पद र पहिचानको सम्‍बन्धमा

यदि तँ परमेश्‍वरद्वारा प्रयोगयोग्य हुन चाहन्छस् भने, तैँले परमेश्‍वरको कार्यलाई जान्‍नैपर्छ, तैँले यसभन्दा पहिले (नयाँ र पुरानो करारमा) उहाँले गर्नुभएको कामलाई जान्‍नैपर्छ, अनि, यति मात्र होइन, तैँले उहाँको आजको कामलाई जान्‍नैपर्छ; भन्‍नुको अर्थ, ६,००० वर्षको अवधिमा गरिएका परमेश्‍वरको कार्यका तीन चरणहरूलाई जान्‍नैपर्छ। यदि तँलाई सुसमाचार फैलाउन लगाइएको छ भने, परमेश्‍वरको कार्यलाई नजानिकन तैँले त्यसो गर्न सक्‍नेछैनस्। कसैले तँलाई तिमीहरूका परमेश्‍वरले बाइबल, पुरानो करार, र त्यस बेलाको येशूको काम र वचनहरूका बारेमा के भन्‍नुभएको छ भनी प्रश्‍न गर्न सक्छ। यदि तैँले बाइबलको भित्री कथालाई बताउन सक्दैनस् भने, तिनीहरू विश्‍वस्त हुनेछैनन्। त्यो बेला, येशूले आफ्‍ना चेलाहरूसँग पुरानो करारको बारेमा धेरै कुरा गर्नुभयो। तिनीहरूले पढ्ने सबै कुरा पुरानो करारबाट नै थियो; येशूलाई क्रूसमा मारिएको धेरै दशकपछि मात्रै नयाँ करार लेखिएको थियो। सुसमाचार फैलाउनको लागि, तैँले बाइबलको भित्री सत्यता, र परमेश्‍वरले इस्राएलमा गर्नुभएको कार्य अर्थात् यहोवाले गर्नुभएको कार्यलाई मुख्य रूपमा बुझ्‍नुपर्छ, र येशूले गर्नुभएको कामको बारेमा पनि तँसँग बुझाइ हुनुपर्छ। सबै मानिसहरूले सबैभन्दा चासो राख्ने विवादहरू यिनै हुन्, र तिनीहरूले नसुनेको कुरा कामका ती दुई चरणहरूको भित्री कथा नै हो। सुसमाचार फैलाउने क्रममा, पहिला पवित्र आत्माले आज गर्नुहुने कामको कुराकानीलाई पन्छ्याएर राख्। कामको यो चरण तिनीहरूको पहुँचभन्दा बाहिर छ, किनभने तिमीहरूले जे कुराको खोजी गर्छौ त्यो सबैभन्दा उत्कृष्ट छ—परमेश्‍वरको ज्ञान, र पवित्र आत्माको कामको ज्ञान—अनि यी दुई कुराहरू जत्तिको उचालिएका कुराहरू केही पनि छैन। यदि तैँले सुरुमा उत्कृष्ट कुराको बारेमा कुरा गर्छस् भने, यो तिनीहरूको लागि अति धेरै हुनेछ, किनभने पवित्र आत्‍माको त्यस्तो कार्यलाई कसैले पनि अनुभव गरेको छैन; यसको कुनै उदाहरण छैन, र यसलाई स्वीकार गर्नु मानिसको लागि सहज हुँदैन। तिनीहरूका अनुभवहरू पवित्र आत्‍माले बेला-बेलामा गर्नुभएका कामहरूसहितका विगतका पुराना कुराहरू हुन्। तिनीहरूले अनुभव गर्ने कुरा पवित्र आत्माको आजको काम, वा परमेश्‍वरको आजको इच्‍छा होइन। कुनै पनि नयाँ ज्योति विना, र कुनै पनि नयाँ कुराहरू विना, तिनीहरू अझै पनि पुरानै अभ्यासहरू अनुसार कार्य गर्छन्।

येशूको युगमा, पवित्र आत्माले मुख्य रूपमा येशूमा नै काम गर्नुभयो, जबकी पूजाहारीको वस्‍त्रहरू लगाएर मन्दिरमा यहोवाको सेवा गर्नेहरूले अटल निष्ठाको साथ त्यसो गरे। तिनीहरूसँग पनि पवित्र आत्माको काम थियो, तर तिनीहरू परमेश्‍वरको वर्तमान इच्‍छालाई बुझ्‍न असमर्थ थिए, र तिनीहरू पुराना प्रचलनहरू अनुसार मात्रै यहोवाप्रति विश्‍वासयोग्य रहे, र तिनीहरू नयाँ मार्गदर्शनरहित थिए। येशू आउनुभयो र नयाँ काम ल्याउनुभयो, तैपनि मन्दिरमा सेवा गर्नेहरूसँग नयाँ मार्गदर्शन थिएन, न त तिनीहरूसँग नयाँ काम नै थियो। मन्दिरमा सेवा गरेर, तिनीहरूले पुराना अभ्यासहरूलाई मात्रै कायम राख्‍न सक्थे, र मन्दिरलाई नछोडीकन, तिनीहरू कुनै पनि नयाँ प्रवेश पाउन असमर्थ थिए। नयाँ काम येशूले नै ल्याउनुभएको थियो, र येशू आफ्‍नो काम गर्नको लागि मन्दिरमा जानुभएन। उहाँले मन्दिरभन्दा बाहिर मात्रै आफ्‍नो काम गर्नुभयो, किनभने परमेश्‍वरको कार्यको क्षेत्र धेरै पहिले नै परिवर्तन भइसकेको थियो। उहाँले मन्दिरभित्र काम गर्नुभएन, र जब मानिसहरूले त्यहाँ परमेश्‍वरको सेवा गरे तिनीहरूले काम-कुराहरूलाई यथास्थितिमा राख्‍नको लागि मात्रै सेवा गरे, र तिनीहरूले कुनै पनि नयाँ कार्य ल्याउन सकेनन्। त्यसरी नै, आजका धार्मिक मानिसहरू अझै पनि बाइबलकै उपासना गर्छन्। यदि तैँले तिनीहरूका बीचमा सुसमाचार फैलाइस् भने, तिनीहरूले तँलाई बाइबलका वचनहरूको सानातिना विवरणहरूले प्रहार गर्नेछन्, अनि तिनीहरूले धेरै प्रमाण पाउनेछन्, तँलाई हक्‍का न बक्‍क र अवाक् तुल्याउनेछ; त्यसपछि तिनीहरूले तिमीहरूलाई एउटा नाम दिनेछन् र तिमीहरू आफ्‍नो विश्‍वासमा मूर्ख छौ भन्‍ने ठान्‍नेछन्। तिनीहरूले भन्‍नेछन्, “तिमीलाई बाइबल, परमेश्‍वरको वचन समेत थाहा छैन भने, तिमी परमेश्‍वरमा विश्‍वास गर्छौ भनेर कसरी भन्‍न सक्छौ?” त्यसपछि तिनीहरूले तँलाई नीच दृष्टिकोणले हेर्नेछन्, र यो पनि भन्‍नेछन्, “तिमीहरूले विश्‍वास गर्ने उहाँ परमेश्‍वर नै हुनुहुन्छ भने, उहाँले किन तिमीहरूलाई पुरानो र नयाँ करारको बारेमा सबै कुरा बताउनुहुन्‍न? उहाँले इस्राएलबाट पूर्वमा आफ्‍नो महिमा ल्याउनुभएको हो भने, उहाँलाई इस्राएलमा गरिएको कार्यबारे किन थाहा छैन? उहाँलाई येशूको बारेमा किन थाहा छैन? यदि तिमीहरूलाई थाहा छैन भने, तिमीहरूलाई बताइएको छैन भन्‍ने यसले प्रमाणित गर्छ; उहाँ येशूको दोस्रो देहधारण हुनुहुन्छ भने, उहाँलाई कसरी यी कुराहरू थाहा नहुन सक्छ र? यहोवाले गर्नुभएको काम येशूलाई थाहा थियो; उहाँलाई कसरी थाहा नहुन सक्छ र?” जब समय आउँछ, तिनीहरूले तँलाई त्यस्ता प्रश्‍नहरू सोध्‍नेछन्। तिनीहरूका टाउको यस्ता कुराहरूले भरिपूर्ण छन्; तिनीहरूले नसोधी कसरी बस्‍न सक्थे र? यो प्रवाहभित्र हुने तिमीहरूले बाइबलमा ध्यान केन्द्रित गर्दैनौ, किनभने परमेश्‍वरले आज गर्नुभएको चरणबद्ध कार्यलाई तिमीहरूले पछ्याएका छौ, तिमीहरूले यो चरणबद्ध कार्यलाई तिमीहरूका आफ्‍नै आँखाले देखेका छौ, र तिमीहरूले कार्यका तीन चरणलाई स्पष्ट रूपमै हेरेका छौ, त्यसकारण तिमीहरूले बाइबललाई तल राखेर यसलाई अध्ययन गर्न छोड्नु परेको थियो। तर तिनीहरूले यसलाई अध्ययन नगरी बस्‍न सक्दैनन्, किनभने तिनीहरूसँग यो चरणबद्ध कामको कुनै ज्ञान छैन। कतिपय मानिसहरूले यो सोध्‍नेछन्, “देहधारी परमेश्‍वर र विगतका समयहरूका अगमवक्ता र प्रेरितहरूले गरेका कामको बीचमा रहेको भिन्‍नता के हो? दाऊदलाई पनि प्रभु भनेर भनियो, र येशूलाई पनि त्यसै भनेर भनियो; उनीहरूले गरेका काम फरक-फरक भए तापनि, उनीहरूलाई उही नाउँले बोलाइयो। मलाई बताऊ, किन उनीहरूका पहिचानहरू एउटै थिएनन्? यूहन्‍नाले जे देखे त्यो दर्शन थियो, र त्यो पनि पवित्र आत्‍माबाट नै आएको थियो, अनि पवित्र आत्‍माले भन्‍ने अभिप्राय राख्‍नुभएका वचनहरूलाई तिनले पनि भन्‍न सके; किन यूहन्‍नाको पहिचान येशूको भन्दा फरक थियो?” येशूले बोल्‍नुभएका वचनहरूले परमेश्‍वरलाई पूर्ण रूपमा प्रतिनिधित्व गर्न सके, र तिनले पूर्ण रूपमा परमेश्‍वरको कार्यलाई प्रतिनिधित्व गर्न सके। यूहन्‍नाले जे देखे त्यो दर्शन थियो, र तिनले परमेश्‍वरको कार्यलाई पूर्ण रूपमा प्रतिनिधित्व गर्न सक्दैनथिए। किन यूहन्‍ना, पत्रुस, र पावलले येशूले जस्तै धेरै वचनहरू बोले, तैपनि किन तिनीहरूको पहिचान येशूको जस्तै थिएन? तिनीहरूले गरेको कार्य फरक थियो भन्‍ने नै यसको मुख्य कारण हो। येशूले परमेश्‍वरका आत्मालाई प्रतिनिधित्व गर्नुभयो र प्रत्यक्ष रूपमा काम गर्ने परमेश्‍वरका आत्मा नै हुनुहुन्थ्यो। उहाँले नयाँ युगको काम गर्नुभयो, जुन कार्यलाई पहिले कसैले पनि गरेको थिएन। उहाँले नयाँ मार्ग खोल्‍नुभयो, यहोवालाई प्रतिनिधित्व गर्नुभयो, र परमेश्‍वर स्वयमलाई प्रतिनिधित्व गर्नुभयो, तैपनि पत्रुस, पावल, र दाऊदको हकमा, तिनीहरूलाई जेसुकै भनेर भनिए तापनि, तिनीहरूले परमेश्‍वरको एक सृष्टिको पहिचानलाई मात्रै प्रतिनिधित्व गरे, र तिनीहरूलाई येशू वा यहोवाले पठाउनुभएको थियो। त्यसकारण तिनीहरूले जति नै धेरै काम गरेका भए तापनि, तिनीहरूले जति नै ठूला-ठूला आश्‍चर्यकर्महरू गरेका भए तापनि, तिनीहरू केवल परमेश्‍वरका सृष्टिहरू मात्रै थिए, र तिनीहरूले परमेश्‍वरका आत्मालाई प्रतिनिधित्व गर्न सक्‍दैनथिए। तिनीहरूले परमेश्‍वरको नाउँमा काम गरे वा परमेश्‍वरले पठाउनुभएपछि काम गरे; यसको साथै, तिनीहरूले येशू वा यहोवाले सुरु गर्नुभएका युगहरूमा काम गरे, र तिनीहरूले अरू कुनै काम गरेनन्। आखिरमा, तिनीहरू परमेश्‍वरका सृष्टिहरू मात्रै थिए। पुरानो करारमा, धेरै अगमवक्ताहरूले भविष्यवाणीहरू गरे वा भविष्यवाणीका पुस्तकहरू लेखे। तिनीहरू परमेश्‍वर हुन् भनेर कसैले भनेनन्, तर येशूले काम सुरु गर्ने बित्तिकै, परमेश्‍वरका आत्माले उहाँ परमेश्‍वर हुनुहुन्छ भन्‍ने गवाही दिनुभयो। किन त्यसो भयो? यस विन्दुमा तँलाई पहिले नै थाहा भइसकेको हुनुपर्छ! पहिले, प्रेरितहरू र अगमवक्ताहरूले विभिन्‍न पत्रहरू लेखे, र विभिन्‍न भविष्यवाणीहरू गरे। पछि, मानिसहरूले तीमध्ये कतिलाई बाइबलमा समावेश गर्न छनौट गरे, र कति हराएर गए। तिनीहरूले बोलेका हरेक कुरा पवित्र आत्‍माबाट नै आएका थिए भनी भन्‍ने मानिसहरू पनि छन्, त्यसकारण किन यसमध्ये कतिलाई असल ठानिन्छ र यसमध्ये कतिलाई खराब ठानिन्छ त? अनि किन कतिलाई छनौट गरियो, अरूलाई गरिएन? यदि ती वास्तवमै पवित्र आत्‍माले बोल्‍नुभएका वचनहरू नै थिए भने, मानिसहरूले ती छनौट गरिरहनुपर्ने आवश्यकता हुनेथियो र? किन येशूले बोल्‍नुभएका वचनहरू र उहाँले गर्नुभएको कामका विवरणहरू सुसमाचारका चार वटा पुस्तकहरूमा फरक-फरक छन्? के यो ती विवरण लेख्‍नेहरूको गल्ती होइन र? कतिपय मानिसहरूले सोध्‍नेछन्, “पावल र नयाँ करारका अन्य लेखकहरूले लेखेका पत्रहरू र तिनीहरूले गरेको काम आंशिक रूपमा मानिसको इच्‍छाबाट पैदा भएको हुनाले, र मानिसका धारणाहरू मिश्रित भएका हुनाले, के तपाईं (परमेश्‍वर) ले आज बोल्‍नुहुने वचनहरूमा मानव अशुद्धता हुँदैन र? के तिनीहरूमा वास्तवमै मानिसको कुनै धारणा समावेश हुँदैन र?” परमेश्‍वरले गर्नुभएको यो चरणको कार्य पावल र धेरै प्रेरितहरू अनि अगमवक्ताहरूले गरेको कामभन्दा पूर्ण रूपमा फरक छ। पहिचानमा मात्रै भिन्‍नता छैन, तर, मुख्यतः गरिने कार्यमा पनि भिन्‍नता छ। पावललाई प्रहार गरेर तिनी प्रभुको अघि लडेपछि, तिनलाई पवित्र आत्माले नै काम गर्न अगुवाइ गर्नुभयो, अनि तिनी पठाइएका एक व्यक्ति बने। त्यसकारण तिनले मण्डलीहरूलाई पत्रहरू लेखे, अनि यी पत्रहरू सबै येशूका शिक्षाहरू अनुरूप नै थिए। पावललाई प्रभुले प्रभु येशूको नाममा काम गर्न पठाउनुभएको थियो, तर जब परमेश्‍वर स्वयम्‌ आउनुभयो, उहाँले कुनै पनि नाममा काम गर्नुभएन, र उहाँले आफ्‍नो काममा परमेश्‍वरका आत्मालाई बाहेक कसैलाई प्रतिनिधित्व गर्नुभएन। परमेश्‍वर आफ्‍नो काम प्रत्यक्ष रूपमा गर्न आउनुभयो: उहाँलाई मानिसले सिद्ध तुल्याएको थिएन, र उहाँको कार्य कुनै पनि मानिसका शिक्षाहरू अनुसार गरिएन। कामको यो चरणमा परमेश्‍वरले आफ्‍ना व्यक्तिगत अनुभवहरूका बारेमा कुरा गरेर अगुवाइ गर्नुहुन्‍न, तर उहाँसँग जे छ त्यसको आधारमा उहाँले आफ्‍नो काम प्रत्यक्ष रूपमा गर्नुहुन्छ। उदाहरणको लागि, सेवा गर्नेको परीक्षा, सजायको समय, मृत्युको परीक्षा, परमेश्‍वरलाई प्रेम गर्ने समय…। यो सबै यसभन्दा पहिले कहिल्यै नगरिएको काम हो, र यो मानिसको अनुभवहरूको भन्दा बरु वर्तमान युगको काम हो। मैले बोलेका वचनहरूमा, कुन-कुनचाहिँ मानिसका अनुभवहरू हुन्? के ती सबै प्रत्यक्ष रूपमा आत्माबाट नै आउँदैनन्, र के ती आत्माले नै जारी गर्नुभएको होइन र? तिमीहरूको क्षमता कमजोर भएकोले मात्रै तिमीहरू सत्यतालाई देख्‍न सक्दैनौ! मैले बताउने जीवनको व्यावहारिक मार्ग भनेको मार्गमा डोर्याउनु हो, र यसको बारेमा यसभन्दा पहिले कसैले बताएको छैन, न त कसैले कहिल्यै यो मार्गलाई अनुभव गरेको, वा यो वास्तविकतालाई जानेको छ। मैले यी वचनहरू उच्‍चारण गर्नुभन्दा पहिले, कसैले पनि ती बोलेका छैनन्। त्यस्ता अनुभवहरूका बारेमा कसैले पनि कहिल्यै कुरा गरेका छैनन्, न त तिनीहरूले त्यस्ता विवरणहरूका बारेमा नै बोलेका छन्, यसको साथै, यस्ता कुराहरूलाई प्रकट गर्नको लागि कसैले यस्ता स्थितिहरूलाई कहिल्यै औंल्याएका छैनन्। मैले आज डोर्याउने मार्गलाई कसैले कहिल्यै पनि डोर्याएको छैन, र यदि यसलाई मानिसले डोर्याएको थियो भने, यो नयाँ मार्ग हुनेथिएन। उदाहरणको लागि, पावल र पत्रुसलाई लिऊँ। येशूले मार्गको अगुवाइ गर्नुभन्दा पहिले तिनीहरूसँग तिनीहरूका आफ्‍नै अनुभवहरू थिएनन्। येशूले मार्गको अगुवाइ गर्नुभएपछि मात्रै येशूले बोल्‍नुभएका वचनहरूलाई अनि उहाँले अगुवाइ गर्नुभएको मार्गलाई तिनीहरूले अनुभव गरे; यसद्वारा तिनीहरूले धेरै अनुभवहरू प्राप्त गरे, र तिनीहरूले पत्रहरू लेखे। त्यसकारण, मानिसका अनुभवहरू परमेश्‍वरका काम जस्तै उही हुँदैनन्, र परमेश्‍वरको काम अनि मानिसका धारणा र अनुभवहरूले व्याख्या गरेको ज्ञान एउटै होइनन्। मैले बारम्‍बार भनेको छु, आज मैले नयाँ मार्गको अगुवाइ गरिरहेको छु, र मैले नयाँ काम गरिरहेको छु, अनि मेरो काम र वाणीहरू यूहन्‍ना र अरू सबै अगमवक्ताहरूका भन्दा फरक छन्। सुरुमा मैले अनुभवहरू प्राप्त गरेर तिमीहरूलाई ती बताउने काम मैले कहिल्यै गरेको छैन—मामला त्यो हुँदै होइन। यदि यस्तो हो भने, के त्यसले तिमीहरूलाई धेरै पहिले नै विलम्बित गरेको हुनेथिएन र? विगतमा, धेरैले बताउने ज्ञानलाई पनि उचालिन्थ्यो, तर तथाकथित आत्मिक व्यक्तित्वहरूका आधारमा मात्रै तिनीहरूका सबै वचन बोलिएका हुन्थे। तिनीहरूले मार्गको अगुवाइ गरेनन्, तर ती तिनीहरूका अनुभवहरूबाट, तिनीहरूले जे देखेका थिए त्यसबाट, र तिनीहरूका ज्ञानबाट आएका थिए। कतिपय तिनीहरूका धारणाबाट आएका थिए, र कति तिनीहरूले भोगेका अनुभवहरूद्वारा रचना गरिए। आज, मेरो कार्यको प्रकृति तिनीहरूकोभन्दा पूर्ण रूपमा फरक छ। मैले अरूद्वारा अगुवाइ गरिने कार्यको अनुभव गरेको छैन, न त अरूद्वारा सिद्ध पारिने कार्यलाई नै मैले स्वीकार गरेको छु। यसको साथै, मैले बोलेका र सङ्गति गरेका सबै कुरा अरू कसैको जस्तो छैन र तिनलाई अरू कसैले कहिल्यै बोलेका छैनन्। आज, तिमीहरू जो भए पनि, तिमीहरूको काम मैले बोल्‍ने वचनहरूका आधारमा गरिन्छ। यी वाणीहरू र कामविना, यी कुराहरूलाई (सेवा गर्नेको परीक्षा, सजायको समय…) कसले अनुभव गर्न सक्थ्यो र, अनि त्यस्तो ज्ञान कसले बोल्‍न सक्थ्यो र? के तँ साँच्‍चै यसलाई देख्‍न सक्दैनस्? कार्यको चरण जेसुकै भए तापनि, मेरा वचनहरू बोलिएपछि तुरुन्तै, तिमीहरू मेरा वचनहरू अनुसार सङ्गति गर्न, र ती अनुसार काम गर्न सुरु गर्छौ, अनि यो तिमीहरूमध्ये कसैले सोचेको मार्ग होइन। यति टाढासम्‍म आइसकेपछि, के तँ त्यति स्पष्ट र सरल प्रश्‍नलाई देख्‍न सक्दैनस् र? यो कतिपयले सोचेको मार्ग होइन, न त यो कुनै पनि आत्मिक व्यक्तित्वहरूमा आधारित छ। यो नयाँ मार्ग हो, र येशूले कुनै बेला बोल्‍नुभएका धेरैजसो वचनहरू समेत अब उप्रान्त लागू हुँदैनन्। मैले नयाँ युगको सुरुवात गर्ने कार्यको बारेमा बोलिरहेको छु, र यो एकलै खडा हुने काम हो; मैले गर्ने काम, अनि मैले बोल्‍ने वचनहरू सबै नयाँ छन्। के यो आजको नयाँ काम होइन र? येशूको कार्य पनि यस्तै थियो। उहाँको काम पनि मन्दिरका मानिसहरूको भन्दा फरक थियो, र यो फरिसीहरूको कामभन्दा पनि फरक नै थियो, न त यो इस्राएलका सबै मानिसहरूले गरेको कामसँग नै कुनै पनि रीतिले मिल्थ्यो। यसलाई देखिसकेपछि, मानिसहरूले आफ्‍नो मनमा यो निर्णय गर्न सकेनन्: “के यो साँच्‍चै परमेश्‍वरले नै गर्नुभएको हो?” येशूले यहोवाको कुनै पनि व्यवस्थालाई पक्रिनुभएन; जब उहाँ मानिसलाई शिक्षा दिन आउनुभयो, तब उहाँले जे बोल्‍नुभयो त्यो नयाँ र प्राचीन सन्तहरू र पुरानो करारका अगमवक्ताहरूले भनेका भन्दा फरक थियो, र यसले गर्दा, मानिसहरू अनिश्‍चित नै रहे। यही कारणले गर्दा मानिसलाई निराकरण गर्नु निकै कठिन हुन्छ। कामको यो नयाँ चरणलाई स्वीकार गर्नुभन्दा पहिले, तिमीहरूमध्ये बहुसंख्यकले हिँडेको मार्ग भनेको ती आत्मिक व्यक्तित्वहरूको जगलाई अभ्यास गर्नु र त्यसमा प्रवेश गर्नु थियो। तर आज, मैले गर्ने काम अत्यन्तै फरक छ, त्यसकारण यो सहि हो कि होइन सो निर्णय गर्न तिमीहरूले सक्दैनौ। तैँले पहिले कुन मार्ग हिँडिस् मलाई त्यसको चासो छैन, न त तैँले कसको “भोजन” खाइस् वा तैँले कसलाई आफ्‍नो “पिता” को रूपमा लिइस् त्यसप्रति मलाई कुनै चासो छ। मैले आएर मानिसलाई अगुवाइ गर्न नयाँ काम ल्याएको हुनाले, मलाई पछ्याउने सबैले मैले जे भन्छु सोही अनुसार काम गर्नुपर्छ। तँ जत्तिसुकै शक्तिशाली “परिवार” बाट आएको भए तापनि, तैँले मलाई पछ्याउनैपर्छ, तैँले तेरा पहिलेका अभ्यासहरू अनुसार व्यवहार गर्नु हुँदैन, “तेरो अभिभावक पिता” तल झर्नैपर्छ, र तेरो अधिकारमा पर्ने भागको खोजी गर्नको लागि तँ आफ्‍नो परमेश्‍वर सामू आउनुपर्छ। तेरो पूर्णता मेरै हातमा छ, र तैँले तेरो संरक्षक पितालाई अति धेरै अन्धविश्‍वास अर्पण गर्नु हुँदैन; उसले तँलाई पूर्ण रूपमा नियन्त्रण गर्न सक्दैन। आजको काम एकलै खडा हुन्छ। आज मैले बताउने सबै कुरा अवश्य नै विगतको जगमा आधारित छैन; यो नयाँ सुरुवात हो, र यो मानिसको हातले सृष्टि गरेको हो भनेर भन्छस् भने, मुक्ति दिन नसकिने गरी अन्धा भएको तँ नै होस्!

यशैया, इजकिएल, मोशा, दाऊद, अब्राहाम, र दानिएल इस्राएलका चुनिएका मानिसहरूका बीचमा अगुवाहरू वा अगमवक्ताहरू थिए। किन तिनीहरूलाई परमेश्‍वर कहलाइएन? किन पवित्र आत्‍माले तिनीहरूको लागि गवाही दिनुभएन? येशूले काम थालनी गर्ने र आफ्‍ना वचनहरू सुरु गर्ने बित्तिकै किन पवित्र आत्‍माले उहाँको गवाही दिनुभयो? अनि किन पवित्र आत्‍माले अरूको लागि गवाही दिनुभएन? तिनीहरू, अर्थात् देहका मानिसहरू, सबै “प्रभु” कहलाइए। तिनीहरूलाई जे कहलाइए पनि, तिनीहरूका कार्यले तिनीहरूको अस्तित्व र सारलाई प्रतिनिधित्व गर्छ, र तिनीहरूको अस्तित्व र सारले तिनीहरूको पहिचानलाई प्रतिनिधित्व गर्छ। तिनीहरूका सार तिनीहरूका पदहरूसँग सम्‍बन्धित छैन; तिनीहरूले जे व्यक्त गरे, र तिनीहरूले जे जिए त्यसले यसैको प्रतिनिधित्व गर्छ। पुरानो करारमा, प्रभु भनेर कहलाइनु कुनै असाधारण कुरा थिएन, अनि व्यक्तिलाई जेसुकै भनेर बोलाउन सकिन्थ्यो, तर उसको सार र अन्तर्निहित पहिचान अपरिवर्तनीय हुन्थे। झूटा ख्रीष्टहरू, झूटा अगमवक्ताहरू, र धोकेबाजहरूका बीचमा, “परमेश्‍वर” कहलाइनेहरू पनि छैनन् र? अनि किन तिनीहरू परमेश्‍वर होइनन्? किनभने तिनीहरूले परमेश्‍वरको कार्य गर्न सक्दैनन्। मूल रूपमा, तिनीहरू मानव हुन्, मानिसहरूलाई धोका दिनेहरू हुन्, परमेश्‍वर होइनन्, त्यसकारण तिनीहरूमा परमेश्‍वरको पहिचान छैन। के दाऊद बाह्र कुलका बीचमा प्रभु भनेर कहलिदैन थियो र? येशूलाई पनि प्रभु कहलाइयो; किन येशूलाई मात्रै देहधारी परमेश्‍वर कहलाइयो? के यर्मियालाई पनि मानिसको पुत्र भनेर चिनिँदैन थियो र? अनि के येशू मानिसको पुत्रको रूपमा चिनिनुहुन्‍न थियो र? किन येशू परमेश्‍वरको खातिर क्रूसमा टाँगिनुभयो? के उहाँको सार फरक भएकोले होइन र? के उहाँले गर्नुभएको काम फरक भएकोले होइन र? के शीर्षकले अर्थ राख्छ र? येशूलाई मानिसको पुत्र कहलाइए तापनि, उहाँ परमेश्‍वरको पहिलो देहधारण हुनुहुन्थ्यो, उहाँ शक्ति धारण गर्न, र छुटकाराको काम पूरा गर्न आउनुभएको थियो। यसले येशूको पहिचान र सार मानिसको पुत्र भनेर कहलाइने अरूका भन्दा फरक थिए भन्‍ने कुरालाई प्रमाणित गर्छ। आज, तिमीहरूका बीचमा कसले पवित्र आत्माले प्रयोग गर्नुभएकाहरूले बोलेका सबै वचनहरू पवित्र आत्माबाट नै आएका थिए भनेर भन्‍ने आँट गर्छ? के कसैले त्यस्ता कुराहरू भन्‍ने आँट गर्छ? यदि तैँले त्यस्ता कुराहरू भन्‍ने आँट गर्छस् भने, एज्राको अगमवाणीको पुस्तकलाई किन खारेज गरियो, र प्राचीन सन्तहरू र अगमवक्ताहरूको पुस्तकलाई पनि किन त्यसै गरियो? यदि ती सबै पवित्र आत्माबाट नै आएका थिए भने, तिमीहरूले किन त्यस्तो स्वेच्‍छाचारी छनौटहरू गर्ने आँट गर्छौ? के तँ पवित्र आत्‍माको कार्यलाई छनौट गर्न योग्य छस्? इस्राएलका धेरै कथाहरूलाई पनि खारेज गरियो। अनि यदि तँ विगतका यी लेखहरू पवित्र आत्‍माबाट आएका हुन् भन्‍ने विश्‍वास गर्छस् भने, किन कतिपय पुस्तकहरूलाई खारेज गरियो? यदि ती सबै पवित्र आत्‍माबाट नै आएका थिए भने, तिनीहरू सबैलाई सुरक्षित राखिनुपर्थ्यो, र पढ्नको लागि मण्डलीहरूका दाजुभाइ-दिदीबहिनीहरूकहाँ पठाइनु पर्नेथियो। तिनीहरूलाई मानिसको इच्‍छाद्वारा चुनिनु वा हटाउनु हुँदैनथियो; त्यसो गर्नु गलत हो। पावल र यूहन्‍नाका अनुभवहरू तिनीहरूका व्यक्तिगत अन्तर्दृष्टिहरूसँग मिसिएका थिए भन्दैमा तिनीहरूका अनुभवहरू र ज्ञान शैतानबाट आएको थियो भन्‍ने हुँदैन, तर तिनीहरूसँग तिनीहरूका व्यक्तिगत अनुभवहरू र अन्तर्दृष्टिहरूबाट आएका कुराहरू थिए भन्‍ने मात्रै यसको अर्थ हुन्छ। तिनीहरूका ज्ञान त्यस बेलाको तिनीहरूको खास अनुभवहरूको पृष्ठभूमि अनुरूप थियो, र यो सबै पवित्र आत्माबाट नै आएको थियो भनेर कसले निर्धक्‍कसाथ भन्‍न सक्छ? सुसमाचारका चार वटै पुस्तकहरू पवित्र आत्‍माबाट आएका थिए भने, किन मत्ती, मर्कूस, लूका र यूहन्‍नाले येशूको कामको बारेमा केही फरक-फरक कुरा भने? यदि तिमीहरू यो कुरामा विश्‍वास गर्दैनौ भने, पत्रुसले प्रभुलाई कसरी तीन पटक इन्कार गरे त्यसको बारेमा बाइबलमा दिइएको विवरणलाई हेर: तिनीहरू सबै फरक छन्, र ती प्रत्येकमा आ-आफ्‍नै विशेषताहरू छन्। अज्ञानी धेरैहरूले यसो भन्छन्, “देहधारी परमेश्‍वर पनि मानिस नै हुनुहुन्छ भने, के उहाँले बोल्‍नुहुने वचनहरू पूर्ण रूपमा पवित्र आत्‍माबाट नै आउन सक्छन्? यदि पावल र यूहन्‍नाका वचनहरू मानव इच्‍छाद्वारा मिश्रित थिए भने, के उहाँले बोल्‍नुहुने वचनहरूमा मानव इच्‍छा वास्तवमै मिश्रित छैनन् र?” यस्ता कुराहरू भन्‍ने मानिसहरू अन्धा र अज्ञानी हुन्! सुसमाचारका चार पुस्तकहरूलाई ध्यान दिएर पढ; येशूले गर्नुभएका कुराहरू र उहाँले बोल्‍नुभएका वचनहरूका बारेमा तिनमा के विवरण दिइएका छन् त्यसलाई पढ। हरेक पुस्तक अलिक फरक छ, र हरेकको आ-आफ्‍नै दृष्टिकोण छ। यदि यी पुस्तकहरूका लेखकहरूले लेखेका कुराहरू सबै पवित्र आत्‍माबाट आएका थिए भने, यो सबै उही र समरूप हुनुपर्ने थियो। त्यसो भए किन तिनमा भिन्‍नताहरू छन् त? के यसलाई देख्‍न नसक्‍ने गरी मानिस अत्यन्तै मूर्ख छैन र? यदि तँलाई परमेश्‍वरको गवाही दिन लगाइएको छ भने, तैँले कस्तो प्रकारको गवाही दिन सक्छस्? के परमेश्‍वरलाई चिन्‍ने त्यस्तो तरिकाले उहाँको गवाही दिन सक्छ र? यदि अरूले तँलाई “यदि यूहन्‍ना र लूकाका विवरणहरूमा मानव इच्‍छा मिश्रित थिए भने, के तिमीहरूका परमेश्‍वरले बोलेका वचनहरूमा पनि मानव इच्‍छा मिश्रित छैनन् र?” भनी सोध्यो भने, के तँ स्पष्ट उत्तर दिन सक्छस्? लूका र मत्तीले येशूका वचनहरू सुनिसकेपछि, र येशूको काम देखिसकेपछि, तिनीहरूले येशूले गर्नुभएको कामका केही तथ्यहरूको विवरणलाई स्मरण गर्ने तरिकाले आफ्‍नै ज्ञान अनुसार बोले। के तँ तिनीहरूका ज्ञान पवित्र आत्माले नै पूर्ण रूपमा प्रकट गर्नुभएको थियो भनी भन्‍न सक्छस्? बाइबलभन्दा बाहिर, तिनीहरूका भन्दा उच्‍च ज्ञान भएका धेरै आत्मिक व्यक्तित्वहरू थिए, त्यसो भने किन तिनीहरूका वचनहरूलाई पछिका पुस्ताहरूले लिएनन्? के तिनीहरूलाई पनि पवित्र आत्‍माले प्रयोग गर्नुभएको थिएन र? यो जान कि, आजको काममा, मैले येशूको कामको जगमा आधारित मेरा आफ्‍नै अन्तर्दृष्टिहरू बोलिरहेको छैन, न त येशूको कामको पृष्ठभूमि विरुद्धमा मेरो आफ्‍नै ज्ञानको बारेमा नै बोलिरहेको छु। त्यो बेला येशूले के काम गर्नुभयो? अनि आज मैले के काम गरिरहेको छु? मैले जे गर्छु र भन्छु त्यसको पूर्वानुमान छैन। आज मैले हिँड्ने मार्गमा पहिले कहिल्यै हिँडिएको छैन, विगतका युगहरू र पुस्ताहरूका मानिसहरू कहिल्यै यसमा हिँडेका छैनन्। आज, यसको सुरुवात भएको छ, र के यो आत्माको काम होइन र? यो पवित्र आत्‍माको काम भए तापनि, विगतका अगुवाहरू सबैले आफ्‍नो कामलाई अरूका जगको आधारमा अघि बढाए; तैपनि, परमेश्‍वर स्वयमको काम भने फरक छ। येशूको कामको चरण पनि यस्तै थियो: उहाँले नयाँ मार्ग खोल्‍नुभयो। जब उहाँ आउनुभयो, उहाँले स्वर्गको राज्यको सुसमाचार प्रचार गर्नुभयो, र मानिसले पश्‍चात्ताप गर्नुपर्छ र स्वीकार गर्नुपर्छ भनेर भन्‍नुभयो। येशूले आफ्‍नो काम पूरा गर्नुभएपछि, पत्रुस र पावल अनि अरूले येशूको कार्यलाई अघि बढाउन सुरु गरे। येशूलाई क्रूसमा काँटी ठोकिएर स्वर्गमा उचालिनुभएपछि, क्रूसको मार्ग फैलाउनको लागि तिनीहरूलाई आत्माले पठाउनुभएको थियो। पावलका वचनहरू उच्‍च रहेको भए तापनि, ती पनि येशूले जे भन्‍नुभएको थियो त्यसको जगमा आधारित थिए, जस्तै धैर्यता, प्रेम, कष्ट-भोग, शिर ढकाइ, बप्तिस्मा, वा पालन गर्नुपर्ने अरू धर्मसिद्धान्तहरू। यो सबै येशूको वचनहरूको जगको आधारमा बोलिएको थियो। तिनीहरूले नयाँ मार्ग खोल्‍न सक्दैन थिए, किनभने तिनीहरू सबै परमेश्‍वरले प्रयोग गर्नुभएका मानिसहरू थिए।

त्यस बेलाको येशूका वाणीहरू र कार्यले धर्मसिद्धान्तलाई पछ्याएन, र उहाँले पुरानो करारको व्यवस्थाको कार्य अनुसार आफ्‍नो काम गर्नुभएन। यसलाई अनुग्रहको युगमा गरिनुपर्ने कार्य अनुसार अघि बढाइएको थियो। उहाँले अघि सार्नुभएको काम अनुसार, उहाँको आफ्‍नै योजना अनुसार, र उहाँको आफ्‍नै सेवकाइ अनुसार परिश्रम गर्नुभयो; उहाँले पुरानो करारको व्यवस्था अनुसार काम गर्नुभएन। उहाँले गर्नुभएको कुनै पनि कुरा पुरानो करारको व्यवस्था अनुसार थिएन, र उहाँ अगमवक्ताहरूका वचनहरूलाई पूरा गर्नको लागि काम गर्न आउनुभएन। प्राचीन अगमवक्ताहरूको भविष्यवाणीहरूलाई पूरा गर्नको लागि मात्रै भनेर परमेश्‍वरको कामको हरेक चरण प्रस्तुत गरिएन, र उहाँ धर्मसिद्धान्तको पालन गर्न वा प्राचीन अगमवक्ताहरूको भविष्यवाणीहरूलाई जानी-जानी पुरा गर्नको लागि आउनुभएन। तैपनि उहाँका कार्यहरूले प्राचीन अगमवक्ताहरूका भविष्यवाणीहरूलाई भङ्ग गरेन, न त उहाँले पहिले गर्नुभएको काममा नै तिनीहरूले बाधा दिए। उहाँको कामको प्रमुख बुँदा भनेको उहाँ कुनै पनि धर्मसिद्धान्तद्वारा बाँधिनुको सट्टा, उहाँ स्वयमले गर्नुपर्ने काम गर्नुभयो भन्‍ने थियो। उहाँ अगमवक्ता वा द्रष्टा हुनुहुन्‍न थियो, तर कर्ता हुनुहुन्थ्यो जो वास्तवमा आफूले गर्नु पर्ने काम गर्न आउनुभयो, र उहाँ आफ्‍नो नयाँ युग सुरु गर्न र आफ्‍नो नयाँ कार्यलाई अघि बढाउन आउनुभयो। अवश्य नै, जब येशू आफ्‍नो काम गर्न आउनुभयो, उहाँले पुरानो करारका प्राचीन अगमवक्ताहरूले बोलेका धेरै वचनहरूलाई पनि पूरा गर्नुभयो। त्यसरी नै आजको कार्यले पनि पुरानो करारका प्राचीन अगमवक्ताहरूका भविष्यवाणीहरूलाई पूरा गरेको छ। यति मात्रै हो कि, “पुरानो भएर पहेँलो भइसकेको तिथि-पत्र” लाई म पालन गर्दिन। किनभने मैले गर्नै पर्ने काम धेरै छन्, मैले तिमीहरूसँग बोल्‍नै पर्ने वचनहरू धेरै छन्, र यो काम र यी वचनहरू बाइबलका अनुच्‍छेदहरूबाट व्याख्या गर्नुभन्दा धेरै नै महत्त्वपूर्ण छन्, किनभने तिमीहरूका निम्ति त्यस्ता कामको ठूलो महत्त्व वा मूल्य हुँदैन, र तिनले तिमीहरूलाई सहायता गर्न, वा तिमीहरूलाई परिवर्तन गर्न सक्दैनन्। म बाइबलको कुनै पनि अनुच्‍छेदलाई पूरा गर्नको खातिर नयाँ काम गर्ने अभिप्राय राख्दिनँ। यदि परमेश्‍वर बाइबलका प्राचीन अगमवक्ताहरूका वचनहरूलाई पूरा गर्न मात्रै आउनुभयो भने, को ठूलो हो, देहधारी परमेश्‍वर कि ती प्राचीन अगमवक्ताहरू? आखिर, अगमवक्ताहरू परमेश्‍वरको रेखदेख गर्ने हुन् कि परमेश्‍वर अगमवक्ताहरूका रेखदेख गर्ने हुनुहुन्छ? तँ कसरी यी वचनहरूलाई व्याख्या गर्छस्?

सुरुमा, जब येशूले आफ्‍नो सेवकाइलाई आधिकारिक रूपमा सुरु गर्न बाँकी नै थियो, उहाँलाई पछ्याउने चेलाहरूजस्तै उहाँ पनि कहिलेकहीँ मन्दिरका भेलाहरूमा जानुहुन्थ्यो, र भजनहरू गाउनुहुन्थ्यो, प्रशंसा चढाउनुहुन्थ्यो, र पुरानो करार पढ्नुहुन्थ्यो। उहाँ बप्तिस्मा लिएर बाहिर निस्‍कनुभएपछि, आत्मा आधिकारिक रूपमै उहाँमाथि आउनुभयो र उहाँको पहिचान र उहाँले लिनुपर्ने सेवकाइलाई प्रकट गर्दै काम गर्न थाल्‍नुभयो। यसभन्दा पहिले, कसैले पनि उहाँको पहिचान जानेको थिएन, र मरियम बाहेक, यूहन्‍नालाई समेत थाहा थिएन। बप्तिस्मा लिनुहुँदा येशू २९ वर्षको हुनुहुन्थ्यो। उहाँको बप्तिस्मा पूरा भइसकेपछि, आकाश खोलिए, अनि एउटा आवाजले भन्यो: “यो मेरो प्रिय पुत्र हो, जसमा म अति प्रसन्न छु।” येशूले बप्तिस्मा लिनुभएपछि, पवित्र आत्माले यसरी उहाँको गवाही दिन थाल्‍नुभयो। २९ वर्षको उमेरमा बप्तिस्मा लिनुभन्दा पहिले, खाने बेलामा खाने, सामान्य रूपमै सुत्‍ने र वस्‍त्र लगाउने जस्ता कार्य गर्दै उहाँले सामान्य व्यक्तिको जीवन जिउनुभयो, अनि उहाँको बारेमा केही पनि अरूभन्दा फरक थिएन, यद्यपि यो मानिसको देहको नजरको लागि मात्रै थियो। बाइबलमा यसरी लेखिए झैँ, कहिलेकहीँ उहाँ पनि कमजोर बन्‍नुहुन्थ्यो, र कहिलेकहीँ उहाँले पनि काम-कुराहरूलाई पहिचान गर्न सक्‍नुहुन्‍नथियो: उहाँको बौद्धिकता उहाँको उमेरसँगै वृद्धि भयो। यी वचनहरूले उहाँसँग सामान्य र साधारण मानवता थियो, र उहाँ अरू साधारण मानिसहरूभन्दा विशेष रूपमा फरक हुनुहुन्‍नथियो भन्‍ने मात्रै देखाउँछ। उहाँ पनि सामान्य व्यक्ति जस्तै हुर्कनुभयो, र उहाँको बारेमा विशेष केही पनि थिएन। तैपनि, उहाँ परमेश्‍वरको हेरचाह र सुरक्षामा हुनुहुन्थ्यो। बप्तिस्मा लिएपछि, उहाँ परीक्षामा पर्न थाल्‍नुभयो, जसपछि उहाँले आफ्‍नो सेवकाइ गर्न र काम गर्न सुरु गर्नुभयो, अनि उहाँमा शक्ति, बुद्धि र अख्‍तियार थियो। यसो भन्‍नुको अर्थ उहाँको बप्तिस्माभन्दा पहिले पवित्र आत्‍माले उहाँमा काम गर्नुभएन, वा उहाँभित्र पवित्र आत्मा हुनुहुन्‍नथियो भन्‍ने होइन। उहाँको बप्तिस्माभन्दा पहिले पवित्र आत्मा पनि उहाँभित्र बास गर्नुहुन्थ्यो तर उहाँले आधिकारिक रूपमा काम गर्न सुरु गर्नुभएको थिएन, किनभने परमेश्‍वरले कहिले आफ्‍नो काम गर्नुहुन्छ त्यसका सीमितताहरू हुन्छन्, यसको साथै, सामान्य मानिसहरूमा वृद्धि हुने सामान्य प्रक्रिया हुन्छ। पवित्र आत्‍माले सधैँ नै उहाँभित्र बास गर्नुभएको थियो: जब येशूको जन्‍म भयो, उहाँ अरूभन्दा फरक हुनुहुन्थ्यो, र बिहानीको तारा देखा पर्‍यो; उहाँको जन्‍मभन्दा पहिले, सपनामा योसेफकहाँ एक जना स्वर्गदूत देखा परे र मरियमले एक बालक जन्‍माउनेछिन्, र उक्त बालक पवित्र आत्माद्वारा गर्भधारण भएको हो भनी तिनलाई भने। येशूको बप्तिस्मा भएपछि, पवित्र आत्माले आफ्‍नो काम सुरु गर्नुभयो, तर यसको अर्थ पवित्र आत्मा भर्खरै येशूमा ओर्लनुभएको थियो भन्‍ने हुँदैन। पवित्र आत्मा ढुकुरजस्तै उहाँमा ओर्लनुभयो भन्‍नुले उहाँको सेवकाइको आधिकारिक सुरुवातलाई जनाउँछ। परमेश्‍वरका आत्मा पहिले नै उहाँभित्र हुनुहुन्थ्यो, तर उहाँले त्यस बेलासम्‍म काम गर्न सुरु गर्नुभएको थिएन, किनभने समय आइसकेको थिएन, र आत्माले हतारमा काम सुरु गर्नुभएन। आत्माले बप्तिस्माद्वारा उहाँको गवाही दिनुभयो। जब उहाँ पानीबाट माथि उठ्नुभयो, तब आत्माले आधिकारिक रूपमा नै उहाँमा काम गर्न सुरु गर्नुभयो, जसले परमेश्‍वरको देहधारी शरीरले आफ्‍नो सेवकाइलाई पूरा गर्न थाल्‍नुभएको थियो र छुटकाराको काम सुरु गर्नुभएको थियो, अर्थात् अनुग्रहको युग आधिकारिक रूपमा सुरु भएको थियो भन्‍ने अर्थ दिन्छ। त्यसकारण, उहाँले जुनसुकै काम गर्नुभए तापनि परमेश्‍वरको कार्यको समय हुन्छ। उहाँको बप्तिस्मापछि, येशूमा कुनै निश्‍चित परिवर्तनहरू आएको थिएन; उहाँ अझै पनि उहाँको मूल देहमा नै हुनुहुन्थ्यो। के मात्रै थियो भने उहाँले आफ्‍नो काम सुरु गर्नुभयो र आफ्‍नो पहिचान प्रकट गर्नुभयो, र उहाँ अख्‍तियार र शक्तिले भरिपूर्ण हुनुभयो। यस हिसाबमा उहाँ पहिलेभन्दा फरक हुनुहुन्थ्यो। उहाँको पहिचान फरक थियो, भन्‍नुको अर्थ, उहाँको हैसियतमा निकै ठूलो परिवर्तन आएको थियो; यो पवित्र आत्माको गवाही थियो, मानिसले गरेको काम होइन। सुरुमा, मानिसहरूलाई थाहा थिएन, र त्यसरी पवित्र आत्‍माले येशूको गवाही दिनुभएपछि मात्रै तिनीहरूले थोरै जान्न पुगे। यदि पवित्र आत्‍माले उहाँको गवाही दिनुभन्दा पहिले येशूले ठूलो काम गर्नुभएको थियो, तर यो परमेश्‍वर स्वयमको गवाही विनाको थियो भने, उहाँको काम जति नै ठूलो भए तापनि, मानिसहरूले कहिल्यै पनि उहाँको पहिचानलाई जान्‍ने थिएनन्, किनभने मानव आँखाले यसलाई देख्‍न सक्दैन। पवित्र आत्माको गवाहीको चरणविना, उहाँलाई कसैले पनि देहधारी परमेश्‍वरको रूपमा पहिचान गर्नेथिएन। यदि पवित्र आत्माले उहाँको गवाही दिएपछि, येशूले कुनै पनि भिन्‍नताविना उही तरिकाले निरन्तर काम गर्नुभएको भए, यसको त्यति प्रभाव हुनेथिएन, र यही कारणले नै पवित्र आत्माको कार्यलाई पनि प्रदर्शन गरिन्छ। पवित्र आत्माले गवाही दिनुभएपछि, पवित्र आत्माले आफैलाई देखाउनु परेको थियो ताकि तैँले उहाँ परमेश्‍वर हुनुहुन्छ, उहाँभित्र परमेश्‍वरका आत्मा हुनुहुन्थ्यो भन्‍ने कुरालाई स्पष्ट देख्‍न सक्; परमेश्‍वरको गवाही गलत थिएन, र उहाँको गवाही सहि थियो भन्‍ने कुरालाई यसले प्रमाणित गर्न सक्यो। यदि पवित्र आत्माको गवाहीभन्दा पहिलेको काम र पछिको काम उही रहेको थियो भने, उहाँको देहधारी सेवकाइ र पवित्र आत्‍माको कार्य स्पष्ट हुनेथिएन, तसर्थ मानिसले पवित्र आत्‍माको कार्यलाई पहिचान गर्नेथिएन, किनभने तिनमा कुनै स्पष्ट भिन्‍नता हुनेथिएन। गवाही दिइसक्‍नुभएपछि, पवित्र आत्माले यो गवाहीलाई कायम राख्नु पर्नेथियो, त्यसकारण उहाँले येशूमा उहाँको बुद्धि र अख्‍तियार प्रकट गर्नु पर्नेथियो, जुन विगतको भन्दा फरक थियो। अवश्य नै, यो बप्तिस्माको प्रभाव थिएन—बप्तिस्मा एउटा विधि मात्रै हो—बप्तिस्मा भनेको अब उहाँको सेवकाइ गर्ने समय आएको छ भन्‍ने देखाउने एउटा तरिका मात्रै थियो। त्यस्तो कार्य परमेश्‍वरको महान् शक्तिलाई स्पष्ट पार्न, पवित्र आत्माको गवाहीलाई स्पष्ट पार्नको लागि मात्रै थियो, र पवित्र आत्‍माले यो गवाहीको लागि अन्त्यसम्‍मै जिम्‍मेवारी लिनुहुनेथियो। आफ्‍नो सेवकाइ गर्नुभन्दा पहिले, येशूले पनि प्रवचनहरू सुन्‍नुभयो, विभिन्‍न स्थानमा सुसमाचार प्रचार गर्ने र फैलाउने काम गर्नुभयो। उहाँले कुनै ठूलो काम गर्नुभएन किनभने उहाँको सेवकाइ गर्ने बेला आइसकेको थिएन, किनभने परमेश्‍वर स्वयम्‌ नै नम्र भई देहमा लुक्‍नुभएको थियो, र उहाँले समय तयार नभइञ्‍जेलसम्‍म कुनै काम गर्नुभएन। उहाँले दुई कारणले गर्दा बप्तिस्माभन्दा पहिले काम गर्नुभएन: पहिलो, काम गर्नको लागि पवित्र आत्मा आधिकारिक रूपमा उहाँमा ओर्लनुभएको थिएन (भन्‍नुको अर्थ, त्यस्तो काम गर्नको लागि पवित्र आत्माले येशूलाई शक्ति र अख्‍तियार दिनुभएको थिएन), र उहाँले आफ्‍नै पहिचान जान्‍नुभएको भए तापनि, उहाँले पछि गर्ने अभिप्राय राख्‍नुभएको काम गर्न येशूले सक्‍नुहुन्‍नथियो, र उहाँले आफ्‍नो बप्तिस्माको दिनसम्‍म प्रतीक्षा गर्नुपर्नेथियो। यो परमेश्‍वरको समय थियो, र यसलाई कसैले पनि उल्‍लङ्घन गर्न सक्दैनथियो, चाहे यो येशू स्वयम् नै किन नहोस्; येशू स्वयम्‌ले आफ्‍नो काममा बाधा दिन सक्‍नुहुन्‍नथियो। अवश्‍य नै, यो परमेश्‍वरको नम्रता थियो, र परमेश्‍वरको कार्यको नियम पनि थियो; यदि परमेश्‍वरको आत्माले काम नगर्नुभएको भए, कसैले पनि उहाँको काम गर्न सक्दैनथियो। दोस्रो, उहाँलाई बप्तिस्मा दिइनुभन्दा पहिले, उहाँ अत्यन्तै सामान्य र साधारण मानिस हुनुहुन्थ्यो, र अरू सामान्य र सर्वसाधारण मानिसहरूभन्दा फरक हुनुहुन्‍नथियो; देहधारी परमेश्‍वर किन अलौकिक हुनुहुन्‍नथियो त्यसको एउटा पक्ष यही नै हो। देहधारी परमेश्‍वरले परमेश्‍वरको आत्माका बन्दोबस्तहरूलाई अवहेलना गर्नुभएन; उहाँले सुव्यवस्थित तरिकाले काम गर्नुभयो र उहाँले अत्यन्तै सामान्य रूपमा काम गर्नुभयो। बप्तिस्मापछि मात्रै उहाँको काममा अख्‍तियार र शक्ति भयो। भन्‍नुको अर्थ, उहाँ देहधारी परमेश्‍वर हुनुभए तापनि, उहाँले कुनै पनि अलौकिक कार्यहरू गर्नुभएन, र उहाँ अरू सामान्य मानिसहरू जस्तै उही तरिकामा हुर्कनुभयो। यदि येशूले पहिले नै उहाँको आफ्‍नो पहिचानलाई जान्‍नुभएको थियो, उहाँको बप्तिस्माभन्दा पहिले नै देशभरि सबै ठाउँमा ठूलो काम गर्नुभएको थियो, र आफैलाई असाधारण रूपमा प्रदर्शन गर्दै, उहाँ सामान्य मानिसहरूभन्दा फरक हुनुभएको थियो भने, यूहन्‍नाले आफ्‍नो काम गर्नु असम्‍भव मात्रै हुनेथिएन, तर परमेश्‍वरले आफ्‍नो कामको अर्को चरण सुरु गर्ने पनि कुनै उपाय हुनेथिएन। त्यसकारण परमेश्‍वरले जे गर्नुभएको थियो त्यो गलत थियो भन्‍ने यसले प्रमाणित गर्नेथियो, र मानिसको लागि, परमेश्‍वरको आत्मा र परमेश्‍वरको देहधारी शरीर एउटै स्रोतबाट आउनुभएको होइन भन्‍ने जस्तो देखिनेथियो। त्यसकारण बाइबलमा विवरण दिइएको येशूको कार्य उहाँको बप्तिस्मापछि गरिएको कार्य थियो, जुन तीन वर्षको अवधिमा गरिएको कार्य थियो। उहाँको बप्तिस्मा हुनुभन्दा पहिले उहाँले के गर्नुभयो त्यसको बारेमा बाइबलले विवरण दिँदैन किनभने उहाँले बप्तिस्मा लिनुभन्दा पहिले यो काम गर्नुभएन। उहाँ एक साधारण मानिस मात्रै हुनुहुन्थ्यो र सामान्य मानिसको प्रतिनिधित्व गर्नुभयो; येशूले आफ्‍नो सेवकाइ गर्न सुरु गर्नुभन्दा पहिले, उहाँ सामान्य मानिसहरूभन्दा फरक हुनुहुन्‍नथियो, र अरूले उहाँमा कुनै भिन्‍नता देख्‍न सक्दैनथिए। उहाँ २९ वर्ष पुग्‍नुभएपछि मात्रै उहाँ परमेश्‍वरको कार्यको एउटा चरण पूरा गर्न आउनुभएको हो भन्‍ने येशूलाई थाहा भयो; त्योभन्दा पहिले, उहाँ स्वयमलाई यो थाहा थिएन, किनभने परमेश्‍वरले गर्नुभएको कार्य अलौकिक थिएन। जब बाह्र वर्षको उमेरमा उहाँ सभाघरको भेलामा सहभागी हुनुभयो, मरियमले उहाँको खोजी गरिरहेकी थिइन्, र उहाँले अरू कुनै पनि बच्‍चाकै शैलीमा जस्तै गरि एउटा वाक्य भन्‍नुभयो: “आमा! मैले मेरो पिताको इच्‍छालाई नै सबैभन्दा माथि राख्‍नुपर्छ भन्‍ने तपाईंलाई थाहा छैन?” अवश्य नै, उहाँ पवित्र आत्माद्वारा गर्भधारण भई जन्‍मनुभएको हुनाले, के येशू कुनै न कुनै तरिकाले विशेष हुन सक्‍नुहुन्‍नथियो र? तर उहाँको विशेषपनले उहाँ अलौकिक हुनुहुन्थ्यो भन्‍ने अर्थ दिँदैन, तर अरू कुनै पनि साना बालकले भन्दा बढी उहाँले परमेश्‍वरलाई प्रेम गर्नुहुन्थ्यो। स्वरूपमा उहाँ मानव हुनुहुन्थ्यो, तैपनि उहाँको सार अझै विशेष, र अरूको भन्दा फरक थियो। तैपनि बप्तिस्मापछि मात्रै, पवित्र आत्‍माले उहाँमा काम गरिरहनुभएको छ भन्‍ने कुरालाई उहाँले वास्तवमै अनुभूति गर्न सक्‍नुभयो, उहाँ परमेश्‍वर स्वयम्‌ नै हुनुहुन्छ भन्‍ने अनुभूति गर्नुभयो। उहाँ ३३ वर्षको उमेरमा पुग्‍नुभएपछि मात्रै पवित्र आत्‍माले उहाँद्वारा क्रूसीकरणको काम गर्ने अभिप्राय राख्‍नुभएको छ भन्‍ने उहाँले साँचो रूपमा पहिचान गर्नुभयो। ३२ वर्षको उमेरमा, उहाँले मत्तीको सुसमाचारमा लेखिएजस्तै, केही भित्री सत्यताहरूलाई जान्‍नुभएको थियो: “अनि सिमोन पत्रुसले जवाफ दिएर भने, तपाईं जीवित परमेश्‍वरको पुत्र ख्रीष्ट हुनुहुन्छ। … त्यस समयदेखि येशूले आफ्ना चेलाहरूलाई उहाँ कसरी यरूशलेम जानुपर्छ र धर्मगुरु, मुख्य पुजारी र व्यवस्थाका पण्डितहरूबाट धेरै किसिमका कष्ट भोग्‍नुपर्छ र मारिनुपर्छ अनि तेस्रो दिनमा फेरि उठाइनुपर्छ भन्‍ने कुरा देखाउन थाल्‍नुभयो।” उहाँले के काम गर्नुपर्छ भन्‍ने कुरा उहाँलाई पहिले थाहा भएन, तर निश्‍चित समयमा मात्रै थाहा भयो। उहाँ जन्‍मने बित्तिकै उहाँलाई पूर्ण रूपमा थाहा भएन; पवित्र आत्‍माले उहाँमा क्रमिक रूपमा काम गर्नुभयो, र त्यहाँ कामको प्रक्रिया थियो। यदि, सुरुमा नै, उहाँ परमेश्‍वर, र ख्रीष्‍ट, अनि मानिसको देहधारी पुत्र हुनुहुन्छ, उहाँले क्रूसीकरणको काम पूरा गर्नुपर्छ भन्‍ने उहाँलाई थाहा हुन्थ्यो भने, उहाँले किन पहिले काम गर्नुभएन? आफ्‍ना चेलाहरूलाई आफ्‍नो सेवकाइको बारेमा बताइसक्‍नुभएपछि मात्रै किन येशूले शोकको अनुभूति गर्नुभयो, र यसको लागि उत्कटताको साथ प्रार्थना गर्नुभयो? पहिले उहाँले नबुझ्‍नुभएका धेरै कुराहरूलाई उहाँले बुझ्‍नुभन्दा पहिले किन यूहन्‍नाले उहाँको लागि बाटो खोलिदियो र उहाँलाई बप्तिस्मा दियो? यसले के प्रमाणित गर्छ भने, यो देहधारी परमेश्‍वरले देहमा गर्नुहुने काम थियो, त्यसकारण उहाँले बुझ्‍ने र हासिल गर्ने एउटा प्रक्रिया थियो, किनभने उहाँ परमेश्‍वरको देहधारी शरीर हुनुहुन्थ्यो, जसको काम आत्माले प्रत्यक्ष रूपमा गर्नुभएको कामभन्दा फरक थियो।

परमेश्‍वरको कामको हरेक चरणले एउटै र उही प्रवाहलाई पछ्याउँछ, त्यसकारण परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापनको योजनामा, संसारको जग बसालिएको देखि आजको दिनसम्‍मै हरेक चरणलाई अर्को चरणले नजिकबाट पछ्याएको थियो। यदि मार्ग तयार गर्ने कोही नभएको भए, त्यसपछि आउने कोही पनि हुनेथिएन; त्यसपछि आउनेहरू पनि भएका हुनाले, मार्ग तयार गर्नेहरू पनि हुन्छन्। यसरी यो कामलाई चरणबद्ध रूपमा हस्तान्तरण गरिएको छ। एउटा चरणले अर्कोलाई पछ्याउँछ, र मार्ग खुला गर्ने कुनै व्यक्ति विना, काम सुरु गर्नु असम्‍भव हुनेथियो, र आफ्‍नो कार्यलाई अघि बढाउने कुनै माध्यम परमेश्‍वरसँग हुनेथिएन। कुनै पनि चरण अरू चरणसँग बाझिँदैन, र एउटाले अर्कोलाई प्रवाह निर्माण गर्ने गरी क्रमबद्ध रूपले पछ्याउँछ; यो सबै उही आत्माले गर्नुहुन्छ। तर कसैले मार्ग खोले पनि वा अर्कोको काम गरे पनि, यसले तिनीहरूको पहिचानलाई निर्धारित गर्दैन। के यो सहि होइन र? यूहन्‍नाले मार्ग खोले, र येशूले आफ्‍नो कामलाई अघि बढाउनुभयो, त्यसकारण के यसले येशूको पहिचान यूहन्‍नाको भन्दा सानो थियो भन्‍ने प्रमाणित गर्छ? यहोवाले येशूले भन्दा पहिले आफ्‍नो काम गर्नुभयो, त्यसकारण के यहोवा येशूभन्दा महान् हुनुहुन्छ भनेर तैँले भन्‍न सक्छस्? तिनीहरूले मार्ग तयार गरे पनि वा अरूको काम गरे पनि त्यो महत्त्वपूर्ण कुरा होइन; तिनीहरूको कामको सार र त्यसले प्रतिनिधित्व गर्ने पहिचान नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। के यो सहि होइन र? परमेश्‍वरले मानिसको बीचमा काम गर्ने अभिप्राय राख्‍नुभएको हुनाले, उहाँले मार्ग तयार गर्ने काम गर्न सक्‍नेहरूलाई खडा गर्नुपर्यो। जब यूहन्‍नाले भर्खरै प्रचार गर्न सुरु गरेका थिए, उनले भने, “परमप्रभुको बाटो तयार पार, उहाँका मार्गहरू सोझा बनाओ।” “पश्‍चात्ताप गर: किनभने स्वर्गको राज्य नजिकै छ।” तिनले सुरुदेखि नै त्यसरी बोलेका थिए, र किन तिनले यी वचनहरू भन्‍न सके? वचनहरू बोलिने क्रमको हिसाबले, स्वर्गको राज्यको सुसमाचार सुरुमा बोल्‍ने यूहन्‍ना नै थियो, अनि त्यसपछि उसो येशूले बोल्‍नुभयो। मानिसका धारणाहरू अनुसार, नयाँ मार्ग खोल्‍ने यूहन्‍ना नै थिए, त्यसकारण अवश्य नै यूहन्‍ना नै येशूभन्दा महान् थिए। तर तिनी ख्रीष्‍ट हुन् भनेर यूहन्‍नाले भनेनन्, र परमेश्‍वरले तिनी परमेश्‍वरका प्रिय पुत्र हुन् भनी साक्षी दिनुभएन, तर प्रभुको मार्ग खोल्‍न र तयार गर्नको लागि मात्रै प्रयोग गर्नुभयो। उनले येशूको लागि मार्ग तयार गरे, तर उनले येशूको तर्फबाट काम गर्न सकेनन्। मानिसको सबै कामलाई पनि पवित्र आत्माले नै कायम राख्‍नुहुन्छ।

पुरानो करारको युगमा, मार्गलाई अगुवाइ गर्ने यहोवा नै हुनुहुन्थ्यो, र यहोवाको कार्यले पुरानो करारको सम्पूर्ण युग, र इस्राएलमा गरिएको सबै कार्यलाई प्रतिनिधित्व गर्‍यो। मोशाले यो कार्यलाई पृथ्वीमा थामी राख्यो मात्रै, र तिनका परिश्रमहरूलाई मानिसले प्रदान गरेको सहकार्यको रूपमा लिइन्छ। त्यो बेला, मोशालाई बोलावट गर्नुहुँदै, बोल्‍नुहुने यहोवा नै हुनुहुन्थ्यो, र उहाँले मोशालाई इस्राएलका मानिसहरूका बीचमा खडा गर्नुभयो, र तिनलाई उजाड स्थानदेखि कनानसम्‍म तिनीहरूलाई डोर्याउने बनाउनुभयो। यो कार्य मोशा स्वयमको थिएन, तर यहोवाले व्यक्तिगत रूपमा निर्देशित गर्नुभएको कार्य थियो, त्यसकारण मोशालाई परमेश्‍वर कहलाइन सकिँदैन। मोशाले व्यवस्थालाई पनि कायम गरे, तर यो व्यवस्था व्यक्तिगत रूपमा यहोवाले नै जारी गर्नुभएको थियो। उहाँले मोशालाई यो व्यक्त गर्न लगाउनुभएको मात्रै थियो। येशूले पनि आज्ञाहरू गर्नुभयो, र उहाँले पुरानो करारको व्यवस्थालाई रद्द गर्नुभयो र नयाँ युगका निम्ति आज्ञाहरूलाई स्थापित गर्नुभयो। किन येशू परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ? किनभने एउटा भिन्‍नता छ। त्यो बेला, मोशाले गरेको कामले युगलाई प्रतिनिधित्व गरेन, न त यसले नयाँ मार्ग नै खुल्ला गर्‍यो; तिनलाई यहोवाले नै अगाडि निर्देशित गर्नुभएको थियो र तिनी परमेश्‍वरले प्रयोग गर्नुभएको व्यक्ति मात्रै थिए। जब येशू आउनुभयो, यूहन्‍नाले मार्ग तयार गर्ने कार्यको चरणलाई अघि बढाएका थिए र स्वर्गको राज्यको सुसमाचारलाई फैलाउन थालेका थिए (पवित्र आत्माले नै यसको सुरुवात गर्नुभएको थियो)। जब येशू आउनुभयो, उहाँले प्रत्यक्ष रूपमै उहाँको आफ्‍नो काम गर्नुभयो, तर उहाँको काम र मोशाको कामको बीचमा ठूलो भिन्‍नता थियो। यशैयाले पनि धेरै अगमवाणीहरू बोलेका थिए, तैपनि किन तिनी परमेश्‍वर स्वयम्‌ थिएनन्? येशूले धेरै अगमवाणीहरू बोल्‍नुभएन, तैपनि किन उहाँ परमेश्‍वर स्वयम्‌ नै हुनुहुन्थ्यो? त्यो बेला येशूको काम पवित्र आत्‍माबाट आएको हो भनेर कसैले पनि भन्‍ने आँट गरेन, न त तिनीहरूले यो मानिसको इच्‍छाबाट आएको हो वा यो पूर्ण रूपमा परमेश्‍वर स्वयम्‌को काम हो भनेर भन्‍ने नै आँट गरे। त्यस्ता कुराहरूलाई विश्‍लेषण गर्ने कुनै उपाय मानिससँग थिएन। यशैयाले त्यस्तो काम गरे, र त्यस्ता अगमवाणीहरू बोले, र ती सबै पवित्र आत्माबाट नै आएका थिए भनेर भन्‍न सकिन्छ; ती यशैया स्वयम्‌बाट नै सीधै आएको थिएन, तर यहोवाबाट आएका प्रकाशहरू थिए। येशूले ठूलो मात्रामा काम गर्नुभएन, र धेरै वचनहरू बोल्‍नुभएन, न त उहाँले धेरै अगमवाणीहरू नै बोल्‍नुभयो। मानिसको लागि, उहाँको प्रचार खास रूपमा उच्‍च देखिएन, तैपनि उहाँ परमेश्‍वर स्वयम्‌ नै हुनुहुन्थ्यो र यसलाई मानिसले वर्णन गर्न सक्दैन। कसैले पनि कहिल्यै यूहन्‍ना, वा यशैया, वा दाऊदमा विश्‍वास गरेका छैनन्, न त कसैले तिनीहरूलाई परमेश्‍वर, वा दाऊद परमेश्‍वर, वा यूहन्‍ना परमेश्‍वर भनेर नै भनेका छन्; कसैले पनि त्यसरी बोलेको छैन, र येशूलाई मात्रै ख्रीष्ट भनेर भनिएको छ। यो वर्गीकरण परमेश्‍वरको गवाही, उहाँले गर्नुभएको काम, र उहाँले गर्नु भएको सेवकाइ अनुसार गरिएको हो। बाइबलका महान् पुरुषहरूका बारेमा कुरा गर्दा—अब्राहाम, दाऊद, यहोशू, दानिएल, यशैया, यूहन्‍ना, र येशू—उनीहरूले गरेका कामद्वारा नै, तैँले को परमेश्‍वर स्वयम्‌ हो, र कस्ता प्रकारका मानिसहरू अगमवक्ताहरू हुन्, र प्रेरितहरू को हुन् भनेर भन्‍न सक्छस्। कसलाई परमेश्‍वरले प्रयोग गर्नुभएको थियो, र को परमेश्‍वर स्वयम्‌ हुनुहुन्थ्यो त्यस कुरालाई उनीहरूले गरेका कामको सार र प्रकारद्वारा नै भिन्‍नता छुटाइन्छ र निर्धारित गरिन्छ। यदि तैँले भिन्‍नताहरू छुट्याउन सक्दैनस् भने, परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो सो तँलाई थाहा छैन भन्‍ने यसले प्रमाणित गर्छ। येशू नै परमेश्‍वर हुनुहुन्छ किनभने उहाँले धेरै वचनहरू बोल्‍नुभयो, र धेरै काम गर्नुभयो, निश्‍चित रूपमा उहाँले धेरै आश्‍चर्यकर्महरू प्रदर्शन गर्नुभयो। त्यसरी नै, यूहन्‍नाले पनि मोशाले जस्तै धेरै काम गरे, र धेरै वचनहरू बोले; किन तिनीहरूलाई परमेश्‍वर भनेर कहलाइएन? आदमलाई प्रत्यक्ष रूपमा परमेश्‍वरले नै सृष्टि गर्नुभएको थियो; किन तिनलाई परमेश्‍वर भन्‍नुको सट्टा, सृष्टि भनेर भनियो? यदि कसैले तँलाई, “आज, परमेश्‍वरले धेरै काम गर्नुभएको छ, र उहाँले धेरै वचन बोल्‍नुभएको छ; उहाँ परमेश्‍वर स्वयम्‌ नै हुनुहुन्छ। मोशाले धेरै वचन बोलेका हुनाले, तिनी पनि पक्‍कै परमेश्‍वर स्वयम्‌ नै थिए!” भनेर भन्छ भने, तैँले यसको जवाफमा तिनीहरूलाई यो सोध्‍नुपर्छ, “त्यो बेला, किन परमेश्‍वरले येशूलाई परमेश्‍वर स्वयम्‌ भनी गवाही दिनुभयो तर यूहन्‍नालाई दिनुभएन? के यूहन्‍ना येशूभन्दा पहिले आएका थिएनन् र? कुनचाहिँ महान् थियो, यूहन्‍नाको काम कि येशूको काम? मानिसको लागि, यूहन्‍नाको काम येशूको भन्दा महान् देखिन्छ, तर किन पवित्र आत्माले येशूको गवाही दिनुभयो तर यूहन्‍नाको गवाही दिनुभएन?” आज पनि यही कुरा भइरहेको छ! त्यो समयमा, जब मोशाले इस्राएलका मानिसहरूलाई डोर्‍याए, यहोवा तिनीसँग बादलहरूका बीचबाट बोल्‍नुहुन्थ्यो। मोशाले प्रत्यक्ष रूपमा बोलेनन्, तर तिनलाई यहोवाले नै प्रत्यक्ष रूपमा अगुवाइ गर्नुभएको थियो। यो पुरानो करारमा भएको इस्राएलको काम थियो। मोशाभित्र आत्मा हुनुहुन्‍नथियो, न त परमेश्‍वरको अस्तित्व नै। तिनले त्यो काम गर्न सकेनन्, त्यसकारण तिनले गरेको काम र येशूले गर्नुभएको कामको बीचमा ठूलो भिन्‍नता छ। र त्यसको कारण के हो भने उनीहरूले गरेको काम फरक थियो! कुनै व्यक्ति परमेश्‍वरले प्रयोग गर्नुभएको व्यक्ति हो कि अगमवक्ता, प्रेरित हो कि परमेश्‍वर स्वयम्‌ नै हो सो कुरालाई उसले गरेको कामको प्रकृतिद्वारा पत्ता लगाउन सकिन्छ, अनि यसले तेरा शङ्काहरूलाई अन्त्य गर्नेछ। बाइबलमा थुमाले मात्रै सात वटा मोहोर तोड्न सक्‍नुहुन्छ भनेर लेखिएको छ। युगहरूभरि, ती महान् व्यक्तित्वहरू मध्येमा धर्मशास्‍त्रका व्याख्या गर्ने धेरै छन्, तब के तैँले तिनीहरू सबै थुमा हुन् भनेर भन्‍न सक्छस्? के तँ तिनीहरूको स्पष्टीकरण सबै परमेश्‍वरबाट नै आउँछन् भनेर भन्‍न सक्छस्? तिनीहरू व्याख्याकार मात्रै हुन्; तिनीहरूसँग थुमाको पहिचान छैन। तिनीहरू कसरी सात मोहरहरू तोड्न योग्य हुन सक्थे र? “थुमाले मात्र सात मोहरहरू तोड्न सक्‍नुहुन्छ” भन्‍ने कुरा साँचो हो, तर उहाँ सात मोहरहरू तोड्‍न मात्रै आउनुहुन्‍न; यो कामको कुनै आवश्यकता छैन, यसलाई संयोगवश गरिन्छ। उहाँको आफ्‍नै कामको बारेमा उहाँ पूर्ण रूपमा स्पष्ट हुनुहुन्छ; के उहाँले धर्मशास्‍त्रको अर्थ लगाउँदै धेरै समय बिताउनु आवश्यक हुन्छ? के छ हजार वर्षे कार्यमा “धर्मशास्‍त्रको अर्थ लगाउने थुमाको युग” लाई थप्‍नुपर्छ? उहाँ नयाँ काम गर्न आउनुहुन्छ, तर मानिसहरूलाई छ हजार वर्षको कामको सत्यतालाई बुझ्‍न सहायता गर्दै, उहाँले विगतका समयहरूको कामको बारेमा पनि केही प्रकाशहरू प्रदान गर्नुहुन्छ। बाइबलका धेरै अनुच्‍छेदहरूको व्याख्या गर्नुपर्ने कुनै आवश्यकता छैन; आजको काम नै कुञ्‍जी, महत्त्वपूर्ण कुरा हो। परमेश्‍वर सात मोहरहरू तोड्नको लागि मात्रै विशेष गरी आउनुहुन्‍न, तर मुक्तिको काम गर्नको लागि आउनुहुन्छ भन्‍ने तैँले जान्‍नुपर्छ।

तैँले येशू आखिरी दिनहरूको अवधिमा ओर्लनुहुनेछ भन्‍ने मात्रै जान्दछस्, तर उहाँ खास कसरी ओर्लनुहुनेछ? भर्खरै छुटकारा पाएको, र परमेश्‍वरद्वारा परिवर्तन भई नसकेको, वा सिद्ध भई नसकेको तिमीहरूजस्तो पापी, के तँ परमेश्‍वरको हृदय अनुसारको बन्‍न सक्छस्? अझै पनि तेरो पुरानो मनुष्यतामा रहेको तेरो विषयमा भन्दा, तँलाई येशूले मुक्ति दिनुभएको थियो, र परमेश्‍वरले दिनुभएको मुक्तिको कारण तँलाई पापीको रूपमा गन्ती गरिँदैन भन्‍ने कुरा साँचो हो, तर तँ पापी छैनस्, र तँ अशुद्ध छैनस् भन्‍ने कुरालाई यसले प्रमाणित गर्दैन। तँ परिवर्तन भएको छैनस् भने तँ कसरी सन्तमय बन्‍न सक्छस्? भित्री रूपमा, तँ अपवित्रता, स्वार्थ र छुद्रले भरिएको छस्, तैपनि तँ अझै येशूसँग उचालिन चाहन्छस्—तँ त धेरै भाग्यमानी हुनुपर्छ! परमेश्‍वरमाथिको भरोसामा तैँले एउटा कदमलाई चुकाएको छस्: तँलाई छुटकारा मात्रै दिइएको छ, तर तँ परिवर्तन भएको छैनस्। तँ परमेश्‍वरको हृदय अनुसारको बन्‍नको लागि, परमेश्‍वरले तँलाई व्यक्तिगत रूपमै परिवर्तन गर्ने र धुने काम गर्नुपर्छ; यदि तँलाई छुटकारा मात्रै दिइएको हो भने, तैँले पवित्रता प्राप्त गर्न सक्‍नेछैनस्। यसरी तँ परमेश्‍वरको कार्यको असल आशिषहरूमा सहभागी हुन अयोग्य हुनेछस्, किनभने मानिसलाई व्यवस्थापन गर्ने परमेश्‍वरको कार्यको चरणलाई तैँले चुकाएको छस्, जुन परिवर्तन हुने र सिद्ध पारिने कार्यको मुख्य चरण हो। भर्खरै छुटकारा दिइएको पापी, तैँले प्रत्यक्ष रूपमा परमेश्‍वरको उत्तराधिकार प्राप्त गर्न सक्दैनस्।

कामको यो नयाँ चरणको सुरुवातविना, तिमी सुसमाचार प्रचार गर्नेहरू, प्रचारकहरू, व्याख्या गर्नेहरू र तथाकथित महान् आत्मिक मानिसहरू कति हदसम्‍म जानेथियौ कसलाई थाहा छ र! कामको यो नयाँ चरणको सुरुवातविना, तिमीहरूले जे कुरा गर्छौ त्यो थोत्रो हुनेथियो! यो कि त सिंहासनमा उक्‍लने बारेमा हो, कि त राजा बन्‍नको लागि कद तयार गर्ने बारेमा हो; कि त यो आफैलाई इन्कार गर्ने बारेमा हो कि त आफ्‍नो शरीरलाई काबुमा राख्‍ने बारेमा हो; कि त यो धैर्य बन्‍ने बारेमा हो कि त सबै कुराबाट पाठहरू सिक्‍ने बारेमा हो; कि त नम्रता हो कि त प्रेम हो। के यो त्यही पुरानो गीत गाउनुजस्तै होइन र? यो एउटै कुरालाई फरक नामले बोलाउनु सरह हो! कि त आफ्‍नो शिर ढाक्‍ने र रोटी भाँच्‍ने, कि त शिरमा हात राखेर प्रार्थना गर्ने अनि बिरामीलाई निको पार्ने र भूतहरू धपाउने हो। के कुनै नयाँ काम हुन सक्छ? के विकासको कुनै अपेक्षा हुन सक्छ? यदि तँ निरन्तर रूपमा यसरी अघि बढिरहन्छस् भने, तैँले अन्धाधुन्ध धर्मसिद्धान्तलाई पछ्याउनेछस् वा प्रचलनलाई पालना गर्नेछस्। तिमीहरूका काम उत्कृष्ट छ भन्‍ने तिमीहरू विश्‍वास गर्छौ, तर के यो सबै प्राचीन समयका “वृद्ध मानिसहरू” ले हस्तान्तरण गरेका र सिकाएका हुन् भन्‍ने तिमीहरूलाई थाहा छैन र? के तिमीहरूले भन्‍ने र गर्ने सबै ती वृद्ध मानिसहरूका आखिरी वचनहरू होइनन् र? के यो तिनीहरू मरेर जानुभन्दा पहिले ती वृद्ध मानिसहरूले आज्ञा गरेको कुरा होइन र? के तिमीहरूका कार्यहरूले विगतका पुस्ताहरूका प्रेरितहरू र अगमवक्ताहरूलाई उछिन्‍न सक्छ, र सबै थोकलाई समेत उछिन्‍न सक्छ भन्‍ने तँलाई लाग्छ? कामको यो चरणको सुरुवातले राजा बन्ने र सिंहासनमा बस्‍ने प्रयास गर्ने विट्नेस लीको कार्यप्रतिको तेरो भक्तिलाई समाप्त गरेको छ, र यसले तेरो अहङ्कार र घमण्डलाई पकडमा राखेको छ, ताकि तैँले कामको यो चरणमा हस्तक्षेप गर्न सक्दैनस्। कामको यो चरणविना, तिमीहरू छुटकारा दिन नसक्‍ने अवस्थासम्‍म नै झन्-झन् गहिराइमा डुब्दै जानेथियौ। तिमीहरूका बीचमा पुराना कुराहरू धेरै नै छन्! खुसीको कुरा, आजको कामले तिमीहरूलाई फर्काएर ल्याएको छ; अन्यथा, तिमीहरू कुन दिशामा जानेथियौ कसलाई के थाहा! परमेश्‍वर सधैँ नयाँ र कहिल्यै पुरानो नहुने परमेश्‍वर हुनुहुन्छ भने, किन तैँले नयाँ कुराहरूलाई खोजी गर्दैनस्? तँ किन सधैँ पुरानो कुराहरूमा टाँसिरहन्छस्? त्यसकारण, पवित्र आत्‍माको आजको कार्यलाई जान्‍नु भनेको सबैभन्दा महत्त्वपूर्ण कुरा हो!

अघिल्लो: तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्ने जान्‍नुपर्छ

अर्को: तैंले प्रतिष्ठाका आशिष्‌हरूलाई पन्छ्याउनुपर्छ र मानिसको निम्ति मुक्ति ल्याउने परमेश्‍वरको इच्छालाई बुझ्‍नुपर्छ

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

सहस्राब्दीय राज्यको आगमन भएको छ

के तिमीहरूले मानिसहरूको यस समूहमा परमेश्‍वरले पूरा गर्नुहुने काम देखेका छौ? परमेश्‍वरले एक पटक भन्नुभयो, सहस्राब्दीय राज्यमा पनि मानिसहरूले...

तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्‍नुभएको हुनेछ

के तँ येशूलाई देख्न चाहन्छस्? के तँ येशूसँग बस्ने इच्छा गर्छस्? के तँ येशूले बोल्नुभएको वचन सुन्ने इच्छा गर्छस्? यदि त्यसो हो भने, तैँले...

अध्याय १

सियोनमा प्रशंसा आएको छ र परमेश्‍वरको वासस्थान देखा परेको छ। सबै मानिसहरूले गुणगान गरेको त्यो महिमित पवित्र नाउँ फैलिन्छ। अहा, सर्वशक्तिमान्...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्