९६. मैले दमनका नकारात्मक भावनाहरू फालेको छु

लिन फङ, चीन

म मण्डलीमा सङ्गीत रचना गर्ने कर्तव्य निर्वाह गर्छु। सन् २०२० को अक्टोबरमा, मण्डलीका अगुवाहरूले मलाई र ब्रदर वाङ छेनलाई सङ्गीतकारहरूको कामको समीक्षा गर्ने जिम्मेवारी दिनुभयो। त्यतिबेला, मैले खासै दबाब महसुस गरेकी थिइनँ र हरेक दिन केही फुर्सदको समय पनि हुन्थ्यो। केही दिनपछि, मण्डलीका अगुवाहरूले मलाई सुपरिवेक्षकमा बढुवा गर्नुभयो। मलाई लाग्यो, सुपरिवेक्षक हुनु भनेको सबै कुराको रेखदेख गर्नु हो, म पक्कै पनि हरेक दिन व्यस्त हुनेछु, र पहिलेको जस्तो सहज हुनेछैन, त्यसैले म अलिकति अनिच्छुक भएँ। तर त्यसपछि मैले सोचेँ, “मण्डलीले मलाई यति धेरै वर्षदेखि संवर्धन गरेको छ, त्यसैले ममा विवेक हुनुपर्छ, मैले परमेश्‍वरको अभिप्रायलाई ख्याल गर्नुपर्छ, र सहकार्य गर्न सक्दो प्रयास गर्नुपर्छ।” यो सोचेर, म त्यस भूमिकाका लागि राजी भएँ।

त्यसपछि, मेरो कर्तव्यमा, मैले टोलीका सदस्यहरूका गलत स्थितिहरू समाधान गर्न सङ्गति मात्र गर्नु पर्दैनथ्यो, तिनीहरूका प्रश्नहरूको जवाफ दिँदै पत्रहरूको जवाफ पनि दिनुपर्थ्यो। कहिलेकाहीँ, कामको समीक्षा गरिनसक्दै, तुरुन्तै जवाफ दिनुपर्ने पत्रहरू आइहाल्थे, र मैले एकछिन आराम गर्ने समय पनि पाउँदिनथेँ। कहिलेकाहीँ मलाई अलिकति आराम गर्न मन लाग्थ्यो, तर मैले केही पत्रहरूको समयमै जवाफ दिइनँ भने, त्यसले काममा असर पार्थ्यो, त्यसैले मैले ती जवाफहरू छिट्टै दिनुपर्थ्यो। पछि, अगुवाले वाङ छेनले समीक्षा गरेका केही काममा समस्या भएको देख्नुभयो, र उहाँले मलाई फेरि तिनको समीक्षा गर्न सुझाव दिनुभयो। यसले गर्दा मेरो समय झनै व्यस्त भयो। मैले सम्बोधन गर्नुपर्ने यी सबै साना-साना कुराहरू देखेँ, र मलाई साँच्चै दबिएको महसुस भयो। यी कुनै पनि कामहरूलाई छोड्न मिल्दैनथ्यो, र कामकुरा यस्तै चलिरह्यो भने, म मानसिक रूपमा पूर्णतया थकित हुनेथिएँ। मैले आराम गर्न सक्ने क्षणहरूको तृष्णा गर्न थालेँ। मैले आफू सुपरिवेक्षक नहुँदा र केवल कामहरूको समीक्षा गर्नुपर्दा कति सजिलो थियो भन्ने कुरा सम्झेँ, र मलाई सायद म आफ्नो पुरानो कर्तव्यमै फर्कनुपर्छ भन्ने लाग्यो! तर त्यसपछि मैले सोचेँ, “त्यसो गर्नु त अनाज्ञाकारी हुनेछ!” त्यसैले, मैले मन नलागी-नलागी सहकार्य गरिरहेँ। केही समयपछि, मलाई आफू एउटा मेसिन भएजस्तै महसुस हुन थाल्यो, मेरो दिमाग निरन्तर तनावमा रहन्थ्यो। जवाफ दिनुपर्ने र समाधान गर्नुपर्ने धेरै समस्या सधैँ हुन्थे। म नरोकिएजस्तो, र मैले गर्नुपर्ने सबै कुरा गरेजस्तो देखिए पनि, मलाई कामको प्रवाहले नै बगाइरहेको थियो। मलाई हृदयमा बोझको बोध महसुस हुँदैनथ्यो, र म नतिजाहरू खोजिरहेकी थिइनँ। म केवल हातमा भएका कामहरू यान्त्रिक रूपमा पूरा गरिरहेकी थिएँ, र मैले मेरो काममा कहिल्यै कुनै प्रगति गरिनँ। वाङ छेनले ममा बोझको बोध छैन भने, तर मैले त्यो सुन्न चाहिनँ र मनमनै गुनासो गर्न थालेँ, “म पहिले नै यति व्यस्त छु, यति धेरै कुरा सम्हाल्नुपर्दा, मैले सबै कुरा कसरी व्यवस्थापन गर्न सक्छु र? के तपाईँले मबाट अति धेरै मागिरहनुभएको छैन र? तपाईँले मेरा पनि कतिवटा हात र टाउका छन् जस्तो लाग्छ? म एकै समयमा दुई ठाउँमा हुन सक्दिनँ।” मैले आत्मचिन्तन गरिनँ, बरु ममा वाङ छेनप्रति पूर्वाग्रह पलायो। म कहिलेकाहीँ सोच्थेँ, “सायद मैले राजीनामा दिएर एउटै काम गर्ने कर्तव्यमा फर्कनुपर्छ, त्यो धेरै कम थकाइलाग्दो हुनेछ।” मेरो स्थिति गलत भएकाले, मैले काममा भएका स्पष्ट समस्याहरू पनि याद गरेकी थिइनँ। जब वाङ छेनले मेरो झाराटारुवा मनोवृत्ति र कर्तव्यप्रतिको बेवास्ताले कामको प्रगतिमा असर पारेको छ भनी औँल्याए, तब मात्र मैले सचेत भई आत्मचिन्तन गर्न थालेँ र परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मलाई लाग्छ यो कर्तव्य मेरा लागि साह्रै गाह्रो छ। मलाई धेरै पीडित र दमित महसुस हुन्छ, र म प्रायः मेरो कर्तव्य त्याग्न चाहन्छु। मलाई थाहा छ यो स्थिति गलत हो, तर म आफ्ना समस्याहरू चिन्न सक्दिनँ। कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् र यो गलत स्थितिलाई बदल्न मद्दत गर्नुहोस्।”

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “सामान्यतया, यी कठिनाइहरूबारे सुनेपछि सामान्य मानिसहरूले अलि त्रसित, र केही दबाब महसुस गर्छन्, तर जो परमेश्‍वरप्रति बफादार र समर्पित छन्, तिनीहरूले कठिनाइहरू सामना गर्दा र दबाब महसुस गर्दा मौन रूपमा हृदयमा प्रार्थना गर्नेछन्, र तिनीहरूको आस्था बढाउन र अन्तर्दृष्टि र सहयोगको लागि परमेश्‍वरलाई मार्गदर्शन माग्छन्, साथै गल्तीहरू गर्नबाट जोगाइमाग्छन्, ताकि तिनीहरूले प्रस्ट विवेक हासिल गर्नहेतु बफादारी निभाउन र सक्दो मेहनत लगाउन सकून्। तर ख्रीष्टविरोधी मानिसहरू यस्ता हुँदैनन्। जब तिनीहरूले काममा ख्रीष्टद्वारा मिलाइएका केही विशिष्ट प्रबन्धहरूबारे सुन्छन्, र जसलाई तिनीहरूले लागु गर्नुपर्ने हुन्छ र जुन काममा केही कठिनाइहरू हुन्छन्, तब तिनीहरू भित्री रूपमा प्रतिरोधी महसुस गर्न थाल्छन्, र अघि बढ्न अनिच्छुक हुन्छन्। यो अनिच्छा कस्तो देखिन्छ? तिनीहरू भन्छन्: ‘मलाई किन कहिल्यै राम्रा कुराहरू आइपर्दैनन्? मलाई किन सधैँ समस्याहरू दिइन्छ र मापदण्डहरू थोपरिन्छ? के मलाई निष्क्रिय ठानेर कामहरू अह्राइन्छ कि दास ठानेर? ममाथि चालबाजी गर्न त्यति सजिलो छैन! तिमी यति हल्का रूपमा भन्दै छौ, तिमी किन आफै कोसिस गर्दैनौ!’ के यो समर्पण हो? के यो स्वीकारको मनोवृत्ति हो? तिनीहरूले के गरिरहेका छन्? (प्रतिरोध र विरोध गरिरहेका छन्।) यो प्रतिरोध र विरोध कसरी पैदा हुन्छ? उदाहरणका लागि, यदि ‘एकदुई पाउ सुँगुरको मासु लिएर आइज अनि सबैलाई छोइला बनाएर दे’ भनेर अह्राइएमा, के तिनीहरूले यो कुरामा विरोध गर्थे र? (गर्थेनन्।) तर यदि ‘आज, गएर त्यो बारी जोत्, र त्यो जोत्दाखेरि, तैँले सबै ढुङ्गाहरू पन्साइसकेपछि मात्र खाना खान पाउँछस् है’ भनेर भनिएमा, तिनीहरू अनिच्छुक बन्‍नेथे। त्यसमा शारीरिक कठिनाइ, गाह्रो, वा दबाब हुनेबित्तिकै तिनीहरूको रुष्टता देखा पर्छ, र तिनीहरू अघि बढ्न अनिच्छुक बन्छन्; तिनीहरू प्रतिरोध र गुनासो गर्न थाल्छन्: ‘मलाई किन राम्रा कुराहरू हुँदैनन्? सजिला र हल्का कामहरू आउँदा मलाई किन बेवास्ता गरिन्छ? मलाई किन कठिन, थकाइलाग्दो, वा फोहोरी काममा छानिन्छ? के म निष्कपट र सजिलै हेप्न सकिनेजस्तो देखिएर हो?’ भित्री प्रतिरोध यहीबाट सुरु हुन्छ। तिनीहरू किन यति प्रतिरोधी हुन्छन्? कस्तो ‘फोहोरी र थकाइलाग्दो काम’? कस्ता ‘कठिनाइहरू’? के यो सब तिनीहरूको कर्तव्यको पाटो होइन र? जसलाई अह्राइएको हो उसले गर्नुपर्छ; रोजीछानी गर्नुपर्ने त्यस्तो के छ र? के यो जानीजानी तिनीहरूको लागि परिस्थिति कठिन बनाइएको हो र? (होइन।) तर तिनीहरू जानीजानी तिनीहरूको लागि परिस्थिति कठिन बनाइएको हो, तिनीहरूलाई अप्ठेरोमा जाकिएको हो भन्ठान्छन्, त्यसैले तिनीहरू परमेश्‍वरबाट यो कर्तव्य स्विकार्दैनन् र त्यसलाई स्विकार्न अनिच्छुक हुन्छन्। यहाँ के भइरहेको छ? के तिनीहरूले कठिनाइहरू सामना गर्नुपर्दा, शारीरिक कष्ट सहनुपर्दा, र अबउप्रान्त सहजतामा जिउन नसक्दा तिनीहरू प्रतिरोधी बन्‍ने हो? के यो निःसर्त, गुनासोरहित समर्पण हो? थोरै गाह्रो हुनेबित्तिकै तिनीहरू अनिच्छुक बन्छन्। तिनीहरू जे गर्न चाहँदैनन्, तिनीहरूलाई जुन काम गाह्रो, गर्न मन नलाग्‍ने, अपमानजनक, वा अरूद्वारा हेयको दृष्टिले हेरिने भन्‍ने लाग्छ, तिनीहरू त्यसलाई उग्र रूपमा प्रतिरोध, विरोध र अस्वीकार गर्छन्, अलिकति पनि समर्पण देखाउँदैनन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग चार))। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने, जब मानवता भएको व्यक्तिले आफ्नो कर्तव्यमा कठिनाइ र दबाब सामना गर्छ, ऊ प्रतिरोध वा विरोध गर्नुको सट्टा प्रार्थना गर्न, परमेश्‍वरमा भर पर्न, र सहकार्य गर्न सक्दो प्रयास गर्न सक्षम हुन्छ। तर जब एउटा ख्रीष्टविरोधीले आफ्नो कर्तव्यमा अलिकति पनि कठिनाइ वा दबाब सामना गर्छ र दुःख भोग्नु वा मूल्य चुकाउनु पर्छ, तब उसले गर्ने पहिलो कुरा प्रतिरोध, विद्रोह र गुनासोगर्नु हो। उसले त मानिसहरूले उसको जीवन कठिन बनाउन खोजिरहेका, ऊ फुर्सदिलो भए झैँ गरी व्यवहार गरिरहेका, र दासलाई जस्तै घोटिरहेका छन् भन्ने समेत सोच्छ। यसबाट, हामी ख्रीष्टविरोधीहरूको चरम स्वार्थीपन र नीचता, र तिनीहरूले परमेश्‍वरको अभिप्रायलाई अलिकति पनि ख्याल गर्दैनन् भन्ने कुरा देख्छौँ। के मेरो व्यवहार यस्तै थिएन र? सुपरिवेक्षक बन्ने यो अवसर ममाथि परमेश्‍वरको अनुग्रह थियो, तर जब मैले भारी कार्यबोझ र अगुवाहरूले नजिकबाट गरिरहेको हरेक कामको अनुगमन देखेँ, तब मलाई धेरै दबाब महसुस भयो र मेरो शरीरले धेरै दुःख भोग्नुपर्छ भन्ने लाग्यो, त्यसैले म अनिच्छुक र साँच्चै प्रतिरोधी भएँ। मलाई यो कर्तव्य धेरै दमनकारी र पीडादायी लाग्यो। मैले कामप्रतिको आफ्नो बोझको बोध गुमाएँ, र आफूले अनुगमन गर्नुपर्ने कामहरूमा ध्यान दिइनँ। वाङ छेनले ममा बोझको बोध छैन भनेर सम्झाउँदा, मैले अझै पनि अनिच्छुक महसुस गरेँ, र ममा उनीप्रति पूर्वाग्रह समेत जाग्यो। परमेश्‍वरले योजनाबद्ध र बन्दोबस्त गर्नुभएको यो परिस्थितिप्रतिको मेरो मनोवृत्ति प्रतिरोध र विरोधको थियो, र म अलिकति पनि समर्पित भइरहेकी थिइनँ भन्ने मैले देखेँ। के मैले ठ्याक्कै ख्रीष्टविरोधीको स्वभाव नै प्रकट गरिरहेकी थिइनँ र? चाहे अगुवाहरूले नजिकबाट कामको अनुगमन गरिरहेका होऊन् वा मेरो सहकर्मी ब्रदरले मेरा समस्याहरू औँल्याइरहेका होऊन्, यो सबै मण्डलीको हितको रक्षा गर्न र कामले राम्रो नतिजा हासिल गरोस् भनी सुनिश्चित गर्नका लागि हो। मैले यो परमेश्‍भरबाट आएको हो भनेर स्विकार्नुपर्छ र सहकार्य गर्न सक्दो प्रयास गर्नुपर्छ। यो सामान्य व्यक्तिमा हुनुपर्ने विवेक र समझ हो। तर मैले पूर्ण रूपमा प्रतिरोध महसुस गरेँ र आत्मचिन्तन गरिनँ। मैले त अन्यायमा परेको महसुस गरेँ र आफ्नो कर्तव्य त्याग्ने विचारसमेत गरेँ। मैले आफू साँच्चै अविवेकी रहेछु भन्ने देखेँ! मेरो कर्तव्यलाई यसरी व्यवहार गर्नुले ममा अलिकति पनि मानवता थिएन भन्ने देखायो! मैले परमेश्‍वरको अभिप्रायलाई अलिकति पनि ख्याल गरिनँ, र मैले केवल आफ्नै दैहिक स्वार्थबारे सोचेँ, परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्दो प्रयास गर्न अनिच्छुक भएँ, र यसले मण्डलीको काममा असर पाऱ्यो। यसमा, म साँच्चै नै विद्रोही भएकी थिएँ र मैले परमेश्‍वरको हृदयलाई चोट पुऱ्याएकी थिएँ। त्यसैले आफ्नो कर्तव्यप्रतिको मनोवृत्ति परिवर्तन गर्न इच्छुक हुँदै मैले परमेश्‍वरलाई प्रार्थना गरेँ।

त्यसपछि, मैले परमेश्‍वरका यी वचनहरूको बारेमा सोचेँ: “धेरैजसो अवस्थाहरूमा, परमेश्‍वरले दिनुभएका परीक्षाहरू उहाँले मानिसहरूलाई दिनुहुने बोझ हुन्। परमेश्‍वरले तँमाथि जति नै गह्रौँ बोझ राख्नुभए पनि, त्यो तैँले वहन गर्नुपर्ने बोझ हो, किनभने परमेश्‍वरले तँलाई बुझ्‍नुहुन्छ, र तैँले यसलाई बोक्‍न सक्छस् भन्‍ने उहाँलाई थाहा छ। परमेश्‍वरले तँलाई दिनुहुने बोझ तेरो कद वा तेरो सहनशीलताको सीमा नाघ्‍ने हदको हुनेछैन, र तैँले त्यो वहन गर्न सक्छस् भन्‍ने कुरामा कुनै सन्देह छैन। परमेश्‍वरले तँलाई जस्तोसुकै बोझ, जस्तोसुकै परीक्षा दिनुभए पनि, एउटा कुरा याद राख्: तैँले परमेश्‍वरका अभिप्रायहरूलाई बुझे पनि नबुझे पनि र तैँले प्रार्थना गरेपछि पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति प्राप्त गरे पनि नगरे पनि, परमेश्‍वरले तँलाई यो परीक्षाद्वारा अनुशासनमा राखिरहनुभएको भए पनि वा चेतावनी दिइरहनुभएको भए पनि, तँ यो बुझ्दैनस् भने त्यसले फरक पार्दैन—जबसम्‍म तँ आफ्नो कर्तव्य निर्वाह गर्दा ढिलाइ गर्दैनस् र तँ बफादारी साथ लागिरहन्छस्, तबसम्‍म परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ, र तँ तेरो गवाहीमा दह्रिलो गरी खडा हुनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरू बारम्बार पढेर अनि सत्यता मनन गरेर मात्र पछ्याउने मार्ग प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने, परमेश्‍वरले मानिसहरूलाई दिने बोझहरू तिनीहरूले सहन सक्ने सीमाभित्रै हुन्छन् र ती मानवीय सीमाभन्दा बाहिर जाँदैनन् किनभने परमेश्‍वर हरेक व्यक्तिलाई बुझ्नुहुन्छ। ममाथि आइपरेको यो कर्तव्य परमेश्‍वरबाट आएको एउटा जाँच हो, र म आफ्नो दैहिक सुखका लागि आफ्नो कर्तव्यबाट पन्छिनु हुँदैन। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, आफैविरुद्ध विद्रोह गरेँ, र समर्पित भएँ, अनि आफ्नो कर्तव्यप्रतिको पहिलेको मनोवृत्तिलाई सच्याएँ। मैले दैनिक कार्यबोझका आधारमा उचित रूपमा आफ्नो समयको व्यवस्थापन गरेँ, र मैले मेरा कामहरूलाई प्राथमिकता दिएँ, जसले कामको समग्र दक्षतामा सुधार ल्यायो। केही समयपछि, कहिलेकाहीँ कामको बोझ बढ्दा, मलाई अझै पनि दबिएको महसुस हुन्थ्यो, तर म सचेत रूपमा आफैविरुद्ध विद्रोह गर्न र सक्रिय रूपमा माथि उठ्ने प्रयास गर्न सक्थेँ, अनि समस्याहरू समाधान गर्न सिद्धान्तहरू खोज्ने पहल गर्थेँ। वास्तविक सहकार्यमार्फत, कामका समग्र नतिजाहरूमा सुधार भयो।

केही समयपछि, मैले मण्डलीले मलाई अर्को ठाउँमा मेरो कर्तव्य निर्वाह गर्नका लागि बढुवा गर्ने योजना बनाएको कुरा सुनेँ, र जब मैले त्यसपछि मेरो कार्यबोझ अझ बढी हुनेछ भन्नेबारे सोचेँ, मेरा दमनकारी नकारात्मक भावनाहरू थाहै नपाई फेरि सतहमा आए। मलाई यो स्थिति गलत हो भन्ने थाहा भए पनि, मैले यो कसरी समाधान गर्ने भनेर जानेकी थिइनँ। एक दिन, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “आफूले चाहेअनुसार गर्न नसक्‍नु भनेको के हो? यसको अर्थ आफ्‍नो मनमा आउने हरेक इच्छा पूरा गर्न नसक्‍नु हो। यी मानिसहरूले आफ्‍नो काम र जीवनमा अघि सार्ने मापदण्ड भनेको आफूले चाहेको कुरा, चाहेको बेला, र चाहेअनुसार गर्न पाऊँ भन्‍ने हो। तर कानुन, जिउने वातावरण, वा कुनै समूहको नियम, प्रणाली, सर्त, र अनुशासन, आदि इत्यादिजस्ता विभिन्‍न कुराहरूको कारण, मानिसहरूले आफ्‍नो इच्छा र कल्‍पनाअनुसार काम गर्न सक्दैनन्। परिणामस्वरूप, तिनीहरूले हृदयको गहिराइमा दबाब महसुस गर्छन्। यसलाई सीधा हिसाबले भन्दा, मानिसहरूले पीडित महसुस गर्ने हुनाले—अनि कतिपय मानिसहरूले अन्यायमा परेकोसमेत महसुस गर्ने हुनाले यो दबाब पैदा हुन्छ। स्पष्ट रूपमा भन्दा, आफूले चाहेअनुसार गर्न नपाउनु भनेको आफ्‍नो इच्छा पूरा गर्न नपाउनु हो—यसको अर्थ विभिन्‍न कारण र व्यक्तिका विभिन्‍न वातावरण र अवस्थाहरूको निषेधको कारण व्यक्तिले स्वेच्‍छाचारी ढङ्गले वा स्वतन्त्र रूपमा काम गर्न नपाउनु भन्‍ने हुन्छ। उदाहरणको लागि, कतिपय मानिसहरूले आफ्‍नो कर्तव्य निभाउँदा सधैँ झारा टार्छन् र अल्याङटल्याङ गर्ने उपाय खोज्छन्। कहिलेकहीँ, मण्डलीको काम छिटो गर्नुपर्ने जरुरी हुन्छ, तर तिनीहरू आफूलाई मन लागेअनुसार गर्न चाहन्छन्। शारीरिक रूपमा तिनीहरूलाई सहज महसुस भएन, वा तिनीहरू केही दिनसम्‍म खराब मनस्थिति र निराश अवस्थामा भए भने, तिनीहरूलाई मण्डलीको काम गर्न कठिनाइ भोग्‍ने र मूल्य चुकाउने इच्छा हुँदैन। तिनीहरू विशेष रूपमा अल्छी हुन्छन् र आरामको लोभ गर्छन्। जब तिनीहरूमा उत्प्रेरणाको कमी हुन्छ, तब तिनीहरूको शरीर बोधो बन्छ, र तिनीहरू हलचल गर्न इच्छा गर्दैनन्, तर अगुवाले काटछाँट गर्ला र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले अल्छी भन्लान् भन्‍ने डरले, तिनीहरू मन नलागीनलागी भए पनि अरू सबैसँग काम गर्न बाध्य हुन्छन्। तैपनि, यसप्रति तिनीहरूलाई साह्रै नै अनिच्छा, नरमाइलो, र अरुचि भएको हुन्छ। तिनीहरूले अन्याय, पीडा, झर्को, र थकित महसुस गर्छन्। तिनीहरू आफ्‍नै इच्छाअनुसार काम गर्न चाहन्छन्, तर परमेश्‍वरको घरका मापदण्ड र सर्तहरू तोड्ने वा तीविरुद्ध जाने आँट गर्दैनन्। परिणामस्वरूप, समय बित्दै जाँदा तिनीहरूमा एउटा भावना पैदा हुन थाल्छ, जुन दबाबको भावना हो। यो दबाबको भावनाले तिनीहरूमा जरा गाडेपछि, तिनीहरू क्रमिक रूपमा जोसजाँगररहित र कमजोर हुन थाल्छन्। मेसिनजस्तै, तिनीहरूलाई पनि के गर्दै छु भन्‍ने कुरा स्पष्ट रूपमा थाहा हुन छोड्छ, र तिनीहरू हरेक दिन जे गर्नु भनिएको छ, र जसरी गर्नु भनिएको छ त्यही नै र त्यसरी नै गरिरहन्छन्। हेर्दाखेरि तिनीहरूले नअडिई, नरोकिई, र कर्तव्य पूरा गर्ने वातावरणबाट पछाडि नहटी आफ्‍नो काम निरन्तर गरेजस्तो देखिए पनि, तिनीहरूले हृदयमा दबाब महसुस गर्छन्, र तिनीहरूलाई आफ्नो जीवन थकाइलाग्दो र गुनासै गुनासोले भरिएको जस्तो लाग्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (५))। परमेश्‍वरका वचनहरूबाट भएको खुलासामार्फत नै मैले के कुरा बुझ्न पुगेँ भने, जबजब म भारी कार्यबोझ र मेरो कर्तव्यको दबाबको सामना गर्थेँ, मलाई दबिएको महसुस हुन्थ्यो। यो मुख्यतया मेरो आफ्नै सनकअनुसार कर्तव्य पूरा गर्ने चाहनाबाट उत्पन्न भएको थियो, र जब मेरो कर्तव्य मेरा दैहिक चाहनाहरूसँग मेल खाँदैनथ्यो र म आफूले चाहेजस्तो गर्न सक्दिनथेँ, तब मलाई दमित र पीडित महसुस हुन्थ्यो। पहिले, म केवल काम जाँच्न जिम्मेवार थिएँ र धेरै चिन्ता लिनु पर्दैनथ्यो, र धेरै कठिनाइ वा दबाब थिएन, त्यसैले म सामान्य रूपमा सहकार्य गर्न सक्थेँ। तर सुपरिवेक्षक बनेपछि, मैले कामका सबै पक्षको जिम्मेवारी लिनुपर्थ्यो, र मैले कामको हरेक पक्षलाई ख्याल गरी त्यसको अनुगमन गर्नुपर्थ्यो। त्यसमाथि, अगुवाहरूले मलाई वाङ छेनले जाँचेको कामको निरीक्षण गर्न लगाउनुभयो, जसको मतलब मैले अझ धेरै समय र ऊर्जा खर्च गर्नुपर्थ्यो। मैले प्रतिरोध महसुस गरेँ र समर्पित हुन अनिच्छुक भएँ, तर मैले इन्कार गर्ने आँट गरिनँ, किनभने मलाई अगुवाहरूले ममा बोझको बोधको कमी छ भन्लान् भन्ने डर थियो। बाहिरबाट हेर्दा मैले काम गरिरहेको जस्तो देखिए पनि, म भित्रबाट हिचकिचाइरहेको र अनिच्छा गरिरहेको थिएँ। कहिलेकाहीँ, म कुनै कामलाई सरसर्ती हेरेर, यो पर्याप्त छ भन्ने सोच्थेँ, तर पछि समस्याहरू उत्पन्न भएमा, मैले त्यो काम फेरि गर्नुपर्थ्यो। जब वाङ छेन मेरा समस्याहरू औँल्याउँथे, म प्रतितर्क गर्थेँ र जिद्दीपूर्वक प्रतिरोध गर्थेँ, र राजीनामा दिनेबारे समेत सोच्थेँ। मैले यति धेरै वर्षसम्म परमेश्‍वरका वचनहरूको आपूर्तिको आनन्द उठाएकी थिएँ, तैपनि मैले परमेश्‍वरको प्रेम चुक्ता गर्न आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने प्रयास गरिनँ। जब म बफादार हुनुपर्थ्यो, मैले आफ्नै सनकअनुसार कामकुरा गरेँ, र आफ्नो कर्तव्यबाट पन्छिन र मण्डलीको कामलाई बेवास्ता गर्न समेत चाहेँ। ममा साँच्चै मानवताको कमी थियो! यी दृश्यहरूबारे फर्केर सोच्दा, मैले मेरो समस्या साँच्चै गम्भीर रहेछ भन्ने महसुस गरेँ। यदि मेरो दमनकारी भावनाहरू समयमै समाधान भएनन् भने, म झन् झन् दिक्दार र पतित हुँदै जानेछु, र आफ्नो कर्तव्य राम्ररी पूर गर्न नसक्ने हुनेछु।

पछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँ र मेरा समस्याहरूबारे झनै स्पष्ट बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “के कुराले मानिसहरूमा दबाब पैदा गर्छ? यो शारीरिक थकानले त पक्‍कै आउँदैन, त्यसोभए के कुराले यो पैदा गर्छ त? यदि मानिसहरूले निरन्तर शारीरिक सहजता र खुसी खोज्छन् भने, यदि तिनीहरू निरन्तर शारीरिक सुख र सहजताको पछि लाग्छन्, र कष्ट भोग्‍न चाहँदैनन् भने, थोरै शारीरिक कष्ट, अरूको भन्दा अलिक बढी कष्ट, वा सामान्यभन्दा अलिक बढी काम गर्नुपर्ने अवस्थाले पनि तिनीहरूलाई दबाब महसुस गराउँछ। यो दबाबको एउटा कारण हो। यदि मानिसहरू सानोतिनो शारीरिक कष्टलाई ठूलो मान्दैनन्, र शारीरिक सहजताको पछि लाग्दैनन्, बरु त्यसको साटो सत्यता पछ्याउँछन् र परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्‍नो कर्तव्य पूरा गर्ने प्रयास गर्छन् भने, तिनीहरूले प्राय शारीरिक कष्ट अनुभव गर्नेछैनन्। बेलाबेला तिनीहरूलाई व्यस्त, थकित, वा लखतरान भएको महसुस हुने भए पनि, सुतेपछि तिनीहरूलाई ठीक भइहाल्छ, र त्यसपछि तिनीहरू आफ्‍नो कार्य जारी राख्छन्। तिनीहरू आफ्‍नो कर्तव्य र काममा ध्यान केन्द्रित गर्छन्; तिनीहरू अलिअलि शारीरिक थकानलाई ठूलो कुरा ठान्दैनन्। तर जब मानिसहरूको सोचमै समस्या पैदा हुन्छ र जब तिनीहरू निरन्तर शारीरिक सहजताको पछि लाग्छन्, तब तिनीहरूको शरीरमा अलिकति समस्या हुँदा पनि वा सन्तुष्टि प्राप्त गर्न नसक्‍नेबित्तिकै, तिनीहरूमा निश्‍चित नकारात्मक संवेगहरू प्रकट हुन्छन्। … यी कुराहरूबारे प्राय तिनीहरूलाई दबाब महसुस भइरहन्छ र तिनीहरू आफ्‍ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूबाट सहयोग स्विकार्न वा अगुवाहरूको सुपरिवेक्षण स्विकार्न अनिच्‍छुक हुन्छन्। तिनीहरूले गल्ती गरे भने पनि, तिनीहरूको काटछाँट गर्न अरूलाई अनुमति दिँदैनन्। कुनै पनि हिसाबमा तिनीहरू नियन्त्रणमा पर्न चाहँदैनन्। तिनीहरू सोच्छन्, ‘खुसी मिल्छ भनेर मैले परमेश्‍वरमा विश्‍वास गरेको हुँ, त्यसकारण मैले किन आफै आफ्‍नो लागि कठिनाइ ल्याउने? किन मेरो जीवन त्यति थकाइलाग्दो हुनुपर्ने? मानिसहरू खुसीसाथ जिउनुपर्छ। तिनीहरूले यी नियम र ती प्रणालीहरूलाई त्यति धेरै ध्यान दिनु हुँदैन। सधैँ ती कुराहरू पालन गर्नुको के काम? अहिले, यो क्षण, म जे मन लाग्छ त्यही गर्छु। तपाईंहरू कसैले त्यसबारेमा केही भन्‍न पाउनुहुन्‍न।’ यस्तो व्यक्ति एकदमै स्वेच्‍छाचारी र भोगविलासी हुन्छ: तिनीहरू कुनै पनि अङ्कुश भोग्‍न चाहँदैनन्, न त तिनीहरूले कुनै पनि काम गर्ने वातावरणमा आफूमाथि अङ्कुश लगाइएको महसुस गर्न नै चाहन्छन्। तिनीहरू परमेश्‍वरको घरका नियम र सिद्धान्तहरू पालना गर्न चाहँदैनन्, आफ्‍नो व्यवहारमा मानिसहरूले लागू गर्नुपर्ने सिद्धान्तहरू लागू गर्न चाहँदैनन्, अनि विवेक र समझले तिनीहरूलाई गर्न लगाउने कुरासमेत तिनीहरू पालना गर्न चाहँदैनन्। तिनीहरू आफूलाई जे मन लाग्यो त्यही गर्न, जुन कुराले आफूलाई खुसी मिल्छ त्यही गर्न, र जुन कुराबाट आफूलाई फाइदा र सहज हुन्छ त्यही कुरा गर्न चाहन्छन्। तिनीहरूलाई लाग्छ कि यी अङ्कुशहरूमा जिउँदा यसले तिनीहरूको इच्छा उल्‍लङ्घन गर्छ, यो आफैलाई दुर्व्यवहार गर्नु हो, आफैप्रति कठोर हुनु हो, र मानिसहरूले त्यसरी जिउनु हुँदैन। तिनीहरू सोच्छन्, मानिसहरू देहमा लिप्त हुँदै र आफ्ना इच्छाहरू पूरा गर्दै, अनि आफ्‍ना आदर्श सोच र कामनाहरू पूरा गर्दै स्वतन्त्र र मुक्त भएर जिउनुपर्छ। तिनीहरूलाई लाग्छ, तिनीहरूले आफ्‍ना सबै विचारहरू पूरा गर्नुपर्छ, मन लागेको कुरा बोल्‍नुपर्छ, चाहेको कामकुरा गर्नुपर्छ, र मन लागेको ठाउँमा जानुपर्छ, परिणामहरूबारे वा अरूको भावनाबारे विचार गरिरहनु पर्दैन, र विशेष गरी आफ्‍ना जिम्‍मेवारी र दायित्वहरूबारे, वा विश्‍वासीहरूले पूरा गर्नुपर्ने कर्तव्य, वा तिनीहरूले पालना गर्नुपर्ने र जिउनुपर्ने सत्यता वास्तविकताहरू, वा तिनीहरूले पछ्याउनुपर्ने जीवन मार्गबारे विचार गरिरहनु पर्दैन। यो समूहका मानिसहरूले समाजमा र अरू मानिसहरूमाझ सधैँ आफूलाई जे मन लाग्यो त्यही गर्न चाहन्छन्, तर तिनीहरू जहाँ गए पनि, तिनीहरूले त्यो उद्देश्य पूरा गर्न सक्दैनन्। तिनीहरूलाई यो विश्‍वास हुन्छ कि परमेश्‍वरको घरले मानव अधिकारप्रति जोड दिन्छ, मानिसहरूलाई पूर्ण स्वतन्त्रता दिन्छ, र यसले मानवजातिको वास्ता गर्छ, र मानिसहरूप्रति सहिष्णु र धैर्य हुन ध्यान दिन्छ। परमेश्‍वरको घरमा आएपछि तिनीहरूले स्वतन्त्र रूपमा आफ्‍नो देह र इच्छाहरूमा लिप्त हुन पाउनुपर्छ भन्‍ने तिनीहरूले विचार गरेका हुन्छन्, तर परमेश्‍वरको घरका प्रशासनिक आदेशहरू र नियमहरूको कारण, तिनीहरूले जे मन लाग्यो त्यही गर्न सक्दैनन्। त्यसकारण, तिनीहरू परमेश्‍वरको घरमा आइसकेपछि तिनीहरूको यो दबाबपूर्ण नकारात्मक संवेग समाधान हुन सक्दैन। तिनीहरू कुनै पनि प्रकारको जिम्‍मेवारी निभाउन वा कुनै मिसन पूरा गर्न, वा साँचो व्यक्ति बन्‍नको लागि जिउँदैनन्। तिनीहरूले सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नको लागि, आफ्‍नो मिसन पूरा गर्न, र मुक्ति पाउनको लागि परमेश्‍वरमा विश्‍वास गरेका हुँदैनन्। तिनीहरू जोसुकै मानिसहरूमाझ भए पनि, जुनसुकै वातावरणमा भए पनि, वा जुन पेसामा संलग्‍न भए पनि, तिनीहरूको अन्तिम उद्देश्य भनेको आफूलाई सन्तुष्ट तुल्याउनु नै हुन्छ। तिनीहरूले गर्ने सबै कुराको उद्देश्य यसैमा केन्द्रित हुन्छ, र आत्मसन्तुष्टि नै तिनीहरूको आजीवन इच्छा र खोजको उद्देश्य हुन्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (५))। “समाजमा, आफूले गर्नुपर्ने उचित काम नगर्ने मानिसहरू को हुन्? तिनीहरू कामचोर, मूर्ख, अल्छी, बदमास, फटाहा, र लफङ्गाहरू र त्यस्तै खाले मानिसहरू हुन्। तिनीहरू कुनै नयाँ सीप वा क्षमता सिक्‍न चाहँदैनन्, र तिनीहरू कुनै गम्‍भीर करियर निर्माण गर्ने वा हातमुख जोड्न काम खोज्‍ने चाहना गर्दैनन्। तिनीहरू समाजका कामचोर र लफङ्गाहरू हुन्। तिनीहरू मण्डलीमा घुस्छन्, र त्यसपछि केही नगरी केही पाउन, र आफ्‍नो भागको आशिष्‌ पाउन चाहन्छन्। तिनीहरू अवसरवादीहरू हुन्। यी अवसरवादीहरूले कहिल्यै पनि कर्तव्य पूरा गर्ने इच्छा गर्दैनन्। यदि तिनीहरूले भनेजस्तो अलिकति पनि भएन भने, तिनीहरूलाई दबाब महसुस हुन्छ। तिनीहरू सधैँ स्वतन्त्र भएर जिउन चाहन्छन्, तिनीहरूले कुनै काम गर्न चाहँदैनन्, तैपनि तिनीहरू मीठो खान र राम्रो लाउन, अनि जे मन लाग्यो त्यही खान र जहिले मन लाग्यो त्यही बेला सुत्‍न मन पराउँछन्। यस्तो दिन आयो भने एकदम राम्रो हुनेछ भन्‍ने तिनीहरू सोच्छन्। तिनीहरू थोरै पनि कठिनाइ भोग्‍न चाहँदैनन् र तिनीहरू मोजमस्तीको जीवन जिउन चाहन्छन्। यस्ता मानिसहरूलाई जिउनसमेत थकाइलाग्दो हुन्छ; तिनीहरू नकारात्मक संवेगहरूको बन्धनमा हुन्छन्। तिनीहरूले आफूले चाहेअनुसार गर्न नपाएर प्रायजसो थकित र अन्योल महसुस गर्छन्। तिनीहरू आफूले गर्नुपर्ने उचित कार्य गर्न वा आफूले सम्‍हाल्‍नुपर्ने उचित मामलाहरू सम्‍हाल्‍न चाहँदैनन्। तिनीहरू काममा निरन्तर लागेर सुरुदेखि अन्तिमसम्‍म गरिरहन, यसलाई आफ्‍नै पेसा र कर्तव्यको रूपमा लिन, र आफ्‍नो दायित्व र जिम्‍मेवारीको रूपमा लिन चाहँदैनन्; तिनीहरू काम पूरा गरेर परिणामहरू हासिल गर्न, वा सम्‍भव भएको उत्कृष्ट मापदण्डअनुसार पूरा गर्न चाहँदैनन्। तिनीहरूले कहिल्यै यसरी सोचेका हुँदैनन्। तिनीहरूले झाराटारुवा शैलीमा काम गर्न र कर्तव्यलाई हातमुख जोड्ने माध्यमको रूपमा लिन मात्रै चाहन्छन्। जब तिनीहरूले थोरै तनाव वा कुनै नियन्त्रण सामना गर्छन्, वा जब तिनीहरूलाई अलिक उच्च मापदण्ड, वा अलिक बढी जिम्‍मेवारी बोक्‍न दिइन्छ, तब तिनीहरूलाई असहज र दबाब महसुस हुन्छ। तिनीहरूमा यी नकारात्मक संवेगहरू पैदा हुन्छन्, तिनीहरूलाई जिउन गाह्रो लाग्छ, र तिनीहरू हैरान हुन्छन्। तिनीहरूलाई जिउन गाह्रो लाग्‍नुको एउटा कारण के हो भने, यस्ता मानिसहरूमा समझको कमी हुन्छ। तिनीहरूको बिग्रेको समझ हुन्छ, तिनीहरू सारा दिन कल्‍पनामा डुब्दै, सपनामा भुल्दै, अवास्तविक कुरा सम्झँदै सधैँ अनेक कल्‍पना गरेर बिताउँछन्। त्यसकारण तिनीहरूको दबाब हल गर्न निकै गाह्रो हुन्छ। तिनीहरूलाई सत्यताप्रति चासो लाग्दैन, तिनीहरू अविश्‍वासीहरू हुन्। हामीले गर्न सक्‍ने एउटै कुरा भनेको तिनीहरूलाई परमेश्‍वरको घर छोड्न, संसारमा फर्केर जान, र सहजता र आरामको आफ्‍नो स्थान खोज्‍न लगाउनु मात्र हो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (५))। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने, मानिसहरूले महसुस गर्ने दमनकारी भावनाहरू शारीरिक दुःख वा थकानले गर्दा उत्पन्न हुँदैनन्, र ती मुख्यतया व्यक्तिको मानसिकता र दृष्टिकोणमा भएको समस्याका कारणले उत्पन्न हुन्छन्। मैले मनमनै सोचेँ, “अलिकति बढी बोझ उठाउनु पर्ने, अलिकति बढी मूल्य चुकाउनु पर्ने, शारीरिक रूपमा दुःख भोग्नु पर्ने, चिन्ता लिनु पर्ने र ऊर्जा खर्च गर्नुपर्ने उही परिस्थिति आइपर्दा, किन केही मानिसहरूलाई दबिएको महसुस हुँदैन, र यसलाई परमेश्‍वरले गर्नुभएको उठान हो भन्ने महसुस गर्छन्, अनि आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने र परमेश्‍वरको प्रेम चुक्ता गर्ने प्रयास गर्छन्, जबकि अरूले यसलाई पीडादायी र दमनकारी मामिलाका रूपमा हेर्छन्? वास्तवमा, तिनीहरू काममा धेरै व्यस्त भएकाले यसो भएको होइन, तिनीहरूले मुख्यतया देहलाई धेरै ख्याल गर्न र सधैँ सुख पछ्याउन चाहेकाले यसो भएको हो। मानिसहरूले जे कुरा पछ्याउँछन् र जे कुराको तृष्णा गर्छन्, त्यसैमा आनन्द पाउँछन्। यदि उनीहरू सकारात्मक कुराहरूकै तृष्णा गर्छन् भने, र यदि उनीहरू सत्यता प्राप्त गर्नु र परमेश्‍वरलाई सन्तुष्ट पार्न एक सृजित प्राणीको कर्तव्य पूरा गर्नुको पछि लाग्छन् भने, आफ्नो कर्तव्यमा अलि बढी मिहिनेत गर्दा उनीहरूलाई दमित महसुस हुनेछैन, बरु, उनीहरूले सहज र आनन्दित महसुस गर्नेछन्।” मैले यी दमनकारी भावनाहरू महसुस गर्नुको कारण मुख्यतया मेरो पछ्याइ गलत दृष्टिकोणहरूमा आधारित थियो। म “मद्यको स्वाद लिनुपर्छ र सङ्गीतको आनन्द लिनुपर्छ, जीवनले साँच्चै कति नै समय प्रदान गर्छ र?” र “जीवन छोटो छ, त्यसैले बल हुँदा नै यसको आनन्द लिनुपर्छ” भन्ने शैतानी दर्शनअनुसार जिउँथेँ। मलाई कुनै पनि व्यक्ति आफूले चाहेजसरी, खुसी र सहज महसुस गर्दै, कुनै पनि नियन्त्रण वा बन्देजविना जिउनुपर्छ, र यसरी जिउनु नै स्वतन्त्रताको उत्कृष्ट नमुना हो भन्ने लाग्थ्यो। यदि कुनै व्यक्ति सधैँ नियन्त्रणमा रहन्छ र स्वतन्त्र रूपमा काम गर्न सक्दैन भने, उसलाई निसास्सिएको महसुस हुन्छ, र यो त आफैलाई हानि पुर्‍याउनु दिनुजस्तै हो। मैले सम्झेँ, मेरो विद्यार्थी कालमा, धेरै सहपाठीहरू भविष्यमा राम्रो जागिर पाउनका लागि कडा मिहिनेत गर्थे, तर मलाई ४५ मिनेटको कक्षामा पनि नियन्त्रणमा रहेको महसुस हुन्थ्यो। काम गर्ने जीवनमा प्रवेश गरेपछि पनि, म कम्पनीका नियम र प्रावधानहरूबाट बाँधिन चाहन्नथेँ, र सधैँ उच्च तनावको स्थितिमा रहँदा, मैले पद परिवर्तन गर्नुपर्छ भन्ने महसुस गर्थेँ। परमेश्‍वरलाई भेट्टाएपछि पनि, मेरो यही मानसिकता थियो, म सधैँ आफ्नै चाहनाहरू पूरा गर्नलाई प्राथमिकता दिन्थेँ, मेरो कामको तालिका मेरो इच्छाअनुसार मिलाइयोस् र कुनै पनि दबाबको सामना गर्नु नपरोस् भन्ने चाहन्थेँ। यदि मेरो कर्तव्य धेरै व्यस्त भयो र दबाब उच्च भयो, र मैले आफूले चाहेजस्तो गर्न सकिनँ भने, मलाई प्रतिरोधी र दबिएको महसुस हुन्थ्यो, र म आफ्नो कर्तव्यमा झारा मात्र टार्थेँ, यहाँसम्म कि नकारात्मक बन्थेँ र काममा ढिलासुस्ती गर्थेँ। फलस्वरूप, कामका नतिजामा असर पर्थ्यो। मेरो कर्तव्यप्रतिको मेरो मनोवृत्ति अविश्वसनीय थियो र यसले परमेश्‍वरलाई मलाई घृणा गर्ने तुल्यायो। मेरो सनकअनुसार कर्तव्य निर्वाह गरेर र मेरो देहलाई सन्तुष्ट पारेर, मैले स्पष्ट रूपमा आफ्नो उचित कामलाई बेवास्ता गरिरहेकी थिएँ। मामिलाहरूप्रतिको मेरो दृष्टिकोण र मैले पछ्याएका कुराहरू समाजका अल्छी र बेकामे मानिसहरूको जस्तै थिए, तैपनि मैले गल्तीले सोचेकी थिएँ, यसरी जिउनुको मतलब म अनियन्त्रित हुन सक्छु र मेरो व्यक्तित्व छ। म साँच्चै मूर्ख थिएँ। विशेष गरी जब मैले परमेश्‍वरले त्यस्ता मानिसहरूको बारेमा “तिनीहरूको बिग्रेको समझ हुन्छ,” “तिनीहरू अविश्‍वासीहरू हुन्,” र “हामीले गर्न सक्‍ने एउटै कुरा भनेको तिनीहरूलाई परमेश्‍वरको घर छोड्न, संसारमा फर्केर जान, र सहजता र आरामको आफ्‍नो स्थान खोज्‍न लगाउनु मात्र हो” भनेर भन्नुभएको देखेँ, तब मलाई झनै पछुतो र दोषी महसुस भयो। म परमेश्‍वरसामु प्रार्थनामा आएँ, “हे परमेश्‍वर, म पछ्याइसम्बन्धी मेरा विगतका गलत दृष्टिकोणहरू परिवर्तन गर्न, र अब उप्रान्त आफ्नै इच्छाअनुसार काम गर्नुको पछि नलाग्न इच्छुक छु। म बोझ उठाउने एक जिम्मेवार व्यक्ति बन्न चाहन्छु, र मैले जतिसुकै ठूला कठिनाइ वा दबाबहरूको सामना गरे पनि, म आफ्नो कर्तव्य बफादारीसाथ पूरा गर्नेछु ताकि तपाईँको हृदयले सान्त्वना पाओस्।”

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ र अभ्यासको मार्ग भेट्टाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरमा साँचो विश्‍वास गर्नेहरू सबै नै आफूले गर्नुपर्ने उचित काम पूरा गर्ने, आफ्‍नो कर्तव्य निर्वाह गर्न इच्छुक रहने, र कामको बोझ लिने अनि आफ्‍नो क्षमता र परमेश्‍वरको घरका नियमहरूअनुसार त्यो काम राम्ररी गर्न सक्‍ने मानिसहरू हुन्। अवश्य पनि, कामको सुरुमा, तँलाई के गर्ने भनेर प्रस्ट थाहा नहुन सक्छ वा तैँले सिद्धान्तहरू बुझ्न सक्दैनस्, र यो अलिकति थकाइलाग्दो महसुस हुन सक्छ। तर, यदि तँसँग आफ्नो भाग पूरा गर्ने सङ्कल्प छ, तँ सत्यता सिद्धान्तहरू खोज्न इच्छुक छस्, र तैँले अरूसँग सामञ्जस्यपूर्ण सहकार्य हासिल गर्न सक्छस् भने, तेरो कर्तव्य निर्वाहले स्वाभाविक रूपमा नतिजा दिनेछ, र साथसाथै तैँले सजिलै सत्यतालाई व्यवहारमा लागू गर्नेछस् र आफ्ना भ्रष्ट स्वभावहरू फाल्नेछस्, र तँ आफ्नो कर्तव्य निर्वाहमा मानकअनुरूप हुनेछस्। त्यसैले, तैँले अलिकति मूल्य चुकाउनुपर्छ। जब तँलाई मनमानी गर्ने हुटहुटी हुन्छ, तब तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, तँलाई अनुशासनमा राख्‍न भनी उहाँलाई बिन्ती गर्नुपर्छ, र तैँले देहविरुद्ध विद्रोह गर्नुपर्छ र आफूलाई रोक्नुपर्छ, र तेरा स्वार्थी चाहनाहरूलाई बिस्तारै घट्न दिनुपर्छ। महत्त्वपूर्ण मामला, महत्त्वपूर्ण समय, र महत्त्वपूर्ण काममा, तैँले परमेश्‍वरको सहयोग लिनुपर्छ। यदि तँमा सङ्कल्प छ भने, तैँले सत्यता बुझ्‍न सकूँ भनेर परमेश्‍वरबाट ताडना र अनुशासन, र अन्तर्दृष्टि माग्‍नुपर्छ, र त्यस तरिकाले तैँले अझै राम्रा परिणामहरू प्राप्त गर्नेछस्। यदि तँमा साँच्‍चै सङ्कल्प छ, र तैँले परमेश्‍वरको उपस्थितिमा प्रार्थना गरेर उहाँलाई अन्तर्बिन्ती गर्छस् भने, परमेश्‍वरले काम गर्नुहुनेछ। उहाँले तेरो स्थिति र तेरा विचारहरू परिवर्तन गर्नुहुनेछ। यदि पवित्र आत्माले अलिअलि काम गरेर तँलाई थोरै भए नि स्पर्शित गर्नुभयो, र अन्तर्दृष्टि दिनुभयो भने, तेरो हृदय परिवर्तन हुनेछ, र तेरो स्थिति रूपान्तरित हुनेछ। यो रूपान्तरण आएपछि, यसरी जिउनु दबाबपूर्ण छैन भन्‍ने कुरा तँलाई महसुस हुनेछ। तेरा दबाबपूर्ण स्थिति र संवेगहरू रूपान्तरित भई कम हुनेछन्, र त्यो पहिलेको भन्दा फरक हुनेछ। यसरी जिउनु थकाइलाग्दो छैन भन्‍ने तँलाई महसुस हुनेछ। परमेश्‍वरको घरमा आफ्‍नो कर्तव्य निर्वाह गर्दा तँलाई आनन्द हुनेछ। यस्तो व्यवहारमा आफूलाई ढाल्नु, अनि कर्तव्य निर्वाह गर्नु, कठिनाइ भोग्‍नु र मूल्य चुकाउनु, नियमहरू पालना गर्नु, र सिद्धान्तहरूअनुसार काम गर्नु भनेको जिउने असल तरिका हो भन्‍ने तँलाई महसुस हुनेछ। सामान्य मानिसहरूको जीवन यस्तै हुनुपर्छ भन्‍ने तँलाई महसुस हुनेछ। जब तँ सत्यताअनुसार जिउँछस् र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्छस्, तब तेरो हृदय स्थिर र शान्तिमा रहेको, र तेरो जीवन अर्थपूर्ण बनेको तँलाई महसुस हुनेछ। अनि, तैँले सोच्‍नेछस्: ‘मलाई किन पहिले यसबारेमा थाहा भएन? म किन यति स्वेच्‍छाचारी थिएँ? पहिले, म शैतानको दर्शन र स्वभावअनुसार जिउँथेँ, र यस क्रममा न त मानवको रूपमा न त भूतको रूपमा जिउन सकेँ, अनि म जति जिउँथेँ, मलाई त्यति नै पीडा हुन्थ्यो। अहिले मैले सत्यता बुझेको छु, मैले आफ्‍नो भ्रष्ट स्वभाव केही मात्रामा त्यागेको छु, र कर्तव्य पूरा गर्दै र सत्यता अभ्यास गर्दै बिताएको मेरो जीवनप्रति मलाई साँचो शान्ति र आनन्द हुन्छ!’ के तब तेरो मनस्थिति परिवर्तन भएको हुनेछैन र? (हुनेछ।) पहिले तेरो जीवन दबाब र हैरानीले भरिएको थियो भन्‍ने महसुस गरेपछि, अनि तैँले तेरो कष्टको मूल कारण पत्ता लगाएर समस्या समाधान गरेपछि, तँसँग परिवर्तनको आशा हुनेछ। जबसम्‍म तँ सत्यतामा लागिपर्छस्, परमेश्‍वरका वचनहरूमा अझै धेरै मेहनत लगाउँछस्, सत्यताबारे अझै बढी सङ्गति गर्छस्, र तेरा दाजुभाइ-दिदीबहिनीहरूको अनुभव गवाहीहरू पनि सुन्छस् भने, तँसँग अझै स्पष्ट बाटो हुनेछ, र त्यसपछि के तेरो स्थितिमा सुधार आउनेछैन र? यदि तेरो स्थितिमा सुधार आयो भने, तेरो दबाबका संवेगहरू क्रमिक रूपमा सहज हुँदै जानेछन्, र तिनले तँलाई बन्धनमा पार्न छाड्नेछन्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (५))। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने, साँच्चै सत्यतालाई प्रेम गर्ने र आफ्ना उचित कर्तव्यहरूमा ध्यान दिनेहरूले परमेश्‍वरको अभिप्राय बुझ्छन् र तिनको ख्याल गर्छन्, र सधैँ उचित मामिलाहरूलाई मनमा राख्छन्। उनीहरू आफ्नो कर्तव्य पूरा गर्ने र परमेश्‍वरलाई प्रसन्न पार्ने कुरालाई आफ्नो जिम्मेवारी र मिसन मान्छन्। धेरै कठिनाइ र ठूला दबाबहरू भए पनि, उनीहरू प्रार्थना गर्नेछन् र परमेश्‍वरमा भर पर्नेछन् र हरेक काममा सक्दो प्रयास गर्नेछन्। जब उनीहरूलाई मनमानी हुन मन लाग्छ, तब उनीहरू आफैविरुद्ध विद्रोह गर्न र परमेश्‍वरसँग ताडना र अनुशासन माग्न सक्षम हुन्छन्। मैले नूहलाई सम्झेँ, जब उनले परमेश्‍वरको आज्ञा पाएका थिए। उनले परमेश्‍वरका जरुरी अभिप्राय बुझेका थिए, त्यसैले जहाज निर्माणको विशाल कार्य आइपर्दा, कठिनाइ र दबाब विशाल भए तापनि, नूहको मनमा यसबाट पन्छिने वा भाग्ने कुनै मनसाय थिएन, न त उनले यसलाई झाराटारुवा तरिकाले व्यवहार गरे। बरु, उनी चिन्तित थिए र केवल चाँडोभन्दा चाँडो परमेश्‍वरको आज्ञा पूरा गर्न चाहन्थे। उनले परमेश्‍वरका प्रत्येक निर्देशनहरूलाई ध्यानपूर्वक सुने र तिनलाई लागू गरे, र उनलाई कामको गुणस्तर र प्रगतिमा असर पार्ने कुनै पनि विवरण छुट्छ कि भन्ने डर थियो। आफैलाई हेर्दा, ममा साँच्चै मानवताको धेरै कमी थियो। परमेश्‍वरले मबाट कुनै अत्यधिक मागहरू गर्नुभएको थिएन, उहाँले केवल मेरो कद र क्षमताले हासिल गर्न सक्ने आधारमा मलाई केही थप बोझहरू दिनुभएको थियो, र उहाँले यो यसकारण गरिरहनुभएको थियो ताकि मैले अझ धेरै तालिम लिन, जीवनमा अझ द्रुत प्रगति गर्न, र अझ चाँडै मानकअनुरूप आफ्नो कर्तव्य पूरा गर्न सकूँ। तैपनि, मैले परमेश्‍वरको हृदयलाई पटक्कै बुझेकी थिइनँ; म साँच्चै उहाँप्रति ऋणी थिएँ। यदि मलाई थप बोझहरू उठाउन खटाइयो भने, मैले परमेश्‍वरका श्रमसाध्य अभिप्रायलाई फेरि निराश पार्न मिल्दैनथ्यो। मैले यो पाठ सिकेलगत्तै, अगुवाले मलाई अर्को ठाउँमा मेरो कर्तव्य निर्वाह गर्न आग्रह गर्दै पत्र लेख्नुभयो। मलाई थाहा थियो, यो परमेश्‍वरले ममाथि राख्नुभएको अर्को बोझ थियो, र यसमा जतिसुकै दबाब आए पनि, मैले यो जिम्मेवारी उठाउनुपर्थ्यो। यो मेरा लागि आफ्नो अपराधको क्षतिपूर्ति गर्ने अवसर पनि थियो, त्यसैले म राजी भएँ। म अन्त कतै त्यो नयाँ ठाउँमा मेरो कर्तव्य निर्वाह गर्न गएपछि, कार्यबोझ साँच्चै बढ्यो, र मलाई अझै पनि धेरै दबाब महसुस हुन्थ्यो। तर, जब मैले यो अतिरिक्त बोझ ममाथि परमेश्‍वरको सुरक्षा हो, जसले मलाई आफ्नो देहमा लिप्त हुनबाट रोकिरहेको छ र मेरो ऊर्जालाई कर्तव्यहरूमा केन्द्रित गर्न मद्दत गरिरहेको छ भन्ने सोचेँ, तब मलाई थाहा भयो, मैले अब उप्रान्त मेरो देहलाई पछ्याउन मिल्दैन, म जिम्मेवार र जवाफदेही हुनुपर्छ, र मैले परमेश्‍वरको हृदयलाई ख्याल गर्न सिक्नुपर्छ। मेरो दृष्टिकोण परिवर्तन भएकाले, काममा अझै केही कठिनाइ र दबाबहरू भए तापनि, मलाई अब दबिएको महसुस हुँदैन। बरु, म दबाबलाई एक प्रकारको जिम्मेवारीका रूपमा हेर्छु। म धेरै आजाद महसुस गर्छु र मैले आफ्नो कर्तव्यमा शान्ति र आनन्द अनुभव गरेकी छु।

अघिल्लो: ९५. कसरी आमाबुबालाई परमेश्‍वरको अभिप्रायअनुसार व्यवहार गर्ने

अर्को: ९७. के अतिथि सत्कारको कर्तव्य पूरा गर्ने व्यक्ति तल्लो दर्जाको हुन्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्