२६. वान्टेड तर निर्दोष

लिऊ युनिङ, चीन

सन् २०१४ को मेमा, चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई षड्यन्त्रमा पार्न र निन्दा गर्नको लागि झाओयुआन प्रकरणको परिकल्‍पना गर्‍यो, र त्यसपछि तुरुन्तै सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका सदस्यहरूलाई पक्राउ गर्न राष्ट्रव्यापी रूपमा “सय-दिने कारबाही” सुरु गर्‍यो। धेरै दाजुभाइ-दिदीबहिनीहरू पक्राउ परे। सेप्टेम्‍बरदेखि नोभेम्बरसम्‍म दुई महिनाको अवधिमा, मेरो प्रान्तका ३० जनाभन्दा बढी दाजुभाइ-दिदीबहिनीहरू एकपछि अर्को गर्दै पक्राउ परे। त्यो बेला, म धेरैवटा मण्डलीको कामको जिम्‍मेवार व्यक्ति थिएँ, र हरेक दिन पुलिसको निगरानी छलेर, खतरामा रहेका दाजुभाइ-दिदीबहिनीहरूलाई स्थानान्तर गर्ने र परमेश्‍वरमाथिको विश्‍वाससम्‍बन्धी पुस्तकहरू सार्ने बन्दोबस्त मिलाउँथेँ। कुनै पनि क्षण, म पक्राउ पर्ने खतरामा हुन्थेँ। एक रात, पक्राउ परेर रिहाइ भएका ब्रदरले मलाई के बताए भने, पुलिसले तिनलाई सोधपुछ गर्दा मेरो व्यक्तिगत जानकारी उल्‍लेख गरेको, र तिनलाई मेरो फोटोसमेत देखाएर चिन्छस् कि चिन्दैनस् भनी सोधेछ। ब्रदरले मलाई म पक्राउको प्रमुख निसाना हुँ भनेर भने र तुरुन्तै भागिहाल्‍न सल्‍लाह दिए। मैले सोचेँ, “धेरै जना दाजुभाइ-दिदीबहिनीहरू पक्राउ परेका छन्, र तिनीहरूको पक्राउपछि सम्‍हाल्‍नुपर्ने कुराहरू धेरै छन्। यसको अतिरिक्त, ठूलो रातो अजिङ्गरले गरेको पक्राउ र सतावटको कारण कतिपय दाजुभाइ-दिदीबहिनीहरूले कमजोर महसुस गरिरहेका छन्, र तिनीहरूलाई साथ र सहयोग चाहिन्छ। म एक-दुई दिनपछि जान्छु।” तर ती ब्रदरले मलाई जोड दिँदै भने, “तपाईं आज राती नै गइहाल्‍नुपर्छ। यहाँ नबस्‍नुहोस्। सडकमा जताततै क्यामेरा छन्, र पुलिसले सर्भेलेन्स रेकर्ड जाँच गर्नेबित्तिकै तपाईंलाई भेट्टाउनेछ।” त्यो सुनेपछि, अचानक मलाई डर लाग्यो, र म आत्तिन थालेँ। त्यसकारण, मैले मण्डलीको बाँकी रहेको कामको हतारपतार बन्दोबस्त मिलाएँ र छिमेकी प्रान्तमा भागेँ।

वृद्ध ब्रदर र सिस्टरले खतरा मोलेर मलाई बास दिए। बाहिर जताततै क्यामेरा राखिएको हुनाले, म बाहिर जान सक्दिनथिएँ, र त्यसकारण म तिनीहरूको घरभित्रै बस्‍नुपर्थ्यो। तिनीहरूका छोरा स्कूलमा काम गर्थे, र सरकारले शिक्षा पेसाका सबै कर्मचारी र तिनीहरूका परिवारका सदस्यहरूले धार्मिक आस्था राख्‍नु हुँदैन, नत्र तिनीहरूलाई पदबाट हटाइन्छ भनेर सूचना जारी गरेको थियो। यसकारणले गर्दा, आफ्‍नो भविष्यमा असर पुग्‍नेछ भन्‍ने डरले तिनीहरूका छोराले परमेश्‍वरमाथिको आमाबुबाको विश्‍वासको विरोध गरे। तिनका छोराले मलाई घरमा देखेर मेरो बारेमा पुलिसलाई रिपोर्ट गर्नेछ भन्‍ने सिस्टरलाई डर भयो, त्यसकारण उनले मलाई धुरीमुनिको कोठामा बस्‍ने बन्दोबस्त मिलाउनुपऱ्यो। हरेक पटक सिस्टरका छोरा आउनेबित्तिकै म घबराउँथेँ। एक पटक, उनका छोरा केही सामान लिन माथिल्‍लो तलामा चढे। तिनले मलाई देख्छ भन्‍ने डरले, म ढोकापछाडि लुकेँ र हलचल नगरी बसेँ। ठीक त्यही बेला, भान्साबाट तेलको धुवाँ चिम्‍नीतिर आइरहेको थियो र मैले खोक्‍न पुगेँ। मैले तुरुन्तै मेरो शिर र मुख सिरकले छोपेँ, र मलाई सास फेर्न गाह्रो भइरहेको थियो। ती सिस्टरको अर्को छोरा छेवैमा बस्थे, र मैले तिनको टिभीको आवाज ठूलो हुँदा म सुन्‍न सक्थेँ, त्यसैले म लुकेर बस्न मैले धुरीमुनिको त्यस कोठामा बत्ती बाल्‍ने आँट गरिनँ, र म सामान्यतया सानो आवाजमा बोल्थेँ। त्यो बेला जाडो महिना थियो, र कोठा अत्यन्तै चिसो थियो, तर मैले बाहिर घाममा निस्कने आँट गरिनँ। लामो समयपछि, मलाई निराश लाग्‍नथाल्यो, र म सोच्थेँ, “म कहिलेसम्‍म यसरी जिउने? मैले कहिले मेरो परिवारलाई भेट्ने र आफ्नो कर्तव्य पूरा गर्न दाजुभाइ-दिदीबहिनीहरूसँग बाहिर जाने?” त्यो बेला, म सधैँ परमेश्‍वरसँग प्रार्थना गर्थें, उहाँको इच्‍छा बुझ्‍न र यो वातावरणबाट पार पाउन सकूँ भनेर अगुवाइ र अन्तर्दृष्टि मागेँ।

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “सायद, तिमीहरू सबैलाई यी वचनहरू याद छ होला: ‘किनभने हाम्रो हल्का दुःख, जुन क्षणभरका लागि मात्र हुन्छ, त्यसले हाम्रा निम्ति महिमाको अझै अत्याधिक र अनन्त भारको काम गर्छ।’ तिमीहरू सबैले यी वचनहरू पहिल्यै सुनिसकेका छौ, तापनि तिमीहरूमध्ये कसैले पनि त्यसको सही अर्थ बुझेनौ। आज, तिमीहरू तिनको वास्तविक महत्त्वका बारेमा गहन रूपमा सचेत छौ। यी वचनहरूलाई परमेश्‍वरले आखिरी दिनहरूमा पूरा गर्नुहुनेछ, अनि ती वचनहरू त्यो देशमा गुँडुल्किएर बस्ने ठूलो रातो अजिङ्गरद्वारा क्रूरतासाथ सताइएकाहरूमा पूरा हुनेछन्। त्यस ठूलो रातो अजिङ्गरले परमेश्‍वरलाई सताउँछ अनि त्यो परमेश्‍वरको शत्रु हो, यसैले, यस देशमा रहेका मानिसहरू परमेश्‍वरमा विश्‍वास गरेका कारण अपमान र सतावटको सिकार बन्छन्, अनि परिणामस्वरूप, यी वचनहरू मानिसहरूको यही समूह, अर्थात् तिमीहरूमा पूरा हुन्छन्। परमेश्‍वरलाई विरोध गर्ने देशमा यो सुरु भएको कारण, परमेश्‍वरका सबै कामले प्रचण्ड बाधाहरूको सामना गर्छ, अनि उहाँका धेरै वचनहरूतुरुन्तै पूरा हुन सक्दैनन्; यसर्थ, मानिसहरू परमेश्‍वरका वचनका कारण शोधन गरिन्छन्, जुन पनि कष्टकै भाग हो। त्यो ठूलो रातो अजिङ्गरको देशमा आफ्नो काम पूरा गर्नु परमेश्‍वरको निम्ति अत्यन्तै गाह्रो हुन्छ—तथापि यही कठिनाइद्वारा नै परमेश्‍वरले उहाँको बुद्धि र उहाँका अचम्‍मका कामहरू प्रकट गर्दै, अनि मानिसहरूको यो समूहलाई पूर्ण बनाउन यो मौका प्रयोग गर्दै, उहाँ आफ्नो कार्यको एउटा चरण गर्नुहुन्छ” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?)। परमेश्‍वरको वचनबाट मैले के बुझेँ भने, जब कसैले चिनियाँ कम्युनिस्ट पार्टीले शासन गर्ने देशमा बसेर परमेश्‍वरमा विश्‍वास गर्छ, तब सतावट आउनु अपरिहार्य हुन्छ, तर परमेश्‍वरले मानिसहरूको विश्‍वासलाई सिद्ध पार्न त्यस्तो वातावरण प्रयोग गर्नुहुन्छ। मलाई म त्यस्तो अवस्थामा नहुँदाको समय याद आयो, जतिबेला म कठिनाइ सहन सक्छु र ममा परमेश्‍वरप्रति विश्‍वास छ भनेर सोच्‍ने गर्थें, तर मलाई घरबारविहीन भएर लुक्दै बस्‍नुपर्ने हदसम्म खेदो गरिँदा, अनि आफ्‍नो स्वतन्त्रता पूर्ण रूपमा गुमाउनुपर्दा, र साँचो रूपमा कष्ट भोग्‍नुपर्दा, मैले हृदयमा गुनासोहरू पाल्न थालेँ, र म उम्‍कन मात्रै चाहन्थेँ। तथ्यहरूले जुन वास्तविकता प्रकट गरे, त्यसद्वारा मात्रै मैले परमेश्‍वरप्रति मसँग साँचो विश्‍वास छैन, कुनै आज्ञाकारिता छैन, र मेरो कद अत्यन्तै सानो छ भन्‍ने महसुस गरेँ। अनि, मैले यो केही महिनाको अवधिबारे पनि सोचेँ, यो अवधिमा चिनियाँ कम्युनिस्ट पार्टीले पागलले झैँ घर खानतलासी गरेर मानिसहरूलाई पक्राउ गरेको थियो, मण्डलीको रकम जफत गरेको थियो, र धेरै दाजुभाइ-दिदीबहिनीहरू घरबाट भाग्‍न बाध्य भएर तिनीहरूको जीवन पूर्ण रूपमा उलटपुलट भएको थियो र तिनीहरू बस्‍ने ठाउँविहीन बनेका थिए। मानिसहरूलाई पक्राउ गरेर र सतावट दिएर चिनियाँ कम्युनिस्ट पार्टीले धेरै दुष्ट काम गर्‍यो। के त्यसको उद्देश्‍य मानिसहरूलाई परमेश्‍वरबाट टाढा बनाउने र परमेश्‍वरलाई धोका दिन लगाउने मात्रै थिएन र? यदि म त्यस्तो वातावरणमा कमजोर बनेँ, पछि हटेँ वा गुनासोसमेत गरेँ भने, म शैतानका चालहरूमा फस्‍नेथिएँ र आफ्नो गवाही गुमाउनेथिएँ। यो कुरा महसुस गरेपछि, मेरो मनको पीडा र कष्ट अलिक कम भयो। मैले सोचेँ, “मैले यहाँ जति धेरै समय बस्‍नुपरे पनि वा मैले जति धेरै कष्ट भोग्‍नुपरे पनि, म परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित हुन चाहन्छु।”

केही महिनापछि, अनुसन्धान अलि कम तीव्र भएजस्तो देखिएकोले, म आफ्‍नो कर्तव्य पूरा गर्न अर्को सहरमा गएँ। सुरक्षित हुनको लागि, मैले मेरो कपाल काटेर छोटो बनाएँ, र बाहिर भेलाहरूमा जाँदा ह्याट, मास्क, र ग्‍लास लगाउँथेँ। म साँघुरो र घुमौरा बाटोहरू हिँड्दै अरूले नदेखून् भनेर सक्दो प्रयास गर्थेँ। म होसियार भएँ भने, यस्तो अवस्थामा पनि आफ्‍नो कर्तव्य पूरा गर्न सक्छु भन्‍ने मलाई लाग्थ्यो। अचम्‍मको कुरा, केही महिनापछि एक साँझ, मेरा अगुवाले हतारिँदै मकहाँ आएर भने, “पुलिसले तपाईंको जानकारी इन्टरनेटमा हालेको छ। तिनीहरूले तपाईंलाई खोजिरहेका छन्। त्यस वान्टेड नोटिस हाम्रो सहरको केन्द्रीय भाग र वरपरका धेरैवटा जिल्‍लाका निवासीहरूको मोबाइल फोनमा पठाइएको छ, र तपाईंलाई देखेमा रिपोर्ट गर्नू भनिएको छ। तपाईंलाई तपाईंका काकाले सुसमाचार सुनाएको हो भन्‍ने कुरा पुलिसले पत्ता लगाएछ, र तिनीहरूले तपाईंका काका र काकीलाई पक्राउ गरिसकेका छन्। तपाईंको सुरक्षाको लागि, उप्रान्त तपाईंले बाहिर गएर कर्तव्य पूरा गर्नु हुँदैन।” पछि, पुलिसले मेरा ८० वर्षीय बाजेलाई भेटेर म कहाँ छ भनेर सोधपुछ गऱ्यो भन्ने मैले खबर सुनेँ। तिनीहरूले मेरो काकाको फिजियोथेरापी केन्द्र पनि बन्द गरेका थिए। यति मात्र होइन, पुलिसले मेरी आमा र बहिनीलाई पनि खोजी गरिरहेको थियो, त्यसकारण तिनीहरू पनि घर फर्किन सक्दैनथिए। यो खबर सुन्दा, मलाई अत्यन्तै रिस उठ्यो। परमेश्‍वरमाथिको मेरो विश्‍वास सही र उचित कुरा थियो। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूलाई कम्युनिस्ट पार्टीले आखिर किन यति कठोर रूपमा दमन गरेको? चीनमा किन धार्मिक आस्थाप्रति निष्पक्षता र स्वतन्त्रता नभएको? मैले पहिले लुकेर मेरो परिवारलाई भेट्न जाने योजना बनाएकी थिएँ, तर मलाई वान्टेड सूचीमा राखिएको छ, वा तिनीहरूले मेरो परिवारलाई धम्की दिन्छन् र तर्साउँछन् भनेर सोचेकी थिइनँ। मेरो घर थियो, र पनि म फर्केर जान सक्दिनथिएँ, र मेरो परिवारलाई यसमा मुछिएको र पक्राउ गरिएको थियो। मलाई अब म वान्टेड अपराधी भएकी छु भन्‍ने थाहा भयो, र मेरा इष्टमित्र र परिवारले के भन्लान् भनेर मैले सोचेँ। के तिनीहरूले मैले कुनै खराब काम गरेकी छु भन्‍ने सोच्छन्? भविष्यमा मैले तिनीहरूको अनुहार कसरी हेर्ने? यसबारे विचार गर्दा, मैले आँसु थाम्‍नै सकिनँ। मैले यसबारे जति धेरै विचार गरेँ, त्यति नै धेरै दुःखी भएँ। मलाई चीनमा बसेर परमेश्‍वरमा विश्‍वास गर्नु निकै गाह्रो छ भन्‍ने लाग्यो। पीडामा, मैले परमेश्‍वरलाई यसो भन्दै प्रार्थना गरेँ, “हे परमेश्‍वर! कसरी यो परिस्थितिको अनुभव गर्ने थाहा छैन। बिन्ती छ, मलाई आत्मविश्‍वास र शक्ति दिनुहोस्, र तपाईंको इच्‍छा बुझ्‍न मलाई अगुवाइ गर्नुहोस्।” प्रार्थना गरेपछि, मलाई परमेश्‍वरको वचनको एउटा भजन याद आयो, जुन हो, “सबैभन्दा अर्थपूर्ण जीवन,” जसले भन्छ: “तँ सृजित प्राणी होस्—तैँले अवश्य पनि परमेश्‍वरको आराधना गर्नुपर्छ र अर्थपूर्ण जीवन पछ्याउनुपर्छ। तँ मानव भएकाले तैँले आफूलाई परमेश्‍वरप्रति समर्पित गर्नुपर्छ र सबै दुःख भोग्नुपर्छ। तैँले आज आफूलाई परेको सानो कष्टलाई खुसीसाथ र निर्धक्क भएर स्वीकार गर्नुपर्छ, अनि अय्यूब र पत्रुसले जस्तो अर्थपूर्ण जीवन जिउनुपर्छ। तिमीहरू सही मार्ग पछ्याउने र सुधारको खोजी गर्ने मानिस हौ। तिमीहरू ठूलो रातो अजिङ्गरको देशमा खडा हुन्छौ र तिमीहरू ती हौ, जसलाई परमेश्‍वर धर्मी भन्नुहुन्छ। के त्यो सबैभन्दा अर्थपूर्ण जीवन होइन र?” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (२))। यो भजन सुन्दा, म भावुक भएँ र आँसु झऱ्यो। सृष्टि गरिएका प्राणीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु र उहाँको आराधना गर्नु सही र उचित कुरा हो, अनि परमेश्‍वरले यसलाई अनुमोदन गर्नुहुन्छ। मलाई परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने अय्यूबको बारेमा याद आयो। तिनले आफ्‍ना छोराछोरी र सम्पत्ति गुमाए, तिनको शरीरभरि खटिरा आयो, र तिनकी पत्‍नी र साथीहरूले तिनलाई आलोचना गरे र गलत रूपमा बुझे, तैपनि तिनले परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासलाई कायम राखे, कष्टमा पनि परमेश्‍वरको प्रशंसा गरे, परमेश्‍वरप्रतिको आफ्नो गवाहीमा दह्रिलो भई खडा भए, अनि शैतानलाई लज्जित तुल्याए। त्यसै गरी, पत्रुसले पनि सारा जीवनभरि परमेश्‍वरलाई चिन्न र प्रेम गर्न लागिपरे। तिनले सयौँ परीक्षा र शोधन अनुभव गरे, ठूलो पीडा सहे, र अन्त्यमा परमेश्‍वरको लागि उँधोमुन्टो क्रूसमा टाँगिए, यसरी उनले सुन्दर र सानदार गवाही दिए। सृष्टि गरिएको प्राणीको रूपमा, परमेश्‍वरको गवाही दिन दृढ भई खडा हुन सक्‍नु र सृष्टिकर्ताको अनुमोदन प्राप्त गर्नु अत्यन्तै अर्थपूर्ण छ! त्यति बेला, परमेश्‍वरमाथिको मेरो विश्‍वासकै कारण म एक वान्टेड व्यक्ति भएकी थिएँ र कम्युनिस्ट पार्टीले मलाई खेदो गरिरहेको थियो। मेरा आफन्त र इष्टमित्रले मलाई गलत ठानेर मलाई त्यागे नै भने पनि, यो लाज मान्‍ने कुरा थिएन, किनभने मैले जीवनमा सही मार्ग पछ्याइरहेकी थिएँ र सबैभन्दा धर्मी काम गरिरहेकी थिएँ। यसबारे विचार गर्दा, मेरो पीडा अलिक कम भयो, र यसरी कष्ट भोग्‍न सकेकोमा आफैप्रति गर्व लाग्यो।

जनवरी २०१६ को एक दिन, एक सिस्टरले मलाई तासको एउटा बिटा दिइन्। हातमा लिएर हेर्दा यसमा मेरो फोटो र पहिचान जानकारी छापेको रहेछ। मेरो नाम, परिचय-पत्र नम्‍बर, र घरको दर्ता ठेगाना सबै दिइएको रहेछ, र सार्वजनिक सुरक्षा ब्यूरोले मलाई “पन्थ सङ्गठनको व्यवस्थापन र प्रयोग गरी कानून कार्यान्वयनलाई कमजोर पार्ने शङ्कास्पद अपराधी” भनेर फरार अपराधीको अनलाइन सूचीमा राखेको कुरा लेखिएको रहेछ। रिपोर्ट गर्नका लागि त्यो तासमा हटलाइन नम्बर, र जानकारी दिनेलाई इनाम दिइने कुरा पनि दिइएको रहेछ। ती सिस्टरले मलाई पुलिसले हत्यारा र लुटेराहरूको फोटो र जानकारीसँगै म र मण्डली कार्यका इन्चार्ज रहेका अरू तीन जना सिस्टहरूको फोटो र जानकारी छापिएका तासका मुठाहरू पुलिसले बाँडिरहेका छन् भनेर भनिन्। पछि, दाजुभाइ-दिदीबहिनीहरूले ट्रेन स्टेसनबाहिरको ठूलो स्क्रिनमा र सार्वजनिक सुरक्षा ब्यूरोको प्रवेशद्वारको बुलेटिन बोर्डमा मेरो वान्टेड नोटिस देखेको कुरा बताए। यो सबै कुरा सुन्दा म चकित भएँ। म तिनीहरूलाई सोध्न चाहन्थेँ, “मैले कुन कानुन उल्‍लङ्घन गरेँ? मैले कानुन तोड्ने के काम गरेँ? मलाई खेदो गरेर पक्रिन किन तिमीहरू यस्तो बेइमान तरिकाहरू अपनाउछौ?” मलाई परमेश्‍वरको वचनको एउटा खण्ड याद आइहाल्यो: “हजारौँ वर्षदेखिको फोहोर रहिआएको यो भूमि असहनीय रूपमा फोहोर छ, यसमा प्रचुर दुःख छ, प्रेतहरू जालझेल र छल गर्दै, आधारहीन आरोपहरू लगाउँदै, क्रूर उपाय अपनाउँदै, यो भूतको सहरलाई कुल्चिमिल्ची गर्दै र त्यसमा लासहरू छरपस्ट छोड्दै जताततै अनियन्त्रित रूपमा दगुर्छन्; कुहिएको दुर्गन्धले भूमिलाई ढाक्छ र त्यो हावामा फैलिन्छ, र त्यसलाई कडा सुरक्षामा राखिन्छ। आकाशभन्दा परको संसार कसले देख्न सक्छ? दियाबलसले मानिसको सम्पूर्ण शरीरलाई कसिलो गरी बाँधेर राख्छ, त्यसले उसका दुवै आँखा ढाकिदिन्छ, र उसका ओठहरू बलियो गरी बन्द गरिदिन्छ। दियाबलसहरूका राजाले हजारौँ वर्षदेखि आजको दिनसम्म उधुम मच्चाएको छ, जब यसले अझै पनि भूतको सहरमाथि निकट रूपमा नजर राख्छ, मानौँ यो पिशाचहरूको अभेद्य महल हो; यसबीच रखवारी गर्ने कुकुरहरूको यो झुन्डले परमेश्‍वरले उनीहरूलाई अप्रत्याशित रूपमा समातेर मेटाउनुहुनेछ, र उनीहरूलाई शान्ति र खुसीयालीको ठाउँबाट वञ्चित गर्नुहुनेछ भनी डराएर आँखा तर्छन्। यस्तो भूतको सहरका यस्ता मानिसहरूले कसरी परमेश्‍वरलाई देखेका हुन सक्छन् र? के तिनीहरूले कहिल्यै परमेश्‍वरको प्रियता र प्रेमिलो स्वभावको आनन्द उठाएका हुन सक्थे? के तिनीहरूले कहिल्यै मानव संसारका मामिला बुझ्ने सक्थे? तिनीहरूमध्ये कसले परमेश्‍वरका उत्सुक अभिप्राय बुझ्न सक्छ? त्यसैले देहधारी परमेश्‍वर पूर्ण रूपमा लुकेर रहनु त्यति अचम्मको कुरा होइन: पिशाचहरू निर्दयी र अमानवीय हुने यो जस्तो अन्धकारको समाजमा अलिकति पनि सङ्कोच नमानी मानिसहरूलाई मार्ने दियाबलसका राजाले एउटा यस्तो परमेश्‍वरको अस्तित्व कसरी सहन गर्न सक्थ्यो, जो प्रेमिलो, दयालु, साथै पवित्र पनि हुनुहुन्छ? त्यसले परमेश्‍वरको आगमनको प्रशंसा र जयजयकार कसरी गर्न सक्थ्यो? यी चाकरहरू! तिनीहरू दयाको बदलामा घृणा गर्छन्, तिनीहरूले धेरै पहिले नै परमेश्‍वरलाई शत्रुका रूपमा व्यवहार गर्न थालेका हुन्, तिनीहरू परमेश्‍वरसित दुर्व्यवहार गर्छन्, तिनीहरू चरम रूपमा बर्बर छन्, तिनीहरूमा परमेश्‍वरप्रति अलिकति पनि आदर छैन, तिनीहरू आक्रमण र लुटपाट गर्छन्, तिनीहरूले सबै विवेक गुमाएका छन्, तिनीहरू सबै विवेकको विरुद्धमा जान्छन्, र तिनीहरू निर्दोष मानवजातिलाई प्रलोभनमा पारेर अचेत बनाउँछन्। के प्राचीन सन्तका उत्तराधिकारीहरू? के प्रिय अगुवाहरू? तिनीहरू सबै परमेश्‍वरको विरोध गर्ने नीच मानिस हुन्! तिनीहरूको हस्तक्षेपले आकाशमुनिका सबैलाई अन्धकार र अराजकताको स्थितिमा छोडेको छ। के धार्मिक स्वतन्त्रता? के नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै दुष्टतालाई ढाकछोप गर्ने युक्तिहरू हुन्” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (८))। परमेश्‍वरका वचनहरूले ठूलो रातो अजिङ्गरको साँचो रूपलाई प्रकट गरे। चिनियाँ कम्युनिस्ट पार्टी परमेश्‍वरको शत्रु हो, परमेश्‍वरलाई विरोध र घृणा गर्ने दियाबलस हो, र यसले शासन गर्ने ठाउँ दुष्ट शैतानको अखडा हो। यसले परमेश्‍वरको अस्तित्वलाई नै इन्कार गर्छ, मानिसहरूलाई साँचो परमेश्‍वरमा विश्‍वास गर्न र सही मार्गमा हिँड्न दिने कुरा त परै जाओस्। त्यसैले, यसले इसाई जगतलाई “पन्थ” को रूपमा र बाइबललाई “पन्थ साहित्य” भनी परिभाषित गर्छ, र इसाईहरूलाई अति निर्दयपूर्वक पक्राउ गर्छ। यसले परमेश्‍वरका आखिरी दिनहरूको कामलाई हटाउनका लागि सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई झूटो आरोप लगाउन र बदनाम गर्न सबै किसिमका अफवाह फैलाउँछ र झूटो आपराधिक मामिलाहरू सृजना गर्छ, यसले परमेश्‍वरका विश्‍वासीहरूलाई खेदो गर्छ र तिनीहरूलाई पक्राउ गर्न आदेश दिन्छ, मानौँ तिनीहरू सबैभन्दा घृणित अपराधी हुन्, र यसले तथ्यहरू नजानेका मानिसहरूलाई छल गरेर र उक्‍साएर विश्‍वासीहरूलाई घृणा गर्न र साथै परमेश्‍वरको विरोध गर्न लगाउँछ। कम्युनिस्ट पार्टीले हर सम्भवको झूट बोल्छ र कल्‍पना गर्नै नसकिने हर दुष्ट कार्य गर्छ! यो कुरालाई पहिचान गरेपछि, ठूलो रातो अजिङ्गरलाई त्याग्‍ने र परमेश्‍वरलाई अन्त्यसम्‍मै पछ्याउने मेरो सङ्कल्प दह्रिलो भयो! पछि, मैले मेरा अगुवाबाट तासमा मसँगै वान्टेड लिस्टमा परेका दुई सिस्टरहरू पक्राउ परे र उनीहरूलाई चार वर्षको जेल सजाय भयो भन्‍ने खबर सुनेँ।

चार महिनापछि, पुलिसले मेरो पक्राउको लागि थप १०,००० युआन दिने भन्यो। मेरो गृहनगरकी एक जना सिस्टरले मलाई पत्र पठाएर के भनिन् भने, गाउँको पार्टी सचिवले मैले परमेश्‍वरमा विश्‍वास गरेको हुनाले, म उप्रान्त आफ्नो परिवार वा आफन्तलाई भेट्न चाहन्‍नँ, र मैले सरकारविरुद्ध काम गरिरहेकी छु भनेर अफवाह फैलाइरहेको छ। समय बित्दै जाँदा, अफवाहहरू झन्-झन् अपमानजनक बन्दै गए, र कतिले म बौलाएकी छु वा लागू-औषधी बेच्‍न थालेकी छु भनेरसमेत भन्‍न थालेका रहेछन्। जब आसपासका गाउँका मानिसहरूले यी अफवाहहरू सुने, तब तिनीहरू सबैले मेरो निन्दा गरे र मलाई दोष लगाए। मेरो भाइले यी अफवाहहरू सुन्‍न सकेनन् र तिनी मेरो लागि अत्यन्तै चिन्तित भएर रोए र मलाई खोज्‍न आउन चाहे। यो खबर सुन्दा, मैले आफूलाई शान्त बनाउन वा आँसु रोक्‍न सकिनँ। म साँच्‍चै मेरा आफन्त र इष्टमित्रको अघि उभिएर म साँचो परमेश्‍वरमा विश्‍वास गर्छु, सही मार्गमा हिँड्छु, अनि कुनै पनि गैरकानुनी काम गरेकी छैनँ भनेर बताउन चाहन्थेँ। म उडेर सीधै मेरो भाइकहाँ तुरुन्तै गएर, तिनलाई सान्त्वना दिन चाहन्थेँ, र मेरो बारेमा चिन्ता नगर भनेर भन्‍न चाहन्थेँ। तर म यसरी फर्केर गएकी भए, मलाई अवश्य नै पुलिसले पक्राउ गर्नेथियो, र मसँग सम्पर्कमा भएका दाजुभाइ-दिदीबहिनीहरूलाई पनि खतरामा पार्नेथिएँ। म चिन्ताले कोठामा यताउती गरिरहेँ। यी कुराबारे जति सोच्थेँ, त्यति नै स्थिर बस्‍न सक्दिनथिएँ। अन्त्यमा, मैले जोखिम लिएर मेरो भाइलाई फोन गर्ने निर्णय गरेँ।

मेरो भाइको सेल फोन पुलिसले निगरानीमा राखेको हुन सक्छ मलाई थाहा थियो, तर त्यतिबेला मेरो चाहना भनेकै तिनीसँग बोल्‍नु थियो, त्यसकारण मैले यस्ता कुराबारे चिन्ता गरिनँ। म भेष बदलेर तिनलाई कल गर्न साइकल चढेर दस-बाह्र माइल टाढा गएँ, तर अनौठो कुरा फोन नै लागेन। म हरेस खान तयार थिइनँ, त्यसकारण मैले फेरि प्रयास गरेँ, तर परिणाम उही भयो। मलाई अचानक अलिअलि के चेतना आयो भने, यो पक्‍कै पनि परमेश्‍वरले गर्नुभएको हस्तेक्षेप नै हो। यदि मेरो भाइको फोन निगरानीमा थियो भने, तिनी र म दुवै खतरामा पर्नेथियौँ। यो कुरा मनमा राख्दै मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! आज म झण्डै शैतानको चालमा परेँ। यदि तपाईंले मलाई समयमै नरोक्‍नुभएको भए, म सायद खतरामा पर्न सक्थेँ। हे परमेश्‍वर, तपाईंलाई मेरो कमजोरी थाहा छ। बिन्ती छ मलाई अगुवाइ गर्नुहोस् र डोर्‍याउनुहोस्, अनि मलाई विश्‍वास र सामर्थ्य दिनुहोस्…।” जब म मेरो घरपटीको घरमा आत्मिक भक्तिको लागि घर फर्किएँ, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “परमेश्‍वरले ‘विजेताहरू’ भनेर भन्ने मानिसहरू ती हुन् जो शैतानको प्रभावमा र शैतानद्वारा घेराबन्दीमा पर्दा—अर्थात्, तिनीहरू अन्धकारका शक्तिहरूको बीचमा हुँदा—अझै पनि आफ्नो साक्षीमा दृढ रहन, आफ्नो आस्था र परमेश्‍वरप्रतिको आफ्नो बफादारी कायम राख्न, र जेसुकै भए पनि, परमेश्‍वरसामु शुद्ध हृदय राख्न र परमेश्‍वरप्रतिको आफ्नो साँचो प्रेम कायम राख्न सक्छन्। यसरी, तिनीहरू परमेश्‍वरसामु आफ्नो साक्षीमा दृढ रहेका हुन्छन्। परमेश्‍वर यस्ता मानिसहरूलाई ‘विजेताहरू’ भन्नुहुन्छ” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीले परमेश्‍वरप्रतिको आफ्नो बफादारी कायम राख्नुपर्छ)। परमेश्‍वरको वचनबाट मैले के बुझेँ भने, आखिरी दिनहरूमा परमेश्‍वरले विजेताहरूको समूह निर्माण गर्नुहुन्छ। तिनीहरूले जति नै पीडा र शोधन सहनुपरे पनि, वा शैतानका शक्तिहरूले तिनीहरूलाई जति नै बाधा दिए पनि र आक्रमण गरे पनि, तिनीहरूले परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासलाई कायम राखेर अन्त्यसम्‍मै परमेश्‍वरलाई पछ्याउन सक्छन्। त्यसपछि, मलाई गिल्‍ला र बदनाम गरिँदा, मेरो प्रतिष्ठा बरबाद हुनेछ भन्‍ने डरले म कसरी नकरात्मक र कमजोर बनेकी थिएँ भन्नेबारे मैले सोचेँ। मेरो भाइले मेरो यस्तो कुरा बुझ्दैनन् भन्‍ने पनि मलाई डर लागेको थियो, त्यसकारण, तिनलाई चित्त बुझाउन, मैले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षालाई बेवास्ता गरेँ। मसँग परमेश्‍वरप्रति कुनै विश्‍वास वा बफादारीता रहेनछ भन्‍ने कुरा मैले थाहा पाएँ। यसो गरेर के मैले मेरो गवाही गुमाइरहेकी थिइनँ र? ठूलो रातो अजिङ्गरले मलाई अपराधीलाई झैँ खेदो गरिरहेको थियो, मलाई आक्रमण गर्न र निन्दा गर्न सबैलाई उक्साइरहेको थियो, र मेरा आफन्तहरूलाई मेरो बारेमा गलत बुझ्‍न लगाइरहेको थियो। यसले मलाई नकारात्मक र कमजोर बनाउन अनि परमेश्‍वरलाई धोका दिन बाध्य पार्न चाहन्थ्यो, त्यसैका लागि यसले यी कुराहरू गरिरहेको थियो। मैले ठूलो रातो अजिङ्गरका दुष्ट चालहरूलाई सफल हुन दिनु हुँदैनथियो। मैले यो महसुस गरेपछि यस्तो निर्णय गरेँ: म शैतानको पकडमा रहेर पनि परमेश्‍वरलाई सन्तुष्ट पार्न गवाहीको रूपमा खडा हुनेछु, र ठूलो रातो अजिङ्गरलाई लज्जित तुल्याउनेछु!

भागेर हिँड्दाका दिनहरूमा मलाई कष्ट दिने एउटा समस्या रोग पनि थियो। म १५ वर्षकी हुँदा मेरो फोक्सोको देब्रे भागमा अप्रेसन गरिएको थियो, र मेरो दाहिने फोक्सोले पनि त्यति राम्रो काम गर्दैनथियो। त्यो बेला, डाक्टरले मेरो फोक्सोको क्षमतालाई बढाउन अझै बढी सफा हावा लिनू र उचित रूपमा व्यायाम गर्नू भनेका थिए। तर मलाई पुलिसले खेदो गरेको हुनाले, म लामो समयसम्‍म कोठाभित्रै बस्‍न बाध्य भएँ। म बाहिर गएर ताजा हावा खान सक्दिनथिएँ। मैले कसरत गर्न बाल्कनीमा समेत उभिने मौका पाउँदिनथिएँ। ताजा हावा लिन कहिलेकहीँ झ्याल खोल्दा पनि म अत्यन्तै होसियार हुनुपर्थ्यो, किनभने मलाई छिमेकीले देखे पनि, म मात्र खतरामा पर्दिनथिएँ, मैले त मलाई बास दिने दाजुभाइ-दिदीबहिनीहरूलाई पनि खतरामा पार्नेथिएँ। यस्तो वातावरणमा लामो समयसम्‍म जिइसकेपछि, मेरो शारीरिक अवस्था बिग्रन थाल्यो। कोठाभित्र हावा चल्दैनथियो, त्यसकारण मेरो स्वासप्रस्वासमा झन्झन् अप्ठ्यारो पर्दै गयो, छाती कसिलो भएको महसुस हुन्थ्यो, र केही पछि मलाई फोक्सो दुख्‍न थाल्यो, र म प्रायजसो खोक्‍ने गर्थेँ। जब म घुँडा टेकेर प्रार्थना गर्थेँ, मुखबाट तरल पदार्थ आउन लागेजस्तो अनुभव हुन्थ्यो। कोल्टे परेर सुत्दा, फोक्सोमा तरलपदार्थ चलेको थाहा हुन्थ्यो। पछि, अवस्था अझै खराब भएपछि, खोक्दा रगत आउन थाल्यो। मेरा दाजुभाइ-दिदीबहिनीहरूले मलाई अस्पताल जान सल्‍लाह दिए, तर अस्पताल गएर डाक्टलाई भेट्नको लागि, मैले मेरो परिचय-पत्रले दर्ता गर्नुपर्थ्यो। म फरार व्यक्ति थिएँ, त्यसकारण केही भइहाल्थ्यो भने, ममात्र पक्राउ पर्नेथिइनँ, मेरो हेरचाह गर्ने दाजुभाइ-दिदीबहिनीहरू पनि यसमा मुछिनेथिए, त्यसकारण मैले अस्पताल जाने आँट गरिनँ। केही दाजुभाइ-दिदीबहिनीहरूले मलाई परम्‍परागत चिनियाँ औषधि ल्याइदिए, तर ती सेवन गरेपछि पनि मेरो अवस्थामा सुधार आएन। खोक्दा अझै पनि रगत आउँथ्यो। मलाई खान मन लाग्दैनथियो, र मेरो शरीर झन्-झन् कमजोर हुँदै गयो। मलाई अलिक डर लाग्यो, किनभने मेरो रोगको उपचार नगरी बसेँ र अवस्था झन् खराब भयो भने, के म अन्त्यमा सास फेर्न नसकेर निस्‍सासिएर मर्नेछैनँ र? के त्यसको अर्थ मुक्ति र सुन्दर गन्तव्यसम्‍बन्धी मेरो आशा सकियो भन्‍ने हुनेछैन र? के परमेश्‍वरमाथि विश्‍वास गर्ने क्रममा मैले गरेको त्यो वर्षौंको त्याग, समर्पण, र परिश्रम व्यर्थ भए भन्‍ने हुनेछैन र? मलाई मर्न मन पटक्‍कै थिएन। मेरो अवस्था दिनदिनै खराब हुँदै गइरहेको र खोक्दा रगत आएको देखेपछि, मैले आँसु रोक्‍न सकिनँ, र म अत्यन्तै दुःखी भएँ।

पछि, मैले परमेश्‍वरका वचनहरूमा मेरो अवस्थासँग मिल्‍ने खण्डहरू खोजेँ, र यो खण्ड भेटेँ: “अय्यूबले परमेश्‍वरसँग सौदा गर्न खोजेनन्, परमेश्‍वरप्रति कुनै माग राखेनन्, र परमेश्‍वरबाट केही पनि मागेनन्। तिनले परमेश्‍वरको नाउँको प्रशंसा गर्नुको कारण सबै थोकमाथि सार्वभौमिकता राख्ने परमेश्‍वरको महान् शक्ति र अख्तियार थियो, र त्यो तिनले आशिष्‌ प्राप्त गरे कि विषमता भोगे भन्ने कुरामा निर्भर थिएन। तिनी विश्वास गर्थे कि चाहे मानिसहरूले परमेश्‍वरबाट आशिष्‌ पाऊन् वा विषमता, परमेश्‍वरको महान् शक्ति र अख्तियार परिवर्तन हुनेछैन, यसैले व्यक्तिका परिस्थितिहरू जस्तोसुकै भए पनि परमेश्‍वरको नाउँको प्रशंसा गरिनुपर्छ। मानिस परमेश्‍वरद्वारा आशिषित् हुनु परमेश्‍वरको सार्वभौमिकताका कारणले हो, र जब मानिसलाई विषमता आइपर्छ, त्यो पनि परमेश्‍वरको सार्वभौमिकताकै कारणले हो। परमेश्‍वरको महान् शक्ति र अख्तियारले मानिसमाथि सार्वभौमिकता राख्छन् र मानिसबारे सबै कुराको प्रबन्ध गर्छन्; मानिसको भाग्यका उतारचढावहरू परमेश्‍वरको महान् शक्ति र अख्तियारकै प्रकटीकरण हुन्, र तैँले यसलाई जस्तोसुकै दृष्टिकोणबाट हेरे पनि, परमेश्‍वरको नाउँको प्रशंसा गरिनुपर्छ। अय्यूबले आफ्‍नो जीवनकालमा अनुभव गरेको र थाहा पाएको कुरा यही हो। अय्यूबका सबै विचार र कार्यहरू परमेश्‍वरका कानमा परे र उहाँसामु आइपुगे, र उहाँले तिनलाई महत्त्व दिनुभयो। परमेश्‍वरले अय्यूबको यो ज्ञानको कदर गर्नुभयो, र त्यस्तो हृदय भएकोमा अय्यूबलाई बहुमूल्य ठान्‍नुभयो। त्यो हृदयले सधैँ र सबै ठाउँमा परमेश्‍वरको आज्ञा पर्खन्थ्यो र समय वा स्थानको पर्वाह नगरी आफूलाई आइपरेको हर कुरालाई स्वागत गर्थ्यो। अय्यूबले परमेश्‍वरसँग कुनै माग राखेनन्। तिनले आफैसँग गरेको माग भनेको परमेश्‍वरबाट आएका सबै बन्दोबस्तहरूको प्रतीक्षा गर्नु, तिनलाई स्वीकार गर्नु, सामना गर्नु, र तीप्रति समर्पित हुनु थियो; अय्यूबले यो आफ्नो कर्तव्य हो भन्‍ने विश्‍वास गरे, र परमेश्‍वरले पनि ठीक त्यस्तै चाहनुहुन्थ्यो” (वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले परमेश्‍वरको इच्‍छाबारे अलिकति भए पनि बुझेँ। परमेश्‍वरकै अनुमतिले गर्दा मेरो स्वास्थ्य स्थिति झन्-झन् खराब हुँदै गइरहेको थियो। यो, मसँग साँचो विश्‍वास र आज्ञाकारिता छ कि छैन भनेर हेर्न परमेश्‍वरले मलाई गर्नुभएको जाँच थियो। तर जब म पीडामा थिएँ, तब मैले आफ्‍नै जीवन, मृत्यु, र अन्तिम गन्तव्यबारे विचार गरिरहेकी थिएँ। मलाई म मरेँ भने मैले आफ्नो मुक्ति गुमाउनेछु भन्‍ने डर लाग्यो। मैले के देखेँ भने, मैले आशिष्‌हरू पाउनको लागि परमेश्‍वरमा विश्‍वास गरेकी रहेछु, परमेश्‍वरसँग लेनदेन गर्ने प्रयास गरिरहेकी रहेछु, मसँग सृष्टि गरिएको प्राणीमा हुनुपर्ने विवेक र तर्कशक्तिको कमी रहेछ, र परमेश्‍वरप्रति मसँग पटक्कै आज्ञाकारिता रहेनछ। मलाई अय्यूबको याद आयो। परमेश्‍वरले तिनलाई प्रचुर सम्पत्ति दिनुभए पनि वा शैतानलाई तिनको हातबाट सबै थोक खोस्‍न दिनुभएको भए पनि, तिनले परमेश्‍वरको नाउँको प्रशंसा गरे, र परमेश्‍वरले दिनुभए पनि वा लिनुभए पनि, परमेश्‍वर धर्मी हुनुहुन्छ भनेर विश्‍वास गरे। परमेश्‍वरमाथिको अय्यूबको विश्‍वासमा कुनै व्यक्तिगत मनसाय मिसिएको थिएन, तिनले आफ्‍नै हित, नाफा, घाटाबारे विचार गरेनन्, र परमेश्‍वरले जे गर्नुभए पनि, तिनले सृष्टि गरिएको प्राणीको स्थानमा बसेर परमेश्‍वरको आज्ञापालन गर्न सके। तिनले परमेश्‍वरप्रतिको आज्ञापालनलाई आफ्‍नो जीवनभन्दा महत्त्वपूर्ण ठाने। अय्यूबको मानवता, विवेक र समझबारे सोच्दा म एकदमै लज्‍जित भएँ। परमेश्‍वरमाथिको यस समयसम्‍मको मेरो विश्‍वासमा, मैले परमेश्‍वरसँग लेनदेन गर्ने प्रयास गरिरहेकी रहेछु, र म अझै पनि अत्यन्तै विद्रोही र भ्रष्ट रहेछु। म मेरो रोगकै कारण मरेँ भने पनि, त्यो परमेश्‍वरको धार्मिकताकै कारण हुनेथियो। यो कुरा पहिचान गरेपछि, रोग र मृत्यु कसरी सामना गर्नुपर्छ भन्‍ने मलाई थाहा भयो, त्यसकारण मैले मनमनै सोचेँ, “मेरो रोग जस्तो भए पनि, म आफूलाई परमेश्‍वरकै हातमा सुम्पनेछु र परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित हुनेछु।”

सन् २०१६ को नोभेम्बर महिनाको एक बिहान, उठ्न खोज्दा मेरो फोक्सो दुख्‍न थाल्यो। उठेर ढेसिएर बस्‍नको लागि झन्डै दश मिनेट लाग्यो र पूरै बल लगाउनुपर्‍यो। त्यो बेला, झ्यालबाट कठ्याङ्ग्रिने चिसो हावा आयो, र मलाई साँच्‍चै नै निराश अनुभूति भयो। मैले आँसु रोक्‍न सकिनँ। केही समयपछि, मलाई सास फेर्न अफ्ठ्यारो भयो, मुटुको धड्कन बढ्यो, मेरो पूरै शरीर कक्रक्क भयो, मलाई सास लिन र फाल्न गाह्रो भयो, र मेरो पूरै शरीर असजिलो भयो। मलाई म कुनै पनि बेला निस्‍सासिएर मर्न सक्छु जस्तो लाग्यो, र म यसपटक बाँच्दिनँ कि जस्तो लाग्यो। मलाई यस्तो अवस्थामा देखेपछि, मेरा सिस्टरहरू यति आत्तिए कि के गर्ने भन्‍ने नै तिनीहरूलाई थाहा भएन, त्यसकारण तिनीहरूले क्‍लिनिक चलाउने एक जना सिस्टरलाई बोलाए। तिनले मलाई हतार-हतार सेलाइन पानी हालिदिइन्, तर सेलाइन पानीको सूइ हालेपछि पनि, सेलाइन पानी गएन किनभने मेरो रगतको बहाव लगभग रोकिसकेको रहेछ। निराश हुँदै, उनले कोठाको ढोकामा गएर शिर हल्‍लाउँदै भनिन्, “हामी केही पनि गर्न सक्दैनौँ।” केही सिस्टरहरू पछाडि फर्केर चुपचाप आँसु झार्न थाले। मलाई म मर्न लागेकी छु भन्‍ने थाहा भयो, र मलाई अलिक डर लागेको थियो। म मरेँ भने, मैले राज्य पूरा भएको देख्‍न पाउँदिन भन्‍ने मलाई डर थियो। यस बेला, मेरो मनमा अय्यूबका शब्‍दहरू गुञ्‍जिरहे: “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। मलाई पहिले पढेको परमेश्‍वरको वचनको एउटा खण्ड पनि याद आयो: “जब तँ कष्ट सामना गर्छस्, त्यसबेला तैँले देहका चिन्ताहरू एकातिर पन्छाउन सक्नुपर्छ र परमेश्‍वरविरुद्ध गुनासो गर्नुहुँदैन। जब परमेश्‍वरले आफैलाई तँदेखि लुकाउनुहुन्छ, तँमा उहाँलाई पछ्याउने आस्था हुन सक्नुपर्छ, तैँले आफ्नो पहिलेको प्रेमलाई डगमगाउन र बिलाउन नदिई कायम राख्न सक्नुपर्छ। परमेश्‍वरले चाहे जे गर्नुभए पनि, उहाँले इच्छा गरेअनुसार उहाँलाई योजनाबद्ध गर्न दिनुपर्छ, अनि उहाँविरुद्ध गुनासो गर्नुको साटो तेरो आफ्नै देहलाई सराप्न इच्छुक हुनुपर्छ। तैँले परीक्षाहरू सामना गर्दा परमेश्‍वरलाई सन्तुष्ट पार्न असक्षम हुनुको साटो आफ्नो प्रिय वस्तु त्याग्ने पीडा सहन र नराम्ररी रुन रोज्नैपर्छ। यो मात्र साँचो प्रेम र साँचो आस्था हो” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ)। परमेश्‍वरका वचनहरूले मलाई ठूलो प्रेरणा दिए। मलाई पहिले मृत्युको डर लाग्थ्यो, त्यसकारण मैले परमेश्‍वरको आज्ञापालन गरिनँ, तर यसपटक मैले परमेश्‍वविरुद्ध विद्रोह गर्न सकिनँ। म मर्थेँ नै भने पनि, मसँग कुनै गुनासो थिएन। म सृष्टि गरिएकी प्राणी हुँ, त्यसकारण मैले परमेश्‍वरको आज्ञापालन गर्नुपर्छ। यति मात्र होइन, मैले परमेश्‍वरका आखिरी दिनहरूको सुसमाचारलाई ग्रहण गर्ने मौका पाएकी थिएँ र विगतका सन्तहरूले कहिल्यै नसुनेका सत्यताहरू सुनेकी थिएँ। यो नै मेरो लागि परमेश्‍वरको अनुग्रह र निगाह थियो। मैले मृत्युको सामना गरिरहेकी भए पनि, परमेश्‍वरलाई धन्यवाद दिनुपर्थ्यो! त्यसकारण, मैले नसकी-नसकी दुई शब्‍द बोलेँ—कागज, कलम। सिस्टरहरूले तुरुन्तै ल्याइदिए, र मैले सिस्टरहरूमा आड लिएँ र सक्दो बल लगाएर नोटबुकमा यो लेखेँ: “परमेश्‍वर सदासर्वदा धर्मी हुनुहुन्छ! उहाँ सदैव हाम्रो प्रशंसाको योग्य हुनुहुन्छ!” मैले लेख्‍न बन्द गरेर कलम छोड्नासाथ मेरो आँखा बिस्तारै मधुरो हुँदै गयो।

सिस्टरहरूले रुँदै मेरो हात पक्रे, परमेश्‍वरमा भरोसा गर्न र धैर्य रहन प्रोत्साहन दिए, तर मेरो वास्तविक अवस्था हेर्दा, मैले अब वास्तवमै थेग्‍न सक्दिनँ जस्तो, र म बाँच्‍न असम्‍भव छ जस्तो लाग्यो। मलाई मेरो हृदय अलिअलि गर्दै सागरको पीँधमा डुबिरहेको छ जस्तो लाग्यो, र मेरो वरिपरिको आवाज हराउँदै गए। तर मलाई कुनै आशा छैन जस्तो लागेको बेला, मेरो मनमा परमेश्‍वरका वचनहरूको एउटा खण्ड एकदमै स्पष्ट रूपमा देखा पर्‍यो: “जब कुनै कुरा नाङ्गो आँखाले देख्न सकिँदैन, त्यतिबेला आस्था चाहिन्छ। जब तँ आफ्ना धारणाहरूलाई त्याग्न सक्दैनस्, आस्था त्यसबेला चाहिन्छ। जब परमेश्‍वरको कामको विषयमा तँमा स्पष्टता हुँदैन, त्यसबेला तँबाट चाहिने कुरा भनेको तैँले आस्था राख्नुपर्छ र तैँले बलियो अडान लिनुपर्छ र आफ्नो गवाहीमा दृढ रहनुपर्छ भन्‍ने हुन्छ। जब अय्यूब यो अवस्थामा पुग्यो, परमेश्‍वर उसकहाँ देखा पर्नुभयो र ऊसँग बोल्नुभयो। अर्थात्, तँसँग आस्था हुँदा मात्र तैँले परमेश्‍वरलाई देख्न सक्नेछस्, जब तँसँग आस्था हुन्छ, परमेश्‍वरले तँलाई सिद्ध पार्नुहुनेछ, र यदि तँसँग आस्था छैन भने, उहाँ यो गर्न सक्नुहुन्न” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ)। परमेश्‍वरको वचनको अन्तर्दृष्टिले मलाई ठूलो सान्त्वना र प्रोत्साहन दियो। मेरो जीवन परमेश्‍वरबाट आएको हो, र म त्यो दिन जिउने या मर्ने कुरा परमेश्‍वरकै हातमा थियो। परमेश्‍वरको अनुमतिविना, न त शैतानका दुष्ट शक्तिहरूले मेरो जीवन लैजान सक्थे न त रोगले सक्थ्यो। जबसम्‍म मसँग एक मुठी सास बाँकी रहन्छ, तबसम्‍म मैले हरेस खानु हुँदैनथियो, र परमेश्‍वरप्रतिको आशा गुमाउनु हुँदैनथियो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! आज मैले मृत्युको सामना गरे पनि, तपाईं सधैँ मेरो साथमा हुनुहुन्छ भन्‍ने मैले गहन रूपमा महसुस गरेकी छु। हे परमेश्‍वर, म आफूलाई पूर्ण रूपमा तपाईंमा सुम्पन चाहन्छु, अनि मेरो जीवन र मृत्यु पूर्ण रूपमा तपाईंकै हातमा छोड्छु! मलाई विश्‍वास छ, तपाईंले जे गर्नुभए पनि, तपाईं धर्मी हुनुहुन्छ। यस जीवनमा म तपाईंको अघि आएकी छु र तपाईंको बारेमा केही ज्ञान पाएकी छु, त्यसकारण म मरे पनि, मसँग कुनै गुनासो वा पछुतो रहनेछैन। यदि आज म मरिनँ भने, यदि म बाँचिरहन सकेँ भने, म आजको दिन उप्रान्त सत्यताको पछि लाग्न, आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न, र तपाईंको महान् प्रेमको ऋण तिर्न चाहन्छु।” त्यो बेला, एक जना सिस्टरले “खोट विनाको शुद्ध प्रेम” भन्‍ने भजन बजाइन्: “‘प्रेम’ भन्ने कुराले एउटा शुद्ध र निस्खोट स्नेहलाई जनाउँछ, जहाँ तैँले आफ्नो हृदयद्वारा प्रेम गर्छस्, महसुस गर्छस्, र ख्याल गर्छस्। प्रेममा सर्तहरू हुँदैनन्, बाधाहरू हुँदैनन्, र दूरी हुँदैन। प्रेममा कुनै शङ्का हुँदैन, कुनै छल हुँदैन, र कुनै धूर्त्याइँ हुँदैन। प्रेममा कुनै लेनदेन हुँदैन, र त्यहाँ कुनै पनि प्रकारको मिसावट हुँदैन। यदि तँसँग प्रेम छ भने, तैँले खुसीसाथ आफूलाई समर्पित गर्नेछस् र खुसीसाथ कष्ट भोग्नेछस्, तँ मसँग मिल्दो हुनेछस्!” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ)। यी शब्‍दहरू सुनेपछि, मलाई एकदमै ठूलो आत्मधिक्‍कार बोध भयो। यति लामो समयसम्‍म परमेश्‍वरमा विश्‍वास गरेर पनि, मैले परमेश्‍वरको कुनै वचन पनि अभ्यास गरेकी थिइनँ, मैले साँचो रूपमा परमेश्‍वरलाई प्रेम गरेकी हुनु परै जाओस्। त्यो बेला, म बाँचे पनि मरे पनि, परमेश्‍वरप्रतिको आज्ञाकारिता मात्रै पछ्याउन चाहन्थेँ। मैले परमेश्‍वरका वचनहरू मनन गर्ने क्रममा, एउटा आश्‍चर्यकर्म भयो। थाहै नपाई, मलाई सास फेर्न सजिलो हुँदै गयो, मेरो सास बढ्नु पनि कम भयो, र मेरो मुटु अलिक शान्त भयो। जब सिस्टरहरूले म निको भएकी देखे, तिनीहरूले उत्साहित हुँदै परमेश्‍वरलाई धन्यवाद दिए, र मैले साँच्‍चै नै परमेश्‍वरका आश्‍चर्यकर्म देखेँ। मैले फेरि सामान्य रूपमा नै सास फेर्न सकेकी भए पनि, मेरो शरीर गम्‍भीर रूपमा शिथिल भइसकेको थियो, त्यसकारण मेरा सिस्टरहरूले मलाई अस्पतालमा भर्ना हुन सल्‍लाह दिए। तिनीहरूमध्ये एक जनाले मलाई आफ्‍नो परिचय-पत्र दिइन्, तर मलाई उनी समस्यामा मुछिन्छिन् भन्‍ने डर भयो। उनले मेरो हात समातेर भनिन्, “हामी सँगै मिलेर परमेश्‍वरलाई प्रार्थना गरौँ। अहिले महत्त्वपूर्ण कुरा भनेको अस्पताल जानु हो। धैर्यताको लागि परमेश्‍वरसँग प्रार्थना गरौँ अनि सबै ठीक हुनेछ।” म यत्ति भावुक भएँ कि के भन्‍ने थाहै भएन, न त मसँग केही भन्‍ने शक्ति नै थियो, त्यसकारण मैले शिर हल्‍लाउन मात्रै सकेँ, किनभने यो सब परमेश्‍वरको प्रेमले गर्दा भएको हो भन्‍ने मलाई थाहा थियो। अस्पतालमा पुगेपछि, डाक्टरले मेरो परिचयपत्रमा अलिक शङ्का गरे पनि, तिनीहरूले मेरो वास्तविक परिचयबारे खोजीनिधी गरेनन्, र उपचार प्रक्रिया अपेक्षाकृत राम्ररी अघि बढ्यो। मेरो स्वास्थ्य स्थिति क्रमिक रूपमा सुधार हुँदै गयो, र एक हप्तापछि मलाई अस्पतालबाट डिस्चार्ज गरियो।

अस्पतालबाट डिस्चार्ज भएपछि, लुकेर जिउने मेरो जीवन जारी रह्यो। मैले चिनेजानेका दाजुभाइ-दिदीबहिनीहरू निरन्तर पक्राउ परिरहेका हुन्थे, त्यसकारण म बारम्‍बार तुरुन्तै नयाँ ठाउँमा सरिरहनुपर्थ्यो, जुन मेरो लागि निकै गाह्रो काम भयो। घरहरू सर्दा, क्यामेरामा नचिनिनको लागि मैले मास्क लगाउनुपर्थ्यो, तर यसले गर्दा मलाई सास फेर्न गाह्रो हुन्थ्यो। एकपटक, म मास्क लगाएर सडकमा हतारहतार हिँडिरहेकी थिएँ, तब मैले सास फेर्नै सकिनँ। बसमा चढ्नु निकै गाह्रो भएको थियो, र चढिसकेपछि, भित्र धेरै मानिसहरू भएकोले हावा गुम्सिएको थियो, र मैले लामो-लामो सास लिन थालेँ, सास रोकिन खोज्थ्यो। मेरो छाती कसिलो भएर दुख्यो, र आँखाहरू एकाएक ठूला-ठूला भए। बसबाट उत्रिनँ भने, म भित्रै मर्छु जस्तै भयो। मैले मनमनै निरन्तर प्रार्थना गरेँ र परमेश्‍वरलाई पुकारेँ, र केही समयपछि मलाई सास फेर्न अलिक सहज भयो। धेरैपटक सर्दै हिँडेपछि, मलाई कमजोर महसुस भयो, र मेरो शरीरले यो थाम्‍न सक्दैन, र यस्तै भइरह्यो भने यो कष्टले मलाई मार्छ भन्‍ने मलाई डर लाग्यो। पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “कामको यस चरणमा हामीबाट ठूलो विश्‍वास र प्रेम आवश्यक हुन्छ। थोरै लापरवाहीको कारण हामीले ठक्कर खान सक्छौं, किनकि यस चरणको काम पहिलेका सबै चरणहरू भन्दा फरक छ: परमेश्‍वरले जे सिद्ध पार्दै हुनुहुन्छ त्यो मानवजातिको विश्‍वास हो, जुन अदृष्य र अमूर्त दुवै छ। परमेश्‍वरले जे गर्नुहुन्छ त्यो वचनहरूलाई विश्‍वासमा, प्रेममा र जीवनमा परिवर्तन गर्नु हो। मानिसहरू त्यो विन्दुमा पुग्नुपर्छ जहाँ तिनीहरूले सयौं शुद्धीकरणहरू सहन गरिसकेका हुन्छन् र तिनीहरूले अय्यूबको भन्दा ठूलो विश्‍वास धारण गरिसकेका हुन्छन्। तिनीहरूले परमेश्‍वरलाई नछाडीकनै अविश्‍वसनीय कष्ट र हरप्रकारका यातना सहन गर्नुपर्छ। जब तिनीहरू मृत्युसम्मै समर्पित रहन्छन्, र तिनीहरूसँग परमेश्‍वरमाथिको ठूलो विश्‍वास हुन्छ, तब परमेश्‍वरको कामको यो चरण पूरा हुन्छ” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मार्ग … (८))। यो साँचो हो, परमेश्‍वरलाई पछ्याउने मार्ग खाल्डाखुल्डीले भरिएको र अप्ठ्यारो छ। कम्युनिस्ट पार्टीले इसाईहरूलाई गरेको सतावट कहिल्यै रोकिएको छैन। यदि हामीले परमेश्‍वरमा विश्‍वास गर्‍यौँ भने, हामीले कुनै पनि क्षण पक्राउ पर्ने, यातना भोग्‍ने, वा मारिनेसमेत खतरा मोल्छौँ, तर परमेश्‍वरले हाम्रो विश्‍वास सिद्ध पार्न त्यस्ता परिस्थितिहरू प्रयोग गर्नुहुन्छ। मलाई थाहा थियो, परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने व्यक्तिको रूपमा, मैले यी सतावट र सङ्कष्टहरू भोग्‍नैपर्थ्यो। यो कुरा विचार गर्दा, मेरो विश्‍वास नयाँ भएको महसुस भयो।

आफूले परमेश्‍वरमा विश्‍वास गरेका यत्तिका वर्षलाई फर्केर हेर्दा, मैले के देख्छु भने, कम्युनिस्ट पार्टीले मलाई पार नपाइने बाटोमा धकेल्न विभिन्‍न माध्यमहरू एकपछि अर्को गर्दै प्रयोग गर्‍यो, तर परमेश्‍वरका वचनहरूले सधैँ मलाई अगुवाइ गरेका र अन्तर्दृष्टि दिएका छन्। अहिले, मलाई चिनियाँ कम्युनिस्ट पार्टीको दुष्ट सारबारे केही समझ आएको छु, र मैले मेरो विश्‍वासमा मिसिएको आशिष्‌हरू खोज्‍ने अशुद्धताबारे केही बुझाइ हासिल गरेकी छु, र परमेश्‍वरसामु कसरी उचित व्यक्ति बन्‍ने भन्‍ने कुरा सिकेकी छु। मैले परमेश्‍वरका आश्‍चर्यजनक कार्यहरू पनि देखेकी छु। म मृत्युको मुखमा पुगेको बेला, परमेश्‍वरले मलाई दृढ रूपमा बाँच्‍ने बाटोतर्फ डोर्‍याउनुभयो, र परमेश्‍वरमाथिको मेरो विश्‍वास अझै दह्रिलो भयो। यी सबै मैले सहज वातावरणमा कहिल्यै प्राप्त गर्न नसक्‍ने उपलब्धिहरू हुन्। म यो प्रण गर्छु कि, चाहे चिनियाँ कम्युनिस्ट पार्टीले मलाई जसरी सताए पनि, वा अवस्था जति नै कठिन वा गाह्रो भए पनि, म परमेश्‍वरलाई नै पछ्याउनेछु, उचित रूपमा आफ्‍नो कर्तव्य पूरा गर्नेछु, र परमेश्‍वरको प्रेमको ऋण तिर्नेछु।

अघिल्लो: २५. मेरो बारेमा रिपोर्ट गरिएपछि

अर्को: २७. सुसमाचार प्रचारको फल

सम्बन्धित विषयवस्तु

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्