दुष्टलाई निश्‍चय नै दण्ड दिइनेछ

तिमीहरू आफूले गर्ने कुराहरूमा धार्मिकताको अभ्यास गर्छौ कि गर्दैनौ, र तिमीहरूका कार्यहरू परमेश्‍वरको छानबिनमा खरो उत्रन्छन् कि उत्रँदैनन् भनी थाहा पाउन आफूभित्रै जाँचेर हेर: परमेश्‍वरमा विश्‍वास गर्नेहरूले आफ्ना मामलाहरू सञ्चालन गर्ने सिद्धान्त यही हो। तिमीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्ने हुनाले, र तिमीहरूले परमेश्‍वरको हेरचाह र सुरक्षालाई स्वीकार गर्ने हुनाले तिमीहरूलाई धर्मी भनिनेछ। परमेश्‍वरको नजरमा, परमेश्‍वरको हेरचाह, सुरक्षा, र सिद्धतालाई स्वीकार गर्ने, र उहाँद्वारा प्राप्त गरिएकाहरू सबै धर्मी मानिस हुन्, र उहाँ तिनीहरू सबैलाई बहुमूल्य ठान्नुहुन्छ। तिमीहरू परमेश्‍वरका अहिलेका वचनहरूलाई जति बढी स्वीकार गर्छौ, त्यति नै बढी तिमीहरूले परमेश्‍वरका अभिप्रायहरूलाई बुझ्न र बोध गर्न सक्नेछौ, र त्यसकारण त्यति नै बढी तिमीहरू परमेश्‍वरका वचनहरू जिउन र उहाँका मागहरू पूरा गर्न सक्षम हुनेछौ। यो तिमीहरूका लागि परमेश्‍वरको आज्ञा हो, र तिमीहरू सबैले हासिल गर्न सक्नुपर्ने कुरा यही नै हो। यदि तिमीहरू आफ्ना धारणाहरू प्रयोग गरेर परमेश्‍वरलाई मापन गर्छौ र सीमित गर्छौ, मानौँ परमेश्‍वर माटोको अपरिवर्तनीय मूर्ति हुनुहुन्छ, परमेश्‍वरलाई पूर्ण रूपमा बाइबलमा सीमित गर्छौ र उहाँलाई कामको सीमित दायराभित्रै राख्छौ भने, यसले तिमीहरूले परमेश्‍वरलाई दोषी ठहराएका छौ भन्‍ने प्रमाणित गर्छ। पुरानो करारको युगका यहूदीहरूले परमेश्‍वरलाई तिनीहरूले हृदयमा राखेको स्थायी रूपको मूर्ति ठाने, मानौँ परमेश्‍वरलाई मसीह मात्र भन्न सकिन्थ्यो, र जसलाई मसीह भनिन्थ्यो उहाँ मात्र परमेश्‍वर हुन सक्नुहुन्थ्यो, र मानिसहरूले परमेश्‍वरलाई एउटा माटोको (निर्जीव) मूर्तिजस्तै गरी सेवा र आराधना गरे, त्यसकारण तिनीहरूले त्यस समयका येशूलाई क्रूसमा टाँगे, उहाँलाई मृत्युदण्ड दिए—यसरी निर्दोष येशूलाई दोषी ठहराएर मृत्युदण्ड दिइयो। परमेश्‍वर निर्दोष हुनुहुन्थ्यो, तैपनि मानिसले उहाँलाई छोड्न मानेन, र जिद्दीपूर्वक उहाँलाई मृत्युदण्ड दियो, र यसरी येशू क्रूसमा टाँगिनुभयो। मानिस सधैँ परमेश्‍वर अपरिवर्तनीय हुनुहुन्छ भन्‍ने विश्‍वास गर्छ, र एउटा मात्र पुस्तक, बाइबलको आधारमा उहाँलाई सीमित गर्छ, मानौँ मानिसले परमेश्‍वरको व्यवस्थापनलाई पूर्ण रूपमा बोध गरेको छ, मानौँ परमेश्‍वरले गर्ने सबै कुरा मानिसको हत्केलामा छ। मानिसहरू चरम रूपमा असङ्गत छन्, चरम रूपमा अहङ्कारी छन्, र तिनीहरू सबैमा ठूला कुरा गर्ने खुबी हुन्छ। परमेश्‍वरबारे तेरो ज्ञान जतिसुकै उच्च भए पनि, म अझै पनि के भन्छु भने तँ परमेश्‍वरलाई चिन्दैनस्, तँ परमेश्‍वरको सबैभन्दा बढी विरोध गर्ने व्यक्ति होस्, र तैँले परमेश्‍वरलाई दोषी ठहराएको छस्, किनभने तँ परमेश्‍वरको कामप्रति समर्पित हुन र परमेश्‍वरद्वारा सिद्ध पारिने पथमा हिँड्न पूर्ण रूपमा असक्षम छस्। परमेश्‍वर किन मानिसका कार्यहरूप्रति कहिल्यै सन्तुष्ट हुनुहुन्न? किनभने मानिसले परमेश्‍वरलाई कहिल्यै चिन्दैन, उसमा अति धेरै धारणा हुन्छन्, र परमेश्‍वरबारे उसको ज्ञान कुनै पनि हिसाबमा वास्तविकतासँग मिल्दैन, बरु यो सूत्रबद्ध र दोहोरिने खालको, साथै कृत्रिम रूपमा नक्कल गरिएको र कठोर रूपमा लागु गरिएको हुन्छ। त्यसैले, आज पृथ्वीमा आउनुभएपछि, परमेश्‍वरलाई मानिसद्वारा फेरि एक पटक क्रूसमा टाँगिएको छ। निर्दयी मानवजाति! षड्यन्त्र र चालबाजी, एक-अर्काबाट खोसाखोस र लुछाचुँडी, ख्याति र प्राप्तिका लागि तँछाडमछाड, एक-अर्काको हत्या—यो कहिले अन्त्य होला र? परमेश्‍वरले बोल्नुभएका लाखौँ वचनका बाबजुद, कोही पनि होसमा आएको छैन। मानिसहरू आफ्ना परिवार, छोराछोरीका खातिर, आफ्ना करियर, भविष्यका सम्भावनाहरू, हैसियत, व्यर्थको दम्भ, र पैसाका लागि, खाना, लुगाफाटो, र देहका खातिर काम गर्छन्। तर के साँच्चै परमेश्‍वरका खातिर काम गर्ने कोही छ? परमेश्‍वरका खातिर काम गर्नेहरूमध्ये पनि, परमेश्‍वरलाई चिन्नेहरू थोरै मात्र छन्। आफ्नै हितहरूका लागि काम नगर्ने मानिसहरू कति छन् र? आफ्नो हैसियतको रक्षा गर्न अरूलाई दमन वा बहिष्कार नगर्नेहरू कति छन्? त्यसैले, परमेश्‍वरलाई अनगिन्ती पटक जबरजस्ती मृत्युदण्डको सजाय सुनाइएको छ, र अनगिन्ती निर्दयी न्यायकर्ताहरूले परमेश्‍वरलाई दोषी ठहराएका छन् र उहाँलाई फेरि एक पटक क्रूसमा टाँगेका छन्। साँच्चै परमेश्‍वरका खातिर काम गर्ने भएका कारण कति जनालाई धर्मी मानिस भन्न सकिन्छ?

के परमेश्‍वरसामु सिद्ध पारिएर पवित्र जन वा धर्मी व्यक्ति बन्नु त्यति सजिलो छ र? “यस पृथ्वीमा कोही पनि धर्मी छैन, धर्मीहरू यस संसारमा छैनन्” भन्‍ने भनाइ साँचो हो। जब तिमीहरू परमेश्‍वरसामु आउँछौ, तब तिमीहरू के लगाइरहेका छौ भन्ने कुरालाई ख्याल गर, तिमीहरूको हरेक शब्द, कार्य, र चाल, तिमीहरूको हरेक सोच र विचार, र तिमीहरूले हरेक दिन देख्ने सपनाहरूलाई समेत ख्याल गर—ती सबै तिमीहरूकै खातिर हुन्। के यो नै साँचो वस्तुस्थिति होइन र? “धार्मिकता” को अर्थ अरूलाई दान दिनु होइन, यसको अर्थ आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नु होइन, र यसको अर्थ झगडा र विवाद वा लुटपाट र चोरी गर्न छोड्नु होइन। धार्मिकता भनेको समय वा स्थानको पर्वाह नगरी, प्रभु येशूले गर्नुभएका सबै कुराजस्तै, परमेश्‍वरको आज्ञालाई आफ्नो कर्तव्यको रूपमा लिनु र परमेश्‍वरका योजनाबद्ध कार्य र प्रबन्धहरूलाई स्वर्गबाट गरिएको आह्वानका रूपमा लिएर तीप्रति समर्पित हुनु हो। परमेश्‍वरले यही धार्मिकताबारे बोल्नुभएको हो। लूतलाई धर्मी भन्न सकिन्थ्यो किनभने तिनले आफ्नो लाभ र क्षतिलाई ख्याल नगरी परमेश्‍वरद्वारा पठाइएका दुई स्वर्गदूतलाई बचाए; यति मात्र भन्न सकिन्छ कि तिनले त्यस समयमा जे गरे त्यसलाई धर्मी भन्न सकिन्छ, तर तिनलाई धर्मी मानिस भन्न सकिँदैन। लूतले परमेश्‍वरलाई देखेका हुनाले मात्रै तिनले स्वर्गदूतहरूको बदलामा आफ्ना दुई छोरी दिएका थिए, तर विगतका तिनका सबै व्यवहार धार्मिकताको पक्षमा थिएनन्। त्यसकारण म भन्छु “यस पृथ्वीमा कोही पनि धर्मी छैन।” पुनर्स्थापनाको प्रवाहमा भएकाहरूमध्ये, कसैलाई पनि धर्मी व्यक्ति भन्न सकिँदैन। तेरा कार्यहरू जतिसुकै राम्रा भए पनि, तैँले परमेश्‍वरको नामलाई जतिसुकै महिमा दिएजस्तो देखिए पनि, अरूलाई पिट्ने र सराप्ने काम नगर्दैमा, वा अरूबाट लुटपाट र डकैती नगर्दैमा, तँलाई धर्मी भन्न मिल्दैन, किनभने यो त कुनै सामान्य व्यक्तिमा पनि हुन सक्ने कुरा हो। अहिलेको मुख्य कुरा भनेको तँ परमेश्‍वरलाई चिन्दैनस्। यति मात्र भन्न सकिन्छ कि वर्तमान अवस्थामा तँसँग थोरै सामान्य मानवता छ, तर परमेश्‍वरले उल्लेख गर्नुभएको धार्मिकताको कुनै तत्त्व छैन, र त्यसैले तैँले गर्ने कुनै पनि कुराले तँ परमेश्‍वरलाई चिन्छस् भनी प्रमाणित गर्न सक्दैन।

पहिला, परमेश्‍वर स्वर्गमा हुनुहुँदा, मानिसहरूले परमेश्‍वरसँग लापरवाह व्यवहार गर्ने। आज, परमेश्‍वर मानिसहरूको माझमा आउनुभएको छ—कति वर्ष भइसकेको छ भन्‍ने कुरा कसैलाई पनि थाहा छैन—तैपनि मानिसहरूले परमेश्‍वरसँग व्यवहार लापरवाह व्यवहार गरिरहेका छन्। के मानिस आफ्नो सोच-विचारमा धेरै पिछडिएको छैन र? यहूदालाई पनि यस्तै भएको थियो: येशू आउनुभन्दा अगाडि यहूदाले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई छल गर्न झूटो बोल्‍ने गर्थ्यो, येशू आउनुभएपछि पनि ऊ अझै परिवर्तन भएको थिएन; तिनले येशूलाई अलिकति पनि चिनेको थिएनन्, र अन्त्यमा तिनले येशूलाई धोखा दिए। के तिनले परमेश्‍वरलाई नचिनेको कारण यस्तो भएको थिएन र? यदि आज तिमीहरूले पनि परमेश्‍वरलाई अझै चिनेका छैनौ भने, तिमीहरू पनि अर्को यहूदा बन्‍न सक्‍ने सम्भावना रहन्छ, यदि यसो भयो भने दुई हजार वर्ष अघि अनुग्रहको युगमा भएको येशूको दुःखद क्रूसीकरण फेरि हुनेछ। के तिमीहरू यो कुरा विश्‍वास गर्दैनौ? यो यथार्थ कुरा हो! वर्तमान समयमा, बहुसङ्ख्यक मानिसहरू यस्तै अवस्थामा छन्—मैले यो कुरा अलि चाँडै भनिरहेको छु होला—र यस्ता मानिसहरूले यहूदाको भूमिका निभाइरहेका छन्। मैले निरर्थक कुरा गरिरहेको छैन, तर तथ्यमा आधारित कुरा गर्दैछु—र तिमीहरू विश्‍वस्त नभइ रहन सक्दैनौ। धेरै मानिसहरूले नम्रताको स्वाङ्ग पार्ने भए पनि, तिनीहरूको हृदयमा गन्हाउने हाडखोड र दुर्गन्धित थोकहरूबाहेक अरू केही पनि छैन। अहिले मण्डलीमा यस्ता किसिमका मानिसहरू धेरै छन्, र म यस विषयमा पूर्ण रूपमा अनभिज्ञ छु भन्‍ने तिमीहरूलाई लाग्छ। आज, मेरो आत्माले मेरो निम्ति निर्णय गर्छ, र मेरो निम्ति गवाही दिन्छ। के मलाई केही पनि थाहा छैन भन्‍ने तिमीहरूलाई लाग्छ? तिमीहरूको हृदयमा भएका कपटपूर्ण विचारहरू, तिमीहरूले आफ्नो हृदयभित्र राखेका कुराहरू मैले बुझेको छैन भन्‍ने तिमीहरूलाई लाग्छ? के परमेश्‍वरलाई जित्‍नु त्यति सजिलो छ र? के तैँले उहाँलाई जस्तो मन लाग्यो त्यसरी नै व्यवहार गर्न सकिन्छ भन्‍ने तँलाई लाग्छ? विगतमा, तिमीहरू नियन्त्रित बन्छौ भन्‍ने मलाई चिन्ता लागेको थियो, त्यसैले मैले तिमीहरूलाई स्‍वतन्‍त्रता दिइरहेँ, तर मैले तिनीहरूलाई भलाइ गरिरहेको छु भनी मानवजातिले बताउन सकेन, र मैले तिनीहरूलाई औँला दिँदा तिनीहरूले हातै निले। तिमीहरूकै बीचमा यो कुरा सोध: मैले कसैलाई पनि कहिल्यै काटछाँट गरिनँ, र मैले कहिल्यै पनि कसैलाई हल्का रूपमा हप्काइनँ—तैपनि म मानिसको अभिप्राय र धारणाहरूका बारेमा स्पष्‍ट छु। के तिमीलाई परमेश्‍वरले गवाही दिने परमेश्‍वर स्वयम्‌ मूर्ख हुनुहुन्छ भन्‍ने लाग्छ? यदि त्यसो हो भने, म भन्छु, तिमीहरू अत्यन्त अन्धा छौ! म तेरो खुलासा गर्नेछैन, तर तँ कति धेरै भ्रष्‍ट बन्‍न सक्छस् भन्‍ने देखाउनेछु। तेरो चतुर युक्तिले तँलाई मुक्ति दिन सक्छ कि सक्दैन, वा परमेश्‍वरलाई प्रेम गर्ने तेरो उत्कृष्ट प्रयत्‍नले मुक्ति दिन सक्छ कि सक्दैन भनी हामी हेरौं। आज, म तँलाई दोष लगाउनेछैन; उहाँले तिमीहरूसँग बदला लिने समयसम्म हामी परमेश्‍वरको समयलाई पर्खौं। मसँग अहिले तिमीहरूसँग व्यर्थको कुराकानी गर्ने समय छैन, र म तिमीहरूको कारण मेरो महान् कार्य ढीला गर्न अनिच्छुक छु। तँजस्तो कीरालाई काटछाँट गर्नका लागि लाग्‍ने परमेश्‍वरको समय पाउन तँ योग्य छैनस्—त्यसैले कसरी तँ स्वच्छन्द हुन सक्छस्, हेरौं। यस्ता मानिसहरूले परमेश्‍वरको ज्ञान अलिकति पनि खोज्दैनन्, न त तिनीहरूमा उहाँलाई प्रेम गर्ने हृदय नै हुन्छ, र अझै पनि परमेश्‍वरले तिनीहरूलाई धर्मी भन्‍नुभएको होस् भन्‍ने तिनीहरूले चाहना गर्छन्—के यो एउटा मजाक होइन र? मानिसहरूको सानो सङ्ख्या साँच्चै ईमानदार भएको हुनाले, म मानिसलाई निरन्तर जीवन दिने कार्यमा मात्र केन्द्रित हुनेछु। आज मैले जे सम्पन्‍न गर्नुपर्छ सो मात्र म पूरा गर्नेछु, तर तिमीहरूले गरेको कामअनुसार म भविष्यमा प्रत्येक व्यक्तिसँग बदला लिनेछु। मैले भन्‍नुपर्ने सबै कुरा भनेको छु, किनकि निश्‍चित रूपमा मैले गर्ने काम यही नै हो। मैले गर्नुपर्ने काम मात्र म गर्छु, र मैले गर्नु नपर्ने काम म गर्दिनँ। जे भए तापनि, म तिमीहरूले अझ बढी आत्म-जाँच गर्छौ भन्ने आशा गर्छु: परमेश्‍वर सम्‍बन्धी तेरो कति ज्ञान वास्तवमा साँचो हो? के तँ परमेश्‍वरलाई फेरि क्रूसमा झुण्ड्याउने व्यक्ति होस्? यी मेरा अन्तिम वचनहरू हुन्: परमेश्‍वरलाई क्रूसमा झुण्ड्याउने व्यक्तिहरूलाई धिक्‍कार होस्।

अघिल्लो: सिद्ध पारिनेहरूका निम्ति दिइएका प्रतिज्ञाहरू

अर्को: परमेश्‍वरका अभिप्रायहरूअनुसार कसरी सेवा गर्ने

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्