दुष्‍टहरूलाई निश्‍चय नै दण्ड दिइनेछ

तिमीहरूले गर्ने सबै कार्यमा धार्मिकता अभ्यास गर्छौ कि गर्दैनौ, र तिमीहरूका सबै कार्यहरू परमेश्‍वरले हेरिरहनुभएको छ कि छैन भनी तिमीहरू आफैलाई हेर: परमेश्‍वरमा विश्‍वास गरेका व्यक्तिहरूले आफ्ना सबै मामिलाहरूलाई यस सिद्धान्तअनुसार कार्यान्वयन गर्छन्। तिमीहरूलाई धर्मी भनिनेछ किनकि तिमीहरूले परमेश्‍वरलाई सन्‍तुष्‍ट पार्न सक्छौ, किनकि तिमीहरूले परमेश्‍वरको वास्ता र सुरक्षालाई स्वीकार गर्छौ। परमेश्‍वरको दृष्‍टिमा, परमेश्‍वरको वास्ता, सुरक्षा र सिद्धतालाई ग्रहण गर्ने, र उहाँले आफ्नो बनाउनुभएका व्यक्तिहरू सबै धर्मी मानिसहरू हुन्, र उहाँले तिनीहरू सबैलाई बहुमूल्य ठान्‍नुहुन्छ। तिमीहरूले परमेश्‍वरको वर्तमान वचनहरूलाई जति धेरै ग्रहण गर्छौ, तिमीहरूले परमेश्‍वरको इच्छा प्राप्‍त गर्न र बुझ्‍न त्यति नै धेरै सक्‍नेछौ, अनि यसरी तिमीहरू परमेश्‍वरको वचनहरू अनुसार जिउन सक्‍नेछौ र उहाँका मागहरू पूरा गर्न सक्‍नेछौ। यो तिमीहरूका निम्ति परमेश्‍वरको आदेश हो, र तिमीहरू सबै यो हासिल गर्न सक्षम बन्‍नुपर्छ। यदि तिमीहरूले परमेश्‍वरलाई माटोबाट बनाइएको एउटा मूर्ति जस्तै मापन गर्न र सीमित गर्न आफ्नै धारणाको प्रयोग गर्छौ भने, र यदि तिमीहरूले परमेश्‍वरलाई बाइबलको सीमाभित्र मात्र सीमित राख्यौ र उहाँलाई कामको सीमित क्षेत्रभित्र मात्र राख्यौ भने तिमीहरूले परमेश्‍वरलाई दोष लगाएका छौ भनी यसले प्रमाणित गर्छ। पुरानो करारको युगका यहूदीहरूले परमेश्‍वरलाई मसीह भन्न सक्थे, र मसीह भनिने व्यक्ति मात्र परमेश्‍वर हुन सक्‍नुहुन्छ झैँ गरी परमेश्‍वरलाई तिनीहरूको हृदयमा राखिएको एक स्थिर मूर्तिको रूपमा लिएका हुनाले, र परमेश्‍वर (जीवनरहित) माटोको एउटा मूर्ति हुनुहुन्छ झैँ गरी मानवजातिले सेवा गरेको र आराधना गरेको हुनाले, तिनीहरूले त्यस बेलाको येशूलाई क्रूसमा झुन्ड्याएर मृत्युदण्ड दिए—यसरी दोषरहित येशूलाई मृत्युदण्ड दिइयो। परमेश्‍वर कुनै पनि अपराधबाट दोषरहित हुनुहुन्थ्यो, तैपनि मानिसले उहाँलाई छोड्न इन्कार गर्‍यो, अनि उहाँलाई मृत्युदण्ड दिन माग गरिरह्यो, त्यसैले येशूलाई क्रूसमा झुन्ड्याइयो। मानिससँग परमेश्‍वरको व्यवस्थापनको सिद्ध बुझाइ छ जस्तै गरी, परमेश्‍वरले गर्नुभएका सबै थोक मानिसले आफ्नो हतकेलामा राखेको छ जस्तै गरी परमेश्‍वर अपरिवर्तनशील हुनुहुन्छ भनी उसले सधैँ विश्‍वास गर्छ, र उहाँलाई एउटा पुस्तक अर्थात् बाइबलको आधारमा परिभाषित गर्छ। मानिसहरू चरम रूपमा हास्यास्पद, चरम रूपमा अहङ्कारी छन्, तिनीहरू सबैसँग बढाइचढाइ कुरा गर्ने अन्तर्निहित क्षमता हुन्छ। परमेश्‍वरको बारेमा तेरो ज्ञान जतिसुकै ठूलो भए तापनि तैँले परमेश्‍वरलाई चिनेको छैनस्, परमेश्‍वरको सबैभन्दा बढी विरोध गर्ने तँ नै होस्, र तैँले परमेश्‍वरलाई दोष लगाएको छस् भनी म अझै पनि भन्‍छु, किनकि तिमीहरू परमेश्‍वरको कामको आज्ञापालन गर्न र परमेश्‍वरले सिद्ध तुल्याउनुहुने मार्गमा हिँड्न पूर्णतया असक्षम छौ। परमेश्‍वर मानिसका कार्यहरूदेखि किन कहिल्यै सन्‍तुष्‍ट हुनुभएको छैन? किनकि मानिसले परमेश्‍वरलाई चिन्दैन, किनकि उसँग थुप्रै धारणाहरू छन्, किनकि परमेश्‍वर सम्‍बन्धी उसको ज्ञान वास्तविकता अनुरूप हुँदैन, बरु कुनै भिन्‍नताविना एउटै विषयवस्तु एकोहोरो दोहोर्याइरहन्छ र हरेक परिस्थितिको निम्ति एउटै तरिका प्रयोग गर्छ। त्यसैले, परमेश्‍वर आज पृथ्‍वीमा आउनुभए पनि मानिसले फेरि उहाँलाई क्रूसमा टाँगेको छ। निर्दयी मानवजाति! मौन सहमति र षड्यन्त्र, एक-अर्काबाट खोस्ने र हडप्ने, प्रसिद्धि र सम्पत्तिको निम्ति लुछाचुँडी गर्ने, पारस्परिक हत्या गर्ने—यी सबै कहिले अन्त्य हुनेछन्? परमेश्‍वरले हजारौँ वचनहरू बोल्‍नुभएको भए तापनि कोही पनि आफ्नो चेतनामा आएका छैनन्। मानिसहरू आफ्ना परिवार, छोराछोरीहरूको खातिर, आफ्नो जीविकोपार्जन, भविष्य, प्रत्याशाहरू, ओहदा, महत्त्वाकाङ्क्षा, र रुपैयाँपैसाको निम्ति, खानेकुरा, लुगाफाटो, र शरीरको निम्ति काम गर्छन्। तर के साँच्‍चिकै परमेश्‍वरको खातिर कामहरू गर्ने कोही छन्? परमेश्‍वरको खातिर काम गर्नेहरूमध्ये पनि परमेश्‍वरलाई चिन्ने थोरै छन्। आफ्नै स्वार्थअनुसार काम नगर्ने मानिसहरू कति छन्? कति जनाले आफ्नो ओहदा सुरक्षित राख्‍न अरूलाई थिचोमिचो गर्दैनन् वा बहिष्‍कार गर्दैनन्? त्यसैले, परमेश्‍वरलाई जबरजस्ती अनगिन्ती मृत्युदण्ड दिइएको छ, र असङ्ख्य निर्दयी न्यायकर्ताहरूले परमेश्‍वरलाई दण्डाज्ञा दिएका छन् र फेरि एक पटक उहाँलाई क्रूसमा टाँगेका छन्। साँच्‍चिकै परमेश्‍वरको खातिर काम गरेका हुनाले कति जनालाई धर्मी भनेर भन्‍न सकिन्छ?

के परमेश्‍वरको अघि एक सन्त वा एक धर्मी व्यक्तिको रूपमा सिद्ध तुल्याइन सजिलो छ? “यस पृथ्‍वीमा कोही पनि धर्मी छैन, धर्मीहरू यस संसारमा छैनन्” भन्‍ने कथन साँचो हो। जब तिमीहरू परमेश्‍वरको अघि आउँछौ, तब तिमीहरूले आफ्नो हरेक वचन र कार्य, आफ्नो हरेक विचार र सोचाइ, र तिमीहरूले हरेक दिन देख्‍ने सपनाहरूको बारेमा विचार गर—यो सबै तिमीहरूको आफ्नै खातिर हो। के यो मामिलाको साँचो अवस्था होइन र? “धार्मिकता” को अर्थ अरूलाई दान दिनु होइन, यसको अर्थ आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नु होइन, र यसको अर्थ झैझगडा र विवादहरू वा लुटपाट र चोरीबाट टाढा रहनु होइन। धार्मिकताको अर्थ परमेश्‍वरको आदेशलाई आफ्नो कर्तव्यको रूपमा ग्रहण गर्नु र परमेश्‍वरको व्यवस्था र प्रबन्धलाई आफ्नो निम्ति स्वर्गबाट ठहराइएको कर्तव्यको रूपमा लिनु र परमेश्‍वरको आज्ञापालन गर्नु हो, समय र स्थानको पर्वाह नगरिकन प्रभु येशूले गर्नुभएजस्तै गर्नु हो। परमेश्‍वरले भन्‍नुभएको धार्मिकता यही हो। लोतलाई धर्मी भन्‍न सकिन्छ किनकि उनले आफ्नो नाफा र नोक्‍सानीको विचार नगरिकन परमेश्‍वरले पठाउनुभएका दुई स्वर्गदूतहरूलाई बचाएका थिए; उनले त्यस बेला जे गरेका थिए, त्यसलाई धर्मी भन्‍न सकिन्छ तर उनलाई धर्मी मानिस भन्‍न सकिँदैन। लोतले परमेश्‍वरलाई देखेका हुनाले उनले स्वर्गदूतहरूका सट्टामा आफ्नी दुई छोरीहरू दिएका थिए तर विगतमा उनले गरेका सबै व्यवहारहरू धार्मिकता सुहाउँदो थिएनन्। त्यसैले म भन्छु “यस पृथ्‍वीमा कोही पनि धर्मी छैन।” पुनर्स्थापनाको प्रवाहमा रहेकाहरू मध्येका कसैलाई पनि धर्मी भन्‍न सकिँदैन। तेरो कार्य जतिसुकै असल भए तापनि, तैँले जतिसुकै परमेश्‍वरको नाउँको महिमा गरेको देखिए तापनि, तैँले अरूलाई हिर्काउने र सराप्‍ने नगरे पनि, अनि अरूबाट चोर्ने वा लुट्ने नगरे पनि, तँलाई धर्मी भन्‍न सकिँदैन, किनकि सामान्य व्यक्तिले यस्तो कार्य गर्न सक्छ। अहिले यहाँ मुख्य कुरो चाहिँ तैँले परमेश्‍वरलाई चिनेको छैनस् भन्‍ने नै हो। यति मात्र भन्‍न सकिन्छ कि अहिले तँसँग अलिकति मात्र सामान्य मानवता छ, तर परमेश्‍वरले भन्‍नुभएको धार्मिकताका तत्त्वहरू छैनन्, त्यसैले तैँले गर्ने कुनै पनि कुराले तैँले परमेश्‍वरलाई चिनेको छस् भन्‍ने कुरा प्रमाणित गर्न सक्दैन।

पहिला, परमेश्‍वर स्वर्गमा हुनुहुँदा, मानिसले परमेश्‍वरप्रति छलपूर्ण कार्य गर्थ्यो। आज, परमेश्‍वर मानिसहरूको माझमा आउनुभएको छ—कति वर्ष भइसकेको छ भन्‍ने कुरा कसैलाई पनि थाहा छैन—तैपनि मानिसले कामकुराहरू गर्दा झारा टार्ने र उहाँलाई मूर्ख बनाउने प्रयत्‍न गर्दैछ। के मानिस आफ्नो सोच-विचारमा धेरै पिछडिएको छैन र? यहूदालाई पनि यस्तै भएको थियो: येशू आउनुभन्दा अगाडि यहूदाले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई छल गर्न झूटो बोल्‍ने गर्थ्यो, येशू आउनुभएपछि पनि ऊ अझै परिवर्तन भएको थिएन; तिनले येशूलाई अलिकति पनि चिनेको थिएनन्, र अन्त्यमा तिनले येशूलाई धोखा दिए। के तिनले परमेश्‍वरलाई नचिनेको कारण यस्तो भएको थिएन र? यदि आज तिमीहरूले पनि परमेश्‍वरलाई अझै चिनेका छैनौ भने, तिमीहरू पनि अर्को यहूदा बन्‍न सक्‍ने सम्भावना रहन्छ, यदि यसो भयो भने दुई हजार वर्ष अघि अनुग्रहको युगमा भएको येशूको दुःखद क्रूसीकरण फेरि हुनेछ। के तिमीहरू यो कुरा विश्‍वास गर्दैनौ? यो यथार्थ कुरा हो! वर्तमान समयमा, बहुसङ्ख्यक मानिसहरू यस्तै अवस्थामा छन्—मैले यो कुरा अलि चाँडै भनिरहेको छु होला—र यस्ता मानिसहरूले यहूदाको भूमिका निभाइरहेका छन्। मैले निरर्थक कुरा गरिरहेको छैन, तर तथ्यमा आधारित कुरा गर्दैछु—र तिमीहरू विश्‍वस्त नभइ रहन सक्दैनौ। धेरै मानिसहरूले नम्रताको स्वाङ्ग पार्ने भए पनि, तिनीहरूको हृदयमा गन्हाउने हाडखोड र दुर्गन्धित थोकहरूबाहेक अरू केही पनि छैन। अहिले मण्डलीमा यस्ता किसिमका मानिसहरू धेरै छन्, र म यस विषयमा पूर्ण रूपमा अनभिज्ञ छु भन्‍ने तिमीहरूलाई लाग्छ। आज, मेरो आत्माले मेरो निम्ति निर्णय गर्छ, र मेरो निम्ति गवाही दिन्छ। के मलाई केही पनि थाहा छैन भन्‍ने तिमीहरूलाई लाग्छ? तिमीहरूको हृदयमा भएका कपटपूर्ण विचारहरू, तिमीहरूले आफ्नो हृदयभित्र राखेका कुराहरू मैले बुझेको छैन भन्‍ने तिमीहरूलाई लाग्छ? के परमेश्‍वरलाई जित्‍नु त्यति सजिलो छ र? के तैँले उहाँलाई जस्तो मन लाग्यो त्यसरी नै व्यवहार गर्न सकिन्छ भन्‍ने तँलाई लाग्छ? विगतमा, तिमीहरू नियन्त्रित बन्छौ भन्‍ने मलाई चिन्ता लागेको थियो, त्यसैले मैले तिमीहरूलाई स्‍वतन्‍त्रता दिइरहेँ, तर मैले तिनीहरूलाई भलाइ गरिरहेको छु भनी मानवजातिले बताउन सकेन, र मैले तिनीहरूलाई औँला दिँदा तिनीहरूले हातै निले। तिमीहरूकै बीचमा यो कुरा सोध: मैले कसैलाई पनि कहिल्यै निराकरण गरिनँ, र मैले कहिल्यै पनि कसैलाई हल्का रूपमा हप्काइनँ—तैपनि म मानिसको अभिप्राय र धारणाहरूका बारेमा स्पष्‍ट छु। परमेश्‍वर स्वयम्‌ले जसको साक्षी दिनुहुन्छ, के उहाँ मूर्ख हुनुहुन्छ भन्‍ने तिमीहरूलाई लाग्छ? यदि त्यसो हो भने, म भन्छु, तिमीहरू अत्यन्त अन्धा छौ! म तेरो खुलासा गर्नेछैन, तर तँ कति धेरै भ्रष्‍ट बन्‍न सक्छस् भन्‍ने देखाउनेछु। तेरो चतुर युक्तिले तँलाई मुक्ति दिन सक्छ कि सक्दैन, वा परमेश्‍वरलाई प्रेम गर्ने तेरो उत्कृष्ट प्रयत्‍नले मुक्ति दिन सक्छ कि सक्दैन भनी हामी हेरौं। आज, म तँलाई दोष लगाउनेछैन; उहाँले तिमीहरूसँग बदला लिने समयसम्म हामी परमेश्‍वरको समयलाई पर्खौं। मसँग अहिले तिमीहरूसँग व्यर्थको कुराकानी गर्ने समय छैन, र म तिमीहरूको कारण मेरो महान् कार्य ढीला गर्न अनिच्छुक छु। तँजस्तो कीरालाई सम्‍हाल्‍नको लागि लाग्‍ने परमेश्‍वरको समय पाउन तँ योग्य छैनस्—त्यसैले कसरी तँ स्वच्छन्द हुन सक्छस्, हेरौं। यस्ता मानिसहरूले परमेश्‍वरको ज्ञान अलिकति पनि खोज्दैनन्, न त तिनीहरूमा उहाँलाई प्रेम गर्ने हृदय नै हुन्छ, र अझै पनि परमेश्‍वरले तिनीहरूलाई धर्मी भन्‍नुभएको होस् भन्‍ने तिनीहरूले चाहना गर्छन्—के यो एउटा मजाक होइन र? मानिसहरूको सानो सङ्ख्या साँच्चै ईमानदार भएको हुनाले, म मानिसलाई निरन्तर जीवन दिने कार्यमा मात्र केन्द्रित हुनेछु। आज मैले जे सम्पन्‍न गर्नुपर्छ सो मात्र म पूरा गर्नेछु, तर तिमीहरूले गरेको कामअनुसार म भविष्यमा प्रत्येक व्यक्तिसँग बदला लिनेछु। मैले भन्‍नुपर्ने सबै कुरा भनेको छु, किनकि निश्‍चित रूपमा मैले गर्ने काम यही नै हो। मैले गर्नुपर्ने काम मात्र म गर्छु, र मैले गर्नु नपर्ने काम म गर्दिनँ। जे भए तापनि, तिमीहरूले चिन्तनमा अझै बढी समय बिताउनेछौ भनी म आशा गर्छु: परमेश्‍वर सम्‍बन्धी तेरो कति ज्ञान वास्तवमा साँचो हो? के तँ परमेश्‍वरलाई फेरि क्रूसमा झुण्ड्याउने व्यक्ति होस्? यी मेरा अन्तिम वचनहरू हुन्: परमेश्‍वरलाई क्रूसमा झुण्ड्याउने व्यक्तिहरूलाई धिक्‍कार होस्।

अघिल्लो: सिद्ध पारिएकाहरूका निम्ति दिइएका प्रतिज्ञाहरू

अर्को: परमेश्‍वरको इच्छा अनुसार कसरी सेवा गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्