अध्याय २४
मेरो सजाय सबै मानिसहरूमाथि आइपर्छ, तैपनि यो सबै मानिसहरूबाट टाढा पनि रहन्छ। हरेक व्यक्तिको सम्पूर्ण जीवन मप्रतिको प्रेम र घृणाले भरिएको हुन्छ, र कसैले पनि मलाई कहिल्यै चिनेको छैन—त्यसकारण मप्रतिको मानिसको मनोवृत्ति तातो र चिसो हुन्छ, र यो सामान्य बन्न सक्दैन। तैपनि मैले सधैँ मानिसको वास्ता र रक्षा गरेको छु, र उसको सुस्तताको कारणले गर्दा मात्र ऊ मेरा सबै कामहरू देख्न र मेरा उत्सुक अभिप्रायहरू बुझ्न असमर्थ छ। सबै राष्ट्रहरूका बीचमा नेतृत्व गर्ने एउटै म हुँ, र सबै मानिसहरूमाझ सर्वोच्च म नै हुँ; के मात्रै हो भने मानिसहरूले मलाई चिन्दैन। धेरै वर्षदेखि म मानिसको बीचमा जिएको छु र मानिसको संसारको जीवन अनुभव गरेको छु, तैपनि उसले मलाई सधैँ बेवास्ता गरेको छ र मलाई अन्तरिक्षबाहिरको प्राणीको रूपमा व्यवहार गरेको छ। परिणामस्वरूप, स्वभाव र भाषामा रहेका भिन्नताहरूको कारणले मानिसहरूले मलाई सडकमा भेट्ने बिरानो मानिसलाई जस्तो व्यवहार गर्छन्। मेरो वस्त्र पनि सायद सन्कीको जस्तो देखिन्छ, जसको कारण मानिससँग मकहाँ आउने आत्मविश्वासको कमी छ। अनि पो मैले मानिसको बीचमा जीवनको उजाड अवस्थाको अनुभूति गरिरहेको छु, अनि पो मैले मानिसको संसारको अन्यायलाई अनुभूति गरिरहेको छु। म यताउता हिँड्ने मानिसहरूका बीचमा तिनीहरूका अनुहार अवलोकन गर्दै हिँड्छु। यस्तो देखिन्छ मानौं तिनीहरू बिरामी भएर जिइरहेका छन्, तिनीहरूको अनुहारलाई उदासीले भर्ने बिरामका सात जिइरहेका छन्; र यस्तो देखिन्छ मानौं तिनीहरू सजायको बीचमा जिउँछन्, जसले तिनीहरूको रिहाइलाई रोक्छ। मानिसले आफैलाई बन्धनमा पार्छ, र विनम्रताको बहाना गर्छ। धेरैजसो मानिसहरू मैले प्रशंसा गर्छु भन्ने आशा गर्दै मेरो अघि झूटो छवि प्रस्तुत गर्छन्, र मेरो सहायता प्राप्त गर्न सकूँ भनेर धेरैजसो मानिसहरू जानी-जानी मेरो अघि दयनीय बनेर प्रस्तुत हुन्छन्। मेरो पिठ्यूँपछाडि, मानिसहरू सबैले जालझेल गर्छन् र मेरो अवज्ञा गर्छन्। के मैले ठीक भनिन र? के यो मानिसको जिउँदो रहने रणनीति होइन र? को कहिल्यै आफ्नो जीवनमा मेरो अनुरूप जिएको छ? कसले कहिल्यै अरूको बीचमा मेरो बढाइ गरेको छ? कसले कहिल्यै आत्माको अघि आफूलाई काबुमा राखेको छ? को कहिल्यै शैतानको अघि मेरो गवाहीमा दह्रिलो गरी खडा भएको छ? कसले कहिल्यै मप्रतिको तिनीहरूको “बफादारीता” मा विश्वसनीयता थपेको छ? को मेरो कारण कहिल्यै ठूलो रातो अजिङ्गरद्वारा निष्कासित भएको छ? मानिसहरू शैतानको समर्थनमा लागेका छन् र अहिले यससँगै दुष्कर्मको दलदलमा खेलिरहेका छन्; मेरो अवहेलना गर्ने कार्यमा तिनीहरू पोख्त बनेका छन्, तिनीहरू मेरो विरोध गर्ने कार्यका प्रतिपादकहरू हुन्, र तिनीहरू मसँग औपचारिकताको लागि मात्र व्यवहार गर्ने “अग्र पङ्क्तिका विद्यार्थीहरू” हुन्। आफ्नै नियतिको खातिर, मानिसले पृथ्वीमा यताउता खोजी गर्छ, र जब म उसलाई इसारा गर्छु, ऊ मेरो बहुमूल्यतालाई अनुभूति गर्न नसक्ने अवस्थामा नै रहन्छ, र अरूको निम्ति “बोझ” बन्न अनिच्छुक भएर आफैमाथिको निर्भरतामा उसले निरन्तर “विश्वास” गरिरहन्छ। मानिसका “महत्वाकांक्षाहरू” बहुमूल्य छन्, तैपनि कसैको आकांक्षाहरूले पूर्णाङ्क हासिल गरेका छैनन्: तिनीहरू सबै मेरो अघि चकनाचुर हुन्छन्, र विनाआवाज फ्यास्स ढल्छन्।
म हरेक दिन बोल्छु, र हरेक दिन म नयाँ कामहरू गर्छु। यदि मानिसले आफ्नो सबै सामर्थ्यलाई प्रयोग गर्दैन भने, उसलाई मेरो आवाज सुन्न कठिन हुनेछ, र उसलाई मेरो अनुहार हेर्न मुस्किल पर्नेछ। प्रियजन अत्यन्तै सकुशल हुन सक्नुहुन्छ, र उहाँको बोली-वचन सबैभन्दा भद्र हुन सक्छ, तर मानिसले सजिलै उहाँको महिमामयी अनुहारलाई हेर्न र उहाँको आवाजलाई सुन्न सक्दैन। युगौंयुगसम्म, कसैले पनि कहिल्यै सहज रूपमा मेरो अनुहारलाई देखेको छैन। एक पटक म पत्रुससँग बोलेको थिएँ र पावलकहाँ “देखा परेँ,” तर इस्राएलीहरू बाहेक अरू कसैले पनि मेरो अनुहारलाई साँचो रूपमा देखेको छैन। आज, म व्यक्तिगत रूपमा नै मानिसको बीचमा एकसाथ जिउन आएको छु। के यो तिमीहरूलाई लागि दुर्लभ र बहुमूल्य नलाग्ने हुन सक्छ? के तिमीहरूले आफ्नो समयलाई सबैभन्दा राम्ररी सदुपयोग गर्न चाहँदैनौ र? के तिमीहरूले यसलाई यसरी जान दिन चाहन्छौ? के समय घडीका सुईहरू मानिसहरूको मनमस्तिष्कमा अचानक रोकिन सक्छ? अथवा, के समय पछाडि फर्केर चल्न सक्छ? वा के मानिस अझै जवान बन्न सक्छ? के आजको आशिषित जीवन फेरि कहिल्यै आउन सक्छ? म मानिसलाई उसले “बरबाद” गरेको कुराको लागि उचित “इनाम” दिँदिन। म अरू सबै कुराबाट अलग भए मेरो कार्यमा नै लागिरहन्छु, र मानिस व्यस्त भयो भन्दैमा, वा उसको रुवाइ सुनेर म समयको बहावलाई रोक्दिनँ। हजारौं हजार वर्षसम्म, कसैले पनि मेरो सामर्थ्यलाई विभाजन गर्न सकेको छैन, र कसैले पनि मेरो मूल योजनालाई तलमाथि गर्न सकेको छैन। म अन्तरिक्षलाई नाघ्न सक्छु, र युगहरूमा फट्को मार्न सक्छु, अनि म मेरो सम्पूर्ण योजनाको मूल भागलाई सबै थोकमाथि र सबै थोकको बीचमा अघि बढाउन सक्छु। विशेष व्यवहार र “इनामहरू” को लागि तिनीहरूले आफ्ना मुख खोलेर प्रार्थना गरे पनि, तिनीहरूले आफ्ना हात पसारेर, अरू सबै कुरालाई बिर्सेर मलाई यी कुराहरू मागे पनि, मबाट एक जना व्यक्तिले पनि यस्तो विशेष व्यवहार वा मेरा हातका “इनामहरू” प्राप्त गर्न सकेको छैन। यी मानिसहरूमध्ये एक जनाले पनि मलाई हलचल गर्ने तुल्याएको छैन, र तिनीहरू सबैलाई मेरो “हृदय विहीन” आवाजले पछाडि ठेलेको छ। धेरैजसो मानिसहरूले अझै आफू “अत्यन्तै जवान” भएको विश्वास गर्छन्, त्यसकारण तिनीहरू मैले ठूलो कृपा देखाउँछु, दोस्रो पटक तिनीहरूप्रति करुणामय बन्छु भनेर मेरो प्रतीक्षा गर्छन्, अनि तिनीहरूले मलाई पछाडिको ढोकाबाट प्रवेश गर्न पाऊँ भनी अनुरोध गर्छन्। तैपनि म कसरी मेरो योजनालाई लापरवाही ढङ्गले हस्तक्षेप गर्न सक्छु र? के मानिस पृथ्वीमा थप केही वर्ष जिउन सकोस् भनेर उसको जवानीको लागि म पृथ्वीलाई घुम्नबाट रोक्न सक्छु र? मानिसको मष्तिष्क साँच्चै जटिल छ, तैपनि यसमा केही कुराहरूको कमी छ भन्ने देखिन्छ। परिणामस्वरूप, मानिसको मनमा मेरो कामलाई जानी-जानी बाधा दिने “सुन्दर तरिकाहरू” धेरै पटक देखा पर्छन्।
मैले धेरै पटक मानिसलाई उसका पापहरूबाट क्षमा दिएको र उसलाई उसको कमजोरीको कारण विशेष निगाह देखाएको भए पनि, मैले धेरै पटक उसको अज्ञानताको कारण उसँग उचित व्यवहार पनि गरेको छु। कुरा के मात्रै हो भने मानिसले मेरो दयाको कदर कसरी गर्ने भन्ने कहिल्यै जानेको छैन, यहाँसम्म कि ऊ उसको वर्तमान स्थितिमा डुबेको छ: ऊ धूलोले ढाकिएको, लुगाहरू झुत्रा परेको, कपाल बढेर दूबोले जस्तै सिरलाई ढाकेको, अनुहार फोहोरले भरिएको, खुट्टा फाटेको, आफैले बनाएको जुत्ता लगाएको, हातहरू मरेको चीलका नङ्ग्राहरू झैँ कमजोर भई झुण्डिरहेको अवस्थामा छ। जब म मेरो आँखा खोलेर हेर्छु, तब यस्तो देखिन्छ मानौं मानिस अतल कुण्डबाट भर्खरै उक्लेर बाहिर निस्केको छ। म नरिसाई बस्न सक्दिनँ: म मानिसप्रति सधैँ सहनशील भएको छु, तैपनि म कसरी मेरो पवित्र राज्यमा दियाबलसलाई त्यसको खुशीअनुसार आउन-जान दिन सक्छु र? म कसरी भिखारीलाई मेरो परिवारमा सित्तैँमा खान दिन सक्छु र? म कसरी मेरो परिवारमा अशुद्ध भूतलाई पाहुनाको रूपमा सहन सक्छु र? मानिस सधैँ “आफैप्रति कट्टर” र “अरूप्रति उदार” रहेको छ, तैपनि मप्रति ऊ कहिल्यै अलिकति पनि शिष्ट बनेको छैन, किनभने म त स्वर्गको परमेश्वर हुँ, त्यसकारण उसले मलाई फरक तरिकाले व्यवहार गर्छ, र मप्रति कहिल्यै पनि अलिकति समेत स्नेह दर्साएको छैन। मानौं मानिसका आँखाहरू विशेष रूपमा चतुर छन्: उसले मलाई भेट्टाउनेबित्तिकै, उसको अनुहारको स्वरूप तुरुन्तै परिवर्तन हुन्छ र उसको कठोर, भावहीन अनुहारमा उसले अलि बढी अभिव्यक्ति थप्छ। म मानिसलाई मप्रतिको उसको मनोवृत्तिको कारण उचित प्रतिबन्ध लगाउँदिन, तर ब्रह्माण्डदेखि माथिबाट आकाशहरूमा हेर्छु अनि पृथ्वीको मेरो कार्यलाई अघि बढाउँछु। मानिसका यादहरूमा, मैले कुनै व्यक्तिलाई कहिल्यै दया गरेको छैन, न त मैले कसैलाई कहिल्यै दुर्व्यवहार गरेको छु। मानिसले आफ्नो हृदयमा मेरो लागि “रित्तो आसन” नछोड्ने हुनाले, जब म मेरो होसियारीपनलाई पन्छ्याएर ऊभित्र बस्छु, तब उसले मलाई कुनै आदर नगरी जबरजस्ती बाहिर निकाल्छ, त्यसपछि उसमा अत्यन्तै धेरै कुराको कमी भएको र मेरो आनन्दको लागि आफूलाई समर्पित गर्न ऊ असक्षम रहेको भन्दै चिप्लो घस्दै र चापलुसी गर्दै बहाना बनाउँछ। उसले बोल्ने क्रममा, उसको अनुहारलाई बारम्बार “कालो बादलले ढाक्छ” मानौं मानिसको बीचमा कुनै पनि बेला विपत्ति आइपर्न सक्छ। तैपनि आइपर्ने खतराको बारेमा कुनै विचार नै नगरी उसले अझै पनि मलाई जान अनुरोध गर्छ। मैले मानिसलाई मेरा वचनहरू र मेरो अङ्गालोको न्यानोपन दिए पनि, उसँग कुनै सुन्ने अङ्ग छैन जस्तो देखिन्छ, त्यसकारण उसले मेरो आवाजमा अलिकति पनि ध्यान दिँदैन, बरु आफ्नो शिर समात्दै ऊ तुरुन्तै निस्केर गइहाल्छ। अलिक निराश अनुभूति गर्दै, अनि अलिक क्रोधित पनि हुँदै म मानिसबाट बिदा हुन्छु। यसबीच, मानिस तुरुन्तै विशाल तुफान र शक्तिशाली छालहरूको आक्रमणमा परी हराउँछ। त्यसपछि तुरुन्तै, उसले मलाई पुकार्छ, तर उसले कसरी बतास र छालको गतिविधिलाई प्रभाव पार्न सक्छ र? क्रमिक रूपमा, मानिसका सबै नाम-निशाना मेटिन्छ, र अन्त्यमा उसलाई कहीँ-कतै भेटिँदैन।
युगहरूभन्दा पहिले, मैले ब्रह्माण्डभन्दा माथिबाट सबै भूमिहरूलाई हेर्थें। मैले पृथ्वीमा ठूलो काम गर्ने योजना बनाएँ: मेरो आफ्नै हृदयअनुसारको मानवजातिको सृष्टि गर्ने, र स्वर्गमा जस्तै पृथ्वीमा पनि एउटा राज्य निर्माण गर्ने, अनि मेरो शक्तिले आकाश भर्ने अनि मेरो बुद्धिलाई सम्पूर्ण ब्रह्माण्डमा फैलाउने। त्यसकारण आज, हजारौं वर्षपछि, म मेरो योजनालाई जारी राख्दै छु। तैपनि, पृथ्वीमा कसैले पनि मेरो योजना वा व्यवस्थापनलाई जान्दैन, तिनीहरूले पृथ्वीमा मेरो राज्य देख्ने कुरा त परै जाओस्। यसरी, मानिसले छायालाई पछ्याउँछ, र स्वर्गका मेरा आशिष्हरू लागि “शान्त मूल्य” चुकाउने चाहना गर्दै मलाई मूर्ख बनाउने प्रयास गर्न मेरो अघि आउँछ। परिणामस्वरूप, उसले मेरो क्रोध जगाउँछ र म ऊमाथि न्याय बर्सााउँछु, तर ऊ अझै बिउँझिँदैन। मानौं उसले आफ्नै सम्भावनाहरूको खोजी बाहेक अरू कार्य नगर्ने क्रममा भूमिभन्दा माथि के छ भन्ने बारेमा पूर्ण अनजान हुँदै उसले भूमिगत रूपमा काम गरिरहेको छ। सबै मानिसहरूका बीचमा, मेरो चम्किरहेको ज्योतिमुनि जिउने कसैलाई मैले कहिल्यै देखेको छैन। तिनीहरू अन्धकारको संसारमा जिउँछन्, र तिनीहरूलाई अँध्यारोमा बस्ने बानी परिसकेको देखिन्छ। जब ज्योति आउँछ, तिनीहरू टाढै बस्छन्, र मानौं ज्योतिले तिनीहरूको कार्यमा बाधा दिएको छ; परिणामस्वरूप, तिनीहरू अलिक झर्को मानेको देखिन्छ, मानौं ज्योतिले तिनीहरूका सबै शान्ति भङ्ग गरिदिएको छ र तिनीहरूलाई राम्ररी सुत्न नसक्ने अवस्थामा पुर्याएको छ। परिणामस्वरूप, ज्योतिलाई लखेट्न मानिसले आफ्नो सारा शक्ति बटुल्छ। ज्योतिमा पनि चेतनाको कमी छ जस्तो देखिन्छ, त्यसकारण यसले मानिसलाई उसको निद्राबाट बिउँझाउँछ, अनि जब मानिस बिउँझन्छ, उसले आफ्ना आँखाहरू बन्द गर्छ, र रीसले चूर बन्छ। ऊ मबाट अलिक बेखुसी हुन्छ, तैपनि मलाई यसको हद थाहा हुन्छ। सबै मानिसहरूलाई ज्योतिमा जिउन लगाउँदै म ज्योतिको तीव्रतालाई क्रमिक रूपमा बढाउँछु, र यसरी चाँडै नै तिनीहरूलाई ज्योतिमा उठबस गर्ने बानी परिसकेको हुन्छ, यसको साथै सबैले ज्योतिलाई बहुमूल्य ठान्न थालिसकेका हुन्छन्। यस बेला, मेरो राज्य मानिसको बीचमा आएको हुन्छ, सबै मानिसहरू आनन्दले नाच्छन् र उत्सव मनाउँछन्, पृथ्वी अचानक हर्षोल्लासले भरिन्छ, र ज्योतिको आगमनद्वारा हजारौं वर्षको मौनता तोडिन्छ …
मार्च २६, १९९२