ्नो कर्तव्य पूरा गर्नमा बफादार छन् कि छैनन् भन्ने आधारमा परमेश्वरको घरले तिनीहरूलाई संवर्धन र प्रयोग गर्छ। के परमेश्वरको घरका विभिन्न मानिसहरूको ओहदामा कुनै भिन्नता हुन्छ? अहिलेका लागि, विभिन्न मानिसहरूको पद, मूल्य, हैसियत वा स्थानका आधारमा कुनै ओहदा छुट्याइएको छैन। कम्तीमा पनि, मानिसहरूलाई मुक्ति दिन र अगुवाइ गर्नका लागि परमेश्वरले काम गर्ने अवधिमा, विभिन्न मानिसहरूको श्रेणी, पद, मूल्य, वा हैसियतमा कुनै भिन्नता हुँदैन। भिन्नता भएको कुरा केवल कामको विभाजनमा र निर्वाह गरिने कर्तव्यका भूमिकाहरूमा मात्र हो। अवश्य नै, यस अवधिमा, विशेष कार्यहरू गर्नका लागि अपवादका रूपमा कतिपय मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गरिन्छ, जबकि कतिपय मानिसहरूले तिनीहरूको क्षमतासम्बन्धी वा पारिवारिक वातावरणसम्बन्धी समस्याजस्ता विभिन्न कारणहरूले गर्दा त्यस्तो अवसर पाउँदैनन्। तर के त्यस्ता अवसरहरू नपाउनेहरूलाई परमेश्वरले मुक्ति दिनुहुन्न? त्यस्तो त हुँदैन। के तिनीहरूको मूल्य र पद अरूको भन्दा सानो हुन्छ? हुँदैन। सत्यताको अगाडि सबै समान हुन्छन्, सबैले सत्यता पछ्याउने र प्राप्त गर्ने अवसर पाउँछन्, र परमेश्वरले सबैलाई निष्पक्ष र उचित रूपमा व्यवहार गर्नुहुन्छ। कुन बिन्दुमा मानिसहरूको पद, मूल्य, र हैसियतमा उल्लेखनीय भिन्नताहरू आउँछन्? जब मानिसहरू आफ्नो मार्गको अन्त्यमा पुग्छन्, र परमेश्वरको काम सम्पन्न हुन्छ, अनि हरेक व्यक्तिले मुक्ति पछ्याउने र आफ्नो कर्तव्य पूरा गर्ने क्रममा प्रदर्शन गरेका मनोवृत्ति र दृष्टिकोणहरूबारे, साथै परमेश्वरप्रति तिनीहरूका विभिन्न प्रकटीकरण र मनोवृत्तिहरूबारे अन्ततः एउटा निष्कर्ष निकालिन्छ—अर्थात्, जब परमेश्वरको नोटबुकमा पूर्ण अभिलेख हुन्छ—त्यस बेला, मानिसहरूका परिणाम र गन्तव्यहरू फरक हुने भएकाले, तिनीहरूको मूल्य, पद र हैसियतमा पनि भिन्नताहरू हुनेछन्। तब मात्र यी सबै कुराहरूको झलक देख्न र तिनलाई मोटामोटी रूपमा निश्चित गर्न सकिन्छ, तर अहिले सबै जना उस्तै छन्” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (५))। परमेश्वरका वचनहरूले हामीलाई सत्यता र परमेश्वरका वचनहरूअगाडि सबै जना समान छन्, र पदहरूलाई उच्च वा निम्न भनेर छुट्ट्याउने कुनै मौलिक भिन्नता छैन भनी बताउँछन्। परमेश्वरको घरमा, मानिसहरूलाई तिनीहरूको क्षमता, सामर्थ्य, वा मण्डलीका आवश्यकताहरूका आधारमा विभिन्न कर्तव्यहरू पूरा गर्न खटाइन्छ, र व्यक्तिहरूबीचको एकमात्र भिन्नता तिनीहरूले पूरा गर्ने कर्तव्य हो। तर, जुनसुकै कर्तव्य पूरा गरिए पनि, सबैको पद र हैसियत समान हुन्छ। अगुवा वा कामदार हुनुको अर्थ व्यक्तिको पद अरूको भन्दा उच्च छ भन्ने होइन, र अतिथिसत्कारको कर्तव्य पूरा गर्ने व्यक्ति अरू कर्तव्य पूरा गर्नेहरूभन्दा पद वा हैसियतमा कुनै पनि हिसाबले कम हुँदैन। तर मैले अगुवा वा कामदार हुनु भनेको सत्यता पछ्याउनेहरूको चिनारी हो, र तिनीहरू जहाँ गए पनि, तिनीहरूलाई आदर गरिन्छ, जबकि अतिथिसत्कारको कर्तव्य पूरा गर्नु भनेको केवल कडा परिश्रम हो, त्यसैले पद र हैसियतमा निम्न हो भन्ने विश्वास गरेकी थिएँ। मेरा दृष्टिकोणहरू साँच्चै त्रुटिपूर्ण थिए! मैले मण्डलीकी एक जना वृद्ध सिस्टरलाई सम्झेँ जसले परमेश्वरलाई भेट्टाएदेखि नै अतिथिसत्कारको कर्तव्य पूरा गर्दै आउनुभएको थियो, तैपनि उहाँका अभिप्रायहरू सही थिए, उहाँ आफ्नो कर्तव्यमा बफादार हुनुहुन्थ्यो, र उहाँसँग परमेश्वरको मार्गदर्शन थियो। यसैबीच, कोही-कोही धेरै वर्षदेखि अगुवा र कामदारहरू रहँदै आएका थिए, तर तिनीहरूले सत्यता नपछ्याएकाले, तिनीहरूले केवल ख्याति र हैसियत खोजे, र आफ्नै उद्यममा लागे, यहाँसम्म कि, व्यक्तिगत लाभका लागि मण्डलीको काममा अवरोध गर्नु र बाधा दिने अनि अरूलाई आक्रमण र बहिष्कार गर्ने काम समेत गरे। अन्ततः, तिनीहरूलाई दुष्ट व्यक्ति वा ख्रीष्टविरोधीहरूका रूपमा चित्रण गरियो र मण्डलीबाट निष्कासित गरियो, र परिणामस्वरूप, तिनीहरूले मुक्ति पाउने मौका गुमाए। यी तथ्यहरूबाट, मैले सत्यताअगाडि सबै जना समान हुन्छन् भन्ने देखेँ। कसैले मुक्ति पाउन सक्छ कि सक्दैन भन्ने कुरा उसले पूरा गर्ने कर्तव्य, उसको उमेर, वा हैसियतसँग सम्बन्धित छैन। मुख्य कुरा व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन र ऊ आफ्नो कर्तव्यमा बफादार छ कि छैन भन्ने हो। परमेश्वर धर्मी हुनुहुन्छ, र उहाँ मानिसहरूसँग सत्यता छ कि छैन र तिनीहरूको स्वभाव परिवर्तन भएको छ कि छैन भन्ने कुरालाई हेर्नुहुन्छ। मानिसहरूलाई नाप्ने परमेश्वरको मानक यही हो।
केही महिनापछि, अगुवाले मलाई लेखन-पठनको कर्तव्य पूरा गरिरहेका ब्रदर-सिस्टरहरूको अतिथिसत्कार गर्न आग्रह गर्नुभयो। मैले मनमनै सोच्न थालेँ, “म पहिले लेखन-पठनको कामको सुपरिवेक्षक थिएँ, र यी मानिसहरू मेरो टोलीका सदस्यहरू थिए, तर अब म केवल तिनीहरूको अतिथिसत्कार गर्दैछु। तिनीहरूले मेरो बारेमा के सोच्नेछन्?” जब मैले यसरी सोचेँ, मैले आफू फेरि आफ्नो अभिमान र हैसियतबारे सोचिरहेकी रहेछु भनी महसुस गरेँ। त्यसैले मैले चुपचाप परमेश्वरलाई प्रार्थना गरेँ, र उहाँका वचनहरूको एक खण्ड सम्झेँ: “सधैँ आफ्नै खातिर काम गर्ने र निरन्तर आफ्नै हितहरूको ख्याल गर्ने नगर्; आफ्नो घमण्ड, ख्याति, र हैसियतको बारेमा सोच्दै नसोच्, र आफ्ना व्यक्तिगत हितहरूको ख्याल नगर्। तैँले सबैभन्दा माथि परमेश्वरको घरका हितहरूको ख्याल गर्नुपर्छ, र तिनलाई आफ्नो प्राथमिकता बनाउनुपर्छ। तैँले परमेश्वरका अभिप्रायहरूको ख्याल गर्नुपर्छ र सबैभन्दा माथि तैँले आफ्नो कर्तव्य निर्वाहमा अशुद्धताहरू थिए कि थिएनन्, तँ अर्पित थिइस् कि थिइनस्, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गरिस् कि गरिनस्, र तैँले आफ्नो सर्वस्व दिइस् कि दिइनस्, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामका बारेमा पूर्ण हृदयले सोच्दै आएको छस् कि छैनस् भनी मनन गर्नुपर्छ। तैँले यी कुराहरू विचार गर्नैपर्छ। यदि तैँले यी कुराहरूलाई बारम्बार सोच्छस् र बुझ्छस् भने, तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ। यदि तँमा थोरै क्षमता छ भने, यदि तँ सतही अनुभव भएको व्यक्ति होस् भने वा यदि तँ तेरो व्यावसायिक काममा निपुण छैनस् भने, तेरो काममा केही गल्ती वा कमजोरीहरू हुन सक्छन्, र तैँले राम्रा नतिजाहरू प्राप्त नगर्न सक्छस्—तर तैँले आफ्नो सक्दो प्रयास लगाइसकेको हुन्छस्। तँ आफ्नै स्वार्थी चाहनाहरू वा आफ्नै प्राथमिकताहरू सन्तुष्ट पार्ने गर्दैनस्। त्यसको साटो, तँ मण्डलीको काम र परमेश्वरको घरका हितहरूलाई निरन्तर ध्यान दिन्छस्। तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सायद राम्रो नतिजा हासिल नगर्लास्, तर तेरो हृदय सोझिइसकेको हुन्छ; यसअलावा, यदि तैँले आफ्नो कर्तव्यमा आइपरेका समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्न सक्छस् भने, तँ तेरो कर्तव्यपालनमा मापदण्डअनुरूपको हुनेछस् र साथमा तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम हुनेछस्। आफूसँग गवाही हुनु भनेकै यही हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचनहरूबाट, मैले उहाँका अभिप्रायहरू बुझ्न पुगेँ र अभ्यासको मार्ग पनि सिकेँ। विगतमा, म सधैँ अभिमान र हैसियतका लागि जिएकी थिएँ, तर आजको दिन मैले परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूलाई स्वीकार गर्नुपर्छ र तिनमा समर्पित हुनुपर्छ, मण्डलीको हितलाई ख्याल गर्नुपर्छ र आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ। त्यसैले म तुरुन्तै राजी भएँ। केही दिनपछि, लेखन-पठनको कर्तव्य पूरा गरिरहेका ब्रदर-सिस्टरहरू भेलाका लागि मेरो घरमा आए। जब मैले तिनीहरूलाई देखेँ, मैले आफ्नो अभिमानमा चोट पुगेको महसुस गरिनँ, बरु जुनसुकै कर्तव्य पूरा गर्नु पनि परमेश्वरबाट गरिने उठान हो भनी महसुस गरेँ। त्यसपछिका दिनमा, मैले लगनशीलताका साथ सहकार्य गरेँ, र ब्रदर-सिस्टरहरूले सुरक्षित र शान्तिपूर्ण स्थानमा भेला हुन र आफ्नो कर्तव्य पूरा गर्न सकून् भनेर राम्रो वातावरण कसरी कायम राख्ने भनी सोचेँ। यसरी अभ्यास गरेर, मैले मेरो हृदयमा शान्ति र सहजता महसुस गरेँ, र मैले अतिथिसत्कारको कर्तव्यले पनि सिक्नलाई पाठ र खोज्नलाई सत्यताहरू प्रदान गर्दो रहेछ भनी महसुस गरेँ।