मानिसको अहङ्कारी प्रकृति नै परमेश्वरप्रतिको उसको प्रतिरोधको जड हो
आज म भ्रष्ट मानवजातिको प्रकृति, सार, र स्वभावको विषयमा बोल्नेछु। प्रकृति भनेको के हो? प्रकृति भनेको मानिसहरूको अन्तर्निहित सार हो, जसले तिनीहरूभित्र नियन्त्रण र निर्देशनको काम गर्छ। कसैले के कुरालाई घृणा गर्छ, घिन मान्छ वा मन पराउँछ त्यसले उसको स्वभावको प्रतिनिधित्व गर्छ, जुन प्रत्यक्ष रूपमा उसको प्रकृति सारसँग सम्बन्धित हुन्छ। वास्तवमा, प्रकृति नै सार हो, र व्यक्तिको प्रकृतिले उसको सार निर्धारित गर्छ। स्वभाव भनेको व्यक्तिको सार र प्रकृतिबाट प्रकट हुने कुरा हो। मानिसहरूले आफ्नो बोलीवचन, व्यवहारमा, र आफूलाई आचरणमा ढाल्ने र संसारसँग व्यवहार गर्ने तरिकामा प्रकट गर्ने स्वभावले तिनीहरूको प्रकृतिलाई प्रतिनिधित्व गर्छ, जुन तिनीहरूको सार हो। प्रकृतिको अवधारणा यही हो। भन्नुको अर्थ, व्यक्तिले जुन कुरा मन पराउँछ, जे कुरालाई घृणा गर्छ वा घिन मान्छ, र उसले जुन कुरा पछ्याउँछ, त्यो सबैले उसको प्रकृतिको प्रतिनिधित्व गर्छ। आखिरमा व्यक्तिको प्रकृति सार असल छ कि खराब छ भनेर हेर्नका लागि नियाल्नुपर्ने मुख्य कुराहरू यिनै हुन्। उदाहरणका लागि, यदि व्यक्तिलाई दुष्टता गर्न मन पर्छ भने, त्यो व्यक्तिको प्रकृति सार निकै खराब हुन्छ; यदि उसलाई असल काम गर्न र धर्मी व्यवहार गर्न मन पर्छ भने, त्यो व्यक्तिको प्रकृति सार राम्रो हुन्छ। यसो भनिसकेपछि, के तिमीहरू सबैले प्रकृतिको अवधारणा बुझ्यौ? प्रकृति भनेको सार हो। पहिले, मानिसहरूको आत्मा जस्तो छ तिनीहरूको सार पनि त्यस्तै हुन्छ, अर्थात् तिनीहरूमा जुन आत्मा छ र जस्तो प्रकारको आत्मा छ, तिनीहरूको प्रकृति पनि त्यस्तै हुन्छ भनेर भनिन्थ्यो। त्यो कुरा अवश्यै गलत छैन, तर आत्माले प्रकृति निर्धारित गर्छ भनेर भन्नु अलिक अस्पष्ट हुन्छ र व्यावहारिक हुँदैन। अब यसलाई व्याख्या गर्न म के प्रयोग गरूँ? म मानिसको प्रकृति र सारको व्याख्या गर्न स्वभावलाई प्रयोग गर्नेछु, किनभने स्वभाव भनेको बाहिर प्रकट हुने, र मानिसहरूले देख्न, छुन, र सम्पर्कमा आउन सक्ने कुरा हो, त्यसकारण यो अझ बढी ठोस र वस्तुगत हुन्छ। आत्माको हकमा भन्दा, मानिसहरू यसको गुण अस्पष्ट हुन्छ, यो रहस्यमय, र तुलनात्मक रूपमा खोक्रो हुन्छ भन्ने सोच्छन्, किनभने तिनीहरूले यसको कल्पना गर्नै सक्दैनन्, न त यसलाई देख्न वा छुन नै सक्छन्, न त तिनीहरूसँग यो व्यक्त गर्ने उपाय नै हुन्छ। सधैँ आत्मा र प्राणको बारेमा कुरा गर्नु उचित हुँदैन, न त जरुरी नै हुन्छ। हामीले प्रकृतिको व्याख्या गर्नलाई त्यसो गर्न जरुरी छैन, किनभने ती कुराहरू अदृश्य छन्, ठोस छैनन्। अहिले हामीले जे छलफल गरिरहेका छौँ त्यो सबैभन्दा ठोस र वास्तविक छ, र यसले मानिसहरूको भ्रष्टताको समस्या समाधान गर्न सक्छ। यो समस्या व्यक्त गर्न र त्यसको व्याख्या गर्नका लागि यस्तो भाषा प्रयोग गर्दा हामीले परिणामहरू हासिल गर्न सक्छौँ।
हामीले भर्खरै मात्र प्रकृतिको अवधारणाबारे कुरा गर्यौँ, तर मानव प्रकृति भनेको वास्तवमा के हो त? के तिमीहरूलाई थाहा छ? मानवजातिलाई शैतानले भ्रष्ट तुल्याएदेखि नै तिनीहरूको प्रकृति, जुन तिनीहरूको सार पनि हो, त्यो परिवर्तन भएको छ। त्यसोभए, मानव सार भनेको के हो त? अहिले मैले सबै मानिसहरूको सार र प्रकृतिबारे कुरा गरिरहेको छु, र यो कुनै निश्चित व्यक्तिप्रति मात्रै लक्षित छैन। मानवजातिलाई शैतानले भ्रष्ट तुल्याएदेखि नै मानिसहरूको प्रकृति बिग्रिन थालेको छ र तिनीहरूले सामान्य मानिसहरूमा हुने समझ बिस्तारै गुमाएका छन्। तिनीहरू अब मानिसको स्थानमा रहेर मानवजातिले जस्तो व्यवहार गर्दैनन्, बरु तिनीहरू खराब महत्त्वाकाङ्क्षाहरूले भरिएका हुन्छन्; तिनीहरूले मानिसको स्थानलाई उछिनेका छन्, तैपनि तिनीहरू अझै माथि जाने अभिलाषा राख्छन्। यो “अझ माथि” ले केलाई जनाउँछ? तिनीहरू परमेश्वरलाई उछिन्ने, स्वर्गलाई र अरू सबै कुरालाई उछिन्ने इच्छा गर्छन्। मानिसहरूले यस्ता स्वभावहरू प्रकट गर्नुको मूल कारण के हो? सबैभन्दा गहन रूपमा हेर्दा, त्यो मानिसको स्वभाव अत्यन्तै अहङ्कारी हुने भएकाले गर्दा हो। धेरैजसो मानिसहरूले “अहङ्कार” शब्दको अर्थ बुझ्छन्। यो निन्दात्मक शब्द हो। यदि कसैले अहङ्कार प्रकट गर्छ भने, अरूले ऊ असल व्यक्ति होइन भन्ने सोच्छन्। जब कुनै व्यक्ति अत्यन्तै अहङ्कारी हुन्छ, तब अरूले सधैँ ऊ दुष्ट व्यक्ति हो भन्ने अनुमान गर्छन्। कसैले पनि आफूमाथि यो शब्द प्रयोग गरियोस् भन्ने चाहँदैन। तर, वास्तवमा, हरेक व्यक्ति नै अहङ्कारी हुन्छ, र सारा भ्रष्ट मानवहरूमा यही सार हुन्छ। कतिपय मानिसहरू भन्छन्, “म अलिकति पनि अहङ्कारी छैनँ। मैले कहिल्यै पनि प्रधान स्वर्गदूत बन्ने चाहना राखेको छैनँ, न त मैले कहिल्यै परमेश्वरलाई उछिन्ने वा अरू सबैलाई उछिन्ने चाहना नै राखेको छु। म सधैँ विशेष गरी निष्कपट र आफ्नो स्थानको ख्याल राख्ने व्यक्ति रहँदै आएको छु।” यस्तो हुन्छ भन्ने हुँदैन; यी शब्दहरू गलत हुन्। मानिसहरूमा अहङ्कारी प्रकृति र सार हुन्छ, त्यसैले तिनीहरू प्रायः परमेश्वरविरुद्ध विद्रोह गर्न र उहाँको प्रतिरोध गर्न सक्छन्, उहाँका वचनहरू सुन्न सक्दैनन्, तिनीहरूसँग उहाँबारे धारणाहरू हुन सक्छन्, तिनीहरूले उहाँलाई विश्वासघात हुने कुराहरू गर्न सक्छन् अनि आफूलाई उचाल्न र आफ्नै गवाही दिन कामकुराहरू गर्न सक्छन्। तँ आफू अहङ्कारी छैनँ भनेर भन्छस्, तर मानौँ तँलाई कुनै मण्डली अगुवाइ गर्न सुम्पियो र मैले तँलाई काँटछाँट गरिनँ अनि परमेश्वरको घरको कसैले पनि तँलाई आलोचना वा मद्दत गरेन। केही समय यसको अगुवाइ गरेपछि, तैँले मानिसहरूलाई तेरो पाउमा राख्नेथिइस् र सबैलाई तेरो आज्ञापालन गर्न लगाउनेथिइस्, यहाँसम्म कि तिनीहरूले तँलाई आदर र मान गर्नेथिए। यो कसरी हुन सक्छ? यो तेरो प्रकृतिले निर्धारित गर्छ; यो स्वाभाविक प्रकटीकरणबाहेक अरू केही होइन। तैँले यो अरूबाट जानाजानी सिक्नु पर्दैन, न त अरूले तँलाई यो जानाजानी सिकाउनु वा तँलाई यो गर्न आदेश दिनु वा बाध्य पार्नु नै पर्छ—यस प्रकारको अवस्था स्वाभाविक रूपमै आउँछ। तैँले गर्ने हरेक कुराको अभिप्राय मानिसहरूलाई तँलाई उचाल्न, प्रशंसा गर्न, आराधना गर्न, तेरो आज्ञापालन गर्न र सबै कुरामा तेरो कुरा सुन्न लगाउनु हुन्छ। जब तँलाई अगुवाइको स्थानमा राखिन्छ, तब तैँले स्वाभाविक रूपमै यो अवस्था ल्याउँछस् र तैँले चाहेर पनि यसलाई परिवर्तन गर्न सक्दैनस्। अनि यो अवस्था कसरी आउँछ? यो मानिसको अहङ्कारी प्रकृतिले निर्धारित गर्छ। अहङ्कारको प्रकटीकरण परमेश्वरविरुद्धको विद्रोह र प्रतिरोध हो। मानिसहरू अहङ्कारी, अभिमानी, र आत्म-धर्मी हुन्छन्, त्यसैले तिनीहरू आफ्नै स्वतन्त्र राज्यहरू स्थापित गर्न र आफ्नै तरिकाले कामकुराहरू गर्न सक्षम हुन्छन्। तिनीहरू मानिसहरूलाई आफ्नो पकडमा ल्याउन र तिनीहरूलाई आफ्नो प्रभावभित्र तान्न पनि सक्षम हुन्छन्। मानिसहरू यति अहङ्कारी हुन्छन् कि तिनीहरू आफ्नै स्वतन्त्र राज्यहरू स्थापित गर्न सक्षम हुन्छन् भन्ने तथ्यले तिनीहरूको प्रकृति सार शैतान हो, त्यो प्रधान स्वर्गदूत हो भनेर प्रमाणित गर्छ। यदि मानिसहरू कुनै निश्चित बिन्दुसम्म अहङ्कारी र अभिमानी हुन्छन् भने, तिनीहरूको हृदयमा परमेश्वर हुनुहुनेछैन, तिनीहरूले परमेश्वरलाई पन्छाउनेछन् र तिनीहरू परमेश्वर बन्न चाहनेछन् र सबैलाई आफ्नो आज्ञापालन गर्न लगाउनेछन्। त्यसपछि, तिनीहरू प्रधान स्वर्गदूत बनेका हुनेछन्। यदि तँमा शैतानको अहङ्कारी प्रकृति छ भने, तेरो हृदयमा परमेश्वरको कुनै स्थान हुनेछैन। तैँले परमेश्वरमा विश्वास गरे पनि, परमेश्वरले तँलाई स्वीकार गर्नुहुनेछैन र उहाँले तँलाई दुष्ट व्यक्तिका रूपमा हटाउनुहुनेछ।
हामीले धार्मिक संसारभित्रका धेरै अगुवालाई बारम्बार सुसमाचार प्रचार गरेका छौँ, तर हामीले तिनीहरूसँग सत्यताबारे जति सङ्गति गरे पनि, तिनीहरूले यसलाई स्वीकार गर्दैनन्। यस्तो किन हुन्छ? किनभने अहङ्कार तिनीहरूको प्रकृति बनेको छ, र तिनीहरूको हृदयमा अब परमेश्वरको कुनै स्थान छैन। कतिपय मानिसले यसो भन्न सक्छन्, “धार्मिक संसारका निश्चित पाष्टरहरूको अगुवाइमा रहेका मानिसहरू आफ्नो विश्वासमा निकै जोसिला हुन्छन्; मानौँ तिनीहरूमाझ परमेश्वर हुनुहुन्छ।” तँ परमेश्वरमाथिको तिनीहरूको बाहिरी रूपमा देखिने जोसिलो विश्वासको अर्थ तिनीहरूमाझ परमेश्वर हुनुहुन्छ भन्ने हो भनी विश्वास गर्छस्। यो तेरो धारणा र कल्पना हो। ती पाष्टरहरूका प्रवचनका सिद्धान्तहरू जति नै उच्च लाग्न सक्ने भए पनि, के तिनीहरू परमेश्वरलाई चिन्छन्? यदि तिनीहरूले भित्री मनदेखि नै साँच्चिकै परमेश्वरको डर मान्थे भने, के तिनीहरूले मानिसहरूलाई तिनीहरूको पछि लाग्न र तिनीहरूको बढाइ गर्न लगाउनेथिए? के तिनीहरूले अरूलाई नियन्त्रण गर्न र उनीहरूलाई आफ्नो हातमा फसाएर राख्न सक्नेथिए? के तिनीहरूले अरूलाई सत्यताको खोजी गर्न र साँचो मार्गको अनुसन्धान गर्नबाट रोक्ने आँट गर्नेथिए? यदि तिनीहरूले परमेश्वरका भेडाहरू वास्तवमा तिनीहरूका भेडा भएको, र ती भेडाहरू सबैले तिनीहरूको कुरा सुन्नुपर्छ भन्ने विश्वास गर्छन् भने, के तिनीहरूले आफैलाई परमेश्वर ठानेका होइनन् र? त्यस्ता मानिसहरू फरिसीहरूले भन्दा बढी परमेश्वरको प्रतिरोध गर्छन्। के तिनीहरू साँचो ख्रीष्टविरोधी होइनन् र? त्यसैले, तिनीहरूको अहङ्कारी स्वभाव तिनीहरूले आफ्नो समझ गुमाउने बिन्दुमा पुगेको हुन्छ, जुन तिनीहरूको घातक कमजोरी बन्छ, र यसरी तिनीहरू परमेश्वरलाई प्रतिरोध र विश्वासघात गर्ने सबै प्रकारका दुष्ट कार्यहरू गर्न सक्षम हुन्छन्। के तिमीहरूमाझ यस्ता कुराहरू हुँदैनन् र? के तिमीहरूले मानिसहरूलाई यसरी पासोमा पार्न सक्छौ? सक्छौ, यति मात्रै हो, तिमीलाई त्यस्तो अवसर दिइएको छैन, र तिमीलाई निरन्तर काँटछाँट गरिन्छ, त्यसकारण तिमी आँट गर्दैनौ। कतिपय मानिसहरूले घुमाउरो पारामा आफ्नै बढाइ पनि गर्छन्, तर तिनीहरूले अत्यन्तै चलाख रूपमा बोल्ने हुँदा, साधारण मानिसहरूले त्यो खुट्ट्याउन सक्दैनन्। कतिपय मानिस यति अहङ्कारी हुन्छन् कि तिनीहरू भन्छन्: “मैले अगुवाइ गर्ने मण्डलीलाई अरू कसैले अगुवाइ गर्न सक्दैन। परमेश्वर नै आउनुभए पनि, मण्डली अगुवाइ गर्न उहाँलाई मेरो अनुमति चाहिन्छ!” यसो भन्नु पछाडिको आशय के हो? यसले कस्तो स्वभाव प्रकट गर्छ? यो अहङ्कार हो। जब मानिसहरूले यस्तो व्यवहार गर्छन्, तब तिनीहरूको आचरण परमेश्वरप्रतिरोधी र उहाँप्रति विद्रोह गर्ने खालको हुन्छ। यसर्थ, मानिसहरूको अहङ्कारी प्रकृतिले नै तिनीहरूले आफूलाई उच्च पार्नेछन्, परमेश्वरविरुद्ध विद्रोह गर्नेछन् र उहाँलाई धोका दिनेछन्, अरूलाई फन्दामा पार्नेछन् र बरबाद गर्नेछन्, र आफूलाई पनि बरबाद गर्नेछन् भन्ने कुरा निर्धारित गर्छ। यदि तिनीहरू पश्चात्ताप नगरी मर्छन् भने, अन्त्यमा तिनीहरूलाई हटाइनेछ। के कुनै व्यक्तिमा अहङ्कारी स्वभाव हुनु एकदमै खतरनाक कुरा होइन र? यो एकदमै खतरनाक भए पनि, तिनीहरूले सत्यता स्वीकार गर्न अनि परमेश्वरका वचनहरूको न्याय र सजाय स्विकार्न सके भने, तिनीहरूले मुक्ति पाउने अझै पनि सम्भावना हुन्छ। व्यक्ति जतिसुकै सक्षम भए पनि, उसले आफूलाई आफ्ना भ्रष्ट स्वभावहरूबाट मुक्ति दिन सक्दैन। परमेश्वरको न्याय र सजाय अनुभव गरेर मात्रै व्यक्तिले आफ्ना भ्रष्ट स्वभावहरू फाल्न र साँचो रूपमा मुक्ति हासिल गर्न सक्छ।
कतिपय मानिसहरू सधैँ भन्छन्: “परमेश्वरले आखिरी दिनहरूमा मानिसहरूलाई मुक्ति दिन किन न्याय र सजाय प्रयोग गर्नुहुन्छ? न्यायका वचनहरू किन यति कठोर छन्?” सायद तिमीहरूलाई यो भनाइ थाहा छ होला: “हरेक व्यक्तिअनुसार परमेश्वरको काम फरक-फरक हुन्छ; यो एकदमै लचकदार हुन्छ, र उहाँ कुनै प्रावधानहरूका बन्धनमा बस्नुहुन्न।” आखिरी दिनहरूको न्याय र सजायको काम मुख्यतः मानिसहरूको अहङ्कारी प्रकृतिप्रति लक्षित हुन्छ। अहङ्कारमा धेरै कुराहरू पर्छन्, यसमा धेरै भ्रष्ट स्वभावहरू पर्छन्; न्याय र सजाय यही “अहङ्कार” शब्दप्रति सोझै लक्षित छ ताकि मानिसहरूको अहङ्कारी स्वभावलाई पूर्ण रूपमा हटाउन सकियोस्। अन्त्यमा, मानिसहरूले परमेश्वरविरुद्ध विद्रोह वा उहाँको प्रतिरोध गर्नेछैनन्, त्यसैले तिनीहरूले आफ्नै स्वतन्त्र राज्य स्थापना गर्ने प्रयास गर्नेछैनन्, न त आफूलाई उच्च पार्ने वा आफ्नो गवाही दिने नै गर्नेछन्—तिनीहरूले दुष्ट कामकुराहरू गर्नेछैनन्—र तिनीहरूले परमेश्वरसँग अत्यधिक मागहरू नै गर्नेछैनन्। यसरी, तिनीहरूले आफ्नो अहङ्कारी स्वभाव फालेका हुनेछन्। अहङ्कारका धेरै प्रकटीकरणहरू हुन्छन्। उदाहरणका लागि, मानौँ परमेश्वरमा विश्वास गर्ने कतिपय मानिसहरू उहाँको अनुग्रह माग गर्छन्—तैँले केको आधारमा यस्तो माग गर्न सक्छस्? तँ शैतानले भ्रष्ट तुल्याएको व्यक्ति होस्, एक सृजित प्राणी होस्; तैँले जिउन र सास फेर्न पाउनु नै परमेश्वरको सबैभन्दा ठूलो अनुग्रह हो। तैँले परमेश्वरले पृथ्वीमा सृष्टि गर्नुभएको सबै कुराको आनन्द लिन पाउँछस्। परमेश्वरले तँलाई पर्याप्त मात्रामा दिनुभएको छ, त्यसोभए तँ किन उहाँबाट अझै धेरै अनुग्रह माग गर्छस्? किनभने आफूले पाएको कुरामा मानिसहरू कहिल्यै सन्तुष्ट हुँदैनन्। तिनीहरू सधैँ आफू अरूभन्दा असल छु, र आफूले बढी पाउनुपर्छ भन्ने सोच्छन्, त्यसैले तिनीहरू सधैँ परमेश्वरबाट अनुग्रह माग गर्छन्। यसले तिनीहरूको अहङ्कारी स्वभावको प्रतिनिधित्व गर्छ। मानिसहरूले मुखले यो कुरा नभने पनि, परमेश्वरमा विश्वास गर्न थाल्दा नै, सायद तिनीहरू आफ्नो हृदयमा यस्तो सोचिरहेका हुन्छन्, “म स्वर्ग जान चाहन्छु, नरक होइन। म आफूले मात्रै होइन, मेरो सारा परिवारले आशिष् पाओस् भन्ने चाहन्छु। म मीठो खान, राम्रो लाउन, र राम्रा कुराहरूको आनन्द लिन चाहन्छु। म एउटा असल परिवार, असल श्रीमान् (वा श्रीमती) र राम्रा बालबच्चा चाहन्छु। अन्त्यमा, म राजा भएर शासन गर्न चाहन्छु।” यो सब तिनीहरूका माग र अनुरोधहरूबारे हो। तिनीहरूको यो स्वभाव, तिनीहरूले आफ्नो हृदयमा सोच्ने यी कुराहरू, यी अत्यधिक चाहनाहरू—ती सबैले मानिसको अहङ्कारी प्रकृतिको प्रतिनिधित्व गर्छन्। म किन यसो भन्छु? मानिसहरू आफ्नो हैसियत के हो भन्ने कुरामा स्पष्ट हुनैपर्छ। मानिस धुलोबाट आएको सृजित प्राणी हो; परमेश्वरले मानिसलाई माटोबाट बनाउनुभयो, र ऊभित्र जीवनको सास फुकिदिनुभयो, यसरी उसलाई जीवित प्राणी बनाउनुभयो। मानिसको हैसियत यस्तो तुच्छ छ, तैपनि मानिसहरू यो र त्यो चाहियो भन्दै परमेश्वरसामु आउँछन्। मानिसको हैसियत यति तुच्छ भएको हुनाले, उसले मुख खोलेर परमेश्वरसँग कुनै अनुग्रह वा आशिष् माग्नु हुँदैन। त्यसोभए मानिसहरूले के गर्नुपर्छ? तिनीहरूले कुनै गुनासोविना मेहनतका साथ काम गर्नुपर्छ, दत्तचित्तले परिश्रम गर्नुपर्छ, र खुसीसाथ समर्पित हुनुपर्छ। यदि तँ यो स्वेच्छाले तल्लो दर्जा स्वीकार गर्नु हो भनेर भन्छस् भने, त्यो उपयुक्त हुनेछैन; मानिसहरू यस्तै प्रकारको हैसियतसहित जन्मेका हुन्छन् र तिनीहरूको अहङ्कारले गर्दा मात्रै तिनीहरू आफूलाई एकदमै उच्च ठान्छन्। त्यसैले, मानिसहरू समर्पित हुनुपर्छ र उनीहरूले आफूलाई विनम्र तुल्याउनुपर्छ, किनभने विनम्रता नै मानिसको हैसियत हो। मानिसहरूले परमेश्वरबाट कुराहरू माग्नु हुँदैन वा उहाँप्रति अत्यधिक चाहनाहरू राख्नु हुँदैन। तिनीहरूमा त्यस्ता कुराहरू भेटिनु हुँदैन। एउटा सरल उदाहरण यस्तो छ। कुनै एउटा धनी परिवारले एउटा नोकर राख्यो। उक्त धनी परिवारमा यो नोकरको स्थान निकै तल्लो स्तरको थियो, तैपनि उसले घरको मालिकलाई भन्यो: “म तपाईँको छोराको टोपी लगाउन चाहन्छु, उसको भात खान चाहन्छु, उसको लुगा लगाउन चाहन्छु, र उसको ओछ्यानमा सुत्न चाहन्छु। उसले प्रयोग गर्ने जुनसुकै कुराहरू, चाहे त्यो सुन होस् वा चाँदी, म त्यो पाउन चाहन्छु! मैले आफ्नो काममा धेरै योगदान दिने गर्छु, र म तपाईँको घरमा बस्छु, त्यसकारण यी कुराहरू माग्ने मलाई पूर्ण अधिकार छ!” त्यस्तो व्यक्तिलाई मालिकले कस्तो व्यवहार गर्नुपर्छ? मालिकले भन्नेछ: “तैँले तँ कस्तो चिज होस्, र तेरो भूमिका के हो, त्यो जान्नुपर्छ: तँ एक नोकर होस्। म मेरो छोरालाई उसले चाहेको कुरा दिन्छु, किनभने त्यो उसको हैसियत हो। तेरो हैसियत, तेरो पहिचान के हो? तँ यी कुराहरू माग्न योग्य छैनस्। तैँले गएर आफ्नो हैसियत र पहिचानअनुसार आफूले गर्नुपर्ने काम गर्नुपर्छ, आफ्ना दायित्वहरू पूरा गर्नुपर्छ।” के यस्तो व्यक्तिमा कुनै समझ हुन्छ? परमेश्वरमा विश्वास गर्ने धेरै मानिसमा समझ हुँदैन। परमेश्वरमा विश्वास गर्न थालेदेखि नै, तिनीहरूसँग गोप्य मनसायहरू हुन्छन्, र अघि बढ्दै जाँदा, तिनीहरूले निरन्तर परमेश्वरसँग मागहरू गर्छन्: “सुसमाचार प्रचार गर्दा मसँग पवित्र आत्माको काम हुनुपर्छ! मैले खराब कुराहरू गर्दा पनि तपाईँले मलाई क्षमा दिनुपर्छ र सहनुपर्छ! यदि मैले धेरै काम गरेँ भने, तपाईँले मलाई इनाम दिनुपर्छ।” छोटकरीमा भन्दा, मानिसहरूले परमेश्वरबाट सधैँ विभिन्न कुरा चाहिरहेका हुन्छन्, तिनीहरू सधैँ लोभी हुन्छन्। अलिअलि काम गरेर मण्डलीको राम्रो अगुवाइ गरेका कतिपय मानिसहरूले आफूलाई अरूभन्दा वरिष्ठ ठान्छन्, र प्रायजसो यस्ता कुराहरू फैलाउँछन्: “परमेश्वरले मलाई किन महत्त्वपूर्ण पदमा राख्नुहुन्छ? उहाँले किन मेरो नाम लिइराख्नुहुन्छ? उहाँ किन मसँग बोलिरहनुहुन्छ? परमेश्वरले मेरा बारेमा राम्रो सोच्नुहुन्छ! किनकि ममा क्षमता छ र म साधारण मानिसहरूभन्दा माथि छु। परमेश्वरले मसँग राम्रो व्यवहार गर्नुभएकोमा तिमीहरू डाहासमेत गर्छौ। डाहा गर्नलाई तिमीहरूमा के नै छ र? मैले कति काम गर्छु र कति त्याग गर्छु, के तिमीहरू देख्न सक्दैनौ? परमेश्वरले मलाई जे-जस्ता राम्रा कुराहरू दिनुहुन्छ तिमीहरूले तिनको डाहा गर्नु हुँदैन, किनभने म ती कुराको हकदार छु। मैले धेरै वर्ष काम गरेको छु र धेरै कष्ट भोगेको छु। मैले योगदानहरू दिएको छु र मसँग व्यक्तिगत पूँजी छ।” अरू कतिपय यसो भन्छन्: “परमेश्वरले मलाई सहकर्मी भेलाहरूमा सामेल हुन र उहाँको सङ्गति सुन्न दिनुभयो। मसँग व्यक्तिगत पूँजी छ—के तिमीहरूसँग छ? पहिलो कुरा, ममै उच्च क्षमता छ र म तिमीहरूले भन्दा बढी सत्यता पछ्याउँछु। अझ के भने, म आफूलाई बढी समर्पित गर्छु र मैले तिमीहरूले भन्दा धेरै मूल्य चुकाएको छु, र म मण्डलीको काम पूरा गर्न सक्छु—के तिमीहरू सक्छौ?” यो अहङ्कार हो। फरक-फरक मानिसहरू आफूले निर्वाह गर्ने कर्तव्य र काममा फरक-फरक परिणामहरू प्राप्त गर्छन्। कतिपयसँग राम्रा परिणामहरू हुन्छन्, जबकि अरूसँग खराब परिणामहरू हुन्छन्। कतिपय मानिस राम्रो क्षमतासहित जन्मन्छन् र तिनीहरूलाई सत्यता कसरी खोज्ने भन्ने पनि थाहा हुन्छ, त्यसैले तिनीहरूको कर्तव्यका परिणामहरू चाँडै सुध्रिन्छन्। यो तिनीहरूको राम्रो क्षमताको कारणले हो, जुन परमेश्वरद्वारा पूर्वनिर्धारित हुन्छ। तर यदि तेरो कर्तव्यका परिणामहरू खराब छन् भने, तैँले त्यो कसरी समाधान गर्नुपर्छ? तैँले निरन्तर रूपमा सत्यता खोज्नुपर्छ र कडा मेहनत गर्नुपर्छ, त्यसपछि तैँले पनि बिस्तारै राम्रा परिणामहरू हासिल गर्न सक्छस्। जबसम्म तँ सत्यताका लागि प्रयास गर्छस् र आफ्नो क्षमताले भ्याएसम्म हासिल गर्छस्, तबसम्म परमेश्वरले तँलाई अनुमोदन गर्नुहुनेछ। तर तेरो कामका परिणामहरू राम्रा भए पनि वा नभए पनि, तँमा गलत विचारहरू हुनु हुँदैन। तेरो कामका परिणामहरू राम्रा भए पनि, यस्तो नसोच्, “मसँग मलाई परमेश्वरको समान स्तरमा राख्ने पूँजी छ। मसँग पूँजी छ, त्यसैले म परमेश्वरले दिने आशिष्हरूको आनन्द लिन सक्छु। मसँग पूँजी छ, त्यसैले परमेश्वर मलाई प्रयोग गर्नुहुन्छ। मेरो पूँजीले मलाई अरूलाई अगुवाइ गर्न र भाषण दिन सक्षम बनाउँछ।” तँसँग कुनै “पूँजी” छ भन्ने नठान्। मानिसहरूमा यी सोचहरू हुनु हुँदैन। यदि तँमा ती छन् भने, यसले तैँले गलत स्थान लिइरहेको छस् र तँसँग मानवमा हुनुपर्ने आधारभूत समझसमेत छैन भन्ने प्रमाणित गर्छ। त्यसोभए तँ आफ्नो अहङ्कारी स्वभाव कसरी फाल्न सक्छस्? तैँले फाल्न सक्दैनस्।
कतिपय मानिस आफूसित भ्रष्ट स्वभाव छैन र आफू अहङ्कारी छैनँ भनेर भन्छन्। यी कस्ता मानिसहरू हुन्? यिनीहरू सबैभन्दा बढी समझ नभएका मानिस हुन् र तिनीहरू सबैभन्दा मूर्ख, सबैभन्दा हठी र सबैभन्दा अहङ्कारी पनि हुन्छन्। वास्तवमा, तिनीहरू कुनै व्यक्तिभन्दा बढी अहङ्कारी र विद्रोही हुन्छन्; कसैले आफूमा भ्रष्ट स्वभाव छैन भनी जति बढी भन्छ, ऊ त्यति नै बढी अहङ्कारी र आत्म-धर्मी हुन्छ। किन अरूले आफैलाई चिन्न र परमेश्वरको न्याय स्विकार्न सक्छन्, तर तैँले चाहिँ सक्दैनस्? के तँ अपवाद होस्? के तँ पवित्र व्यक्ति होस्? के तँ शून्यतामा जिउँछस्? तँ मानवजाति शैतानद्वारा गहिरो रूपमा भ्रष्ट पारिएको छ, र हरेक व्यक्तिमा भ्रष्ट स्वभावहरू हुन्छन् भनेर स्विकार्दैनस्। यसको अर्थ तैँले सत्यता पटक्कै बुझ्दैनस्, र तँ सबैभन्दा विद्रोही, अज्ञानी, र अहङ्कारी छस् भन्ने हुन्छ। तेरो विचारमा, संसारमा असल मानिसहरू धेरै छन् र खराब मानिसहरू थोरै मात्र छन्—त्यसोभए त्यो किन अन्धकारले भरिएको, अशुद्धता र भ्रष्टताले भरिएको, द्वन्द्वले भरिएको छ? मानिसको संसारमा, हरव्यक्ति किन सधैँ एकअर्कासँग होडबाजी र लडाइँ गरिरहेको हुन्छ? परमेश्वरमा विश्वास गर्नेहरूसमेत अपवाद छैनन्। मानिसहरू सधैँ एक-अर्कासित सङ्घर्ष र लडाइँ गरिरहेका हुन्छन्। अनि यो कलह कहाँबाट उत्पन्न हुन्छ? यो तिनीहरूको भ्रष्ट प्रकृतिको उपज हो, अवश्य नै तिनीहरूको भ्रष्ट स्वभावको प्रकटीकरण हो। भ्रष्ट प्रकृति भएका मानिसहरूमा अहङ्कार र विद्रोहीपन प्रकट हुन्छ; शैतानी स्वभावहरूभित्र जिउने मानिसहरू झगडालु र लडाकु हुन्छन्। झगडालु र लडाकु मानिसहरू नै सबैभन्दा अहङ्कारी हुन्छन्, र तिनीहरूले कसैको आज्ञापालन गर्दैनन्। मानिसहरूले किन प्रायजसो आफ्नो पाप स्वीकार गर्छन् तर पश्चात्ताप गर्दैनन्? तिनीहरूले किन परमेश्वरमा विश्वास गर्छन् तर सत्यता अभ्यास गर्न सक्दैनन्? तिनीहरूले किन परमेश्वरमा वर्षौँ विश्वास गरेर पनि उहाँसँग मिल्न सक्दैनन्? यो सबै मानिसहरूको अहङ्कारी प्रकृतिले गर्दा हुन्छ। मानवजातिले सधैँ परमेश्वरविरुद्ध विद्रोह र उहाँको प्रतिरोध गरेका छन्, सत्यता पटक्कै स्विकारेका छैनन् र सत्यतालाई इन्कार र घृणासमेत गरेका छन्। यो मानिसहरूप्रति परमेश्वरका मागहरू अत्यन्तै उच्च भएकाले गर्दा होइन, बरु मानिसहरूले परमेश्वरलाई अत्यन्तै क्रूर र निर्दयी तरिकाले प्रतिरोध गर्ने हुनाले हो। तिनीहरू परमेश्वरलाई आफ्नो शत्रु बनाउन र क्रूसमा टाँग्नसमेत सक्छन्—के यस्तो भ्रष्ट मानवजाति अत्यन्तै क्रूर, अहङ्कारी र समझ नभएको हुँदैन र? परमेश्वर एकदमै धेरै सत्यता व्यक्त गर्नुहुन्छ, उहाँले मानिसहरूलाई यति धेरै हदसम्म कृपा गर्नुहुन्छ र मुक्ति दिनुहुन्छ अनि तिनीहरूका पापहरू क्षमा गर्नुहुन्छ—तर मानवजातिले सत्यता पटक्कै स्विकार्दैनन्, तिनीहरूले सधैँ परमेश्वरलाई दोषी ठहराउँछन् र प्रतिरोध गर्छन्, र आफूलाई परमेश्वरसँग मिल्नै नसकिने बनाउँछन्। अब, परमेश्वरसँगको मानवजातिको सम्बन्ध कुन स्तरमा रहेको छ? मानिस परमेश्वरको शत्रु, उहाँको प्रतिपक्ष बनेको छ। परमेश्वरले मानिसहरूलाई खुलासा गर्न, न्याय गर्न, र मुक्ति दिन सत्यता व्यक्त गर्नुहुन्छ; मानिसहरूले यसलाई स्विकार्दैनन् वा यसप्रति कुनै ध्यान दिँदैनन्। परमेश्वरले जुन कुरा गर्न लगाउनुहुन्छ, मानिसहरूले त्यो गर्दैनन्; बरु तिनीहरू उहाँले घृणा गर्ने र घिन मान्ने कामकुरा गर्नतिर लाग्छन्। परमेश्वरले सत्यता व्यक्त गर्नुहुन्छ, तर मानिसहरूले उहाँलाई इन्कार गर्छन्। परमेश्वर मानिसहरूका भ्रष्ट स्वभावहरूलाई न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ, अनि तिनीहरूले सत्यता अस्वीकार गर्ने मात्रै होइन, उहाँसँग तर्क गर्ने र उहाँविरुद्ध विद्रोह गर्ने पनि गर्छन्, अनि उहाँलाई गलत ठहराउने र दोषी ठहराउनेसमेत गर्छन्। मानिसहरू कति अहङ्कारी हुन्छन्? तिनीहरूमा विवेक वा समझ पटक्कै हुँदैन। भ्रष्ट मानवजातिले परमेश्वरलाई निर्धक्क इन्कार र प्रतिरोध गर्छन्। तिनीहरूले परमेश्वरमा विश्वास गरे पनि, तिनीहरू सधैँ धेरै आशिष्, इनाम, र स्वर्गको राज्य प्रवेशलाई पछ्याउँछन्; तिनीहरू राजा हुन र शक्ति चलाउन पनि चाहन्छन्। यो अहङ्कारको नमुना चित्रण हो, मान्छेको भ्रष्ट स्वभाव ठ्याक्कै यही हो।
मानिसलाई मुक्ति दिन परमेश्वर देहधारी हुनुभयो, तर परमेश्वरलाई अतिथिसत्कार गरेको बदलामा मानिसहरूले जीवनयापनको खर्च, इनाम, आशिष् माग गरे अनि तिनीहरूले परमेश्वरलाई अतिथिसत्कार गरेको भनेर फाइँफुट्टी लगाउन थाले, र आफू परमेश्वरका प्रिय भएको भने, ताकि अरूले तिनीहरूलाई उच्च ठानून्। थोरै मानिसहरूलाई आफूले जसलाई अतिथिसत्कार गरेको हो उहाँ परमेश्वर नै हुनुहुन्छ भन्ने प्रस्ट रूपमा थाहा थियो, तैपनि तिनीहरूले बदलामा मण्डलीहरूबाट पैसा माग गरे। यस्ता अहङ्कारी मानिसहरूले आफूसित भ्रष्ट स्वभाव नभएको, आफ्नो विश्वास अरू कसैको भन्दा पनि उत्कृष्ट भएको, आफू परमेश्वरप्रति अरूभन्दा बढी बफादार भएको, र आफूले अरूभन्दा पनि राम्रो व्यवहार गर्ने भनेर भन्छन्। कतिपय मानिसहरूले आफ्नै बारेमा धाक लगाउँछन्: “मैले परमेश्वरमा विश्वास गरेको बिस वर्ष भयो। म सुरुमा धर्मान्तरित हुँदा कुनै मण्डली थिएन—म जता-जता जान्थेँ त्यतै-त्यतै सुसमाचार प्रचार गर्थेँ!” तँ किन आफ्नो बारेमा धाक लगाइरहेको छस्? तँसँग धाक लगाउन लायक केही पनि छैन। तेरो अहिलेको व्यवहारअनुसार त तैँले आफैलाई थप्पड हान्नुपर्ने हो, आफैलाई सराप्नुपर्ने हो, र आफैलाई घिन मान्नुपर्ने र घृणा गर्नुपर्ने हो। त्यसैले तँ किन आफ्नो बारेमा धाक लगाइरहेको छस्? तेरो अहङ्कारी स्वभाव अत्यन्तै गम्भीर छ—तँ चरम, उग्र अवस्थामा पुगिसकेको छस्! मानिसहरूले धेरै बोलून् कि थोरै, तिनीहरूका भाव, अभिप्राय, र शब्दहरू सबैमा अहङ्कारी गन्ध र सार हुन्छ। म एउटा सामान्य उदाहरण दिन्छु। मानौँ, मण्डलीमा एउटा व्यक्ति छ जसले भर्खरै विश्वास गर्न थालेको छ, जो निकै भरपर्दो छ, जसले इमानदारीका साथ पछ्याउँछ। कतिपय मानिसहरूले उसलाई हेयको नजरले हेर्न, र घमण्डका साथ यसो भन्न सक्छन्: “तिमी विश्वासी बनेको कति वर्ष भयो? तिम्रो घर कहाँ हो? के तिमीमा केही धारणाहरू छन्? तिमीलाई अझै पनि कुन-कुन सत्यताबारे स्पष्ट थाहा छैन? के तिमी यी आधारभूत सत्यताहरूले सुसज्जित छौ? सुसज्जित भइसकेपछि, तिमी सुसमाचार प्रचार गर्न जानुपर्छ!” कसैलाई यसरी भाषण सुनाउनका लागि तँसँग के योग्यता छ? तँ पनि मानव नै होस्, यति हो कि तैँले अलिक चाँडो स्वीकार गरिस्। तैपनि, तैँले आफ्नो भ्रष्ट स्वभावको सारमा रहेको अहङ्कार अझै पनि फालेको छैनस्। अरूलाई भाषण सुनाउनका लागि तँसँग के योग्यता छ? तैँले अवश्यै तिनीहरूसँग सङ्गति गर्लास्, तर तेरा दृष्टिकोण र अभिप्रायहरू गलत छन्, तेरो मनोवृत्ति गलत छ, र यसको प्रकृति अत्यन्तै घिनलाग्दो छ! जब माथिले सुसमाचारको कामको अवस्था बुझ्नका लागि कतिपय मानिसहरूलाई सम्पर्क गर्छ, र तिनीहरूलाई सुसमाचार प्रचारको काममा कुनै कठिनाइ छ कि वा सुसमाचारको काममा के-कस्ता समस्याहरू समाधान गर्नु आवश्यक छ भनेर सोधिन्छ, तब तिनीहरूले “काम सामान्य नै छ, कुनै समस्या छैन” भनेर भन्छन्, र जानीजानी अवहेलनाको मनोवृत्ति अपनाउँछन्। सुसमाचारको काममा के-कस्ता समस्याहरू रहेका छन् वा तिनलाई कसरी समाधान गरिन्छ भन्ने बारेमा तिनीहरूले बिरलै रिपोर्ट गर्छन्, माथिले समाधान गर्नुपर्ने के-कस्ता कठिनाइहरू छन् भनेर तिनीहरूले रिपोर्ट गर्नु त झन् परको कुरा हो। यो कस्तो समस्या हो? के यो आफ्नो कर्तव्य जिम्मेवारीपूर्वक पूरा गर्नुको प्रकटीकरण हो? के यो परमेश्वरप्रतिको बफादारीको प्रकटीकरण हो? तिनीहरू परमेश्वरमा समर्पित हुन्छु र परमेश्वरलाई पछ्याउँछु भनी बारम्बार भन्छन्, र तिनीहरू साँचो परमेश्वर देखेको छु, साँचो रूपमा समर्पित छु, परमेश्वरप्रति समर्पित हुन र मूल्य चुकाउन साँच्चै इच्छुक छु भनेर भन्छन्, तर अन्त्यमा, तिनीहरूले त्यस्तो स्वभाव प्रकट गर्न र त्यस्ता शब्दहरू बोल्न सक्छन्—तिमीहरूलाई यस्तो व्यक्तिमा साँच्चै कस्तो सार हुन्छ भन्ने लाग्छ? यस्तो व्यक्तिको परिणाम के हुन सक्छ? ऊ केको लायक हुन्छ? यदि मैले यी वचनहरू नबोलेको भए, यस्ता विषयहरूमा कुनै चासो नदेखाएको भए, तिमीहरू के भन्छौ, यस्ता मानिसहरू कस्तो अवस्थासम्म पुग्न सक्थे? यसका परिणामहरू सोच्दासमेत अत्यन्तै भयानक लाग्छन्। जब म केही मानिसहरूसँग सामान्य शैलीमा बोल्छु र कुराकानी गर्छु, तब तिनीहरू मलाई एक साधारण व्यक्ति सोचेर अहङ्कारी बन्छन्। तिनीहरू बहकिन्छन्, र तिनीहरू सबै कुरामा घुस्ने र त्यसको मूल्याङ्कन गर्ने, र सधैँ धाक देखाउने चाहना बोकेर कुराहरू ओकल्न थाल्छन्। तिनीहरू त्यस्ता व्यक्ति हुन् भन्ने देख्दा, म तिनीहरूप्रति कुनै ध्यान दिँदिनँ। तिमीहरूलाई साँचो कुरा भन्नुपर्दा, म धेरैजसो मानिसहरू निकै घिनलाग्दा देख्छु। तिनीहरूलाई भेटेपछि, मैले तीन वटा वाक्य पनि भन्न नभ्याउँदै, तिनीहरू ज्यु ज्यु गर्न थाल्छन्; तिनीहरूलाई भेटेको एक हप्ता नपुग्दै, तिनीहरूले परमेश्वरलाई भाषण सुनाउने दुस्साहस गरिसक्छन्। केही समयसम्म त्यस्तो व्यक्तिलाई चिनेपछि, मलाई ऊ मन पर्दैन, म उसलाई कुनै ध्यान दिँदिनँ, र पछि म उसले खराब काम गरेको, र ऊ दुष्ट भएको सुन्छु। आफूलाई कसैको स्थानमा राखेर एकछिन सोच् त: यदि तिमीहरू आफ्ना छोराछोरी हुर्काउने क्रममा यस्तो अवस्थामा पर्यौ भने, तिमीहरूलाई कस्तो लाग्छ? बुढ्यौलीमा आफूलाई हेरचाह गरून् र मरेपछि उचित अन्त्येष्टि गरून् भनेर मानिसहरूले छोराछोरीलाई हुर्काउँछन्; यदि तिनीहरू वृद्ध भएपछि तिनीहरूका छोराछोरीले तिनीहरूलाई ध्यानै दिएनन्, स्वाङ पार्दै तिनीहरूलाई भाषण सुनाए, वा तिनीहरूलाई दुर्व्यवहार गरे र हेपे, र आमाबुबाप्रतिको कर्तव्य अलिकति पनि पूरा गरेनन् भने, आमाबुबालाई कस्तो लाग्छ? के तिनीहरूलाई रिस पनि उठ्ने र दुःख पनि लाग्ने हुँदैन र? तिमीहरू अहिले सानै छौ र तिमीहरूसँग सतही अनुभव मात्र छ, त्यसकारण तिमीहरूले अहिले नै यो कुरा बुझ्न सक्दैनौ। मैले धेरै ठाउँ घुमेको छु र धेरै मानिसहरू भेटेको छु। मैले भेटेर एउटै हैसियतमा बसी सङ्गति र जीवनका बारेमा कुरा गर्न पाएका मानिसहरूमध्ये, एक जनाले पनि यसो भनेनन्: “परमेश्वरले मसँग राम्रो व्यवहार गर्नुभएको छ। ममा अलिकति भए पनि विवेक र समझ हुनुपर्छ, र म मेरो विवेकविपरीत केही काम गर्नेछैनँ।” मानिसहरूले सानो कुरा पनि विवेक वा मानवताद्वारा गर्न सक्दैनन्। तिनीहरूले आफ्नै स्थानमा रहेर बोल्न, वा आफ्नो कर्तव्यमै लागिरहनसमेत सक्दैनन्, सत्यता अभ्यास गर्न सक्नेबारे त भन्नै परेन, तिनीहरूले त्यो पनि गर्न सक्दैनन्। यदि मानिसहरू अत्यन्तै अहङ्कारी बन्छन् भने, तिनीहरू प्रधान स्वर्गदूतभन्दा एक कदम बढी उग्र बन्नेछन्।
कतिपय मानिसहरूको क्षमता अलिक राम्रो हुन्छ; तिनीहरूले केही काम गर्न सक्छन्, र तिनीहरू मण्डली अगुवामा चयन हुन्छन्। अगुवा बनेपछि, तिनीहरूले त्यति धेरै वास्तविक काम गरेका हुँदैनन्, तैपनि तिनीहरू अहङ्कारी बन्न थालिसकेका हुन्छन्। मानिसहरूले तिनीहरूलाई काटछाँट गर्ने वा तिनीहरूका विचलनहरू औँल्याउने आँट गर्दैनन्; यदि तैँले तिनीहरूसँग अलिक कठोर वा कडाइका साथ बोलिस् भने, तिनीहरू रिसाउँछन्, र भन्छन्: “म यो काम गर्नेछैनँ। यो जसलाई गराउन चाहनुहुन्छ, उसैलाई गराउनुहोस्। म पनि हेर्छु, मैले भन्दा राम्रो कसैले गर्न सक्छ कि सक्दैन। पवित्र आत्माले नै तिनीहरूलाई खुलासा गर्नुहोला नि!” यी शब्दहरू कति अहङ्कारी छन्! मानिसहरू कति विद्रोही हुन्छन्? आफूले भन्ने वा गर्ने कुराहरू तिनीहरूले बिलकुलै अनुभूत गर्दैनन्—तिनीहरू पूरै अनभिज्ञ हुन्छन्। मैले तिनीहरूका अहङ्कारी शब्दहरू, तिनीहरूका अहङ्कारी कार्यहरू, तिनीहरूले हृदयमा पाल्ने उत्प्रेरणाहरू, र तिनीहरूले प्रकट गर्ने कुरूपताहरू अलिअलि गर्दै विश्लेषण गरेपछि मानिसहरूले आफूलाई बुझ्नेछन्। मानिसहरू यति चेतनाशून्य हुन्छन्। त्यस्तो विश्लेषण र स्पष्टीकरणविना, के मानिसहरूले आफूलाई चिन्न सक्छन् र? के तिनीहरूले कुनै मानवीय कार्य गर्न सक्छन् र? मैले निरन्तर लट्ठीले हिर्काएँ भने मात्रै तिनीहरूले अलिक सुशील व्यवहार गर्छन्, मानिसहरू यति काम नलाग्ने छन्! मानिसहरू अहङ्कारको यो स्तरमा पुगिसकेका छन्; अनुशासनले कुनै काम गर्दैन। कतिपय मानिसहरू भन्छन्: “परमेश्वरका धेरै वचनहरू पढिसकेपछि, मलाई ती सत्यता हुन्, र मानिसलाई खुलासा गर्ने उहाँका वचनहरू सही हुन् जस्तो लाग्छ, तर मैले धेरै वर्ष परमेश्वरमा विश्वास गरेको छु, तैपनि किन उहाँले मलाई ताडना दिनुभएन?” तिमीहरूलाई के लाग्छ: जब प्रधान स्वर्गदूतले परमेश्वरलाई धोका दियो, तब परमेश्वरले त्यसलाई तुरुन्तै अनुशासित र दण्डित गर्नुभएको भए, के यसले धोका दिन सक्थ्यो? के यसको धोका दिने प्रकृतिलाई समाधान गर्न सकिन्थ्यो? के यसको अहङ्कारी स्वभाव हटाउन सकिन्थ्यो? सकिँदैनथ्यो! त्यसकारण, आजका मानिसहरू प्रधान स्वर्गदूतभन्दा दश-बिस गुणा बढी अहङ्कारी हुने अवस्थामा पुगेका छन्। अनुशासनले मात्रै पुग्दैन, तिनीहरूले न्याय र सजाय स्विकार्नैपर्छ, तिनीहरूले सत्यता स्विकार्न र पछ्याउन जरुरी छ—त्यसपछि मात्रै परमेश्वरले तिनीहरूमाथि काम गर्न सक्नुहुन्छ, त्यसपछि मात्रै उहाँले तिनीहरूको जाँच र शोधन गर्न सक्नुहुन्छ। यदि तैँले सत्यता स्विकार्न सक्दैनस् भने, तैँले जति वर्ष विश्वास गरे पनि त्यसले फरक पार्दैन, किनभने परमेश्वरले तँमाथि काम गर्नुहुनेछैन। यदि तँमा विवेक पनि छैन र समझ पनि छैन भने, तँ एक पशु होस्; तँलाई उहाँले भन्नुपर्ने केही पनि छैन, तैँले जे गरे पनि तँलाई ताडना दिइनेछैन, तर यदि तैँले मण्डलीलाई बाधा दिइस् भने, तँलाई निकालिनेछ। यति धेरै सत्यता बोलिसकेपछि, मानिसहरूले यसलाई पछ्याउँछन् कि पछ्याउँदैनन्, त्यो हेर्। यदि तैँले “म सत्यता पछ्याउन पूर्ण रूपमा अनिच्छुक छु, म पतनमा रमाउन चाहन्छु। म पतित हुन चाहन्छु” भनेर भन्छस् भने, तँ दण्ड पाउने प्रतीक्षामा हुन्छस्। म अहिले कसैलाई ताडना दिन्नँ, बस तिनीहरूसँग बोल्छु, र तिनीहरूको भ्रष्टताको खुलासा र न्याय गर्छु। यदि तैँले यसलाई हृदयमा लिइस् भने, तैँले प्रगतिको दिशा पछ्याइरहेको हुन्छस्; यदि तैँले यसलाई हृदयमा लिइनस् भने, तँ पछिको दण्ड पर्खिरहेको हुन्छस्। अहिले, सत्यताको प्रबन्धबाहेक, खुलासा, न्याय र सजाय पनि छन्, अनि दण्ड र प्रतिशोध पनि छन्। दण्ड र प्रतिशोध ढिलोचाँडो अवश्यै आउनेछन्; कुन दिन तैँले प्रशासनिक आदेश उल्लङ्घन गर्छस्, र त्यसपछि तँ मर्छस् भनेर कसले भन्छ र। तैपनि, म तिमीहरू प्रत्येकलाई अर्ती दिन्छु, तिमीहरू दण्डले बिउँझाएपछि मात्रै सत्यतालाई पछ्याउँछु भनेर पर्खेर नबस; त्यो बेला, पछुतो गर्न निकै ढिलो भइसकेको हुनेछ, अनि तिमीहरू नष्ट हुनेछौ। पश्चात्ताप गर्ने कुनै अवसर हुनेछैन। त्यो बेला, सत्यता पछ्याउन अत्यन्तै ढिलो भइसकेको हुनेछ, र त्यो बेकार पनि हुनेछ। चाँडै बिउँझन, केही मानवीय कार्यहरू र केही विवेकपूर्ण कार्यहरू गर्न तिमीहरूले वर्तमानको फाइदा उठाउनु राम्रो हो। जिद्दी भएर गलत बाटोमा नअल्झनू।
कतिपय मानिसहरूले असल मानवता भएको भनेर आफ्नो प्रचार गर्छन्, तर यदि तँसँग साँच्चै मानवता छ भने, तँ किन अहङ्कारी कामकुराहरू गर्छस्? तँ किन कुनै मानवीय कामकुरा गर्न सक्दैनस्? तँमा किन अलिकति पनि विवेक वा समझ छैन? मानिसहरू यति अहङ्कारी छन् कि तिनीहरूले परमेश्वरबाहेक सबै कुरा चाहन्छन्; तिनीहरूले हरेक चर्चित व्यक्तिहरू, दियाबलस, र शैतानलाई अत्यन्तै प्रेम गर्छन्; तर तिनीहरूले न त परमेश्वरको आराधना गर्छन् न उहाँप्रति समर्पण नै देखाउँछन्; तिनीहरूले जुनसुकै खराब कामकुरा गर्न सक्छन्। म धेरै ठाउँ गएको छु। मलाई अतिथिसत्कार गर्ने कतिपय मानिसहरूले खाना र बस्नका लागि ठूलो रकम असुलेका छन्, त्यसमाथि ती खाना र दैनिक उपभोगका सामानहरूको पैसा मण्डलीले तिरेको हुन्छ। तिमीहरू भन त, यी मानिसहरूमा कसरी कुनै विवेक नभएको होला? के म तिनीहरूले तयार गरेको खाना खान योग्य छैनँ र? पहिले तिनीहरूले मलाई अतिथिसत्कार गर्न इच्छुक छौँ भनी भनेका थिए, तर जब म पुग्छु, तब तिनीहरूले कुनै लाज नमानी यस्तो व्यवहार गर्छन्। के तिनीहरू मानव नै हुन्? के तिनीहरूमा अझै मानवता छ? चिप्लो नबोल्—तैँले त्यो गर्न सक्दैनस्, तँमा कुनै मानवता छैन, र तँ पशु होस्। तेरो प्रकृति र अहङ्कारले तँलाई दोषी ठहराउँछन्। मानिसहरूमा अत्यन्तै थोरै आस्था छ। तिनीहरू यति अहङ्कारी र विद्रोही छन् कि तिनीहरूसँग परमेश्वरका निम्ति कुनै ठाउँ बाँकी छैन! के यो हदसम्म भ्रष्ट भएको व्यक्ति मानव कहलिन लायक हुन्छ? यो त ठ्याक्कै दियाबलस र शैतानको प्रतिरूप हो। मानिसहरू सोच्छन्: “तपाईँसँग सत्यता भए पनि, तपाईँ व्यक्ति नै हुनुहुन्छ, त्यसकारण तपाईँले के नै गर्न सक्नुहुन्छ र? तपाईँले मलाई के कुरामा मदत गर्न सक्नुहुन्छ? तपाईँले मलाई के गर्न सक्नुहुन्छ? तपाईँले मलाई कहाँ लैजान सक्नुहुन्छ? म तपाईँलाई हेयको नजरले हेर्छु। तपाईँ परमेश्वर भए पनि नभए पनि मलाई मतलब छैन।” तिनीहरूले यसबारे वास्तै गर्दैनन्। म त ठोकुवा गर्छु, यदि तिमीहरूको कम्पनीको मालिक तिमीहरूको घरमा आयो भने, ऊ जान खोज्दा पनि तिमीहरूले उसलाई जान दिनेछैनौ; तिमीहरूले उसलाई आफ्नो घरमा दुई दिनसम्म बसाउनेछौ, र राम्रो सत्कार गर्नेछौ। त्यसकारण, मानिसहरूले सधैँ अहङ्कारी भएर बोल्नु हुँदैन, अरू कसैलाई भन्दा बढी परमेश्वरलाई चाहन्छु, सत्यता अभ्यास गर्न अरू कोहीभन्दा सिपालु छु, आफूलाई समर्पित गर्न अरू कोहीभन्दा उत्तम छु, अरू कसैले भन्दा बढी मूल्य चुकाएको छु, र अरू कोहीभन्दा बढी बफादार छु भनेर भन्नु हुँदैन। आफ्नो धाक नलगा—तँ त्यसो गर्न योग्य छैनस्, न त तैँले त्यस्तो मूल्य चुकाएको छस्, न त तैँले वास्तविक काम नै धेरै गरेको छस्। तैँले थोरै काम गरेको भए पनि, त्यो तैँले इमानदारीका साथ परमेश्वरप्रति आफूलाई समर्पित गरेसरह हुँदैन, परमेश्वरप्रति पूर्ण बफादारी, र मृत्युपर्यन्त समर्पणसरह हुनु त झन् परको कुरा हो। तँ तीनदेखि पाँच वर्षसम्म लागिपर्न सक्छस्, तर समय बित्दै जाँदा, तँ थप लागिरहन सक्दैनस्, त्यसैले तँ झाराटारुवा बन्नेछस्, र तैँले गुनासो गर्नेछस्। आफू अरू मानिसभन्दा माथि छु भनेर नसोच्—त्यसको मतलब तँ मूर्ख तरिकाको अहङ्कारी छस्, तँ मूर्ख छस्। तँ सत्यता वास्तविकता भएका मानिसहरूभन्दा निकै तल छस्, झन् युगौँयुगका सन्तहरूसँग त तेरो तुलना नै हुँदैन। के तँ साँच्चिकै कुनै कुराको फाइँफुट्टी लगाउन योग्य छस्? तिमीहरू सबैले भन्छौ: “यदि मैले पछि परमेश्वरलाई सम्पर्क गरेँ भने, ग्यारेन्टी भयो, म उहाँलाई छल गर्नेछैनँ।” तेरो ग्यारेन्टीको केही समय परीक्षण हुनुपर्छ। म थप मानिसहरूलाई सम्पर्क गर्न अनिच्छुक छु; तिनीहरूलाई सम्पर्क गर्दा र तिनीहरूको आचरण देख्दा नै मलाई रिस उठ्छ! यो कुराको कारण म कति रिसाएको छु भन्ने त तिमीहरूमध्ये कतिलाई थाहा नै होला। सत्यता पटक्कै नपछ्याउने, अनि सधैँ शक्ति हातमा लिएर अरूलाई नियन्त्रण गर्ने मानिसहरू देख्दा मलाई विशेष रिस उठ्छ। म तिनीहरूप्रति घिन मान्छु। सत्यता पटक्कै नपछ्याउने मानिसहरू निकै खराब हुन्छन्, तिनीहरूमा मानवता हुँदैन; म त्यस्ता मानिसहरूलाई बिलकुलै सम्पर्क गर्नेछैनँ। मैले तिनीहरूलाई ध्यान नदिएको देख्दा, त्यस्ता मानिसहरूले गुनासो गर्लान्। यी मानिसहरू अत्यन्तै असमझदार हुन्छन्! अहिले, धेरैजसो मानिसहरूलाई सत्यता कसरी पछ्याउने भन्ने नै थाहा छैन—तिनीहरूको कद साह्रै सानो छ, र तिनीहरूमा भएको थोरै मानवता र समझ पनि साह्रै कमजोर छन्, त्यसकारण तिनीहरूसँग संलग्न हुने उपाय छैन। यदि तैँले दुई दिन मात्र त्यस्तो व्यक्तिको सङ्गत गरिस् भने, त्यसले तँलाई हेयको नजरले हेर्नेछ, र त्यो अहङ्कारी—भयङ्कर रूपमा अहङ्कारी—बन्नेछ, त्यसपछि तैँले जे भने पनि, त्यसले तेरो कुरा सुन्नेछैन।
कुनै बेला, म हरप्रकारका अतिथिसत्कारक परिवार र परमेश्वरका हरप्रकारका विश्वासीहरू भेट्दै मण्डली-मण्डली चहार्ने गर्थेँ। अहिले आएर म किन धेरै मानिसहरूको सम्पर्कमा आउन इच्छुक छैनँ? मानिसहरू अत्यन्तै खराब छन्, तिनीहरूमध्ये धेरैजसोमा न त विवेक न त समझ नै छ, तिनीहरूसँग परमेश्वरका लागि कुनै ठाउँ छैन, र तिनीहरू उहाँविरुद्ध सधैँ युक्ति रच्दै हिँड्छन्, त्यसकारण मैले मानिसहरूबाट टाढा बस्ने, र आफूले गर्नुपर्ने काम मात्रै गर्ने निर्णय गरेको हुँ। कतिपय मानिसहरू भन्छन्: “के परमेश्वर मानिसहरूमाझ जिउनुहुन्न र?” म मानिसहरूमाझ जिउँछु, त्यसमा कुनै शङ्का छैन, तर म दुष्टहरूमाझ बस्न सक्दिनँ, त्यो साह्रै खतरनाक हुन्छ। यदि मसँग आत्मिक शरीर भएको भए बेस हुन्थ्यो, मानिसहरूमाझ म जे पनि गर्न सक्थेँ—येशूको जस्तै आत्मिक शरीर भएको भए राम्रो हुन्थ्यो, उहाँले आफ्नो खुसीले काम गर्न सक्नुहुन्थ्यो, र मानिसहरूले सताउने आँट गर्ने थिएनन्—तर अहिले मसँग सामान्य दैहिक शरीर, एकदमै सामान्य दैहिक शरीर छ, र यसमा अलौकिक कुरा केही पनि छैन, त्यसकारण मानिसहरूले यसलाई स्विकार्न सक्दैनन्; तिनीहरूले सधैँ धारणाहरू बोकेका हुन्छन् र परमेश्वरलाई जाँच्न चाहन्छन्। यदि यस प्रकारको स्वभाव भएको यस्तो व्यक्तिलाई थोरै ताडना र दण्ड दिने, र एक महिना तनाव दिने हो भने, के तिमीहरूलाई यसले काम गर्ला जस्तो लाग्छ? यो त बेकार हुनेछ। एक महिनाको टाउको दुखाइपछि तिनीहरू उठ्नेछन् र रिस पोख्नेछन्। के तिमीहरूलाई ताडना मात्रैले परिवर्तन ल्याउन सक्छ जस्तो लाग्छ? लाग्दैन। त्यसैले त विगतमा म धेरै मानिसहरूको सम्पर्कमा आएको छु, तर तिनीहरूमध्ये थोरैले मात्र सत्यतालाई प्रेम गर्छन्। म तिमीहरूलाई के मात्रै भन्न सक्छु भने, परमेश्वरबाट केही पाउनका लागि मात्रै मानिसहरूले उहाँमा विश्वास गर्नु हुँदैन। तैँले बस आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने, र आफ्नो सारा ऊर्जा लगाउने बारेमा मात्रै ध्यान दिनुपर्छ। यदि तेरो क्षमता अति कमजोर छ, र प्रयोग गर्न लायक छैन भने, तैँले तुरुन्तै आफ्नो पद त्याग गर्नुपर्छ। तँ आज्ञाकारी र सुशील हुनुपर्छ, तैँले आफूले गर्नुपर्ने कुरा गर्नुपर्छ, गर्न नहुने कुरा गर्नु हुँदैन, र तँ समझदार हुनुपर्छ। तँ एक व्यक्ति होस्। यदि परमेश्वरले तँलाई सास, जीवन, र ऊर्जा नदिनुभएको भए, तैँले केही पनि गर्न सक्नेथिनस्। मानिसहरूले केही पनि माग्नु हुँदैन, न त योग्यताहरूको तुलना गर्नु नै हुन्छ; तँसँग योग्यताहरू हुनु बेकार हो! यदि कुनै मण्डलीले तँलाई अगुवा बनायो भने, त्यो तेरो जिम्मेवारी हो, र अरू कसैलाई अगुवा बनायो भने, त्यो उसको जिम्मेवारी हो। कामको कुरा आउँदा, तैँले अवश्यै सङ्गति गर्नुपर्छ, तर तैँले योग्यताहरू तुलना गर्दै यस्तो सोच्नु हुँदैन: “म त्यो मण्डलीमा धेरै पहिलेदेखि नै योग्य रहेको छु, मैले अरूले भन्दा माथिल्लो सम्मान पाउनुपर्छ। म पहिलो नम्बरमा पर्छु, र तिमी दोस्रो नम्बरमा पर्छौ।” यस्तो कुरा नबोल्, यो अत्यन्तै असमझदार कुरा हो। कतिपय मानिसहरू यसो पनि भन्छन्: “मैले परमेश्वरप्रति आफूलाई समर्पित गर्नका लागि आफ्नै काम त्यागेँ, मैले आफ्नो परिवार त्यागेँ, अनि मैले के पाएँ त? मैले केही पनि पाएको छैनँ, र परमेश्वरले अझै पनि मानिसहरूलाई भाषण सुनाउनुहुन्छ।” तिमीहरूलाई यी शब्दहरू कस्तो लाग्यो? मानिसहरू ठीक ठाउँमा बस्नुपर्छ र सबैभन्दा पहिले आफू मानव भएको, भ्रष्ट मानवजाति भएको तथ्यबारे स्पष्ट हुनुपर्छ। यदि तँलाई अगुवा बनाइयो भने, अगुवा बन्; यदि तँलाई अगुवा बनाइएन भने, साधारण अनुयायी बन्; यदि तँलाई काम गर्न दिइयो भने, तैँले केही गर्ने अवसर पाएको हुन्छस्; यदि तँलाई काम गर्न दिइएन भने, तैँले केही पनि गर्न सक्दैनस्। धाक नलगा—धाक लगाउनु खराब लक्षण हो, यसले तँ चरम दिशामा, अर्थात् मृत्युतिर हिँडिरहेको छस् भन्ने प्रमाणित गर्छ। धाक नलगा, र यसो नभन्: “मैले कुनै ठाउँमा केही मानिसहरूलाई विश्वासमा ल्याएको छु, तिनीहरू मेरा फल हुन्। म नगएको भए, कसैले पनि यो काम गर्न सक्नेथिएन। जब म गएँ, तब पवित्र आत्माले महान् काम गर्नुभयो!” यसरी धाक नलगा। बरु, तैँले यसो भन्नुपर्छ: “ती मानिसहरूलाई विश्वासमा ल्याउन सक्नु पवित्र आत्माको कामको परिणाम थियो, व्यक्तिले त थोरै काम मात्रै गर्न सक्छ। यदि हामीले सुसमाचार प्रचार गरिसक्यौँ, र परमेश्वरले हामीलाई घर फिर्ता पठाउनुभयो भने, हामी घर जानेछौँ।” यसो नभन्: “मैले के गलत काम गरेँ र तपाईँले मलाई घर पठाउनुभएको? यदि तपाईँले कारण बताउन सक्नुहुन्न भने, म घर जान्नँ!” यस्तो सर्त अघि नसार्। यदि तँसँग यस्तो सर्त छ भने, तेरो स्वभाव अत्यन्तै अहङ्कारी छ भन्ने प्रमाणित हुन्छ। यदि तैँले गल्ती गरेको छैनस् भने, के तँलाई घर पठाउन मिल्दैन र? यदि तैँले सही काम गरेको छस् भने, के तँलाई घर पठाउन सकिँदैन र? यदि तैँले काम सही रूपमा र राम्ररी गरेको छस् भने पनि, यदि तँलाई घर पठाइयो भने, तँ घर फर्केर जानैपर्छ। यदि तँलाई काटछाँट गरियो भने, तैँले त्यो स्विकार्नुपर्छ र तँ त्यसमा समर्पित हुनुपर्छ। यो एउटा दायित्व, र जिम्मेवारी हो, र तैँले आफ्नो प्रतिरक्षा गर्नु हुँदैन। अय्यूबले परमेश्वरमा विश्वास गर्थ्यो र उहाँको डर मान्न र दुष्टताबाट अलग बस्नमा मात्रै ध्यान दिन्थ्यो। अय्यूबले केही पनि मागेन, र यहोवाले उसलाई आशिष् दिनुभयो। कतिपय मानिसहरू भन्छन्: “त्यो त अय्यूबले परमेश्वरप्रति राम्रो व्यवहार गरेकाले हो, त्यसैले अवश्यै परमेश्वरले तिनलाई आशिष् दिनुभयो; त्यो अय्यूबको आस्था र धर्मी कामको बदलामा दिइएको थियो।” यो गलत हो, यो कुनै आदानप्रदान थिएन, कुरा के हो भने, यहोवाले उसलाई आशिष् दिन चाहनुहुन्थ्यो। यहोवाले ऊबाट सबै कुरा खोस्नुभएपछि उसले किन गुनासो गरेन? उसले किन “म धर्मी व्यवहार गर्छु, म अत्यन्तै योग्य छु, त्यसकारण तपाईँले मसँग यस्तो व्यवहार गर्नु हुँदैन” भनेर भनेन? यो पर्छ वा पर्दैन भन्ने विषय होइन! परमेश्वरमा विश्वास गर्दा, मानिसहरूले सधैँ आफ्नै निर्णय गर्छन्, र सधैँ मानव धारणा र धर्मसिद्धान्तहरूबारे बोल्छन्। यो ठीक होइन। त्यो त मानव अहङ्कार हो, मानव विद्रोह हो। मानव रोजाइ भनेकै मानव दूषण हो।
के तिमीहरूले आफ्नो अहङ्कारी स्वभाव प्रकट गर्दा त्यो थाहा पाउँछौ? कतिपय मानिसहरूले थाहा पाउँदैनन्, र यसो भन्छन्: “म अहङ्कारी छैनँ, र मैले यसभन्दा पहिले कहिल्यै कुनै अहङ्कारी कुरा भनेको छैन।” वास्तवमा, तँलाई थाहा नभए पनि, तँसँग अहङ्कारी स्वभाव चाहिँ हुन्छ, त्यो प्रकट नभएको मात्र हो। तैँले बाहिरी रूपमा यो प्रकट गरेको छैनस् भन्ने तथ्यले तँमा अहङ्कारी स्वभाव छैन भनेर प्रमाणित गर्दैन; सम्भवतः तेरो हृदय अरू कसैको भन्दा बढी अहङ्कारी छ, यति मात्र हो कि, तँलाई कसरी नाटक गर्ने भन्ने थाहा छ, त्यसकारण यो प्रकट हुँदैन, तर समझशक्ति भएका मानिसहरूले यो कुरा देख्न सक्छन्। त्यसकारण, हरेक व्यक्तिमा अहङ्कारी स्वभाव हुन्छ, यो मानवजातिको साझा प्रकृति हो। अहङ्कारी प्रकृति भएका मानिसहरूले परमेश्वरविरुद्ध विद्रोह गर्न, उहाँको प्रतिरोध गर्न, उहाँको निन्दा गर्ने र उहाँलाई धोका दिने कार्यहरू गर्न, र आफैलाई उच्च पार्ने आफ्नै स्वतन्त्र राज्य स्थापना गर्ने प्रयासस्वरूपका कामकुरा गर्न सक्छन्। मानौँ, एउटा देशका दशौँ हजार मानिसले परमेश्वरको कामलाई स्वीकार गरे, र परमेश्वरका चुनिएका मानिसहरूलाई अगुवाइ गर्न र तिनीहरूको रखवारी गर्नका लागि परमेश्वरको घरले तँलाई त्यहाँ पठायो। अनि मानौँ परमेश्वरको घरले तँलाई नै अख्तियार सुम्पिदियो र मैले वा अरू कसैले निगरानी नगर्ने गरी तँलाई आफै काम गर्ने अनुमति दिइयो। केही महिनापछि, तँ सार्वभौम शासक जस्तै भएको हुनेथिइस्, सारा शक्ति तेरो हातमा हुनेथियो, तैँले नै निर्णय गर्नेथिइस्, चुनिएका सबै जनहरूले तँलाई तँ परमेश्वर होस् जस्तै गरी आदरभावले हेर्नेथिए, तेरो आराधना गर्नेथिए, र तँप्रति समर्पित हुनेथिए, तिनीहरूले हरेक शब्दमा तेरो प्रशंसा गाइरहेका हुनेथिए, तैँले गहिरो अन्तर्दृष्टि सहित प्रचार गर्छस् भनेर भनिरहेका हुनेथिए, तेरा वाणीहरू नै तिनीहरूलाई चाहिएको कुरा हो, तैँले तिनीहरूलाई भरणपोषण र अगुवाइ गर्न सक्छस् भनेर लगातार दाबी गरिरहेका हुनेथिए, अनि तिनीहरूका हृदयमा परमेश्वरको निम्ति कुनै ठाउँ हुनेथिएन। के यस्तो काम समस्याजनक हुनेथिएन र? तैँले यो काम कसरी गरेको हुनेथिस्? यी मानिसहरूले त्यस्तो प्रतिक्रिया दिन सक्नुले के प्रमाणित गर्छ भने, तैँले गरिरहेको काममा परमेश्वरको निम्ति गवाही दिने काम पटक्कै परेको थिएन; बरु, त्यसले तेरो आफ्नै मात्रै गवाही दिएको थियो र तेरो आफ्नै प्रदर्शन गरेको थियो। तैँले त्यस्तो परिणाम कसरी हासिल गर्न सकिस्? कतिपय मानिसहरू भन्छन्, “म जे सङ्गति गर्छु त्यो सत्यता हो; मैले निश्चय नै कहिल्यै पनि आफ्नै गवाही दिएको छैनँ!” तेरो त्यो मनोवृत्ति—त्यो शैली—भनेको परमेश्वरको हैसियतमा बसेर मानिसहरूलाई सङ्गति दिन खोज्ने कोसिस गर्नु हो, र यो एक भ्रष्ट मानिसको स्थितिमा खडा भएर सङ्गति गर्ने कार्य होइन। तैँले जे भन्छस् त्यो सबै हावादारी कुरा र अरूप्रति मागहरू राख्नु हो; तँ आफैसँग त्यसको कुनै सरोकार हुँदैन। त्यसकारण, तैँले हासिल गर्ने परिणाम भनेको मानिसहरूलाई तेरो आराधना गर्न लाउनु, अनि तेरो ईर्ष्या गर्न लाउनु र अन्त्यमा सबैलाई तँमा समर्पित हुन, तेरो गवाही दिन, तँलाई उच्च पार्न र तँलाई चापलुसी गरेर उच्च स्वर्गसम्म पुर्याउन लगाउनु हो। त्यस्तो भएछि तँ समाप्त हुनेछस्; तँ असफल भएको हुनेछस्! के तिमीहरू सबै अहिले यही मार्गमा छैनौ र? यदि तँलाई एक-दुई हजार वा एक-दुई लाख मानिसहरूको अगुवाइ गर्न भनियो भने, तँ अति प्रसन्न हुनेथिस्। त्यसपछि तँमा अहङ्कार उत्पन्न हुनेथियो र तैँले परमेश्वरको हैसियत ओगट्ने, उहाँजस्तै बोल्ने र हाउभाउ गर्ने कोसिस गर्नेथिस्, र तँलाई के लगाउने, के खाने, वा कसरी हिँड्ने भनी थाहा हुने थिएन। तँ जीवनका सहजताहरूमा लिप्त हुनेथिस् र तैँले आफैलाई उच्च स्थानमा राख्नेथिस्, अनि साधारण दाजुभाइ-दिदीबहिनीहरूसित भेट गर्ने झमेला गर्नेथिइनस्। तँ पूर्ण रूपमा पतित हुनेथिस्—र तँलाई प्रकट गरी हटाइनेथियो र प्रधान स्वर्गदूतलाई जस्तै प्रहार गरी ढालिनेथियो। तिमीहरू सबै यसो गर्न सक्षम छौ, छैनौ र? त्यसोभए, तिमीहरूले के गर्नुपर्छ? यदि एक दिन तिमीहरूलाई हरेक देशको सुसमाचारको कामप्रति जिम्मेवार हुने प्रबन्धहरू मिलाइयो, र तिमीहरू ख्रीष्टविरोधीको मार्गमा हिँड्न सक्ने अवस्थामा थियौ भने, त्यो कामलाई कसरी फैलाउन सकिन्छ? के यो कष्टदायी हुनेथिएन र? त्यसपछि, तिमीहरूलाई कसले बाहिर जान दिने आँट गर्थ्यो होला? त्यहाँ पठाइएपछि, तँ कहिल्यै फर्केर आउने थिइनस्; तैँले परमेश्वरले भन्नुभएको कुनै पनि कुरामा ध्यान दिनेथिइनस्, र तैँले आफ्नै प्रदर्शन गरिरहेको र आफ्नै गवाही दिइरहेको मात्र हुनेथिइस्, मानौँ तैँले मानिसहरूलाई मुक्तिमा ल्याइरहेको छस्, परमेश्वरको काम गरिरहेको छस्, र मानिसहरूलाई परमेश्वर प्रकट हुनुभएको र यहाँ काम गरिरहनुभएको महसुस गराइरहेको छस्—र जब मानिसहरूले तेरो आराधना गर्थे, तँ अति हर्षित हुनेथिस् र तिनीहरूले तँलाई परमेश्वरलाई जस्तो व्यवहार गरे भने, तैँले कुनै विरोध नगरी त्यो कुरालाई स्वीकार गर्नेथिस्। तँ त्यो स्तरमा पुगेपछि तँ खत्तम हुनेथिस्; तँलाई त्यागिनेथियो। तँलाई थाहै नभई यस किसिमको अहङ्कारी प्रकृतिले तँलाई नष्ट पार्नेथियो। यो ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्ने व्यक्तिको एउटा उदाहरण हो। यो बिन्दुमा पुगेका मानिसहरूले सबै चेतना गुमाएका हुन्छन्, तिनीहरूको विवेक र समझले काम गर्न छोडेको हुन्छ, र तिनीहरूले प्रार्थना वा खोजी गर्न समेत जान्दैनन्। तैँले यस्तो सोच्ने दिन आओस् भनेर नपर्खी: “मैले आफ्नो कडा निगरानी गर्नुपर्छ, र गम्भीर रूपमा प्रार्थना गर्नुपर्छ!” त्यो बेलासम्म निकै ढिला भइसकेको हुनेछ। तँलाई यस कुराबारे अग्रिम रूपमा थाहा हुनुपर्छ; तैँले खोजी गर्नुपर्छ: “आफ्नो गवाही नदिई परमेश्वरको गवाही दिनका लागि, आफ्नो काम राम्ररी पूरा गर्नका लागि मैले कस्तो व्यवहार गर्नुपर्छ? अरूसँग सङ्गति गर्नका लागि, र अरूलाई अगुवाइ गर्नका लागि मैले के-कस्ता विधिहरू प्रयोग गर्नुपर्छ?” तैँले यसरी नै तयारी गर्नुपर्ने हुन्छ। यदि कुनै दिन तिमीहरूलाई साँच्चै बाहिर काम गर्न पठाउने बन्दोबस्त गरियो, र तिमीहरू अझै पनि आफूलाई उच्च पार्न र आफ्नो गवाही दिन सक्ने अवस्थामा छौ, जसले गर्दा तिमीहरूको मातहतमा भएका धेरै मानिसहरू बरबाद हुन्छन् भने, तिमीहरू समस्यामा पर्नेछौ, र पछि तिमीहरूले परमेश्वरको दण्ड भोग्नेछौ! के मैले तिमीहरूलाई यी वचनहरू नभन्दा ठीक हुन्छ? मैले भन्नुभन्दा पहिले, तिमीहरूले त्यसो गर्न सक्थ्यौ; यदि मैले भनेपछि पनि तिमीहरूले अझै त्यसो गर्न सक्छौ भने, के तिमीहरू समस्यामा छैनौ र? तिमीहरू सबैले आफ्नो काम कसरी गर्ने, र कसरी सबैभन्दा उचित रूपमा व्यवहार गर्ने भन्ने बारेमा सोच्नैपर्छ। तिमीहरूले भन्ने र गर्ने सबै कुरा, तिमीहरूको हरेक व्यवहार र चालचलन, हरेक शब्द र कार्य, र तिमीहरूको हृदयको हरेक अभिप्राय सबै मानकअनुरूप हुनैपर्छ; एउटै कुरा पनि छुटाउनु हुँदैन, र तिमीहरूले कुनै पनि छिद्रको फाइदा उठाउनु हुँदैन। अहङ्कार मानिसको प्रकृति भए पनि, र यसलाई परिवर्तन गर्न सजिलो नभए पनि, मानिसहरूले आफ्नो अहङ्कारी स्वभावबारे थाहा पाउनुपर्छ र तिनीहरूमा अभ्यासका सिद्धान्तहरू हुनुपर्छ। तैँले यो कुरा बुझ्नैपर्छ: “यदि मलाई साँच्चिकै केही मण्डलीहरू दिइयो भने, परमेश्वरको हैसियत नलिनका लागि मैले कस्तो व्यवहार गर्नुपर्छ? अहङ्कारी नहुनका लागि मैले कस्तो व्यवहार गर्नुपर्छ? मैले कस्तो व्यवहार गर्दा उचित हुन्छ? मानिसहरूलाई परमेश्वरको अघि ल्याउन, र उहाँको गवाही दिनका लागि मैले कसरी व्यवहार गर्नुपर्छ?” तैँले यी मामलाहरूलाई स्पष्ट रूपमा नबुझेसम्म मनन गर्नुपर्छ। मानौँ कसैले तँलाई “के तपाईँले मण्डलीहरूलाई राम्रोसँग अगुवाइ गर्न सक्नुहुन्छ?” भनेर सोध्यो र, तैँले “सक्छु” भनेर भनिस्, तर तैँले मानिसहरूलाई आफ्नो उपस्थितितिर डोर्याइस्—तिनीहरू परमेश्वरप्रति नभई तँप्रति समर्पित भए भने—के यो समस्या हुनेछैन र? अगुवा वा कामकारको नाताले, यदि तँलाई मानिसहरूलाई परमेश्वरको अघि ल्याउनु वा आफ्नो अघि ल्याउनु भनेको के हो भन्ने थाहा छैन भने, के तैँले परमेश्वरको सेवा गर्न सक्छस्? के तँ परमेश्वरले प्रयोग गर्नका लागि उपयुक्त हुन सक्छस्? बिलकुलै सक्दैनस्। के अरू मानिसहरूलाई आफ्नो अघि ल्याउन सक्ने मानिसहरू सबै ख्रीष्टविरोधी होइनन् र? यदि कसैले परमेश्वरमा विश्वास गर्छ, तर उसको हृदयमा परमेश्वरको निम्ति कुनै ठाउँ छैन, उसले उहाँको डर मान्दैन, उसमा उहाँप्रति समर्पणको हृदय, वा उहाँप्रति समर्पित हुने सङ्कल्प छैन भने, त्यो व्यक्तिले परमेश्वरमा विश्वास गर्दैन। त्यसोभए, तिनीहरूले वास्तवमा कोमा विश्वास गर्छन्? यसलाई तिमीहरू आफैले चिरफार गर। पछि यसो नभन: “म अहङ्कारी छैनँ, म असल व्यक्ति हुँ, र म असल कामकुरा मात्रै गर्छु”—यी शब्दहरू त केटाकेटीका जस्तै सुनिन्छन्! अरू सबै अहङ्कारी छन्, तर तँचाहिँ छैनस्? यसरी तेरो खुलासा भएको छ, तर तँ अझै पनि आफूलाई चिन्दैनस्, र तँ अझै पनि आफू अहङ्कारी नभएको भनेर भन्छस्—तँ अत्यन्तै निर्लज्ज छस्! तँ यति बोधो छस् कि तेरो जति खुलासा गर्दा पनि तँलाई फरक पर्दैन! के तिमीहरूलाई मैले यी शब्दहरू बोल्नुको उद्देश्य थाहा छ? म किन यसरी मानिसहरूको खुलासा गर्छु? यदि मैले यसरी खुलासा गरिनँ भने, के तिनीहरूले आफूलाई चिन्नेछन्? यदि मैले यसरी खुलासा गरिनँ भने, मानिसहरूले आफूलाई अझै पनि निकै असल ठान्नेछन्, आफ्नो काम राम्ररी पूरा गर्छु भन्ने ठान्नेछन्, तिनीहरूमा औँल्याउनुपर्ने कुनै त्रुटि छैन र तिनीहरू हर हिसाबले ठीक छन् भन्ने सोच्नेछन्। तिनीहरू सबै ठीक भए पनि, तिनीहरू अहङ्कारी स्थितिमा हुनु हुँदैन, न त तिनीहरूले आफूलाई सुयोग्य ठान्न मिल्छ, न त तिनीहरूले घमण्ड नै गर्न मिल्छ। म मानिसहरूलाई मृत्युदण्ड दिन, वा तिनीहरूले मुक्ति पाउन सक्दैनन् भनेर बताउनका लागि नभई तिनीहरूलाई साँचो रूपमा आफूलाई चिन्न, आफ्नो भ्रष्ट सार र आफ्नो प्रकृति बुझ्न सहयोग गर्नका लागि यसरी तिनीहरूको स्थिति खुलासा गर्छु, ताकि तिनीहरूले आत्म-सचेतना हासिल गर्न सकून्। तिनीहरूले आफ्नो भ्रष्ट स्वभाव फाल्ने प्रयास गर्दा यो फाइदाजनक हुन्छ। यदि तिमीहरूले मैले मानिसहरूलाई खुलासा र काटछाँट गर्दा बोलेका मेरा वचनहरूलाई सही रूपमा लिन सक्छौ, नकारात्मक हुनबाट जोगिन सक्छौ, आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गर्न सक्छौ, परमेश्वरको घरका मामलाहरूलाई आफ्नै ठान्न सक्छौ, र झाराटारुवा नबनी जिम्मेवारी लिन सक्छौ भने, यदि तिमीहरू परमेश्वरप्रति बफादार हुन सक्छौ भने, यो मनोवृत्ति सही हो, र तिमीहरूले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्नेछौ।
कतिपय मानिस कार्य गर्दा प्रायः सिद्धान्तहरू उल्लङ्घन गर्छन् र काँटछाँट स्वीकार गर्दैनन्। तिनीहरूलाई अरूले भनेका कुराहरू सत्यताअनुरूप छन् भन्ने हृदयमा स्पष्ट रूपमा थाहा हुन्छ, तर तिनीहरू ती स्वीकार गर्दैनन्। त्यस्ता मानिसहरू अत्यन्तै अहङ्कारी र आत्म-धर्मी हुन्छन्! म किन तिनीहरू अहङ्कारी हुन्छन् भनेर भन्छु? तिनीहरू काँटछाँट स्वीकार गर्न इन्कार गर्दा, अवज्ञाकारी हुन्छन्, अनि के अवज्ञा अहङ्कार होइन र? तिनीहरू आफूले राम्रो गरिरहेको छु भन्ने सोच्छन् र तिनीहरू आफूले कुनै गल्ती गर्छु भन्ने सोच्दैनन्, जसको अर्थ हो, तिनीहरू आफूलाई चिन्दैनन् र तिनीहरू अहङ्कारी छन्। त्यसैले, तैँले आफूले गरेका कुराहरूलाई गम्भीरतापूर्वक विश्लेषण गर्नुपर्छ। तिनलाई परमेश्वरका वचनहरूसँग तुलना गर् र अलि-अलि गर्दै आफ्ना भ्रष्ट स्वभावहरूलाई खोतल् र चिरफार गर्। यसरी मात्रै तैँले बिस्तारै आफूलाई चिन्न सक्छस्। तैँले मण्डलीको काम गर्दा, यदि तँ अरू मानिसहरूले तँलाई प्रशंसा गर्ने अनि तँलाई सुझावहरू दिन र सङ्गतिमा तिनीहरू तँसँग खुलस्त हुन सक्ने बिन्दुमा पुग्न सक्छस् भने, यसले तैँले आफ्नो काम राम्ररी गरेको छस् भन्ने प्रमाणित गर्छ। यदि मानिसहरू सधैँ तँद्वारा बाँधिन्छन् भने, तिनीहरूले बिस्तारै तँलाई खुट्ट्याउनेछन् र तँबाट आफूलाई टाढा राख्नेछन्। यसले तँसँग सत्यता वास्तविकता छैन भन्ने प्रमाणित गर्छ, जुन अवस्थामा तैँले भन्ने सबै कुरा निश्चित रूपमा शब्द र धर्मसिद्धान्तहरू मात्रै हुन्छन् र यसले अरूलाई बाँधिरहेको हुन्छ। कतिपय मण्डली अगुवा बर्खास्त हुन्छन्, र तिनीहरू किन बर्खास्त हुन्छन्? किनभने तिनीहरू शब्द र धर्मसिद्धान्तहरू मात्रै बोल्छन्, सधैँ आफ्नो देखावटी गर्छन् र आफ्नै गवाही दिन्छन्। त्यस्ता अगुवाहरू तिनीहरूको प्रतिरोध गर्नु भनेको परमेश्वरको प्रतिरोध गर्नु हो, र जसले माथिलाई भइरहेको कुराको रिपोर्ट गर्छ उसले तिनीहरूको विरोध गरिरहेको हुन्छ र मण्डलीको काममा बाधा दिइरहेको हुन्छ भनेर भन्छन्। यो कस्तो प्रकारको समस्या हो? यी मानिसहरू यति अहङ्कारी भइसकेका हुन्छन् कि तिनीहरूसँग अब कुनै समझ हुँदैन। तिनीहरूले आफूलाई ख्रीष्टविरोधीहरूका रूपमा उदाङ्गो पार्छन्, पार्दैनन् र? यदि कुराहरू अझै अघि बढे भने, के तिनीहरूले आफ्नै स्वतन्त्र राज्यहरू स्थापित गर्न थाल्नेछैनन् र? भर्खरै विश्वास गर्न थालेका कतिपय मानिसले तिनीहरूको आराधना गर्नेछन् र तिनीहरूको गवाही दिनेछन्, अनि तिनीहरूले यसको एकदमै आनन्द लिनेछन् र एकदमै प्रसन्न महसुस गर्नेछन्। यस्तो अहङ्कारी व्यक्ति त खतम भइसकेको हुन्छ। तिनीहरूले “मेरो प्रतिरोध गर्नु भनेको ईश्वरको प्रतिरोध गर्नु हो” भन्न सक्नुले तिनीहरू वर्तमान पावल बनिसकेका छन् भन्ने देखाउँछ; तिनीहरूका शब्दहरूको प्रकृति पावलले भनेका शब्दहरूभन्दा फरक हुँदैन: “मेरा लागि जिउनु ख्रीष्ट हो।” के यस्तो कुरा गर्ने मानिसहरू ठूलो खतरामा हुँदैनन् र? तिनीहरूले स्वतन्त्र राज्यहरू स्थापित नगरे पनि, तिनीहरू अझै सच्चा ख्रीष्टविरोधी नै हुन्। यदि त्यस्तो व्यक्तिले कुनै मण्डलीको अगुवाइ गर्ने हो भने, त्यो मण्डली तुरुन्तै कुनै ख्रीष्टविरोधीको राज्य बन्नेछ। मण्डली अगुवा बनेपछि, कतिपय मानिसहरूले उच्च प्रवचनहरू बोल्ने र धाक देखाउने कार्यमा ध्यान दिन्छन्, विशेषगरी रहस्यमय कुराहरू बोल्छन्, ताकि मानिसहरूले तिनीहरूलाई आदरभावले हेरून्, जसको परिणामस्वरूप तिनीहरू सत्यता वास्तविकताबाट झन्-झन् टाढा पुग्छन्। यसले गर्दा धेरैजसो मानिसहरूले आत्मिक सिद्धान्तहरूको आराधना गर्न थाल्छन्। जसले उच्च कुरा बोल्छ, मानिसहरूले त्यसैको कुरा सुन्छन्; जसले जीवन प्रवेशको कुरा गर्छ, मानिसहरूले ऊप्रति कुनै ध्यान दिँदैनन्। के यसले मानिसहरूलाई बहकाइरहेको हुँदैन र? यदि कसैले सत्यता वास्तविकताबारे सङ्गति गर्छ र कसैले पनि सुन्दैन भने, त्यो निकै समस्याको कुरा हो। यो व्यक्तिले बाहेक कसैले पनि मण्डलीको अगुवाइ गर्न सक्दैन, किनभने सबैले आत्मिक सिद्धान्तहरूको आराधना गर्छन् र आत्मिक सिद्धान्तहरूबारे बोल्न नसक्नेहरू अडिग रहनै सक्दैनन्। के त्यस्तो मण्डलीले अझै पनि पवित्र आत्माको कार्य प्राप्त गर्न सक्छ? के मानिसहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्? सत्यताबारे सङ्गति गर्नु र व्यावहारिक अनुभवहरूबारे बोल्नुलाई किन इन्कार गरिन्छ, यहाँसम्म कि तिनीहरू मैले सत्यता सङ्गति गरेको समेत सुन्न चाहँदैनन्? यसले के प्रमाणित गर्छ भने यस अगुवाले यी मानिसहरूलाई बहकाइसकेका र नियन्त्रण गरिसकेका छन्। यी मानिसहरू परमेश्वरप्रति समर्पित हुनुभन्दा बरु तिनीहरूको कुरा सुन्छन् र तिनीहरूप्रति नै समर्पित हुन्छन्। स्पष्ट छ, यी मानिसहरू परमेश्वरप्रति भन्दा पनि आफ्ना अगुवाप्रति समर्पित हुने खालका मानिस हुन्। किनभने परमेश्वरमा सच्चा रूपले विश्वास गर्ने र सत्यता पछ्याउनेहरूले मानिसलाई आराधना गर्नेछैनन् वा पछ्याउनेछैनन्; तिनीहरूको हृदयमा परमेश्वरका लागि ठाउँ हुन्छ र तिनीहरूसँग परमेश्वरको डर मान्ने हृदय हुन्छ, त्यसोभए तिनीहरू कसरी मानिसहरूद्वारा बाँधिन सक्छन्? तिनीहरू कसरी सत्यता वास्तविकता नभएको झूटो अगुवाप्रति आज्ञाकारी रूपमा समर्पित हुन सक्छन्? झूटो अगुवाले सत्यता वास्तविकता भएको, परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्तिको सबैभन्दा बढी डर मान्छ। यदि कसैसँग सत्यता छैन, तैपनि उसले अरूलाई आफ्नो आज्ञापालन गराउन चाहन्छ भने, के त्यो सबैभन्दा अहङ्कारी दियाबलस होइन र? यदि तैँले मण्डलीमा एकाधिकार कायम गर्छस् वा परमेश्वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्छस् भने, तैँले परमेश्वरको स्वभावलाई चिढ्याएको हुन्छस् र आफूलाई बरबाद गरेको हुन्छस्, अनि तैँले पश्चात्ताप गर्ने मौका समेत नपाउन सक्छस्। तिमीहरू हरेक होसियार हुनैपर्छ; यो एकदमै खतरनाक मामला हो। तिमीहरूमध्ये कसैलाई पनि मानिसहरूलाई भ्रमित पार्ने र नियन्त्रण गर्ने कुराहरू गर्न अत्यन्तै सजिलो हुनेछ। कतिपयले भन्न सक्छन्: “म त त्यसो गर्ने नै छैनँ, म आफ्नै गवाही दिने नै छैनँ वा मानिसहरूलाई भ्रमित पार्ने नै छैनँ!” त्यो त तैँले छोटो समय मात्रै काम गरेको हुनाले हो। तँसँग हैसियत भएपछि, तँ झन्-झन् दुस्साहसी बन्नेछस् र त्यही बेला तैँले दुष्टता गर्नेछस्। यदि त्यसपछि कतिपय मानिसले तेरो प्रशंसा र चापलुसी गरे, अनि सबै मामलामा तेरो आज्ञापालन गरे भने, तैँले स्वाभाविक रूपमै आफूसँग उच्च हैसियत छ, तँ गजबको छस् भनेर सोच्नेछस्: “मलाई हेर् त, म निकै राम्रो छु। म यी सबै मानिसलाई अगुवाइ गर्न सक्छु, र तिनीहरू सबैले मेरो कुरा सुन्छन्; मेरो कुरा नसुन्ने मानिसहरूलाई, म दबाउँछु। यसले मसँग केही कार्य सामर्थ्य छ र म आफ्नो कामको योग्य छु भनेर प्रमाणित गर्छ।” समय बित्दै जाँदा, तेरो प्रकृतिका अहङ्कारी तत्त्वहरू प्रकट हुन थाल्नेछन्। यदि तँ आफ्नो समझ गुमाउने गरी अहङ्कारी बन्छस् भने, तँ खतरामा पर्नेछस्। के यो स्पष्ट रूपमा देख्न सक्छस्? तैँले कसैसामु नझुक्ने आफ्नो अहङ्कारी स्वभाव प्रकट गर्नेबित्तिकै, तँ समस्यामा पर्नेछस्। मैले बोल्दा समेत तैँले सुन्नेछैनस्। यदि परमेश्वरको घरले तँलाई बर्खास्त गर्यो भने, तैँले यसो भन्ने आँटसमेत गर्नेछस्: “पवित्र आत्मालाई यो प्रकट गर्न देऊ!” तैँले त्यसो भन्नेछस् भन्ने तथ्यले तँ सत्यता स्वीकार गर्दैनस् र तेरो विद्रोहीपन अत्यन्तै ठूलो छ भनेर प्रमाणित गर्छ। तैँले त्यसो भन्नुले तेरो प्रकृति सारलाई खुलासा गर्छ, र यसको अर्थ तँ परमेश्वरलाई पटक्कै चिन्दैनस्। त्यसैले, म आज तिमीहरूलाई यो सब भन्छु ताकि तिमीहरू आफूबारे सतर्क होऊन् र तिमीहरूले आफूलाई उचाल्ने र आफ्नै गवाही दिने नगरे। मानिसहरूले प्रयास गरेर आफ्नै स्वतन्त्र राज्य स्थापित गर्ने एकदमै सम्भावना हुन्छ, किनभने तिनीहरू सबैलाई पद, सम्पत्ति र वैभव, आडम्बर मन पर्छ, र तिनीहरू सबैलाई वरीयतामा दोस्रो सर्वोच्च स्थान ओगट्न, र शक्ति प्रदर्शन गर्न मन लाग्छ: “हेर त, म त्यहाँ कति शक्तिशाली लाग्थेँ? मैले तिनीहरूलाई अलि डर देखाउनेबित्तिकै, तिनीहरू कुरा मान्ने र लुरुक्क भए।” यस्तो शक्ति प्रदर्शन नगर्; यसो गरेर केही काम छैन, र यसले केही पनि प्रमाणित गर्दैन। यसले तँ निकै अहङ्कारी छस्, र तेरो स्वभाव खराब छ भन्ने मात्रै प्रमाणित गर्छ; यसले तँमा कुनै क्षमता छ भनेर प्रमाणित गर्दैन, तँमा सत्यता वास्तविकता छ भनेर त झनै प्रमाणित गर्दैन। केही वर्षसम्म प्रवचनहरू सुनेपछि, के तिमीहरूसँग आफूबारे कुनै ज्ञान हुन्छ? के तिमीहरूलाई आफू खतरामा छु भन्ने लाग्दैन? यदि परमेश्वरले मान्छेलाई मुक्ति दिन नबोल्नुभएको र काम नगर्नुभएको भए, के तिमीहरूले स्वतन्त्र राज्यहरू स्थापना गरिरहेका हुनेथिएनौ र? के तिमीहरू आफ्नो जिम्मेवारीमा रहेका मण्डलीहरूमा एकाधिकार जमाउन, ती मानिसहरूलाई आफ्नो प्रभावमा ल्याउन चाहँदैनौ ताकि तिनीहरूमध्ये कोही पनि तिमीहरूको नियन्त्रणबाट उम्कन नसकून् र सबैले तिमीहरूको कुरा सुनून्? यदि तैँले कहिल्यै यसो गरिस्, मानिसहरूलाई आफ्नो नियन्त्रणमा ल्याइस् भने, तँ दियाबलस र शैतान होस्। तँमा यस्ता सोचाइहरू आउनु अत्यन्तै खतरनाक कुरा हो; तैँले ख्रीष्टविरोधीको मार्गमा पाइला चालिसकेको छस्। यदि तँ उचित रूपमा आत्मचिन्तन गर्दैनस्, र तैँले आफ्ना पापहरू परमेश्वरसामु स्विकारेर पश्चात्ताप गर्न सकिनस् भने, तँलाई अवश्य नै पन्छाइनेछ, र परमेश्वरले तँलाई कुनै ध्यान दिनुहुनेछैन। तैँले परमेश्वरका अभिप्रायहरूअनुरूप हुनका लागि, तैँले परमेश्वरको स्वभावलाई चिढ्याउँदैनस् भनेर प्रत्याभूति दिनका लागि आफूलाई कसरी परिवर्तन गर्ने भनेर जान्नुपर्छ। परमेश्वरको घरले तँलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गरेर निष्कासित नगरुन्जेलसम्म नपर्खी—त्यतिन्जेल निकै ढिला भइसकेको हुनेछ।
शरद, १९९७