विषयवस्तु दुई: तिनीहरूले मतविरोधीहरूलाई आक्रमण र निष्कासन गर्छन्

हामीले मानिसहरूको मन जित्ने, अर्थात् ख्रीष्टविरोधीहरूले कसरी मानिसहरूलाई नियन्त्रण गर्छन् भन्ने विषयको पहिलो प्रकटीकरणसम्बन्धी सङ्गति पूरा गरेका छौँ, र अब हामी दोस्रो प्रकटीकरणबारे सङ्गति गर्नेछौँ। ख्रीष्टविरोधीहरूले मानिसहरूलाई नियन्त्रण गर्न प्रयोग गर्ने दोस्रो माध्यम मतविरोधीहरूलाई आक्रमण र निष्कासन गर्नु हो। पहिलो माध्यममा मानिसहरूलाई बहकाएर तिनीहरूको मन जित्नु समावेश छ; यसो हेर्दा, यस्तो व्यक्ति एकदमै नम्रतापूर्वक र मानव धारणाअनुरूप बोल्ने, र अरूलाई कुनै हानी नपुऱ्याउने देखिन्छ; ऊ तुलनात्मक रूपमा चतुर र अस्पष्ट हुन्छ; अरूले तिनीहरूको दुष्ट अभिप्राय र द्वेषपूर्ण, खुनी र आक्रामक प्रकटीकरणहरू देख्‍न सक्दैनन्; र तिनीहरूले धूर्त विधिहरूबाहेक अरू केही प्रयोग गर्दैनन्। दोस्रो माध्यम, अर्थात् मतविरोधीहरूलाई आक्रमण र निष्कासन गर्ने कार्य अलिक स्पष्ट हुन्छ। “आक्रमण र निष्कासन” भन्‍ने शब्दहरूको अर्थबाट तिनीहरू सकारात्मक नभई अनादरपूर्ण हुन्छन् भनेर भन्‍न सकिन्छ। आक्रमण र निष्कासन गर्ने यो माध्यम स्पष्ट रूपमा सार्वजनिक हुन्छ र यसलाई सबैले देख्‍न सक्छन्। यो त सडकमा चिच्याउने झगडालु स्त्रीहरूले एकअर्काका कमी-कमजोरीहरू खुलासा गरेको जस्तै हो, जसका शब्दहरू खुलस्त र स्पष्ट हुन्छन्, सुन्‍ने जति सबैले तिनीहरूले भनेको बुझिहाल्छन्। ती शब्दहरूमा निश्‍चित आक्रामकपन हुन्छ, सहनशीलता देखिँदैन, बरु आक्रमण गर्न अग्रसर हुन्छ। ख्रीष्टविरोधीहरूले सार्वजनिक रूपमै मानिसहरूलाई गर्ने दमन, निष्कासन, आक्रमण, र मानिसका समस्याहरू खुलासा गर्ने कार्यहरू सबै लक्षित हुन्छन्। निस्सन्देह नै, तिनीहरूले सत्यता खोजी गर्ने र तिनीहरूलाई चिन्‍न सक्‍ने मानिसहरूलाई निसाना बनाउन यस्ता माध्यमहरू प्रयोग गर्छन्। यी मानिसहरूलाई जितेर, तिनीहरूले आफ्‍नै स्थान दह्रिलो बनाउने उद्देश्य हासिल गर्छन्। यसरी मानिसहरूलाई आक्रमण र निष्कासन गर्नु खराब प्रकृति हो। तिनीहरूको भाषा र शैलीमा आक्रामकता अर्थात् खुलासा गर्ने, दोष लगाउने, निन्दा गर्ने, र दुष्ट लाञ्छना लगाउने प्रवृत्ति हुन्छ। तिनीहरूले तथ्य बङ्ग्याएर सकारात्मकलाई नकारात्मक अनि नकारात्मकलाई सकारात्मकसमेत बताउँछन्। यसरी कालोलाई सेतो र सेतोलाई कालो भन्दै सही र गलतलाई गोलमटोल पार्दा मानिसहरूलाई जित्‍ने र तिनीहरूको बदनाम गर्ने ख्रीष्टविरोधीहरूको उद्देश्य पूरा हुन्छ। मतविरोधीहरूलाई यसरी आक्रमण र निष्कासन गर्ने यो कार्य कस्तो मानसिकताबाट निस्केको हुन्छ? धेरैजसो समय यो डाही मानसिकताबाट आएको हुन्छ। दुराशयी स्वभावमा, डाहाले कठोर घृणा बोकेको हुन्छ; अनि फलस्वरूप, डाहाका कारण ख्रीष्टविरोधीहरूले मानिसहरूलाई आक्रमण र निष्कासन गर्ने गर्छन्। यस्तो परिस्थितिमा, यदि ख्रीष्टविरोधीहरूलाई खुलासा र रिपोर्ट गरियो, तिनीहरूले आफ्‍नो हैसियत गुमाए, र तिनीहरूलाई आघात भयो भने, मनमा तिनीहरूले यस कुरालाई न त स्विकार्छन् न त यसप्रति खुसी नै हुन्छन्, र बदलाको कठोर मानसिकता विकास गर्नु तिनीहरूलाई सजिलो हुन्छ। बदला एक प्रकारको मानसिकता हो, र यो भ्रष्ट स्वभावको प्रकार पनि हो। जब ख्रीष्टविरोधीहरूले कसैले तिनीहरूलाई हानि गर्ने काम गरेको, अरू तिनीहरूभन्दा सक्षम रहेको, वा कसैको अभिव्यक्ति र सुझाव तिनीहरूको भन्दा असल वा बुद्धिमानी रहेको, र सबैजना त्यस व्यक्तिको अभिव्यक्ति र सुझावमा सहमत भएको देख्छन्, तब तिनीहरूलाई तिनीहरूको पद खतरामा परेझैँ लाग्छ, तिनीहरूको हृदयमा डाहा र घृणा पैदा हुन्छ, र तिनीहरूले आक्रमण गर्छन् र बदला लिन्छन्। बदला लिने क्रममा, ख्रीष्टविरोधीहरूले प्राय आफ्नो निसानालाई पहिले नै प्रहार गरिहाल्छन्। जबसम्‍म अर्को पक्षले भनेको मान्दैन, तबसम्‍म तिनीहरूले पूर्वसक्रिय रूपमै मान्छेलाई आक्रमण गर्ने र तोड्ने काम गर्छन्। त्यसपछि मात्रै तिनीहरू शान्त हुन्छन्। मानिसहरूलाई आक्रमण र निष्कासन गर्ने कार्यका अन्य प्रकटीकरणहरू के-के हुन्? (अरूलाई हेप्‍नु।) अरूलाई हेप्‍ने कार्य पनि यो प्रकट हुने एउटा तरिका हो; तैँले जति नै राम्ररी काम गरे पनि, तँ नकारात्मक र कमजोर भएर सहनै नसक्‍ने अवस्थामा पुगुन्जेल, ख्रीष्टविरोधीहरूले तँलाई हेप्‍नेछन् वा दोष दिनेछन्। त्यसपछि तिनीहरू खुसी हुनेछन्, र तिनीहरूले आफ्‍नो उद्देश्य पूरा गरेका हुनेछन्। के दोष दिनु पनि अरूलाई हेप्‍नुको एउटा माध्यम हो? (हो।) ख्रीष्टविरोधीहरूले कसरी मानिसहरूलाई दोष दिन्छन्? तिनीहरूले तिललाई पहाड बनाउँछन्। उदाहरणको लागि, तैँले कुनै काम गरिस् जसमा कुनै समस्या छैन, तर तिनीहरूले तँलाई आक्रमण गर्न यसलाई निहुँ बनाउन चाहन्छन्, त्यसकारण तँलाई लाञ्छना लगाउन तिनीहरूले सबै किसिमका उपाय सोच्छन् र तिललाई पहाड बनाएर तँलाई यसरी दोष लगाउँछन् कि ख्रीष्टविरोधीहरूको कुरा सुन्‍नेहरूले यो कुरा ठीकै हो र तैँले गलत काम गरिस् भन्‍ने सोच्छन्। योसँगै, ख्रीष्टविरोधीहरूले आफ्‍नो उद्देश्य पूरा गरेका हुन्छन्। यो मतविरोधीहरूलाई दोष दिनु, आक्रमण गर्नु, र निष्कासन गर्नु हो। बहिष्कार गर्नु भनेको के हो? यसको अर्थ के हुन्छ भने, वास्तवमा तँ सही छस् भनेर ख्रीष्टविरोधीहरूलाई पनि हृदयमा थाहा हुन्छ, तर तिनीहरूले तँलाई डाहा र घृणा गर्ने हुनाले, तँलाई जानीजानी आक्रमण गर्ने प्रयास गर्ने हुनाले, तिनीहरूले तैँले गरेको काम गलत हो भनी भन्‍नेछन्। त्यसपछि तँलाई विवाद गरेर जित्‍नको लागि तिनीहरूले आफ्‍नै दृष्टिकोण र भ्रमहरू प्रयोग गर्छन् र सुन्‍नेहरू सबैलाई विश्‍वासलाग्दो तरिकाले बोलेर तिनीहरूको कुरा नै सही र ठीक छ भन्‍ने अनुभूति गराउँछन्। त्यसपछि, ती सबै मानिसहरूले तिनीहरूलाई अनुमोदन गर्छन् र तिनीहरूको पक्षमा खडा हुनेछन्। ख्रीष्टविरोधीहरूले तँलाई आक्रमण गर्न, नकारात्मक र कमजोर बनाउन यसको प्रयोग गर्छन्। योसँगै, तिनीहरूले मतविरोधीरूलाई आक्रमण र निष्कासन गर्ने आफ्‍नो उद्देश्य हासिल गरेका हुन्छन्। मतविरोधीरूलाई बहिष्कार गर्ने कार्य कहिलेकहीँ आमनेसामनेको विवादमार्फत हुन्छ, वा कहिलेकहीँ कसैप्रतिको आलोचना, षड्यन्त्र, निन्दा, र पिठ्यूँपछाडिको कुरा बुनाइमार्फत हुन्छ। उदाहरणका लागि, जब कुनै ख्रीष्टविरोधीले एक जना विरोधीलाई निष्कासन गर्न चाहन्छ, तब उसले पहिले त्यस विरोधीको सम्‍बन्ध कोसँग राम्रो छ भनेर पत्ता लगाउँछ। त्यसपछि, उसले त्यस व्यक्तिकहाँ गएर भन्छ: “तपाईंलाई थाहा छ, फलानोले त तपाईंमा क्षमताको कमी छ, बुझ्ने क्षमता कमजोर छ र आत्मिक बुझाइ छैन, र तपाईं सिद्धान्तविनै आफ्‍ना कर्तव्यहरू निर्वाह गर्नुहुन्छ भनेर भनेको थियो। मैले त्यस व्यक्तिसँग बहस गरेँ, किनभने तपाईं वास्तवमै असल व्यक्ति हुनुहुन्छ भन्‍ने मलाई लाग्छ।” यसरी कलहको बीउ छरेपछि, यी दुई व्यक्तिबीचको सम्बन्ध झनै चिसिन्छ। त्यो ख्रीष्टविरोधी सम्‍बन्ध पूर्ण रूपमा नतोडिएसम्म निरन्तर कलहको आगोमा घिउ हाल्दै एक छेउमा बसेर हेरिरहन्छ। यसरी, ख्रीष्टविरोधीले मानिसहरू र उसको विरोधीबीच कलहको बीउ छर्छ, अनि त्यस विरोधीलाई अलग्याउने लक्ष्य पूरा गर्न मानिसहरूलाई ऊबाट टाढा बस्न लगाउँछ। त्यो विरोधी पराजित नभएसम्‍म र उसको नाम माटोमा नमिलेसम्‍म, ख्रीष्टविरोधीले त्यो विरोधीविरुद्ध लाभ उठाउने अवसर खोजिरहन्छ। ख्रीष्टविरोधीले यसलाई प्रतिद्वन्द्वी ढाल्नु ठान्छ, ताकि यो व्यक्ति उसको हैसियतका लागि खतरा नबनोस्। ख्रीष्टविरोधी आफ्नो विरोधीलाई दबाउनु नै राम्रो हुन्छ भन्ने ठान्छ, तर यदि उसलाई दबाउन सकिएन भने, ख्रीष्टविरोधीले उसलाई अलग्याउन अनि त्यसपछि बहिष्कार गर्नका लागि हरसम्भव प्रयास गर्छ। यदि उसलाई बहिष्कार गर्न सकिएन भने, ख्रीष्टविरोधीले उसलाई अलग्याइरहन्छ, अन्त्यमा उसलाई घुँडा टेकाएर दयाको भीख माग्‍न लगाउँछ। ख्रीष्टविरोधीले सत्यता पछ्याउने वा आफ्नो विचारसँग नमिल्‍ने विचारका मानिसहरूलाई लोभ्याउँछन् र केही शक्ति लगाएर आक्रमण गर्छ। उसले मण्डली भत्काउँछ र यसलाई गुटहरूमा टुक्राउँछ र अन्त्यमा मण्डली दुई वा तीन गुटमा विभाजित हुन्छ—एउटाले उसको कुरा सुन्छ, अर्कोले उस कुरा सुन्दैन, र एउटाचाहिँ तटस्थ रहन्छ। उसको “सानदार” मार्गदर्शनमा, झन्-झन् धेरै मानिसले उसको कुरा सुन्छन्, र उसको कुरा नसुन्ने मानिसहरू झन्-झन् कम हुन्छन्। अझ धेरै मानिसले ऊसामु आत्मसमर्पण गर्छन्, अनि ख्रीष्टविरोधीभन्दा फरक विचार भएकाहरू अलग्गिन्छन् र बोल्ने हिम्मत गर्दैनन्। उसलाई खुट्ट्याउने वा विरोध गर्न सक्‍ने मानिसहरू झन्-झन् कम हुँदै जान्छन्, र यसरी, ख्रीष्टविरोधीले मण्डलीका अधिकांश मानिसलाई बिस्तारै नियन्त्रणमा लिन्छ र अख्तियारको पद ग्रहण गर्छ। ख्रीष्टविरोधीको लक्ष्य यही हो। ख्रीष्टविरोधीले आफ्‍नो भन्दा फरक राय भएका मानिसहरूसँग व्यवहार गर्दा सहनशीलता पटक्कै देखाउँदैन। ऊ सोच्छ: “तिम्रो राय फरक भए पनि, तिमीले मेरो नेतृत्व मान्नैपर्छ, किनकि अहिले मेरो नै निर्णय चल्छ। तिमी मभन्दा मुनि छौ। यदि तिमी अजिङ्गर हौ भने, तिमी गुँडुल्किनुपर्छ; बाघ हौ भने, तिमी घोप्टो लम्पसार पर्नुपर्छ; तिमीसँग जुनै क्षमता भए पनि, म यहाँ भइन्जेल, फाइदा उठाउने वा समस्या खडा गर्ने कुरा सोच्दै नसोच!” ख्रीष्टविरोधीको उद्देश्य यही हुन्छ—एकतर्फी रूपमा मण्डलीलाई नियन्त्रण गर्ने र परमेश्‍वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्ने।

ख्रीष्टविरोधीले मतविरोधीहरूलाई आक्रमण र निष्कासन गर्नुको मुख्य उद्देश्य के हो? तिनीहरू मण्डलीमा यस्तो स्थिति बनाउन खोज्छन् जहाँ तिनीहरूका आफ्नै आवाजको विपरीत कुनै आवाज नहोस्, जसमा तिनीहरूको शक्ति, तिनीहरूको नेतृत्वकारी हैसियत, र तिनीहरूका कुराहरू सबै सर्वमान्य होऊन्। सबैले तिनीहरूको कुरामा ध्यान दिनुपर्छ, र तिनीहरूको विचार फरक हुँदा पनि तिनीहरूले यसलाई व्यक्त गर्नु हुँदैन, बरु आफ्‍नो हृदयमै लुकाएर राख्‍नुपर्छ। खुल्लमखुल्ला तिनीहरूसित असहमत हुन आँट गर्ने जोकोही ख्रीष्टविरोधीहरूको शत्रु बन्छन्, र तिनीहरूले उनीहरूलाई समस्यामा पार्न हर उपाय सोच्‍नेछन्, र जतिसक्दो चाँडो उनीहरूलाई विलय गराउन चाहनेछन्। आफ्‍नो हैसियतलाई कायम राख्‍न र आफ्‍नो शक्तिलाई रक्षा गर्न ख्रीष्टविरोधीहरूले आफ्ना मतविरोधीहरूलाई आक्रमण र निष्कासन गर्ने एउटा तरिका यही हो। तिनीहरू सोच्छन्, “तिमीले फरक विचार राख्छौ भने त्यो ठीकै छ, तर तिमीले आफ्नो इच्छाअनुसार त्यसको बारेमा कुरा गर्दै हिँड्नु हुँदैन, मेरो शक्ति र प्रतिष्ठाको बारेमा सम्झौता गर्ने कुरा त परै जाओस्। यदि तिमी केही भन्न चाहन्छौ भने, तिमीले मलाई व्यक्तिगत रूपमा भन्न सक्छौ। यदि तिमीले त्यो सबैको सामुन्ने भनेर मेरो अपमान गर्‍यौ भने, तिमी समस्या निम्त्याइरहेका छौ, र मैले तिमीलाई ठीक पार्नुपर्छ!” यो कस्तो किसिमको स्वभाव हो? ख्रीष्ट विरोधीहरूले अरूलाई स्वतन्त्र रूपमा बोल्‍न दिँदैनन्। यदि तिनीहरूसँग कुनै विचार छ भने—चाहे ख्रीष्ट विरोधीको वा अरू कुनै कुराको बारेमा होस्—तिनीहरूले त्यो कुरा यतिकै उठाउन मिल्दैन; तिनीहरूले ख्रीष्ट विरोधीको इज्‍जतलाई विचार गर्नुपर्छ। होइन भने, ख्रीष्ट विरोधीले तिनीहरूलाई शत्रु ठान्नेछ, र तिनीहरूलाई आक्रमण र निष्कासन गर्नेछ। यो कस्तो किसिमको प्रकृति हो? यो ख्रीष्ट विरोधीको प्रकृति हो। र तिनीहरूले किन यसो गर्छन्? तिनीहरूले मण्डलीमा अरू कुनै वैकल्‍पिक आवाज उठ्न दिँदैनन्, तिनीहरूले मण्डलीमा मतविरोधीहरूलाई रहन दिँदैनन्, तिनीहरूले परमेश्‍वरका चुनिएका जनहरूलाई खुलस्त रूपमा सत्यताको सङ्गति गर्न र मानिसलाई खुट्ट्याउन दिँदैनन्। तिनीहरूलाई मानिसहरूद्वारा आफ्नो खुलासा गरिने र खुट्ट्याइने सबैभन्दा बढी डर हुन्छ; तिनीहरूले आफ्‍नो शक्तिलाई र मानिसहरूको हृदयमा भएको तिनीहरूको हैसियतलाई निरन्तर दह्रिलो पार्ने प्रयास गरिहरेका हुन्छन्, जुन कहिल्यै पनि हल्‍लनु हुँदैन भन्‍ने तिनीहरूलाई लाग्छ। आफ्नो अभिमान, इज्जत वा हैसियत र अगुवाको रूपमा तिनीहरूको महत्त्वलाई जोखिम पुर्‍याउने वा असर गर्ने कुनै पनि कुरा तिनीहरू कहिल्यै सहँदैनन्। के यो ख्रीष्टविरोधीहरूको दुर्भावपूर्ण प्रकृतिको प्रकटीकरण होइन र? तिनीहरूमा पहिलेदेखि नै रहेको शक्तिसँग सन्तुष्ट नभएर तिनीहरू त्यसलाई सुदृढ र सुरक्षित गर्छन् र अनन्त प्रभुत्व पाउन खोज्छन्। तिनीहरूले अरूको व्यवहार नियन्त्रण गर्न मात्र चाहँदैनन्, तर तिनीहरूको हृदय पनि नियन्त्रण गर्न चाहन्छन्। ख्रीष्टविरोधीहरूले यी विधिहरू प्रयोग गर्नुको उद्देश्य पूर्णतया आफ्नो शक्ति र हैसियतलाई रक्षा गर्नु हो, र ती पूर्ण रूपमा शक्तिमा रहिरहने तिनीहरूको इच्‍छाको परिणाम हुन्। यदि ख्रीष्टविरोधीहरूले खुलस्त र इमानदारीताका साथ अनि सत्यताअनुरूप कार्य गरेका भए, तिनीहरू अरूले कुरा बताउलान्, फरक सुझाव देलान्, र तिनीहरूको खुलासा गर्लान् भनेर किन डराउनेथिए त? किनभने तिनीहरूका अभिप्रायहरू अनिष्टकारी र तिनीहरूको विवेक दोषले भरिएको हुन्छ। ख्रीष्टविरोधीहरूलाई आफूले धेरै दुष्कर्म गरेका छन् भन्‍ने थाहा हुन्छ, र तिनीहरूको खुलासा भएपछि, आफ्नो हैसियत जोगाउन गाह्रो हुने मात्र नभई, आफूलाई हटाइने वा निष्कासन गरिने खतरा पनि हुन्छ। त्यसकारण, तिनीहरू अरूलाई नियन्त्रित र सीमित गर्न, सत्यताबारे सङ्गति गर्न र समझ प्रयोग गर्नबाट रोक्न कुनै कसर बाँकी राख्दैनन्। विशेष गरी, न्यायको दह्रिलो बोध भएका वा दुष्ट मानिसहरूलाई खुलासा गर्न साहस गर्नेहरू ख्रीष्टविरोधीका आँखाको कसिङ्गर, निरन्तरको झर्को हुन्छन्। ख्रीष्टविरोधीहरू के सोच्छन् भने, यदि न्यायको बोध भएकाहरूलाई आफ्नो अधीनमा ल्याइयो र बदनाम गरियो भने, त्यसउपरान्त कसैले पनि तिनीहरूलाई खुलासा गर्ने आँट गर्नेछैन र कुनै विरोधी आवाजहरू हुनेछैनन्, जसले ख्रीष्टविरोधीलाई सुरक्षाको भावना दिन्छ। यो ख्रीष्टविरोधीले लगातार अपनाउने रणनीति हो। तिनीहरूले शक्तिमाथिको आफ्नो पकडलाई पटक्‍कै छोड्नेछैनन् र त्यसलाई बलियो बनाउने आफ्नो प्रयासमा कहिल्यै कम गर्नेछैनन्—तिनीहरूले बोल्ने हरेक वाक्य र तिनीहरूले गर्ने सबै कुराको उद्देश्य तिनीहरूको शक्ति र हैसियतको रक्षा गर्नु हुन्छ। विशेष गरी असहमत हुने व्यक्ति छ भने यस्तो हुन्छ, र असहमत व्यक्तिले भनेको वा तिनीहरूको पिठिउँ पछाडि तिनीहरूले गरेको निन्दा ख्रीष्ट विरोधीले सुन्छ। यस अवस्थामा, तिनीहरूले उक्त मामलालाई तुरुन्तै समाधान गर्नेछन्, चाहे त्यसको लागि एक रातको निन्द्रा र एक दिनको खान नै किन छुटाउन नपरोस्। तिनीहरू कसरी यस्तो प्रयास गर्न सक्छन्? किनभने तिनीहरूलाई आफ्नो हैसियत खतरामा छ, त्यसमा चुनौती आइपरेको छ भन्ने लाग्छ। तिनीहरू के महसुस गर्छन् भने यदि आफूले यस्तो कदम चालेन भने, आफ्नो शक्ति र हैसियत खतरामा पर्नेछ—आफ्ना दुष्ट कार्यहरू र निन्दनीय आचरण खुलासा भएपछि, आफूले आफ्नो हैसियत र शक्ति कायम राख्न नसक्ने मात्र होइन, आफूलाई मण्डलीबाट हटाइने वा निष्कासित गरिनेछ। त्यसैले तिनीहरू हतारपतार उक्त मामला दबाउने र आफूलाई आइलागेका गुप्त सबै खतरा हटाउने उपायबारे सोच्छन्। तिनीहरूले आफ्नो हैसियत कायम राख्न सक्ने उपाय यही मात्र हो। ख्रीष्टविरोधीहरूका लागि हैसियत भनेको जीवनको सास हो। कुनै व्यक्तिले तिनीहरूको खुलासा वा रिपोर्ट गर्नेवाला छ भनेर सुन्नेबित्तिकै डरले तिनीहरू आकुल-व्याकुल हुन्छन्, र तिनीहरू भोलीसम्ममा आफ्नो हैसियत गुम्नेछ र हैसियतले दिएको विशेषाधिकारको अनुभूति फेरि कहिल्यै हुनेछैन, न त हैसियतबाट पाइने फाइदा नै पाइन्छ भनी भयभीत हुन्छन्। तिनीहरू उप्रान्त आफूलाई कसैले पनि सम्मान गर्नेछैन वा पछ्याउनेछैन, कसैले पनि तिनीहरूको चापलुसी गर्नेछैन वा आदेश मान्नेछैन भनी डर मान्छन्। तर तिनीहरूका लागि सबभन्दा असहनीय कुरा भनेको आफ्नो हैसियत र शक्ति गुम्नेछ भन्ने मात्र नभई आफूलाई हटाइने वा निष्कासितसमेत गरिने पो हो कि भन्ने हो। यदि त्यसो भएको भए, तिनीहरूलाई हैसियत र शक्तिले दिएका सबै फाइदा र विशेषाधिकारको अनुभूति, साथै परमेश्वरमा विश्वास गरेर प्राप्त हुने सबै आशिष् र इनामको आशा क्षणभरमै गुम्नेथ्यो। यो सम्भावना नै तिनीहरूलाई सहन सबभन्दा कठिन हुन्छ। तिनीहरूले आफ्नो शक्ति र हैसियतले प्रदान गर्ने फाइदा र विशेषाधिकारको भाव गुमाएपछि, तिनीहरूका राम्रा दिनहरू समाप्त हुनेछन्। साथै, धेरै दुष्कर्म गरेका कारण, तिनीहरू परमेश्‍वरको सजाय पर्खिँदै विपत्तिमा पर्नेछन्।

मतविरोधी भनेको के हो? ख्रीष्टविरोधीले मतविरोधीहरूका रूपमा हेर्ने मानिसहरू को हुन्? कम्तीमा पनि, तिनीहरू ख्रीष्टविरोधीलाई अगुवाको रूपमा गम्‍भीरतासाथ नलिने मानिसहरू हुन् अर्थात् तिनीहरू ख्रीष्टविरोधीहरूलाई आदर वा आराधना नगर्ने, तर तिनीहरूलाई साधारण व्यक्तिको रूपमा हेर्ने मानिसहरू हुन्। त्यो एउटा प्रकार हो। त्यसपछि सत्यतालाई प्रेम गर्ने, सत्यताको खोजी गर्ने, आफ्‍नो स्वभाव परिवर्तन गर्न खोज्‍ने, र परमेश्‍वरप्रतिको प्रेमको खोजी गर्ने मानिसहरू छन्; तिनीहरूले ख्रीष्टविरोधीको भन्दा फरक मार्ग अपनाउँछन्, र ख्रीष्टविरोधीको नजरमा तिनीहरू मतविरोधीहरू बन्छन्। अरू कोही छन्? (ख्रीष्टविरोधीहरूलाई सधैँ सुझाव दिने, र तिनीहरूको खुलासा गर्ने आँट गर्ने मानिसहरू।) ख्रीष्टविरोधीलाई सुझाव दिने र तिनीहरूलाई खुलासा गर्न आँट गर्ने, वा तिनीहरूको भन्दा फरक विचार राख्‍ने मानिसहरूलाई ख्रीष्टविरोधीले मतविरोधीहरूको रूपमा हेर्छ। अनि अर्को प्रकारका मानिसहरू पनि हुन्छन्: जो क्षमता र सक्षमतामा ख्रीष्टविरोधीजत्तिकै हुन्छन्, जसको बोलीवचन र व्यवहारको क्षमता तिनीहरूको जत्तिकै हुन्छ, वा जसलाई ख्रीष्टविरोधीले आफूभन्दा उच्‍च र तिनीहरूलाई चिन्‍न सक्‍ने मानिसहरूको रूपमा ठान्छ। ख्रीष्टविरोधीको लागि, यो स्वीकार गर्ने हदभन्दा बाहिरको कुरा, र उसको हैसियतको निम्ति खतरा हुन्छ। यस्ता मानिसहरू ख्रीष्टविरोधीका सबैभन्दा ठूला मतविरोधीहरू हुन्। ख्रीष्टविरोधीले यस्ता मानिसहरूलाई बेवास्ता गर्ने वा थोरै लचक बन्‍ने पनि आँट गर्दैनन्। तिनीहरू यस्ता मानिसहरूलाई काँडाको रूपमा हेर्छन्, सधैँ झिज्याउने कुराका रूपमा हेर्छन्, यस्ता मानिसहरूका विरुद्धमा सधैँ सचेत र सतर्क रहन्छन्, र आफूले गर्ने हरेक कुरामा तिनीहरू यस्ता मानिसहरूबाट टाढा बस्छन्। विशेष गरी जब ख्रीष्टविरोधीले कुनै मतविरोधीले उसलाई पहिचान र खुलासा गर्न लागेको देख्छ, तब तिनीहरू एकदमै अत्तालिन्छन्; यस्तो व्यक्तिलाई बहिष्कार र आक्रमण गर्न उसलाई यति तीव्र इच्‍छा हुन्छ कि त्यस मतविरोधीलाई मण्डलीबाट सफाइ गरेर ननिकालेसम्‍म उसलाई चित्त बुझ्दैन। यस्तो मानसिकता र यस्ता कुराहरूले भरिएको हृदय लिएर, तिनीहरूले कस्ता कुराहरूचाहिँ गर्न सक्छन्? के तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई शत्रुको रूपमा हेर्ने, र तिनीहरूलाई खसाल्‍ने र निकाल्‍ने उपायहरू सोच्‍ने गर्छन्? अवश्य नै गर्छन्। तिनीहरूले मतविरोधीहरूलाई काबुमा राख्ने उपायहरू सोच्दै दिमाग खियाउनेथिए र तिनीहरूलाई हराउनका लागि जुनसुकै हदसम्म जानेथिए, होइन र? मतविरोधीहरूलाई काबुमा राख्नुको अर्थ के हो भने, ख्रीष्टविरोधीले सबैलाई आफ्नो कुरा सुन्‍न लगाउँछ, ताकि कसैले पनि अरू केही बोल्ने वा फरक विचार राख्‍ने हिम्मत नगरून्, उसको खुलासा गर्नु त परको कुरा हो। मतविरोधीलाई हराउनुको अर्थ ख्रीष्टविरोधीले तिनीहरूलाई फसाउँछ र निन्दा गर्छ, केही झूटा कुरा खडा गरेर त्यस मतविरोधीलाई मूर्खजस्तो देखिने बनाउँछ र काँटछाँटमा पार्छ, जसले गर्दा त्यस व्यक्तिको प्रतिष्ठा गिर्छ। के यस्तो काम गर्नु दुष्कर्म सबैभन्दा ठूलो रूप होइन र? के यसले परमेश्‍वरको स्वभावलाई चिढ्याउँदैन र? ख्रीष्टविरोधीसँग मतविरोधीहरूलाई आक्रमण र निष्कासन गर्ने धेरै तरिका र विधि हुन्छन्। सार्वजनिक रूपमा आमना-सामाना गर्ने र खण्डन गर्नेबाहेक, तिनीहरूको सबैभन्दा प्रभावशाली साधन भनेको मतविरोधीलाई आफ्‍नो आफूतिर तानेर अनि भर्ती गरेर तिनीहरू सबैलाई आफ्नो कुरा सुन्न लगाउनु हो। यदि विरोधीहरूले ख्रीष्टविरोधीको कुरा सुनेनन् भने, उसले अविश्वासीहरूले राजनीतिक प्रतिद्वन्द्वीहरूसँग व्यवहार गरेजसरी नै तिनीहरूलाई दमन गर्नेछ, दबाउनेछ, र बदनाम गर्नेछ। ख्रीष्टविरोधीहरू यति दुष्ट र क्रूर हुन्छन्। तर कहिलेकहीँ, ख्रीष्टविरोधीहरूले मानिसहरूलाई आफूतिर तान्न नरम शैली प्रयोग गर्छन्। उदाहरणका लागि, यदि कुनै विरोधी छ, जसको विचार तिनीहरूको विचारसँग मिल्दैन भने, उसले त्यो व्यक्तिलाई मनपर्ने कुरा र उसका कमजोरीहरूलाई हेरेर, त्यस व्यक्तिलाई आफ्‍नो हातमा ल्याउनका लागि सबै प्रकारका घृणित माध्यमहरू प्रयोग गर्छ। वा तिनीहरूले समर्पणताको ढोँग गर्छन् र त्यस विरोधीको अगाडि आफ्ना गल्तीहरू स्वीकार गर्छन्, वा मतविरोधीलाई लाभान्वित बनाउन र सन्तुष्ट पार्न जुनसुकै हदसम्म पनि जान्छन्, वा सायद आफ्‍ना नजिकका साथीहरूलाई त्यस विरोधीलाई मनाउन लगाउँछन्; त्यसपछि, तिनीहरूले यसो भन्दै त्यस मतविरोधीसँग सत्यताबारे सङ्गति गरिरहेको बहाना गर्छन्: “मण्डलीको कामका लागि हामी मिल्नु एकदम उत्तम कुरा हो; भविष्यमा हामी यस मण्डलीलाई आधा-आधा बाँड्न सक्छौँ। म अगुवा भए पनि, तिम्रा हर सुझावहरू सुन्‍नेछु। वास्तवमा, तपाईंसँग सहकार्य गर्ने त म नै हुनेछु।” यदि त्यस मतविरोधी सत्यता नबुझ्ने व्यक्ति हो भने, त्यस व्यक्तिलाई भर्ती गर्न ख्रीष्टविरोधीलाई सजिलो हुनेछ। सत्यता बुझ्नेहरूले यो कुरा छर्लङ्ग देखेर देखेर यस्तो भन्‍नेछन्, “यो त एउटा षड्यन्त्रकारी हो; त्यसले खुलेर आक्रमण गरिरहेको छैन, बरु छल गरिरहेको छ—कडा कार्यनीतिहरूको सट्टा नरम शैली अपनाइरहेको छ।” ख्रीष्ट मतविरोधीका लागि, असहमत हुने व्यक्ति नै तिनीहरूका हैसियत र शक्तिका लागि खतरा हुन्छ। तिनीहरूको हैसियत र शक्तिलाई चुनौती दिने जोकोही व्यक्तिलाई “तह लगाउन” जुनै पनि हदसम्म ख्रीष्ट विरोधीहरू जानेछन्। यदि यी मानिसहरूलाई साँच्चै अधीनमा ल्याउन वा भर्ती गर्न सकिएन भने, ख्रीष्टविरोधीहरूले तिनीहरूलाई ढलाउनेछन् वा हटाउनेछन्। अन्त्यमा, ख्रीष्ट विरोधीहरूले पूर्ण शक्ति प्राप्त गर्ने र तिनीहरू आफै नै कानुन बन्ने आफ्नो लक्ष्य हासिल गर्नेछन्। ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत र शक्ति कायम राख्न सधैँ प्रयोग गर्ने विधिहरूमध्ये एउटा यही हो—असहमत हुनेहरूलाई तिनीहरूले आक्रमण र निष्कासन गर्छन्।

ख्रीष्टविरोधीहरूले मतविरोधीहरूलाई आक्रमण र निष्कासन गर्ने विधि, प्रकटीकरण, त्यस कार्यका उद्देश्य, र स्रोतहरू के-के हुन्? (शैतान।) खासगरी, ती त मानिसका महत्त्वाकाङ्क्षा र चाहनाहरूबाट, र शैतानको प्रकृतिबाट आएका हुन्छन्। त्यसोभए ख्रीष्टविरोधीको लक्ष्य के हो? तिनीहरूको उद्देश्य भनेको शक्ति कब्जा गर्नु, मानिसहरूको हृदय नियन्त्रण गर्नु र आफ्‍नो हैसियतका फाइदाहरूको आनन्द लिनु हो। वास्तविक ख्रीष्टविरोधीमा यही कुरा हुन्छ। मानिसहरूको मन जित्ने र मतविरोधीहरूलाई आक्रमण गर्ने र निष्कासन गर्ने यी दुई वटा कुराको दृष्टिकोणबाट हेर्दा, एउटा ख्रीष्टविरोधीले “अगुवा” भन्ने शब्दको अर्थ र अगुवाले खेल्ने भूमिकालाई कसरी व्याख्या गर्छ? तिनीहरूलाई अगुवा भनेको त्यस्तो व्यक्ति हो, जोसँग शक्ति र हैसियत हुन्छ, ऊसँग आफूले नेतृत्व गर्ने मानिसहरूलाई आदेश दिने, आफूतिर तान्ने, बहकाउने, धम्की दिने र नियन्त्रण गर्ने शक्ति हुन्छ भन्‍ने लाग्छ। तिनीहरूले “अगुवा” भन्‍ने शब्दलाई यसरी बुझेका हुन्छन्। त्यसैले, जब तिनीहरू नेतृत्वको भूमिकामा हुन्छन्, तिनीहरूले आफ्नो काममा यी कार्यनीतिहरू लागू गर्छन्, र तिनीहरूले यसरी नै आफ्नो कर्तव्य निर्वाह गर्छन्। त्यसोभए तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा वास्तवमा के गरिरहेका हुन्छन्? निर्धक्‍क साथ के भन्‍न सकिन्छ भने, तिनीहरूले दुष्कर्महरू गरिरहेका हुन्छन्, र अझै सटिक रूपमा भन्‍नुपर्दा, तिनीहरूले आफ्नै स्वतन्त्र राज्य स्थापना गरिरहेका हुन्छन्, चुनिएका मानिसहरू, मानिसहरूको हृदय र हैसियतका लागि परमेश्‍वरसँग प्रतिस्पर्धा गरिरहेका हुन्छन्। तिनीहरू मानिसहरूको हृदयमा रहेको परमेश्‍वरको स्थानलाई लिन, मानिसहरूलाई तिनीहरूको आराधना गर्न लगाउन चाहन्छन्। के तिमीहरूले प्रायजसो त्यस्ता अभिप्राय र उत्प्रेरणाहरू बोक्दैनौ र, अनि त्यस्ता व्यवहार र अभ्यासहरू देखाउँदैनौ र? के तिमीहरूले प्रायजसो यी शैतानी स्वभावहरू प्रकट गर्दैनौ र? (गर्छौँ।) यी शैतानी स्वभावहरूको प्रकटीकरण कत्तिको गम्भीर हुन सक्छ? के यो कुरा तिमीहरूले आफूलाई नियन्त्रण गर्न नसक्‍ने अवस्थामा पुगेको छ? जब यस्तो हुन्छ, के तिमीहरू केही चेतना, संयम र अनुशासन वहन गर्न सक्छौ? (सक्छौँ।) मलाई भन, के त्यस्तो व्यक्ति कोही छ, जसले शक्तिको चाहना गर्दै गर्दैन? के त्यस्तो कोही छ, जसले शक्ति मन पराउँदैन? के त्यस्तो कोही छ, जो हैसियतका लाभहरूको लालसा गर्दैन? छैन, कोही छैन। यसको कारण के हो? कारण के हो भने, मानिसहरू सबै शैतानद्वारा भ्रष्ट पारिका छन्; तिनीहरू सबैमा शैतानी स्वभाव छ। सबै मानिसहरूमा हुने एउटा साझा कुरा के हो भने, तिनीहरू शक्ति, हैसियत, र तिनले तिनीहरूलाई दिने फाइदाहरूको आनन्द लिन मन पराउँछन्। यो सबै मानिसहरूमा हुने विशेषता हो। त्यसोभए अरूले केवल ख्रीष्टविरोधीको स्वभाव प्रकट गर्दा वा तिनीहरू ख्रीष्टविरोधीको बाटोमा हिँड्दा कतिपय मानिसहरूलाई किन ख्रीष्टविरोधीका रूपमा लिइन्छ? यी दुई समूहको बीचमा के-कस्ता भिन्‍नताहरू छन्? पहिले, म तिनीहरूको मानवतामा रहेका भिन्‍नताका बारेमा कुरा गर्नेछु। के ख्रीष्टविरोधीहरूमा मानवता हुन्छ? ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्ने र ख्रीष्टविरोधी स्वयमको बीचमा रहेका भिन्‍नताहरू के-के हुन्? (ख्रीष्ट-विरोधीहरूमा विवेक र समझ हुँदैन, तिनीहरूमा मानवता हुँदैन, जबकि ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्ने मानिसहरूमा अझै अलिकति विवेक र समझ हुन्छ। तिनीहरूले अझै पनि सत्यता अनि परमेश्‍वरको न्याय र सजाय स्वीकार गर्न सक्छन्, र साँचो पश्चात्ताप पनि देखाउन सक्छन्।) पश्चात्ताप देखाउनु एउटा भिन्‍नता हो। के ख्रीष्टविरोधीहरूलाई पश्चात्ताप गर्न आउँछ? (अहँ, आउँदैन।) ख्रीष्टविरोधीहरूले सत्यतालाई अलिकति पनि स्वीकार गर्दैनन्; यदि तिनीहरूले ठक्‍कर नै खाए पनि, पश्चात्ताप गर्दैनन्। तिनीहरू आफैलाई कहिल्यै चिन्दैनन्। मानवताको हकमा भन्दा, ख्रीष्टविरोधीको मार्गमा हिँड्ने मानिसहरू त ख्रीष्टविरोधीहरूको बीचमा अर्को भिन्‍नता पनि छ, जुन औसत असल व्यक्ति र दुष्ट व्यक्तिमा हुने भिन्‍नता हो। असल मानिसहरूले विवेक र समझका साथ बोल्‍छन् र कामकुरा गर्छन्, जबकि दुष्ट मानिसहरूमा विवेक र समझ हुँदैन। जब दुष्ट मानिसहरूले कुनै नराम्रो काम गर्छन् र खुलासा हुन्छन्, तिनीहरूले भनेको मान्दैनन्: “सबैलाई थाहा भए पनि, के तिनीहरूले यसबारे केही गर्न सक्छन् र? मलाई जे मन लाग्छ त्यही गर्नेछु! मलाई कसले खुलासा गर्छ वा आलोचना गर्छ भन्ने कुराको मतलब छैन। कसैले मलाई साँच्‍चै के नै गर्न सक्छ र?” दुष्ट व्यक्तिले जतिसुकै नराम्रा कामहरू गरे पनि तिनीहरूलाई लाज हुँदैन। जब एउटा साधारण व्यक्तिले कुनै नराम्रो काम गर्छ, उसले त्यसलाई लुकाउन र ढाक्न चाहन्छ। यदि कसैले तिनीहरूको खुलासा गर्‍यो भने, तिनीहरूले लाजले गर्दा कसैको सामना गर्न सक्दैनन् र बाँच्न पनि चाहँदैनन्: “अहो, मैले कसरी यस्तो कुरा गर्न सकेँ? म साँच्‍चै निर्लज्ज व्यक्ति हुँ!” तिनीहरू अत्यन्तै पछुताउँछन् र आफूलाई सराप्ने कामसमेत गर्छन्, अनि फेरि यस्तो काम कहिल्यै नगर्ने कसम खान्छन्। यस्तो व्यवहार नै तिनीहरूसँग लाजको भावना छ, तिनीहरूमा अझै पनि केही मानवता छ भन्‍ने कुराको प्रमाण हो। निर्लज्ज व्यक्तिमा विवेक र समझ हुँदैन, र दुष्ट मानिसहरू सबै निर्लज्ज हुन्छन्। दुष्ट व्यक्तिले जुनसुकै प्रकारको नराम्रो काम गरे पनि, यसले तिनीहरूको अनुहार रातो पार्दैन वा तिनीहरूको मुटुको धड्कन बढाउँदैन, र तिनीहरूले अझै पनि निर्लज्ज भएर आफ्नो कार्यको रक्षा गर्नेछन्, नकारात्मक पक्षहरूलाई सकारात्मकमा बदल्नेछन्, र खराब कार्यहरूबारे यसरी बोल्नेछन्, मानौँ ती असल कार्य हुन्। के यस्तो व्यक्तिमा लाजको भाव हुन्छ? (हुँदैन।) यदि तिनीहरूमा यस्तो मनोवृत्ति छ भने, के तिनीहरूले भविष्यमा साँच्‍चै पश्चात्ताप गर्नेछन्? होइन, तिनीहरूले पहिले जस्तै व्यवहार गरिरहनेछन्। यसको मतलब तिनीहरू निर्लज्ज हुन्छन्, र निर्लज्जताको अर्थ विवेक र समझ नहुनु हो। विवेक र समझ भएका मानिसहरू नराम्रो काम गरेकोमा खुलासा भएपछि लाजले कसैको पनि सामना गर्न सक्दैनन्, र तिनीहरूले यस्तो काम फेरि कहिल्यै गर्दैनन्। किन? किनभने तिनीहरूलाई यो लाजमर्दो कुरा थियो भन्‍ने लाग्छ र लाजले गर्दा कसैको अनुहार हेर्न सक्दैनन्; तिनीहरूको मानवतामा लाजको भाव हुन्छ। के यो सामान्य मानवताको न्यूनतम मानक होइन र? (हो।) लाजसमेत महसुस नगर्ने व्यक्तिलाई मानव भन्‍न सकिन्छ र? सकिँदैन। के लाज महसुस नगर्ने व्यक्तिको दिमाग सामान्य हुन्छ? (हुँदैन।) तिनीहरूको दिमाग सामान्य हुँदैन, तिनीहरूमा सकारात्मक कुराहरूप्रतिको प्रेम हुनु त परको कुरा हो। तिनीहरूका लागि विवेक र समझ हुनु एउटा उच्च मानक हो, जसदेखि तिनीहरू निकै टाढा छन्। अब, ख्रीष्टविरोधीहरू र ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नेहरूबीचको सबैभन्दा आधारभूत भिन्‍नता के हो? जब ख्रीष्टविरोधीको सार भएको व्यक्तिलाई पदका लागि परमेश्‍वरसँग प्रतिस्पर्धा गरेकोमा अरू कसैले खुलासा गर्छ, तब तिनीहरूले आफूले गल्ती गरेको छु भन्‍ने सोच्दैनन्। पछि, तिनीहरूले आफ्‍ना पाठहरू नसिक्‍ने र परमेश्‍वरतिर नफर्कने मात्र होइन, बरु तिनीहरूले अगुवा वा सेवकका रूपमा निर्वाचित हुने मौका पाउनेबित्तिकै पहिलेजस्तै पश्‍चात्ताप गर्नुभन्दा मर्नु निको भन्‍ने सोच्दै हैसियतका लागि परमेश्‍वरसँग होड गर्ने कार्यलाई जारी राख्छन्। के यी मानिसहरूसँग कुनै तर्कशक्ति हुन्छ? (हुँदैन।) र के समझशक्ति नभएका मानिसहरूले कुनै लाज महसुस गर्छन्? (गर्दैनन्।) त्यस्ता मानिसहरूसँग कुनै तर्कशक्ति र लाजको भाव हुँदैन। जब सामान्य मानवता, विवेक र समझ भएका मानिसहरूले तिनीहरूले हैसियतका लागि परमेश्‍वरसँग होड गरिरहेका छन् भन्‍ने कुरा अरूबाट सुन्छन्, तब तिनीहरूले सोच्नेछन्, “ओहो, यो त गम्भीर कुरा हो! म परमेश्‍वरको अनुयायी हुँ! मैले उहाँसँग कसरी हैसियतका लागि होड गर्न सकेँ? हैसियतका लागि परमेश्‍वरसँग होड गर्नु कति लाजमर्दो कुरा हो! यसो गरेर म कति सुप्त, कति मूर्ख, कति अनुचित व्यक्ति बनेको छु! मैले कसरी यस्तो काम गर्न सकेँ?” तिनीहरूले आफूले गरेको कामका लागि लज्‍जित महसुस गर्नेछन्, र यस्तै अवस्थाहरूको सामना गर्दा, तिनीहरूको लज्जाबोधले तिनीहरूको व्यवहारलाई थाम्नेछ। सबै मानिसहरूको प्रकृति सार शैतानको प्रकृति सार हो, तर सामान्य मानवताको समझ हुनेहरूमा लाजको भाव हुनेछ, र तिनीहरूको व्यवहार नियन्त्रित हुनेछ। सत्यताप्रतिको व्यक्तिको बुझाइ बिस्तारै गहिरो हुँदै गएपछि, र परमेश्‍वरबारे तिनीहरूको ज्ञान र समझ र सत्यताप्रतिको समर्पण गहन हुँदै गएपछि, लाजको यो भाव न्यूनतम सीमा रहन छोड्नेछ। तिनीहरूलाई सत्यताले, र परमेश्‍वरप्रति डर मान्‍ने तिनीहरूको हृदयले झन्-झन् नियन्त्रण गर्दै जानेछ। तिनीहरूले आफूलाई सुधार्ने कार्यलाई जारी राख्‍नेछन्, र झन्-झन् सत्यताअनुरूप व्यवहार गर्दै जानेछन्। तर, के ख्रीष्टविरोधीहरूले सत्यतालाई पछ्याउनेछन्? तिनीहरू बिलकुलै गर्नेछैनन्। तिनीहरूमा सामान्य मानवताको समझ हुँदैन, तिनीहरूलाई सत्यताको पछि लाग्‍नुको अर्थ के हो भन्‍ने थाहा हुँदैन, र तिनीहरू सत्यताको विरुद्धमा हुन्छन् र तिनीहरूमा यसप्रति अलिकति पनि प्रेम हुँदैन, त्यसोभए तिनीहरूले कसरी सत्यतालाई पछ्याउन सक्छन्? सत्यतालाई पछ्याउनु एउटा सामान्य मानवीय आवश्यकता हो; धार्मिकताका लागि भोकाउने र तिर्खाउनेहरूले मात्र सत्यतालाई प्रेम गर्नेछन् र यसलाई पछ्याउनेछन्। सामान्य मानवता नहुनेहरूले सत्यतालाई कहिल्यै पछ्याउनेछैनन्।

ख्रीष्टविरोधीको बाटोमा हिँड्ने मानिसहरू वास्तविक ख्रीष्टविरोधीहरूभन्दा फरक हुन्छन्। कतिपय मानिसहरूले तिनीहरू ख्रीष्टविरोधीको स्वभावले भरिएका छन्, र तिनीहरूले ख्याति, लाभ र हैसियतलाई पछ्याउँछन् र गहन रूपमा यी कुराको कदर गर्छन्, र तिनलाई कहिल्यै त्याग्‍न सक्दैनन् भन्‍ने देख्छन्। तिनीहरूले तिनीहरूसँग ख्रीष्टविरोधीको स्वभाव छ र तिनीहरूले मुक्ति पाउन सक्दैनन् भनेर दृढतापूर्वक विश्‍वास गर्छन्। यदि तैँले आफूलाई साँचो रूपमा चिनेको छैनस् र तँलाई तँ ख्रीष्टविरोधी होस् कि दुष्ट व्यक्ति होस् भन्‍ने थाहा छैन भने, तैँले तँसँग कुनै लाजको बोध वा भावना छ कि छैन भनेर मनन गर्नुपर्छ। छैन भने, तँ खतरामा छस्, र तँमा दुष्ट व्यक्ति वा ख्रीष्टविरोधीको प्रकृति सार छ भनेर भन्‍न सकिन्छ। यदि तँ अहिले ख्रीष्टविरोधी होइनस् भने पनि, तँ भविष्यमा हुन सक्छस्। सत्यताको नपछ्याउनेहरूले सबैभन्दा कम इच्छा गर्ने कुरा भनेको आत्म-चिन्तन गर्नु र आफूलाई चिन्‍नु हो। तिनीहरू भन्छन्: “मलाई कसले ख्रीष्टविरोधी भनेर भन्छ भन्ने कुराको कुनै मतलब छैन। ख्याति, लाभ र हैसियत कसलाई मन पर्दैन र? जसले आफूलाई ख्याति, लाभ र हैसियत मन पर्दैन भन्छ, त्यसले झूट बोलिरहेको हुन्छ। हैसियत पाएर यसको फाइदाहरूको आनन्द नलिई को बस्‍न सक्छ? मूर्खले मात्र त्यस्तो गर्न सक्छ। हैसियतका फाइदाहरूको आनन्द लिन सक्‍नु भनेको क्षमता हो!” कस्तो व्यक्तिले यस्ता कुराहरू भन्छ? के यो सत्यताबाट विमुख व्यक्ति होइन र? यस्तो व्यक्ति असाध्यै जिद्दी हुन्छ—के तिनीहरूलाई मुक्ति दिन सकिन्छ? तिनीहरूलाई पटक्‍कै मुक्ति दिन सकिँदैन, किनभने परमेश्‍वरले दुष्ट मानिसहरूलाई मुक्ति दिनुहुन्‍न; यस्ता मानिसहरू शैतानजस्तै हुन्, तिनीहरू पशु हुन्। कतिपय मानिसहरूलाई तिनीहरू परमेश्‍वरको मुक्तिको पात्र हुन्छु कि हुँदिन भन्‍ने थाहा हुँदैन। यस अवस्थामा, जब परमेश्‍वरका वचनहरूले तेरो प्रकृति सार र तेरो भ्रष्ट स्वभावको खुलासा गर्दछ, तब तैँले यसलाई महसुस गर्न र मनमा लाज मान्‍न सक्छस् कि सक्दैनस्, र तँलाई परमेश्‍वरले खुलासा गर्नुभएको कुरा तेरो साँचो स्वरूप हो भन्‍ने लाग्छ कि लाग्दैन, र त्यसले तँलाई लज्जित र आफू लुक्‍ने कुनै ठाउँ छैन जस्तो महसुस गराउँछ कि गराउँदैन भन्ने कुरालाई नियालेर हेर्। यदि तँलाई यस्तो लाजको बोध भयो भने, यदि तँमा यस्तो जागरूकता आयो भने, यो राम्रो कुरा हो। यस्तो भन्‍ने मानिसहरू पनि छन्: “परमेश्‍वरका वचनहरूले मेरो राम्ररी खुलासा गरेका छन्। म लाजले कसैको अनुहार हेर्न सक्दिनँ र म लुक्‍ने ठाउँ कहीँ छैन। मेरो विचारमा त मलाई नरकमा पठाउनुपर्छ, म परमेश्‍वरको मुक्तिको योग्य छैनँ। मेरो नकारात्मकता यति धेरै छ कि म बाँच्न योग्य पनि छैन जस्तो लाग्छ। म मर्नुपर्छ र यो सब कुरालाई यहीँ टुङ्ग्याउनुपर्छ।” यस्तो महसुस गर्नु राम्रो कुरा हो कि नराम्रो कुरा हो? यो राम्रो कुरा हो। कतिपय मानिसहरूले यो कुरा बुझ्दैनन्, र भन्छन्: “यो कसरी राम्रो कुरा हुन सक्छ?” (यसले त्यो व्यक्तिमा लाजको बोध छ भन्‍ने देखाउँछ।) यस कुरालाई लाजले निर्धारित गर्दैन। सर्वप्रथम, यस्तो भावना हुनुको अर्थ तैँले कम्‍तीमा पनि परमेश्‍वरका वचनहरू बुझेको छस् भन्‍ने हुन्छ। दोस्रो, तेरो आत्मज्ञानको आधार के हो? (परमेश्‍वरका वचनहरूलाई स्वीकार गर्नु।) ठीक भनिस्। तँ परमेश्‍वरका वचनहरू सत्यता हुन् भन्‍ने स्वीकार गर्छस्, जसको अर्थ के हो भने, तैँले मुक्ति पाउन सक्छस् कि सक्दैनस् र तँ कस्तो व्यक्ति होस् भनेर मूल्याङ्कन गर्ने मानकका रूपमा परमेश्‍वरका वचनहरू प्रयोग गरिरहेको छस्—तैँले उहाँका वचनहरूलाई आत्म-मूल्याङ्कनको मानक बनाइसकेको छस्। यसले तँमा ती वचनहरूप्रति साँचो विश्‍वास छ भन्‍ने प्रमाणित गर्दछ। जब तँसँग परमेश्‍वरप्रति साँचो विश्‍वास हुन्छ, तब मात्र तैँले उहाँका वचनहरूलाई सत्यता अनि आत्म-मूल्याङ्कनको मान्‍न सक्छस्। जसले यो गर्छ, उसले मुक्ति पाउने मौका पाउँछ—यो कुरा कुनै व्यक्तिमा लाजको बोध छ कि छैन भन्‍ने जस्तो सरल छैन।

जहाँसम्‍म ख्रीष्टविरोधीहरूले मतविरोधीहरूलाई आक्रमण र निष्कासन गर्ने प्रकटीकरणको कुरा छ, हामीले “विरोधी” भन्‍ने शब्दको परिभाषाबारे छलफल गरिसकेका छौँ। त्यसोभए कुन-कुन मानिसहरू यस शब्‍दको दायराभित्र पर्छन्? यसमा मुख्यतया ख्रीष्टविरोधीहरूको भन्दा फरक दृष्टिकोण राख्‍ने र तिनीहरूले भन्दा फरक बाटो हिँड्ने मानिसहरू पर्छन्। ख्रीष्टविरोधीहरूको नजरमा, यी सबै मानिसहरू मतविरोधी बन्छन्, र ख्रीष्टविरोधीहरूको आक्रमणको निशाना तिनीहरू नै हुन्छन्। ख्रीष्टविरोधीहरूले मतविरोधीहरूलाई आक्रमण र निष्कासन गर्नु पूर्ण रूपमा न्यायसङ्गत कार्य हो, यो परमेश्‍वरको घरको कामको रक्षा गर्नु र मण्डलीको जीवनको रक्षा गर्नु हो भन्ने विश्वास गर्छन्, तर वास्तवमा यो तिनीहरूको आफ्नै हैसियत र शक्तिको रक्षा गर्ने माध्यम र विधि हो। यसले परमेश्‍वरको घरको कामको रक्षा गर्ने काम गर्दै गर्दैन, यसले परमेश्‍वरका चुनिएकाहरूका लागि मण्डली जीवनको सामान्य व्यवस्था कायम राख्‍नु त परको कुरा हो। यहाँ उल्लेख गरिएका केही मतविरोधीहरू सत्यताको पछि लाग्‍ने मानिसहरू हुन्। हामी यसबारे निश्‍चित हुन सक्छौँ, किनभने ख्रीष्टविरोधीहरू सत्यताको पछि लाग्ने मानिसहरूको विरुद्धमा जान्छन्, र सत्यताको पछि लाग्‍नेहरूले मात्र ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन सक्छन्।

जनवरी २२, २०१९

अर्को: विषयवस्तु पाँच: तिनीहरूले मानिसहरूलाई भ्रममा पार्छन्, लोभ्याउँछन्, धम्काउँछन् र नियन्त्रणमा राख्छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्