देहधारी परमेश्वर र परमेश्वरद्वारा प्रयोग भएका मानिसहरूका बीचका सारगत भिन्नता
परमेश्वरको आत्माले पृथ्वीमा काम गर्दै खोजी गरिरहनुभएको धेरै वर्ष भइसक्यो, र युगौँयुग र पुस्तौँपुस्ताभरि परमेश्वरले आफ्नो काम गर्नका लागि प्रयोग गर्नुभएका मानिसहरू धेरै छन्। तैपनि यतिका समय, परमेश्वरको आत्माले कुनै उपयुक्त विश्रामस्थान पाउनुभएको छैन, त्यसैकारण परमेश्वर आफ्नो काम गर्नका लागि फरक-फरक मानिसहरूमाझ सर्नुहुन्छ। समग्रमा भन्दा, उहाँको काम मानिसहरूमार्फत नै गरिन्छ। भन्नुको मतलब, यतिका वर्षमा, परमेश्वरको काम कहिल्यै रोकिएको छैन, बरु यो आजको दिनसम्म मानिसहरूमा निरन्तर अघि बढाइएको छ। परमेश्वरले यति धेरै वचन बोल्नुभएको र यति धेरै काम गर्नुभएको भए पनि, मानिस अझै पनि परमेश्वरलाई चिन्दैन, र यो सबै परमेश्वर मानिससामु कहिल्यै देखा नपर्नुभएको कारणले र उहाँको कुनै मूर्त रूप नभएको कारणले गर्दा पनि हो। त्यसैले परमेश्वरले यो कामलाई—सबै मानिसलाई व्यावहारिक परमेश्वरको व्यावहारिक महत्त्व जान्न लगाउने कामलाई—पूर्णता दिनैपर्छ। यो उद्देश्य हासिल गर्न, परमेश्वरले आफ्नो आत्मालाई मानवतासामु मूर्त रूपमा प्रकट गर्नैपर्छ र तिनीहरूमाझ आफ्नो काम गर्नैपर्छ। अर्थात्, जब परमेश्वरको आत्मा एउटा स्वरूपमा, मासु र हड्डीमा, र मूर्त स्वरूप बोकेर मानिसहरूमाझ हिँड्नुहुन्छ, तिनीहरूको जीवनमा तिनीहरूसँगै रहेर कहिले प्रकट हुँदै त कहिले लुक्दै गर्नुहुन्छ, तब मात्रै मानिसहरू उहाँबारे अझ गहिरो बुझाइमा पुग्न सक्षम हुन्छन्। यदि परमेश्वर देहमा मात्रै रहनुभएको भए, उहाँले आफ्नो कामलाई पूर्ण रूपमा सम्पन्न गर्न सक्नुहुनेथिएन। अनि देहमा केही समय काम गरेपछि, देहमा गरिनुपर्ने सेवकाइ पूरा गरेपछि, परमेश्वरले ठीक त्यसरी नै देहलाई छोड्नुहुनेछ र देहको स्वरूपमा आत्मिक क्षेत्रमा काम गर्नुहुनेछ, जसरी येशूले सामान्य मानवतामा केही समय काम गरेपछि र उहाँले पूरा गर्नुपर्ने सबै काम पूरा गरेपछि त्यसो गर्नुभएको थियो। तिमीहरूलाई “मार्ग … (५)” को यो खण्ड याद हुन सक्छ: “मेरा पिताले मलाई यसो भन्नुभएको मलाई याद छ, ‘पृथ्वीमा, केवल तेरा पिताको इच्छालाई पछ्याउन खोज् र उहाँको आज्ञा पूरा गर्। तँसँग अरू केही पनि सम्बन्धित छैन।’” यस खण्डमा तँ के देख्छस्? जब परमेश्वर पृथ्वीमा आउनुहुन्छ, उहाँ ईश्वरत्वभित्रको आफ्नो काम मात्रै गर्नुहुन्छ, जुन स्वर्गीय आत्माले देहधारी परमेश्वरलाई सुम्पनुभएको कुरा हो। जब उहाँ आउनुहुन्छ, उहाँ फरक-फरक माध्यमहरूद्वारा र फरक-फरक दृष्टिकोणहरूबाट आफ्ना वाणीहरू व्यक्त गर्नका लागि संसारभरि बोल्ने काम मात्र गर्नुहुन्छ। उहाँ मुख्य रूपमा मानिसलाई आपूर्ति गर्ने र मानिसलाई सिकाउने कुरालाई आफ्नो लक्ष्य र काम गर्ने सिद्धान्तका रूपमा लिनुहुन्छ, र अन्तरवैयक्तिक सम्बन्धहरू वा मानिसहरूको जीवनका विवरणहरू जस्ता कुराहरूमा चासो राख्नुहुन्न। उहाँको मुख्य सेवकाइ भनेको आत्माको तर्फबाट बोल्नु हो। अर्थात्, जब परमेश्वरको आत्मा मूर्त रूपमा देहमा देखा पर्नुहुन्छ, उहाँ केवल मानिसको जीवनका लागि प्रबन्ध गर्नुहुन्छ र सत्यता प्रकट गर्नुहुन्छ। उहाँ मानिसको काममा संलग्न हुनुहुन्न, अर्थात्, उहाँ मानवताको काममा सहभागी हुनुहुन्न। मानिसहरू ईश्वरत्वको काम गर्न सक्दैनन्, र परमेश्वर मानव काममा सहभागी हुनुहुन्न। परमेश्वर आफ्नो काम गर्न यस पृथ्वीमा आउनुभएदेखि यी सबै वर्षमा, उहाँले सधैँ मानिसहरूमार्फत नै उक्त काम गर्नुभएको छ। तर, यी मानिसहरूलाई देहधारी परमेश्वर मान्न सकिँदैन—परमेश्वरद्वारा प्रयोग गरिएका मानिस मात्रै मान्न सकिन्छ। यसैबीच, आजका परमेश्वर सिधै ईश्वरत्वको दृष्टिकोणबाट बोल्न सक्नुहुन्छ, आत्माको आवाज व्यक्त गर्न र आत्माको तर्फबाट काम गर्न सक्नुहुन्छ। जसलाई युगौँयुग र पुस्तौँपुस्ताभरि परमेश्वरले प्रयोग गर्नुभएको छ तिनीहरू सबै, त्यसरी नै, परमेश्वरको आत्माले दैहिक शरीरभित्र काम गर्नुका उदाहरणहरू हुन्—त्यसैले तिनीहरूलाई किन परमेश्वर भन्न सकिँदैन? तर आजका परमेश्वर पनि सिधै देहमा काम गर्ने परमेश्वरको आत्मा नै हुनुहुन्छ, र येशू पनि देहमा काम गर्ने परमेश्वरको आत्मा नै हुनुहुन्थ्यो; उहाँहरू दुवैलाई परमेश्वर भनिन्छ। त्यसोभए के भिन्नता छ त? युगौँयुगभरि परमेश्वरले प्रयोग गर्नुभएका मानिसहरू सबै सामान्य सोचाइ र समझमा सक्षम थिए। तिनीहरू सबैले आफूलाई आचरणमा ढाल्ने र मामलाहरू सम्हाल्ने सिद्धान्तहरू बुझेका छन्। तिनीहरूसँग सामान्य मानव धारणाहरू थिए, र तिनीहरूमा सामान्य मानिसहरूमा हुनुपर्ने सबै कुरा थिए। तिनीहरूमध्ये धेरैजसोसँग असाधारण प्रतिभा र जन्मजात बौद्धिकता थियो। यी मानिसहरूमाथि काम गर्दा, परमेश्वरको आत्माले तिनीहरूका प्रतिभाहरूलाई उपयोग गर्नुहुन्छ, जुन तिनीहरूका वरदान हुन्। परमेश्वरको आत्माले तिनीहरूका प्रतिभाहरूलाई प्रयोगमा ल्याउनुहुन्छ, र तिनीहरूका सबलताहरूलाई परमेश्वरको सेवामा प्रयोग गर्नुहुन्छ। तर परमेश्वरको सार धारणा वा सोचाइरहित हुन्छ, मानव विचारहरू नमिसिएको हुन्छ, र यसमा सामान्य मानिसहरूमा हुने कुराहरू समेत हुँदैनन्। भन्नुको मतलब, उहाँ आफूलाई आचरणमा ढाल्ने र मामलाहरू सम्हाल्ने सिद्धान्तहरूसँग समेत परिचित हुनुहुन्न। आजका परमेश्वर पृथ्वीमा आउनुहुँदा यस्तै हुन्छ। उहाँको काम र उहाँका वचनहरूमा मानव विचार वा मानव सोचाइहरू मिसिएका हुँदैनन्, बरु ती त आत्माका विचारहरूका प्रत्यक्ष प्रकटीकरण हुन्, र उहाँ सिधै परमेश्वरको तर्फबाट काम गर्नुहुन्छ। यसको अर्थ आत्मा सिधै बोल्नुहुन्छ, अर्थात्, ईश्वरत्वले मानिसका विचारहरू अलिकति पनि नमिसाई सिधै काम गर्छ। अर्को शब्दमा भन्दा, देहधारी परमेश्वरले सिधै ईश्वरत्वलाई मूर्तरूप दिनुहुन्छ, उहाँ मानव सोचाइ वा धारणाहरूरहित हुनुहुन्छ, र उहाँले संसारसँग व्यवहार गर्ने मानिसहरूका सिद्धान्तहरूको कुनै बुझाइ प्राप्त गर्नुभएको छैन। यदि ईश्वरत्वले मात्रै काम गरिरहेको हुन्थ्यो भने (अर्थात् यदि परमेश्वर स्वयम्ले मात्रै काम गरिरहनुभएको हुन्थ्यो भने), पृथ्वीमा कुनै पनि हालतमा परमेश्वरको काम अघि बढाइनेथिएन। त्यसैले जब परमेश्वर पृथ्वीमा आउनुहुन्छ, परमेश्वरले ईश्वरत्वमा गर्नुहुने कामसँग सहकार्य गर्दै मानवताभित्र काम गर्नका लागि थोरै सङ्ख्यामा मानिसहरू प्रयोग गर्नुभएकै हुन्छ। अर्को शब्दमा भन्दा, उहाँ ईश्वरत्वको कामलाई कायम राख्न मानवको काम प्रयोग गर्नुहुन्छ। त्यसो नभएको भए, मानिसले ईश्वरत्वको काममा सिधै संलग्न हुने कुनै उपाय हुनेथिएन। येशू र उहाँका चेलाहरूका हकमा पनि यस्तै थियो। येशू संसारमा रहनुभएको समयमा, उहाँले पुराना व्यवस्थाहरूलाई खारेज गर्नुभयो र नयाँ आज्ञाहरू स्थापित गर्नुभयो। उहाँले धेरै वटा वचन पनि बोल्नुभयो। यो सबै काम ईश्वरत्वमा गरियो। पत्रुस, पावल, र यूहन्ना जस्ता अरू सबैले येशूका वचनहरूको जगमा टेकेर त्यसपछिको आफ्नो काम गरे। जसको मतलब, परमेश्वरले त्यस युगमा आफ्नो प्रारम्भिक काम गर्नुभयो, र अनुग्रहको युगको सुरुवातलाई मार्गदर्शन गर्नुभयो; अर्थात्, उहाँले पुरानोलाई खारेज गर्दै नयाँ युगलाई मार्गदर्शन गर्नुभयो, र यी वचनहरू पनि पूरा गर्नुभयो: “परमेश्वर सुरु र अन्त्य हुनुहुन्छ।” अर्को शब्दमा भन्दा, मानिसले ईश्वरत्वको कामको जगमा मानवको काम गर्नैपर्छ। येशूले आफूले भन्नुपर्ने सबै कुरा भनिसकेपछि र पृथ्वीमा आफ्नो काम सकाउनुभएपछि, उहाँ मानिसलाई छोडेर जानुभयो। यसपछि, सबै मानिसले काम गर्दा उहाँका वचनहरूमा व्यक्त गरिएका सिद्धान्तहरूअनुसार गरे, र उहाँले चर्चा गर्नुभएका सत्यताहरूअनुसार अभ्यास गरे। यी सबै मानिसले येशूका लागि काम गरे। यदि येशू एक्लैले काम गरिरहनुभएको हुन्थ्यो भने, उहाँले जतिसुकै वचनहरू बोल्नुभएको भए पनि, मानिसहरूसँग उहाँका वचनहरूमा संलग्न हुने कुनै उपाय हुनेथिएन, किनभने उहाँ ईश्वरत्वमा काम गरिरहनुभएको थियो र ईश्वरत्वका वचनहरू मात्रै बोल्न सक्नुहुन्थ्यो, र उहाँले मानिसहरूलाई कुराहरू व्याख्या गरिदिन र सामान्य मानिसहरूलाई उहाँका वचनहरू बुझाउन सक्नुहुनेथिएन। त्यसैले उहाँले उहाँपछि आउने प्रेरित र अगमवक्ताहरूलाई उहाँको कामको पूरक बनाउनुपर्यो। यो नै देहधारी परमेश्वरले आफ्नो काम गर्ने सिद्धान्त हो—ईश्वरत्वको काम पूरा गर्नका लागि बोल्दा र काम गर्दा देहधारी शरीर प्रयोग गर्ने, र त्यसपछि उहाँको कामको पूरक बनाउन परमेश्वरका अभिप्रायहरूअनुरूप हुने थोरै, वा सायद अझ बढी, मानिस प्रयोग गर्ने। अर्थात्, परमेश्वरका चुनिएका मानिसहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सकून् भनेर परमेश्वरले मानवतामा रखवारी गर्ने र मलजल गर्ने काम गर्न आफ्ना अभिप्रायहरूअनुरूप रहेका मानिसहरू प्रयोग गर्नुहुन्छ।
यदि, परमेश्वर देहमा आउनुहुँदा, उहाँले ईश्वरत्वको काम मात्रै गर्नुभएको भए, र उहाँसँग सहकार्य गर्न उहाँका अभिप्रायहरूअनुरूपको कुनै मानिस नभएको भए, मानिस परमेश्वरका अभिप्रायहरू बुझ्न वा परमेश्वरसँग बातचित गर्न असमर्थ हुनेथियो। परमेश्वरले यो काम पूरा गर्न, मण्डलीहरूको हेरचाह गर्न र रखवारी गर्न आफ्ना अभिप्रायहरूअनुरूपका सामान्य मानिसहरूलाई प्रयोग गर्नैपर्छ, ताकि मानिसका संज्ञानात्मक प्रक्रियाहरूले अर्थात् उसको दिमागले कल्पना गर्न सक्ने स्तर हासिल गर्न सकियोस्। अर्को शब्दमा भन्दा, परमेश्वरले आफ्नो ईश्वरत्वभित्रै गर्नुहुने कामलाई आफ्ना अभिप्रायहरूअनुरूप रहेका थोरै मानिसलाई प्रयोग गरेर “अनुवाद” गर्नुहुन्छ, ताकि यसलाई स्पष्ट पार्न सकियोस्—ईश्वरीय भाषालाई मानव भाषामा रूपान्तरण गर्न सकियोस्, ताकि मानिसहरूले यसलाई बोध गर्न र बुझ्न सकून्। यदि परमेश्वरले त्यसो नगर्नुभएको भए, कसैले पनि परमेश्वरको ईश्वरीय भाषा बुझ्नेथिएन, किनभने परमेश्वरका अभिप्रायहरूअनुरूप हुने मानिसहरू आखिरमा अल्पसङ्ख्यक मात्रै छन्, र मानिसको बोध सामर्थ्य कमजोर छ। त्यसैकारण देहधारी शरीरमा काम गर्दा परमेश्वरले यो विधि रोज्नुहुन्छ। यदि ईश्वरत्वको काम मात्रै भएको भए, मानिसले कुनै पनि हालतमा परमेश्वरलाई चिन्न वा उहाँसँग कुराकानी गर्न सक्नेथिएन, किनभने मानिसले परमेश्वरको भाषा बुझ्दैन। मानिस त्यस्ता मानिसहरूका माध्यमबाट मात्र यो भाषा बुझ्न सक्षम हुन्छ जो परमेश्वरका अभिप्रायहरूअनुरूप छन्, जसले उहाँका वचनहरू प्रस्ट पारिदिन्छन्। तर, यदि मानवताभित्र काम गर्ने त्यस्ता मानिसहरू मात्रै हुन्थे भने, त्यसले मानिसको सामान्य जीवनलाई मात्रै कायम राख्न सक्थ्यो; त्यसले मानिसको स्वभावलाई रूपान्तरण गर्न सक्नेथिएन। परमेश्वरको कामको नयाँ सुरुवात बिन्दु हुन सक्दैनथियो; त्यहाँ उही पुराना गीतहरू, उही पुराना घिसापिटा कुराहरू मात्रै हुनेथिए। आफ्नो देहधारणको समयमा भन्नुपर्ने सबै कुरा भन्ने र गर्नुपर्ने सबै कुरा गर्ने देहधारी परमेश्वरको माध्यमबाट मात्र मानिसहरू उहाँका वचनहरूअनुसार काम गर्छन् र अनुभव गर्छन्, यसरी मात्रै तिनीहरूको जीवन स्वभाव परिवर्तन हुन सक्नेछ, र यसरी मात्रै तिनीहरू युगसँगै अघि बढ्न सक्षम हुनेछन्। जो ईश्वरत्वभित्र काम गर्नुहुन्छ उहाँ परमेश्वरको प्रतिनिधित्व गर्नुहुन्छ, जबकि जो मानवताभित्र काम गर्छन् तिनीहरू परमेश्वरद्वारा प्रयोग गरिने मानिस हुन्। अर्थात्, देहधारी परमेश्वर परमेश्वरद्वारा प्रयोग गरिने मानिसहरूभन्दा सारभूत रूपमा फरक हुनुहुन्छ। देहधारी परमेश्वर ईश्वरत्वको काम गर्न सक्षम हुनुहुन्छ, तर परमेश्वरद्वारा प्रयोग गरिने मानिसहरू सक्षम छैनन्। हरेक युगको सुरुमा, परमेश्वरको आत्माले मानिसलाई नयाँ सुरुवातमा ल्याउनका लागि व्यक्तिगत रूपमा बोल्नुहुन्छ र नयाँ युगको थालनी गर्नुहुन्छ। जब परमेश्वरले बोलिसक्नुहुन्छ, यसले ईश्वरत्वभित्रको उहाँको काम सम्पन्न भयो भन्ने सङ्केत गर्छ। त्यसपछि, मानिसहरू सबै आफ्नो जीवन अनुभवमा प्रवेश गर्न परमेश्वरद्वारा प्रयोग गरिएका मानिसहरूको अगुवाइलाई पछ्याउँछन्। त्यसैगरी, यो त्यही चरण पनि हो जसमा परमेश्वर मानिसलाई नयाँ युगमा ल्याउनुहुन्छ र मानिसहरूलाई नयाँ सुरुवात बिन्दु दिनुहुन्छ—जुन बेला देहमा गरिने परमेश्वरको काम समाप्त हुन्छ।
आफ्ना सामान्य मानवतालाई सिद्ध पार्न वा सामान्य मानवताको कार्य गर्न परमेश्वर पृथ्वीमा आउनुहुन्न। उहाँ सामान्य मानवतामा ईश्वरीय काम गर्नका लागि मात्र आउनुहुन्छ। सामान्य मानवताका बारेमा परमेश्वरले बोल्नुभएको कुरा मानिसहरूले कल्पना गरेकोजस्तो होइन। मानवले “सामान्य मानवतालाई” पति वा पत्नी, र छोराहरू र छोरीहरू हुनु हो भनेर परिभाषित गर्छ, जुनचाहिँ सामान्य व्यक्ति हुनुको प्रमाण हो; तथापि, परमेश्वरले यसरी हेर्नुहुन्न। उहाँले सामान्य मानवतालाई सामान्य मानव विचार, सामान्य मानव जीवन, र सामान्य मानिसहरूबाटको जन्मका रूपमा हेर्नुहुन्छ। तर उहाँको सामान्यतामा मानवले बोल्ने जस्ता पत्नी, पति, र सन्तानहरू हुनुलाई समान्यताको रूपमा समावेश गरिएको हुँदैन। अर्थात्, मानवका लागि परमेश्वरले बताउनुभएको सामान्य मानवताचाहिँ मानवले विचार गर्ने मानवताको अनुपस्थिति हो, येशूको जस्तो, झण्डै भावनाहरू नै नभएको र शारीरिक आवश्यकताहरूरहित जस्तो देखिने, उहाँका बाहिरी कुरा मात्र सामान्य व्यक्तिका जस्ता थिए र उहाँले सामान्य व्यक्तिको रूप लिनुभयो, तर वास्तवमा सामान्य व्यक्तिसँग हुनैपर्ने सबै कुराहरू उहाँमा थिएनन्। यसबाट यो देखिन सक्छ कि देहधारी परमेश्वरका सारतत्त्वले सामान्य मानवताको पूर्णतालाई नाघेको हुँदैन, तर सामान्य मानव जीवनका क्रियाकलापहरूलाई समर्थन गर्न र तर्कका सामान्य मानव शक्तिहरूलाई कायम गर्नका लागि मानिसहरूमा हुनैपर्ने कुराहरूको भाग मात्र हुन्छ। तर मानवले सामान्य मानवता भनी विचार गर्ने कुराहरूसँग यिनीहरूको कुनै सरोकार छैन। तिनीहरू देहधारी परमेश्वरमा हुनुपर्छ। तथापि, यदि देहधारी परमेश्वरका पत्नी, छोराछोरी, परिवार भए भने मात्र उहाँमा सामान्य मानवता रहेको हुन्छ भनी विचार गर्ने व्यक्तिहरू पनि छन्; यी कुराहरू विना उहाँ सामान्य व्यक्ति हुनुहुन्न भनी तिनीहरूले भन्ने गर्छन्। त्यसो भए म तिमीहरूसँग प्रश्न गर्छु, “के परमेश्वरकी पत्नी छिन्? के परमेश्वरसँग कुनै पति हुनु सम्भव छ? के परमेश्वरका छोराछोरी हुनसक्छन्?” के यी गल्ती कुराहरू होइनन्? तथापि, देहधारी परमेश्वर फुटेका चट्टानहरूका बीचबाट निस्कन सक्नुहुन्न वा आकाशबाट खस्न सक्नुहुन्न। उहाँ सामान्य मानव परिवारमा मात्र जन्मन सक्नुहुन्छ। त्यसैले त उहाँका आमाबुबा र दिदीबहिनीहरू छन्। देहधारी परमेश्वरका सामान्य मानवतामा यी कुराहरू हुनैपर्छ। येशूको विषयमा पनि यही भएको थियो; येशूका बुबा र आमा, बहिनीहरू र भाइहरू थिए, अनि यो सबै सामान्य थियो। तर यदि उहाँका पत्नी र छोराछोरीहरू भएका भए, देहधारी परमेश्वरमा हुनुपर्ने भनी परमेश्वरले उद्देश्य राख्नुभएका कुराहरूमा योचाहिँ सामान्य मानवता हुनेथिएन। यदि यसो भएको भए, उहाँले ईश्वरत्वको पक्षमा काम गर्न सक्नुहुनेथिएन। उहाँका पत्नी र छोराछोरीहरू थिएनन्, र पनि उहाँ सामान्य परिवारमा सामान्य मानिसहरूबाट जन्मनुभयो त्यसैले ठीक यही कारणले नै उहाँले ईश्वरत्वको कार्य गर्न सक्नुभयो। यसलाई अझ स्पष्ट पार्दा, परमेश्वरले जसलाई सामान्य व्यक्ति भनी विचार गर्नुहुन्छ, त्यो व्यक्ति सामान्य परिवारमा जन्मेको हुन्छ। यस्तो व्यक्ति मात्र ईश्वरीय काम गर्नका लागि योग्य हुन्छ। अर्कोतर्फ, यदि कुनै व्यक्तिका पत्नी, छोराछोरीहरू, वा पति छन्, ती व्यक्तिले ईश्वरीय काम गर्न सक्दैनन्, किनकि तिनीहरूमा परमेश्वरले माग गर्नुभएको सामान्य मानवता नभएर मानवले माग गरेको सामान्य मानवता मात्र हुन्छ। परमेश्वरले ठान्नुभएको कुरा, र मानिसहरूले बुझेका कुरामा प्राय ठूलो भिन्नता, लामो दूरी हुन्छ। परमेश्वरको कामको यस चरणमा, मानिसहरूका अवधारणहरूबाट यो धेरै विरोधमा र अति नै भिन्न हुन्छ। परमेश्वरको कामको यस चरण पूर्ण किसिमले नै व्यावहारिक रूपमा ईश्वरीय कार्य हो, जहाँ मानवले सहयोगीको भूमिका खेल्न सक्छ भनेर भन्न सकिन्छ। किनकि परमेश्वर आफ्नो काम गर्नका लागि आफै पृथ्वीमा आउनुहुन्छ र यसका लागि उहाँले कुनै पनि मानवलाई यसमा उसको हात लगाउन दिनुहुन्न, त्यसैले उहाँले आफ्नो काम पूरा गर्नका लागि आफैलाई देहधारण गर्नुहुन्छ (अपूर्ण र सामान्य व्यक्ति)। मानवजातिलाई नयाँ युग प्रस्तुत गर्न, उहाँको काममा भएको अर्को कदम मानवजातिलाई बताउन, र उहाँका वचनहरूमा वर्णन गरिएको मार्गअनुसार अभ्यास गर्नका लागि मानिसहरूलाई आग्रह गर्न उहाँले यस देहधारणलाई प्रयोग गर्नुहुन्छ। यसरी शरीरमा भएको परमेश्वरको काम पूरा भएको छ; उहाँ मानवजातिबाट प्रस्थान गर्न लाग्नुभएको छ, सामान्य मानवताको शरीरमा अब बसिरहनुहुन्न, तर उहाँको कामको अर्को भागमा जानका लागि मानवबाट अलग हुन लाग्नुभएको छ। तब आफ्ना अभिप्राय अनुसारका मानिसहरूलाई प्रयोग गरी, उहाँले मानिसहरूका यस समूहका बीचमा यस पृथ्वीमा आफ्नो काम निरन्तर गर्नुहुन्छ, तर तिनीहरूका मानवतामा गर्नुहुन्छ।
देहधारी परमेश्वर सधैँभरि मानवसँग बस्न सक्नुहुन्न किनकि परमेश्वरले गर्नुपर्ने अरू धेरै काम छन्। उहाँ शरीरमा बाँधिएर बस्न सक्नुहुन्न, उहाँले शरीरको रूपमा त्यो काम गर्नु भए पनि, उहाँले गर्नैपर्ने कामका लागि उहाँले शरीरलाई त्याग्नुपर्छ। परमेश्वर पृथ्वीमा आउनुहुँदा, उहाँ मर्न र मानवजातिलाई छोडेर जानुभन्दा पहिले सामान्य मानवले प्राप्त गर्नैपर्ने आकारमा उहाँ पुगुञ्जेल उहाँले पर्खेर बस्नुपर्दैन। उहाँको शरीर जति नै उमेरको भए पनि, उहाँको काम पूरा भएपछि, उहाँ जानुहुन्छ र मानवलाई छोड्नुहुन्छ। उहाँको निम्ति उमेर भन्ने हुँदैन, उहाँले मानव आयुअनुसार आफ्ना दिनहरू गर्नुहुन्न; यसको सट्टामा, उहाँका कामका चरणहरू अनुसार उहाँले शरीरमा भएको आफ्नो जीवनको अन्त्य गर्नुहुन्छ। शरीरमा आउनुहुने परमेश्वर खास उमेरसम्म वृद्धि हुनैपर्छ, वयस्कमा वृद्धि हुनैपर्छ, वृद्ध उमेरमा पुग्नुपर्छ, र त्यो शरीरले काम गर्न नसकेपछि मात्र छोड्नुपर्छ भनी अनुभूति गर्नेहरू पनि हुनसक्छन्। यो मानवको कल्पना हो; परमेश्वरले यसरी काम गर्नुहुन्न। उहाँले गर्नुपर्ने काम गर्नका लागि मात्र उहाँ शरीरमा आउनुहुन्छ, उहाँ आमाबाबुबाट जन्मन, हुर्कन, परिवार स्थापित गर्न र पेशा सुरु गर्न, छोराछोरीहरू जन्माउन र हुर्काउन, वा जीवनका उकाली-ओरालीहरू अनुभव गर्न—सामान्य मानवका सम्पूर्ण क्रियाकलापहरू गर्ने गरी सामान्य मानव जीवन जिउनका लागि आउनुहुन्न। परमेश्वर पृथ्वीमा आउनुहुँदा, परमेश्वरका आत्माले शरीर लिनुहुन्छ, शरीरमा आउनुहुन्छ, तर परमेश्वरले सामान्य मानवको जीवन जिउनुहुन्न। उहाँको व्यवस्थापनको योजनाको एक भाग पूरा गर्नका लागि मात्र उहाँ आउनुहुन्छ। त्यसपछि उहाँले मानवजातिलाई छोड्नुहुन्छ। उहाँ शरीरमा आउनुहुँदा, परमेश्वरका आत्माले शरीरका सामान्य मानवलाई सिद्ध पार्नुहुन्न। बरु, परमेश्वरले पूर्वनिर्णय गर्नुभएको समयमा नै, ईश्वरत्व सीधै काममा जानुहुन्छ। तब, उहाँले गर्न आवश्यक पर्ने सबै गर्नुभएपछि र उहाँको सेवा पूरा भएपछि, यस चरणमा हुने परमेश्वरको काम पूरा भएको हुन्छ, उहाँको शरीर यसको आयु अवधिसम्म रहे पनि वा नरहे पनि, यस बिन्दुमा देहधारी परमेश्वरको काम पनि टुङ्गिन्छ। त्यसो भन्नुको तात्पर्यचाहिँ, मासुको शरीर जीवनको जुनसुकै चरणमा पुगे पनि, पृथ्वीमा यो जति लामो समय बाँचे पनि, सबै कुराहरू आत्माको कामद्वारा नै निर्णय गरिएको हुन्छ। मानवले सामान्य मानवता भनी विचार गरेका कुरासँग यसको कुनै सम्बन्ध हुँदैन। उदाहरणका लागि येशूलाई लिनुहोस्। उहाँ साढे तेत्तीस वर्षसम्म शरीरमा जिउनुभयो। मानव शरीरको आयुको हिसाबमा, उहाँ त्यस उमेरमा मर्नु हुँदैनथ्यो, र उहाँले छोडेर जानु हुँदैनथ्यो। तर परमेश्वरका आत्माको लागि यो त्यति सरोकारको कुरा थिएन। उहाँको काम पूरा भएको थियो, त्यस बिन्दुमा शरीर लगियो, आत्मासँगै अलप भयो। यही सिद्धान्तद्वारा नै परमेश्वरले शरीरमा काम गर्नुहुन्छ। अनि यसलाई दृढतासाथ भन्नुपर्दा, देहधारी परमेश्वरको मानवता मुख्य महत्त्वको विषय होइन। यसलाई फेरि भन्दा, उहाँ सामान्य मानव प्राणीको जीवन जिउनका लागि यस पृथ्वीमा आउनुहुन्न। उहाँले सामान्य मानव जीवनलाई पहिले स्थापित गरेपछि काम गर्न सुरु गर्नुहुन्छ भन्ने होइन। बरु, उहाँ सामान्य मानव परिवारमा जन्मनुहुँदा, उहाँले ईश्वरीय काम गर्न सक्नुहुन्छ, जुन काम मानवका अभिप्रायहरूद्वारा दूषित पारिएको हुँदैन, अर्थात् शारीरिक हुँदैन, जसले समाजका तरिकाहरूलाई अपनाउँदैन वा मानवका विचारहरू र अवधारणाहरूलाई संलग्न गराउँदैन, र यसका अतिरिक्त, सांसारिक कुराहरूसँग सम्बन्धित मानिसको दर्शनलाई संलग्न गराउँदैन। देहधारी परमेश्वरले यही काम गर्ने अभिप्राय राख्नुभएको छ, अनि उहाँको देहधारणको व्यावहारिक महत्त्व पनि यही नै हो। अन्य सानातिना प्रक्रियाहरूबाट भएर नगई, र, सामान्य मानवका अनुभवहरू नलिई नै शरीरमा पूरा गर्नुपर्ने आवश्यक कामका चरणहरूलाई पूरा गर्न परमेश्वर मुख्यगरी शरीरमा आउनुहुन्छ। देहधारी परमेश्वरको शरीरले गर्नुपर्ने कार्यले सामान्य मानव अनुभवहरूलाई समावेश गर्दैन। यसैले परमेश्वरले शरीरमा पूरा गर्नका लागि आवश्यक पर्ने काम पूरा गर्नका खातिर उहाँ शरीरमा आउनुहुन्छ। बाँकी कुराहरूसँग उहाँको कुनै सम्बन्ध छैन, उहाँ विभिन्न सानातिना प्रक्रियाहरूद्वारा भएर जानुहुन्न। उहाँको काम पूरा भएपछि, उहाँको देहधारणको महत्त्व पनि अन्त्य हुन्छ। यो चरण पूरा गर्नुको अर्थ उहाँले शरीरमा गर्न आवश्यक पर्ने काम पूरा भएको छ, अनि उहाँको शरीरको सेवा पूरा भएको छ भन्ने हो। तर उहाँ अनिश्चितकालसम्म शरीरमा काम गरिरहन सक्नुहुन्न। उहाँ काम गर्नका लागि अर्को स्थानमा सर्नुपर्छ, जुनचाहिँ शरीरभन्दा बाहिरको स्थान हो। यसरी मात्र उहाँको काम पूर्ण रूपमा गर्न सकिन्छ, र महान् प्रभावको लागि यो अघि बढ्छ। परमेश्वरले आफ्नो सुरुको योजनाअनुसार काम गर्नुहुन्छ। कुन काम उहाँले गर्न आवश्यक छ र कुन काम उहाँले पूरा गर्नुभएको छ, सो कुरा उहाँलाई आफ्नो हतकेला जतिकै स्पष्टसँग थाहा छ। परमेश्वरले पहिल्यै निर्धारण गर्नुभएको बाटोमा हिँड्न उहाँले प्रत्येक व्यक्तिलाई अगुवाइ गर्नुहुन्छ। कोही पनि यसबाट उम्कन सक्दैन। परमेश्वरका आत्माको अगुवाइलाई पछ्याउनेहरू मात्र विश्राममा प्रवेश गर्न सक्नेछन्। पछिको काममा, मानवलाई अगुवाइ गर्नका लागि परमेश्वरले शरीरमा बोल्नुहुने कुरा हुनेछैन, तर मूर्त रूपमा आत्माले मानवको जीवनलाई अगुवाइ गर्नुहुनेछ भन्ने कुरा हुनसक्छ। तब मात्र मानवले ठोस रूपमा परमेश्वरलाई छुन सक्नेछ, परमेश्वरलाई हेर्नेछ, र परमेश्वरले माग गर्नुभएको यथार्थमा राम्रोसँग प्रवेश गर्नेछ, यसरी ऊ व्यावहारिक परमेश्वरद्वारा सिद्ध बनाइनेछ। यही कामलाई परमेश्वरले पूरा गर्ने अभिप्राय राख्नुभएको छ, अनि यही कुरालाई उहाँले लामो समयदेखि योजना गर्नुभएको हो। यसबाट, तिमीहरूले लिनैपर्ने बाटोलाई तिमीहरू सबैले देख्नैपर्छ!