२. प्रेरित पावलले भने, “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले आस्था कायम राखेको छु: अबदेखि मेरा लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। हामीले धेरै वर्षदेखि प्रभुमा विश्वास गरेका छौं, र त्यस अवधिभरि, हामीले दौड् दौड्ने र प्रभुको काम गर्ने कुरामा पावलको अनुकरण गरेका छौं। हामीले सुसमाचार फैलाएका छौं र मण्डलीहरू निर्माण गरेका छौं, र हामीले प्रभुको नाउँ र प्रभुको मार्गलाई पालना गरेका छौं। हामीलाई धार्मिकताको मुकुट पहिराइनेछ भन्ने विषयमा कुनै प्रश्न छैन। जबसम्म हामी प्रभुप्रतिको हाम्रो परिश्रममा लगनशील हुन्छौं र प्रभुको आगमनको प्रतीक्षामा जागा रहन्छौं, हामी उठाइएर सीधै स्वर्गको राज्यमा लगिनेछौं। के तपाईं हामीले गरेका अभ्यासमा गल्ती छ भनी भन्नुहुन्छ?
सन्दर्भका लागि बाइबलका पदहरू:
“मलाई प्रभु, प्रभु भन्ने सबै नै स्वर्गको राज्यमा प्रवेश गर्नेछन् भन्ने होइन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्छालाई पछ्याउँछ जो स्वर्गमा हुनुहुन्छ। त्यस दिन मलाई धेरैले यसो भन्नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२१-२३)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
परमेश्वरमा विश्वास गर्न थालेदेखि एउटा व्यक्ति धेरै वटा असल व्यवहारहरूमा संलग्न भएको हुनसक्ने भए पनि, उसले अझै पनि धेरै कुराहरू स्पष्ट रूपमा देख्न सक्दैन, सत्यतालाई बुझ्न सक्ने त कुरै नगरे हुन्छ। तैपनि, तिनीहरूका धेरै वटा असल व्यवहारहरूका कारण, तिनीहरूलाई तिनीहरू पहिले नै सत्यता अभ्यास गरिरहेका छन्, परमेश्वरमा समर्पित भइसकेका छन्, र तिनीहरूले उहाँका अभिप्रायहरू पूरा गरिसकेका छन् भन्ने लाग्छ। जब तँलाई केही आइपर्दैन, तब तँलाई जे गर्न भनिएको छ तँ त्यही गर्न सक्छस्, र तँ कुनै अवज्ञा नगरी विनाहिचकिचाहट आफ्नो कर्तव्य निर्वाह गर्छस्। तँलाई सुसमाचार प्रचार गर्न भनिएमा, तँ गुनासो गर्दैनस् र यो कष्ट सहन सक्छस्, र जब तँलाई यताउता दगुर्न र काम गर्न लगाइन्छ, वा कुनै निश्चित काम गराइन्छ, तँ त्यो काम गर्छस्। यसकारण, तँलाई आफू परमेश्वरमा समर्पित हुने र साँच्चिकै सत्यतालाई पछ्याउने व्यक्ति हुँ भन्ने लाग्छ। तर यदि तँलाई गम्भीर जाँच गरियो, र “के तँ इमानदार व्यक्ति होस्? के तँ साँचो रूपमा परमेश्वरमा समर्पित हुने व्यक्ति होस्? के तँ त्यो व्यक्ति होस् जसको स्वभाव परिवर्तन भएको छ?” भनेर सोधियो भने—यदि हरेक व्यक्तिलाई परमेश्वरका वचनहरूको सत्यतासँग तुलना गर्न अघि सारियो भने—कोही पनि मानकअनुरूप छैन, र कुनै पनि व्यक्ति सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न सक्षम हुनेछैन भनेर भन्न सकिन्छ। त्यसैले, भ्रष्ट मानवजाति सबैले आत्मचिन्तन गर्नुपर्छ। तिनीहरूले आफूले जिउने स्वभावहरू र आफ्ना सबै काम र कार्यहरूका आधार बन्ने शैतानका दर्शन, तर्क, विधर्म र भ्रमहरूबारे चिन्तन गर्नैपर्छ। तिनीहरूले आफूले भ्रष्ट स्वभावहरू प्रकट गर्नुको मूल कारण, आफूले मनमानी ढङ्गमा कार्य गर्नुको सार, र आफू केमा र कसका लागि जिउँछन् भन्नेबारे चिन्तन गर्नैपर्छ। यदि यो कुरालाई सत्यतासँग तुलना गरेर हेर्ने हो भने, सबै मानिसहरू दोषी ठहरिनेछन्। यसको कारण के हो? मानवजाति गम्भीर रूपमा भ्रष्ट हुनु नै यसको कारण हो। मानिसहरू सत्यता बुझ्दैनन्, र तिनीहरू सबै आफ्नो भ्रष्ट स्वभावअनुसार जिउँछन्। तिनीहरूमा अलिकति पनि आत्मज्ञान हुँदैन, तिनीहरू सधैँ आफ्नो धारणा र कल्पनाहरूअनुसार परमेश्वरमा विश्वास गर्छन्, कर्तव्यहरू आफ्नै रुचि र तरिकाअनुसार निर्वाह गर्छन्, र परमेश्वरको सेवा कसरी गर्ने भनेर धार्मिक सिद्धान्तहरू पछ्याउँछन्। त्यसमाथि, तिनीहरू अझै पनि तिनीहरू आत्मविश्वासले भरिपूर्ण छन्, तिनीहरूका कार्यहरू उचित छन् भनेर सोच्छन्, र अन्त्यमा तिनीहरू आफूले धेरै प्राप्त गरेको महसुस गर्छन्। थाहै नपाई, तिनीहरू के सोच्न थाल्छन् भने तिनीहरू परमेश्वरका अभिप्रायहरूअनुसार काम गरी नै रहेका छन्, तिनलाई पूर्ण रूपमा पूरा गरेका छन्, र तिनीहरूले पहिले नै परमेश्वरका मागहरू पूरा गरिसकेका छन् र उहाँको इच्छालाई पछ्याइरहेका छन्। यदि तँलाई यस्तै लाग्छ, वा यदि तँलाई परमेश्वरमाथिको तेरो केही वर्षको विश्वासमा, तैँले केही प्राप्तिहरू हासिल गरेको छस् भन्ने लाग्छ भने, आफैलाई सावधानीपूर्वक जाँच्न तँ परमेश्वरको अघि अझ धेरै फर्किआउनैपर्छ। तैँले परमेश्वरमाथिको विश्वासका यी वर्षको तेरो यात्रालाई हेर्नुपर्छ, र तेरा काम र कार्यहरू सत्यता सिद्धान्तहरू अनुरूप छन् कि छैनन्, साथै तेरा कुन-कुन प्रकटीकरण परमेश्वरका विरोधमा छन्, कुन-कुन प्रकटीकरण परमेश्वरप्रतिको समर्पणमा छन्, कुन-कुन प्रकटीकरणले परमेश्वरका मागहरू पूरा गर्छन्, कुन-कुन प्रकटीकरण परमेश्वरको गवाही दिने खालका छन्, र तँ कुन-कुन क्षेत्रमा परमेश्वरप्रति ऋणी छस् भनेर हेर्नुपर्छ। तँ यी सबै कुराबारे स्पष्ट हुनुपर्छ—त्यसपछि मात्र तँमा आत्म-सचेतना भएको मान्न सकिन्छ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ
परमेश्वरलाई पछ्याउने धेरै जना कसरी आशिष् पाउने वा प्रकोपलाई कसरी टार्ने भन्ने कुराबारे मात्रै चासो राख्छन्। परमेश्वरको काम र व्यवस्थापन उल्लेख हुनेबित्तिकै, तिनीहरू चुप लाग्छन् र सबै रुचि गुमाउँछन्। तिनीहरू यस्ता दिक्कलाग्दा कुराहरू बुझ्नुले तिनीहरूको जीवनको वृद्धिविकास गर्न मद्दत गर्दैन वा कुनै फाइदा प्रदान गर्दैन भन्ने सोच्छन्। फलस्वरूप, तिनीहरूले परमेश्वरको व्यवस्थापनबारे जानकारी सुनेका भए तापनि, तिनीहरू यसलाई गम्भीरतापूर्वक लिँदैनन्। तिनीहरू यसलाई स्वीकार गर्नुपर्ने बहुमूल्य कुराका रूपमा हेर्दैनन्, र तिनीहरू यसलाई आफ्नो जीवनको एक हिस्साका रूपमा लिएर त झन् बुझ्दैनन्। यी मानिसहरूले परमेश्वरलाई पछ्याउनुको उद्देश्य धेरै सरल छ, र यो एउटै लक्ष्यका लागि हो: आशिषित हुनु। यी मानिसहरू यो लक्ष्यसँग कुनै सरोकार नभएको अरू कुनै पनि कुरामा ध्यान दिने कष्ट गर्दैनन्। तिनीहरूका लागि, आशिष्हरू पाउनु नै परमेश्वरमा विश्वास गर्नुको सबैभन्दा जायज उद्देश्य हो—यो नै तिनीहरूको आस्थाको मूल्य हो। यदि कुनै कुरा यो उद्देश्यमा काम लाग्दैन भने, त्यो जेसुकै भए पनि तिनीहरू त्यसदेखि उदासीन रहन्छन्। आज परमेश्वरमा विश्वास गर्ने धेरैजसो मानिसको अवस्था यही हो। तिनीहरूको उद्देश्य र अभिप्राय जायज देखिन्छ, किनभने तिनीहरू परमेश्वरमा विश्वास गर्दा परमेश्वरका लागि आफूलाई समर्पित पनि गर्छन्, परमेश्वरप्रति आफूलाई अर्पित गर्छन्, र आफ्नो कर्तव्य निर्वाह गर्छन्। तिनीहरू आफ्नो यौवन त्याग्छन्, परिवार र करियर त्याग्छन्, र वर्षौँसम्म घरबाट टाढा दौडधुप समेत गर्छन्। आफ्नो अन्तिम उद्देश्यका खातिर, तिनीहरू आफ्ना रुचिहरू, जीवनप्रतिको आफ्नो दृष्टिकोण, र आफूले पछ्याउने दिशा समेत परिवर्तन गर्छन्; तैपनि तिनीहरू परमेश्वरमा विश्वास गर्नुको आफ्नो उद्देश्य परिवर्तन गर्न सक्दैनन्। तिनीहरू आफ्नै आकाङ्क्षाहरूको व्यवस्थापनका लागि दौडधुप गर्छन्; बाटो जतिसुकै लामो भए पनि, र बाटोमा जतिसुकै कष्ट, खतरा, र बाधाहरू भए पनि, तिनीहरू निरन्तर लागिरहन्छन् र मृत्युदेखि डराउँदैनन्। कुन शक्तिले तिनीहरूलाई यसरी आफूलाई अर्पण गरिरहन बाध्य पार्छ? के यो तिनीहरूको विवेक हो? के यो तिनीहरूको महान् र उदात्त निष्ठा हो? के यो अन्तसम्मै दुष्टका शक्तिहरूसँग लड्ने तिनीहरूको दृढ सङ्कल्प हो? के यो इनाम नखोजी परमेश्वरको गवाही दिने तिनीहरूको आस्था हो? के यो परमेश्वरको इच्छा पूरा गर्नका लागि सबै कुरा त्याग्न इच्छुक हुने तिनीहरूको अर्पण हो? कि के यो सधैँ अत्यधिक व्यक्तिगत मागहरू त्याग्ने तिनीहरूको समर्पित आत्मा हो? साँच्चै भन्नुपर्दा, परमेश्वरको व्यवस्थापनको काम कहिल्यै नबुझेको व्यक्तिले अझै पनि यति धेरै रगत-पसिना बगाउनु एक चमत्कार हो! अहिलेका लागि, हामी यी मानिसहरूले कति दिएका छन् भन्नेबारे छलफल नगरौँ। तर, तिनीहरूको व्यवहार हाम्रो चिरफारका लागि अत्यन्तै योग्य छ। तिनीहरूसँग यति निकट रूपमा सम्बन्धित फाइदाहरूबाहेक, के परमेश्वरलाई कहिल्यै नबुझ्ने मानिसहरूले उहाँका लागि यति ठूलो मूल्य चुकाउनुका अरू कुनै कारणहरू हुन सक्छन्? यहाँ, हामी मानिसले पहिले पहिचान नगरेको एउटा समस्या पत्ता लगाउँछौँ: परमेश्वरसँगको मानिसको सम्बन्ध नाङ्गो स्वार्थको सम्बन्ध मात्रै हो। यो आशिष् पाउने र दिनेबीचको सम्बन्ध हो। स्पष्ट रूपमा भन्नुपर्दा, यो एक कर्मचारी र एक रोजगारदाताबीचको सम्बन्ध हो। कर्मचारीले केवल रोजगारदाताले प्रदान गर्ने पुरस्कारहरू पाउनका लागि कडा परिश्रम गर्छ। स्वार्थमा आधारित यस प्रकारको सम्बन्धमा कुनै आत्मीय स्नेह हुँदैन, केवल लेनदेन हुन्छ। त्यहाँ प्रेम गर्नु वा प्रेम गरिनु हुँदैन, केवल दान र कृपा हुन्छ। त्यहाँ कुनै समझदारी हुँदैन, केवल विवश दमित आक्रोश र छल हुन्छ। त्यहाँ कुनै घनिष्ठता हुँदैन, केवल पार गर्न नसकिने खाडल हुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ
मानवले अरू मानवको मूल्याङ्कन गर्ने मानक उनीहरूको व्यवहारमा आधारित हुन्छ; जसको व्यवहार असल छ उनीहरू धर्मी हुन्छन्, जबकि जसको व्यवहार घिनलाग्दो छ उनीहरू दुष्ट हुन्छन्। परमेश्वरले मानवको मूल्याङ्कन गर्नुहुने मानकचाहिँ उनीहरूको सार उहाँको अधीनमा हुन्छ कि हुँदैन भन्ने कुरामा आधारित हुन्छ; आफूलाई परमेश्वरको अधीनमा राख्ने व्यक्ति धर्मी व्यक्ति हो, जबकि त्यसो नगर्ने व्यक्ति शत्रु र दुष्ट व्यक्ति हो, चाहे त्यो व्यक्तिको व्यवहार असल होस् वा खराब, र चाहे उसको बोलीवचन ठीक होस् वा बेठीक। केही मानिसहरूले भविष्यमा असल गन्तव्य हासिल गर्न असल कार्यहरू प्रयोग गर्ने इच्छा गर्छन्, र कतिपय मानिस असल गन्तव्य हासिल गर्न राम्रा शब्दहरू प्रयोग गर्ने इच्छा गर्छन्। परमेश्वरले मानिसहरूको परिणाम उनीहरूको व्यवहार वा बोलीवचनका आधारमा निर्धारण गर्नुहुन्छ भनी सबैले गलत विश्वास गर्छन्; यसकारण, धेरै मानिसहरू यसको फाइदा उठाएर बेइमानीपूर्वक आफ्ना लागि क्षणिक अनुग्रह प्राप्त गर्ने इच्छा गर्छन्। आउने विश्रामको समयमा बाँच्ने मानिसहरू सबैले दुःखको दिन सहेका र परमेश्वरको गवाही दिएका हुनेछन्; उनीहरू सबै आफ्ना कर्तव्यहरू पूरा गरेका र जानी-जानी परमेश्वरमा समर्पित भएका मानिसहरू हुनेछन्। जो सेवा गर्ने अवसरलाई केवल सत्यता अभ्यास गर्नबाट पन्छिनका लागि प्रयोग गर्ने इच्छा गर्छन् तिनीहरू रहनेछैनन्। हरेक व्यक्तिको परिणामको प्रबन्ध गर्न परमेश्वरसँग उपयुक्त मानकहरू छन्; उहाँले यी निर्णयहरू कसैको बोलीवचन वा आचरणअनुरूप मात्र गर्नुहुन्न, न त कुनै व्यक्तिले एउटा समयावधिमा कस्तो कार्य गर्छ भन्ने कुराको आधारमा नै यी निर्णयहरू गर्नुहुन्छ। उहाँ कसैले उहाँका निम्ति विगतमा गरेको सेवाका कारण उसका सारा दुष्ट कार्यप्रति कदापि उदार हुनुहुनेछैन, न त कसैले केही समयका लागि आफूलाई उहाँप्रति समर्पित गरेको कारण उहाँले उसलाई मृत्युबाट जोगाउनुहुनेछ। आफ्नो दुष्टताको बदलाबाट कोही जोगिन सक्दैन, र कोही पनि आफ्ना दुष्ट कार्यहरू ढाक्न र त्यसरी विनाशको दुःखबाट जोगिन सक्दैन। यदि मानिसहरूले आफ्ना कर्तव्यहरू साँच्चिकै पूरा गर्न सक्छन् भने, यसको अर्थ उनीहरू परमेश्वरप्रति अनन्त रूपमा बफादार छन् र इनाम खोज्दैनन्, चाहे उनीहरूले आशिष्हरू प्राप्त गरून् वा दुःखपिर भोगून्। यदि मानिसहरू आशिष्हरू देख्दा, परमेश्वरप्रति बफादार हुन्छन्, तर कुनै आशिष्हरू देख्न नसक्दा चाहिँ आफ्नो बफादारी गुमाउँछन् भने, र यदि यी मानिसहरू—जसले एक समय परमेश्वरका निम्ति बफादारीपूर्वक परिश्रम गरे—अन्त्यमा अझै गवाही दिन वा आफूमाथि नैतिक रूपमा बाध्यकारी भएका कर्तव्यहरू पूरा गर्न असक्षम हुन्छन् भने, यस्ता मानिसहरू अझै पनि विनाशका पात्रहरू हुनेछन्। सारांशमा, दुष्ट मानिसहरू सधैँभरि बाँच्न सक्दैनन्, न त उनीहरू विश्राममा नै प्रवेश गर्न सक्छन्; धर्मीहरू मात्र विश्रामका अधिपतिहरू हुन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्
तँ परमेश्वरका लागि काम गर्न सक्छस्, तैपनि तँ परमेश्वरप्रति समर्पित हुँदैनस्, र तँ परमेश्वरलाई साँचो रूपमा प्रेम गर्न सक्दैनस् भनेर कल्पना गर्। यसरी, तैँले सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा नगरेको मात्रै हुनेछैनस्, तँलाई त परमेश्वरले दोषी पनि ठहराउनुहुनेछ, किनभने तँ सत्यता नभएको, परमेश्वरप्रति समर्पित हुन नसक्ने, र परमेश्वरविरुद्ध विद्रोह गर्ने व्यक्ति होस्। तँ परमेश्वरका लागि काम गर्ने कुराको मात्रै वास्ता गर्छस्, तर सत्यता अभ्यास गर्ने वा आफैलाई चिन्ने कुराको वास्ता गर्दैनस्। तँ सृष्टिकर्तालाई बुझ्दैनस् वा चिन्दैनस्, तँ सृष्टिकर्ताप्रति समर्पित हुँदैनस् वा उहाँलाई प्रेम गर्दैनस्, र तँ जन्मजातै परमेश्वरविरुद्ध विद्रोह गर्ने व्यक्ति होस्। यिनै कारणहरूले गर्दा नै सृष्टिकर्ता त्यस्ता मानिसहरूलाई मन पराउनुहुन्न।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सफलता वा असफलता व्यक्तिले हिँड्ने मार्गमा निर्भर हुन्छ
मानिसहरू भन्छन्, “परमेश्वर धर्मी परमेश्वर हुनुहुन्छ। जबसम्म मानिसले उहाँलाई अन्त्यसम्मै पछ्याउँछ, उहाँ मानिसहरूप्रति निश्चय नै निष्पक्ष हुनुहुनेछ, किनभने उहाँ सबैभन्दा धर्मी हुनुहुन्छ। यदि मानिसले उहाँलाई अन्तिमसम्मै पछ्यायो भने, के उहाँले मानिसलाई पन्छाउन सक्नुहुन्छ?” म सबै मानिसहरूप्रति निष्पक्ष छु, र सबै मानिसहरूलाई मेरो धर्मी स्वभावद्वारा न्याय गर्छु, तैपनि मानिसहरूप्रति मेरा सबै मागहरूमा उचित सर्तहरू समावेश छन्, र मैले माग गरेको कुरा सबै मानिसहरूले पूरा गर्नैपर्छ, चाहे ती जोसुकै होऊन्। मलाई तँ कति वरिष्ठ छस् वा कति अनुभवी छस् भन्ने कुराको मतलब छैन; म त तैँले मेरो मार्ग पछ्याउँछस् कि पछ्याउँदैनस् र तैँले सत्यताप्रति प्रेम र तृष्णा गर्छस् कि गर्दैनस् भन्ने कुरालाई मात्रै वास्ता गर्छु। यदि तँमा सत्यताको कमी छ र यसको सट्टा तैँले मेरो नाउँलाई लज्जित पार्छस् र कुनै वास्ता वा चिन्ता नगरी पछ्याउने काम मात्र गर्छस् तर मेरो मार्गअनुसार काम गर्दैनस् भने, त्यो बेला म तँलाई तेरो दुष्टताको लागि ढाल्नेछु र दण्ड दिनेछु, अनि त्यसबेला तँसँग भन्नका लागि के रहनेछ? के तैँले परमेश्वर धर्मी हुनुहुन्न भनेर भन्न सक्छस्? यदि मैले आज बोलेका सबै वचनहरूलाई तैँले पालन गरेको छस् भने, तँ मैले अनुमोदन गर्ने प्रकारको व्यक्ति होस्। तँ तैँले परमेश्वरलाई पछ्याउने क्रममा सधैँ दुःख भोगेको छस्, आँधीबेरीमा उहाँलाई पछ्याएको छस्, र उहाँसँग राम्रा र नराम्रा पलहरू बिताएको छस् भनेर भन्छस्, तर परमेश्वरले बोल्नुभएका वचनहरू तैँले जिएको छैनस्; तँ हरेक दिन परमेश्वरका लागि दौडधुप गर्न र आफूलाई उहाँमा समर्पित गर्न मात्रै चाहन्छस्, तर तैँले अर्थपूर्ण जीवन जिउनेबारे कहिल्यै पनि सोचेको छैनस्। तँ यो पनि भन्छस्, “आखिरमा, म परमेश्वर धर्मी हुनुहुन्छ भनी विश्वास गर्छु। म उहाँका लागि दुःख भोग्छु, उहाँका लागि दौडधुप गर्छु, र उहाँप्रति आफूलाई अर्पित गर्छु, अनि मैले कुनै पनि उपलब्धि हासिल नगरेको भए पनि कष्ट सहेको छु; उहाँले निश्चय नै मलाई याद गर्नुहुन्छ।” परमेश्वर धर्मी हुनुहुन्छ भन्ने कुरा साँचो हो, तैपनि यो धार्मिकता कुनै पनि अशुद्धताहरूद्वारा कलङ्कित छैन: यसमा कुनै मानव इच्छा समावेश हुँदैन र यो देह वा मानव लेनदेनहरूद्वारा कलङ्कित छैन। जो विद्रोही र विरोधमा छन्, जसले उहाँको मार्ग पालन गर्दैनन्, ती सबै दण्डित हुनेछन्; कसैलाई पनि क्षमा दिइनेछैन र कसैलाई पनि बाँकी राखिनेछैन! कतिपय मानिसहरू भन्छन्, “आज म तपाईँका निम्ति दौडधुप गर्छु; अन्तिममा, के तपाईँ मलाई अलिकति आशिष् दिन सक्नुहुन्छ?” त्यसोभए म तँलाई सोध्छु, “के तैँले मेरा वचनहरू पालन गरेको छस्?” तँ जुन धार्मिकताको कुरा गर्छस् त्यो एउटा लेनदेनमै सीमित छ। तँ यति मात्र सोच्छस् कि म धर्मी छु, कि म सबै मानिसहरूप्रति निष्पक्ष छु, र मलाई अन्त्यसम्मै पछ्याउने सबैले पक्कै पनि मुक्ति पाउँछन् र मेरा आशिष्हरू प्राप्त गर्छन्। “जसले मलाई अन्त्यसम्मै पछ्याउँछन् तिनीहरू सबैले निश्चय नै मुक्ति पाउँछन्” भन्ने मेरो वचनको भित्री अर्थ छ: जसले अन्त्यसम्म मलाई पछ्याउँछन्, तिनीहरू नै मद्वारा पूर्ण रूपमा प्राप्त गरिनेछन्; तिनीहरू ती हुन् जो मद्वारा विजय गरिएपछि सत्यताको खोजी गर्छन् र सिद्ध पारिन्छन्। तैँले कतिवटा मागहरू पूरा गरेको छस्? मलाई अन्त्यसम्मै पछ्याउनेबाहेक तैँले अरू कुन माग पूरा गरेको छस्? के तैँले मेरा वचनहरू पालन गरेको छस्? तैँले मेरा पाँचवटा मागहरूमध्ये एउटा पूरा गरेको छस्, तर तँसँग बाँकी चारवटा मागहरू पूरा गर्ने कुनै अभिप्राय छैन। तैँले केवल सबैभन्दा सरल, सबैभन्दा सजिलो मार्ग भेट्टाएको छस्, र भाग्यमा मात्र भर पर्ने मनोवृत्तिसाथ पछ्याएको छस्। तँजस्तो व्यक्तिप्रति मेरो धर्मी स्वभाव भनेको सजाय र न्याय, साथै धर्मी सजाय मात्र हो; यसको अर्थ सबै दुष्कर्मीहरूलाई दिइने धर्मी दण्ड हो। अन्त्यसम्मै पछ्याए पनि मेरो मार्ग नपछ्याउने सबैजना अवश्य नै दण्डित हुनेछन्। परमेश्वरको धार्मिकता नै यही हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान
म प्रत्येक व्यक्तिको गन्तव्य निजको उमेर, वरिष्ठता, वा कष्टको परिमाणका आधारमा निर्धारित गर्दिनँ, ऊ कति दयनीय छ भन्ने कुराका आधारमा त झनै गर्दिनँ, बरु ऊसँग सत्यता छ कि छैन भन्ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्वरको इच्छालाई नपछ्याउने सबैले विना कुनै अपवाद दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नैपर्छ। यो कुनै व्यक्तिले परिवर्तन गर्न नसक्ने कुरा हो। तसर्थ, दण्डित हुनेहरू सबै परमेश्वरको धार्मिकताका लागि अनि उनीहरूले गरेका असङ्ख्य दुष्कर्मका लागि प्रतिफलका रूपमा दण्डित भएका हुन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्
म कस्ता प्रकारका मानिसहरूलाई चाहन्छु तैँले जान्नैपर्छ; फोहोरीहरूलाई राज्यमा प्रवेश गर्ने अनुमति छैन, फोहोरीहरूलाई पवित्र भूमि अपवित्र बनाउने अनुमति छैन। तैँले धेरै काम गरेको, र धेरै वर्षसम्म खटेको हुन सक्ने भए तापनि, आखिरमा तँ अझै पनि अत्यन्तै फोहोरी हुन्छस्, र तैँले मेरो राज्यमा प्रवेश गर्न चाहनु स्वर्गको नीति-नियममा असहनीय हुन्छ! संसारको सृष्टि भएदेखि अहिलेसम्म, मेरो चापलुसी गर्नेहरूलाई मैले राज्यमा त्यति सहज रूपमा प्रवेश गर्न कहिल्यै दिएको छैन। यो स्वर्गीय नियम हो, र कसैले पनि यसलाई तोड्न सक्दैन! तैँले जीवन पछ्याउनैपर्छ। आज, सिद्ध पारिनेहरू पत्रुसजस्तै हुन्: तिनीहरू आफ्नै स्वभावमा परिवर्तनको पछि लाग्ने, र परमेश्वरको गवाही दिन र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न इच्छुक हुने मानिसहरू हुन्। यस्ता मानिसहरूलाई मात्र सिद्ध पारिनेछ। यदि तँ इनामहरूको मात्रै आश गर्छस्, र आफ्नो जीवन स्वभाव परिवर्तन गर्नुको पछि लाग्दैनस् भने, तेरा सबै प्रयासहरू व्यर्थ हुनेछन्—यो अपरिवर्तनीय सत्यता हो!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सफलता वा असफलता व्यक्तिले हिँड्ने मार्गमा निर्भर हुन्छ