तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्ने जान्‍नुपर्छ

छ हजार वर्षभन्दा लामो अवधिमा गरिएको कामको सम्पूर्णता फरक-फरक युग आउने र जाने क्रममा परिवर्तन भएको छ। यो कार्यको परिवर्तन संसारको समग्र स्थिति र मानवजातिको समग्र विकाससम्‍बन्धी प्रवाहहरूमा आधारित छ; व्यवस्थापन कार्य पनि सोहीअनुरूप बिस्तारै मात्रै परिवर्तन भएको छ। यी सबै सृष्टिको सुरुवातदेखि योजना गरिएको थिएन। संसारको सृष्टि हुनुभन्दा पहिले, वा त्यसपछि चाँडै, यहोवाले कार्यको पहिलो चरण अर्थात् व्यवस्थाको कार्य; कार्यको दोस्रो चरण अर्थात् अनुग्रहको कार्य; वा कार्यको तेस्रो चरण अर्थात् विजयको कार्य—जुन उहाँले सुरुमा मोआबका केही सन्तानबाट सुरु गर्नुहुनेथियो, र यसद्वारा सम्पूर्ण ब्रह्माण्ड विजय गर्नुहुनेथियो—त्यसको योजना बनाउनुभएको थिएन। संसारलाई सृष्टि गरिसकेपछि, उहाँले यी वचन कहिल्यै बोल्‍नुभएन, न त मोआबपछि नै ती उहाँले कहिल्यै बोल्‍नुभयो; वास्तवमा, लोतभन्दा पहिले, ती उहाँले कहिल्यै उच्‍चारण गर्नुभएन। परमेश्‍वरका सबै काम तत्‍कालीन रूपमा गरिन्छ। उहाँको व्यवस्थापनको सम्पूर्ण छ हजार वर्षे कार्यको विकास पनि ठीक यसरी नै भएको छ; उहाँले संसारको सृष्टि हुनुभन्दा पहिले कुनै पनि हालतमा “मानवजातिको विकासको सारांश चार्ट” जस्तो योजना लेख्‍नुभएन। परमेश्‍वरको कार्यमा, उहाँ जे हो त्यो प्रत्यक्ष रूपमा व्यक्त गर्नुहुन्छ; योजना बनाउन उहाँले आफ्‍नो दिमाग खियाउनुहुन्‍न। अवश्‍य नै, केही अगमवक्ताले निकै धेरै अगमवाणी बोलेका छन्, तर परमेश्‍वरको कार्य सधैँ नै सटीक योजनाअन्तर्गत नै रह्यो भन्‍न सकिँदैन; ती अगमवाणी परमेश्‍वरको त्यस समयको कार्यअनुसार गरिएका थिए। उहाँले गर्नुहुने सबै कार्य सबभन्दा वास्तविक कार्य हुन्छन्। उहाँले हरेक युगको विकासअनुसार यो गर्नुहुन्छ, र कामकुराहरू कसरी परिवर्तन हुन्छन् त्यसैको आधारमा गर्नुहुन्छ। उहाँको लागि, आफ्‍नो काम अघि बढाउनु भनेको रोगमा औषधी उपयुक्त हुनुजस्तै हो; उहाँले आफ्नो काम गर्ने क्रममा अवलोकन गर्नुहुन्छ, र त्यस अवलोकनअनुसार आफ्‍नो कार्य जारी राख्‍नुहुन्छ। आफ्‍नो कार्यको हरेक चरणमा, परमेश्‍वर आफ्‍नो प्रचुर बुद्धि र क्षमता व्यक्त गर्न सक्षम हुनुहुन्छ; उहाँले आफ्नो प्रशस्त बुद्धि र अख्तियार कुनै निश्‍चित युगको कार्यको आधारमा प्रकट गर्नुहुन्छ, र उहाँले त्यस युगमा फर्काएर ल्याउनुभएका सबैलाई उहाँको सम्पूर्ण स्वभाव देख्‍ने तुल्याउनुहुन्छ। आफूले जे काम गर्नुपर्ने हो, त्यो उहाँले हरेक युगमा गर्न आवश्यक रहेको कामअनुसार नै मानिसको खाँचो पूरा गर्नुहुन्छ। शैतानले जुन हदसम्‍म मानिसलाई भ्रष्ट तुल्याएको छ त्यहीअनुसार उहाँले तिनीहरूको खाँचो पूरा गरिदिनुहुन्छ। जसरी पृथ्वीमा परमेश्‍वरलाई प्रकट गर्न सकून् र तिनीहरूले सृष्टिको माझमा परमेश्‍वरको गवाही दिन सकून् भनेर यहोवाले प्रारम्भमा आदम र हव्‍वालाई सृष्टि गर्नुभयो, यो पनि त्यस्तै हो। तैपनि, सर्पको प्रलोभनमा परेपछि हव्‍वाले पाप गरिन्, र आदमले पनि त्यसै गरे; बगैँचामा, तिनीहरू दुवैले असल र खराबको ज्ञान दिने रूखको फल खाए। तसर्थ, यहोवाले तिनीहरूमा थप काम गर्नुपर्‍यो। तिनीहरूको नग्‍नता देखेपछि, उहाँले पशुका छालाबाट बनाइएको वस्‍त्रद्वारा तिनीहरूको शरीर ढाकिदिनुभयो। त्यसपछि उहाँले आदमलाई भन्‍नुभयो, “तैँले तेरी श्रीमतीको कुरा सुनेको छस्, र मैले तँलाई यसबाट नखानू भनेर आज्ञा दिएको रुखबाट खाएको छस् त्यसकारण: तँ भूमिमा नफर्कुञ्‍जेलसम्म … तेरो खातिर भूमि श्रापित भएको छ; किनभने तँ यसबाटै निकालिएको थिइस्: तँ धूलो होस् र तँ धूलोमै फर्कनेछस्।” त्यो स्‍त्रीलाई उहाँले भन्‍नुभयो, “म तेरा कष्ट र तेरो सुत्केरी-वेदनालाई ज्यादै बढाइदिनेछु; तैँले कष्टमा नै बच्चाहरू जन्माउनेछेस्; र तेरो इच्छा तेरो पतितिर हुनेछ, र त्यसले तँमाथि शासन गर्नेछ।” त्यसपछि, उहाँले तिनीहरूलाई अदनको बगैँचाबाट निकाल्‍नुभयो र अहिले जसरी आधुनिक मानिस पृथ्वीमा जिउँछन्, त्यसरी नै तिनीहरूलाई त्यसको बाहिरपट्टि जिउने तुल्याउनुभयो। प्रारम्‍भमा परमेश्‍वरले मानिसलाई सृष्टि गर्नुहुँदा सृष्टि भएपछि मानिसलाई सर्पद्वारा प्रलोभनमा पर्न दिने र त्यसपछि मानिस र सर्पलाई सराप्‍ने उहाँको योजना थिएन। उहाँसँग वास्तवमै त्यस्तो योजना थिएन; घटनाक्रम नै त्यसरी विकसित भयो जसले उहाँलाई उहाँको सृष्टिको बीचमा नयाँ काम गर्ने अवसर दियो। पृथ्वीमा आदम र हव्‍वाबीच यहोवाले आफ्‍नो काम गरिसक्‍नुभएपछि, मानवजाति हजारौं वर्षसम्‍म विकास तबसम्‍म भइरह्यो, जबसम्‍म “पृथ्वीमा मानिसको दुष्टता ठूलो थियो र उसको हृदयको विचारहरूको हरेक कल्पना निरन्तर रूपमा दुष्ट मात्र थियो भन्‍ने यहोवाले देख्‍नुभयो। अनि यहोवाले पृथ्वीमा मानिस बनाउनुभएकोमा अफसोस मान्नुभयो र आफ्‍नो हृदयमा उहाँ दुःखित हुनुभयो। … तर नोआले यहोवाको नजरमा अनुग्रह पाए।” यस पटक यहोवासँग गर्नुपर्ने धेरै नयाँ काम थियो, किनभने उहाँले सृष्टि गर्नुभएको मानवजाति सर्पको प्रलोभनमा परेपछि अत्यन्तै पापी बनेको थियो। यी परिस्‍थितिलाई ध्यानमा राख्दै, यहोवाले सारा मानवजातिको बीचबाट बचाउन नोआको परिवारलाई चुन्‍नुभयो, र त्यसपछि उहाँले जल-प्रलयद्वारा संसारलाई नष्ट गर्ने आफ्‍नो काम अघि बढाउनुभयो। आजका दिनसम्‍म पनि मानवजाति यही शैलीमा झन्-झन् भ्रष्ट हुँदै विकसित हुने काम जारी छ, अनि जब मानव यस्तो विकासको चरमबिन्दुमा पुग्छ, तब यसले मानवजातिको अन्त्य ल्याउनेछ। प्रारम्‍भदेखि संसारको अन्त्यसम्‍मै, उहाँको कार्यको आन्तरिक सत्यता सधैँ यस्तै रह्यो र सधैँ यस्तै रहनेछ। यो मानिसलाई कसरी तिनीहरूका प्रकारअनुसार वर्गीकरण गरिनेछ भन्ने जस्तै छ; यो, हरेक व्यक्ति सुरुमा नै निश्‍चित वर्गमा पर्नेछ भनी पूर्वनिर्धारण गरिएको भन्ने मामिलाभन्दा निकै परको कुरा हो; बरु, विकासको प्रक्रिया भएर गएपछि मात्रै हरेकलाई क्रमिक रूपमा वर्गीकरण गरिन्छ। अन्त्यमा, पूर्ण मुक्तिमा ल्याउन नसकिने हरेकलाई तिनीहरूका “पितापुर्खा”-कहाँ नै फर्काइन्छ। मानवजातिबीच परमेश्‍वरले गर्ने कुनै पनि कार्यको तयारी संसारको सृष्टि हुँदा नै गरिएको थिएन; बरु, परिस्थितिको विकासले नै परमेश्‍वरलाई मानवजातिको बीचमा चरणबद्ध अनि अझै वास्तविक र व्यावहारिक रूपमा आफ्‍नो काम गर्ने तुल्याएको छ। उदाहरणको लागि, यहोवा परमेश्‍वरले स्‍त्रीलाई प्रलोभन गर्न सर्पको सृष्टि गर्नुभएन; त्यो उहाँको निश्‍चित योजना थिएन, न त त्यो उहाँले जानी-जानी पहिले नै निर्धारित गर्नुभएको कुरा नै थियो। त्यो अनपेक्षित घटना थियो भनेर भन्‍न सकिन्छ। तसर्थ, यही कारणले यहोवाले आदम र हव्‍वालाई अदनको बगैँचाबाट निकाल्नुभयो र फेरि कहिल्यै मानिस सिर्जना नगर्ने शपथ खानुभयो। तैपनि, यही जगमा मात्रै मानिसले परमेश्‍वरको बुद्धि पत्ता लगाउँछन्। यो मैले यसभन्दा पहिले भनेको जस्तै हो: “म शैतानका षड्यन्त्रहरूअनुसार मेरो बुद्धि प्रयोग गर्छु।” मानवजाति जति भ्रष्ट भए पनि वा सर्पले तिनीहरूलाई जसरी प्रलोभन गरे पनि, यहोवासँग उहाँको बुद्धि छँदैछ; तसर्थ, संसारको सृष्टि गरेदेखि नै उहाँ नयाँ काममा संलग्‍न हुनुहुन्छ, र यो कार्यको कुनै पनि चरण कहिल्यै दोहोरिएको छैन। शैतानले निरन्तर रूपमा षड्यन्त्रहरू लागू गरेको छ, मानवजाति निरन्तर रूपमा शैतानद्वारा भ्रष्ट तुल्याइएका छन्, र यहोवा परमेश्‍वरले अटुट रूपमा आफ्‍नो बुद्धिमानी कार्य अघि बढाउनुभएको छ। संसारको सृष्टि गरेपछि उहाँ कहिल्यै असफल हुनुभएको छैन, न त उहाँले कहिल्यै काम गर्न नै छोड्नुभएको छ। मानिसहरू शैतानद्वारा भ्रष्ट तुल्याइएपछि, उहाँले भ्रष्टताको स्रोत अर्थात् त्यस शत्रुलाई विजय गर्न तिनीहरूका बीचमा काम गरिरहनुभएको छ। प्रारम्‍भदेखि नै यो युद्ध सुरु भएको छ, र संसारको अन्त्य भइञ्‍जेल जारी रहनेछ। यी सबै कार्य गर्ने क्रममा, यहोवा परमेश्‍वरले शैतानद्वारा भ्रष्ट तुल्याइएका मानिसलाई समेत उहाँको महान् मुक्ति प्राप्त गर्ने मात्र तुल्याउनुभएको छैन, तर तिनीहरूलाई उहाँको बुद्धि, सर्वशक्तिमान्‌ता र अख्तियार देख्‍ने पनि तुल्याउनुभएको छ। यसका साथै, अन्तिममा उहाँले दुष्टलाई दण्ड दिँदै र असललाई इनाम दिँदै, तिनीहरूलाई उहाँको धर्मी स्वभाव देखाउनुहुनेछ। उहाँले शैतानसँग आजको दिनसम्‍मै युद्ध गर्नुभएको छ र उहाँ कहिल्यै हार्नुभएको छैन। किनभने उहाँ बुद्धिमानी परमेश्‍वर हुनुहुन्छ, र उहाँले शैतानका षड्यन्त्रहरूका आधारमा आफ्‍नो बुद्धि प्रयोग गर्नुहुन्छ। त्यसकारण, परमेश्‍वरले स्वर्गमा भएका सबै कुरालाई उहाँको अख्‍तियारमा समर्पित हुने मात्रै तुल्याउनुहुन्‍न, तर उहाँले पृथ्वीका सबै कुरालाई उहाँको पाउदानमुनि राख्‍नुभएको छ र, निश्‍चित रूपमा मानवजातिलाई आक्रमण गर्ने र सताउने दुष्टलाई उहाँको सजायमा पर्ने तुल्याउनुहुन्छ। उहाँकै बुद्धिका कारण यी सबै कामका परिणाम आउँछन्। मानवजातिको अस्तित्वभन्दा पहिले उहाँले आफ्‍नो बुद्धिलाई कहिल्यै पनि प्रकट गर्नुभएको थिएन, किनभने स्वर्ग, पृथ्वी, वा ब्रह्माण्डमा कतै पनि उहाँको शत्रु थिएन, र प्रकृतिमा आक्रमण गर्ने कुनै पनि अन्धकारका शक्ति थिएन। प्रधान स्‍वर्गदूतले उहाँलाई धोका दिएपछि उहाँले पृथ्वीमा मानवजातिको सृष्टि गर्नुभयो, र मानवजातिकै कारण उहाँले प्रधान स्‍वर्गदूत अर्थात् शैतानसँगको सहस्राब्दीयौं लामो युद्ध—हरेक अर्को चरणसँगै अझै उग्र हुँदै जाने युद्ध—सुरु गर्नुभयो। यी हरेक चरणमा उहाँको सर्वशक्तिमान्‌ता र बुद्धि उपस्थित छन्। त्यसपछि मात्रै स्वर्ग र पृथ्वीका सबै चीजले परमेश्‍वरको बुद्धि, सर्वशक्तिमान्‌ता र खास गरी परमेश्‍वरको वास्तविकताको साक्षी देखेका छन्। उहाँले आजको दिनसम्‍म पनि यस्तै वास्तविक रूपमा आफ्‍नो काम गर्नुहुन्छ; साथै, उहाँले आफ्‍नो काम गर्ने क्रममा आफ्‍नो बुद्धि र सर्वशक्तिमान्‌तालाई पनि प्रकट गर्नुहुन्छ। उहाँले तिमीहरूलाई कार्यको हरेक चरणको भित्री सत्यता देख्‍ने, परमेश्‍वरको सर्वशक्तिमान्‌तालाई ठ्याक्कै व्याख्या गर्ने, साथै, परमेश्‍वरको वास्तविकताको अन्तिम व्याख्यालाई हेर्ने तुल्याउनुहुन्छ।

येशूलाई यहूदाले दिएको धोकाबारे कतिपय मानिसले सोच्‍ने गर्छन्: के यो संसारको सृष्टिभन्दा पहिले निर्धारित गरिएको थिएन र? वास्तवमा, समयको वास्तविकताको आधारमा नै पवित्र आत्माले यसको प्रबन्ध गर्नुभयो। संयोगवस यहूदा नाम भएको कुनै व्यक्तिले सधैँ कोष हिनामिना गर्थ्यो, त्यसकारण यस व्यक्तिलाई यही भूमिका निर्वाह गर्न र यसरी सेवा गर्नका लागि चुनियो। यो, स्थानीय स्रोत-साधनलाई प्रयोगमा ल्याउने साँचो उदाहरण थियो। सुरुमा येशू यसबारे अनभिज्ञ हुनुहुन्थ्यो; पछि, यहूदाको बारेमा पर्दाफास गरिएपछि मात्रै येशूले यसबारे थाहा पाउनुभयो। यो भूमिका निर्वाह गर्न सक्‍ने अरू कुनै व्यक्ति भएको भए, यहूदाको सट्टा त्यही व्यक्तिले यसो गर्नेथियो। वास्तवमा पूर्वनिर्धारित कुरा पवित्र आत्‍माले त्यही क्षणमा गर्नुभएको काम थियो। पवित्र आत्माको काम सधैँ तत्कालीन रूपमा गरिन्छ; उहाँले कुनै पनि समयमा आफ्‍नो योजना बनाउन सक्‍नुहुन्छ, र यसलाई कुनै पनि समय अघि बढाउन सक्‍नुहुन्छ। पवित्र आत्‍माको कार्य वास्तविक छ, र यो सधैँ नयाँ हुन्छ, कहिल्यै पुरानो हुँदैन, र यो सधैँ उच्‍च हदसम्मै ताजा हुन्छ भनेर म सधैँ किन भन्छु? संसारको सृष्टि हुँदा पहिले नै उहाँको कामको योजना गरिएको थिएन; त्यो पटक्कै भएको होइन! कामको हरेक चरणले यसको सम्‍बन्धित समयमा उचित प्रभाव प्राप्त गर्छ, र ती चरणहरूले एकअर्कालाई हस्तक्षेप गर्दैनन्। धेरै पटक, पवित्र आत्माको हालैको कामसँग तेरो मनमा भएका योजनाहरू तुलनायोग्य हुँदैनन्। उहाँको काम मानिसले यो यस्तो हुनुपर्छ भनेर तर्क गरेजस्तो सरल छैन, न त यो, मानिसले कल्‍पना गरेजस्तो जटिल नै छ—यसमा मानिसलाई तिनीहरूको त्यतिबेलाको आवश्यकताअनुसार कुनै पनि समय र कुनै पनि स्थानमा आपूर्ति गर्ने कार्य समावेश हुन्छ। मानिसको सारबारे उहाँ जत्ति स्पष्ट अरू कोही छैन, र त्यही कारणले मानिसको यथार्थ खाँचोका निम्ति उहाँले गर्ने काम जत्तिको उपयुक्त अरू केही हुँदैन। त्यसकारण, मानव परिप्रेक्ष्यबाट विचार गर्दा, उहाँको काम कैयौं सहस्राब्दीपहिले नै योजना गरिएको जस्तो देखिन सक्छ। अहिले उहाँले तिमीहरूबीच काम गर्नुहुँदा, तिमीहरू जुन स्थितिमा छौ त्यसलाई हेर्दै काम गर्ने र बोल्‍ने गर्नुहुन्छ, त्यस क्रममा उहाँले मानिसहरूलाई जे खाँचो छ त्यहीअनुसारको वचन बोल्दै, आइपर्ने हरेक स्थितिमा सही वचनहरू बोल्‍नुहुन्छ। उहाँको कामको पहिलो चरणलाई लिऔं: सजायको समय। त्यसपछि, परमेश्‍वरले उहाँको कामलाई मानिसहरूले प्रदर्शन गरेको कुरा, तिनीहरूको विद्रोहीपन, तिनीहरूबाट निस्कने सकारात्मक अवस्थाहरू र नकारात्मक अवस्थाहरू, साथै तिनीहरू नकारात्मकताको निश्चित बिन्दुमा आइपुग्दा खस्किने सबैभन्दा तल्‍लो सीमाको आधारमा सञ्चालन गर्नुभयो; अनि उहाँले आफ्‍नो कामबाट अझै राम्रो परिणाम हासिल गर्न ती कुरालाई पकडमा राख्नुभयो। अर्थात्, कुनै निश्‍चित समयमा तिनीहरूको तत्कालीन अवस्था कस्तो छ त्यहीअनुसार उहाँले मानिसहरूबीच दिगो काम गर्नुहुन्छ; मानिसहरूका वास्तविक अवस्थाहरूअनुसार उहाँले आफ्‍नो कामको हरेक चरणलाई अघि बढाउनुहुन्छ। सम्पूर्ण सृष्टि उहाँकै हातमा छ; उहाँले कसरी तिनीहरूलाई नचिन्‍न सक्‍नुहुन्छ? परमेश्‍वरले गर्नुपर्ने कामको अर्को चरण कुनै पनि समयमा र कुनै पनि स्थानमा मानिसहरूका अवस्थाहरूअनुसार गर्नुहुन्छ। कुनै पनि हालतमा यो काम हजारौं वर्षपहिले योजना गरिएको थिएन; त्यो त मानव धारणा हो! उहाँले आफ्‍नो कामका प्रभावहरूको अवलोकन गर्दै काम गर्नुहुन्छ, र उहाँको काम निरन्तर रूपमा गहन र विकसित हुँदै जान्छ; हरेक पटक, आफ्नो कामका परिणामहरू अवलोकन गरिसकेपछि, उहाँले आफ्‍नो कामको अर्को चरण कार्यान्वयन गर्नुहुन्छ। क्रमिक रूपमा परिवर्तन गर्न र समय बित्दै जाँदा मानिसहरूलाई उहाँको नयाँ काम देखाउन उहाँले धेरै कुराहरूको प्रयोग गर्नुहुन्छ। कार्य गर्ने यो शैलीले मानिसहरूको खाँचो पूरा गर्न सक्छ, किनभने परमेश्‍वर मानिसहरूलाई एकदमै राम्ररी चिन्‍नुहुन्छ। उहाँले स्वर्गबाट आफ्‍नो काम यसरी नै गर्नुहुन्छ। त्यसै गरी, यसरी नै देहधारी परमेश्‍वरले वास्तविक परिस्‍थितिहरूअनुसार बन्दोबस्त गर्दै र मानिसहरूबीच काम गर्दै आफ्‍नो काम गर्नुहुन्छ। उहाँको कुनै पनि काम संसारको सृष्टि गरिनुभन्दा पहिले नै बन्दोबस्त गरिएको थिएन, न त यसबारे पहिले नै सतर्कताको साथ योजना नै गरिएको थियो। संसारको सृष्टि गरिएको दुई हजार वर्षपछि, यहोवाले मानवजाति यति धेरै भ्रष्ट भएको देख्‍नुभयो कि व्यवस्थाको युग समाप्त भएपछि, यहोवाले अनुग्रहको युगमा मानवजातिलाई छुटकारा दिने आफ्‍नो काम गर्नुहुनेछ भनेर भविष्यवाणी गर्न उहाँले अगमवक्ता यशैयाको मुख प्रयोग गर्नुभयो। अवश्य नै, यो यहोवाको योजना थियो, तर यो योजना पनि त्यो समय उहाँले अवलोकन गरिरहनुभएका परिस्‍थितिहरूअनुसार नै बनाइएको थियो; अवश्य नै, उहाँले आदमको सृष्टि गरेलगत्तै यसबारे विचार गर्नुभएको थिएन। यशैयाले अगमवाणी मात्रै गरिदिए, तर यहोवाले व्यवस्थाको युगको अवधिमा यस कामको लागि अग्रिम तयारीहरू गर्नुभएको थिएन; बरु, उहाँले अनुग्रहको युगको प्रारम्‍भमा यो कामलाई गति दिनुभयो। यो त्यही बेला थियो, जुन बेला परमेश्‍वर देह बन्‍नुहुनेछ भन्‍ने सन्देशबारे योसेफलाई उजागर गर्न सन्देशवाहक उसको सपनामा देखा परे, अनि त्यसपछि मात्रै उहाँको देहधारणको काम सुरु भयो। मानिसहरूले कल्‍पना गरेजस्तो, परमेश्‍वरले देहधारणको आफ्‍नो कार्यको योजना संसारको सृष्टि गरेपछि तुरुन्तै गर्नुभएको थिएन; मानवजातिको विकासको हद र शैतानसँगको उहाँको युद्धको अवस्थाको आधारमा मात्रै यससम्बन्धी निर्णय गरिएको थियो।

जब परमेश्‍वर देह बन्‍नुहुन्छ, उहाँको आत्मा मानिसमा ओर्लिनुहुन्छ; अर्को शब्‍दमा भन्दा, परमेश्‍वरका आत्माले भौतिक शरीर धारण गर्नुहुन्छ। उहाँ केही सीमित चरणहरू नल्याइकन पृथ्वीमा आफ्‍नो काम गर्न आउनुहुन्छ; उहाँको काम पूर्णतया असीमित छ। देहमा पवित्र आत्‍माले गर्नुहुने कामलाई अझै उहाँको कामका परिणामहरूद्वारा नै निर्धारित गरिन्छ, र देहमा हुँदा उहाँले गर्नुहुने कामको समय अवधि निर्धारित गर्न उहाँले यस्तै कुराहरूको प्रयोग गर्नुहुन्छ। उहाँ अघि बढ्ने क्रममा उहाँको कामको जाँच गर्दै, पवित्र आत्माले उहाँको कामको हरेक चरण प्रत्यक्ष रूपमा प्रकट गर्नुहुन्छ; यो काम मानिसको कल्‍पनालाई तन्‍काउने जत्तिको अलौकिक पनि छैन। यो, स्वर्गहरू र पृथ्वी अनि यावत् थोक सृष्टि गर्ने क्रममा यहोवाले गर्नुभएको काम जस्तै छ; उहाँले योजना बनाउनुभयो र एकैसाथ काम गर्नुभयो। उहाँले अन्धकारबाट ज्योतिलाई अलग गर्नुभयो, अनि बिहान र साँझ अस्तित्वमा आयो—यसको लागि एक दिन लाग्यो। दोस्रो दिन, उहाँले आकाश सृष्टि गर्नुभयो, र त्यसको लागि पनि एक दिन लाग्यो; त्यसपछि उहाँले पृथ्वी, समुद्रहरू, र तिनलाई वृद्धि गर्दै लाने सबै प्राणीहरू सृष्टि गर्नुभयो, जसको लागि अर्को दिन लाग्यो। यो छैटौं दिनसम्‍म जारी रह्यो, जुन बेला उहाँले मानिस सृष्टि गर्नुभयो अनि तिनलाई पृथ्वीमा भएका सबै थोकको व्यवस्थापन गर्न दिनुभयो। त्यसपछि, सबै थोक सृष्टि गरिसिध्याएपछि सातौं दिनमा, उहाँले विश्राम लिनुभयो। परमेश्‍वरले सातौं दिनलाई आशिष्‌ दिनुभयो र यसलाई पवित्र दिन भन्‍नुभयो। उहाँले सबै थोक सृष्टि गरिसक्‍नुभएपछि मात्रै यो पवित्र दिनको स्थापना गर्ने निर्णय गर्नुभयो, तिनीहरूलाई सृष्टि गर्नुभन्दा पहिले होइन। यो काम पनि तत्कालीन रूपमा नै गरियो; सबै थोक सृष्टि गर्नुभन्दा पहिले, उहाँले छ दिनमा संसारको सृष्टि गर्ने अनि सातौं दिनमा विश्राम गर्ने निर्णय गर्नुभएको थिएन; त्यस्ता कुराहरू सत्य होइनन्। उहाँले त्यस्तो केही भन्‍नुभएन, न त यसबारे योजना नै बनाउनुभएको थियो। यावत् थोकको सृष्टि छैटौं दिनमा समाप्त हुनेछ र सातौं दिनमा उहाँले विश्राम गर्नुहुनेछ भनेर उहाँले कुनै पनि हालतमा भन्‍नुभएको थिएन; बरु, त्यो समय उहाँलाई जे असल लाग्यो त्यहीअनुसार नै सृष्टि गर्नुभयो। उहाँले सबै कुरा सृष्टि गरिसक्‍नुभएपछि, पहिले नै छैटौं दिन भइसकेको थियो। उहाँले सबै कुरा सृष्टि गरी सकिञ्‍जेलसम्‍म पाँचौं दिन भइसकेको थियो भने, उहाँले छैटौं दिनलाई पवित्र दिन भनी भन्‍नुहुनेथियो। तैपनि, उहाँले वास्तवमा छैटौं दिनमा सबै थोक सृष्टि गरिसक्‍नुभयो, अनि सातौं दिन पवित्र बन्यो, जसलाई आजको दिनसम्‍म पनि हस्तान्तरण गरिँदै आएको छ। त्यसकारण, उहाँको हालको कार्य पनि यसरी नै गरिन्छ। तिमीहरूका परिस्थितिहरूअनुसार तिमीहरूका खाँचोको निम्ति उहाँले बोल्‍नुहुन्छ र जुटाउनुहुन्छ। अर्थात्, मानिसहरूका परिस्‍थितिअनुसार आत्माले बोल्‍नुहुन्छ र काम गर्नुहुन्छ; उहाँले सबैमाथि नजर राख्‍नुहुन्छ र कुनै पनि समयमा र कुनै पनि स्थानमा काम गर्नुहुन्छ। म जे गर्छु, त्यही भन्छु, तिमीहरूलाई दिन्छु, र तिमीहरूलाई प्रदान गर्छु, त्यो तिमीहरूलाई चाहिने त्यो नै हो भन्‍नेमा कुनै शङ्का छैन। तसर्थ, मेरो कुनै पनि काम वास्तविकताबाट अलग छैन; यो सबै वास्तविक छ, किनभने “परमेश्‍वरका आत्माले सबैमाथि नजर राख्‍नुहुन्छ” भन्‍ने तिमीहरू सबैलाई थाहा छ। यदि यी सबै कुराको निर्णय पहिले नै गरिएको थियो भने, के यो अति स्पष्ट हुनेथिएन र? यो परमेश्‍वरले सम्पूर्ण छ सहस्राब्दीको लागि योजना बनाएर मानवजातिलाई विद्रोही, विरोधी, बेइमान र धोकेबाज बन्‍ने, र देहको भ्रष्टता, शैतानिक स्वभाव, आँखाको अभिलाषा, र व्यक्तिगत लुप्तता बोक्‍ने तुल्याउनुभयो भनेर तँ विचार गर्छस्। तीमध्ये कुनैलाई पनि परमेश्‍वरले पहिलेबाटै नियुक्त गर्नुभएको थिएन, तर यी सबै शैतानको भ्रष्टताको परिणामस्वरूप भए। कसैले यसो भन्‍न सक्छ, “के शैतान पनि परमेश्‍वरकै पकडमा थिएन र? शैतानले मानिसलाई यसरी भ्रष्ट तुल्याउनेछ, र त्यसपछि परमेश्‍वरले मानिसको बीचमा आफ्‍नो काम गर्नुहुनेछ भनेर परमेश्‍वरले पहिलेबाटै निर्धारित गर्नुभएको थियो।” के शैतानले मानवजातिलाई भ्रष्ट तुल्याओस् भनेर परमेश्‍वरले वास्तवमा पहिले नै निर्धारण गर्नुहुनेथियो र? परमेश्‍वरले मानवजातिलाई सामान्य रूपमा जिउन दिने मात्रै उत्कट इच्‍छा गर्नुहुन्छ, त्यसकारण के उहाँले तिनीहरूको जीवनमा वास्तवमा नै हस्तक्षेप गर्नुहुनेथियो र? यदि त्यसो हो भने, शैतानलाई हराउने र मानवजातिलाई मुक्त गर्ने कार्य बेकामको प्रयास हुनेथिएन र? मानवजातिको विद्रोहीपनलाई कसरी पहिलेबाटै निर्धारित गर्न सकिने थियो र? यो, शैतानको हस्तक्षेपद्वारा घटेको घटना हो, त्यसकारण के यसलाई परमेश्‍वरले पहिलेबाट नै निर्धारित गर्नुभएको हुन सक्थ्यो र? शैतान परमेश्‍वरको पकडमा छ भनेर तिमीहरू जे विचार गर्छौ, त्यो कुरा शैतान परमेश्‍वरको पकडमा छ भनेर मैले विचार गर्नेभन्दा अत्यन्तै फरक छ। “परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ, अनि शैतान उहाँको हातमा छ” भन्‍ने तिमीहरूको अभिव्यक्तिअनुसार त शैतानले उहाँलाई कहिल्यै धोका नै दिन सक्दैनथियो। के तैँले परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ भनेर भनिनस् र? तिमीहरूको ज्ञान अत्यन्तै अमूर्त छ, र वास्तविकताभन्दा बाहिर छ; मानिसले परमेश्‍वरका सोचाइहरूलाई कहिल्यै बुझ्‍न सक्दैन, न त उहाँको बुद्धिलाई नै कहिल्यै बुझ्‍न सक्छ! परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ; यो झूट हुँदै-होइन। प्रधान स्‍वर्गदूतले परमेश्‍वरलाई धोका दियो किनभने परमेश्‍वरले सुरुमा त्यसलाई केही अख्तियार दिनुभएको थियो। अवश्य नै, जसरी हव्‍वा सर्पको परीक्षाको सिकार बनिन् त्यसरी नै यो पनि एउटा अनपेक्षित घटना थियो। तैपनि, शैतानले त्यसको धोकालाई जसरी अघि बढाए पनि, त्यो अझै पनि परमेश्‍वर जत्तिको शक्तिशाली हुँदैन। तिमीहरूले भनेझैँ, शैतान बलवान् मात्रै छ; त्यसले जेसुकै गरे तापनि, त्यसलाई परमेश्‍वरको अख्तियारले सधैँ जित्‍नेछ। “परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ, अनि शैतान उहाँको हातमा छ” भन्‍ने भनाइको पछाडि रहेको साँचो अर्थ यही नै हो। त्यसकारण, शैतानसँगको युद्धलाई एक-एक चरण गरी अघि बढाइनुपर्छ। यसको साथै, शैतानका चालहरूको प्रतिक्रिया स्वरूप, परमेश्‍वरले आफ्‍नो कामको योजना गर्नुहुन्छ—अर्थात्, उहाँले मानवजातिकहाँ मुक्ति ल्याउनुहुन्छ अनि युगलाई उपयुक्त हुने गरी आफ्नो सर्वशक्तिमान्‌ता र बुद्धि प्रकट गर्नुहुन्छ। त्यसरी नै, अनुग्रहको युगभन्दा पहिले, प्रारम्‍भतिर नै आखिरी दिनहरूको कामलाई पूर्वनिर्धारण गरिएन; यसरी पूर्वनिर्धारणको काम सुव्यवस्थित रूपमा गरिँदैन: पहिलो, मानिसको बाहिरी स्वभाव परिवर्तन गर्नु; दोस्रो, मानिसलाई उहाँको सजाय दिनु र परीक्षाहरू गर्नु; तेस्रो, मानिसलाई मृत्युको परीक्षा पार गर्न लगाउनु; चौथो, मानिसलाई प्रेमिलो परमेश्‍वरको समय अनुभव गर्न र सृष्टि गरिएको प्राणीको सङ्कल्प व्यक्त गर्न दिनु; पाँचौं, मानिसलाई परमेश्‍वरको इच्‍छा देख्‍ने र उहाँलाई पूर्ण रूपमा चिन्‍ने तुल्याउनु, अनि अन्तिममा मानिसलाई पूर्ण तुल्याउनु। उहाँले यी सबै कुराको योजना अनुग्रहको युगको अवधिमा गर्नुभएन; बरु, उहाँले वर्तमान युगमा नै तिनको योजना बनाउन थाल्‍नुभयो। जसरी परमेश्‍वर काममा हुनुहुन्छ, त्यसरी नै शैतान पनि काममा नै छ। शैतानले त्यसको भ्रष्ट स्वभाव व्यक्त गर्छ, तर परमेश्‍वरले सीधा रूपमा बोल्‍नुहुन्छ अनि अत्यावश्यक कुराहरू प्रकट गर्नुहुन्छ। आज गरिने काम यही नै हो, र संसारको सृष्टिपछि, धेरै पहिले प्रयोग गरिएको काम गर्ने सिद्धान्त यही नै हो।

सुरुमा परमेश्‍वरले आदम र हव्‍वालाई सृष्टि गर्नुभयो, अनि उहाँले सर्पलाई पनि सृष्टि गर्नुभयो। सबै कुरामध्ये, त्यो सर्प सबैभन्दा विषालु थियो; त्यसको शरीरमा विष थियो, जसको फाइदा लिन शैतानले त्यसको प्रयोग गर्‍यो। हव्‍वालाई पाप गर्न लगाउन परीक्षा गर्ने सर्प नै थियो। हव्‍वापछि आदमले पाप गरे, र त्यसपछि तिनीहरू दुवैले असल र खराब छुट्याउन सके। यदि सर्पले हव्‍वालाई परीक्षा गर्ने थियो र हव्‍वाले आदमलाई परीक्षा गर्ने थियो भन्‍ने यहोवालाई थाहा थियो भने, किन उहाँले तिनीहरू सबैलाई बगैँचाभित्रै राख्‍नुभयो? यदि उहाँले यी कुराबारे पूर्वानुमान गर्न सक्‍नुभएको थियो भने, उहाँले किन सर्पलाई सृष्टि गरेर अदनको बगैँचामा राख्‍नुभयो? किन अदनको बगैँचामा असल र खराबको ज्ञान दिने रूखको फल थियो? के तिनीहरूले खाऊन् भन्‍ने आसय उहाँको थियो? जब यहोवा आउनुभयो, न त आदमले न त हव्‍वाले उहाँको सामना गर्न सके, अनि तिनीहरू असल र खराबको ज्ञान दिने रूखको फल खाएर सर्पको छलको सिकार बनेका छन् भन्‍ने कुरा यहोवाले त्यसपछि मात्रै थाहा पाउनुभयो। आखिरमा, उहाँले सर्पलाई श्राप दिनुभयो, अनि उहाँले आदम र हव्‍वा दुवैलाई पनि श्राप दिनुभयो। ती दुईले रूखको फल खाँदैछन् भन्‍ने कुरा यहोवालाई थाहा थिएन। मानवजाति यति हदसम्‍म दुष्टता र यौनजन्य रूपमा छाडा भए कि, तिनीहरूको हृदयमा बास गर्ने सबै कुरा दुष्ट र अधर्मी मात्रै थिए; यी सबै फोहोर थिए। त्यसकारण, मानवजातिलाई सृष्टि गरेकोमा यहोवा पछुताउनुभयो। त्यसपछि, उहाँले संसारलाई जल-प्रलयद्वारा नष्ट गर्ने कार्य अघि बढाउनुभयो, जसमा नोआ र उनका छोराहरू बाँचे। कतिपय कुराहरू वास्तवमा मानिसहरूले कल्‍पना गरे जत्तिको बृहत् र अलौकिक हुँदैनन्। कतिले सोध्छन्, “प्रधान स्‍वर्गदूतले उहाँलाई धोका दिनेछ भन्‍ने परमेश्‍वरले जान्‍नुहुन्थ्यो भने, उहाँले त्यसलाई किन सृष्टि गर्नुभयो?” ती तथ्यहरू यसप्रकार छन्: पृथ्वी अस्तित्वमा हुनुभन्दा पहिले, त्यो प्रधान स्‍वर्गदूत स्वर्गका स्वर्गदूतहरूमध्ये सबैभन्दा महान् थियो। स्वर्गका सारा स्वर्गदूतहरूमाथि त्यसको क्षेत्राधिकार थियो; परमेश्‍वरले त्यसलाई प्रदान गर्नुभएको अख्तियार यही नै थियो। परमेश्‍वरबाहेक, स्वर्गका स्वर्गदूतहरूमध्ये त्यो नै सबैभन्दा महान् थियो। पछि, परमेश्‍वरले मानवजातिलाई सृष्टि गरिसक्‍नुभएपछि, तल पृथ्वीमा त्यस प्रधान स्‍वर्गदूतले परमेश्‍वरको विरुद्धमा अझै ठूलो षड्यन्त्र गर्‍यो। म के भन्छु भने, त्यसले मानवजातिलाई व्यवस्थापन गर्न र परमेश्‍वरको अख्तियारलाई नाघ्‍न चाहेकोले त्यसले परमेश्‍वरलाई धोका दियो। हव्‍वालाई परीक्षा गरी पाप गर्न लगाउने त्यही प्रधान स्‍वर्गदूत थियो, र त्यसले त्यसो गर्‍यो किनभने त्यो, पृथ्वीमा आफ्‍नो राज्य स्थापना गर्न र मानिसहरूले परमेश्‍वरलाई आफ्‍नो पिठ्यूँ फर्काएर उहाँको सट्टा उसको आज्ञापालन गर्ने तुल्याउन चाहन्थ्यो। धेरै कुराहरूले त्यसको आज्ञापालन गर्न सक्छन्—पृथ्वीका मानिसहरूले जस्तै स्वर्गदूतहरूले पनि त्यसो गर्न सक्छन् भन्‍ने त्यस प्रधान स्‍वर्गदूतले देख्यो। आदम र हव्‍वाले त्यस प्रधान स्‍वर्गदूतको आज्ञा पालन गरेको बेला, चराचुरुङ्गी र वनपशुहरू, रूखहरू, जङ्गलहरू, पहाड-पर्वत, खोलानाला, र पृथ्वीमा भएका सबै कुरा मानवजाति अर्थात् आदम र हव्‍वाको हेरचाहमा थियो। त्यसकारण, त्यस प्रधान स्‍वर्गदूतले परमेश्‍वरको अख्तियारलाई नाघ्‍ने र परमेश्‍वरलाई धोका दिने इच्‍छा गर्‍यो। त्यसपछि, त्यसले धेरै स्वर्गदूतहरूलाई परमेश्‍वरको विरुद्ध विद्रोह गर्न उक्सायो, जो पछि विभिन्‍न प्रकारका अशुद्ध आत्‍माहरू बने। के आजसम्‍मको मानवजातिको विकास प्रधान स्‍वर्गदूतको भ्रष्टताले नै पैदा गरेको होइन र? मानवजाति आज जस्तो छ त्यो प्रधान स्‍वर्गदूतले परमेश्‍वरलाई धोका दिएर मानवजातिलाई भ्रष्ट तुल्याएको कारणले गर्दा नै हो। यो चरणबद्ध कार्य मानिसहरूले कल्‍पना गरेजस्तो अमूर्त र सरल छँदै-छैन। शैतानले कुनै कारणले धोका दियो, तैपनि त्यति सरल तथ्यलाई बुझ्‍न मानिसहरू असमर्थ छन्। स्वर्गहरू र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुहुने परमेश्‍वरले किन शैतानलाई पनि सृष्टि गर्नुभयो? परमेश्‍वरले शैतानलाई अत्यन्तै धेरै घृणा गर्नुहुन्छ, र शैतान उहाँको शत्रु हो, त्यसो हुँदा-हुँदै पनि किन उहाँले शैतानलाई सृष्टि गर्नुभयो? शैतानको सृष्टि गरेर, के उहाँले शत्रुको सृष्टि गर्दै हुनुहुन्‍नथियो र? परमेश्‍वरले वास्तवमा शत्रुको सृष्टि गर्नुभएको थिएन; बरु, स्वर्गदूत सृष्टि गर्नुभएको थियो, र पछि त्यो स्वर्गदूतले उहाँलाई धोका दियो। त्यसको हैसियत वृद्धि भएर यति महान् भयो कि त्यसले परमेश्‍वरलाई नै धोका दिन चाह्यो। यो संयोग थियो भनेर भन्‍न सकिन्छ, तर यो एउटा अपरिहार्य कुरा पनि थियो। कुनै व्यक्ति निश्‍चित बिन्दुसम्‍म परिपक्‍व भइसकेपछि कसरी आखिरमा मर्छ यो त्यस्तै छ; कामकुराहरू विकास हुँदै त्यो चरणमा पुगे। कतिपय विवेकहीन मूर्खहरू भन्छन्, “शैतान तपाईंको शत्रु हो भने, तपाईंले किन त्यसको सृष्टि गर्नुभयो? त्यस प्रधान स्‍वर्गदूतले तपाईंलाई धोका दिनेछ भन्‍ने तपाईंलाई थाहा थिएन र? के तपाईंले अनन्तदेखि अनन्तसम्‍म देख्‍न सक्‍नुहुन्‍न र? के तपाईंलाई त्यस प्रधान स्‍वर्गदूतको स्वभाव थाहा थिएन र? त्यसले तपाईंलाई धोका दिनेछ भन्‍ने तपाईंलाई स्पष्ट रूपमा थाहा हुँदाहुँदै, तपाईंले किन त्यसलाई प्रधान स्‍वर्गदूत बनाउनुभयो? त्यसले तपाईंलाई धोका मात्रै दिएन, तर त्यसले आफूसँग अरू धेरै स्वर्गदूतहरूलाई लिएर मरणशीलहरूको संसारमा मानवजातिलाई भ्रष्ट तुल्याउन ओर्ल्यो, तैपनि आजको दिनसम्‍मै, तपाईंले अझै आफ्‍नो छ हजार वर्षे व्यवस्थापन योजना पूरा गर्न सक्‍नुभएको छैन।” के यी शब्‍दहरू सही छन् त? जब तँ यसरी विचार गर्छस्, के तैँले आफैलाई आवश्यकताभन्दा बढी समस्याबाट गुजारिरहेको हुँदैनस् र? अरू यसो भन्‍नेहरू पनि छन्, “आजको दिनसम्‍मै शैतानले मानवजातिलाई भ्रष्ट नतुल्याएको भए, परमेश्‍वरले मानवजातिलाई यसरी मुक्तिमा ल्याउनुहुने थिएन। तसर्थ, परमेश्‍वरको बुद्धि र सर्वशक्तिमान्‌ता अदृश्य हुनेथियो; उहाँको बुद्धि कहाँ प्रकट गरिनेथियो र? त्यसकारण, परमेश्‍वरले मानवजातिलाई शैतानको लागि सृष्टि गर्नुभयो ताकि उहाँले पछि आफ्‍नो सर्वशक्तिमान्‌ता प्रकट गर्न सकून्—अन्यथा, मानिसले कसरी परमेश्‍वरको बुद्धि पत्ता लगाउन सक्थ्यो र? यदि मानिसले परमेश्‍वरको विरोध नगरेको भए वा उहाँ विरुद्ध विद्रोह नगरेको भए, उहाँका कार्यहरू प्रकट गर्नु आवश्यक नै हुने थिएन। यदि सारा सृष्टिले उहाँको आराधना गर्नु र उहाँमा समर्पित हुनु थियो भने, परमेश्‍वरसँग कुनै काम नै हुनेथिएन।” यो त झन् वास्तविकताभन्दा अझै परको कुरा हो, किनभने परमेश्‍वरमा केही पनि अशुद्धता छैन, त्यसकारण उहाँले अशुद्धताको सृष्टि गर्न सक्‍नुहुन्‍न। उहाँले अहिले आफ्‍नो शत्रुलाई जित्‍न, आफूले सृष्टि गर्नुभएका मानिसहरूलाई मुक्त गर्न, अनि उहाँलाई घृणा गर्ने, धोका दिने, र विरोध गर्ने, अनि प्रारम्‍भमा उहाँको प्रभुत्वमा र उहाँको स्वामित्वमा रहेका भूतात्‍माहरू र शैतानलाई जित्‍नको लागि मात्रै आफ्‍ना कार्यहरू प्रकट गर्नुहुन्छ। परमेश्‍वरले यी भूतात्‍माहरूलाई हराउन र त्यस क्रममा, उहाँको सर्वशक्तिमान्‌ता सबै थोकलाई प्रकट गर्न चाहनुहुन्छ। मानवजाति र पृथ्वीमा भएका सबै कुरा अहिले शैतानको राज्यक्षेत्रमा छ र दुष्टको राज्यक्षेत्रको अधीनमा छ। मानिसहरूले उहाँलाई चिन्‍न सकून् भनेर परमेश्‍वरले सबै कुरालाई आफ्‍ना कार्यहरू प्रकट गर्न चाहनुहुन्छ, र त्यसद्वारा शैतानलाई हराउन र उहाँका शत्रुहरूलाई पूर्ण रूपमा जित्‍न चाहनुहुन्छ। यो कार्यको पूर्णतालाई उहाँका कार्यहरूको प्रकटद्वारा पूरा गरिन्छ। उहाँका सारा सृष्टि शैतानको राज्यक्षेत्रमा छ, त्यसकारण परमेश्‍वरले तिनीहरूलाई आफ्‍नो सर्वशक्तिमान्‌ता प्रकट गर्न चाहनुहुन्छ, जसद्वारा शैतानलाई हराउन चाहनुहुन्छ। यदि शैतान नै हुँदैनथियो भने, उहाँले आफ्‍ना कार्यहरू प्रकट गर्नु आवश्यक हुनेथिएन। शैतानले उत्पीडन नगरेको भए, परमेश्‍वरले मानवजातिलाई सृष्टि गरेर तिनीहरूलाई अदनको बगैँचामा नै जिउन अगुवाइ गर्नुहुनेथियो। शैतानले धोका दिनुभन्दा पहिले, किन परमेश्‍वरले स्वर्गदूतहरूलाई वा प्रधान स्‍वर्गदूतलाई आफ्‍ना कार्यहरू कहिल्यै प्रकट गर्नुभएन? यदि प्रारम्‍भमा, सबै स्वर्गदूतहरू र प्रधान स्‍वर्गदूतले परमेश्‍वरलाई चिनेको र त्यो उहाँमा समर्पित भएको भए, परमेश्‍वरले ती अर्थहीन कार्यहरू गर्नुहुनेथिएन। शैतान र भूतात्‍माहरूको अस्तित्वको कारणले, मानिसहरूले पनि परमेश्‍वरको विरोध गरेका छन्, र तिनीहरू विद्रोही स्वभावले भरिएका छन्। त्यसकारण, परमेश्‍वर आफ्ना कार्यहरू प्रकट गर्न चाहनुहुन्छ। उहाँले शैतानसँग युद्ध गर्न चाहनुहुने भएकाले, त्यसलाई हराउन उहाँले आफ्ना अख्‍तियार र सबै कार्यहरू प्रयोग गर्नुपर्छ; यसरी उहाँले मानिसहरूबीच गर्नुहुने मुक्तिको कामले तिनीहरूलाई उहाँको बुद्धि र सर्वशक्तिमान्‌ता देख्‍ने तुल्याउनेछ। आज परमेश्‍वरले गर्दैगर्नुभएको काम अर्थपूर्ण छ, र कतिपय मानिसहरूले यसो भन्‍ने क्रममा जे भन्छन् त्यससँग त्यसले कुनै पनि हालतमा मेल खाँदैन, “के तपाईंले गर्नुहुने काम विरोधाभासपूर्ण छैन र? के कामको यो चरण तपाईंको आफ्‍नै लागि समस्या पैदा गर्ने अभ्यास मात्रै होइन र? तपाईंले शैतानको सृष्टि गर्नुभयो, र त्यसपछि तपाईंलाई धोका दिन र विरोध गर्न त्यसलाई अनुमति दिनुभयो। तपाईंले मानव सृष्टि गर्नुभयो, त्यसपछि आदम र हव्‍वालाई परीक्षामा पर्न दिँदै तिनीहरूलाई शैतानको हातमा सुम्‍पनुभयो। तपाईंले यी सबै कुरा उद्देश्य राखेर नै गर्नुभयो भने, किन अझै पनि मानवजातिलाई घृणा नै गर्नुहुन्छ? तपाईंले किन शैतानलाई घृणा गर्नुहुन्छ? के यी सबै तपाईंले नै बनाउनुभएको होइन र? तपाईंले घृणा गर्नुपर्ने के कारण छ र?” कतिपय मूर्ख मानिसहरूले मात्रै त्यस्ता कुराहरू भन्छन्। तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्ने इच्‍छा गर्छन्, तर भित्र गहिराइमा, परमेश्‍वरबारे गुनासो गर्छन्। कस्तो विरोधाभास! तैँले सत्यतालाई बुझ्दैनस्, तँसँग अत्यन्तै धेरै अलौकिक विचारहरू छन्, अनि परमेश्‍वरले गल्ती गर्नुभयो भनेर समेत तँ दाबी गर्छस्—तँ कति मूर्ख छस्! सत्यतासँग खेलबाड गर्ने तँ नै होस्; परमेश्‍वरले गल्ती गर्नुभएको होइन! कतिपय मानिसहरू घरीघरी गुनासो समेत गर्छन्, “शैतानलाई सृष्टि गर्ने तपाईं नै हुनुहुन्छ, अनि त्यसलाई मानिसहरूमाझ झार्ने र तिनीहरूलाई त्यसको हातमा सुम्पने तपाईं नै हुनुहुन्छ। मानिसहरूले शैतानी स्वभाव प्राप्त गरेपछि, तपाईंले तिनीहरूलाई क्षमा दिनुभएन; त्यसको विपरीत, तपाईंले तिनीहरूलाई निश्‍चित हदसम्‍म घृणा गर्नुभयो। सुरुमा तपाईंले तिनीहरूलाई निश्‍चित हदसम्‍म प्रेम गर्नुभयो, तर अहिले तपाईं तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ। मानवजातिलाई घृणा गर्ने तपाईं नै हुनुहुन्छ, तैपनि मानवजातिलाई प्रेम गर्ने पनि तपाईं नै हुनुहुन्छ। वास्तवमा यहाँ के भइरहेको छ? के यो विरोधाभास होइन र?” तिमीहरूले यसलाई जसरी हेरे तापनि, स्वर्गमा यही भएको हो; यसरी नै प्रधान स्‍वर्गदूतले परमेश्‍वरलाई धोका दियो र मानवजाति भ्रष्ट भयो, अनि मानवजाति आजसम्‍म पनि यस्तै छ। तिमीहरूले यसलाई जसरी बताए पनि, सम्पूर्ण कथा त्यही नै हो। तैपनि, परमेश्‍वरले आज गरिरहनुभएको यो कामको पछाडि रहेको सम्पूर्ण उद्देश्य भनेको तिमीहरूलाई मुक्त गर्नु र शैतानलाई पराजित गर्नु हो भन्‍ने तिमीहरूले बुझ्‍नैपर्छ।

स्वर्गदूतहरू विशेष रूपमा कमजोर थिए र बोल्न सक्‍ने कुनै क्षमता तिनीहरूसँग थिएन, त्यसकारण, तिनीहरूलाई अख्तियार दिनेबित्तिकै तिनीहरू अहङ्कारी बने। प्रधान स्‍वर्गदूतको हकमा यो विशेष गरी लागू भयो, जसको हैसियत अरू कुनै पनि स्वर्गदूतको भन्दा उच्‍च थियो। स्वर्गदूतहरूमाझ राजा भएकोले, त्यसले तिनीहरूमध्ये करोडौँलाई नेतृत्व गरे, र यहोवाको अधीनमा त्यसको अख्तियार अरू कुनै पनि स्वर्गदूतहरूलाई उछिन्थ्यो। त्यसले यो र त्यो गर्न, अनि संसारलाई नियन्त्रण गर्न स्वर्गदूतहरूलाई मानिसहरूका बीचमा झार्न चाहन्थ्यो। उहाँ नै ब्रह्माण्डको नियन्त्रण गर्ने हुनुहुन्छ भनेर परमेश्‍वरले भन्‍नुभयो; तर ब्रह्माण्ड नियन्त्रण गर्ने त्यही हो भनेर प्रधान स्‍वर्गदूतले भन्यो—त्यसपछि, प्रधान स्‍वर्गदूतले परमेश्‍वरलाई धोका दियो। परमेश्‍वरले स्वर्गमा अर्को संसारको सृष्टि गर्नुभयो, अनि प्रधान स्‍वर्गदूतले यो संसारलाई नियन्त्रण गर्ने, साथै मरणशील संसारमा ओर्लने इच्‍छा गर्‍यो। के परमेश्‍वरले त्यसलाई यसो गर्न दिनुभयो? तसर्थ, उहाँले प्रधान स्‍वर्गदूतलाई प्रहार गर्नुभयो र त्यसलाई मध्याकाशमा फालिदिनुभयो। त्यसले मानिसहरूलाई भ्रष्ट तुल्याएपछि नै, तिनीहरूलाई मुक्त गर्नको लागि परमेश्‍वरले प्रधान स्‍वर्गदूतसँग युद्ध गर्नुभएको छ; उहाँले यो छ सहस्राब्दीलाई त्यसको हारको लागि प्रयोग गर्नुभएको छ। सर्वशक्तिमान् परमेश्‍वरसँग सम्‍बन्धित तिमीहरूको अवधारणा परमेश्‍वरले हाल गरिरहनुभएको कामसँग मिल्दैन; यो पूर्णतया अव्यवहारिक, र अत्यन्तै भ्रामक छ! वास्तवमा, प्रधान स्‍वर्गदूतको धोकापछि मात्रै परमेश्‍वरले त्यसलाई आफ्‍नो शत्रुको रूपमा घोषणा गर्नुभयो। त्यसको धोकाको कारणले गर्दा मात्रै प्रधान स्‍वर्गदूत भौतिक संसारमा आइपुगेपछि त्यसले मानवजातिलाई आघात पुऱ्यायो, अनि यही कारणले गर्दा नै मानवजाति यस बिन्दुसम्‍म विकास भइआएको छ। त्यो घटना घटेपछि, परमेश्‍वरले शैतानसँग शपथ खानुभयो, “म तँलाई पराजित गर्नेछु र मैले सृष्टि गरेका सारा मानवलाई मुक्ति दिनेछु।” सुरुमा अविश्‍वस्त हुँदै शैतानले उत्तर दियो, “तपाईंले साँच्‍चै मलाई के गर्न सक्‍नुहुन्छ? के तपाईंले मलाई प्रहार गरेर मध्याकाशमा झार्न सक्‍नुहुन्छ? तपाईंले मलाई साँच्‍चै पराजित गर्नुहुन्छ?” परमेश्‍वरले प्रधान स्‍वर्गदूतलाई मध्याकाशमा झारिसक्‍नुभएपछि त्यसलाई थप कुनै ध्यान दिनुभएन, र पछि शैतानका निरन्तर बाधाहरूका बाबजुद पनि उहाँले मानवजातिलाई मुक्त गर्न र आफ्‍नो कामलाई अगि बढाउन सुरु गर्नुभयो। शैतानले यो र त्यो गर्न सक्यो, तर यो सबै परमेश्‍वरले पहिले त्यसलाई दिनुभएका शक्तिहरूको कारणले गर्दा थियो; त्यसले तिनीहरूलाई आफूसँग मध्याकाशमा लिएर गयो, अनि आजको दिनसम्‍मै राखेको छ। प्रधान स्‍वर्गदूतलाई प्रहार गरेर मध्याकाशमा झार्ने क्रममा, परमेश्‍वरले त्यसको अख्तियार फिर्ता लिनुभएन, र त्यसैले शैतानले मानवजातिलाई निरन्तर रूपमा भ्रष्ट तुल्यायो। अर्कोतर्फ, सृष्टिपछि तुरुन्तै शैतानले भ्रष्ट तुल्याएको मानवजातिलाई मुक्त गर्ने काम परमेश्‍वरले सुरु गरिहाल्‍नुभयो। स्वर्गमा हुँदा परमेश्‍वरले आफ्‍ना कार्यहरू प्रकट गर्नुभएन; तैपनि, उहाँले पृथ्वीको सृष्टि गर्नुभन्दा पहिले सृष्टि गर्नुभएका संसारका मानिसहरूलाई स्वर्गमा उहाँका कार्यहरू देख्ने अनुमति दिनुभयो, यसरी उहाँले यी तिनीहरूलाई माथि स्वर्गमा अगुवाइ गर्नुभयो। उहाँले तिनीहरूलाई बुद्धि र बौद्धिक क्षमता दिनुभयो, अनि त्यस संसारमा जिउन अगुवाइ गर्नुभयो। स्वाभाविक रूपमै, तिमीहरू कसैले पनि यसभन्दा अघि यसबारे कहिल्यै सुनेका छैनौ। पछि, परमेश्‍वरले मानिसहरूलाई सृष्टि गरिसक्‍नुभएपछि, प्रधान स्‍वर्गदूतले तिनीहरूलाई भ्रष्ट तुल्याउन थाल्यो; पृथ्वीमा सारा मानवजाति अस्तव्यस्ततामा फस्यो। त्यसपछि मात्रै परमेश्‍वरले शैतान विरुद्ध युद्ध सुरु गर्नुभयो, अनि यस पटक मात्रै मानिसहरूले उहाँका कार्यहरू देख्‍न थाले। प्रारम्‍भमा, त्यस्ता कार्यहरूलाई मानवजातिबाट लुकाइएको थियो। शैतानलाई मध्याकाशमा झारिएपछि, त्यसले आफ्‍नै कामकुराहरू गर्‍यो अनि परमेश्‍वरले शैतानको विरुद्धमा निरन्तर युद्ध गर्दै आखिरी दिनहरूसम्‍मै आफ्‍नो कामलाई जारी राख्‍नुभयो। शैतानलाई नष्ट गर्नुपर्ने समय अहिले नै हो। सुरुमा, परमेश्‍वरले त्यसलाई अख्तियार दिनुभयो, र उहाँले पछि त्यसलाई प्रहार गरेर मध्याकाशमा झार्नुभयो, तैपनि त्यो विद्रोही नै रह्यो। त्यसपछि, त्यसले पृथ्वीमा मानवजातिलाई भ्रष्ट तुल्यायो, तर परमेश्‍वर त्यहीँ नै मानवजातिलाई व्यवस्थापन गर्दै हुनुहुन्थ्यो। परमेश्‍वरले शैतानलाई हराउनको लागि मानिसहरूको व्यवस्थापनको प्रयोग गर्नुहुन्छ। शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याएर तिनीहरूको भविष्यलाई समाप्त गर्छ र परमेश्‍वरको कार्यमा बाधा दिन्छ। अर्कोतर्फ, मानवजातिको मुक्ति नै परमेश्‍वरको कार्य हो। परमेश्‍वरको कामको कुन चरण मानवजातिलाई मुक्त गर्नको लागि होइन? कुन चरण मानवजातिलाई धुनको लागि, र तिनीहरूलाई धर्मी रूपमा व्यवहार गर्ने र प्रेम गर्न सकिनेहरूको प्रतिरूपमा जिउने तुल्याउनको लागि होइन? तैपनि, शैतानले यसो गर्दैन। त्यसले मानवजातिलाई भ्रष्ट तुल्याउँछ; त्यसले मानवजातिलाई भ्रष्ट तुल्याउने त्यसको काम सम्पूर्ण ब्रह्माण्डभरि नै निरन्तर रूपमा जारी राख्छ। अवश्‍य नै, परमेश्‍वरले पनि शैतानलाई कुनै ध्यान नै नदिइकन आफ्‍नो काम गर्नुहुन्छ। शैतानसँग जति नै धेरै अख्‍तियार भए तापनि, त्यो अख्तियार परमेश्‍वरले नै त्यसलाई दिनुभएको थियो; परमेश्‍वरले आफ्‍नो सम्पूर्ण अख्तियार त्यसलाई दिनुभएन, त्यसकारण शैतानले जेसुकै गरे तापनि, त्यसले परमेश्‍वरलाई कहिल्यै उछिन्न सक्दैन र त्यो सधैँ नै परमेश्‍वरको पकडभित्रै हुनेछ। स्वर्गमा हुँदा परमेश्‍वरले आफ्‍नो कुनै पनि कार्य प्रकट गर्नुभएन। उहाँले शैतानलाई अख्तियारको सानो भाग मात्रै दिएर अरू स्वर्गदूतहरूमाथि नियन्त्रण अभ्यास गर्न दिनुभयो। त्यसकारण, शैतानले जेसुकै गरे तापनि, परमेश्‍वरको अख्‍तियारलाई उछिन्न सक्दैन, किनभने परमेश्‍वरले त्यसलाई सुरुमा दिनुभएको अख्तियार सीमित छ। परमेश्‍वरले काम गर्नुहुँदा, शैतानले बाधा दिन्छ। आखिरी दिनहरूमा, त्यसका अवरोधहरू समाप्त हुनेछन्; त्यसरी नै, परमेश्‍वरको कार्य पनि समाप्त हुनेछ, अनि परमेश्‍वरले जुन प्रकारका मानिसहरूलाई पूर्ण बनाउन चाहनुहुन्छ तिनीहरू पनि पूर्ण हुनेछन्। परमेश्‍वरले मानिसहरूलाई सकारात्मक रूपमा निर्देशित गर्नुहुन्छ; उहाँको जीवन जिउँदो पानी हो, जुन नाप्‍न नसकिने र सीमारहित छ। शैतानले मानिसलाई निश्‍चित हदसम्‍म भ्रष्ट तुल्याएको छ; अन्त्यमा, जीवनको जिउँदो पानीले मानिसलाई पूर्ण बनाउनेछ, अनि हस्तक्षेप गर्नु र त्यसको काम गर्नु शैतानको लागि असम्‍भव हुनेछ। यसरी, परमेश्‍वरले यी मानिसहरूलाई पूर्ण रूपमा प्राप्त गर्न सक्‍नुहुनेछ। अहिले समेत, शैतानले यो स्वीकार गर्न मान्दैन; त्यसले निरन्तर रूपमा आफैलाई परमेश्‍वर विरुद्धमा खडा गर्छ, तर उहाँले त्यसलाई कुनै ध्यान दिनुहुन्‍न। परमेश्‍वरले भन्‍नुभएको छ, “शैतानका सारा अन्धकारका शक्तिहरू र सारा अन्धकारका प्रभावहरूमाथि म विजय हुनेछु।” अहिले देहमा गरिनुपर्ने काम यही नै हो, र देह बन्‍ने कार्यलाई महत्त्वपूर्ण तुल्याउने पनि यही नै हो: अर्थात्, आखिरी दिनहरूमा शैतानलाई हराउने कामको चरण पूरा गर्नु, अनि शैतानको स्वामित्वमा रहेका सबै कुरालाई हटाउनु। शैतानमाथिको परमेश्‍वरको विजय अपरिहार्य छ! वास्तवमा, शैतान धेरै पहिले नै असफल भइसक्यो। जब ठूलो रातो अजिङ्गरको देशभरि सुसमाचार फैलन सुरु भयो—अर्थात्, जब देहधारी परमेश्‍वरले आफ्‍नो काम सुरु गर्नुभयो र यो काम अघि बढ्यो—तब शैतान पूर्ण रूपमा पराजित भयो, किनभने देहधारणको खास उद्देश्य नै शैतानलाई जित्‍नु थियो। परमेश्‍वर फेरि पनि देह बन्‍नुभएको छ र कुनै पनि शक्तिले रोक्‍न नसक्‍ने आफ्‍नो काम उहाँले सुरु गर्नुभएको छ भन्‍ने थाहा पाउनेबित्तिकै, शैतान यो कामको अघि अक्क न बक्क बन्यो, अनि थप कुनै पनि दुष्कर्म गर्ने आँट गरेन। सुरुमा शैतानले पनि प्रशस्तै बुद्धि प्राप्त गरेको छु भन्‍ने ठान्यो, अनि त्यसले परमेश्‍वरको कार्यमा बाधा दियो र सतायो; तैपनि, परमेश्‍वर फेरि देह बन्‍नुहुनेछ, वा परमेश्‍वरले आफ्नो काममा शैतानको विद्रोहीपनलाई मानवजातिको लागि प्रकाश र न्यायको रूपमा प्रयोग गर्नुहुनेछ, जसद्वारा उहाँले मानिसहरूलाई विजय गर्नुहुनेछ र शैतानलाई हराउनुहुनेछ भन्‍ने अपेक्षा त्यसले गरेको थिएन। परमेश्‍वर शैतानभन्दा बुद्धिमानी हुनुहुन्छ, र उहाँको कामले त्यसलाई अत्यन्तै बढी मात्रामा उछिन्छ। त्यसकारण, मैले यसभन्दा अघि उल्‍लेख गरेझैँ, “मैले गर्ने काम शैतानका चालहरूको प्रतिक्रियामा गरिन्छ; अन्त्यमा, म मेरो सर्वशक्तिमान्‌ता र शैतानको शक्तिहीनतालाई प्रकट गर्नेछु।” परमेश्‍वरले अग्रस्थानमा आफ्‍नो काम गर्नुहुन्छ, तर आखिरमा, नष्ट भइञ्‍जेलसम्‍म शैतान पछि-पछि दगुर्छ—त्यसलाई केले प्रहार गर्‍यो त्यो पनि त्यसलाई थाहा हुनेछैन! त्यसलाई पहिले नै प्रहार गरेर चकनाचूर पारिसकिएपछि मात्रै त्यसले सत्यतालाई महसुस गर्नेछ, र त्यस बेलासम्‍म, त्यो पहिले नै आगोको कुण्डमा परिसकेको हुनेछ। के त्यसबेला शैतान पूर्ण रूपमा विश्‍वस्त हुनेछैन र? किनभने त्यसपछि त्योसँग प्रयोग गर्ने कुनै पनि युक्ति हुनेछैन!

परमेश्‍वरको हृदयलाई मानवजातिप्रतिको शोकद्वारा धेरै पटक भारी तुल्याउने यही चरणबद्ध, वास्तविक कार्य नै हो, त्यसकारण शैतानसँगको उहाँको युद्ध छ हजार वर्षसम्म जारी रहेको छ, र परमेश्‍वरले भन्‍नुभएको छ, “म फेरि कहिल्यै पनि मानवजातिको सृष्टि गर्नेछैन, न त म फेरि कहिल्यै स्वर्गदूतहरूलाई अख्तियार नै दिनेछु।” त्यसपछि, जब स्वर्गदूतहरू काम गर्न पृथ्वीमा आए, तिनीहरूले केही काम गर्न केवल परमेश्‍वरलाई पछ्याए; उहाँले फेरि कहिल्यै कुनै पनि अख्तियार दिनुभएन। इस्राएलीहरूले देखेका स्वर्गदूतहरूले कसरी आफ्ना काम गरे? तिनीहरूले आफैलाई सपनाहरूमा प्रकट गरे अनि यहोवाका वचनहरू व्यक्त गरे। क्रूसीकरणको तीन दिनपछि जब येशू पुनरुत्थान हुनुभयो, ठूलो ढुङ्गालाई गुडाउने स्वर्गदूतहरू नै थिए; परमेश्‍वरका आत्माले यो काम व्यक्तिगत रूपमा गर्नुभएन। स्वर्गदूतहरूले मात्रै यस प्रकारको काम गर्थे; तिनीहरूले सहयोगी भूमिका निर्वाह गर्थे, तर तिनीहरूसँग कुनै अख्तियार थिएन, किनभने परमेश्‍वरले तिनीहरूलाई फेरि कहिल्यै कुनै अख्तियार दिनुभएन। पृथ्वीमा परमेश्‍वरले प्रयोग गर्नुभएका मानिसहरूले केही समयसम्म काम गरिसकेपछि परमेश्‍वरको हैसियतलाई लिए अनि भने, “म ब्रह्माण्डलाई नाघ्‍न चाहन्छु! म तेस्रो स्वर्गमा खडा हुन चाहन्छु! हामी सार्वभौम शक्तिका शासनहरू लिन चाहन्छौं!” धेरै दिनको कामपछि तिनीहरू अहङ्कारी बन्‍नेथिए; तिनीहरूले पृथ्वीमाथि सार्वभौम अख्तियार लिने, अर्को राष्ट्र स्थापना गर्ने, सबै कुरा तिनीहरूको खुट्टामुनि राख्‍ने, र तेस्रो स्वर्गमा खडा हुने इच्‍छा गरे। के तँ परमेश्‍वरले प्रयोग गर्नुभएको मानिस मात्रै होस् भन्‍ने तँलाई थाहा छैन? तँ कसरी तेस्रो स्वर्गमा चढ्न सक्थिस् र? परमेश्‍वर चुपचाप र कुनै चिच्याहटविना नै काम गर्न पृथ्वीमा आउनुहुन्छ, अनि आफ्नो काम गुप्तमा समाप्त गरेर जानुहुन्छ। उहाँ मानिसहरूजस्तो कहिल्यै चिच्याउनुहुन्‍न, तर उहाँ आफ्नो काम गर्नमा व्यावहारिक हुनुहुन्छ। न त उहाँ मण्डलीमा प्रवेश गरेपछि यसो भनेर नै चिच्याउनुहुन्छ, “म तिमीहरू सबैलाई परास्त गर्नेछु! म तिमीहरूलाई सराप्‍नेछु अनि सजाय दिनेछु!” उहाँले आफ्नो कामलाई जारी मात्रै राख्‍नुहुन्छ, अनि यो समाप्त भएपछि जानुहुन्छ। बिरामी निको पार्ने, भूतात्माहरू धपाउने, पुल्पिटबाट अरूलाई भाषण दिने, लामो र आडम्बरी भाषणहरू ठोक्‍ने, अनि अवास्तविक कुराहरूबारे बहस गर्ने ती सबै धार्मिक पाष्टरहरू भित्रैबाट अहङ्कारी छन्! तिनीहरू प्रधान स्वर्गदूतका सन्तानबाहेक केही पनि होइनन्!

परमेश्‍वरले वर्तमानको दिनसम्म आफ्नो छ हजार वर्षे कामलाई अघि बढाइसकेपछि पहिले नै आफ्ना धेरै कार्यहरू प्रकट गरिसक्‍नुभएको छ, जसको प्राथमिक उद्देश्य भनेको शैतानलाई हराउनु र सारा मानवजातिमा मुक्ति ल्याउनु हो। उहाँले स्वर्गका सबै कुरा, पृथ्वीका सबै कुरा, समुद्रका सबै कुरा र पृथ्वीमा भएका परमेश्‍वरका सृष्टिका हरेक अन्तिम वस्तुलाई उहाँको सर्वशक्तिमान्‌ता देख्‍न र उहाँका कार्यहरू अवलोकन गर्न दिनको लागि यो मौका प्रयोग गरिरहनुभएको छ। उहाँले मानिसहरूलाई आफ्ना सबै कार्य प्रकट गर्न, अनि शैतानलाई हराउने कार्यमा उहाँलाई प्रशंसा गर्न र उहाँको बुद्धिलाई उचाल्न तिनीहरूलाई सक्षम पार्नको लागि शैतानमाथिको उहाँका जीतले प्रदान गरेको मौकालाई प्रयोग गरिरहनुभएको छ। पृथ्वीमा, स्वर्गमा, अनि समुद्रमा भएका यावत् थोकले परमेश्‍वरमा महिमा ल्याउँछन्, उहाँको सर्वशक्तिमान्‌ताको प्रशंसा गर्छन्, उहाँका हरेक कार्यको प्रशंसा गर्छन्, र उहाँको पवित्र नाउँलाई पुकार्छन्। शैतानलाई उहाँले हराउनुभएको कुराको प्रमाण यही हो; उहाँले शैतानलाई जित्दैहुनुहुन्छ भन्‍ने कुराको प्रमाण यही हो। अझै महत्त्वपूर्ण कुरा, यो त मानवजातिलाई उहाँले दिनुभएको मुक्तिको प्रमाण हो। परमेश्‍वरका सम्पूर्ण सृष्टिले उहाँमा महिमा ल्याउँछन्, उहाँले आफ्नो शत्रुलाई हराएर विजयको साथ फर्कनुभएकोमा उहाँको प्रशंसा गर्छन्, र उहाँलाई महान् विजयी राजाको रूपमा उचाल्छन्। उहाँको उद्देश्य भनेको शैतानलाई हराउनु मात्रै होइन, त्यही कारणले उहाँले छ हजार वर्षसम्म निरन्तर रूपमा काम गर्नुभएको छ। उहाँले मानवजातिलाई मुक्त गर्नको लागि शैतानको हारलाई प्रयोग गर्नुहुन्छ; उहाँका सबै कार्य र उहाँका सारा महिमा प्रकट गर्नको लागि उहाँले शैतानको हारलाई प्रयोग गर्नुहुन्छ। उहाँले महिमा प्राप्त गर्नुहुनेछ, अनि स्वर्गदूतहरूका सारा भीडले उहाँका सारा महिमा देख्‍नेछन्। स्वर्गका दूतहरू, पृथ्वीका मानिसहरू, अनि पृथ्वीमा भएका सृष्टिका यावत् थोकले सृष्टिकर्ताको महिमा देख्‍नेछन्। उहाँले गर्नुहुने काम यही नै हो। स्वर्ग र पृथ्वीमा भएको उहाँको सृष्टिमा सबैले उहाँको महिमा देख्‍नेछ, अनि शैतानलाई पूर्ण रूपमा हराएपछि उहाँ विजयको साथ फर्कनुहुनेछ, अनि मानवजातिलाई उहाँको प्रशंसा गर्न दिनुहुनेछ, जसद्वारा आफ्‍नो काममा उहाँले दोबर विजय हासिल गर्नुहुनेछ। अन्त्यमा, सारा मानवजाति उहाँद्वारा विजय गरिनेछ, र विरोध गर्ने वा विद्रोह गर्ने जोकोहीलाई उहाँले मेटाउनुहुनेछ; अर्को शब्दमा भन्दा, शैतानको स्वामित्वमा हुने सबैलाई उहाँले मेटाउनुहुनेछ। तैँले हाल परमेश्‍वरका यति धेरै कार्यहरू देखिरहेको छस्, तैपनि, तँ अझै विरोध गर्छस्, विद्रोही छस्, अनि समर्पित हुँदैनस्; तँभित्र तैँले अनेक कुराहरू राखेको छस्, र तँ जे मन लाग्यो त्यही गर्छस्। तँ आफ्नै अभिलाषा र अभिरुचिहरूलाई पछ्याउँछस्; यो सबै नै विद्रोह र विरोध हो। देह र आफ्नै अभिलाषाहरूका खातिर, साथै आफ्नै अभिरुचिहरू, संसार, र शैतानको खातिर गरिने परमेश्‍वरमाथिको कुनै पनि विश्‍वास घिनलाग्दो कुरा हो; यो स्वभावैले विरोध र विद्रोह हो। आजभोली, अनेक किसिमका विश्‍वास छन्: कतिले विपत्तिबाट बासस्थान खोज्छन्, अनि अरूले आशिषहरू प्राप्त गर्न खोज्छन्; कतिले रहस्यहरू बुझ्न चाहन्छन्, अरूले पैसाको खोजी गर्छन्। यी हरेक किसिमका विरोध हुन् र यी सबै ईश्‍वर निन्दा हुन्! कसैले विरोध गर्छ वा विद्रोह गर्छ भन्‍नु भनेको—के त्यसले यस्तै बानीबेहोरालाई जनाउँदैन र? आजका धेरै मानिसहरूले गनगनाउने, गुनासो गर्ने, वा न्याय गर्ने गर्छन्। यी सबै कुरा दुष्टले गर्छ; यी मानवीय विरोध र विद्रोहका उदाहरणहरू हुन्। त्यस्ता मानिसहरूमा शैतान हुन्छ र तिनीहरूमा त्यसैले बास गर्छ। परमेश्‍वरले प्राप्त गर्नुभएकाहरू उहाँमा पूर्ण रूपमा समर्पित हुनेहरू हुन्; तिनीहरू शैतानद्वारा भ्रष्ट तुल्याइएका तर परमेश्‍वरको हालको कामद्वारा मुक्त भएका र विजय गरिएका, सङ्कष्टहरू सामना गरेका, र आखिरमा परमेश्‍वरद्वारा पूर्ण रूपमा प्राप्त गरिएका, त्यस उप्रान्त शैतानको राज्यक्षेत्रको अधीनमा नरहने, अधार्मिकताबाट स्वतन्त्र भएका, अनि पवित्रतामा जिउन इच्छा गर्नेहरू हुन्—त्यस्ताहरू सबैभन्दा पवित्र मानिसहरू हुन्; तिनीहरू वास्तवमा नै पवित्र जनहरू हुन्। यदि तेरा हालका कार्यहरू परमेश्‍वरका मापदण्डहरूको एउटा भागसँग समेत मिल्दैन भने, तँलाई हटाइनेछ। यो निर्विवाद कुरा हो। सबै कुरा अहिले के हुन्छ त्यसमा निर्धारित छ; तँलाई पहिलेबाटै नियुक्त गरिएको र चुनिएको भए तापनि, आजका तेरा कार्यहरूले तेरो परिणामलाई निर्धारित गर्ने नै छ। यदि तँ अहिलेको गतिमा हिँड्न सक्दैनस् भने, तँलाई हटाइनेछ। यदि तँ अहिलेको गतिमा हिँड्न सक्दैनस् भने, तैँले पछिको गतिलाई कसरी पछ्याउन सक्छस्? तेरो अघि यति ठूलो आश्‍चर्यकर्मको घटना घटेको छ, तैपनि तँ अझै विश्‍वास गर्दैनस्। त्यसो भए, जब पछि उहाँले आफ्नो काम गरिसक्‍नुहुनेछ र उप्रान्त त्यस्तो काम गर्नुहुनेछैन, त्यो बेला के तैँले परमेश्‍वरमा विश्‍वास गर्नेछस्? त्यस बेलासम्म, तैँले उहाँलाई पछ्याउनु अझै असम्भव हुनेछ! पछि, तँ पापी होस् कि धर्मी होस् सो निर्धारण गर्न, वा तँ सिद्ध बनाइएको होस् कि हटाइएको होस् भन्‍ने निर्धारण गर्न परमेश्‍वर तेरो मनोवृत्तिमा, देहधारी परमेश्‍वरको कामप्रतिको तेरो ज्ञानमा नै भर पर्नुहुनेछ। तैँले अहिले स्पष्ट देख्‍नुपर्छ। पवित्र आत्माले यसरी काम गर्नुहुन्छ: आजको तेरो बानीबेहोराअनुसार नै उहाँले तेरो परिणामलाई निर्धारित गर्नुहुन्छ। कसले आजको वचन बोल्नुहुन्छ? कसले आजको काम गर्नुहुन्छ? आज तँलाई हटाइनेछ भनेर कसले निर्णय गर्छ? तँलाई सिद्ध बनाउन कसले निर्णय गर्छ? के यो म आफै गर्दिनँ र? यी वचनहरू बोल्ने म नै हुँ; यस्तो काम गर्ने म नै हुँ। मानिसहरूलाई श्राप दिने, सजाय दिने, र न्याय गर्ने सबै मेरो कामका भागहरू हुन्। आखिरमा, तँलाई हटाउने पनि मेरै काम हुनेछ। यी सबै कुरा मेरो काम हुन्! तँलाई सिद्ध बनाउने मेरै काम हो, र तँलाई आशिषहरू उपभोग गर्न दिने पनि मेरै काम हो। यी सबै मैले गर्ने काम हुन्। तेरो परिणाम यहोवाले पहिले नै निर्धारित गर्नुभएको थिएन; यसलाई आजका परमेश्‍वरले निर्धारित गर्दैहुनुहुन्छ। यसलाई अहिले नै निर्धारित गरिँदै छ; यसलाई संसारको सृष्टि गर्नुभन्दा पहिले निर्धारित गरिएको थिएन। केही विवेकहीन मानिसहरूले भन्छन्, “सायद तपाईंको नजरमा केही खराबी छ, र तपाईंले मलाई जसरी देख्‍नुपर्ने हो त्यसरी देख्‍नुहुन्‍न। आखिरमा, आत्माले जे प्रकट गर्नुहुन्छ तपाईंले त्यही नै देख्‍नुहुनेछ!” येशूले पहिले यहूदालाई आफ्नो चेलाको रूपमा चुन्‍नुभयो। मानिसहरू सोध्‍छन्: “उहाँले कसरी उहाँलाई धोका दिने चेला चुन्‍न सक्‍नुभयो?” सुरुमा, येशूलाई धोका दिने कुनै अभिप्राय यहूदासँग थिएन; यो पछि मात्रै भयो। त्यो बेला, येशूले यहूदालाई निकै निगाहका साथ हेर्नुभएको थियो; उहाँले त्यस मानिसलाई उहाँलाई पछ्याउने तुल्याउनुभएको थियो, र उहाँहरूको आर्थिक मामिलालाई सम्हाल्ने जिम्मेवारी त्यसलाई दिनुभएको थियो। यहूदाले पैसा हिनामिना गर्नेछ भन्‍ने येशूलाई थाहा भएको भए, उहाँले त्यसलाई कहिल्यै पनि त्यस्ता मामलाहरूको इन्चार्ज हुन दिनुहुनेथिएन। त्यो मानिस कुटिल र धोकेबाज छ, वा त्यसले उसका दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिन्छ भन्‍ने येशूलाई सुरुमा थाहा थिएन भनेर भन्‍न सकिन्छ। पछि, यहूदाले येशूलाई केही समय पछ्याइसकेपछि, येशूले उसलाई उसका दाजुभाइ-दिदीबहिनीहरूलाई ठगेको र परमेश्‍वरलाई ठगेको देख्‍नुभयो। पैसाको झोलाबाट यहूदाले पैसा लिने गर्थ्यो भन्‍ने पनि मानिसहरूले थाहा पाए, अनि तिनीहरूले येशूलाई यसबारे बताए। तब मात्र के भइरहेको छ त्यो सबैबारे येशूलाई थाहा भयो। येशूले क्रूसीकरणको काम गर्नुपर्ने थियो अनि उहाँलाई धोका दिने कसैको खाँचो थियो, र त्यो भूमिकालाई अघि बढाउनको लागि यहूदा सही व्यक्ति निस्क्यो, त्यसकारण येशूले भन्‍नुभयो, “तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ। मानिसको पुत्रले यस धोकेबाजलाई आफ्‍नो क्रूसीकरणको लागि प्रयोग गर्नेछ, अनि तीन दिनपछि पुनरुत्थान हुनेछ।” त्यो बेला, येशूले यहूदालाई उहाँलाई धोका दिनको लागि वास्तवमा छनौट गरिसक्‍नुभएको थिएन; यसको विपरीत, यहूदा निष्ठावान् चेला हुनेछ भन्‍ने उहाँले आशा गर्नुभएको थियो। अनपेक्षित रूपमा, यहूदा प्रभुलाई धोका दिने लोभी र पतित निस्कियो, त्यसकारण येशूले यहूदालाई यो कामको लागि छनौट गर्न यही अवस्थाको प्रयोग गर्नुभयो। यदि येशूका बाह्रै जना चेलाहरू निष्ठावान् भएका भए, र तिनीहरूमाझ कोही पनि यहूदाजस्तो नभएको भए, येशूलाई धोका दिने व्यक्ति आखिरमा अरू कुनै व्यक्ति हुनेथियो जो चेलाहरूमध्येको एक हुनेथिएन। तैपनि, त्यो बेला यस्तो अवस्था हुन आयो कि चेलाहरूमध्ये एक जना घुस लिन मन पराउने व्यक्ति रहेछ: यहूदा। त्यसकारण, येशूले त्यस मानिसलाई आफ्नो काम पूरा गर्न प्रयोग गर्नुभयो। यो कति सरल कुरा थियो! येशूले आफ्नो कामको सुरुमा त्यसलाई पहिले नै निर्धारित गर्नुभएको थिएन; कामकुराहरू विकास भएर निश्‍चित बिन्दुमा आइपुगेपछि मात्रै उहाँले यो निर्णय गर्नुभयो। यो, येशूको निर्णय थियो, भन्‍नुको अर्थ, यो त परमेश्‍वरका आत्मा स्वयम्‌को निर्णय थियो। मूल रूपमा, यहूदालाई चुन्‍ने येशू नै हुनुहुन्थ्यो; जब यहूदाले पछि येशूलाई धोका दियो, यो उहाँका आफ्नै उद्देश्यहरूलाई पूरा गर्नको लागि पवित्र आत्मा स्वयम्‌ले गर्नुभएको थियो। यो, त्यस समयमा गरिएको पवित्र आत्माको काम थियो। जब येशूले यहूदालाई चुन्‍नुभयो, तब उहाँलाई उसले धोका दिनेछ भन्‍ने उहाँलाई थाहै थिएन। उहाँलाई ऊ यहूदा इस्करियोत भन्‍ने मानिस हो भनेर मात्रै थाहा थियो। तिमीहरूका परिणामहरू पनि आजको तिमीहरूको अधीनताको स्तरअनुसार र तिमीहरूको जीवनको वृद्धिको स्तरमा निर्धारित हुन्छ, तेरा परिणामहरू संसारको सृष्टि हुँदा पहिले नै निर्धारित गरिएको थियो भन्ने कुनै मानव धारणाअनुसार होइनन्। तैँले यी कुराहरूलाई स्पष्ट रूपमा बुझ्नैपर्छ। यीमध्ये कुनै काम तैँले कल्पना गरेअनुसार गरिँदैन।

अघिल्लो: छुटकाराको युगको कार्यपछाडिको साँचो कथा

अर्को: पद र पहिचानको सम्‍बन्धमा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

वास्तविकता कसरी थाहा पाउने

परमेश्‍वर व्यावहारिक परमेश्‍वर हुनुहुन्छ: उहाँका सबै कामहरू व्यावहारिक छन्, उहाँले बोल्ने सबै वचनहरू व्यावहारिक छन्, र उहाँले व्यक्त गर्ने...

परमेश्‍वरप्रतिको सच्‍चा प्रेम स्वस्फूर्त हुन्छ

परमेश्‍वरका वचनहरूको कारण सबै मानिसहरू शोधनमा परेका छन्। यदि परमेश्‍वरले देहधारण नगर्नुभएको भए निश्‍चय नै मानवजातिले यस शोधनद्वारा कष्टको...

भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

परमेश्‍वर देह बन्नुभयो किनभने उहाँको कामको पात्र शैतानको आत्मा वा कुनै पनि अमूर्त कुरा होइन, तर मानिस हो, जो देहको हो र जसलाई शैतानले...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्