अध्याय १३

मेरा वचन र वाणीहरूमा मेरा धेरै आशयहरू लुकेका हुन्छन्, तर मानिसहरूले यी कुराहरू जान्दैनन् र बुझ्दैनन्; उनीहरूले मेरा वचनहरूलाई बाह्य रूपमै ग्रहण गर्ने र बाह्य रूपमै अनुसरण गर्ने गरिरहन्‍छन्, र उनीहरूले मेरो हृदयलाई बुझ्न वा मेरा वचनहरूबाट मेरो इच्‍छाको अन्तर्ज्ञान लिन सक्‍दैनन्। मैले मेरा शब्दहरू स्पष्ट पारे पनि, तिनलाई बुझ्ने को छ र? म सियोन सहरबाट मानव जगतमा आएँ। मैले सामान्य मानवता र मानव छाला धारण गरेको हुनाले मानिसहरूले मेरो बाह्य रूप मात्रै चिन्छन्—तर उनीहरूले मभित्र रहेको जीवन चिन्दैनन्, न त उनीहरूले आत्मामा हुनुहुने परमेश्‍वरलाई नै चिन्छन्, उनीहरूले त केवल देहमा भएको मानिसलाई मात्र चिन्छन्। के व्यावहारिक परमेश्‍वर स्वयम्‌ उहाँलाई बुझ्ने तिमीहरूको प्रयासको पनि लायक हुन सक्‍नुहुन्‍न र? के व्यावहारिक परमेश्‍वर स्वयम्‌ उहाँलाई “विश्‍लेषण गर्ने” तिमीहरूको प्रयासको पनि लायक हुन सक्‍नुहुन्‍न र? म समग्र मानवजातिको भ्रष्टतालाई घृणा गर्छु, तर मलाई उनीहरूको कमजोरीप्रति करुणा लाग्छ। मैले समग्र मानवजातिको पुरानो प्रकृतिको पनि निराकरण गरिरहेको छु। चीनमा रहेका मेरा मानिसहरूका रूपमा, के तिमीहरू मानव जगतको पनि एक हिस्सा हौ, होइन र? मेरा सबै मानिसहरूमाझ र मेरा सबै सन्तानका माझ, मतलब, मैले सम्पूर्ण मानवजातिबाट छानेका व्यक्तिहरूमाझ, तिमीहरू सबैभन्दा तल्लो समूहमा छौ। यसकारण, मैले तिमीहरूको लागि सबैभन्दा बढी तागत खर्चिरहेको छु, सबैभन्दा बढी प्रयत्‍न गरिरहेको छु। के अझै पनि तिमीहरूलाई आफूले आज खुशीसाथ बाँचिरहेको आशिषित जीवन प्यारो लाग्दैन? के तिमीहरू अझै पनि मविरुद्ध विद्रोह गर्न र आफ्नै षड्यन्त्रहरू अघि सार्नका लागि हृदय कठोर पार्दै छौ? मेरो निरन्तर कृपा र प्रेम नभएको भएदेखि धेरै पहिले नै सम्पूर्ण मानवजाति शैतानको बन्धनमा फस्‍ने र त्यसको मुखमा “स्वादिष्ठ गाँस” बन्‍नेथ्यो। आज, सबै मानिसहरूमाझ, मेरो लागि साँच्‍चिकै जीवन खर्चने र मलाई साँच्‍चिकै माया गर्ने व्यक्तिहरू एकदमै कम र औँलामा गन्‍न सकिने मात्र छन्। आज, के “मेरा मानिसहरू” भन्‍ने पदवी-नाम तिमीहरूको व्यक्तिगत सम्पत्ति हुन सक्छ? के तेरो विवेक हिउँझैं चिसो भएको छ? के तँ मलाई चाहिने मानिसहरू बन्‍न साँच्‍चिकै लायक छस्? विगतलाई सोची हेर र फेरि आजलाई हेर—तिमीहरूमध्ये कसले मेरो हृदयलाई सन्तुष्ट पारेको छ? तिमीहरूमध्ये कसले मेरा आशयहरूको वास्तविक ख्याल गरेको छ? मैले तिमीहरूलाई नझकझकाएको भए, तिमीहरू अझै बिउँझनेथिएनौ, बरु जमेजस्तै गरी र अझै शीतनिद्रामा भएजस्तै गरी रहिरहनेथियौ।

अशान्त छालहरूमाझ, मानिसहरूले मेरो क्रोध देख्छन्; काला बादलहरूको मडारिँदो लहरमा मानिसहरू स्तब्ध र भयभीत हुनेछन्, र मेघगर्जन र वर्षाले बगाइलाने डर लागेझैँ कहाँ भागिजाने भनी थाहै पाउनेछैनन्। त्यसपछि, चक्रीय हिमपात अन्यत्र उडिगएपछि उनीहरूको मनस्थिति सहज र हल्का बन्छ र उनीहरू प्रकृतिको सुन्दर दृश्यमा रमाउन थाल्छन्। तर त्यस्ता क्षणहरूमा, उनीहरूमध्ये कसले चाहिँ मानवताप्रति ममा भएको असीम प्रेम अनुभव गरेको छ? उनीहरूको हृदयमा मेरो चित्र मात्र छ, तर मेरो आत्माको सारतत्व नै छैन: के मानिसहरूले मलाई खुला रूपमा विरोध गरिरहेका छैनन् र? जब तुफान आई शान्त हुन्छ, सबै मानवजाति नवीकरण भएझैँ लाग्छ; सङ्कष्टपछि शोधन भएजस्तै गरी, उनीहरूले पुनः ज्योति र जीवन पाएझैँ लाग्छ। मैले गरेका प्रहारहरू सहेपछि, के तिमीहरूले पनि आजको दिनसम्म आइपुग्‍ने सौभाग्य प्राप्त गरेनौ र? तर जब आज बित्छ र भोलि आउँछ, के तिमीहरूले मुसलधारे झरीपछिको शुद्धता कायम राख्‍न सक्छौ? के तिमीहरूले आफ्नो शोधनपछिको भक्तिलाई कायम राख्‍न सक्छौ? के तिमीहरूले आजको आज्ञापालनलाई कायम राख्‍न सक्छौ? के तिमीहरूको भक्ति दृढ र अपरिवर्तनीय रहन सक्छ? के यो मापदण्ड मानिसहरूले पूरा गर्न सक्‍ने क्षमताभन्दा बाहिरको कुरा हो? म हरेक दिन मानवजातिमाझ बस्छु, मानवजातिसँगै सहकार्य गर्छु, उनीहरूमाझै हुन्छु, तर यो कुरा हालसम्म कसैले पनि देखेको छैन। मेरो आत्माको मार्गनिर्देशन नभएको भए, समग्र मानवजातिमा कोचाहिँ आजको युगसम्म अझै बाँचेको हुन्थ्यो र? मैले म मानिसहरूको माझमा बस्छु र कार्य गर्छु भनिरहँदा, के मैले बढाइचढाइ गरिरहेको छु त? विगतमा, “मैले मानवजातिको सृजना गरेँ र सम्पूर्ण मानवजगतलाई मार्गनिर्देशन गरेँ, र सम्पूर्ण मानवजगतलाई नै काबूमा राखेँ” भनेर मैले भनेँ, के यस्तै भएको होइन र? के यी कुराहरूसम्बन्धी तिमीहरूको अनुभव अपर्याप्त रहेको हुन सक्छ? केवल एउटै वाक्य “सेवा-कर्ता” लाई स्पष्ट पार्नको लागि तिमीहरूको पूरा जीवन लाग्‍छ। वास्तविक अनुभवबिना मानवले मलाई कहिल्यै बुझ्न सक्‍नेछैन—उनीहरूले मेरा वचनहरूको माध्यमबाट मलाई कहिल्यै बुझ्न सक्‍नेछैनन्। तैपनि, आज म तिमीहरूको माझमा व्यक्तिगत रूपमा आएको छु—के यो तिमीहरूको बुझाइको लागि थप लाभदायी हुनेछैन र? के मेरो देहधारण तिमीहरूको मुक्ति पनि होइन र? यदि म आफ्नै व्यक्तिगत रूपमा मानव जगतमा नआएको भए, सम्पूर्ण मानवजाति धेरै वर्ष पहिले नै गलत धारणाहरूले भरिन्थ्यो, जुन आफैमा शैतानको काबूमा हुनु हो, किनकि यस्तो बेला तैँले जे कुरामा विश्‍वास गर्छस् त्यो केवल शैतानको आकृति मात्र हुन्छ र परमेश्‍वर स्वयम्‌सँग भने यसको कुनै सम्बन्ध हुँदैन। के यो मेरो मुक्ति होइन र?

जब शैतान मेरो अगाडि आउँछ, म यसको प्रचण्ड भयङ्करतासँग डराएर पछि हट्नेछैन, न त म यसको बीभत्स रूपदेखि नै डराउनेछु। म त यसलाई केवल बेवास्ता गर्नेछु। जब शैतानले मलाई प्रलोभनमा पार्न खोज्छ, म यसको छलकपटको साँचो रूप उदाङ्गो पारिदिन्छु, जसले गर्दा त्यो लाज र अपमानले पछि हट्न बाध्य हुन्छ। जब शैतानले मसँग लडाइँ गरेर मेरा चुनिएका मानिसहरूलाई खोसेर लैजान खोज्‍छ, म आफ्नो देहमा त्यसविरुद्ध युद्ध सुरु गर्छु; र मेरा मानिसहरू सहजै नलडून् वा नहराऊन् भनेर म आफ्नो देहमै तिनीहरूलाई सहारा प्रदान गर्छु र उनीहरूलाई अगुवाइ गर्दै उनीहरूको हरेक कदममा नेतृत्व प्रदान गर्छु। अनि जब शैतान पराजित भई फर्कन्छ, तब मैले मेरा मानिसहरूबाट महिमा प्राप्त गरेको हुनेछु, र मेरा मानिसहरूले मलाई सुन्दर र शानदार साक्षी दिनेछन्। यसर्थ, म मेरो व्यवस्थापनको योजनामा असर पुर्‍याउनेहरूलाई समातेर सदासदाको लागि अतल कुण्डमा फालिदिन्छु। यो मेरो योजना हो; यो मेरो कार्य हो। तेरो जीवनमा, एक दिन यस्तो समय आउन सक्छ, जुन बेला तैँले पनि त्यस्तै परिस्थितिको सामना गर्नेछस्: के तैँले जानीजानी आफूले आफैलाई शैतानको बन्धनमा फस्‍न दिन्छस्, वा तँलाई प्राप्त गर्न मलाई अनुमति दिन्छस्? यो तेरो आफ्नै नयति हो र तैँले यसलाई ध्यानपूर्वक विचार गर्नुपर्छ।

राज्यमा भएको जीवन भनेको मानिसहरू र परमेश्‍वर स्वयम्‌को जीवन हो। सबै मानवजाति मेरो हेरचाह र संरक्षणअन्तर्गत पर्छन् र सबै जना ठूलो रातो अजिङ्गरसँग मृत्यु हुञ्‍जेलसम्मै लड्नुपर्ने युद्धमा संलग्‍न छन्। यो अन्तिम युद्धमा विजयी हुनको लागि, ठूलो रातो अजिङ्गरलाई सिध्याउनको लागि, सबै मानिसहरूले आफ्नो सम्पूर्ण अस्तित्वलाई मेरो राज्यमा मलाई अर्पण गर्नुपर्छ। यहाँ कुरा गरिएको “राज्य” भन्‍नाले ईश्‍वरीयताको प्रत्यक्ष शासनअन्तर्गत बाँचिएको जीवन हो, जहाँ म सम्पूर्ण मानवजगतको गोठालो हुँ र जहाँ मानिसहरूले प्रत्यक्ष रूपमा मेरो तालिम स्वीकार गर्छन् ताकि उनीहरूलाई आफू पृथ्वीमै हुँदा पनि आफ्नो जीवन स्वर्गमै भएझैँ अनुभूति होस् अर्थात् तेस्रो स्वर्गमा भएको जीवनको वास्तविक आभास होस्। म मेरो देहमा भए पनि, मैले देहको सीमाहरू सहन गर्नुपर्दैन। मानिसको प्रार्थना सुन्‍नको लागि म धेरैपल्ट मानिसहरूमाझ आएको छु, र मानिसहरूसँग सँगै हिँडेर उनीहरूले गरेको प्रशंसा सुनी आनन्द लिएको छु; मानिसहरूलाई मेरो अस्तित्वको बारेमा कहिल्यै थाहा नभएको भए तापनि, म अझै पनि आफ्नो काम यसरी नै गर्छु। मेरो वासस्थानमा, जुन त्यो स्थान हो जहाँ म लुकेको छु—जे भए तापनि, मेरो वासस्थानमा मैले मेरा सबै दुस्मनहरूलाई पराजित गरेको छु; मेरो वासस्थानमा मैले पृथ्वीमा बाँच्‍नुको वास्तविक अनुभव प्राप्त गरेको छु; मेरो वासस्थानमा, मैले मानिसका हरेक शब्द र कार्य अवलोकन गरिरहेको छु, र सम्पूर्ण मानवजगतलाई नियाल्ने र सञ्‍चालन गर्ने कार्य गरिरहेको छु। यदि मानवजातिले मेरा आशयहरूको ख्याल गरेर मेरो हृदयलाई सन्तुष्टि र मलाई खुशी प्रदान गर्छ भने म सम्पूर्ण मानवजातिलाई आशीर्वाद प्रदान गर्नेथेँ। के मानवजातिको लागि मैले चाहेको यही होइन र?

मानवजाति कोमामा रहेको हुनाले, मेरा मेघगर्जनका आवाजहरूले मात्र उनीहरूलाई सपनाबाट ब्यूँताउँछ। अनि, जब उनीहरूले आफ्ना आँखाहरू खोल्छन्, कठोर प्रकाशका यी विस्फोटहरूले उनीहरूको आँखामा यसरी चोट लाग्छ कि उनीहरूले दिशाबोध गर्न सक्दैनन् र उनीहरूले आफू कहाँबाट आएको अनि कहाँ जाँदै गरेको हो भन्‍ने कुरा थाहा पाउन सक्दैनन्। धेरैजसो मानिसहरूलाई लेजरजस्तो किरणहरूले हिर्काउँछ र उनीहरू तुफानमा थुप्रोका थुप्रोजस्तो गरी ढल्छन् र उनीहरूको शरीरलाई जलप्रवाहले कुनै नामनिसान बाँकी नराखी बगाएर लैजान्छ। बाँच्नेहरूले प्रकाशको ज्योतिमा अन्ततः मेरो अनुहार स्पष्टसँग देख्‍न सक्छन् र त्यसपछि मात्र उनीहरूले मेरो बाह्य रूपको बारेमा केही ज्ञान प्राप्त गर्छन्, यस्तो ज्ञान जसको कारण उनीहरूले मेरो अनुहारमा सोझै हेर्ने आँट गर्न सक्दैनन्; मैले उनीहरूको देहमा थप सजाय र श्रापहरू प्रदान गर्छु कि भनेर उनीहरू औधी नै डराउँछन्। असंख्य मानिसहरू चिच्याउँछन् र डाँको छाडेर रुन्छन्; कैयौँ मानिसहरू हताश हुन्छन्; कैयौँले आफ्नो रगतको खोलो बगाउँछन्; कैयौँ लासहरू बन्छन् र लक्ष्यहीन रूपमा यता र उता तैरिरहन्छन्; कैयौँले प्रकाशको ज्योतिमा आफ्नो स्थान देख्छन् र अचानक मुटुभित्र च्वास्स दुखेको महसुस गर्छन् र वर्षौंदेखिको आफ्नो बेखुशीको कारण आँशु झार्छन्। प्रकाशको ज्योतिले बाध्य पारेपछि असंख्य मानिसहरूले आफ्नो अपवित्रताको स्वीकारोक्ति गर्छन् र आफू सुध्रिने बाचा गर्छन्। अन्धो भएका कैयौँ मानिसहरूले जीवन बाँच्‍नुको आनन्द नै गुमाइसकेका हुन्छन् र फलस्वरूप उनीहरूले प्रकाशको ज्योतिको बारेमा कुनै वास्ता पनि गर्दैनन्, र यसरी उनीहरू निरन्तर रूपमा निष्क्रिय रहन्छन् र आफ्नो अन्त्य कुरी बस्छन्। अनि, कैयौँ मानिसहरूले आफ्ना जीवन-डुङ्गाको पाल उठाउँदै छन् र प्रकाशको ज्योतिको मार्गनिर्देशनमा उत्साहपूर्वक रूपमा भोलिको प्रतीक्षा गर्दै छन्। … आज, मानवजातिमा कोचाहिँ यस्तो अवस्थामा बाँचेका छैनन् र? को मेरो प्रकाशको ज्योतिभित्र बाँचेको छैन र? तिमीहरू बलिष्ठ नै भए पनि, वा तिमीहरू कमजोर नै भए पनि, मेरो ज्योतिको आगमनलाई तिमीहरूले कसरी छल्न सक्छौ र?

मार्च १०, १९९२

अघिल्लो: अध्याय १२

अर्को: अध्याय १४

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्