तैंले प्रतिष्ठाका आशिष्‌हरूलाई पन्छ्याउनुपर्छ र मानिसको निम्ति मुक्ति ल्याउने परमेश्‍वरको इच्छालाई बुझ्‍नुपर्छ

मानिसको दृष्टिकोणबाट हेर्दा, मोआबका सन्तानहरूलाई पूर्ण बनाउनु सम्भव छैन, न त उनीहरू त्यस्तो बनाइने योग्यका नै छन्। अर्कोतिर, दाऊदका सन्तानसित निश्चय पनि आशा छ र तिनीहरूलाई साँच्चै पूर्ण बनाउन सकिन्छ। यदि कोही मोआबको सन्तान हो भने, उनीहरूलाई पूर्ण बनाउन सकिँदैन। अहिले पनि तिमीहरूलाई तिमीहरूका बीचमा गरिँदैगरेको कार्यको महत्त्व थाहा छैन। यस चरणमा, अझै तिमीहरू आफ्नो भविष्यका सम्भावनाहरू हृदयमा राख्छौ, र तिनलाई त्याग्‍न मन पराउँदैनौं। परमेश्‍वरले तिमीहरूजस्ता सबैभन्दा अयोग्य मानिसहरूको झुन्डमा काम गर्ने कुरा किन चुन्नुभयो त्यसलाई आज कसैले वास्ता गर्दैन। के उहाँले आफ्नो काममा गल्ती गर्नुभएको हुन सक्छ? के यो काम क्षणिक निरीक्षण हो? तिमीहरू मोआबका सन्तान हौं भनी सधैँ जान्नुहुने परमेश्‍वर किन ठीक तिमीहरूकै बीचमा काम गर्न ओर्लनुभयो? के यो कहिल्यै तिमीहरूको मनमा आउँदैन? के परमेश्‍वरले आफ्नो काम गर्नुहुँदा यसमाथि कहिल्यै विचार गर्नुहुन्न? के उहाँले आक्रमक व्यवहार गर्नुहुन्छ? तिमीहरू मोआबका सन्तान हौ भन्ने कुरा के उहाँलाई सुरुदेखि नै थाहा थिएन र? के तिमीहरू यी कुराहरूको विचार गर्न जान्दैनौ? तिमीहरूका धारणाहरू कहाँ गए? के तिमीहरूका स्वस्थ सोचविचार असन्तुलित भएका छन्? तिमीहरूको चतुरता र बुद्धि कहाँ गए? के तिमीहरूको व्यवहार गर्ने ढङ्ग यति उदार भएकोले तिमीहरू त्यस्ता साना कुराहरूमा ध्यान दिँदैनौ? तिमीहरूका दिमागहरू तिमीहरूको भविष्यका सम्भावनाहरू र तिमीहरूको आफ्नै भाग्यजस्ता कुरामा बढी संवेदनशील हुन्छन्, तर जब अरू कुनै कुरा आउँछ, ती चेतनाशून्य, बोधो-बुद्धिको र पूर्ण रूपमा अनभिज्ञ हुन्छन्। आखिर तिमीहरू कुन कुरामा विश्‍वास गर्छौ? के तेरो भविष्यका सम्भावनाहरूमा? वा परमेश्‍वरमा? के तैंले विश्‍वास गर्ने सबै कुरा तेरो सुन्दर गन्तव्य नै होइन र? के यो तेरो भावी सम्भावनाहरू होइन र? अहिले तैंले जीवनको बाटोलाई कतिसम्म बुझेको छस्? तैंले कति प्राप्त गरेको छस्? के तँ अहिले मोआबको सन्तानमा हुँदै गरेको काम तँलाई अपमान गर्नका निम्ति हो भनी सोच्छस्? के यो जानाजानी तेरो कुरूपता प्रकट गर्नका निम्ति गरिन्छ? के यो तिमीहरूलाई सजाय स्वीकार गर्ने बनाउन र त्यसपछि तिमीहरूलाई आगोको कुण्डमा फाल्नलाई जानाजानी गरिन्छ? मैले तिमीहरूको भविष्यको कुनै सम्भावनाहरू छैनन् भनी कहिल्यै पनि भनेको छैन, तिमीहरू नाश हुनुपर्छ वा तिमीहरूले विनाश भोग्नुपर्छ भन्ने कुरा गर्ने त परै जाओस्। के मैले सार्वजनिक रूपमा त्यस्ता कुराको घोषणा गरेको छु? तँ भन्छस्, कि तँ आशाविहीन छस्, तर यो तँ आफैले निकालेको निष्कर्ष होइन र? के यो तेरो आफ्नै मानसिकताको प्रभाव होइन र? के तेरो आफ्नै निष्कर्षहरूको गन्ती हुन्छ? यदि मैले तँ आशिषित भएको छैनस् भनी भनेँ भने, तँ निश्‍चय विनाशको पात्र हुनेछस्; र यदि मैले तँ आशिषित छस् भनी भनेँ भने तँ निश्‍चय नाश हुनेछैनस्। म यति मात्र भन्दैछु कि तँ मोआबको सन्तान होस्; तँ नाश हुनेछस् भनी म भन्दिनँ। के मात्रै हो भने, मोआबका सन्तान श्रापित भएको छ, र त्यो भ्रष्ट मानिसहरूको एउटा जाति हो। पापको बारेमा पहिले नै उल्‍लेख गरिएको थियो; के तिमीहरू सबै पापी होइनौ र? के सबै पापीहरूलाई शैतानले भ्रष्ट पारेको छैन र? के पापीहरू सबै परमेश्‍वरप्रति अनाज्ञाकारी र विद्रोही हुँदैनन्? के परमेश्‍वरको आज्ञा नमान्नेहरू श्रापित हुँदैनन् र? के पापीहरू सबै नष्ट पारिनु पर्दैन र? त्यस्तो अवस्थामा, मासु र रगतका मानिसहरूमध्ये कसले मुक्ति पाउन सक्छ? तँ आजसम्म कसरी जीवित रहन सकेको छस्? के तँ मोआबका सन्तान भएकोले तँ नकरात्मक बनेको छस्; के तिमीहरू जो पापी हौ, तिमीहरू पनि मानिसहरूको रूपमा गणना हुँदैनौ र? तिमीहरू यो दिनसम्म कसरी टिकेका छौ? जब सिद्धताको कुरा गरिन्छ, तिमीहरू खुसी बन्छौ। तिमीहरूले महासंकष्टको अनुभव गर्नैपर्छ भन्ने सुनेपछि त्यसले तिमीहरूलाई अझ बढी आशिषित बनाउनेछ भन्‍ने महसुस तिमीहरू गर्छौ। त्यो महासंकष्टबाट निस्केपछि तिमीहरू विजयी बन्छौ, अनि यसबाहेक यो परमेश्‍वरको ठूलो आशिष् हो र उहाँले तिमीहरूलाई उच्च पार्नुभएको हो भन्‍ने सोच्छौ। मोआबको उल्लेख गर्ने बित्तिकै तिमीहरूको माझमा कोलाहल जाग्छ; वयस्कहरू र बालबच्चाहरू सबैले एकसमान रूपमा वर्णन गर्न नसकिने उदासीनता महसुस गर्छन् र तेरो हृदयमा आनन्द बिलकुल हुँदैन, र तिमीहरू आफू जन्मेकोमा अफसोस गर्छौ। तिमीहरूले मोआबका सन्तानहरूमा भइरहेको यस चरणको कामको महत्त्व बुझ्दैनौ; तिमीहरूले उच्च ओहदाहरू मात्रै खोज्न जान्दछौ, र जब तिमीहरूलाई कुनै आशा छैन भन्‍ने लाग्छ, तिमीहरू पछि हट्छौ। सिद्धताको र भविष्यको गन्तव्य कुरा गर्ने बित्तिकै तिमीहरूलाई खुसी लाग्छ; तिमीहरूले आशिष् पाउन र राम्रो गन्तव्य पाउन सकौं भनेर मात्र परमेश्‍वरमा विश्‍वास गर्छौ। केही मानिसहरू अहिले आफ्नो प्रतिष्ठाको कारण आशंकित महसुस गर्छन्। तिनीहरू कम मूल्य र कम प्रतिष्ठाका भएकाले, तिनीहरूले सिद्ध पारिने कार्यको खोजी गर्ने चाहना गर्दैनन्। पहिलो, सिद्धताको कुरा गरियो, र त्यसपछि मोआबको सन्तानको चर्चा गरिएको थियो, त्यसैले मानिसहरूले पहिले उल्लेख गरिएको सिद्धताको मार्गलाई उपेक्षा गरे। किनभने सुरुदेखि अन्त्यसम्म तिमीहरूले यो कामको महत्त्व कहिल्यै जानेका छैनौ, न त तिमीहरू त्यसको महत्त्वलाई वास्ता नै गर्छौ। तिमीहरू धेरै सानो कदका छौ र सानोभन्दा सानो बाधासमेत सहन सक्दैनौ। जब तैंले आफ्नो कद धेरै सानो भएको देख्छस् तब तँ नकारात्मक बन्छस् र खोजी गर्दैजाने आत्मविश्‍वास गुमाउँछस्। मानिसहरूले अनुग्रह प्राप्त गर्नु र शान्ति उपभोग गर्नुलाई मात्र विश्‍वासको प्रतीकको रूपमा हेर्छन्, र आशिषको खोजी गर्नुलाई परमेश्‍वरमाथिको तिनीहरूका विश्‍वासको आधारको रूपमा लिन्छन्। अति थोरै मानिसहरूले परमेश्‍वरलाई चिन्न वा आफ्नो स्वभाव परिवर्तन गर्न खोज्छन्। आफ्नो विश्‍वासमा मानिसहरू तिनीहरूलाई उपयुक्त गन्तव्य र तिनीहरूलाई चाहिएका सबै अनुग्रह दिनका निम्ति परमेश्‍वरलाई करमा पार्न खोज्छन्, उहाँलाई तिनीहरूको नोकर बनाउन खोज्छन्, जहिल्यै पनि तिनीहरूसँग शान्तिमय र मित्रताको सम्बन्ध राख्न लगाउँछन्, ताकि कुनै पनि समय तिनीहरूका बीचमा कुनै प्रकारको द्वन्द्व नहोस्। अर्थात्, तिनीहरूले बाइबलमा पढेका “म तिमीहरूका सबै प्रार्थनाहरू सुन्‍नेछु” भन्ने वचनको आधारमा उहाँले तिनीहरूका सबै आवश्यकताहरू पूरा गर्ने र तिनीहरूले जे सुकै मागे पनि त्यो प्रदान गर्ने उहाँको प्रतिज्ञालाई परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासले माग गर्दछ। तिनीहरू परमेश्‍वरले कसैको न्याय नगरून् वा कसैलाई दण्ड नदेऊन् भनी आशा गर्छन्, किनकि उहाँ सधैँ दयालु मुक्तिदाता येशू हुनुहुन्छ, जसले हरसमय र सबै ठाउँमा मानिसहरूसँग राम्रो सम्बन्ध राख्नुहुन्छ। मानिसहरूले परमेश्‍वरमा यसरी विश्‍वास गर्दछन्: तिनीहरू विद्रोही वा आज्ञाकारी जो भए पनि, उहाँले तिनीहरूलाई अन्धाधुन्ध जे पनि दिनुहुन्छ भनी विश्‍वास गर्दै तिनीहरूले निर्लज्ज बनी परमेश्‍वरसँग माग गर्छन्। तिनीहरूले निरन्तर परमेश्‍वरबाट “ऋण उठाउँछन्,” र उहाँले कुनै विरोध नगरी “चुक्ता” गर्नुपर्छ, यसबाहेक त्यसको दोबर तिर्नुपर्छ भनी विश्‍वास गर्छन्; परमेश्‍वरले तिनीहरूबाट केही प्राप्त गर्नुभए पनि नभए पनि, उहाँ तिनीहरूको चालबाजीमा मात्रै पर्नुपर्छ, र उहाँले मनमानी ढङ्गले मानिसहरूलाई योजनाबद्ध तरिकाले चलाउन सक्नुहुन्न, धेरै वर्षदेखि लुकेर रहेको उहाँको बुद्धि र धर्मी स्वभाव उहाँले चाहनुभएको बेला मानिसहरूको अनुमति नलिई तिनीहरूलाई प्रकट गर्न सक्‍ने कुरा त परै जाओस्। तिनीहरूले आफ्ना पापहरू परमेश्‍वरको सामु स्वीकार मात्रै गर्छन्, र परमेश्‍वरले ती पापहरूलाई बिलाउनुहुन्छ, उहाँले त्यसो गर्न दिक्क मान्नुहुन्न र यो कुरा सदासर्वदा भइरहन्छ भनी विश्‍वास गर्छन्। परमेश्‍वर मानिसहरूबाट सेवा पाउन आउनुभएन, तर तिनीहरूको सेवा गर्न आउनुभयो, र उहाँ तिनीहरूका दास बन्नका निम्ति यहाँ आउनुभएको हो भनी बाइबलमा लेखिएको हुनाले उहाँले तिनीहरूको कुरा मानिहाल्‍नुहुन्छ भन्दै तिनीहरूले परमेश्‍वरलाई आदेश दिन्छन्। के तिमीहरूले सधैँ यस किसिमले विश्‍वास गरेका छैनौ र? जब तैँले परमेश्‍वरबाट कुनै कुरा प्राप्त गर्न सक्दैनस्, तँ भाग्ने इच्छा गर्छस्; जब तँ कुनै कुरा बुझ्दैनस्, तब तँ धेरै रिसाउँछस्, र उहाँलाई हरप्रकारको गाली गर्ने हदसम्‍म जान्छस्। तिमीहरू परमेश्‍वरलाई स्वयम्‌लाई उहाँको बुद्धि र चमत्कार प्रकट गर्ने अनुमति दिँदै-दिँदैनौ; त्यसको साटो, तिमीहरू क्षणिक आराम र सुविधाको आनन्द मात्र लिन चाहन्छौ। अहिलेसम्म, परमेश्‍वरमा विश्‍वास गर्ने तिमीहरूको आचरण तिनै पुराना विचारहरूद्वारा बनेको छ। यदि परमेश्‍वरले तिमीहरूलाई प्रतापको सानो झल्को मात्र देखाउनुभयो भने, तिमीहरू दुःखी बन्नेछौ। के तिमीहरूले अहिले आफ्नो कद कति ठूलो छ भनी ठीकसँग देख्छौ? जब तिमीहरूका पुराना विचारहरू बदलिएकै छैनन् भने तिमीहरू सबै परमेश्‍वरप्रति बफादार छौ भनी नसोच। जब तँमाथि केही पनि आइलाग्दैन, तब तँ सबै कुरा ठीकसँगले चलिरहेको छ, र परमेश्‍वरप्रतिको तेरो प्रेम सर्वोच्च बिन्दुमा पुग्छ भन्‍ने विश्‍वास गर्छस्। जब तँलाई कुनै सानो कुरा हुन्छ, तँ पातालमा झर्छस्। के तँ परमेश्‍वरप्रति बफादार भएको यही हो?

यदि विजयको अन्तिम चरणको काम इस्राएलमा सुरु भएको भए त्यस्तो विजयको कामको कुनै अर्थ हुनेथिएन। त्यो काम चीनमा र तिमी मानिसहरूमा गरिन्छ भने त्यो धेरै महत्त्वपूर्ण हुन्छ। तिमीहरू मानिसहरूमध्ये सबैभन्दा तुच्छ हौ, सबैभन्दा तुच्छ प्रतिष्ठा भएका मानिसहरू; तिमीहरू त्यस्ता हौ जो यस समाजका सबैभन्दा तल्लो स्तरका हौ, र तिमीहरू त्यो हौ जसले सुरुमा परमेश्‍वरलाई सबैभन्दा कम रूपमा स्वीकार गरेका थियौ। तिमीहरू ती मानिसहरू हौ जो परमेश्‍वरबाट धेरै टाढा भएका थियौ र जसको अत्यन्त गम्भीर रूपमा क्षति भएको थियो। यस चरणको काम केवल विजयको लागि मात्र हो, त्यसकारण तिमीहरू भविष्यमा साक्षी बन्नलाई चुनिनु सबैभन्दा उपयुक्त छैन? यदि विजयको कामको पहिलो चरण तिमी मानिसहरूमा नगरिएको भए, आउनेवाला विजयको कामलाई अगाडि बढाउन गाह्रो हुनेथियो, किनकि पछिबाट हुने विजयको कामका परिणामहरू आज गरिने यो कामको तथ्यको आधारमा प्राप्त हुनेछ। अहिलेको विजयको काम विजयको समग्र कामको सुरुवात मात्र हो। तिमीहरू जितिनु पर्ने पहिलो समूह हौ; जितिनु पर्ने सबै मानव जातिको प्रतिनिधि तिमीहरू नै हौ। जो मानिसहरूमा सच्‍चा रूपमा ज्ञान हुन्छ तिनीहरूले आज परमेश्‍वरले गर्नुहुने काम महान् छ, र उहाँले मानिसहरूलाई उनीहरूको आफ्नै विद्रोहीपन जान्न मात्र दिनुहुन्न, तर तिनीहरूको हैसियत पनि प्रकट गर्नुहुन्छ भनी देख्‍नेछन्। उहाँका वचनहरूको उद्देश्य र अर्थ मानिसहरूलाई निरुत्साहित पार्नु होइन, न त तिनीहरूलाई लडाउनु नै हो। यो तिनीहरूले उहाँका वचनहरूबाट अन्तर्दृष्टि र मुक्ति प्राप्त गरून् भनेर हो; यो उहाँका वचनहरूद्वारा तिनीहरूका आत्मालाई जगाउनको लागि हो। संसारको सृष्टि भएदेखि नै मानिस शैतानको अधिकार क्षेत्रमा बाँचिरहेको छ, उसलाई परमेश्‍वर हुनुहुन्छ भन्ने न थाहा छ, न त विश्‍वास छ। यी मानिसहरूलाई परमेश्‍वरको ठूलो मुक्तिमा सामेल गर्न सकिन्छ र परमेश्‍वरले धेरै माथि उठाउन सक्‍नुहुन्छ भन्‍ने कुराले साँच्चै परमेश्‍वरको प्रेमलाई देखाउँछ; साँचो रूपमा बुझ्नेहरू सबैले यसमा विश्‍वास गर्नेछन्। त्यस्तो ज्ञान नहुनेहरूलाई चाहिँ के हुन्छ? उनीहरूले भन्नेछन्, “अँ, परमेश्‍वर भन्नुहुन्छ, हामी मोआबका सन्तान हौं; उहाँले यो आफ्नै वचनहरूमा भन्नुभयो। के हामी अझै पनि राम्रो परिणाम प्राप्त गर्न सक्छौं? हामीलाई कसले मोआबको सन्तान बनायो? विगतमा कसले हामीलाई उहाँको त्यत्ति धेरै विरोध गर्ने बनायो? परमेश्‍वर हामीलाई दोषी ठहराउन आउनुभएको छ; के तँ देख्दैनस् कि कसरी उहाँले सधैँ सुरुदेखि नै हाम्रो न्याय गर्नुभएको छ? हामीले परमेश्‍वरको विरोध गरेकाले, हामीलाई यसरी नै सजाय हुनुपर्छ।” के यी शब्दहरू सही छन्? आज परमेश्‍वरले तिमीहरूको न्याय गर्नुहुन्छ, तिमीहरूलाई सजाय दिनुहुन्छ, र तिमीहरूलाई दोषी ठहराउनुहुन्छ, तर तैंले यो थाहा पाउनु पर्छ, कि तँलाई दोष लाउनुको लक्ष्य तैंले आफैलाई चिन भन्ने हो। उहाँले तँलाई दोष लाउनुहुन्छ, सराप्नुहुन्छ, न्याय गर्नुहुन्छ, र सजाय दिनुहुन्छ, यसैले कि तैंले आफूलाई चिन्‍न सक्, ताकि तेरो स्वभाव परिवर्तन हुन सकोस्, ताकि तैँले आफ्‍नो मूल्यलाई जान्‍न सक् र परमेश्‍वरका सबै कामहरू धार्मिक र उहाँको स्वभाव र उहाँको कामका आवश्यकताहरू अनुसार छन्, र उहाँले मानिसको मुक्तिको योजनाअनुसार काम गर्नुहुन्छ, अनि उहाँ मानिसलाई प्रेम गर्नुहुने, बचाउनुहुने, न्याय गर्नुहुने र दण्ड दिनुहुने धर्मी परमेश्‍वर हुनुहुन्छ भनी देख्‍न सक्। यदि तँलाई तँ निम्न प्रतिष्ठाको छस्, तँ भ्रष्ट र अनाज्ञाकारी छस् भन्ने मात्र थाहा छ, तर परमेश्‍वरले आज तँमाथि पठाउनुहुने न्याय र सजायद्वारा उहाँको मुक्तिलाई स्पष्ट पार्न चाहनुहुन्छ भनी जानिनस् भने तैंले अनुभव प्राप्त गर्ने कुनै उपाय हुँदैन, अनि तँ अझ अगि बढ्न योग्य हुने कुरा त परै जाओस्। परमेश्‍वर मार्न वा नाश गर्न आउनुभएको होइन, तर न्याय गर्न, सराप्न, सजाय दिन र बचाउन आउनुभएको हो। उहाँको ६,००० वर्षको व्यवस्थापन योजना नजिक नआउञ्‍जेलसम्‍म—उहाँले प्रत्येक वर्गको मानिसको नतिजा प्रकट गर्नुभन्दा पहिले—पृथ्वीमा परमेश्‍वरले गर्नुहुने काम मुक्तिका लागि हुनेछ; यसको उद्देश्य भनेको उहाँलाई प्रेम गर्नेहरूलाई पूर्ण—सम्पूर्ण रूपमा—बनाउनु नै हो र उनीहरूलाई उहाँको प्रभुत्वको अधीनमा ल्याउनु हो। परमेश्‍वरले मानिसहरूलाई जसरी बचाउनु भए पनि, त्यो सबै तिनीहरूका पुरानो शैतानिक स्वभावबाट तिनीहरूलाई अलग पारेर नै गरिन्छ; अर्थात्, उहाँले तिनीहरूलाई जीवनको खोजी गर्ने बनाएर बचाउनुहुन्छ। यदि तिनीहरूले त्यसो गरेनन् भने, तिनीहरूसँग परमेश्‍वरको मुक्तिलाई स्वीकार गर्ने कुनै उपाय हुँदैन। मुक्ति परमेश्‍वर स्वयम्‌को काम हो, र जीवनको खोजी गर्नु भनेको मुक्ति स्वीकार गर्नको लागि मानिसले गर्नैपर्ने कुरा हो। मानिसको नजरमा मुक्ति परमेश्‍वरको प्रेम हो र परमेश्‍वरको प्रेम कहिल्यै पनि सजाय, न्याय र सरापहरू हुन सक्दैन; मुक्तिमा प्रेम, दया र त्यसबाहेक सान्त्वनाका शब्दहरू, साथसाथै परमेश्‍वरले प्रदान गर्नुभएका असीमित आशिषहरू हुनुपर्दछ। जब परमेश्‍वरले मानिसलाई बचाउनुहुन्छ, तब मानिसहरूले आफ्ना हृदयहरू परमेश्‍वरलाई दिन सकून् भनी परमेश्‍वरले उनीहरूलाई आफ्ना आशिषहरू र अनुग्रहले असर पार्दै त्यसो गर्नुहुन्छ भनी मानिसहरू विश्‍वास गर्दछन्। भन्नुको तात्पर्य यो हो, कि उहाँले मानिसलाई छुनु भनेको उहाँले तिनीहरूलाई बचाउनु हो। यस प्रकारको मुक्ति एक सम्झौता गरेर गरिन्छ। जब परमेश्‍वरले तिनीहरूलाई एक सय गुणा दिनुहुन्छ तब मात्र मानिस परमेश्‍वरको नाउँको सामु अधीनमा आउँदछ र उहाँका निम्ति राम्रो गर्ने र उहाँलाई महिमा दिने कोसिस गर्छ। मानव जातिका लागि परमेश्‍वरको अभिप्राय यो होइन। परमेश्‍वर भ्रष्ट मानव जातिलाई बचाउन पृथ्वीमा काम गर्न आउनुभएको छ; यसमा कुनै झूट छैन। यदि यो झूट थियो भने, निश्चय उहाँ व्यक्तिगत रूपले आफ्नो काम गर्न आउनुहुने थिएन। विगतमा, उहाँको मुक्तिको माध्यमहरूमा चरम प्रेम र दया देखाउने कार्य समावेश थियो, यहाँसम्म कि, उहाँले मानव जातिलाई सम्पूर्ण रूपमा प्राप्त गर्न शैतानलाई आफ्नो सबै कुरा दिनुभयो। वर्तमान विगतजस्तो अलिकति पनि छैन: आज तिमीहरूलाई दिइएको मुक्ति आखिरी दिनहरूमा, प्रत्येकलाई उसको प्रकारअनुसार वर्गीकरण गरिएको समयमा आउँछ; तिमीहरूको मुक्तिको माध्यम प्रेम वा करुणा होइन, तर त्यो सजाय र न्याय हो, यसैले कि मानिसले पूर्ण रूपमा मुक्ति पाओस्। यसैले, तिमीहरूले पाउने भनेको सजाय, न्याय र निर्दयी प्रहार मात्र हो, तर यो कुरा जान: यो निर्दयी प्रहारमा दण्ड अलिकति पनि छैन। मेरा वचनहरू जति नै कठोर भए पनि, तँमाथि आइपर्ने चाहिँ थोरै वचनहरू मात्र हुन् जुन तिमीहरूलाई निर्दयी लाग्‍न सक्छ, रम जति नै रिसाए पनि तिमीहरूमाथि बर्सिने भनेको मेरो शिक्षाका वचनहरू नै हुन्, मेरो उद्देश्य तिमीहरूको हानि गर्ने वा तिमीहरूलाई मार्ने होइन। के यो सबै तथ्य होइनन् र? यो जान् कि हिजोआज चाहे धार्मिक न्याय होस् वा निर्दयी शुद्धीकरण र सजाय होस्, सबै कुरा मुक्तिकै लागि हुन्। आज प्रत्येकलाई प्रकार अनुसार वर्गीकरण गरिए पनि वा मानिसका वर्गहरूलाई उदाङ्गो पारिए पनि, परमेश्‍वरका सबै वचनहरू र कामको उद्देश्य भनेको परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्नेहरूलाई मुक्ति दिनु नै हो। धर्मी न्याय मानिसलाई शुद्ध गर्नका लागि ल्याइन्छ, र निर्दयी शोधन तिनीहरूलाई शुद्ध पार्नका लागि गरिन्छ; कठोर वचनहरू वा ताडना, दुवै शुद्ध पार्नका लागि र मुक्तिको खातिर दिइन्छ। यसैले, आजको मुक्तिको विधि विगतको जस्तो छैन। आज, तिमीहरूको मुक्ति धार्मिक न्यायको माध्यमबाट ल्याइन्छ, र यो तिमीहरूलाई प्रकारअनुसार वर्गीकरण गर्ने उत्तम साधन हो। यसबाहेक, निर्दयी सजायले तिमीहरूको पूर्ण मुक्तिको रूपमा काम गर्दछ—र त्यस्तो सजाय र न्यायको सामना गर्नुपर्दा तिमीहरूले के भन्नुपर्ने हुन्छ? के तिमीहरूले सुरुदेखि अन्त्यसम्म सधैँ मुक्तिको आनन्द लिइरहेका छैनौ र? तिमीहरूले देहधारी परमेश्‍वरलाई देखेका छौ र उहाँको सर्वशक्तिमान्‌ता र बुद्धिलाई महसुस गरेका छौ; यसबाहेक अझै तिमीहरूले बारम्बारको पिटाइ र अनुशासनको अनुभव गरेका छौ। तापनि, के तिमीहरूले सर्वोच्च अनुग्रह पनि प्राप्त गरेका छैनौ र? के तिमीहरूका आशिषहरू अरू कसैको भन्दा ठूलो छैनन् र? तिमीहरूका अनुग्रहहरू सोलोमनले उपभोग गरेका गौरव र धन-सम्पत्तिभन्दा पनि प्रचुर छन्! यसको बारेमा विचार गर: यदि म आउनुको उद्देश्य तिमीहरूलाई मुक्ति दिनु नभएर तिमीहरूलाई दोष लाउनु र दण्ड दिने थियो भने, के तिमीहरूका दिनहरू यति लामो लम्बिने थियो? के मासु र रगतका तिमी पापी प्राणीहरू आजको दिनसम्म जीवित रहन सक्थ्यौ? यदि मेरो लक्ष्य तिमीहरूलाई दण्ड दिनु मात्र थियो भने, म किन मानिस बन्थें र त्यस्तो ठूलो काम सुरु गर्थें? के तिमीहरूजस्ता मरणशील प्राणीलाई एकै शब्द बोलेर मात्रै पनि दण्ड दिन सकिँदैनथियो र? के तिमीहरूलाई जानाजानी दोष लगाएपछि मैले तिमीहरूलाई नाश पार्नु आवश्यक हुन्थ्यो? के तिमीहरू अझै पनि मेरा यी वचनहरूमा विश्‍वास गर्दैनौ? के म मानिसहरूलाई प्रेम र दयाको माध्यमबाट मात्र बचाउन सक्थेँ? वा के मानिसलाई बचाउन म क्रूसको मृत्यु मात्र प्रयोग गर्न सक्थेँ? के मेरो धार्मिक स्वभाव मानिसलाई पूर्णतया आज्ञाकारी बनाउन अझ उपयोगी छैन र? के यो मानिसलाई पूर्ण रूपमा बचाउन अझ सक्षम छैन र?

मेरा वचनहरू कठोर हुन सक्छन्, तापनि ती सबै मानिसका मुक्तिका लागि भनिएका छन्, किनकि म केवल वचनहरू मात्र बोल्दैछु र मानिसको देहलाई दण्ड दिइरहेको छैन। यी वचनहरूले मानिसलाई ज्योतिमा बस्न, ज्योति छ भनी जान्न, त्यो ज्योति अनमोल छ भनेर बुझ्न र अझ त्योभन्दा बढी, यी वचनहरू तिनीहरूका लागि कति धेरै लाभदायक छन् भनेर जान्न, साथै परमेश्‍वर मुक्ति हुनुहुन्छ भनी बुझ्न पनि सहायता गर्दछन्। मैले सजाय र न्यायका धेरै वचनहरू बोलेको भए पनि, तिनले जुन कुराको प्रतिनिधित्व गर्दछन् त्यो तिमीहरूमा व्यवहारिक रूपमा गरिएको छैन। म मेरो काम गर्न र मेरा वचनहरू बोल्न आएको हुँ, र मेरा वचनहरू कठोर भए पनि ती तिमीहरूको भ्रष्टता र तिमीहरूको विद्रोहको न्याय गर्न बोलिएका हुन्। मेरो यो कामको उद्देश्य मानिसलाई शैतानको अधिकार क्षेत्रबाट बचाउनु नै हो; मानिसलाई बचाउन मैले मेरा वचनहरू प्रयोग गर्दैछु। मेरो उद्देश्य भनेको मेरा वचनहरूद्वारा मानिसको हानि गर्नु होइन। मेरो कामको नतिजा प्राप्त गर्नका लागि नै मेरा वचनहरू कठोर छन्। त्यस्तो कामद्वारा मात्र मानिसले आफैलाई चिन्न र आफ्‍नो विद्रोही स्वभावबाट अलग हुन सक्छ। वचनहरूको कामको सबैभन्दा ठूलो महत्त्व भनेको मानिसहरूले सत्य कुरा बुझेपछि तिनीहरूलाई त्यो व्यवहारमा अपनाउने, तिनीहरूको स्वभाव परिवर्तन गर्ने र आफ्नो र परमेश्‍वरको कार्यको ज्ञान प्राप्त गर्ने तुल्याउनु हो। वचनहरू बोलेर काम गर्दा मात्रै परमेश्‍वर र मानिसबीच कुराकानी गर्नु सम्भव हुन्छ, र वचनहरूले मात्र सत्यतालाई वर्णन गर्न सक्दछ। यस तरिकाले काम गर्नु नै मानिसलाई जित्ने सबैभन्दा उत्तम माध्यम हो; वचनहरू बोल्‍ने बाहेक, अरू कुनै पनि विधिले मानिसहरूलाई सत्यता र परमेश्‍वरको काम स्पष्ट रूपमा बुझाउन सक्दैन। यसैले, आफ्‍नो अन्तिम चरणको काममा, परमेश्‍वरले मानिससँग मानिसले अझैसम्म नबुझेका सत्यता र रहस्यहरू प्रकट गर्न, तिनीहरूलाई परमेश्‍वरबाट साँचो बाटो र जीवन प्राप्त गर्ने तुल्याउन र त्यसरी उहाँको इच्छा पूरा गर्नको लागि बोल्नुहुन्छ। परमेश्‍वरले मानिसमा गर्नुहुने कामको उद्देश्य तिनीहरूलाई परमेश्‍वरको इच्छा पूरा गर्न सक्षम बनाउनु हो, र यो तिनीहरूकहाँ मुक्ति ल्याउनका लागि गरिन्छ। त्यसकारण, मानिसले उहाँको मुक्ति पाएको समयमा, उहाँले तिनीहरूलाई दण्ड दिने काम गर्नुहुन्न। मानिसकहाँ मुक्ति ल्याउने क्रममा, परमेश्‍वरले दुष्टलाई दण्ड वा असल इनाम दिनुहुन्न, न त उहाँले विभिन्न किसिमका मानिसहरूका गन्तव्यहरू नै प्रकट गर्नुहुन्छ। बरु, उहाँको कामको अन्तिम चरण पूरा भएपछि मात्र उहाँले खराबीलाई दण्ड दिने र असल कार्यलाई इनाम दिने काम गर्नुहुनेछ, तब मात्र उहाँले सबै किसिमका विभिन्‍न मानिसहरूको अन्त्य प्रकट गर्नुहुन्छ। दण्ड पाउने तिनीहरू हुनेछन् जो वास्तवमा मुक्ति पाउन असमर्थ हुन्छन्, अनि बचाइएकाहरू ती हुनेछन् जसले परमेश्‍वरले मानिसलाई मुक्ति दिनुभएको समयमा परमेश्‍वरको मुक्ति प्राप्त गरेका हुन्छन्। परमेश्‍वरले मुक्ति दिने कार्य गरिरहनुभएको बेला मुक्ति पाउन सक्ने प्रत्येक व्यक्तिले हरसम्भव मुक्ति पाउनेछ, र तिनीहरूमध्ये कसैलाई पनि फालिनेछैन, किनकि परमेश्‍वरको कामको उद्देश्य भनेको मानिसलाई बचाउनु नै हो। ती सबै जो, परमेश्‍वरले मानिसलाई मुक्ति दिइरहनुभएको समयमा आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न असमर्थ हुन्छन्—साथै तिनीहरू सबै जो पूर्ण रूपले परमेश्‍वरको अधीनमा बस्न असमर्थ हुन्छन्—तिनीहरू दण्डका पात्रहरू बन्नेछन्। कामको यो चरणले, अर्थात् वचनहरूको कामले मानिसहरूले बुझ्न नसक्ने सबै मार्गहरू र रहस्यहरू खोल्‍नेछ, यसरी तिनीहरूले परमेश्‍वरको इच्छा र परमेश्‍वरले तिनीहरूबाट गर्नुभएका मागहरू बुझ्न सक्छन्, र यसरी तिनीहरूले परमेश्‍वरको वचनहरू अभ्यास गर्ने र तिनीहरूको स्वभावमा परिवर्तन गर्ने पूर्वसर्तहरू पाउन सक्छन्। परमेश्‍वरले उहाँको आफ्नो काम गर्न केवल वचनहरू प्रयोग गर्नुहुन्छ र मानिस थोरै विद्रोही हुँदा उसलाई दण्ड दिनुहुन्न; किनकि अहिले मुक्तिको कामको समय हो। यदि विद्रोही काम गर्ने कुनै पनि व्यक्तिलाई दण्ड दिइयो भने कसैले पनि मुक्ति पाउने मौका पाउनेथिएन; सबैले दण्ड पाउनेथिए र पातालमा खस्नेथिए। मानिसलाई न्याय गर्ने वचनहरूको उद्देश्य भनेको तिनीहरूलाई आफैलाई चिन्ने र परमेश्‍वरमा समर्पित हुने मौका दिनु हो; यो तिनीहरूलाई त्यस्तो न्यायद्वारा दण्ड दिनु होइन। वचनहरूको कामको अवधिमा, धेरै मानिसहरूले आफ्नो विद्रोहीपन र अनादर साथसाथै देहधारी परमेश्‍वरप्रति तिनीहरूको अनाज्ञाकारितालाई प्रकट गर्नेछन्। तापनि, त्यसको फलस्वरूप उहाँले यी सबै मानिसहरूलाई दण्ड दिनुहुन्न, तर त्यसको साटो उहाँले भित्रैदेखि भ्रष्ट र मुक्ति पाउन नसक्ने ती सबै मानिसलाई पर पन्छ्याउनुहुनेछ। उहाँले तिनीहरूको देह शैतानलाई दिनुहुनेछ र केही अवस्थाहरूमा तिनीहरूको देह नाश पार्नुहुनेछ। बाँकी रहेकाहरू पछि लागिरहनेछन् र तिनीहरूले निराकरण र छिँवल्ने कार्यको अनुभव गर्नेछन्। यदि पछ्याउने क्रममा, यी मानिसहरू अझै पनि निराकरण र छिँवल्ने कार्यलाई स्वीकार गर्न सक्दैनन् र झन्-झन् पतित हुँदै जान्छन् भने, तिनीहरूले मुक्ति पाउने आफ्‍नो मौका गुमाउनेछन्। प्रत्येक व्यक्ति जो वचनहरूद्वारा जितिनका निम्ति समर्पित हुन्छन् तिनीहरूले मुक्ति पाउने प्रशस्त मौका पाउनेछन्; यी प्रत्येक मानिसमा आएको परमेश्‍वरको मुक्तिले उहाँको परम उदारतालाई देखाउनेछ। अर्को शब्दमा, तिनीहरूलाई अत्याधिक सहिष्णुता देखाइनेछ। जबसम्म मानिसहरू गलत मार्गबाट फर्कन्छन्, र जबसम्म तिनीहरूले पश्चात्ताप गर्न सक्छन्, परमेश्‍वरले तिनीहरूलाई उहाँको मुक्ति प्राप्त गर्ने मौका दिनुहुनेछ। जब मानिसले पहिलो पटक परमेश्‍वरको विरुद्धमा विद्रोह गऱ्यो, उहाँले तिनीहरूलाई मार्ने कुनै इच्छा गर्नुहुन्‍न; बरु, तिनीहरूलाई बचाउन उहाँले सक्दो कोसिस गर्नुहुन्छ। यदि कसैसँग मुक्तिको लागि कुनै ठाउँ छैन भने, परमेश्‍वरले तिनीहरूलाई पन्छ्याउनुहुनेछ। परमेश्‍वरले केही मानिसहरूलाई दण्ड दिनु ढिलो गर्नुको कारण यो हो कि मुक्ति पाउन निम्ति योग्य सबै मानिसलाई मुक्ति दिने उहाँको चाहना हुन्छ। उहाँले वचनद्वारा मात्रै मानिसहरूलाई न्याय गर्नुहुन्छ, ज्ञान दिनुहुन्छ, र डोऱ्याउनुहुन्छ, र तिनीहरूलाई मार्न उहाँले डन्डा चलाउनुहुन्न। मानिसहरूलाई मुक्तिमा ल्याउनका लागि वचनहरू प्रयोग गर्नु नै अन्तिम चरणको कामको उद्देश्य र महत्त्व हो।

अघिल्लो: पद र पहिचानको सम्‍बन्धमा

अर्को: आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्‍त गर्न सक्छ?

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्‍नुभएको हुनेछ

के तँ येशूलाई देख्न चाहन्छस्? के तँ येशूसँग बस्ने इच्छा गर्छस्? के तँ येशूले बोल्नुभएको वचन सुन्ने इच्छा गर्छस्? यदि त्यसो हो भने, तैँले...

व्यवस्थाको युगको काम

यहोवाले इस्राएलीहरूका बीचमा गर्नुभएको कार्यले मानवजातिको बीचमा परमेश्‍वरको सांसारिक उद्‍गम स्थान स्थापना गर्‍यो, जुन एउटा पवित्र स्थान पनि...

देहधारणको रहस्य (१)

अनुग्रहको युगमा, यूहन्नाले येशूको निम्ति बाटो तयार पारे। यूहन्ना आफैले परमेश्‍वरको काम गर्न सक्दैन थिए, तर केवल मानिसको कर्तव्य पूरा गरे।...

के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?

परमेश्‍वरको विश्‍वासी भएर, तिमीहरू हरेकले आखिरी दिनहरूमा परमेश्‍वरको कार्य अनि आज पनि तिमीहरूमा उहाँले गर्नुहुने उहाँको योजनाको कार्य ग्रहण...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्