९. इस्राएलीहरूले पुस्तौं-पुस्ताबाट यहोवामा विश्वास गरेका छन्, र प्रभु येशूमा विश्वास गर्ने मानिसहरूलाई संसारभरि भेट्टाउन सकिन्छ। यहोवा, प्रभु येशू, र सर्वशक्तिमान् परमेश्वर एउटै परमेश्वर हुनुभएकोले, तपाईं किन मानिसहरूले चाहे यहोवामा विश्वास गरून् वा येशूमा, यदि तिनीहरूले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको न्यायको कामलाई स्वीकार गर्दैनन् भने तिनीहरूलाई नाश पारिनेछ भनेर भन्नुहुन्छ?
परमेश्वरका सान्दर्भिक वचनहरू:
मानिस परमेश्वरमा विश्वास गर्ने हुनाले, उसले परमेश्वरका हरेक पदचापलाई नजिकबाट पछ्याउनैपर्छ; उसले “थुमालाई उहाँ जता जानुहुन्छ त्यतै पछ्याउनुपर्छ।” यस्तो गर्नेहरू मात्रै साँचो मार्गको साँच्चै खोजी गर्नेहरू हुन्, जो पवित्र आत्माको काम चिन्दछन्। शब्द र धर्मसिद्धान्तहरूलाई जिद्दीपूर्वक पालन गर्ने मानिसहरू पवित्र आत्माको कामद्वारा हटाइएकाहरू हुन्। हरेक समयावधिमा, परमेश्वरले नयाँ काम सुरु गर्नुहुनेछ र हरेक अवधिमा, मानिसमाझ नयाँ सुरुवात हुनेछ। यदि मानिस एउटा युगमा मात्रै लागू हुने “यहोवा नै परमेश्वर हुनुहुन्छ” र “येशू नै ख्रीष्ट हुनुहुन्छ” भन्ने सत्यताहरूलाई मात्रै पालन गर्छ भने, मानिस पवित्र आत्माको कामसँग कहिल्यै तालमेल राख्न सक्दैन, र ऊ पवित्र आत्माको काम प्राप्त गर्न सधैँका लागि असमर्थ हुनेछ। परमेश्वरले जसरी काम गर्नुभए तापनि, यदि मानिस अलिकति पनि शङ्का नगरी पछ्याउँछ र नजिकबाट पछ्याउँछ भने, मानिस कसरी पवित्र आत्माद्वारा हटाइन सक्छ? परमेश्वरले जे गर्नुभए तापनि, जबसम्म मानिस यो पवित्र आत्माको काम हो भन्ने कुरामा निश्चित हुन्छ, र आशङ्का नगरी पवित्र आत्माको कामसँग सहकार्य गर्छ, र परमेश्वरका मागहरू पूरा गर्ने प्रयास गर्छ भने, ऊ कसरी दण्डित हुन सक्छ? परमेश्वरको काम कहिल्यै रोकिएको छैन, उहाँका पदचापहरू कहिल्यै अडिएका छैनन्, र उहाँको व्यवस्थापनको कार्य पूरा हुनुभन्दा पहिले, उहाँ जहिल्यै व्यस्त रहनुभएको छ र उहाँ कहिल्यै रोकिनुहुन्न। तर मानिस फरक छ: पवित्र आत्माको काम थोरै मात्र प्राप्त गरेपछि, ऊ यो कहिल्यै परिवर्तन नहुने झैँ गरी यसलाई व्यवहार गर्छ; थोरै ज्ञान प्राप्त गरिसकेपछि, ऊ अघि बढेर परमेश्वरको अझ नयाँ कामलाई “पछ्याउँदैन”; परमेश्वरको थोरै काम मात्र देखेपछि, ऊ तुरुन्तै परमेश्वरलाई काठको विशेष आकृति हुनुमा सीमित गर्छ, र आफूले देख्ने स्वरूपलाई परमेश्वर सदा कायम राख्नुहुनेछ, विगतमा यो यस्तै थियो र भविष्यमा पनि यस्तै नै रहनेछ भन्ने विश्वास गर्छ; अलिकति सतही ज्ञान मात्र प्राप्त गरेपछि, मानिस यति घमण्डी हुन्छ कि ऊ आफैलाई बिर्सन्छ र अस्तित्वमा नै नभएको परमेश्वरको स्वभाव र अस्तित्व जथाभावी घोषणा गर्न थाल्छ; अनि पवित्र आत्माको कामको एउटा चरणबारे निश्चित भएपछि, परमेश्वरको नयाँ काम घोषणा गर्ने व्यक्ति जस्तोसुकै प्रकारको भए तापनि, मानिस यो कुरा स्वीकार गर्दैन। यस्ता मानिसहरू पवित्र आत्माको नयाँ काम स्वीकार गर्न सक्दैनन्; यिनीहरू अत्यन्तै रूढिवादी हुन्छन्, र नयाँ कुराहरू स्वीकार गर्न असमर्थ छन्। त्यस्ता मानिसहरू परमेश्वरमा विश्वास गर्ने तर उहाँलाई इन्कार पनि गर्नेहरू हुन्। मानिस इस्राएलीहरूले “यहोवामा मात्रै विश्वास गरेर येशूमा विश्वास नगर्नु” गलत थियो भन्ने विश्वास गर्छ, तैपनि अधिकांश मानिस “यहोवामा मात्रै विश्वास गर्ने र येशूलाई इन्कार गर्ने” साथै “मसीहको आगमनको लागि तिर्सना गर्ने तर येशू भनिने मसीहको विरोध गर्ने” भूमिका खेल्छन्। त्यसैले, पवित्र आत्माको कामको एउटा चरण स्वीकार गरिसकेपछि पनि मानिसहरू अझै शैतानको सत्ताअन्तर्गत जिउँछन्, र अझै परमेश्वरका आशिष्हरू प्राप्त गर्दैनन् भन्ने कुरामा कुनै आश्चर्य मान्नुपर्दैन। के यो मानिसको विद्रोहीपनको नतिजा होइन र? आजको नयाँ काममा लागिरहन नसकेका संसारभरिका इसाईहरू तिनीहरू भाग्यमानी बन्नेछन्, परमेश्वरले तिनीहरूका हरेक कामनाहरूलाई पूरा गर्नुहुनेछ भन्ने मान्यता राख्दै आशामा टाँसिरहेका छन्। तैपनि परमेश्वरले तिनीहरूलाई तेस्रो स्वर्गमा किन लैजानुहुनेछ सो तिनीहरूले निश्चित रूपमा भन्न सक्दैनन्, न त येशू कसरी तिनीहरूलाई लिन सेतो बादलको सवारीमा आउनुहुनेछ भन्ने बारेमा नै तिनीहरू निश्चित छन्, तिनीहरूले कल्पना गरेको दिनमा येशू सेतो बादलमा साँच्चै आइपुग्नुहुनेछ भनेर तिनीहरूले पूर्ण निश्चयताको साथ भन्न सक्नु त परै जाओस्। तिनीहरू पूर्णरूपमा चिन्तित र अलमलमा छन्; परमेश्वरले हरेक सम्प्रदायका, केही साना मुठ्ठीभरका विविध मानिसहरू प्रत्येकलाई लानुहुन्छ कि लानुहुन्न त्यो कुरा तिनीहरूलाई समेत थाहा छैन। परमेश्वरले अहिले, वर्तमान युगमा गर्नुहुने काम, परमेश्वरका अभिप्राय—यीमध्ये कुनै पनि कुराबारे तिनीहरूलाई केही पनि थाहा छैन र तिनीहरूले आफ्ना औंलामा दिनहरू गन्नेबाहेक केही पनि गर्न सक्दैनन्। अन्त्यसम्मै थुमाका पाइलाहरूलाई पछ्याउनेहरूले मात्रै अन्तिम आशिष प्राप्त गर्न सक्छन्, जबकि अन्त्यसम्मै पछ्याउन नसक्ने तैपनि सबै प्राप्त गरेका छौं भनी विश्वास गर्ने ती “चलाख मानिसहरू” परमेश्वरको देखापर्ने घटनालाई देख्न असमर्थ हुन्छन्। तिनीहरू प्रत्येकले आफूलाई पृथ्वीको सबैभन्दा बाठो व्यक्ति हुँ भनी विश्वास गर्छन् र परमेश्वरको कार्यको निरन्तर विकासलाई कुनै पनि कारणविना छोट्याउँछन् र परमेश्वरले तिनीहरूलाई अर्थात् “परमेश्वरप्रति उच्च बफादारीता हुनेहरू, परमेश्वरलाई पछ्याउनेहरू र परमेश्वरका वचनहरूलाई पालना गर्नेहरू”-लाई स्वर्गमा लैजानुहुनेछ भनी पूर्ण सुनिश्चितताको साथ विश्वास गर्छन् भन्ने देखिन्छ। परमेश्वरले बोल्नुभएका वचनहरूप्रति तिनीहरूसँग “उच्च बफादारीता” भए तापनि, तिनीहरूका वचन र कार्यहरू अझै अत्यन्तै घृणित छन् किनभने तिनीहरूले पवित्र आत्माको कामलाई विरोध गर्छन् र धोका र छल गर्छन्। ती मानिसहरू जो अन्तिमसम्मै पछ्याउन, र पवित्र आत्माको कामसँग तालमेल राख्न सक्दैनन् अनि पुरानो काममा मात्रै टाँसिरहन्छन्, तिनीहरूले परमेश्वरप्रतिको बफादारी हासिल गर्न असफल मात्रै भएका छैनन्, बरु यसको विपरीत, तिनीहरू परमेश्वरलाई विरोध गर्नेहरू, नयाँ युगद्वारा इन्कार गरिएकाहरू र दण्डित हुनेहरू बनेका छन्। के तिनीहरूभन्दा दयनीय अरू कोही छ? धेरैले यो विश्वास गर्छन् कि पुरानो व्यवस्थालाई इन्कार गर्ने र नयाँ कार्यलाई स्वीकार गर्नेहरू विवेकहीन हुन्। “विवेक”-को मात्रै कुरा गर्ने र पवित्र आत्माको कामलाई नजान्ने यी मानिसहरूको आशालाई तिनीहरूका आफ्नै विवेकले हटाइदिनेछ। परमेश्वरले समेत उहाँको काममा प्रावधानहरू पालन गर्नुहुन्न, र यो उहाँको आफ्नै काम भए पनि, परमेश्वर अझै पनि यसमा टाँसिनुहुन्न। इन्कार गरिनुपर्ने कुरा इन्कार गरिन्छ, हटाइनुपर्ने कुरा हटाइन्छ। तैपनि मानिस परमेश्वरलाई शत्रु बनाउनका लागि उहाँको व्यवस्थापनको कार्यको एउटा सानो भागलाई मात्र पक्रिरहन्छ। के यो मानिसको बेतुकापन होइन र? के यो मानिसको अज्ञानता होइन र? आशिष्हरू प्राप्त नगर्ने डरका कारण मानिसहरू जति बढी डरपोक र अति सावधान हुन्छन्, तिनीहरू अझ धेरै आशिष्हरू प्राप्त गर्न र अन्तिम आशिष् प्राप्त गर्न त्यति नै बढी असमर्थ हुन्छन्। जिद्दीपूर्वक व्यवस्था पालन गर्नेहरू सबैले व्यवस्थाप्रति सबैभन्दा धेरै बफादारी देखाउँछन् र तिनीहरूले व्यवस्थाप्रति त्यस्तो बफादारी जति धेरै देखाउँछन्, तिनीहरू त्यति नै बढी परमेश्वरलाई विरोध गर्ने विद्रोहीहरू हुन्छन्। अहिले व्यवस्थाको युग नभएर राज्यको युग भएकाले, आजको काम र विगतको कामलाई सँगै उल्लेख गर्न सकिँदैन, न त विगतको कामलाई नै आजको कामसँग तुलना गर्न सकिन्छ। परमेश्वरको काम परिवर्तन भएको छ र मानिसको अभ्यास पनि परिवर्तन भएको छ; यो व्यवस्था पालन गर्नु वा क्रूस बोक्नु होइन, त्यसकारण, व्यवस्था र क्रूसप्रतिको मानिसहरूको बफादारीले परमेश्वरको अनुमोदन पाउनेछैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कार्य र मानिसको अभ्यास
यहोवाको कामपछि, येशू मानिसमाझ आफ्नो काम गर्न देह बन्नुभयो। उहाँको काम अलग्गै गरिएको थिएन, बरु यहोवाको कामको जगमा टेकेर गरिएको थियो। यो परमेश्वरले व्यवस्थाको युग समाप्त गर्नुभएपछि नयाँ युगका लागि गरेको काम थियो। त्यसै गरी, येशूको काम सकिएपछि, परमेश्वरले अर्को युगका लागि आफ्नो काम जारी राख्नुभयो, किनभने परमेश्वरको सम्पूर्ण व्यवस्थापन सधैँ अगाडि बढिरहेको हुन्छ। जब पुरानो युग बितेर जान्छ, त्यसलाई नयाँ युगले प्रतिस्थापन गर्नेछ र पुरानो काम पूरा भएपछि, परमेश्वरको व्यवस्थापनलाई निरन्तरता दिनका लागि नयाँ काम हुनेछ। यो देहधारण परमेश्वरको दोस्रो देहधारण हो, जुन येशूको कामपछि आउँछ। अवश्य नै, यो देहधारण स्वतन्त्र रूपमा भएको होइन; यो व्यवस्थाको युग र अनुग्रहको युगपछिको कामको तेस्रो चरण हो। हरेक पटक परमेश्वरले कामको नयाँ चरण सुरु गर्दा, त्यहाँ सधैँ एउटा नयाँ सुरुवात हुनैपर्छ र त्यसले सधैँ एउटा नयाँ युग ल्याउनैपर्छ। त्यसै गरी परमेश्वरको स्वभावमा, उहाँको काम गर्ने तरिकामा, उहाँको कामको स्थानमा र उहाँको नाममा पनि सोहीअनुरूपका परिवर्तनहरू आउँछन्। त्यसैले, मानिसलाई नयाँ युगमा परमेश्वरको काम स्वीकार गर्न गाह्रो हुनु कुनै आश्चर्य होइन। तर परमेश्वरलाई मानिसले जतिसुकै विरोध गरे पनि, उहाँ सधैँ आफ्नो काम गरिरहनुभएको हुन्छ र सधैँ सम्पूर्ण मानवजातिलाई अगाडि बढाइरहनुभएको हुन्छ। जब येशू मानिसको संसारमा आउनुभयो, उहाँले अनुग्रहको युग ल्याउनुभयो र व्यवस्थाको युगको अन्त्य गर्नुभयो। आखिरी दिनहरूको दौरान, परमेश्वर फेरि देह बन्नुभएको छ, र यो देहधारणमार्फत उहाँले अनुग्रहको युग समाप्त गर्नुभयो र राज्यको युग ल्याउनुभयो। परमेश्वरको दोस्रो देहधारणलाई स्वीकार गर्न सक्ने सबैलाई राज्यको युगमा डोऱ्याइनेछ र अझ भन्नुपर्दा, तिनीहरू व्यक्तिगत रूपमा परमेश्वरको मार्गदर्शन स्वीकार गर्न सक्षम हुनेछन्। येशू मानिसमाझ आउनुभए पनि र उहाँले धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिलाई छुटकारा दिने काम मात्र पूरा गर्नुभयो र मानिसको पापबलिका रूपमा सेवा गर्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्ति दिनका निम्ति येशूले पापबलि बनेर मानिसका पापहरू बोक्नु मात्र आवश्यक थिएन, तर परमेश्वरले शैतानद्वारा भ्रष्ट तुल्याइएको मानिसका स्वभावहरू पूर्ण रूपमा हटाउने अझ ठूलो काम गर्नु पनि आवश्यक थियो। र यसैले, मानिसलाई उसका पापहरूबाट क्षमा गरिएपछि, मानिसलाई नयाँ युगमा डोऱ्याउन परमेश्वर देहमा फर्केर आउनुभयो, र सजाय अनि न्यायको काम सुरु गर्नुभयो। यस कामले मानवजातिलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा समर्पित हुने सबैले अझ उच्च सत्यताको आनन्द उठाउनेछन् र अझ ठूला आशिष्हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, मार्ग र जीवन प्राप्त गर्नेछन्।
यदि मानिसहरू अनुग्रहको युगमै अड्किरहे भने, आफ्ना भ्रष्ट स्वभावहरूबाट कहिल्यै मुक्त हुनेछैनन्, झन् तिनीहरूले परमेश्वरको अन्तर्निहित स्वभावलाई चिन्नु त परको कुरा हो। यदि मानिसहरू सधैँ प्रशस्त अनुग्रहबीच जिउँछन् तर तिनीहरूसँग परमेश्वरलाई चिन्ने वा उहाँलाई सन्तुष्ट पार्ने जीवनको मार्ग छैन भने, तिनीहरूले उहाँमाथि विश्वास गरेर उहाँलाई कहिल्यै साँचो रूपमा प्राप्त गर्नेछैनन्। यस प्रकारको विश्वास वास्तवमै दयनीय हो। जब तैँले यो पुस्तक पढिसकेको हुन्छस्, जब तैँले राज्यको युगमा देहधारी परमेश्वरको कामको हरेक चरण अनुभव गरेको हुन्छस्, तब तँलाई धेरै वर्षदेखिका आफ्ना चाहनाहरू बल्ल साकार भएको महसुस हुनेछ। तँलाई अहिले आएर मात्रै आफूले परमेश्वरलाई साँच्चै आमनेसामने देखेको; अहिले आएर मात्रै आफूले उहाँको मुहार हेरेको, उहाँका व्यक्तिगत वाणीहरू सुनेको, उहाँको कामको बुद्धिको कदर गरेको र उहाँ कति व्यावहारिक र सर्वशक्तिमान् हुनुहुन्छ भनी साँच्चै महसुस गरेको अनुभूति हुनेछ। तँलाई विगतका मानिसहरूले कहिल्यै नदेखेका वा प्राप्त नगरेका धेरै कुरा आफूले प्राप्त गरेको महसुस हुनेछ। यसबेला, परमेश्वरमा विश्वास गर्नु भनेको के हो र परमेश्वरका अभिप्रायहरूअनुरूप हुनु भनेको के हो भन्ने कुरा तैँले स्पष्ट रूपमा जान्नेछस्। अवश्य नै, यदि तँ विगतका दृष्टिकोणहरूमा टाँसिन्छस् र परमेश्वरको दोस्रो देहधारणको तथ्यलाई अस्वीकार गर्छस् र स्विकार्दैनस् भने, तँ रित्तो हात रहनेछस्, तैँले केही पनि प्राप्त गर्नेछैनस् र अन्ततः तँलाई परमेश्वरको विरोध गरेकामा दोषी ठहराइनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना
परमेश्वरको सारा काममा, यदि मानिसले सँधै यहोवाको व्यवस्थालाई नै पालन गरिरहन्थ्यो भने, परमेश्वरको काम अघि बढ्न सक्दैनथियो, सम्पूर्ण युगलाई समाप्त गर्न सम्भव हुने त परै जाओस्। यदि मानिसले सँधै क्रूसलाई नै पक्रिराख्यो र धैर्यता र नम्रतालाई अभ्यास गर्यो भने, परमेश्वरको काम निरन्तर अघि बढ्नु असम्भव हुनेथियो। व्यवस्थालाई मात्रै पालन गर्ने वा क्रूसलाई मात्रै पक्रिने र धैर्यता र नम्रताको अभ्यास गर्ने मानिसहरूका बीचमा छ हजार वर्षको व्यवस्थापनलाई समाप्त गर्न सकिँदैन। बरु, परमेश्वरको व्यवस्थापनको सम्पूर्ण कार्यलाई आखिरी दिनहरूका तिनीहरूकै बीचमा समाप्त गरिन्छ, जसले परमेश्वरलाई चिन्छन्, जो शैतानका पकडबाट उम्केका छन्, जसले आफैलाई शैतानको प्रभावबाट पूर्ण रूपमा मुक्त गरेका छन्। परमेश्वरको कार्यको अपरिहार्य दिशा यही नै हो। धार्मिक मण्डलीहरूको अभ्यास पुरानो भइसकेको छ भनेर किन भनिन्छ? किनभने तिनीहरूले जे अभ्यास गर्छन् त्यो आजको कामभन्दा अलग छ। अनुग्रहको युगमा, तिनीहरूले जे अभ्यास गर्थे त्यो सही थियो, तर युग बितिसकेको र परमेश्वरको काम परिवर्तन भइसकेको हुनाले, तिनीहरूको अभ्यास क्रमिक रूपमा पुरानो भइसकेको छ। यसलाई नयाँ कार्य र नयाँ ज्योतिले पछाडि छोडिसकेको छ। आफ्नो मूल जगको आधारमा, पवित्र आत्माको काम धेरै चरण गहिरो गरी अघि बढिसकेको छ। तैपनि ती मानिसहरू परमेश्वरको कार्यको मूल चरणमा नै अझै पनि अड्किएर बसेका छन् र अझै पनि तिनीहरू पुराना अभ्यासहरू र पुरानो ज्योतिमा नै टाँसिन्छन्। तीन वा पाँच वर्षमा नै परमेश्वरको काम निकै परिवर्तन हुन सक्छ, त्यसकारण २,००० वर्षको अवधिमा के अझै ठूलो परिवर्तन आउनेथिएन र? यदि मानिसमा कुनै नयाँ ज्योति वा अभ्यास छैन भने, यसको अर्थ उसले पवित्र आत्माको कार्यलाई पछ्याएको छैन भन्ने हुन्छ। यो मानिसको असफलता हो; परमेश्वरको नयाँ कार्यको अस्तित्वलाई इन्कार गर्न सकिँदैन किनभने आज यसभन्दा पहिले पवित्र आत्माको काम पाएकाहरू अझै पनि पुरानो अभ्यासहरूलाई नै पालन गर्छन्। पवित्र आत्माको काम सँधै अघि बढिरहेको छ र पवित्र आत्माको प्रवाहमा हुनेहरू सबैले गहन रूपमा प्रगति गरिरहेको र चरणबद्ध रूपमा परिवर्तन भइरहेको हुनुपर्छ। तिनीहरू एउटा चरणमा रोकिनुहुँदैन। पवित्र आत्माको कार्यलाई नजान्नेहरू मात्रै उहाँको मूल कार्यमा रहने थिए र पवित्र आत्माको नयाँ कार्यलाई स्वीकार गर्दैन थिए। विद्रोहीहरू मात्रै पवित्र आत्माको कार्यलाई प्राप्त गर्न असमर्थ हुने थिए। यदि मानिसको अभ्यासले पवित्र आत्माको नयाँ कार्यको गतिलाई पछ्याउन सक्दैन भने, मानिसको अभ्यास निश्चित रूपमा नै आजको कामबाट अलग हुन्छ र आजको कामसँग मिल्दैन। यीजस्ता पुराना भइसकेका मानिसहरू परमेश्वरको इच्छा पूरा गर्न असमर्थ छन्, तिनीहरू आखिरमा परमेश्वरका गवाहीको रूपमा खडा हुन सक्ने मानिसहरू बन्नु त परै जाओस्। यसको साथै, सम्पूर्ण व्यवस्थापन कार्यलाई त्यस्ता मानिसहरूको समूहमा समाप्त गर्न सकिँदैन। कुनै बेला यहोवाको व्यवस्थालाई पक्रिनेहरू र कुनै बेला क्रूसको लागि कष्ट भोग्नेहरूका लागि, यदि तिनीहरूले आखिरी दिनहरूका कार्यको चरणलाई स्वीकार गर्न सक्दैनन् भने, तिनीहरूले गरेका सबै कुरा व्यर्थ र बेकामको हुनेछन्। पवित्र आत्माको कामको सबैभन्दा स्पष्ट अभिव्यक्ति भनेको विगतमा लुप्त नभई, यहाँ र अहिलेलाई अङ्गाल्नु हो। आजको कार्यको गतिलाई पछ्याउन नसक्नेहरू, र आजको अभ्यासबाट अलग भएकाहरू नै पवित्र आत्माको कार्यलाई विरोध गर्ने र स्वीकार नगर्नेहरू हुन्। त्यस्ता मानिसहरूले परमेश्वरको वर्तमान कामलाई अवहेलना गर्छन्। तिनीहरू विगतको ज्योतिलाई पक्रेर बस्ने भए तापनि, तिनीहरूले पवित्र आत्माको कामलाई जान्दैनन् भन्ने कुरालाई इन्कार गर्न सकिँदैन। मानिसको अभ्यासको परिवर्तनबारे, विगत र आजको अभ्यासका भिन्नताहरूबारे, अघिल्लो युगमा अभ्यासलाई कसरी अघि बढाइन्थ्यो भन्ने बारेमा र आज यो कसरी गरिन्छ त्यसबारे किन यति धेरै कुरा भएका छन्? मानिसको अभ्यासका त्यस्ता विभाजनहरूबारे सँधै बताइन्छ किनभने पवित्र आत्माको काम निरन्तर रूपमा अघि बढिरहेको छ र मानिसको अभ्यास पनि निरन्तर रूपमा परिवर्तन हुनु आवश्यक छ। यदि मानिस एउटै चरणमा अड्केर बस्छ भने, यसले परमेश्वरको नयाँ कार्य र नयाँ ज्योतिको गतिलाई पछ्याउन ऊ असक्षम छ भन्ने कुरालाई प्रमाणित गर्छ; व्यवस्थापनसम्बन्धी परमेश्वरको योजना परिवर्तन भएको छैन भन्ने कुरालाई यसले प्रमाणित गर्दैन। पवित्र आत्माको प्रवाहबाट बाहिर हुनेहरूले तिनीहरू सही छन् भन्ने सँधै विचार गर्छन् तर वास्तवमा, तिनीहरूमा धेरै पहिले नै परमेश्वरको काम रोकियो र पवित्र आत्माको कार्य तिनीहरूमा छैन। परमेश्वरको कामलाई धेरै पहिले नै अर्को समूहका मानिसहरूमा स्थानान्तर गरिएको छ, जुन समूहमा उहाँले आफ्नो नयाँ कार्यलाई पूरा गर्ने अभिप्राय राख्नुहुन्छ। धर्ममा हुनेहरू परमेश्वरको नयाँ कार्यलाई स्वीकार गर्न असमर्थ छन् र तिनीहरू विगतका पुरानो कार्यलाई मात्रै पक्री राख्छन्, त्यसैले परमेश्वरले यी मानिसहरूलाई त्याग्नुभएको छ र यो नयाँ कार्यलाई स्वीकार गर्ने मानिसहरूमा नै उहाँले आफ्नो काम गर्नुहुन्छ। यी मानिसहरू उहाँको नयाँ कार्यमा सहकार्य गर्ने मानिसहरू हुन् र यसरी मात्रै उहाँको व्यवस्थापनलाई पूरा गर्न सकिन्छ। परमेश्वरको व्यवस्थापन सँधै अघि बढिरहन्छ र मानिसको अभ्यास सँधै माथि उठिरहेको छ। परमेश्वरले सँधै काम गरिरहनुहुन्छ र मानिस सँधै खाँचोमा हुन्छ, त्यसरी दुवै आ-आफ्नो शीर्ष विन्दुमा पुग्छन् र परमेश्वर र मानिसले पूर्ण एकतालाई हासिल गर्छन्। परमेश्वरको कार्यको पूर्णताको अभिव्यक्ति यही हो र परमेश्वरको सम्पूर्ण व्यवस्थापनको अन्तिम परिणाम यही नै हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कार्य र मानिसको अभ्यास
आखिरी दिनहरूका ख्रीष्टले जीवन ल्याउनुहुन्छ, अनि चिरस्थायी र अनन्त सत्यताको मार्ग ल्याउनुहुन्छ। यही सत्यता नै मानिसले जीवन प्राप्त गर्ने मार्ग हो, र यो एक मात्र मार्ग हो जसमार्फत मानिसले परमेश्वरलाई चिन्नेछ र ऊ परमेश्वरद्वारा अनुमोदित हुनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्टले प्रदान गर्नुभएको जीवनको मार्गको खोजी गर्दैनस् भने, तैँले कहिल्यै येशूको अनुमोदन प्राप्त गर्नेछैनस्, र तँ स्वर्गको राज्यको प्रवेशद्वारभित्र छिर्न कहिल्यै योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। प्रावधानहरू, शब्दहरू, र इतिहासको जन्जिरद्वारा नियन्त्रित हुनेहरूले कहिल्यै जीवन प्राप्त गर्न सक्नेछैनन् न त तिनीहरूले चिरस्थायी जीवनको मार्ग नै पाउन सक्नेछन्। यस्तो किन हुन्छ भने, तिनीहरू सिंहासनबाट बग्ने जीवनको पानी नभई धमिलो पानी मात्रै प्राप्त गर्छन्, जसलाई तिनीहरूले हजारौँ वर्षदेखि पक्रेर बसेका छन्। जीवनको पानीको आपूर्ति नपाएकाहरू सदासर्वदा नै लासहरू, शैतानका खेलौनाहरू, र नरकका पुत्रहरू भएर रहनेछन्। त्यसोभए, कसरी तिनीहरूले परमेश्वरलाई देख्न सक्छन्? तँ विगतलाई मात्रै पक्रिराख्न खोज्छस्, ठिङ्ग उभिएर परिस्थितिलाई जस्ताको तस्तै राख्न मात्रै खोज्छस्, र यथास्थितिलाई परिवर्तन गर्न र इतिहासलाई फाल्न खोज्दैनस्, त्यसकारण के तँ सधैँ परमेश्वरप्रति शत्रुवत् हुनेछैनस् र? परमेश्वरको कामका कदमहरू उर्लिरहने छालहरू र थर्किरहने चट्याङहरूजस्तै अत्यन्तै प्रभावशाली र शक्तिशाली छन्—तैपनि तँ पुरानो कुरामा टाँसिदै र कुराहरू आफ्नो काखमा झर्लान् भनी पर्खँदै, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यसरी, तँलाई थुमाका पदचापहरू पछ्याउने व्यक्ति कसरी मान्न सकिन्छ? तैँले पक्रेर बस्ने परमेश्वर सधैँ नयाँ र कहिल्यै पुरानो नहुने परमेश्वर हुनुहुन्छ भनेर यसले कसरी देखाउन सक्छ? अनि तेरा पहेँलो भइसकेका पुस्तकका अक्षरहरूले तँलाई कसरी नयाँ युगमा पुर्याउन सक्छन् र? तिनले कसरी तँलाई परमेश्वरको कामका कदमहरू खोज्नका निम्ति अगुवाइ गर्न सक्छन् र? अनि, तिनले कसरी तँलाई स्वर्गमा लैजान सक्छन् र? तैँले आफ्नो हातमा जे लिएको छस् ती तँलाई अस्थायी सान्त्वना दिने शब्दहरू मात्र हुन्, तँलाई जीवन दिन सक्ने सत्यताहरू होइनन्। तैँले पढ्ने धर्मशास्त्रका शब्दहरूले तेरो जिब्रोलाई मात्रै समृद्ध तुल्याउन सक्छन्; ती मानव जीवनबारे जान्न तँलाई सहयोग गर्न सक्ने बुद्धिमत्ताका शब्दहरू होइनन्, ती तँलाई सिद्धतामा डोर्याउने मार्ग त झनै होइनन्। के यो विसङ्गतिले तँलाई चिन्तन गर्ने कारण दिँदैन र? के यसले तँलाई त्यसभित्र रहेका रहस्यहरूबारे अन्तर्ज्ञान दिँदैन र? के तँ परमेश्वरलाई भेट्नको लागि आफूले आफैलाई स्वर्गमा पठाउन सक्छस्? परमेश्वरको आगमनविना, के तँ परमेश्वरसँग पारिवारिक खुसीको आनन्द लिन आफैलाई स्वर्ग लैजान सक्छस्? के तँ अहिले पनि सपना देखिरहेको छस्? त्यसो भए, म तँलाई सपना देख्न छोड्न अनि अहिले जसले काम गरिरहनुभएको छ, उहाँलाई हेर्न अर्ती दिन्छु—अहिले आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिने काम कसले गर्दै हुनुहुन्छ, हेर्। यदि तँ त्यसो गर्दैनस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्, र कहिल्यै जीवन प्राप्त गर्नेछैनस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्नुहुन्छ
ख्रीष्टले बोल्नुभएको सत्यतामा भर नपरीकन जीवन प्राप्त गर्न चाहनेहरू पृथ्वीका सबैभन्दा हास्यास्पद मानिसहरू हुन्, र ख्रीष्टले ल्याउनुभएको जीवनको मार्गलाई स्वीकार नगर्नेहरू स्वैरकल्पनामा हराएका छन्। त्यसैले म भन्छु, आखिरी दिनहरूका ख्रीष्टलाई स्वीकार नगर्नेहरूलाई परमेश्वरले सदासर्वदा नै घिनाउनुहुनेछ। ख्रीष्ट नै आखिरी दिनहरूमा राज्यमा प्रवेश गर्ने मानिसको प्रवेशद्वार हुनुहुन्छ, र उहाँलाई छलेर भित्र जान सक्ने कोही पनि छैन। ख्रीष्टमार्फत बाहेक परमेश्वरद्वारा कोही पनि सिद्ध पारिँदैनन्। तँ परमेश्वरमा विश्वास गर्छस्, त्यसकारण उहाँका वचनहरू स्विकारेर उहाँको वचनप्रति समर्पित हुनैपर्छ। सत्यता र जीवनको आपूर्ति स्वीकार गर्न असमर्थ हुने, अनि आशिष्हरू प्राप्त गर्नेबारेमा मात्रै विचार गर्ने नगर्। ख्रीष्ट आखिरी दिनहरूमा आउनुहुन्छ, ताकि उहाँले उहाँमा इमानदारीसाथ विश्वास गर्नेहरू सबैलाई जीवन प्रदान गर्न सक्नुहोस्। यो काम पुरानो युगलाई समाप्त गरेर नयाँ युगमा प्रवेश गर्नका खातिर अस्तित्वमा हुन्छ, र यो काम नयाँ युगमा प्रवेश गर्ने सबैले हिँड्नैपर्ने मार्ग हो। यदि तँ ख्रीष्टलाई स्विकार्दैनस्, त्यसमाथि उहाँलाई दोषी ठहराउँछस्, ईश्वरनिन्दा गर्छस्, वा उहाँलाई सताउँछस् भने, तँ अवश्यम्भावी रूपमा अनन्तकालसम्म जल्नेछस् र परमेश्वरको राज्यमा कहिल्यै प्रवेश गर्नेछैनस्। यस्तो किन हुन्छ भने, यी ख्रीष्ट स्वयम् नै पवित्र आत्माको अभिव्यक्ति, परमेश्वरको अभिव्यक्ति, पृथ्वीमा आफ्नो काम गर्नका लागि परमेश्वरले कार्यभार दिनुभएको जन हुनुहुन्छ, त्यसैले म भन्छु कि यदि आखिरी दिनहरूका ख्रीष्टले गर्नुभएका सबै कुरालाई तैँले स्वीकार गर्न सक्दैनस् भने, तैँले पवित्र आत्माको ईशनिन्दा गर्छस्। पवित्र आत्माको ईशनिन्दा गर्नेहरूले पाउनुपर्ने दण्ड सबैका लागि प्रष्टै छ। म तँलाई यो पनि भन्छु: यदि तैँले आखिरी दिनहरूका ख्रीष्टको प्रतिरोध गरिस् भने, यदि तैँले आखिरी दिनहरूका ख्रीष्टलाई इन्कार गरिस् भने, यसका लागि तेरो तर्फबाट कसैले पनि परिणामहरू भोग्न सक्नेछैन। यसको साथै, यस बिन्दुदेखि तैँले परमेश्वरको अनुमोदन प्राप्त गर्ने मौका फेरि कहिल्यै पाउनेछैनस्; यदि तैँले आफ्ना गल्ती सच्याउने इच्छा गरिस् भने पनि, तैँले फेरि परमेश्वरको मुहार देख्न सक्नेछैनस्। यस्तो किन हुन्छ भने, तैँले जसको प्रतिरोध गरिरहेको छस्, त्यो कुनै मानव होइन, तैँले जसलाई इन्कार गरिरहेको छस्, त्यो कुनै नगण्य व्यक्ति नभई ख्रीष्ट हुनुहुन्छ। के तँलाई यसका परिणामहरू के हुन्छन् भन्ने थाहा छ? तैँले सानो गल्ती गरिरहेको छैनस्, बरु जघन्य पाप गरिरहेको छस्। त्यसैले म हरेक व्यक्तिलाई सत्यताको अघि आफ्नो दारा नदेखाउन र आफ्ना नङ्ग्रा प्रदर्शन नगर्न वा स्वेच्छाचारी टिप्पणीहरू नगर्न सल्लाह दिन्छु, किनकि सत्यताले मात्रै तँलाई जीवन दिन सक्छ, र सत्यताबाहेक अरू केहीले पनि तँलाई पुनर्जन्म पाउन र फेरि परमेश्वरको मुहार देख्न सक्षम तुल्याउन सक्दैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्नुहुन्छ
के तँ अब न्याय के हो र सत्यता के हो भनी बुझ्छस्? यदि बुझ्छस् भने, न्याय गरिनुप्रति आज्ञाकारितासाथ समर्पित हुन म तँलाई सुझाव दिन्छु, नत्र भने तैँले परमेश्वरको अनुमोदन पाउने वा उहाँद्वारा उहाँको राज्यभित्र ल्याइने अवसर कहिल्यै पाउनेछैनस्। न्याय स्वीकार मात्र गर्ने तर कहिल्यै शुद्ध गर्न नसकिने, अर्थात्, न्यायको कामका बीचमा भाग्नेहरूलाई परमेश्वरले सदाका लागि तिरस्कार गर्नुहुनेछ। तिनीहरूका पाप फरिसीहरूका भन्दा झनै जघन्य र झनै धेरै हुन्छन्, किनकि तिनीहरूले परमेश्वरलाई धोका दिएका छन् र तिनीहरू परमेश्वरविरुद्धका विद्रोहीहरू हुन्। श्रम गर्नका लागि पनि लायक नभएका यी मानिसहरूले झनै कडा दण्ड पाउनेछन्, जुन दण्डचाहिँ, झन्, अनन्तकालसम्म जारी रहनेछ। परमेश्वरले कुनै बेला शब्दले बफादारी देखाएको तर त्यसपछि उहाँलाई धोका दिएको कुनै पनि विश्वासघातीलाई बाँकी राख्नुहुनेछैन। यस्ता मानिसहरूले आत्मा, प्राण, र शरीरका दण्डमार्फत प्रतिशोध पाउनेछन्। के परमेश्वरको धर्मी स्वभावको प्रकटीकरण ठ्याक्कै यही नै होइन र? के मानिसलाई न्याय र प्रकाश गर्ने परमेश्वरको उद्देश्य ठ्याक्कै यही होइन र? न्यायको समयावधिमा हरप्रकारका दुष्ट कार्य गर्नेहरूलाई परमेश्वरले दुष्ट आत्माहरू भरिएको स्थानमा पठाउनुहुनेछ, र ती दुष्टात्माहरूलाई आफ्नो इच्छाअनुसार तिनीहरूका देहगत शरीरहरू नष्ट गर्न दिनुहुनेछ, र ती मानिसहरूका शरीरले लासहरूको दुर्गन्ध फैलाउँछन्। तिनीहरूले पाउनुपर्ने प्रतिशोध यस्तो हुन्छ। परमेश्वरले ती अबफादार झूटा विश्वासीहरू, झूटा प्रेरितहरू, र झूटा कामदारहरूका प्रत्येक पापलाई तिनीहरूका अभिलेख-पुस्तकहरूमा लेख्नुहुन्छ, अनि ठीक समय आएपछि, उहाँले तिनीहरूलाई अशुद्ध आत्माहरूका बीचमा फालिदिनुहुन्छ, ती अशुद्ध आत्माहरूलाई इच्छाअनुसार तिनीहरूका पूरै शरीरहरू फोहोर पार्न दिनुहुनेछ, र तिनीहरूलाई कहिल्यै पुनर्जन्म नपाउने र तिनीहरूले फेरि कहिल्यै उज्यालो नदेख्ने तुल्याउनुहुनेछ। केही समयका निम्ति सेवा गर्ने तर अन्तसम्म बफादार नरहने ढोँगीहरूलाई परमेश्वरले दुष्टहरूमाझ सूचीकृत गर्नुहुन्छ, तिनीहरूलाई दुष्ट मानिसहरूसँग हिलोमा लडबडिन र विभिन्न किसिमका कुकर्मीसँग गिरोह निर्माण गर्न दिनुहुन्छ, र अन्त्यमा, परमेश्वरले तिनीहरूलाई नष्ट गर्नुहुनेछ। ख्रीष्टप्रति कहिल्यै बफादार नभएका वा आफ्नो कुनै सामर्थ्य योगदान नगरेकाहरूलाई परमेश्वरले पाखा लगाइदिनुहुन्छ र तिनीहरूप्रति कुनै ध्यान दिनुहुन्न, र युगको परिवर्तनसँगै उहाँले तिनीहरू सबैलाई नष्ट गर्नुहुनेछ। तिनीहरू उप्रान्त पृथ्वीमा अस्तित्वमा रहनेछैनन्, र तिनीहरूले परमेश्वरको राज्यभित्र प्रवेश गर्ने बाटो त झनै प्राप्त गर्नेछैनन्। परमेश्वरले उहाँप्रति कहिल्यै निष्कपट नरहेका, तर उहाँसँग झाराटारुवा रूपमा व्यवहार गर्नुबाहेक अरू कुनै विकल्प नभएका जोकोहीलाई उहाँका मानिसहरूका लागि सेवा प्रदान गर्नेहरूमा सूचीकृत गर्नुहुन्छ। यस्ता मानिसहरूका सानो सङ्ख्या मात्र बाँच्नेछ, जबकि बहुसङ्ख्यकहरू मानकअनुरूप श्रम गर्न समेत नसक्नेहरूसँगै नष्ट हुनेछन्। अन्त्यमा, परमेश्वरसँग एउटै हृदय र मन भएकाहरू, परमेश्वरका मानिसहरू र पुत्रहरू, र धर्मगुरु हुनका लागि परमेश्वरद्वारा पूर्वनिर्धारित सबैलाई परमेश्वरले उहाँको राज्यमा ल्याउनुहुनेछ। तिनीहरू परमेश्वरको कामको परिष्कृत उपज हुन्। परमेश्वरले तोक्नुभएको कुनै पनि वर्गमा वर्गीकृत गर्न नसकिनेहरूलाई गैरविश्वासीहरूको श्रेणीका सूचीमा राखिनेछ, र तिनीहरूको परिणाम के हुनेछ भनेर तिमीहरूले निश्चय नै कल्पना गर्न सक्छौ। मैले तिमीहरूलाई भन्नुपर्ने सबै कुराहरू भनिसकेको छु; तिमीहरूले छान्ने मार्ग केवल तिमीहरूकै छनोट हो। तिमीहरूले बुझ्नुपर्ने कुरा यो हो: परमेश्वरसँग गति मिलाउन नसक्ने कुनै पनि व्यक्तिलाई परमेश्वरको कामले पर्खँदैन, र परमेश्वरको धर्मी स्वभावले कुनै पनि मानिसलाई कृपा देखाउँदैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ