अध्याय १०
आखिर, राज्यको युग विगतका समयहरूभन्दा फरक छ। मानवजातिले कस्तो व्यवहार गर्छन्, त्यससँग यसले सरोकार राख्दैन; बरु, म मेरो काम गर्नको लागि व्यक्तिगत रूपमै पृथ्वीमा ओर्लेको छु, जुन कुरा न त मानवजातिले बुझ्न सक्छन् न त पूरा गर्न नै सक्छन्। धेरै वर्षसम्म, संसारको सृष्टि भएदेखि नै, मण्डली निर्माण गर्नेबारे मात्रै काम सम्बन्धित रहेको छ, तर राज्य निर्माण गर्नेबारे कसैले कहिल्यै सुन्दैन। मैले आफ्नै मुखले यो बोले पनि, यसको सारलाई बुझ्ने कोही छ? एक पटक म मानव संसारमा ओर्लिएँ र तिनीहरूको कष्ट अनुभव गरेँ र अवलोकन गरेँ, तर मेरो देहधारणको उद्देश्यलाई पूरा नगरिकन त्यसो गरेँ। राज्यको निर्माण सुरु भएपछि, मेरो देहधारी शरीरले आफ्नो सेवकाइलाई औपचारिक रूपमा सुरु गर्यो; अर्थात् राज्यका राजाले आफ्नो सार्वभौम शक्तिलाई औपचारिक रूपमा लिनुभयो। यसबाट के कुरा स्पष्ट हुन्छ भने, मानव संसारमा राज्यको अवतरण—जुन वास्तविक प्रकटीकरणमा मात्रै सीमित थिएन—एउटा खास वास्तविकता हो; यो “अभ्यासको वास्तविकता” को अर्थको एउटा पक्ष हो। मानवले मेरा कार्यहरूमध्ये एउटा पनि देखेको छैन, न त तिनीहरूले मेरा वाणीहरूमध्ये एउटा नै सुनेका छन्। तिनीहरूले मेरा कार्यहरू देखे भने पनि के पत्ता लगाउनेथिए र? अनि तिनीहरूले म बोलेको सुनेका भए पनि के बुझ्नेथिए र? संसारभरि, सबै मेरो कृपा र दयाभित्र अस्तित्वमा छन्, तर सारा मानवजाति मेरो न्यायमा पर्छन्, त्यसरी नै तिनीहरूले मेरा परीक्षाहरूको सामना गर्छन्। मानिसहरू निश्चित हदसम्म भ्रष्ट भएका अवस्थामा पनि, म तिनीहरूप्रति कृपालु र प्रेमिलो भएको छु; तिनीहरू सबै मेरो सिंहासनको सामने समर्पित हुँदा पनि, मैले तिनीहरूलाई सजाय दिएको छु। तैपनि, के मैले पठाएको कष्ट र शोधनमा नपर्ने कुनै मानव छ? धेरै मानिस ज्योतिको लागि अन्धकारमा छामछुम गरिरहेका छन्, र धेरै आफ्ना परीक्षाहरूमा तीतो सङ्घर्ष गरिरहेका छन्। अय्यूबसँग विश्वास थियो, तर के तिनले उम्कने बाटो खोजिरहेका थिएनन् र? परीक्षाहरूको सामने मेरा मानिसहरू दह्रिलो गरी खडा हुन सक्ने भए पनि, त्यसलाई उच्चारण नगरिकन भित्र अन्तस्करणमा विश्वास गर्ने कोही छ? के बरु हृदयमा शङ्काहरू पालेर मानिसहरूले आफ्नो विश्वासको आवाज निकाल्दैनन् र? परीक्षामा दह्रिलो गरी खडा हुने वा परीक्षा गरिँदा सच्चा रूपमा समर्पित हुने कुनै मानवजाति छैनन्। यदि मैले यो संसारलाई नहेरूँ भनेर आफ्नो अनुहार छोपिनँ भने, सारा मानवजाति मेरो ज्वलन्त हेराइमा गिर्नेथिए, किनभने म मानवजातिलाई केही पनि माग्दिनँ।
जब राज्यप्रतिको सलामी गुञ्जन्छ—जुन सात गर्जनहरू गर्जिने समय पनि हो—यो आवाजले स्वर्ग र पृथ्वीलाई थर्काउँदै आकाशलाई हल्लाउँछ र हरेक मानवजातिको मुटु धड्कने तुल्याउँछ। मैले त्यो राष्ट्रलाई नष्ट गरेको छु र आफ्नो राज्य स्थापना गरेको छु भन्ने प्रमाणित गर्दै राज्यको राष्ट्रियगान ठूलो रातो अजिङ्गरको भूमिमा विधिवत् रूपमा गुन्जयमान हुन्छ। अझै महत्त्वपूर्ण कुरा के छ भने, पृथ्वीमा मेरो राज्य स्थापना हुन्छ। त्यस क्षणमा, म मेरा स्वर्गदूतहरूलाई संसारका हरेक राष्ट्रमा पठाउन सुरु गर्छु ताकि तिनीहरूले मेरा पुत्रहरूलाई, मेरा मानिसहरूलाई गोठाला गरून्; यो मेरो कामको अर्को चरणका मागहरू पूरा गर्नको लागि पनि हो। तैपनि, व्यक्तिगत रूपमा म त्यो ठाउँमा जानेछु जहाँ ठूलो रातो अजिङ्गर गुँडुलो परेर बसिरहेको छ, अनि त्यससँग प्रतिस्पर्धा गर्छु। सारा मानवजातिले मलाई मेरो शरीरमा चिनेपछि र शरीरमा मेरा कार्यहरूलाई देख्न तिनीहरू सक्षम भइसकेपछि, ठूलो रातो अजिङ्गरको अखडालाई खरानीमा परिणत गरिनेछ र त्यसलाई नामनिसाना नछोडीकन मेटाइनेछ। मेरो राज्यका मानिसहरूका रूपमा तिमीहरूले मनैदेखि ठूलो रातो अजिङ्गरलाई घृणा गर्छौ, त्यसो हुनाले तिमीहरूले आफ्ना कार्यहरूद्वारा मेरो हृदयलाई सन्तुष्ट पार्नैपर्छ, र यसरी तिमीहरूले अजिङ्गरलाई सरममा पार्छौ। के तिमीहरू ठूलो रातो अजिङ्गर घृणित छ भन्ने साँच्चै अनुभूति गर्छौ? के तिमीहरूले त्यो, राज्यको राजाको शत्रु हो भन्ने साँच्चै अनुभव गर्छौ? के तिमीहरूले मेरो लागि सुन्दर गवाही दिन सक्छौ भन्ने तिमीहरूमा साँच्चै विश्वास छ? के तिमीहरूले ठूलो रातो अजिङ्गरलाई जित्न सक्छौ भन्ने कुरामा तिमीहरू साँच्चै निश्चित छौ? तिमीहरूलाई मैले माग्ने कुरा यही हो; मलाई चाहिने एउटै कुरा भनेको तिमीहरू यस चरणमा पुग्न सक भन्ने हो। के तिमीहरूले यसो गर्न सक्नेछौ? के यो हासिल गर्न सक्छौ भन्ने तिमीहरूमा विश्वास छ? मानव वास्तवमा के गर्न सक्षम छन्? के बरु म आफैले गर्नुपर्ने होइन र? युद्धमा संलग्न हुने स्थानमा नै म व्यक्तिगत रूपमा ओर्लन्छु भनेर म किन भन्छु? मलाई तिमीहरूको विश्वास चाहिन्छ, तिमीहरूको काम होइन। मानवजाति मेरा वचनहरूलाई सोझो रूपमा बुझ्न सबै असमर्थ छन्, बरु तिनीहरू तिनलाई छड्के नजरले मात्रै हेर्छन्। के यसले तिमीहरूका उद्देश्यहरू पूरा गर्न सहयोग गरेको छ? के तिमीहरूले यसरी मलाई चिन्न पुगेका छौ? इमानदारीपूर्वक भन्नुपर्दा, पृथ्वीका मानवमध्ये मलाई मेरो अनुहारमा सिधा नजरले हेर्न सक्ने क्षमता भएको एक जना पनि छैन, र मेरा वचनहरूको शुद्ध र विशुद्ध अर्थलाई बुझ्न सक्ने क्षमता भएको एक जना पनि छैन। त्यसकारण, मैले मेरा लक्ष्यहरूलाई पूरा गर्न र मानिसहरूका हृदयमा मेरो आफ्नो साँचो स्वरूप स्थापना गर्न, पृथ्वीमा मैले अभूतपूर्व परियोजनालाई अघि बढाएको छु। यसरी, मानिसहरूमाथि धारणाहरूले शक्ति चलाउने युगलाई म अन्त्य गर्नेछु।
आज, म ठूलो रातो अजिङ्गरको देशमा ओर्लिरहेको मात्रै छैनँ, तर सारा आकाशलाई हल्लाउँदै म सम्पूर्ण ब्रह्माण्डको रूपलाई पनि परिवर्तन गर्दैछु। के मेरो न्यायको सामना नगर्ने कहीँ त्यस्तो कुनै ठाउँ छ? के मैले वर्षाउने विपत्तिहरूबाट बच्ने कुनै ठाउँ छ? म जहाँ-जहाँ जान्छु, मैले “विपत्तिका अनेक बीउहरू” छरेको छु। मैले काम गर्ने एउटा तरिका यही हो, र यो मानवजातिको मुक्तिको कार्य हो भन्ने कुरामा कुनै शङ्का छैन, अनि मैले तिनीहरूलाई दिने कुरा भनेको एक प्रकारको प्रेम नै हो। अझै धेरै मानिसलाई मलाई चिन्ने र देख्न सक्ने तुल्याउने मेरो इच्छा छ, अनि, यसरी, तिनीहरूले धेरै वर्षसम्म देख्न नसकेका तर जो व्यावहारिक तवरमा अहिले हुनुहुन्छ, तिनीहरू उहाँ परमेश्वरको डर मान्न पुग्छन्। के कारणले मैले संसारको सृष्टि गरेँ? मानव भ्रष्ट भएर पनि, मैले किन तिनीहरूलाई पूर्ण रूपमा सर्वनाश गरिनँ? के कारणले गर्दा सारा मानवजाति विपत्तिहरूको बीचमा जिउँछन्? देह धारण गर्नुमा मेरो उद्देश्य के थियो? जब म मेरो काम गरिरहेको हुन्छु, मानवजातिले तीतो चाख्न मात्र होइन, तर मीठो पनि चाख्न सिक्छ। संसारका सारा मानिसमध्ये कोचाहिँ मेरो अनुग्रहभित्र जिउँदैन र? यदि मैले मानवजातिलाई भौतिक आशिष्हरू प्रदान नगरेको भए, संसारमा कोचाहिँ सम्पन्न हुन सक्थ्यो र? के तिमीहरूलाई मेरा प्रजाका रूपमा स्थान लिन दिनु आशिष हो? तिमीहरू मेरा प्रजा नभएर सेवाकर्ता भएको भए, के तिमीहरू मेरा आशिषहरूभित्र अस्तित्वमा रहिरहेका हुने थिएनौ र? मेरा वचनका उत्पत्तिलाई बुझ्न सक्ने तिमीहरूमध्ये एक जना पनि छैन। मानवता—मैले तिनीहरूलाई प्रदान गरेको पदवी नामहरूलाई बहुमूल्य ठान्नु त कता हो कता, तिनीहरूमध्ये धेरैले आफ्नो हृदयमा “सेवा गर्ने” पदवी नामको कारण द्वेष राख्छन्, र धेरैले आफ्नो हृदयमा “मेरा मानिसहरू” भन्ने पदवी नामको कारण मेरो लागि प्रेम पैदा गर्छन्। कसैले पनि मलाई मूर्ख बनाउने प्रयास गर्नुहुँदैन; मेरा आँखाहरू सर्वदर्शी छन्! तिमीहरूमध्ये कसले तत्परतासाथ ग्रहण गर्छौ, तिमीहरूमध्ये को पूर्ण रूपमा समर्पित हुन्छौ? यदि राज्यको सलामी नगुञ्जेको भए, के तिमीहरू साँच्चै अन्त्यसम्मै समर्पित हुनेथियौ र? मानव जे गर्न र विचार गर्न सक्षम छन्, अनि तिनीहरू जति हदसम्म जान सक्छन्—यी सबै कुरालाई मैले धेरै पहिले नै अघिबाटै पूर्वनिर्धारित गरिसकेको छु।
मेरो मुहारको प्रकाशमा मेरो ज्वलनलाई अधिकांश मानिसले स्वीकार गर्छन्। मेरो प्रोत्साहनले अधिकांश मानिस जुर्मुराउँछन् र पछ्याइमा अघि बढ्छन्। जब शैतानका शक्तिहरूले मेरा मानिसहरूलाई आक्रमण गर्छन्, तब म तिनीहरूलाई रोक्न त्यहीँ हुन्छु; जब शैतानका षडयन्त्रहरूले तिनीहरूको जीवनलाई तहसनहस पार्छन्, म त्यसलाई लुरुक्क पारेर भगाउँछु, र त्यो गएपछि कहिल्यै फर्कँदैन। पृथ्वीमा अनेक किसिमका दुष्ट आत्माहरू सधैँ नै विश्राम-स्थलको खोजीमा हुन्छन्; तिनीहरू सधैँ आफूले निल्न सक्ने लाशहरू खोजिरहेका हुन्छन्। मेरा मानिसहरू हो! तिमीहरू मेरो हेरचाह र सुरक्षाभित्र नै रहनुपर्छ। कहिल्यै विशृङ्खल नहोऊ! कहिल्यै बेपरवाह व्यवहार नगर! तैँले मेरो घरमा आफ्नो बफादारी अर्पण गर्नुपर्छ, र तैँले बफादारीद्वारा मात्रै दियाबलसहरूका षड्यन्त्रहरूविरुद्ध प्रत्याक्रमण गर्न सक्छस्। तैँले कुनै पनि हालतमा विगतमा जस्तो मेरो अगाडि एउटा कुरा गर्ने र मेरो पछाडि अर्को कुरा गर्ने गर्नु हुँदैन; यदि तँ यस्तो व्यवहार गर्छस् भने, तँ छुटकाराभन्दा पर पुगिसकेको हुन्छस्। के मैले पर्याप्त रूपमा यस्ता वचनहरू उच्चारण गरिसकेको छैनँ र? मानवजातिको पुरानो स्वभाव सुधार गर्न नसकिने भएकाले नै मैले मानिसहरूलाई बारम्बार स्मरण गराउनु परेको छ। दिक्क नमान! मैले भन्ने कुरा पूर्ण रूपमा तिमीहरूको गन्तव्यका खातिर नै हो! शैतानलाई चाहिने भनेकै मैलो र फोहोरी स्थान हो; तिमीहरू संयमताप्रति समर्पित हुन इन्कार गर्दै जति धेरै उद्धार गर्न नसकिने र विशृङ्खल हुन्छौ, ती अशुद्ध आत्माहरू तिमीहरूमा घुसपैठ गर्ने कुनै पनि मौकाका लागि त्यति नै धेरै लागिपर्छन्। यदि तिमीहरू यस बिन्दुसम्म आइपुगेका छौ भने, तिमीहरूको बफादारी कुनै पनि वास्तविकताबिनाको फोकट गफबाहेक केही पनि हुनेछैन, अनि अशुद्ध आत्माहरूले तिमीहरूको सङ्कल्पलाई निल्नेछन् र त्यसलाई मेरो काममा अवरोध गर्नका लागि विद्रोह र शैतानका षड्यन्त्रहरूमा रूपान्तरण गर्छन्, जसले गर्दा तिमीहरू कुनै पनि समय र स्थानमा मद्वारा ढालिने अवस्थमा पुग्छौ। यस अवस्थाको गम्भीरता कसैले बुझ्न सक्दैन; तिनीहरू त्यसप्रति कानमा तेल हालेर बस्छन्, र अलिकति पनि सतर्क हुँदैनन्। मलाई विगतमा गरिएको कुरा याद छैन; के तँ अझै पनि म फेरि “याद नगरेर” तँप्रति उदार हुने प्रतीक्षा गरिरहेको छस्? मानवले मेरो विरोध गरेका भए पनि, म यसको ईख लिनेछैन, किनभने तिनीहरू अत्यन्तै साना कदका छन्, त्यसैले मैले तिनीहरूबाट अत्यन्तै उच्च मागहरू गरेको छैनँ। मैले माग गर्ने कुरा भनेको तिनीहरू विशृङ्खल नहोऊन्, र संयमताप्रति समर्पित होऊन् भन्ने हो। के यो एउटा सर्त पूरा गर्नु तिमीहरूको क्षमताभन्दा बाहिरको कुरा हुन सक्छ? धेरैजसो मानिस आफ्ना आँखालाई तृप्त पार्नका लागि मैले अझै बढी रहस्यहरू प्रकट गर्ने प्रतीक्षामा छन्। तर, तैँले स्वर्गका सारा रहस्य बुझिस् भने पनि, के नै हुन्छ र? के यसले मप्रतिको तेरो प्रेमलाई बढाउँछ र? के यसले मप्रतिको तेरो प्रेमलाई जगाउँछ र? म मानवहरूलाई कम आँक्दिनँ, न त म तिनीहरूबारे हल्का रूपमा फैसला नै गर्छु। यदि यी मानवहरूका वास्तविक परिस्थितिहरू नभएका भए, म तिनीहरूलाई कहिल्यै त्यस्तो बिल्लाको मुकुट पहिर्याउनेथिइनँ। विगतबारे विचार गर: मैले तिमीहरूलाई कति पटक निन्दा गरेको छु? मैले तिमीहरूलाई कति पटक कम आँकेको छु? मैले तिमीहरूका वास्तविक परिस्थितिहरूलाई ध्यानै नदिई तिमीहरूलाई कति पटक छानबिन गरेको छु? मेरा वाणीहरूले कति पटक पूरा हृदयले तिमीहरूको मन जित्न सकेका छैनन्? तिमीहरूको मनलाई गहिरो गरीए नछोइकन म कति पटक बोलेको छु? तिमीहरूमध्ये कसले मैले तिमीहरूलाई ढालेर अतल कुण्डमा फ्याँक्नेछु भनी अत्यन्तै नडराउँदै, भय र कम्पबिना मेरा वचनहरू पढेका छौ? मेरा वचनहरूबाट कसले परीक्षाहरू भोग्दैन र? मेरा वाणीहरूभित्र अख्तियार छ, तर यो, मानवहरूलाई त्यत्तिकै न्याय गर्नका लागि होइन; बरु, तिनीहरूको वास्तविक परिस्थितिहरूका कारण म तिनीहरूलाई मेरा वचनहरूको अन्तर्निहित अर्थ निरन्तर प्रकट गरिदिन्छु। वास्तवमा, के मेरा वचनहरूबाट मेरो सर्वशक्तिमान्ता जान्न सक्ने कोही छ? मेरा वचनहरूमा रहेको विशुद्ध सुन बोध गर्ने कोही छ? मैले अनगिन्ती वचन बोलेको छु—के कसैले कहिल्यै तिनको कदर गरेको छ?
मार्च ३, १९९२