अध्याय ३१
मैले मानिसहरूका हृदयमा कहिल्यै स्थान पाएको छैन। जब म साँच्चै मानिसहरूलाई खोज्छु, तिनीहरूले आफ्ना आँखाहरू चिम्म गरी बन्द गर्छन् र मेरा कार्यहरूलाई बेवास्ता गर्छन्, मानौं, मैले गर्ने सबै काम तिनीहरूलाई खुसी पार्ने कोसिस हो, जसको फलस्वरूप मेरो कामहरूद्वारा तिनीहरूमा सधैँ घृणा उत्पन्न हुन्छ। यस्तो लाग्छ, कि ममा कुनै आत्म-जागरूकता छैन, मानौं म सधैँ मानिसको सामु आफ्नो फुर्ती देखाइरहेको छु, त्यसो गरेर तिनीहरूलाई रिस उठाउँदैछु, जो “इमानदार र धर्मी” छन्। तापनि म त्यस्ता प्रतिकूल परिस्थितिहरूमा पनि सहन्छु, र म आफ्नो काम जारी राख्छु। यसैले, म भन्छु कि मैले मानव अनुभवको मीठो, अमिलो, तीतो र चर्को स्वादहरू चाखेको छु, र म बतासमा आउँछु र वर्षासँगै जान्छु; म भन्छु, कि मैले परिवारको सतावट भोगेको छु, जीवनका उतारचढाउ अनुभव गरेको छु, र शरीरबाट अलग हुनुको पीडा पनि अनुभव गरेको छु। तापनि, जब म पृथ्वीमा आएँ, मैले तिनीहरूका लागि भोगेको कष्टको कारण मलाई स्वागत गर्नुको सट्टा मानिसहरूले “विनम्रतासाथ” मेरा असल अभिप्रायहरूलाई अस्वीकार गरे। म कसरी यसबाट पीडित हुन सक्दिनँ? म कसरी दु:खी हुन सक्दिनँ? के म यो यस्तै प्रकारले अन्त्य होस् भनेर मात्रै म देह बनेको हुँ? मानिसले मलाई किन प्रेम गर्दैनन्? किन मेरो प्रेमको बदलीमा मानिसको घृणा दिइएको छ? के मैले यस्तै प्रकारले दुःख भोग्नु पर्छ भन्ने हुनसक्छ? पृथ्वीमा मेरो कठिनाइको कारण मानिसहरूले सहानुभूतिका आँसु बगाएका छन् र मानिसहरूले मेरो दुर्भाग्यको अन्यायको विरोध गरेका छन्। तापनि कसले मेरो हृदयलाई साँच्चै जानेको छ? कसले मेरा भावनाहरूलाई बुझ्न सक्छ? कुनै बेला मानिसमा मप्रति गहिरो स्नेह थियो र कुनै बेला उसले आफ्ना सपनाहरूमा बारम्बार मेरो चाहना गर्थ्यो—तर पृथ्वीका मानिसहरूले स्वर्गको मेरो इच्छालाई कसरी बुझ्न सक्थे र? मानिसहरूले कुनै बेला मेरो पीडाको भावना महसुस गरेका भए पनि, मसँगै कष्ट भोग्ने व्यक्तिहरूको रूपमा मेरा कष्टहरूप्रति कहिल्यै कसैले सहानुभूति दिएको छ? के पृथ्वीका मानिसहरूको विवेकले मेरो दु:खी हृदयलाई उत्प्रेरित गर्न र परिवर्तन गर्न सक्छ? के पृथ्वीका मानिसहरू आफ्ना हृदयभित्रका अव्यक्त कठिनाइ मलाई बताउन असमर्थ छन्? आत्माहरू र पवित्र आत्मा एक-अर्कामा निर्भर छन्, तर देहका बाधाहरूका कारण मानिसको दिमागले “नियन्त्रण गुमाएको” छ। मैले एक पटक मानिसहरूलाई मेरो सामु आउन स्मरण गराएँ, तर मेरा बोलावटहरूले मानिसहरूलाई मैले भनेको कुरा पूरा गर्ने बनाएन; तिनीहरू केवल आँसुले भरिएका आँखाहरूले आकाशमा हेरे मानौं तिनीहरूले अवर्णनीय कठिनाइ भोगिरहेका छन्, मानौं तिनीहरूको बाटोमा केही उभिरहेको छ। यसैले तिनीहरूले आफ्ना हातहरू समाते र स्वर्गमुनि मसँग प्रार्थना गर्दै निहुरिए। म कृपालु भएकोले, म मानिसहरूको माझमा मेरा आशिषहरू दिन्छु, र आँखाको एक झिमिकमा, मानिसको माझमा मेरो व्यक्तिगत आगमनको क्षण आउँछ—तैपनि मानिसले स्वर्गसँग गरेको आफ्नो शपथ लामो समयदेखि भुलेको छ। के मानिसको अनाज्ञाकारिता यही नै होइन र? किन मानिस सधैँ “बिर्सने रोग” बाट ग्रस्त हुन्छ? के मैले उसलाई छुरी हानेको छु? के मैले उसको शरीरमा प्रहार गरेर उसलाई ढालेको छु? म मानिसलाई मेरो हृदयभित्रका भावनाहरू बताउँछु; किन ऊ सधैँ मबाट टाढा हुन्छ? यस्तो लाग्छ, कि मानिसहरूले तिनीहरूका स्मरणशक्तिहरूमा केही कुरा गुमाएका छन् र त्यसलाई कहीँ पनि भेट्टाइँदैन, तर यो यस्तो पनि छ मानौं तिनीहरूका स्मरणहरू गलत छन्। यसैले गर्दा, मानिसहरूले आफ्नो जीवनमा सधैँ बिर्सने बानीको समस्या भोग्छन्, र सारा मानवजातिको जीवनका दिनहरू लथालिङ्ग छन्। तैपनि यसको समाधान गर्न कसैले केही पनि गर्दैन; मानिसहरू एकले अर्कोलाई कुल्चनु र हत्या गर्नुबाहेक अरू केही गर्दैनन्, जसले गर्दा आज विनाशकारी हार भएको छ र ब्रह्माण्डमा भएका सबै थोकहरूलाई फोहोर पानी र दलदलमा डुबाएको छ, जहाँ मुक्तिको कुनै मौका छैन।
जब म सबै मानिसहरूको माझमा आइपुगें, त्यो त्यही क्षण थियो जब मानिसहरू मप्रति बफादार भएका थिए। यस पटक, ठूलो रातो अजिङ्गरले पनि त्यसका हत्या गर्ने हातहरू मानिसहरूमाथि राख्न थालेको छ। मैले “निमन्त्रणा” स्वीकार गरें, अनि मानवजातिले मलाई दिएको “निमन्त्रणा पत्र” बोकेर म मानिसको माझमा “भोजको टेबलमा” बस्न आएँ। जब मानिसहरूले मलाई देखे, तिनीहरूले मलाई कुनै ध्यान दिएनन्, किनकि मैले आफैलाई भव्य वस्त्रहरूले सिँगारेको थिइनँ र मानिससँग टेबलमा बस्नका लागि मेरो “परिचय-पत्र” मात्र ल्याएको थिएँ। मेरो अनुहारमा कुनै महँगो श्रृंगार थिएन, मेरो शिरमा कुनै मुकुट थिएन, र मैले आफ्नो खुट्टामा घरमा बनाइएको साधारण जुत्ता लगाएको थिएँ। मेरो मुखमा लिपस्टिक नभएको कुराले मानिसहरूलाई सबैभन्दा व्याकुल बनायो। यसबाहेक, मैले विनम्र शब्दहरू बोलिनँ, र मेरो जिब्रो तत्पर लेखकको कलम थिएन; यसको सट्टामा, मेरो प्रत्येक शब्दले मानिसको भित्री हृदयलाई छेड्यो, जसले मेरो मुख सम्बन्धी मानिसहरूको “अनुकूल” छविलाई थप प्रभाव थपेको छ। माथि भनिएको स्वरूप नै मानिसहरूले मसँग “विशेष व्यवहार” गर्नका लागि पर्याप्त थियो, यसैले तिनीहरूले मसँग संसारको कुनै ज्ञान नभएको, र कुनै बुद्धि नभएको साधारण गाउँको पाखे व्यक्तिको रूपमा व्यवहार गरे। तापनि जब सबैलाई “पैसाका उपहारहरू” हस्तान्तरण गरियो, त्यस बेला पनि मानिसहरूले मलाई प्रतिष्ठित ठानेनन्, तर कुनै सम्मानविना, तिनीहरूका कुर्कुच्चो घिसार्दै र झनक्क रिसाउँदै मेरो सामु आए। जब मेरो हात अगि बढ्यो, तिनीहरू तुरुन्तै चकित भए, र तिनीहरूले घुँडा टेके, र ठूलो आवाज निकालेर कराए। तिनीहरूले मेरा सबै “पैसाका उपहारहरू” सङ्कलन गरे। रकम ठूलो भएकोले, तिनीहरूले तुरुन्त मलाई एक करोडपति ठाने र मेरो सहमतिविना नै मेरो शरीरबाट फाटेका कपडाहरू च्याते, र तिनका सट्टामा नयाँ कपडाहरू लगाइदिए—तैपनि यसले मलाई खुसी बनाएन। म त्यस्तो सहज जीवनसित अभ्यस्त नभएकोले र मैले यो “प्रथम श्रेणी” को व्यवहारलाई तुच्छ ठानेकोले, म पवित्र घरमा जन्मेकोले, अनि, यो भन्न सकिन्छ, कि मेरो जन्म “गरिबी” मा भएकोले, मलाई सेवकहरू सहितको विलासिताको जीवनमा जिउने बानी परेको थिएन। म यति मात्र चाहन्छु कि मानिसहरूले मेरो हृदयका भावनाहरू बुझ्न सकून्, मेरो मुखबाट निस्कने असजिला सत्यताहरूलाई स्वीकार गर्न तिनीहरूले थोरै कठिनाइहरू सहन सकून्। मैले कहिल्यै पनि सिद्धान्तको कुरा गर्न नसकेकोले, समाजमा मानिससित संलग्न हुनका लागि आफैलाई संचालन गर्ने गोप्य तरिकाहरू प्रयोग गर्न पनि सक्षम नभएकोले, अनि मैले मानिसहरूको अनुहार वा तिनीहरूका मनोविज्ञानअनुसार मेरा कुराहरू अनुकूल बनाउन नसक्ने भएकोले, मानिसहरूले सधैँ मलाई घृणा गरेका छन्, म अन्तरक्रिया गर्न अयोग्य छु भनी विश्वास गरेका छन्, र मसँग धारिलो जिब्रो छ र म सधैँ मानिसहरूलाई चोट पुर्याउँछु भनेका छन्। तापनि, मसँग कुनै विकल्प छैन: मैले एक पटक मानिसको मनोविज्ञान “अध्ययन” गरें, एकचोटि मैले मानिसको जीवन दर्शनको “अनुकरण गरें”, र एकचोटि मानिसको भाषा सिक्न “भाषाको कलेज” मा गएँ, यसैले कि म मानिसहरू जसरी बातचित गर्छन् त्यसमा म निपुण हुन सकूँ, अनि तिनीहरूको अनुहार सुहाउँदो बोल्नु सकूँ—तर मैले धेरै मेहनत गरे पनि, र धेरै “विशेषज्ञहरू” लाई भेटे पनि, त्यो सब व्यर्थ भए। ममा कहिल्यै मानवताको केही कुरा रहेको छैन। यी सबै वर्षहरूमा, मेरा सारा प्रयासहरूले अलिकति पनि प्रभाव उत्पन्न गरेको छैन, र मैले मानिसको भाषामा कहिल्यै थोरै पनि क्षमता प्राप्त गरेको छैनँ। यसैले “कडा परिश्रमले फल ल्याउँछ” भन्ने मानिसको कुरा मबाट “फर्किएको” छ, फलस्वरूप यी पृथ्वीमा यी शब्दहरू समाप्त हुन्छन्। मानिसहरूले थाहै नपाई, त्यस्ता उक्तिहरू समर्थन गर्न नसकिने छन् भनेर पर्याप्त रूपमा प्रमाणित गरी त्यसलाई परमेश्वरले स्वर्गबाट अस्वीकार गर्नुभएको छ। यसैले म मानिससँग क्षमा माग्छु, तर गर्नुपर्ने केही छैन—म यति “मूर्ख” भएकोले मैले पाउने त्यही हो। म मानिसको भाषा सिक्न, जीवन दर्शनमा दक्ष हुन, मानिसहरूसित घुलमेल गर्न असमर्थ छु। म मानिसहरूलाई केवल धैर्यवान् हुने, तिनीहरूका हृदयको क्रोधलाई दबाउने, मेरो कारण तिनीहरू आफैलाई चोट नपुऱ्याउने सल्लाह मात्र दिन्छु। कसले हामीलाई एक-अर्कासँग अन्तरक्रिया गर्ने बनायो? कसले हामीलाई यस क्षणमा भेट्ने बनायो? कसले हामीलाई उस्तै आदर्शहरू बाँड्ने बनायो?
मेरो स्वभाव मेरा सबै वचनहरूमा व्याप्त छ, तापनि मानिसहरू मेरा वचनहरूमा त्यसलाई बुझ्न असमर्थ छन्। मैले भनेका कुरालाई तिनीहरूले नचाहिँदो छानबिन मात्र गर्छन्—त्यसो गर्नुको के काम? के मेरो बारेमा तिनीहरूको धारणाले तिनीहरूलाई सिद्ध बनाउँछ? के पृथ्वीमा भएका थोकहरूले मेरो इच्छालाई पूरा गर्न सक्छन्? म मानिसहरूलाई मेरा वचनहरू कसरी बोल्ने सो सिकाउने कोसिस गरिरहन्छु, तर यस्तो लाग्छ, कि मानिस बोल्न सक्दैन, र ऊ कहिल्यै पनि मैले चाहेको जस्तो प्रकारले मेरा वचनहरू बोल्न सक्ने भएको छैन। मैले उसलाई आमने-सामने सिकाएँ, तापनि उसले कहिल्यै सिक्न सकेको छैन। त्यसपछि मात्र मैले नयाँ कुरा पत्ता लगाएँ: पृथ्वीका मानिसहरूले कसरी स्वर्गका वचनहरू बोल्न सक्थे? के यसले प्रकृतिको नियम उल्लङ्घन गर्दैन र? तर, मप्रति मानिसहरूको जोस र जिज्ञासाको कारण, मैले मानिसमा कामको अर्को भाग सुरु गरें। मैले मानिसलाई उसका अभावहरूको कारण कहिल्यै लज्जित तुल्याएको छैनँ, बरु उसको अभावको आधारमा उसको निम्ति प्रबन्ध गरेको छु। यसले गर्दा मात्र मानिसहरूमा मेरो केही अनुकूल प्रभाव छ, र म यो मौकालाई एकचोटि फेरि मानिसहरूलाई भेला गर्नका निम्ति प्रयोग गर्दछु, यसैले कि तिनीहरूले मेरो सम्पत्तिहरूको अर्को भाग उपभोग गर्न सकून्। यस क्षणमा, मानिसहरू आकाशमा रङ्गीबिरङ्गी बादलहरूमा बग्दै फेरि एकचोटि खुसी, प्रसन्नता र हाँसोमा डुब्छन्। म मानिसको हृदय खोल्छु, र मानिसले तुरुन्तै नयाँ शक्ति पाउँछ, र ऊ मबाट फेरि-फेरि लुक्न चाहँदैन, किनकि उसले महको मीठो स्वाद चाखेको छ, र त्यसैले उसले साट्नका लागि आफ्नो सबै मूल्यहीन वस्तुहरू बाहिर निकाल्छ—मानौं, म फोहोर संग्रह गर्ने स्थान वा फोहोर फाल्ने ठाउँ बनेको छु। यसैले, टाँसिएको “विज्ञापनहरू” देखेपछि, मानिसहरू मेरो सामु आउँछन् र उत्सुकतासाथ भाग लिन्छन्, किनकि तिनीहरूले केही “निशानीहरू” प्राप्त गर्न सकिन्छ कि भनी सोचेका हुन्छन्, त्यसैले मैले सुरु गरेका कार्यक्रमहरूमा भाग लिन तिनीहरू सबैले मलाई “पत्रहरू” पठाउँछन्। यस समयमा तिनीहरू घाटा होला कि भनी डराउँदैनन्, किनकि यी गतिविधिहरूमा संलग्न “पूँजी” ठूलो छैन, त्यसकारण तिनीहरूले सहभागी हुने जोखिम उठाउने हिम्मत गर्छन्। यदि सहभागी हुँदा निशानीहरू प्राप्त नहुने भए मानिसहरू मैदान छोडेर जानेथिए र तिनीहरूको पैसा फिर्ता माग्नेथिए, र तिनीहरू मैले तिनीहरूलाई तिर्नुपर्ने “ब्याज” को पनि हिसाब गर्छन्। आजको जीवनस्तर वृद्धि भएकोले “समृद्धिको सामान्य स्तर” मा पुग्नको लागि, र “आधुनिकीकरण” प्राप्त गर्नको लागि, ग्रामीण क्षेत्रमा काम मिलाउन “वरिष्ठ अधिकारी” सँग व्यक्तिगत रूपमा जाने कार्यले गर्दा, मानिसहरूको विश्वास तुरुन्त धेरै गुणा बढेको छ—र तिनीहरूको “शारीरिक क्षमता” झन्-झन् राम्रो हुँदै गइरहेकोले तिनीहरूले मलाई आदरका साथ हेर्छन्, र मेरो विश्वास प्राप्त गर्न मसँग संलग्न हुन इच्छुक हुन्छन्।
अप्रिल ११, १९९२