काम र प्रवेश (६)

काम र प्रवेश अन्तर्निहित रूपमा व्यावहारिक छन्; तिनले परमेश्‍वरको काम र मानिसको प्रवेशलाई सङ्केत गर्छन्। मानिस परमेश्‍वरको वास्तविक अनुहार र परमेश्‍वरको काममा छिर्न पूर्ण रूपमा असक्षम भएकोले त्यसले उसको प्रवेशमा अत्यन्तै ठूलो कठिनाइ ल्याएको छ। आजको दिनसम्म पनि धेरै जना मानिसहरूले आखिरी दिनहरूमा परमेश्‍वरले कुन काम पूरा गर्नुहुनेछ, वा परमेश्‍वरले मानिसको सुख र दुःखमा उसको साथ खडा हुनलाई देहमा आउनका निम्ति किन चरम अपमान सहनुभयो भनी जान्दैनन्। परमेश्‍वरको कामको लक्ष्यदेखि आखिरी दिनहरूको लागि परमेश्‍वरको योजनाको उद्देश्यसम्मका कुराहरूको बारेमा मानिस पूर्ण रूपमा अन्धकारमा छ। विभिन्न कारणले गर्दा मानिसहरू परमेश्‍वरले उनीहरूले पूरा गर्नैपर्ने भनी सर्त तोक्नुभएको प्रवेशको विषयमा सधैँ उत्साहहीन र अस्पष्ट[१] भएका छन्, जसले देहमा परमेश्‍वरको कामका निम्ति सबैभन्दा ठूलो कठिनाइ ल्याएको छ। यस्तो देखिन्छ कि सबै मानिसहरू बाधा बनेका छन् र आजको दिनसम्म, उनीहरू अझै अस्पष्ट नै छन्। यसकारण, मलाई लाग्छ, हामीले परमेश्‍वरले मानिसमा गर्नुहुने काम र परमेश्‍वरको जरूरी अभिप्रायको बारेमा कुराकानी गर्नुपर्छ, ताकि तिमीहरू सबै अय्यूबजस्तै परमेश्‍वरको बफादार सेवकहरू बन्न सक, जो परमेश्‍वरलाई अस्वीकार गर्नुभन्दा बरु हरप्रकारका अपमान सहँदै मर्न तयार हुन्छ; अनि पत्रुसजस्तै, जसले आफ्नो सम्पूर्ण अस्तित्व परमेश्‍वरलाई समर्पण गर्छ र आखिरी दिनहरूमा परमेश्‍वरले प्राप्त गर्नुहुने घनिष्ठ व्यक्तिहरू बन्छ। सबै दाजुभाइ र दिदी-बहिनीहरूले आफ्ना सबै कुरा र आफ्नो सम्पूर्ण अस्तित्व परमेश्‍वरको स्वर्गीय इच्छाका निम्ति समर्पण गर्न सकून्, परमेश्‍वरको घरमा पवित्र सेवकहरू बनून्, र परमेश्‍वरद्वारा प्रदान गरिएको अनन्तको प्रतिज्ञाको आनन्द लिन सकून्, ताकि परमेश्‍वर पिताको हृदयले चाँडै शान्तिपूर्ण विश्राम पाउन सकोस्। परमेश्‍वरलाई प्रेम गर्नेहरू सबैको आदर्श वाक्य “परमेश्‍वर पिताको इच्छा पूरा गर्नु” हुनुपर्छ। यी शब्दहरूले प्रवेशका लागि मानिसका मार्गनिर्देशनको रूपमा र उसका कार्यहरूलाई निर्देशित गर्ने कम्पासको रूपमा काम गर्नुपर्छ। मानिसमा हुनुपर्ने संकल्प यही हो। पृथ्वीमा परमेश्‍वरको कामलाई पूर्ण रूपमा पूरा गर्नु र परमेश्‍वरले देहमा गर्नुभएको काममा सहकार्य गर्नु—यो मानिसको कर्तव्य हो, जब एक दिन परमेश्‍वरको काम पूरा हुन्छ, तब मानिसले उहाँलाई खुसीसाथ बिदा दिन्छ, किनकि उहाँ समयभन्दा अघि नै स्वर्गमा पिताकहाँ फर्कनुहुन्छ। के मानिसले पूरा गर्नुपर्ने जिम्मेवारी यही होइन र?

जब अनुग्रहको युगमा परमेश्‍वर तेस्रो स्वर्गमा फर्कनुभयो, त्यसबेला सम्पूर्ण मानवजातिलाई छुटकारा दिने परमेश्‍वरको काम वास्तवमा अन्तिम चरणमा पुगिसकेको थियो। पृथ्वीमा केवल येशूले आफ्नो पिठिउँमा बोक्‍नुभएको क्रूस, येशूलाई बेह्रिएको सूती कपडा, र काँढाको मुकुट र येशूले पहिरिनुभएको लाल-बैजनी वस्‍त्र मात्र बाँकी रहेको थियो (यहूदीहरूले यिनै थोकहरूलाई लिएर उहाँको हाँसो उडाए)। अर्थात्, येशूको क्रूसीकरणको कामले ठूलो सनसनी उत्पन्न गरेपछि, परिस्थिति फेरि शान्त भयो। त्यस बेलादेखि यता, येशूका चेलाहरूले उहाँको काम अघि बढाउन थाले, सबैतिरका मण्डलीहरूलाई गोठालो र पानी हाल्‍ने काम गरे। उनीहरूका कामको बेहोरा यसप्रकार थियो: उनीहरूले सबै मानिसहरूलाई पश्‍चात्ताप गर्न, आफ्ना पापहरू स्वीकार गर्न र बप्तिस्मा लिन आग्रह गरे; अनि सबै प्रेरितहरू येशूको क्रूसीकरणको भित्री कथालाई केही थपथाप नगरी फैलाउन गए, र यसैले सबै जना आफ्ना पापहरू स्वीकार गर्दै येशूको सामु लम्पसार नपरी रहन सकेनन्; र यसबाहेक, प्रेरितहरू येशूले बोल्नुभएका वचनहरू प्रचार गर्दै सबै ठाउँमा गए। त्यस बेलादेखि अनुग्रहको युगमा मण्डलीहरूको निर्माण सुरु भयो। त्यस युगको अवधिमा पनि येशूले जे गर्नुभयो त्यो मानिसको जीवन र स्वर्गमा हुनुहुने पिताको इच्छाको बारेमा गर्नुभएको कुरा मात्र थियो, र त्यो एउटा फरक युग भएकोले ती धेरै वटा भनाइ र अभ्यासहरू आजका भन्दा धेरै फरक थिए। तापनि, सारांशमा ती एउटै हुन्: ती दुवै सटीक र सही रूपमा देहमा परमेश्‍वरका आत्माको काम हुन्। यस प्रकारको काम र वाणी त्यस बेलादेखि आजसम्म जारी छ, र त्यसैले यस प्रकारको कुरा आजका धार्मिक संस्थाहरूमा अझै पनि बताइन्छ, र यो बिलकुलै परिवर्तन भएको छैन। जब येशूको काम समाप्त भयो र मण्डलीहरू येशू ख्रीष्टको सही बाटोमा लागेका थिए, तैपनि परमेश्‍वरले उहाँको कामको अर्को चरणका लागि आफ्नो योजना सुरु गर्नुभयो, जुन आखिरी दिनहरूमा उहाँ देहमा आउनुपर्ने विषय थियो। मानिसले यसलाई हेर्दा परमेश्‍वरको क्रूसीकरणले परमेश्‍वरको देहधारणको काम यसअघि नै समाप्त गरिसकेको, सम्पूर्ण मानवजातिलाई छुटकारा दिइसकेको र उहाँलाई पाताल जाने साँचो कब्जा गर्ने अनुमति दिइसकेको थियो। सबै जनाले परमेश्‍वरको काम पूर्ण रूपमा पूरा भइसकेको छ भनी सोच्छन्। वास्तवमा, परमेश्‍वरको दृष्टिकोणबाट, उहाँको कामको एउटा सानो भाग मात्र पूरा भएको थियो। उहाँले जे गर्नुभयो ती केवल मानवजातिलाई छुटकारा दिनका निम्ति थिए; उहाँले मानवजातिलाई विजय गर्नुभएको थिएन, मानिसको शैतानी अनुहार परिवर्तन गर्नुभएको हुनु त परै जाओस्। त्यसकारण, परमेश्‍वर भन्नुहुन्छ, “मेरो देहधारणले मृत्युको पीडा भोगेको भए पनि मेरो देहधारणको सम्पूर्ण उद्देश्य त्यो थिएन। येशू मेरा प्रिय पुत्र हुन् र उनी मेरो निम्ति क्रूसमा टाँगिएका थिए, तर उनले मेरो काम सम्पूर्ण रूपमा समाप्त गरेनन्। उनले त्यसको एक भाग मात्र गरे।” यसकारण परमेश्‍वरले देहधारणको कामलाई निरन्तरता दिन योजनाहरूको दोस्रो चरण सुरु गर्नुभयो। परमेश्‍वरको अन्तिम अभिप्राय शैतानको पञ्‍जाबाट उद्धार गरिएका सबै मानिसहरूलाई सिद्ध पार्नु र प्राप्त गर्नुथियो, यसकारण परमेश्‍वरले एकचोटि फेरि देहमा आउन साहसपूर्वक खतराको सामना गर्ने तयारी गर्नुभयो। “देहधारण” को अर्थले त्यो एक जनलाई बुझाउँछ जसले महिमा ल्याउनुहुन्न (किनकि परमेश्‍वरको काम अझै समाप्त भएको छैन), तर जो प्रिय पुत्रको पहिचानसाथ देखा पर्नुहुन्छ, र उहाँ ख्रीष्ट हुनुहुन्छ, जसमा परमेश्‍वर प्रसन्न हुनुहुन्छ। त्यसकारण, यसलाई “साहसपूर्वक खतराको सामना गर्नु” भनिन्छ। देहधारणको देह अति थोरै शक्तिको हुन्छ र यसमा ठूलो सावधानीअपनाउनुपर्छ,[२] र उहाँको शक्ति स्वर्गका पिताको अख्तियारभन्दा आकाश-पातालझै भिन्न छ; उहाँले अरू काममा संलग्न नभई पिता परमेश्‍वरको काम र उहाँको आदेश पूरा गर्दै देहको सेवकाइ मात्र पूरा गर्नुहुन्छ, र उहाँले त्यस कामको एक भाग मात्र पूरा गर्नुहुन्छ। यसकारण, परमेश्‍वर पृथ्वीमा आउनासाथ उहाँलाई “ख्रीष्ट” भन्ने नाउँ दिइयो—त्यस नाउँभित्र रहेको अर्थ त्यही हो। त्यसो भन्नुको कारण के हो भने त्यस आगमनको साथमा परीक्षा पनि थियो यसैले कामको एक भाग मात्र पूरा हुँदैथियो। यसबाहेक, परमेश्‍वर पिताले उहाँलाई “ख्रीष्ट” र “प्रिय पुत्र” मात्र भनेर सम्बोधन गर्नु, तर उहाँलाई सारा महिमा नदिनुको कारण के थियो भने देहधारी मानिस कामको एक भाग गर्न मात्र आउनुहुन्छ, स्वर्गमा हुनुहुने पिताको प्रतिनिधित्व गर्न होइन, बरु प्रिय पुत्रको सेवकाइ पूरा गर्न आउनुहुन्छ। जब प्रिय पुत्रले आफ्नो काँधमा स्वीकार गर्नुभएका सम्पूर्ण आज्ञा पूरा गर्नुहुन्छ, तब पिताले उहाँलाई पिताको पहिचानसहित पूर्ण महिमा दिनुहुनेछ। यसलाई “स्वर्गको संहिता” हो भनेर भन्न सकिन्छ। किनकि देहमा आउनुभएका जन र स्वर्गमा हुनुहुने पिता दुई भिन्न क्षेत्रमा हुनुहुन्छ, उहाँ दुईले आत्मामा मात्र एकअर्कालाई हेर्नुहुन्छ, पिताले प्रिय पुत्रमाथि नजर राख्नुहुन्छ, तर पुत्रले टाढाबाट पितालाई देख्न सक्नुहुन्न। यस्तो किन हुन्छ भने देह जुन कार्यहरू गर्न सक्षम छ ती अति साना स्तरका हुन्छन् र उहाँ सम्भवतः कुनै पनि क्षण मारिन सक्नुहुन्छ, याने कि यो आगमन सबैभन्दा ठूलो खतराले भरिएको छ भनेर भन्न सकिन्छ। यो परमेश्‍वरका लागि एक पटक फेरि आफ्ना प्रिय पुत्रलाई बाघको मुखमा पार्नु सरह हो, जहाँ उहाँको जीवन खतरामा हुन्छ, उहाँलाई त्यस्तो ठाउँमा राख्नु हो जहाँ शैतानको ध्यान सबैभन्दा बढी केन्द्रित हुन्छ। यस्ता डरलाग्दा परिस्थितिहरूमा पनि, परमेश्‍वरले अझै आफ्ना प्रिय पुत्रलाई “उहाँको आवयस्कतामा पुऱ्याउन” फोहोरीपन र व्यभिचारीपनले भरिएको स्थानका मानिसहरूलाई सुम्पिदिनुभयो। किनकि त्यसो गर्नु मात्र परमेश्‍वरको कार्यलाई उचित र स्वाभाविक बनाउने एक मात्र तरिका हो, र यो मात्र पिता परमेश्‍वरका सबै इच्छाहरू पूरा गर्ने र मानवजातिको बीचमा उहाँको कामको अन्तिम भाग पूरा गर्ने एक मात्र तरिका हो। येशूले पिता परमेश्‍वरको कामको एक चरण पूरा गर्नुबाहेक अरू केही गर्नुभएन। देहधारणको देहले गर्ने अवरोधहरू र पूरा गर्नुपर्ने कामका भिन्नताहरूको कारण, येशू आफैलाई पनि देहमा दोस्रो पल्ट फर्केर आउनुपर्ने कुरा थाहा थिएन। त्यसकारण, कुनै पनि बाइबल व्याख्याकार वा अगमवक्ताले आखिरी दिनहरूमा परमेश्‍वर फेरि देहधारी हुनुहुनेछ अर्थात्, उहाँ देहमा आफ्नो कामको दोस्रो भाग पूरा गर्न फेरि देहमा आउनुहुनेछ भनी अगमवाणी गर्ने हिम्मत गरेनन्। त्यसकारण, परमेश्‍वरले यसअघि नै लामो समयदेखि आफूलाई देहमा लुकाउनुभएको थियो भनी कसैले महसुस गरेनन्। यो त्यत्ति अचम्मको कुरा होइन, किनकि जब येशू पुनरुत्थान हुनुभयो र स्वर्गमा उचालिनुभयो तब मात्र उहाँले यो आज्ञा स्वीकार गर्नुभयो, त्यसैले परमेश्‍वरको दोस्रो देहधारणको बारेमा कुनै स्पष्ट अगमवाणी छैन, र यो मानव दिमागले सोच्नै नसक्ने कुरा हो। बाइबलका अगमवाणीका सबै पुस्तकहरूमा यो कुरा स्पष्ट रूपमा बताउने कुनै वचनहरू छैनन्। तर जब येशू काम गर्न आउनुभयो, त्यसबेला अघिबाटै एउटा स्पष्ट अगमवाणी भइसकेको थियो, जसमा भनिएको थियो कि एउटी कन्याले गर्भधारण गर्नेछे, र उसले एउटा छोरो जन्माउनेछे, जसको अर्थ यो हो कि उहाँ पवित्र आत्माबाट गर्भमा आउनुभएको थियो। तापनि, परमेश्‍वरले अझै पनि यो मृत्युको जोखिममा भएको बताउनुभयो, त्यसैले आजको परिस्थितिमा यो झन् कति धेरै जोखिम होला? यसमा कुनै आश्‍चर्य छैन, परमेश्‍वरले यो देहधारण अनुग्रहको युगको अवधिमा भएको भन्दा हजारौं गुणा जोखिममा छ भन्नुहुन्छ। धेरै स्थानहरूमा, परमेश्‍वरले सिनिमको भूमिमा उहाँले विजयीहरूको एउटा समूह प्राप्त गरिरहनुभएको हुनुहुनेछ भनी अगमवाणी गर्नुभएको छ। संसारको पूर्वमा विजेताहरू प्राप्त गर्नुपर्ने भएकोले, परमेश्‍वरले उहाँको दोस्रो देहधारणमा पाइला टेक्‍नुहुने ठाउँ निस्सन्देह सिनिमको भूमि हो, ठीक त्यही स्थान जहाँ ठूलो रातो अजिङ्गर गुँडुल्किएर बसेको छ। त्यहाँ, परमेश्‍वरले ठूलो रातो अजिङ्गरका सन्तानहरू प्राप्त गर्नुहुनेछ ताकि त्यसलाई पूर्ण रूपमा पराजित र लज्जित तुल्याउन सकिओस्। परमेश्‍वरले यी मानिसहरूलाई जगाउन लाग्नुभएको छ, जो दुःखको बोझले दबिएका छन्, उनीहरू पूर्ण रूपमा नबिउँझिञ्‍जेलसम्म जगाउनुहुनेछ र उनीहरूलाई कुइरोबाट बाहिर निकालेर त्यो ठूलो रातो अजिङ्गरलाई अस्वीकार गर्न लगाउनुहुनेछ। उनीहरू आफ्नो सपनाबाट बिउँझनेछन्, ठूलो रातो अजिङ्गरको सारलाई चिन्न सक्‍नेछन्, आफ्नो सम्पूर्ण हृदय परमेश्‍वरलाई दिन सक्षम हुनेछन्, अन्धकारका शक्तिहरूको दमनबाट माथि उठ्नेछन्, संसारको पूर्वमा खडा हुनेछन्, र परमेश्‍वरको विजयको प्रमाण बन्नेछन्। यस प्रकारले मात्र परमेश्‍वरले महिमा प्राप्त गर्नुहुनेछ। यही कारणले गर्दा मात्र, परमेश्‍वरले इस्राएलमा समाप्त गर्नुभएको काम त्यो देशमा ल्याउनुभयो जहाँ ठूलो रातो अजिङ्गरले गुँडुल्किएर बसेको छ, र उहाँ जानुभएको करिब दुई हजार वर्षपछि फेरि अनुग्रहको युगको कामलाई निरन्तरता दिन देहमा आउनुभएको छ। मानिसको नाङ्गो आँखाको नजरमा, परमेश्‍वरले देहमा नयाँ काम सुरु गर्दै हुनुहुन्छ। तर परमेश्‍वरको दृष्टिमा, केही हजार वर्षको अन्तरालपछि मात्र, अनि उहाँको कामको स्थान र कार्यक्रममा परिवर्तन गरेर उहाँले अनुग्रहको युगको कामलाई निरन्तरता दिँदै हुनुहुन्छ। तापनि, आजको काममा देहको शरीरले लिएको स्वरूप येशूभन्दा बिलकुलै फरक देखिन्छ, ती एउटै सार र मूलबाट प्राप्त हुन्छन्, र ती एउटै स्रोतबाट आउँछन्। हुन सक्छ, उहाँहरूमा बाहिरबाट धेरै भिन्नताहरू छन्, तर उहाँहरूको कामको भित्री सत्यहरू पूर्ण रूपमा एकसमान छन्। आखिर यी युगहरू रात र दिन जस्तै फरक छन्। त्यसैले, परमेश्‍वरको कामले कसरी कुनै परिवर्तन नहुने ढाँचा पछ्याउन सक्छ र? अथवा उहाँको कामका विभिन्न चरणहरू कसरी एक-अर्काको बाटोमा आउन सक्छन् र?

येशूले एक यहूदीको रूप लिनुभयो, यहूदीहरूको पहिरन लगाउनुभयो र यहूदीहरूको खाना खाएर हुर्कनुभयो। यो उहाँको सामान्य मानवीय पक्ष हो। तर आज देहधारी मानिसले एसियाको नागरिकको रूप लिनुहुन्छ र ठूलो रातो अजिङ्गरको देशमा हुर्कनुहुन्छ। यी कुराहरू कुनै पनि प्रकारले परमेश्‍वरको देहधारणको लक्ष्यसँग बाझ्दैनन्। बरु, ती एक-अर्काको पूरक हुन्, जसले परमेश्‍वरको देहधारणको महत्त्वलाई पूर्णतामा पुऱ्याउँछन्। देहधारी मानिसलाई “मानिसका पुत्र” वा “ख्रीष्ट” भनेर सम्बोधन गरिएकोले, आजका ख्रीष्टको बाहिरी भागको बारेमा येशू ख्रीष्टको जस्तै शब्दहरूमा बताउन सकिँदैन। आखिर, यस देहलाई “मानिसका पुत्र” भनिन्छ र यो देह दैहिक शरीरको प्रतिरूपमा हुनुहुन्छ। परमेश्‍वरको कामको प्रत्येक चरणमा धेरै गहन अर्थ हुन्छ। येशू पवित्र आत्माद्वारा गर्भमा आउनुभएको कारण के थियो भने उहाँले पापीहरूलाई छुटकारा दिनुपर्ने थियो। उहाँ पापरहित हुनुपर्थ्यो। तर अन्त्यमा जब उहाँलाई पापपूर्ण देह समान हुन कर लगाइयो र उहाँले पापीहरूको पाप लिनुभयो, तब मात्र उहाँले उनीहरूलाई श्रापित क्रूसबाट बचाउनुभयो, जुन क्रूसद्वारा परमेश्‍वरले मानवजातिलाई सजाय दिनुभयो। (क्रूस भनेको मानवजातिलाई सराप र सजाय दिने परमेश्‍वरको साधन हो; जब-जब सराप र सजायको उल्लेख गरिन्छ, त्यो विशेष गरी पापीहरूको सन्दर्भमा हुन्छ।) त्यसको लक्ष्य सबै पापीहरूलाई पश्‍चात्ताप गर्न लाउनु थियो, अनि क्रूसीकरणको माध्यमबाट उनीहरूलाई आफ्ना पापहरू स्वीकार गर्न लाउनु थियो। अर्थात्, सारा मानवजातिको उद्धार गर्नका लागि परमेश्‍वर देहको शरीरमा देहधारी हुनुभयो जुन देह पवित्र आत्माद्वारा गर्भमा आउनुभएको थियो र उहाँ आफैले सम्पूर्ण मानवजातिका पापहरू बोक्‍नुभयो। यसलाई दैनिक भाषामा वर्णन गर्नुपर्दा, उहाँले सबै पापीहरूको सट्टामा देहको एक पवित्र शरीर चढाउनुभयो, र यो कुरा शैतानबाट त्यसले कुल्चेका सारा निर्दोष मानवजातिलाई लिन र तिनीहरूलाई परमेश्‍वरकहाँ फर्काउन “बिन्ती” गर्नको लागि येशूलाई “पापबलि” को रूपमा शैतानको अगाडि राख्‍नु जस्तै हो। त्यसकारण, छुटकाराको कामको यो चरण पूरा गर्न पवित्र आत्माद्वारा गर्भधारण हुनु आवश्यक थियो। यो एउटा आवश्यक सर्त थियो, परमेश्‍वर पिता र शैतानबीचको लडाइँमा यो एउटा “शान्ति सम्झौता” थियो। यसैले येशूलाई शैतानको हातमा सुम्पिएपछि मात्र कामको यो चरण समाप्त भएको थियो। तापनि, परमेश्‍वरको छुटकाराको कामले आज पहिलेको भन्दा अतुलनीय मात्राको भव्यता हासिल गरेको छ, र शैतानका निम्ति अझ अरू मागहरू गर्ने कुनै बहाना छैन, त्यसैले अब देहधारण गर्नका निम्ति परमेश्‍वरलाई पवित्र आत्माद्वारा गर्भमा आउनु आवश्यक छैन। परमेश्‍वर अन्तर्निहित रूपमा पवित्र र निर्दोष हुनुहुन्छ, यस देहधारणमा परमेश्‍वर अब अनुग्रहको युगका येशू हुनुहुन्न। तापनि, उहाँ अझै पनि पिता परमेश्‍वरको इच्छाका लागि र पिता परमेश्‍वरका चाहनाहरू पूरा गर्नका लागि अझै देहधारण गर्दै हुनुहुन्छ। यो निश्‍चय पनि काम-कुराहरू व्याख्या गर्ने एक अनुचित तरिका होइन? के परमेश्‍वरको देहधारणले तोकिएका नियमहरू पालना गर्नुपर्छ?

धेरै मानिसहरू परमेश्‍वरको देहधारणको बारेमा अगमवाणी पाउने आशा गर्दै प्रमाणहरू खोज्नको लागि बाइबल हेर्छन्। परमेश्‍वरले धेरै अघि नै बाइबलमा “काम गर्न” छोडिसक्नुभएको छ अनि उहाँले धेरै अघि योजना गर्नुभएको कामलाई जोस र रुचिसहित अघि बढाउन त्यसका सीमाहरूभन्दा पर “फड्को मारिसक्‍नुभएको” छ, तर त्यस विषयमा मानिसलाई कहिल्यै बताउनुभएको छैन, कसरी यस कामको बारेमा मानिसले उसको भ्रमित र अस्तव्यस्त विचारद्वारा जान्न सक्छ? मानिसहरूमा समझको धेरै अभाव छ। परमेश्‍वरको स्वभावको थोरै स्वाद पाएपछि, उनीहरू एउटा मञ्‍चमा चढ्छन् र उच्‍चस्तरीय “ह्वीलचेयर” मा बसेर आरामसाथ परमेश्‍वरको काम निरीक्षण गर्छ, यहाँसम्म कि उनीहरू सूर्यमुनिका सबै कुराको बारेमा ठूलठूला र अप्रासंगिक कुराहरू गरेर परमेश्‍वरको बारेमा शिक्षा दिनसमेत सुरु गर्छन्। धेरै जना “बूढो मान्छे” हरूले पढ्ने चस्मा लाएर आफ्नो दाह्री सुम्सुमाउँदै, उनीहरूका “पुरानो पञ्‍चाङ्ग” (बाइबल) का पहेँला पृष्ठहरू खोल्छन्, जुन उनीहरूले जीवनभरि पढिरहेका हुन्छन्। गुनगुनाएका शब्दहरूमा र आत्मासँग चम्केका जस्ता आँखाहरू लिएर, उसले कहिले प्रकाशको पुस्तक, कहिले दानिएलको पुस्तक, र कहिले यशैयाको पुस्तक खोल्छ, जुन सबैले राम्ररी जानेकै हुन्छन्। अति ससाना शब्दहरू बाक्लो गरी भरिएका एकपछि अर्को पृष्ठ हेर्दै, उसले चुपचाप पढ्छ, उसको दिमाग निरन्तर खल्बलिरहन्छ। अचानक दाह्री मुसारिरहेको हात रोकिन्छ र दाह्री तान्न थाल्छ। बेला-बेलामा दाह्रीको रौं चुँडिँदै गरेको आवाज सुनिन्छ। यस्तो अनौठो व्यवहार देख्दा अचम्म लाग्छ। “त्यस्तो शक्ति किन प्रयोग गर्ने? ऊ कुन कुराका लागि त्यति पागल छ?” एकचोटि फेरि त्यस बूढो मान्छेलाई हेर्दा हामी उसका आँखीभौँहरू ठाडो भएका देख्छौं। त्यस बूढो मान्छेले आफ्ना आँखाहरू ढुसी लागेका जस्ता ती पृष्ठहरूमा टाँसिराख्दा, हाँसको प्वाँख झरेजस्तै उसका पलकबाट सेता आँखीभौँका रौँहरू, मानौं संयोगले तर पनि एकदमै राम्रोसँग, ठीक दुई सेन्टिमिटर तल खसेका छन्। धेरै चोटि त्यही पृष्ठ पढेपछि ऊ नउफ्री रहन सक्दैन र कसैसँग तुच्छ कुरा[३] गरेजस्तै फतफताउन थाल्छ, तापनि उसको आँखाबाट निस्केको मन्द चमकले पञ्‍चाङ्ग छोडेको छैन। अचानक उसले खोलिराखेको पृष्ठ छोप्छ र “अर्को संसार” तिर पल्टाउँछ। उसका चालहरू यति हतारिएका[४] र डरलाग्दा छन् कि प्रायः त्यसले मानिसहरूलाई नै तर्साउँछ। भर्खरै, आफ्नो प्वालबाट निस्केको मुसो त्यो मान्छे चुप लागी बसेको बेलामा स्वतन्त्रताका साथ घुम्न ढुक्‍क महसुस गर्न थालेको बेला, उसको अप्रत्याशित चालहरूद्वारा यति आतङ्कित बन्छ कि यो तुरुन्तै प्वालभित्र पस्छ, र धुवाँको डल्लाजस्तै त्यसभित्र बिलाउँछ, फेरि कहिल्यै देखा पर्दैन। अनि अब केही बेरका निम्ति रोकिएको बूढो मान्छेको देब्रे हातले माथि-तल, माथि-तल गर्दै फेरि दाह्री मुसार्न थाल्छ। ऊ त्यो पुस्तक डेस्कमा नै छोडेर आफ्नो आसनबाट उठ्छ। ढोकाको चिरा र खुला झ्यालबाट बतास भित्र आउँछ र बहँदै निर्दयतापूर्वक पुस्तकलाई बन्द गर्छ, र फेरि खोल्छ। त्यस दृश्यमा एउटा वर्णन गर्न नसकिने उदासी छ, अनि बतासले पुस्तकका पन्नाहरू पल्टाएको आवाज बाहेक सारा सृष्टि नै मौन भएको जस्तो देखिन्छ। उसले पछिल्तिर हात बाँधेर कोठामा बिस्तारै अघि-पछि हिँड्छ, कहिले रोकिन्छ, कहिले सुरु गर्छ, बेला-बेलामा हुन सक्दैन भन्ने भावमा आफ्नो टाउको हल्लाउँछ, र उसको मुखले यी शब्दहरू बारम्बार दोहोऱ्याएको जस्तो देखिन्छ, “ओह! परमेश्‍वर! के तपाईं साँच्‍चै त्यसो गर्नुहुन्छ?” बेला-बेलामा उसले हो भन्ने भावमा टाउको हल्लाउँदै यसो पनि भन्छ, “हे परमेश्‍वर! तपाईंको कामलाई कसले बुझ्न सक्छ र? के तपाईंको पाइलाका छापहरू खोज्न कठिन छैन र? म विश्‍वास गर्छु, तपाईंले कुनै असल कारणविना समस्या उत्पन्न गर्ने कार्य गर्नुहुन्न।” हाल, त्यस बूढो मान्छेले आफ्ना आँखीभौँहरू कसिलोसँग खुम्च्याउँछ र उसका आँखाहरू बन्द गर्छ, केही असजिलो मानेको र अति नै ठूलो पीडा भएको भाव देखाउँछ, मानौं उसले सुस्त र जानाजानी अनुमान गर्न आँटेको छ। बिचरा बूढो मान्छे! आफ्नो सम्पूर्ण जीवन जिइसकेपछि “दुर्भाग्यबस” यति ढिलो गरी त्यो दिन यो विषय आयो। यसको बारेमा के गर्न सकिन्छ र? म पनि अन्योल र शक्तिहीन छु। कसले उसको पुरानो पञ्‍चाङ्गलाई उमेरसितै पहेँलो बनायो? कसले उसको दाह्री र आँखीभौँलाई, उसको अनुहारको विभिन्न भागलाई निष्ठुरतापूर्वक सेतो हिउँले ढाकिदियो? यस्तो लाग्छ, उसका दाह्रीका रौँहरूले उसको वरिष्ठतालाई प्रतिनिधित्व गर्छन्। तर मानिस यति हदसम्म मूर्ख भएर ऊ पुरानो पञ्‍चाङ्गमा परमेश्‍वरको उपस्थिति खोज्न जान्छ भनेर कसलाई थाहा थियो र? एउटा पुरानो पञ्‍चाङ्गमा कागजका कति वटा पानाहरू हुन सक्छन्? के यसले परमेश्‍वरका सबै कार्यहरूलाई ठीक रूपमा उल्लेख गर्न सक्छ? कसले त्यसको प्रत्याभूति दिने आँट गर्छ? मानिसले वास्तवमा शब्दहरू व्याख्या गर्ने र कपालहरू चिरा पार्ने[५] कार्य गरेर परमेश्‍वरको उपस्थिति खोजी गर्ने र परमेश्‍वरको इच्छा बुझ्ने कुरा सोच्छ, र त्यसो गरेर जीवनमा प्रवेश गर्ने कुरा सोच्छ। के यसरी जीवनमा प्रवेश गर्ने कोसिस गर्नु मुखले भनेजस्तै सजिलो छ र? के यो सबैभन्दा हास्यास्पद, अमिल्दो किसिमको झूटो तर्क होइन र? के तँलाई यो हाँसउठ्दो लाग्दैन र?

फूटनोटहरू:

१. “अस्पष्ट” ले मानिसहरूमा परमेश्‍वरको कामको स्पष्ट जानकारी छैन भन्ने बुझाउँछ।

२. “अति थोरै शक्तिको हुन्छ र यसमा ठूलो सावधानी अपनाउनुपर्छ” भन्ने कुराले शरीरका कठिनाइहरू धेरै छन्, र गरिएको काम अति सीमित भएको सङ्केत गर्छ।

३. “तुच्छ कुरा” मानिसहरूले परमेश्‍वरको कामको निरीक्षण गर्दा देखिने उनीहरूका कुरूप अनुहारका लागि एउटा उपमा हो।

४. “हतारिएका” ले त्यस “बूढो मान्छे” ले बाइबल हेर्ने बेला देखाउने उत्सुक, हडबड चाललाई बुझाउँदछ।

५. “शब्दहरू व्याख्या गर्ने र कपालहरू चिरा पार्ने” भ्रममा परेका विशेषज्ञहरूको गिल्ला गर्न प्रयोग गरिन्छ, जसले शब्दहरूलाई लिएर कपाललाई चिरा पर्छन्, तर सत्यको खोजी गर्दैनन् वा पवित्र आत्माको कामबारे जान्दैनन्।

अघिल्लो: काम र प्रवेश (५)

अर्को: काम र प्रवेश (८)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

सत्यतालाई अभ्यास गर्नु मात्रै वास्तविकता धारण गर्नु हो

तैंले परमेश्‍वरका वचनहरू पक्डेको छस् अनि निर्लज्ज भई तिनको व्याख्या गर्न सक्छस् भन्दैमा त्यसको अर्थ तैंले वास्तविकता धारण गरेको छस् भन्ने...

परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरको अख्तियार (२)आज हामी “परमेश्‍वर स्वयम् अद्वितीय” शीर्षकको हाम्रो सङ्गतिलाई निरन्तरता दिनेछौं। हामीले पहिले नै यस विषयमा दुईवटा...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्