एउटा अत्यन्तै गम्भीर समस्या: विश्वासघात (२)
मानिसको प्रकृति मेरो सारभन्दा निकै फरक छ, किनभने मानिसको भ्रष्ट प्रकृति पूर्ण रूपमा शैतानबाट उत्पन्न हुन्छ; मानिसको प्रकृति शैतानद्वारा प्रशोधन गरिएको र भ्रष्ट तुल्याइएको हुन्छ। अर्थात्, मानिस यसको दुष्टता र कुरूपताको प्रभावमा जिउँछ। मानिस सत्यताको संसार वा पवित्र वातावरणमा हुर्कँदैन, र मानिस ज्योतिमा त झनै जिउँदैन। त्यसकारण, जन्मिएको क्षणदेखि नै कसैको पनि प्रकृतिमा सत्यता हुनु सम्भव छैन, अनि कोही पनि परमेश्वरको डर मान्ने र उहाँप्रति समर्पित हुने सार लिएर जन्मन त झनै सक्दैन। यसको विपरीत, मानिसहरूमा परमेश्वरको विरोध गर्ने, परमेश्वरविरुद्ध विद्रोह गर्ने, र सत्यताप्रति प्रेम नहुने प्रकृति हुन्छ। मैले छलफल गर्न चाहेको समस्या नै यही प्रकृति हो—विश्वासघात। हरेक व्यक्तिले परमेश्वरलाई गर्ने विरोधको स्रोत नै विश्वासघात हो। यो मानिसमा मात्रै हुने, ममा नहुने समस्या हो। कतिपयले सोध्नेछन्: सबै मानिस ख्रीष्टजस्तै संसारमा जिउने हुनाले, किन सबै मानिसमा परमेश्वरलाई विश्वासघात गर्ने प्रकृति हुन्छ, तर ख्रीष्टमा हुँदैन? यो तिमीहरूलाई स्पष्ट रूपमा बुझाउनैपर्ने समस्या हो।
मानवजातिको अस्तित्वको आधार भनेको प्राणको बारम्बार पुनर्जन्म हुनु हो। अर्को शब्दमा भन्दा, जब हरेक व्यक्तिको प्राणको पुनर्जन्म हुन्छ तब उसले देहमा मानव जीवन प्राप्त गर्छ। व्यक्तिको शरीर जन्मिएपछि, त्यसको जीवन देह अन्तिम सीमामा नपुगिन्जेल चलिरहन्छ, जुन अन्तिम क्षण हो, जतिबेला प्राणले आफ्नो खोल छोड्छ। यो प्रक्रिया बारम्बार दोहोरिन्छ, जसमा व्यक्तिको प्राण पटक-पटक आउने र जाने गर्छ, र यसरी मानवजातिको अस्तित्व कायम रहन्छ। देहको जीवन नै मानिसको प्राणको जीवन पनि हो, र मानिसको प्राणले मानिसको देहको अस्तित्वलाई टेवा दिन्छ। अर्थात्, हरेक व्यक्तिको जीवन उसको प्राणबाट आउँछ, यो देहमा अन्तर्निहित हुँदैन। त्यसकारण, मानिसको प्रकृति देहबाट होइन, प्राणबाट आउँछ। हरेक व्यक्तिले शैतानका प्रलोभन, दुखकष्ट, र भ्रष्टता कसरी अनुभव गरेको छ भन्ने कुरा उसको प्राणलाई मात्र थाहा हुन्छ। यी कुरा मानिसको देहले थाहा पाउन असम्भव छ। त्यसकारण, मानवजाति अन्जानमै झन्-झन् अन्धकार, झन्-झन् फोहोर, र झन्-झन् दुष्ट बन्दै जान्छ, साथसाथै मानिस र मबीचको दूरी झन्-झन् बढ्दै जान्छ, र मानवजातिका लागि जीवन झन्-झन् अन्धकार बन्दै जान्छ। शैतानले मानवजातिको प्राणलाई आफ्नो पकडमा राख्छ, त्यसैले, शैतानले मानिसको देहलाई पनि कब्जा गरेको हुन्छ भनेर भनिरहनु पर्दैन। यस्तो देह र यस्तो मानवजातिले कसरी परमेश्वरको विरोध नगर्ला र? तिनीहरू कसरी उहाँसँग अन्तर्निहित रूपमै मिल्न सक्छन् र? शैतानले मलाई विश्वासघात गरेको कारणले मैले त्यसलाई मध्य-आकाशमा खसालेको हुँ। त्यसोभए, मानिसहरू कसरी आफ्नो संलग्नताबाट मुक्त हुन सक्छन् र? यसैकारण विश्वासघात मानव प्रकृति नै हो। मलाई विश्वास छ, तिमीहरूले यो तर्क बुझेपछि, ख्रीष्टको सारमा पनि केही हदसम्म विश्वास गर्नुपर्छ। परमेश्वरको आत्माले धारण गर्नुभएको देह परमेश्वरको आफ्नै देह हो। परमेश्वरको आत्मा सर्वोच्च हुनुहुन्छ; उहाँ सर्वशक्तिमान्, पवित्र, र धर्मी हुनुहुन्छ। त्यसैगरी, उहाँको देह पनि सर्वोच्च, सर्वशक्तिमान्, पवित्र, र धर्मी हुनुहुन्छ। यस्तो देहले मानवजातिका लागि धर्मी र लाभदायक कुरा, पवित्र, महिमामय, र शक्तिशाली कुरा मात्रै गर्न सक्नुहुन्छ; उहाँले सत्यता उल्लङ्घन हुने, नैतिक न्याय उल्लङ्घन हुने कुनै पनि कुरा गर्न सक्नुहुन्न, र झन् उहाँले परमेश्वरको आत्मालाई विश्वासघात गर्ने कुनै पनि कुरा गर्न सक्नु त परको कुरा हो। परमेश्वरको आत्मा पवित्र हुनुहुन्छ, त्यसैले उहाँको देहलाई शैतानद्वारा भ्रष्ट तुल्याउन सकिँदैन; उहाँको देह मानिसको देहभन्दा फरक सारको हुनुहुन्छ। किनभने शैतानद्वारा भ्रष्ट तुल्याइने त मानिस हो, परमेश्वर होइन, र शैतानले परमेश्वर स्वयम्को देहलाई भ्रष्ट तुल्याउन सक्दै सक्दैन। त्यसकारण, मानिस र ख्रीष्ट एउटै स्थानमा बस्ने भए पनि, मानिसलाई मात्रै शैतानले नियन्त्रण र प्रयोग गर्न सक्छ, अनि शैतानका चालहरूले हानि पुर्याउन सक्छन्। यसको विपरीत, ख्रीष्ट शैतानको भ्रष्टताबाट अनन्त रूपमा अभेद्य हुनुहुन्छ, किनभने शैतान कहिल्यै पनि सर्वोच्च स्थानमा उक्लिन सक्नेछैन, र कहिल्यै पनि परमेश्वरको नजिक आउन सक्नेछैन। आज, तिमीहरू सबैले के बुझ्नुपर्छ भने, शैतानद्वारा भ्रष्ट तुल्याइएको मानवजातिले मात्रै मलाई विश्वासघात गर्छ। विश्वासघात कहिल्यै ख्रीष्टसँग अलिकति पनि सम्बन्धित हुने समस्या हुनेछैन।
शैतानद्वारा भ्रष्ट तुल्याइएका सबै प्राण शैतानको शक्तिमा बन्धक बनेका हुन्छन्। ख्रीष्टमा विश्वास गर्नेहरूलाई मात्रै अलग गरिएको छ, शैतानको छाउनीबाट मुक्त गरिएको छ, र आजको राज्यमा ल्याइएको छ। यी मानिस अब शैतानको प्रभावमा जिउँदैनन्। तैपनि, मानिसको प्रकृति अझै पनि मानिसको देहमा जरा गाडेर बसेको हुन्छ, अर्थात्, तिमीहरूको प्राणले मुक्ति पाएको भए पनि, तिमीहरूको प्रकृति अझै पनि पहिलेजस्तै छ, र तिमीहरूले मलाई विश्वासघात गर्ने सम्भावना शतप्रतिशत नै रहन्छ। तिमीहरूको प्रकृति ढिट भएको हुनाले नै मेरो काम यति लामो समयसम्म चल्छ। अहिले तिमीहरू सबै जना आफ्ना कर्तव्यहरू पूरा गर्दा आफ्नो क्षमताले भ्याएसम्म कष्टहरू भोगिरहेका छौ, तैपनि नकार्न नसकिने तथ्य के हो भने तिमीहरू हरेकले मलाई विश्वासघात गरेर शैतानको शक्तिमा फर्कने, यसको छाउनीमा फर्कने र फर्केर आफ्नो पुरानो जीवनमा जाने सामर्थ्य राख्छौ। त्यसबेला, तिमीहरूले अहिले जस्तो मानवता वा मानव रूपको एक अंश प्रस्तुत गर्न सम्भव हुनेछैन। गम्भीर अवस्थाहरूमा, तिमीहरू नष्ट पारिनेछौ र, त्योभन्दा पनि बढी, अनन्त श्रापमा पारिनेछौ, कठोर दण्ड भोग्नेछौ, र कहिल्यै पनि पुनर्जन्म पाउनेछैनौ। तिमीहरूसामु रहेको समस्या यही हो। मैले तिमीहरूलाई यसरी सम्झाउनुको पहिलो उद्देश्य मेरो काम व्यर्थ नहोस् भन्ने हो, र दोस्रो उद्देश्य तिमीहरू सबै ज्योतिका दिनहरूमा जिउन सक भन्ने हो। वास्तवमा, मेरो काम व्यर्थ हुन्छ कि हुँदैन भन्ने कुरा नै सबैभन्दा महत्त्वपूर्ण समस्या होइन। तिमीहरूले सुखी जीवन र सुन्दर भविष्य प्राप्त गर्न सक्नु चाहिँ सबैभन्दा महत्त्वपूर्ण हो। मेरो काम मानिसहरूका प्राणलाई मुक्ति दिनु हो। यदि तेरो प्राण शैतानको हातमा पर्यो भने, तेरो देह शान्तिमा जिउनेछैन। यदि मैले तेरो देहलाई सुरक्षा दिइरहेको छु भने, तेरो प्राण पनि पक्कै मेरो हेरचाहमा हुनेछ। यदि मैले तँलाई साँच्चै घृणा गरेँ भने, तेरो देह र प्राण तुरुन्तै शैतानको हातमा पर्नेछन्। के तँ त्यस बेलाको तेरो अवस्थाको कल्पना गर्न सक्छस्? यदि कुनै दिन मेरा वचनहरू तिमीहरूमाथि खेर गए भने, म कि त तिमीहरू सबैलाई शैतानको हातमा सुम्पिदिनेछु, र यसलाई मेरो क्रोध पूर्ण रूपमा शान्त नभएसम्म तिमीहरूमाथि सास्ती बढाउन दिनेछु, कि त तिमीहरूजस्ता सुधार गर्न नसकिने मानिसलाई म आफै दण्ड दिनेछु, किनभने मलाई विश्वासघात गर्ने तिमीहरूको हृदय कहिल्यै परिवर्तन भएको हुनेछैन।
अब तिमीहरू सबैले जतिसक्दो चाँडो आफूलाई जाँच्नुपर्छ, र तिमीहरूभित्र मप्रतिको विश्वासघात कति बाँकी छ भनी हेर्नुपर्छ। म उत्सुक भएर तिमीहरूको जवाफ पर्खिरहेको छु। मसँग व्यवहार गर्दा झाराटारुवा नबन। म मानिसहरूसँग कहिल्यै खेलबाड गर्दिनँ। यदि मैले केही गर्छु भनेँ भने म त्यो पक्कै गर्नेछु। म तिमीहरू प्रत्येकले मेरा वचनहरूलाई गम्भीरतापूर्वक लिनेछौ, र तिनलाई विज्ञान कथाजस्तो ठान्नेछैनौ भन्ने आशा गर्छु। म तिमीहरूबाट तिमीहरूका कल्पनाहरू होइन, ठोस कार्य चाहन्छु। अब, तिमीहरूले मेरा प्रश्नहरूको जवाफ दिनैपर्छ, जुन यस प्रकार छन्:
१. यदि तँ साँच्चै नै सेवाकर्ता होस् भने, के तँ झाराटारुवापन वा नकारात्मकताको कुनै छनकविना अर्पित भएर मेरा लागि सेवा प्रदान गर्न सक्छस्?
२. यदि तैँले मैले तेरो कहिल्यै सराहना नगरेको कुरा पत्ता लगाइस् भने, के तँ अझ पनि रहिरहेर आजीवन मेरा लागि सेवा प्रदान गर्न सक्नेछस्?
३. तैँले धेरै मेहनत लगाएको भए पनि, यदि म अझै तँप्रति धेरै रूखो व्यवहार गर्छु भने, के तँ अज्ञात रूपमा मेरा लागि काम गरिरहन सक्नेछस्?
४. तैँले मेरा लागि केही समर्पण गरेपछि, यदि मैले तेरा सानातिना माग पूरा गरिनँ भने, के तँ मदेखि निरुत्साहित र निराश हुनेछस्, वा अझ रिसले चुर भएर गाली समेत गर्नेछस्?
५. यदि तँ मप्रति धेरै प्रेम राख्दै सधैँ बफादार रहिआएको छस्, तैपनि तैँले रोगको सास्ती, आर्थिक दबाब, तेरा मित्र तथा आफन्तहरूद्वारा त्यागिनु वा जीवनका अन्य कुनै दुर्गतिहरूबाट दुःख भोग्छस् भने, के मप्रतिको तेरो बफादारी र प्रेम अझ पनि निरन्तर रहनेछ?
६. यदि तैँले हृदयमा कल्पना गरेको कुनै पनि कुरा मैले गरेको कामसँग मिलेन भने, तँ कसरी आफ्नो भविष्यको मार्गमा हिँड्नुपर्छ?
७. यदि तैँले पाउने आशा गरेका कुनै पनि कुराहरू पाइनस् भने, के तँ मेरो अनुयायी बनिरहन सक्छस्?
८. यदि तैँले मेरो कामको उद्देश्य र महत्त्वलाई कहिल्यै बुझेको छैनस् भने, के तँ मनलागी आलोचना नगर्ने र निष्कर्ष ननिकाल्ने समर्पित व्यक्ति बन्न सक्छस्?
९. के तँ मैले मानिससँगै रहँदा भनेका सबै वचन र गरेका सबै कामलाई बहुमूल्य ठान्न सक्छस्?
१०. के तँ केही प्राप्त नहुँदा पनि मेरा लागि जीवनभर दुःख सहन इच्छुक हुने मेरो विश्वसनीय अनुयायी बन्न सक्छस्?
११. के तँ तेरो भावी अस्तित्वको मार्गका लागि विचार, योजना वा तयारी गर्ने कार्यलाई मेरो खातिर त्याग्न सक्छस्?
यी प्रश्नहरूले तिमीहरूप्रति मेरा अन्तिम मागहरूलाई प्रतिनिधित्व गर्छन्, र म तिमीहरू सबैले मलाई जवाफ दिन सक्छौ भन्ने आशा गर्छु। यदि तैँले यी प्रश्नहरूले तँसँग माग गरेका एक-दुई वटा कुरा पूरा गरेको छस् भने, तैँले अझै पनि निरन्तर प्रयास गरिरहनुपर्छ। यदि तँ यी मागहरूमध्ये एउटा पनि पूरा गर्न सक्दैनस् भने, पक्कै पनि नरकमा फालिने प्रकारको व्यक्ति होस्। त्यस्ता मानिसहरूलाई, मैले अरू केही भनिरहनु पर्दैन, किनभने तिनीहरू पक्कै पनि मसँग मिल्न नसक्ने मानिस हुन्। जुनसुकै परिस्थितिमा मलाई विश्वासघात गर्न सक्ने व्यक्तिलाई म मेरो घरमा कसरी राख्न सक्छु र? अधिकांश परिस्थितिहरूमा अझै पनि मलाई विश्वासघात गर्न सक्नेहरूका हकमा भन्दा, म अन्य प्रबन्धहरू गर्नुअघि तिनीहरूको प्रस्तुति नियाल्नेछु। तर, कुनै पनि सर्तमा मलाई विश्वासघात गर्न सक्ने सबैलाई म कहिल्यै बिर्सनेछैनँ; म तिनीहरू प्रत्येकलाई हृदयमा याद राख्नेछु, र तिनीहरूका दुष्ट कार्यहरूको प्रतिफल दिने अवसरको प्रतीक्षा गर्नेछु। मैले उठाएका मागहरू तिमीहरू सबैले आफूमा जाँच्नुपर्ने समस्या हुन्। म आशा गर्छु, तिमीहरू सबैले तिनलाई गम्भीरतापूर्वक विचार गर्न सक्छौ र मसँग झाराटारुवा व्यवहार गर्नेछैनौ। निकट भविष्यमा, म तिमीहरूले मलाई दिएका जवाफहरूलाई मेरा मागहरूसँग दाँजेर हेर्नेछु। त्यतिन्जेल, म तिमीहरूबाट अरू केही माग गर्नेछैनँ र तिमीहरूलाई थप इमानदार सल्लाह दिनेछैनँ। यसको साटो, म आफ्नो अख्तियार प्रयोग गर्नेछु: राख्नुपर्नेहरूलाई राखिनेछ, इनाम दिनुपर्नेहरूलाई इनाम दिइनेछ, शैतानलाई सुम्पिनुपर्नेहरू शैतानलाई सुम्पिइनेछन्, कठोर दण्ड दिनुपर्नेहरूलाई कठोर दण्ड दिइनेछ, र नष्ट हुनुपर्नेहरूलाई नष्ट गरिनेछ। यसरी, अब मेरा दिनहरूमा मलाई बाधा दिने कोही पनि हुनेछैन। के तँ मेरा वचनहरूलाई विश्वास गर्छस्? के तँ प्रतिफलमा विश्वास गर्छस्? के तँ मलाई धोका दिने र विश्वासघात गर्ने सबै दुष्ट जनलाई म दण्ड दिनेछु भनेर विश्वास गर्छस्? तँ त्यो दिन चाँडै आओस् कि ढिलो आओस् भन्ने आशा गर्छस्? तँ दण्डदेखि डराउने व्यक्ति होस् कि दण्ड नै सहनुपरे पनि मेरो प्रतिरोध गर्न रुचाउने व्यक्ति होस्? जब त्यो दिन आउँछ, तब तँ हर्षोल्लास र हाँसोबीच जिउनेछस् कि रुँदै दाह्रा किट्नेछस् भनी के तँ कल्पना गर्न सक्छस्? तँ कस्तो प्रकारको परिणाम भोग्ने आशा गर्छस्? तँ ममाथि शतप्रतिशत विश्वास गर्छस् कि शतप्रतिशत शङ्का गर्छस् भनेर के तैँले कहिल्यै गम्भीरतापूर्वक विचार गरेको छस्? तेरा कार्य र व्यवहारले तँमाथि कस्तो प्रकारको नतिजा र परिणाम निम्त्याउनेछ भनी के तैँले कहिल्यै ध्यानपूर्वक विचार गरेको छस्? तँ मेरा सबै वचन एक-एक गरी पूरा होऊन् भन्ने दृढ आशा गर्छस् कि मेरा वचनहरू एक-एक गरी पूरा हुनेछन् भन्ने कुराले भयभीत हुन्छस्? यदि तँ मेरा वचनहरू पूरा गर्नका लागि म चाँडै प्रस्थान गरूँ भन्ने आशा गर्छस् भने, तैँले आफ्ना वचन र कार्यहरूलाई कसरी लिनुपर्छ? यदि तँ मेरो प्रस्थानको आशा गर्दैनस् र मेरा सबै वचन तुरुन्तै पूरा होऊन् भन्ने आशा गर्दैनस् भने, तँ किन ममा विश्वास गर्छस् त? तँ मलाई किन पछ्याइरहेको छस् भन्ने कुरा के तँलाई साँच्चै थाहा छ? यदि तेरो कारण आफ्नो दृष्टिकोण फराकिलो बनाउनु मात्रै हो भने, तैँले त्यसरी दुःख गर्नु पर्दैन। यदि यो आशिष् पाउन र आउँदै गरेको प्रकोपबाट बच्नका लागि हो भने, तँ किन आफ्नै आचरणको चिन्ता लिँदैनस्? तैँले मेरा मागहरू पूरा गर्न सक्छस् कि सक्दैनस् भनेर तँ किन आफैलाई सोध्दैनस्? तँ आउने आशिष्हरू प्राप्त गर्न आफू योग्य छु कि छैनँ भनेर आफैलाई पनि किन सोध्दैनस्?