सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो

सबै मानिसहरूले पृथ्वीमा मेरो कामका उद्देश्यहरू बुझ्न आवश्यक छ, भन्नुको अर्थ, म अन्ततः जे प्राप्त गर्न चाहन्छु, र यसलाई पूरा गर्न सक्‍नुभन्दा पहिले मैले यो काममा कुन स्तर हासिल गर्नुपर्छ। आजको दिनसम्म मसँग हिँडिसकेपछि, यदि मानिसहरूले मेरो काम के हो भन्‍ने बारेमा बुझेका छैनन् भने, के तिनीहरू मसँग व्यर्थमा हिँडेका होइनन् र? यदि मानिसहरूले मलाई पछ्याउँछन् भने, तिनीहरूले मेरो इच्छा पनि जान्नुपर्छ। म यस पृथ्वीमा हजारौं वर्षदेखि काम गर्दै आइरहेको छु, र हालसम्म पनि मेरो कामलाई निरन्तरता दिन्छु। मेरो काममा धेरै परियोजनाहरू भए तापनि, यसको उद्देश्य अपरिवर्तित रहन्छ; यद्यपि म मानिसप्रतिको न्याय र सजायले भरिएको छु, उदाहरणका लागि, मैले जे गर्छु त्यो अझै पनि उसैको मुक्तिको खातिर हो, र मानिसलाई पूर्ण बनाइसकेपछि सबै अन्यजातिहरूका माझ मेरो सुसमाचार अझ फैलाउनको खातिर र मेरो काम अझ विस्तार गर्नको खातिर हो। यसैले आज, धेरै मानिसहरू लामो समयदेखि गहिरो निराशामा डुबेको यस्तो समयमा, म अझै पनि मेरो कामलाई निरन्तरता दिन्छु, मैले मानिसलाई न्याय गर्न र सजाय दिन मैले गर्नुपर्ने काम जारी राख्छु। म जे भन्छु त्योसँग मानिस वाक्क भएको छ भन्‍ने यथार्थताको बाबजुद पनि, र उसलाई मेरो कामप्रति चासो राख्ने कुनै इच्छा नभए तापनि, म अझै पनि आफ्नो कर्तव्य पूरा गर्दैछु, किनकि मेरो कामको उद्देश्य अपरिवर्तित रहन्छ, र मेरो मौलिक योजना भङ्ग हुनेछैन। मेरो न्यायको कार्य भनेको मानिसलाई राम्रोसँग मेरो आज्ञा पालन गर्न सक्षम पार्नु हो, र मेरो सजायको उद्देश्य भनेको मानिसलाई अधिक प्रभावकारी रूपमा परिवर्तन हुन दिनु हो। म जे गर्छु त्यो मेरो व्यवस्थापनको खातिर नै हुने भएकोले, मैले कहिल्यै पनि कुनै काम मानिसका लागि फाइदा नहुने गरी गरेको छैन, किनकि म इस्राएलभन्दा बाहिरका सबै जातिहरूलाई पनि इस्राएलीहरू जस्तो आज्ञाकारी बनाउन, उनीहरूलाई सच्चा मानिसहरू बनाउन चाहन्छु, ताकि इस्राएलभन्दा बाहिरको भूमिमा पनि मैले पाइला टेक्‍ने ठाउँ पाउन सकूँ। यो मेरो व्यवस्थापन हो; मैले अन्यजातिहरूका बीचमा पूरा गर्दै गरेको कार्य यही हो। अहिले समेत, धेरै मानिसहरूले अझै पनि मेरो व्यवस्थापनलाई बुझ्दैनन्‌, किनभने उनीहरूले त्यस्ता कुराहरूमा रुचि राख्दैनन्‌, र आफ्नै भविष्य र गन्तव्यको मात्र वास्ता गर्छन्। मैले जे भने तापनि, उनीहरू मैले गर्ने कामप्रति उदासीन रहन्छन्‌, यसको सट्टामा उनीहरूको आफ्नै भोलिका गन्तव्यमा मात्रै पूर्ण रूपमा ध्यान केन्द्रित गर्दै रहन्छन्‌। यदि यस्तै कुरा जारी रहन्छ भने, मेरो कामको विस्तार कसरी हुनेछ? मेरो सुसमाचार कसरी सारा संसारभरि फैलाउन सकिन्छ? याद गर कि जब मेरो काम फैलिन्छ, म तिमीहरूलाई तितरबितर पार्नेछु, र जसरी यहोवाले इस्राएलको प्रत्येक कुललाई प्रहार गर्नुभयो त्यसरी नै तिमीहरूलाई पनि प्रहार गर्नेछु। यी सबै कुराहरू हुनेछन् ताकि मेरो सुसमाचार पृथ्वीभरि फैलिन सकोस्, ताकि मेरो काम अन्यजातिहरूसम्म विस्तार हुन सकोस्‌, ताकि मेरो नाम साना-ठूला सबैले समान रूपले उचाल्न सकून्, र मेरो पवित्र नाम सबै कुलहरू र जातिहरूका मानिसहरूको मुखमा उच्च होस्। यसो हुन्छ ताकि यो अन्तिम युगमा अन्यजातिहरूको माझ मेरो नाम उचालिओस्, ताकि अन्यजातिहरूले मेरा कामहरू देखेर तिनीहरूले मलाई मेरो कामको खातिर सर्वशक्तिमान् भनेर बोलाउन सकून्, ताकि मेरा वचनहरू छिटै पूरा हुन सकून्। म इस्राएलीहरूका मात्र होइन, तर मैले श्रापित तुल्‍याइएकाहरू लगायत, सबै अन्यजातिहरूका पनि परमेश्‍वर हुँ भनेर म सबै मानिसहरूलाई बुझाउनेछु। म सारा सृष्टिको परमेश्‍वर हुँ भनेर म सबै मानिसहरूलाई बुझ्न लगाउनेछु। मेरो सबैभन्दा महान् काम, आखिरी दिनहरूको लागि मेरो कार्य योजनाको उद्देश्य, र आखिरी दिनहरूमा पूरा गर्नुपर्ने एउटै काम यही नै हो।

आखिरी दिनहरूमा मात्र हजारौं वर्षदेखि मैले व्यवस्थापन गर्दै आइरहेको कार्य मानिसकहाँ पूर्ण रूपमा प्रकट हुन्छ। अहिले मात्र मैले मानिसलाई मेरो व्यवस्थापनको सम्पूर्ण रहस्य प्रकट गरेको छु, र मानिसले मेरो कामको उद्देश्य जानिसकेको छ, र यति मात्र होइन, मेरा सबै रहस्यहरू बुझ्न पुगेको छ। मैले मानिसलाई पहिले नै त्यो गन्तव्यको बारेमा सबै कुरा बताइसकेको छु, जसको बारेमा उसले चासो राख्छ। मैले मानिसका लागि पहिले नै मेरा सबै रहस्यहरू, अर्थात् ५,९०० वर्षदेखि लुकाइएका रहस्यहरू उजागर गरिसकेको छु। यहोवा को हुनुहुन्छ? मसीह को हुनुहुन्छ? येशू को हुनुहुन्छ? तिमीहरूलाई यो सबै थाहा हुनुपर्छ। मेरो काम यी नामहरूमाथि निर्भर रहन्छ। के तिमीहरूले त्यो बुझेका छौ? मेरो पवित्र नाम कसरी घोषणा गरिनुपर्छ? मलाई मेरा कुनै पनि नामहरूले बोलाउने ती अन्यजातिहरू समक्ष कसरी मेरो नाम फैलाउनुपर्छ? मेरो काम विस्तार हुँदैछ, र म यसको सम्पूर्णता कुनै पनि र सबै जातिहरूमा फैलाउनेछु। मेरो काम तिमीहरूमा गरिसकिएको हुनाले, जसरी यहोवाले इस्राएलमा दाऊदका घरानाका गोठालाहरूलाई प्रहार गर्नुभएको थियो त्यसरी नै म पनि तिमीहरूलाई हरेक जातिमा तितरबितर हुने गरी प्रहार गर्नेछु। किनकि आखिरी दिनहरूमा म सबै जातिहरूलाई टुक्रा-टुक्रा हुने गरी चकनाचूर पार्नेछु र त्यहाँका मानिसहरूलाई नयाँ प्रकारले वितरित हुन लगाउनेछु। जब म फेरि फर्कन्छु, जातिहरू पहिले नै मेरो जलिरहेको ज्वालाद्वारा तय गरिएको सीमामा विभाजित भइसकेका हुनेछन्। कुनै बेला जसरी म, यहोवा, यहूदी कुलहरूको बीच हिँडे त्यस बेला पनि म आफैलाई मानवजातिकहाँ तिनीहरूले कहिल्यै नदेखेका पवित्र परमेश्‍वरको स्वरूपमा तिनीहरूका बीचमा खुल्ला रूपमा प्रकट गर्दै, बहुसङ्ख्यक जातिहरूको बीचमा हिँड्दै, चर्को घाम झैँ नयाँ गरी प्रकट गर्नेछु। तत्पश्चात्‌, म मानवलाई पृथ्वीमा तिनीहरूको जीवनमा अगुवाइ गर्नेछु। त्यहाँ तिनीहरूले पक्कै मेरो महिमा देख्नेछन्, र तिनीहरूको जीवनमा अगुवाइ गर्न तिनीहरूले पक्कै पनि आकाशमा बादलको खम्बा देख्नेछन्, किनकि म पवित्र स्थानहरूमा प्रकट हुनेछु। मानिसले मेरो धार्मिकताको दिन र मेरो महिमित प्रकटीकरण पनि देख्नेछ। मैले सारा पृथ्वीमाथि शासन गरेर मेरा धेरै पुत्रहरूलाई महिमामा ल्याएपछि त्यसो हुनेछ। पृथ्वीमा जताततै, मानिसहरू झुक्नेछन्, र मेरो पवित्र वासस्थान मैले आज गरेको कार्यको जगमाथि दृढताका साथ मानवजातिको बीचमा खडा हुनेछ। मानिसहरूले मन्दिरमा पनि मेरो सेवा गर्नेछन्। फोहोर र घृणित चीजहरूले ढाकिएको वेदीलाई म टुक्राटुक्रा पार्नेछु र नयाँ बनाउनेछु। नवजात थुमाहरू र बाछोहरूलाई पवित्र वेदीमा जम्मा पार्नेछु। म आजको मन्दिर भत्काउनेछु र नयाँ मन्दिर निर्माण गर्नेछु। घृणित मानिसहरूले भरिएको अहिले खडा रहेको मन्दिरलाई नष्ट गरिनेछ, र मैले बनाएको त्यस मन्दिर मप्रति वफादार सेवकहरूले भरिनेछन्। उनीहरू फेरि मेरो मन्दिरको महिमाको लागि खडा हुनेछन् र मेरो सेवा गर्नेछन्। तिमीहरूले पक्कै पनि त्यो दिन देख्नेछौ जुन दिन म ठूलो महिमा प्राप्त गर्छु, र तिमीहरूले त्यो दिन पक्कै देख्नेछौ जब म मन्दिर भत्काउनेछु र नयाँ निर्माण गर्नेछु। साथै, तिमीहरूले पक्कै पनि मेरो पवित्र-वासस्थान मानिसहरूको संसारमा आएको दिन देख्नेछौ। जसरी म मन्दिरलाई भत्काउनेछु, त्यसरी नै म आफ्नो पवित्र-वासस्थानलाई मानिसहरूको संसारमा ल्याउनेछु, त्यो तिनीहरूले म तल ओर्लेको देखेजस्तै हुनेछ। मैले सबै जातिहरूलाई धूलोपीठो बनाएपछि, म तिनीहरूलाई नयाँ गरी समेट्नेछु, तत्पश्चात्, मेरो मन्दिर निर्माण र मेरो वेदी स्थापित गर्नेछु, ताकि सबैले मलाई बलिदान चढाउन, मेरो मन्दिरमा मेरो सेवा गर्न, र अन्यजातिहरूमा गरिएको मेरो कामप्रति तिनीहरू विश्‍वासयोग्य रूपमा समर्पित हुन सकून्‌। तिनीहरू पूजाहारीको पोसाक र मुकुटले सुसज्जित भएर, तिनीहरूको माझमा मेरो, यहोवाको, प्रताप हुन्छ, र मेरा वैभव तिनीहरूमाथि परिभ्रमण गर्दै र तिनीहरूसँग साथसाथै रहँदै गर्दा तिनीहरू वर्तमान दिनका इस्राएलीहरू जस्तै हुनेछन्। अन्यजातिहरूमा पनि मेरो काम त्यस्तै गरी कार्यान्वयन हुनेछ। मेरो काम इस्राएलमा जस्तो थियो, त्यस्तै काम अन्यजातिहरूमा पनि हुनेछ, किनभने म मेरो काम इस्राएलमा विस्तार गर्नेछु र अन्यजातिहरूमा फैलाउनेछु।

मेरो आत्माले महान् कार्य गर्ने समय, र अन्यजातिहरूमा मैले मेरो कार्य सुरु गर्ने समय अहिले नै हो। त्योभन्दा बढी, यो त्यो समय हो जब म सृष्टि गरिएका सबै प्राणीहरू प्रत्येकलाई त्यसको यथाक्रम श्रेणीमा राख्दै वर्गीकरण गर्छु, ताकि मेरो काम अझ छिटोछरितो र प्रभावकारी ढङ्गले अगाडि बढ्न सकोस्। त्यसैले, म तिमीहरूलाई के भन्छु भने अझै पनि तैँले आफ्नो सम्पूर्णतालाई मेरा सबै काममा अर्पण गर्‌, अनि, यसको साथै, मैले तँमा गरेका मेरा सबै कामलाई तैँले स्पष्ट रूपमा छुट्या र निश्चित बन, र तैँले आफ्नो सम्पूर्ण शक्ति मेरो काममा लगा, ताकि यो अधिक प्रभावशाली बन्न सकोस्‌। यो कुरा तैँले बुझ्नुपर्छ। आपसमा झगडा गर्ने, पछि हट्ने बाटो खोज्ने, वा शारीरिक सुख-विलासहरू खोज्ने जस्ता कार्यहरूबाट टाढा बस्, जसले मेरो कामलाई सुस्त गर्छ, र तेरो सुन्दर भविष्यलाई सुस्त गर्छ। तँलाई जोगाउनु त कता हो कता, यस्ता कार्यले तँमाथि विनाश निम्त्याउनेछ। के यो तेरो मूर्खता हुनेछैन र? तँ आज लोभिएर जुन खुसीमा भुल्छस्‌, तेरो भविष्यलाई बिगार्ने त्यही कुरा हो, जबकी तैँले जुन दुःख आज भोग्छस्‌, तेरो रक्षा गर्ने त्यही कुरा हो। तँ यी चीजहरूका बारे स्पष्ट रूपमा सजग हुनुपर्छ, ताकि कडा परिश्रम गरेर पनि आफूलाई उम्काउन कठिन हुने परीक्षाको सिकार हुनबाट तँ जोगिन सक्, र भूललाई घाम नै देख्न नसकिने बाक्लो कुहिरोभित्र लुकाउने कार्यबाट पछि हट्न सक्। जब बाक्लो कुहिरो हट्छ, तैँले आफैलाई न्यायको महान् दिनमा रहेको पाउनेछस्‌। त्यस समयसम्म, मेरो दिन मानिस जातिको नजिक आउँदै गरेको हुनेछ। तँ कसरी मेरो न्यायबाट उम्कनेछस्‌? तैँले कसरी सूर्यको चर्को तापलाई सहन सक्‍नेछस्‌? जब म मानिसलाई मेरो प्रशस्तता दिन्छु, उसले यसलाई आफ्नो छातीमा कदर गरी राख्दैन, तर यसलाई कसैले पनि नदेख्‍ने ठाउँमा फाल्छ। जब मेरो दिन मानिसमाथि आउँछ, उसले उप्रान्त मेरो प्रशस्तता पत्ता लगाउन सक्दैन, वा धेरै अघि मैले उसलाई भनेका सत्यका तीता वचनहरू भेट्टाउन सक्दैन। ऊ विलाप गर्नेछ र रुनेछ, किनभने उसले ज्योतिको उज्यालो गुमाइसकेको हुन्छ र ऊ अन्धकारमा फसिसकेको हुन्छ। आज तिमीहरूले जे देख्दैछौ त्यो मेरो मुखको धारिलो तरबार मात्र हो। तिमीहरूले मेरो हातमा भएको डन्डा वा मानिसलाई जलाउने आगोको ज्वाला देखेका छैनौ, र यसैले मेरो उपस्थितिमा तिमीहरू अझै पनि अहङ्कारी र असंयमित छौ। यसैले तिमीहरूको मानवीय जिब्रोले मेरो मुखबाट निस्केका कुराहरूसँग बहस गर्दै तिमीहरू अझै मसँग मेरो घरमा झगडा गर्छौ। मानिस मदेखि त्रसित हुँदैन, र उसले आफूलाई आज पनि मसँगको दुस्मनीमा खडा गरेको भए तापनि, ऊ पूर्णतया निर्भय रहन्छ। तिमीहरूको मुखमा अधर्मी जिब्रो र दाँतहरू छन्। तिमीहरूको वचन र व्यवहार सर्पका जस्ता छन् जसले हव्वालाई पाप गर्न लोभ्यायो। तिमीहरूले एक-अर्काबाट आँखाको बदला आँखा र दाँतको बदला दाँत माग गर्छौ, र तिमीहरूले मेरो उपस्थितिमा आफ्नै लागि पद, प्रतिष्ठा, फाइदाको लागि सङ्घर्ष गर्छौ, तर पनि तिमीलाई थाहा छैन, कि मैले तिमीहरूको वचन र व्यवहार गोप्य रूपमा हेर्दैछु। तिमीहरू मेरो उपस्थितिमा आउनुभन्दा पहिले नै, मैले तिमीहरूको हृदयको भित्री आवाजलाई सुनिसकेको छु। मानिस जहिले पनि मेरो हातको पकडबाट उम्कन र मेरो नजरको अवलोकनबाट भाग्न चाहन्छ, तर म उसका वचनहरू वा व्यवहारहरूबाट कहिल्यै पछि हटिँन। यसको सट्टामा, मैले उद्देश्यपूर्ण रूपमा ती वचनहरू वा व्यवहारहरूलाई मेरो नजरमा प्रवेश गर्न दिन्छु, ताकि मैले मानिसको अधर्मको सजाय दिन सकूँ र उसको विद्रोहमाथि न्याय कार्यान्वयन गर्न सकूँ। यसरी, मानिसका गोप्य वचनहरू वा व्यवहारहरू सधैँ मेरो न्याय आसनको अगाडि रहन्छन्, र मेरो न्यायले मानिसलाई कहिल्यै छोडेको छैन, किनकि उसको विद्रोह एकदमै धेरै छ। मेरो काम भनेको मेरो आत्माको उपस्थितिमा बोलिएका र गरिएका मानिसका वचनहरू र व्यवहारहरूलाई जलाउनु र शुद्ध पार्नु हो। यस प्रकारले,[क] जब म पृथ्वी छोड्छु, मानिसहरूले पृथ्वीमा मेरा कामहरू पूर्ण नहुन्जेलसम्मै त्यसलाई जारी राख्दै अझै पनि मप्रति आफ्नो बफादारीता कायम राख्नेछन्, र अझै पनि मेरा पवित्र सेवकहरूले मेरो काममा सेवा गरेजस्तै गरी सेवा गर्नेछन्।

फूटनोट:

क. मूल पाठमा “यस प्रकारले” भन्‍ने वाक्यांश समावेश छैन।

अघिल्लो: मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ

अर्को: व्यवस्थाको युगको काम

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्