ड. शैतानको प्रभावलाई कसरी त्याग्ने र मुक्ति हासिल गर्ने सो सम्बन्धमा
४८८. शैतानद्वारा भ्रष्ट तुल्याइएपछि मानवजातिले परमेश्वरको डर मान्ने उनीहरूको हृदय, साथै सृजित प्राणीहरूमा हुनुपर्ने कार्य गुम्यो, त्यसरी उनीहरू परमेश्वरविरुद्ध विद्रोह गर्ने शत्रु भए। त्यसपछि मानवजाति शैतानको सत्तामा जियो र शैतानको चालबाजीको गोटी बन्यो; यसरी, परमेश्वरसित आफ्ना सृष्टि गरिएका प्राणीहरूमाझ काम गर्ने कुनै बाटो नै थिएन, र उनीहरूको भय प्राप्त गर्न उहाँ झनै असक्षम हुनुभयो। मानवलाई परमेश्वरले सृष्टि गर्नुभएको थियो, र उनीहरूले परमेश्वरको आराधना गर्नुपर्छ, तर वास्तवमा उनीहरूले उहाँतिर पिठ्यूँ फर्काए र सट्टामा शैतानको आराधना गरे। शैतान नै उनीहरूको हृदयको मूर्ति भयो। यसरी, परमेश्वरले उनीहरूको हृदयहरूमा उहाँको स्थान गुमाउनुभयो, भन्नुको मतलब, उहाँले मानवजाति सृष्टि गर्नु पछाडिको उहाँको अभिप्राय नै गुम्यो। यसकारण, उहाँले मानवजाति सृष्टि गर्नु पछाडिको अभिप्राय पुनर्स्थापना गर्न, उहाँले उनीहरूका मौलिक प्रतिरूप पुनर्स्थापना गर्नुपर्छ र मानवजातिलाई उनीहरूको भ्रष्ट स्वभावहरूबाट मुक्त गर्नुपर्छ। मानवलाई शैतानको हातबाट पुनः फिर्ता ल्याउन, उहाँले उनीहरूलाई पापबाट मुक्ति दिनुपर्छ। यसरी मात्र परमेश्वरले क्रमिक रूपले उनीहरूको मौलिक स्वरूप र कार्य पुनर्स्थापना गर्न सक्नुहुन्छ, र अन्तमा, उहाँको राज्य पुनर्स्थापना गर्नुहुन्छ। अन्त्यमा विद्रोहका ती सन्तानहरूको पूर्ण विनाश पनि मानवलाई अझ राम्रोसँग परमेश्वरको आराधना गर्न र पृथ्वीमा अझ राम्रोसँग जिउन सक्षम हुन दिनका निम्ति हुनेछ। परमेश्वरले मानवलाई सृष्टि गर्नुभएको हुनाले, उहाँले उनीहरूलाई उहाँको आराधना गर्न लगाउनुहुनेछ; किनभने उहाँले मानवजातिको मौलिक कार्य पुनर्स्थापना गर्न चाहनुहुन्छ, उहाँले यसलाई पूर्ण रूपमा र विनामिसावट पुनर्स्थापना गर्नुहुनेछ। उहाँको अधिकारको पुनर्स्थापनाको अर्थ मानवजातिलाई उहाँको आराधना गर्न लगाउनु र उहाँको अधीनमा आउन लगाउनु हो भन्ने हुन्छ; यसको अर्थ परमेश्वरले मानवलाई उहाँको कारणले जिउन लगाउनुहुनेछ र उहाँको अधिकारको परिणामस्वरूप उहाँका शत्रुहरूलाई नष्ट हुन लगाउनुहुनेछ भन्ने हुन्छ। यसको अर्थ परमेश्वरले कुनै मानवबाट विनाप्रतिरोध मानव माझ उहाँ बारेको सबै थोकलाई निरन्तर रहन लगाउनुहुनेछ भन्ने हुन्छ। परमेश्वरले स्थापना गर्ने इच्छा गर्नुभएको राज्य उहाँको आफ्नै राज्य हो। उहाँले चाहनुभएको मानवजाति चाहिँ उहाँको आराधना गर्ने, उहाँप्रति पूर्ण रूपमा समर्पित हुने र उहाँको महिमा भएको मानवजाति हो। यदि परमेश्वरले नै भ्रष्ट मानवजातिलाई मुक्त गर्नुहुन्न भने, मानवजातिलाई सृष्टि गर्नु पछाडिको उहाँको अभिप्राय नै गुम्नेछ; मानव माझ उहाँको अझै कुनै अधिकार रहनेछैन र पृथ्वीमा उहाँको राज्य अस्तित्वमा रहन सक्नेछैन। यदि परमेश्वरले उहाँविरुद्ध विद्रोह गर्ने ती शत्रुहरूलाई नष्ट गर्नुभएन भने, उहाँ उहाँको पूर्ण महिमा हासिल गर्न असक्षम हुनुहुनेछ, न त पृथ्वीमा उहाँको राज्य स्थापना गर्न नै सक्षम हुनुहुनेछ। उहाँको कामको र उहाँको महान् उपलब्धिका पूर्णताका चिन्हहरू यी हुनेछन्: उहाँविरुद्ध विद्रोही ती मानवजाति माझका उनीहरूलाई पूर्ण रूपमा नष्ट गर्नु र पूर्ण बनाइएकाहरूलाई विश्राममा ल्याउनु।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्
४८९. सबैभन्दा सुरुमा मानवजाति परमेश्वरको हातमा थियो, तर शैतानको प्रलोभन र भ्रष्टताका कारण, मानिस शैतानद्वारा बाँधियो र दुष्टको हातमा पऱ्यो। यसरी, शैतान परमेश्वरको व्यवस्थापनको कार्यमा पराजित गरिनुपर्ने पात्र बन्यो। शैतानले मानिसलाई आफ्नो वशमा पारेकाले र मानिस परमेश्वरका सबै व्यवस्थापनमा पूँजी भएकाले, यदि मानिसलाई मुक्ति दिइनु छ भने, उसलाई शैतानको हातबाट फिर्ता लिनैपर्छ, अर्थात् शैतानले कैदमा पारेको मानिसलाई फिर्ता लिनैपर्छ। यसरी, मानिसको पुरानो स्वभावमा परिवर्तन ल्याएर अनि मानिसको सुरुको समझलाई पुनर्स्थापित गरेर शैतानलाई पराजित गर्नैपर्छ। यसरी कैद गरिएको मानिसलाई शैतानको हातबाट फिर्ता लिन सकिन्छ। यदि मानिसलाई शैतानको प्रभाव र बन्धनबाट मुक्त गरियो भने, शैतान लज्जित हुनेछ, मानिसलाई अन्ततः फिर्ता ल्याइनेछ र शैतान पराजित हुनेछ। मानिसलाई शैतानको अँध्यारो प्रभावबाट स्वतन्त्र गरिएकाले, मानिस यो पूरै लडाइँको प्रतिफल बन्छ र लडाइँ समाप्त भएपछि शैतान दण्ड दिइनुपर्ने पात्र बन्छ, त्यसपछि मानवजातिको मुक्तिको सम्पूर्ण काम पूरा भएको हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु
४९०. अन्धकारको प्रभावमा जिउने सबै मृत्युबीच जिउनेहरू, शैतानको वशमा परेकाहरू हुन्। परमेश्वरको मुक्ति नपाई अनि परमेश्वरद्वारा न्याय नगरिई र सजाय नदिई, मानिसहरू मृत्युको प्रभावबाट उम्कन सक्दैनन्; तिनीहरू जीवित बन्न सक्दैनन्। यस्ता मृत जनहरू परमेश्वरको गवाही दिन सक्दैनन्, न त तिनीहरू परमेश्वरद्वारा प्रयोग गरिन नै सक्छन्, झन् तिनीहरू राज्यमा प्रवेश गर्न सक्नु त परै जाओस्। परमेश्वर मृतहरूको नभई जीवितहरूको गवाही चाहनुहुन्छ, र उहाँ मृतहरूले नभई जीवितहरूले उहाँका लागि काम गरून् भन्ने माग गर्नुहुन्छ। “मृतहरू” ती हुन्, जो परमेश्वरको विरोध गर्छन् र परमेश्वरविरुद्ध विद्रोह गर्छन्; तिनीहरू आत्मामा भावशून्य भएका र परमेश्वरका वचनहरू नबुझ्नेहरू हुन्; तिनीहरू सत्यता अभ्यास नगर्ने र परमेश्वरप्रति रत्तीभर बफादारी नभएकाहरू हुन्, र तिनीहरू शैतानको शक्तिअन्तर्गत जिउने र शैतानद्वारा शोषित हुनेहरू हुन्। मृत व्यक्तिहरूका प्रकटीकरणहरू भनेको सत्यताको विरोधमा उभिनु, परमेश्वरविरुद्ध विद्रोह गर्नु, अनि तुच्छ, घृणायोग्य, क्रूर, हैकमवादी, धूर्त र कपटी हुनु हुन्। त्यस्ता मानिसहरूले परमेश्वरका वचनहरू खाने र पिउने गरे तापनि, तिनीहरू परमेश्वरका वचनहरू जिउन सक्दैनन्; तिनीहरू जीवित भए तापनि, केवल हिँड्ने लास, सास फेर्ने मृत व्यक्ति हुन्। मृतहरू परमेश्वरलाई सन्तुष्ट पार्न पूर्ण रूपमा असक्षम हुन्छन्, झन् पूर्ण रूपमा उहाँप्रति समर्पित हुन सक्नु त परै जाओस्। तिनीहरूले उहाँलाई छल गर्न, उहाँको निन्दा गर्न, र उहाँलाई विश्वासघात गर्न मात्रै सक्छन्, र तिनीहरूले जिउने कुरा पूर्ण रूपमा शैतानको प्रकृतिका प्रकटीकरणहरू हुन्। यदि मानिसहरू जीवित प्राणी बन्न र परमेश्वरको गवाही दिन, अनि परमेश्वरद्वारा योग्य ठहरिन चाहन्छन् भने, तिनीहरूले परमेश्वरको मुक्ति स्विकार्नैपर्छ; तिनीहरू खुसीसाथ उहाँको न्याय र सजायमा समर्पित हुनैपर्छ र तिनीहरूले परमेश्वरको काँटछाँट खुसीसाथ स्वीकार गर्नैपर्छ। त्यसपछि मात्र तिनीहरूले परमेश्वरद्वारा माग गरिएका सबै सत्यता अभ्यास गर्न सक्नेछन् र त्यसपछि मात्र तिनीहरूले परमेश्वरको मुक्तिको अनुग्रह प्राप्त गर्नेछन् र तिनीहरू साँच्चिकै जीवित प्राणी बन्नेछन्। जीवितहरू ती हुन्, जसलाई परमेश्वरले मुक्ति दिनुभएको हुन्छ; तिनीहरू परमेश्वरद्वारा न्याय गरिएका र सजाय दिइएका हुन्छन्, तिनीहरू आफूलाई अर्पण गर्न इच्छुक हुन्छन् र खुसीसाथ परमेश्वरका लागि आफ्नो जीवन त्याग्छन् र तिनीहरू हर्षसाथ आफ्नो सम्पूर्ण जीवन परमेश्वरप्रति समर्पित गर्छन्। जब जीवितहरू परमेश्वरको गवाही दिन्छन्, तब मात्र शैतानलाई लज्जित पार्न सकिन्छ; जीवितहरूले मात्र परमेश्वरको सुसमाचारको काम फैलाउन सक्छन्, जीवितहरू मात्र परमेश्वरका अभिप्रायहरूअनुरूप हुन्छन्, र जीवितहरू मात्र वास्तविक मानिस हुन्। सुरुमा परमेश्वरद्वारा सृजित मानिस जीवित थियो, तर शैतानको भ्रष्टताका कारण मानिस मृत्युबीच जिउँछ अनि शैतानको प्रभावमा जिउँछ, त्यसैले यसरी मानिसहरू आत्माविहीन मृतक बनेका छन्, तिनीहरू परमेश्वरको विरोध गर्ने शत्रु बनेका छन्, तिनीहरू शैतानको औजार बनेका छन् अनि तिनीहरू शैतानको बन्दी बनेका छन्। परमेश्वरद्वारा सृजित जीवित मानिसहरू मृत जन बनेका छन्, त्यसैले परमेश्वरले आफ्नो गवाही गुमाउनुभएको छ, र उहाँले उहाँद्वारा सृजित अनि उहाँको सास भएको एकमात्र वस्तु, मानवजातिलाई गुमाउनुभएको छ। यदि परमेश्वरले उहाँको गवाही फिर्ता लिने र उहाँको आफ्नै हातद्वारा सृजित गरिएका तर शैतानद्वारा बन्दी बनाइएकाहरूलाई फिर्ता लिने हो भने, तिनीहरूलाई पुनर्जीवित गर्नैपर्छ ताकि तिनीहरू जीवित प्राणी बनून्, र उहाँले तिनीहरू सबैलाई फिर्ता लिनैपर्छ ताकि तिनीहरू उहाँको ज्योतिमा जिऊन्। मृतकहरू ती हुन्, जोसँग आत्मा हुँदैन, जो चरम रूपमा भावशून्य हुन्छन्, र जो परमेश्वरको विरोध गर्छन्, त्यसभन्दा पनि बढी, जो परमेश्वरलाई चिन्दैनन्। यी मानिसहरूमा परमेश्वरप्रति समर्पित हुने रत्तीभर अभिप्राय हुँदैन; तिनीहरू केवल उहाँविरुद्ध विद्रोह गर्छन् र उहाँको विरोध गर्छन् अनि उनीहरूमा रत्तीभर बफादारी हुँदैन। जीवितहरू ती हुन्, जसको आत्मा पुनर्जीवित भएको हुन्छ, जो परमेश्वरमा समर्पित हुन जान्दछन्, जो परमेश्वरप्रति बफादार छन्, र जोसँग सत्यता र गवाही छ—यी मानिसहरू मात्र परमेश्वरका लागि उहाँको घरमा प्यारा हुन्छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के तँ जीवित भएको व्यक्ति होस्?
४९१. अन्धकारको प्रभाव के हो? यो तथाकथित “अन्धकारको प्रभाव” भनेको मानिसहरूलाई भ्रमित पार्ने, भ्रष्ट तुल्याउने, बाँध्ने, र नियन्त्रण गर्ने शैतानको प्रभाव हो; शैतानको प्रभाव यस्तो प्रभाव हो, जसमा मृत्युको आभा हुन्छ। शैतानको शक्तिअन्तर्गत जिउनेहरू सबैको नाश हुने निश्चित छ। परमेश्वरमा विश्वास गर्न पुगेपछि तँ कसरी अन्धकारको प्रभावबाट उम्कन सक्छस्? जब तैँले निष्कपट रूपमा परमेश्वरलाई प्रार्थना गरेको हुन्छस्, तब तेरो हृदय पूर्ण रूपमा उहाँतर्फ फर्कनेछ, त्यस बिन्दुमा तेरो हृदय परमेश्वरका आत्माद्वारा प्रेरित हुनेछ र तँ आफूलाई पूर्ण रूपमा उहाँमा सुम्पन इच्छुक हुनेछस्, र यस क्षणमा, तँ अन्धकारको प्रभावबाट उम्केको हुनेछस्। यदि कुनै व्यक्तिले गर्ने हरेक कुराले परमेश्वरलाई प्रसन्न पार्छ र त्यो उहाँका मागहरूअनुरूप हुन्छ भने, ऊ परमेश्वरका वचनहरूभित्र र उहाँको हेरचाह र सुरक्षाअन्तर्गत जिउने व्यक्ति हो। यदि मानिसहरू परमेश्वरका वचनहरू अभ्यास गर्न सक्दैनन्, यदि तिनीहरू सधैँ उहाँप्रति झाराटारुवा तरिकाले व्यवहार गरिरहेका हुन्छन्, र उहाँको अस्तित्वमा विश्वास गर्दैनन् भने, यी सबै अन्धकारको प्रभावअन्तर्गत जिउने मानिसहरू हुन्। परमेश्वरद्वारा मुक्ति नदिइएकाहरू सबै शैतानको शक्तिअन्तर्गत जिइरहेका हुन्छन्; अर्थात्, तिनीहरू सबै अन्धकारको प्रभावअन्तर्गत जिउँछन्। परमेश्वरमा विश्वास नगर्नेहरू शैतानको शक्तिअन्तर्गत जिइरहेका हुन्छन्। परमेश्वरको अस्तित्वमा विश्वास गर्नेहरू समेत उहाँको ज्योतिमै जिइरहेका हुन्छन् भन्ने हुँदैन, किनभने उहाँमा विश्वास गर्नेहरू उहाँका वचनहरूभित्रै नै जिइरहेका वा अवश्यै उहाँमा समर्पित हुन सक्षम हुन्छन् भन्ने हुँदैन। मानिस परमेश्वरमा विश्वास गर्नमा मात्रै सीमित छ, र ऊसँग परमेश्वरको ज्ञान नभएको हुनाले, ऊ अझै पनि पुराना प्रावधानहरूभित्र जिइरहेको हुन्छ, मृत शब्दहरूको बीचमा जिइरहेको हुन्छ, र अन्धकारमय र अस्पष्ट जीवन जिइरहेको हुन्छ, जो न त परमेश्वरद्वारा पूर्ण रूपमा शुद्ध पारिएको हुन्छ न त उहाँद्वारा पूर्ण रूपमा प्राप्त गरिएको नै हुन्छ। त्यसकारण, परमेश्वरमा विश्वास नगर्नेहरू अन्धकारको प्रभावअन्तर्गत जिइरहेका हुन्छन् भन्ने कुरा त भनिरहनै पर्दैन; परमेश्वर अस्तित्वमा हुनुहुन्छ भनी विश्वास गर्ने मानिसहरू समेत पवित्र आत्माको काम नभएका कारण अझै पनि यसको प्रभावअन्तर्गत जिउन सक्छन्। परमेश्वरको अनुग्रह वा कृपा नभएका मानिसहरूले पवित्र आत्माको कामको प्रवृत्ति देख्न सक्दैनन्। पवित्र आत्माले आफूमा काम गरिरहनुभएको छ कि छैन भनी महसुस गर्न नसक्नेहरू सबै नै अन्धकारको प्रभावअन्तर्गत जिइरहेका हुन्छन्; र धेरैजसो समय, परमेश्वरको अनुग्रहको आनन्द मात्र लिने तर उहाँलाई नचिन्ने मानिसहरू पनि त्यसरी नै जिइरहेका हुन्छन्। यदि कुनै व्यक्तिले परमेश्वरमा विश्वास गर्छ तैपनि आफ्नो जीवनको अधिकांश समय अन्धकारको प्रभावअन्तर्गत जिएर बिताउँछ भने, यस व्यक्तिको अस्तित्वले आफ्नो अर्थ गुमाएको हुन्छ—अनि परमेश्वर अस्तित्वमा हुनुहुन्छ भनी विश्वास नगर्ने मानिसहरूबारे उल्लेख गर्न त किन आवश्यक छ र?
परमेश्वरको कार्यलाई स्वीकार गर्न नसक्नेहरू, अथवा परमेश्वरको कार्यलाई स्वीकार गर्ने तर उहाँका मागहरूलाई पूरा गर्न असमर्थ हुनेहरू सबै अन्धकारको प्रभावमा जिइरहेका मानिसहरू हुन्। सत्यतालाई अनुसरण गर्नेहरू र परमेश्वरका मागहरू पूरा गर्न सक्नेहरूले मात्रै उहाँबाट आशिषहरू प्राप्त गर्नेछन्, र तिनीहरू मात्रै अन्धकारको प्रभावदेखि उम्किनेछन्। जो स्वतन्त्र भएका छैनन्, जो सधैँ केही निश्चित कुराहरूद्वारा बन्धित हुन्छन्, अनि जसले आफ्नो हृदय परमेश्वरलाई दिन सक्दैनन्, तिनीहरू मृत्युको वातावरणमा जिउँदै शैतानको बन्धनमुनि रहने मानिसहरू हुन्। आफ्ना कर्तव्यहरूप्रति विश्वासयोग्य नहुने, परमेश्वरको आज्ञाप्रति विश्वासयोग्य नहुने अनि मण्डलीमा गर्नुपर्ने आफ्ना काम-कर्तव्यहरू पूरा गर्न नसक्नेहरू अन्धकारको प्रभावमुनि जिउने मानिसहरू हुन्। जसले जानाजान मण्डली-जीवनलाई बिथोल्छन्, जसले जानी-बुझी आफ्ना दाजुभाइ-दिदीबहिनीहरूको माझमा अमेलको बीउ रोप्छन् वा जसले गुट निर्माण गर्छन्, तिनीहरू अझै गहिरो अन्धकारको प्रभावमा, शैतानको बन्धनमा जिउने मानिसहरू हुन्। परमेश्वरसित असामान्य सम्बन्ध कायम राख्नेहरू, लालची इच्छाहरू बोकेर हिँड्नेहरू, सधैँ लाभ हासिल गर्न चाहनेहरू, र आफ्नो स्वभाव कहिल्यै रूपान्तरण गर्न नखोज्नेहरू अन्धकारको प्रभावमा जिउने मानिसहरू हुन्। सधैँ बेहोसी रहने अनि सत्यताको अभ्यासमा कहिल्यै गम्भीर नहुने, परमेश्वरका अभिप्रायहरू पूरा गर्ने कार्यमा लागिपर्नुको सट्टामा आफ्नै देहलाई सन्तुष्ट गर्न खोज्नेहरू पनि, मृत्युको आवरणले ढाकिएको अन्धकारको प्रभावमा जिउने मानिसहरू हुन्। परमेश्वरको निम्ति काम गर्दा जो कुटिलता र छलकपटमा संलग्न हुन्छन्, जसले परमेश्वरसित लापरवाहीपूर्ण ढङ्गले व्यवहार गर्छन्, जसले परमेश्वरलाई ठग्छन् अनि जसले सधैँ आफ्नै निम्ति योजना बनाउँछन्, तिनीहरू अन्धकारको प्रभावमा जिउने मानिसहरू हुन्। जसले परमेश्वरलाई साँचो रीतिले प्रेम गर्न सक्दैनन्, जसले सत्यताको अनुसरण गर्दैनन्, अनि जो आफ्नो स्वभावलाई रूपान्तरण गर्ने कार्यमा केन्द्रित हुँदैनन्, तिनीहरू सबै अन्धकारको प्रभावमा जिउने मानिसहरू हुन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अन्धकारको प्रभावदेखि उम्की, र तँ परमेश्वरद्वारा प्राप्त गरिन सक्नेछस्
४९२. मानिस देहमाझ जिउँछ, अर्थात् ऊ मानव नरकमा जिउँछ, र परमेश्वरको न्याय र सजायबिना मानिस शैतानजत्तिकै फोहोरी छ। मानिस कसरी पवित्र हुन सक्थ्यो र? पत्रुस यस्तो विश्वास गर्थ्यो: परमेश्वरद्वारा गरिने सजाय र न्याय नै मानिसको सर्वोत्तम सुरक्षा र सबैभन्दा ठूलो अनुग्रह हो। परमेश्वरको सजाय र न्यायमार्फत मात्रै मानिस बिउँझन सक्छ र देहलाई घृणा गर्न, शैतानलाई घृणा गर्न सक्छ। परमेश्वरको कठोर अनुशासनले मानिसलाई शैतानको प्रभावबाट मुक्त गर्छ, उसलाई उसको आफ्नै सानो संसारबाट मुक्त गर्छ र उसलाई परमेश्वरको मुहारको ज्योतिमा जिउन सक्षम बनाउँछ। सजाय र न्यायभन्दा उत्तम मुक्ति कुनै छैन। पत्रुसले यसो भन्दै प्रार्थना गरे, “परमेश्वर! तपाईँले मलाई सजाय दिनुभएसम्म र न्याय गर्नुभएसम्म, तपाईँले मलाई छोड्नुभएको छैन भनी मैले थाहा पाउनेछु। तपाईँले मलाई आनन्द वा शान्ति नदिनुभए पनि, मलाई कष्टमा जिउन लगाउनुभए पनि र ममाथि अनगिन्ती ताडना दिनुभए पनि, तपाईँले मलाई नछोड्नुभएसम्म मेरो हृदय ढुक्क हुनेछ। आज तपाईँको सजाय र न्याय मेरो सर्वोत्तम सुरक्षा र मेरो सबैभन्दा ठूलो आशिष् बनेका छन्। तपाईँले दिने अनुग्रहले मलाई सुरक्षा दिन्छ। आज तपाईँ ममाथि अनुग्रह बर्साउनुहुन्छ र यो अनुग्रह तपाईँको धर्मी स्वभावको प्रकटीकरण हो, र सजाय र न्याय हो; त्यसभन्दा पनि बढी, यो एउटा परीक्षा हो, र कष्टको जीवन हो।” पत्रुसले आफ्नो देहका सुखचैनहरू त्याग्न र झनै गहन प्रेम र झनै ठूलो सुरक्षाको खोजी गर्न सके, किनभने उनले परमेश्वरको सजाय र न्यायबाट अत्यन्तै धेरै अनुग्रह प्राप्त गरेका थिए। यदि मानिस आफ्नो जीवनमा पखालिन र आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न चाहन्छ भने, यदि ऊ अर्थपूर्ण जीवन जिउन र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्न चाहन्छ भने, उसले परमेश्वरको सजाय र न्याय स्वीकार गर्नैपर्छ, र आफूबाट परमेश्वरको अनुशासन र परमेश्वरको प्रहारलाई टाढा जान दिनु हुँदैन, ताकि उसले आफैलाई शैतानको चालबाजी र प्रभावबाट मुक्त गर्न सकोस् र ऊ परमेश्वरको ज्योतिमा जिउन सकोस्। परमेश्वरको सजाय र न्याय नै ज्योति हो, र यो मानिसको मुक्तिको ज्योति हो, र मानिसका लागि योभन्दा राम्रो आशिष्, र योभन्दा ठूलो अनुग्रह वा सुरक्षा छैन भन्ने कुरा जान। मानिस शैतानको प्रभावमा जिउँछ, र देहमा अस्तित्वमा छ; यदि उसलाई पखालिँदैन र उसले परमेश्वरको सुरक्षा प्राप्त गर्दैन भने, मानिस अझै पतित बन्नेछ। यदि ऊ परमेश्वरलाई प्रेम गर्न चाहन्छ भने, उसलाई पखालिनैपर्छ र मुक्ति दिइनैपर्छ। पत्रुस प्रार्थना गर्थे, “परमेश्वर, तपाईँले मसँग दयालु व्यवहार गर्नुहुँदा म प्रसन्न हुन्छु, र सान्त्वना अनुभूति गर्छु; जब तपाईँ मलाई सजाय दिनुहुन्छ, म अझै बढी सान्त्वना र आनन्द महसुस गर्छु। म कमजोर भए पनि र मैले अवर्णनीय कष्ट सहेको भए पनि, मसँग आँसु र दुःख भए पनि, तपाईँलाई यो दुःख मेरो विद्रोहीपनका कारण र मेरो कमजोरीका कारण हो भन्ने थाहा छ। म रुन्छु किनभने म तपाईँका अभिप्रायहरू पूरा गर्न सक्दिनँ, म दुःख र पछुतो महसुस गर्छु किनभने म तपाईँका मागहरूका लागि अपर्याप्त छु, तर म यस तहमा पुग्न इच्छुक छु, म तपाईँलाई सन्तुष्ट पार्नका लागि आफूले सक्ने सबै गर्न इच्छुक छु। तपाईँको सजायले मेरो सुरक्षा र मेरा लागि सर्वोत्तम मुक्तिका रूपमा काम गरेको छ; तपाईँको न्यायले तपाईँको सहनशीलता र धैर्यतालाई उछिन्छ। तपाईँको सजाय र न्यायविना, मैले तपाईँको कृपा र प्रेमिलो-दयालुपनको आनन्द उठाउने थिइनँ। म आज तपाईँको प्रेमले स्वर्गहरूलाई पार गरेको र अरू सबै थोकभन्दा उत्कृष्ट भएको अझै बढी देख्छु। तपाईँको प्रेम त कृपा र प्रेमिलो-दयालुपन मात्रै होइन; त्योभन्दा पनि बढी, यो सजाय र न्याय हो। मैले तपाईँको सजाय र न्यायबाट एकदमै धेरै प्राप्त गरेको छु। तपाईँको सजाय र न्यायविना, एक जना पनि पखालिने थिएन र एक जनाले पनि सृष्टिकर्ताको प्रेम अनुभव गर्ने थिएन। मैले सयौँ परीक्षा र सङ्कष्ट सहेको र म बल्लतल्ल मृत्युबाट जोगिएको समेत भए पनि, तिनले मलाई साँचो रूपमा तपाईँलाई चिन्न र विशाल मुक्ति प्राप्त गर्न दिएका छन्। यदि तपाईँको सजाय, न्याय र अनुशासनले मलाई छोडेका भए, म शैतानको सत्ताअन्तर्गत अन्धकारमा जिउनेथिएँ। मानिसको देहसँग के-कस्ता लाभहरू छन् र? यदि तपाईँको सजाय र न्यायले मलाई छोडेका भए, यो त तपाईँको आत्माले मलाई त्याग्नुभएको जस्तो हुनेथ्यो, तपाईँ मसँग त्यसउप्रान्त नहुनुभएजस्तो हुनेथ्यो। त्यस्तो भएको भए, म कसरी जिइरहन सक्नेथिएँ र? तपाईँले मलाई रोग दिनुभयो र मेरो स्वतन्त्रता लैजानुभयो, म जिइरहन सकेँ, तर तपाईँको सजाय र न्यायले मलाई कहिल्यै छोडेर गएमा, मसँग जिइरहने कुनै उपाय हुनेछैन। यदि म तपाईँको सजाय र न्यायरहित भएको भए, मैले तपाईँको प्रेम गुमाएको हुनेथिएँ। तपाईँको प्रेम यति गहन छ कि म त्यसलाई शब्दमा बयान गर्नै सक्दिनँ। तपाईँको प्रेमबिना, म शैतानको सत्ताअन्तर्गत जिउनेथिएँ, र तपाईँको महिमामयी मुहार देख्न असमर्थ हुनेथिएँ। म कसरी जिइरहन सक्ने थिएँ र? मलाई त्यस्तो अन्धकार, त्यस्तो जीवनमा अघि बढ्न गाह्रो हुनेथियो। तपाईँ मसँग हुनु भनेको तपाईँलाई देख्नुजस्तै हो, त्यसकारण म तपाईँलाई कसरी छोड्न सक्छु र? म तपाईँलाई पूर्ण निष्कपटताका साथ याचना गर्छु, म मेरो सबैभन्दा ठूलो सान्त्वना मबाट नलैजानुहोस् भनी बिन्ती गर्छु, चाहे यो तपाईँका सान्त्वनादायी शब्दहरूको छिटा नै किन नहोस्। मैले तपाईँको प्रेमको आनन्द उठाएको छु र आज म तपाईँबाट टाढा हुन सक्दिनँ; म तपाईँलाई प्रेम नगर्न कसरी पो सक्छु र? तपाईँको प्रेमका कारण मैले शोकका धेरै आँसु बगाएको छु, तैपनि मैले सधैँ यस्तो जीवन अझै बढी अर्थपूर्ण छ, यसले मलाई समृद्ध पार्न अझै बढी सक्छ, मलाई परिवर्तन गर्न अझै बढी सक्छ, र सृजित प्राणीहरूसँग हुनुपर्ने सत्यता हासिल गर्न सक्षम बनाउन अझै बढी सक्छ भन्ने अनुभूति गरेको छु।”
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान
४९३. मानिसको देह शैतानको हो, यो विद्रोही स्वभावले भरिएको छ, यो निकै शोचनीय किसिमको फोहोर छ, र यो अशुद्ध कुरा हो। मानिसहरू देहको आनन्दको अति नै लालसा गर्छन् र देहलाई ज्यादै अभिव्यक्त गर्छन्; यसैकारण परमेश्वर मानिसको देहलाई यति धेरै घृणा गर्नुहुन्छ। जब मानिसहरूले शैतानका फोहोर र भ्रष्ट थोकहरू फ्याँक्छन्, तब परमेश्वरको मुक्ति प्राप्त गर्छन्। तर यदि तिनीहरू अझै पनि फोहोर र भ्रष्टता फाल्दैनन् भने, तिनीहरू अझै पनि शैतानको सत्तामा जिइरहेका हुन्छन्। मानिसहरूले गर्ने षड्यन्त्र र झै-झगडा, छलकपट र बेईमानी सबै शैतानका कुरा हुन्। परमेश्वरले दिनुहुने मुक्ति तँलाई शैतानका यिनै कुराहरूबाट मुक्त गर्नका निम्ति हो। परमेश्वरको काम गलत हुन सक्दैन; यो सबै मानिसहरूलाई अन्धकारबाट मुक्त गर्नका लागि गरिन्छ। जब तँ परमेश्वरमाथिको विश्वासमा त्यस बिन्दुमा पुगेको हुन्छस् जहाँ तँ आफूलाई देहको भ्रष्टताबाट अलग गर्न सक्छस्, र यो भ्रष्टताद्वारा नियन्त्रित हुन छोड्छस्, तब के तैँले मुक्ति पाएको हुनेछैनस् र? जब तँ शैतानको शक्तिअन्तर्गत जिउँछस्, तब तँ परमेश्वरलाई प्रकट गर्न असमर्थ हुन्छस्, तँ फोहोर वस्तु बन्छस् र परमेश्वरको उत्तराधिकार प्राप्त गर्न सक्दैनस्। तँलाई शुद्ध र सिद्ध पारिएपछि, तँ पवित्र पारिएको हुनेछस्, तँ सामान्य व्यक्ति हुनेछस्, साथै तँ परमेश्वरद्वारा आशिषित् हुनेछस् र परमेश्वरको प्रिय बन्नेछस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यास (२)
४९४. मानिसले सम्पूर्ण जीवन शैतानको सत्तामा जिउँछ, र आफ्नै प्रयासद्वारा आफूलाई शैतानको प्रभावबाट मुक्त गर्न सक्ने एक जना पनि छैन। सबै नै अलिकति अर्थ वा मूल्यसमेत नभएको फोहोर संसारमा, भ्रष्टता र रिक्ततामा जिउँछन्; तिनीहरू देहको लागि, अभिलाषाको लागि र शैतानको लागि त्यस्तो मस्त जीवन जिउँछन्। तिनीहरूको अस्तित्वमा अलिकति पनि मूल्य छैन। शैतानको प्रभावबाट आफूलाई मुक्त गराउने सत्यता भेट्टाउन मानिस असक्षम छ। मानिसले परमेश्वरलाई विश्वास गर्ने र बाइबल पढ्ने गर्छ, तैपनि शैतानको प्रभावको नियन्त्रणबाट आफैलाई कसरी मुक्त गर्ने त्यो उसले बुझ्दैन। युगौँयुगदेखि, मानिसहरूले बिरलै यो रहस्य पत्ता लगाएका छन्, बिरलै कुनै मानिसले यसलाई बुझेको छ। त्यसैले, मानिसले शैतानलाई घृणा गरे पनि र देहलाई घृणा गरे पनि, शैतानको हानिकारक प्रभावबाट आफैलाई कसरी मुक्त गर्ने त्यो उसलाई थाहा हुँदैन। आज के तिमीहरू अझै पनि शैतानको सत्तामा छैनौ र? तिमीहरू आफ्ना विद्रोही कार्यहरूबारे पछुतो गर्दैनौ, तिमीहरूले आफू फोहोरी र विद्रोही छौँ भनी महसुस गर्नु त परै जाओस्। परमेश्वरको विरोध गरिसकेपछि, तिमीहरू ढुक्क हुन्छौ र ठूलो शान्ति महसुस गर्छौ। के तिमीहरूले यो शान्ति आफू भ्रष्ट भएकोले प्राप्त गरेका होइनौ र? के यो ढुक्कपन तिमीहरूको विद्रोहीपनबाट आउँदैन र? मानिस मानव-नरकमा जिउँछ, ऊ शैतानको अँध्यारो प्रभावमा जिउँछ; सारा मुलुकभरि, मानिसको देहमा अतिक्रमण गर्दै भूतहरू मानिससँग जिउँछन्। पृथ्वीमा तँ सुन्दर स्वर्गलोकमा जिउँदैनस्। तिमीहरू जिउने संसार दियाबलसहरूको राज्य हो, यो एउटा मानव-नरक, मृतकहरूको संसार हो। यदि मानिसलाई शुद्ध पारिएन भने, ऊ फोहोरी हुन्छ; यदि उसलाई परमेश्वरले सुरक्षा र हेरचाह गर्नुभएन भने, ऊ अझै शैतानकै कैदी हुन्छ; उसलाई न्याय र सजाय गरिएन भने, शैतानको अँध्यारो प्रभावको दमनबाट उम्कने कुनै पनि माध्यम ऊसँग हुनेछैन। तैँले देखाउने भ्रष्ट स्वभाव र तँ जिउने विद्रोही आचरण नै तँ अझै पनि शैतानको सत्तामा छस् भन्ने कुरा प्रमाणित गर्न पर्याप्त छन्। यदि तेरो मन र विचारहरू शुद्ध पारिएका छैनन् भने, र तेरो स्वभावलाई न्याय र सजाय गरिएको छैन भने, तेरो समग्र अस्तित्व अझै पनि शैतानको सत्ताद्वारा नियन्त्रित छ, तेरो मन शैतानको नियन्त्रणमा छ, तेरा विचारहरू शैतानको चालबाजीमा परेको छ, र तेरो सम्पूर्ण अस्तित्व शैतानका हातहरूको नियन्त्रणमा छ। तँ अहिले पत्रुसको मापदण्डहरूबाट कति टाढा छस् भन्ने कुरा के तँलाई थाहा छ? के तँमा त्यो क्षमता छ? तँलाई आजको सजाय र न्यायको बारेमा कति थाहा छ? पत्रुसले जुन कुरालाई जाने त्यो तँमा कति छ? यदि तँ आज यसलाई जान्न सक्दैनस् भने, के तैँले भविष्यमा यो ज्ञान हासिल गर्न सक्नेछस्? तँजस्तो अल्छी र कायर मानिस सजाय र न्यायको बारेमा जान्न असक्षम हुन्छ। यदि तैँले देहको शान्ति र देहका सुख-चैनहरूलाई खोज्छस् भने, शुद्ध पारिनलाई तँसँग कुनै माध्यम हुनेछैन र अन्त्यमा तँ शैतानकहाँ नै फर्कनेछस्, किनभने तँ जे जिइरहेको छस् त्यो शैतान हो र त्यो देह नै हो। आजको यस्तो अवस्थामा, धेरै मानिसहरूले जीवनको खोजी गर्दैनन्, जसको अर्थ तिनीहरूले शुद्ध पारिनेबारेमा वा अझै गहन जीवन अनुभवमा प्रवेश गर्नेबारेमा तिनीहरू वास्ता गर्दैनन्। यस्तो भएकोले, तिनीहरूलाई कसरी सिद्ध पार्न सकिन्छ? जीवनको खोजी नगर्ने मानिसहरूसँग सिद्ध पारिने मौका हुँदैन, र परमेश्वरको ज्ञानको खोजी नगर्नेहरू, आफ्नो स्वभाव परिवर्तन गर्ने कार्यको खोजी नगर्नेहरू शैतानको अँध्यारो प्रभावबाट उम्कन सक्दैनन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान
४९५. परमेश्वरमा विश्वास गर्ने, तापनि सत्यतालाई अनुसरण नगर्नेहरूसँग शैतानको प्रभावदेखि उम्कने कुनै उपाय हुँदैन। इमान्दारितासहित आफ्नो जीवन नजिउने, अरूको सामु एक प्रकारले व्यवहार गर्ने तर तिनीहरूको पछाडि अर्कै प्रकारले व्यवहार गर्ने, नम्रता, धैर्यता तथा प्रेमको बाह्य रूप मात्रै देखाउने, तैपनि घातक, धूर्त सार भएका र परमेश्वरप्रति वफादार नहुनेहरू—त्यस्ता मानिसहरू अन्धकारको प्रभावमा जिउनेहरूका खास प्रतिनिधिहरू हुन्; तिनीहरू सर्प वर्गका हुन्। सधैँ आफ्नै फाइदाको निम्ति मात्रै परमेश्वरमा विश्वास गर्ने, स्वधर्मी र अभिमानी, देखावटी व्यवहार गर्ने, अनि आफ्नै हैसियतको रक्षा गर्ने मानिसहरू शैतानलाई प्रेम गर्ने, सत्यतालाई विरोध गर्नेहरू हुन्। यी मानिसहरूले परमेश्वरलाई विरोध गर्छन् तिनीहरू पूर्ण रूपले शैतानका हुन्। परमेश्वरका बोझहरूलाई ध्यान नदिने, सम्पूर्ण हृदयले परमेश्वरको सेवा नगर्ने, सधैँ आफ्नै स्व-रुचिहरू र आफ्नै परिवारका रुचिहरूको चासो गर्ने, परमेश्वरको निम्ति आफूलाई समर्पित गर्न हरेक कुरा त्याग्न नसक्ने, र कहिल्यै परमेश्वरको वचनद्वारा नजिउनेहरू परमेश्वरको वचनबाट बाहिर रहने मानिसहरू हुन्। त्यस्ता मानिसहरूले परमेश्वरको स्याबासी प्राप्त गर्न सक्दैनन्।
परमेश्वरले मानिसहरूलाई सृष्टि गर्नुहुँदा, तिनीहरूले उहाँको प्रशस्तताको आनन्द लिऊन् र उहाँलाई साँचो रीतिले प्रेम गरून् भनेर सृष्टि गर्नुभएको थियो; यसप्रकारले मानिसहरू उहाँको ज्योतिमा जिउन सक्नेथिए। आज, परमेश्वरलाई प्रेम गर्न नसक्ने, उहाँका बोझहरूलाई ध्यान नदिने पूर्ण रीतिले आफ्नो हृदय उहाँलाई दिन नसक्ने, उहाँको हृदयलाई तिनीहरूका आफ्नै हृदय जस्तै गरी ग्रहण गर्न नसक्ने, उहाँका बोझहरूलाई आफ्नै जस्तै गरी लिन नसक्ने—त्यस्ता कुनै पनि मानिसहरूमाथि परमेश्वरको ज्योति चम्कँदैन, त्यसैकारण तिनीहरू सबै अन्धकारको प्रभावमा जिइरहेका हुन्छन्। तिनीहरू पूर्णतया परमेश्वरका अभिप्रायहरूको विपरीत बाटोमा हुन्छन्, र तिनीहरूले गर्ने कुनै पनि कुरामा अलिकति सत्यता पनि हुँदैन। तिनीहरू शैतानसितै हिलोमा लुटपुटीरहेका हुन्छन्; तिनीहरू अन्धकारको प्रभावमा जिउने मानिसहरू हुन्। यदि तैँले सधैँ परमेश्वरका वचनहरू खान र पिउन सक्छस्, उहाँको अभिप्रायहरूलाई ख्याल गर्छस् अनि उहाँका वचनहरूलाई अभ्यास गर्छस् भने, तँ परमेश्वरको होस्, तँ उहाँको वचनहरूमा जिउने व्यक्ति होस्। के तँ शैतानको सत्ताबाट उम्किने र परमेश्वरको ज्योतिमा जिउने इच्छा गरिरहेको छस्? यदि तँ परमेश्वरका वचनहरूमा जिउँछस् भने, पवित्र आत्माले आफ्नो काम गर्ने अवसर पाउनुहुनेछ; यदि तँ शैतानको प्रभावमा जिउँछस् भने, पवित्र आत्मासँग त्यस्तो अवसर हुनेछैन। पवित्र आत्माले मानिसहरूमा जुन काम गर्नुहुन्छ, जुन ज्योति उहाँले तिनीहरूमाथि चम्काउनुहुन्छ र जुन निर्धक्कता उहाँले तिनीहरूलाई दिनुहुन्छ, त्यो केवल एक क्षणको लागि रहन्छ; यदि मानिसहरू सावधान छैनन्, तिनीहरूले ध्यान दिँदैनन् भने, पवित्र आत्माको कामले तिनीहरूलाई त्याग्नेछ। यदि मानिसहरू परमेश्वरका वचनहरूमा जिउँछन् भने, पवित्र आत्मा तिनीहरूसित रहनुहुनेछ र उहाँले तिनीहरूमा काम गर्नुहुनेछ। यदि मानिसहरू परमेश्वरका वचनहरूमा जिउँदैनन् भने, तिनीहरू शैतानको बन्धनमा जिउँछन्। यदि मानिसहरू भ्रष्ट स्वभावमा जिउँछन् भने, तिनीहरूसित पवित्र आत्माको उपस्थिति वा काम हुँदैन। यदि तँ परमेश्वरका वचनहरूको सीमाहरूमा जिउँछस्, र यदि तँ परमेश्वरले माग गर्नुभएको अवस्थामा जिउँछस् भने, तँ उहाँको स्वामित्वमा रहेको व्यक्ति होस्, अनि तँमा उहाँको काम सम्पन्न हुनेछ; यदि तँ परमेश्वरका मागहरूको सीमाहरूमा जिइरहेको छैनस् तर शैतानको सत्तामा जिइरहेको छस् भने, तँ निश्चय नै शैतानको भ्रष्टतामा जिइरहेको हुन्छस्। परमेश्वरका वचनहरूमा जिएर अनि उहाँलाई आफ्नो हृदय दिएर मात्रै तैँले उहाँका मागहरू पूरा गर्न सक्छस्; तैँले परमेश्वरका वाणीहरूलाई आफ्नो अस्तित्वको जग र आफ्नो जीवनको वास्तविकता बनाउँदै उहाँले भन्नुभए अनुसार गर्नैपर्छ; तब मात्रै तँ परमेश्वरको हुनेछस्। यदि तँ वास्तवमै परमेश्वरका अभिप्रायहरूअनुरूप अभ्यास गर्छस् भने, उहाँले तँमा काम गर्नुहुनेछ, अनि त्यसपछि तँ उहाँका आशिष्हरूअन्तर्गत, उहाँको मुहारको ज्योतिमा जिउनेछस्; तैँले पवित्र आत्माको काम बोध गर्नेछस् र परमेश्वरको उपस्थितिको आनन्द महसुस गर्नेछस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अन्धकारको प्रभावदेखि उम्की, र तँ परमेश्वरद्वारा प्राप्त गरिन सक्नेछस्
४९६. अन्धकारको प्रभावदेखि मुक्त हुनको लागि तँ पहिले परमेश्वरप्रति वफादार हुनैपर्छ र सत्यतालाई अनुसरण गर्न हृदयदेखि नै इच्छुक हुनुपर्छ; तब मात्रै तैँले सही अवस्था प्राप्त गर्न सक्छस्। सही अवस्थामा जिउनु अन्धकारको प्रभावदेखि मुक्त हुने पूर्वसर्त हो। सही अवस्थामा नहुनु भनेको परमेश्वरप्रति वफादार नहुनु हो, र सत्यता खोजी गर्न हृदयदेखि नै इच्छुक नहुनु हो; अनि तँ अन्धकारको प्रभावदेखि उम्कने कुरा सवालभन्दा बाहिरको कुरा हुन्छ। मानिस अन्धकारका प्रभावहरूदेखि उम्कने आधार मेरा वचनहरू नै हुन्, अनि मेरा वचनहरू अनुसार अभ्यास गर्न नसक्ने मानिसहरू अन्धकारको प्रभावको बन्धनदेखि उम्कन सक्नेछैनन्। सही अवस्थामा जिउनु भनेको परमेश्वरका वचनहरूको अगुवाइमा जिउनु, परमेश्वरप्रति वफादारीताको अवस्थामा जिउनु, सत्यताको खोजी गर्ने अवस्थामा जिउनु, परमेश्वरको खातिर इमान्दारितापूर्वक आफैलाई समर्पित गर्ने वास्तविकतामा जिउनु र परमेश्वरलाई साँचो रीतिले प्रेम गर्ने अवस्थामा जिउनु हो। जो यस्तो अवस्थाहरूमा र यस वास्तविकतामा जिउँछन्, तिनीहरू सत्यताको गहिराइभित्र प्रवेश गर्ने क्रममा विस्तारै रूपान्तरण हुनेछन्, अनि काम गहन हुँदै जाँदा तिनीहरू रूपान्तरण हुनेछन्; अनि अन्त्यमा तिनीहरू निश्चय नै त्यस्ता मानिसहरू हुनेछन् जो परमेश्वरद्वारा हासिल गरिएका हुन्छन्, जसले उहाँलाई साँचो प्रकारले प्रेम गर्छन्। अन्धकारको प्रभावदेखि उम्केकाहरूले विस्तारै परमेश्वरका अभिप्रायलाई बोध गर्न सक्छन्, विस्तारै तिनलाई बुझ्न थाल्छन्, अन्ततः तिनीहरू परमेश्वरका विश्वासपात्रहरू हुन्छन्। तिनीहरूले परमेश्वरको बारेमा कुनै धारणा मनमा नराख्ने र उहाँको विरुद्धमा कुनै विद्रोह नगर्ने मात्र होइन, तर पहिले तिनीहरूलाई प्रभुत्व गरेको त्यस्ता धारणा तथा विद्रोहहरूलाई तिनीहरूले झन् बढी घृणा पनि गर्छन्, अनि तिनीहरूको हृदयमा परमेश्वरको निम्ति साँचो प्रेम उदय हुन्छ। अन्धकारको प्रभावदेखि उम्कन नसक्ने मानिसहरू सबै देहद्वारा पूर्णरूपमा भरिएका हुन्छन्, विद्रोहले भरिपूर्ण हुन्छन्; तिनीहरूका हृदय जीविका सम्बन्धी मानव धारणा तथा सांसारिक कुराहरू सम्बन्धी दर्शनहरू, साथै तिनीहरूका आफ्नै अभिप्राय तथा सोचविचारहरूले भरिएका हुन्छन्। परमेश्वरले चाहनुहुने भनेको मानिसले दिने अद्वितीय प्रेम हो; उहाँले चाहना गर्नुहुने कुरा भनेको मानिस उहाँका वचनहरूद्वारा र उहाँप्रतिको प्रेमले भरिएको हृदयद्वारा भरपूर भएको होस् भन्ने नै हो। परमेश्वरका वचनहरूमा जिउन, तिनीहरूले खोजतलास गर्नुपर्ने कुराहरू उहाँका वचनहरूमा खोज्न, उहाँका वचनहरूका निम्ति परमेश्वरलाई प्रेम गर्न, उहाँका वचनहरूलाई पछ्याउन, उहाँका वचनहरूका निम्ति जिउन—मानिसले हासिल गर्न प्रयास गर्नुपर्ने लक्ष्यहरू यिनै हुन्। हरेक कुरा परमेश्वरका वचनहरूको जगमा निर्माण हुनुपर्छ; तब मात्रै मानिसले परमेश्वरका मागहरूलाई पूरा गर्न सक्नेछ। यदि मानिस परमेश्वरका वचनहरूले सुसज्जित छैन भने, ऊ केही होइन, केवल शैतानको कब्जामा परेको भुसुना हो! यस कुरालाई मूल्याङ्कन गर्: परमेश्वरको वचनले तँभित्र कतिसम्म जरा गाडेको छ? कुन कुराहरूमा तँ उहाँका वचनहरू अनुसार जिइरहेको छस्? कुन कुराहरूमा तँ उहाँका वचनहरू अनुसार जिइरहेको छैनस्? यदि परमेश्वरका वचनहरूले तँलाई पूर्ण रूपले पक्रेको छैन भने, कुन कुराले यथार्थमा तेरो हृदयलाई ओगटेको छ? तेरो दिनदिनको जीवनमा, तँ शैतानद्वारा नियन्त्रित भइरहेको छस् कि परमेश्वरका वचनहरूद्वारा ओगटिएको छस्? के तेरा प्रार्थनाहरू उहाँका वचनहरूको जगमा आधारित छन्? के परमेश्वरका वचनहरूद्वारा अन्तर्दृष्टि पाएर तँ आफ्नो नकारात्मक अवस्थादेखि बाहिर निस्केको छस्? परमेश्वरका वचनहरूलाई तेरो अस्तित्वको जगको रूपमा लिनु—यही नै हरेक व्यक्ति प्रवेश गर्नुपर्ने कुरा हो। यदि तेरो जीवनमा उहाँका वचनहरूले स्थान लिएका छैनन् भने, तँ अन्धकारको प्रभावमा जिइरहेको छस्, तैँले परमेश्वरको विरुद्धमा विद्रोह गरिरहेको छस्, तैँले उहाँको प्रतिरोध गरिरहेको छस्, तैँले उहाँको नाउँलाई लज्जित पारिरहेको छस्। त्यस्ता मानिसहरूको परमेश्वरप्रतिको विश्वास पूर्ण बदमासी र बाधा मात्रै हुन्छ। तेरो जीवनको कति भाग उहाँका वचनहरू अनुसार जिइएको छ? तेरो जीवनको कति भाग उहाँका वचनहरू अनुसार जिइएको छैन? परमेश्वरको वचनले तँलाई माग गरेको कति कुरा तँमा पूरा भएको छ? कति कुरा तँमा हराएको छ? के तैँले त्यस्ता कुराहरूलाई नजिकबाट नियालेको छस्?
अन्धकारको प्रभावदेखि उम्किनको निम्ति पवित्र आत्माको काम र मानिसको समर्पित सहकार्य दुवै आवश्यक हुन्छ। मानिस ठीक मार्गमा छैन भनी म किन भन्छु? ठीक मार्गमा भएका मानिसहरूले पहिले आफ्नो हृदय परमेश्वरलाई दिन सक्छन्। यो एउटा यस्तो कार्य हो जसभित्र प्रवेश गर्न निकै लामो समय लाग्छ, किनकि मानवजाति सधैँ अन्धकारको प्रभावमा बाँचेको छ र हजारौँ वर्षदेखि शैतानको बन्धनमा रहेको छ। त्यसैकारण, यसभित्रको प्रवेश एक वा दुई दिनमा हासिल गर्न सकिँदैन। मानिसहरूले तिनीहरूका आफ्नै अवस्थालाई बुझ्न सकून् भनेर मैले यो विषय उठाएँ; जब मानिसले अन्धकारको प्रभाव के हो र ज्योतिमा जिउनु भनेको के हो भनी बुझ्दछ, तब प्रवेश गर्ने कार्य धेरै सजिलो हुन्छ। किनभने शैतानको प्रभावदेखि उम्किनभन्दा अघि तैँले यो के हो भनी जान्नुपर्छ; त्यसपछि मात्रै तँसँग त्यसलाई त्याग्ने उपाय हुनेछ। त्यसपछि के गर्ने भनी निर्णय गर्ने काम मानिसहरूको आफ्नै हातमा हुन्छ। हरेक कुराभित्र सकारात्मक पक्षबाट प्रवेश गर् र कहिल्यै निष्क्रिय भएर नपर्खी। यसरी मात्रै तँ परमेश्वरद्वारा प्राप्त गरिन सक्नेछस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अन्धकारको प्रभावदेखि उम्की, र तँ परमेश्वरद्वारा प्राप्त गरिन सक्नेछस्
४९७. परमेश्वरले गर्नुहुने सबै कुरा साँच्चिकै जरुरी र असाधारण महत्त्वका छन्, किनकि उहाँले मानिसमा गर्नुहुने सबै काम उहाँको व्यवस्थापन र मानवजातिको मुक्तिसित सम्बन्धित छन्। स्वाभाविक रूपमा, अय्यूब परमेश्वरको नजरमा सिद्ध र सत्यनिष्ठ थिए, तैपनि उहाँले तिनमा गर्नुभएको काम अरूभन्दा फरक छैन। अर्को शब्दमा भन्नुपर्दा, परमेश्वरले चाहे जे गर्नु भए पनि वा जुनसुकै माध्यमद्वारा त्यो काम गर्नु भए पनि, जतिसुकै मूल्य चुकाउनु परे पनि, उहाँको ध्येय जेसुकै भए पनि उहाँका कार्यहरूको उद्देश्य परिवर्तन हुँदैन। परमेश्वरको उद्देश्य भनेको उहाँका वचनहरूलाई, साथै मानिसप्रति परमेश्वरका माग र अभिप्रायहरूलाई मानिसभित्र कार्यरूप दिनु हो; अर्को शब्दमा भन्नुपर्दा, यो भनेको परमेश्वरले सकारात्मक कुरा भनी विश्वास गर्ने सबै कुरालाई उहाँका चरणहरूअनुसार मानिसभित्र कार्यरूप दिनु हो, जसले मानिसलाई परमेश्वरको हृदय बुझ्न र परमेश्वरको सार बुझ्न र बोध गर्न सम्भव तुल्याउँछ, र मानिसलाई परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुन सम्भव तुल्याउँछ, र यसरी मानिसलाई परमेश्वरको डर मान्न र दुष्टताबाट अलग बस्न मद्दत गर्छ—यो सबै कुरा परमेश्वरले गर्नुहुने सबै कार्यमा रहेको उहाँको उद्देश्यको एउटा पक्ष हो। अर्को पक्ष के हो भने, शैतान परमेश्वरको काममा प्रतिभार र सेवा गर्ने वस्तु भएकोले मानिस प्रायः शैतानलाई नै दिइन्छ; परमेश्वर यही उपाय प्रयोग गरेर मानिसहरूलाई शैतानका परीक्षा र आक्रमणहरूमा शैतानको दुष्टता, कुरूपता र घृणास्पद अवस्था देख्न लगाउनुहुन्छ, र यसरी मानिसलाई शैतानलाई घृणा गर्ने, र नकारात्मक कुराहरू चिन्न र खुट्ट्याउन सक्ने तुल्याउनुहुन्छ। यो प्रक्रियाले तिनीहरूलाई बिस्तारै शैतानका नियन्त्रण र आरोपहरू, बाधा र आक्रमणहरूबाट मुक्त हुन सक्षम तुल्याउँछ—र जबसम्म परमेश्वरका वचनहरू, परमेश्वरबारे तिनीहरूको ज्ञान, परमेश्वरप्रति तिनीहरूको समर्पण, परमेश्वरमाथिको तिनीहरूको आस्था र परमेश्वरप्रतिको तिनीहरूको डरका कारण तिनीहरूले शैतानका आक्रमण र आरोपहरूमाथि पूर्ण रूपमा विजय हासिल गर्दैनन् तबसम्म यो जारी रहन्छ; त्यसपछि मात्र तिनीहरूले शैतानको सत्ताबाट पूर्ण रूपमा छुटकारा पाउनेछन्। मानिसहरूको छुटकाराको अर्थ शैतानको पराजय घोषित भएको छ भन्ने हो, यसको अर्थ तिनीहरू अब शैतानको मुखभित्रको आहार रहेनन्, अब तिनीहरू शैतानद्वारा निलिनेछैनन्, बरु तिनीहरू शैतानद्वारा परित्याग गरिएका छन् भन्ने हुन्छ। किनभने त्यस्ता मानिसहरू सत्यनिष्ठ हुन्छन्, तिनीहरूमा परमेश्वरप्रति आस्था, समर्पण र डर हुन्छ, र तिनीहरू पूर्ण रूपमा शैतानबाट छुट्टिएका छन्। तिनीहरू शैतानलाई लज्जित पार्छन्, तिनीहरू शैतानलाई कायर बनाउँछन्, र तिनीहरू शैतानलाई पूर्ण रूपमा पराजित गर्छन्। तिनीहरूको परमेश्वरलाई पछ्याउने आस्था, र परमेश्वरप्रतिको समर्पण र डरले नै शैतानलाई पराजित गर्छन्, र शैतानलाई पूर्ण रूपमा तिनीहरूलाई त्याग्न लगाउँछन्। यस्ता मानिसहरू मात्र परमेश्वरद्वारा साँच्चिकै प्राप्त गरिएका हुन्छन्, र परमेश्वरले मानिसलाई मुक्ति दिनुको अन्तिम उद्देश्य यही हो। परमेश्वरलाई पछ्याउने सबै जनाको हकमा, यदि तिनीहरू मुक्ति पाउन र परमेश्वरद्वारा पूर्ण रूपमा प्राप्त गरिन चाहन्छन् भने, तिनीहरूले शैतानबाट आउने ठूला र साना दुवै किसिमका परीक्षा र आक्रमणहरूको सामना गर्नैपर्छ। जो यी परीक्षा र आक्रमणहरू पार गरी बाहिर निस्कन्छन् र शैतानमाथि पूर्ण रूपमा विजय हासिल गर्न सक्षम हुन्छन्, तिनीहरूले नै मुक्ति पाएका हुन्छन्। भन्नुको अर्थ, जसलाई परमेश्वरद्वारा मुक्ति दिइएको छ तिनीहरू तिनै हुन् जसले परमेश्वरका परीक्षाहरू भोगेका छन्, र जो शैतानका अनगन्ती परीक्षा र आक्रमणमा परेका छन्। परमेश्वरद्वारा मुक्ति दिइएकाहरू परमेश्वरका अभिप्राय र मागहरू बुझ्छन्, र तिनीहरू परमेश्वरका सार्वभौमिकता र प्रबन्धहरूप्रति समर्पित हुन सक्छन्, र शैतानका परीक्षाहरूका बीचमा पनि परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्ग परित्याग गर्दैनन्। परमेश्वरद्वारा मुक्ति दिइएकाहरूमा इमानदारी हुन्छ, तिनीहरू दयालु हृदयका हुन्छन्, तिनीहरू प्रेम र घृणाबीच भिन्नता छुट्याउँछन्, तिनीहरूसँग इन्साफको बोध हुन्छ र तिनीहरू तर्कसङ्गत हुन्छन्, साथै तिनीहरू परमेश्वरलाई ख्याल गर्न र परमेश्वरका सबै थोकलाई बहुमूल्य ठान्न सक्छन्। त्यस्ता मानिसहरू शैतानको बन्धन, जासुसी, आरोप वा गम्भीर हानिमा पर्दैनन्; तिनीहरू पूर्ण रूपमा स्वतन्त्र हुन्छन्, तिनीहरूलाई पूर्ण रूपमा मुक्ति र छुटकारा दिइएको हुन्छ। अय्यूब त्यस्तै स्वतन्त्र मानिस थिए, र परमेश्वरले तिनलाई शैतानको हातमा सुम्पनुको अर्थ पनि ठीक यही थियो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २
४९८. अय्यूबको विश्वास, समर्पण र शैतानलाई जितेको तिनको गवाही मानिसहरूका निम्ति ठूलो सहयोग र हौसलाको स्रोत भएका छन्। अय्यूबमा तिनीहरू आफ्नै मुक्तिको आशा देख्छन्, अनि आस्थाका साथै परमेश्वरप्रतिको समर्पण र डरमार्फत शैतानलाई पराजित गर्न, शैतानमाथि विजय प्राप्त गर्न पूर्ण रूपमा सम्भव छ भन्ने देख्छन्। तिनीहरू यो देख्छन् कि जबसम्म तिनीहरू परमेश्वरका सार्वभौमिकता र प्रबन्धहरूप्रति समर्पित हुन्छन्, जबसम्म सबै कुरा गुमाइसकेपछि पनि तिनीहरूसँग परमेश्वरलाई परित्याग नगर्ने दृढता र विश्वास हुन्छ, तबसम्म तिनीहरू शैतानलाई लज्जित पार्न र हराउन सक्छन्, र तिनीहरू आफ्नो गवाहीमा दृढ रहनका लागि दृढ सङ्कल्प र अडिगपन मात्र भए पुग्छ—चाहे त्यसका लागि आफ्नो ज्यान नै गुमाउनु किन नपरोस्—ताकि शैतान डराओस् र हतार-हतार पछि हटोस् भन्ने देख्छन्। अय्यूबको गवाही पछिका पुस्ताहरूका लागि एउटा चेतावनी हो, र यो चेतावनीले तिनीहरूलाई भन्छ कि यदि तिनीहरूले शैतानलाई पराजित गरेनन् भने तिनीहरू शैतानका आरोप र बाधाहरूबाट आफूलाई छुटकारा दिलाउन कहिल्यै सक्षम हुनेछैनन्, न त तिनीहरू कहिल्यै शैतानका आक्रमण र दुर्व्यवहारबाट उम्कन नै सक्नेछन्। अय्यूबको गवाहीले पछिका पुस्ताहरूलाई पनि अन्तर्दृष्टि प्रदान गरेको छ। यो अन्तर्दृष्टिले मानिसहरूलाई तिनीहरू सिद्ध र सत्यनिष्ठ बनेको खण्डमा मात्र परमेश्वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्छन् भन्ने कुरा सिकाउँछ; यसले तिनीहरूलाई तिनीहरू परमेश्वरको डर मान्छन् र दुष्टताबाट अलग बस्छन् भने मात्र तिनीहरूले परमेश्वरका निम्ति बलियो र जोडदार गवाही दिन सक्छन् भन्ने कुरा सिकाउँछ; तिनीहरूले परमेश्वरका निम्ति बलियो र जोडदार गवाही दिन्छन् भने मात्र तिनीहरू शैतानको नियन्त्रणमा कहिल्यै नपर्न र परमेश्वरको मार्गदर्शन र सुरक्षाअन्तर्गत जिउन सक्छन्—तब मात्र तिनीहरूले साँच्चिकै मुक्ति पाएका हुनेछन्। अय्यूबको चरित्र र तिनको जीवनको पछ्याइलाई मुक्ति पछ्याउने प्रत्येक व्यक्तिले अनुकरण गर्नुपर्छ। तिनले आफ्नो सम्पूर्ण जीवनभरि जिएका कुरा र तिनका परीक्षाहरूका समयमा तिनका प्रकटीकरणहरू परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्ग पछ्याउने सबैका लागि बहुमूल्य खजाना हुन्।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २
४९९. जब मानिसहरूले मुक्ति पाइसकेका हुँदैनन्, तिनीहरूको जीवन प्रायः शैतानद्वारा बाधित र नियन्त्रित समेत हुन्छ। अर्को शब्दमा भन्दा, मुक्ति नपाएका मानिसहरू शैतानका कैदी हुन्, तिनीहरूसँग कुनै स्वतन्त्रता हुँदैन, तिनीहरूलाई शैतानले छोडेको हुँदैन, तिनीहरू परमेश्वरको आराधना गर्न योग्य वा हकदार हुँदैनन्, र तिनीहरू शैतानद्वारा नजिकबाट खेदो गरिएका र क्रूरतापूर्वक आक्रमण गरिएका हुन्छन्। त्यस्ता मानिसहरूसँग कुनै भन्नलायक खुसी हुँदैन, तिनीहरूसँग भन्नलायक सामान्य अस्तित्वको अधिकार हुँदैन, र यसबाहेक तिनीहरूसँग कुनै भन्नलायक इज्जत त झनै हुँदैन। यदि तैँले शैतानसँग जीवन-मृत्युको लडाइँ लड्न परमेश्वरमाथिको आफ्नो विश्वास र परमेश्वरप्रतिको समर्पण र डरलाई हतियारका रूपमा प्रयोग गर्दै खडा भएर शैतानसँग यसरी युद्ध गरिस् कि तैँले शैतानलाई पूर्ण रूपमा पराजित गरिस् र तँलाई देख्नेबित्तिकै, त्यसलाई पुच्छर लुकाउने र कायर बन्ने तुल्याइस् भने, तब मात्र त्यसले तँविरुद्धका आफ्ना आक्रमण र आरोपहरू पूर्ण रूपमा त्याग्नेछ, र त्यस अवस्थामा तैँले मुक्ति पाउनेछस् र तँ स्वतन्त्र हुनेछस्। यदि तँ शैतानबाट पूर्ण रूपमा अलग हुन मात्र दृढ छस्, तर तँ शैतानलाई पराजित गर्न प्रभावकारी हातहतियारहरूले सुसज्जित छैनस् भने, तँ अझै पनि ठूलो खतरामा छस्। समय बित्दै जाँदा, जब तँलाई शैतानद्वारा यति यातना दिइएको हुन्छ कि तँमा एकरत्ती शक्ति बाँकी रहेको हुँदैन, तैपनि तैँले अझै गवाही दिन सकेको हुँदैनस्, अझै पनि आफूलाई तँविरुद्धका शैतानका आरोप र आक्रमणहरूबाट पूर्ण रूपमा मुक्त पारेको हुँदैनस्, तब तैँले मुक्ति पाउने आशा निकै कम हुनेछ। अन्त्यमा, अर्थात्, जब परमेश्वरको काम सम्पन्न भएको घोषणा हुन्छ, यदि तँ मुक्त हुन नसक्ने गरी अझै पनि शैतानको पकडमै हुन्छस् भने, तँसँग कहिल्यै मौका वा आशा हुनेछैन। यसको तात्पर्य यो हो कि त्यस्ता मानिसहरू पूर्ण रूपमा शैतानको बन्दीमा परेका हुनेछन्।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २
५००. मानिसका निम्ति परमेश्वरको टिकाउ प्रबन्ध र सहयोगको कामको क्रममा, उहाँ मानिसलाई आफ्ना सम्पूर्ण अभिप्राय र मागहरू बताउनुहुन्छ, साथै उहाँको काम, स्वभाव अनि उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो कुरा मानिसलाई देखाउनुहुन्छ। यसको उद्देश्य मानिसलाई कदले सुसज्जित पार्नु हो, र परमेश्वरलाई पछ्याउँदा मानिसलाई उहाँबाट विभिन्न सत्यताहरू प्राप्त गर्न दिनु हो—त्यस्ता सत्यताहरू जुन परमेश्वरले मानिसलाई शैतानसित लड्नका निम्ति दिनुभएका शक्तिशाली हतियार हुन्। यसरी सुसज्जित भएपछि मानिसले परमेश्वरका परीक्षाहरूको सामना गर्नैपर्छ। परमेश्वरसित मानिसलाई परीक्षा गर्ने धेरै वटा साधन र उपायहरू छन्, तर ती प्रत्येकका लागि परमेश्वरको शत्रु शैतानको “सहकार्य” आवश्यक पर्छ। यसो भन्नुको अर्थ, मानिसलाई शैतानसँग लड्ने शक्तिशाली हातहतियारहरू दिएपछि परमेश्वरले मानिसलाई शैतानको हातमा सुम्पिनुहुन्छ र शैतानलाई मानिसको कद “जाँच्न” दिनुहुन्छ। यदि मानिस शैतानले खडा गरेका युद्ध संरचनाहरूलाई तोडेर बाहिर निस्कन सक्यो भने, यदि ऊ शैतानको घेराउबाट उम्केर अझै जीवित रहन सक्यो भने, मानिस त्यो जाँचमा उत्तीर्ण भएको हुनेछ। तर यदि मानिस शैतानको युद्ध संरचना छोड्न असफल हुन्छ र शैतानको वशमा पर्छ भने, ऊ त्यो जाँचमा उत्तीर्ण भएको हुनेछैन। परमेश्वरले मानिसको जुनसुकै पक्षको परीक्षा लिनुभए पनि, उहाँले लिने परीक्षाका मापदण्डहरू शैतानले आक्रमण गर्दा मानिस आफ्नो गवाहीमा दृढ हुन्छ कि हुँदैन, र शैतानको पासोमा परेपछि उसले परमेश्वरलाई त्यागेर शैतानसामु झुक्ने र आत्मसमर्पण गर्ने गर्छ कि गर्दैन भन्ने हुन्। यो भन्न सकिन्छ कि मानिसले मुक्ति पाउन सक्छ कि सक्दैन भन्ने कुरा उसले शैतानलाई जित्न र पराजित गर्न सक्छ कि सक्दैन भन्ने कुरामा भर पर्छ, र उसले स्वतन्त्रता प्राप्त गर्न सक्छ कि सक्दैन भन्ने कुरा शैतानको बन्धनलाई जित्नका लागि परमेश्वरद्वारा दिइएका हातहतियारहरू ऊ आफ्नै बलबूताले चलाउन सक्छ कि सक्दैन र शैतानलाई पूर्ण रूपमा आशा मार्ने र उसलाई छोडिदिने बनाउन सक्छ कि सक्दैन भन्ने कुरामा भर पर्छ। यदि शैतानले आशा मारेर कसैलाई छोडिदिन्छ भने त्यसको अर्थ यही हुन्छ कि अब शैतानले फेरि कहिल्यै त्यस व्यक्तिलाई परमेश्वरबाट खोस्ने कोसिस गर्नेछैन, फेरि कहिल्यै त्यस व्यक्तिलाई आरोप लगाउनेछैन र बाधा दिनेछैन, फेरि कहिल्यै उसलाई मनोमानी रूपमा यातना दिने वा आक्रमण गर्नेछैन; त्यस्तो व्यक्ति मात्र साँच्चिकै परमेश्वरद्वारा प्राप्त गरिएको हुनेछ। परमेश्वरले व्यक्तिलाई प्राप्त गर्ने सम्पूर्ण प्रक्रिया यही हो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २
५०१. आज, तँ सिद्ध बनाइन वा तेरो बाहिरी मानवतामा परिवर्तन ल्याउन र तेरो क्षमतामा सुधार गर्न लागिपर्न सक्छस्, तर प्रमुख महत्त्वको कुरा यो हो कि तैँले आज परमेश्वरले गर्नुहुने सबै कुराको अर्थ छ र त्यो लाभदायक छ भनी बुझ्न सक्नेछस्: यसले तँ फोहोर देशमा जन्मेको व्यक्तिलाई फोहोरबाट उम्कन र त्यसलाई फाल्न सक्ने, यसले तँलाई शैतानको प्रभावलाई जित्न, र शैतानको अन्धकारको प्रभावलाई त्याग्न सक्ने बनाउँछ। यी कुराहरूमा ध्यान दिँदा, तँ फोहोरको यो देशमा सुरक्षित हुनेछस्। आखिरमा, तँलाई के गवाही दिन लगाइन्छ? तँ फोहोरको देशमा जन्मेको छस्, तर तँ पवित्र बन्न सक्छस्, र शैतानको सत्तामा जिउने गरी फेरि कहिल्यै फोहोरद्वारा दूषित हुँदैनस्, तर आफैलाई शैतानको प्रभावबाट छुटाउँछस्, शैतानको कब्जा वा उत्पीडनमा पर्दैनस्, सर्वशक्तिमानका हातहरूमुनि जिउँछस्। शैतानसितको लडाइँमा पाएको विजयको गवाही र प्रमाण यही नै हो। तैँले शैतानको विरुद्ध विद्रोह गर्न सक्छस्, तैँले आफ्नो जियाइमा शैतानी स्वभावहरू प्रकट गर्दैनस्, बरु परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा उहाँले माग गर्नुभएअनुसार नै जिउनेछस्: सामान्य मानवता, सामान्य ज्ञान, सामान्य अन्तर्दृष्टि, परमेश्वरलाई प्रेम गर्ने सामान्य संकल्प, र परमेश्वरप्रतिको बफादारीता। यो सृष्टि गरिएको प्राणीले वहन गर्नुपर्ने गवाही हो। तैँले यसो भन्छस्, “हामी फोहोरको देशमा जन्मिएका छौं, तर परमेश्वरको सुरक्षाको कारण, उहाँको नेतृत्वको कारण, र उहाँले हामीलाई जित्नुभएको कारण, हामीले आफैलाई शैतानको प्रभावदेखि छुटाएका छौं। आज हामी समर्पित हुन सक्नु पनि परमेश्वरले हामीलाई विजय गर्नुभएको प्रभाव हो, अनि यो हामी असल भएकोले, वा हामीले स्वाभाविक रूपले परमेश्वरलाई प्रेम गरेकोले होइन। परमेश्वरले हामीलाई चुन्नुभएकोले र हामीलाई पूर्वनियुक्त गर्नुभएकोले आज हामीलाई विजय गरिएको, र उहाँको गवाही दिन सक्छौं, उहाँको सेवा गर्न सक्छौं; यसरी, उहाँले हामीलाई चुन्नुभएको र रक्षा गर्नुभएकोले पनि, हामी शैतानको शक्तिबाट बचाइएका र छुटाइएका छौं, अनि फोहोरलाई त्यागेर ठूलो रातो अजिङ्गरको देशमा शुद्ध हुन सक्छौं।”
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (२)
५०२. आज, मैले भन्ने वचनहरूलाई तँ विश्वास गर्दैनस्, र तँ तिनलाई ध्यानै दिँदैनस्; जब यो काम फैलिने दिन आउँछ र तैँले यसको सम्पूर्णता देख्छस्, तब तँ पछुताउनेछस्, र त्यतिबेला तँ अक्क न बक्क हुनेछस्। आशिष्हरू छन्, तैपनि तँ तिनको आनन्द लिन जान्दैनस्, र सत्यता छ, तैपनि तँ त्यसलाई पछ्याउँदैनस्। के तँ आफैमाथि समस्या ल्याउँदैनस् र? आज, परमेश्वरको कामको अर्को चरण सुरु हुन बाँकी नै भए पनि, तँबाट गरिएका मागहरू र तँलाई जिउन लगाइएका कुराहरूमा केही पनि अतिरिक्त छैन। काम धेरै छन्, र सत्यता धेरै छन्; के ती तैँले थाहा पाउन लायक छैनन् र? के सजाय र न्याय तेरो आत्मालाई बिउँझाउन असक्षम छ? के सजाय र न्याय तँलाई आफूले आफैलाई घृणा गर्ने बनाउन असक्षम छ? के तँ शैतानको प्रभावमा रही शान्ति र आनन्द एवम् थोरै दैहिक आराममा जिउनमै सन्तुष्ट छस्? के तँ सबै मानिसहरूमध्ये सबैभन्दा नीच छैनस् र? मुक्ति देखेका तर त्यसलाई प्राप्त गर्नुको पछि नलाग्ने मानिसहरूजत्तिको मूर्ख अरू कोही पनि हुँदैन; देहमा लिप्त हुने र शैतानको आनन्द लिने मानिसहरू यिनै हुन्। परमेश्वरमाथिको तेरो आस्थामा तँ कुनै पनि कठिनाइ वा सङ्कष्टहरू नहोऊन्, वा थोरै पनि कष्ट नहोओस् भन्ने आशा गर्छस्। तँ सधैँ त्यस्ता कुराहरू पछ्याउँछस् जुन व्यर्थ छन्, र तँ जीवनलाई कुनै महत्त्व दिँदैनस्, बरु आफ्नै विलासी विचारहरूलाई सत्यताभन्दा अगाडि राख्छस्। तँ कति बेकामे छस्! तँ सुँगुरजस्तै जिउँछस्—तँ अनि सुँगुर र कुकुरहरूको बीचमा के भिन्नता छ र? सत्यता नपछ्याउने, बरु देहलाई प्रेम गर्नेहरू सबै नै पशु होइनन् र? ती आत्माविहीन मृत मानिसहरू सबै जिउँदा लासहरू होइनन् र? तिमीहरूका माझमा कतिवटा वचनहरू बोलिएका छन्? के तिमीहरूका माझमा थोरै मात्र काम गरिएको छ? तिमीहरूका माझमा मैले कति प्रदान गरेको छु? त्यसोभए तैँले त्यो किन प्राप्त गरेको छैनस्? तँलाई केका बारेमा गुनासो गर्नु छ? के तँ देहसित ज्यादै मोहित भएकोले तैँले केही पनि प्राप्त नगरेको कुरा साँचो होइन र? अनि, के तेरा विचारहरू अत्यन्तै अत्यधिक भएकाले यस्तो भएको होइन र? के तँ अत्यन्तै मूर्ख भएकोले यस्तो भएको होइन र? यदि तैँले यी आशिष्हरू प्राप्त गर्न सक्दैनस् भने, के तैँले परमेश्वरलाई तँलाई मुक्ति नदिएको भनी दोष दिन मिल्छ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान
५०३. परमेश्वर यस्तो बृहत् मात्रामा काम गर्नुहुन्छ र मानिसहरूको यो समूहलाई पूर्ण रूपमा मुक्ति दिनुहुन्छ, ताकि तैँले शैतानको प्रभावबाट मुक्त हुन, पवित्र भूमिमा बस्न, परमेश्वरको ज्योतिमा रहन, र ज्योतिको नेतृत्व र अगुवाइ पाउन सकून्। अनि त्यसपछि तेरो जीवन अर्थपूर्ण हुन्छ। तिमीहरू जे खान्छौ र लाउँछौ त्यो गैरविश्वासीहरूको भन्दा फरक छ; तिमीहरू परमेश्वरका वचनहरूमा आनन्द लिन्छौ र अर्थपूर्ण जीवन जिउँछौ—तर तिनीहरू कुन कुरामा रमाउँछन्? तिनीहरूले केवल आफ्ना “पुर्ख्यौली सम्पदा” र “राष्ट्रिय भावना” मा आनन्द मनाउँछन्। तिनीहरूसँग मानवताको छाप रत्तीभर पनि हुँदैन! तिमीहरूका पोशाक र सिँगारपटार, बोलीवचन र कार्यहरू सबै तिनीहरूका भन्दा फरक छन्। आखिरमा, तिमीहरू पूर्ण रूपमा फोहोरबाट उम्कनेछौ, त्यसउप्रान्त शैतानको परीक्षाको पासोमा फस्नेछैनौ, र परमेश्वरको दैनिक प्रबन्ध प्राप्त गर्नेछौ। तिमीहरू सधैँ सतर्क हुनुपर्दछ। तिमीहरू फोहोर ठाउँमा बसे पनि तिमीहरूलाई फोहोरको दाग लागेको छैन र तिमीहरू परमेश्वरको ठूलो सुरक्षा पाउँदै उहाँको छेउमा जिउन सक्छौ। परमेश्वरले तिमीहरूलाई पहेँलो देशका सबै मानिसहरूमध्येबाट चुन्नुभएको छ। के तिमीहरू सबैभन्दा आशिषित व्यक्तिहरू होइनौ र? तँ सृजित प्राणी होस्—तैँले अवश्य पनि परमेश्वरको आराधना गर्नुपर्छ र अर्थपूर्ण जीवन पछ्याउनुपर्छ। यदि तँ परमेश्वरको आराधना गर्दैनस् बरु आफ्नै फोहोर देहभित्रै जिउँछस् भने, के तँ मानव वस्त्र धारण गरेको पशु मात्र होइनस् र? तँ मानव भएकाले तैँले आफूलाई परमेश्वरप्रति समर्पित गर्नुपर्छ र सबै दुःख भोग्नुपर्छ। तैँले आज आफूलाई परेको सानो कष्टलाई खुसीसाथ र निर्धक्क भएर स्वीकार गर्नुपर्छ, अनि अय्यूब र पत्रुसले जस्तो अर्थपूर्ण जीवन जिउनुपर्छ। यस संसारमा, मानिसले दियाबलसको वस्त्र लगाउँछ, दियाबलसबाट खानेकुरा लिएर खान्छ, र दियाबलसकै अधीनमा रही काम र सेवा गर्दछ, अनि ऊ फोहोरले ढाकिने हदसम्म त्यसको कुल्चीमिल्चीमा पर्छ। उसले जीवनको अर्थ बुझेको वा साँचो मार्ग प्राप्त गरेको छैन—यसरी जिउनुको के महत्त्व हुन्छ र? तिमीहरू सही मार्ग पछ्याउने र सुधारको खोजी गर्ने मानिस हौ। तिमीहरू ठूलो रातो अजिङ्गरको देशमा खडा हुन्छौ र तिमीहरू ती हौ, जसलाई परमेश्वर धर्मी भन्नुहुन्छ। के त्यो सबैभन्दा अर्थपूर्ण जीवन होइन र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यास (२)