विजयको कामको वास्तविक कथा (३)
विजयको कामको मुख्य उद्देश्य भनेको मानिसको देहले आइन्दा विद्रोह नगरोस् भन्ने हो; अर्थात्, मानिसको दिमागले परमेश्वरसम्बन्धी नयाँ ज्ञान प्राप्त गरोस्, मानिसको हृदय परमेश्वरप्रति पूर्ण रूपमा समर्पित होस्, र मानिसमा परमेश्वरको खातिर सङ्कल्पहरू होऊन् भन्ने हो। मानिसहरूको व्यक्तित्व वा देह परिवर्तन हुँदैमा तिनीहरूलाई विजय गरिएको मानिँदैन; जब तिनीहरूको मानसिकता, तिनीहरूको चेतना, र तिनीहरूको समझ परिवर्तन हुन्छन्, अर्थात्, जब तिनीहरूको सम्पूर्ण मानसिक दृष्टिकोण परिवर्तन हुन्छ—त्यति बेला मात्र तिनीहरू परमेश्वरद्वारा विजय गरिएका हुनेछन्। जब तँसँग समर्पित हुने सङ्कल्प हुन्छ, तैँले नयाँ मानसिकता अपनाएको हुन्छस्, परमेश्वरका वचनहरू र कामका बारेमा तँसँग कुनै धारणा बाँकी हुँदैन, न त यी कुराहरूका सम्बन्धमा कुनै अभिप्राय नै हुन्छ, र तेरो दिमागमा सामान्य रूपमा सोच्ने क्षमता हुन्छ—अर्थात्, जब तँ सम्पूर्ण हृदयले परमेश्वरप्रति आफूलाई अर्पण गर्न सक्छस्—तब तँ पूर्ण रूपमा विजय गरिएको प्रकारको व्यक्ति हुन्छस्। धर्ममा, धेरै मानिसले आफ्नो जीवनभरि धेरै नै दुःख पाउँछन्: तिनीहरू आफ्नो शरीरलाई काबुमा राख्छन् र आफ्नो क्रूस बोक्छन्, साथै तिनीहरू मृत्युको सँघारमा पुग्दा समेत दुःख भोग्न र सहन जारी राख्छन्! कतिपय त आफ्नो मृत्युको बिहान पनि अझै उपवास बसिरहेका हुन्छन्। जीवनभरि तिनीहरू आफूलाई राम्रो खाना र लुगाफाटोबाट वञ्चित राख्छन्, र दुःख भोग्नमा मात्रै ध्यान केन्द्रित गर्छन्। तिनीहरू आफ्नो शरीरलाई काबुमा राख्न र आफ्नो देहविरुद्ध विद्रोह गर्न सक्षम हुन्छन्। दुःख सहने तिनीहरूको मनोबल सराहनीय हुन्छ। तर तिनीहरूको मानसिकता, तिनीहरूका धारणाहरू, तिनीहरूको मानसिक दृष्टिकोण, र तिनीहरूको पुरानो प्रकृति अलिकति पनि काटछाँट गरिएका हुँदैनन्। तिनीहरूमा आफूबारे कुनै साँचो ज्ञान हुँदैन। तिनीहरूको दिमागमा रहेको परमेश्वरको स्वरूप भनेको एक अस्पष्ट परमेश्वरको त्यो परम्परागत स्वरूप हो। परमेश्वरका लागि दुःख भोग्ने तिनीहरूको सङ्कल्प भनेको तिनीहरूको जोस र तिनीहरूको मानवताको असल व्यक्तित्वबाट आउँछ। तिनीहरूले परमेश्वरमा विश्वास गरे पनि, तिनीहरू न त उहाँलाई बुझ्छन् न त उहाँका अभिप्रायहरू नै जान्दछन्। तिनीहरू केवल अन्धाधुन्ध रूपमा परमेश्वरका लागि काम गर्छन् र दुःख भोग्छन्। तिनीहरू खुट्ट्याइलाई कुनै पनि महत्त्व दिँदैनन्, तिनीहरूको सेवाले वास्तवमा परमेश्वरका अभिप्रायहरू पूरा गर्छ भनी कसरी सुनिश्चित गर्ने भन्ने बारेमा कमै मात्र चासो राख्छन्, र परमेश्वरको ज्ञान कसरी हासिल गर्ने भन्ने कुरामा त तिनीहरू झनै सचेत हुँदैनन्। तिनीहरूले सेवा गर्ने परमेश्वर उहाँको अन्तर्निहित स्वरूपमा हुनुभएको परमेश्वर हुनुहुन्न, बरु तिनीहरूले कल्पना गरेका परमेश्वर, त्यस्तो परमेश्वर जसका बारेमा तिनीहरूले सुनेका मात्रै छन्, वा जसका बारेमा तिनीहरूले लिखित किंवदन्तीहरू मात्रै पढेका छन्। त्यसपछि तिनीहरू परमेश्वरका लागि दुःख भोग्न र परमेश्वरले गर्न चाहनुभएको परमेश्वरको कामको जिम्मा लिन आफ्नो उर्वर कल्पना र भक्ति प्रयोग गर्छन्। तिनीहरूको सेवा अत्यन्तै नमिल्दो हुन्छ, यतिसम्म कि व्यावहारिक रूपमा तिनीहरूमध्ये कोही पनि परमेश्वरका अभिप्रायहरूअनुरूप साँच्चै सेवा गर्न सक्षम हुँदैन। तिनीहरूले जतिसुकै खुसीसाथ दुःख भोगे पनि, सेवाबारे तिनीहरूको मूल दृष्टिकोण र तिनीहरूको मानसपटलमा रहेको परमेश्वरको स्वरूप अपरिवर्तित रहन्छन्, किनभने तिनीहरूले परमेश्वरको न्याय, सजाय, शोधन र सिद्धता भोगेका हुँदैनन्, न त कसैले तिनीहरूलाई सत्यता प्रयोग गरेर मार्गदर्शन नै गरेको हुन्छ। तिनीहरूले मुक्तिदाता येशूमा विश्वास गर्ने भए पनि, तिनीहरूमध्ये कसैले पनि मुक्तिदातालाई कहिल्यै देखेको हुँदैन। तिनीहरूले उहाँलाई किंवदन्ती र हल्लाको भरमा मात्रै चिनेका हुन्छन्। फलस्वरूप, तिनीहरूको सेवा भनेको अन्धो मानिसले आफ्नै बुबाको सेवा गरेजस्तै, आँखा चिम्लेर अन्धाधुन्ध सेवा गरेसरह मात्र हुन्छ। अन्ततः यस्तो सेवाद्वारा के हासिल गर्न सकिन्छ? अनि यसलाई कसले अनुमोदन गर्नेछ? सुरुदेखि अन्त्यसम्म, तिनीहरूको सेवा सधैँ उस्तै रहन्छ; तिनीहरूले मानव-निर्मित पाठहरू मात्रै पाउँछन् र आफ्नै प्राकृतिकपन र आफ्नै रुचिहरूका आधारमा मात्रै सेवा गर्छन्। यसले के इनाम ल्याउन सक्छ र? येशूलाई देख्ने पत्रुसले समेत परमेश्वरका अभिप्रायहरूअनुरूप सेवा गर्न जान्दैनथे; तिनले यो कुरा अन्तमा, वृद्धावस्थामा मात्रै थाहा पाए। यसले अलिकति पनि काटछाँटको अनुभव नगरेका, र मार्गदर्शन गर्ने कोही पनि नभएका ती अन्धा मानिसहरूका बारेमा के बताउँछ? के आज तिमीहरूमध्ये धेरैको सेवा यी अन्धा मानिसहरूको जस्तै छैन र? न्याय नपाएका, काटछाँट नपाएका, र परिवर्तन नभएका ती सबै—के तिनीहरू सबै पूर्ण रूपमा विजय नगरिएकाहरू होइनन् र? त्यस्ता मानिसहरूको के काम? यदि तेरो मानसिकता, तेरो जीवनसम्बन्धी तेरो ज्ञान, र परमेश्वरसम्बन्धी तेरो ज्ञानले कुनै नयाँ परिवर्तन देखाउँदैनन् र तैँले साँच्चै केही पनि प्राप्त गर्दैनस् भने, तैँले आफ्नो सेवामा कहिल्यै कुनै नतिजा हासिल गर्नेछैनस्! एउटा दर्शन र परमेश्वरको कामसम्बन्धी नयाँ ज्ञानविना, तँलाई विजय गरिँदैन। त्यसपछि तैँले परमेश्वरलाई पछ्याउनु भनेको दुःख भोग्ने र उपवास बस्नेहरू जस्तै हुनेछ: थोरै मात्र मूल्यको! तिनीहरूले गर्ने कुरामा थोरै मात्र गवाही हुने हुनाले नै म तिनीहरूको सेवा व्यर्थ छ भनेर भन्छु! ती मानिसहरू जीवनभरि दुःख भोग्छन् र झ्यालखानामा समय बिताउँछन्, तिनीहरू सधैँ सहनशील र प्रेमिला हुन्छन्, तिनीहरू सधैँ क्रूस बोक्छन्, र तिनीहरूलाई संसारद्वारा अपमान र अस्वीकार गरिन्छ—तिनीहरू हरेक कष्टको अनुभव गर्छन्। तिनीहरू अन्त्यसम्मै आज्ञाकारी हुने भए पनि, तिनीहरू विजय गरिएका चाहिँ हुँदैनन्, र विजय गरिएको कुनै गवाही दिन सक्दैनन्। तिनीहरूले धेरै दुःख भोगेका हुन्छन्, तर भित्री रूपमा तिनीहरू परमेश्वरलाई पटक्कै चिन्दैनन्। तिनीहरूका पुरानो मानसिकता, पुराना धारणाहरू, धार्मिक अभ्यासहरू, मानव-निर्मित ज्ञान, र मानव सोचाइमध्ये केही पनि काटछाँट गरिएको हुँदैन। तिनीहरूमा नयाँ ज्ञानको अलिकति पनि सङ्केत हुँदैन। परमेश्वरसम्बन्धी तिनीहरूको ज्ञानको एक अंश पनि साँचो वा सही हुँदैन। तिनीहरूले परमेश्वरका अभिप्रायहरूलाई गलत रूपमा बुझेका हुन्छन्। के यसले परमेश्वरलाई फाइदा गर्छ? विगतमा परमेश्वरसम्बन्धी तेरो ज्ञान जस्तोसुकै भए पनि, यदि यो आज पनि उस्तै रहन्छ र परमेश्वरले जे गर्दा पनि तँ तेरा आफ्नै धारणा र सोचाइलाई परमेश्वरसम्बन्धी तेरो ज्ञानको आधार बनाउँछस्, अर्थात् यदि तँसँग परमेश्वरसम्बन्धी कुनै नयाँ, साँचो ज्ञान छैन र यदि तँ परमेश्वरको अन्तर्निहित स्वरूप र स्वभावलाई चिन्न असफल हुन्छस् भने, यदि परमेश्वरसम्बन्धी तेरो ज्ञान अझै पनि सामन्ती, अन्धविश्वासी सोचाइद्वारा निर्देशित छ र अझै पनि मानव कल्पना र धारणाहरू नै रहेको छ भने, तँ विजय गरिएको छैनस्। मैले अहिले तँसँग बोल्ने यतिका धेरै वचन तँलाई थाहा दिन, यो ज्ञानले तँलाई अझ नयाँ, सही ज्ञानतर्फ डोऱ्याओस् भन्नका लागि हुन्; ती तँमा भएका पुराना धारणाहरू र पुरानो ज्ञानलाई काटछाँट गर्नका लागि पनि हुन्, ताकि तैँले नयाँ ज्ञान पाउन सकेस्। यदि तँ साँच्चै मेरा वचनहरू खान्छस् र पिउँछस् भने, तेरो ज्ञान उल्लेखनीय रूपमा परिवर्तन हुनेछ। यदि तैँले समर्पित हृदयका साथ परमेश्वरका वचनहरू खाइस् र पिइस् भने, तेरो दृष्टिकोण उल्टिनेछ। यदि तैँले बारम्बारका सजायहरू स्वीकार गर्न सकिस् भने, तेरो पुरानो मानसिकता बिस्तारै परिवर्तन हुनेछ। यदि तेरो पुरानो मानसिकता नयाँद्वारा पूर्ण रूपमा प्रतिस्थापित भयो भने, तेरो अभ्यास पनि सोहीअनुसार परिवर्तन हुनेछ। यसरी, तेरो सेवा झन्-झन् सही दिशामा जानेछ, परमेश्वरका अभिप्रायहरू पूरा गर्न झन्-झन् सक्षम हुनेछ। यदि तैँले आफ्नो जीवन, मानव जीवनसम्बन्धी आफ्नो ज्ञान, र परमेश्वरबारे तेरा धेरै वटा धारणालाई परिवर्तन गर्न सकिस् भने, तेरो प्राकृतिकपन बिस्तारै घट्दै जानेछ। परमेश्वरले मानिसहरूलाई विजय गर्नुको नतिजा यही हो, जुन योभन्दा कम हुँदैन, यो नै मानिसहरूमा आउने परिवर्तन हो। यदि तैँले परमेश्वरमा विश्वास गर्दा, तँ केवल तेरो शरीरलाई काबुमा राख्ने र सहने अनि दुःख भोग्नेबारे मात्रै जान्दछस्, र तँलाई त्यो सही हो कि गलत हो भन्ने थाहा छैन, त्यो कसको खातिर गरिएको हो भन्ने कुरा त झनै थाहा छैन भने, त्यस्तो अभ्यासले कसरी परिवर्तन ल्याउन सक्छ?
यो बुझ कि मैले तिमीहरूसँग मागेको कुराचाहिँ तिमीहरूको देहलाई दासत्वमा राख वा तिमीहरूका दिमागलाई स्वतन्त्र रूपमा सोचविचार गर्नबाट रोक भनेको होइन। यो न त त्यस कामको लक्ष्य हो, न त यो काम अहिले गर्नु नै आवश्यक छ। अहिले, तिमीहरूसँग सकारात्मक पक्षको ज्ञान हुनुपर्दछ, जसले गर्दा तिमीहरू आफैलाई परिवर्तन गर्न सक्छौ। सबैभन्दा आवश्यक कार्य भनेको तिमीहरूले आफैलाई परमेश्वरको वचनले सुसज्जित पार्नु हो, जसको अर्थ, तिमीहरूले आफूलाई अहिले वर्तमान सत्यता र दर्शनले सुसज्जित पार्नु र त्यसपछि अघि बढ्नु र त्यसलाई व्यवहारमा अपनाउनु हो भन्ने हुन्छ। यो तिमीहरूको जिम्मेवारी हो। मैले तिमीहरूलाई अझ ठूलो अन्तर्दृष्टि खोज्नु र प्राप्त गर्नु भनेको होइन। वर्तमानमा, तिमीहरूसँग त्यसको लागि चाहिने कद छैन। तिमीहरूले गर्नैपर्ने भनेको यति मात्र हो कि तिमीहरूले परमेश्वरका वचनहरू खान र पिउनका लागि जे गर्न सक्छौ त्यो गर। तिमीहरूले परमेश्वरको कामलाई बुझ्नुपर्दछ र तिमीहरूको प्रकृति, तिमीहरूको सार र तिमीहरूको पुरानो जीवनलाई जान्नुपर्छ। खास गरी, तिमीहरूले विगतका ती गलत अभ्यासहरू र तिमीहरू संलग्न रहेका ती मानवले गर्ने कार्यहरू जान्नु आवश्यक छ। परिवर्तन हुनको निम्ति तिमीहरूले आफ्नो सोचविचार परिवर्तन गर्दै सुरु गर्नुपर्छ। सुरुमा, तिमीहरूका पुराना सोचविचारलाई नयाँ सोचविचारले प्रतिस्थापन गर र तिमीहरूका ती नयाँ सोचविचारलाई तिमीहरूका वचन र कार्यहरू अनि तिमीहरूका जीवन नियन्त्रित गर्न देऊ। आज तिमीहरू प्रत्येकबाट मागिएको कुरा यही हो। अन्धाधुन्ध अभ्यास नगर वा अन्धाधुन्ध पछि नलाग। तिमीहरूसँग एउटा आधार र एउटा लक्ष्य हुनुपर्दछ। आफैलाई मूर्ख नबनाऊ। परमेश्वरप्रतिको तिमीहरूको विश्वास वास्तवमा केको लागि हो, त्यसबाट के प्राप्त हुनुपर्दछ र अहिले तिमीहरू कहाँ प्रवेश गर्नुपर्छ त्यो तिमीहरूलाई थाहा हुनुपर्दछ। तिमीहरूले यो सब जान्नु अत्यावश्यक छ।
तिमीहरू अहिले जे कुरामा प्रवेश गर्नुपर्छ त्यो कुरा तिमीहरूको जीवनलाई माथि उठाउने र तिमीहरूका क्षमता बढाउने कार्य हो। यसबाहेक, तिमीहरूले आफ्नो विगतका ती पुराना दृष्टिकोणहरू परिवर्तन गर्नु, तिमीहरूका सोचविचार परिवर्तन गर्नु र तिमीहरूका धारणाहरू परिवर्तन गर्नु आवश्यक छ। तिमीहरूको सम्पूर्ण जीवन नवीकरण गर्नु आवश्यक छ। जब परमेश्वरका कामहरूबारे तिमीहरूको ज्ञान परिवर्तन हुन्छ, जब तिमीहरूमा परमेश्वरले भन्नुहुने सबै कुराको सत्यताको नयाँ ज्ञान हुन्छ र जब तिमीहरूभित्रको ज्ञान उच्च हुन्छ, तब तिमीहरूको जीवनले अझ राम्रो नयाँ मोड लिन्छ। मानिसहरूले गर्ने र भन्ने सबै कुरा अहिले व्यावहारिक हुन्छन्। यी धर्मसिद्धान्तहरू होइनन्, बरु मानिसहरूलाई आफ्नो जीवनको लागि आवश्यक पर्ने कुराहरू र तिनीहरूमा हुनुपर्ने कुराहरू हुन्। विजयको कामको अवधिमा मानिसहरूमा हुने परिवर्तन, मानिसहरूले अनुभव गर्नुपर्ने परिवर्तन यही नै हो र यो तिनीहरू जितिएपछिको प्रभाव हो। जब तैँले आफ्नो सोचविचार परिवर्तन गरेको, नयाँ मनोवृत्ति अपनाएको, आफ्ना धारणा र अभिप्रायहरू र आफ्नो विगतका तार्किक दलिलहरूलाई उल्टाएको, तँभित्र जरा गाडेका कुराहरूलाई त्यागेको र परमेश्वरप्रतिको विश्वासको नयाँ ज्ञान प्राप्त गरेको हुन्छस्, तब तैँले दिने गवाहीहरू उच्च हुनेछन् र तेरो सम्पूर्ण अस्तित्व नै साँचो रूपमा परिवर्तन भएको हुनेछ। यी सबै अति व्यावहारिक, सबैभन्दा वास्तविक र सबैभन्दा आधारभूत कुरा हुन्—विगतमा मानिसहरूले बुझ्न नसकेका कुराहरू र तिनीहरू संलग्न हुन असक्षम भएका कुराहरू हुन्। ती आत्माको साँचो काम हुन्। विगतमा तैँले बाइबललाई कतिसम्म ठीक प्रकारले बुझ्थिस्? आज यसलाई तुलना गर् अनि तैँले थाहा पाउनेछस्। विगतमा तैँले मोशा, पत्रुस, पावल, वा ती सबै बाइबलीय भनाइ र दृष्टिकोणहरूलाई दिमागी रूपमा माथि उठाइस् र तिनीहरूलाई वेदीमा राखिस्। अब, तँलाई यदि बाइबललाई वेदीमा राख्न भनियो भने के तँ त्यो काम गर्नेछस्? तैँले बाइबलमा मानिसद्वारा लेखिएका धेरै विवरणहरू देख्नेछस्, र बाइबल भनेको मानिसले अभिलेख गरेको परमेश्वरका दुई चरणको कामको विवरण मात्र हो। यो इतिहासको पुस्तक हो। के यसको अर्थ, त्यससम्बन्धी तेरो ज्ञान परिवर्तन भएको छ भन्ने होइन र? यदि तैँले आज मत्तीको सुसमाचारको पुस्तकमा दिइएको येशूको वंशावली हेरिस् भने, तैँले यसो भन्नेछस्, “येशूको वंशावली? मूर्ख कुरा! यो योसेफको वंशावली हो, येशूको होइन। येशू र योसेफबीच कुनै सम्बन्ध छैन।” जब तैँले अहिले बाइबल हेर्छस्, त्यसबारे तेरो ज्ञान फरक छ अर्थात् तेरो दृष्टिकोण परिवर्तन भएको छ अनि त्यस विषयमा तैँले धर्मका अग्रज विद्वानहरूले भन्दा उच्च ज्ञान ल्याउँछस्। जब कसैले त्यो वंशावलीमा केही छ भन्छ, तब तैँले यस्तो जबाफ दिनेछस्, “यसमा के छ र? अझै अगाडि बढेर वर्णन गर्नुहोस् न। येशू र योसेफ सम्बन्धित छैनन्। के तपाईंलाई त्यो थाहा छैन र? के येशूको वंशावली हुन सक्छ? येशूका पुर्खाहरू कसरी हुन सक्छन्? उहाँ कसरी मानिसका सन्तान हुन सक्नुहुन्छ? उहाँको देह मरियमबाट जन्मेको थियो; उहाँका आत्मा परमेश्वरका आत्मा हुनुहुन्छ, मानिसको आत्मा होइन। येशू परमेश्वरका प्रिय पुत्र हुनुहुन्छ अनि के उहाँको वंशावली हुन सक्छ त? पृथ्वीमा हुनुहुँदा उहाँ मानवजातिको सदस्य हुनुहुन्नथियो अनि उहाँको वंशावली कसरी हुन सक्छ?” जब तैँले वंशावलीको विश्लेषण गर्छस् र भित्री सत्यतालाई स्पष्टसँग व्याख्या गर्छस्, तैँले जे बुझेको छस् त्यो भन्छस्, तब त्यो व्यक्ति अवाक् बन्नेछ। केही मानिसहरूले बाइबललाई सन्दर्भको रूपमा लिएर तँलाई सोध्नेछन्, “येशूको वंशावली थियो। के तपाईंको आजका परमेश्वरको वंशावली छ?” अनि तैँले तिनीहरूलाई आफ्नो ज्ञान बताउनेछस्, जुन सबैभन्दा वास्तविक हो र यस तरिकाले, तेरो ज्ञानले एक प्रभाव प्राप्त गरेको हुनेछ। वास्तवमा, येशूको योसेफसँग कुनै सम्बन्ध थिएन, अब्राहामको कुरा त परै छाडौँ उहाँ इस्राएलमा जन्मनु मात्र भएको थियो। तर, परमेश्वर एक इस्राएली वा इस्राएलीहरूको सन्तान हुनुहुन्न। इस्राएलमा जन्मेको कारणले नै परमेश्वर इस्राएलीहरूका मात्र परमेश्वर हुनुहुन्छ भन्ने हुँदैन। उहाँले आफ्नो कामको खातिर मात्र देहधारणको कार्य सम्पन्न गर्नुभयो। परमेश्वर सारा ब्रह्माण्डभरिका सबै सृष्टिहरूका परमेश्वर हुनुहुन्छ। उहाँले केवल इस्राएलमा पहिला आफ्नो कामको एक चरण सम्पन्न गर्नुभयो, त्यसपछि उहाँले अन्यजातिहरूको राष्ट्रहरूमाझ काम गर्न थाल्नुभयो। तर, मानिसहरूले येशूलाई इस्राएलीहरूका परमेश्वर माने र यसबाहेक उहाँलाई इस्राएलीहरूको माझमा र दाऊदका सन्तानहरूको माझमा राखे। बाइबलले भन्छ कि ती दिनहरूको अन्त्यमा, अन्यजाति राष्ट्रहरूको माझमा यहोवाको नाउँ महान् हुनेछ, जसको अर्थ, परमेश्वरले आखिरी दिनहरूमा अन्यजाति राष्ट्रहरूमाझ काम गर्नुहुनेछ भन्ने हो। परमेश्वर यहूदियामा देहधारी हुनुभएको कुराले परमेश्वरले यहूदीहरूलाई मात्र प्रेम गर्नुहुन्छ भन्ने सङ्केत गर्दैन। कामको निम्ति आवश्यक परेकोले मात्र त्यसो भएको थियो; (इस्राएलीहरू उहाँका चुनिएका मानिसहरू भएकाले) परमेश्वरले इस्राएलमा मात्र देहधारण गर्न सक्नुहुन्थ्यो भन्ने होइन। के परमेश्वरका चुनिएका मानिसहरू अन्यजाति राष्ट्रहरूमाझ पनि पाइँदैनन् र? येशूले यहूदियामा काम गरिसक्नुभएपछि त्यो काम अन्यजाति राष्ट्रहरूमा फैलियो। (इस्राएलीहरूले इस्राएलका बाहेक अरू सबै जातिलाई “अन्यजाति” भन्थे)। वास्तवमा, ती अन्यजाति राष्ट्रहरूमा पनि परमेश्वरका चुनिएका मानिसहरू थिए; यति मात्र हो कि त्यो समय त्यहाँ कुनै काम गरिएको थिएन। मानिसहरूले इस्राएललाई धेरै महत्त्व दिन्छन्, किनकि पहिलो दुई चरणको काम इस्राएलमा भएको थियो र अन्यजाति राष्ट्रहरूमा कुनै काम गरिएको थिएन। अन्यजाति राष्ट्रहरूमाझको काम आज मात्रै सुरु हुँदै छ, त्यसकारण मानिसहरूले यसलाई स्वीकार गर्न धेरै गाह्रो मान्छन्। यदि तैँले यी सबै कुरा स्पष्टसँग बुझ्न सकिस् भने, यदि तैँले त्यसलाई सही प्रकारले बुझ्न र कदर गर्न सकिस् भने, आजका र विगतका परमेश्वरबारे सही ज्ञान प्राप्त गर्नेछस् र यो नयाँ ज्ञान सम्पूर्ण इतिहासका सन्तहरूमा भएको परमेश्वरसम्बन्धी ज्ञानभन्दा उच्च हुनेछ। यदि तैँले आजको कामको अनुभव गर्छस् र आज परमेश्वरले व्यक्तिगत रूपमा बोल्नुभएका वाणीहरू सुन्छस्, तैपनि तँमा परमेश्वरबारे सम्पूर्ण ज्ञान छैन र तेरो खोज सधैँको जस्तै रहन्छ भने, र त्यसलाई तैँले कुनै नयाँ कुराले प्रतिस्थापन गर्दैनस् भने, विशेष गरी यदि तैँले विजयको यी सबै कामको अनुभव गर्छस्, तापनि अन्त्यमा तँमा कुनै पनि प्रकारको परिवर्तन देखिँदैन भने, के तेरो विश्वास केवल आफ्नो पेट भर्ने गरी रोटी खान खोज्ने मानिसहरूको जस्तो हुँदैन र? त्यस्तो अवस्थामा, त्यो विजयको कामले तँमा कुनै प्रभाव पारेको हुनेछैन। त्यसपछि, के तँ पनि हटाइनुपर्ने मानिसहरूमध्ये एक हुँदैनस् र?
जब विजयको सबै काम समाप्त हुन्छ, त्यसबेला तिमीहरू सबैले यो बुझ्नु आवश्यक हुन्छ कि परमेश्वर इस्राएलीहरूको मात्र नभई सृष्टि गरिएका सारा प्राणीहरूका पनि परमेश्वर हुनुहुन्छ। उहाँले इस्राएलीहरूलाई मात्र नभई सारा मानवजातिलाई नै सृष्टि गर्नुभएको हो। यदि तँ परमेश्वर इस्राएलीहरूका मात्र परमेश्वर हुनुहुन्छ वा परमेश्वरले इस्राएलदेखि बाहिर देहधारण गर्नु असम्भव छ भनेर भन्छस् भने, तैँले विजयको कामको क्रममा कुनै पनि ज्ञान हासिल गर्नु अझै बाँकी नै हुन्छ अनि परमेश्वर तेरा परमेश्वर हुनुहुन्छ भनी तैँले अलिकति पनि स्वीकार गर्दैनस्; तँ केवल यति बुझ्छस् कि परमेश्वर इस्राएलबाट चीन सर्नुभयो र उहाँलाई तेरा परमेश्वर हुन कर लगाइँदै छ। यदि अझै पनि तँ परिस्थितिलाई यसरी हेर्छस् भने, तँमा मेरो काम निष्फल भएको छ र मैले भनेको एउटै कुरा पनि तैँले बुझेको छैनस्। यदि आखिरीमा तैँले पनि मत्तीले जस्तै उपयुक्त पुर्खाहरू चुनेर, मेरो सही पूर्वज खोजेर—परमेश्वरका दुईवटा देहधारणमा उहाँका दुईवटा वंशावली छन् भनेर—मेरो अर्को वंशावली लेख्छस् भने के त्यो संसारमा सबैभन्दा ठूलो ठट्टा हुनेछैन र? के तँ मेरो वंशावली भेट्टाउने “राम्रै मनसाय भएको व्यक्ति”, परमेश्वरलाई विभाजन गर्ने व्यक्ति बनेको छैनस् र? के तँ यो पापको बोझ बोक्न सक्षम छस्? विजयका यी सबै कामपछि पनि यदि तँ अझै परमेश्वर सृष्टि गरिएका सबै प्राणीहरूका परमेश्वर हुनुहुन्छ भनी विश्वास गर्दैनस् भने, यदि तँ अझै पनि परमेश्वर इस्राएलीहरूका मात्र परमेश्वर हुनुहुन्छ भनी सोच्छस् भने, के तँ खुल्लमखुल्ला परमेश्वरको विरोध गर्ने व्यक्ति हुँदैनस् र? आज तँलाई जित्नुको उद्देश्य परमेश्वर तेरा परमेश्वर र अरूका पनि परमेश्वर हुनुहुन्छ भनी तँलाई स्वीकार गराउनु हो र सबैभन्दा महत्त्वपूर्ण कुरा, उहाँ उहाँलाई प्रेम गर्ने सबैका र सृष्टि गरिएका सबै प्राणीहरूका परमेश्वर हुनुहुन्छ भनी तँलाई स्वीकार गराउनु हो। उहाँ इस्राएलीहरूका परमेश्वर र मिश्रका मानिसहरूका परमेश्वर हुनुहुन्छ। उहाँ बेलायतीहरूका परमेश्वर र अमेरिकीहरूका परमेश्वर हुनुहुन्छ। उहाँ आदम र हव्वाका परमेश्वर मात्र हुनुहुन्न, उहाँ त तिनीहरूका सबै सन्तानहरूका पनि परमेश्वर हुनुहुन्छ। उहाँ स्वर्गमा भएका सबै थोक र पृथ्वीमा भएका सबै थोकका परमेश्वर हुनुहुन्छ। सबै परिवारहरू, चाहे ती इस्राएली हुन् वा अन्यजातिहरू, सबै एकै परमेश्वरका हातमा छन्। उहाँले हजारौं वर्षसम्म इस्राएलमा काम मात्र गर्नुभएन र उहाँ एक पटक यहूदियामा जन्मनुभएको मात्र होइन, उहाँ त आज चीनमा ओर्लनुभएको छ, यो त्यही ठाउँ हो जहाँ ठूलो रातो अजिङ्गर गुँडुलिएर बसेको छ। यदि यहूदियामा जन्म भएकोले उहाँलाई यहूदीहरूका राजा बनाइयो भने, के उहाँ तिमीहरू सबैका माझमा ओर्लनुभएको कुराले उहाँलाई तिमीहरू सबैका परमेश्वर बनाउँदैन र? उहाँले इस्राएलीहरूलाई डोर्याउनुभयो र उहाँ यहूदियामा जन्मनुभएको थियो र अन्यजाति देशमा पनि जन्मनुभएको छ। के उहाँले गर्नुभएका सबै काम उहाँले सृष्टि गर्नुभएको सम्पूर्ण मानवजातिका लागि होइन र? के उहाँले इस्राएलीहरूलाई सय गुणा प्रेम र अन्यजातिहरूलाई हजार गुणा घृणा गर्नुहुन्छ? के यो तिमीहरूको धारणा होइन र? यो कुरा परमेश्वर कहिले पनि तिमीहरूका परमेश्वर हुनुहुन्नथियो भन्ने होइन, बरु तिमीहरूले उहाँलाई स्वीकार गर्दैनौ भन्ने हो; परमेश्वर तिमीहरूका परमेश्वर बन्न अनिच्छुक हुनुहुन्छ भन्ने होइन, बरु तिमीहरूले उहाँलाई अस्वीकार गर्छौ भन्ने हो। सृष्टि गरिएका प्राणीहरूमध्ये कोचाहिँ सर्वशक्तिमान्को हातमा छैन र? आज तिमीहरूलाई जित्नुको उद्देश्य परमेश्वर केवल तिमीहरूकै परमेश्वर हुनुहुन्छ भनी तिमीहरूलाई स्वीकार गर्न लाउनु होइन र? यदि तिमीहरू अझै पनि परमेश्वर इस्राएलीहरूका मात्र परमेश्वर हुनुहुन्छ र इस्राएलका दाऊदको घराना परमेश्वरको जन्मको उत्पत्ति हो र इस्राएलबाहेक अरू कुनै पनि राष्ट्र परमेश्वरलाई “जन्माउन” योग्य छैन भनी विचार गर्छौ भने, र अन्यजाति परिवारले यहोवाको कामलाई व्यक्तिगत रूपमा स्वीकार गर्ने कुरा त परै छाडौं भनेर भन्छौ भने—यदि तँ अझै पनि यस्तै विचार गर्छस् भने, के त्यसले तँलाई हठी विरोधी बनाउँदैन र? सधैँ इस्राएलमा नै केन्द्रित नहोऊ। परमेश्वर आज यहाँ तिमीहरूमाझ हुनुहुन्छ। तैँले स्वर्गतिर नै हेरिरहनु पर्दैन। स्वर्गमा हुनुहुने परमेश्वरको तृष्णा नगर! परमेश्वर तिमीहरूको माझमा आउनुभएको छ अनि उहाँ कसरी स्वर्गमा हुन सक्नुहुन्छ? तैँले धेरै लामो समयदेखि परमेश्वरमा विश्वास गरेको छैनस्, तापनि उहाँबारे तँसित धेरै वटा धारणाहरू छन्, यहाँसम्म कि तँ एकै क्षण पनि इस्राएलीहरूका परमेश्वरले उहाँको उपस्थितिद्वारा तिमीहरूलाई अनुग्रहित पार्ने कृपा गर्नुहुन्न भनी सोच्ने साहस गर्दैनस्। तिमीहरू असाध्यै फोहोरी भएकोले गर्दा, परमेश्वर तिमीहरूकहाँ व्यक्तिगत रूपमा कसरी देखा पर्नुहुन्छ भन्ने कुरा सोच्न तिमीहरूले साहस गर्छौ भन्ने त कुरै नगरौँ। न त तिमीहरूले कहिल्यै अन्यजाति देशमा परमेश्वर व्यक्तिगत रूपले ओर्लन सक्नुहुन्छ भनेर नै सोचेका छौ। उहाँ त सीनै पर्वतमा वा जैतून डाँडामा ओर्लनुपर्ने र इस्राएलीहरूकहाँ देखा पर्नुपर्ने हो। के अन्यजातिहरू सबै (अर्थात्, इस्राएलदेखि बाहिरका मानिसहरू) उहाँको घृणाका पात्रहरू होइनन् र? उहाँले कसरी व्यक्तिगत रूपमा उनीहरूका माझमा काम गर्न सक्नुहुन्छ? यी त तिमीहरूले धेरै वर्षदेखि विकास गर्दै आएका, तिमीहरूभित्र गहिरो जरा गाडेका धारणाहरू हुन्। आज तिमीहरूलाई जित्नुको उद्देश्य तिमीहरूका ती धारणाहरूलाई चकनाचूर पार्नु हो। यसरी तिमीहरूले सीनै पर्वतमा वा जैतून डाँडामा होइन, बरु उहाँले कहिल्यै नडोर्याउनुभएका, तिमीहरूको माझमा परमेश्वरको व्यक्तिगत आगमनलाई देख्छौ। परमेश्वरले इस्राएलमा उहाँका दुई चरणको काम सम्पन्न गर्नुभएपछि, इस्राएलीहरू र सबै अन्यजातिहरूले परमेश्वरले सबै थोक सृष्टि गर्नुभएको भए पनि, उहाँ केवल इस्राएलीहरूका निम्ति मात्र परमेश्वर हुन चाहनुहुन्छ, अन्यजातिहरूका निम्ति होइन भन्ने धारणा राखे। इस्राएलीहरू निम्न कुरा विश्वास गर्छन्: परमेश्वर हाम्रो मात्र परमेश्वर हुन सक्नुहुन्छ, तिमीहरू अन्यजातिहरूका परमेश्वर हुनुहुन्न र तिमीहरूले यहोवाको डर नमानेकाले, यहोवा हाम्रा परमेश्वरले तिमीहरूलाई घृणा गर्नुहुन्छ। ती यहूदी मानिसहरूले निम्न कुरामा पनि विश्वास गर्दछन्: प्रभु येशूले हामी यहूदी जातिको रूप धारण गर्नुभयो र उहाँ यहूदी मानिसहरूको चिह्न बोक्नुहुने परमेश्वर हुनुहुन्छ। हाम्रो माझमा नै परमेश्वरले काम गर्नुहुन्छ। परमेश्वरको स्वरूप र हाम्रो स्वरूप समान छन्; हाम्रो स्वरूप परमेश्वरको स्वरूप नजिक छ। प्रभु येशू हामी यहूदीहरूका राजा हुनुहुन्छ; अन्यजातिहरू त्यस्तो ठूलो मुक्ति पाउन योग्य छैनन्। प्रभु येशू हामी यहूदीहरूका लागि पापबलि हुनुहुन्छ। कामका ती दुई चरणको आधारमा इस्राएलीहरू र यहूदी मानिसहरूले यी सबै धारणाहरू स्थापित गरे। तिनीहरू धाक जमाउँदै परमेश्वर तिनीहरूका आफ्नै हुनुहुन्छ भनी दाबी गर्छन्, तिनीहरू परमेश्वरलाई अन्यजातिहरूका परमेश्वर हुन दिँदैनन्। यसरी, अन्यजातिहरूका हृदयमा परमेश्वर एउटा रिक्त स्थानको रूपमा रहनुभयो। तिनीहरू सबैले परमेश्वर अन्यजातिहरूका परमेश्वर हुन चाहनुहुन्न र उहाँले इस्राएलीहरू—उहाँका चुनिएका मानिसहरू—र यहूदी मानिसहरू, विशेष गरी उहाँलाई पछयाउने चेलाहरू मात्र मन पराउनुहुन्छ भनी विश्वास गरेका कारणले यस्तो भएको हो। के तँलाई यहोवा र येशूले गर्नुभएको काम सम्पूर्ण मानवजातिलाई बचाउनका लागि हो भन्ने थाहा छैन? के तँ अब परमेश्वर इस्राएलबाहिर जन्मेका तिमीहरू सबैका परमेश्वर हुनुहुन्छ भनी स्वीकार गर्छस्? के परमेश्वर आज यहाँ तिमीहरूको माझमा हुनुहुन्न र? यो सपना हुन सक्दैन, सक्छ त? के तिमीहरू यो वास्तविकतालाई स्वीकार गर्दैनौ? तिमीहरू यसलाई विश्वास गर्ने वा त्यसबारे विचार गर्ने आँट गर्दैनौ। तिमीहरूले यसलाई जसरी हेरे पनि, के परमेश्वर यहाँ तिमीहरूको माझमा हुनुहुन्न र? के तिमीहरू अझै पनि यी वचनहरू विश्वास गर्न डराउँछौ? यस दिनदेखि यता, के सबै जितिएका मानिसहरू र परमेश्वरको अनुयायी बन्न चाहनेहरू परमेश्वरका चुनिएका जनहरू होइनन् र? तिमीहरू सबै, जो आज अनुयायीहरू हौ, के तिमीहरू इस्राएलदेखि बाहिरका चुनिएका जनहरू होइनौ र? के तिमीहरूको हैसियत पनि इस्राएलीहरूको जस्तै छैन र? तिमीहरूले स्वीकार गर्नुपर्ने कुरा के यही होइन र? के तिमीहरूलाई जित्ने कामको लक्ष्य यही होइन र? तिमीहरूले परमेश्वरलाई देख्न सक्ने भएकोले, उहाँ सुरुदेखि र भविष्यमा पनि, सदासर्वदा तिमीहरूको परमेश्वर बन्नुहुनेछ। जबसम्म तिमीहरू उहाँलाई पछयाउने, उहाँका बफादार, समर्पित सृजित प्राणीहरू हुने इच्छा गरिरहन्छौ, तबसम्म उहाँले तिमीहरूलाई त्याग्नुहुनेछैन।
मानिसहरू परमेश्वरलाई प्रेम गर्न जति नै महत्त्वाकाङ्क्षी भए पनि, तिनीहरू प्रायः आजको दिनसम्म उहाँलाई पछ्याउनमा समर्पित रहँदै आएका छन्। अन्त्य नभएसम्म, कामको यो चरण समाप्त नहुञ्जेल, तिनीहरूले पूर्ण रूपमा पश्चात्ताप गर्नेछन्। त्यही बेला नै हो जब मानिसहरू साँच्चै जितिनेछन्। अहिले, तिनीहरू केवल विजयको प्रक्रियामा छन्। जुन क्षण काम समाप्त हुन्छ, तिनीहरू पूर्ण रूपमा जितिनेछन्, तर अहिलेको अवस्था त्यो होइन! सबै जना विश्वस्त भए पनि, त्यसको अर्थ तिनीहरू पूर्ण रूपमा जितिएका छन् भन्ने होइन। किनकि वर्तमानमा, मानिसहरूले केवल वचनहरू देखेका छन्, र तथ्यात्मक घटनाहरू देखेका छैनन्, र तिनीहरूले जति नै गहिरो रूपमा विश्वास गरे पनि, तिनीहरू अनिश्चित नै रहन्छन्। यसैले अन्तिम तथ्यात्मक घटनासँग मात्र, वचनहरू वास्तविकता बनेपछि मात्र, मानिसहरू पूर्ण रूपले जितिनेछन्। अहिले, यी मानिसहरू जितिन्छन्, किनकि तिनीहरूले धेरै रहस्यहरू सुन्छन् जुन तिनीहरूले पहिले कहिल्यै सुनेका थिएनन्। तर तिनीहरू प्रत्येक र हरेकभित्र, तिनीहरूले अझै केही तथ्यात्मक घटनाहरूलाई हेरिरहेका र पर्खिरहेका छन्, जसले तिनीहरूलाई परमेश्वरको प्रत्येक वचन वास्तविक भएको देखाउँछ। तब मात्र तिनीहरू पूर्ण रूपमा विश्वस्त हुनेछन्। अन्त्यमा, जब सबैले यथार्थ बनेका वास्तविकताहरू देखेका हुन्छन् र यी वास्तविकताहरूले तिनीहरूलाई निश्चित महसुस गराएका हुन्छन्, तब तिनीहरूका हृदय, तिनीहरूका बोलीवचन र तिनीहरूका आँखाहरूले दृढ विश्वास देखाउँछन् र तिनीहरू हृदयको गहिराइबाट पूर्ण रूपले विश्वस्त हुन्छन्। मानिसको स्वभाव यस्तो हुन्छ: तिमीहरूले यी वचनहरू सबै सत्य हुँदै आएको देख्नु आवश्यक छ, तिमीहरूले केही तथ्यात्मक घटनाहरू भइरहेको देख्नु आवश्यक छ र केही मानिसहरूमाथि विपत्ति आइपरेको देख्नु आवश्यक छ र त्यसपछि तिमीहरू भित्रैदेखि पूर्ण रूपमा विश्वस्त हुनेछौ। यहूदीहरूजस्तै, तिमीहरू पनि चिन्ह र आश्चर्यकर्महरू देख्ने कुरामै केन्द्रित हुन्छौ। तर तिमीहरू चिन्ह र आश्चर्यकर्महरू छन् र तिमीहरूका आँखा ठूलो गरी खोल्नका लागि वास्तविकताहरू घटित भइरहेका छन् भनी बुझ्न निरन्तर असफल भएका छौ। चाहे त्यो आकाशबाट ओर्लंदै गरेको कोही होस् वा तिमीहरूसँग बोल्ने बादलको खामो होस्, वा तिमीहरूमध्ये कोही एकको लागि मैले गरेको मन्त्रतन्त्र होस् वा तिमीहरूमाझ मेरो मेघगर्जनजस्तो गहिरो सोर होस्, तिमीहरूले सधैँ यस किसिमको घटना सधैँ देख्न चाहेका छौ र सधैँ देख्न चाहनेछौ। के भन्न सकिन्छ भने, परमेश्वरमा विश्वास गर्दा तिमीहरूको सबैभन्दा ठूलो इच्छा परमेश्वर आऊन् र तिमीहरूलाई व्यक्तिगत रूपमा एउटा चिन्ह देखाऊन् भन्ने हो। अनि तिमीहरू सन्तुष्ट हुनेछौ। तिमी मानिसहरूलाई जित्नका लागि, मैले स्वर्ग र पृथ्वीको सृष्टिमा गरेको जस्तै काम गर्नुपर्दछ र त्यसबाहेक, तिमीहरूलाई कुनै प्रकारको चिन्ह देखाउनुपर्छ। त्यसपछि तिमीहरूका हृदयहरू पूर्ण रूपमा जितिनेछ।