आज परमेश्‍वरको कामको बारेमा जान्‍नेहरूले मात्र परमेश्‍वरको सेवा गर्न सक्‍छन्

परमेश्‍वरको गवाही हुन अनि ठूलो रातो अजिङ्गरलाई लज्जित पार्नको लागि, व्यक्तिसित सिद्धान्त हुनुपर्छ, अनि व्यक्तिले सर्त पूरा गर्नुपर्छ: व्यक्तिले परमेश्‍वरलाई आफ्‍नो हृदयमा प्रेम गर्नुपर्छ र उहाँको वचनमा प्रवेश गर्नुपर्छ। यदि तँ परमेश्‍वरको वचनमा प्रवेश गर्दैनस् भने, शैतानलाई लज्जित तुल्याउन तँसित कुनै तरिका हुनेछैन। तेरो जीवनको वृद्धिद्वारा नै तैँले ठूलो रातो अजिङ्गरलाई परित्याग गर्छस् र त्यसलाई बेइज्जतीको भारी बोकाउँछस्; ठूलो रातो अजिङ्गरलाई साँच्चै लज्जित पार्नु भनेको यही मात्र हो। परमेश्‍वरका वचनहरूलाई व्यवहारमा लागू गर्न तँ जति बढी इच्छुक हुन्छस्, परमेश्‍वरप्रतिको तेरो प्रेम अनि ठूलो रातो अजिङ्गरप्रतिको तेरो घृणाको प्रमाण त्यति नै ठूलो हुन्छ; परमेश्‍वरका वचनहरूलाई तैँले जति धेरै पालन गर्छस्, सत्यताप्रतिको तेरो चाहनाको प्रमाण त्यति नै ठूलो हुन्छ। परमेश्‍वरका वचनहरूको चाहना नगर्ने मानिस जीवनविनाका मानिसहरू हुन्। यस्ता मानिसहरू परमेश्‍वरको वचनबाहिरका मानिसहरू हुन्, जो धर्मको अधीनमा हुन्छन। परमेश्‍वरमाथि साँचो रूपले विश्‍वास गर्ने मानिसहरूले, परमेश्‍वरको वचन खाएर अनि पिएर उहाँका वचनहरूको गहन ज्ञान पाएका हुन्छन्। यदि तँ परमेश्‍वरका वचनहरूको चाहना गर्दैनस् भने, तैँले साँचो रूपले उहाँको वचनहरू खान र पिउन सक्दैनस्, अनि तँमा परमेश्‍वरका वचनहरूको ज्ञान छैन भने, तँमा परमेश्‍वरलाई साक्षी दिने वा परमेश्‍वरलाई सन्तुष्ट पार्ने कुनै माध्यम नै हुँदैन।

परमेश्‍वरमा विश्‍वास गर्दा, परमेश्‍वरलाई कसरी चिन्नुपर्छ? व्यक्तिले पथभ्रष्ट वा भ्रमित नभई परमेश्‍वरका वचनहरू अनि परमेश्‍वरको आजको कामको आधारमा नै परमेश्‍वरलाई चिन्नुपर्छ, र सबैभन्दा पहिला, उसले परमेश्‍वरको कामलाई जान्‍नुपर्छ। परमेश्‍वरलाई चिन्नुको आधार यही हो। परमेश्‍वरका वचनहरूको सटीक बुझाइ नभएका ती सबै विभिन्‍न भ्रमहरू धार्मिक धारणाहरू मात्र हुन्; ती विकृत अनि गलत बुझाइ हुन्। धार्मिक व्यक्तित्वहरूको सबैभन्दा ठूलो खुबी भनेको विगतमा बुझिएका परमेश्‍वरका वचनहरूलाई लिनु अनि ती वचनहरूलाई आजका परमेश्‍वरका वचनहरूसँग तुलना गर्नु हो। यदि आजका परमेश्‍वरलाई सेवा गरिरहँदा तँ विगतमा पवित्र आत्माको अन्तर्दृष्टिद्वारा प्रकट गरिएका कुराहरूमा टाँसिरहन्छस् भने, तेरो सेवाले बाधा सृजना गर्नेछ, अनि तेरो अभ्यास पुरानो हुनेछ, त्यो धार्मिक रीति बाहेक केही हुनेछैन। यदि परमेश्‍वरको सेवा गर्नेहरूमा, अरू योग्यताहरूका अलावा, तिनिहरू बाहिरी रूपले नम्र र धैर्य हुनैपर्छ भन्‍ने कुरामा तैँले विश्‍वास गर्छस् भने, अनि आज तैँले यस प्रकारको ज्ञानको अभ्यास गरिस् भने, यस्तो ज्ञान केवल धार्मिक धारणा हुन्छ; यस्तो अभ्यास केवल देखावटी कार्य बनेको छ। “धार्मिक धारणा” भन्‍ने वाक्यांशले प्राचीन र अप्रचलित (परमेश्‍वरले पहिले बोल्नुभएका वचनहरू अनि पवित्र आत्माले सोझै प्रकट गर्नुभएको प्रकाशलगायत) कुराहरूलाई दर्साउँछ, अनि ती कुराहरूलाई आज अभ्यास गरियो भने, त्यसले परमेश्‍वरको कामलाई बाधा पुर्‍याउँछ, अनि मानिसलाई केही पनि लाभ हुँदैन। यदि मानिसहरूले धार्मिक धारणाभित्र पर्ने ती कुराहरूलाई आफूबाट हटाउन सकेनन् भने, ती कुराहरू परमेश्‍वरको सेवा गर्ने तिनीहरूको कार्यमा ठूलो बाधा बन्‍नेछन्। धार्मिक धारणा बोकेका मानिससँग पवित्र आत्माको कामसित कदम मिलाउने कुनै उपाय हुँदैन—तिनीहरू एक कदम, दुई कदम गर्दै पछि पर्छन्। यस्तो हुन्छ किनभने यी धार्मिक धारणाहरूले मानिसलाई असाधारण रूपमा स्व-धर्मी र अहङ्कारी बनाउँछ। परमेश्‍वरले विगतमा उहाँले जे भन्नुभएको थियो र जे गर्नुभएको थियो त्यसलाई सम्झेर बस्नुहुन्न; यदि कुनै कुरा काम नलाग्‍ने भयो भने, उहाँले त्यसलाई हटाउनुहुन्छ। के तँ आफ्‍ना धारणाहरू त्याग्न साँच्चै असक्षम छस्? यदि तँ विगतमा परमेश्‍वरले बोल्नुभएका वचनहरूमा नै झुन्डिन्छस् भने, के त्यसले तैँले परमेश्‍वरको कामलाई बुझ्छस् भन्‍ने प्रमाणित गर्छ? यदि तैँले आज पवित्र आत्माको ज्योति ग्रहण गर्न सक्दैनस्, बरु त्यही पुरानो प्रकाशमा झुन्डिरहन्छस् भने, के त्यसले तैँले परमेश्‍वरको पाइला पछ्याइरहेको छस् भन्‍ने प्रमाणित गर्छ? के तँ अझै पनि धार्मिक धारणाहरू त्याग्न असक्षम छस्? यदि त्यसो हो भने, तँ परमेश्‍वरले विरोध गर्ने व्यक्ति बन्‍नेछस्।

यदि मानिसहरूले धार्मिक धारणाहरूलाई त्याग्‍न सक्छन् भने, तिनीहरूले आज परमेश्‍वरका वचनहरू र कामलाई नाप्न तिनीहरूले दिमाग लगाउन छाड्नेछन, त्यसको साटो प्रत्यक्ष रूपले तिनको पालन गर्नेछन्। आज परमेश्‍वरको कार्य स्पष्टतः विगतको जस्तो नभए पनि तैँले विगतको दृष्टिकोणलाई त्याग्न अनि परमेश्‍वरको आजको कार्यलाई सोझै पालन गर्न सक्छस्। विगतमा परमेश्‍वरले जस्तोसुकै प्रकारले कार्य गर्नुभएको भए तापनि, यदि तैँले आजका परमेश्‍वरको कामलाई महत्वपूर्ण स्थान दिनुपर्छ भन्‍ने कुरा बुझ्‍न सक्छस् भने, तँ आफ्‍ना धारणाहरूलाई त्यागिसकेको, परमेश्‍वरको आज्ञापालन गर्ने, अनि परमेश्‍वरका कार्य अनि वचनहरू पालन गर्न र उहाँका पाइलाहरू पछ्याउन सक्‍ने व्यक्ति होस्। यसमा, तँ साँचो रूपले परमेश्‍वरको आज्ञापालन गर्ने व्यक्ति बन्छस्। तैँले परमेश्‍वरको कार्यलाई विश्लेषण वा सुक्ष्म जाँच गर्दैनस्; यो कुरा परमेश्‍वरले आफ्‍नो पहिलेको काम बिर्सनुभएको, र तैँले पनि यसलाई बिर्सेको छस् भन्‍ने जस्तै हो। वर्तमान वर्तमान नै हो, अनि विगत विगत नै हो, विगतमा उहाँले गर्नुभएका कुराहरूलाई परमेश्‍वरले पन्छाउनुभएको छ, तँ त्यसैमा बसिरहनु हुँदैन। त्यस्तो व्यक्तिले मात्रै सम्पूर्ण रीतिले परमेश्‍वरको आज्ञा मान्छन् अनि आफ्‍ना धार्मिक धारणाहरूलाई पूर्ण रूपले त्यागेका हुन्छन्।

परमेश्‍वरको कार्यमा सधैँ नयाँ प्रगतिहरू भइरहने हुनाले, नयाँ कार्यहरू पैदा हुने क्रममा अप्रचलित र पुरानो हुँदै जाने कार्य पनि छन्। यी विभिन्न किसिमका कार्यहरू, अर्थात् पुराना र नयाँ कार्यहरू, एक-अर्कामा विरोधाभासपूर्ण छैनन्, बरु परिपूरक छन्; प्रत्येक चरण पछिल्‍लो चरणपछि आउँछ। नयाँ काम आइसकेको हुनाले, पुराना कुराहरूलाई निश्चय नै हटाइनुपर्छ। उदाहरणको लागि, धेरै अघिदेखि स्थापित चलनचल्तीहरू अनि मानिसका प्रचलित भनाइहरूले, मानिसका धेरै वर्षका अनुभव अनि शिक्षाहरूसँग मिलेर, मानिसको मन-मस्तिष्कमा अनेक प्रकार र स्वरूपका आदत र धारणाहरू बनाएका हुन्छन्। परमेश्‍वरले मानिसलाई उहाँको साँचो मुहार अनि उहाँमा निहित स्वभाव पूर्ण रूपले प्रकट गर्न बाँकी छ, साथै प्राचीनकालदेखि नै धेरै वर्षसम्‍म फैलिएका परम्‍परागत सिद्धान्तहरूले मानिसमा यस्ता धारणाहरूको निर्माणमा अझ धेरै भूमिका खेलेको छ। परमेश्‍वरमाथिको मानिसको विश्‍वासको सिलसिलामा, विभिन्न प्रकारका धारणाहरूका प्रभावले मानिसमा परमेश्‍वरसम्‍बन्धी अनेक किसिमका धारणागत बुझाइहरूको निरन्तर निर्माण र विकास गरेको छ, जसले गर्दा परमेश्‍वरको सेवा गर्ने धेरै धार्मिक मानिसहरू उहाँको शत्रु हुनपुगेका छन्। त्यसकारण, मानिसहरूको धार्मिक धारणाहरू जति बलिया हुन्छन्, तिनीहरूले त्यति नै बढी परमेश्‍वरको विरोध गर्छन्, अनि तिनीहरू त्यति नै बढी परमेश्‍वरका शत्रु बन्छन्। परमेश्‍वरको काम सधैँ नै नयाँ हुन्छ र कहिल्यै पुरानो हुँदैन; यसले कहिले पनि धर्मसिद्धान्तको निर्माण गर्दैन, बरु धेरै वा थोरै हदमा यो निरन्तर बदलिरहन्छ र नवीकरण भइरहन्छ। यो तरिकाले कार्य गर्नु परमेश्‍वर स्वयम्‌को निहित स्वभावको एउटा अभिव्यक्ति हो। यो परमेश्‍वरको कार्यको निहित सिद्धान्त पनि हो, अनि यो परमेश्‍वरले आफ्‍नो व्यवस्थापन कार्यलाई पूरा गर्ने एक साधन पनि हो। यदि परमेश्‍वरले यसरी कार्य नगर्नुभएको भए, मानिस परिवर्तन हुनेथिएन वा उसले परमेश्‍वरलाई चिन्न सक्‍नेथिएन, अनि शैतानलाई हराउन सकिनेथिएन। तसर्थ, उहाँको कार्यमा, अस्थिर देखिने तर वास्तवमा आवधिक रहेका परिवर्तनहरू निरन्तर भइरहन्छन्। तैपनि, मानिसले जसरी परमेश्‍वरमा विश्‍वास गर्छ, त्यो बिलकुलै फरक हुन्छ। ऊ पुराना, परिचित धर्मसिद्धान्त र प्रणालीहरूमा नै झुन्डिरहन्छ, अनि तिनीहरू जति पुराना हुन्छन्, उसलाई ती त्यति नै राम्रा लाग्छन्। कसरी मानिसको मूर्ख मस्तिष्कले, एउटा ढुङ्गा जस्तै कठोर मस्तिष्कले, परमेश्‍वरको अथाह नयाँ काम र वचनलाई स्वीकार गर्न सक्छ? मानिसले त्यो परमेश्‍वरलाई घृणा गर्छ, जो सर्वदा नयाँ रहनुहुन्छ अनि कहिले पुरानो हुनुहुँदैन; ऊ केवल पुरानो परमेश्‍वरलाई मात्र मन पराउँछ, जसको लामो दाँत, सेतो कपाल हुन्छ, अनि जो एक ठाउँमा नै अडिग हुनुहुन्छ। तसर्थ, परमेश्‍वर र मानिसका आ-आफ्नै मनपर्ने कुराहरू भएको कारण, मानिस परमेश्‍वरको शत्रु बनेको छ। आज पनि, परमेश्‍वरले छ हजार वर्षदेखि नयाँ कार्य गर्दै आइरहनुभएको यस्तो समयमा पनि, अझै यस्ता धेरै विरोधाभासहरू छन्। अनि तिनीहरू सुधार गर्न नसकिने अवस्थामा छन्। सायद यो मानिसहरूको ढिपीको कारण, वा परमेश्‍वरका प्रशासनिक नियमहरूलाई मानिसले उल्‍लङ्घन गर्न नसक्‍ने कारणले यस्तो भएको हो—तर ती सेवक अनि सेविकाहरू ती ढुँडी लागेका पुराना पुस्तक र कागजहरूमा टाँसिरहन्छन्, जबकि परमेश्‍वरले आफ्ना व्यवस्थापन कार्यभित्रका अधुरा कार्यहरूलाई अघि बढाइरहनुहुन्छ, मानौं उहाँको पक्षमा कोही पनि छैनन्। यी विरोधाभासहरूले परमेश्‍वर र मानिसका शत्रुहरू बनाउने भए पनि, र ती समाधान हुन नसकिने भए पनि, परमेश्‍वरले तिनीहरूलाई तिनीहरू त्यहाँ भए पनि नभएको जस्तै गरी कुनै ध्यान दिनुहुन्‍न। तैपनि, मानिस अझै पनि आफ्‍ना विश्‍वास र धारणाहरूमा टाँसिरहन्छ, तिनीहरूलाई कहिले पनि छोड्दैन। यद्यपि एउटा कुरा चाहिँ स्पष्टै छ: मानिस आफ्नो अडानबाट पछि नहटे पनि, परमेश्‍वरको खुट्टा सधैँ अघि बढिरहन्छ, अनि उहाँले आफ्नो अडानलाई परिवेशअनुसार सँधै बदलिरहनुहुन्छ। अन्तमा, कुनै लडाइँविना नै हार्नुपर्ने त मानिस नै हो। यस क्रममा, परमेश्‍वर उहाँले पराजित गर्नुभएका उहाँका सबै शत्रुहरूको सबैभन्दा ठूलो शत्रु हुनुहुन्छ, अनि पराजित र अपराजित सबै मानवजातिको पक्षधर पनि हुनुहुन्छ। परमेश्‍वरसित प्रतिस्पर्धा गरेर को विजयी हुनसक्छ? मानिसका धारणाहरू परमेश्‍वरबाट नै आएका हुन् झैँ लाग्छ, किनभने तीमध्ये धेरै धारणाहरू परमेश्‍वरको कार्यपछि नै जन्‍मिएका थिए। तैपनि, यसको कारणले परमेश्‍वरले मानिसलाई क्षमा गर्नुहुन्न, न त उहाँले उहाँको कार्यपछि उहाँको कार्यभन्दा बाहिर “परमेश्‍वरको निम्ति” एकपछि अर्को जत्था उत्पादन गरेकोमा उहाँले मानिसलाई प्रशंसा नै गर्नुहुन्छ। बरु, उहाँ मानिसका धारणाहरू अनि पुराना, धार्मिक मान्यताहरूलाई यति घृणा गर्नुहुन्छ कि कुन मितिमा ती धारणाहरू सुरुमा आए भन्‍ने कुरा स्वीकार गर्ने मन पनि उहाँमा हुँदैन। उहाँले ती सबै उहाँकै कार्यको कारण भएको हो भनी स्वीकार गर्नुहुन्‍न, किनभने मानिसका धारणाहरू मानिसले नै फैलाउँछन्; तिनीहरूको स्रोत मानिसकै सोचहरू अनि मस्तिष्क हुन्—परमेश्‍वर हुनुहुन्न, शैतान हो। परमेश्‍वरको अभिप्राय सधैँ नै उहाँको कार्य पुरानो र मरेको होइन, नयाँ र जीवित होस् भन्‍ने रहेको छ अनि उहाँले मानिसलाई जे पालन गर्न लगाउनुहुन्छ त्यो युग र अवधिअनुसार फरक हुनसक्छ, अनि त्यो अनन्त र अपरिवर्तनीय छैन। यस्तो हुन्छ किनभने उहाँ मानिसलाई जिउन र नयाँ बन्न लगाउनुहुने परमेश्‍वर हुनुहुन्छ, मानिसलाई मर्न र वृद्ध हुन लगाउने दियाबलस होइन। के यसलाई तिमीहरू अझै बुझ्दैनौ? परमेश्‍वरको बारेमा तँमा धारणाहरू छन् अनि तैँले तिनलाई त्याग्न सक्दैनस्, किनभने तँ कुण्ठित मनको छस्। यो परमेश्‍वरको कार्यभित्र थोरै अर्थ भएको कारणले होइन, न त उहाँको कार्य मान्छेको भावनाप्रति असंवेदनशील भएर नै हो, अझ भन्‍ने हो भने, न त यो परमेश्‍वर आफ्नो जिम्मेवारीमा सँधै लापरवाही हुनुभएर नै हो। तैँले आफ्ना धारणाहरू त्याग्न सक्दैनस् किनभने तँमा आज्ञाकारिता अत्यन्तै कम छ, र किनभने तँमा सृजना गरिएका प्राणीजस्तो सादृश्यता अलिकति पनि छैन; यो परमेश्‍वरले तेरो लागि परिस्थिति कठिन बनाइदिनुभएकोले भएको होइन। यो सबै तैँले गर्दा नै भएको हो, अनि परमेश्‍वरसित यसको कुनै सम्बन्ध छैन; सबै कष्ट र दुर्भाग्यहरू मानिसद्वारा नै सृजना गरिएका हुन्। परमेश्‍वरका विचारहरू सधैं असल हुन्छन्: तैँले कुनै धारणाहरू सृजना गर् भन्‍ने परमेश्‍वरले चाहनुहुन्न, तर युग बित्दै जाँदा तँ परिवर्तन एवं नवीकरण भएको इच्छा गर्नुहुन्छ। तैपनि तेरो लागि के असल छ त्यो तँ जान्दैनस्, अनि सधैँ तँ सुक्ष्म जाँच वा विश्लेषण गर्दै बस्छस्। यो परमेश्‍वरले तेरो निम्ति परिस्थिति कठिन बनाउनुहुन्छ भन्‍ने कुरा होइन, बरु यो त तँमा परमेश्वरको डर मान्ने हृदय छैन, अनि तेरो अनाज्ञाकारिता धेरै ठूलो छ भन्‍ने कुरा हो। सृष्टि गरिएको एउटा सूक्ष्म प्राणी, परमेश्‍वरले पहिले दिनुभएको कुनै कुराको एउटा सानो अंश लिने आँट गर्छ अनि फर्केर परमेश्‍वरलाई नै आक्रमण गर्न त्यसको प्रयोग गर्छ—के यो मानिसको अनाज्ञाकारिता होइन र? मानवजाति परमेश्‍वरको अघि आफ्नो विचार पोख्न बिलकुलै अयोग्य छ, अनि तिनीहरू तिनीहरूले इच्छा गरेको जस्तो तिनीहरूको बेकारको, गन्हाउने, कुहेको, फुलाङ्गो भाषा बोल्दै वरिपरि घुम्नु अझै अयोग्य छन् भनेर भन्‍नु अत्युक्ति हुँदैन—ती सडेका धारणाहरूको बारेमा केही भन्‍नु पर्दैन। के तिनीहरू अझै बेकारका छैनन् र?

परमेश्‍वरको साँचो सेवा गर्ने व्यक्ति भनेको परमेश्‍वरको हृदयअनुसारको, परमेश्‍वरको प्रयोगको लागि लायक, धार्मिक धारणाहरू त्याग्‍न सक्‍ने व्यक्ति हो। यदि तँ परमेश्‍वरको वचन खाने र पिउने तेरो कार्य प्रभावकारी होस् भन्‍ने चाहन्छस् भने, तैँले आफ्‍ना धार्मिक धारणाहरूलाई त्याग गर्नैपर्छ। यदि तँ परमेश्‍वरको सेवा गर्न चाहन्छस् भने, तैँले सुरुमा धार्मिक धारणाहरूलाई त्याग्‍नु अनि सबै कुरामा परमेश्‍वरका वचनहरू पालन गर्नु अझै बढी आवश्यक छ। परमेश्‍वरको सेवा गर्ने व्यक्तिमा यो कुरा हुनुपर्छ। यदि तँमा यो ज्ञानको कमी छ भने, तैँले सेवा गर्न सुरु गर्दागर्दै बाधा अनि अर्चनहरू पैदा गर्नेछस्, अनि यदि तँ आफ्ना धारणाहरूमा टाँसिरहन्छस् भने, तँलाई परमेश्‍वरले फेरि कहिल्यै उठ्न नसक्‍ने गरी प्रहार गर्नुहुनेछ। उदाहरणको लागि, वर्तमानलाई लिएर हेर्: आजका धेरै वाणीहरू र कार्य बाइबल र परमेश्‍वरले यसअघि गर्नुभएका कार्यसित मिल्दैन, अनि यदि तँमा आज्ञा पालन गर्ने इच्छा छैन भने, तँ कुनै पनि समय पतित हुन सक्छस्। यदि तँ परमेश्‍वरको इच्छाअनुसार सेवा गर्न चाहन्छस् भने, तैँले सुरुमा धार्मिक धारणाहरू हटाउनैपर्छ अनि तैँले आफ्नै विचारधारालाई सुधार्नैपर्छ। पछि भनिने धेरैजसो कुराहरू पहिले भनिएका कुराहरूसँग मिल्दैनन्, अनि यदि तँमा अहिले आज्ञा पालन गर्ने इच्‍छा छैन भने, तँ यसपछि आउने बाटोमा हिँड्न सक्नेछैनस्। यदि परमेश्‍वरको कार्य गर्ने एउटा पद्धतिले तँभित्र जरा गाडेको छ भने र तैँले यसलाई कहिले पनि त्याग्‍दैनस् भने, उक्त पद्धति तेरो धार्मिक धारणा बन्नेछ। यदि परमेश्‍वर जे हुनुहुन्छ त्यसले तँमा जरा गाडेको छ भने, तैँले सत्यतालाई प्राप्त गरिसकेको छस्, अनि यदि परमेश्‍वरका वचनहरू अनि सत्यता तेरो जीवन बन्न सक्षम हुन्छन् भने, तँमा अबउप्रान्त परमेश्‍वरबारे कुनै धारणाहरू रहनेछैनन्। परमेश्‍वरको साँचो ज्ञान प्राप्त गरेकाहरूमा कुनै धारणाहरू हुनेछैनन् अनि तिनीहरू सिद्धान्तमा बाँधिएर रहनेछैनन्।

आफैलाई सचेत राख्न तैँले यी प्रश्‍नहरू सोध्:

१. के तँभित्र भएको ज्ञानले तेरो परमेश्‍वरको सेवकाइमा बाधा पुर्‍याउँछ?

२. तेरो दैनिक जीवनमा कति वटा धार्मिक अभ्यासहरू छन्? यदि तैँले बाहिरी भक्ति मात्रै देखाउँछस् भने, के यसको अर्थ तेरो जीवन वृद्धि र परिपक्व भएको छ भन्‍ने हो?

३. जब तँ परमेश्‍वरका वचनहरू खान्छस् र पिउँछस्, के तँ आफ्‍ना धार्मिक धारणाहरू त्याग्न सक्षम हुन्छस्?

४. जब तँ प्रार्थना गर्छस्, के तँ धार्मिक रीतिलाई त्याग्‍न सक्छस्?

५. के तँ परमेश्‍वरले प्रयोग गर्नको लागि उचित व्यक्ति होस्?

६. परमेश्‍वरसम्‍बन्धी तेरो ज्ञानमा कति धार्मिक धारणाहरू सम्मिलित छन्?

अघिल्लो: विश्‍वासमा, व्यक्तिले वास्तविकतालाई जोड दिनुपर्छ—धार्मिक विधिविधानमा संलग्‍न हुनु विश्‍वास होइन

अर्को: परमेश्‍वरप्रतिको सच्‍चा प्रेम स्वस्फूर्त हुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्