प्रार्थनाको महत्त्व र त्यसको अभ्यास

तिमीहरू हाल परमेश्‍वरको प्रार्थना कसरी गर्छौ? यसमा के-कसरी धार्मिक प्रार्थनाभन्दा सुधार आएको छ? प्रार्थनाको महत्त्वबारे वास्तवमा तिमीहरूले के बुझेका छौ? के यी सवालहरूबारे मनन गरेका छौ? प्रार्थना नगर्ने हरेक व्यक्ति परमेश्‍वरबाट टाढिन्छ, र प्रार्थना नगर्नेहरू सबैले आफ्नै इच्छा पछ्याउँछन्। प्रार्थनाको अनुपस्थितिले परमेश्‍वरसँगको दूरी र परमेश्‍वरप्रतिको विश्‍वासघात जनाउँछ। प्रार्थनासम्बन्धी तिमीहरूको वास्तविक अनुभव कस्तो छ? परमेश्‍वर र मानिसहरूबीचको सम्बन्ध तिनीहरूको प्रार्थनाबाट देख्‍न सकिन्छ। तैँले गरेको कामको नतिजाको निम्ति ब्रदर-सिस्टरहरूले तेरो प्रशंसा गर्दा, तँ कस्तो व्यवहार गर्छस्? मानिसहरूले सुझाव दिँदा, तँ कस्तो प्रतिक्रिया दिन्छस्? तँ परमेश्‍वरसामु प्रार्थना गर्छस्? समस्या वा कठिनाइहरू आइपर्दा त तिमीहरू सबैजना प्रार्थना गर्न समय निकाल्छौ, तर के आफू राम्रो अवस्थामा नहुँदा पनि परमेश्‍वरको प्रार्थना गर्छौ त? के आफूले भ्रष्‍टता प्रकट गर्दा प्रार्थना गर्छौ? के साँचो रूपमा प्रार्थना गर्छौ? यदि साँचो रूपमा प्रार्थना गर्दैनौ भने तिमीहरू अघि बढ्न सक्दैनौ। विशेषतः भेलाहरूमा, तिमीहरूले प्रार्थना र प्रशंसा चढाउनुपर्छ। केही मानिसहरूले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका छन्, तर दुर्भाग्यवश, तिनीहरू प्रायः प्रार्थना गर्दैनन्। धर्मसिद्धान्तका केही शब्दहरू बुझेपछि, तिनीहरू आफूले सत्यता बुझेको, कद प्राप्‍त गरेको भन्ठान्दै अहङ्कारी बन्छन्, र तिनीहरू आफैमा धेरै खुसी महसुस गर्छन्। परिणामस्वरूप, तिनीहरू यस प्रकारको असामान्य अवस्थामा अल्झन्छन्, र अर्कोपटक प्रार्थना गर्न आउँदा तिनीहरूसँग भन्नको लागि केही पनि हुँदैन, र तिनीहरूमा पवित्र आत्माको काम पनि हुँदैन। जब व्यक्तिले आफ्नो अवस्था नियन्त्रण गर्न सक्दैन, उसले थोरै काम गरेपछि नै परिश्रमको फलको आनन्द लिन पनि सक्छ—वा ऊ नकारात्मक बन्‍न, आफ्नो काममा सुस्त हुन, र थोरै कठिनाइ सामना गर्दा नै कर्तव्य निभाउन छोड्न सक्छ, र यो अत्यन्तै खतरनाक हुन्छ। विवेक वा समझ नभएका मानिसहरू यस्तै हुन्छन्। धेरैजसो मानिसहरू आफूलाई कठिनाइ आइपर्दा, वा कुनै कुरालाई पूर्ण रूपमा बुझ्न नसक्दा मात्र प्रार्थना गर्नको लागि समय निकाल्छन्। तिनीहरू आफूलाई शंका र अनिर्णयले सताउँदा, वा आफूले भ्रष्‍ट स्वभाव प्रकट गर्दा मात्र प्रार्थना गर्छन्। समस्या पर्दा मात्र तिनीहरू प्रार्थना गर्छन्। यो सामान्य हो। तर आफ्नो कामको परिणाम प्राप्‍त गर्दा पनि तैँले प्रार्थना गर्नुपर्छ र परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ। यदि तैँले खुशी हुनमा मात्र ध्यान दिइस् र प्रार्थना गरिनस् भने, र सधैं प्रफुल्लित भएर यी भावनाहरूको आनन्द लिइस्, तर परमेश्‍वरको कृपा बिर्सिइस् भने, यो पूर्णतया समझ गुमेको अवस्था हो। जब तँ परमेश्‍वरबाट अत्यन्तै धेरै टाढिन्छस्, कहिलेकाहीँ तँलाई अनुशासनको सामना गर्न लगाइन्छ; वा सायद काम गर्ने प्रयास गर्दा तँ आफै पर्खालमा ठोक्किन पुग्छस्; वा तैँले गल्ती गरेर तेरो निराकरण गरिँदा, तँलाई मुटु छेड्ने शब्दहरू सुन्न लगाइन्छ, र तैँले दबाब वा दुःख सहनुपर्छ, तर यी सबै तैँले परमेश्‍वरको अपमान गर्न ठ्याक्कै केचाहिँ गरेँ भन्ने थाहा नपाई सहनुपर्छ। वास्तवमा, परमेश्‍वरले तँलाई अनुशासित तुल्याउन, तँलाई पीडा दिन र परिष्कृत पार्नको लागि प्राय: बाह्य वातावरणहरू प्रयोग गर्नुहुन्छ, र अन्त्यमा जब तँ परमेश्‍वरसामु जान्छस् र प्रार्थना गर्दै मनन गर्छस्, तैँले आफ्नो अवस्था गलत छ—आत्मसन्तुष्‍टि, घमण्ड र सायद आत्मप्रशंसाले भरिएको छ भन्ने महसुस गर्छस्, र तैँले आफैलाई घिनाउँछस्, र पूर्णतया पछुतो मान्छस्। एकचोटि परमेश्‍वरलाई प्रार्थना गरेर गल्ती स्विकारेपछि, तैँले आफैलाई घृणा गर्न थाल्नेछस् र प्रायश्‍चित गर्न मन गर्नेछस् र यस समयमा तेरो गलत अवस्था आफै सुध्रिन थाल्नेछ। जब मानिसहरूले साँचो रूपमा प्रार्थना गर्छन्, तब पवित्र आत्माले उहाँको काम गर्नुहुन्छ, र एक निश्‍चित अनुभूति, वा अन्तर्दृष्‍टि दिनुहुन्छ, जसले तिनीहरूलाई असामान्य अवस्थाबाट बाहिर आउन मद्दत गर्छ। प्रार्थना गर्नु भनेको केही कुरा खोज्नु, केही औपचारिकताहरू निभाउनु अनि त्यतिमै त्यो कुरा सक्‍नु होइन। आफूलाई परमेश्‍वर चाहिँदा प्रार्थनाका केही शब्दहरू बोल्नु र नचाहिँदा केही नगर्नु प्रार्थना होइन। यदि लामो समयसम्म प्रार्थना गरेनौ भने, बाहिरबाट हेर्दा तिमीहरूको अवस्था सामान्यजस्तो देखिए पनि, तिमीहरूले जे मन लाग्यो त्यही गर्दै आफ्नो कर्तव्य निर्वाहमा आफ्नै इच्छाशक्तिमा भर पर्नुपर्नेछ, र यसो गरिरहेमा तिमीहरू सिद्धान्तहरूअनुरूप काम गर्न नसक्ने हुनेछौ। तिमीहरूले यदि लामो समयसम्म परमेश्‍वरलाई प्रार्थना गरेनौ भने, पवित्र आत्माले कहिल्यै पनि तिमीहरूलाई अन्तर्दृष्‍टि वा ज्योति दिनुहुनेछैन। तिमीहरूले कर्तव्य पालन गरेछौ भने पनि, नियमको पालना मात्र गरिरहेका हुनेछौ र यसरी कर्तव्य पालना गर्दा तिमीहरूले परमेश्‍वरको साक्षी दिने फल फलाउनेछैनौ।

मैले पहिले पनि भनिसकेको छु, धेरैले आफ्नो कर्तव्यको सिलसिलामा आफ्नै काम सम्हाल्छन् र आफ्नै मामिलामा संलग्न हुन्छन् र आज पनि मानिसहरू यस्तै रहेका छन्। केही समय काम गरेपछि, तिनीहरूले प्रार्थना गर्न छोड्छन् र परमेश्‍वर तिनीहरूको हृदयमा रहनुहुन्न। तिनीहरू सोच्छन्, “म कार्य बन्दोबस्तले आवश्यक गरेबमोजिम मात्र गर्छु। जे भए पनि, मैले कुनै गल्ती गरेको छैन, र मैले कुनै अवरोध वा वाधा उत्पन्न गरेको छैन…।” जब तैँले प्रार्थना नगरी काम गर्छस् र राम्ररी काम सम्पन्न हुँदा परमेश्‍वरलाई धन्यवाद दिँदैनस्, तब तेरो अवस्थामा समस्या हुन्छ। यदि तँलाई आफ्नो अवस्था गलत छ भन्ने थाहा छ, तर तँ आफै यसलाई समायोजन गर्न असमर्थ छस् र परिणामस्वरूप, तँ निरन्तर आफ्नै इच्छानुसार काम गर्छस् भने, तैँले सत्यता बुझ्दा पनि यसलाई व्यवहारमा उतार्न सक्दैनस्। तँलाई आफ्नो सोच्ने तरिका नै सही छ भन्ने लागिरहन्छ र तँ सधैं त्यसैमा अडिग रहिरहन्छस्, मनलागी गर्छस्, पवित्र आत्माले कसरी काम गर्नुहुन्छ भन्‍ने कुरा बेवास्ता गर्छस्, आफ्नै प्रयत्‍नहरूमा केन्द्रित भइरहन्छस् र यसको फलस्वरूप पवित्र आत्माले तँलाई त्याग्नुहुन्छ। एकचोटि पवित्र आत्माले त्याग्‍नुभएपछि, तैँले अन्धकार र ओइलिएको महसुस गर्नेछस्। तैँले कुनै पनि पोषण वा आनन्द महसुस गर्न सक्नेछैनस्। आधा वर्षमा एकपटक पनि साँचो प्रार्थना नगर्ने मानिसहरू पनि धेरै छन्। यस प्रकारका व्यक्तिहरूको हृदयमा परमेश्‍वर रहनुहुन्न। केही मानिसहरू प्राय: प्रार्थना गर्दैनन् र तिनीहरू खतरा वा दुःखमा पर्दा मात्र प्रार्थना गर्छन्। तिनीहरूले आफ्नो कर्तव्य पूरा गरे पनि, आत्मिक रूपमा ओइलिएको महसुस गर्छन्, त्यसैले तिनीहरूमा अपरिहार्य रूपमै नकारात्मक विचारहरू हुन्छन्। कहिलेकाहीँ तिनीहरू सोच्छन्, “मैले कहिले आफ्ना कर्तव्यहरू टकटक्याउन सक्छु होला?” यस्ता विचारहरू किन पनि आउन सक्छन् भने, तिनीहरूले लामो समयदेखि प्रार्थना गरेका हुँदैनन् र तिनीहरू परमेश्‍वरबाट टाढिएका हुन्छन्। यदि यसबाट अविश्‍वासी, दुष्‍ट हृदयले जन्म लिन्छ भने, यो धेरै खतरनाक हुन्छ। प्रार्थना महत्त्वपूर्ण कुरा हो! प्रार्थनाबिनाको जीवन धुलोजस्तै सुक्खा हुन्छ र यसले पवित्र आत्माको काम प्राप्‍त गर्न सक्दैन; त्यस्ता मानिसहरू परमेश्‍वरको अगाडि बाँच्दैनन्, र तिनीहरू पहिले नै अन्धकारमा परिसकेका हुन्छन्। त्यसकारण, तैँले प्रायः प्रार्थना गरिरहन र परमेश्‍वरका वचनहरूबारे सङ्गति गरिरहन आवश्यक छ, ताकि तैँले पवित्र आत्माको कामको आनन्द लिन र हृदयबाट परमेश्‍वरको प्रशंसा गर्न सक्। यसरी मात्र तेरो जीवन शान्ति र आनन्दले भरिन सक्छ। पवित्र आत्माले सबै कुरामा प्रार्थना र प्रशंसा गर्नेहरूमा विशेष प्रभावकारितासाथ काम गर्नुहुन्छ। पवित्र आत्माले मानिसहरूलाई प्रदान गर्ने शक्ति अनन्त छ, र यसलाई मानिसहरूले कहिल्यै प्रयोग गरेर सिध्याउन वा समाप्‍त पार्न सक्दैनन्। मानिसहरूले अनवरत रूपमा बोल्न र प्रचार गर्न सक्छन् र तिनीहरूले धेरै सिद्धान्तहरू बुझ्न सक्छन्, तर पवित्र आत्माको कामबिना यो बेकार र व्यर्थ हुन्छ। धेरै घटनाहरूमा त मानिसहरूले आफ्नो आधा दिन प्रार्थनामै बिताउन सक्छन्, तर त्यसो गर्दा केही शब्दहरू मात्र बोल्छन्, जस्तै, “परमेश्‍वर, म तपाईंलाई धन्यवाद दिन्छु र तपाईंको प्रशंसा गर्छु!” केही समयपछि, तिनीहरूले फेरि उही वाक्य दोहोर्‍याउन सक्छन्। तिनीहरूले परमेश्‍वरलाई भन्नको लागि थप केही सोच्न सक्दैनन्, उहाँलाई भन्नको लागि तिनीहरूसँग कुनै भित्री विचारहरू हुँदैनन्। यो धेरै खतरनाक हुन्छ! यदि परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले उहाँको प्रशंसा गर्ने, धन्यवाद दिने र महिमा गाउने शब्दहरू उच्चारण गर्न पनि सक्दैनन् भने, तिनीहरूको हृदयमा उहाँको लागि ठाउँ छ भनेर कसरी भन्न सकिन्छ? तैँले परमेश्‍वरमा विश्‍वास छ र उहाँलाई आफ्नो हृदयले चिन्छ भनेर दाबी गर्न सक्छस्, तर तँ उहाँको अगाडि आउँदैनस्, तैँले प्रार्थना गर्दा तेरो हृदयमा के छ भनी उहाँलाई बताउन सक्दैनस्, र तेरो हृदय परमेश्‍वरबाट धेरै टाढा छ र त्यसैले पवित्र आत्माले उहाँको काम गर्नुहुन्न। तैँले हरेक बिहान उठ्दा, हृदय खोलेर इमानदारीपूर्वक प्रार्थना गर्नुपर्छ, परमेश्‍वरका वचनहरू पढ्नुपर्छ र त्यसपछि तैँले ज्योति र अभ्यासको मार्ग नभेटुन्जेल ती वचनहरू मनन गर्नुपर्छ। यसो गर्, अनि तेरो दिन विशेष राम्रो र परिपूर्ण हुनेछ र तैँले पवित्र आत्मा तेरो सुरक्षा गर्दै सधैँ तँसँगै हुनुहुन्छ भन्ने महसुस गर्नेछस्।

मैले धेरै मानिसहरूमा साझा समस्या रहेको देखेको छु। कुनै मामिलाहरू आइपर्दा तिनीहरू प्रार्थना गर्न परमेश्‍वरसामु आउँछन्, तर कुनै कुराले पनि नपिरोल्दा तिनीहरू परमेश्‍वरलाई बेवास्ता गर्छन्। तिनीहरू आफूखुशी देहसुखमा लिप्‍त हुन्छन्, तर कहिल्यै चेतमा आउँदैनन्। के यो परमेश्‍वरप्रतिको विश्‍वास हो? के यो साँचो विश्‍वास हो? साँचो विश्‍वासको अभाव हुनु भनेको हिँड्ने बाटो नहुनु हो। साँचो विश्‍वास भएन भने विश्‍वासका कुन कार्यहरू परमेश्‍वरको इच्छाअनुरूप हुन्छन् वा कुन कार्यहरूद्वारा सत्यता प्राप्‍त गर्न वा जीवनमा वृद्धि हुन सकिन्छ भन्ने कुरा कसैले थाहा पाउन सक्दैन। विश्‍वास नहुँदा, व्यक्ति अन्धो हुन्छ, उसँग खोजीको चाहना हुन्छ, तर दिशा र लक्ष्य हँदैन। अनि, विश्‍वास कसरी पैदा हुन्छ? विश्‍वास प्रार्थना र परमेश्‍वरको सङ्गतिद्वारा पैदा हुन्छ, र परमेश्‍वरका वचनहरू पढेर र पवित्र आत्माको अन्तर्दृष्‍टि प्राप्‍त गरेर अझ बढी विश्‍वास पैदा हुन्छ। तैँले जति धेरै सत्यता बुझ्दै जान्छस्, तँलाई त्यति नै धेरै विश्‍वास हुनेछ। सत्यता नबुझेकाहरूमा कुनै पनि विश्‍वास हुँदैन, र यदि तिनीहरू मण्डलीमा घुलमिल नै भए भने पनि, तिनीहरू अविश्‍वासी नै हुन्छन्। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले प्रार्थना नगरी र परमेश्‍वरका वचनहरू नपढी त्यसो गर्न सक्दैनन्। यदि तिनीहरू केवल भेलाहरूमा उपस्थित भइरहन्छन्, तर बिरलै इमानदारीपूर्वक प्रार्थना गर्छन् भने, तिनीहरूले आफूलाई परमेश्‍वरबाट झन्‌झन् टाढिएको पाउनेछन्। तिमीहरू सबै बिरलै साँचो रूपमा प्रार्थना गर्छौ र केही मानिसहरू त अझै पनि कसरी प्रार्थना गर्ने भनेर जान्दैनन्। तथ्य यो हो कि प्रार्थना मूलतः तिमीहरूको हृदयबाट बोलिने कुरा हो। यो परमेश्‍वरसामु आफ्नो हृदय खोल्नु र उहाँको अगाडि खुलेर कुरा गर्नु हो। यदि व्यक्तिको हृदय सही प्रकारको छ भने, उसले हृदयबाट बोल्न सक्छ र यस तरिकामार्फत, परमेश्‍वरले उसको प्रार्थना सुन्नु र स्विकार्नुहुन्छ। कतिपय मानिसहरूले प्रार्थना गर्दा परमेश्‍वरसँग माग्न मात्र जानेका हुन्छन्। तिनीहरू अरू केही नभनी परमेश्‍वरको अनुग्रहको लागि मात्र निरन्तर बिन्ती गर्छन् र यसरी तिनीहरूले जति धेरै प्रार्थना गर्छन्, त्यति नै सुकेको महसुस गर्छन्। प्रार्थना गर्दा, चाहे तैँले कुनै कुराको तृष्णा गर्, वा चाहे परमेश्‍वरसँघ केही खोजी गर्, वा आफूले सम्हालिरहेको प्रस्ट देख्न नसक्ने कुरामा बुद्धि र शक्ति प्रदान गर्नको लागि परमेश्‍वरसँग अनुरोध गर्, वा चाहे परमेश्‍वरसँग अन्तर्दृष्‍टि माग्, तँसँग सामान्य मानवताको भावना हुनुपर्छ। समझ नहुँदा, तैँले आफ्नो घुँडा टेकेर यसो भन्नेछस्, “परमेश्‍वर, बिन्ती छ, मलाई विश्‍वास र बल दिनुहोस्, बिन्ती छ, मलाई अन्तर्दृष्‍टि दिनुहोस् र मलाई मेरो प्रकृति हेर्न दिनुहोस्, बिन्ती छ, तपाईंले काम गरेर मलाई अनुग्रह र आशीर्वाद प्रदान गर्नुहोस्।” यस “बिन्ती” मा एउटा अनिवार्य कुरा छ। यो परमेश्‍वरलाई दबाब दिने एउटा तरिका हो, यो मामिला पूर्वनिर्धारित नै हो झैँ गरी उहाँले गर्नैपर्छ भनेर भन्‍नु हो। यो निष्कपट प्रार्थना होइन। पवित्र आत्माको लागि, यदि तैँले के गर्न लाग्दै छस् भनेर पहिले नै सर्तहरू निर्धारण गरिसकेको छस् भने, के तैँले झारा मात्र टारिरहेको हुँदैनस् र? के यो परमेश्‍वरलाई धोका दिनु होइन र? व्यक्तिले खोजी गर्ने, आज्ञाकारी हृदयसहित प्रार्थना गर्नुपर्छ। उदाहरणका निम्ति, जब तँमाथि केही आइपर्छ, र त्यसको सामना कसरी गर्ने भनी तँलाई थाहा हुँदैन, तब तैँले यसो भन्न सक्छस्, “हे परमेश्‍वर, यस विषयमा के गर्ने हो मलाई थाहा छैन। म यस कुरामा तपाईंलाई सन्तुष्ट पार्न र तपाईंको इच्छा खोज्न चाहन्छु। म तपाईंको इच्छाअनुसार गर्न चाहन्छु, मेरो इच्छाअनुसार होइन। तपाईंलाई थाहा छ, मानव इच्छा तपाईंका अभिप्रायहरूको पूर्णविपरीत हुन्छ, यसले तपाईंलाई पूर्ण प्रतिरोध गर्छ, र यो सत्यसँग मेल खाँदैन। मलाई तपाईं ज्ञान दिनुहोस्, यस विषयमा मलाई अगुवाइ गर्नुहोस्, र मलाई तपाईंलाई दुःखी नबनाउन मदत गर्नुहोस्…।” प्रार्थना गर्ने सही तरिका यही हो। यदि तँ “हे परमेश्‍वर, म तपाईंलाई बिन्ती गर्छु कि तपाईं मलाई मद्दत गर्नुहोस्, अगुवाइ गर्नुहोस्, सही वातावरण र सही मानिसहरू तयार गरिदिनुहोस्, र मलाई मेरो काम राम्ररी गर्न दिनुहोस्,” भनेर भन्छस् भने, तैँले प्रार्थना गरिसकेपछि पनि परमेश्‍वरका अभिप्रायहरू अझै बुझ्‍न सक्‍नेछैनस्, किनकि तैँले परमेश्‍वरलाई तेरो इच्छाअनुसार काम गर्न बिन्ती गरिरहेको छस्। अब, तैँले प्रार्थनामा आफूबाट प्रयोग हुने शब्दहरू युक्तिसङ्गत छन् कि छैनन्, र ती तेरो हृदयबाट आएका हुन् कि होइन्, त्यो निश्चित गर्नुपर्छ। यदि तेरा प्रार्थनाहरू युक्तिसङ्गत छैनन् भने, पवित्र आत्माले तँमा काम गर्नुहुनेछैन। त्यसकारण, जब तँ प्रार्थना गर्छस्, तँ समझदार भएर अनि उचित शैलीमा बोल्नुपर्छ। यसो भन्: “हे परमेश्‍वर, तपाईं मेरो कमजोरी र मेरो विद्रोहीपन जान्नुहुन्छ। म तपाईंसँग केवल यति बिन्ती गर्दछु, कि तपाईं मलाई बल दिनुहोस् र तपाईंको इच्छाअनुसार मात्र मलाई मेरा परिस्थितिहरू सामना गर्न सहायता गर्नुहोस्। तपाईंको इच्छा के हो मलाई थाहा छैन, र म यही बिन्ती मात्र गर्छु। तथापि, तपाईंको इच्छा पूरा होस्। यदि मलाई सेवा गर्न वा प्रतिभारको रूपमा काम गर्न लगाइयो भने पनि, म त्यो खुसीसाथ गर्नेछु। मलाई बल र बुद्धि दिनुहोस् भनी म तपाईंसँग बिन्ती गर्दछु, र मलाई यस विषयमा तपाईंलाई सन्तुष्ट पार्न दिनुहोस्। म केवल तपाईंको बन्दोबस्तहरूमा समर्पित हुन चाहन्छु…।” यस्तो प्रार्थना गरिसकेपछि, तेरो हृदयले विशेष सहजता महसुस गर्नेछ। यदि तँ मागी मात्र रहन्छस् भने, तैँले जति धेरै कुरा भने पनि त्यो सब खोक्रा शब्दहरू मात्र हुनेछन्; परमेश्‍वरले तेरो निवेदनको जबाफमा काम गर्नुहुनेछैन, किनकि तँ के चाहन्छस् त्यो तैँले पहिले नै निर्णय गरेको हुन्छस्। जब तँ प्रार्थना गर्न घुँडा टेक्छस्, यसो भन्: “हे परमेश्‍वर, तपाईं मानिसको कमजोरी जान्नुहुन्छ, र तपाईं मानिसका अवस्थाहरू जान्नुहुन्छ। म बिन्ती गर्छु, यस विषयमा तपाईंले मलाई ज्ञान दिनुहोस्। म तपाईंको इच्छा बुझ्न सकूँ। म केवल तपाईंले बन्दोबस्त गर्नुहुने सबै कुरामा समर्पित हुने इच्छा गर्छु, र मेरो हृदय तपाईंको आज्ञापालन गर्न इच्छुक छ…।” यसरी प्रार्थना गर्, र पवित्र आत्माले तँलाई उत्प्रेरित गर्नुहुनेछ। प्रार्थना गर्दा यदि तेरो नियत गलत छ र तैँले सधैं आफ्नै इच्छामा आधारित मागहरू परमेश्‍वरसँग राख्छस् भने, तेरा प्रार्थनाहरू निरस र निष्‍प्रभावी हुनेछन् र पवित्र आत्माले तँलाई उत्प्रेरित गर्नुहुनेछैन। यदि तैँले आँखा चिम्लेर परमेश्‍वरसँग झारा टार्नको लागि ठूल्ठूला कुरा गर्न थाल्छस् भने, के पवित्र आत्माले तँलाई त्यसरी नै उत्प्रेरित गर्नुहुन्छ? परमेश्‍वरको अगाडि आउँदा मानिसहरूले आज्ञाकारी ढङ्गले व्यवहार गर्नुपर्छ र भक्त मनोवृत्ति राख्‍नुपर्छ। तँ एक साँचो परमेश्‍वरको अगाडि आउँदै छस्, सृष्‍टिकर्तासँग कुरा गर्दै छस्। के तँ भक्त हुनुपर्दैन र? प्रार्थना गर्नु कुनै चानचुने कुरा होइन। मानिसहरू परमेश्‍वरसामु आउँदा ङ्यारङ्यार गर्दै चिथोरूँला जस्तो गर्छन्, तिनीहरूमा भक्तिको पूर्ण अभाव हुन्छ; र प्रार्थना गर्दा तिनीहरू आ-आफ्नै घरमा उत्तानो परेर केही सरल, सतही शब्दहरू भट्याउँछन् र आफूले प्रार्थना गरिरहेको छु र परमेश्‍वरले सुन्दै हुनुहुन्छ भन्ठान्छन्—के यो आफैप्रतिको धोका होइन र? यो भन्नुको मेरो उद्देश्य मानिसहरूलाई कुनै खास नियम पालना गर्न लगाउनु होइन। तैपनि, मान्छेले कम्तीमा पनि परमेश्‍वरको आज्ञापालन गर्ने हृदय धारण गर्न र भक्तिपूर्ण मनोवृत्तिसाथ परमेश्‍वरसामु आउन त सक्छ नि। तिमीहरूका प्रार्थनाहरूमा समझको अभाव अलि बढी नैभइरहन्छ। तिमीहरू सधैं यस्तो भावमा प्रार्थना गर्छौ, “हे परमेश्‍वर! तपाईंले मलाई यो कर्तव्य पूरा गर्न दिनुभएको हुनाले, मैले गर्ने सबै कुरा उपयुक्त बनाइदिनुहोस्, ताकि तपाईंको काममा बाधा नपरोस् र परमेश्‍वरको परिवारको हितमा हानि नहोस्। तपाईंले मेरो रक्षा गर्नुपर्छ…।” यस्तो प्रार्थना अत्यन्तै अनुचित छ, होइन र? यदि तैँले परमेश्‍वरसामु आएर यसरी प्रार्थना गरिस् भने, के उहाँले तँभित्र काम गर्नुहुन्छ? यदि तैँले मेरो अगाडि आएर अनुचित कुरा गरिस् भने के मैले सुन्छु? यदि तैँले मलाई घिन लगाइस् भने म तँलाई सीधै बाहिर निकाल्नेछु! के तँ ख्रीष्‍टको अघि र आत्माको अघि उस्तै होइनस् र? जब तँ प्रार्थना गर्नको लागि परमेश्‍वरसामु आउँछस्, तैँले कसरी समझदारीपूर्वक बोल्ने र कसरी आफ्नो भित्री अवस्थालाई भक्ति प्राप्‍त गर्न र समर्पित हुन सक्षम पार्ने भन्ने कुरामा विचार गर्नुपर्छ। एकचोटि तैँले त्यसो गरिसकेपछि, फेरि प्रार्थना गर्दा त्यो राम्रो हुनेछ र तैँले परमेश्‍वरको उपस्थिति महसुस गर्नेछस्। अक्सर मानिसहरू घुँडा टेकेर प्रार्थना गर्छन्; आफ्ना आँखा बन्द गर्छन् र ठूल्ठूलो स्वरमा चिच्याउँछन्, “हे परमेश्‍वर! हे परमेश्‍वर!” तिनीहरू यसरी धेरै बेरसम्म निःशब्द भएर किन कराएको? यो मानिसको गलत मानसिकता र असामान्य अवस्थाको कारणले हुन्छ। जब व्यक्तिले आफ्नो हृदयमा परमेश्‍वरलाई भेट्न सक्दैन, उसको प्रार्थना शब्दहीन हुन्छ। के तिमीहरू पनि सधैँ यसो गर्छौ? तिमीहरूलाई अब आफ्नो मापन थाहा छ, तर जब आफ्नो अवस्था असामान्य हुन्छ, तिमीहरू आत्मचिन्तन गर्ने वा सत्यता खोज्ने गर्दैनौ, र तिमीहरू प्रार्थनामा परमेश्‍वरसामु आउन वा उहाँको वचन खान र पिउन इच्छुक हुँदैनौ। यसो गर्नु खतरनाक हुन्छ। चाहे कुनै व्यक्तिको अवस्था सामान्य होस् वा नहोस्, वा जस्तासुकै समस्याहरू उत्पन्न होऊन्, तिनीहरू प्रार्थनाबाट टाढा हुनु हुँदैन। यदि तिमीहरूले प्रार्थना गरेनौ भने, तिमीहरूको अवस्था अहिले सामान्य भए पनि, लामो समयपछि भविष्‍यमा यो असामान्य हुनेछ। प्रार्थना गर्ने र परमेश्‍वरको वचन पढ्ने काम सामान्य हुनुपर्छ। सत्यता खोज्नको लागि परमेश्‍वरका वचनहरू पढ्दा साँचो प्रार्थना आउँछ, त्यो प्रार्थनाद्वारा परमेश्‍वरको अन्तर्दृष्‍टि प्राप्‍त गर्न सकिन्छ र यसले व्यक्तिलाई परमेश्‍वरको वचन बुझ्न सक्षम बनाउन सक्छ। परमेश्‍वरलाई प्रार्थना गर्दा, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको पहिले आफ्नो मानसिकता सच्याउनु हो। प्रार्थनाको सिद्धान्त यही हो। यदि तिमीहरूको मानसिकता गलत छ भने तिमीहरू भक्त हुँदैनौ, तिमीहरूले झारा मात्र टारिरहनेछौ, र बस, परमेश्‍वरलाई धोका दिइरहनेछौ। यदि तिमीहरूको हृदयमा परमेश्‍वरप्रति श्रद्धा र आज्ञाकारिता छ र तिमीहरू उहाँलाई प्रार्थना गर्छौ भने मात्र तिमीहरूको हृदयमा शान्ति हुनेछ। त्यसकारण, प्रार्थना गर्दा तिमीहरूको मानसिकता सही हुनुपर्छ, अनि तिमीहरूको प्रार्थना फलदायी हुनेछ। यदि तिमीहरूले प्राय: यस तरिकाले अभ्यास गर्छौ, र प्रार्थना गर्दा आफ्नो हृदयमा साँच्चै के छ भन्ने कुरा परमेश्‍वरलाई बताउँछौ र आफ्नो हृदयले परमेश्‍वरलाई सबैभन्दा बढी के भन्न चाहन्छ त्यही कुरा भन्छौ भने, थाहै नपाई तिमीहरू परमेश्‍वरलाई प्रार्थना गर्न सक्षम हुनेछौ, अनि तिमीहरूले परमेश्‍वरसँग सामान्य रूपमा सङ्गति गर्न सक्‍नेछौ।

प्रार्थना गर्नको लागि शिक्षित वा सुसंस्कृत हुनुपर्छ भन्ने छैन र यो कुनै निबन्ध लेख्ने काम होइन। सामान्य व्यक्तिको समझले इमानदारीपूर्वक बोल। येशूका प्रार्थनाहरूबारे विचार गर। गेतसमनीको बगैंचामा, उहाँले यस्तो प्रार्थना गर्नुभयो, “यदि सम्भव छ भने…।” अर्थात्, “यदि यो गर्न सकिन्छ भने।” यो एक कुराकानीको क्रममा भनिएको थियो; उहाँले “म तपाईंसँग बिन्ती गर्छु” भनेर भन्नुभएन। समर्पित हृदय र समर्पित अवस्थामा उहाँले यसो भनेर प्रार्थना गर्नुभयो, “यदि सम्भव छ भने, यो कचौरा मबाट हटोस्: तैपनि मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होस्।” उहाँले दोस्रोपटक यसरी नै प्रार्थना गर्नुभयो, र तेस्रोपटक उहाँले यसरी प्रार्थना गर्नुभयो, “तपाईंको इच्‍छा पूरा होस्।” परमेश्‍वर पिताको अभिप्रायहरूलाई बुझेर उहाँले भन्नुभयो, “तपाईंको इच्‍छा पूरा होस्।” कुनै पनि व्यक्तिगत छनौट नगरी उहाँ पूर्ण रूपमा समर्पित हुन सक्‍नुभयो। प्रार्थनामा, येशूले भन्‍नुभयो, “यदि सम्भव छ भने, यो कचौरा मबाट हटाइदिनुहोस्।” त्यसको अर्थ के हो? उहाँले क्रूसमा अन्तिम साससम्म रगत बगाएर कष्ट सहनुपर्ने कुरा सोचेर—अनि त्यसले मृत्युको विषय छोएकोले—र उहाँले अझसम्म परमेश्‍वर पिताको अभिप्राय पूर्ण रूपमा नबुझ्नुभएकोले यसरी प्रार्थना गर्नुभएको थियो। दुःख भोग्नुपर्ने सोचमा डुबेर पनि उहाँले यसरी प्रार्थना गर्नुले उहाँको समर्पण कति गहिरो रहेछ भन्‍ने देखाउँछ। उहाँको प्रार्थना शैली सामान्य थियो। उहाँले आफ्नो प्रार्थनामा कुनै सर्तहरू राख्नुभएन, न त त्यो कचौरा हटाइनैपर्छ भनेर नै भन्नुभयो। बरु, उहाँको उद्देश्य उहाँले बुझ्न नसक्ने परिस्थितिमा परमेश्‍वरको इच्छा खोज्नु थियो। पहिलो पटक उहाँले प्रार्थना गर्नुहुँदा, उहाँले बुझ्नुभएको थिएन, त्यसैले उहाँले भन्नुभयो, “यदि सम्भव छ भने … तर तपाईंको इच्छा पूरा होस्।” उहाँले समर्पित अवस्थामा परमेश्‍वरसँग प्रार्थना गर्नुभयो। दोस्रो पटक पनि उहाँले त्यसरी नै प्रार्थना गर्नुभयो। समग्रमा, उहाँले तीन पटक प्रार्थना गर्नुभयो, र उहाँको अन्तिम प्रार्थनामा, उहाँले परमेश्‍वरको इच्छा पूर्ण रूपमा बुझ्न सक्नुभयो, त्यसपछि उहाँले फेरि कुनै कुरा माग्‍नुभएन। उहाँको पहिलो दुई वटा प्रार्थनामा, उहाँले खोजी गर्दैहुनुहुन्थ्यो, र उहाँले समर्पित अवस्थामा खोजी गर्नुभयो। तापनि, मानिसहरू त्यसरी प्रार्थना गर्दैनन्। आफ्ना प्रार्थनामा मानिसहरू सधैँ भन्छन्, “हे परमेश्‍वर, म बिन्ती गर्छु तपाईंले यो वा त्यो गरिदिनुहोस्, र म बिन्ती गर्छु तपाईंले मलाई यसमा वा त्यसमा अगुवाइ गरिदिनुहोस्, र म बिन्ती गर्छु तपाईंले मेरो लागि अवस्थाहरू तयार गरिदिनुहोस्…।” सायद परमेश्‍वरले तेरो निम्ति सुहाउँदा अवस्थाहरू तयार गरिदिनुहुनेछैन। सायद उहाँले पाठ सिकाउनको लागि तँलाई कठिनाइहरू भोग्न लगाउनुहुनेछ। यदि तँ सधैँ “हे परमेश्‍वर, म बिन्ती गर्छु, तपाईंले मेरो निम्ति तयारीहरू गरिदिनुहोस् र मलाई शक्ति दिनुहोस्।” भनेर प्रार्थना गर्छस् भने, यो अत्यन्तै अनुचित छ! जब तैँले परमेश्‍वरलाई प्रार्थना गर्छस्, तँ मनासिब हुनुपर्छ र तैँले उहाँलाई आज्ञाकारी मनले प्रार्थना गर्नुपर्छ। आफूले के गर्ने भनेर निर्धारण गर्ने प्रयास नगर्। यदि तैँले प्रार्थना गर्नुअघि नै आफूले के गर्ने भनेर निर्धारण गर्ने प्रयास गर्छस् भने, यो परमेश्‍वरप्रतिको आज्ञाकारिता होइन। प्रार्थना गर्दा, तेरो हृदय आज्ञाकारी हुनुपर्छ र तैँले पहिले परमेश्‍वसँग खोजी गर्नुपर्छ। यसो गर्दा प्रार्थनाको समयमा तेरो हृदय स्वाभाविक रूपमै उज्यालो हुनेछ र तैँले के गर्न उपयुक्त हुन्छ भन्ने थाहा पाउनेछस्। प्रार्थना गर्नुअघिको तेरो योजनाबाट प्रार्थनापछि तेरो हृदयमा उत्पन्न हुने परिवर्तनमा जानु पवित्र आत्माको कामको परिणाम हो। यदि तैँले पहिले नै आफ्नो निर्णय गरिसकेर के गर्ने भनी निर्धारण गरेको छस् भने र त्यसपछि तैँले परमेश्‍वरसँग अनुमति माग्न वा आफूले चाहेको कुरा गरिदिनुहोस् भनी परमेश्‍वरसँग प्रार्थना गर्छस् भने, यस प्रकारको प्रार्थना मनासिब हुँदैन। धेरैजसो समय, परमेश्‍वरले मान्छेका प्रार्थनाहरूको ठ्याक्कै जवाफ दिनुहुन्न किनभने तिनीहरूले के गर्ने भनेर पहिले नै निर्णय गरिसकेका हुन्छन्, र परमेश्‍वरसँग केवल अनुमति मागिरहेका हुन्छन्। परमेश्‍वरले भन्नुहुन्छ, “तैँले के गर्ने भन्ने निर्णय गरिसकेपछि मलाई किन सोध्छस्?” यस प्रकारको प्रार्थना परमेश्‍वरलाई धोका दिनुजस्तै हो, र यसकारण तिनीहरूका प्रार्थनाहरू निष्प्रभावी हुन्छन्।

मानिसहरूले घुँडा टेकेर प्रार्थना गर्दा परमेश्‍वरसँग कुरा गरिरहेका हुन्छन्, तर यसमा तैँले के कुरा स्पष्‍टसित बुझ्नुपर्छ भने प्रार्थना भनेको पवित्र आत्माले मानिसहरूमा काम गर्ने माध्यम हो। मानिसहरूले प्रार्थना गर्दा परमेश्‍वरले सधैँ उनीहरूलाई अन्तर्दृष्‍टि, ज्योति र अगुवाइ प्रदान गर्नुहुन्छ। मानिसहरू सही अवस्थामा हुँदा यदि प्रार्थना र खोजी गर्छन् भने, पवित्र आत्माले पनि सँगसँगै काम गरिरहनुभएको हुनेछ। यो परमेश्‍वर र मानिसहरूबीचको एक प्रकारको अघोषित सम्झौता हो; तैँले यसलाई परमेश्‍वरले मानिसहरूलाई कामकाज सम्हाल्‍न मद्दत गर्नुभएको पनि भन्न सक्छस्। प्रार्थना भनेको मानिसहरूलाई परमेश्‍वरसामु आउने र उहाँसँग सहकार्य गर्ने माध्यम हो। यो मानिसहरूलाई मुक्ति दिने र शुद्ध पार्ने परमेश्‍वरको एक तरिका पनि हो। यसबाहेक, यो जीवन प्रवेशको बाटो हो; यो कुनै विधिविधान होइन। प्रार्थना मानिसहरूलाई उत्प्रेरित गर्ने तरिका मात्र होइन, न त यो केवल परमेश्‍वरलाई सन्तुष्‍ट पार्ने सूत्रीय तरिका नै हो। यस्ता विचार गलत हुन्। प्रार्थना गहन रूपमा अर्थपूर्ण हुन्छ! यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भने, तँ न प्रार्थनाबाट पन्छिन सक्छस्, न त परमेश्‍वरका वचनहरू पढ्नबाट नै। प्रार्थनाको माध्यमबाट पवित्र आत्माले मानिसहरूमा काम गर्नुहुन्छ, तिनीहरूलाई अन्तर्दृष्‍टि र अगुवाइ प्रदान गर्नुहुन्छ। यदि मानिसहरू परमेश्‍वरको प्रार्थना गर्दैनन् भने, उनीहरूलाई पवित्र आत्माको काम प्राप्‍त गर्न कठिन हुनेछ। यदि तँ बारम्बार प्रार्थना गर्छस्, बारम्बार प्रार्थना गर्ने अभ्यास गर्छस् र बारम्बार परमेश्‍वरमा समर्पित हृदयले प्रार्थना गर्छस् भने, तेरो भित्री अवस्था सामान्य हुन्छ। यदि तैँले प्रार्थना गर्दा, सामान्यतया धर्मसिद्धान्तका केही वाक्यहरू मात्र बोल्छस्, र परमेश्‍वरसित आफ्नो हृदय खोल्‍ने वा सत्यता खोज्‍ने गर्दैनस्, न त परमेश्‍वरका इच्छा र मापदण्डहरूबारे विचार नै गर्छस् भने, तँ साँचो रूपमा प्रार्थना गरिरहेको छैनस्। केवल सत्यताबारे बारम्बार विचार गर्ने मानिसहरू, जसका हृदयहरू बारम्बार परमेश्‍वरको नजिक रहन्छन्, र जो बारम्बार परमेश्‍वरका वचनहरूमा जिउँछन्, तिनीहरूसँग मात्र साँचो प्रार्थना हुन्छ, तिनीहरूको हृदयमा मात्र परमेश्‍वरसँग बोल्ने शब्दहरू हुन्छन्, र तिनीहरूले मात्र परमेश्‍वरबाट सत्यता खोज्न सक्छन्। प्रार्थना गर्न सिक्नको लागि, तैँले परमेश्‍वरका वचनहरू बारम्बार मनन गर्नुपर्छ। यदि तँ परमेश्‍वरको इच्छा बुझ्न सक्छस् भने, उहाँलाई भन्नको लागि तेरो हृदयमा धेरै कुराहरू हुनेछन् र तैँले कुन शब्दहरू व्यावहारिक प्रार्थनाहरू हुन् र कुन होइनन्; कुन प्रार्थनाहरू साँचा उपासना हुन् र कुन होइनन्; कुन प्रार्थनाहरू परमेश्‍वरको इच्छा बुझ्‍ने खोजी हुन्, र कुन प्रार्थनाहरू तैँले पहिले नै निर्णय गरिसकेका कुरा हुन् र तँ ती कुराको लागि केवल परमेश्‍वरसित अनुमति माग्दै छस् भनेर बुझ्न सक्नेछस्। यदि तैँले यी मामिलाहरूलाई कहिल्यै गम्भीर रूपमा लिइनस् भने, तेरो प्रार्थना कहिल्यै सफल हुनेछैन र तेरो भित्री अवस्था सधैँ असामान्य हुनेछ। जस्तो कि, सामान्य समझ के हो, साँचो आज्ञाकारिता के हो, साँचो उपासना के हो, र प्रार्थना गर्दा कुन स्थानमा बस्नुपर्छ—यी सबै पाठहरूमा प्रार्थनाका सत्यताहरू समावेश छन्। ती सबै विस्तृत विषय हुन्। धेरैजसो मानिसहरूले मलाई वास्तवमै देख्‍न सक्दैनन, त्यसैले तिनीहरू आत्मासामु प्रार्थना गर्नमै सीमित छन्। तैँले प्रार्थना गर्न थालेपछि, तेरा शब्‍दहरू अर्थपूर्ण छन् कि छैनन्, तेरा शब्‍दहरू साँचो रूपमा आराधनापूर्ण छन् कि छैनन्, तैँले माग्‍ने कुराहरूले परमेश्‍वरको स्वीकृति प्राप्त गर्छन् कि गर्दैनन्, तेरो प्रार्थनाभित्र कारोबारको तत्व छ कि छैन, वा यो मानव अशुद्धताहरूले अपमिश्रित भएको छ कि छैन, तेरा प्रार्थना र बोलीवचनहरू परमेश्‍वरको इच्छाअनुरूप छन् कि छैनन्, तँसँग परमेश्‍वरप्रति विशेष आदर, सम्‍मान र आज्ञापालन छ कि छैन, र तैँले परमेश्‍वरलाई साँच्‍चै परमेश्‍वरकै रूपमा व्यवहार गरिरहेको छस् कि छैनस् भन्ने प्रश्‍नहरू उब्जन्छन्। तैँले प्रार्थनामा बोल्‍ने कुराप्रति गम्‍भीर हुनुपर्छ, परमेश्‍वरको इच्छा अनुभूत गर्नुपर्छ, र उहाँको मापदण्डअनुरूपको बन्‍नुपर्छ। यसरी प्रार्थना गर्दा मात्रै तैँले हृदयमा शान्ति र खुसी पाउनेछस्। यसरी मात्रै ख्रीष्‍टको अघि आउँदा तँसँग सामान्य समझ हुन सक्छ। यदि तैँले आत्माको अघि प्रार्थना गर्ने वा आफ्नो हृदयमा भएको कुरा बोल्‍ने गर्दैनस् भने, जब तँ ख्रीष्‍टको अघि आउँछस्, तँसँग धारणाहरू हुने र तैँले उहाविरुद्ध प्रतिरोध र विद्रोह गर्ने सम्भावना हुनेछ, वा तैँले अनुचित रूपमा वा बेइमानी तरिकाले बोल्‍नेछस्, वा तेरा बोलीवचन र व्यवहारद्वारा निरन्तर बाधा उत्पन्‍न गर्नेछस्, र त्यसपछि तैँले सधैँ धिक्‍कार महसुस गर्नेछस्। तैँले किन सधैँ धिक्‍कारको महसुस गर्नेछस्? किनभने सामान्यतया तँसँग परमेश्‍वरलाई कसरी आराधना वा व्यवहार गर्ने भन्नेसम्‍बन्धी सत्यताको अलिकति पनि ज्ञान हुँदैन, र त्यसैले जब तैँले कुनै समस्या सामना गर्छस्, तँ अन्योल हुन्छस्, कसरी अभ्यास गर्ने भनेर तँलाई थाहै हुँदैन, र तैँले निरन्तर गल्ती गरिरहन्छस्। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू उहाँको छेउ कसरी आउनुपर्छ? यो पक्कै पनि प्रार्थनामार्फत हुनुपर्छ। यदि तैँले प्रार्थना गर्दा तेरो मनोवृत्ति सच्याएको छस् र तेरो हृदय शान्त छ भने, तँ परमेश्‍वरसामु आएको छस्। प्रार्थना गरिसकेपछि, तैँले प्रार्थनामा बोलेका शब्दहरू तर्कसङ्गत थिए कि थिएनन्, तैँले उपयुक्त स्थान अँगालेको थिइस् वा थिइनस्, तँमा परमेश्‍वरप्रति आज्ञाकारिता थियो वा थिएन, र तँमा मानवीय कमजोरी वा बेइमानी थियो कि थिएन भनेर तैँले मनन गर्नुपर्छ। यदि तैँले केही समस्याहरू फेला पारिस् भने, तैँले परमेश्‍वरलाई प्रार्थना गर्न जारी राख्नुपर्छ, र परमेश्‍वरसामु आफ्ना कमजोरी र त्रुटिहरू स्विकार्नुपर्छ। यसरी आफ्नो हृदयमा जे छ त्यो परमेश्‍वरलाई भन्‍ने हो भने, तेरो अवस्था झन्झन् सामान्य हुँदै जान्छ, तँ झन्‍झन् कर्तव्यनिष्‍ठ र विवेकशील बन्नेछस् र तेरा गलत अवस्थाहरू झन्‍झन् घट्दै जानेछन्। तैँले केही समय यसरी अभ्यास गरेपछि, तेरा प्रार्थनाहरू सुधार हुँदै जानेछन्, र धेरैजसो समय ती प्रार्थनाहरू परमेश्‍वरद्वारा सुनिनेछन् र स्वीकृत हुनेछन्। प्रायः यस तरिकाले परमेश्‍वरलाई प्रार्थना गर्न सक्नेहरू नै परमेश्‍वरसामु बाँच्न आएकाहरू हुन्। यदि तँ प्रार्थनालाई गम्भीरतापूर्वक लिँदैनस् वा आफ्ना प्रार्थनाका गलत तरिकाहरू परिमार्जन गर्दैनस् भने, तैँले कसरी प्रार्थना गर्ने भन्ने नै थाहा पाउनेछैनस्। अनि, प्रार्थना कसरी गर्ने भन्ने थाहा नभएपछि, तँलाई परमेश्‍वरसामु जिउन गाह्रो हुनेछ। यसप्रकारको व्यक्तिको कुनै जीवन प्रवेश हुनेछैन र तिनीहरू परमेश्‍वरको वचनबाहिर हुनेछन्। यदि तँलाई परमेश्‍वरसामु प्रार्थना गर्ने वा बोल्ने तरिका थाहा छैन भने, यदि तँ बोल्दा गम्भीर हुँदैनस्, आफूखुसी बोल्छस्, र आफूले गलत बोल्दा त्यसमा कुनै समस्या छ भन्‍ने महसुस गर्दैनस् भने, र यदि तँ निरन्तर लापरवाह र दोधार हुन्छस् भने, यसको परिणामस्वरूप, जब तँ ख्रीष्‍टको सामुन्ने आउँछस्, तँ केही गलत बोलिएला वा गरिएला कि भनेर डराउनेछस्। अनि, तँ जति धेरै गलत काम गर्छु कि भनी डराउँछस्, तैँले त्यति नै धेरै गल्तीहरू गर्नेछस्, र तैँले ती कुरा कहिल्यै पनि सच्याउन सक्नेछैनस्। अनि, मानिसहरू ख्रीष्‍टसँग निरन्तर सम्पर्कमा रहन नसक्‍ने वा आफ्नो आमनेसामने ख्रीष्‍टले कुरा गर्नुभएको प्रायः सुन्न नपाउने हुनाले, अर्थात म प्रायः तिमीहरूसामु रहन नसक्ने हुनाले, तिमीहरूले बारम्बार प्रार्थनामा आई सत्यता खोज्‍न र आत्माको अगाडि हृदय खोलेर बोल्‍न मात्र पनि सक्‍नेछौ, र यदि तिमीहरूसँग परमेश्‍वरदेखि डर मान्ने र समर्पित हृदय हुन्छ भने, त्यो पर्याप्‍त हुनेछ। मैले तिमीहरूसँग आमनेसामने कुरा गरे पनि, सत्यता स्विकार्ने र खोजी गर्ने र परमेश्‍वरलाई पछ्याउने मार्गमा हिँड्ने कुरा तिमीहरूमै निर्भर रहन्छ। अबदेखि, तिमीहरूले प्रार्थना गर्दा के भन्‍ने हो, त्यसमा बढी ध्यान दिनुपर्छ। प्रार्थना, मनन र महसुस गर्न समय लेओ। त्यसपछि, पवित्र आत्माले जब तिमीहरूलाई अन्तर्दृष्‍टि दिनुहुन्छ, तिमीहरूले प्रगति गर्नेछौ। पवित्र आत्माले तिमीहरूलाई अन्तर्दृष्‍टि दिनुहुँदा, तिमीहरूले प्राप्‍त गर्ने अनुभूति अत्यन्तै सूक्ष्म हुन्छ। यस्ता केही सूक्ष्म अनुभूतिहरू र सूक्ष्म ज्ञान प्राप्‍त गरेपछि, यदि तिमीहरू केही काम गर्छौ, वा केही विषयहरू सम्हाल्न ख्रीष्‍टसँगको सम्पर्कमा आउँछौ भने, तब तिमीहरूले कुन शब्दहरू राम्रो अर्थमा बोलिएका हुन् र कुन होइनन्, कुन काम राम्रो उद्देश्यका साथ गरिएका हुन् र कुन होइनन् भनेर छुट्याउन सक्नेछौ। यसरी, तिमीहरूले प्रार्थनाका उद्देश्यहरू हासिल गरिसकेका हुनेछौ।

बाइबलले धेरै मानिसहरूका प्रार्थनाहरूको अभिलेख राखेको छ, जसले ती प्रार्थनाहरूमा आफ्ना सर्तहरू पूर्वनिर्धारित गरेनन्। बरु, तिनीहरूले परमेश्‍वरको इच्छा खोज्न र बुझ्न र पवित्र आत्मालाई निर्णयहरू गर्न दिन प्रार्थना प्रयोग गरे। उदाहरणको लागि, इजरायलीहरूले प्रार्थनाद्वारा यरीहोमा आक्रमण गरे। निनवेका मानिसहरूले पनि प्रार्थनाद्वारा नै पश्‍चात्ताप गरे र परमेश्‍वरको क्षमा प्राप्‍त गरे। प्रार्थना कुनै प्रकारको विधिविधान होइन। यो एक व्यक्ति र परमेश्‍वरबीच हुने वास्तविक कुराकानी हो, र यसको गहन महत्त्व हुन्छ। मानिसहरूको प्रार्थनाबाट, तिनीहरूले सोझै परमेश्‍वरको सेवा गरिरहेका छन् भनी बुझ्न सकिन्छ। यदि तैँले प्रार्थनालाई एक विधिविधानको रूपमा हेर्छस् भने, तेरो प्रार्थना प्रभावहीन हुनेछ, र त्यो वास्तविक प्रार्थना हुनछैन किनभने तैँले परमेश्‍वरसित आफ्ना भित्री भावनाका कुराहरू बोल्ने वा उहाँसित हृदय खोल्ने काम नै गर्दैनस्। जहाँसम्म परमेश्‍वरको सरोकार छ, तेरो प्रार्थना प्रार्थनाको रूपमा गन्ती नै हुनेछैन। परमेश्‍वरको हृदयमा तँ अस्तित्वमै रहनेछैनस्। अनि, तँमा पवित्र आत्माले कसरी काम गर्न सक्नुहुन्छ? यसको परिणामस्वरूप, केही समयसम्‍म काम गरिसकेपछि, तँ थकित हुनेछस्। अबदेखि उसो, प्रार्थना नगरी, तैँले काम गर्न सक्नेछैनस्। काम गराउने त प्रार्थनाले हो, र सेवा गराउने पनि प्रार्थनाले नै हो। परमेश्‍वरको सेवा गर्ने अगुवा भएर पनि, यदि तैँले आफूलाई प्रार्थनामा समर्पित गरेको वा प्रार्थनाहरूलाई गम्भीरतासाथ लिएको कहिल्यै छैनस् भने, तँसित परमेश्‍वरलाई भन्‍नुपर्ने विचारै छैन, र यो तरिकाले जब तँ कर्तव्य निभाउँछस्, तैँले गल्ती गर्ने सम्भावना अधिक हुन्छ, र आफ्ना कार्यहरू गर्नको लागि निरन्तर आफ्नै अभिप्रायहरूमा भर परेसँगै तँ लड्‍ने सम्भावना पनि अधिक हुन्छ। पर्याप्त मात्रामा प्रार्थना नगरी परमेश्‍वरमा विश्‍वास गर्नु अस्वीकार्य छ। कतिपय मानिसहरूले बिरलै प्रार्थना गर्छन्, र परमेश्‍वर देहधारी हुनुभएकोले सोझै परमेश्‍वरका वचनहरू पढ्‍नु नै काफी हुन्छ भन्‍ने सोच्छन्। यसमा तैँले अति सजिलोसित सोच्दै छस्। के तैँले परमेश्‍वरलाई प्रार्थना नै नगरी केवल उहाँका वचनहरू मात्र पढेर पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति प्राप्त गर्न सक्छस्? यदि व्यक्तिले परमेश्‍वरलाई कहिल्यै प्रार्थना गर्दैन भने, र प्रार्थनामा परमेश्‍वरसित साँचोसाँचो बोल्‍ने वा सङ्गति गर्ने गर्दैन भने, उसलाई आफ्नो भ्रष्ट स्वभाव फाल्न र कर्तव्य निभाउँदा परमेश्‍वरलाई सन्तुष्ट पार्न एकदमै कठिन हुनेछ। देहधारी परमेश्‍वरले समेत कहिलेकाहीँ प्रार्थना गर्नुहुन्छ। जब येशू देहधारी हुनुहुन्थ्यो, उहाँले पनि महत्त्वपूर्ण विषयहरूमा प्रार्थना गर्नुहुन्थ्यो। उहाँले पर्वतहरूमा, डुङ्गा चढेको बेला र बगैँचाहरूमा हुँदा प्रार्थना गर्नुहुन्थ्यो। उहाँले आफ्ना चेलाहरूलाई पनि प्रार्थना गर्न सिकाउनुहुन्थ्यो। यदि तँ बारम्बार परमेश्‍वरसामु आएर उहाँसँग प्रार्थना गर्न सक्छस् भने, त्यसले तँ परमेश्‍वरलाई परमेश्‍वरजस्तै व्यवहार गर्छस् भन्‍ने प्रमाणित गर्छ। यदि तँ बारम्बार आफ्नै चाहनाअनुसार व्यवहार गर्छस्, र प्राय प्रार्थनालाई बेवास्ता गर्छस्, र उहाँको पिठ्यूँपछाडि विभिन्‍न कार्यहरू गर्छस् भने, तैँले परमेश्‍वरको सेवा गरिरहेको छैनस्, तँ केवल आफ्नै उद्यममा संलग्न भइरेहको छस्। यस्तो हुँदा, के तँलाई दोषी ठहराइनेछैन र? बाहिरी रूपमा, तैँले बाधा पार्ने कुनै काम नगरेजस्तो देखिएला, न त तैँले परमेश्‍वरको निन्दा गरेजस्तो नै देखिएला, तर तैँले अझै पनि बस आफ्नै कामकाज सम्हालिरहेको हुनेछस्। तँ आफ्नै उद्यममा संलग्न भइरेहको अनि प्रसिद्धि, लाभ, हैसियत र व्यक्तिगत फाइदा पछ्याइरहेको हुनेछस्। के यो मण्डलीको कामको लागि बाधक छैन र? यदि सतही रूपमा तँ बाधकजस्तो नदेखिए पनि, सारमा तेरा कार्यहरू परमेश्‍वरको प्रतिरोधी छन्। यदि तँ कहिल्यै पश्‍चात्ताप गर्दैनस् वा सुध्रिदैनस् भने, तँ खतरामा छस्।

कुनै असन्तोषजनक कुरा हुनगएमा हरेक व्यक्ति पीडा र दयनीय स्थितिमा पुग्छन्, र कसैसँग बोल्न चाहँदैनन्। केही समयपछि, तिनीहरूले अलि राम्रो महसुस गर्छन्, तर त्यो स्थिति सुध्रिएको हुँदैन। कहिलेकाहीँ, तिनीहरूले कर्तव्य निभाउने क्रममा भ्रष्‍ट स्वभाव प्रकट गर्छन् र तिनीहरूले काममा ढिलाइ गराउँछन्, वा तिनीहरू काटछाँट र निराकरणमा पर्छन्, र तिनीहरू दुखित र व्याकुल हुन्छन्, तर यदि तिनीहरूले यसलाई समाधान गर्न सत्यता खोजी गर्दैनन् भने यो असामान्य स्थिति समाधान हुनेछैन। तिमीहरू आफूलाई दुःख र कष्‍ट पर्दा प्रार्थना गर्न परमेश्‍वरसामु कतिपटक आएका छौ? तिमीहरू सबैले निस्फिक्री मानसिकता अपनाउँछौ र झारा मात्रै टार्छौ। यसरी, परमेश्‍वरमा विश्‍वास गर्ने दाबी गर्ने तर हृदयमा परमेश्‍वर नहुनेहरू धेरै छन्। तिनीहरूले जुनसुकै कर्तव्य निभाए पनि, कुनै समस्या सामना गर्दा, तिनीहरूले प्रार्थना गर्ने वा सत्यता खोज्‍ने कहिल्यै गर्दैनन्। काम गर्दा तिनीहरू आँखा चिम्लिएर आफैमा भर पर्छन्, हेर्दा लाग्छ कि तिनीहरूले पीडा सहिरहेका र ऊर्जा खर्चिरहेका छन्, र तिनीहरूले केही नगरे पनि र तिनीहरूको प्रयास व्यर्थको भए भने पनि तिनीहरू आफूहरूले कर्तव्य राम्रैसँग गरिरहेका छौँ भन्ठान्छन्। मानिसहरू प्रायः आफ्नै इच्छामा चल्छन् र हिँड्दा बाटो बिराउँछन्। एकपटक सानोतिनो काम गरेपछि, तिनीहरू अहङ्कारी बन्छन्, आफूसँग पूँजी छ भन्ठान्छन्, र तिनीहरूको हृदयमा परमेश्‍वरको लागि कुनै ठाउँ हुँदैन। यसबाट देख्‍न सकिन्छ कि मानिसहरूको स्वभाव नै धोका दिने हो। मानिसहरूले यस्तो पनि सोच्छन्, “यदि म परमेश्‍वरमा विश्‍वास गर्छु भने, मेरो हृदयमा उहाँको लागि कसरी ठाउँ हुँदैन? के म अहिले मण्डलीको लागि काम गरिरहेको छैन र? परमेश्‍वरले मलाई कसरी त्याग्न सक्नुहुन्छ?” यो होइन कि परमेश्‍वर तँलाई त्याग्न चाहानुहुन्छ, बरु के हो भने, तेरो हृदयमा परमेश्‍वरको लागि कुनै स्थान छैन। तैँले जतिसुकै काम गरे पनि, तैँले यसबाट छुटकारा पाउन सक्नेछैनस्, तँसँग पवित्र आत्माको काम प्राप्‍त गर्ने कुनै उपाय हुनेछैन, र तैँले जे गरे पनि, आफूलाई परमेश्‍वरबाट टाढा राख्दै उहाँलाई धोका दिनेछस्। प्रार्थनाको पाठ सबैभन्दा गहन हुन्छ। यदि तँ प्रार्थनासमेत नगरी आफ्नो कर्तव्यमा लाग्छस् भने, तेरो काम पर्याप्‍त हुनेछैन, र तेरो मेहनत व्यर्थ हुनेछ। तेरो अवस्था जति असामान्य छ, तैँले त्यति नै धेरै प्रार्थना गर्नुपर्छ। प्रार्थना नगर्दा, तेरो अवस्था केवल झन्‌झन् खराब हुनेछ, र तेरो कर्तव्य निष्प्रभावी हुनेछ। प्रार्थना तैँले बोल्ने कुराहरू कति राम्रा छन् भन्ने कुरामा निर्भर हुँदैन। यसको लागि त आफ्नो हृदयबाट बोल्‍नु आवश्यक छ, आफ्ना कठिनाइहरूबारे सत्य बोल्नु, सृष्‍टि गरिएको प्राणीको हैसियतबाट र आज्ञाकारिताको दृष्‍टिकोणबाट बोल्नु आवश्यक छ: “हे परमेश्‍वर, तपाईंलाई थाहा छ, मानिसहरू कति कठोर छन्। कृपया यस विषयमा मलाई मार्गदर्शन गर्नुहोस्। तपाईंलाई थाहा छ, म कमजोर छु, ममा चरम रूपको कमी छु, म तपाईंको प्रयोगको लागि अनुपयुक्त छु, म विद्रोही छु, र जबजब काम गर्छु, म तपाईंको काममा बाधा पुर्‍याउँछु र तपाईंको इच्छासित नमिल्ने काम गर्छु। बिन्ती छ, तपाईं आफ्नो काम गर्नुहोस्, म बस आज्ञापालन र सहकार्य गर्न चाहन्छु…।” यदि तँ यी वचनहरूसमेत बोल्न सक्दैनस् भने, तेरो लागि कुनै आशा छैन। कसै-कसैले यस्तो सोच्छन्, “जब म प्रार्थना गर्छु, मैले अझै पनि म तर्कसङ्गत प्रार्थना गर्छु कि गर्दिनँ भनेर हेर्नुपर्छ। अनि कसरी मैले प्रार्थना गर्ने?” के आफू तर्कसङ्गत छु कि छुइनँ भनेर बुझ्न धेरै समय लाग्छ र? प्रत्येक प्रार्थनापछि, इमानदारीपूर्वक मनन गर्, अनि तँमा स्पष्‍टता आउनेछ। तैँले यसो गर्दै जाँदा, पछि आउने हरेक प्रार्थनाहरूमा तँ अझ तर्कसङ्गत हुँदै जानेछस्, किनकि जब तैँले प्रार्थना गर्छस्, तँलाई केही शब्दहरू अनुपयुक्त छन् भन्ने थाहा हुनेछ। जब मानिसहरूले प्रार्थना गर्छन्, परमेशररसँगको तिनीहरूको सम्बन्ध सबैभन्दा प्रत्यक्ष र घनिष्‍ट हुन्छ। के तैँले कुनै काम गर्दा, सामान्यतया घुँडा टेकेर तुरुन्तै प्रार्थना गर्न सक्छस्? सधैँ यस्तो हुँदैन; यो परिस्थितिमा निर्भर गर्दछ। जब तँ घरमा एक्लै हुन्छस् र घुँडा टेकेर परमेश्‍वरलाई प्रार्थना गर्छस्, परमेश्‍वरसँगको तेरो सम्बन्ध सबैभन्दा घनिष्‍ट हुन्छ। तैँले हृदयमा भएका सबै कुरा भन्न सक्छस्, अनि तँलाई सबैभन्दा ठूलो आनन्द महसुस हुनेछ। परमेश्‍वरको वचन पढ्दा, यदि तँ पहिले प्रार्थना गर्छस् भने, उहाँको वचन पढ्दाको अनुभव फरक हुनेछ। आफ्नो कर्तव्य निभाउँदा, पहिले प्रार्थना र खोजी गर्, अनि तेरो हृदय गम्भीर हुनेछ र जब तँ आफ्नो कर्तव्य निभाउँछस्, त्यसको प्रभाव फरक हुनेछ। यदि तैँले परमेश्‍वरको वचन पढेर ज्योति पाउँछस् भने, परमेश्‍वरलाई प्रार्थना गर्, अनि तैँले अझ बढी आनन्द पाउनेछस्। यदि तँ कहिल्यै प्रार्थना गर्दैनस् भने, तैँले परमेश्‍वरको वचन पढ्दा र आफ्नो कर्तव्य निभाउँदा परमेश्‍वरको उपस्थिति महसुस गर्नेछैनस्। कहिलेकाहीँ, परमेश्‍वरको वचन पढ्दा तँलाई अन्तर्दृष्‍टि मिल्दैन, र उहाँको वचन पढेपछि, त्यसको कुनै स्पष्‍ट प्रभाव हासिल हुँदैन। तैँले परमेश्‍वरमा विश्‍वास गरेर गर्ने कुनै पनि काम प्रार्थनाबिना गर्न सकिँदैन। यदि तँ बारम्बार परमेश्‍वरलाई प्रार्थना गर्छस्, र परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य हुन्छ भने, तैँले जीवन प्रवेश हासिल गर्नेछस्, र तेरो विश्‍वास अझ बलियो हुनेछ। यदि तँ लामो समयसम्म प्रार्थना गर्दैनस् भने, तैँले आफ्नो विश्‍वास गुमाउनेछस्, अनि त्यसपछि तैँले कसरी जीवन प्रवेश हासिल गर्नेछस्? साँचो विश्‍वास भएका मानिसहरूले प्रार्थनाद्वारा परमेश्‍वरसामु जिउँदै र प्रार्थनाद्वारा सत्यता खोज्दै यस्तो प्रवेश हासिल गर्छन्। धेरै मानिसहरू प्रार्थना गर्दा प्रार्थना गरेजस्तो मात्रै गर्छन् तर सत्यता खोज्दैनन्। तिनीहरू आफूमाथि केही आइपर्दा र आफूले गर्न सक्ने अरू केही नहुँदा मात्र प्रार्थना र बिन्ती गर्न परमेश्‍वरसामु आउँछन्। तिनीहरूले सधैँ परमेश्‍वरलाई तिनीहरूको इच्छाअनुसार गर्न र तिनीहरूलाई सन्तुष्‍ट पार्न कर गर्छन्। के यो साँचो प्रार्थना हो? के परमेश्‍वरले यस्तो प्रार्थना सुन्नुहुन्छ? परमेश्‍वरको उपस्थितिमा प्रार्थना र खोजी गर्नु भनेको परमेश्‍वरलाई तैँले चाहेजस्तै गर्न कर लगाउने कुरा होइन, झन् उहाँलाई यो वा त्यो गर्न बाध्य पार्ने कुरा हुनु त परै जाओस्। यी सबै कुरा समझ नहुनुका प्रककटीकरणहरू हुन्। अनि, उचित प्रार्थना के हो? अनुचित प्रार्थना के हो? तैँले केही समयपछि अनुभवबाट यी कुराहरू जान्‍नेछस्। उदाहरणको लागि, तैँले प्रार्थना गरिसकेपछि तँलाई लाग्‍न सक्छ कि तैँले जुन कुराका निम्ति प्रार्थना गर्छस् त्यो त पवित्र आत्माले गर्नु नै हुन्‍न, न त तैँले प्रार्थना गरेजस्तो उहाँले तँलाई अगुवाइ नै गर्नुहुन्छ। अर्कोपटक प्रार्थना गर्दा तैँले भिन्नै प्रकारले प्रार्थना गर्नेछस्। पछिल्लो समय गरेको जस्तो तैँले परमेश्‍वरसँग फेरि जबरजस्ती गर्ने कोसिस गर्दैनस् वा तेरा आफ्नै इच्छाहरूको आधारमा उहाँसँग बिन्ती गर्दैनस्। तैँले भन्नेछस्, “हे परमेश्‍वर! सबै कुरा तपाईंको इच्छाअनुसार नै होस्।” जबसम्म तँ यस तरिकामा ध्यान दिन्छस्, तबसम्म तैँले केही समय जोडतोड गरेपछि नै उचित प्रार्थना के हो र अनुचित प्रार्थना भनेको के हो भनेर जान्‍नेछस्। यस्तो अवस्था पनि हुन सक्छ, जसमा तैँले आफ्नै इच्छाहरूअनुसार प्रार्थना गर्दा, तँलाई तेरो आत्माभित्र तेरा प्रार्थनाहरू भावशून्य भएको महसुस हुनेछ, र तैँले चाँडै नै तँसँग भन्नुपर्ने कुरा केही पनि नरहेको पत्ता लगाउनेछस्। तँ जति धेरै बोल्‍ने प्रयास गर्छस्, तेरो बोली उत्ति नै अनौठो हुनेछ। यसले के प्रमाणित गर्छ भने, जब तैँले यसरी प्रार्थना गर्छस्, तैँले पूर्ण रूपमा देहलाई पछ्याइरहेको छस्, र त्यस तरिकामा पवित्र आत्माले तँभित्र काम गर्नुहुने वा तँलाई डोऱ्याउनुहुनेछैन। यो पनि खोज र अनुभव गर्नुपर्ने कुरा हो। यी कुराहरू अझ बढी अनुभव गर्दै जाँदा, तैँले प्राकृतिक तवरमै यी कुराहरू बुझ्दै जानेछस्।

प्रार्थना गर्नु भनेको मुख्य रूपमा परमेश्‍वरसित इमानदारीसाथ बोल्नु र आफ्नो हृदयका कुरा उहाँलाई भन्‍नु हो। तँ भन्छस्, “हे परमेश्‍वर! तपाईंलाई मानिसको भ्रष्टता थाहा छ। आज मैले अर्को अनुचित काम गरेको छु। मैले मनमा एउटा उद्देश्य राखेको छु—म एक छली व्यक्ति हुँ। मैले तपाईंको इच्छा वा सत्यअनुसार काम गरिरहेको थिइनँ। मैले आफ्नै इच्छाअनुसार काम गरें, र आफूलाई ठीक ठहराउने कोसिस गरें। अब, मैले मेरो भ्रष्टतालाई बुझेँ। म तपाईंसँग बिन्ती गर्छु, मलाई अझ बढी अन्तर्दृष्टि दिनुहोस्, र मलाई सत्यता बुझ्ने, त्यसलाई अभ्यास गर्ने र यो भ्रष्टता फाल्ने तुल्याउनुहोस्।” यसरी प्रार्थना गर्; वास्तविक कुराहरूको वास्तविक विवरण दे। जब धेरैजसो मानिसहरू परमेश्‍वरसामु प्रार्थना गर्न आउँछन्, तिनीहरूका अधिकांश शब्दहरू धर्मसिद्धान्तका हुन्छन्। ती हृदयबाट आएका प्रार्थना हुँदैनन्। सोचको हिसाबले मात्र तिनीहरूमा थोरथोरै ज्ञान र पश्चात्ताप गर्न इच्छुक हृदय हुन्छ, तर तिनीहरूले चिन्तन गर्नमा र पूर्ण रूपले सत्यता बुझ्‍नमा कुनै प्रयत्‍न लगाएका हुँदैनन्। यसले तिनीहरूको जीवन प्रगतिमा असर गर्छ। प्रार्थना गर्दा, यदि तैँले परमेश्‍वरका वचनहरूबारे चिन्तन गर्न र सत्यता खोजी गर्न अनि पवित्र आत्मालाई तँलाई अन्तर्दृष्टि दिने तुल्याउन सक्छस् भने, त्यो यसबारेमा सोच्‍ने र यसलाई बुझ्ने कार्यभन्दा कैयौँ गुणा बढी सार्थक हुन्छ; त्यसबाट तँ सत्यताका सिद्धान्तहरू बुझ्न सक्षम बन्छस्। पवित्र आत्माले काम गर्नुहुँदा उहाँले मानिसहरूलाई स्पर्शित गर्नुहुन्छ र उहाँले परमेश्‍वरको वचनद्वारा मानिसहरूलाई अन्तर्दृष्टि र ज्योति प्रदान गर्नुहुन्छ ताकि मानिसहरूलाई साँचो बुझाइ र साँचो पश्चात्ताप होस्, जुन मानिसहरूका विचारहरू र बुझाइभन्दा धेरै गहन हुन्छन्। यो कुरा तैँले राम्ररी बुझ्‍नुपर्छ। यदि तँ सतही, अव्यवस्थित सोचविचार र जाँचमा संलग्न हुन्छस् भने, तँसँग पछि अभ्यास गर्ने कुनै उपयुक्त मार्ग छैन, र तैँले सत्यतामा थोरै मात्र प्रवेश हासिल गर्छस् भने, तँ परिवर्तन हुन नसक्‍ने अवस्थामा नै रहनेछस्। उदाहरणको लागि, कतिपटक त जब तैँले गम्भीरतासाथ परमेश्‍वरप्रति आफैलाई अर्पित गर्ने र गम्भीरतासाथ उहाँको प्रेमको मूल्य चुकाउने अठोट गर्छस्। तर मस्तिष्कमा यस्तो इच्छा लिएर पनि, तैँले त्यति धेरै ऊर्जा अर्पण नगर्न सक्छस्, र तेरो हृदय त्यस प्रयासतर्फ पूर्ण समर्पित नहुन सक्छ। तापनि यदि, प्रार्थना गरेर उत्प्रेरित भएपछि तैँले एउटा संकल्प गर्छस् र “हे परमेश्‍वर, म कष्ट भोग्न तयार छु। म तपाईंका परीक्षाहरू स्वीकार गर्न तयार छु; र म तपाईंमा पूर्ण रूपमा समर्पित हुन तयार छु। मेरो दुःख जति नै ठूलो भए पनि म तपाईंको प्रेमको मूल्य चुकाउन तयार छु। म तपाईंको ठूलो प्रेमको आनन्द लिन्छु, र तपाईंले मलाई उठाउनुभएको छ। यसको निम्ति म तपाईंलाई मेरो हृदयको गहिराइबाट धन्यवाद दिन्छु, र तपाईंलाई सारा महिमा दिन्छु” भनेर भन्छस् भने, यस्तो प्रार्थना चढाइसकेपछि, तेरो सम्पूर्ण शरीर बलियो हुनेछ, र तँसँग अभ्यास गर्ने मार्ग हुनेछ। यो प्रार्थनाको प्रभाव हो। व्यक्तिले प्रार्थना गरिसकेपछि, पवित्र आत्माले उनीहरूमा काम गर्न, अन्तर्दृष्टि दिन, प्रकाश दिन, र उनीहरूलाई डोऱ्याउन थाल्नुहुनेछ, तिनीहरूलाई विश्‍वास र साहस दिनुहुन्छ, र तिनीहरूलाई सत्य अभ्यास गर्न सक्षम तुल्याउनुहुन्छ। यस्ता मानिसहरू पनि छन् जसले दिनहुँ परमेश्‍वरका वचनहरू पढ्छन् र पनि यस्तो परिणाम हासिल गर्दैनन्। तर ती वचनहरू पढेपछि, तिनीहरूले तीबारे सङ्गति गर्छन्, र तिनीहरूको हृदय उज्यालो हुन्छ, र तिनीहरूले अगाडि बढ्ने मार्ग प्राप्त गर्छन्। यसको अतिरिक्त, यदि पवित्र आत्माले तँलाई स्पर्श गर्नुहुन्छ भने, र तँलाई केही बोझ, साथसाथै केही मार्गनिर्देशन पनि दिनुहुन्छ भने, परिणाम साँच्चै बिलकुलै फरक हुनेछ। जब तँ परमेश्‍वरका वचनहरू पढ्छस्, तँ केही उत्प्रेरित हुन मात्र सक्छस्, र त्यतिबेला तँ रुन सक्छस्। केही समयपछि त्यो भावना हटेर जान्छ। तर यदि तैँले गरेको प्रार्थना आँसुसहितको, गम्भीर, साँचो र इमानदार प्रार्थना हुन्छ भने, र तँ पवित्र आत्माद्वारा स्पर्शित हुन्छस् भने, तेरो हृदयमा धेरै दिनसम्म त्यो खुसी रहिरहनेछ। प्रार्थनाको प्रभाव नै यही हो। प्रार्थनाको उद्देश्य परमेश्‍वरसामु आउनु र उहाँले मानिसहरूलाई जे दिनुहुन्छ त्यो स्विकार्नु हो। यदि तँ प्राय प्रार्थना गरिरहन्छस् भने, यदि तँ बारम्बार परमेश्‍वरसामु आएर उहाँसँग सङ्गति गर्छस्, र उहाँसँग तेरो सामान्य सम्बन्ध छ भने, तँ सधैँ उहाँद्वारा स्पर्शित हुनेछस्। यदि तँ सधैँ उहाँको भरणपोषण प्राप्त गर्छस्, र सत्यता स्विकार्छस् भने, तँ परिवर्तित हुनेछस्, र तेरो अवस्था निरन्तर सुधार हुँदै जानेछ। खास गरी, जब दाजुभाइ-दिदीबहिनीहरूले एकसाथ प्रार्थना गर्छन्, तत्पश्‍चात विशेष ठूलो शक्ति उत्पन्न हुन्छ र तिनीहरूले आफूले धेरै कुरा प्राप्त गरेका महसुस गर्छन्। वास्तवमा, तिनीहरूले सँगै बिताएको समयमा त्यति धेरै सङ्गति नगरेका हुन सक्छन्, तर प्रार्थनाले नै तिनीहरूलाई जगाएको थियो, यहाँसम्म कि तिनीहरूले आफ्ना परिवारहरू र संसारलाई त्याग्न एक क्षण कुर्न पनि सकेनन्, अनि तिनीहरूले केही पनि चाहेनन् र परमेश्‍वरलाई पाउनु नै पर्याप्त भयो। कति ठूलो विश्‍वास! पवित्र आत्माको कामले मानिसहरूलाई जुन बल दिन्छ त्यो अनवरत रूपमा उपभोग गर्न सकिन्छ! परमेश्‍वरले दिनुहुने त्यो शक्तिमा भर पर्नुको साटो, हठी हुँदै, आफ्नै जिद्‌मा भर परेर, तँ कति टाढासम्म जान सक्छस्? तँ बस हिँडेको हिँड्यै गर्छस्, र तागत सबै सक्छस्, र जब तैँले कुनै समस्या वा कठिनाइ सामाना गर्छस्, तब तँसँग अघि बढ्ने कुनै सामर्थ्य हुँदैन। तँ लड्छस् र पतीत हुँदै अन्तिम अवस्थामा पुग्छस्। यहाँ कैयौँ मानिसहरू छन्, जो परमेश्‍वरलाई पछ्याउने मार्ग हिँड्दा असफल र पतीत भएका छन्; सत्यताबिना तिनीहरू खडा हुनै सक्दैनन्। त्यसैले, मानिसहरूले निरन्तर परमेश्‍वरसित प्रार्थना गर्नुपर्छ, परमेश्‍वरमा भर पर्नुपर्छ, र परमेश्‍वरसँग अन्त्यसम्मै सामान्य सम्बन्ध कायम राख्नुपर्छ! तैपनि हिंड्दैजाँदा मानिसहरू परमेश्‍वरबाट टाढा जान्छन्। परमेश्‍वर, परमेश्‍वर हुनुहुन्छ, र मानवजाति, मानवजाति हो। दुवैको आ-आफ्नो बाटो छ। परमेश्‍वरले परमेश्‍वरका वचनहरू बोल्नुहुन्छ, र मानवजातिले आफ्नै मार्ग हिँड्छ जुन परमेश्‍वरको जस्तो हुँदैन। जब कुनै व्यक्तिले परमेश्‍वरमाथिको विश्‍वासमा आफ्नो सामर्थ्य गुमाउँछ, ऊ परमेश्‍वरसामु केही कुराहरू प्रार्थना गर्न र केही बल माग्‍न आउँछ। केही ऊर्जा पाइसकेपछि, ऊ फेरि पनि अलग्गिन्छ। केही समयपछि, उसको ऊर्जा समाप्त हुन्छ, र थप ऊर्जा प्राप्त गर्न ऊ परमेश्‍वरकहाँ फर्कन्छ। यस्तो कार्यशैलीले व्यक्ति लामो समय टिक्‍न सक्दैन। यदि कोही परमेश्‍वरलाई छोडिजान्छ भने, ऊसँग अगाडि बढ्ने कुनै मार्ग हुँदैन।

मैले अहिले पत्ता लगाएको छु कि धेरै मानिसहरूको आफैलाई नियमन गर्ने क्षमता असाध्यै कमजोर छ। यसको कारण के हो? यसको पहिलो कारण हो, मानिसहरूले सत्यता बुझ्दैनन्, र यदि तिनीहरूले प्रार्थना गर्दैनन् भने, तिनीहरू व्यभिचारी हुने सम्भावना अत्यधिक हुन्छ। तिनीहरूले धर्मसिद्धान्तको कुरा मात्र बुझ्छन्, र यसले काम गर्दैन, र तिनीहरूले आफूलाई संयमित राख्न पटक्‍कै सक्दैनन्। यस्तो अवस्थामा, तैँले प्रार्थनाको माध्यमबाट मात्र पवित्र आत्माको अन्तर्दृष्‍टि र ज्योति प्राप्‍त गर्न सक्छस्, र यदि तैँले केही सत्यता बुझ्छस् भने मात्र, तँ कुनै न कुनै रूपमा संयमित हुन र अलिअलि मानवजस्तो हुन सक्छस्। परमेश्‍वरमा विश्‍वास गर्नेहरूले उहाँका वचनहरू बारम्बार पढ्नुपर्छ, सत्यतामा जोड दिनुपर्छ र बारम्बार प्रार्थना गर्नुपर्छ। तब मात्र मानिसहरू सुध्रिन सक्छन्, परिवर्तन हासिल गर्न सक्छन्, र मानव स्वरूपको केही झलक जिउन सक्छन्। यदि तँ आफैलाई चिन्ने र सामान्य मानवतामा जिउने कुरा मात्र गर्छस् भने, त्यो ठीक होइन; पवित्र आत्माको कामबिना, त्यसको कुनै प्रभाव हुनेछैन। यदि तँ पवित्र आत्माले ठ्याक्कै कसरी काम गर्नुहुन्छ र कसरी मानिसहरूलाई उत्प्रेरित गर्नुहुन्छ, र मानिसहरूले आफ्नो दैनिक जीवनमा कसरी सत्यता खोज्‍नु र अभ्यास गर्नुपर्छ भन्ने कुरालाई उपेक्षा गर्छस् भने, तैँले कसरी परमेश्‍वरमा विश्‍वास गर्न सक्छस्? तँ कुन कर्तव्य निभाउन सक्छस्? यदि आफ्नो हृदयमा मानिसहरूले परमेश्‍वरको अस्तित्व छ भनेर मात्र विश्‍वास गर्छन् भने, यदि तिनीहरूको विश्‍वासमा बाँकी रहेको कुरा भनेकै परमेश्‍वरको अस्तित्व स्विकार्नु मात्र हो भने, र यदि तिनीहरूले उहाँको वचन र सत्यतालाई पाखा लगाउँछन् भने, तिनीहरूको जीवन प्रवेश हुनेछैन, र तिनीहरूको हृदयमा न त परमेश्‍वर हुनुहुनेछ न त सत्यता नै। मानिसहरूका विचार र धारणाहरू केवल भौतिक संसारले भरिएका हुनेछन्। परमेश्‍वरप्रतिको यस प्रकारको विश्‍वास धार्मिक विधिविधानमा परिणत भएको हुन्छ। सत्यतालाई प्रेम नगर्नेहरूले नास्तिकता वा भौतिकवादलाई पनि स्विकार्न सक्छन्, र तिनीहरूले बिस्तारै परमेश्‍वरको अस्तित्वमा प्रश्‍नचिन्ह खडा गर्न सक्छन्, र आत्मिक संसार र आत्मिक जीवनका कुराहरू इन्कार्न सक्छन्। यो साँचो मार्गबाट पूर्ण विचलन भएको अवस्था हो, र तिनीहरू अतलकुण्डमा खसिसकेका छन्। प्रार्थनाबिना मानिसहरूले सत्यता अभ्यास गर्न राखेको इच्छा केवल व्यक्तिपरक इच्छा हो; तिनीहरू नियमहरू मात्र पालना गर्छन्। यदि तैँले माथिको बन्दोबस्तअनुसार काम गर्छस् र परमेश्‍वरलाई चिढ्याउँदैनस् नै भने पनि, तँ नियमहरूमा मात्र अल्झन्छस्, र तैँले राम्रोसँग आफ्नो कर्तव्य कहिल्यै निभाउन सक्नेछैनस्। मानिसहरूका आत्माहरू अहिले पूरै चेतनाहीन र सुस्त छन्। परमेश्‍वरसँगको मानिसहरूको सम्बन्धमा कैयौँ सूक्ष्म कुराहरू हुन्छन्, जस्तो कि आत्माद्वारा उत्प्रेरित हुने र अन्तर्दृष्‍टि प्राप्‍त गर्ने, तर मानिसहरूले ती कुरा महसुस गर्न सक्दैनन्—ती औधी चेतनाहीन छन्! यदि मानिसहरूले परमेश्‍वरका वचनहरू पढ्दैनन् वा प्रार्थना गर्दैनन्, र आत्मिक जीवनका कुराहरू कहिल्यै अनुभव गर्दैनन्, र आफ्नै स्थिति नियन्त्रणमा राख्न सक्दैनन् भने, तिनीहरूसँग आफू परमेश्‍वरसामु बाँचिरहेका छौँ भनेर प्रत्याभूति गर्ने कुनै उपाय हुँदैन। यदि तँ परमेश्‍वरसामु बाँच्न चाहन्छस् भने, प्रार्थना नगर्नु अस्वीकार्य हुन्छ, र परमेश्‍वरका वचनहरू नपढ्नु त झनै अस्वीकार्य हुन्छ। मण्डली जीवन नजिउनु पनि अस्वीकार्य नै हुन्छ। यदि व्यक्ति परमेश्‍वरका वचनहरूबाट टाढा जान्छ भने, उसले उहाँमा विश्‍वास गर्दैन, र प्रार्थनाबाट टाढा भाग्नु भनेको परमेश्‍वरबाट टाढा भाग्‍नु हो। परमेश्‍वरमा विश्‍वास गर्नको लागि व्यक्तिले प्रार्थना गर्नैपर्छ। प्रार्थनाविना, परमेश्‍वरमाथिको विश्‍वास विश्‍वासजस्तो पनि हुँदैन। मैले भनेको छु, तैँले नियमहरूमा अल्झिरहनुपर्दैन, तर तैँले जुनसुकै ठाउँ र जुनसुकै समयमा प्रार्थना गर्नुपर्छ, तर विरलै प्रार्थना गर्नेहरू पनि केही छन्। बिहान उठ्दा तिनीहरू प्रार्थना गर्दैनन्, तर परमेश्‍वरका वचनहरूका केही खण्डहरू मात्र पढ्छन्, अनि बरु भजनहरू सुन्छन्। दिउँसो तिनीहरू बाहिरी कार्यहरूमा व्यस्त हुन्छन्, र राति सुत्न जानुअघि तिनीहरूले प्रार्थना गर्दैनन्। के तिमीहरूलाई यो सत्य हो जस्तो लाग्दैन—यदि तिमीहरू परमेश्‍वरका वचनहरू पढ्छौ तर प्रार्थना गर्दैनौ भने, के तिमीहरू उहाँको वचन पढ्ने तर त्यो नबुझ्ने अविश्‍वासीजस्तो छैनौ र? यदि मानिसहरूले प्रार्थना गर्दैनन् भने, तिनीहरूको मन परमेश्‍वरका वचनहरूमा जानै सक्दैन, र ती वचनहरू पढ्दा तिनीहरूलाई अन्तर्दृष्‍टि प्राप्‍त हुनेछैन। तिनीहरूमा आत्माको सूक्ष्म अनुभूति हुनेछैन, न त तिनीहरूले आत्मा स्पर्शित भएको अनुभूति नै गर्नेछन्। तिनीहरू भावशून्य र सुस्त हुन्छन्; तिनीहरूले मण्डलीको काम र आफ्नो कर्तव्य निभाउनेबारे सतही-स्तरको मात्र सङ्गति गर्छन्। जब केही हुन्छ, तिनीहरूले आफ्नो हृदयका भित्री भावनाहरू बुझ्न सक्दैनन्। के यसले परमेश्‍वरसँगको तिनीहरूको सामान्य सम्बन्धलाई असर गर्दैन र? तिनीहरूको हृदयमा परमेश्‍वरको लागि पहिलेदेखि नै कुनै ठाउँ हुँदैन, र तिनीहरूले प्रार्थना गर्न चाहे पनि कुनै शब्द बाहिर निस्कँदैन, र तिनीहरूले परमेश्‍वरलाई महसुस गर्न सक्दैनन्। यो पहिल्यै धेरै खतरनाक भइसकेको छ। मतलब, तिनीहरू परमेश्‍वरबाट धेरै टाढा भइसकेका छन्। वास्तवमा, प्रार्थना गर्नको लागि आफ्नो आत्मामा फर्किनुले बाह्य कार्यहरूमा बाधा पुर्‍याउँदैन; यसले कुनै पनि कुरामा ढिलाइ गराउँदैन। यदि कुनै समस्या देखा पर्छ र त्यसलाई सुल्झाइँदैन भने काममा ढिलाइ हुनेछ। परमेश्‍वरलाई प्रार्थना गर्नु भनेको समस्याहरू समाधान गर्न, र मानिसहरूलाई परमेश्‍वरको उपस्थितिमा बाँच्न र उहाँका वचनहरूको आनन्द लिन सक्षम पार्नको लागि हो। यो मानिसहरूका कर्तव्यहरू पूरा गर्न र तिनीहरूको जीवन प्रवेशको लागि अझै लाभदायक छ।

१९९८

अघिल्लो: अहङ्कारी प्रकृति नै परमेश्‍वरप्रतिको मानिसको विरोधको जड हो

अर्को: पत्रुसको मार्गमा कसरी हिँड्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्