ग. राज्यको युग—आखिरी युगको सम्बन्धमा
३३. जब येशू मानिसको संसारमा आउनुभयो, उहाँले अनुग्रहको युग ल्याउनुभयो र व्यवस्थाको युगको अन्त्य गर्नुभयो। आखिरी दिनहरूको दौरान, परमेश्वर फेरि देह बन्नुभएको छ, र यो देहधारणमार्फत उहाँले अनुग्रहको युग समाप्त गर्नुभयो र राज्यको युग ल्याउनुभयो। परमेश्वरको दोस्रो देहधारणलाई स्वीकार गर्न सक्ने सबैलाई राज्यको युगमा डोऱ्याइनेछ र अझ भन्नुपर्दा, तिनीहरू व्यक्तिगत रूपमा परमेश्वरको मार्गदर्शन स्वीकार गर्न सक्षम हुनेछन्। येशू मानिसमाझ आउनुभए पनि र उहाँले धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिलाई छुटकारा दिने काम मात्र पूरा गर्नुभयो र मानिसको पापबलिका रूपमा सेवा गर्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्ति दिनका निम्ति येशूले पापबलि बनेर मानिसका पापहरू बोक्नु मात्र आवश्यक थिएन, तर परमेश्वरले शैतानद्वारा भ्रष्ट तुल्याइएको मानिसका स्वभावहरू पूर्ण रूपमा हटाउने अझ ठूलो काम गर्नु पनि आवश्यक थियो। र यसैले, मानिसलाई उसका पापहरूबाट क्षमा गरिएपछि, मानिसलाई नयाँ युगमा डोऱ्याउन परमेश्वर देहमा फर्केर आउनुभयो, र सजाय अनि न्यायको काम सुरु गर्नुभयो। यस कामले मानवजातिलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा समर्पित हुने सबैले अझ उच्च सत्यताको आनन्द उठाउनेछन् र अझ ठूला आशिष्हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, मार्ग र जीवन प्राप्त गर्नेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना
३४. मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषहरू ऊभित्र पहिल्यै रोपिएका थिए, र शैतानद्वारा भ्रष्ट तुल्याइएको हजारौँ वर्षपछि, ऊसँग भित्र परमेश्वरको प्रतिरोध गर्ने एउटा प्रकृति हुन्छ। यसकारण, जब मानिसलाई छुटकारा दिइयो, त्यो छुटकारा भन्दा अरू केही पनि थिएन। अर्थात्, मानिसलाई ठूलो मूल्यमा किनेर फिर्ता लिइएको थियो, तर ऊभित्रको विषाक्त प्रकृति हटाइएको थिएन। यस्तो फोहोरी मानिसले परमेश्वरलाई सेवा गर्न योग्य हुनुभन्दा अघि परिवर्तन भोग्नैपर्छ। यस न्याय र सजायको कामको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोरी र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्न पुग्नेछ, र ऊ पूर्णतः परिवर्तन हुन र शुद्ध गरिन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्वरको सिंहासनको अघि फर्केर आउन योग्य हुन सक्छ। हालका सबै काम मानिस शुद्ध पारिन र परिवर्तित हुन सकोस् भनेर गरिन्छ; वचनको न्याय र सजाय, अनि शोधनको माध्यमबाट मानिसले आफ्नो भ्रष्टता फाल्न अनि ऊ शुद्ध पारिन सकोस् भनेर गरिन्छ। कामको यो चरण मुक्तिको काम हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु बढी उचित हुन्छ। वास्तवमा, यो चरण विजयको काम पनि हो, साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो। वचनको न्याय र सजायमार्फत नै मानिस परमेश्वरद्वारा प्राप्त गरिन पुग्छ, र वचनमार्फत गरिने शोधन, न्याय, र खुलासाले नै मानिसको हृदयभित्रका सबै अशुद्धता, धारणा, मनसाय र व्यक्तिगत आशाहरूलाई पूर्ण रूपमा प्रकट गर्छन्। मानिसलाई छुटकारा दिइएको र उसका पापहरू क्षमा गरिएका भए पनि, यसलाई केवल परमेश्वरले उसका अपराधहरू याद नगर्नुभएको र उसका अपराधहरूअनुसार ऊसँग व्यवहार नगर्नुभएको मान्न सकिन्छ। तर, मानिस पापबाट मुक्त नभईकन देहमा जिउँछ, र ऊ निरन्तर पाप गरिरहन, अटुट रूपमा आफ्नो शैतानी भ्रष्ट स्वभावहरू प्रकट गरिरहन मात्र सक्छ। मानिसले जिउने जीवन यही हो, पाप गर्ने र क्षमा गरिने एउटा निरन्तर चक्र। अधिकांश मानिसहरूले दिनमा पाप गर्छन् र साँझमा पाप स्वीकार गर्छन्। अनि त्यसैले, पापबलि मानिसका लागि सदासर्वदा प्रभावकारी भए पनि, त्यसले मानिसलाई पापबाट मुक्ति दिन सक्दैन। मुक्तिको काम आधा मात्र सम्पन्न भएको छ, किनकि मानिसमा अझै पनि भ्रष्ट स्वभावहरू छन्। उदाहरणका लागि, जब मानिसहरूले आफूहरू मोआबबाट आएका हौँ भन्ने थाहा पाए, तब तिनीहरूले गुनासो गरे, जीवनको खोजी गर्न छाडे, र अति नै नकारात्मक बने। के यसले मानिस अझै पनि परमेश्वरको प्रभुत्वको अन्तर्गत पूर्ण रूपमा समर्पित हुन असमर्थ छ भनी देखाउँदैन र? के ठ्याक्कै यही नै मानिसका शैतानी भ्रष्ट स्वभाव होइनन् र? जब तँलाई सजायको अधीनमा पारिएको थिएन, तँ तेरो हात अरू सबैका भन्दा माथि उठाउँथिस्, येशूको भन्दा पनि माथि उठाउँथिस्। अनि तँ ठूलो स्वरमा कराउँथिस्, “परमेश्वरको प्यारो छोरा हुनू! परमेश्वरको एक घनिष्ठ हुनू! हामी शैतानको सामु झुक्नुभन्दा बरु मरौँला! त्यो वृद्ध शैतानविरुद्ध विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गरविरुद्ध विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गर सदाका लागि शक्तिबाट खसोस्। परमेश्वरले हामीलाई पूर्ण बनाउनुहोओस्!” तैँले अरू सबैको भन्दा चर्को स्वरमा पुकारिस्। तर त्यसपछि सजायको समय आयो, र एकचोटि फेरि, तेरा भ्रष्ट स्वभावहरू प्रकट भए। तेरो पुकार रोकियो, र तैँले तेरो सङ्कल्प गुमाइस्। मानिसको भ्रष्टता यही नै हो; यो यस्तो कुरा हो, जुन पापभन्दा गहिरो छ, यो शैतानले रोपेको कुरा हो र यसले मानिसभित्र गहिरो जरा गाडेको छ। आफ्ना पापहरूबारे सचेत हुनु मानिसका निम्ति सजिलो छैन, र ऊसँग गहिरो जरा गाडेको आफ्नो प्रकृतिलाई चिन्ने कुनै उपाय छैन। वचनको न्यायमार्फत मात्रै यो नतिजा हासिल गर्न सकिन्छ। यसरी मात्र मानिसलाई यस बिन्दुबाट बिस्तारै परिवर्तन गर्न सकिन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (४)
३५. आखिरी दिनहरूको काम भनेको वचनहरू बोल्नु हो। वचनहरूको माध्यमद्वारा मानिसमा ठूला परिवर्तनहरू ल्याउन सकिन्छ। मानिसहरूले यी वचनहरू स्वीकार गरेर तिनीहरूमा आएका परिवर्तनहरू मानिसहरूले अनुग्रहको युगमा चिह्न र चमत्कारहरू स्वीकार गरेर तिनीहरूमा आएका परिवर्तनहरूभन्दा अत्यन्तै ठूला हुन्छन्। किनकि अनुग्रहको युगमा, मानिसमाथि हात राखेर अनि प्रार्थना गरेर ऊबाट दुष्टात्माहरू निकालिए, तर मानिसभित्रका भ्रष्ट स्वभावहरू अझै रहिरहे। मानिसलाई उसको बिमारीबाट निको पारियो र उसका पापहरू क्षमा गरिए, तर मानिसले ऊभित्रका शैतानी भ्रष्ट स्वभावहरू कसरी फाल्न सक्छ भन्ने कुरा आउँदा, उसमा यो काम गर्न अझै बाँकी नै थियो। मानिसलाई उसको आस्थाका कारण मात्रै छुटकारा दिइयो र उसका पापहरू क्षमा गरियो, तर मानिसको पापी प्रकृति हटाइएको थिएन, र त्यो अझै पनि ऊभित्र नै रह्यो। मानिसका पापहरू परमेश्वरको देहधारणमार्फत क्षमा गरिएका थिए, तर यसको अर्थ मानिसभित्र उप्रान्त कुनै पाप थिएन भन्ने होइन। मानिसका पापहरू पापबलिद्वारा क्षमा गर्न सकिन्छ, तर मानिसलाई उप्रान्त कसरी पाप नगर्ने बनाउन सकिन्छ, र उसका भ्रष्ट स्वभाव र पापी प्रकृतिलाई कसरी पूर्ण रूपले फाल्न र उसको जीवन स्वभाव कसरी केही हदसम्म परिवर्तन गर्न सकिन्छ भन्ने सवालमा, ऊसँग यो समस्या समाधान गर्ने कुनै उपाय छैन। मानिसका पापहरू क्षमा गरिएका छन्, र यो परमेश्वरको क्रूसीकरणको कामका कारण हो, तर मानिस आफ्ना पुराना शैतानी भ्रष्ट स्वभावहरूभित्रै जिउन जारी राख्छ। यस्तो भएकोले, मानिसलाई उसका शैतानी भ्रष्ट स्वभावहरूबाट पूर्ण रूपमा मुक्ति दिइनैपर्छ, उसको पापी प्रकृति फेरि कहिल्यै विकास नहुने गरी, पूर्ण रूपले फालिनैपर्छ, र उसको स्वभाव रूपान्तरित हुनैपर्छ। यसका निम्ति मानिसले जीवनमा वृद्धि हुने मार्गलाई, जीवनको मार्गलाई र आफ्नो स्वभाव बदल्ने मार्गलाई बुझ्नु आवश्यक हुन्छ। यसका साथै, मानिसले यो मार्गअनुसार अभ्यास गर्नु आवश्यक हुन्छ, ताकि उसको स्वभाव बिस्तारै परिवर्तित हुन सकोस् र ऊ ज्योतिको उज्यालोमा जिउन सकोस्, ताकि उसले गर्ने सबथोक परमेश्वरका अभिप्रायहरूअनुरूप होऊन्, ताकि उसले आफ्नो शैतानी भ्रष्ट स्वभाव फाल्न सकोस् र ताकि ऊ शैतानको अन्धकारको प्रभावबाट उम्कन सकोस्, यसरी ऊ पापबाट पूर्ण रूपमा निस्कन सकोस्। तब मात्र मानिसले पूर्ण मुक्तिको अनुग्रह पाएको हुनेछ। जुन बेला येशू आफ्नो काम गर्दै हुनुहुन्थ्यो, उहाँबारे मानिसको ज्ञान अझै धमिलो र अस्पष्ट नै थियो। मानिस सधैँ उहाँ दाऊदको पुत्र भएको विश्वास गर्थ्यो, र उहाँ एक महान् अगमवक्ता, मानिसलाई उसका पापहरूबाट छुटकारा दिने परोपकारी प्रभु हुनुहुन्छ भनेर भन्थ्यो। कोही-कोही आफ्नो विश्वासको शक्तिले गर्दा उहाँको वस्त्रको छेउ छुँदा मात्रै पनि निको भए; अन्धोले देख्न सक्यो र मरेकाहरू समेत फेरि जीवित हुन सके। तर, मानिस आफैभित्र गहिरो जरा गाडेर बसेका शैतानी भ्रष्ट स्वभावहरू पत्ता लाउन असमर्थ थियो, न त उसलाई ती स्वभावहरू कसरी फाल्ने भन्ने कुरा नै थाहा थियो। मानिसले प्रशस्त अनुग्रह प्राप्त गऱ्यो, जस्तै शरीरको शान्ति र सुख, एक जना सदस्यको विश्वासले सम्पूर्ण परिवारमा आशिष् ल्याउने, बिमारी निको पार्ने, इत्यादि। बाँकी मानिसका असल कामहरू र उसको धार्मिक रूप थियो; यदि कोही यी कुराका आधारमा जिउन सक्थ्यो भने, उसलाई मानकअनुरूपको विश्वासी मानिन्थ्यो। यस प्रकारका विश्वासीहरू मात्रै मृत्युपछि स्वर्गमा प्रवेश गर्न सक्थे, जसको अर्थ तिनीहरूले छुटकारा पाउँथे। तर, तिनीहरूको जीवनकालमा, यी मानिसहरूले जीवनका सबै मार्गलाई बुझेनन्। तिनीहरू पापहरू गर्ने अनि फेरि आफ्ना पापहरू स्वीकार गर्ने निरन्तर चक्रमा परेका थिए, तर आफ्ना स्वभाव बदल्ने कुनै तरिका तिनीहरूले जानेका थिएनन्: अनुग्रहको युगमा मानिसको अवस्था यस्तै थियो। के मानिसले पूर्ण मुक्ति पाएको छ? छैन! त्यसकारण, कामको त्यो चरण समाप्त भएपछि, न्याय र सजायको काम अझै बाँकी नै रह्यो। यो चरण भनेको मानिसलाई वचनको माध्यमद्वारा शुद्ध पार्नका लागि हो, र यसरी उसलाई पछ्याउने मार्ग दिनका लागि हो। यदि भूतहरू नै निकालिरहने हो भने यो चरण फलदायी वा अर्थपूर्ण हुँदैन, किनकि त्यो मानिसको पापी प्रकृति फाल्न असफल हुनेथ्यो, र मानिस आफ्ना पापहरूको क्षमामा नै अड्किरहने थियो। पापबलिको माध्यमले, मानिसलाई उसका पापहरूका निम्ति क्षमा गरिएको छ, किनकि क्रूसीकरणको काम समाप्तिमा पुगिसकेको छ, र परमेश्वर शैतानमाथि विजयी हुनुभएको छ। तर मानिसका भ्रष्ट स्वभावहरू अझै ऊभित्रै रहन्छन्, मानिसले अझै पनि पाप गर्न र परमेश्वरको प्रतिरोध गर्न सक्छ, र परमेश्वरले मानवजातिलाई प्राप्त गर्नुभएको छैन। त्यसैले कामको यस चरणमा परमेश्वर वचन प्रयोग गरेर मानिसका भ्रष्ट स्वभावहरू खुलासा गर्नुहुन्छ, र उसलाई उचित मार्गअनुरूप अभ्यास गर्न लगाउनुहुन्छ। यस चरणको काम अघिल्लोभन्दा बढी अर्थपूर्ण छ, साथै अझ बढी फलदायी पनि छ, किनकि अहिले वचनले नै सिधै मानिसको जीवनलाई भरणपोषण गर्छ र मानिसको स्वभावलाई पूर्ण रूपमा नवीकरण हुन सक्षम बनाउँछ; यो अझै पूर्ण कामको चरण हो। त्यसकारण, आखिरी दिनहरूमा हुने देहधारणले परमेश्वरको देहधारणको महत्त्व पूरा गरेको छ र मानिसको मुक्तिका लागि परमेश्वरको व्यवस्थापनको योजनालाई पूर्ण रूपमा पूरा गरेको छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (४)
३६. आखिरी दिनहरूको काम सबैलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्नु, र परमेश्वरको व्यवस्थापनको योजनालाई निष्कर्षमा पुर्याउनु हो, किनकि समय नजिक छ र परमेश्वरको दिन आएको छ। परमेश्वर उहाँको राज्यमा प्रवेश गर्ने सबैलाई—अन्तिमसम्म उहाँप्रति बफादार हुने सबैलाई—परमेश्वर स्वयम्को युगमा ल्याउनुहुन्छ। तैपनि परमेश्वर स्वयम्को युग आइपुग्नुभन्दा पहिले, परमेश्वरको काम मान्छेका कार्यहरूलाई निरीक्षण गर्नु होइन, वा मान्छेको जीवनबारे सोधखोज गर्नु होइन, बरु मान्छेको विद्रोहीपनलाई न्याय गर्नु हो, किनकि परमेश्वरले उहाँको सिंहासनसामु आउने सबैलाई शुद्ध गर्नुहुनेछ। यस दिनसम्म परमेश्वरका पदचापहरू पछ्याएकाहरू सबै परमेश्वरको सिंहासनसामु आउनेहरू हुन्, अनि यस्तो भएको हुनाले, परमेश्वरको कामको अन्तिम चरण स्वीकार गर्ने प्रत्येक व्यक्ति परमेश्वरको शुद्धीकरणको पात्र हुन्छ। अर्को शब्दमा भन्दा, परमेश्वरको अन्तिम चरणको काम स्वीकार गर्ने प्रत्येक व्यक्ति परमेश्वरको न्यायको पात्र हुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ
३७. आखिरी दिनहरूका ख्रीष्टले मानिसलाई सिकाउन, मानिसको सारलाई खुलासा गर्न, र मानिसका शब्द र कार्यहरूलाई चिरफार गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानिसको कर्तव्य, मानिस कसरी परमेश्वरमा समर्पित हुनुपर्छ, मानव कसरी परमेश्वरप्रति बफादार हुनैपर्छ, मानिसले कसरी सामान्य मानवता जिउनुपर्छ, र साथसाथै, परमेश्वरको बुद्धि र स्वभाव जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचन मानिसको सार र उसका भ्रष्ट स्वभावहरूप्रति लक्षित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्वरलाई इन्कार गर्छ भनी खुलासा गर्ने वचनहरू मानव कसरी शैतानको मूर्तरूप र परमेश्वरविरुद्धको विरोधी शक्ति हो भन्नेतर्फ झन् बढी लक्षित हुन्छन्। परमेश्वरले आफ्नो न्यायको काम गर्नुहुँदा, उहाँले मानिसको प्रकृतिलाई केही शब्दहरूले पूर्ण रूपमा व्याख्या गर्नुहुन्न; उहाँले लामो समयसम्म खुलासा र काँटछाँट गर्नुहुन्छ। खुलासा गर्ने र काँटछाँट गर्ने यी सबै फरक-फरक विधिहरूलाई साधारण वचनले प्रतिस्थापन गर्न सकिँदैन; बरु खुलासा र काटछाँटको उहाँको काम गर्न मानिससँग बिलकुलै नभएको सत्यता प्रयोग गरिन्छ। यस्ता विधिहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस्तो न्यायद्वारा मात्र मानव वशमा आउन र उहाँबारे पूर्णतः विश्वस्त हुन सक्छ, र त्यसमाथि परमेश्वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्वरको साँचो मुहारलाई र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई बुझ्नु हो। न्यायको कामले मानवलाई परमेश्वरका अभिप्रायहरू, परमेश्वरको कामको उद्देश्य, र उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गर्न सक्षम बनाएको छ। यसले मानवलाई उसको भ्रष्ट सार र उसका भ्रष्टताका जडहरू पहिचान गर्ने र चिन्ने, र साथसाथै उसको कुरूप अनुहार पत्ता लगाउने पनि तुल्याएको छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्वरमा आस्था राख्नेहरू सबैका लागि परमेश्वरको सत्यता, मार्ग, र जीवन खोल्नु हो। यो परमेश्वरद्वारा गरिएको न्यायको काम हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ
३८. मानवजाति शैतानद्वारा यति गम्भीर रूपले भ्रष्ट भएको छ कि उसले परमेश्वर हुनुहुन्छ भनी जान्दैन र उसले परमेश्वरको आराधना गर्न छाडेको छ। आदिमा, जब आदम र हव्वाको सृष्टि गरियो, यहोवाको महिमा र गवाही सधैँ विद्यमान थिए। तर भ्रष्ट पारिएपछि, मानिसले त्यो महिमा र गवाही गुमायो, किनकि सबैले परमेश्वरको विरुद्धमा विद्रोह गरे, र उहाँको डर मान्न पूरै छाडे। आजको विजयको काम भनेको सम्पूर्ण गवाही र सम्पूर्ण महिमा फेरि प्राप्त गर्नु, र सबै मानिसहरूलाई परमेश्वरको आराधना गर्ने बनाउनु हो, ताकि सृजित प्राणीहरूका माझमा गवाही होस्; यो यस चरणको दौरान गर्नुपर्ने काम हो। वास्तवमा, कसरी मानवजातिमाथि विजय प्राप्त गर्नुपर्छ? मानिसलाई पूर्ण रूपमा विश्वास दिलाउन यस चरणमा वचनहरूको काम प्रयोग गरेर; उसलाई पूर्ण रूपमा विश्वस्त तुल्याउन खुलासा, न्याय, सजाय र निर्दयी श्राप प्रयोग गरेर; मानिसको विद्रोहीपनलाई खुलासा गरेर अनि उसको प्रतिरोधको न्याय गरेर ताकि उसले मानवजातिको अधार्मिकता र फोहोर चिन्न सकोस्, र यसरी ती चीजहरूलाई परमेश्वरको धर्मी स्वभावको प्रतिभारको रूपमा प्रयोग गरेर। मुख्य रूपमा यी वचनहरूद्वारा नै मानिसउपर विजय प्राप्त गर्न र उसलाई पूर्ण रूपमा विश्वस्त तुल्याउन सकिन्छ। वचनहरू मानवजातिलाई अन्तिम विजय गरिने माध्यम हुन्, र परमेश्वरको विजयलाई स्वीकार गर्ने सबैले उहाँको वचनको प्रहार र न्यायलाई स्वीकार गर्नुपर्दछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (१)
३९. राज्यको युगमा, परमेश्वर नयाँ युगको सुरुवात गर्न, आफ्नो काम गर्ने माध्यमहरू परिवर्तन गर्न र सम्पूर्ण युगको काम गर्न वचनहरू प्रयोग गर्नुहुन्छ। वचनको युगमा परमेश्वर यही सिद्धान्तद्वारा काम गर्नुहुन्छ। उहाँ देह बन्नुभयो र फरक-फरक दृष्टिकोणहरूबाट बोल्नुहुन्छ, जसले गर्दा मानिस देहमा देखा पर्नुहुने वचन, परमेश्वरलाई साँच्चै देख्न अनि उहाँको बुद्धि र विलक्षणता हेर्न सक्षम हुन्छ। परमेश्वर मानिसहरूमाथि विजय हासिल गर्ने, मानिसहरूलाई सिद्ध पार्ने र मानिसहरूलाई हटाउने लक्ष्यहरू अझ राम्ररी हासिल गर्नका निम्ति यस तरिकाले काम गर्नुहुन्छ। वचनको युगमा काम गर्नका लागि वचनहरूको प्रयोग गर्नुको साँचो अर्थ यही हो। वचनहरूमार्फत, मानिसहरूले परमेश्वरको काम, परमेश्वरको स्वभाव, मानिसको सार र मानिस केमा प्रवेश गर्नुपर्छ भन्ने कुरा थाहा पाउँछन्। वचनहरूमार्फत, परमेश्वरले वचनको युगमा गर्न चाहेका सबै काम सम्पन्न हुन्छन्। वचनहरूमार्फत, मानिसहरू प्रकट हुन्छन् र हटाइन्छन् अनि तिनीहरूको परीक्षा गरिन्छ। मानिसहरूले यी वचनहरू देखेका छन्, यी वचनहरू सुनेका छन् र यी वचनहरू अस्तित्वमा रहेका बुझेका छन्। फलस्वरूप, तिनीहरूले परमेश्वरको अस्तित्व, परमेश्वरको सर्वशक्तिमान्ता र बुद्धि अनि मानिसलाई प्रेम गर्ने र मुक्ति दिने परमेश्वरको हृदयमा विश्वास गर्न थालेका छन्। “वचनहरू” भन्ने शब्द साधारण र सरल हुन सक्ला, तर देहधारी परमेश्वरको मुखबाट बोलिएका वचनहरूले ब्रह्माण्ड हल्लाउँछन्; तिनले मानिसहरूको हृदय, उनीहरूका धारणाहरू र पुराना स्वभावहरू, र सम्पूर्ण संसारको विगतको स्वरूपलाई रूपान्तरण गर्छन्। युगौँ-युगदेखि, आजका परमेश्वरले मात्र यसरी काम गर्नुहुन्छ, र उहाँ मात्रै यसरी बोल्नुहुन्छ र यसरी मानिसलाई मुक्ति दिनुहुन्छ। यस उप्रान्त, मानिस परमेश्वरका वचनहरूको मार्गदर्शनअन्तर्गत, उहाँका वचनहरूको गोठालो र आपूर्तिमाझ जिउँछ; सबै मानिस परमेश्वरका वचनहरूको संसारमा, परमेश्वरका वचनहरूका श्राप र आशिष्हरूमाझ जिउँछन्, र अधिकांश मानिस त उहाँका वचनहरूको न्याय र सजायअन्तर्गत जिउँछन्। यी वचन र यो काम सबै मानिसको मुक्तिका खातिर, परमेश्वरको इच्छा पूरा गर्नका खातिर, र पुरानो सृष्टिको संसारको मूल स्वरूप परिवर्तन गर्नका खातिर हुन्। परमेश्वरले वचनहरू प्रयोग गरेर संसारको सृष्टि गर्नुभयो, उहाँ वचनहरू प्रयोग गरेर नै ब्रह्माण्डका सबै मानिसलाई अगुवाइ गर्नुहुन्छ, उहाँ वचनहरू प्रयोग गरेर नै उनीहरूलाई विजय गर्नुहुन्छ र मुक्ति दिनुहुन्छ, र अन्ततः उहाँले सम्पूर्ण पुरानो संसारलाई अन्त्य गर्न वचनहरू प्रयोग गर्नुहुनेछ, र यसरी उहाँको व्यवस्थापन योजनाको सम्पूर्णतालाई पूरा गर्नुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो
४०. राज्यको युगमा, देहधारी परमेश्वरले उहाँमा विश्वास गर्ने सबैलाई विजय गर्नका निम्ति वचनहरू बोल्नुहुन्छ। “वचन शरीरमा देखा पर्नुहुन्छ” भनेको यही हो। आखिरी दिनहरूमा यो काम गर्नलाई परमेश्वर आउनुभएको छ, भन्नुको अर्थ, उहाँ वचन शरीरमा देखा पर्नुहुन्छ भन्ने तथ्यको वास्तविक महत्त्वलाई पूरा गर्न आउनुभएको छ। उहाँले वचनहरू मात्र बोल्नुहुन्छ, अनि त्यहाँ तथ्यहरूको उदय बिरलै हुन्छ। वचन देहमा देखा पर्नुको सार यही हो र जब देहधारी परमेश्वरले आफ्ना वचनहरू बोल्नुहुन्छ, त्यो देहमा वचनको देखा पराइ, र देहमा वचनको आगमन हो। “प्रारम्भमा वचन हुनुहुन्थ्यो, र वचन परमेश्वरसँग हुनुहुन्थ्यो, र वचन नै परमेश्वर हुनुहुन्थ्यो, र वचन देह बन्नुभयो।” यो (वचन शरीरमा देखा पर्ने काम) परमेश्वरले आखिरी दिनहरूमा पूरा गर्नुहुने काम हो, अनि यो उहाँको सम्पूर्ण व्यवस्थापन योजनाको अन्तिम अध्याय हो, यसैले परमेश्वर संसारमा आउनुपर्छ र उहाँका वचनहरू शरीरमा प्रकट गर्नुपर्छ। आज जे गरिन्छ, भविष्यमा जे गरिनेछ, परमेश्वरद्वारा जे पूरा गरिनेछ, मानिसको अन्तिम गन्तव्य, तिनीहरू जो मुक्त हुनेछन्, तिनीहरू जो नाश पारिनेछन्, र इत्यादि—अन्त्यमा पूरा गरिने यी सबै काम स्पष्ट रूपमा बताइएको छ, अनि यी सबै वचन देहमा देखा पर्नुहुन्छ भन्ने तथ्यको वास्तविक महत्त्वलाई पूरा गर्नका निम्ति हो। पहिले जुन प्रशासनिक आदेश र संविधान जारी गरिएको थियो, तिनीहरू जो नाश पारिनेछन्, तिनीहरू जो विश्राममा प्रवेश गर्नेछन्—यी वचनहरू सबैलाई पूरा गरिनैपर्छ। यो देहधारी परमेश्वरले आखिरी दिनहरूमा मुख्य रूपमा पूरा गर्नुहुने काम हो। उहाँले मानिसहरूलाई परमेश्वरले अघिबाटै नियुक्त गर्नुभएकाहरू कहाँको स्वामित्वमा हुन्छन् र परमेश्वरले अघिबाटै नियुक्त नगर्नुभएकाहरू कहाँको स्वामित्वमा हुन्छन्, उहाँका मानिसहरू र छोराहरूलाई कसरी वर्गीकरण गरिनेछ, इस्राएललाई के हुनेछ, मिश्रलाई के हुनेछ सो बुझ्ने तुल्याउनुहुन्छ—भविष्यमा ती प्रत्येक वचनहरू पूरा गरिनेछ। परमेश्वरको कामको गति बढिरहेको छ। परमेश्वरले प्रत्येक युगमा के गरिनुपर्छ, आखिरी दिनहरूमा देहधारी परमेश्वरद्वारा के काम हुनुपर्छ, गर्नुपर्ने उहाँको सेवकाइ आदि कुरा मानिसलाई प्रकट गर्ने माध्यमको रूपमा परमेश्वरले वचनको प्रयोग गर्नुहुन्छ, अनि यी वचनहरू सबै वचन शरीरमा देखा पर्नुहुन्छको वास्तविक महत्त्व प्राप्त गर्नका निम्ति हुन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको वचनद्वारा सबै कुरा पूरा हुन्छ
४१. आज, परमेश्वर मुख्य रूपले “वचन देहमा देखा पर्नुहुन्छ” को काम पूरा गर्न देहधारी हुनुभएको छ। उहाँ मानिसलाई सिद्ध पार्न वचन प्रयोग गर्नुहुन्छ, र मानिसलाई वचनको काटछाँट र वचनको शोधन स्वीकार गर्न लगाउनुहुन्छ। उहाँले आफ्ना वचनहरूमा तँलाई आपूर्ति र जीवन प्राप्त गर्ने अनि उहाँका काम र कार्यहरू देख्ने तुल्याउनुहुन्छ। परमेश्वर तँलाई सजाय दिन र शोधन गर्न वचन प्रयोग गर्नुहुन्छ, र यसैले यदि तैँले पीडा भोगिस् भने पनि, त्यो पनि परमेश्वरको वचनको कारणले नै हो। आज, परमेश्वरले तथ्यहरूद्वारा काम गर्नुहुन्न, तर वचनहरूद्वारा गर्नुहुन्छ। उहाँको वचन तँमा आएपछि मात्र पवित्र आत्मा तँभित्र काम गर्न सक्नुहुन्छ र तँलाई कष्ट भोग्ने वा मिठास चाख्ने तुल्याउनुहुन्छ। परमेश्वरको वचनले मात्र तँलाई वास्तविकतामा ल्याउन सक्छ, र परमेश्वरको वचन मात्र तँलाई सिद्ध पार्न सक्षम छ। त्यसकारण, तैँले कम्तीमा पनि यो बुझ्नैपर्छ: परमेश्वरद्वारा आखिरी दिनहरूमा गरिएको काम मुख्य रूपले उहाँको वचन प्रयोग गरेर प्रत्येक व्यक्तिलाई सिद्ध पार्नु र मानिसलाई मार्गदर्शन गर्नु हो। उहाँले सबै काम उहाँको वचनद्वारा गर्नुहुन्छ; तँलाई सजाय दिन उहाँले तथ्यहरू प्रयोग गर्नुहुन्न। यस्ता समयहरू हुन्छन्, जब केही मानिसहरूले परमेश्वरको विरोध गर्छन्। परमेश्वरले तँलाई ठूलो वेदनामा पार्नुहुन्न, तेरो देहलाई सजाय दिनुहुन्न, न त त्यसले कुनै पीडा नै भोग्छ—तर तँमाथि उहाँको वचन आउने, अनि त्यसले तँलाई शोधन गर्नेबित्तिकै यो तेरो निम्ति असहनीय हुन्छ। के त्यस्तो हुँदैन र? सेवाकर्ताहरूको समयमा परमेश्वरले मानिसलाई अतल कुण्डमा फालिदिनु भन्नुभयो। के मानिस अन्ततः साँच्चै अतल कुण्डमा परेको छ? मानिसलाई शोधन गर्न वचनहरू प्रयोग गरेर मानिस अतल कुण्डमा प्रवेश गऱ्यो। त्यसकारण, जब परमेश्वर आखिरी दिनहरूमा देहधारी हुनुहुन्छ, उहाँ मुख्यतः सबै हासिल गर्न र सबै प्रकट गर्न वचन प्रयोग गर्नुहुन्छ। उहाँको वचनमा मात्र उहाँ के हुनुहुन्छ भनी तैँले देख्न सक्छस्; उहाँको वचनमा मात्र उहाँ परमेश्वर स्वयम् हुनुहुन्छ भनी देख्न सक्छस्। जब देहधारी परमेश्वर पृथ्वीमा आउनुहुन्छ, उहाँले वचन बोल्ने बाहेक अरू काम गर्नुहुन्न—त्यसैले तथ्यहरूको कुनै आवश्यकता छैन; वचनहरू नै पर्याप्त छन्। किनभने उहाँ मुख्यतः यही काम गर्न आउनुभएको हो, मानिसलाई उहाँका वचनहरूमा उहाँको महान् शक्ति र सर्वोच्चता देख्ने तुल्याउन, मानिसलाई उहाँका वचनहरूमा उहाँको विनम्रता र गुप्तता देख्ने तुल्याउन, अनि मानिसलाई उहाँका वचनहरूमा उहाँको सम्पूर्णता जान्ने तुल्याउन आउनुभएको हो। उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ ती सब उहाँका वचनहरूमा छन्। उहाँको बुद्धि र अद्भुतता उहाँका वचनहरूमा छन्। तँ यसमा परमेश्वरले उहाँका वचनहरू बोल्ने अनेकौँ विधि देख्न सक्छस्। परमेश्वरले यति लामो समय काम गर्नुभएको छ, र बढीजसो उहाँ मानिसका लागि प्रबन्ध गर्ने, उसलाई खुलासा गर्ने, वा उसलाई काटछाँट गर्ने काम गर्दै आउनुभएको छ। परमेश्वर कुनै व्यक्तिलाई हल्का रूपमा श्राप दिनुहुन्न, र श्राप दिँदा पनि, उहाँ उसलाई वचनमार्फत श्राप दिनुहुन्छ। त्यसकारण, परमेश्वर देह बन्नुभएको यस युगमा, परमेश्वरले फेरि बिरामीलाई निको पारेको र पिशाचहरू धपाएको हेर्ने अपेक्षा नगर्, र निरन्तर चिन्हहरू खोज्न छोड्—तिनको कुनै काम छैन! ती चिन्हहरूले मानिसलाई सिद्ध पार्न सक्दैनन्! स्पष्ट रूपमा भन्नुपर्दा: आज, देहधारी व्यावहारिक परमेश्वर स्वयम्ले कार्य गर्नुहुन्न; उहाँ केवल बोल्नुहुन्छ। सत्यता यही हो! उहाँले तँलाई सिद्ध पार्न वचनहरू प्रयोग गर्नुहुन्छ, साथै तँलाई खुवाउन र मलजल गर्न वचनहरू प्रयोग गर्नुहुन्छ। उहाँ काम गर्न पनि वचनहरू प्रयोग गर्नुहुन्छ, र उहाँ तथ्यहरूलाई प्रतिस्थापन गर्न र तँलाई उहाँको व्यावहारिकता थाहा दिन वचनहरू प्रयोग गर्नुहुन्छ। यदि तैँले परमेश्वरको कामको यो शैलीलाई स्पष्ट रूपमा देखिस् भने, तँ नकारात्मक बन्ने सम्भावना हुँदैन। नकारात्मक कुराहरूमा ध्यान केन्द्रित गर्नुको सट्टा, तिमीहरूले सकारात्मक कुरामा मात्र ध्यान केन्द्रित गर्नुपर्छ—भन्नुको अर्थ, चाहे परमेश्वरका वचनहरू पूरा होऊन् वा नहोऊन्, अथवा तथ्यहरू अगाडि आऊन् वा नआऊन्, परमेश्वर मानिसलाई उहाँका वचनहरूबाट जीवन प्राप्त गर्न लगाउनुहुन्छ, र यो नै सबैभन्दा ठूलो चिन्ह हो; र अझ बढी, यो एक निर्विवाद तथ्य हो। परमेश्वरलाई चिन्ने यो सबैभन्दा राम्रो प्रमाण हो, र यो चिन्हहरूभन्दा पनि ठूलो चिन्ह हो। यी वचनहरूले मात्र मानिसलाई सिद्ध पार्न सक्छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको वचनद्वारा सबै कुरा पूरा हुन्छ
४२. आखिरी दिनहरूमा, परमेश्वरले मानिसलाई सिद्ध पार्न मुख्य रूपमा वचनकै प्रयोग गर्नुहुन्छ। उहाँ मानिसलाई जबर्जस्ती विश्वस्त तुल्याउन चिह्न र अचम्मका कार्यहरू प्रयोग गर्नुहुन्न; यसले परमेश्वरको महान् शक्ति प्रकट गर्न सक्दैन। यदि परमेश्वरले चिह्न र अचम्मका कार्यहरू मात्र देखाउनुभएको भए, यसले परमेश्वरको व्यावहारिकता प्रकट गर्न सक्नेथिएन, र यसले मानिसलाई सिद्ध पार्न सक्नेथिएन। परमेश्वरले मानिसहरूलाई चिह्न र अचम्मका कार्यहरूद्वारा सिद्ध पार्नुहुन्न, बरु मानिसलाई मलजल र रखवारी गर्न वचनको प्रयोग गर्नुहुन्छ, त्यसपछि मानिस पूर्ण रूपमा परमेश्वरप्रति समर्पित हुन र परमेश्वरको ज्ञान प्राप्त गर्न सक्छ। उहाँले गर्ने काम र उहाँले बोल्ने वचनको उद्देश्य यही नै हो। परमेश्वर मानिसलाई सिद्ध पार्नका लागि चिह्न र अचम्मका कार्यहरू देखाउने विधि प्रयोग गर्नुहुन्न—उहाँ वचनहरू प्रयोग गर्नुहुन्छ, र मानिसलाई सिद्ध पार्नका लागि कामका धेरै वटा विधि प्रयोग गर्नुहुन्छ। चाहे त्यो शोधन होस्, काँटछाँट होस्, वा वचनहरूको प्रबन्ध होस्, मानिसलाई सिद्ध पार्न अनि मानिसलाई परमेश्वरको काम, बुद्धि र अद्भुतपनको ज्ञान प्राप्त गर्न सक्षम बनाउन परमेश्वर धैरै वटा फरक-फरक दृष्टिकोणबाट बोल्नुहुन्छ। … मैले यसभन्दा पहिले महासङ्कष्टबाट निस्केर आउने विजेताहरूको एउटा समूह पूर्वबाट प्राप्त गरिन्छन् भनेर भनेँ। यी वचनहरूको अर्थ के हो? तिनको अर्थ के हो भने, न्याय, सजाय, काँटछाँट, र हरकिसिमका शोधन भोगेपछि मात्र यी प्राप्त गरिने मानिसहरू साँचो रूपमा समर्पित हुन्छन्। यी मानिसहरूको विश्वास अस्पष्ट हुँदैन, तर व्यावहारिक हुन्छ। तिनीहरूले कुनै पनि चिन्ह र आश्चर्यकर्म वा कुनै चमत्कार देखेका हुँदैनन्; तिनीहरू कुनै ठूल्ठूला शब्द र धर्मसिद्धान्तहरू बोल्न, वा गहन अन्तर्ज्ञानहरूबारे कुरा गर्न सक्दैनन्; त्यसको साटो, तिनीहरूसित वास्तविकता र परमेश्वरका वचनहरू हुन्छन्, र परमेश्वरको व्यावहारिक र साँचो ज्ञान हुन्छ। के यस्तो समूह परमेश्वरको महान् शक्ति प्रकट गराउन अझ बढी सक्षम हुँदैन र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको वचनद्वारा सबै कुरा पूरा हुन्छ
४३. आखिरी दिनहरूमा, परमेश्वर देह बन्नुभएको छ र मुख्य रूपमा वचनहरू बोल्न पृथ्वीमा आउनुभएको छ। जब येशू आउनुभयो, तब उहाँले स्वर्गको राज्यको सुसमाचार प्रचार गर्नुभयो र उहाँले क्रूसीकरणको छुटकाराको काम पूरा गर्नुभयो। उहाँले व्यवस्थाको युगको अन्त्य गर्नुभयो र पुराना सबै कुरा समाप्त गर्नुभयो। येशूको आगमनले व्यवस्थाको युगको अन्त्य गर्यो र अनुग्रहको युगको सुरुवात गर्यो; आखिरी दिनहरूका देहधारी परमेश्वरको आगमनले अनुग्रहको युगको अन्त्य गरेको छ। उहाँ मुख्य रूपमा आफ्ना वचनहरू बोल्न—वचनहरू प्रयोग गर्दै मानिसलाई सिद्ध पार्न, मानिसलाई ज्योति र अन्तर्दृष्टि दिन—आउनुभएको छ र यसरी मानिसको हृदयभित्र रहेको अस्पष्ट ईश्वरको स्थान हटाउनुहुन्छ। जब येशू आउनुभयो, तब उहाँले कामको यो चरण गर्नुभएन। जब उहाँ आउनुभयो, तब उहाँले धेरै चमत्कार गर्नुभयो, उहाँले बिरामीलाई निको पार्नुभयो र पिशाचहरू धपाउनुभयो, र उहाँले क्रूसीकरणको छुटकाराको काम गर्नुभयो। परिणामस्वरूप, मानिसहरू आफ्ना धारणाहरूमा परमेश्वर यस्तै हुनुपर्छ भन्ने विश्वास गर्छन्। किनभने जब येशू आउनुभयो, उहाँले मानिसको हृदयबाट अस्पष्ट ईश्वरको छवि हटाउने काम गर्नुभएन; जब उहाँ आउनुभयो, तब उहाँ क्रूसमा टाँगिनुभयो, उहाँले बिरामीलाई निको पार्नुभयो र पिशाचहरू धपाउनुभयो अनि स्वर्गको राज्यको सुसमाचार प्रचार गर्नुभयो। एक हिसाबमा, आखिरी दिनहरूको दौरान परमेश्वरको देहधारणले मानिसका धारणाहरूमा अस्पष्ट ईश्वरले ओगटेको स्थानलाई हटाउँछ, ताकि उप्रान्त मानिसको हृदयमा अस्पष्ट ईश्वरको छवि नरहोस्। उहाँ आफ्नो व्यावहारिक वचन र काम, विभिन्न ठाउँमा आफ्नो भ्रमण र आफूले मानिसमाझ गर्ने अत्यन्तै व्यावहारिक र सामान्य काममार्फत मानिसलाई परमेश्वरको व्यावहारिकता चिन्ने तुल्याउनुहुन्छ र मानिसको हृदयमा रहेको अस्पष्ट ईश्वरको स्थान हटाउनुहुन्छ। अर्को हिसाबमा, परमेश्वर मानिसलाई पूर्ण पार्न र सबै कुरा पूरा गर्न आफ्नो देहद्वारा बोलिएका वचनहरू प्रयोग गर्नुहुन्छ। आखिरी दिनहरूमा परमेश्वरले पूरा गर्ने काम यही हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको वर्तमान कामसम्बन्धी ज्ञान
४४. आखिरी दिनहरूको दौरान, परमेश्वर मुख्य रूपमा आफ्ना वचनहरू बोल्न आउनुभएको छ। उहाँ आत्माको दृष्टिकोणबाट, मानिसको दृष्टिकोणबाट र तेस्रो व्यक्तिको दृष्टिकोणबाट बोल्नुहुन्छ; उहाँ फरक-फरक तरिकाले बोल्नुहुन्छ, केही समयका लागि एउटा तरिका प्रयोग गर्नुहुन्छ अनि मानिसका धारणाहरू परिवर्तन गर्न र मानिसको हृदयबाट अस्पष्ट ईश्वरको छवि हटाउन यी बोल्ने तरिकाहरू प्रयोग गर्नुहुन्छ। परमेश्वरद्वारा गरिने मुख्य काम यही हो। मानिसले परमेश्वर आउनुहुँदा उहाँले बिरामीलाई निको पार्नुहुनेछ, पिशाचहरू धपाउनुहुनेछ, आश्चर्यकर्महरू गर्नुहुनेछ र मानिसलाई भौतिक आशिष्हरू दिनुहुनेछ भनी विश्वास गर्ने हुनाले, परमेश्वर मानिसका धारणाहरूमा भएका यस्ता कुराहरू हटाउन, मानिसलाई परमेश्वरको व्यावहारिकता र सामान्यता जान्न दिन अनि मानिसको हृदयमा रहेको येशूको छवि हटाएर त्यसको सट्टा परमेश्वरको नयाँ छविलाई मानिसको हृदय ओगट्न दिन कामको यो चरण—सजाय र न्यायको काम—गर्नुहुन्छ। मानिसभित्र परमेश्वरको छवि पुरानो भएपछि, त्यो मूर्ति बन्छ। जब येशू आउनुभयो र उहाँले कामको त्यो चरण गर्नुभयो, तब उहाँले परमेश्वरको सम्पूर्णताको प्रतिनिधित्व गर्नुभएन। उहाँले केही चिन्ह र आश्चर्यकर्म देखाउनुभयो, केही वचन बोल्नुभयो र अन्ततः क्रूसमा टाँगिनुभयो। उहाँले परमेश्वरको एउटा भागको प्रतिनिधित्व गर्नुभयो। उहाँले परमेश्वरका सबै कुराको प्रतिनिधित्व गर्न सक्नुभएन, बरु उहाँले परमेश्वरको कामको एउटा भाग गर्नमा परमेश्वरको प्रतिनिधित्व गर्नुभयो। किनभने परमेश्वर अत्यन्तै महान् र अत्यन्तै अद्भुत हुनुहुन्छ अनि उहाँ अगम्य हुनुहुन्छ र किनभने परमेश्वर हरेक युगमा आफ्नो कामको एक भाग मात्र गर्नुहुन्छ। यो युगको अवधिमा परमेश्वरले गर्नुहुने काम मुख्य रूपमा मानिसका लागि जीवनका वचनहरू प्रदान गर्नु; मानिसको प्रकृति सार र उसको भ्रष्ट स्वभाव खुलासा गर्नु; र उसका धार्मिक धारणाहरू, सामन्ती सोच, पुरानो सोच, साथै ज्ञान र संस्कृतिलाई हटाउनु हो। यी सबै कुराहरू परमेश्वरका वचनहरूमार्फत खुलासा गरेर पखालिनुपर्छ। आखिरी दिनहरूमा, मानिसलाई सिद्ध पार्न, परमेश्वरले वचनहरू प्रयोग गर्नुहुन्छ, चिन्हहरू र अचम्मका कामहरू प्रयोग गर्नुहुन्न। उहाँले मानिसलाई प्रकाश गर्न, मानिसलाई न्याय गर्न, मानिसलाई सजाय दिन, र मानिसलाई सिद्ध पार्न आफ्ना वचनहरू प्रयोग गर्नुहुन्छ, ताकि परमेश्वरका वचनहरूमा, मानिसले परमेश्वरको बुद्धि र प्रेमिलो स्वभाव देखोस् र परमेश्वरको स्वभाव बुझोस्, ताकि परमेश्वरका वचनहरूमार्फत, मानिसले परमेश्वरका कार्यहरू देखोस्। व्यवस्थाको युगमा, यहोवाले आफ्ना वचनहरूद्वारा मोशालाई मिश्रबाट बाहिर अगुवाइ गर्नुभयो र इस्राएलीहरूलाई केही वचन बोल्नुभयो; त्यसबेला, परमेश्वरका कार्यहरूको अंश प्रकट भएको थियो, तर मानिसको क्षमता सीमित भएकाले र कुनै पनि कुराले उसको ज्ञानलाई पूर्ण बनाउन नसक्ने हुनाले, परमेश्वर निरन्तर बोल्नुभयो र उहाँले काम गर्नुभयो। अनुग्रहको युगमा, मानिसले फेरि एक पटक परमेश्वरका कार्यहरूको अंश देख्यो। येशूले चिन्ह र आश्चर्यकर्महरू देखाउन, बिरामीलाई निको पार्न र पिशाचहरू धपाउन, र आफू क्रूसमा टाँगिन सक्नुभयो, जसको तीन दिनपछि उहाँ मृत्युबाट बौरी उठ्नुभयो र मानिससामु देहमा देखा पर्नुभयो। मानिसलाई परमेश्वरबारे यति मात्र थाहा थियो। परमेश्वर मानिसलाई जति प्रकट गर्नुहुन्छ, मानिसले त्यति नै जान्दछ र यदि परमेश्वरले उप्रान्त मानिसलाई केही पनि प्रकट नगर्नुहुने हो भने, मानिसले परमेश्वरलाई त्यही हदसम्म सीमित गर्नेथ्यो। यसरी, परमेश्वर निरन्तर काम गर्नुहुन्छ, ताकि उहाँबारे मानिसको ज्ञान अझ गहन हुन सकोस् र मानिसले बिस्तारै परमेश्वरको सार जान्न सकोस्। आखिरी दिनहरूमा, परमेश्वर मानिसलाई सिद्ध पार्न आफ्ना वचनहरू प्रयोग गर्नुहुन्छ। तेरो भ्रष्ट स्वभाव परमेश्वरका वचनहरूद्वारा खुलासा हुन्छ र तेरा धार्मिक धारणाहरू परमेश्वरको व्यावहारिकताद्वारा प्रतिस्थापित हुन्छन्। आखिरी दिनहरूमा, परमेश्वर मुख्य रूपमा “वचन देह बन्नुहुन्छ, वचन देहभित्र आउनुहुन्छ र वचन देहमा देखा पर्नुहुन्छ” भन्ने वचनहरू पूरा गर्न देह बन्नुभएको छ र यदि तँसँग यसबारे पूर्ण ज्ञान छैन भने, तँ दृढ रहन असक्षम हुनेछस्। आखिरी दिनहरूको दौरान, परमेश्वर मुख्य रूपमा कामको एउटा चरण पूरा गर्ने अभिप्राय राख्नुहुन्छ, जसमा वचन देहमा देखा पर्नुहुन्छ र यो परमेश्वरको व्यवस्थापनको योजनाको कामको एउटा भाग हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको वर्तमान कामसम्बन्धी ज्ञान
४५. आखिरी दिनहरूको काममा, वचनको शक्ति चिह्न र चमत्कारका कार्यहरूको प्रकटीकरणभन्दा अझ ठूलो हुन्छ, र वचनको अख्तियारले चिह्न र चमत्कारहरूको अख्तियारलाई उछिन्छ। वचनले मानिसको हृदयको गहिराइमा गाडिएका सबै भ्रष्ट स्वभावलाई खुलासा गर्दछ। तँसित तिनलाई आफै पत्ता लगाउने कुनै उपाय छैन। जब वचनद्वारा तिनलाई खुलासा गरिन्छ तब तैँले तिनलाई प्राकृतिक रूपमै पत्ता लगाउनेछस्; तैँले आफ्नो स्वीकृति दिनुपर्नेछ, र तँ पूर्ण रूपमा विश्वस्त हुनेछस्। के यो वचनको अख्तियार होइन र? यो आज वचनको कामद्वारा प्राप्त गरिने नतिजा हो। त्यसकारण, रोग निको पारेर र भूतहरू निकालेर मानिस उसका पापहरूबाट पूर्ण रूपले मुक्त हुन सक्दैन, न त चिह्न र चमत्कारहरू देखाएर नै उसलाई सम्पूर्ण रूपमा पूर्ण बनाउन सकिन्छ। रोग निको पार्ने र भूतहरू धपाउने अख्तियारले मानिसलाई अनुग्रह मात्र दिन्छ, तर मानिसको देह अझै पनि शैतानकै हुन्छ, र शैतानी भ्रष्ट स्वभावहरू अझै पनि मानिसभित्रै रहेका हुन्छन्। अर्को शब्दमा भन्ने हो भने, शुद्ध पारिएको मानिस अझै पनि पाप र फोहोरकै हुन्छ। वचनको माध्यमबाट शुद्ध पारिएपछि मात्र मानिस परमेश्वरद्वारा प्राप्त गरिन र पवित्र पारिन सक्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (४)
४६. कामको यस चरणले तँलाई यहोवाको व्यवस्था र येशूको छुटकारा छर्लङ्ग पार्नेछ अनि यो मुख्यतया तैँले परमेश्वरको छ हजार वर्षे व्यवस्थापनको योजनाको सम्पूर्ण काम बुझ्न सकेस् र यस छ हजार वर्षे व्यवस्थापनको योजनाको सम्पूर्ण महत्त्व र सार बोध गर्न सकेस् र येशूले गरेका सम्पूर्ण काम र उहाँले बोलेका वचनहरूको उद्देश्य अनि बाइबलप्रतिको तेरो अन्धविश्वास र आराधना समेत बुझ्न सकेस् भनेर हो। यी सब कुराले तँलाई पूर्ण रूपमा बुझ्न सक्षम तुल्याउनेछन्। तैँले येशूले गरेको काम र परमेश्वरको आजको काम दुवै बुझ्नेछस्; तैँले सम्पूर्ण सत्यता, जीवन र मार्ग बुझ्नेछस् र देख्नेछस्। येशूले गरेको कामको चरणमा, येशू किन समापनको काम नगरी प्रस्थान गर्नुभयो? किनभने येशूको कामको चरण समापनको काम थिएन। जब उहाँलाई क्रूसमा टाँगियो, तब उहाँका वचनहरू पनि समाप्त भए; उहाँको क्रूसीकरणपछि, उहाँको काम पूर्ण रूपमा समाप्त भयो। त्यो अहिलेको चरणजस्तो थिएन, जसमा वचनहरू अन्त्यसम्म बोलिएपछि र उहाँको सम्पूर्ण काम समापन भएपछि मात्र परमेश्वरको काम समाप्त भएको हुनेछ। येशूको कामको चरणको दौरान, नभनिएका वा पूर्ण रूपमा व्यक्त नगरिएका धेरै वचन रहेका थिए। तैपनि येशूले आफ्ना वचनहरू पूर्ण रूपमा व्यक्त गरिएका छन् कि छैनन् भनेर वास्ता गर्नुभएन, किनभने उहाँको सेवकाइ वचनहरूको सेवकाइ थिएन, र त्यसैले उहाँ क्रूसमा टाँगिनुभएपछि प्रस्थान गर्नुभयो। कामको त्यो चरण मुख्यतया क्रूसीकरणका खातिर थियो, र यो अहिलेको चरणजस्तो होइन। कामको यो अहिलेको चरण मुख्यतया समापन गर्न, स्पष्ट पार्न र सबै काम अन्त्य गर्नका खातिर हो। यदि वचनहरू अन्त्यसम्म बोलिएनन् भने, यो काम समाप्त गर्ने कुनै उपाय हुनेछैन, किनभने कामको यस चरणमा सबै काम वचनहरू प्रयोग गरेर अन्त्य र सम्पन्न गरिन्छ। त्यसबेला, येशूले मानिसले बुझ्न नसक्ने धेरै काम गर्नुभयो। उहाँ चुपचाप प्रस्थान गर्नुभयो र आज पनि उहाँका वचनहरू नबुझ्ने अझै धेरै मानिस छन्। तिनीहरूको बुझाइ त्रुटिपूर्ण छ तैपनि तिनीहरू त्यो सही हो भन्ने विश्वास गर्छन् र आफू गलत छु भन्ने जान्दैनन्। अन्तिम चरणले परमेश्वरको काम पूर्णतया समाप्त गर्नेछ र यसको समापन गर्नेछ। सबैले परमेश्वरको व्यवस्थापनको योजना बुझ्नेछन् र जान्नेछन्। मानिसभित्रका धारणाहरू, उसका अभिप्रायहरू, उसको भ्रामक बुझाइ, यहोवा र येशूको कामबारे उसका धारणाहरू, गैरविश्वासीहरूबारे उसका दृष्टिकोणहरू, र उसका अन्य सबै विकृतिलाई सच्याइनेछ। अनि मानिसले जीवनका सबै सही मार्ग र परमेश्वरले गरेका सबै काम, र सम्पूर्ण सत्यता बुझ्नेछ। जब त्यो हुन्छ, तब कामको यो चरण समाप्त हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामको दर्शन (२)
४७. यदि मानिसहरू अनुग्रहको युगमै अड्किरहे भने, आफ्ना भ्रष्ट स्वभावहरूबाट कहिल्यै मुक्त हुनेछैनन्, झन् तिनीहरूले परमेश्वरको अन्तर्निहित स्वभावलाई चिन्नु त परको कुरा हो। यदि मानिसहरू सधैँ प्रशस्त अनुग्रहबीच जिउँछन् तर तिनीहरूसँग परमेश्वरलाई चिन्ने वा उहाँलाई सन्तुष्ट पार्ने जीवनको मार्ग छैन भने, तिनीहरूले उहाँमाथि विश्वास गरेर उहाँलाई कहिल्यै साँचो रूपमा प्राप्त गर्नेछैनन्। यस प्रकारको विश्वास वास्तवमै दयनीय हो। जब तैँले यो पुस्तक पढिसकेको हुन्छस्, जब तैँले राज्यको युगमा देहधारी परमेश्वरको कामको हरेक चरण अनुभव गरेको हुन्छस्, तब तँलाई धेरै वर्षदेखिका आफ्ना चाहनाहरू बल्ल साकार भएको महसुस हुनेछ। तँलाई अहिले आएर मात्रै आफूले परमेश्वरलाई साँच्चै आमनेसामने देखेको; अहिले आएर मात्रै आफूले उहाँको मुहार हेरेको, उहाँका व्यक्तिगत वाणीहरू सुनेको, उहाँको कामको बुद्धिको कदर गरेको र उहाँ कति व्यावहारिक र सर्वशक्तिमान् हुनुहुन्छ भनी साँच्चै महसुस गरेको अनुभूति हुनेछ। तँलाई विगतका मानिसहरूले कहिल्यै नदेखेका वा प्राप्त नगरेका धेरै कुरा आफूले प्राप्त गरेको महसुस हुनेछ। यसबेला, परमेश्वरमा विश्वास गर्नु भनेको के हो र परमेश्वरका अभिप्रायहरूअनुरूप हुनु भनेको के हो भन्ने कुरा तैँले स्पष्ट रूपमा जान्नेछस्। अवश्य नै, यदि तँ विगतका दृष्टिकोणहरूमा टाँसिन्छस् र परमेश्वरको दोस्रो देहधारणको तथ्यलाई अस्वीकार गर्छस् र स्विकार्दैनस् भने, तँ रित्तो हात रहनेछस्, तैँले केही पनि प्राप्त गर्नेछैनस् र अन्ततः तँलाई परमेश्वरको विरोध गरेकामा दोषी ठहराइनेछ। सत्यताप्रति र परमेश्वरको कामप्रति समर्पित हुन सक्नेहरू दोस्रो देहधारी परमेश्वर—सर्वशक्तिमान्—को नामअन्तर्गत पर्ने स्वीकार गरिनेछन्। तिनीहरूले परमेश्वरको व्यक्तिगत मार्गदर्शन स्वीकार गर्न सक्नेछन् अनि अझ बढी र उच्च सत्यता, साथै वास्तविक मानव जीवन प्राप्त गर्नेछन्। तिनीहरूले विगतका मानिसहरूले पहिले कहिल्यै नदेखेको दर्शन देख्नेछन्: “अनि मसँग बोल्ने आवाजलाई हेर्न म फर्केँ। र फर्केपछि, मैले सुनका सात वटा सामदान; र सात वटा सामदानको बीचमा मानिसको पुत्रजस्तै, पाउसम्मै कपडा लगाउनुभएको र छातीमा सुनको फिता कस्नुभएको एक जनालाई देखेँ। उहाँको शिर र उहाँका केश ऊनजस्ता सेता, हिउँ जत्तिकै सेता थिए; र उहाँका आँखाहरू आगोका ज्वालाजस्ता थिए; र उहाँका पाउहरू आगोको भट्टीमा जलाइएका उत्तम पित्तलजस्ता थिए; र उहाँको आवाज धेरै पानीको आवाजजस्तो थियो। अनि उहाँको दाहिने हातमा सात वटा तारा थिए: र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो: र उहाँको मुहार आफ्नो शक्तिमा चम्कने सूर्यजस्तै थियो” (प्रकाश १:१२-१६)। यो दर्शन परमेश्वरको सम्पूर्ण स्वभावको अभिव्यक्ति हो र उहाँको सम्पूर्ण स्वभावको अभिव्यक्ति उहाँको वर्तमान देहधारणमा परमेश्वरको कामको अभिव्यक्ति पनि हो। सजाय र न्यायका प्रवाहहरूमा, मानिसको पुत्र वाणीहरूमार्फत आफ्नो अन्तर्निहित स्वभाव व्यक्त गर्नुहुन्छ, जसले गर्दा उहाँको सजाय र न्याय स्वीकार गर्ने सबैले मानिसको पुत्रको साँचो मुहार देख्न पाउँछन्, जुन यूहन्नाले देखेको मानिसको पुत्रको मुहारको साँचो चित्रण हो। (अवश्य नै, राज्यको युगमा परमेश्वरको काम स्वीकार नगर्नेहरूका लागि यी सबै कुरा अदृश्य हुनेछन्।) मानव भाषा प्रयोग गरेर पूर्ण रूपमा परमेश्वरको साँचो मुहारको स्पष्ट वर्णन गर्न सकिँदैन, त्यसैले परमेश्वर मानिसलाई आफ्नो साँचो मुहार देखाउन आफ्नो अन्तर्निहित स्वभाव व्यक्त गर्ने विधि प्रयोग गर्नुहुन्छ। भन्नुको मतलब मानिसको पुत्रको अन्तर्निहित स्वभावलाई बुझेका सबैले मानिसको पुत्रको साँचो मुहार देखेका छन्, किनभने परमेश्वर अत्यन्तै महान् हुनुहुन्छ र मानव भाषा प्रयोग गरेर पूर्ण रूपमा उहाँको स्पष्ट वर्णन गर्न सकिँदैन। मानिसले राज्यको युगमा परमेश्वरको कामको हरेक चरण अनुभव गरेपछि, यूहन्नाले सामदानहरूमाझ रहनुभएको मानिसको पुत्रका बारेमा बोल्दा भनेका वचनहरूको साँचो अर्थ उसले थाहा पाउनेछ: “उहाँको शिर र उहाँका केश ऊनजस्ता सेता, हिउँ जत्तिकै सेता थिए; र उहाँका आँखाहरू आगोका ज्वालाजस्ता थिए; र उहाँका पाउहरू आगोको भट्टीमा जलाइएका उत्तम पित्तलजस्ता थिए; र उहाँको आवाज धेरै पानीको आवाजजस्तो थियो। अनि उहाँको दाहिने हातमा सात वटा तारा थिए: र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो: र उहाँको मुहार आफ्नो शक्तिमा चम्कने सूर्यजस्तै थियो।”
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना
४८. विजयको काम किन अन्तिम चरणमा छ? के यो सबै वर्गका मानिसहरूको अन्त्य कस्तो प्रकारको हुनेछ भन्ने कुरा स्पष्ट रूपमा प्रस्तुत गर्नका निम्ति होइन र? के यो सजाय र न्यायको विजयको क्रममा सबैलाई आफ्नो वास्तविक रङ्ग देखाउन र त्यसपछि आ-आफ्नै प्रकारअनुसार वर्गीकृत हुन दिनका लागि होइन र? यसलाई मानवजातिउपर विजय गर्नु भन्नुभन्दा बरु प्रत्येक वर्गको व्यक्तिले कस्तो प्रकारको अन्त्यको सामना गर्नुपर्छ त्यो देखाउनु हो भन्नु राम्रो हुन्छ। यो मानिसहरूको पापहरूको न्याय गर्ने र त्यसपछि विभिन्न वर्गका मानिसहरूलाई खुलासा गर्दै, त्यसमार्फत तिनीहरू दुष्ट वा धर्मी के हुन् भनेर निर्णय गर्नु हो। विजयको कामपछि, असललाई इनाम र दुष्टलाई दण्ड दिने काम हुन्छ। पूर्ण रूपमा समर्पित हुनेगर्ने मानिसहरूलाई—अर्थात् पूर्ण रूपले जितिएका मानिसहरूलाई—सम्पूर्ण ब्रह्माण्डमा परमेश्वरको कार्य फैलाउने अर्को चरणमा राखिनेछ; अनि नजितिएकाहरूलाई अन्धकारमा राखिनेछ र तिनीहरूले विपत्तिको सामना गर्नेछन्। यसरी मानिसहरूलाई तिनीहरूका प्रकारअनुसार वर्गीकरण गरिनेछ, दुष्ट हरूलाई दुष्टहरूको समूहमा, फेरि सूर्यको किरणमा नहुने गरी राखिनेछन्, र धर्मीहरू असल मानिसहरूको समूहमा राखिनेछन् र तिनीहरूले ज्योति प्राप्त गर्नेछन् र सदासर्वदा ज्योतिमा जिउनेछन्। सबै थोकको अन्त्य नजिक छ; मानिसको अन्त्य उसको आँखाको अघि स्पष्ट देखाइएको छ, र यावत् थोकलाई तिनको प्रकारअनुसार वर्गीकृत गरिनेछ। त्यसो भए, मानिसहरूले तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिने पीडाबाट कसरी उम्कन सक्छन्? सबै थोकको अन्त्य नजिक आउँदा प्रत्येक प्रकारको व्यक्तिको अन्त्य प्रकट गरिन्छ, र यो (वर्तमान कार्यबाट सुरु गर्दै, विजयका सबै कामहरूलगायत) सम्पूर्ण ब्रह्माण्डलाई जित्ने काम गरिने अवधिमा गरिन्छ। सबै मानवजातिको अन्त्यको प्रकटीकरण न्यायको सिंहासनअघि, सजाय दिने अवधिमा, र आखिरी दिनहरूको विजयको कामको क्रममा गरिन्छ। …
आखिरी दिनहरू भनेका ती दिनहरू हुन् जुन बेला यावत् थोकलाई विजयद्वारा तिनका प्रकारअनुसार वर्गीकृत गरिनेछ। विजय भनेको आखिरी दिनहरूको काम हो; अर्को शब्दमा, प्रत्येक व्यक्तिको पापको न्याय गर्नु आखिरी दिनहरूको काम हो। अन्यथा, कसरी मानिसहरूलाई प्रकारअनुसार वर्गीकृत गर्न सकिन्छ? तिमीहरूमाझ गरिने वर्गीकरणको काम सम्पूर्ण ब्रह्माण्डमा गरिने यस्तो कामको सुरुवात हो। त्यसपछि, सबै भूमि र सबै जातिकाले पनि विजयको काम स्विकार्नेछन्। यसको अर्थ सृष्टिको प्रत्येक व्यक्तिलाई उसको प्रकारअनुसार वर्गीकृत गरिनेछ, न्याय गरिनका लागि न्यायको आसनअगाडि समर्पित गराइनेछ। कुनै पनि व्यक्ति वा कुनै पनि कामकुरा यस सजाय र न्यायको कष्टबाट उम्किन सक्दैन, न त कुनै व्यक्ति न त कुनै कामकुरा नै आफ्नो प्रकारअनुसार वर्गीकृत नगरिएको हुनेछ; प्रत्येक व्यक्तिलाई वर्गीकृत गरिनेछ, किनकि यावत् थोकको परिणाम नजिकै आउँदै छ, र सारा स्वर्ग र पृथ्वी आफ्नो निष्कर्षमा पुगिसकेको छ। मानिस कसरी मानव अस्तित्व अन्त्य हुने दिनबाट उम्कन सक्छ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (१)
४९. आखिरी दिनहरूको चरण, जसमा मानिस जितिनुपर्छ, यो शैतानसितको लडाइँको अन्तिम चरण हो, र यो, शैतानको सत्ताबाट मानिसलाई पूर्ण मुक्त गर्ने काम पनि हो। मानिसको विजयको भित्री अर्थ शैतानको मूर्तरूपलाई—मानिस जसलाई शैतानले भ्रष्ट पारेको छ—उसको विजयपछि सृष्टिकर्ताकहाँ फर्काएर ल्याउनु हो, जसद्वारा उसले शैतानविरुद्ध विद्रोह गर्नेछ र पूर्ण रूपमा परमेश्वरमा फर्कन्छ। यस तरिकाले, मानिस पूर्ण रूपमा बचाइएको हुनेछ। र यसैले, विजयको काम शैतानविरुद्ध लडाइँको अन्तिम कार्य हो र शैतानको पराजयको खातिर परमेश्वरको प्रबन्धको अन्तिम चरण हो। यो कामविना मानिसको पूर्ण मुक्ति अन्ततः असम्भव नै हुनेथियो, शैतानको पूर्ण पराजय पनि असम्भव हुनेथियो र मानिसजाति कहिल्यै पनि सुन्दर गन्तव्यमा प्रवेश गर्न सक्षम हुने थिएन वा शैतानको प्रभावबाट स्वतन्त्र हुन सक्नेथिएन। फलस्वरूप, मानिसको मुक्तिको काम शैतानसँगको लडाइँको अन्त्य हुनुभन्दा अघि समाप्त हुन सक्दैन, किनकि परमेश्वरको व्यवस्थापन कार्यको मुख्य भाग मानवजातिको मुक्तिको लागि हो। सबैभन्दा सुरुमा मानवजाति परमेश्वरको हातमा थियो, तर शैतानको प्रलोभन र भ्रष्टताका कारण, मानिस शैतानद्वारा बाँधियो र दुष्टको हातमा पऱ्यो। यसरी, शैतान परमेश्वरको व्यवस्थापनको कार्यमा पराजित गरिनुपर्ने पात्र बन्यो। शैतानले मानिसलाई आफ्नो वशमा पारेकाले र मानिस परमेश्वरका सबै व्यवस्थापनमा पूँजी भएकाले, यदि मानिसलाई मुक्ति दिइनु छ भने, उसलाई शैतानको हातबाट फिर्ता लिनैपर्छ, अर्थात् शैतानले कैदमा पारेको मानिसलाई फिर्ता लिनैपर्छ। यसरी, मानिसको पुरानो स्वभावमा परिवर्तन ल्याएर अनि मानिसको सुरुको समझलाई पुनर्स्थापित गरेर शैतानलाई पराजित गर्नैपर्छ। यसरी कैद गरिएको मानिसलाई शैतानको हातबाट फिर्ता लिन सकिन्छ। यदि मानिसलाई शैतानको प्रभाव र बन्धनबाट मुक्त गरियो भने, शैतान लज्जित हुनेछ, मानिसलाई अन्ततः फिर्ता ल्याइनेछ र शैतान पराजित हुनेछ। मानिसलाई शैतानको अँध्यारो प्रभावबाट स्वतन्त्र गरिएकाले, मानिस यो पूरै लडाइँको प्रतिफल बन्छ र लडाइँ समाप्त भएपछि शैतान दण्ड दिइनुपर्ने पात्र बन्छ, त्यसपछि मानवजातिको मुक्तिको सम्पूर्ण काम पूरा भएको हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु
५०. आखिरी दिनहरूमा परमेश्वरको न्याय र सजायको काममा—अर्थात्, अन्तिम शुद्धीकरणको कामको अवधिमा—दृढ रहन सक्छन्, तिनीहरू नै परमेश्वरसँगै अन्तिम विश्राममा प्रवेश गर्नेछन्; यसरी, जो विश्राममा प्रवेश गर्छन् तिनीहरू सबै परमेश्वरको अन्तिम शुद्धीकरणको काम भोगेपछि मात्र शैतानको प्रभावलाई तोडेर मुक्त भएका र उहाँद्वारा प्राप्त गरिएका हुनेछन्। यी मानिसहरू, जो अन्ततः परमेश्वरद्वारा प्राप्त गरिएका हुनेछन्, तिनीहरू अन्तिम विश्राममा प्रवेश गर्नेछन्। परमेश्वरको सजाय र न्यायको कामको सारगत उद्देश्य मानवजातिलाई शुद्धीकरण गर्नु हो, अन्तिम दिनको विश्रामका खातिर हो; नत्र, मानवजातिको कुनै पनि सदस्य तिनीहरूको प्रकारअनुसार वर्गीकृत हुन, वा विश्राममा प्रवेश गर्न सक्दैन। यो काम विश्राममा प्रवेश गर्ने मानवजातिको एक मात्र मार्ग हो। परमेश्वरको शुद्धीकरणको कामले मात्र मानवको अधार्मिकता पखाल्नेछ, र उहाँको सजाय र न्यायको कामले मात्र मानवजातिका ती विद्रोही तत्त्वहरूको खुलासा गर्नेछ, जसले गर्दा मुक्ति दिन सकिनेलाई मुक्ति दिन नसकिनेबाट र बाँकी रहनेहरूलाई बाँकी नरहनेहरूबाट खुट्ट्याइनेछ। जब यो काम समाप्त हुन्छ, तब ती टिक्न दिइएकाहरू सबैलाई शुद्ध पारिनेछ र तिनीहरू मानवजातिको अझ उच्च क्षेत्रमा प्रवेश गर्नेछन् जसमा तिनीहरूले पृथ्वीमा अझ आश्चर्यजनक दोस्रो मानव जीवनको आनन्द लिनेछन्; अर्को शब्दमा, तिनीहरू मानव विश्रामको दिनमा प्रवेश गर्नेछन् र परमेश्वरसँगै रहनेछन्। त्यसपछि, ती टिक्न नदिइएकाहरूलाई सजाय दिइनेछ र न्याय गरिनेछ, तिनीहरूको साँचो रूप-रङ्ग पूर्ण रूपमा प्रकट गरिनेछ, त्यसपछि, तिनीहरू सबैलाई नष्ट पारिनेछ र शैतानलाई झैँ तिनीहरूलाई पनि पृथ्वीमा बाँच्न दिइनेछैन। भविष्यको मानवजातिमा यस्ता कुनै किसिमका मानिसहरू पर्नेछैनन्; यस्ता मानिसहरू चरम विश्रामको मुलुकमा प्रवेश गर्न योग्यका हुँदैनन्, न त तिनीहरू परमेश्वर र मानवजाति संलग्न हुने विश्रामको दिनमा नै सहभागी हुन योग्यका हुन्छन्, किनभने उनीहरू दण्डका निशाना हुन् र खराब र अधर्मी मानिस हुन्। तिनीहरूलाई एक पटक छुटकारा गरिएको थियो, र तिनीहरूलाई सजाय दिइएको र न्याय गरिएको पनि छ; तिनीहरूले कुनै बेला परमेश्वरका लागि श्रम पनि गरेका थिए। तैपनि, जब अन्तिम दिन आउँछ, तिनीहरूको खराबीको कारण साथै मुक्त गरिनलाई तिनीहरूको विद्रोहीपन र असक्षमताको परिणामस्वरूप तिनीहरूलाई अझ पनि हटाइनेछ र नष्ट पारिनेछ; तिनीहरू भविष्यको संसारमा फेरि कहिल्यै पनि अस्तित्वमा आउनेछैनन्, र तिनीहरू यस उप्रान्त भविष्यको मानवजाति माझ जिउनेछैनन्। मानवजाति माझमा रहेका पवित्र भएकाहरू विश्राममा प्रवेश गरेपछि, दुष्कर्म गर्नेहरू र मुक्त नगरिएकाहरू मृतहरूका आत्माहरू हुन् वा अझै देहमा जीवितै रहेका मानिसहरूका आत्मा हुन्, तिनीहरू सबैलाई नष्ट पारिनेछन्। जहाँसम्म यी दुष्कर्म गर्ने आत्माहरू र मानव वा धर्मी मानिसहरूका आत्माहरू र धार्मिकता अभ्यास गर्नेहरूको सवाल छ, उनीहरू जुनै युगका भए तापनि, खराब काम गर्नेहरू सबैलाई अन्त्यमा नष्ट पारिनेछ, र सबै धर्मीहरू बाँच्नेछन्। कुनै व्यक्ति वा आत्माले मुक्ति पाउने कुरालाई समग्र रूपमा अन्तिम युगको कामको आधारमा निर्णय गरिँदैन; बरु, तिनीहरू परमेश्वरविरुद्ध विद्रोही भएका छन् वा छैनन्, तिनीहरूले उहाँको प्रतिरोध गरेका थिए वा थिएनन् भन्ने कुराद्वारा निर्धारण गरिन्छ। अघिल्लो युगमा दुष्ट काम गर्ने र मुक्ति पाउन नसक्ने मानिसहरू नै निस्सन्देह रूपमा दण्डको निशानामा पर्नेछन्, साथै हालको युगमा दुष्ट काम गर्नेहरू र मुक्त हुन नसक्नेहरू पनि निश्चय नै दण्डको निशानामा पर्नेछन्। मानवलाई तिनीहरू जिएका युगको आधारमा होइन, असल र खराबको आधारमा वर्गीकरण गरिनेछ। यसरी वर्गीकरण गरिसकेपछि, तिनीहरूलाई तुरुन्तै दण्ड दिइँदैन वा इनाम दिइँदैन; बरु, परमेश्वरले आखिरी दिनहरूमा उहाँको विजयको कार्यलाई अघि बढाइसक्नुभएपछि मात्र दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने काम अघि बढाउनुहुनेछ। वास्तवमा, उहाँले मानवजातिको मुक्तिको काम गर्न सुरु गर्नुभएदेखि नै मानिसहरूलाई असल र खराबमा छुट्टाउँदै आउनुभएको छ। यति मात्र हो, उहाँको काम समाप्त भएपछि मात्र उहाँले धर्मीलाई इनाम र दुष्टलाई दण्ड दिनुहुनेछ; उहाँको काम पूरा भएपछि उहाँले तिनीहरूलाई वर्ग-वर्गमा छुट्टाउनुहुनेछ र तुरुन्तै दुष्टलाई दण्ड र असललाई इनाम दिनतिर लाग्नुहुनेछ भन्ने होइन। बरु, उहाँको काम पूर्ण रूपमा समाप्त भएपछि मात्रै यो काम पूरा हुनेछ। दुष्टलाई दण्ड र असललाई इनाम दिने परमेश्वरको अन्तिम कामको एउटै उद्देश्य भनेको नै पूरै मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्नु हो, ताकि उहाँले विशुद्ध रूपमा शुद्ध पारिएको मानवजातिलाई अनन्त विश्राममा ल्याउन सक्नुहोस्। यस चरणको उहाँको काम सबैभन्दा महत्त्वपूर्ण छ; यो नै उहाँको सम्पूर्ण व्यवस्थापन कार्यको अन्तिम चरण हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्