वास्तविक व्यक्ति बन् नुको अर्थ के हो

मानिसको व्यवस्थापन गर्नु हमेसा मेरो कर्तव्य रहिआएको छ। यसको अतिरिक्त, मैले संसारको सृष्टि गर्दा नै मानिसमाथिको विजयको ठहर गरेँ। आखिरी दिनहरूमा मानिसलाई पूर्ण रूपमा जित्‍ने छु अथवा मानवजातिका बीचमा भएका विद्रोहीहरूको विजय नै शैतानमाथिको मेरो विजयको प्रमाण हो भन्‍ने कुरा मानिसहरूलाई थाहा नहुन सक्छ। तर जब मेरो शत्रु मसँग युद्ध गर्न आयो, तब मैले त्यसलाई शैतानले बन्दी बनाएर आफ्ना सन्तान र त्यसको घरको रखवाली गर्ने निष्ठावान दासहरू बनाएकाहरूलाई म जित्‍ने छु भनेर अगाडिबाटै भनेँ। जित्‍नुको मूल अर्थ हराउनु, शर्ममा पार्नु हो; इस्राएलीहरूको भाषामा, यसको अर्थ पूर्ण रूपमा हराउनु, नाश गर्नु र मेरो विरुद्धमा थप प्रतिरोध गर्न असक्षम तुल्याउनु भन्‍ने हुन्छ। तर आज तिमीहरूको माझ प्रयोग गर्दा यसको अर्थ जित्‍नु हुन्छ। मानवजातिको दुष्टलाई पूर्ण रूपमा समाप्त गर्नु र पूरै पराजित गर्नु सधैँको मेरो अभिप्राय रहिआएको छ भन्‍ने कुरा तिमीहरूले जान्‍नुपर्छ, ताकि त्यसले फेरि मेरो विरुद्ध विद्रोह गर्न नसकोस्, मेरो कामलाई बाधा दिने वा खलबलाउने कुनै सास हुने कुरा त परै जाओस्। यसैले, मानिसको सवालमा यस शब्दको अर्थ विजय हासिल गर्नु हुन आउँछ। यस शब्दको अर्थहरू जेसुकै भए तापनि मानवजातिलाई हराउनु मेरो काम हो। मानवजाति मेरो व्यवस्थापनको थप भाग हो भन्‍ने कुरा केही समयको लागि सत्य हो, यसलाई अझ स्पष्टताका साथ भन्‍दा मानवजातिमाथि मेरो शत्रुबाहेक अरू कोही पनि होइन। मानवजाति मेरो विरोध गर्ने र अवज्ञा गर्ने दुष्ट हो। मानवजाति मैले श्राप दिएको दुष्टको सन्तानबाहेक अरू कोही पनि होइन। मानवजाति मलाई धोका दिने प्रधान स्वर्गदूतको सन्तानबाहेक अरू कोही पनि होइन। मानवजाति मैले धेरै पहिले त्यागेको दुष्टको पैतृक सम्पत्ति बाहेक कोही पनि होइन, जो त्यस बेलादेखि यता मेरो कट्टर विरोधी भइआएको छ। किनभने सारा मानवजाति माथिको आकाश स्पष्टताको कुनै पनि सङ्केत नभएको धमिलो र कालो छ र मानव जगत घोर अन्धकारमा डुबेको छ, यसैले त्यहाँ बसोबास गर्नेले आफ्नो अनुहार अगाडि फैलिएको आफ्नो हात वा टाउको माथि उठाउँदा सूर्य पनि देख्‍न सक्दैन। उसको खुट्टामुनिको सडक हिलोले ढाकेको र खाल्‍डा-खुल्डीहरूले व्याप्त छ, विचलित पार्ने गरी भूलभूलैया छ; सारा जमिन लासहरूले ढाकेको छ। अँध्यारा कुनाहरू मृतकहरूका अवशेषहरूले भरिएका छन्, र शान्त र अँध्यारा कुनाहरूमा भूतहरूका भीडले बसोबास गरेका छन्। अनि मानिसहरूका संसारमा भूतहरू भीड-भाड गर्दै आवतजावत गर्छन्। फोहोरले ढाकिएका सबै प्रकारका जनावरहरूका सन्तान भीषण युद्धबाट घेरिएका छन् जसको आवाजले हृदयमा आतङ्क पैदा गर्छ। यस्तो समयमा “सांसारिक वैकुण्ठ” रूपी संसारमा जीवनको परमसुख खोज्‍न कुनै एक व्यक्ति कहाँ जान्छ? जीवनको लक्ष्य खोज्‍न कुनै एक व्यक्ति कहाँ जानसक्छ? शैतानको खुट्टाले कुल्चिएपछि मानवजाति पहिलेदेखि नै शैतानको स्वरूप लिएको कलाकार बनेको छ—त्योभन्दा पनि बढी मानवजाति शैतानको मूर्त रूप हो र ठूलो र स्पष्ट आवाजमा शैतानको गवाही दिने प्रमाणको काम गर्छ। यस्तो मानव जाति, यस्ता फोहोरका पोकोहरू, यस्तो भ्रष्ट मानव परिवारको सन्तान कसरी परमेश्‍वरको गवाही बन्‍न सक्छ? मेरो महिमा कहाँबाट आउँछ? कसैले मेरो गवाही बोल्‍न कहाँबाट सुरु गर्छ? किनकि मेरो विरुद्ध उभिने शत्रुले मानिसलाई भ्रष्ट पारेर मानवजातिलाई अघि नै आफ्नो बनाइसकेको छ—त्यो मानवजाति जसलाई मैले धेरै पहिले सृष्टि गरेँ र जो मेरो महिमाले र जीवनशैलीले भरिएको थियो—त्यसलाई दूषित पारेको छ। त्यसले मेरो महिमा खोसेर लगेको छ र शैतानको कुरूपता मिश्रित विष तथा असल र खराबको ज्ञान दिने रूखको फलको रसले मानिसलाई सन्तृप्त पारेको छ। सुरुमा मैले मानवजातिलाई बनाएँ; अर्थात् मानवजातिको पुर्खा आदमलाई बनाएँ। ऊ बल, तेजले भरिएको स्वरूप र प्रतिरूपले सुसम्पन्‍न थियो, यसका अतिरिक्त, ऊ मेरो महिमाको सहभागितामा थियो। मैले मानिसलाई बनाएको त्यो दिन महिमित दिन थियो। त्यसपछि, आदमको शरीरबाट हव्वालाई बनाइयो, र तिनी पनि मानिसकी पुर्खा थिइन्, र यसरी मैले सृष्टि गरेका मानिसहरू मेरा सासले भरिए र मेरो महिमाले भरिपूर्ण भए। आदम मूलरूपमा मेरै हातबाट जन्मिएको थियो र मेरो स्वरूपको प्रतिनिधि थियो। यसैले “आदम” को मूल अर्थ मद्वारा बनाइएको, मेरो जीवनशक्तिद्वारा ओतप्रोत भएको, मेरो महिमाले ओतप्रोत भएको, मेरै स्वरूप र प्रतिरूप भएको, आत्मा र सास भएको भन्‍ने थियो। ऊ आत्मा भएको, मेरो प्रतिनिधित्व गर्न सक्‍ने, मेरो प्रतिरूप भएको र मेरो सास भएको सृष्टि गरिएको एक मात्र प्राणी थियो। सुरुमा, हव्वाचाहिँ सास प्राप्त गरेकी दोस्री मानव थिइन् जसको सृष्टि मैले नै ठहराएँ, यसैले “हव्वा” को मूल अर्थ मेरो महिमालाई निरन्तरता दिने, मेरो जीवनशक्तिद्वारा भरिएकी र यसको अतिरिक्त मेरो महिमाले भरिएकी हुन्छ। हव्वा आदमबाट आई, त्यसैले उसमा पनि मेरो प्रतिरूप थियो, किनकि ऊ मेरो प्रतिरूपमा सृजिएकी दोस्री मानव थिइन्। “हव्वा” को मूल अर्थ आत्मा, शरीर र हाड भएकी जीवित मानव भन्‍ने थियो, जो मानवजातिको बीचमा मेरो दोस्रो गवाहीका हुनुका साथै मेरो दोस्रो प्रतिरूप पनि थिइन्। तिनीहरू मानवजातिका पुर्खाहरू, मानिसका शुद्ध र बहुमूल्य सम्पत्ति, र सुरुबाट नै आत्मा भएका जीवित प्राणीहरू थिए। तथापि, मानवजातिको संसारलाई पूर्ण अन्धकारमा धकेल्दै मानवजातिका पुर्खाहरूका सन्तानलाई दुष्टले कुल्चियो र बन्दी बनायो र ती सन्तानले मेरो अस्तित्वमा विश्‍वासै नगर्ने बनाइदियो। त्योभन्दा घृणित कुरा त यो छ कि दुष्टले मानिसहरूलाई भ्रष्ट पार्ने र तिमीहरूलाई कुल्चीमिल्ची पार्ने काम गर्दा यसले मेरो महिमा, मेरो गवाही, मैले तिनीहरूलाई दिएको जीवनशक्ति, तिनीहरूमाथि मैले फुकेको सास र जीवन, मानव संसारमा भएको सारा महिमा र मैले मानवजातिमा खर्च गरेको मुटुको सारा रगतलाई क्रूरताका साथ जबरजस्ती खोस्दै छ। मानवजाति अब उप्रान्त ज्योतिमा छैन, मानिसहरूले मैले दिएका सबै कुराहरू गुमाएका छन् र मैले दिएको महिमालाई तिनीहरूले लत्याएका छन्। सृष्टि गरिएका सबै प्राणीहरूको परमप्रभु म नै हुँ भन्‍ने कुरा तिनीहरूले कसरी स्वीकार्न सक्छन्? स्वर्गमा भएको मेरो अस्तित्वलाई तिनीहरूले कसरी निरन्तर विश्‍वास गर्न सक्छन्? पृथ्वीमा मेरो महिमाको प्रकटीकरणलाई तिनीहरूले कसरी पत्ता लगाउन सक्छन्? तिनीहरूका पुर्खाहरूले श्रद्धा गरेका परमेश्‍वरलाई यी नातिनातिनाहरूले कसरी तिनीहरूलाई सृष्टि गर्ने परमेश्‍वरको रूपमा लिन सक्छन्? यी दयनीय नातिनातिनाहरूले मैले आदम र हव्वालाई दिएको महिमा, प्रतिरूप र गवाहीका साथै मैले मानवजातिलाई प्रदान गरेको अस्तित्वमा रहनको निम्ति तिनीहरू भर पर्ने जीवन उदारतापूर्वक दुष्टलाई “सुम्पिएका” छन्; र दुष्टको उपस्थितिप्रति तिनीहरू पूर्णरूपमा अनभिज्ञ छन्, र मेरो सारा महिमा त्यसलाई दिन्छन्। “मैला” शब्दको स्रोत यही होइन र? यस्तो मानवजाति, यस्ता दुष्ट भूतहरू, यस्ता हिँड्ने लाशहरू, यस्ता शैतानका आकृतिहरू, यस्ता मेरा शत्रुहरूले कसरी मेरो महिमा प्राप्त गर्छन्? म मेरो महिमालाई पुनः कब्जा गर्नेछु, मानिसहरूको माझमा रहेको मेरो गवाही र कुनै बेला मसँग भएका सबै कुराहरू र मैले धेरै पहिले मानवजातिलाई दिएका कुराहरूलाई म पुनः कब्जा गर्नेछु—म मानवजातिलाई पूर्ण रूपमा जित्‍ने छु। तथापि, मैले सृष्टि गरेका मानवहरू मेरा प्रतिरूप र मेरो महिमा भएका पवित्र मानिसहरू थिए भन्‍ने कुरा तैँले थाहा पाउनुपर्छ। तिनीहरू शैतानका थिएनन्, न त तिनीहरू त्यसको कुल्चाइका वशमा नै थिए, तर तिनीहरू अलिकति पनि शैतानको विष नभएका मेरा विशुद्ध प्रकटीकरण थिए। अनि यसैले, मैले मेरा हातले सृष्टि गरेका, मैले प्रेम गर्ने र अन्य कसैको स्वामित्वमा नभएका पवित्र जनहरूलाई मात्र म चाहन्छु भन्‍ने कुराको जानकारी म मानवजातिलाई दिन चाहन्छु। यसका अतिरिक्त, म तिनीहरूमा आनन्दित हुनेछु र तिनीहरूलाई मेरा महिमा ठान्‍नेछु। तथापि, शैतानले भ्रष्ट पारेको, आज शैतानको वशमा भएका र जो उप्रान्त मेरो मूल सृष्टि होइनन् ती मानवजातिको चाहना मैले गरेको होइन। किनकि शैतानलाई पराजित गरेको महिमाको प्रमाणको रूपमा मानव संसारमा अस्तित्वमा रहेको मेरो महिमालाई म पुनः कब्जा गर्नेछु, मानवजातिका बीचमा बाँचेकाहरूमाथि म पूर्ण विजय हासिल गर्नेछु। मेरो व्यक्तित्वको क्रिस्टलीकरणको लागि मेरै गवाहीलाई मात्र मेरो आनन्दको वस्तुको रूपमा म लिन्छु। मेरो इच्छा यही हो।

मानवजातिलाई अहिलेको अवस्थामा आइपुग्‍न इतिहासका दशौं हजार वर्ष लागेको छ, तथापि मैले सुरुमा सृष्टि गरेको मानवजातिचाहिँ लामो समयदेखि भ्रष्टतामा डुबेको छ। मानवजाति मैले इच्छा गरे जस्तो मानवजाति छैन, र यसैले मेरो नजरमा मानिसहरू मानवजातिको नामले बोलाइन योग्‍यका छैनन्। बरु तिनीहरू मानवजातिका मैलाहरू हुन् जसलाई शैतानले बन्दी बनाएको छ, तिनीहरू शैतानले बास गरेका हिँड्ने कुहिएका लाशहरू हुन् जसलाई शैतानले कपडाको रूपमा पहिरिन्छ। मानिसहरूलाई मेरो अस्तित्वमाथि भरोसा छैन, न त तिनीहरूले मेरो आगमनलाई स्वागत नै गर्छन्। मानवजातिले मेरा अनुरोधहरूलाई अस्थायी रूपमा स्वीकार गरे तापनि असन्तुष्टिका साथ तिनको जवाफ दिन्छ र जीवनका आनन्द तथा दुःखहरू मसँग इमानदारीका साथ बाँड्दैन। मानिसहरूले मलाई रहस्यमय ठान्‍ने हुनाले तिनीहरूले मलाई देखावटी मुस्कान दिन्छन्, तिनीहरूको मनोवृत्ति शक्तिमा आराम गर्नेको जस्तो छ, किनकि मानिसहरूलाई मेरो कामको ज्ञान छैन, मेरो इच्छाको त अहिले कुरै नगरौं। म तिमीहरूसँग इमान्दार हुनेछु: जब त्यो दिन आउँछ मेरा आराधना गर्ने जोकोहीको दुःख तिमीहरूका भन्दा सहन गर्न सक्‍ने किसिमका हुनेछन्। ममाथिको तिमीहरूको विश्‍वास वास्तवमा अय्यूबको भन्दा बढी छैन—यहूदी फरिसीहरूको विश्‍वासले पनि तिमीहरूको विश्‍वासलाई जित्छ—यसैले आगोको दिन आउँदा तिमीहरूको दुःख येशूले हप्‍काउनुभएका फरिसीहरू, मोशाको विरोध गर्ने २५० अगुवाहरू र आफ्नो विनाशको प्रचण्ड ज्वालाको चपेटामा परेको सदोमको भन्दा गम्भीर हुनेछ। जब मोशाले चट्टानलाई हिर्काए र यहोवाले दिनुभएको पानी निस्कियो, त्यो उनको विश्‍वासको कारणले थियो। जब दाऊदले म, यहोवाको प्रशंसामा आनन्दले भरिएको हृदयले वीणा बजायो—त्यो उसको विश्‍वासको कारणले थियो। जब अय्यूबले डाँडाकाँडा ढाक्‍ने वस्तुभाउ र असंख्य सम्पत्ति गुमायो र उसको शरीर कष्टकर खटिराले ढाक्यो, त्यो उसको विश्‍वासको कारणले थियो। जब उसले मेरो, अर्थात् यहोवाको, आवाज सुन्‍न र मेरो, अर्थात् यहोवाको, महिमा देख्‍न सक्यो, त्यो उसको विश्‍वासको कारणले थियो। पत्रुसले येशू ख्रीष्टलाई पछ्याउन सक्‍नुको कारण उसको विश्‍वास नै थियो। उसले मेरो खातिर क्रूसमा टाँगिन र महिमित गवाही दिन सक्‍नु उसकै विश्‍वासको कारणले थियो। जब यूहन्‍नाले मानिसको पुत्रको महिमित प्रतिरूप देख्यो, त्यो उसको विश्‍वासको कारणले थियो। जब उसले आखिरी दिनहरूका चिन्हहरू देख्यो, त्यो सबै उसकै विश्‍वासको कारणले थियो। अन्यजाति भनाउँदा भीडहरूले मेरो प्रकाश प्राप्त गर्नु र मानिसको बीचमा मेरो काम गर्नको निम्ति म शरीरमा फर्केको छु भन्‍ने कुरा थाहा पाउनुको कारण पनि तिनीहरूको विश्‍वासकै कारणले हो। मेरा कठोर वचनहरूद्वारा प्रहार गरिएका र तीद्वारा सान्त्वना पाएका अनि मुक्ति पाएका सबैले यो कुरा तिनीहरूको आफ्नै विश्‍वासले गरेका होइनन् र? ममाथि विश्‍वास गरे तापनि कठिनाइ भोग्‍नेहरू संसारदेखि पनि अस्वीकृत भएका छैनन् र? मेरा वचनबाहिर जिउनेहरू, परीक्षाको संकष्टदेखि भाग्‍नेहरू, के तिनीहरू सबै संसारमा यता-उता बरालिरहँदैनन् र? तिनीहरू शरद्का पातहरूझैँ एक ठाउँमा नबसी घरी यता, घरी उता सलबलाउँछन्, मेरा सान्त्वनाका वचनहरूको त कुरै नगरौं। मेरो सजाय र शोधनले तिनीहरूलाई नपछ्याए तापनि के तिनीहरू एक ठाउँदेखि अर्को ठाउँमा, स्वर्गको राज्य बाहिरका सडकहरूमा भौतारिने भिखारीहरू होइनन् र? के संसार साँच्चै तेरो विश्राम स्थल हो त? के तैँले मेरो सजायलाई पन्छाएर साँच्चै नै यस संसारबाट सन्तुष्टिको सबैभन्दा मन्द मुस्कान प्राप्त गर्न सक्छस्? के तैँले तेरो क्षणिक आनन्दलाई तेरो हृदयको लुकाउन नमिल्ने रिक्ततालाई ढाक्नको निम्ति प्रयोग गर्न सक्छस्? तैँले तेरो परिवारका सबैलाई मूर्ख बनाउन सक्लास्, तर तैँले मलाई कहिल्यै पनि मूर्ख बनाउन सक्दैनस्। तेरो विश्‍वास अत्यन्तै थोरै भएको कारण आजको दिनसम्म पनि तँमा जिन्दगीले दिने आनन्द पत्ता लगाउने शक्ति छैन। म तँलाई आग्रह गर्छु: मानिसले सहन नसक्‍ने दुःख सहेर सम्पूर्ण जीवन मामुली र देहको निम्ति व्यस्त रहनुभन्दा मेरो निम्ति इमान्दारीपूर्वक आधा जीवन जिउनु तेरो लागि असल हुन्छ। मेरो सजायबाट भागेर आफैलाई जोगाउनुको उद्देश्य के छ र? मेरो क्षणिक सजायबाट लुकेर अनन्तको लज्जा, अनन्तको सजायको कटनी गर्नुको के अर्थ छ र? वास्तवमा म कसैलाई पनि मेरो इच्छातिर झुकाउँदिन। यदि कोही मेरा सबै योजनाहरूप्रति साँचो रूपमा समर्पित हुने इच्छा गर्छ भने, तिनीहरूसँग म तुच्छ व्यवहार गर्नेछैन। तर सबै मानिसहरूले ममाथि विश्‍वास गर्नुपर्छ, जसरी अय्यूबले म, यहोवामाथि विश्‍वास गरे। यदि तिमीहरूको विश्‍वासले थोमाको विश्‍वासलाई जित्छ भने तिमीहरूको विश्‍वासले मेरो प्रशंसा प्राप्त गर्नेछ, तिमीहरूको निष्ठामा तिमीहरूले मेरो परमानन्द पाउनेछौ र तिमीहरूका दिनमा तिमीहरूले मेरो महिमा पक्कै पाउनेछौ। तथापि संसार र दुष्टमाथि विश्‍वास गर्ने मानिसहरूले आँखामा बतासले उडाएर लैजाने बालुवा र मुखमा दुष्टका भेटीहरू राखेर सदोम सहरका मानिसहरूले झैँ तिनीहरूका हृदय कठोर पारेका छन्, जसका बादलले ढाकेका मनहरू लामो समयदेखि संसारलाई अनधिकृत रूपमा हडप्‍ने दुष्टले नियन्त्रणमा लिएको छ। तिनीहरूका विचारहरू लगभग पूर्ण रूपले प्राचीन समयको दुष्टको बन्धनमा परेका छन्। अनि यसैले मानवजातिको विश्‍वास हावामा उडेको छ र तिनीहरू मेरो कामलाई देख्‍न समेत असमर्थ छन्। मेरो कामलाई देखावटी रूपमा लिने वा कामचलाउ रूपमा यसको विश्‍लेषण गर्ने कमजोर प्रयास मात्र तिनीहरूले गर्न सक्छन्, किनकि तिनीहरू धेरै अगाडिदेखि नै शैतानको विषको नियन्त्रणमा छन्।

मानवजातिलाई म जित्‍नेछु किनकि मानिसहरूको सृष्टि मैले नै गरेँ र, यसका अतिरिक्त, तिनीहरूले मेरो सृष्टिको प्रचुरताको आनन्द लिएका छन्। तर मानिसहरूले मलाई इन्कार पनि गरेका छन्; म तिनीहरूका हृदयमा अनुपस्थित छु, अनि तिनीहरूले मलाई तिनीहरूको अस्तित्वको निम्ति बोझको रूपमा हेर्छन्, यतिसम्म कि तिनीहरूले मलाई देखेर पनि अझै इन्कार नै गर्छन् र मलाई हराउने हरसम्भव तरिकाहरूको बारेमा सोचेर तिनीहरूका दिमागलाई यातना दिन्छन्। तिनीहरूलाई मैले गम्भीर तवरले व्यवहार गरेको वा तिनीहरूसँग कठोर मागहरू गरेको मानिसहरू चाहँदैनन्, न त तिनीहरूको अधार्मिकताको न्याय गर्ने वा त्यसको सजाय दिने अनुमति नै मलाई दिन्छन्। यसमा संलग्‍न हुनु त दूरको कुरा, बरु तिनीहरूलाई यो झमेलामय लाग्छ। र यसैले मानवजातिलाई लिनु र तिनीहरूलाई पराजित गर्नु मेरो काम हो, जो ममा खान्छ, पिउँछ र रमाउँछ तर मलाई चिन्दैन। म मानवजातिलाई निःशस्त्र पार्नेछु, र त्यसपछि मेरा स्वर्गदूतहरू, मेरो महिमालाई लिएर मेरो वासस्थानमा फर्कनेछु। किनकि मानिसहरूका कार्यहरूले धेरै पहिलेदेखि नै मेरो हृदय तोडेको छ र मेरा कामलाई टुक्राटुक्रा पारेका छन्। मानिसहरूलाई तिनीहरूको जीवन निरन्तर रूपमा जिउन, निरन्तर “शान्ति र सन्तुष्टिका साथ जिउन र काम गर्न”, निरन्तर “तिनीहरूका आफ्नै खेतबारीहरूमा खेतीपाती गर्न” दिएर म खुसीसाथ फर्केर जानुअघि म मेरो महिमा पुनः कब्जा गर्ने मेरो इरादा छ, र म तिनीहरूको जीवनमा कहिले पनि हस्तक्षेप गर्नेछैन। तर अहिले दुष्टको हातबाट मेरो महिमा पूर्ण रूपमा पुनः कब्जा गर्ने, पृथ्वीको सृष्टि गर्दा मैले मानिसभित्र हालिदिएको महिमाको पूर्णता फिर्ता लिने मेरो इरादा छ। मानव जातिलाई म कहिले पनि यो फेरि दिनेछैन। किनकि मानिसहरूले मेरो महिमाको संरक्षण गर्न चुकेका मात्र छैनन्, तर तिनीहरूले यसलाई शैतानको प्रतिरूपसँग साटेका पनि छन्। मानिसहरू मेरो आगमनलाई मूल्यवान् ठान्दैनन् न त मेरो महिमाको दिनलाई नै महत्त्व दिन्छन्। मेरो महिमा मलाई फिर्ता दिनु त कहाँ हो कहाँ, तिनीहरू मेरो सजाय प्राप्त गर्ने कुरामा प्रसन्‍न समेत हुँदैनन्, न त तिनीहरू दुष्टको विष फ्याँक्‍न नै इच्छुक छन्। मानवजातिले मलाई त्यही पुरानो तरिकाले नै निरन्तर रूपमा धोका दिन्छ, मानिसहरूले अहिले पनि उही पुरानो तरिकाले नै उज्यालो मुस्कानहरू र खुसी अनुहारहरू धारण गर्छन्। तिनीहरूबाट मेरो महिमा हटेपछि तिनीहरूमाथि आइपर्ने अन्धकारको गहिराइको बारेमा तिनीहरू अनभिज्ञ छन्। विशेष गरी, जब सम्पूर्ण मानवजातिमाथि मेरो दिन आउँछ, यो तिनीहरूको निम्ति नोआको समयको भन्दा कठिन हुन्छ, किनकि इस्राएलबाट मेरो महिमा हट्दा इस्राएल कति अँध्यारो भएको थियो भन्‍ने तिनीहरूलाई थाहा छैन, किनकि निस्पट्ट अन्धकारमय रात कटाउन कति कठिन थियो भन्‍ने कुरा मानिसले बिहान हुँदा भुलिहाल्छ। जब सूर्य फेरि लुक्‍न जान्छ अनि मानिसमाथि अन्धकार आइपर्छ, उसले फेरि अन्धकारमा विलाप गर्छ र आफ्ना दाह्रा किट्नेछ। इस्राएलबाट मेरो महिमा हट्दा ती कष्टका दिनहरू सहन इस्राएलीहरूलाई कति कठिन भएको थियो भन्‍ने के तिमीहरूले बिर्सेका छौ? तिमीहरूले मेरो महिमा देख्‍ने समय अहिले नै हो, र तिमीहरू मेरो महिमामा सहभागी हुने समय पनि अहिले नै हो। जब मेरो महिमाले यो फोहोरी भूमि छोड्छ तब अन्धकारको बीचमा मानिसले विलाप गर्नेछ। मैले काम गर्ने महिमाको दिन अहिले नै हो, मैले मानवजातिलाई दुःखबाट मुक्त गर्ने दिन यही हो, किनकि पीडा र संकष्टका समयहरू म तिनीहरूसँग बाँड्नेछैनँ। म मानवजातिलाई पूर्ण रूपमा जित्‍न र मानवजातिको दुष्टलाई पूर्ण रूपमा पराजित गर्न मात्र चाहन्छु।

अघिल्लो: परमेश्‍वर सारा सृष्टिका प्रभु हुनुहुन्छ

अर्को: परमेश्‍वरको बारेमा तेरो बुझाइ के छ?

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरको काम र मानिसको काम

मानिसको कति काम पवित्र आत्माको काम हो र कति चाहिँ मानिसको अनुभव हो? मानिसहरूले यी प्रश्‍नहरू अझै पनि बुझ्दैनन् भनी भन्‍न सकिन्छ, र...

अध्याय ६

आत्माका कुराहरूप्रति सचेत बन्‌, मेरो वचनमा ध्यान दे, र मेरो आत्मा र मेरो अस्तित्वलाई, मेरो वचन र मेरो अस्तित्वलाई एउटा अविभाज्य...

अध्याय १

सियोनमा प्रशंसा आएको छ र परमेश्‍वरको वासस्थान देखा परेको छ। सबै मानिसहरूले गुणगान गरेको त्यो महिमित पवित्र नाउँ फैलिन्छ। अहा, सर्वशक्तिमान्...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्