पत्रुसको मार्गमा कसरी हिँड्ने
ठ्याक्कैसित भन्नुपर्दा, आफ्नो विश्वासमा पत्रुसको मार्गमा हिँड्नु भनेको सत्यता खोजी गर्ने बाटोमा हिँड्नु हो, जुन आफैलाई साँचो रूपमा चिन्ने र आफ्नो स्वभाव बदल्ने बाटो पनि हो। पत्रुसको मार्गमा हिँडेर मात्र व्यक्ति परमेश्वरद्वारा सिद्ध तुल्याइने बाटोमा हुनेछ। पत्रुसको मार्गमा वास्तवमा कसरी हिँड्ने, साथसाथै यसलाई कसरी अभ्यास गर्ने भन्ने बारेमा व्यक्ति स्पष्ट हुनुपर्छ। पहिला त व्यक्तिले आफ्ना अभिप्रायहरू, अनुचित खोजीहरू, र परिवार तथा आफ्नो देहका सबै कुराहरू समेतलाई पन्छाउनुपर्छ। व्यक्ति सम्पूर्ण हृदयले समर्पित हुनुपर्छ; त्यसको मतलब व्यक्तिले पूर्ण रूपमा आफूलाई परमेश्वरका वचनहरूमा समर्पित गर्नुपर्छ, परमेश्वरका वचनहरू खान र पिउनमा ध्यान केन्द्रित गर्नुपर्छ, परमेश्वरका वचनहरूमा सत्यता र उहाँका चाहनाहरू खोजी गर्न एकाग्र हुनुपर्छ, र हरेक कुरामा परमेश्वरको अभिप्राय बुझ्ने प्रयास गर्नुपर्छ। यो कुरा अभ्यासको सबैभन्दा आधारभूत र महत्त्वपूर्ण विधि हो। पत्रुसले येशूलाई भेटेपछि यही नै गरेका थिए, र यसरी अभ्यास गरेर मात्रै व्यक्तिले सर्वोत्तम नतिजाहरू हासिल गर्न सक्छ। परमेश्वरका वचनहरूमा सम्पूर्ण हृदयसहितको समर्पणमा मुख्यतया परमेश्वरका वचनहरूमा सत्यता र उहाँका चाहनाहरू खोजी गर्ने, परमेश्वरका अभिप्राय बुझ्न ध्यान केन्द्रित गर्ने, र परमेश्वरका वचनहरूबाट थप सत्यता बुझ्ने र प्राप्त गर्ने कुराहरू पर्दछन्। परमेश्वरका वचनहरू पढ्दा पत्रुसले धार्मिक सिद्धान्तहरू बुझ्नमा ध्यान केन्द्रित गरेका थिएनन्, तिनले धर्मविज्ञानको ज्ञान प्राप्त गर्नमा ध्यान केन्द्रित गर्ने कुरा त परै जाओस्। बरु, तिनले सत्यता बुझ्न र परमेश्वरका अभिप्रायहरू बोध गर्न, साथै परमेश्वरको स्वभाव र उहाँको प्रेमिलोपनको ज्ञान हासिल गर्नमा ध्यान केन्द्रित गरे। पत्रुसले परमेश्वरका वचनहरूबाट मानिसका विविध भ्रष्ट स्थितिहरू, मानिसको प्रकृति सार र मानिसका वास्तविक कमजोरीहरू जान्ने प्रयास पनि गरे। यसरी मात्रै तिनले परमेश्वरलाई सन्तुष्ट पार्न उहाँका मागहरू सजिलै पूरा गर्न सक्थे। परमेश्वरका वचनहरूका सन्दर्भमा पत्रुससँग एकदमै धेरै सही अभ्यास थिए। यो परमेश्वरका अभिप्रायहरूसँग सबैभन्दा बढी मिल्दो थियो र कुनै व्यक्तिले परमेश्वरको काम अनुभव गर्ने क्रममा सहकार्य गर्न सक्ने सबैभन्दा उत्तम तरिका थियो। परमेश्वरले पठाउनुभएका सयौँ परीक्षाहरू भोग्दा, पत्रुसले आफूलाई मानिसको न्याय र खुलासा गर्ने परमेश्वरको हरेक वचन—अनि मानिसबाट उहाँले माग गर्नुहुने हरेक वचनसँग कडाइका साथ मिलाए—आफूलाई जाँचे, र परमेश्वरका वचनहरूको अर्थ सही रूपमा बोध गर्ने प्रयास गरे। येशूले तिनलाई भन्नुभएका सब थोकबारे तिनले गम्भीरतासाथ मनन गरे, र हरेक वचनलाई आफ्नो मनमा दृढ रूपमा राखे—यो तरिका अपनाउँदा निकै राम्रा नतिजा हासिल भए। यसरी अभ्यास गरेर तिनले परमेश्वरका वचनहरूमार्फत आफैलाई चिन्न सके, र तिनी मानिसका विविध भ्रष्ट स्थिति र कमीकमजोरीहरू मात्र होइन, मानिसको सार र प्रकृति पनि चिन्न पुगे। यो नै आफूलाई साँचो रूपमा चिन्नु हो। परमेश्वरका वचनहरूबाट, पत्रुसले एक हिसाबमा आफूबारे साँचो बुझाइ हासिल गरे, अनि अर्को हिसाबमा, तिनले परमेश्वरले व्यक्त गरेको धर्मी स्वभाव, परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ भन्ने कुरा, परमेश्वरको कामका लागि उहाँका अभिप्रायहरू र मानवजातिप्रति परमेश्वरका मागहरू देखे। यी वचनहरूबाट तिनले साँचो रूपमा परमेश्वरलाई चिने। तिनले परमेश्वरको स्वभाव र उहाँको सारलाई चिने; तिनले परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ भन्ने कुरा, र साथै परमेश्वरको प्रेमिलो स्वभाव र मानिसप्रतिका उहाँका मागहरू जाने र बुझे। त्यतिखेर परमेश्वर आजभोलि बोल्नुभए जति बोल्नुहुन्नथियो, तापनि पत्रुसमा यी पक्षहरूको नतिजा हासिल भयो। यो एकदमै बिरलै हुने र अमूल्य कुरा थियो। पत्रुसले सयौँ परीक्षाहरू भोगे; तिनले व्यर्थमा कष्ट सहेनन्। तिनले परमेश्वरका वचनहरू र कामबाट आफैलाई चिन्न पुगेका मात्रै होइन, परमेश्वरलाई पनि चिन्न पुगे। यसबाहेक, तिनले परमेश्वरका वचनहरूभित्र विशेष गरी परमेश्वरले मानिसहरूबाट गर्ने मागहरू र परमेश्वरका अभिप्रायअनुसार हुनका लागि मानिसले परमेश्वरलाई कुन पक्षहरूमा सन्तुष्ट पार्नुपर्छ भन्ने कुरालाई ध्यान दिए, र तिनी यी कुराहरूमा ठूलो प्रयत्न लागु गरेर पूर्ण स्पष्टता हासिल गर्न सक्षम भए। यो कुरा तिनको जीवन प्रवेशको सवालमा पनि अत्यन्तै फाइदाजनक थियो। परमेश्वरका वचनहरूको जुनै पक्ष भए पनि, ती वचनहरूले जीवनका रूपमा काम गर्न सकुन्जेल र ती सत्यता हुन्जेल, पत्रुसले तिनलाई आफ्नो हृदयमा कुँदेर राखे, जहाँ तिनले तीबारे बारम्बार मनन गरे र तिनलाई बोध गरे। येशूका वचनहरू सुनेपछि, तिनले ती वचनहरूलाई हृदयमा राख्न सके, जसले तिनले विशेष रूपमा परमेश्वरका वचनहरूमा ध्यान केन्द्रित गरेका थिए भन्ने देखाउँछ र तिनले अन्त्यमा सच्चा रूपमै नतिजा हासिल गरे। अर्थात्, तिनले परमेश्वरका वचनहरू कुशलतापूर्वक अभ्यास गर्न, सत्यतालाई सही रूपमा अभ्यास गर्न अनि परमेश्वरका अभिप्रायअनुरूप कार्य गर्न, सम्पूर्ण रूपले परमेश्वरका चाहनाअनुरूप कामकुरा गर्न, र आफ्ना व्यक्तिगत दृष्टिकोण र कल्पनाहरू त्याग्न सके। यसरी, पत्रुस परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गरे। पत्रुसले यी कुराहरू गरेको हुनाले नै मुख्य रूपमा उनको सेवा परमेश्वरका अभिप्रायहरूअनुसार थियो।
यदि व्यक्तिले आफ्नो कर्तव्य निर्वाह गर्दै परमेश्वरलाई सन्तुष्ट पार्न सक्छ भने, ऊ आफ्ना बोली र व्यवहारहरूमा सिद्धान्तकेन्द्रित छ भने, र ऊ सत्यताको वास्तविकताका सबै पक्षमा प्रवेश गर्न सक्छ भने, ऊ परमेश्वरद्वारा सिद्ध तुल्याइने व्यक्ति हो। के भन्न सकिन्छ भने परमेश्वरको काम र वचनहरूले आफ्नो परिणाम पूर्ण रूपले हासिल गरेका छन्: परमेश्वरका वचनहरू उसको जीवन बनेका छन् र उसले सत्यता हासिल गरेको छ अनि ऊ परमेश्वरका वचनहरूअनुसार जिउन सक्षम छ। यसपछि, उसको देहको प्रकृति—अर्थात्, उसको अस्तित्वको सुरुको आधार—थर्किएर भत्कनेछ र ढल्नेछ। मानिसहरूले परमेश्वरका वचनहरूलाई आफ्नो जीवनको रूपमा धारण गरेपछि मात्रै, तिनीहरू नयाँ मानिसहरू बन्नेछन्। यदि परमेश्वरका वचनहरू तिनीहरूको जीवन बन्छन् भने, यदि परमेश्वरको कामको दर्शन, मानवजातिका लागि उहाँका खुलासा र मागहरू अनि मानिसहरूले पूरा गरून् भनी परमेश्वरले माग गरेको मानव जीवनका मानकहरू तिनीहरूको जीवन बन्छन् भने, यदि मानिसहरू यी वचन र सत्यताअनुरूप जिउँछन् भने तिनीहरू परमेश्वरका वचनहरूद्वारा सिद्ध तुल्याइन्छन्। त्यस्ता मानिसहरूले पुनर्जन्म पाउँछन् र तिनीहरू परमेश्वरका वचनहरूमार्फत नयाँ मानिसहरू बनेका हुन्छन्। पत्रुसले सत्यता पछ्याएको मार्ग यही हो। यो सिद्ध तुल्याइने मार्ग हो। पत्रुस परमेश्वरका वचनहरूद्वारा सिद्ध तुल्याइए, तिनले परमेश्वरका वचनहरूबाट जीवन प्राप्त गरे, परमेश्वरले व्यक्त गरेका सत्यताहरू तिनको जीवन बन्यो, अनि त्यसपछि मात्र तिनी सत्यताप्राप्त गरेका व्यक्ति बने। येशूको स्वर्गारोहणको बेलातिर, पत्रुससँग थुप्रै धारणा, विद्रोह, र कमजोरीहरू रहेको हामी सबैलाई थाहै छ। यी कुराहरू पछि किन पूर्ण रूपमा बदलिए? यसको प्रत्यक्ष सम्बन्ध तिनको सत्यता पछ्याउने कार्यसँग छ। जीवन पछ्याउने क्रममा, व्यक्तिले सत्यता अभ्यास गर्नमा जोड दिनुपर्छ। धर्मसिद्धान्त मात्र बुझ्नुको कुनै अर्थ छैन, र धर्मसिद्धान्तबारे जतिसुकै बोल्न सके पनि त्यसको अर्थ हुँदैन। यी कुराहरूले व्यक्तिको जीवन स्वभावमा परिवर्तन ल्याउन सक्दैनन्। परमेश्वरका वचनहरूको सोझो अर्थ मात्र बुझ्नु सत्यता बुझेबराबर होइन। परमेश्वरका वचनहरूमा चित्रण गरिएका सार र सिद्धान्तका कुराहरूचाहिँ सत्यता हुन्। उहाँको वाणीका प्रत्येक हरफमा सत्यता हुन्छ, तर मानिसहरूले नबुझ्न सक्छन्। जस्तै, परमेश्वरले “तिमीहरू इमानदार मानिस बन्नुपर्छ” भन्नुहुँदा, यस भनाइमा सत्यता छ। “तिमीहरू परमेश्वरको अघि समर्पित हुने, उहाँलाई प्रेम गर्ने, र उहाँलाई पुज्ने मानिस बन्नुपर्छ। तिमीहरूले मानवको रूपमा आफ्नो कर्तव्य पुरा गर्नुपर्छ,” भन्नेजस्ता उहाँका भनाइहरूमा झनै बढी सत्यता छ। परमेश्वरको वचनका प्रत्येक हरफले सत्यताको एउटा पक्षबारे व्याख्या गर्छ, र यी प्रत्येक सत्यतासित अन्य सत्यताहरूको घनिष्ठ सम्बन्ध छ। त्यसैले, परमेश्वरले बोल्नुहुने हरेक कुरामा सत्यता व्यक्त गर्नुहुन्छ, र उहाँले हरेक सत्यताबारे व्यापक रूपमा बोल्नुहुन्छ। यसो गर्नुको उद्देश्य मानिसलाई सत्यताको सार बुझाउनु हो। परमेश्वरका वचनलाई यस हदसम्म बुझ्नेलाई मात्र परमेश्वरको वचन बुझेको भन्न सकिन्छ। यदि तैँले परमेश्वरका वचनलाई सोझो अर्थमा मात्र बुझेर व्याख्या गर्छस् र धर्मसिद्धान्तहरू मात्र बोल्छस् भने, तैँले सत्यता बुझेको छैनस्। तैँले फूर्ति मात्र लाउँदै छस्, बोल्ने मात्र केही नगर्ने, र धर्मसिद्धान्तसँग खेल खेल्ने मात्र गर्दै छस्।
मानिसहरूले परमेश्वरको काम अनुभव गर्नु र सत्यता बुझ्नुभन्दा पहिले, भित्रैबाट नियन्त्रण लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तँ किन आफ्नै हैसियतको सुरक्षा गर्छस्? तँ किन आफ्ना भावनाहरूद्वारा यति प्रभावित छस्? तँ किन ती अधर्मी र दुष्ट कुराहरू मन पराउँछस्? तैँले त्यस्ता कुराहरू मन पराउनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? तँ किन ती कुराहरू मन पराउँछस् र स्वीकार गर्छस्? अहिलेसम्ममा, तिमीहरू सबै यो कुरा बुझ्न पुगेका छौ: मुख्य कारण के हो भने, मानिसभित्र शैतानका विषहरू छन्। त्यसो भए, शैतानका विषहरू के हुन्? तिनलाई कसरी व्यक्त गर्न सकिन्छ? उदाहरणको लागि, यदि तैँले “मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?” भनेर सोधिस् भने, सबैले जवाफ दिनेछन्, “अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ।” यही एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनेको छ। मानिसहरूले जेसुकै पछ्याए पनि, तिनीहरू वास्तवमा आफ्नै लागि त्यसो गर्छन्—अनि त्यसकारण तिनीहरू सबै आफ्नै लागि जिउँछन्। “अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ”—मानिसको जीवन दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। यी वचनहरू पहिले नै भ्रष्ट मानवजातिको प्रकृति भइसकेका छन्, र यी वचनहरू भ्रष्ट मानवजातिको शैतानी प्रकृतिको साँचो चित्रण हुन्। यो शैतानी प्रकृति पूर्ण रूपमा भ्रष्ट मानवजातिको अस्तित्वको जग बनिसकेको छ। भ्रष्ट मानवजाति कैयौँ हजार वर्षदेखि अहिलेको वर्तमान समयसम्म शैतानको यो विषअनुसार जिएको छ। शैतानले गर्ने सबै कुरा यसका आफ्नै चाहना, महत्त्वाकाङ्क्षा, र उद्देश्यहरूको लागि हो। यसले परमेश्वरलाई उछिन्न, परमेश्वरबाट स्वतन्त्र हुन, र परमेश्वरले सृष्टि गर्नुभएका सबै कुराहरूलाई नियन्त्रणमा लिन चाहन्छ। आज, मानिसहरू शैतानद्वारा यस हदसम्म भ्रष्ट पारिएका छन्। तिनीहरू सबैसँग शैतानी प्रकृति छ, तिनीहरू सबैले परमेश्वरलाई नकार्ने र उहाँको विरोध गर्नमा झुकाव राख्छन्, र तिनीहरू आफ्नो नियतिलाई आफ्नै हातमा राख्न चाहन्छन् र परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूको विरोध गर्ने प्रयास गर्छन्। तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू पहिले नै ठ्याक्कै शैतानका जस्ता छन्। त्यसकारण, मानिसको प्रकृति शैतानको प्रकृति हो। वास्तवमा, मानिसहरूले राखेका धेरै आदर्श-वाणी र लोकोक्तिहरूले मानव प्रकृतिलाई प्रतिनिधित्व गर्छन् र मानिसको भ्रष्ट सारलाई प्रतिबिम्बित गर्छन्। मानिसहरूले छनौट गर्ने कुराहरूले तिनीहरूका आफ्नै प्राथमिकतालाई प्रतिबिम्बित गर्छन्, र ती सबैले मानिसहरूका स्वभाव र पछ्याइहरूको प्रतिनिधित्व गर्छन्। व्यक्तिले आफूले बोल्ने हरेक शब्द, र गर्ने हरेक काम जति नै छद्म भए पनि, यो छद्म रूपले उसको प्रकृतिलाई ढाकछोप गर्न सक्दैन। उदाहरणका लागि, फरिसीहरू प्रायजसो निकै राम्रो प्रचार गर्थे, तर जब तिनीहरूले येशूले व्यक्त गरेका प्रवचन र सत्यताहरू सुने, तब तिनीहरूले तिनलाई स्विकार्नुको सट्टा दोषी ठहराए। यसले सत्यताप्रति वितृष्ण हुने र त्यसलाई घृणा गर्ने फरिसीहरूको प्रकृति सारको खुलासा गर्यो। कतिपय मानिसहरू निकै राम्ररी बोल्छन् र आफ्नो वास्तविकता लुकाउन निकै सिपालु हुन्छन्, तर तिनीहरूसँग केही समयसम्म सङ्गत गरिसकेपछि, उनीहरूले ती मानिस प्रकृतिले नै अत्यन्तै छली भएको र अलिकति पनि इमानदार नभएको पत्ता लगाउँछन्। ती मानिसहरूसँग लामो समयसम्म उठबस गरिसकेपछि, उनीहरूले तिनीहरूको प्रकृति सार पत्ता लगाउँछन्। अन्त्यमा, तिनीहरूले निम्न निष्कर्ष निकाल्छन्: ती मानिसहरू कहिल्यै एक शब्द पनि सत्य बोल्दैनन् र तिनीहरू छली हुन्। यो भनाइले त्यस्ता मानिसहरूको प्रकृतिलाई प्रतिनिधित्व गर्छ, र यो तिनीहरूको प्रकृति सारको सर्वश्रेष्ठ चित्रण र प्रमाण हो। तिनीहरूको संसारसँग व्यवहार गर्ने दर्शन भनेकै कसैलाई सत्य नभन्नु हो, साथसाथै कसैलाई पनि भरोसा नगर्नु हो। मानिसको शैतानी प्रकृतिमा शैतानका धेरै दर्शन र विषहरू हुन्छन्। कहिलेकाहीँ तँ आफैलाई तीबारे थाहा हुँदैन। यदि तँ सत्यता बुझ्दैनस् भने, शैतानको स्वभाव खुट्ट्याउन असक्षम हुन्छस्। र पनि, तँ हरदिन हरपल शैतानको स्वभावअनुसार जिइरहेको हुन्छस् अनि यो निकै सही र समझदारीपूर्ण छ र यसमा कुनै गल्ती छैन भन्ने सोच्छस्। तँ शैतानका दर्शनहरूअनुसार जिउँदा, शैतानको स्वभावअनुसार जिइरहेको हुन्छस् अनि शैतानका दर्शन र स्वभाव तेरो प्रकृति बनेका हुन्छन् भन्ने देखाउन यो पर्याप्त छ। प्रायः मानिसहरू शैतानका दर्शनहरूअनुसार जिउँछन् तर अझै पनि यसलाई निकै राम्रो सोच्छन् र तिनीहरूमा पश्चात्तापको बोध पटक्कै हुँदैन। यो किन हुन्छ? किनभने मानिसहरू सत्यता बुझ्दैनन्। त्यसकारण, तिनीहरूले हरेक मोडमा आफ्नो शैतानी प्रकृति निरन्तर प्रकट गरिरहेका हुन्छन् र तिनीहरू हरेक मोडमा निरन्तर शैतानका दर्शनहरूअनुसार जिइरहेका हुन्छन्। शैतानको प्रकृति मानिसको जीवन हो र यो मानिसको प्रकृति सार हो। प्रकृति के हो भन्ने कुरालाई शब्दहरूमा पूर्ण रूपमा सारांशीकरण गर्न सकिन्छ। मानिसहरूमा हुने प्रकृतिका प्रकारहरूमध्ये, कतिपयमा अहङ्कार, अभिमान र उत्कृष्ट बन्ने चाहना हुन्छ; कतिपयमा स्वार्थी लोभ हुन्छ जसले नाफालाई सबै कुराभन्दा अघि राख्छ र जीवनलाई केही ठान्दैन; कतिपयमा छलीपन, कुटिलपन र हरेक मोडमा मानिसहरूलाई ठग्ने झुकाव हुन्छ; कतिपयमा भयानक दुष्टपन र फोहोरीपन हुन्छ—यी सबै मानिसहरूको प्रकृतिको सारांश हुन्। यदि तँ आफ्नो प्रकृतिबाट प्रकट हुने धेरै कुरालाई खुट्ट्याउन सक्छस् भने, तैँले यसबारे बुझाइ प्राप्त गरेको हुन्छस्। तर, यदि तँमा आफ्नो प्रकृतिबाट प्रकट हुने कुराहरूबारे कुनै पनि बुझाइ छैन भने, तँसित आफ्नै प्रकृतिबारे कुनै बुझाइ हुँदैन। पत्रुसले परमेश्वरका वचनको शोधनमार्फत र परमेश्वरले तिनलाई प्रदान गरेका विभिन्न परीक्षाहरूभित्रबाट आफैलाई चिन्न अनि आफूमा प्रकट भएको कुरा जाँच्न खोजे। जब पत्रुसले आफैलाई साँचो रूपमा चिने, तब तिनले मानिसहरू कति गहन रूपमा भ्रष्ट भएका छन्, उनीहरू परमेश्वरको सेवा गर्नका निम्ति कति धेरै बेकम्मा र अयोग्य छन्, र उनीहरू परमेश्वरको सामु जिउन योग्य छैनन् भन्ने बुझे। त्यसपछि पत्रुस परमेश्वरको सामु लम्पसार परे। यसरी कामकुराहरू धेरै अनुभव गरेपछि, पत्रुसले यस्तो अनुभूति गरे, “परमेश्वरलाई चिन्नु नै सबैभन्दा अनमोल कुरा हो! यदि म उहाँलाई चिन्नुभन्दा पहिले नै मरेँ भने, त्यो दुःखको कुरा हुनेछ; परमेश्वरलाई चिन्नु नै सबैभन्दा महत्त्वपूर्ण, अर्थपूर्ण कुरा हो। यदि मानिसले परमेश्वरलाई चिन्दैन भने, ऊ जिउन लायक हुँदैन, ऊ पशुसरह हुन्छ, र ऊसित जीवन हुँदैन।” पत्रुसको अनुभव यस हदमा पुगिसक्दा, तिनले आफ्नो प्रकृति चिनिसकेका थिए र तिनी त्यसलाई तुलनात्मक रूपमा स्पष्ट तरिकाले बुझ्न सक्थे। पत्रुसले आजका मानिसहरूले जस्तो स्पष्ट रूपमा वर्णन गर्न नसके पनि, उनी वास्तवमा यस स्थितिमा पुगेका थिए। त्यसकारण, सत्यता पछ्याइको मार्गमा हिँड्नु र परमेश्वरद्वारा सिद्धता प्राप्त गर्न परमेश्वरका वचनहरूबाट आफ्नो प्रकृति चिन्नु, साथै आफ्नो प्रकृतिका विभिन्न पक्षहरू जान्नु र त्यसलाई शब्दहरूमा सही तरिकाले वर्णन गर्नु अनि स्पष्ट र सरल रूपमा बोल्नु आवश्यक हुन्छ। यो मात्रै आफूलाई साँचो रूपमा चिन्नु हो, र यसरी मात्रै परमेश्वरले चाहनुभएको परिणाम तैँले प्राप्त गरेको हुन्छस्। यदि तेरो ज्ञान अहिलेसम्म यस बिन्दुमा पुगेको छैन, तर तैँले आफैलाई चिनेको दाबी गर्छस् र तैँले जीवन प्राप्त गरेको छस् भनी भन्छस् भने, के तैँले सेखी गरिरहेको हुँदैनस् र? तँ आफूलाई चिन्दैनस्, न त परमेश्वरसामु आफू के हुँ, तैँले मानव हुनुका मानकहरू साँच्चै पूरा गरेको छस् कि छैनस् वा तँभित्र अझै पनि कति धेरै शैतानी तत्त्वहरू छन् भनेर जान्दछस्। तँ कसको होस् भन्ने विषयमा तँ अझै पनि अस्पष्ट छस्, र तँसँग आत्म-सचेतना समेत छैन—त्यसैले परमेश्वरसामु तँसँग कसरी समझ हुन सक्छ? जब पत्रुसले जीवन पछ्याइरहेका थिए, तब तिनले आफ्ना परीक्षाहरूको अवधिमा आफूलाई चिन्न र आफ्नो स्वभाव रूपान्तरित गर्नमा ध्यान केन्द्रित गरे र तिनले परमेश्वरलाई चिन्ने प्रयास गरे। अन्त्यमा तिनले सोचे, “मानिसहरूले जीवनमा परमेश्वरको ज्ञान पछ्याउनैपर्छ; उहाँलाई चिन्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि म परमेश्वरलाई चिन्दिनँ भने, म मरेपछि शान्तिमा विश्राम गर्न सक्दिनँ। मैले उहाँलाई चिनेपछि, यदि परमेश्वरले मलाई मर्न लगाउनुभयो भने पनि, म अत्यन्तै तृप्त महसुस गर्नेछु। म अलिकति पनि गुनासो गर्नेछैनँ र आफ्नो सम्पूर्ण जीवन सन्तोषजनक भएको महसुस गर्नेछु।” पत्रुसले परमेश्वरमा विश्वास गर्न थालेलगत्तै तिनी यो ज्ञान प्राप्त गर्न वा यस बिन्दुमा पुग्न सक्षम भएनन्; बरु तिनी धेरै परीक्षाहरूबाट गुज्रे। तिनले निश्चित हदमा कामकुराहरू अनुभव गरेपछि र आफूलाई पूर्ण रूपमा चिनेपछि मात्रै परमेश्वरलाई चिन्नुको मूल्य महसुस गरे। त्यसकारण, पत्रुसले लिएको मार्ग सत्यता पछ्याउने र जीवन प्राप्त गर्ने अनि सिद्ध तुल्याइने मार्ग थियो। तिनको निश्चित अभ्यास मुख्य रूपमा यही पक्षमा केन्द्रित थियो।
परमेश्वरमाथिको आफ्नो विश्वासमा, तिमीहरू अहिले कुन मार्गमा हिँडिरहेका छौ? यदि तँ पत्रुसले जस्तै जीवन, आफू र परमेश्वरबारेको ज्ञानको पपछ्याउँदैनस् भने, तँ पत्रुसको मार्गमा हिँडिरहेको छैनस्। आजभोलि, धेरैजसो मानिसहरू यस्तै प्रकारको अवस्थामा छन्: आशिष्हरू प्राप्त गर्नको लागि, मैले आफूलाई परमेश्वरमा समर्पित गर्नुपर्दछ र उहाँको निम्ति मूल्य चुकाउनुपर्छ। आशिष्हरू प्राप्त गर्नका लागि, मैले परमेश्वरका लागि सबै कुरा त्याग्नैपर्छ; मैले उहाँले मलाई सुम्पेको कुरा पूरा गर्नैपर्छ र मैले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नैपर्छ। यो आशिष्हरू प्राप्त गर्ने अभिप्रायद्वारा प्रेरित हुन्छ र तिनीहरूले परमेश्वरप्रति आफूलाई समर्पित गर्नुको उद्देश्य पूर्ण रूपमा उहाँबाट इनामहरू प्राप्त गर्नु र मुकुट हासिल गर्नु हो। त्यस्ता मानिसहरूको हृदयमा सत्यता हुँदैन, र तिनीहरू निश्चित रूपमा केही शब्द र धर्मसिद्धान्त मात्र बुझ्छन् र आफू जाने सबैतिर देखावटी गर्छन्। तिनीहरूको मार्ग ठ्याक्कै पावलकै हो। त्यस्ता मानिसहरूका हकमा भन्दा, परमेश्वरमा विश्वास गर्नु भनेको निरन्तर रूपमा काम गर्नु मात्रै हो। तिनीहरूलाई मनमा, आफूले जति धेरै काम गऱ्यो, परमेश्वरप्रति आफू बफादार भएको त्यति नै बढी प्रमाणित हुन्छ र उहाँ निश्चित रूपमा त्यति नै बढी सन्तुष्ट हुनुहुनेछ भन्ने लाग्छ; तिनीहरूलाई आफूले जति धेरै काम गऱ्यो, परमेश्वरसामु मुकुट प्राप्त गर्न आफू त्यति नै बढी योग्य हुनेछु र आफूले त्यति नै धेरै आशिष्हरू पाउनेछु भन्ने लाग्छ। तिनीहरू सोच्छन्, यदि तिनीहरूले प्रचार गर्न, कष्ट सहन र ख्रीष्टका लागि आफ्नै जीवन बलिदान गर्न सके अनि यदि तिनीहरूले परमेश्वरले तिनीहरूलाई सुम्पेका कर्तव्यहरू पूरा गर्न सके भने, तिनीहरू सबैभन्दा ठूला आशिष्हरू प्राप्त गर्नेहरू हुनेछन् र तिनीहरूलाई निश्चित रूपमा मुकुट दिइनेछ। पावलले ठ्याक्कै यही कल्पना गरेका थिए र यही कुरा पछ्याएका थिए। तिनले हिँडेको मार्ग ठीक यही थियो, र यस्तै विचारहरूको मार्गदर्शनमा तिनले परमेश्वरको सेवा गर्ने काम गरे। के ती सोच र अभिप्रायहरू शैतानी प्रकृतिबाट उत्पन्न हुँदैनन् र? यो त पृथ्वीमा हुँदा आफू ज्ञानको पछि लाग्नुपर्छ र त्यो प्राप्त गरेपछि भीडमा उत्कृष्ट देखिन, अधिकारी बन्न र हैसियत पाउन सकिन्छ भन्ने कुरामा विश्वास गर्ने सांसारिक मानिसहरूजस्तै हो। उनीहरूलाई के लाग्छ भने, हैसियत प्राप्त गरेपछि उनीहरूले आफ्नो महत्त्वाकाङ्क्षा पूरा गर्न र आफ्ना व्यवसायहरू र पारिवारिक व्यापार-व्यवसायलाई समृद्धिको एक निश्चित तहसम्म ल्याउन सक्छन्। के सबै गैरविश्वासीहरू यही मार्गमा हिँड्दैनन् र? यो शैतानी प्रकृतिको प्रभुत्वमा परेका मानिसहरू आफ्नो विश्वासमा पावलजस्तो मात्र हुन सक्छन्। उनीहरू सोच्छन्: “मैले आफैलाई परमेश्वरप्रति समर्पित गर्न सबै कुरा त्याग्नैपर्छ। म परमेश्वरसामु अर्पित हुनैपर्छ र आखिरमा, मैले ठूलो इनाम र ठूलो मुकुट पाउनेछु।” यो त सांसारिक कामकुराहरू पछ्याउने सांसारिक मानिसहरूको जस्तै सोचाइ हो; ठ्याक्कै त्यस्तै हो र त्यस्तै प्रकृतिद्वारा प्रेरित छ। जब संसारमा मानिसहरूसित यस प्रकारको शैतानी प्रकृति हुन्छ, तब उनीहरूले ज्ञान, विद्या, हैसियत पछ्याउनेछन् र भीडमा अलग देखिन खोज्नेछन्। यदि उनीहरूले परमेश्वरमा विश्वास गरे भने, ठूला मुकुट र ठूला आशिष्हरू पाउन खोज्नेछन्। मानिसहरूले परमेश्वरमा विश्वास गर्दा, यदि सत्यता पछ्याएनन् भने, निश्चय नै यो मार्ग लिनेछन्। यस तथ्यलाई कुनै व्यक्तिले परिवर्तन गर्न सक्दैन; यो प्राकृतिक नियम हो। सत्यता नपछ्याउने मानिसहरूले हिँड्ने मार्ग पत्रुसको भन्दा बिलकुलै विपरीत मार्ग हो। तिमीहरू सबै अहिले कुन मार्गमा छौ? तैँले पावलको मार्ग अपनाउने योजना गरेको नभए पनि, तेरो प्रकृतिले नै तँ यस बाटोमा हिँड्छस्, र तँ आफै त्यस दिशामा जाँदैछस् भन्ने देखाउँछ। तैँले पत्रुसको मार्गमा पाइला टेक्न चाहे पनि, यदि कसरी त्यसो गर्ने भन्नेबारे तँ स्पष्ट छैनस् भने, तैँले नचाहेर पनि पावलको मार्ग अपनाउनेछस्: परिस्थितिको वास्तविकता यही हो। आजको समयमा व्यक्ति कसरी पत्रुसको मार्गमा हिँड्नुपर्छ? यदि तैँले पत्रुस र पावलका मार्गहरूबीचको भिन्नतालाई छुट्याउन सक्दैनस् भने, वा यदि तँ तीप्रति खासै परिचित छैनस् भने, तैँले पत्रुसको बाटोमा हिँड्छु भनेर जति नै दाबी गरे पनि, तेरा शब्दहरू बस खोक्रा हुन्छन्। सबभन्दा पहिले, तैँले पत्रुसको मार्ग के हो र पावलको मार्ग के हो भनेर स्पष्टसित बुझ्नुपर्छ। जब तैँले पत्रुसको मार्ग नै जीवनको पछि लाग्ने मार्ग हो, र सिद्धतामा पुग्ने एउटै मात्र मार्ग हो भनेर बुझ्छस्, तब मात्र तँ पत्रुसको मार्गमा हिँड्न, तिनले खोजी गरेजसरी नै खोजी गर्न, र तिनले अभ्यास गरेका सिद्धान्तहरू अभ्यास गर्न सक्छस्। यदि तैँले पत्रुसको मार्गलाई बुझ्दैनस् भने, तैँले लिने मार्ग पावलको मार्ग हुने निश्चित छ, किनकि तेरो निम्ति अर्को कुनै मार्ग हुनेछैन; तँसँग यस मामिलामा कुनै विकल्प हुनेछैन। सत्यता नबुझ्ने र सत्यता पछ्याउन नसक्ने मानिसहरूमा सङ्कल्प छ नै भने पनि उनीहरूलाई पत्रुसको बाटोमा हिँड्न गाह्रो हुनेछ। के भन्न सकिन्छ भने, यो परमेश्वरको अनुग्रह र उत्थान हो कि उहाँले अहिले तिमीहरूलाई मुक्ति र सिद्धताको मार्ग प्रकट गरिदिनुभएको छ। तिमीहरूलाई पत्रुसको मार्गमा डोर्याउनुहुने उहाँ नै हुनुहुन्छ। परमेश्वरको मार्गदर्शन र अन्तर्दृष्टिविना, कसैले पनि पत्रुसको मार्ग लिन सक्नेथिएन, र एकमात्र विकल्प भनेको अनन्त विनाशमा जान पावलका पाइलाहरू पछ्याउँदै, पावलको मार्गमा झर्नु मात्र हुनेछ। त्यो बेला पावललाई त्यो बाटोमा हिँड्नु गलत हो जस्तो लागेको थिएन; तिनले यो बाटो नै सही हो भनी पूर्ण विश्वास गरेका थिए। तिनले सत्यता प्राप्त गरेनन्, र खास गरी तिनको स्वभावमा परिवर्तन आएन। तिनले आफैमा धेरै नै विश्वास गर्थे, र त्यसरी विश्वास गर्नुमा अलिकति पनि समस्या छैन भन्ने तिनलाई लागेको थियो। तिनी पूर्ण हिम्मतसाथ र पूर्ण आत्मविश्वाससाथ निरन्तर अगाडि बढिरहे। अन्त्यमा, तिनी कहिल्यै होसमा आएनन्। तिनले अझै पनि तिनी जिउनु भनेको ख्रीष्ट हो भन्ने सोचे। त्यसरी, पावल आखिरीसम्म त्यही ओह्रालो बाटोमा हिँडिरहे, अनि त्यस बेला अन्त्यमा तिनलाई दण्ड दिइयो, र तिनका निम्ति सबै कुरा समाप्त भयो। पावलको मार्गमा तिनी आफैलाई चिन्ने कुरा समावेश थिएन, स्वभाव परिवर्तन पछ्याउनु त झनै थिएन। तिनले आफ्नै प्रकृतिको बारेमा कहिल्यै पनि विश्लेषण गरेनन्, न त तिनी के थिए भन्ने कुराको बारेमा नै तिनले कुनै ज्ञान प्राप्त गरे। तिनले यति मात्र जान्दथे कि येशूलाई गरिएको सतावटको मुख्य दोषी तिनी नै थिए। तर तिनले आफ्नै स्वभावको बारेमा अलिकति पनि ज्ञान प्राप्त गरेका थिएनन्, र आफ्नो काम समाप्त गरेपछि, तिनलाई वास्तवमा आफूले ख्रीष्टको रूपमा जिइरहेको छु र आफूले इनाम पाउनुपर्छ भन्ने लागेको थियो। पावलले गरेका काम केवल परमेश्वरका निम्ति गरिएको सेवा थियो। किनकि व्यक्तिगत रूपमा, पावलले पवित्र आत्माबाट केही प्रकाश प्राप्त गरेका भए पनि, तिनले एउटै पनि सत्यता वा जीवन हासिल गरेका थिएनन्। त्यसकारण, तिनलाई परमेश्वरले मुक्ति दिनुभएको थिएन। बरु, तिनलाई परमेश्वरले सजाय दिनुभएको थियो। पत्रुसको मार्गलाई किन सिद्धतामा पुऱ्याउने मार्ग भनेर भनिन्छ? किनकि, पत्रुसको अभ्यासमा तिनले जीवनलाई, परमेश्वरलाई चिन्न खोज्ने कार्यलाई, र आफैलाई चिन्ने कुरालाई विशेष जोड दिए। परमेश्वरको कामसम्बन्धी तिनको अनुभवबाट तिनले आफैलाई चिन्न सके, मानिसका भ्रष्ट अवस्थाहरूको ज्ञान प्राप्त गर्न सके, आफ्नै कमीहरूको बारेमा थाहा पाए, र मानिसहरूले अनुसरण गर्नुपर्ने सबैभन्दा मूल्यवान् कुरा पत्ता लगाए। तिनले परमेश्वरलाई साँचो प्रेम गर्न सके, तिनले परमेश्वरको ऋण कसरी चुकाउनुपर्छ भन्ने कुरा जाने, तिनले केही सत्यता प्राप्त गरे, र परमेश्वरले माग गर्नुभएका केही वास्तविकता तिनमा थियो। पत्रुसले आफ्ना परीक्षाहरूको अवधिमा बोलेका सबै कुराबाट यो बुझ्न सकिन्छ, कि तिनी वास्तवमा परमेश्वरलाई सबैभन्दा धेरै बुझ्ने व्यक्ति थिए। तिनले परमेश्वरको वचनबाट धेरै सत्यता बुझ्न सकेका हुनाले, तिनको मार्ग उज्यालो र चहकिलो हुँदै गयो, र झन्-झन् बढी परमेश्वरको अभिप्रायसँग मिल्दै गयो। यदि पत्रुसमा यो सत्यता नभएको भए, तिनले लिएको मार्ग त्यत्ति धेरै सही हुनेथिएन।
अझै पनि प्रश्न उठ्छ: तँलाई पत्रुसको मार्ग के हो भन्ने थाहा छ भने, के तैँले त्यो मार्ग हिँड्न सक्छस्? यो एक वास्तविक प्रश्न हो। तैँले कस्ता व्यक्ति पत्रुसको मार्गमा हिँड्न सक्छन् र कस्ता व्यक्ति सक्दैनन् भनी प्रस्ट रूपले छुट्याउन सक्नुपर्छ। पत्रुसको मार्गमा हिँड्नेहरू सच्चा मानिसहरू हुनैपर्छ। यदि तँ सच्चा व्यक्ति होस् भने मात्र तँलाई सिद्ध पार्न सकिन्छ। सच्चा नहुनेहरूलाई सिद्ध पार्न सकिन्न। पावलजस्ता मानिसहरू पत्रुसको मार्गमा हिँड्न सक्दैनन्। कुनै निश्चित खालका व्यक्तिहरू कुनै निश्चित मार्गमा हिँड्छन्। यो पूर्णतया तिनीहरूको प्रकृतिले निर्धारण गर्छ। तैँले शैतानलाई पत्रुसको मार्गबारे जतिसुकै प्रस्ट रूपमा बताए पनि, त्यसले त्यो मार्ग हिँड्न सक्दैन। त्यसले चाह्यो नै भने पनि त्यो मार्ग हिँड्न सक्दैन। त्यसको प्रकृतिले नै त्यसले पत्रुसको मार्ग हिँड्न सक्दैन भन्ने निर्धारित गरेको हुन्छ। सत्यतालाई प्रेम गर्नेहरू मात्र पत्रुसको मार्गमा हिँड्न सक्छन्। “नानीदेखि लागेको बानी बदल्न सकिँदैन!” यो सत्य हो। तेरो प्रकृतिमा सत्यताप्रति प्रेमको कुनै तत्त्व छैनन् भने, तँ पत्रुसको मार्गमा हिँड्न सक्दैनस्। यदि तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होस्, तेरो भ्रष्ट स्वभावका बाबजुद पनि तँ सत्यता स्विकार्न सक्छस्, र तैँले पवित्र आत्माको काम ग्रहण गर्न र परमेश्वरको अभिप्राय बुझ्न सक्छस् भने, यसरी तैँले देहविरुद्ध विद्रोह गर्न र परमेश्वरको योजनामा समर्पित हुन सक्नेछस्। जब केही परीक्षाहरू भोगेपछि तेरो स्वभावमा परिवर्तन आउँछ, यसको मतलब तँ पत्रुसको सिद्ध हुने मार्गतर्फ बिस्तारै लाग्दै छस्।
हिउँद, १९९८