ङ. पवित्र आत्माको काम र दुष्ट आत्माहरूको काम कसरी छुट्याउने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

पवित्र आत्माले मानिसमा कसरी काम गर्नुहुन्छ? शैतानले मानिसमा कसरी काम गर्छ? दुष्टात्माहरूले मानिसमा कसरी काम गर्छन्? यसका प्रकटीकरणहरू के-के हुन्? जब तँलाई केही हुन्छ, के त्यो पवित्र आत्माबाट आउँछ, र तँ त्यसमा समर्पित हुनुपर्छ वा अस्वीकार गर्नुपर्छ? मानिसहरूको वास्तविक व्यवहारमा, मानवीय इच्छाबाट धेरै कुराहरू उत्पन्न हुन्छन्, जुन मानिसहरूले सधैँ पवित्र आत्माबाट आएका हुन् भनी विश्‍वास गर्दछन्। केही कुराहरू दुष्टात्माहरूबाट आएका हुन्छन्, तर अझै पनि मानिसहरूले ती पवित्र आत्माबाट आएका हुन् भनी सोच्छन्, र कहिलेकहीँ पवित्र आत्माले मानिसहरूलाई भित्रबाटै मार्गदर्शन गर्नुहुन्छ, तर मानिसहरू त्यस्तो मार्गदर्शन शैतानबाट आएको हो भनी सोचेर डराउँछन् र त्यसमा समर्पित हुने हिम्मत गर्दैनन्, जबकि वास्तवमा उक्त मार्गदर्शन पवित्र आत्माको अन्तर्दृष्टि हो। यसैले, जबसम्म कसैले भिन्नता अभ्यास गर्दैन, तबसम्म कसैले पनि आफ्नो दृष्टिकोणबाट व्यावहारिक अनुभव गर्ने कुनै उपाय हुँदैन; भिन्‍नताविना जीवन प्राप्त गर्ने कुनै उपाय हुँदैन। पवित्र आत्माले कसरी काम गर्नुहुन्छ? दुष्टात्माहरूले कसरी काम गर्छन्? मानिसको इच्छाबाट के आउँछ? अनि पवित्र आत्माको मार्गदर्शन र अन्तर्दृष्टिबाट के जन्मन्छ? यदि तैँले मानिसभित्र पवित्र आत्माले गर्नुहुने कामको ढाँचा बुझिस् भने तेरो दैनिक जीवन र तेरा व्यावहारिक अनुभवहरूमा तैँले आफ्नो ज्ञान बढाउन र भिन्नताहरू छुट्ट्याउन सक्नेछस्; तैँले परमेश्‍वरलाई चिन्नेछस्, तैँले शैतानलाई बुझ्न र चिन्न सक्नेछस्; तेरो समर्पणता वा खोजमा तँ अलमलमा पर्नेछैनस्, र तँ त्यस्तो व्यक्ति हुनेछस् जसको विचार स्पष्ट हुन्छ, जो पवित्र आत्माको काममा समर्पित हुन्छ।

पवित्र आत्माको काम सक्रिय मार्गदर्शन र सकारात्मक अन्तर्दृष्टिको एक रूप हो। यसले मानिसहरूलाई नकारात्मक हुन दिँदैन। यसले तिनीहरूलाई सान्त्वना दिन्छ, विश्‍वास र सङ्कल्प दिन्छ, र तिनीहरूलाई परमेश्‍वरद्वारा सिद्ध तुल्याइएको कुराको पछि लाग्न सक्ने बनाउँछ। जब पवित्र आत्माले काम गर्नुहुन्छ, तब मानिसहरू सक्रिय रूपमा प्रवेश गर्न सक्षम हुन्छन्; तिनीहरू निष्क्रिय वा बाध्य हुँदैनन्, बरु आफ्नै पहलमा काम गर्दछन्। जब पवित्र आत्माले काम गर्नुहुन्छ, तब मानिसहरू खुशी र इच्छुक हुन्छन्, समर्पित हुन इच्छुक र आफूलाई नम्र बनाउँदा खुशी हुन्छन्। तिनीहरू भित्रबाट दुःखित र कमजोर भए पनि तिनीहरूमा सहकार्य गर्ने संकल्प हुन्छ; तिनीहरूले खुशीसाथ दुःख भोग्छन्, तिनीहरू समर्पित हुन सक्षम हुन्छन्, र तिनीहरू मानवीय इच्छाबाट अछुतो हुन्छन्, मानिसका सोचबाट अछुतो हुन्छन्, र निश्चय नै तिनीहरू मानवीय चाहना र अभिप्रेरणाहरूबाट अछुतो हुन्छन्। जब मानिसहरूले पवित्र आत्माको कामको अनुभव गर्छन्, तिनीहरू विशेष गरी भित्रपट्टि पवित्र हुन्छन्। जोसँग पवित्र आत्माको काम हुन्छ तिनीहरू परमेश्‍वरप्रतिको प्रेममा र आफ्ना भाइ-बहिनीहरूलाई प्रेम गर्दै जिउँछन्; तिनीहरू परमेश्‍वरलाई प्रसन्न पार्ने कुरामा रमाउँछन् र परमेश्‍वरले घृणा गर्नुहुने कुराहरूलाई घृणा गर्छन्। पवित्र आत्माको कामले छोइएका मानिसहरू भनेका ती मानिसहरू हुन् जसमा सामान्य मानवता हुन्छ, जो निरन्तर सत्यता पछ्याउँछन् र जसले मानवता धारण गर्छन्। जब पवित्र आत्माले मानिसभित्र काम गर्नुहुन्छ, तब तिनीहरूको अवस्था झनझन राम्रो हुन्छ, र तिनीहरूको मानवता झन्-झन् सामान्य बन्छ, र तिनीहरूको कुनै-कुनै सहकार्य मूर्खतापूर्ण भए पनि, तिनीहरूको अभिप्रेरणा सही हुन्छ, तिनीहरूको प्रवेश सकारात्मक हुन्छ, तिनीहरूले विध्वंश गर्न खोज्दैनन्, तिनीहरूभित्र कुनै दुर्भावना हुँदैन। पवित्र आत्माको काम सामान्य र व्यावहारिक हुन्छ, पवित्र आत्माले मानिसमा मानिसको सामान्य जीवनको नियमअनुसार काम गर्नुहुन्छ, र उहाँले सामान्य मानिसहरूको वास्तविक खोजअनुसार मानिसहरूभित्र अन्तर्दृष्टि र मार्गदर्शन प्रदान गर्नुहन्छ। जब पवित्र आत्माले मानिसहरूमा काम गर्नुहुन्छ, तब उहाँले सामान्य मानिसहरूका आवश्यकताअनुसार मार्गदर्शन र अन्तर्दृष्टि प्रदान गर्नुहन्छ। उहाँले तिनीहरूका आवश्यकताअनुसार तिनीहरूका निम्ति प्रबन्ध गर्नुहुन्छ, र उहाँले तिनीहरूलाई तिनीहरूको अभावअनुसार र तिनीहरूका कमी-कमजोरीहरूका आधारमा सकारात्मक रूपले मार्गदर्शन र अन्तर्दृष्टि प्रदान गर्नुहन्छ। पवित्र आत्माको काम वास्तविक जीवनमा मानिसहरूलाई मार्गदर्शन र अन्तर्दृष्टि प्रदान गर्नु हो; यदि तिनीहरूले तिनीहरूको वास्तविक जीवनमा परमेश्‍वरका वचनहरूको अनुभव गर्छन् भने मात्र तिनीहरूले पवित्र आत्माको काम देख्न सक्छन्। यदि तिनीहरूको दैनिक जीवनमा मानिसहरू सकारात्मक अवस्थामा छन् र तिनीहरूको सामान्य आत्मिक जीवन छ भने तिनीहरूमा पवित्र आत्माको काम भएको हुन्छ। त्यस्तो अवस्थामा, जब तिनीहरूले परमेश्‍वरका वचनहरू खान्छन् र पिउँछन्, तब तिनीहरूसँग विश्‍वास हुन्छ; जब तिनीहरू प्रार्थना गर्छन्, तब तिनीहरूले प्रेरणा पाउँछन्; जब तिनीहरूले कुनै कुराको सामना गर्नुपर्ने हुन्छ, तिनीहरू नकारात्मक बस्दैनन्; र जब घटनाहरू घट्छन्, तब तिनीहरूले ती घटनाहरूबाट जुन पाठ सिकून् भनी परमेश्‍वरले चाहनुभएको हुन्छ त्यो पाठ सिक्छन्। तिनीहरू नकारात्मक वा कमजोर हुँदैनन्, र तिनीहरूसँग वास्तविक कठिनाइहरू भए पनि तिनीहरू परमेश्‍वरका सबै प्रबन्धहरूप्रति समर्पित हुन इच्छुक हुन्छन्।

…………

शैतानबाट आउने काम के हो? शैतानबाट आउने काममा, मानिसहरूभित्र हुने दर्शनहरू अस्पष्ट हुन्छन्; मानिसहरू सामान्य मानवताविनाका हुन्छन्, तिनीहरूले गर्ने कामपछाडिका अभिप्रेरणाहरू गलत हुन्छन्, र तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्ने इच्छा गरे पनि तिनीहरूभित्र सधैँ आरोपहरू हुन्छन्, र यी आरोपहरू र विचारहरूले तिनीहरूभित्र निरन्तर बाधा पुऱ्याउँछन्, र यसले तिनीहरूको जीवनको विकासलाई अवरुद्ध पार्छ र तिनीहरूलाई सामान्य अवस्थामा परमेश्‍वरको अघि आउनबाट रोक्दछ। भन्नुको तात्पर्य, मानिसहरूभित्र शैतानको काम हुनेबित्तिकै तिनीहरूको हृदय परमेश्‍वरको सामु शान्त हुँदैन। त्यस्ता मानिसहरूलाई आफूले के गर्ने भनेर थाहा हुँदैन—जब तिनीहरूले मानिसहरू भेला भएका देख्छन्, तिनीहरू भाग्न खोज्छन्, र अरूले प्रार्थना गर्दा तिनीहरू आफ्ना आँखाहरू बन्द गर्न सक्दैनन्। दुष्टात्माहरूको कामले मानिस र परमेश्‍वरबीचको सामान्य सम्बन्धलाई नष्ट पार्दछ, र मानिसहरूका पहिलेका दर्शनहरू वा तिनीहरूको पहिलेको जीवन प्रवेशको मार्गलाई खल्बल्याउँछ; तिनीहरू आफ्नो हृदयमा कहिल्यै परमेश्‍वरको नजिक हुन सक्दैनन्, र सधैँ तिनीहरूलाई बाधा पुर्‍याउने र बन्धनमा पार्ने घटनाहरू घट्छन्। तिनीहरूका हृदयले शान्ति पाउन सक्दैनन् र तिनीहरूमा परमेश्‍वरलाई प्रेम गर्ने शक्ति हुँदैन र तिनीहरूका आत्माहरू डुबिरहेका हुन्छन्। शैतानको कामका प्रकटीकरणहरू यस्तै हुन्छन्। शैतानको कामका प्रकट रूपहरू निम्न छन्: आफ्नो अडानमा खरो उत्रन र गवाही दिन नसक्नु जसले तँलाई यस्तो व्यक्ति बनाउँछ जो परमेश्‍वरको सामु दोषी हुन्छ र जसको परमेश्‍वरप्रति कुनै बफादारीता हुँदैन। जब शैतानले बाधा दिँदछ, तब तैँले आफूभित्र परमेश्‍वरप्रतिको प्रेम र बफादारीता गुमाउँछस्, परमेश्‍वरसित तेरो सामान्य सम्बन्ध टुट्छ, तँ सत्यताको पछि लाग्दैनस् वा तैँले आफैलाई सुधार गर्दैनस्; तँ पछि हट्छस् र नकारात्मक बन्छस्, तँ आफैलाई सन्तुष्ट पार्नतिर लाग्छस्, तैँले पाप फैलाउने लगाम स्वतन्त्र छोडिदिन्छस् र पापलाई घृणा गर्दैनस्; यसबाहेक, शैतानको हस्तक्षेपले तँलाई दुराचारी बनाउँछ; यसले तँभित्रको परमेश्‍वरको छुवाइलाई हटाउँछ, र तँलाई परमेश्‍वरको बारेमा गुनासो गर्ने र उहाँको विरोध गर्ने बनाउँछ, र तँलाई परमेश्‍वरमा शङ्का गर्ने बनाउँछ; तैँले परमेश्‍वरलाई त्याग्ने खतरा पनि हुन्छ। यी सबै शैतानबाट आउँछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पवित्र आत्माको काम र शैतानको काम

मानिसमा हुने पवित्र आत्माको काम विशेष गरी सामान्य हुन्छ; मानिस यो महसुस गर्न असमर्थ हुन्छ, र यो मानिस आफैबाट आएको जस्तो देखिन्छ, तर यो वास्तवमा पवित्र आत्माको काम हो। दैनिक जीवनमा, पवित्र आत्माले सबैमा ठूला-साना दुवै काम गर्नुहुन्छ, यो कामको हद मात्र फरक-फरक हुन्छ। केही मानिसहरू राम्रो क्षमता भएका हुन्छन्, र तिनीहरूले चाँडै कुरा बुझ्छन्, र तिनीहरूभित्र पवित्र आत्माको अन्तर्दृष्टि विशेष महान् हुन्छ। यसैबीच, केही मानिसहरू कमजोर क्षमताका हुन्छन्, र तिनीहरूलाई कुरा बुझ्न लामो समय लाग्छ, तर पवित्र आत्माले तिनीहरूलाई भित्र छुनुहुन्छ, र तिनीहरूले पनि परमेश्‍वरप्रति बफादारीता प्राप्त गर्न सक्षम हुन्छन्—पवित्र आत्माले तिनीहरू सबैमा काम गर्नुहुन्छ जसले परमेश्‍वरलाई पछ्याउँछन्। जब, दैनिक जीवनमा मानिसहरूले परमेश्‍वरको विरोध वा उहाँविरुद्ध विद्रोह गर्दैनन्, परमेश्‍वरको व्यवस्थापनमा अवरोध पुऱ्याउने कामहरू गर्दैनन् र परमेश्‍वरको काममा बाधा दिँदैनन्, तब तिनीहरू प्रत्येकमा परमेश्‍वरका आत्माले धेरै वा थोरै मात्रामा काम गर्नुहुन्छ; उहाँले तिनीहरूलाई छुनुहुन्छ, तिनीहरूलाई अन्तर्दृष्टि प्रदान गर्नुहुन्छ, तिनीहरूलाई विश्‍वास दिनुहुन्छ, तिनीहरूलाई बल दिनुहुन्छ, र तिनीहरूलाई सक्रियता साथ प्रवेश गर्न प्रेरित गर्नुहुन्छ, अल्छी नुहुनु वा देहको मोजमस्तीको लालसा नगर्नु, सत्यको अभ्यास गर्न इच्छुक हुनु र परमेश्‍वरका वचनहरूको चाहना गर्नु। यी सबै त्यो काम हो जुन पवित्र आत्माबाट आउँछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पवित्र आत्माको काम र शैतानको काम

पवित्र आत्माको सबै काम सामान्य, र यथार्थपरक हुन्छ। जब तँ परमेश्‍वरका वचनहरू पढ्छस् र प्रार्थना गर्छस्, तब तँभित्र उज्ज्वल र दृढ बन्छस्, बाह्य संसारले तँलाई बाधा पुर्‍याउन सक्दैन; भित्र, तँ परमेश्‍वरलाई प्रेम गर्न तत्पर छस्, सकारात्मक कुराहरूमा लाग्न तत्पर छस्, र दुष्ट संसारलाई घृणा गर्छस्। परमेश्‍वरभित्र जिउनु भनेको यही नै हो। यो मानिसहरूले भनेजस्तो परम आनन्दको अनुभव गर्नु होइन—यस्ता कुरा यथार्थपरक हुँदैनन्। आज, हरेक कुरा वास्तविकताबाट नै सुरु हुनुपर्छ। परमेश्‍वरले गर्ने सबै कुरा व्यावहारिक हुन्, र तेरा अनुभवहरूमा तैँले परमेश्‍वरलाई व्यावहारिक रूपमा जान्ने कुरामा र परमेश्‍वरका कामका पाइलाहरूको खोजी गर्नमा र पवित्र आत्माले मानिसहरूलाई छुनुहुने र प्रकाश दिनुहुने माध्यमहरूमा ध्यान दिनुपर्छ। यदि तँ परमेश्‍वरका वचनहरूलाई खान्छस् र पिउँछस्, र प्रार्थना गर्छस्, अनि विगतको समयका असल कुराहरूलाई आत्मसाथ गर्दै र पत्रुसले जस्तै खराब कुरालाई इन्कार गर्दै अझै व्यावहारिक किसिमले सहकार्य गर्छस्, र यदि तैँले आफ्ना कानहरूले सुन्छस् र आफ्ना आँखाहरूले हेर्छस्, र हृदयमा बारम्‍बार प्रार्थना र मनन गर्छस्, र परमेश्‍वरको कामसँग सहकार्य गर्न तैँले सक्ने जति सबै गर्छस् भने, परमेश्‍वरले तँलाई निश्चय नै अगुवाइ गर्नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। वास्तविकता कसरी थाहा पाउने

जब पवित्र आत्माले मानिसहरूलाई अन्तर्दृष्टि दिनका निम्ति काम गर्नुहुन्छ, तब उहाँले सामान्यतया तिनीहरूलाई परमेश्‍वरको कामको ज्ञान र तिनीहरूको वास्तविक प्रवेश र वास्तविक अवस्थाको ज्ञान दिनुहुन्छ। उहाँले तिनीहरूलाई परमेश्‍वरका जरुरी अभिप्रायहरू र आजका मानिसका लागि उहाँका मापदण्डहरू बुझ्ने पनि तुल्याउनुहुन्छ, ताकि तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न, सतावट र विपत्तिको बाबजुत परमेश्‍वरलाई प्रेम गर्न, र रगत बगाउनु वा प्राण नै अर्पण गर्नुपरे पनि परमेश्‍वरका निम्ति गवाही दिनलाई आफ्ना सबै कुरा त्याग्‍ने सङ्कल्प गर्न सकून् र कुनै पछुतो नगरी त्यसो गर्न सकून्। यदि तँसँग यस प्रकारको सङ्कल्प छ भने, त्यसको अर्थ तँमा पवित्र आत्माको प्रेरणा र काम छ भन्‍ने हुन्छ—तर यो जान् कि बितेर जाने हरेक क्षणमा तँसित यस्तो प्रेरणा हुँदैन। कहिलेकहीँ सेवाहरूमा जब तँ प्रार्थना गर्छस् र परमेश्‍वरका वचनहरू खान्छस् र पिउँछस्, तब तैँले अत्यधिक रूपमा आफ्नो हृदय छोएको र प्रेरणा पाएको महसुस गर्छस्। जब सङ्गतिमा हुने अरू कसैले आफ्नो अनुभव र परमेश्‍वरको वचनको बुझाइबारे बताउँछन् त्यस बेला तँलाई अति नयाँ र ताजा महसुस हुन्छ र तेरो हृदय पूर्ण रूपमा सफा र उज्यालो हुन्छ। यो सबै पवित्र आत्माको काम हो। यदि तँ एक अगुवा होस् र तँ मण्डलीमा काम गर्न जाँदा, पवित्र आत्माले तँलाई असाधारण अन्तर्ज्ञान र ज्योति दिनुहुन्छ, मण्डलीभित्र रहेका समस्याहरूको बारेमा अन्तर्दृष्टि दिनुहुन्छ, र तिनलाई समाधान गर्न सत्यता सङ्गति कसरी गर्ने भन्‍ने ज्ञान दिनुहुन्छ, र तँलाई आफ्नो काममा अविश्‍वसनीय रूपमा जोसिलो, जिम्मेवार र गम्भीर बनाउनुहुन्छ भने, यी सबै पवित्र आत्माका काम हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (१)

पवित्र आत्माको कामले मानिसहरूलाई सबैभन्दा बढी मदत गर्ने तरिका भनेको तिनीहरूलाई अन्तर्दृष्टि र ज्योति प्रदान गरेर, तिनीहरूलाई सत्यता अनि परमेश्‍वरको अभिप्राय बुझ्‍न दिएर, अनि तिनीहरूलाई परमेश्‍वरको मापदण्डअनुरूप काम गर्न र सही मार्गबाट नबहकिन सक्षम तुल्याएर हो। पवित्र आत्माको कामले मानिसहरूलाई अन्तर्दृष्टि दिनुको लक्ष्य के हो? कहिलेकाहीँ, यसको काम बाटो देखाउने हुन्छ; कहिलेकाहीँ यसले तँमा केही समझ आओस् भनेर तँलाई सम्झाउने काम गर्छ; र कहिलेकाहीँ यसले तँलाई ज्योति प्रदान गरेर सत्यता बुझ्न मदत गर्छ र तँलाई अभ्यास गर्ने बाटो प्रदान गर्छ। जब तँ बहकिएर आफ्नै बाटोमा लागेको हुन्छस्, उहाँले तँलाई सही मार्गतर्फ डोर्‍याउँदै र निर्देशित गर्दै बैसाखीले झैँ साथ र सहयोग दिनुहुन्छ। पवित्र आत्माले जुनसुकै ज्योति र ज्ञानद्वारा मानिसहरूलाई अन्तर्दृष्टि दिनुभए पनि, र त्यो मानिसहरूको व्यक्तिगत पृष्ठभूमिको कारण फरक भए पनि, त्यो सत्यतासँग विरोधाभास हुने वा बाझिने कदापि गर्दैन। यदि हरेक व्यक्तिले साँचो रूपमा खोजी र प्रार्थना गर्दै, र साँचो रूपमा समर्पित हुँदै अनुभव गर्थ्यो भने, र पवित्र आत्माले पनि त्यसरी नै निरन्तर काम गर्दै तिनीहरूलाई अन्तर्दृष्टि र अगुवाइ प्रदान गर्नुहुन्थ्यो भने, र यदि तिनीहरू तीक्ष्ण र मिहीन सोच भएका हुन्थे र तिनीहरू पवित्र आत्‍माले अन्तर्दृष्टि दिनुहुने कुराहरू अभ्यास गर्न र तिनमा प्रवेश गर्न सक्षम हुन्थे भने, तिनीहरूको कद चाँडै वृद्धि हुनेथ्यो। तिनीहरूले त्यसपछि अवसरको फाइदा उठाएका हुन्थे। पवित्र आत्‍माको कार्यको एउटा विशेषता के हो भने यो अत्यन्तै शीघ्र हुन्छ। यो एकै पलकमा समाप्त हुन्छ, र यो दुष्ट आत्‍माहरूको कामजस्तो हुँदैन, जहाँ मानिसहरूलाई सधैँ विभिन्‍न काम गर्न यसरी उक्साइन्छ र बाध्य पारिन्छ कि तिनीहरूले अर्को कुनै तरिकाले काम गर्नै सक्दैनन्। कहिलेकाहीँ, पवित्र आत्माले मानिसहरू खतराको सङ्घारमा पुगेको बेला, तिनीहरूलाई भित्री रूपमा अत्यन्तै असहज र व्याकुल महसुस गराउने अनुभूति दिलाउँदै काम गर्नुहुन्छ। विशेष परिस्‍थितिहरूमा यस्तो हुन्छ। प्रायजसो, जब मानिसहरू परमेश्‍वरनजिक जान्छन्, र सत्यता खोज्छन्, वा जब तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्छन्, तब पवित्र आत्माले तिनीहरूलाई एउटा भावना, वा सूक्ष्म सोच वा विचार दिनुहुन्छ। अथवा, उहाँले तँलाई कुनै अभिव्यक्ति वा सन्देश प्रदान गर्नुहुन्छ। त्यसमा कुनै आवाज भएझैँ हुन्छ, र त्यो आवाजविहीन भएझैँ पनि हुन्छ; त्यो एउटा ताकेताजस्तै हो, र तैँले त्यसको अर्थ के हो, त्यो बुझ्न सक्छस्। त्यसपछि, यदि तैँले आफूले बुझेको अर्थलाई उपयुक्त शब्दहरूमार्फत व्यक्त गर्छस् भने, तैँले केही न केही हासिल गर्नेछस्, र त्यसले अरूलाई पनि सुधार्नेछ। यदि मानिसहरू सधैँ यस तरिकाले अनुभव गर्छन् भने, तिनीहरूले बिस्तारै धेरै सत्यताहरू बुझ्नेछन्। यदि मानिसहरूसँग सधैँ आफ्नो छेउमा पवित्र आत्माको काम छ भने, र तिनीहरूलाई डोर्‍याउनको लागि सधैँ नयाँ ज्योति हुन्छ भने, तिनीहरू साँचो मार्गबाट कहिल्यै नबहकिने निश्‍चित छ। यदि तँसित कसैले कहिल्यै सङ्गति गर्दैन, र तँलाई कसैले मार्गदर्शन गर्दैन, अनि तँसित कामको बन्दोबस्तसमेत छैन भने पनि, यदि तँ पवित्र आत्माले मार्गदर्शन गर्नुभएको दिशामा हिँड्छस् भने, तँ निश्‍चय नै बहकिनेछैनस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा, सत्यता प्राप्त गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो

पवित्र आत्माले काम गर्नुहुँदा पनि मानिसहरूमा अझै भ्रष्ट स्वभाव रहेको हुन्छ; तापनि, पवित्र आत्माको कामको अवधिमा, मानिसहरूलाई तिनीहरूका विद्रोहीपन, अभिप्रेरणाहरू र मिलावटहरू पत्ता लगाउन र पहिचान गर्न सजिलो हुन्छ। तब मात्र, मानिसहरूले ग्लानि महसुस गर्छन् र पश्चात्ताप गर्न इच्छुक हुन्छन्। त्यसरी नै तिनीहरूका विद्रोही र भ्रष्ट स्वभावहरू परमेश्‍वरको कामभित्र क्रमै रूपले फालिँदै जान्छन्। पवित्र आत्माको काम विशेष गरी सामान्य हुन्छ; उहाँले मानिसहरूमा काम गर्नुहुँदा तिनीहरूमा अझै पनि समस्याहरू हुन्छन्, तिनीहरू अझै पनि रुन्छन्, तिनीहरू अझै पनि दुःखित हुन्छन्, तिनीहरू अझै पनि कमजोर हुन्छन् र तिनीहरूका निम्ति अझै पनि धेरै कुरा अस्पष्ट हुन्छन्, तैपनि यो अवस्थामा तिनीहरूले आफैलाई प्रत्यागमनबाट रोक्न सक्छन्, र तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्न सक्छन्, र तिनीहरू रोए पनि अनि विचलित भए पनि, तिनीहरूले अझै पनि परमेश्‍वरको प्रशंसा गर्न सक्छन्; पवित्र आत्माको काम विशेष गरी सामान्य हुन्छ, अलिकति पनि अलौकिक हुँदैन। धेरै मानिसहरूले पवित्र आत्माले काम गर्न थाल्नेबित्तिकै मानिसको अवस्थामा परिवर्तनहरू हुन्छन् र तिनीहरूका निम्ति आवश्यक कुराहरू हटाइन्छन् भनी विश्‍वास गर्छन्। यस्ता विश्‍वासहरू विकृत हुन्छन्। जब पवित्र आत्माले मानिसभित्र काम गर्नुहुन्छ, मानिसका नकारात्मक कुराहरू अझै पनि त्यहीँ हुन्छन् र उसको कद त्यही नै रहन्छ, तर उसले पवित्र आत्माको ज्योति र अन्तर्दृष्टि प्राप्त गर्दछ र त्यसैले उसको अवस्था धेरै सकारात्मक बन्छ, ऊभित्रका अवस्थाहरू सामान्य बन्छन्, र ऊ द्रुत गतिमा परिवर्तित हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पवित्र आत्माको काम र शैतानको काम

पवित्र आत्माको कामले मानिसहरूलाई सकारात्मक प्रगति गर्न मदत गर्छ, जबकि शैतानको कामले चाहिँ तिनीहरूलाई नकारात्मक बनी पछि हट्न, परमेश्‍वरविरुद्ध विद्रोह र प्रतिरोध गर्न, उहाँमाथिको विश्‍वास गुमाउन, र आफ्नो कर्तव्यपालनमा कमजोर हुन लगाउँछ। पवित्र आत्माको अन्तर्दृष्टिबाट उत्पन्न हुने सबै कुरा स्वाभाविक हुन्छ; यसमा तँलाई बाध्य पारिँदैन। यदि तँ यसमा समर्पित भइस् भने, तैँले शान्ति पाउनेछस्; यदि तैँले अनुसरण गरिनस् भने, पछि तँलाई गाली गरिनेछ। पवित्र आत्माको अन्तर्दृष्टिको साथमा तैँले गर्ने कुनै पनि कुरामा बाधा वाबन्धन हुनेछैन; तँ स्वतन्त्र हुनेछस्, त्यहाँ तेरा व्यवहारहरू अभ्यास गर्ने एउटा मार्ग हुनेछ, र तँ कुनै रोकावटको अधीनमा हुनेछैनस्, बरु तँ परमेश्‍वरको अभिप्रायअनुसार काम गर्न सक्षम हुनेछस्। शैतानको कामले तँलाई धेरै कुरामा बाधा दिन्छ; यसले तँलाई प्रार्थना गर्न अनिच्छुक बनाउँछ, परमेश्‍वरका वचनहरू खान र पिउन धेरै अल्छी बनाउँछ, र मण्डलीको जीवन जिउन नचाहने बनाउँछ, र यसले तँलाई आत्मिक जीवनप्रति उदासीन बनाउँछ। पवित्र आत्माको कामले तेरो दैनिक जीवनमा हस्तक्षेप गर्दैन र तेरो सामान्य आत्मिक जीवनमा हस्तक्षेप गर्दैन। तैँले धेरै वटा कुराहरू घटित हुँदा त्यति नै बेला तिनलाई बुझ्न सक्दैनस्, तैपनि केही दिनपछि तेरो हृदय अझ उज्यालो हुन्छ अनि तेरो मन थप स्पष्ट हुन्छ। तैँले आत्माका केही कुराहरू बुझ्न थाल्छस्, र बिस्तारै कुनै विचार परमेश्‍वरबाट आएको हो कि शैतानबाट आएको हो सो बुझ्न‍ सक्छस्। केही कुराहरूले तँलाई स्पष्ट रूपमा परमेश्‍वरको विरोध गर्ने र परमेश्‍वर विरुद्ध विद्रोह गर्ने बनाउँछन्, वा परमेश्‍वरका वचनहरू व्यवहारमा प्रयोग गर्नबाट रोक्छन्; यी सबै कुराहरू शैतानबाट आएका हुन्। केही कुराहरू स्पष्ट हुँदैनन्, र तैँले ती के हुन् भनी त्यति नै बेला भन्न सक्दैनस्; पछि तँ तिनका प्रकट रूपहरू देख्न सक्छस्, र त्यसपछि विवेक लगाउन सक्छस्। यदि तैँले शैतानबाट आउने र पवित्र आत्माद्वारा निर्देशित कुराहरूलाई स्पष्टसँग छुट्याउन सक्छस् भने तेरा अनुभवहरूमा तँलाई सजिलै गलत बाटोमा डोर्याउन सकिने छैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पवित्र आत्माको काम र शैतानको काम

परमेश्‍वरको कामको अनुभव गर्दा, पवित्र आत्माको काम कहिलेकहीँ मात्र प्राप्त हुन्छ, जबकि पवित्र आत्माको उपस्थिति प्रायः निरन्तर रहिरहन्छ। जबसम्म मानिसहरूको तर्कशक्ति र सोचविचार सामान्य हुन्छन्, र जबसम्म तिनीहरूको स्थिति सामान्य हुन्छ, तबसम्‍म पवित्र आत्मा अवश्य नै तिनीहरूको साथमा रहनुहुन्छ। जब मानिसहरूका तर्कशक्ति र सोचविचार सामान्य हुँदैनन्, तब तिनीहरूको मानवता सामान्य हुँदैन। यदि यस क्षणमा, तँमा पवित्र आत्माको काम छ भने, पवित्र आत्मा पनि निश्‍चय नै तँसँग हुनुहुनेछ। तर यदि पवित्र आत्मा तँसँग हुनुहुन्छ भने, यसले पवित्र आत्माले तँभित्र अवश्य नै काम गरिरहनुभएको छ भन्‍ने जनाउँदैन, किनकि पवित्र आत्माले विशेष समयहरूमा काम गर्नुहुन्छ। पवित्र आत्माको उपस्थिति हुनुले मानिसको सामान्य अस्तित्वलाई मात्रै कायम राख्‍न सक्छ, तर पवित्र आत्माले निश्‍चित समयहरूमा मात्र काम गर्नुहुन्छ। उदाहरणका लागि, यदि तँ एक अगुवा वा सेवक होस् भने, जब तँ मण्डलीको लागि मलजल गर्छस् वा भरणपोषण गर्छस्, तब पवित्र आत्माले तँलाई केही निश्‍चित वचनहरूको प्रकाश दिनुहुनेछ जुन अरूको लागि शिक्षाप्रद र तेरा दाजुभाइ-दिदीबहिनीहरूका केही व्यावहारिक समस्याहरू समाधान गर्न सक्‍ने हुन्छ—त्यस्तो समयमा पवित्र आत्माले काम गरिरहनुभएको हुन्छ। कहिलेकहीँ, जब तैँले परमेश्‍वरका वचनहरू खाइरहेको र पिइरहेको हुन्छस्, त्यस बेला पवित्र आत्माले तँलाई निश्‍चित वचनहरूको प्रकाश दिनुहुन्छ जुन तेरा आफ्नै अनुभवहरूसित सान्दर्भिक हुन्छन्, र त्यसले तँलाई तेरो आफ्नै स्थितिको बारेमा अझ ठूलो ज्ञान दिन्छ; यो पनि पवित्र आत्माको काम हो। कहिलेकहीँ, जब म बोल्छु, तिमीहरू सुन्छौ र मेरा वचनहरूको आधारमा आफ्नो स्थितिलाई मापन गर्न सक्षम हुन्छौ, र कहिलेकहीँ तिमीहरू प्रभावित वा उत्प्रेरित हुन्छौ; यी सबै पवित्र आत्माका काम हुन्। कतिपय मानिसहरू पवित्र आत्माले तिनीहरूमा सधैँ काम गरिरहनुभएको छ भनी भन्छन्। यो असम्भव छ। यदि तिनीहरूले पवित्र आत्मा सधैँ उनीहरूको साथमा हुनुहुन्छ भनी भन्थे भने त्यो यथार्थपरक हुनेथ्यो। यदि तिनीहरूले आफ्‍ना सोचविचार र चेतना सधैँ सामान्य छन् भनी भन्थे भने त्यो पनि यथार्थपरक हुनेथ्यो र त्यसले पवित्र आत्मा तिनीहरूसँग हुनुहुन्छ भनी देखाउनेथ्यो। यदि तिनीहरूले पवित्र आत्माले तिनीहरूमा सधैँ काम गरिरहनुभएको छ, हरपल तिनीहरूले परमेश्‍वरको अन्तर्दृष्टि र पवित्र आत्माको छुवाइ प्राप्त गर्छन् र हरसमय तिनीहरूले नयाँ ज्ञान हासिल गर्छन् भनी भन्छन् भने, त्यो कुनै पनि हालतमा सामान्य कुरा होइन! यो पूर्ण रूपमा अलौकिक हो! त्यस्ता मानिसहरू दुष्टात्मा हुन् भन्‍नेमा कुनै शङ्का छैन! परमेश्‍वरका आत्मा देहमा आउनुहुँदासमेत, कहिलेकहीँ उहाँले खानु र विश्राम गर्नुपर्छ भने, मानिसको बारेमा त झन् के कुरा गर्ने र! दुष्ट आत्माहरूद्वारा ग्रस्त मानिसहरूमा देहको कुनै कमजोरी नभएको जस्तो देखिन्छ। तिनीहरूले सबै थोक छोड्न र त्याग्न सक्छन्, तिनीहरू भावनाहरूबाट मुक्त हुन्छन्, यातना सहन सक्‍ने र अलिकति पनि थकान महसुस नगर्ने हुन्छन्, मानौं तिनीहरूले देहलाई पार गरिसकेका छन्। के यो अत्यन्त अलौकिक कुरा होइन र? दुष्टात्माहरूको काम अलौकिक हुन्छ—कुनै पनि मानिसले त्यस्तो कुरा हासिल गर्न सक्दैन! समझको कमी हुनेहरू त्यस्ता मानिसहरूलाई देख्दा ईर्ष्यालु हुन्छन्: परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा तिनीहरूसित जोस छ, ठूलो विश्‍वास छ, र कमजोरीको सानोभन्दा सानो सङ्केतसमेत कहिल्यै देखाउँदैनन् भनी तिनीहरू भन्छन्! वास्तवमा, यी सबै दुष्टात्माको कामका प्रकटीकरणहरू हुन्। किनकि, सामान्य मानिसहरूसित अपरिहार्य रूपमा नै मानवीय कमजोरीहरू हुन्छन्; जोसँग पवित्र आत्माको उपस्थिति हुन्छ तिनीहरूमा हुने सामान्य अवस्था यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (४)

परमेश्‍वरले भद्र, कोमल, प्रेमिलो र वास्ता गर्ने तरिकाले काम गर्नुहुन्छ, जुन असाधारण रूपमा होसियार र उचित तरिका हो। उहाँको तरिकाले तँमा तीव्र भावनात्मक प्रतिक्रिया उत्पन्‍न गर्दैन, जस्तै: “परमेश्‍वरले मलाई यसो गराइरहनुभएको छ” वा “परमेश्‍वरले मलाई त्यसो गर्न गराइरहनुभएको छ।” परमेश्‍वरले तँलाई कहिल्यै तेरो हृदयले सहनै नसक्ने त्यस्तो तीब्र अनुभूति वा भावना दिनुहुन्‍न। यस्तै हुन्छ, होइन र? जब तैँले परमेश्‍वरको न्याय र सजायका वचनहरूलाई स्वीकार गर्छस् तब तैँले कस्तो महसुस गर्छस्? जब तैँले परमेश्‍वरको अख्तियार र शक्तिको अनुभूति गर्छस्, तब तैँले कस्तो महसुस गर्छस्? के तैँले परमेश्‍वर ईश्‍वरीय र उल्लङ्‍घन गर्न नसकिने हुनुहुन्छ भन्‍ने महसुस गर्छस्? के यस्ता समयहरूमा तँ र परमेश्‍वरबीचमा दूरी भएको महसुस गर्छस्? के तैँले परमेश्‍वर कति डरलाग्दो हुनुहुन्छ भनेर महसुस गर्छस्? होइन—बरु तैँले परमेश्‍वरप्रति डरचाहिँ महसुस गर्छस्। के परमेश्‍वरको कामको कारण मानिसहरूले यी सबै कुराहरू महसुस गर्दैनन् र? यदि काम गर्ने शैतान भएको भए के तिनीहरूले यी सबै कुराहरू महसुस गर्नेथिए? बिलकुलै गर्नेथिएनन्। …

मानिसमा हुने शैतानको कामलाई के कुराले चित्रण गर्छ? तिमीहरूले यो कुरा तिमीहरूका आफ्नै अनुभवहरूमार्फत सिक्‍न सक्‍नुपर्छ—यो शैतानको ठेट विशेषता हो, त्यसले बारम्बार गर्ने काम र त्यसले प्रत्येक मानिसमा गर्न प्रयास गर्ने काम हो। सायद तिमीहरूले यो विशेषता देख्‍न सक्दैनौ, त्यसैले तिमीहरूले शैतान डरलाग्दो र घृणास्पद छ भनी महसुस गर्दैनौ। यो विशेषता के हो भन्‍ने कसैलाई थाहा छ? (त्यसले मानिसलाई लोभ्याउँछ, प्रलोभन देखाउँछ र परीक्षा गर्छ।) त्यो सही कुरा हो; यो विशेषता प्रकट हुने विभिन्‍न तरिकाहरू यिनै हुन्। शैतानले मानिसलाई भ्रममा पार्ने, आक्रमण गर्ने र दोष लगाउने काम पनि गर्छ—यी सबै त्यसका प्रकटीकरणहरू हुन्। के अरू पनि छन्? (त्यसले झूट बोल्छ।) शैतानलाई ठग्‍न र झूट बोल्‍न स्वाभाविक रूपमा नै आउँछ। त्यसले यी कुराहरू निरन्तर गरिरहन्छ। त्यसै गरी, हाकिमी पारा देखाउने, उक्साउने, जबरजस्ती काम गराउने, अह्राउखटाउ गर्ने, जबरजस्ती अरूको मालमत्ता खोस्‍नेजस्ता कुराहरू पनि छन्। अब म तिमीहरूलाई केही कुरा वर्णन गर्नेछु, जसले अन्त्यमा तिमीहरूको रौँ ठाडो बनाइदिनेछ तर तिमीहरूलाई तर्साउनलाई मैले यो गरिरहेको छैन। परमेश्‍वरले मानिसमा काम गर्नुहुन्छ र उहाँले मानिसलाई आफ्नो मनोवृत्ति र आफ्नो हृदयमा प्रिय ठान्‍नुहुन्छ। तर अर्कोतर्फ, शैतानले भने मानिसलाई कति पनि प्रिय ठान्दैन, र त्यसले आफ्नो पूरै समय मानिसलाई कसरी हानि पुर्‍याउने भनेर मात्रै सोचिरहन्छ। के त्यसले यस्तै गर्दैन त? जब त्यसले मानिसलाई हानि पुर्‍याउने विषयमा सोचिरहन्छ, के त्यसको मन आतुरीमा हुन्छ? (हुन्छ।) त्यसैले मानिसमा शैतानले गर्ने कामको बारेमा विचार गरिरहँदा, मसँग शैतानको दुष्‍टता र द्वेषतालाई राम्ररी वर्णन गर्ने दुई वटा वाक्यांशहरू छन्, यसले शैतानको घृणितपनलाई बुझ्‍न तिमीहरूलाई साँच्‍चिकै सहयोग गर्न सक्छ: शैतान मानिसको नजिक आउँदा त्यसले सधैँ हरेक मानिसमा जबरजस्ती बास गर्न र उसलाई वशमा राख्‍न चाहन्छ, यति हदसम्‍म कि त्यसले मानिसलाई पूर्ण नियन्त्रण गर्न र ठूलो हानि पुर्‍याउन सकोस्, ताकि त्यसले आफ्नो लक्ष्य हासिल गर्न र आफ्नो दुष्‍ट अभिलाषा पूरा गर्न सकोस्। “जबरजस्ती बास गर्नु” भनेको के हो? के यो तेरो सहमतिमा हुने कुरा हो कि तेरो सहमतिविना हुने कुरा हो? के यो तँलाई थाहा हुने गरी हुन्छ कि तँलाई थाहा नहुने गरी हुन्छ? जबाफचाहिँ के हो भने यो तँलाई पूर्ण रूपमा थाहै नहुने गरी हुन्छ! यो तँलाई थाहा नभएको परिस्थितिमा हुन्छ, सायद त्यसले तँलाई केही नभनीकन वा केही नगरीकन, कुनै आधारविना, कुनै सन्दर्भविना हुन्छ—शैतान तेरो वरिपरि घुमिरहन्छ, तँलाई घेरिरहन्छ। त्यसले शोषण गर्ने अवसर खोजिरहन्छ र त्यसपछि त्यसले तँमा जबरजस्ती बास गर्छ, तँलाई आफ्नो बनाउँछ, तँलाई पूर्ण रूपमा अधीन गर्ने आफ्नो उद्देश्य हासिल गर्छ र तँमाथि पीडापूर्ण हानि पुर्‍याउँछ। मानिसलाई परमेश्‍वरबाट खोसी टाढा लैजान संघर्ष गर्ने क्रममा शैतानको सबैभन्दा ठेट अभिप्राय र आचरण यही हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ४

जब मानिसहरूसँग परमेश्‍वरबारे ज्ञान हुन्छ, तिनीहरू परमेश्‍वरको निम्ति कष्ट भोग्न र जिउन खुसी हुन्छन्, तर शैतानले अझै पनि तिनीहरूभित्रको कमजोरीलाई नियन्त्रण गर्छ, शैतान अझै पनि तिनीहरूलाई कष्ट दिन सक्षम छ, र दुष्ट आत्माहरू अझै पनि तिनीहरूभित्र काम गर्न र बाधा ल्याउन, तिनीहरूमाथि जादुटोना गर्न, र तिनीहरूलाई मतिभ्रष्ट, अशान्त र पूर्ण रूपमा विचलित पार्न सक्षम छन्। मानिसहरूको विचार र चेतनामा शैतानले नियन्त्रण र चालबाजी गर्न सक्‍ने कुराहरू हुन्छन्। त्यसकारण, कहिलेकाहीँ तँ बिरामी वा चिन्तित हुन्छस्, कहिलेकाहीँ त्यस्तो समय आउँछ जहिले तैँले संसार उजाड भएको वा जिउनुको कुनै अर्थ छैन भन्ने महसुस गर्छस्, अनि कहिलेकाहीँ त्यस्तो समय पनि आउँछ जहिले तेँले मृत्युको खोजी गर्न र आफैँलाई मार्न खोज्छस्। यसको अर्थ यो हो कि, ती पीडाहरू शैतानद्वारा ल्याइन्छन् र ती मानिसका मरणशील कमजोरी हुन्। शैतानले भ्रष्ट पारेको र कुल्चेको कुरा अझै पनि शैतानद्वारा प्रयोग हुन सक्छ; त्यो शैतानले घुमाउने पेच हो। … जब दुष्ट आत्माहरूले काम गर्छन्, तिनीहरूले शोषण नगर्ने कुनै खाली ठाउँ हुँदैन। तिनीहरूले तँभित्र वा तेरो कानमा बोल्न सक्छन् वा तिनीहरूले पवित्र आत्माको छुवाइ थाहा नपाउने बनाएर, त्यो छुवाइ अनुभव गर्नबाट तँलाई रोकेर तेरो मन विचलित पार्न सक्छन्, र त्यसपछि ती दुष्ट आत्माहरूले तेरा विचारहरूलाई अराजकतामा मिल्काएर, तेरो आत्मालाई तेरो शरीर छोड्नेसम्म बनाएर तँलाई बाधा दिँदै समझ गुमाउने बनाउन थाल्नेछन्। यो दुष्ट आत्माहरूले मानिसहरूमा गर्ने काम हो र यदि मानिसहरूले यसको वास्तविकता चिन्‍न सकेनन् भने तिनीहरू ठूलो खतरामा हुन्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरले सांसारिक कष्ट चाख्नुको महत्त्व

आज त्यहाँ केही दुष्ट आत्माहरू छन् जसले अलौकिक चीजहरूद्वारा मानिसलाई बहकाउँछन्; तिनीहरूले गर्ने नकल बाहेक अरू केही होइन, पवित्र आत्माले अहिले नगर्नुहुने कामद्वारा मानिसहरूलाई बहकाउँछन्। धेरै मानिसहरूले चमत्कारहरू गर्छन् र बिरामीहरूलाई निको पार्छन् र भूतहरू धपाउँछन्; यी सबै दुष्टात्माको कामबाहेक अरू केही होइन, किनकि पवित्र आत्माले अहिले त्यस्तो काम गर्नुहुन्न, र त्यस समयदेखि पवित्र आत्माको कामको नकल गर्ने सबै जना वास्तवमा साँच्चै दुष्टात्माहरू हुन्। इस्राएलमा त्यसबेला गरिएका सबै कामहरू अलौकिक प्रकृतिको काम थिए, यद्यपि पवित्र आत्मा अहिले त्यस्तो तरिकाले काम गर्नुहुन्न, र त्यस्ता कुनै पनि काम अहिले शैतानको नकल र छली भेष र त्यसको खलबली हो। तर तैँले जुनै पनि अलौकिक कार्य दुष्ट आत्माबाट नै आउँछ भनेर भन्न सक्दैनस्—यो परमेश्‍वरको कामको युगमा निर्भर हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (१)

परमेश्‍वरले आफ्नो कार्य दोहोर्याउनुहुन्न, उहाँले त्यस्तो कार्य गर्नुहुन्न जुन यथार्थपरक हुँदैन, उहाँले मानिससँग अत्याधिक मागहरू गर्नुहुन्न, र उहाँले यस्तो कार्य गर्नुहुन्न जुन मानिसको भावभन्दा पर हुन्छ। उहाँले गर्नुहुने सबै कार्य मानिसको सामान्य भावको हदभित्र हुन्छ, र यसले सामान्य मानवत्वको भावलाई उछिन्दैन, र उहाँको कार्य मानिसको सामान्य आवश्यकताहरू अनुसार गरिन्छ। यदि यो पवित्र आत्माको कार्य हो भने, मानिसहरू पहिलाको भन्दा अझ बढी सामान्य बन्छन्‌, र तिनीहरूको मानवत्व पहिलाको भन्दा अझ अधिक सामान्य हुन्छ। मानिसहरूले तिनका भ्रष्ट शैतानी स्वभावको बारे, र मानिसको सारबारे बढ्दो ज्ञान हासिल गर्छन्‌, र तिनीहरूले सत्यताको लागि पहिलेको भन्दा अझ ठूलो तिर्सना पनि राख्छन्‌। भन्नुको मतलब, मानिसको जीवन वृद्धि हुन्छ र वृद्धि हुन्छ, र मानिसको भ्रष्ट स्वभाव झन्‌-झन्‌ धेरै परिवर्तनको सक्षम बन्छ—यी सबैको अर्थ परमेश्‍वर मानिसको जीवन बन्नुहुन्छ भन्‍ने हो। यदि कुनै मार्गले मानिसको सारका ती कुराहरू प्रकट गर्न असक्षम छ, मानिसको स्वभावलाई परिवर्तन गर्न असक्षम छ, र, यसको साथै, मानिसहरूलाई परमेश्‍वरको सामुन्ने ल्याउन वा परमेश्‍वरको बारेमा तिनीहरूलाई साँचो समझ दिन असक्षम छ, र तिनीहरूको मानवत्वलाई अझ पहिलाको भन्दा पनि बढि खस्कने बनाउँछ र तिनीहरूको भाव अझ पहिलाको भन्दा असामान्य बनाउँछ भने, यो मार्ग सत्य मार्ग हुँदै होइन, र यो दुष्टात्माको कार्य, वा पुरानो मार्ग हुन सक्छ। छोटकरीमा, यो पवित्र आत्माको वर्तमान कार्य हुन सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र उहाँको कार्यलाई चिन्नेहरूले मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्‌

सम्बन्धित भजनहरू

जब पवित्र आत्माले मानिसमा काम गर्नुहुन्छ

परमेश्‍वरको काम दोहोरिदैन

अघिल्लो: घ. परमेश्‍वरको काम र मानिसको कामबीच कसरी भिन्‍नता छुट्याउने

अर्को: च. आफूमा दुष्टात्माहरूको कार्य हुनु र आफू दुष्टात्माहरूको वशमा पर्नुबीचको भिन्नता कसरी छुट्याउने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्