अध्याय २०
परमेश्वरले सबै मानवजातिको सृष्टि गर्नुभयो, र तिनीहरूलाई आजको दिनसम्म डोर्याएर ल्याउनुभएको छ। तसर्थ, मानिसको बीचमा हुने सबै कुरा परमेश्वरलाई थाहा छ: उहाँले मानिसको संसारको तिक्तताबारे जान्नुहुन्छ, मानिसको संसारको मिठासबारे बुझ्नुहुन्छ, त्यसकारण हरेक दिन उहाँले सबै मानवजातिको जीवनका अवस्थाहरूबारे व्याख्या गर्नुहुन्छ, अनि तिनीहरूका कमजोरी र भ्रष्टतालाई काटछाँट गर्नुहुन्छ। सबै मानवजाति अतल कुण्डमा फ्याँकिऊन् भन्ने परमेश्वरको अभिप्राय होइन वा सम्पूर्ण मानवजातिले मुक्ति पाऊन् भन्ने उहाँको अभिप्राय होइन। परमेश्वरका कार्यहरूपछाडि सधैँ नै सिद्धान्त हुन्छ, तैपनि उहाँले गर्नुहुने सबै कुराका नियमहरूलाई कसैले पनि बुझ्न सक्दैन। जब मानिसहरूलाई परमेश्वरको प्रताप र क्रोधबारे थाहा हुन्छ, उहाँले तुरुन्तै आफ्नो शैलीलाई कृपा र प्रेमको शैलीमा बदल्नुहुन्छ, तर जब मानिसहरूले परमेश्वरको कृपा र प्रेमलाई जान्न पुग्छन्, तब उहाँले आफ्नो शैलीलाई फेरि तुरुन्तै बदल्नुहुन्छ, र उहाँका वचनहरू खान कठिन तुल्याउनुहुन्छ, मानौं ती जिउँदा कुखुरा हुन्। परमेश्वरका सबै वचनमा, सुरुवातलाई कहिल्यै पनि दोहोर्याइएको छैन, र उहाँका कुनै पनि वचन हिजोका वाणीहरूको सिद्धान्तअनुसार बोलिएको छैन; शैलीसमेत उस्तै छैन, र विषयवस्तुमा कुनै सम्बन्ध छैन—यी सबै कुराले मानिसहरूलाई अझै चकित तुल्याउँछन्। परमेश्वरको बुद्धि, र उहाँको स्वभावको प्रकाश यही हो। उहाँले मानिसहरूका धारणाहरूलाई छरपस्ट पार्न, उहाँका कार्यहरूमा विष हाल्ने शैतानको मौका खोस्दै शैतानलाई अन्योलमा पार्न आफ्नो बोल्ने शैली र तरिका प्रयोग गर्नुहुन्छ। परमेश्वरका कार्यहरूको आश्चर्यपनले मानिसहरूको मनलाई परमेश्वरका वचनहरूको वरिपरि घुम्ने तुल्याउँछ। तिनीहरूलाई आफ्नै घरको मूल ढोका पत्ता लगाउन पनि हम्मे-हम्मे पर्छ, र तिनीहरूलाई आफूले कहिले खाने वा विश्राम गर्ने भन्ने पनि थाहा हुँदैन, यसरी “परमेश्वरको लागि समर्पित हुन निन्द्रा र खाना त्याग्ने” कार्य साँचो रूपमा हासिल गरिन्छ। तैपनि यस बिन्दुमा समेत, परमेश्वर वर्तमान परिस्थितिहरूप्रति असन्तुष्ट नै रहनुहुन्छ, र मानिससँग सधैँ रिसाएको अवस्थामा नै रहनुहुन्छ, यसरी उसलाई उसको साँचो हृदय प्रस्तुत गर्न बाध्य पार्नुहुन्छ। नत्र, परमेश्वरले अलिकति कोमलता देखाउनेबित्तिकै, मानिसहरूले तुरुन्तै “आज्ञापालन” गर्छन् र लापरवाही बन्छन्। मानिसको नीचपन यही हो; उसलाई हल्कासँग छोड्नुहुँदैन, बरु उसलाई अघि बढाउनको लागि कुट्ने वा घिस्याउने गर्नैपर्छ। “मैले नियाल्ने सबैमध्ये, कसैले पनि मलाई जानी-जानी र प्रत्यक्ष रूपमा खोजी गरेको छैन। तिनीहरू सबै अरूले कर गरेको कारण मकहाँ आउँछन्, बहुसंख्यकलाई पछ्याउँछन्, अनि तिनीहरू आफ्नो जीवनलाई समृद्ध तुल्याउन मूल्य चुकाउन वा समय बिताउन अनिच्छुक छन्।” पृथ्वीका सबैका परिस्थितिहरू यस्तै छन्। तसर्थ, प्रेरितहरू वा अगुवाहरूको कार्यविना, सबै मानिस धेरै पहिले नै छरपष्ट भइसकेका हुनेथिए, त्यसकारण युगौंयुगसम्म कहिल्यै पनि प्रेरित र अगमवक्ताहरूको कमी भएको छैन।
यी वाणीहरूमा परमेश्वरले सबै मानवजातिको जीवनका अवस्थाहरूलाई सारांश गर्ने कार्यलाई विशेष ध्यान दिनुभएको छ। निम्नलगायतका वचनहरू यस्तै प्रकारका वचन हुन्: “मानिसको जीवनमा अलिकति पनि न्यानोपन छैन, र उसमा मानवता वा ज्योतिको अलिकति पनि छाप छैन—तैपनि केही पनि हासिल नगरीकन दौडधूप गर्दै मूल्यहीन जीवनकाल बिताउँदै, ऊ सधैँ आफैमा लुप्त हुन्छ। आँखा झिमिक्क गर्दा, मृत्युको दिन नजिक आइपुग्छ, र मानिस तीतो मृत्यु मर्छ।” परमेश्वरले आजको दिनसम्म मानवजातिको अस्तित्वलाई अगुवाइ गर्नुभएको छ, तैपनि किन मानिसको संसारमा जीवनको रिक्ततालाई पनि प्रकट गर्नुहुन्छ त? अनि किन उहाँले सबै मानिसको सम्पूर्ण जीवनलाई “ऊ हतारमा आउँछ, र हतारमा जान्छ” भनेर व्याख्या गर्नुहुन्छ त? के भन्न सकिन्छ भने, यी सबै परमेश्वरका योजना हुन्, यी सबै परमेश्वरले तोक्नुभएका कुरा हुन्, त्यसकारण, अर्को हिसाबमा यसले परमेश्वरले कसरी ईश्वरीयताको जीवनबाहेक सबैलाई घृणा गर्नुहुन्छ भन्ने कुरालाई प्रतिबिम्बित गर्छ। परमेश्वरले नै सबै मानवजातिलाई सृष्टि गर्नुभएको भए पनि, उहाँ सबै मानवजातिको जीवनप्रति कहिल्यै प्रसन्न हुनुभएको छैन, त्यसकारण उहाँले मानवजातिलाई शैतानको भ्रष्टतामा मात्रै जिउन दिनुहुन्छ। मानवजाति यो प्रक्रियाबाट गुज्रेपछि, उहाँले मानवजातिलाई कि त नष्ट गर्नुहुनेछ कि त मुक्ति दिनुहुनेछ, तसर्थ मानवजातिले पृथ्वीमा एउटा जीवन हासिल गर्नेछ जुन रित्तो हुँदैन। यी सबै परमेश्वरको योजनाका भाग हुन्। त्यसकारण, मानिसको चेतनामा जहिल्यै पनि एउटा कामना हुन्छ, जसले गर्दा व्यक्ति खुसीसाथ निर्दोष रूपमा मर्न तयार हुन्छ—तर यो कामना हासिल गर्नेहरू भनेका आखिरी दिनहरूका मानिसहरू मात्रै हुन्। आज, मानिसहरू अझै पनि अपरिवर्तनीय रिक्ततामा जिउँछन् र तिनीहरू अझै पनि अदृश्य कामनाको प्रतीक्षा गर्छन्: “जब म मेरा हातले मेरो अनुहार छोप्छु, र मानिसहरूलाई भूमिभन्दा मुनि थिच्छु, तिनीहरू तुरुन्तै सास फेर्न असमर्थ हुन्छन्, र जसोतसो बाँच्छन्। मैले तिनीहरूलाई नष्ट गर्नेछु भनेर डरले थरथर काम्दै तिनीहरू सबैले मलाई पुकार्छन्, किनभने तिनीहरू सबैले मैले महिमा प्राप्त गर्ने दिनलाई देख्न चाहन्छन्।” सबै मानिसका परिस्थितिहरू यस्तै हुन्छन्। तिनीहरू सबै “अक्सिजन” रहीत “शून्यता” मा जिउँछन्, जसले गर्दा तिनीहरूलाई सास फेर्न कठिन हुन्छ। परमेश्वरले सबै मानवजातिको अस्तित्वलाई आड दिन तिनीहरूको चेतनाको कामना प्रयोग गर्नुहुन्छ; नत्र, सबै जना “घर छोडेर भिक्षु बन्नेथिए,” जसको परिणामस्वरूप, मानवजाति लोप हुनेथिए, र तिनीहरूको अस्तित्व समाप्त हुनेथियो। यसर्थ, परमेश्वरले मानिसलाई दिनुभएको प्रतिज्ञाको कारण मानिस आजसम्म बाँचेको छ। सत्यता यही हो, तर मानिसले कहिल्यै पनि यो नियम पत्ता लगाएको छैन, त्यसकारण ऊ किन “उसमाथि दोस्रो पटक मृत्यु आइपर्नेछ भन्ने गहन डरको कारण” भन्ने उसलाई थाहा छैन। मानव भएर जिइरहने साहस कसैसँग पनि छैन, तैपनि मर्ने साहस पनि कसैसँग छैन, तसर्थ, मानिसहरू “तीतो मृत्यु मर्छन्” भनी परमेश्वर भन्नुहुन्छ। मानिसहरूको बीचको साँचो स्थिति यस्तै हुन्छ। सायद, तिनीहरूको भविष्यका आशाहरूमा कतिपय मानिसले वाधाहरू सामना गरेका छन् र मर्ने विचार गरेका छन्, तर यी विचार कहिल्यै पूरा भएका छैनन्; सायद, कतिपयमा पारिवारिक द्वन्द्वको कारण मर्ने विचार आएका छन्, तर तिनीहरूले आफ्ना प्रियजनप्रतिको फिक्रीको कारण आफ्नो त्यो कामना पूरा गर्न सक्दैनन्; र सायद कतिपयको विवाह सम्बन्धमा धक्का लागेको कारण तिनीहरूले मर्नेबारे सोचेका छन्, तर तिनीहरू यसबाट गुज्रन अनिच्छुक छन्। तसर्थ, मानिसहरू आफ्नो हृदयमा गुनासो वा अनन्त खेदहरू लिएर मर्छन्। सबै मानिसका विभिन्न परिस्थितिहरू यस्तै हुन्छन्। मानिसको बृहत् संसारलाई नियाल्दा, मानिसहरू अन्त्यहीन प्रवाहमा आउँछन् र जान्छन्, अनि जिउनुमा भन्दा मर्नुमा अझै बढी आनन्द छ भन्ने तिनीहरूलाई लागे पनि, तिनीहरूले अझै पनि ओठे-सेवा मात्र गर्छन्, र कोही पनि मरेर फेरि फर्केर आई जीवितहरूलाई मृत्युको आनन्द कसरी लिने भनेर बताउँदै उदाहरण भएर बाँचेका छैनन्। मानिसहरू घृणास्पद थोक हुन्: तिनीहरूमा कुनै लाज वा आत्मसम्मान छैन, र तिनीहरू सधैँ आफ्नो वचन पूरा गर्न असफल हुन्छन्। परमेश्वरले आफ्नो योजनामा उहाँको प्रतिज्ञा प्राप्त गर्ने मानिसहरूको समूहलाई पूर्वनियुक्ति गर्नुभएको छ, तसर्थ परमेश्वर भन्नुहुन्छ, “धेरै आत्माहरू शरीरमा जिए र धेरै मरेका छन् र यस पृथ्वीमा पुनः जन्मेका छन्। तथापि तिनीहरूमध्ये कसैले पनि राज्यका आशिष्हरूको आनन्द लिने मौका पाएका छैनन्।” आज राज्यका आशिष्हरू प्राप्त गर्ने सबैलाई परमेश्वरले संसारको सृष्टि गर्दा नै पूर्वनिर्धारित गर्नुभएको हो। परमेश्वरले यी आत्माहरूलाई आखिरी दिनहरूको दौडान देहमा जिउने प्रबन्ध गर्नुभयो, र अन्त्यमा, परमेश्वरले मानिसहरूको यो समूहलाई प्राप्त गर्नुहुनेछ, र तिनीहरूलाई सिनिममा रहने बन्दोबस्त मिलाउनुहुनेछ। मुख्यतः, यी मानिसहरूका आत्मा स्वर्गदूतहरू हुन्, त्यसकारण परमेश्वर भन्नुहुन्छ, “के वास्तवमा मानिसको आत्मामा मेरो कुनै पनि चिन्ह छैन?” वास्तवमा, जब मानिसहरू देहमा जिउँछन्, तिनीहरू आत्मिक क्षेत्रका कामकाजबारे अनजान रहन्छन्। “मानिसले मतर्फ सावधानीपूर्वक नजर लाउँछ” भन्ने यी सरल शब्दहरूबाट परमेश्वरको मनस्थितिलाई देख्न सकिन्छ। यी सरल शब्दहरूमा, परमेश्वरको जटिल मानसिकतालाई व्यक्त गरिन्छ। सृष्टिको समयदेखि अहिलेसम्म, परमेश्वरको हृदयमा सधैँ क्रोध र न्यायसहितको शोक रहिआएको छ, किनभने पृथ्वीका मानिसहरू परमेश्वरका अभिप्रायहरूको ख्याल गर्न नसक्ने अवस्थामा छन्, जुन कुरा परमेश्वरले भन्नुभएको यो वचन जस्तै छ, “मानिस पहाडमा बस्ने जङ्गलीजस्तो छ।” तैपनि परमेश्वरले यसो पनि भन्नुहुन्छ, “त्यो दिन आउने छ जब मानिस शक्तिशाली समुद्रको बीचबाट मेरो छेउमा पौडन्छ, ताकि उसले पृथ्वीका सबै सम्पत्तिको आनन्द लिन सकोस् र समुद्रद्वारा निलिने खतरालाई पछाडि छाडोस्।” यो, परमेश्वरको इच्छा हासिल हुनु हो र यसलाई अपरिहार्य प्रवृत्तिको रूपमा पनि व्याख्या गर्न सकिन्छ, र यो परमेश्वरको काम पूरा हुनुको प्रतीक हो।
जब राज्य पूर्ण रूपमा पृथ्वीमा ओर्लन्छ, तब सबै मानिसहरूले आफ्नो मौलिक स्वरूप पुनः प्राप्त गर्नेछन्। यसरी, परमेश्वर भन्नुहुन्छ: “म मेरो सिंहासनमाथिबाट आनन्द लिन्छु, र म ताराहरूमाझ बस्छु। स्वर्गदूतहरू मलाई नयाँ गीतहरू र नयाँ नाचहरू अर्पण गर्छन्। तिनीहरूको आफ्नै नाजुकताले अब तिनीहरूको अनुहारमा आँसु बगाउँदैन। म अब आफ्नो अगाडि स्वर्गदूतहरूको रोदनको आवाज सुन्दिनँ, र कसैले पनि मलाई आफ्ना दुःखहरू सुनाउँदैन।” यसले के देखाउँछ भने जुन दिन परमेश्वरले पूर्ण महिमा प्राप्त गर्नुहुन्छ त्यो नै मानिसले आफ्नो विश्रामको आनन्द लिने दिन हो; मानिसहरू अब शैतानको बाधाको नतिजास्वरूप दौडधुप गर्दैनन्, संसार अगाडि बढ्न रोकिन्छ, र मानिसहरू विश्राममा जिउँछन्—किनभने स्वर्गका ताराहरू नयाँ बनेका छन्, र सूर्य, चन्द्रमा, ताराहरू, इत्यादि, साथै स्वर्ग र पृथ्वीका सारा पहाड र नदी सबै परिवर्तन भएका छन्। अनि मानिस परिवर्तन भएको हुनाले र परमेश्वर परिवर्तन हुनुभएको हुनाले, यावत् थोक परिवर्तन हुनेछन्। यो नै परमेश्वरको व्यवस्थापनको योजनाको अन्तिम उद्देश्य हो, र अन्तिममा हासिल गरिने कुरा यही हो। यी सबै वचनहरू बोल्नुमा परमेश्वरको उद्देश्य मुख्य रूपमा मानिसले उहाँलाई चिनोस् भन्ने हो। मानिसहरूले परमेश्वरका प्रशासनिक आदेशहरू बुझ्दैनन्। परमेश्वरले गर्नुहुने सबै कुरा परमेश्वर स्वयम्द्वारा नै योजनाबद्ध र प्रबन्ध गरिएको हुन्छ, र परमेश्वर कसैलाई पनि हस्तक्षेप गर्न दिन इच्छुक हुनुहुन्न; बरु, उहाँ मानिसहरूलाई सबै कुरा उहाँद्वारा नै प्रबन्ध गरिन्छ र मानिसद्वारा हासिल गर्न सकिँदैन भन्ने कुरा बुझ्न दिनुहुन्छ। मानिसले देख्न सक्ने कुरा, वा कल्पना गर्न गाह्रो हुने कुरालाई समेत, परमेश्वरद्वारा मात्रै नियन्त्रित हुन्छ, र परमेश्वर यसलाई अलिकति पनि मानव विचारले दूषित भएको चाहनुहुन्न। परमेश्वर अलिकति मात्रै भए पनि यसमा भाग लिने कसैलाई पनि अवश्यै क्षमा गर्नुहुनेछैन; परमेश्वर मानिसको सुरक्षा गर्ने परमेश्वर हुनुहुन्छ, र यस सन्दर्भमा परमेश्वरका आत्मा विशेष गरी संवेदनशील हुनुहुन्छ जस्तो देखिन्छ। तसर्थ, हस्तक्षेप गर्ने अलिकति पनि अभिप्राय राख्ने जोकोहीलाई तुरुन्तै परमेश्वरको भस्म गर्ने आगोद्वारा घेरिनेछ, जसले तिनीहरूलाई आगोमा खरानी बनाउनेछ। परमेश्वर मानिसहरूलाई जसरी मन लाग्छ त्यसरी आफ्नो वरदान प्रदर्शन गर्न दिनुहुन्न, किनभने जोसँग वरदान छ तिनीहरू सबै जीवनविहीन हुन्छन्; यी तथाकथित वरदानहरू परमेश्वरलाई मात्र काम लाग्छ र ती शैतानबाट उत्पन्न हुन्छन्, त्यसैले तिनलाई परमेश्वरद्वारा विशेष रूपमा घृणा गरिन्छ, जसले यसमा कुनै सम्झौता गर्नुहुन्न। तैपनि प्रायजसो जीवनविहीन मानिसहरूले नै परमेश्वरको काममा भाग लिने सम्भावना हुन्छ, र त्यसमाथि, यो अवस्था अज्ञात नै रहन्छ, किनभने यो तिनीहरूका वरदानहरूद्वारा छोपिएको हुन्छ। युगौँयुगभरि, जो वरदानयुक्त छन् तिनीहरू कहिल्यै पनि दृढ रहेका छैनन्, किनभने तिनीहरू जीवनविहीन छन्, र यसरी तिनीहरूमा प्रतिरोध गर्ने कुनै शक्ति हुँदैन। तसर्थ, परमेश्वर भन्नुहुन्छ: “यदि मैले स्पष्ट रूपमा बोलिनँ भने, मानिस कहिल्यै होसमा आउनेछैन, र ऊ थाहै नपाई मेरो सजायमा पर्नेछ—किनभने मानिस मलाई मेरो देहमा चिन्दैन।” जो मासु र रगतले बनेका छन् तिनीहरू सबैलाई परमेश्वरद्वारा मार्गदर्शन गरिन्छ, तैपनि तिनीहरू शैतानको बन्धनमा पनि जिउँछन्, त्यसैले मानिसहरूले एकअर्कासँग कहिल्यै सामान्य सम्बन्ध राखेका छैनन्, चाहे त्यो वासनाका कारणले होस्, वा आराधनाका कारणले होस्, वा तिनीहरूको वातावरणका प्रबन्धहरूका कारणले होस्। परमेश्वरले सबैभन्दा बढी घृणा गर्ने भनेकै यस्ता असामान्य सम्बन्धहरूलाई हो, र तसर्थ यस्तै सम्बन्धहरूका कारणले गर्दा परमेश्वरको मुखबाट निम्न वचनहरू आउँछन्: “मैले चाहने भनेको जीवनशक्तिले भरिपूर्ण जीवित प्राणीहरू हो, मृत्युमा डुबेका लासहरू होइन। म राज्यको टेबलमा विराजमान हुने हुनाले, म पृथ्वीका सबै मानिसलाई मेरो निरीक्षण स्वीकार गर्न आज्ञा दिनेछु।” परमेश्वर सम्पूर्ण ब्रह्माण्डभन्दा माथि हुँदा, हरेक दिन उहाँ मासु र रगतले बनेकाहरूको हरेक कार्यलाई अवलोकन गर्नुहुन्छ, र उहाँले तिनीहरूमध्ये एउटालाई पनि कहिल्यै अनदेखा गर्नुभएको छैन। परमेश्वरका कार्यहरू यिनै हुन्। त्यसैले, म सबै मानिसलाई आफ्ना विचार, धारणा, र कार्यहरू जाँच्न आग्रह गर्छु। म यो भन्दिनँ कि तँ परमेश्वरका लागि लाजको निसान बन्नुपर्छ, तँ बरु परमेश्वरको महिमाको प्रकटीकरण बन्नुपर्छ, ताकि तेरा सबै कार्य, वचन, र जीवनमा, तँ शैतानको ठट्टाको तारो नबनेस्। यो परमेश्वरले सबै मानिसलाई गर्ने माग हो।