३. कतिपय मानिसहरूले सर्वशक्तिमान् परमेश्वर नै फर्केर आउनुभएको प्रभु येशू हुनुहुन्छ भनी स्वीकार गरेका छन्, तर तिनीहरू गिरफ्तार हुने र चिनियाँ कम्युनिस्ट पार्टीद्वारा सताइने डरले अनि धार्मिक समुदायका पाष्टरहरू र एल्डरहरूद्वारा डर देखाइएको र धम्की दिइएकोले साँचो बाटोलाई स्वीकार गर्ने साहस गर्दैनन्। त्यस्ता मानिसहरूको अन्त्य कस्तो हुनेछ?
सन्दर्भका लागि बाइबल पदहरू:
“तर डरपोक, र अविश्वासी, अनि घृणित, र हत्यारा, अनि व्यभिचारी, र जादूगर, अनि मूर्तिपूजक र झूट बोल्नेहरू सबैले आगो र गन्धक बल्ने कुण्डमा आफ्नो भाग पाउनेछन्: जुन दोस्रो मृत्यु हो” (प्रकाश २१:८)।
“किनभने जसले आफ्नो जीवन बचाउनेछ उसले त्यो गुमाउनेछ: र जसले मेरो खातिर आफ्नो जीवन गुमाउनेछ त्यसले त्यो पाउनेछ” (मत्ती १६:२५)।
“यसैले जसले मलाई मानिसहरूको अगाडि स्वीकार गर्छ, म पनि त्यसलाई स्वर्गमा हुनुहुने मेरा पिताको अगाडि स्वीकार गर्नेछु। तर जसले मलाई मानिसहरूका अगाडि इन्कार गर्छ, म पनि त्यसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामुन्ने इन्कार गर्नेछु” (मत्ती १०:३२-३३)।
“अनि जसले आफ्नो क्रूस बोक्दैन, र मेरो पछि लाग्दैन, ऊ मेरो चेला बन्न सक्दैन” (लूका १४:२७)।
परमेश्वरका प्रासंगिक वचनहरू:
परमेश्वर के हुनुहुन्छ सो तिमीहरू जान्दैनौं, ख्रीष्ट के हुनुहुन्छ सो तिमीहरू जान्दैनौं, यहोवा वा परमप्रभुलाई कसरी आदर गर्ने सो तिमीहरू जान्दैनौं, पवित्र आत्माको काममा कसरी प्रवेश गर्ने सो तिमीहरू जान्दैनौं, परमेश्वर स्वयम्को काम र मानिसको छल बीच कसरी फरक छुट्टाउने सो तिमीहरू जान्दैनौं। तेरो विचारसित नमिल्ने परमेश्वरले व्यक्त गर्नुभएको कुनै पनि सत्यको वचनको निन्दा गर्न मात्र तँ जान्दछस्। तेरो नम्रता कहाँ छ? तेरो आज्ञाकारिता कहाँ छ? तेरो बफदारिता कहाँ छ? सत्यता खोजी गर्ने तेरो इच्छा कहाँ छ? परमेश्वरको निम्ति तेरो आदर कहाँ छ? म तिमीहरूलाई बताउँछु, चिन्हहरूका कारणले परमेश्वरमा विश्वास गर्नेहरू निश्चय नै नष्ट पारिने श्रेणीका हुन्। देहमा फर्किआउनुभएका येशूका वचनहरू ग्रहण गर्न असक्षम मानिसहरू निश्चय नै नरकका सन्तानहरू, प्रधान स्वर्गदूतका सन्ततीहरू हुन्, जुन अनन्त विनाशमा अर्पण गरिएका श्रेणीका हुन्। धेरै मानिसहरूले मैले भनेको कुराको वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक तथाकथित सन्तलाई म अझै भन्छु; जब येशू स्वर्गबाट सेतो बादलमा आउनुभएको तिमीहरूका आफ्नै आँखाले देख्छौ, यो धार्मिकताको सूर्यको सार्वजनिक देखा पर्ने घटना हुनेछ। सायद त्यो क्षण तेरो निम्ति ठूलो उल्लासको समय हुन सक्छ, तैपनि येशू स्वर्गबाट ओर्लनुभएको देख्ने समय दण्ड भोग्नलाई तँ नरक जाने बेला पनि हो भन्ने तैँले जान्नुपर्छ। त्यो परमेश्वरको व्यवस्थापन योजनाको अन्तको समय हुनेछ, अनि यो परमेश्वरले असललाई इनाम र दुष्टलाई दण्ड दिने समय हुनेछ। सत्यताको अभिव्यक्ति मात्र हुँदा मानिसले चिन्हहरू देख्नु अघि नै परमेश्वरको न्याय अन्त भइसकेको हुनेछ। सत्यता स्वीकार गर्नेहरू, चिन्हहरू नखोज्नेहरू र यसरी शुद्ध पारिएकाहरू, परमेश्वरको सिंहासन सामु फर्केका र सृष्टिकर्ताको अंगालोमा प्रवेश गरेका हुनेछन्। “सेतो बादलमा सवार नहुने येशू झुटो ख्रीष्ट हो” भन्ने विश्वासमा अड्डी कस्नेहरू अनन्त दण्डको भागीदार हुनेछन्, किनभने तिनीहरूले चिन्ह प्रदर्शन गर्ने येशूमा मात्र विश्वास गर्छन्, तर कठोर न्याय घोषणा गर्नुहुने येशू र साँचो मार्ग र जीवनको निकास दिनुहुने येशूलाई स्वीकार गर्दैनन्। यसो मात्र हुन सक्छ, कि सेतो बादलमा येशूको आगमन खुल्ला रूपमा हुँदा नै उहाँले तिनीहरूलाई निराकरण गर्नुहुनेछ। तिनीहरू अति हट्ठी, आफैमा अति दृढ, अति अहङ्कारी छन्। यस्ता भ्रष्टहरूलाई येशूले कसरी इनाम दिन सक्नुहुन्थ्यो?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्नुभएको हुनेछ
आखिरी दिनहरूका ख्रीष्टले जीवन ल्याउनुहुन्छ, अनि सत्यको नित्य रहने र अनन्त बाटो ल्याउनुहुन्छ। मानिसले जीवन प्राप्त गर्ने मार्ग यही सत्य नै हो, र यो एक मात्र मार्ग हो जसद्वारा मानिसले परमेश्वरलाई चिन्नेछ र परमेश्वरद्वारा स्वीकार गरिनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्टले प्रदान गर्नुभएको जीवनको खोजी गर्दैनस् भने, तैँले कहिल्यै पनि येशूको स्वीकृती प्राप्त गर्नेछैनस्, र स्वर्गको राज्यको ढोकामा प्रवेश गर्न कहिल्यै पनि योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। नियमहरूको, अक्षरहरूको नियन्त्रणमा हुनेहरू, र इतिहासको बन्धनमा बाँधिनेहरूले कहिल्यै पनि जीवन प्राप्त गर्न सक्नेछैनन् न त जीवनको अनन्त बाटोलाई नै पाउनेछन्। यो यसैले हो किनभने तिनीहरूसँग सिंहासनबाट बग्ने जीवनको पानी होइन तर हजारौं वर्षदेखि जमेर बसेको धमिलो पानी मात्रै छ। जसलाई जीवनको पानी दिइएको छैन तिनीहरू सदासर्वदा नै लासहरू, शैतानका खेलौनाहरू, अनि नरकका पुत्रहरू रहनेछन्। त्यसोभए, तिनीहरूले परमेश्वरलाई कसरी देख्न सक्छन्? यदि तँ विगतलाई मात्रै पक्रिराख्ने प्रयास गर्छस्, ठिङ्ग उभिएर काम-कुराहरूलाई यथास्थितिमा राख्ने प्रयास मात्रै गर्छस्, र यथास्थितिलाई परिवर्तन गर्ने र इतिहासलाई त्याग्ने प्रयास गर्दैनस् भने, के तँ सँधै परमेश्वरकै विरुद्धमा हुनेछैनस् र? परमेश्वरको कार्यका चरणहरू उर्लेर आउने छालहरू अनि बेरिएर आउने चट्याङहरूजस्तै गहन र शक्तिशाली छन्—तैपनि तँ आफ्नो मुर्खतामा टाँसिदै र केही पनि नगरिकन, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यसरी, तँलाई थुमाका पाइलाहरू पछ्याउने व्यक्तिको रूपमा कसरी लिन सकिन्छ? तैँले पक्रेर बसेको परमेश्वर सँधै नयाँ र कहिल्यै पुरानो नहुने परमेश्वर हुनुहुन्छ भनेर तैँले कसरी पुष्टि गर्न सक्छस्? अनि तेरा पहेँलो भइसकेका पुस्तकहरूले तँलाई कसरी नयाँ युगमा लैजान सक्छ? तिनले कसरी तँलाई परमेश्वरको कार्यका चरणहरूको खोजी गर्न अगुवाइ गर्न सक्छन्? अनि के तिनले तँलाई स्वर्ग लैजान सक्छ? तैँले तेरो हातमा जे लिएको छस् ती तँलाई अस्थाई सान्त्वना दिने अक्षरहरू मात्र हुन्, जीवन दिन सक्ने सत्यताहरू होइनन्। तैँले पढ्ने धर्मशास्त्रका खण्डहरूले तेरो जिब्रोलाई मात्रै समृद्ध तुल्याउन सक्छ र ती मानव जिन्दगी जान्न तँलाई सहयोग गर्न सक्ने दर्शनशास्त्रका शब्दहरू होइनन्, ती तँलाई सिद्धतामा लैजान सक्ने मार्गहरू हुने कुरा त परै जाओस्। के यो विसंगतिले तँलाई प्रतिबिम्बित गर्ने तुल्याउँदैन? के यसले तँलाई आफैभित्र समावेश रहेका रहस्यहरूलाई महसुस गर्ने तुल्याउँदैन र? के तँ परमेश्वरलाई भेट्नको लागि आफैले आफैलाई स्वर्ग लैजान सक्छस्? परमेश्वरको आगमनविना, के तँ परमेश्वरसँग पारिवारिक खुशीको आनन्द लिन आफैलाई स्वर्ग लैजान सक्छस्? के तँ अझै पनि सपना देखिरहेको छस्? त्यसो भए, मेरो सुझाव छ, तँ सपना देख्न छोड् अनि अहिले कसले काम गरिरहनुभएको छ हेर्—अहिले आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिने काम कसले गर्दै हुनुहुन्छ त्यो देख्नको लागि हेर्। यदि तँ त्यसो गर्दैनस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्, र कहिल्यै जीवन प्राप्त गर्नेछैनस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्नुहुन्छ
ख्रीष्टले बोल्नुभएको सत्यतामा भरोसा नगरिकन जीवन प्राप्त गर्न चाहनेहरू पृथ्वीका सबैभन्दा हास्यास्पद मानिसहरू हुन्, र ख्रीष्टले ल्याउनुभएको जीवनको बाटोलाई स्वीकार नगर्नेहरू कल्पनामा हराएका छन्। त्यसैले म भन्छु कि आखिरी दिनहरूका ख्रीष्टलाई स्वीकार नगर्नेहरूलाई परमेश्वरले सदासर्वदा नै घिनाउनुहुनेछ। ख्रीष्ट नै आखिरी दिनहरूमा राज्यमा प्रवेश गर्ने मानिसको बाटो हुनुहुन्छ, र उहाँबाट उम्केर कोही पनि जान सक्दैन। ख्रीष्टद्वारा बाहेक परमेश्वरले कसैलाई पनि सिद्ध पार्नुहुन्न। तँ परमेश्वरमा विश्वास गर्छस्, र त्यसकारण तैँले उहाँका वचनहरूलाई स्वीकार गरेर उहाँको बाटोलाई पालन गर्नैपर्छ। सत्यतालाई प्राप्त गर्न असक्षम हुँदा-हुँदै र जीवनको प्रावधानलाई स्वीकार गर्न असक्षम हुँदा-हुँदै, तैँले आशिषहरू प्राप्त गर्ने बारेमा मात्रै विचार गर्न सक्दैनस्। उहाँमा साँचो रूपमा विश्वास गर्नेहरू सबैले जीवन प्राप्त गरून् भनेर ख्रीष्ट आखिरी दिनहरूमा आउनुहुन्छ। उहाँको काम पुरानो युगलाई समाप्त गरेर नयाँ युगमा प्रवेश गर्नको खातिर हो, र उहाँको काम नै नयाँ युगमा प्रवेश गर्ने सबैले हिँड्नै पर्ने मार्ग हो। यदि तैँले उहाँलाई स्वीकार गर्न सक्दैनस्, बरु उहाँलाई दोष दिन्छस्, ईश्वरनिन्दा गर्छस्, वा उहाँको खेदो समेत गर्छस् भने, तँ अवश्य नै अनन्तसम्म जल्नेछस् र परमेश्वरको राज्यमा कहिल्यै प्रवेश गर्नेछैनस्। यही ख्रीष्ट स्वयम् नै पवित्र आत्माको अभिव्यक्ति, परमेश्वरको अभिव्यक्ति, पृथ्वीमा आफ्नो काम गर्नको लागि परमेश्वरले जिम्मा दिनुभएको व्यक्ति हुनुहुन्छ। त्यसैले म भन्छु कि यदि आखिरी दिनहरूका ख्रीष्टले गर्नुभएका सबै कुराहरूलाई तैँले स्वीकार गर्न सक्दैनस् भने, तैँले पवित्र आत्माको ईश्वरनिन्दा गर्छस्। पवित्र आत्माको ईश्वरनिन्दा गर्नेहरूले पाउने दण्ड सबैको लागि प्रष्टै छन्। म तँलाई यो पनि भन्छु कि यदि तैँले आखिरी दिनहरूका ख्रीष्टको विरोध गरिस् भने, यदि तैँले आखिरी दिनहरूका ख्रीष्टको तिरस्कार गरिस् भने, तेरो सट्टामा परिणामहरू भोगिदिने अरू कोही पनि हुनेछैन। यसको साथै, यो दिनदेखि उसो परमेश्वरबाट स्वीकृती प्राप्त गर्ने अर्को मौका तैँले पाउनेछैनस्; यदि तैँले आफैलाई छुटाउने प्रयास गरिस् भने पनि, तैँले फेरि कहिल्यै पनि परमेश्वरको मुहारलाई देख्नेछैनस्। किनभने तैँले जे विरोध गर्छस् त्यो मानिस होइन, तैँले जे तिरस्कार गर्छस् त्यो कुनै तुच्छ कुरा होइन, तर ख्रीष्ट हुनुहुन्छ। यसका परिणामहरू के के हुनेछन् के तँलाई थाहा छ? तैँले सानो गल्ती होइन, तर घृणित पाप गरेको हुनेछस्। त्यसैले म जोकोहीलाई सत्यको अघि आफ्नो दारा नदेखाओ वा लापरवाह आलोचना नगर भन्ने सल्लाह दिन्छु, किनभने सत्यले मात्रै तँलाई जीवन दिनेछ, र सत्य बाहेक अरू केहीले पनि तँलाई पुनर्जन्म पाउने र परमेश्वरको मुहारलाई फेरि हेर्ने तुल्याउन सक्दैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्नुहुन्छ
न्याय के हो र सत्यता के हो भनी के तँ अब बुझ्छस्? यदि बुझ्छस् भने, न्याय पाउनका लागि तैँले आज्ञाकारितासाथ आफैलाई समर्पण गर् भनी म तँलाई अर्ती दिन्छु, नत्रभने, तैँले परमेश्वरको प्रशंसा पाउने वा उहाँको राज्यभित्र उहाँले तँलाई ल्याउनुहुने कुराको अवसर कहिल्यै पाउनेछैनस्। जसले न्याय मात्र स्वीकार गर्छन् तर जो कहिल्यै पवित्र पारिँदैनन्, अर्थात्, जो न्यायको कामको बीचबाट भाग्छन्, त्यस्तालाई परमेश्वरले घृणा गर्नुहुन्छ र अस्वीकार गर्नुहुन्छ। तिनीहरूका पाप फरिसीहरूका भन्दा पनि धेरै, र अझै डरलाग्दा हुन्छन्, किनकि तिनीहरूले परमेश्वरलाई धोका दिएका छन् र परमेश्वरका विरुद्धमा विद्रोह गरेका छन्। सेवा गर्नका लागि पनि लायक नभएका यस्ता मानिसहरूले अझै कडा दण्ड पाउनेछन्, जुन दण्डचाहिँ अनन्तसम्म रहिरहन्छ। परमेश्वरले कुनै पनि विश्वासघातीलाई बाँकी राख्नुहुनेछैन जसले एकपल्ट बोलीवचनले निष्ठा देखाएका थिए तर त्यसपछि उहाँलाई धोका दिए। यस किसिमका मानिसहरूलाई आत्मा, प्राण, र शरीरका दण्डद्वारा बदला लिइनेछ। के परमेश्वरको धार्मिक स्वभावको प्रकाश ठीक यही नै होइन र? के मानवलाई न्याय गर्ने र उसलाई प्रकट गरिदिने परमेश्वरको उद्देश्य यही होइन र? न्यायको समयावधिमा सबै किसिमका दुष्ट कार्यहरू गर्नेहरूलाई परमेश्वरले दुष्ट आत्माहरूले भरिएको स्थानमा पठाउनुहुनेछ, र ती दुष्टात्माहरूले आफ्ना खुशी अनुसार तिनीहरूका मासुका शरीरहरूलाई विनाश गर्छन् र मानिसहरूका शरीरले लासहरूका दुर्गन्ध फैलाउँछन्। तिनीहरूले पाउनैपर्ने बदला यस्तो हुन्छ। निष्ठाहिन झूटा विश्वासीहरू, झूटा प्रेरितहरू, र झूटा कामदारहरूका प्रत्येक पापलाई परमेश्वरले तिनीहरूका विवरणका पुस्तकहरूमा लेख्नुहुनेछ, अनि ठीक समय आएपछि, उहाँले तिनीहरूलाई अशुद्ध आत्माहरूका बीचमा फालिदिनुहुनेछ, र यी अशुद्ध आत्माहरूले आफ्ना इच्छाअनुसार तिनीहरूका पूरै शरीरहरूलाई अशुद्ध पार्नेछन्, यसरी तिनीहरू कहिल्यै जीवनमा आउनेछैनन् र तिनीहरूले फेरि कहिल्यै उज्यालो देख्ने छैनन्। केही समयको निम्ति सेवा गर्ने तर अन्तसम्म निष्ठावान भएर रहन नसक्ने ढोंगीहरूलाई परमेश्वरले दुष्टहरू मध्येमा गणना गर्नुभएको छ, यसरी तिनीहरू दुष्टहरूसँग सामेल होऊन् र लठाबज्र समूहका भाग बनून्; अन्त्यमा, परमेश्वरले तिनीहरूलाई विनाश गर्नुहुनेछ। ख्रीष्टप्रति कहिल्यै निष्ठावान् नभएका वा आफ्ना सामर्थ्यका केही कुराहरूका पनि योगदान नदिएकाहरूलाई परमेश्वरले पाखा लगाइदिनुहुनेछ र तिनीहरूप्रति कुनै ध्यान दिनुहुनेछैन, र युगको परिवर्तनसँगै उहाँले तिनीहरू सबैलाई विनाश गर्नुहुनेछ। तिनीहरू पृथ्वीमा रहनेछैनन्, र परमेश्वरको राज्यभित्र प्रवेश गर्ने सम्भावनाको त कुरै नगरौं। परमेश्वरमा कहिल्यै इमानदार नभएकाहरू, तर उहाँसँग परिस्थिति अनुसार मन नलागी-नलागी व्यवहार गर्नेहरू, उहाँका मानिसहरूका निम्ति सेवा गर्नेहरूको गन्तीमा पर्छन्। यस्ता मानिसहरूका सानो समूह मात्र बच्नेछ, र मापदण्ड अनुसारको सेवा गर्न नसक्नेहरूसँग तिनीहरूमध्ये धेरैको विनाश हुनेछ। अन्त्यमा, परमेश्वर र परमेश्वरका पुत्रहरूका जस्तै मन भएका मानिसहरू, र पूजाहारीहरू हुनका लागि पूर्वनियुक्ति गरिएकाहरू सबैलाई परमेश्वरले उहाँको राज्यमा ल्याउनुहुनेछ। तिनीहरू परमेश्वरका कामको शुद्धीकरण हुनेछन्। परमेश्वरले निर्धारण गर्नुभएका कुनै पनि वर्गमा नपर्नेहरू अविश्वासीहरूमध्येमा गनिनेछन्—तिनीहरूका नतिजा के हुनेछ भन्ने बारेमा तिमीहरूले निश्चय पनि कल्पना गर्न सक्छौ। मैले तिमीहरूलाई भन्नुपर्ने सबै कुराहरू भनिसकेको छु; तिमीहरूले छान्नुपर्ने बाटो तिमीहरूको मात्र छनोट हो। तिमीहरूले बुझ्नैपर्ने कुरा यो हो: उहाँसँगको गतिमा अगाडि बढ्न नसक्नेका लागि परमेश्वरको कामले पर्खेर बस्दैन, र परमेश्वरको धार्मिक स्वभावले कसैलाई पनि दया देखाउँदैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ