अहङ्कारी प्रकृति नै परमेश्‍वरप्रतिको मानिसको विरोधको जड हो

आज, म भ्रष्ट मानवजातिको प्रकृति, सार, र स्वभावको विषयमा बोल्‍नेछु। प्रकृति भनेको के हो? प्रकृति भनेको मानिसहरूको अन्तर्निहित सार हो, जसले तिनीहरूभित्र नियन्त्रण र निर्देशनको प्रभाव पैदा गर्छ। कसैले कुन कुरा तिरस्कार गर्छ, घृणा गर्छ, वा मन पराउँछ त्यसले उसको स्वभाव प्रतिनिधित्व गर्छ, जुन प्रत्यक्ष रूपमा उसको प्रकृति र सारसँग सम्‍बन्धित हुन्छ। वास्तवमा, प्रकृति नै सार हो, र व्यक्तिको प्रकृतिले उसको सार निर्धारित गर्छ। स्वभाव भनेको व्यक्तिको सार र प्रकृतिबाट पैदा हुने कुरा हो। मानिसहरूले आफ्‍नो बोलीवचन, व्यवहार, र आचरणमा प्रकट गर्ने स्वभावले तिनीहरूको प्रकृति प्रतिनिधित्व गर्छ, जुन तिनीहरूको सार नै हो। प्रकृतिको अवधारणा यही हो। भन्‍नुको अर्थ, व्यक्तिले जुन कुरा मन पराउँछ, घिनाउँछ, वा तिरस्कार गर्छ, र उसले जुन कुरा पछ्याउँछ, त्यो सबैले उसको प्रकृति प्रतिनिधित्व गर्छ। व्यक्तिको प्रकृति र सार असल कि खराब छ भनेर हेर्नको लागि नियाल्‍नुपर्ने मुख्य कुराहरू यिनै हुन्। उदाहरणको लागि, यदि व्यक्तिलाई दुष्ट कार्य गर्न मन पर्छ भने, त्यो व्यक्तिको प्रकृति र सार निकै खराब हुन्छ; यदि उसलाई असल काम गर्न र धर्मी व्यवहार गर्न मन पर्छ भने, त्यो व्यक्तिको प्रकृति र सार असल हुन्छ। यसो भनिसकेपछि, के तिमीहरू सबैले प्रकृतिको अवधारणा बुझ्यौ? प्रकृति भनेको सार हो। पहिले, मानिसहरूको आत्मा जस्तो छ तिनीहरूको सार पनि त्यस्तै हुन्छ, अर्थात् तिनीहरूमा जुन आत्मा छ र जस्तो प्रकारको आत्मा छ, तिनीहरूको प्रकृति पनि त्यस्तै हुन्छ भनेर भनिएको थियो। अवश्य नै त्यो कुरा गलत छैन, तर आत्माले प्रकृति निर्धारित गर्छ भनेर भन्‍नु अलिक अस्पष्ट र अव्यावहारिक हुन्छ। अब मैले यसको व्याख्या गर्न के प्रयोग गर्नुपर्ला? म मानिसको प्रकृति र सारको व्याख्या गर्न स्वभावको प्रयोग गर्नेछु, किनभने स्वभाव बाहिर प्रकट हुने, र मानिसहरूले देख्‍न, छुन, र सम्पर्कमा आउन सक्‍ने कुरा हो, त्यसकारण यो निकै ठोस र वस्तुगत छ। आत्माको हकमा भन्दा, मानिसहरूलाई यसको गुण अस्पष्ट लाग्छ, तिनीहरू यो रहस्यमय, र तुलनात्मक रूपमा खोक्रो छ भन्‍ने सोच्छन्, किनभने तिनीहरूले यसको कल्‍पना गर्नै सक्दैनन्, न त यसलाई देख्‍न वा छुन, न त व्यक्त गर्न नै सक्छन्। सधैँ आत्मा र प्राणको बारेमा कुरा गर्नु उपयुक्त पनि हुँदैन, न त अत्यावश्यक नै हुन्छ। हामीले प्रकृतिको व्याख्या गर्नलाई त्यसो गर्न जरुरी छैन, किनभने ती कुराहरू अदृश्य छन्, ठोस छैनन्। अहिले हामीले छलफल गर्न लागेको कुरा निकै ठोस र वास्तविक छ, र यसले मानिसहरूको भ्रष्टताको समस्या समाधान गर्न सक्छ। यो समस्या व्यक्त गर्न र व्याख्या गर्नको लागि यस्तो भाषा प्रयोग गर्दा हामीले परिणामहरू हासिल गर्न सक्‍नेछौँ।

हामीले भर्खरै प्रकृतिको अवधारणाबारे कुरा गर्‍यौँ, तर मानव प्रकृति वास्तवमा के हो त? के तिमीहरूलाई थाहा छ? मानवजातिलाई शैतानले भ्रष्ट तुल्याएको हुनाले, तिनीहरूको प्रकृति, जुन तिनीहरूको सार पनि हो, त्यो परिवर्तन भएको छ। अनि, मानव सारचाहिँ के हो त? अहिले मैले सबै मानिसहरूको सार र प्रकृतिबारे कुरा गरिरहेको छु, र यो कुनै निश्‍चित व्यक्तिप्रति मात्रै लक्षित छैन। मानवजाति शैतानद्वारा भ्रष्ट भएको हुनाले, मानिसहरूको प्रकृतिमा ह्रास आउन थाल्यो र तिनीहरूले बिस्तारै सामान्य मानिसहरूमा हुने बोध हराए। तिनीहरूले अब मानिसको स्थानमा रहेर मानवीय प्राणीहरूले जस्तो काम गर्दैनन्; तर तिनीहरू खराब आकाङ्क्षाहरूले भरिएका हुन्छन्; तिनीहरूले मानिसको स्थानलाई उछिनेका छन्, तैपनि तिनीहरू अझै उच्‍च स्थानमा जाने इच्‍छा गर्छन्। यो “उच्‍च” ले केलाई जनाउँछ? तिनीहरूले परमेश्‍वरलाई उछिन्ने, स्वर्गलाई र अरू सबै कुरालाई उछिन्‍ने इच्छा गर्छन्। मानिसहरूले यस्तो स्भाव प्रकट गर्नुको मूल कारण के हो? समग्रमा भन्दा, मानिसको प्रकृति अति नै अहङ्कारी छ। धेरैजसो मानिसहरूले “अहङ्कार” शब्‍दको अर्थ बुझ्छन्। यो निन्दात्मक शब्‍द हो। यदि कसैले अहङ्कार देखाउँछ भने, अरूले त्यो असल व्यक्ति होइन भन्‍ने सोच्छन्। जब कुनै व्यक्ति अत्यन्तै अहङ्कारी हुन्छ, तब अरूले त्यो व्यक्ति दुष्कर्मी हो भन्‍ने अनुमान गर्छन्। कसैले पनि आफूमाथि यो शब्‍द प्रयोग गरियोस् भन्‍ने चाहँदैन। तैपनि, वास्तवमा हरेक व्यक्ति नै अहङ्कारी हुन्छ, र सारा भ्रष्ट मानवहरूमा यही सार हुन्छ। कतिपय मानिसहरू भन्छन्, “म अलिकति पनि अहङ्कारी छैनँ। मैले कहिल्यै पनि प्रधान स्‍वर्गदूत बन्‍ने चाहना गरेको छैनँ, न त मैले कहिल्यै परमेश्‍वरलाई उछिन्‍ने वा अरू सबैलाई उछिन्‍ने चाहना नै गरेको छु। म सधैँ नै विशेष रूपमा शिष्ट र कर्तव्यनिष्ठ व्यक्ति रहिआएको छु।” यस्तै हुन्छन् भन्‍ने छैन; यी वचनहरू गलत छन्। मानिसहरू प्रकृति र सारमा अहङ्कारी बनेपछि, तिनीहरूले बारम्‍बार परमेश्‍वरको आज्ञा उल्लङ्घन र विरोध गर्छन्, उहाँका वचनहरूमा ध्यान दिँदैनन्, उहाँको विषयमा धारणाहरू उत्पन्‍न गर्छन्, उहाँलाई धोका दिने कुराहरू गर्छन्, तिनीहरूका आफ्नै बढाइ गर्ने र आफ्नै गवाही दिने कुराहरू गर्न सक्‍ने हुन्छन्। तैँले तँ अहङ्कारी छैनस् भनी भन्छस्, तर मानौं तँलाई एउटा मण्डली दिइयो र त्यसको नेतृत्व गर्ने अनुमति दिइयो; मानौं मैले तँलाई निराकरण गरिनँ, र परमेश्‍वरको परिवारका कसैले पनि तँलाई आलोचना वा सहयोग गरेनन्: त्यसलाई केही समय नेतृत्व गरिसकेपछि तैँले मानिसहरूलाई तेरो खुट्टामा ल्याउँछस् र तँलाई आदर र श्रद्धा गर्ने हदमा पग्‍ने गरी तिनीहरूलाई तेरो अधीनमा बस्न लाउँछस्। अनि तँ किन त्यसो गर्छस्? यो तेरो प्रकृतिद्वारा निर्धारित भएको हुनेछ; यो प्राकृतिक प्रकटीकरणबाहेक अरू केही हुँदैन। तैँले यो कुरा अरूबाट सिक्‍नुपर्ने कुनै आवश्यकता हुँदैन, न त तिनीहरूले नै तँलाई यो सिकाउनुपर्ने आवश्यकता हुन्छ। तँलाई अरूले यसो गर्न निर्देशन दिनु वा तँलाई यसो गर्न बाध्य गर्नु आवश्यक हुँदैन; यस प्रकारको परिस्थिति प्राकृतिक रूपले नै आउँछ। तैँले गर्ने सबै कुरा मानिसहरूलाई तेरो बढाइ गर्ने, तेरो प्रशंसा गर्ने, तेरो आराधना गर्ने, तँमा समर्पित हुने, र सबै कुरामा तेरो कुरा सुन्‍ने बनाउनु हो। तँलाई एक अगुवा बनाएको तथ्यले नै स्वभाविक रूपमा यस्तो परिस्थिति ल्याउँछ, र यस कुरालाई परिवर्तन गर्न सकिँदैन। अनि यस्तो परिस्थिति कसरी आउँछ? यो कुरा मानिसका अहङ्कारी प्रकृतिद्वारा निर्धारित हुन्छ। अहङ्कार प्रकट हुनु भनेको परमेश्‍वरको विरुद्धको विद्रोह र प्रतिरोध हो। जब मानिसहरू अहङ्कारी, आफैलाई महत्त्व दिने, र आफैलाई धर्मी सम्झने हुन्छन्, तब तिनीहरूले आफ्नै स्वतन्त्र राज्य स्थापना गर्ने र आफूलाई जुन तरिकाले मन लाग्यो त्यसरी काम गर्ने प्रवृत्ति हुन्छ। तिनीहरूले अरूलाई पनि आफ्नै हातमा ल्याउँछन् र तिनीहरूलाई आफ्नो अङ्गालोमा खिच्छन्। मानिसहरूले यस्ता अहङ्कारी कार्यहरू गर्न सक्‍नुले तिनीहरूको अहङ्कारी प्रकृति शैतानको जस्तो छ भन्‍ने प्रमाणित गर्छ; यो प्रधान स्वर्गदूतको जस्तो छ। जब तिनीहरूको अहङ्कार र आत्मअभिमान एक निश्‍चित तहमा पुग्छ, तब तिनीहरूको हृदयमा परमेश्‍वरको लागि कुनै स्थान हुँदैन, र परमेश्‍वरलाई पन्छ्याइन्छ। त्यसपछि, तिनीहरू परमेश्‍वर बन्‍न चाहन्छन्, मानिसहरूलाई तिनीहरूको आज्ञापालन गर्न लगाउँछन् र तिनीहरू प्रधान स्वर्गदूत बन्छन्। यदि तँमा त्यस्तो शैतानी अहङ्कारी प्रकृति छ भने, तेरो हृदयमा परमेश्‍वरका निम्ति कुनै ठाउँ हुनेछैन। तैँले परमेश्‍वरमा विश्‍वास गरे पनि, परमेश्‍वरले अबदेखि तँलाई पहिचान गर्नुहुनेछैन, तँलाई दुष्कर्मीको रूपमा हेर्नुहुनेछ, र तँलाई हटाउनुहुनेछ।

हामीले धार्मिक क्षेत्रका धेरै जना अगुवाहरूलाई बारम्‍बार सुसमाचार प्रचार गरेका छौं, तर हामीले तिनीहरूसँग सत्यताको बारेमा जसरी सङ्गति गरे पनि, तिनीहरूले यसलाई स्वीकार गर्दैनन्। किन यस्तो हुन्छ त? यस्तो किन हुन्छ भने अज्ञानता तिनीहरूको दोस्रो प्रकृति बनेको छ, र तिनीहरूको हृदयमा अब परमेश्‍वरको कुनै पनि स्थान छैन। कतिपय मानिसहरूले यसो भन्‍न सक्छन्, “धार्मिक संसारका कतिपय पाष्टरहरूको नेतृत्वमा रहेका मानिसहरूसँग साँच्‍चै नै धेरै दृढ सङ्कल्‍प हुन्छ; यस्तो लाग्छ कि तिनीहरूको बीचमा परमेश्‍वर हुनुहुन्छ।” के तैँले जोशलाई प्रेरणा भन्‍ने ठान्छस्? यी पाष्टरहरूका सिद्धान्तहरू जति नै उत्कृष्ट सुनिए पनि, के तिनीहरूले परमेश्‍वरलाई चिनेका छन्? यदि तिनीहरू भित्री मनदेखि नै परमेश्‍वरसँग साँचो डर मान्थे भए, के तिनीहरूले मानिसहरूलाई तिनीहरूको पछि लाग्‍न र तिनीहरूको बढाइ गर्न लगाउँथे? के तिनीहरूले अरूलाई नियन्त्रण गर्नेथिए? के तिनीहरूले अरूलाई सत्यताको खोजी गर्न र साँचो मार्गको अनुसन्धान गर्नबाट रोक्ने आँट गर्थे? यदि परमेश्‍वरका भेडाहरूलाई तिनीहरूले वास्तवमा तिनीहरूका आफ्नै भेडाहरू भएको, र ती भेडाहरू सबैले तिनीहरूको कुरा सुन्‍नुपर्छ भन्‍ने विश्‍वास गर्छन् भने, के तिनीहरूले आफैलाई परमेश्‍वरको रूपमा हेर्दैनन् र? त्यस्ता मानिसहरू फरिसीहरूभन्दा पनि खराब हुन्छन्। के तिनीहरू साँचो ख्रीष्टविरोधी होइनन् र? तसर्थ, तिनीहरूको अहङ्कार घातक छ र तिनीहरूलाई विद्रोही कामहरू गर्न लगाउन सक्छ। के यस्तो कुरा तिमीहरूमाझ हुँदैन र? के तिमीहरू मानिसहरूलाई यसरी फन्दामा पार्न सक्छौ? सक्छौ, यति मात्रै हो कि तिमीहरूले त्यस्तो अवसर पाएका छैनौ, र तिमीहरूलाई निरन्तर काटछाँट र निराकरण गरिने गरिएकोले, तिमीहरू त्यसो गर्ने आँट गर्दैनौ। कतिपय मानिसहरूले घुमाउरो पारामा आफ्नै बढाइ गर्छन्, तर तिनीहरू अत्यन्तै चलाख रूपमा बोल्ने हुँदा, साधारण मानिसहरूले तिनीहरूको वास्तविकता थाहा पाउँदैनन्। कतिपय मानिसहरू यति अहङ्कारी हुन्छन् कि तिनीहरू यसो भन्छन्: “अरू कसैद्वारा यो मण्डलीको नेतृत्व गरिनु स्वीकार्य छैन! यहाँ आउनको लागि परमेश्‍वरले पनि सुरुमा मेरो सामना गर्नुपर्छ, र मैले यो मण्डलीको अवस्थाबारे उहाँलाई बताइसकेपछि मात्रै उहाँले तिमीहरूलाई प्रचार गर्न सक्‍नुहुन्छ। मबाहेक, अरू कसैले पनि यहाँ आएर तिमीहरूलाई मलजल गर्न पाउँदैन।” यसो भन्‍नुको पछाडि कस्तो अभिप्राय लुकेको हुन्छ? यसले कस्तो स्वभाव प्रकट गर्छ? यो अहङ्कार हो। जब मानिसहरूले यस्तो व्यवहार गर्छन्, तब तिनीहरूको आचरण परमेश्‍वरविरोधी र उहाँप्रति विद्रोह गर्ने खालको हुन्छ। यसर्थ, अहङ्कारी प्रकृतिले गर्दा नै मानिसहरूले आफूलाई उचाल्छन्, परमेश्‍वरविरुद्ध विद्रोह गर्छन् र उहाँलाई धोका दिन्छन्, अरूलाई फन्दामा पार्छन् र बरबाद गर्छन्, र आफूलाई पनि बरबाद गर्छन्। तिनीहरू पश्‍चाताप नगरी मर्छन्, र अन्त्यमा तिनीहरूलाई हटाइनेछ। के व्यक्तिमा अहङ्कारी स्वभाव हुनु डरलाग्दो कुरा होइन र? यदि तिनीहरूमा अहङ्कारी स्वभाव छ, तर तिनीहरूले सत्यता स्विकार्न सक्छन् भने, तिनीहरूलाई मुक्ति दिइने अझै आशा हुन्छ। अनि, साँचो मुक्ति पाउनको लागि तिनीहरूले न्याय र सजाय भोग्‍नुपर्छ, र आफ्‍नो भ्रष्ट स्वभाव त्याग्‍नुपर्छ।

कतिपय मानिसहरू सधैँ भन्छन्: “परमेश्‍वरले आखिरी दिनहरूमा मानिसहरूलाई मुक्ति दिन किन न्याय र सजाय प्रयोग गर्नुहुन्छ? न्यायका यी वचनहरू किन यति कठोर छन्?” सायद तिमीहरूलाई यो भनाइ थाहा छ होला: “हरेक व्यक्तिअनुसार परमेश्‍वरको काम फरकफरक हुन्छ; यो लचकदार हुन्छ, र उहाँ कुनै नियमको बन्धनमा बस्‍नुहुन्‍न।” आखिरी दिनहरूको न्याय र सजायको काम मुख्यतः मानिसहरूको अहङ्कारी प्रकृतिप्रति लक्षित छ। अहङ्कारमा धेरै कुराहरू पर्छन्, यसमा धेरै भ्रष्ट स्वभावहरू पर्छन्; न्याय र सजाय यही “अहङ्कार” प्रति सोझै लक्षित छ र यो पूर्ण रूपमा मानिसहरूको अहङ्कारी स्वभाव हटाउनको लागि हो। अनि अन्त्यमा, मानिसहरूले परमेश्‍वरविरुद्ध विद्रोह गर्नेछैनन्, न त उहाँको विरोध नै गर्नेछन्, त्यसैले तिनीहरू आफ्‍नै स्वतन्त्र राज्य स्थापना गर्न लागिपर्नेछैनन्, न त तिनीहरूले आफूलाई उचाल्‍ने वा आफ्‍नो गवाही दिने नै गर्नेछन्, न त खराब काम नै गर्नेछन्, न त परमेश्‍वरसँग लालची मागहरू नै गर्नेछन्—यसरी, तिनीहरूले आफ्‍नो अहङ्कारी स्वभाव त्यागिसकेका हुनेछन्। अहङ्कारका धेरै प्रकटीकरणहरू हुन्छन्। उदाहरणको लागि, मानौँ परमेश्‍वरमा विश्‍वास गर्ने कतिपय मानिसहरू उहाँको अनुग्रह माग गर्छन्—तैँले केको आधारमा यस्तो माग गर्न सक्छस्? तँ शैतानले भ्रष्ट तुल्याएको व्यक्ति होस्, सृष्टि गरिएको एक प्राणी होस्; तैँले जिउन र सास फेर्न पाउनु नै परमेश्‍वरको सबैभन्दा ठूलो अनुग्रह हो। तैँले परमेश्‍वरले पृथ्वीमा सृष्टि गर्नुभएको सबै कुराको आनन्द लिन पाउँछस्। परमेश्‍वरले तँलाई दिनुभएको कुरा पर्याप्त छ, तैपनि किन तँ उहाँलाई अझै धेरै माग गर्छस्? यस्तो किन हुन्छ भने आफूले पाएको कुरामा मानिसहरू कहिल्यै सन्तुष्ट हुँदैनन्। तिनीहरू सधैँ अरूभन्दा असल छु, र आफूले अझै बढी प्राप्त गर्नुपर्छ भन्‍ने सोच्छन्, त्यसैले सधैँ परमेश्‍वरबाट ती कुराहरू माग गर्छन्। यसले तिनीहरूको अहङ्कारी स्वभाव प्रतिनिधित्व गर्छ। मानिसहरूले मुखले यो कुरा नबोले पनि, परमेश्‍वरमा विश्‍वास गर्न थाल्दा नै, सायद तिनीहरू यस्तो सोचिरहेका हुन्छन्, “म नरक होइन, स्वर्ग जान चाहन्छु। म आफूले मात्रै होइन, मेरो सारा परिवारले आशिष्‌ पाओस् भन्‍ने चाहन्छु। म मीठो खान, राम्रो लाउन, र राम्रा कुराहरूको आनन्द लिन चाहन्छु। म एउटा असल परिवार, असल जीवनसाथी र राम्रा बालबच्‍चा चाहन्छु। अनि अन्त्यमा, म राजाझैँ शासन गर्न चाहन्छु।” सबै कुरा तिनीहरूका आवश्यकता र मागहरूसँग सम्‍बन्धित हुन्छ। तिनीहरूको यो स्वभाव, तिनीहरूले आफ्‍नो हृदयमा सोच्‍ने यी कुराहरू, यी लालची इच्छाहरू—ती सबैले मानिसको अहङ्कारी प्रकृति प्रतिनिधित्व गर्छन्। के कुराले गर्दा मैले किन यसो भन्दै छु? यो मानिसहरूको हैसियतसँग सम्‍बन्धित छ। मान्छे धुलोबाट सृष्टि गरिएको प्राणी हो; परमेश्‍वरले मान्छेलाई माटोबाट बनाएर उसमा जीवन सास फुकिदिनुभएको हो। मान्छेको हैसियत यति तल्‍लो स्तरको छ, तैपनि मानिसहरू परमेश्‍वरकहाँ यो र त्यो माग्दै आउँछन्। मानिसको हैसियत यति नीच छ, उसले मुख खोलेर परमेश्‍वरबाट केही पनि माग्‍नु हुँदैन। त्यसोभए मानिसहरूले केचाहिँ गर्नुपर्छ त? आलोचना जे-जस्तो आइपरे पनि तिनीहरूले धेरै परिश्रम गर्नुपर्छ, र फटाफट आफ्‍नो बोझ स्विकारेर, खुसीसाथ आज्ञापालन गर्नुपर्छ। यो खुसीसाथ विनम्रता अँगाल्ने कुरा होइन—खुसीसाथ विनम्रता अँगाल्ने नगर्; यो त मानिसहरूले जन्मँदै लिएर आएको हैसियत हो; तिनीहरू अन्तर्निहित रूपमै आज्ञाकारी र विनम्र हुनुपर्छ, किनभने तिनीहरूको हैसियत नै मामुली छ, त्यसकारण तिनीहरूले परमेश्‍वरबाट माग गर्ने, वा परमेश्‍वरप्रति लालची इच्छाहरू जाहेर गर्ने गर्नु हुँदैन। तिनीहरूमा त्यस्ता कुराहरू पाइनु हुँदैन। एउटा सरल उदाहरण यस्तो छ। कुनै एउटा धनी परिवारले एउटा नोकर राख्यो। धनी परिवारमा यो नोकरको स्थान निकै तल्‍लो स्तरको थियो, तैपनि उसले घरको मालिकलाई भन्यो: “म तपाईंको छोराको टोपी लगाउन चाहन्छु, तपाईंको भात खान, तपाईंको लुगा लगाउन, र तपाईंको ओछ्यानमा सुत्‍न चाहन्छु। तपाईं जे प्रयोग गर्नुहुन्छ, चाहे त्यो सुन भए नि चाँदी भए नि, म त्यो पाउन चाहन्छु! मैले आफ्‍नो काममा धेरै योगदान दिने गर्छु, र म तपाईंको घरमा बस्छु, त्यसकारण म ती कुराहरू चाहन्छु!” त्यस्तो व्यक्तिलाई मालिकले कस्तो व्यवहार गर्नेछ? मालिकले भन्‍नेछ: “तैँले आफू को हुँ, र आफ्‍नो भूमिका के हो, त्यो जान्‍नुपर्छ: तँ एक नोकर होस्। म मेरो छोरालाई उसले चाहेको कुरा दिन्छु, किनभने त्यो उसको हैसियत हो। तेरो हैसियत, तेरो पहिचान के हो? तँ यी कुराहरू माग्‍न योग्य छैनस्। तैँले गएर आफ्‍नो हैसियत र पहिचानअनुसार आफूले गर्नुपर्ने काम गर्नुपर्छ, आफ्‍ना दायित्वहरू पूरा गर्नुपर्छ।” के यस्तो व्यक्तिमा कुनै समझ हुन्छ? परमेश्‍वरमा विश्‍वास गर्ने धेरै मानिसहरू छन् जोसँग त्यति समझ हुँदैन। परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि नै, तिनीहरूले गोप्‍य मनसाय राख्‍न थालेका हुन्छन्, र अघि बढ्दै जाँदा, तिनीहरूले निरन्तर परमेश्‍वरसँग मागहरू गर्छन्: “मैले सुसमाचार प्रचार गर्दा मलाई पवित्र आत्माको कामले पछ्याउनुपर्छ! मैले खराब कुराहरू गर्दा पनि तपाईंले मलाई क्षमा दिनुपर्छ र सहनुपर्छ! यदि मैले धेरै काम गरेँ भने, तपाईंले मलाई इनाम दिनुपर्छ।” छोटकरीमा भन्दा, मानिसहरूले परमेश्‍वरबाट सधैँ विभिन्‍न कुरा चाहिरहेका हुन्छन्, र तिनीहरूले सधैँ लोभ गर्छन्। अलिअलि काम गरेर मण्डलीको नेतृत्व राम्ररी गरेका कतिपय मानिसहरूले आफूलाई अरूभन्दा वरिष्ठ ठान्छन्, र प्रायजसो यस्ता कुराहरू फैलाउँछन्: “परमेश्‍वरले मलाई किन महत्त्वपूर्ण पदमा राख्‍नुभयो? उहाँले किन मेरो नाम उल्‍लेख गरिरहनुहुन्छ? उहाँ किन मसँग बोलिरहनुहुन्छ? परमेश्‍वरले मेरो बारेमा राम्रो सोच्‍नुहुन्छ किनकि ममा क्षमता छ र म सर्वसाधारणभन्दा माथि छु। परमेश्‍वरले मसँग राम्रो व्यवहार गर्नुभएकोमा तिमीहरू डाहासमेत गर्छौ। डाहा गर्नलाई तिमीहरूमा के नै छ र? मैले कति काम गर्छु र कति त्याग गर्छु, के तिमीहरू देख्‍न सक्दैनौ? परमेश्‍वरले मलाई दिनुहुने जुनसुकै असल कुराप्रति तिमीहरूले डाहा गर्नु हुँदैन, किनभने म ती पाउन लायक छु। मैले धेरै वर्ष काम गरेको छु र धेरै कष्ट भोगेको छु। म श्रेय पाउन लायक छु र म सुयोग्य छु।” अनि, यसो भन्‍ने अरू मानिसहरू पनि छन्: “परमेश्‍वरले मलाई सहकर्मी भेलामा सहभागी हुन र उहाँको सङ्गति सुन्‍न दिनुभएको छ। मसँग यो योग्यता छ—के तिमीहरूसँग त्यस्तो योग्यता छ? पहिलो कुरा त, मेरो क्षमता नै उच्‍च छ, र म तिमीहरूले भन्दा बढी सत्यता पछ्याउँछु। यति मात्र होइन, म तिमीहरूले भन्दा बढी मेहनत गर्छु, र म मण्डलीको काम पूरा गर्न सक्छु—तिमीहरू सक्छौ त?” यो अहङ्कार हो। मानिसहरूले कर्तव्य निभाउँदा र काम गर्दा आउने परिणाम फरकफरक हुन्छ। कतिले असल परिणाम पाउँछन्, कतिले खराब परिणाम पाउँछन्। कति जना असल क्षमता लिएर जन्‍मेका हुन्छन् र सत्यता खोजी पनि गर्न सक्छन्, त्यसकारण तिनीहरूको कर्तव्यको परिणाममा चाँडै सुधार हुन्छ। यो तिनीहरूको असल क्षमताले गर्दा भएको हो, र यो कुरा परमेश्‍वरले नै पूर्वनिर्धारित गर्नुभएको हुन्छ। तर कर्तव्य निभाउँदा खराब परिणामहरू आउने समस्या कसरी समाधान गर्ने? तिमीहरूले निरन्तर सत्यता खोजी गर्नुपर्छ र कठिन परिश्रम गर्नुपर्छ, त्यसपछि तिमीहरूले पनि क्रमिक रूपमा असल परिणामहरू हासिल गर्दै जानेछौ। जबसम्म तिमीहरू सत्यतामा लागिपर्छौ र आफ्‍नो क्षमताको क्षमताको हदसम्म हासिल गर्छौ, तबसम्म परमेश्‍वरले अनुमोदन गर्नुहुनेछ। तर तिमीहरूको कामको नतिजा असल भए नि नभए नि, तिमीहरूमा भ्रमपूर्ण सोच हुनु हुँदैन। तैँले “म परमेश्‍वरको बराबर हुन योग्य छु,” “म परमेश्‍वरले मलाई दिनुभएको कुराको आनन्द लिन योग्य छु,” “म परमेश्‍वरको स्याबासी पाउन लायक छु,” “म अरूलाई नेतृत्व गर्न लायक छु,” वा “म अरूलाई प्रवचन दिन योग्य छु” भनेर नसोच। आफूलाई योग्य छु भनेर नभन्। मानिसहरूमा यस्ता विचारहरू हुनु हुँदैन। यदि तँमा यी विचारहरू छन् भने, यसले तँ सही स्थानमा छैनस्, र तँमा मानवमा हुनुपर्ने आधारभूत समझशक्ति पनि छैन भन्‍ने प्रमाणित गर्छ। अनि, तैँले आफ्‍नो अहङ्कारी स्वभाव कसरी त्याग्‍न सक्छस्? त्यो त गर्नै सक्दैनस्।

कतिपय मानिसहरू आफूसित भ्रष्ट स्वभाव छैन र आफू अहङ्कारी छैन भनी भन्छन्। यी कस्ता मानिसहरू हुन्? तिनीहरू समझ नै नभएका मानिसहरू हुन्, अनि तिनीहरू सबैभन्दा मूर्ख र अहङ्कारी मानिसहरू पनि हुन्। वास्तवमा, तिनीहरू कुनै व्यक्तिभन्दा बढी अहङ्कारी र विद्रोही मानिसहरू हुन्; कसैले आफूमा भ्रष्ट स्वभाव छैन भनी जति बढी भन्छन्, तिनीहरू त्यति नै बढी अहङ्कारी र स्व-धर्मी हुन्छन्। किन अरूले आफैलाई चिन्न र परमेश्‍वरको न्याय स्विकार्न सक्छन्, तर तँ चाहिँ सक्दैनस्? के तँ अपवाद होस्? के तँ सन्त होस्? के तँ शून्यतामा जिउँछस् र? मानवजाति शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिएको छ, हरेक व्यक्तिमा भ्रष्ट स्वभाव छ। यसको अर्थ तैँले सत्यता बुझेको छैनस्, र तँ सबैभन्दा विद्रोही, अबुझ, र अहङ्कारी छस् भन्‍ने हुन्छ। तेरो विचारमा, संसारमा धेरै असल मानिसहरू छन् र खराब मानिसहरू थोरै मात्र छन्—तैपनि, किन यो अन्धकारले भरिएको छ, अशुद्धता र भ्रष्टताले भरिएको छ, द्वन्द्वले भरिएको छ? किन, मानिसको संसारमा, हरेकले अर्कोबाट लिने र खोस्ने गर्छन्? परमेश्‍वरमा विश्‍वास गर्नेहरू पनि यसको अपवादमा छैनन्। मानिसहरू सधैँ एक-अर्कासित संघर्ष र लडाइँ गरिरहेका हुन्छन्। अनि यो कलह कहाँबाट उत्पन्न हुन्छ? यो तिनीहरूको भ्रष्ट प्रकृतिको उपज हो, अवश्य नै तिनीहरूको भ्रष्ट स्वभावको प्रकटीकरण हो। भ्रष्ट प्रकृति भएका मानिसहरूबाट अहङ्कार र विद्रोह प्रकट हुन्छ; शैतानी स्वभावमा जिउने मानिसहरू विद्रोही र आक्रमक हुन्छन्। विद्रोही र आक्रमक मानिसहरू नै सबैभन्दा अहङ्कारी हुन्छन्, र तिनीहरू कसैको अधीनमा बस्दैनन्। किन मानिसहरूले प्रायजसो आफ्‍नो पाप स्वीकार गर्छन् तर पश्‍चात्ताप गर्दैनन्? किन तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् तर सत्यता अभ्यास गर्न सक्दैनन्? किन तिनीहरूले परमेश्‍वरमा वर्षौँ विश्‍वास गरेर पनि, उहाँअनुरूप हुन सक्दैनन्? यो सबै मानिसहरूको अहङ्कारी प्रकृतिले गर्दा हुन्छ। मानवजातिले सधैँ परमेश्‍वरविरुद्ध विद्रोह र उहाँको विरोध गरेका छन्, सत्यता स्विकार्न पूर्णतया अनिच्छुक रहेका छन्, र सत्यतालाई घृणा र इन्कारसमेत गरेका छन्। मानिसहरूप्रतिको परमेश्‍वरको मापदण्ड अत्यन्तै उच्‍च भएर यस्तो भएको होइन, बरु तिनीहरूले परमेश्‍वरलाई अत्यन्तै उग्र र निष्ठुर तरिकाले विरोध गर्ने हुनाले, यहाँसम्‍म कि तिनीहरूले परमेश्‍वरलाई आफ्‍नो शत्रु बनाएर क्रूसमा समेत टाँग्‍ने हुनाले यस्तो भएको हो। के यस्तो भ्रष्ट मानवजाति अत्यन्तै उग्र, अहङ्कारी, र अविवेकी हुँदैन र? परमेश्‍वरले यति धेरै सत्यता व्यक्त गर्नुहुन्छ, उहाँले मानिसहरूलाई करुणा गर्नुहुन्छ र मुक्ति दिनुहुन्छ, र तिनीहरूको पाप क्षमा गर्नुहुन्छ—तर मानवजातिले सत्यता पटक्‍कै स्विकार्दैनन्, तिनीहरूले सधैँ परमेश्‍वरलाई दोष दिन्छन् र विरोध गर्छन्, र आफूलाई परमेश्‍वरको कट्टर विरोधी बनाउँछन्। अब, परमेश्‍वरसँगको मानवजातिको सम्‍बन्ध कुन स्तरमा रहेको छ? मानिस परमेश्‍वरको शत्रु, उहाँको प्रतिपक्ष बनेको छ। परमेश्‍वर मानिसहरूलाई खुलासा गर्न, न्याय गर्न, र मुक्ति दिन सत्यता व्यक्त गर्नुहुन्छ; मानिसहरू यसलाई स्विकार्ने वा उहाँलाई ध्यान दिने गर्दैनन्। परमेश्‍वरले जुन कुरा गर्न लगाउनुहुन्छ, मानिसहरू त्यो कुरा गर्दैनन्; बरु ती कुराहरू गर्छन् जुन उहाँले घृणा र तिरस्कार गर्नुहुन्छ। परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुन्छ, तर मानिसहरू यसलाई पन्छाउँछन्। परमेश्‍वरले मानिसहरूको भ्रष्ट स्वभावको न्याय गर्नुहुन्छ र तिनीहरूलाई सजाय दिनुहुन्छ, तर तिनीहरू सत्यता अस्वीकार गर्ने मात्रै होइन, उहाँसँग मुखामुख लाग्‍ने र विद्रोह गर्नेसमेत गर्छन्। मानिसहरू कति अहङ्कारी छन्? भ्रष्ट मानवजातिले परमेश्‍वरलाई निर्धक्‍क इन्कार र विरोध गर्छन्। परमेश्‍वरमा विश्‍वास गरे पनि, तिनीहरू सधैँ अपार सम्पत्ति र इनामको पछि लाग्छन्, र स्वर्गको राज्य प्रवेशमा लागिपर्छन्; तिनीहरू शासक बनेर अख्तियार चलाउन पनि चाहन्छन्। यो अहङ्कारको नमुना चित्रण हो, मान्छेको ठ्याक्‍कै त्यही भ्रष्ट स्वभावको चित्रण हो।

मानिसलाई मुक्ति दिन परमेश्‍वर देहधारी हुनुभयो, तर परमेश्‍वरलाई स्वीकार गर्नुको बदला मानिसहरूले निर्वाह खर्च, प्रतिफल, आशिष्‌ माग गरे अनि तिनीहरूले यसो भन्दै परमेश्‍वरलाई स्विकारेको बारेमा शेखी पनि गर्दै गरे कि तिनीहरू परमेश्‍वरका प्रिय हुन्, त्यसकारण अरूले तिनीहरूलाई उच्च सम्मान गरून्। थोरै मानिसहरू आफूले ग्रहण गरेको परमेश्‍वर नै हुनुहुन्छ भनी स्पष्ट रूपले सचेत थिए, तापनि बदलीमा मण्डलीहरूबाट पैसा माग गरे। यस्ता अहङ्कारी मानिसहरूले आफूसित भ्रष्ट स्वभाव छैन, आफ्नो विश्‍वास अरू कसैको भन्दा पनि उत्कृष्ट छ, आफू अरूभन्दा बढी समर्पित भएको, आफूले अरूभन्दा पनि राम्रो व्यवहार गरेको भनी भन्छन्। कतिपय मानिसहरूले आफ्‍नो बारेमा धाक लगाउँछन्: “मैले परमेश्‍वरमा विश्‍वास गरेको बीस वर्ष भयो। मैले सुरुमा विश्‍वास गर्दा, कुनै मण्डली थिएन—म जताजता जान्थेँ त्यतैत्यतै सुसमाचार सुनाउँथेँ!” तँ किन आफ्‍नो बारेमा धाक लगाइरहेको छस्? तँसँग धाक लगाउन लायक केही पनि छैन। तेरो अहिलेको व्यवहारअनुसार त तैँले आफैलाई थप्‍पड हान्‍नुपर्ने हो, आफैलाई धिक्‍कार्नुपर्ने हो, र आफैलाई तिरस्कार र घृणा गर्नुपर्ने हो। त्यसैले तँ किन आफ्‍नो बारेमा धाक लगाइरहेको छस्? तेरो अहङ्कारी स्वभाव अत्यन्तै गम्भीर छ—तँ चरम, उग्र अवस्थामा पुगिसकेको छस्! मानिसहरूले थोरै बोलून् कि धेरै, तिनीहरूको भाव, अभिप्राय, र शब्‍दहरू सबैमा अहङ्कारको गन्ध र सार हुन्छ। म एउटा सरल उदाहरण दिन्छु। मानौँ, मण्डलीमा भर्खरै विश्‍वास गरेको एउटा व्यक्ति छ, जो निकै भरोसायोग्य छ, जो इमानदारितासाथ खोजमा लागिपर्छ। तिनीहरूलाई हेपेर कतिपय मानिसहरूले घमण्डसाथ यसो भन्‍न सक्छन्: “तिमीले विश्‍वास गरेको कति वर्ष भयो? तिम्रो घर कहाँ हो? के तिमीमा केही धारणाहरू छन्? तिमीलाई अझै पनि कुन-कुन सत्यताबारे स्पष्ट थाहा छैन? के तिमी यी आधारभूत सत्यताहरूले सुसज्‍जित छौ? यी सत्यताले सुसज्‍जित भइसकेपछि, तिमी सुसमाचार सुनाउन जानुपर्छ!” कसैलाई यसरी भाषण दिनको लागि तँसँग के योग्यता छ? तँ पनि मान्छे नै होस्, यति हो कि तैँले अलिक चाँडो विश्‍वास गर्न थालिस्। तैपनि, तैँले आफ्‍नो भ्रष्ट स्वभावको सारबाट अहङ्कार फालेको छैनस्। अरूलाई भाषण दिनको लागि तँसँग के योग्यता छ? तैँले अवश्यै तिनीहरूसँग सङ्गति गर्न सक्छस्, तर तेरा दृष्टिकोण र अभिप्रायहरू ठिक छैनन्, तेरो मनोवृत्ति गलत छ, र तेरो चरित्र अत्यन्तै घिनलाग्दो छ! सुसमाचार कार्यको अवस्था बुझ्‍नको लागि कतिपय मानिसहरूलाई माथिल्‍लो तहबाट सम्पर्क गरिन्छ, र तिनीहरूलाई सुसमाचार प्रचारको काममा कुनै कठिनाइ छ कि वा सुसमाचारको काममा के-कस्ता समस्याहरू समाधान गर्नु आवश्यक छ भनेर सोधिन्छ। तिनीहरू भन्छन्: “काम सामान्य रूपमा अघि बढिरहेको छ, र कुनै समस्या छैन” अनि तिनीहरूले जानीजानी अवहेलनाको मनोवृत्ति अपनाउँछन्। सुसमाचार कार्यमा के-कस्ता समस्या हुन्छन् वा ती समस्या के-कसरी समाधान गर्ने गरिन्छ भन्‍नेबारेमा तिनीहरूले बिरलै रिपोर्ट गर्छन्, झन् तिनीहरूले माथिबाट समाधान गरिनुपर्ने कठिनाइहरूबारे रिपोर्ट गर्नु त परको कुरा हो। यो कस्तो समस्या हो? के यो आफ्‍नो कर्तव्य जिम्‍मेवारीपूर्वक गर्नुको प्रकटीकरण हो? के यो परमेश्‍वरप्रतिको बफादारिताको प्रकटीकरण हो? तिनीहरू परमेश्‍वरमा समर्पित हुन्छु र परमेश्‍वरलाई पछ्याउँछु भनी बारम्‍बार भन्छन्, र तिनीहरू साँचो परमेश्‍वर देखेको छु, साँचो रूपमा समर्पित छु, परमेश्‍वरको लागि मेहनत गर्न र मूल्य चुकाउन साँच्‍चै इच्छुक छु भनेर भन्छन्, तर अन्त्यमा, तिनीहरू त्यस्तो स्वभाव प्रकट गर्छन् र त्यस्ता शब्‍दहरू बोल्छन्—तिमीहरूलाई यस्तो व्यक्तिमा साँच्‍चै कस्तो सार हुन्छ जस्तो लाग्छ? यस्तो व्यक्तिको परिणाम के हुन सक्छ? यस्ता व्यक्ति केको लायक हुन्छ? यदि मैले यी वचनहरू नबोलेको भए, यस्ता विषयहरूमा कुनै चासो नदेखाएको भए, तिमीहरू के भन्छौ, यस्ता मानिसहरू कस्तो अवस्थासम्म पुग्थे? यसका परिणामहरू सोच्दासमेत अत्यन्तै भयानक लाग्छन्। जब म मानिसहरूसँग सामान्य शैलीमा बोल्छु र कुराकानी गर्छु, तब म एक साधारण व्यक्ति हुँ भन्‍ने सोच्दै तिनीहरू अहङ्कारी बन्छन्। तिनीहरू बहकिन्छन्, र तिनीहरू सबै कुरा चलाउने र मूल्याङ्कन गर्ने, र सधैँ धाक देखाउने इच्छा गर्दै विभिन्‍न कुराहरू खोक्‍न थाल्छन्। तिनीहरू त्यस्ता व्यक्ति हुन् भन्‍ने देख्दा, म तिनीहरूलाई कुनै ध्यान दिँदिनँ। तिमीहरूलाई साँचो कुरा भन्दै छु, धेरैजसो मानिसहरू निकै घिनलाग्दा हुन्छन्। तिनीहरूलाई भेटेपछि, मैले तीन वाक्य पनि भन्‍न नभ्याउँदै, तिनीहरू शिर तलमाथि गर्दै हाँस्‍न थाल्छन्; तिनीहरूलाई भेटेको एक हप्ता नपुग्दै, तिनीहरूले परमेश्‍वरलाई भाषण दिने दुस्साहस गर्छन्। केही समयसम्‍म त्यस्तो व्यक्तिलाई जानेपछि, मलाई ऊ मन पर्दैन, र म उसलाई कुनै ध्यान दिँदिनँ, र पछि म तिनीहरूले खराब काम गरेका छन्, र तिनीहरू दुष्ट हुन् भनेर भनिएको सुन्छु। आफूलाई कसैको स्थानमा राखेर एकछिन सोच: आफ्‍ना छोराछोरी हुर्काउने क्रममा तिमीहरू यस्तो परिस्थितिमा पर्‍यौ भने, तिमीहरूलाई कस्तो लाग्छ? बूढ्यौलीमा आफूलाई हेरचाह गरून् र मरेपछि उचित अन्त्येष्टि गरून् भनेर मानिसहरूले छोराछोरी हुर्काउँछन्; यदि तिनीहरू वृद्ध भएपछि तिनीहरूका छोराछोरीले तिनीहरूलाई ध्यानै दिएनन्, फाइँफुट्टी लगाउँदै तिनीहरूलाई भाषण दिए, वा तिनीहरूलाई अरूले दुर्व्यवहार गरेको र फाइदा लिएको हेरेर बसे, र आमाबुबाप्रतिको कर्तव्य अलिकति पनि पूरा गरेनन् भने, बाबुआमालाई कस्तो लाग्छ? के तिनीहरूलाई रिस पनि उठ्ने र दुःख पनि लाग्‍ने हुँदैन र? तिमीहरू अहिले जवान छौ र तिमीहरूसँग सतही अनुभव मात्र छ, त्यसकारण तिमीहरूले यो कुरा बुझ्‍न सक्दैनौ। मैले धेरै ठाउँ घुमेको छु र धेरै मानिसहरू भेटेको छु। मैले भेटेर सँगै बसी सङ्गति र दुःख-सुखको कुरा गर्न पाएका मानिसहरूमध्ये, एक जनाले पनि यसो भनेनन्: “परमेश्‍वरले मसँग राम्रो व्यवहार गर्नुभएको छ। ममा अलिकति भए नि विवेक र समझ हुनुपर्छ, र म मेरो विवेकविपरीत केही काम गर्नेछैनँ।” मानिसहरूले सानो कुरा पनि विवेक वा समझअनुसार गर्न सक्दैनन्। तिनीहरूले आफ्‍नै स्थानमा रहेर बोल्‍न, वा आफ्‍नो कर्तव्य पूरा गर्नसमेत सक्दैनन्, सत्यता अभ्यास गर्न सक्‍ने त कुरै नगरौँ, त्यो त तिनीहरूले झन् गर्नै सक्दैनन्। यदि मानिसहरू अत्यन्तै अहङ्कारी बन्छन् भने, तिनीहरू एक कदम अघि बढेर प्रधान स्‍वर्गदूतभन्दा उग्र बन्‍नेछन्।

कतिपय मानिसहरूको क्षमता अलिक राम्रो हुन्छ; तिनीहरूले केही काम गर्न सक्छन्, र तिनीहरू मण्डली अगुवा चयन हुन्छन्। अगुवा बनेपछि, तिनीहरूले त्यति धेरै वास्तविक काम गरेका हुँदैनन्, तैपनि तिनीहरू अहङ्कारी बन्‍न थालिसकेका हुन्छन्। मानिसहरूले तिनीहरूलाई निराकरण गर्ने वा तिनीहरूको गल्ती औँल्याउने आँट गर्दैनन्; यदि तैँले तिनीहरूसँग अलिक कठोर वा कडाइसाथ बोलिस् भने, तिनीहरू रिसाउँछन्, र भन्छन्: “म यो काम गर्नेछैनँ। जसलाई काम गराउन मन लाग्छ, त्यसैलाई गराउनुहोस्। मैले भन्दा राम्रो कसैले गर्न सक्छ कि, हेरौँ। पवित्र आत्‍माले नै तिनीहरूलाई खुलासा गर्नुहोला नि!” यी शब्दहरू कति अहङ्कारी छन्! मानिसहरू कति विद्रोही छन्? आफूले भन्‍ने वा गर्ने कुराहरूप्रति तिनीहरूसँग कुनै भावना हुँदैन—ती कुराहरूप्रति तिनीहरू पूरै अनभिज्ञ हुन्छन्। मैले तिनीहरूका अहङ्कारी शब्‍दहरू, तिनीहरूका अङ्कारी कार्यहरू, तिनीहरूले हृदयमा पाल्ने मनसाय, र तिनीहरूले प्रकट गर्ने कुरूपताहरू अलिअलि गर्दै विश्‍लेषण गरेपिछ मात्र मानिसहरूले आफूलाई बुझ्न सक्‍नेछन्। तिनीहरू यति अबुझ छन्। त्यस्तो विश्‍लेषण र स्पष्टीकरणविना, के तिनीहरूले आफूलाई चिन्‍न सक्छन् र? के तिनीहरूले कुनै मानवीय कार्य गर्न सक्छन् र? मैले निरन्तर लट्ठी लगाएँ भने मात्रै तिनीहरूले अलिक शिष्ट व्यवहार गर्छन्, मानिसहरू यति काम नलाग्‍ने छन्! तिनीहरू अहङ्कारको यो स्तरमा पुगिसकेका छन्; अनुशासनले पनि कुनै काम गर्दैन। कतिपय मानिसहरू भन्छन्: “परमेश्‍वरका धेरै वचनहरू पढिसकेपछि, मलाई ती सत्यता हुन्, र मानिसहरूबारे उहाँले खुलासा गर्नुभएका वचनहरू सही हुन् जस्तो लाग्छ, तर मैले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भयो, तैपनि किन उहाँले मलाई अनुशासित नगर्नुभएको हो?” तिमीहरूलाई के लाग्छ: जब प्रधान स्‍वर्गदूतले परमेश्‍वरलाई धोका दियो, तब परमेश्‍वरले त्यसलाई तुरुन्तै अनुशासित र दण्डित गर्नुभएको भए, के यसले धोका दिन सक्दैनथ्यो र? के यसको धोका दिने प्रकृति समाधान हुन्थ्यो त? के यसको अहङ्कारी स्वभाव हटाउन सकिन्थ्यो? सकिँदैनथ्यो! त्यसकारण, आजका मानिसहरू प्रधान स्‍वर्गदूतभन्दा दश-बीस गुणा बढी अहङ्कारी हुने अवस्थामा पुगेका छन्। अनुशासनले मात्रै हुँदैन, तिनीहरूले न्याय र सजाय पनि स्विकार्नुपर्छ, तिनीहरूले सत्यता पनि स्विकार्नु र पछ्याउनुपर्छ—त्यसपछि मात्रै परमेश्‍वरले तिनीहरूमा काम गर्न सक्‍नुहुन्छ, त्यसपछि मात्रै उहाँले तिनीहरूको जाँच र शोधन गर्न सक्‍नुहुन्छ। यदि तैँले सत्यता स्विकार्न सक्दैनस् भने, तैँले जति वर्ष विश्‍वास गरे पनि त्यसले फरक पार्दैन, किनभने परमेश्‍वरले तँभित्र काम गर्नुहुनेछैन। यदि तँमा विवेक पनि छैन र समझ पनि छैन भने, तँ एक पशु होस्; तँलाई उहाँले भन्‍नुपर्ने केही पनि छैन, तैँले जे गरे पनि तँलाई अनुशासित गरिनेछैन, तर यदि तैँले मण्डलीलाई बाधा दिइस् भने, तँलाई निष्कासित गरिनेछ। यति धेरै सत्यता बोलिसकेपछि, मानिसहरूले यसलाई पछ्याउँछन् कि पछ्याउँदैनन्, त्यो हेर्। यदि तैँले “म सत्यता पछ्याउन पूर्ण अनिच्‍छुक छु, बरु दुष्कर्ममा डुब्‍न चाहन्छु। म पथभ्रष्ट हुन चाहन्छु” भनेर भन्छस् भने, तैँले सजाय पाउन प्रतीक्षा गरिरहेको हुन्छस्। अहिले नै म कसैलाई अनुशासित गर्दिनँ, बस तिनीहरूसँग बोल्छु, र तिनीहरूको भ्रष्टताको खुलासा र न्याय गर्छु। यदि तैँले यसलाई हृदयमा स्विकारिस् भने, तैँले प्रगतिको पथ पछ्याइरहेको हुन्छस्; यदि तैँले यसलाई हृदयमा स्विकारिनस् भने, तैँले पछिको दण्ड पर्खिरहेको हुन्छस्। अहिले, सत्यताको प्रबन्धबाहेक, खुलासा, न्याय र सजाय पनि छन्, अनि दण्ड र प्रतिशोध पनि छन्। अवश्‍य नै, सजाय र प्रतिशोध ढिलोचाँडो आउने नै छ; कसले पो भन्‍न सक्छ र, कुन दिन तैँले प्रशासनिक आदेश उल्‍लङ्घन गर्छस्, र त्यसपछि तँ मर्छस् भनेर! तैपनि, म तिमीहरू प्रत्येकलाई अर्ती दिन्छु, तिमीहरू दण्डले बिउँझाएपछि मात्रै पछ्याउँछु भनेर प्रतीक्षा नगर; त्यो बेला, पछुतो गर्न ढिलो भइसकेको हुनेछ, र तिमीहरू नष्ट हुनेछौ। पश्‍चात्ताप गर्ने कुनै अवसर हुनेछैन। त्यो बेला, सत्यता पछ्याउन अत्यन्तै ढिलो भइसकेको हुनेछ, र त्यो व्यर्थ पनि हुनेछ। चाँडै बिउँझन, केही मानवीय कार्यहरू र केही विवेकपूर्ण कार्यहरू गर्न तिमीहरूले वर्तमानको फाइदा उठाउनु राम्रो। जिद्धी भएर गलत बाटोमा नअल्झनू।

कतिपय मानिसहरूले आफूलाई असल मानवता भएको व्यक्तिको रूपमा प्रस्तुत गर्छन्, तर यदि तँमा साँच्‍चै मानवता छ भने, तँ किन अहङ्कारी कामकुराहरू गर्छस्? तँ किन कुनै मानवीय कामकुरा गर्न सक्दैनस्? तँमा किन अलिकति पनि विवेक वा समझ छैन? मानिसहरू यति अहङ्कारी छन् कि तिनीहरूले परमेश्‍वरबाहेक सबै कुरा चाहन्छन्; तिनीहरू चर्चित व्यक्तिहरू, दियाबलस, र शैतानलाई प्रिय ठान्छन्, तर तिनीहरू न त परमेश्‍वरको आराधना गर्छन् न उहाँप्रति समर्पणता नै देखाउँछन्; तिनीहरूले जुनसुकै खराब कार्य पनि गर्न सक्छन्। म धेरै ठाउँ गएको छु। मलाई बास दिने कतिपय मानिसहरूले खाना र बासको लागि धेरै रकम लिएका छन्, अनि ती खाना र दैनिक वस्तुहरूको पैसा मण्डलीले तिर्नुपरेको छ। तिमीहरू भन त, आखिर किन यी मानिसहरूमा कुनै विवेक छैन? के म तिनीहरूले तयार गरेको खाना खान योग्य छैनँ र? पहिले तिनीहरूले मलाई स्वागत गर्न इच्छुक छौँ भनी भनेका थिए, तर म पुगेपछि, तिनीहरूले कुनै लाज नमानी यस्तो व्यवहार गरे। के तिनीहरू मानवसमेत हुन् र? के तिनीहरूमा अझै मानवता छ र? चिप्लो नबोल्—तैँले त्यो गर्न सक्दैनस्, तँमा कुनै मानवता छैन, र तँ पशु होस्। तेरो प्रकृति र अहङ्कारले नै तँलाई दोषी ठहराउँछ। मानिसहरूमा अत्यन्तै थोरै विश्‍वास छ। तिनीहरू यति अहङ्कारी र विद्रोही छन् कि तिनीहरूसँग परमेश्‍वरको निम्ति कुनै ठाउँ छैन! के यस्तो हदसम्‍म भ्रष्ट भएको व्यक्ति मानव भनिन लायक हुन्छ? यो त दियाबलस शैतानको प्रतिरूप हो। मानिसहरू सोच्छन्: “तपाईंसँग सत्यता भए पनि, तपाईं अझै पनि व्यक्ति मात्रै हुनुहुन्छ, त्यसकारण तपाईंले के नै गर्न सक्‍नुहुन्छ र? तपाईं मलाई केमा मदत गर्न सक्‍नुहुन्छ? मलाई के गर्न सक्‍नुहुन्छ? मलाई कहाँ लैजान सक्‍नुहुन्छ? म तपाईंलाई तुच्छ ठान्छु। तपाईं परमेश्‍वर भए पनि नभए पनि मलाई मतलब छैन।” तिनीहरूले यसबारेमा वास्तै गर्दैनन्। म त ठोकेरै भन्छु, यदि तिमीहरूको कम्पनीको मालिक तिमीहरूको घरमा आयो भने, तिमीहरूले उसलाई ऊ जान चाहे पनि जान दिनेछैनौ; तिमीहरूले उसलाई आफ्‍नो घरमा दुई दिनसम्‍म बसाउनेछौ, र राम्रोसित उसको सत्कार गर्नेछौँ। त्यसकारण, मानिसहरूले सधैँ अहङ्कारी भएर बोल्‍नु हुँदैन, अरू कसैलाई भन्दा बढी परमेश्‍वरलाई चाहन्छु, सत्यता अभ्यास गर्न अरूभन्दा सिपालु छु, आफैलाई अर्पित गर्न अरूभन्दा उत्तम छु, अरूले भन्दा बढी मूल्य चुकाएको छु, र अरूभन्दा बढी बफादार छु भनेर भन्‍नु हुँदैन। आफ्‍नो धाक नलगा—तँ त्यसो गर्न लायक छैनस्, न त तैँले त्यस्तो मूल्य चुकाएको छस्, न त तैँले वास्तविक काम नै गरेको छस्। तैँले थोरै काम गरेको भए पनि, त्यो तैँले परमेश्‍वरको लागि इमानदारितासाथ आफूलाई अर्पित गरेसरह हुँदैन, परमेश्‍वरप्रतिको पूर्ण बफादारिता, र मृत्युसम्‍मैको समर्पणसरह हुनु त परको कुरा हो। तँ तीनदेखि पाँच वर्षसम्‍म दृढ भई लागिरहन सक्‍लास्, तर समय बित्दै गएपछि, तँ दृढ भई अझै लागिरहन सक्दैनस्, अनि तँ झारातिरुवा बन्‍नेछस्, र गुनासो गर्नेछस्। अरूभन्दा माथि छु भनेर नसोच्। अरूको तुलनामा, तँ उच्‍चस्तरको छैनस्, बरु तिनीहरूभन्दा निकै तल छस्; युगौँयुगका सन्तहरूसँग तैँले आफूलाई तुलना गर्न सक्‍नु त परको कुरा हो। के तँ साँच्‍चिकै हर कुराको धाक लगाउन लायक छस् त? तिमीहरू सबै भन्छौ: “यदि मैले पछि परमेश्‍वरलाई सम्पर्क गरेँ भने, ग्यारेन्टी भयो, म उहाँलाई छल गर्नेछैनँ।” तेरो ग्यारेन्टीको केही समय जाँच गर्न जरुरी छ। म थप मानिसहरूलाई सम्पर्क गर्न अनिच्‍छुक छु; तिनीहरूलाई सम्पर्क गर्नु र तिनीहरूको आचरण देख्‍नु नै मेरो रिस उठ्नलाई काफी छ! यो कुराको कारण मलाई कति रिस उठ्छ भन्‍ने त तिमीहरूमध्ये कतिलाई थाहा नै होला। सत्यता पटक्‍कै नपछ्याउने, अनि सधैँ अरूमाथि नियन्त्रण हासिल गर्न अख्‍तियार चलाउने मानिसहरू देख्दा मलाई विशेष रिस उठ्छ। म तिनीहरूलाई घृणा गर्छु। सत्यता पटक्‍कै नपछ्याउने मानिसहरू निकै खराब हुन्छन्, र तिनीहरूमा मानवता हुँदै हुँदैन; म त्यस्ता मानिसहरूलाई अवश्यै सम्पर्क गर्नेछैनँ। मैले तिनीहरूलाई ध्यान दिँदिनँ भन्‍ने देखेपछि, त्यस्ता मानिसहरूले गुनासो गर्न सक्छन्। यी मानिसहरू कति अनुचित छन्! अहिले, धेरैजसो मानिसहरूलाई सत्यता कसरी पछ्याउने भन्‍ने नै थाहा छैन—तिनीहरूको कद साह्रै सानो छ, र तिनीहरूमा भएको थोरै मानवता र समझशक्ति पनि साह्रै कमजोर छ, त्यसकारण म तिनीहरूसँग कुनै पनि हालतमा उठबस गर्नेछैनँ। यदि तँ यस्तो व्यक्तिसँग दुई दिन मात्र सँगै बसिस् भने, त्यसले तँलाई तुच्छ नजरले हेर्नेछ, र त्यो अहङ्कारी—अत्यन्तै अहङ्कारी—बन्‍नेछ, अनि तैँले जे भने पनि, तेरो कुरा त्यसले सुन्‍नेवालै छैन।

कुनै बेला, म हरप्रकारका आश्रयदाता परिवार र परमेश्‍वरका हरप्रकारका विश्‍वासीहरू भेट्दै मण्डली-मण्डली चहार्ने गर्थेँ। अहिलेचाहिँ किन मलाई धेरै मानिसहरूको सम्पर्कमा आउन मन लाग्‍न छोडेको छ? मानिसहरू अत्यन्तै खराब छन्, तिनीहरूमध्ये धेरैजसोमा न त विवेक न त समझशक्ति नै छ, तिनीहरूसँग परमेश्‍वरको लागि कुनै स्थान छैन, र तिनीहरू उहाँविरुद्ध सधैँ युक्ति रच्दै हिँड्छन्, त्यसकारण मैले मानिसहरूबाट टाढा बस्‍ने, र आफूले गर्नुपर्ने काम मात्रै गर्ने निर्णय गरेको हुँ। कतिपय मानिसहरू भन्छन्: “के परमेश्‍वर हाम्रो माझ जिउनुहुन्‍न र?” म मानिसहरूमाझ जिउँछु, त्यसमा कुनै शङ्का छैन, तर म दुष्टहरूमाझ बस्‍न सक्दिनँ, त्यो साह्रै खतरनाक हुन्छ। ममा आत्मिक शरीर भएको भए बेस हुन्थ्यो, किनभने मानिसहरूमाझ म जे पनि गर्न सक्थेँ—मैले येशूको जस्तै आत्मिक शरीर पाएको भए राम्रो हुन्थ्यो, किनभने उहाँले आफ्‍नो खुसीले काम गर्न सक्‍नुहुन्थ्यो, र मानिसहरूले सताउने आँट गर्ने थिएनन्—तर अहिले ममा देहको सामान्य शरीर, मासुको एकदमै सामान्य शरीर छ, र यसमा अलौकिक कुरा केही पनि छैन, त्यसकारण मानिसहरूले यसलाई स्विकार्न सक्दैनन्; तिनीहरू सधैँ धारणाहरू बनाउँछन् र परमेश्‍वरलाई जाँच्‍न चाहन्छन्। यदि यसप्रकारको स्वभाव भएको यस्तो व्यक्तिलाई अनुशासित र दण्डित गर्ने हो भने, त्यसलाई एक महिना तनाव दिने हो भने, के यसले काम गर्ला जस्तो तिमीहरूलाई लाग्छ? यो त व्यर्थ हुनेछ। एक महिनासम्‍म तनावमा परेपछि तिनीहरू उठ्नेछन् र रिस पोख्‍नेछन्। के तिमीहरूलाई अनुशासन मात्रैले परिवर्तन ल्याउन सक्छ जस्तो लाग्छ? लाग्दैन। त्यसैले त विगतमा म धेरै मानिसहरूको सम्पर्कमा आएको थिएँ, तर तिनीहरूमध्ये थोरैले मात्र सत्यतालाई प्रेम गर्थे। म तिमीहरूलाई के मात्रै भन्‍न सक्छु भने, परमेश्‍वरबाट केही पाउनको लागि मात्रै मानिसहरूले उहाँमा विश्‍वास गर्नु हुँदैन। तैँले बस आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्ने, र आफ्‍नो सारा शक्ति लगाउनेबारेमा मात्रै ध्यान दिनुपर्छ। यदि तेरो क्षमता कमजोर छ, र प्रयोग गर्न लायक छैन भने, तैँले तुरुन्तै आफ्‍नो स्थान छोडिदिनुपर्छ। तँ आज्ञाकारी र शिष्ट हुनुपर्छ, र गर्नुपर्ने कुरा गर्नुपर्छ, गर्न नहुने कुरा गर्नु हुँदैन, र तँ समझदार हुनुपर्छ। तँ एक व्यक्ति होस्। यदि परमेश्‍वरले तँलाई सास, जीवन, र शक्ति नदिनुभएको भए, तैँले केही पनि गर्न सक्‍नेथिनस्। मानिसहरूले केही पनि माग्‍नु हुँदैन, न त योग्यताहरूको तुलना गर्नु नै हुन्छ; तँमा योग्यताहरू हुनु व्यर्थ छ! यदि मण्डलीले तँलाई अगुवा बनायो भने, त्यो तेरो जिम्‍मेवारी बन्छ, र अरू कसैलाई अगुवा बनायो भने, त्यो तिनीहरूको जिम्‍मेवारी हुन्छ। अवश्य पनि, कामको कुरा आउँदा, तैँले सङ्गति गर्नुपर्छ, तर तैँले योग्यताहरू तुलना गर्दै यस्तो सोच्‍नु हुँदैन: “म त्यो मण्डलीमा धेरै पहिलेदेखि नै योग्य रहेको छु, त्यसकारण तिनीहरूले मलाई आदर गर्नुपर्छ। म सबैभन्दा पाको पनि हुँ, र तिमी मभन्दा कान्छो हौ।” यस्तो कुरा नबोल्, किनभने यो अत्यन्तै अविवेकी कुरा हो। कतिपय मानिसहरू यसो पनि भन्छन्: “मैले परमेश्‍वरको लागि आफैलाई अर्पित गर्नको लागि आफ्‍नै काम छोडेँ, परिवार त्यागेँ, अनि के पाएँ त? मैले केही पनि पाएको छैनँ, र परमेश्‍वरले अझै पनि मानिसहरूलाई भाषण दिनुहुन्छ।” तिमीहरूलाई यी शब्‍दहरू कस्तो लाग्यो? मानिसहरू ठीक ठाउँमा बस्‍नुपर्छ र तिनीहरू सबैभन्दा पहिले तिनीहरू मान्छे हुन्, तिनीहरू भ्रष्ट मानवजाति हुन् भन्‍ने तथ्यप्रति स्पष्ट हुनुपर्छ। यदि तँलाई अगुवा बनाइएको हो भने, अगुवा बन्; अगुवा बनाइएन भने, साधारण विश्‍वासी बनेर बस्; यदि तँलाई काम दिइयो भने, तैँले केही गर्ने मौका पाएको हुन्छस्; यदि तँलाई काम गर्न दिइएन भने, तैँले केही पनि गर्न सक्दैनस्। धाक नलगा—धाक लगाउनु खराब लक्षण हो, र यसले तँ चरम विनाश, अर्थात् मृत्युतिर हिँडिरहेको छस् भन्‍ने प्रमाणित गर्छ। धाक नलगा, र यसको नभन्: “मैले कुनै ठाउँमा केही मानिसहरूलाई विश्‍वासमा ल्याएको छु, त्यसैले तिनीहरू मेरा फल हुन्। म नगएको भए, कसैले पनि यो काम गर्ने थिएन। जब म गएँ, पवित्र आत्‍माले ठूलो काम गर्नुभयो!” यसरी धाक नलगा। बरु, तैँले यसो भन्‍नुपर्छ: “ती मानिसहरूलाई विश्‍वासमा ल्याउन सक्‍नु पवित्र आत्माको कामको परिणाम थियो, किनभने व्यक्तिले त थोरै काम मात्रै गर्न सक्छ। यदि हामीले सुसमाचार प्रचार गर्ने काम सक्‍यौँ, र परमेश्‍वरले हामीलाई घर पठाउनुभयो भने, हामी घर जानेछौँ।” यसो नभन्: “मैले के गलत काम गरेँ र तपाईंले मलाई घर पठाउनुभएको? यदि तपाईं कारण बताउन सक्‍नुहुन्‍न भने, म घर जान्‍नँ!” यस्तो सर्त अघि नसार्। यदि तँसँग यस्तो सर्त छ भने, तेरो स्वभाव विशेष अहङ्कारी छ भन्‍ने प्रमाणित हुन्छ। यदि तैँले गल्ती गरेको छैनस् भने, के तँलाई घर पठाउन सकिँदैन र? यदि तैँले सही काम गरेको छस् भने, के तँलाई घर पठाउन सकिँदैन र? यदि तैँले काम सही रूपमा र राम्ररी गरेको छस् भने पनि, र यदि तँलाई घर पठाइयो भने, तँ घर फर्केर जानैपर्छ। यदि तँलाई निराकरण गरियो भने, तैँले त्यो स्विकार्नुपर्छ र तँ त्यसमा समर्पित हुनुपर्छ। त्यो दायित्व, र जिम्‍मेवारी हो, र तैँले आफ्‍नो प्रतिरक्षा गर्नु हुँदैन। अय्यूबले परमेश्‍वरमा विश्‍वास गर्थ्यो र उहाँको डर मान्‍न र दुष्टताबाट अलग बस्‍नमा मात्रै ध्यान दिन्थ्यो। अय्यूबले केही पनि मागेन, तैपनि यहोवाले उसलाई आशिष्‌ दिनुभयो। कतिपय मानिसहरू भन्छन्: “त्यो त अय्यूब परमेश्‍वरप्रति असल भएकोले हो, त्यसैले नै निश्‍चित रूपमा परमेश्‍वरले तिनलाई आशिष् दिनुभयो; त्यो अय्यूबको विश्‍वास र धर्मी कार्यको निम्ति दिइएको थियो।” यो कुरा गलत हो, यो सट्टामा दिइएको आशिष्‌ थिएन, तर यहोवाले उसलाई आशिष्‌ दिन चाहनुहुन्थ्यो। यहोवाले ऊबाट सबै कुरा खोस्‍नुभएपछि किन उसले गुनासो गरेन? किन उसले यसो भनेन: “म धर्मी व्यवहार गर्छु, म अत्यन्तै योग्य छु, त्यसकारण तपाईंले मसँग यस्तो व्यवहार गर्नु हुँदैन”? यो कुरा कुन गर्नुपर्ने र कुन नगर्नुपर्ने भन्‍ने विषय होइन। जब परमेश्‍वरमाथिको विश्‍वासको कुरा आउँछ, यदि मानिसहरूले सधैँ आफ्‍नै छनौट रोजे भने र सधैँ धारणा र धर्मसिद्धान्तहरूबारे बोले भने, त्यो सही हुँदैन। त्यो त मानव अहङ्कार, र विद्रोह हुन्छ। मानव छनौट भनेकै मानव अशुद्धता हो।

के तिमीहरूले आफ्‍नो अहङ्कारी स्वभाव प्रकट गर्दा त्यसको बारेमा तिमीहरूलाई थाहा हुन्छ? कतिपय मानिसहरूलाई थाहा हुँदैन, र तिनीहरूले यसो भन्छन्: “म अहङ्कारी छैन, र मैले यसभन्दा पहिले कहिल्यै अहङ्कारी कुरा भनेको छैन।” वास्तवमा, तँलाई थाहा नभए पनि, तँसँग अहङ्कारी स्वभाव हुन्छ, तैँले प्रकट मात्रै गरेको हुँदैनस्। तैँले बाहिरी रूपमा यो प्रकट गरेको छैनस् भन्‍ने तथ्यले तँमा अहङ्कारी स्वभाव छैन भनेर प्रमाणित गर्दैन; सायद तेरो हृदय अरूको भन्दा पनि बढी अहङ्कारी रहेको हुनसक्छ, यति हो कि कसरी नाटक गर्ने भन्‍ने तँलाई थाहा छ, त्यसकारण यो प्रकट हुँदैन, तर समझशक्ति भएका मानिसहरूले यो कुरा देख्‍न सक्छन्। त्यसकारण, हरेक अहङ्कारी व्यक्तिमा अहङ्कारी स्वभाव हुन्छ, र यो मानवजातिको सामान्य प्रकृति हो। अहङ्कारी प्रकृति भएका मानिसहरू परमेश्‍वरको आज्ञा उल्लङ्घन गर्न, उहाँको विरोध गर्न, उहाँको निन्दा गर्न र उहाँलाई धोका दिन, र आफैलाई ठूलो बनाउने कामहरू गर्न सक्‍ने हुन्छन्, र त्यो तिनीहरूको आफ्नै स्वतन्त्र राज्य स्थापना गर्ने प्रयास हो। मानौं, एउटा देशका दशौं हजार मानिसले परमेश्‍वरको कामलाई स्वीकार गरे, र परमेश्‍वरका चुनिएका मानिसहरूको नेतृत्व गर्न र रेखदेख गर्नको लागि परमेश्‍वरको घरले तँलाई त्यहाँ पठायो। परमेश्‍वरको घरले तँलाई अधिकार दियो र मैले वा अरू कसैले तँलाई रेखदेख नगरिकन आफै काम गर्ने अनुमति दियो। धेरै महिनापछि, तँ स्वतन्त्र शासक जस्तै भएको हुनेथिइस्, सबै शक्ति तेरो हातमा हुनेथियो, तैँले नै सबै निर्णय गर्नेथिइस्, चुनिएका सबै मानिसहरूले तँलाई तँ परमेश्‍वर होस् जस्तै गरी तेरो आदर गर्नेथिए, तेरो आराधना गर्नेथिए, र तेरो आज्ञापालन गर्नेथिए, तेरो अघि निहुरिनेथिए, हरेक शब्दमा तेरो प्रशंसा गरिरहेका हुनेथिए, तैँले गहिरो अन्तर्दृष्टि सहित प्रचार गर्छस् भनेर भनिरहेका हुनेथिए, तैँले भनेका कुराहरू नै तिनीहरूलाई चाहिएको कुरा हो, तैँले तिनीहरूका खाँचोहरू पूरा गर्न सक्छस् र तिनीहरूलाई डोर्‍याउन सक्छस्, अनि “तिनीहरूको हृदयमा परमेश्‍वरको निम्ति कुनै ठाउँ छैन” भनी निरन्तर दाबी गरिरहेका हुनेथिए। तैँले यो काम कसरी गरेको हुन्छस्? यी मानिसहरू त्यस्तो प्रतिक्रिया दिन सक्ने हुनुले के प्रमाणित गर्छ भने, तैँले गरिरहेको कामले परमेश्‍वरको निम्ति गवाही दिने कार्यलाई पटक्कै समेटेको थिएन; बरु, त्यसले तेरो आफ्नै बारेमा मात्रै गवाही दियो र तँ आफैलाई प्रकट गऱ्यो। तैँले त्यस्तो परिणाम कसरी हासिल गर्न सकिस्? कतिपय मानिसहरू भन्छन्, “म जुन सङ्गति गर्छु त्यो सत्यता हो; मैले निश्चय नै कहिल्यै पनि आफ्नै गवाही दिएको छैनँ!” तेरो यस्तो आचरण—त्यो व्यवहार—भनेको परमेश्‍वरको स्थानमा बसेर मानिसहरूसँग सङ्गति गर्न खोज्ने कोसिस हो, र यो एक भ्रष्ट मानिसको स्थितिमा खडा भएर सङ्गति गर्ने कार्य होइन। तैँले भन्ने सबै सतही कुरा र अरूबाट माग गर्ने कुरा हो; तँ आफैसँग त्यसको कुनै सरोकार हुँदैन। त्यसकारण, तैँले प्राप्त गर्ने परिणाम भनेको मानिसहरूलाई तेरो पूजा गर्न लाउनु, अनि तँप्रति ईर्ष्या गर्न लाउनु र तिनीहरू सबै तँमा समर्पित नओउञ्जेल, तेरो साक्षी नदिउञ्जेल, तँलाई उच्च नपारुञ्‍जेल र उच्च स्वर्गसम्म तेरो चापलुसी नगरुञ्‍जेल आखिरीसम्म तेरो प्रशंसा गर्न लगाउनु हो। जब त्यस्तो हुन्छ, तँ समाप्त भएको हुनेछस्; तँ असफल भएको हुनेछस्! के तिमीहरू सबै अहिले यही मार्गमा छैनौ र? यदि तँलाई एक-दुई हजार वा एक-दुई लाख मानिसहरूको नेतृत्व गर्न आग्रह गरियो भने, तँ अति प्रसन्न हुनेछस्। तैँले अहङ्कार पैदा गर्छस् र परमेश्‍वरको स्थान ओगट्ने, उहाँजस्तै बोल्ने र हाउभाउ गर्ने कोसिस गर्छस्, र तँलाई के लगाउने, के खाने, वा कसरी हिँड्ने भनी थाहा हुँदैन। तँ जीवनको सहजताहरूमा आनन्द गरेर बस्थिस् र आफैलाई उच्‍च ठान्थिस्, अनि साधरण दाजुभाइ-दिदीबहिनीहरूसित भेट गर्ने झमेला गर्नेथिइनस्। तँ अत्यन्तै पतन हुन थाल्थिस्, र प्रधान स्वर्गदूतलाई जस्तै तँलाई उदाङ्गो पारेर बाहिर हटाइनेथियो, अनि एक्कासि प्रहार गरी ढालिनेथियो। तिमीहरू सबै यसो गर्न सक्षम छौ, होइन र? त्यसो भए, तिमीहरूले के गर्नुपर्छ? यदि एक दिन तिमीहरूलाई हरेक देशको सुसमाचारको कामको जिम्‍मेवारी दिने प्रबन्धहरू मिलाइयो, र तिमीहरू ख्रीष्ट-विरोधीको मार्गमा हिँड्न सक्‍ने अवस्थामा थियौ भने, त्यो कामलाई कसरी फैलाउन सकिन्छ? के यो समस्याग्रस्त हुनेथिएन र? त्यसपछि, कसले तिमीहरूलाई बाहिर जान दिने आँट गर्नेथियो र? त्यहाँ पठाइएपछि, तँ कहिल्यै फर्केर आउनेथिइनस्; तैँले परमेश्‍वरले भन्नुभएको कुनै पनि कुरामा ध्यान दिनेछैनस्, र तैँले आफ्‍नै प्रदर्शन गरिरहेको र आफ्नै गवाही दिइरहेको मात्र हुनेछस्, मानौं तैँले मानिसहरूलाई मुक्तिमा ल्याइरहेको छस्, परमेश्‍वरको काम गर्दैछस्, र मानिसहरूलाई परमेश्‍वर प्रकट हुनुभएको छ र यहाँ काम गरिरहनुभएको छ जस्तो महसुस गराउँछस्—र जब मानिसहरूले तेरो पूजा गर्छन्, तँ आनन्दले भरिन्छस् र तिनीहरूले तँसित परमेश्‍वरलाई जस्तो व्यवहार गरे भने, तैँले कुनै विरोध नगरिकन त्यो कुरालाई स्वीकार गर्छस्। तँ त्यो स्तरमा पुगेपछि तँ नाश हुन्छस्, तँ खतम हुनेछस्; तँलाई त्यागिनेछ। यस किसिमको अहङ्कारी प्रकृतिले थाहै नपाई तँलाई नाश पार्दछ। यो ख्रीष्ट-विरोधीको मार्गमा हिँड्ने व्यक्तिको उदाहरण हो। यस्तो स्थितिमा पुगेका मानिसहरूले सबै चेतना गुमाएका हुन्छन्, तिनीहरूका विवेक र समझले काम गर्न छोडेको हुन्छ, र प्रार्थना वा खोजी कसरी गर्ने तिनीहरूलाई त्यो समेत थाहा हुँदैन। तैँले यस्तो सोच्‍ने दिन आओस् भनेर नपर्खी: “मैले आफूलाई नियाल्‍नुपर्छ, र इमानदारिताको साथ प्रार्थना गर्नुपर्छ!” त्यो बेलासम्‍म ढिला भइसकेको हुनेछ। तँलाई यस कुराको बारेमा अग्रिम रूपमा थाहा हुनुपर्छ; तैँले खोजी गर्नुपर्छ: “आफ्‍नो बारेमा गवाही नदिई परमेश्‍वरलाई गवाही दिनको लागि, आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नको लागि मैले कस्तो व्यवहार गर्नुपर्छ? अरूसँग सङ्गति गर्नको लागि, र अरूलाई अगुवाइ गर्नको लागि मैले के-कस्ता विधिहरूको प्रयोग गर्नुपर्छ?” तैँले यसरी नै तयारी गर्नुपर्ने हुन्छ। यदि एक दिन तिमीहरूलाई बाहिर काम गर्न पठाउने बन्दोबस्त गरियो, र तिमीहरू अझै पनि आफूलाई उचाल्‍न र आफ्‍नो गवाही दिन सक्‍ने अवस्थामा छौ, जसले गर्दा तिमीहरूको मातहतमा भएका धेरै मानिसहरू बरबाद हुन्छन् भने, तिमीहरू समस्यामा हुनेछौ, र पछि तिमीहरूले परमेश्‍वरको दण्ड भोग्‍नेछौ! के मैले तिमीहरूलाई यी वचनहरू भन्‍नु ठीक हुन्छ? मैले भन्‍नुभन्दा पहिले, तिमीहरूले त्यसो गर्न सक्थ्यौ होला; मैले भनेपछि पनि तिमीहरू अझै त्यसो गर्न सक्छौ भने, के तिमीहरू समस्यामा हुँदैनौ र? तिमीहरू सबैले आफ्‍नो काम कसरी गर्ने, र कसरी आफूलाई उचित रूपमा प्रस्तुत गर्ने त्यसको बारेमा विचार गर्नुपर्ने हुन्छ। तिमीहरूले भन्‍ने र गर्ने, तिमीहरूको हरेक व्यवहार र चालचलन, हरेक बोलीवचन र काम, र तिमीहरूको हृदयको हरेक अभिप्राय सबै मापदण्ड अनुरूप हुनुपर्छ; एउटै कुरालाई पनि छुटाउनु हुँदैन, र तिमीहरूले कुनै पनि उम्कने बाटोको फाइदा लिनु हुँदैन। अहङ्कार मानिसको एउटा प्रकृति भए पनि, र यसलाई परिवर्तन गर्न सहज नभए पनि, मानिसहरूले आफ्‍नो अहङ्कारी स्वभावको बारेमा जान्‍नुपर्छ र अभ्यासका सिद्धान्तहरू बुझ्‍नुपर्छ। तैँले यो कुरा बुझ्‍नैपर्छ: “यदि केही मण्डलीहरूलाई मेरो जिम्‍मामा दिइयो भने, परमेश्‍वरको स्थान नलिनको लागि मैले कस्तो व्यवहार गर्नुपर्छ? अहङ्कारी नहुनको लागि मैले कस्तो व्यवहार गर्नुपर्छ? मैले उचित रूपमा कसरी व्यवहार गर्न सक्छु? मानिसहरूलाई परमेश्‍वरको अघि ल्याउन, र उहाँको गवाही दिनको लागि मैले कसरी व्यवहार गर्न सक्छु?” तैँले यी मामलाहरूलाई स्पष्ट रूपमा नबुझेसम्‍म मनन गर्नुपर्छ। मानौँ कसैले तँलाई “के तपाईंले मण्डलीहरूलाई राम्ररी नेतृत्व गर्न सक्‍नुहुन्छ?” भनेर सोध्यो र, तैँले “सक्छु” भनेर भनिस्, तर तैँले मानिसहरूलाई आफ्‍नो उपस्थितितिर डोर्‍याइस्—तिनीहरू परमेश्‍वरमा होइन, तर तँमा समर्पित भए भने—के यो समस्या हुनेछैन र? अगुवा वा सेवकको रूपमा, तँलाई मानिसहरूलाई परमेश्‍वरको अघि ल्याउनु भनेको के हो वा आफ्‍नो अघि ल्याउनु भनेको के हो भन्‍ने थाहा छैन भने, तैँले कसरी परमेश्‍वरको सेवा गर्न सक्छस्? के तँ परमेश्‍वरको प्रयोगको लागि उपयुक्त हुन सक्छस्? अवश्य नै हुँदैनस्। के अरू मानिसहरूलाई आफ्‍नो अघि ल्याउन सक्‍ने मानिसहरू सबै ख्रीष्ट-विरोधीहरू होइनन् र? यदि कसैले परमेश्‍वरमा विश्‍वास गर्छ, तर उसको हृदयमा परमेश्‍वरको निम्ति कुनै ठाउँ छैन, उसले उहाँको डर मान्दैन, उसमा उहाँमा समर्पित हुने हृदय, वा इच्छा छैन भने, त्यो व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्दैन। त्यसोभए, तिनीहरूले वास्तवमा कसलाई विश्‍वास गर्छन्? यसको बारेमा आफै विश्‍लेषण गर्। पछि यसो नभन्: “म अहङ्कारी छैन, म असल व्यक्ति हुँ, र म असल कुराहरू मात्रै गर्छु”—यी शब्‍दहरूले साह्रै केटाकेटीपन देखाउँछन्! अरू सबै अहङ्कारी छन्, तर के तँ चाहिँ छैनस्? त्यसकारण तेरो खुलासा भएको छ, तर तँ आफैलाई यो कुरा थाहा छैन, र पनि म अहङ्कारी छैन भनेर भन्छस्—तँ कति लाज पचेको व्यक्ति होस्! तँ यति सुस्त छस् कि तँ कसरी प्रकट हुन्छस् त्यसले तँलाई परक पार्दैन! के मैले यी शब्‍दहरू बोल्‍नुको उद्देश्‍य तिमीहरूलाई थाहा छ? म किन यसरी मानिसहरूको खुलासा गर्छु? मैले यसरी खुलासा गरिनँ भने, के तिनीहरूले आफूलाई चिन्‍नेछन्? मैले यसरी खुलासा गरिनँ भने, मानिसहरूले आफूलाई अझै पनि निकै असल ठान्छन्, राम्ररी काम गर्छु भन्‍ने ठान्छन्, तिनीहरूमा औँल्याउनुपर्ने कुनै त्रुटि छैन, र तिनीहरू सबै हिसाबले ठीक छन् भन्‍ने सोच्‍नेछन्। तिनीहरू सबै ठीक भए पनि, तिनीहरू अहङ्कारी स्थितिमा हुनु हुँदैन, न त तिनीहरूले आफूलाई सुयोग्य ठान्‍न मिल्छ, न त तिनीहरूले घमण्ड नै गर्न मिल्छ। म मानिसहरूलाई मृत्यु दण्ड दिन, वा तिनीहरूले मुक्ति पाउन सक्दैनन् भनेर बताउनको लागि होइन, तर साँचो रूपमा आफूलाई चिन्‍न, आफ्‍नो भ्रष्ट सार र प्रकृति बुझ्‍न तिनीहरूलाई सहयोग गर्नको लागि यसरी तिनीहरूको स्थिति खुलासा गर्छु, ताकि तिनीहरूले आफ्‍नो बारेमा साँचो ज्ञान हासिल गर्न सकून्। यसद्वारा तिनीहरूले आफ्‍नो भ्रष्ट स्वभावलाई त्याग्‍ने प्रयास गर्ने हुनाले यो फाइदाजनक हुन्छ। मैले मानिसहरूलाई खुलासा र निराकरण गर्दा बोलेका मेरा वचनहरूलाई तिमीहरूले सही रूपमा लिन सक्छौ, निष्क्रिय कुराबाट जोगिन सक्छौ, आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्छौ, परमेश्‍वरको घरका मामलाहरूलाई आफ्‍नै ठान्‍न सक्छौ, र लापरवाह नबनी जिम्‍मेवारी लिन सक्छौ, परमेश्‍वरप्रति बफादार हुन सक्छौ भने, यो मनोवृत्ति सही हुन्छ, र तिमीहरूले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्‍नेछौ।

कतिपय मानिसहरूले व्यवहार गर्दा प्रायजसो सिद्धान्तहरू उल्‍लङ्घन गरिरहन्छन्। तिनीहरूले काटछाँट वा निराकरण स्वीकार गर्दैनन्, अरूले भनेको कुरा साँचो हो भनेर तिनीहरूलाई हृदयमा स्पष्ट थाहा हुन्छ, तर तिनीहरूले ती कुरालाई स्वीकार गर्दैनन्। त्यस्ता मानिसहरू अत्यन्तै अहङ्कारी र आत्मधर्मी हुन्! तिनीहरू अहङ्कारी हुन् भनेर म किन भन्छु? यदि तिनीहरूले काटछाँट वा निराकरण स्वीकार गर्दैनन् भने, तिनीहरू अज्ञाकारी होइनन्, अनि के अनाज्ञाकारिता अहङ्कार होइन र? तिनीहरूलाई आफूले राम्रो काम गरिरहेको छु भन्‍ने लाग्छ, कुनै गल्ती गर्छु भन्‍ने लाग्दैन, यसको अर्थ, तिनीहरूले आफूलाई चिनेका हुँदैनन्, जुन अहङ्कार हो। त्यसकारण, तिमीहरूले अलि-अलि गर्दै भए पनि विश्‍लेषण गर्नुपर्ने केही कुराहरू छन्। तिमीहरूले मण्डलीको काम गर्ने क्रममा, अरूको तारिफ पाउँछौ, र तिनीहरूले सुझाव दिन्छन्, र सङ्गतिमा तिनीहरूले खुलस्त कुरा गर्छन् भने, तिमीहरूले आफ्‍नो काम राम्ररी पूरा गरेका छौ भन्‍ने यसले प्रमाणित गर्छ। यदि तँद्वारा तिनीहरू सधैँ बन्धनमा पर्छन् भने, तिनीहरूले क्रमिक रूपमा तेरो वास्तविकता थाहा पाउनेछन्, र आफूलाई तँबाट अलग गर्नेछन्, र यसले तँमा सत्यताको वास्तविकता छैन भन्‍ने प्रमाणित गर्छ, त्यसकारण तैँले भन्‍ने हरेक कुरा अरूलाई बन्धनमा पार्ने धर्मसिद्धान्तका शब्‍दहरू मात्रै हुन्छन्। कतिपय मण्डली अगुवाहरूलाई बर्खास्त गरिन्छ, तर किन गरिन्छ? किनभने तिनीहरूले सधैँ धर्मसिद्धान्तका शब्‍दहरू मात्रै बोल्छन्, र आफ्‍नो धाक लगाउँछन् र आफ्‍नो गवाही दिन्छन्। तिनीहरूले तिनीहरूलाई प्रतिरोध गर्नु भनेको परमेश्‍वरलाई विरोध गर्नु हो, र यस्तो परिस्थितिको बारेमा माथि रिपोर्ट गर्ने जोकोही व्यक्तिले मण्डलीको काममा बाधा दिइरहेका हुन्छन् भनेर भन्छन्। यो कस्तो समस्या हो? ती मानिसहरू यति अहङ्कारी भइसकेका हुन्छन् कि तिनीहरूसँग कुनै समझशक्ति बाँकी हुँदैन। के यसले ख्रीष्ट-विरोधीहरूको रूपमा रहेको तिनीहरूको साँचो रङ्ग देखाउँदैन र? के यो तिनीहरूले आफ्‍नै स्वतन्त्र राज्य स्थापना गर्ने कार्यको सुरुवात होइन र? भर्खरै विश्‍वास गरेका कतिपय मानिसहरूले तिनीहरूको उपासना गर्छन् र तिनीहरूको गवाही दिन्छन्, र तिनीहरूले यस कुराप्रति धेरै आनन्द लिन्छन्, र खुसी हुन्छन्। यस्तो अहङ्कारी व्यक्ति पहिले नै खतम भइसकेको हुन्छ। “मेरो विरोध गर्नु भनेको परमेश्‍वरको विरोध गर्नु” हो भन्‍न सक्‍ने व्यक्ति पहिले नै आजको पावल बनिसकेको हुन्छ; यो भनाइ र पावलले भनेको कुराको बीचमा कुनै भिन्‍नता छैन: “किनकि मेरो निम्‍ति जिउनु ख्रीष्‍ट हो।” के यस्तो कुरा गर्ने मानिसहरू खतरामा हुँदैनन् र? तिनीहरूले स्वतन्त्र राज्य स्थापना गरेनन् भने पनि, तिनीहरू पक्‍का ख्रीष्ट-विरोधीहरू नै हुन्छन्। यदि त्यस्तो व्यक्तिले मण्डलीको नेतृत्व गर्‍यो भने, मण्डली तुरुन्तै ख्रीष्ट-विरोधीहरूको राज्य बन्‍नेछ। मण्डली अगुवा बनेपछि, कतिपय मानिसहरूले उत्कृष्ट प्रवचन र धाक दिने कार्यमा, ध्यान दिन्छन्, विशेष गरी रहस्यहरूको कुरा गर्छन् ताकि मानिसहरूले तिनीहरूलाई आदर गरून्, जसको परिणाम स्वरूप मानिसहरू सत्यताको वास्तविकताबाट झन्-झन् टाढा जान्छन्। यसले गर्दा धेरैजसो मानिसहरूले आत्मिक सिद्धान्तहरूको पूजा गर्न थाल्छन्। जसले उत्कृष्ट रूपमा बोल्छन्, मानिसहरूले त्यसैको कुरा सुन्छन्; जसले जीवन प्रवेशको कुरा गर्छन्, मानिसहरूले तिनीहरूलाई कुनै ध्यान दिँदैनन्। के यो मानिसहरूलाई पथभ्रष्ट बनाउनु होइन र? यदि कसैले सत्यताको वास्तविकतामा सङ्गति गर्‍यो भने, कसैले पनि सुन्दैन, अनि त्यो एउटा समस्या हो। यो व्यक्तिले बाहेक कसैले पनि मण्डलीको नेतृत्व गर्न सक्दैन, किनभने हरेकले आत्मिक सिद्धान्तहरूको उपासना गर्छन्; आत्मिक सिद्धान्तहरू बताउन नसक्‍ने मानिसहरू त तिनीहरूका बीचमा खडा नै हुन सक्दैनन्। के त्यस्तो मण्डलीले पवित्र आत्‍माको कार्य प्राप्त गर्न सक्छ? के मानिसहरू सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्छन्? किन सत्यताको बारेमा दिइने सङ्गतिलाई र बताइने वास्तविक अनुभवहरूलाई इन्कार गरिन्छ, यहाँसम्‍म कि तिनीहरू मैले सत्यतामा सङ्गति गरेको समेत सुन्‍न चाहँदैनन्? यसले के प्रमाणित गर्छ भने तिनीहरू पहिले नै यी मानिसहरूको छल र नियन्त्रणमा परिसकेका छन्। यी मानिसहरू परमेश्‍वरमा समर्पित हुनुको सट्टा तिनीहरूको कुरा सुन्छन् र तिनीहरूमा नै समर्पित हुन्छन्। यी मानिसहरू परमेश्‍वरमा होइन तर आफ्‍ना अगुवाहरूप्रति समर्पित हुने खालका मानिसहरू हुन् भन्‍ने कुरा पक्‍का हुन्छ। परमेश्‍वरमा साँचो विश्‍वास गर्ने र सत्यतालाई पछ्याउने मानिसहरू मानिसलाई उपासना गर्ने वा पछ्याउने मानिसहरू होइनन्; तिनीहरूको हृदयमा परमेश्‍वरको लागि ठाउँ हुन्छ, र तिनीहरूले परमेश्‍वरको डर मान्छन्, त्यसोभए तिनीहरू कसरी मानिसहरूको बन्धनमा पर्न सक्छन्? तिनीहरू सत्यताको वास्तविकता नभएका झूटो अगुवाको अधीनमा कसरी आज्ञाकारी भएर बस्‍न सक्छन्? सत्यताको वास्तविकता भएको, परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने व्यक्तिप्रति नै झूटो अगुवा सबैभन्दा बढी डराउँछ। यदि कसैसँग सत्यता छैन, तैपनि उसले अरूलाई आफ्‍नो आज्ञापालन गर्न लगाउँछ भने, के त्यो सबैभन्दा अहङ्कारी दियाबलस वा शैतान होइन र? यदि तैँले मण्डलीमा एकाधिकार कायम गर्छस् वा परमेश्‍वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्छस् भने, तैँले परमेश्‍वरलाई चिढ्याएको हुन्छस् र आफूलाई बरबाद गरेको हुन्छस्, अनि तैँले पश्‍चात्ताप गर्ने मौका समेत नपाउन सक्छस्। तिमीहरू हरेक जना होशियार हुनुपर्ने हुन्छ; यो अत्यन्तै खतरनाक कुरा हो, र कुनै पनि व्यक्तिले सहजै गर्न सक्‍ने कुरा हो। कतिपयले यसो भन्‍न सक्छन्: “म त्यस्तो गर्दिनँ, र म आफ्‍नो गवाही दिँदिनँ!” किनभने तैँले काम गरेको त्यति धेरै भएको छैन। पछि, तैँले यसो गर्ने दुस्साहस गर्नेछस्। तँ बिस्तारै साहसी बन्दै जानेछस्—तैँले जति यसो गर्छस्, तँ त्यति नै साहसी हुँदै जानेछस्। यदि तैँले नेतृत्व गरेका मानिसहरूले तेरो बारेमा धाक दिन्छन् र तेरो कुरा सुन्छन् भने, तँलाई स्वाभाविक रूपमै तँ उच्‍च स्थानमा छस्, तँ उत्कृष्ट छस् भन्‍ने महसुस हुन्छ: “हेर त, म त निकै राम्रो छु। म सबै मानिसहरूलाई नेतृत्व गर्न सक्छु, र तिनीहरू सबैले मेरो कुरा सुन्छन्; मेरो कुरा नसुन्‍ने मानिसहरूलाई म दमन गर्छु। यसले मसँग काम गर्ने क्षमता छ, र म काम गर्न लायक छु भन्‍ने प्रमाणित गर्छ।” समय बित्दै जाँदा, तेरो प्रकृतिको अहङ्कारी तत्वहरू प्रकट हुन थाल्छन्, र तँ यति अहङ्कारी भएको हुन्छस् कि तैँले आफ्‍नो समझ गुमाएको हुन्छस्, र तँ खतरामा हुन्छस्। के तँ यो कुरालाई स्पष्ट रूपमा देख्‍न सक्छस्? तैँले आफ्‍नो अहङ्कारी र अनाज्ञाकारी स्वभाव प्रकट गर्ने बित्तिकै तँ समस्यामा पर्छस्। मैले बोल्दा पनि तैँले सुन्दैनस्, र परमेश्‍वरको घरले तँलाई बर्खास्त गर्छ, तर पनि तैँले अझै यसो भन्‍ने दुस्साहस गर्छस्: “पवित्र आत्माले यो कुरा प्रकट गर्नुभएको होस्।” तैँले यसो भनेको तथ्यले नै तँ सत्यतालाई स्विकार्दैनस् भन्‍ने प्रमाणित गर्छ। तेरो विद्रोह अत्यन्तै ठूलो छ—यसले तेरो प्रकृति र सारलाई खुलासा गरेको छ। तैँले परमेश्‍वरलाई पटक्‍कै चिनेको छैनस्। त्यसकारण, तिमीहरूले आफूलाई नजिकबाट नियालिरहन सक भनेर मैले आज यो सब कुरा भनेको हुँ। आफूलाई उचाल्‍ने वा आफ्‍नो गवाही दिने नगर। मानिसहरूले आफ्‍नै स्वतन्त्र राज्य स्थापना गर्ने प्रयास गर्न सक्छन्, किनभने तिनीहरू सबैलाई पद, सम्पत्ति र वैभव, अभिमान, उच्‍च हैसियतको सेवक बन्‍न, र शक्ति प्रदर्शन गर्न चाहन्छन्: “हेर त मैले कति कडाइका साथ यी वचनहरू बोलेँ। मैले धम्की दिने शैलीमा व्यवहार गर्ने बित्तिकै, तिनीहरूले साहस गुमाए र तिनीहरू लुरुक्‍क भए।” यस्तो शक्ति प्रदर्शन नगर; यसो गरेर केही काम छैन, र यसले केही प्रमाणित गर्दैन। यसले तँ निकै अहङ्कारी छस्, र तेरो स्वभाव खराब छ भन्‍ने मात्रै प्रमाणित गर्छ; यसले तँमा कुनै क्षमता छ भनेर प्रमाणित गर्दैन, न त तँमा सत्यताको वास्तविकता छ भनेर नै प्रमाणित गर्छ। केही वर्षसम्‍म प्रवचन सुनेपछि, के तिमीहरूले आफूलाई चिनेका समेत छौ? के तिमीहरूलाई आफू खतरनाक परिस्‍थितिमा छु भन्‍ने लाग्दैन? यदि परमेश्‍वरले मान्छेलाई मुक्ति दिन नबोल्‍नुभएको र काम नगर्नुभएको भए, के तिमीहरूले स्वतन्त्र राज्य स्थापना गरिरहेका हुनेथिएनौ र? के तिमीहरू आफ्‍नो जिम्‍मामा रहेका मण्डलीहरूमा एकाधिकार जमाउन, ती मानिसहरूमध्ये कोही पनि तिमीहरूको नियन्त्रणबाट उम्कन नसकून्, तिनीहरूले तिमीहरूको कुरा सुनून् भनेर तिनीहरूलाई आफ्‍नो अधीनमा राख्‍न चाहँदैनौ र? तैँले यसो गर्ने बित्तिकै मानिसहरूलाई नियन्त्रण गर्छस् भने, तँ दियाबलस, शैतान होस्। तँमा यस्ता सोचाइहरू आउनु अत्यन्तै खतरनाक हुन्छ; तैँले पहिले नै ख्रीष्ट-विरोधीको मार्गमा पाइला चालिसकेको हुन्छस्। यदि तैँले आत्म-चिन्तन गरिनस् भने, र तैँले आफ्‍ना पापहरू परमेश्‍वरको अघि स्विकारेर पश्‍चात्ताप गरिनस् भने, तँलाई अवश्य नै पन्छाइनेछ, र परमेश्‍वरले तँलाई कुनै ध्यान दिनुहुनेछैन। परमेश्‍वरको इच्‍छा अनुरूप हुनको लागि, र तैँले परमेश्‍वरको स्वभावलाई चिढ्याउँदैनस् भनेर पक्‍का गर्नको लागि आफूले कसरी पश्‍चात्ताप गर्ने, आफूलाई कसरी परिवर्तन गर्ने भन्‍ने थाहा हुनुपर्छ। परमेश्‍वरको घरले तँ ख्रीष्ट-विरोधी होस् भनेर निर्धारित गरेर तँलाई निकालिञ्‍जेलसम्‍म पर्खेर नबस्—त्यो बेलासम्‍म ढिला भइसकेको हुनेछ।

शरद, १९९७

अघिल्लो: परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा, सत्यता प्राप्त गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो

अर्को: प्रार्थनाको महत्त्व र त्यसको अभ्यास

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्