परमेश्‍वरको कामको दर्शन (२)

अनुग्रहको युगमा पश्‍चात्तापको सुसमाचार प्रचार गरिएको थियो, अनि मानिसले विश्‍वास गर्‍यो भने उसले मुक्ति पाउँथ्यो। आज, मुक्तिको सट्टामा विजय र सिद्धताको कुरा मात्र गरिन्छ। एक व्यक्तिले विश्‍वास गर्दा उसको सम्पूर्ण परिवारले आशिष् पाउँछ वा एकपल्ट मुक्ति पाएपछि सधैँभरि मुक्ति पाइन्छ भनी कहीँ पनि भनिँदैन। आज यस्ता शब्दहरू कसैले बोल्दैन र त्यस्ता कुराहरू पुराना भएका छन्। त्यो बेला येशूको काम सारा मानवजातिलाई छुटकारा दिनु थियो। उहाँमा विश्‍वास गर्नेहरू सबैका पापहरू क्षमा गरिए। जबसम्म तैँले उहाँमा विश्‍वास गर्छस्, उहाँले तँलाई छुटकारा दिनुहुनेछ; यदि तँ उहाँमा विश्‍वास गर्थिस् भने तँ उप्रान्त पापको वसमा हुँदैनथिस्, तेरा पापहरू हटाइएका हुनेथिए। मुक्ति पाउनु र विश्‍वासद्वारा धर्मी ठहराइनुको अर्थ यही नै हो। तापनि विश्‍वास गर्नेहरूमा ती कुराहरू रहे, जुन विद्रोही र परमेश्‍वर विरोधी थिए, जसलाई बिस्तारै हटाउनु पर्थ्यो। मुक्तिको अर्थ येशूद्वारा पूर्ण रूपमा प्राप्त गरिएको थियो भन्‍ने होइन, तर मानिस अब पापको अधीनमा थिएन, उसका पापहरू क्षमा गरिएका थिए भन्‍ने हुन्थ्यो। तैँले विश्‍वास गर्दा तँ कहिल्यै पापको अधीनमा हुनेथिइनस्। त्यस बेला येशूले धेरै काम गर्नुभयो जुन उहाँका चेलाहरूले बुझ्‍दैनथिए, अनि उहाँले भन्नुभएका धेरै कुराहरू मानिसहरूले बुझ्‍दैनथिए। किनकि त्यस बेला उहाँले कुनै स्पष्टीकरण दिनुभएन। यसैले उहाँ जानुभएको धेरै वर्षपछि मत्तीले येशूको वंशावली बनाए, र अरूले पनि धेरै काम गरे, जुन मानिसको इच्छा थियो। येशू मानिसलाई सिद्ध बनाउन र प्राप्त गर्न होइन, तर एक चरणको काम गर्न आउनुभएको थियो: स्वर्गको राज्यको सुसमाचार ल्याउन र क्रूसीकरणको काम पूरा गर्न। अनि येशू क्रूसमा टाँगिनुभएपछि उहाँको काम पूर्ण रूपमा समाप्त भयो। तर अहिलेको चरणमा—विजयको काममा—अझ धेरै वचनहरू बोल्नुपर्छ, अझ धेरै काम गर्नुपर्छ र अझ धेरै प्रक्रियाहरू हुनुपर्छ। त्यसरी नै येशू र यहोवाको कामका रहस्यहरू पनि प्रकट गरिनुपर्छ, ताकि सबै मानिसहरूले आफ्नो विश्‍वासको समझ र स्पष्टता प्राप्त गर्न सकून्, किनकि आखिरी दिनहरूको काम यही नै हो, अनि आखिरी दिनहरू परमेश्‍वरको कामका अन्त्य हुन्, कामहरू समाप्त हुने समय हुन्। यो चरणको कामले तँलाई यहोवाका व्यवस्था र येशूले दिनुभएको छुटकाराबारे स्पष्ट पार्नेछ, अनि यो विशेष गरी तैँले परमेश्‍वरको छ हजार वर्षको व्यवस्थापन योजनाका सबै कामहरू बुझ्न सक् अनि यो छ हजार वर्षको व्यवस्थापन योजनाको अर्थ र सारको महत्त्वलाई बुझ्न सक्, अनि येशूले गर्नुभएका सबै काम र उहाँले बोल्नुभएका वचनहरूको उद्देश्य, अनि तेरो अन्धविश्‍वास र बाइबलप्रतिको भक्तिलाई समेत बुझ्न सक् भनेर हो। यी सबैले तँलाई सबै कुरा पूर्ण रूपमा बुझ्ने तुल्याउनेछ। तैँले येशूले गर्नुभएको काम र आज परमेश्‍वरले गर्नुभएको काम, दुवै बुझ्नेछस्; तैँले सत्य, जीवन र बाटो सबै बुझ्नेछस् र देख्‍नेछस्। येशूले गर्नुभएको कामको चरणमा उहाँ किन अन्तिम कार्य नगरी बिदा भएर जानुभयो? किनकि येशूको कामको चरण अन्तिम काम थिएन। उहाँलाई क्रूसमा टाँगिएपछि उहाँका वचनहरूको पनि अन्त्य भयो; उहाँको क्रूसीकरणपछि उहाँको काम पूर्ण रूपले समाप्त भयो। वर्तमान चरण भिन्नै छ: आखिरीसम्म वचन बोलिसकेपछि र परमेश्‍वरका सबै काम समाप्त भएपछि मात्र उहाँको काम पूरा भएको हुनेछ। येशूको कामको चरणमा, धेरै वटा वचनहरू नबोलिएकै अवस्थामा रहे वा जसलाई पूर्ण रूपमा व्यक्त गरिएन। तापनि उहाँले के भन्नुभयो र के भन्नुभएन भन्‍ने कुरा येशूले वास्ता गर्नुभएन, किनकि उहाँको सेवकाइ वचनको सेवकाइ थिएन, यसैले उहाँलाई क्रूसमा झुण्ड्याइएपछि उहाँ बिदा हुनुभयो। कामको त्यो चरण विशेष गरी क्रूसीकरणको निम्ति थियो, र त्यो वर्तमान चरणजस्तो थिएन। यो वर्तमान चरणको काम विशेष गरी पूरा गर्नु, स्पष्ट पार्नु अनि सबै कामलाई टुङ्गोमा पुर्याउनु हो। यदि वचनहरू अन्त्यसम्मै बोलिएन भने, यो कामलाई टुङ्गोमा पुऱ्याउने कुनै उपाय हुनेछैन, किनकि यो चरणको काममा वचनहरू प्रयोग गरेर सबै कामलाई समाप्तिमा पुऱ्याइनेछ र पूरा गरिनेछ। त्यो बेला, येशूले त्यस्ता धेरै काम गर्नुभयो जुन मानिसले बुझ्न सकेनन्। उहाँ चुपचाप बिदा हुनुभयो, अनि आज पनि धेरै मानिसहरू छन्, जसले उहाँको वचन बुझ्दैनन्, जसको बुझाइ गलत छ, तापनि तिनीहरू त्यो सही छ भनी विश्‍वास गर्छन्, अनि तिनीहरू गलत छन् भनी जान्दैनन्। अन्तिम चरणले परमेश्‍वरको कामलाई पूर्ण समाप्तिमा पुऱ्याउनेछ, र त्यसलाई निष्कर्ष प्रदान गर्नेछ। सबैले परमेश्‍वरको व्यवस्थापन योजनालाई बुझ्ने र जान्नेछन्। मानिसभित्र हुने धारणाहरू, उसका अभिप्रायहरू, उसको गलत र हास्यास्पद बुझाइ, यहोवा र येशूको कामको सम्बन्धमा उसका धारणाहरू, अन्यजातिहरूको विषयमा उसका दृष्टिकोणहरू र अन्य गलत सोच र गल्तीहरूलाई सुधारिनेछन्। अनि मानिसले जीवनका सबै सही मार्गहरू र परमेश्‍वरले गर्नुभएका सबै काम र सम्पूर्ण सत्यतालाई बुझ्नेछ। जब त्यस्तो हुन्छ, यो चरणको काम समाप्त हुनेछ। यहोवाको काम संसारको सृष्टि गर्नु थियो, त्यो सुरुआत थियो; कामको यो चरण कामको समाप्ति हो, अनि यो निष्कर्ष हो। सुरुमा, परमेश्‍वरको काम इस्राएलका चुनिएका मानिसहरूको माझमा गरिएको थियो, यो सबै ठाउँहरूमध्ये सबैभन्दा पवित्र स्थानमा नयाँ युगको शुभारम्भ थियो। कामको अन्तिम चरण संसारको न्याय गर्न र युगको अन्त्य गर्न सबै देशहरूमध्ये सबैभन्दा अशुद्ध देशमा गरिन्छ। पहिलो चरणमा, परमेश्‍वरको काम सबैभन्दा उज्यालो ठाउँमा गरिएको थियो, अनि अन्तिम चरण सबैभन्दा अन्धकार स्थानमा गरिन्छ, अनि यस अन्धकारलाई हटाइनेछ, ज्योति ल्याइनेछ र सबै मानिसहरूलाई जितिनेछ। जब यो सबैभन्दा अशुद्ध र अन्धकार ठाउँका मानिसहरूलाई जितिएको हुन्छ, अनि सारा जनसङ्ख्याले परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर्छन्, जो साँचो परमेश्‍वर हुनुहुन्छ, र हरेक व्यक्ति पूर्ण रूपमा विश्‍वस्त भएपछि त्यही तथ्यलाई सारा ब्रह्माण्डमा विजयको काम गर्नको निम्ति प्रयोग गरिनेछ। यो चरणको काम प्रतीकात्मक हुन्छ: यो युगको काम समाप्त भएपछि छ हजार वर्षको व्यवस्थापन काम पूर्ण रूपमा समाप्त हुनेछ। सबैभन्दा अन्धकार ठाउँमा रहेका सबै मानिसहरूलाई जितिसकेपछि, अरू ठाउँमा पनि यस्तै हुनेछ भन्‍नेमा कुनै शङ्का छैन। त्यसरी नै चीनमा गरिएको विजयको कामले मात्र अर्थपूर्ण प्रतीक बोक्दछ। चीनले अन्धकारका सबै शक्तिहरू सम्मिलित गर्दछ, अनि चीनका मानिसहरूले ती सबैको प्रतिनिधित्व गर्छन्, जो देहका, शैतानका र मासु र रगतका हुन्। ठूलो रातो अजिङ्गरद्वारा अति भ्रष्ट भएकाहरू, परमेश्‍वरको जोरदार विरोध गर्नेहरू, मानवता अति नै नीच र अशुद्ध भएकाहरू चीनका मानिसहरू नै हुन्, यसैले तिनीहरू सारा भ्रष्ट मानवजातिको मुख्य नमुना हुन्। यसको अर्थ अरू देशमा कुनै समस्याहरू छैनन् भन्‍ने होइन; मानिसका धारणाहरू सबै एकै प्रकारका हुन्छन्, अनि ती देशका मानिसहरू असल क्षमताका भए पनि यदि तिनीहरूले परमेश्‍वरलाई चिन्दैनन् भने तिनीहरूले पक्‍कै पनि उहाँको विरोध गरिरहेका हुन सक्छन्। किन यहूदीहरूले पनि परमेश्‍वरको विरोध गरे र उहाँलाई चुनौती दिए? किन फरिसीहरूले पनि उहाँको विरोध गरे? किन यहूदाले येशूलाई धोका दिए? त्यो बेला धेरै जना चेलाहरूले येशूलाई चिनेनन्। येशू क्रूसमा टाँगिनुभएपछि र फेरि जीवित हुनुभएपछि पनि किन मानिसहरूले अझै उहाँमा विश्‍वास गरेनन्? के मानिसको अनाज्ञाकारिता एकै प्रकारको छैन र? चीनका मानिसहरूलाई एउटा उदाहरण बनाइएको मात्र हो, अनि जब तिनीहरू जितिन्छन् तिनीहरू आदर्श र नमुनाहरू बन्‍नेछन्, र अरूका निम्ति उदाहरणका रूपमा काम गर्नेछन्। मैले किन सधैँ तिमीहरू मेरो व्यवस्थापन योजनाको एक सहायक हौ भनेर भनेको छु? चीनका मानिसहरूमा भ्रष्टता, अशुद्धता, अधार्मिकता, विरोध र विद्रोह सबैभन्दा पूर्ण रूपमा देखिएका छन् र ती विभिन्‍न स्वरूपमा प्रकट भएका छन्। एकातिर, तिनीहरू कम क्षमताका छन् भने अर्कोतिर तिनीहरूका जीवन र मानसिकता पछौटे छ, र तिनीहरूका आनीबानी, सामाजिक वातावरण, जन्मेको परिवार—सबै गरिब र सबैभन्दा पछौटे छन्। तिनीहरूको हैसियत पनि निकै तल्लो स्तरको छ। यो ठाउँको काम प्रतीकात्मक हो, अनि यो परीक्षण काम सम्पूर्ण रूपमा पूरा गरिएपछि, परमेश्‍वरले गर्नुहुने त्यसपछिको काम धेरै नै सहज हुनेछ। यदि यो चरणको काम पूरा गर्न सकियो भने त्यसपछिका कामहरू अवश्य नै अघि बढ्नेछन्। यो चरणको काम पूरा भएपछि, पूर्ण रूपमा ठूलो सफलता हासिल हुनेछ, अनि सारा ब्रह्माण्डभरि विजय गर्ने काम पूर्ण रूपमा समाप्त हुनेछ। वास्तवमा, तिमीहरूको माझमा काम सफल भएपछि, त्यो सारा ब्रह्माण्डभरि सफलता पाएको बराबर हुनेछ। मैले तिमीहरूलाई आदर्श र नमुनाको रूपमा काम गर्न लगाउनुको महत्त्व यही नै हो। विद्रोहीपन, विरोध, अशुद्धता, अधार्मिकता—यी सबै नै यी मानिसहरूमा पाइन्छ, अनि तिनीहरूमा मानवजातिका सारा विद्रोहीपनको प्रतिनिधित्व गरिएको छ। तिनीहरू साँच्‍चै केही त हुन्। यसैले तिनीहरूलाई विजयको नमुनाको रूपमा उच्‍च पारिएको छ, अनि तिनीहरूलाई जितिएपछि तिनीहरू स्वाभाविक रूपले नै अरूका निम्ति नमुना र आदर्शहरू बन्‍नेछन्। पहिलो चरण इस्राएलमा पूरा गर्नु जत्तिको प्रतीकात्मक अरू केही थिएन: सारा मानिसहरूमध्ये इस्राएलीहरू सबैभन्दा पवित्र अनि सबैभन्दा कम भ्रष्ट थिए, यसैले यो देशमा उदय भएको नयाँ युगको अत्यन्तै ठूलो महत्त्व थियो। यो भन्‍न सकिन्छ कि मानवजातिका पितापुर्खाहरू इस्राएलबाट आएका थिए, अनि इस्राएल परमेश्‍वरको कामको जन्म स्थान थियो। सुरुवातमा, यी मानिसहरू सबैभन्दा पवित्र थिए, अनि तिनीहरू सबैले यहोवाको आराधना गर्थे, अनि तिनीहरूमा गरिएको परमेश्‍वरको कामले सबैभन्दा ठूलो प्रतिफल ल्याउन सक्यो। सम्पूर्ण बाइबलले दुईवटा युगको काम उल्लेख गर्दछ: एउटा व्यवस्थाको युगको काम, र अर्को अनुग्रहको युगको काम थियो। पुरानो करारले यहोवाले इस्राएलीहरूको लागि बोल्नुभएका वचनहरू र इस्राएलमा उहाँले गर्नुभएको काम उल्लेख गर्छ; नयाँ करारले यहूदियामा येशूले गर्नुभएको काम उल्लेख गर्छ। तर बाइबलमा किन कुनै चिनियाँ नाउँ छैन? किनकि परमेश्‍वरको कामको पहिलो दुई भाग इस्राएलमा पूरा गरियो, किनकि इस्राएलीहरू चुनिएका मानिसहरू थिए—जसको अर्थ, यहोवाको कामलाई सुरुमा स्वीकार गर्ने तिनीहरू नै थिए भन्‍ने हो। तिनीहरू सारा मानवजातिमध्ये सबैभन्दा कम भ्रष्ट थिए, अनि सुरु-सुरुमा, तिनीहरू परमेश्‍वरलाई उच्‍च नजरले हेर्ने र उहाँको डर मान्ने हृदय भएका मानिसहरू थिए। तिनीहरूले यहोवाका वचनहरू पालन गर्थे, र सधैँ मन्दिरमा सेवा गर्थे, अनि पूजाहारीले लगाउने पोसाक वा मुकुटहरू लगाउँथे। परमेश्‍वरको आराधना गर्ने प्रथम मानिसहरू र उहाँको कामका पात्र बन्‍ने प्रथम मानिसहरू तिनीहरू नै थिए। ती मानिसहरू सारा मानवजातिका निम्ति आदर्श र नमुना थिए। तिनीहरू पवित्रता र धर्मी मानिसहरूका आदर्श र नमुना थिए। अय्यूब, अब्राहाम, लोत वा पत्रुस र तिमोथीजस्ता व्यक्तिहरू सबै इस्राएली नै थिए, र तिनीहरू सबैभन्दा पवित्र आदर्श र नमुना थिए। मानवजातिमा परमेश्‍वरको आराधना गर्ने सबैभन्दा पहिलो देश इस्राएल नै थियो, अनि अरू कुनै पनि ठाउँबाट भन्दा धेरै जना धर्मी मानिसहरू त्यहीँबाट आए। भविष्यमा आफूले भूमिभरिका मानवजाति सुव्यवस्थित गर्न सकूँ भनी परमेश्‍वरले तिनीहरूमा काम गर्नुभयो। अनुग्रहको युगमा तिनीहरूले इस्राएलदेखि बाहिरका मानिसहरूको लागि आदर्श र नमुनाहरूको रूपमा सेवा गर्न सकून् भनी तिनीहरूका उपलब्धिहरू र यहोवाको आराधनामा तिनीहरूले गरेका धर्मी कार्यहरूको विवरण राखियो; अनि तिनीहरूका कार्यहरूले आजको दिनसम्म धेरै हजार वर्षको काम थामेर राखेका छन्।

संसारको जग बसालिएपछि परमेश्‍वरको कामको पहिलो चरण इस्राएलमा गरियो, यसैले इस्राएल पृथ्वीमा परमेश्‍वरको कामको जन्म स्थान र पृथ्वीमा परमेश्‍वरको कामको आधार थियो। येशूको कामको क्षेत्रले सारा यहूदियालाई समेट्यो। उहाँको कामको अवधिमा यहूदियादेखि बाहिरका थोरै मानिसले मात्र त्यसबारेमा जान्दथे, किनकि उहाँले यहूदियाभन्दा बाहिर कुनै कार्य गर्नुभएन। आज परमेश्‍वरको काम चीनमा ल्याइएको छ, अनि यो पूर्ण रूपमा यही दायराभित्र मात्र गरिन्छ। यस चरणको अवधिमा, कुनै पनि काम चीनदेखि बाहिर सुरु गरिँदैन; यो चीनदेखि बाहिर फैलिने कार्य पछि हुने काम हो। यो चरणको काम येशूको कामको चरणबाट नै अगाडि बढ्छ। येशूले छुटकारा दिने काम गर्नुभयो, अनि यो चरणचाहिँ त्यही कामबाट अगाडि बढ्दछ; छुटकारा दिने काम पूरा भएको छ, र यो चरणमा पवित्र आत्माद्वारा गर्भधारण हुनुपर्ने आवश्यकता छैन, किनकि यो चरणको काम पहिलेको चरणको जस्तो होइन, अनि त्यसबाहेक, चीन इस्राएलजस्तो छैन। येशूले छुटकाराको कामको चरण पूरा गर्नुभयो। मानिसले येशूलाई देखे, अनि केही समयपछि नै उहाँको काम अन्यजातिहरूमा फैलिन थाल्यो। आज, अमेरिका, बेलायत र रसियामा परमेश्‍वरमाथि विश्‍वास गर्ने मानिसहरू धेरै छन्, त्यसो भए चीनमा चाहिँ विश्‍वास गर्नेहरूको सङ्ख्या किन थोरै छ त? किनकि चीन सबैभन्दा बन्द देश हो। यसैले चीन परमेश्‍वरको मार्गलाई स्वीकार गर्ने अन्तिम देश थियो, अहिले त्यसले परमेश्‍वरको मार्गलाई स्वीकार गरेको एक सय वर्ष पनि भएको छैन—अमेरिका र बेलायतभन्दा धेरै पछि मात्र यसले स्वीकार गरेको हो। परमेश्‍वरको काम समाप्त गर्न, अनि उहाँका सबै कामहरू पूरा गर्न उहाँको कामको अन्तिम चरण चीनमा गरिन्छ। इस्राएलका सबै मानिसहरूले यहोवालाई तिनीहरूका परमप्रभु भनी भने। त्यस बेला, तिनीहरूले उहाँलाई तिनीहरूका परिवारको प्रमुख मान्थे अनि सम्पूर्ण इस्राएल एउटा ठूलो परिवार बन्यो, जहाँ हरेकले तिनीहरूका परमप्रभु यहोवाको आराधना गर्थ्यो। यहोवाको आत्मा बारम्बार तिनीहरूकहाँ देखा पर्नुभयो, अनि उहाँले आफ्नो आवाज र वाणीहरूमा तिनीहरूसँग बोल्नुभयो, र तिनीहरूका जीवनलाई डोऱ्याउन बादलको खामो र आवाज प्रयोग गर्नुभयो। त्यस समय आत्माले आफ्‍नो आवाज र वाणीहरूमा मानिसहरूसँग बोल्दै इस्राएललाई आफ्‍नो अगुवाइ प्रत्यक्ष रूपमा प्रदान गर्नुभयो, अनि तिनीहरूले बादललाई हेर्थे र मेघगर्जनको आवाज सुन्थे, अनि यस तरिकाले उहाँले हजारौं वर्षसम्म तिनीहरूका जीवनलाई डोऱ्याउनुभयो। यसरी इस्राएलका मानिसहरूले मात्र सधैँ यहोवाको आराधना गरेका छन्। तिनीहरूले यहोवा तिनीहरूका परमेश्‍वर हुनुहुन्छ, र उहाँ अन्यजातिहरूका परमेश्‍वर हुनुहुन्‍न भनी विश्‍वास गर्थे। यो अचम्म मान्‍नुपर्ने विषय होइन: आखिर यहोवाले करिब चार हजार वर्षदेखि तिनीहरूका माझमा काम गर्नुभएको थियो। चीन देशमा, हजारौं वर्षको निष्क्रिय आलस्यपछि अहिले मात्र पतित मानिसहरूले स्वर्ग र पृथ्वी अनि सबै कुराहरू प्राकृतिक रूपमा बनेका नभई सृष्टिकर्ताले बनाउनुभएको हो भनी जान्‍न सकेका छन्। सुसमाचार विदेशबाट आएकोले ती सबै सामन्ती, प्रतिक्रियावादी सोच भएकाहरूले यो सुसमाचार ग्रहण गर्ने सबै विश्‍वासघाती हुन्, तिनीहरू सबै घृणित मानिसहरू हुन्, जसले तिनीहरूका पुर्खा बुद्धसँग विश्‍वासघात गरे भनी विश्‍वास गर्छन्। यसबाहेक, धेरै सामन्ती सोच भएकाहरूले सोध्छन्, “चिनियाँ मानिसहरूले विदेशीहरूको परमेश्‍वरमा कसरी विश्‍वास गर्न सक्छन्? के तिनीहरूले आफ्ना पितापुर्खाहरूसँग विश्‍वासघात गरिरहेका छैनन् र? के तिनीहरूले दुष्ट काम गरिरहेका छैनन् र?” आज, मानिसहरूले यहोवा तिनीहरूका परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा भुलेको धेरै भइसकेको छ। तिनीहरूले सृष्टिकर्तालाई तिनीहरूको मनमस्तिष्कको पछिल्तिर धकेलेको धेरै भइसकेको छ, बरु तिनीहरूले क्रमिक-विकासको सिद्धान्तमा, अर्थात् मानिस बाँदरबाट उत्पन्‍न भएको हो, अनि प्राकृतिक संसार स्वाभाविक रूपले बन्‍न आएको हो भनी विश्‍वास गर्छन्। मानवजातिले खाने सबै असल भोजनहरू प्रकृतिले जुटाएको हो, मानिसको जीवन र मृत्युको क्रम छ र यी सबैमाथि शासन गर्ने परमेश्‍वर छैन भनी तिनीहरू विश्‍वास गर्छन्। त्यसबाहेक, धेरै जना नास्तिकहरू छन्, जसले सबै कुरामाथि परमेश्‍वरले शासन गर्नुहुन्छ भनी विश्‍वास गर्नु अन्धविश्‍वास हो र यो वैज्ञानिक होइन भनी विश्‍वास गर्छन्। तर के विज्ञानले परमेश्‍वरको कामको स्थान लिन सक्छ? के विज्ञानले मानवजातिमाथि शासन गर्न सक्छ? नास्तिकहरूले शासन गरेको देशमा सुसमाचार प्रचार गर्नु सजिलो काम हुँदैन, र यसमा धेरै बाधाहरू हुन्छन्। आज, के यस्तो प्रकारले परमेश्‍वरको विरोध गर्ने धेरै छैनन् र?

जब येशू आफ्नो काम गर्न आउनुभयो, धेरै मानिसहरूले उहाँको कामलाई यहोवाको कामसँग तुलना गरे, अनि ती नमिलेको देखेर तिनीहरूले येशूलाई क्रूसमा झुण्ड्याए। तिनीहरूले उहाँहरूको काममा किन एकरूपता देखेनन्? किनकि येशूले गर्नुभएको काम केही हदसम्म नयाँ थियो, अनि येशूले आफ्नो काम सुरु गर्नुभन्दा अघि कसैले पनि उहाँको वंशावली लेखेको थिएन। यदि कसैले लेखेको भए राम्रो हुन्थ्यो, त्यसपछि त कसले पो येशूलाई क्रूसमा टाँग्‍नेथियो र? यदि मत्तीले दशकौं अघि नै येशूको वंशावली लेखेका भए येशूले त्यस्तो ठूलो सतावट सहनु पर्नेथिएन। होइन र? मानिसहरूले येशूको वंशावलीमा उहाँ अब्राहामका पुत्र र दाऊदको सन्तति हुनुहुन्छ भन्‍ने पढेपछि तिनीहरूले उहाँलाई सताउन छोड्नेथिए। उहाँको वंशावली धेरै ढिलो गरेर लेखिनु के दुःखद कुरा होइन र? अनि बाइबलले परमेश्‍वरको कामका दुई चरण मात्र उल्लेख गर्नु पनि दुःखद कुरा हो: एउटा चरण व्यवस्थाको युगको काम थियो र अर्को अनुग्रहको युगको काम थियो; एउटा चरण यहोवाको काम थियो, र अर्को येशूको काम थियो। यदि एक महान् अगमवक्ताले आजको कामको बारेमा अघिबाटै बताएका भए कति राम्रो हुनेथियो। बाइबलमा “आखिरी दिनहरूका काम” शीर्षकको अतिरिक्त खण्ड हुनेथियो—के त्यो अझ राम्रो हुने थिएन र? आज मानिसलाई किन त्यत्ति धेरै कठिनाइमा पार्नुपर्थ्यो र? तिमीहरूको समय धेरै कठिन भएको थियो। यदि कोही घृणा गरिने योग्यको छ भने तिनीहरू यशैया र दानिएल हुन्, किनकि उनीहरूले आखिरी दिनहरूका कामबारे बताएनन्, यदि कसैलाई दोष दिनुपर्छ भने तिनीहरू नयाँ करारका प्रेरितहरू हुन्, जसले परमेश्‍वरको दोस्रो देहधारणको वंशावली पहिले नै लेखेनन्। कति लाजमर्दो कुरा! तिमीहरूले सबैतिर प्रमाण खोज्नुपर्छ, र वचनहरूको स-साना खण्डहरू भेटेपछि पनि ती साँच्‍चै प्रमाण हुन्-होइनन् भनेर तिमीहरू भन्‍न सक्दैनौ। कस्तो लज्‍जास्पद! परमेश्‍वर उहाँको काममा किन त्यति गोपनीय हुनुहुन्छ? आज, धेरै मानिसहरूले निर्णायक सबुत प्राप्त गर्नु बाँकी नै छ, तापनि तिनीहरूले यसलाई इन्कार गर्न पनि सक्दैनन्। यसकारण तिनीहरूले के गर्नुपर्छ? तिनीहरू दृढ भएर परमेश्‍वरको पछि लाग्‍न सक्दैनन्, न त त्यस्तो शङ्कासित तिनीहरू अगि बढ्न नै सक्छन्। यसैले, परमेश्‍वरलाई पछ्याउने क्रममा “बुद्धिमान् र प्रतिभाशाली विद्वानहरू” ले “कोसिस गर्ने र हेर्ने” मनोवृति अपनाउँछन्। यो धेरै ठूलो समस्या हो! यदि मत्ती, मर्कूस, लूका र यूहन्नाले भविष्यको विषयमा बताउन सकेका भए के सबै कुरा धेरै सजिलो हुनेथिएन र? यदि यूहन्‍नाले परमेश्‍वरको राज्यको जीवनको भित्री सत्यता देखेका भए धेरै राम्रो हुनेथियो—कति दुःखको कुरा, तिनले दर्शनहरू मात्र देखे र पृथ्वीमा भएको वास्तविक, भौतिक काम देखेनन्। कस्तो लाजमर्दो कुरा! परमेश्‍वरमा के गलत छ? इस्राएलमा उहाँको काम राम्रोसँगले भए पनि उहाँ अहिले किन चीनमा आउनुभएको छ, अनि उहाँ किन मानिस बन्‍नुपऱ्यो, र किन व्यक्तिगत रूपले काम गर्दै मानिसहरूको माझमा बस्‍नुपऱ्यो? परमेश्‍वर मानिसप्रति अति विचारशून्य हुनुहुन्छ! उहाँले मानिसहरूलाई अघिबाटै नबताउनुभएको मात्र होइन, उहाँले त अचानक उहाँको सजाय र न्याय समेत ल्याउनुभयो। यसले वास्तवमा कुनै अर्थ दिँदैन! परमेश्‍वर पहिलोपल्ट देह बन्‍नुहुँदा उहाँले मानिसलाई अघिबाटै सबै भित्री सत्यता नबताउनुभएकोले गर्दा धेरै कष्ट भोग्‍नुपऱ्यो। निश्‍चय नै, त्यो उहाँले भुल्नुभएको छैन होला! अनि यसपटक पनि उहाँले किन मानिसलाई अझै यो कुरा भन्‍नुहुन्‍न? आज, कस्तो दुर्भाग्य, बाइबलमा छैसट्ठी वटा पुस्तक मात्र छन्। आखिरी दिनहरूका कामको भविष्यवाणी गर्ने अझै एउटा पुस्तक हुनु आवश्यक छ। के तँलाई यस्तो लाग्दैन र? यशैया, दाऊद अनि यहोवाले पनि आजको कामको बारेमा कुनै उल्लेख गर्नुभएन। ती वर्तमानबाट अझ पर हटाइए, चार हजार वर्षभन्दा बढी समयद्वारा अलग गरिए। न त येशूले पहिले नै आजको कामको बारेमा पूर्ण रूपले बताउनुभयो, त्यसबारेमा थोरै मात्र बोल्नुभयो, र पनि मानिसले अपर्याप्त प्रमाण मात्र भेट्छ। यदि तैँले आजको कामलाई पहिलेको कामसँग तुलना गरिस् भने ती दुई काम एकअर्कासँग कसरी मिल्‍न सक्छन्? यहोवाको कामको चरण इस्राएलतिर लक्षित थियो, यसैले यदि तैँले आजको कामलाई त्योसँग तुलना गरिस् भने अझ ठूलो बेमेल हुनेछ; ती दुईको तुलना गर्न नै सकिँदैन। न त तँ इस्राएलको होस्, न त तँ यहूदी नै होस्; तेरो क्षमता र तेरा सबै कुराहरूमा कमी छ—तिनीहरूको विरुद्ध तैँले आफैलाई कसरी तुलना गर्न सक्छस्? के यो सम्भव छ? यो जान् कि आज राज्यको युग हो, र यो व्यवस्थाको युग र अनुग्रहको युगभन्दा फरक छ। जे भए पनि, सूत्र प्रयोग गर्ने कोसिस नगर्; त्यस्ता कुनै पनि सूत्रमा परमेश्‍वरलाई पाउन सकिँदैन।

येशू उहाँको जन्मपछि २९ वर्षसम्म कसरी जिउनुभयो? बाइबलमा उहाँको बाल्यकाल र जवान अवस्थाको बारेमा केही पनि लेखिएको छैन; ती कस्ता थिए भनी के तँलाई थाहा छ? के उहाँको बाल्यकाल वा जवान अवस्था नै थिएन र उहाँ जन्मँदा नै तीस वर्षको हुनुहुन्थ्यो भन्‍ने हुन सक्छ? तँलाई अत्यन्तै थोरै मात्र थाहा छ, यसैले आफ्‍ना विचारहरू फैलाउन लापरवाही नगर्। त्यसले तेरो कुनै भलाइ गर्दैन! बाइबलमा यति मात्र लेखिएको छ कि येशूको ३०औं जन्म दिनअघि उहाँको बप्तिस्मा भएको थियो र शैतानको परीक्षा भोग्‍न उहाँ पवित्र आत्माद्वारा उजाड्-स्थानमा लगिनुभएको थियो। अनि चारवटा सुसमाचारका पुस्तकहरूले उहाँको साढे तीन वर्षको कामको मात्र वर्णन गर्छन्। उहाँको बाल्यकाल र जवान अवस्थाको कुनै विवरण छैन, तर यसले उहाँको बाल्यकाल र जवान अवस्था थिएन भन्‍ने प्रमाणित गर्दैन; यति मात्र हो कि उहाँले सुरुमा कुनै काम गर्नुभएन, र उहाँ एक सामान्य व्यक्ति हुनुहुन्थ्यो। त्यसो भए, येशू जवान अवस्था वा बाल्यकालविनै ३३ वर्ष जिउनुभयो भनेर भन्‍न सकिन्छ? के उहाँ अचानक साढे तेत्तीस वर्षको हुनुभयो भन्‍ने हुन सक्छ? मानिसले उहाँको बारेमा सोच्ने सबै कुरा अलौकिक र अवास्तविक छ। देहधारी परमेश्‍वरमा साधारण र सामान्य मानवता हुन्छ भन्‍ने कुरामा कुनै शङ्का छैन, तर जब उहाँले आफ्नो काम गर्नुहुन्छ तब त्यो सीधै उहाँको अपूर्ण मानवता र पूर्ण ईश्‍वरत्वद्वारा हुन्छ। यसैकारणले गर्दा मानिसहरूले आजको कामको बारेमा, अनि येशूको कामको बारेमा समेत शङ्का गर्छन्। परमेश्‍वर दुईचोटि देह बन्‍नुभएको समयका कामहरू फरकफरक भए पनि उहाँको सार फरक छैन। निश्‍चय नै, यदि तैँले चारवटा सुसमाचारका पुस्तकहरू पढिस् भने भिन्‍नताहरू ठूला छन्। येशूको जीवनको बाल्यकाल र जवान अवस्थामा तँ कसरी फर्कन सक्छस्? तैँले येशूको सामान्य मानवतालाई कसरी बुझ्न सक्छस्? सायद तँमा आजको परमेश्‍वरको मानवतासम्‍बन्धी बलियो ज्ञान छ, तापनि तैँले येशूको मानवतालाई बुझेको छैनस्, यसलाई राम्ररी जान्‍ने कुरा त परै जाओस्। यदि मत्तीले नलेखेका भए तैँले येशूको मानवताको बारेमा कुनै सङ्केत पाउने थिएनस्। सायद, मैले तँलाई येशूको जीवनका कथाहरू, र येशूको जीवनको बाल्यकाल र जवान अवस्थाका भित्री सत्यताहरू बताउँदा तैँले आफ्नो शिर हल्लाउँदै भन्‍नेछस्, “होइन, उहाँ त्यस्तो हुन सक्‍नुहुन्‍न। उहाँमा कुनै कमजोरी हुन सक्दैन, उहाँमा मानवता हुने त कुरै नगरौँ!” तँ सायद जोडले कराउने र चिच्याउने पनि छस्। तैँले येशूलाई बुझ्दैनस्, त्यसकारण मबारे पनि तँमा अनेक धारणाहरू छन्। तँ येशू अत्यन्तै ईश्‍वरीय हुनुहुन्छ, उहाँमा देहको केही पनि छैन भन्‍ने विश्‍वास गर्छस्। तर तथ्यहरू सधैँ तथ्यहरू नै हुन्छन्। कोही पनि तथ्यको सत्यताको विरुद्ध बोल्न चाहँदैन, किनकि जब म बोल्दछु, त्यो सत्यको विषयमा हुन्छ; त्यो अनुमान हुँदैन, न त त्यो अगमवाणी नै हुन्छ। यो जान् कि परमेश्‍वर उच्‍च स्थानहरूमा उक्लन सक्‍नुहुन्छ, र त्यसबाहेक उहाँ ठूलो गहिराइमा लुक्‍न सक्‍नुहुन्छ। उहाँ तैँले तेरो दिमागले सोच्‍न सक्‍ने किसिमको हुनुहुन्‍न, उहाँ सबै प्राणीहरूका परमेश्‍वर हुनुहुन्छ, कुनै व्यक्तिले सोचेको जस्तो व्यक्तिगत परमेश्‍वर हुनुहुन्‍न।

अघिल्लो: परमेश्‍वरको कामको दर्शन (१)

अर्को: परमेश्‍वरको कामको दर्शन (३)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्