विश्वासमा, व्यक्तिले वास्तविकतालाई जोड दिनुपर्छ—धार्मिक विधिविधानमा संलग्न हुनु विश्वास होइन
तँ कति वटा धार्मिक अभ्यास पालन गर्छस्? तैँले कति पटक परमेश्वरको वचनविरुद्ध गएर आफ्नै बाटो पछ्याएको छस्? तैँले साँच्चै परमेश्वरका बोझहरूलाई ख्याल गर्ने र उहाँका अभिप्रायहरू पूरा गर्न खोज्ने भएकाले तैँले कति पटक उहाँको वचनलाई व्यवहारमा लागु गरेको छस्? तैँले परमेश्वरको वचन बुझ्नुपर्छ, त्यसअनुसार अभ्यास गर्नुपर्छ, अनि तँ तेरा सबै गतिविधि र कार्यमा सिद्धान्तनिष्ठ हुनुपर्छ; यसको अर्थ प्रावधानहरू पालन गर्नु वा देखाउनका लागि मात्रै अनिच्छापूर्वक केही काम गर्नु होइन, बरु यसको अर्थ सत्यता अभ्यास गर्नु र परमेश्वरको वचनअनुसार जिउनु हो। यस्तो अभ्यासले मात्र परमेश्वरलाई सन्तुष्ट पार्छ। परमेश्वरलाई सन्तुष्ट पार्ने कुनै पनि कार्य कुनै प्रावधान होइन, सत्यताको अभ्यास हो। कतिपय मानिस रबाफ देखाउन मन पराउँछन्। आफ्ना दाजुभाइ-दिदीबहिनीहरूको उपस्थितिमा, तिनीहरूले आफू परमेश्वरप्रति ऋणी भएको भनेर भन्लान्, तर उनीहरूको पिठ्युँपछाडि, तिनीहरू सत्यता अभ्यास गर्दैनन् र पूर्ण रूपमा फरक व्यवहार गर्छन्। के यिनीहरू धार्मिक फरिसी होइनन् र? परमेश्वरलाई साँच्चै प्रेम गर्ने र सत्यता बोकेको व्यक्ति त्यो हो जो परमेश्वरप्रति बफादार हुन्छ तर बाहिरी रूपमा यो रबाफ देखाउँदैन। त्यस्तो व्यक्ति परिस्थितिहरू उत्पन्न हुँदा सत्यता अभ्यास गर्न इच्छुक हुन्छ, र आफ्नो विवेकविरुद्ध जाने तरिकाले बोल्ने वा काम गर्ने गर्दैन। यस्तो प्रकारको व्यक्ति मामलाहरू उत्पन्न हुँदा बुद्धि प्रदर्शन गर्छ, र परिस्थितिहरू जस्तोसुकै भए पनि आफ्ना कार्यहरूमा सिद्धान्तनिष्ठ हुन्छ। यो त्यस्तो प्रकारको व्यक्ति पनि हो जसले साँचो सेवा प्रदान गर्न सक्छ। कतिपय यस्ता हुन्छन् जो अक्सर परमेश्वरप्रति ऋणी भएर ओठेसेवा गर्छन्; तिनीहरू चिन्तामा निधार खुम्च्याएर, नक्कली रूप देखाउँदै र दयनीय भएको ढोँग गर्दै दिनहरू बिताउँछन्। कति घिनलाग्दो! यदि तैँले तिनीहरूलाई, “तँ परमेश्वरप्रति कसरी ऋणी छस् भनेर तँ मलाई भन्न सक्छस्?” भनेर सोधिस् भने तिनीहरू अवाक् हुनेछन्। यदि तँ परमेश्वरप्रति बफादार छस् भने, तैँले बाहिरी रूपमा यसबारे कुरा गर्नेछैनस्; बरु तैँले वास्तविक अभ्यासमार्फत परमेश्वरप्रतिको तेरो प्रेम प्रदर्शन गर्नेछस्, र साँचो हृदयले उहाँलाई प्रार्थना गर्नेछस्। परमेश्वरलाई ओठेसेवा मात्र गर्नेहरू सबै पाखण्ड हुन्! कतिपय मानिस, पवित्र आत्माद्वारा प्रेरित नहुँदा समेत, हरेक पटक प्रार्थना गर्दा परमेश्वरप्रति ऋणीपनको कुरा गर्छन्, र हरेक पटक प्रार्थना गर्दा रुन थाल्छन्, चाहे त्यो जतिसुकै बेला किन नहोस्। यस्ता मानिसहरू धार्मिक अनुष्ठान र धारणाहरूको प्रभुत्वमा हुन्छन्; तिनीहरू त्यस्ता अनुष्ठान र धारणाहरूद्वारा जिउँछन्, र सधैँ ती कार्यहरूले परमेश्वरलाई खुसी पार्ने र उहाँले देखावटी भक्ति वा दुःखको आँसुलाई निगाह गर्ने विश्वास गर्छन्। के त्यस्ता असङ्गत मानिसहरू कहिल्यै कतै पुग्न सक्छन् र? नम्रता प्रदर्शन गर्नका निम्ति, कतिपयले अरूको उपस्थितिमा बोल्दा अनुग्रहीपनको नाटक गर्छन्। कतिपय चाहिँ अरू मानिसहरूको उपस्थितिमा जानाजानी चाकर गर्छन्, एकरत्ती शक्ति नभएका थुमाहरू जस्तै व्यवहार गर्छन्। के यो राज्यका मानिसहरूलाई सुहाउने तरिका हो? राज्यका मानिसहरू जीवन्त र स्वतन्त्र, शुद्ध र खुला, इमानदार र प्रेमको लायक हुनुपर्छ, र स्वतन्त्रताको स्थितिमा जिइरहेको हुनुपर्छ। जहाँ जाँदा पनि तिनीहरूसँग निष्ठा र इज्जत हुनुपर्छ र तिनीहरू आफ्नो गवाहीमा दृढ रहन सक्ने हुनुपर्छ; त्यस्ता मानिसहरूलाई परमेश्वर र मानिस दुवैले प्रेम गर्छन्। जो विश्वासमा नयाँ सिकारु हुन् तिनीहरूसँग बाहिरी अभ्यासहरू अति धेरै हुन्छन्; तिनीहरूले सुरुमा एक समय काटछाँट र तोडाइ भोग्नैपर्छ। परमेश्वरप्रति भित्री विश्वास हुनु भनेको अरूले देख्न सक्ने कुरा होइन, तर भित्री विश्वास हुने मानिसहरूका गतिविधि र कार्यहरू सराहनीय हुन्छन्। त्यस्ता मानिसहरूलाई मात्रै परमेश्वरका वचनहरू जिइरहेको मान्न सकिन्छ। यदि तँ विभिन्न मानिसलाई मुक्तिमा ल्याउने प्रयासमा हरेक दिन तिनीहरूलाई सुसमाचार प्रचार गर्छस्, तैपनि अन्त्यमा अझै पनि प्रावधान र धर्मसिद्धान्तहरूद्वारा जिइरहेको छस् भने, तँ परमेश्वरलाई महिमा दिलाउन सक्दैनस्। त्यस्ता मानिसहरू धार्मिक व्यक्तित्व हुन्, साथै पाखण्ड पनि हुन्। जब-जब ती धार्मिक मानिसहरू एकजुट हुन्छन्, तब तिनीहरूले सोध्न सक्छन्, “बहिनी, आजभोलि तँलाई कस्तो छ?” उसले यस्तो जवाफ दिन सक्छे, “मलाई म परमेश्वरप्रति ऋणी छु, र म उहाँका अभिप्रायहरू पूरा गर्न असमर्थ छु भन्ने लाग्छ।” अर्कोले भन्ला, “मलाई पनि म परमेश्वरप्रति ऋणी छु र म उहाँलाई सन्तुष्ट पार्न असमर्थ छु भन्ने लाग्छ।” यी केही वाक्य र शब्दले मात्रै तिनीहरूभित्र गहिराइमा रहेका दुष्ट कुराहरू व्यक्त गर्छन्; त्यस्ता शब्दहरू सबैभन्दा तिरस्कार्य, र अत्यन्तै अरुचिकर हुन्छन्। त्यस्ता मानिसहरूको प्रकृति परमेश्वरविरोधी हुन्छ। वास्तविकतामा ध्यान केन्द्रित गर्नेहरू आफ्नो मनमा जे छ त्यही सङ्गति गर्छन्, र खुला हृदयले त्यसो गर्छन्। तिनीहरू एउटै पनि झूटो अभ्यासमा संलग्न हुँदैनन्, न त त्यस्ता शिष्टाचारहरू न त खोक्रा मीठा कुराहरू नै प्रदर्शन गर्छन्। तिनीहरू सधैँ सिधा कुरा गर्छन्, र कुनै पनि सांसारिक नियम पालन गर्दैनन्। कतिपय मानिसमा बाहिरी प्रदर्शनको अनुराग हुन्छ, यहाँसम्म कि तिनीहरूमा समझको पूर्ण कमी हुन्छ। कसैले गीत गाउँदा, तिनीहरू नाच्न थाल्छन्, र आफ्नो भाँडोमा भात डढिसकेको समेत चाल पाउँदैनन्। त्यस्ता मानिसहरू भक्त वा आदर्शमयी हुँदैनन्, र तिनीहरू अत्यन्तै मामुली हुन्छन्। ती सबै कुरा वास्तविकताको कमीका प्रकटीकरण हुन्। कतिपय मानिसले आत्मिक जीवनका मामलाहरूबारे सङ्गति गर्दा, तिनीहरूले परमेश्वरप्रति ऋणी भएको बारेमा केही पनि नबोले पनि, तिनीहरूको अन्तस्करणमा उहाँप्रति एउटा साँचो प्रेम चाहिँ हुन्छ। परमेश्वरप्रतिको तेरो ऋणीपनको भावनाको अरू मानिसहरूसँग कुनै सरोकार छैन; तँ परमेश्वरप्रति ऋणी छस्, मानिसहरूप्रति होइन। तैँले यसबारे निरन्तर अरूलाई सुनाउनुको के फाइदा छ र? तैँले वास्तविकतामा प्रवेश गर्नुलाई महत्त्व दिनुपर्छ, कुनै बाहिरी जोस वा प्रदर्शनलाई होइन। मानिसहरूको बाहिरी असल व्यवहारले केलाई प्रतिनिधित्व गर्छ? यसले देहलाई प्रतिनिधित्व गर्छ; सबैभन्दा राम्रा बाहिरी अभ्यासहरूले समेत जीवनलाई प्रतिनिधित्व गर्दैनन्, र तिनले तेरो आफ्नै व्यक्तिगत चित्तप्रकृति मात्र देखाउन सक्छन्। मानवताका बाहिरी अभ्यासहरूले परमेश्वरका अभिप्रायहरूलाई पूरा गर्न सक्दैनन्। तँ निरन्तर परमेश्वरप्रतिको तेरो ऋणीपनको कुरा गर्छस्, तैपनि तँ अरूको जीवन आपूर्ति गर्न वा परमेश्वरलाई प्रेम गर्ने तिनीहरूको हृदयलाई जगाउन सक्दैनस्। के तँ तेरा ती कार्यहरूले परमेश्वरलाई सन्तुष्ट पार्नेछन् भन्ने विश्वास गर्छस्? तँलाई तैँले यसरी काम गर्नु परमेश्वरको अभिप्राय हो, र तेरा कार्यहरू आत्मिक छन् भन्ने लाग्छ, तर वास्तवमा, ती सबै असङ्गत कुरा हुन्! तँ के विश्वास गर्छस् भने तँलाई जे मन पर्छ र तँ जे गर्न इच्छुक छस् ठीक तिनै कुराहरूमा परमेश्वर रमाइलो मान्नुहुन्छ। के तँलाई मन पर्ने कुराहरूले परमेश्वरको प्रतिनिधित्व गर्न सक्छन्? के कुनै व्यक्तिको व्यक्तित्वले परमेश्वरको प्रतिनिधित्व गर्न सक्छ? तँ ठीक त्यही कुरा मन पराउँछस् जसलाई परमेश्वरले घृणा गर्नुहुन्छ, र तेरा बानीहरू ती हुन् जसलाई परमेश्वरले तिरस्कार गर्नुहुन्छ। यदि तँ ऋणी महसुस गर्छस् भने, गएर परमेश्वरसामु प्रार्थना गर्; यसबारे अरूलाई भन्नुपर्ने आवश्यकता नै छैन। यदि तँ परमेश्वरसामु प्रार्थना गर्दैनस्, र त्यसको सट्टा अरूको उपस्थितिमा निरन्तर आफ्नै देखावा गर्छस् भने, के यसले परमेश्वरका अभिप्रायहरू पूरा गर्न सक्छ? यदि तँ सधैँ बाहिरी रूपमा कामकुराहरू गर्नमा केन्द्रित हुन्छस् भने, यसको अर्थ तँ चरम रूपमा दम्भी छस् भन्ने हुन्छ। जो बाहिरी रूपमा मात्र असल व्यवहार गर्छन् र वास्तविकताविहीन छन् तिनीहरू कस्ता प्रकारका मानिस हुन्? तिनीहरू पाखण्डी फरिसी र धार्मिक व्यक्तित्व हुन्! यदि तिमीहरूले आफ्ना बाहिरी अभ्यासहरू छोडेनौ र परिवर्तनहरू ल्याउन सकेनौ भने, तिमीहरूभित्र रहेका पाखण्डीपनका तत्त्वहरू अझै बढ्नेछन्। तिमीहरूका पाखण्डीपनका तत्त्वहरू जति धेरै हुन्छन्, परमेश्वरप्रतिको प्रतिरोध त्यति नै बढी हुन्छ। अन्त्यमा, त्यस्ता मानिसहरू अवश्यै हटाइनेछन्!