अध्याय ५२
म धार्मिकताको सूर्यका रूपमा देखा पर्छु, र तिमीहरू र म सदासर्वदा सँग-सँगै महिमा प्राप्त गर्छौँ र असल आशिष्हरूको आनन्द लिन्छौं! यो एक अकाट्य तथ्य हो, र यो तिमीहरूमा सत्य हुन थालिसकेको छ। किनभने म आफूले प्रतिज्ञा गरेका सबै कुरा तिमीहरूका लागि पूरा गर्नेछु; मैले भनेका सबै कुरा वास्तविकता हुन्, र कहिल्यै व्यर्थ भएर फर्कनेछैनन्। यी असल आशिष्हरू तिमीहरूमाथि छन्, र अरू कसैले तिनलाई खोस्न सक्दैन; ती तिमीहरूले मसँग एकचित्त भई सहकार्य गरेर गरेको सेवाका फलहरू हुन्। तिमीहरूका धार्मिक धारणाहरू फालिदेऊ; मेरा वचनहरूको सत्यतामा विश्वास गर, र शङ्कालु नहोऊ! म तिमीहरूसँग ठट्टा गर्दिनँ; म जे भन्छु, त्यसको मतलब त्यही नै हुन्छ। जसलाई म आशिष् दिन्छु, तिनीहरूले यसरी नै ती प्राप्त गर्छन्, जबकि जसलाई म आशिष् दिन्नँ, तिनीहरूले कुनै आशिष् प्राप्त गर्दैनन्। यो सबै मद्वारा निर्धारित हुन्छ। सांसारिक वैभव फगत महत्त्वहीन छ! मेरो नजरमा, यो गोबरबाहेक केही होइन, जसको मूल्य एक पैसा पनि छैन। त्यसकारण तिमीहरूले सांसारिक आनन्दहरूलाई धेरै महत्त्व दिनु हुँदैन। के मसँग स्वर्गीय आशिष्हरूको आनन्द लिनु अत्यन्तै अर्थपूर्ण र फलदायी होइन र?
यसभन्दा पहिले, सत्यता प्रकट गरिएको थिएन, अनि म खुल्लमखुल्ला देखा परेको थिइनँ; त्यो बेला, तिमीहरूले मलाई शङ्का गर्यौ अनि मेरो बारेमा सुनिश्चित हुने साहस गरेनौ। तैपनि, अब सबै कुराहरू प्रकट गरिएका छन्, अनि म धार्मिकताको सूर्यको रूपमा प्रकट भएको छु—त्यसैले यदि तिमीहरू अझै पनि शङ्कामा छौ भने, के भन्ने र? जब अन्धकारले पृथ्वीलाई ढाक्यो, तब तिमीहरूले ज्योति देख्न नसक्नु क्षमा दिन योग्य नै थियो, तर अहिले सूर्यले सबै अन्धकार कुनाहरूलाई प्रज्वलित पारिसकेको हुनाले, लुकेको कुरा उपरान्त लुकेको छैन, र गुप्त कुरा उपरान्त गुप्त छैन—यदि तिमीहरू अझै शङ्कामा छौ भने, म तिमीहरूलाई सजिलैसित क्षमा गर्नेछैन! अहिलेको समय मेरो बारेमा पूर्ण रूपले सुनिश्चित हुने समय हो, आफैलाई मेरो निम्ति अर्पण गर्न इच्छुक हुने र सुम्पने समय हो। ज-जसले मलाई अलिकति पनि विरोध गर्छ, तिनीहरूमाथि एकै छिन समेत सोचविचार नगरी वा एकै छिन पनि ढिलाइ नगरी तुरुन्तै न्यायको आगो झर्नेछ—किनकि अहिले निर्दयी न्यायको समय आएको छ, अनि जसको मन र हृदय ठीक छैन, तिनीहरूमाथि न्याय छिटो आइपर्नेछ। “मेरो काम चम्किलो बिजुली जस्तै हो” भन्नुको साँचो अर्थ यही हो।
यो छिटो अगि बढ्दैछ; यसले मानिसहरूलाई आश्चर्यमा नपारी रहन सक्दैन, यसले मानिसहरूलाई भयभीत नबनाई रहन सक्दैन, यसलाई अझ लामो समय ढिलाइ गर्न सकिँदैन, र यसलाई रोक्न सकिँदैन। जति बढी मेरो काम पूरा हुन्छ, यो त्यति नै छिटो अगि बढ्छ, जो-जो जागा र तयार छैनन्, तिनीहरू सधैँ फ्याँकिने खतरामा हुन्छन्। तिमीहरू अबउप्रान्त परीक्षाको तरङ्गमा ढल्न सक्दैनौ। मेरो काम पूर्ण रूपले सुरु भएको छ र अन्यजाति देशहरू र सारा संसारमा फैलिरहेको छ। न्यायको आगोहरू निष्ठुर छन् र यसले कसैप्रति कुनै दया वा प्रेम देखाउँदैन। परमेश्वरप्रति वफादार हुने, तापनि बेठीक विचारहरू र धारणाहरू पाल्ने वा अलिकति समेत विरोध गर्नेहरूलाई पनि न्याय गरिनेछ; यसमा कुनै शङ्का छैन। जसमाथि मेरो ज्योति पर्नेछ, तिनीहरू ज्योतिभित्र जिउनेछन् अनि तिनीहरूले ज्योतिमा काम गर्नेछन्, र तिनीहरूले अन्तिम बिन्दुसम्मै मेरो सेवा गर्नेछन्। जो ज्योतिभित्र जिउँदैनन्, तिनीहरू अन्धकारमा जिइरहेका हुन्छन्। तिनीहरूलाई न्याय गरिसकेपछि म तिनीहरूको आफ्नो दोषीबोधसम्बन्धी तिनीहरूका आफ्नै मनोवृत्तिहरूको आधारमा निर्णय गर्नेछु।
मेरो दिन आएको छ। “मेरो दिन” जसको बारेमा मैले उल्लेख गरेँ, त्यो अहिले तिमीहरूको आँखा सामु छ, किनकि तिमीहरू मसँगै तल ओर्लेका छौ। म तँसँग छु, तँ मसँग छस्; हामी आकाशमा भेटेका छौँ, र हामी सँगै महिमा सहभागी हुनेछौं। मेरो दिन वास्तवमै पूर्ण रूपले आएको छ!